Showing posts with label स्मृति. Show all posts
Showing posts with label स्मृति. Show all posts

Wednesday, January 3, 2024

पत्रकारिताका सच्चा 'मेन्टर'

 –यमबहादुर दुरा


राणाकालमा शुरु भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक तथा प्राविधिक मोड आए । लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ । राणकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२÷०६३ को अप्रिल क्रान्ति र त्यसपछिका सतत घडीमा नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू  पनि बदलिँदै गयो ।

नेपालको पत्रकारितामा अहिलेको विकासित चरणसम्म योगदान गर्ने अग्रजमा गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठजस्ता अग्रज पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मासात गर्न सकिन्छ । यस बसाइमा पुस १६ गते मृत्युवरण गर्नुभएका अग्रज पत्रकार गोकुल पोखरेलसँग जोडिएका आफ्ना निजी अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गर्ने प्रयत्न गरेको छु । 

कुरा निजी प्रसङबाटै शुरु गरौँ । २०६० सालमा नेपाल प्रेस इन्स्टिच्युटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो । म एएमको पढाइ सकाएर बसेको बेला थियो । कामना प्रकाशन समूहमा कार्यरत थिएँ । त्यस पदका लागि मैले पनि आवेदन दिएको थिएँ । प्रतिस्पर्धा मार्पmत म छनोट भएँ । त्यसबेला नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो ।

त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारहरूका लागि तालिम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो । संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो । 

मैले नयाँ नियुक्ति लिएर नयाँ ठाउँमा जाने बेलामा गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्थ्यो । म कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिकाबारे र जिम्मेवारी प्रष्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू’ । सबैसँग मित्रवत् व्यवहार गरेमा वातारण सहज हुन्छ भन्नुहुन्थ्यो, उहाँ । 

अनुभवले खारिएका गोकुल पोखरेलको सुझाव थियो— साथीसंगी र सहकर्मीहरूबीच कुनै कारणले मनमुटावको वातावरण पैदा भएमा आफू  झगडाको कारक बन्नुहुँदैन, बरू ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ । उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिहरूका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहद्र्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो । एउटा नादान बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि गजबको मार्गदशक सिद्धान्त नै बने ।

तस्बिर: गुगल

गोकुल पोखरेलसँग भेट हुनुअघि उहाँका व्यावसायिक जीवनबारे रोचक किस्सो । उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइ अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिन गएछ । यसबाट उहाँको जागिर नै चट भएको प्रसङ्ग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो । 

जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आपूmले लेखेका सामग्री आपैmँले पटक पटक पढ्ने, तथ्य–जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त फरवार्ड गर्नुहुँदैन भन्नेमा जोड दिनुहुन्थ्यो । 

गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्येमा तीर्थ कोइराला पनि हुनुहुन्छ । कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग पनि सहकार्य गर्नुभयो । पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षता विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो । समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो ।

उहाँले सुझाउनुभएको थियो— ‘आफूले सम्पदान गरेका क्रियाकलापको अभिलेख राख्नू ।' मैले त्यसलाई पालना गर्ने प्रयास गरेँ । यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ । अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ । यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म ।

गोकुल पोखरेलजस्ता अग्रजले पत्रकारिता गरेका समयमा नेपाल पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो । अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट बञ्जित नहोउन् भन्ने भावनाले उहाँहरूका मनमा वास गरेको थियो । 

त्यसबेला पत्रकारिताको प्राज्ञिक अध्ययन–अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन । त्रिभुवन विश्वद्यिालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरु गरे पनि त्यसले व्यापकता पाएको थिएन । उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो । 

त्यसबेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरसिप’ को चर्को अभाव थियो । त्यस खरेडीग्रस्ता समयमा अग्रजहरूका दिमागमा पत्रकारलाई तालिम प्रदान गर्ने संस्थाको चित्र तयार भयो । सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगीजस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना गर्नुभयो ।

त्यसबेला नेपाल प्रेस इन्स्टिच्युट पत्रकारिता क्षेत्रमा मरूद्यानजस्तै हुन पुग्यो । त्यसले एक से एक उर्जाशील पत्रकार कोरल्न थाल्यो । रविन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेतजस्ता राष्ट्रिय जीवनमा कहलिएका हस्तीहरू नेपाल प्रेस इन्स्टिच्युटकै उत्पादन हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा खुला वातावरण तयार भयो । विस्तारै ब्रोडसिट अखबार आउन थाले । यस्तैमा नेपाल प्रेस इन्स्टिच्युटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारहरूलाई तालिम दिने वातावरण बनायो । यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए । 

मिडियामा दक्ष जनशक्ति पार्नका डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्युटलाई उदार मनले सहयोग ग¥यो । समयक्रममा नेपाल प्रेस इन्स्टिच्युटले देशभरका पत्रकारलाई तालिम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालिम (टट) सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पा¥यो । 

त्यस समयमा देशका विभिन्न कुना–कन्दरामा पत्रकारिताका विभिन्न विधामा तालिम भए । मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो । धेरै युवाका लागि पत्रकारिता ग्लेमरले भरिएको आकर्षक पेशाको रूपमा देखापर्न थाल्यो । देशमा पत्रकारिताको क्रेज बढाउने र पेशगत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता अग्रजहरूले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ । 

नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिममा सहभागी हुँदा गोकुल पोखरेलले लिने कक्षामा सहभागी हुने अवसर पाएको छु । पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबा केही गुण निसृत भएको अनुभूत गर्न सकिन्थ्यो । उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर किसिमले चल्थे । 

बेलायत, फ्रान्स आदि देशबाट पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवको खानी हुनुहुन्थ्यो । पोखरेलले कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो । यसबाट उहाँका कक्षा आकर्षक र पर्याप्त ज्ञानवद्र्धक हुन्थ्यो । 

विज्ञान ज्ञानी व्यक्तिहरूले मात्र थाहा जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ । विज्ञानलाई रहस्यको पर्दाले छोप्नुहुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यस अनुरूप उहाँले गतिविधिहरूपनि सञ्चालन गर्नुभएको थियो । 

मलाई सम्झना भएसम्म तत्कालीन ‘नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ मा विज्ञान सञ्चारसम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो । त्यसले प्रकाशन गर्ने विज्ञानसम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ उहाँको प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता थियो । 

गोकुल पोखरेलजस्ता अग्रजको छत्रछायाँमा रहेर नेपाल प्रेस इन्स्टिच्युटमा काम  गर्दा व्यक्तिगत रूपमा म पनि लाभान्वित भएँ । पी खरेल,ध्रुवहरि अधिकारी, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो । यसैगरी, पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरू कुन्दन अर्याल, रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, धर्मेन्द्र झा, भरत भूषाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार–विमर्श गर्ने सुन्दर अवसर मिल्यो । 

नेपालगञ्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नलाल गुप्त, रेशम विरही, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईँ, सुरेन्द्र काफ्ले, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगञ्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका सहकर्मीहरू आरिफ अन्सारी, पीताम्बर कट्टेल, गंगा फुयाँल तथा गंगाप्रसा ठाकुरको साथ र सहयोग पनि उत्तिकै मिठो थियो ।  यसबाहेक मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारहरूसँग पनि चिनपर्ची र माया–ममता बढ्यो । 

नेपालगञ्जमा रहेका स्वदेशी तथा विदेशी सङ्घ–संस्थाका पदाधिकारीहरूसँग पनि चिनजान भयो । केहीसँग त सहकार्य पनि भयो । यसबाहेक स्थानीय नागरिक समाजसँग पनि साइनोपात गाँसियो । 

त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वको उत्कर्षतिर पुग्दै थियो । हत्याहिंसाको शृङ्खला जारी थियो । यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्वहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो । यही मेहरोमा बाँकेका सञ्चालित नागरिक समाजले ‘शान्ति र सदभाव अभियान’ अघि बढाएको थियो । 

त्यसमा म पनि एक हिस्सा बन्न पुगेको थियो । प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय सीपी सिंहजस्ता तत्कालीन अभियानकर्मीहरूसँगको मीठो सहकार्य भयो । त्यसले दुखको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो । जीवनका यी तमाम भोगाइहरूमा नेपाल प्रेस इन्स्टिच्युट, गोकुल पोखरेल र अन्य अग्रजहरूबाट अवसरको अविष्मरणीय हिस्सेदारी छ ।

गोकुल पोखरेल भन्नुहुन्थ्यो— ‘पत्रकार कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन’ । उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो— सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर । सम्झनाको पूmलबारीमा तपार्इँ सधैँ फक्रनुहुनेछ । तपाईँप्रति हार्दिक श्रद्धासुमन !

साभार: हिमालखबर । २०८० साल पुस १७ गते । सामान्य परिमार्जनसहित ।]

Wednesday, June 6, 2018

‘नीतिशतकम्’ का व्याख्याता


–यमबहादुर दुरा

गौतम बुद्धले जीवन र जगतबारे दिएका सन्देशप्रति कमैले असहमति जनाउलान् । उनका सन्देशहरू आज पनि उत्तिकै उद्धरणीय र मननीय छन् । यसबारे विगतदेखि वर्तमानसम्म धेरैले व्याख्या गर्दै आएका छन् । ती व्याख्याताका सूचीमा ओशो रजनिशको नाम पनि चहकिलो रूपमा देखा पर्छ । उनले गौतम बुद्धका सन्देशहरूलाई मिहिन पाराले विश्लेषण गरी जनजनसम्म विस्तार गर्न सहयोग गरे । यस दृष्टिले आशोको योगदान प्रशंसनीय छ ।


कवि तीर्थराज अधिकारी (वि.सं. १९८२–२०७२) ले पनि सानै ‘स्केल’ मा भए पनि एउटा यस्तै लोकहितैषी काम गर्नुभएको छ । उहाँले संस्कृत वाङ्मयको ‘नीतिशतकम’ लाई नेपालीमा छायाँनुवाद गर्नुभयो । हरेक दृष्टिले महत्वपूर्ण ठहरिएको संस्कृत वाङ्मय समयक्रमसँगै दुरूह बन्दै गएको छ ।

अधिकारीले यस्ता दुरूह कृतिलाई नेपालीमा अनुवाद गरी जनस्तरमा  पुर्‍याउने काम गर्नुभयो । उहाँ संस्कृत वाङ्मयको रुझानबाट साहित्यिक कर्मभूमिमा उत्रिएका व्यक्तित्व हुनुहुन्थ्यो । परिणमस्वरूप उहाँलाई ‘नीतिशतकम’ को अनुवाद गर्ने काम सहज भयो ।

जीवन र जगतको रीतलाई साहित्यिक भावधारामा प्रवाहमय बनाउन अधिकारी सक्षम व्यक्ति हुनुहुन्थ्यो । ‘भूगोल सूत्र’ (२०१६), ‘आफ्नै बाँसुरीको धुन’ (२०५२), ‘तीनतारा एक आकाश’, ‘निर्वाचन’, ‘सत्य कथा’ आदि उहाँका केही साहित्यिक विरासत हुन् । मूल रूपमा कविको छविबाट परिचित अधिकारीका काव्यकृतिमा भेटिने संस्कृत शब्दको छेलोखेलो र छन्दोबद्धताले उहाँ संस्कृत वाङ्मयबाट प्रभावित हुनुभएको प्रष्ट संकेत मिल्छ ।

लगभग साढे तीनदशक शिक्षण पेशामा संलग्न अधिकारीले नयाँ पुस्तालाई तेस्रो आँखा दिने काममात्र गर्नुभएन, अविरल रूपमा साहित्य–साधनामा पनि जुटिरहनुभयो । भारतवर्षमा सुपरिचित राजर्षि भर्तृहरिको कृति ‘नीतिशतकम’ लाई उहाँले नेपाली भाषामा छायाँनुवाद गर्नुभयो । यो काम उहाँले गर्नुभएका अनेक साहित्य कर्ममध्ये एउटा स्मरणीय योगदान हो ।

प्राचीन सन्दर्भ–ग्रन्थहरूका अनुसार भर्तृहरि उज्जैन (वर्तमान भारतको मध्यप्रदेश) का राजा थिए । उनी संस्कृत वाङ्मयका धुरन्धर रचनाकार मानिन्छन् । उनका कृति ‘नीतिशतकम्’ भारतवर्षमा प्रख्यात नीतिप्रबन्धहरूमध्ये उच्चतम् मानिन्छ । भर्तृहरिको जीवनकालको अनुमान विवादास्पद मानिन्छ । उनी राजा विक्रमादित्यका दाइ मानिन्छन् ।

भर्तृहरिले आफ्ना जीवन भोगाइका आधारमा तयार पारेका लोकव्यवहार तथा नीतिसम्बन्धी श्लोकहरूको संग्रह हो, ‘नीतिशतकम्’ । तीर्थराज अधिकारीले ‘नीतिशतकम्’ को छायाँनुवादलाई मूर्ख पद्धति, विद्वत्पद्धति, मानशौर्य पद्धति, अर्थ पद्धति, दुर्जन पद्धति, सुजन पद्धति, परोपकार पद्धति, धैर्य पद्धति, दैव पद्धति र कर्म पद्धति गरी दश खण्डमा विभक्त गर्नुभएको छ ।

भाषिक दृष्टिले धेरैका लागि दुरूह ठहरिएका संस्कृत वाङ्मयको बहुचर्चित कृति ‘नीतिशतकम्’ लाई छायाँनुवाद गरेर नेपाली पाठकमाझ पस्कने काम उहाँको साहित्यिक ‘करिअर’ र सामाजिक योगदान दुवै हिसाबले वन्दनीय छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य डा. टीकाराम पन्थीले कृतिको भूमिकामा कृतिबारे भन्नुभएको छ, ‘सामाजिक जीवनको संयमन, नियन्त्रण, सञ्चालन र व्यवस्थापन यस नीतिशतकका प्रत्येक श्लोक पठनीय, मननीय र धारणीय छन् ।’

डा. पन्थीले आजको अर्थमुखी (पैसामुखी) युगमा भ्रष्टाचार र गैरजिम्मेवारी बढिरहेको सामाजिक पृष्ठभूमिमा यस कृतिले सदाचारपूर्ण मानवीय व्यवहार अभिवृद्धि गर्न योगदानदिने राय दिनुभएको छ ।

कृतिलाई नेपालीमा छायाँनुवाद गर्ने क्रममा अधिकारीले जटिल ठहरिएका केही शब्दहरूको ‘फुटनोट’ दिएर थप प्रष्ट पार्ने प्रयास गर्नुभएको छ । यति हुँदाहुँदै पनि कतिपय ठाउँमा मूल पाठसँग मेल नखाएजस्तो वा अर्थान्तरण भए पाठकलाई लाग्नसक्छ ।

यस प्रसंगमा डा. पन्थीले संस्कृतका श्लोकहरू नेपालीमा अनुवाद गर्दा कतै कतै भावान्तरित भएजस्तो, अर्थ छुटेजस्तो वा अर्थ पूरा गर्न शब्द थपिएजस्तो देखिनु स्वाभाविकै हो भन्नुएको छ ।  छायाँनुवादमा देखिने यी स्वाभाविक कमजोरीबाहेक कृतिपठनीय र मननीय छ ।

मनिसमा राज गरिरहेको घमण्ड, द्वेष, रीस–राग, अप्रिय बाणीजस्ता दुर्गुणबारे कविको उद्घोष यस्तो छ (मूर्ख पद्धति, पृ.१):

ठूला बडा, घमण्डी छन् विज्ञ ईर्ष्यालु छन् सदा ।
अज्ञानी छन् अरु सारा प्रियवाक्य छ बेपता ।।

विद्याको महत्व अपम्पार छ । ‘नीतिशतकम्’ मा वर्णित विद्या–महिमाबारे उहाँको कलम बेजोड किसिमले दौडिएको छ (विदत्पद्धति, पृ.८):

विद्या सुन्दर रूप हो मनुजको विद्या ठुलो संपदा
विद्यावन्धु विदेशमा, बुझिलिएविद्या ठुलो देवता ।
विद्याभोग र कृति हो सुख दिने विद्यागुरुको गुरुं
विद्यापूज्य छ, भूपमा धन के ? विद्याविनको पशु ।।

भनिरहनु पर्दैन, जीवनमा असल संगतले धेरै महत्व राख्छ नै । यसबारे अधिकारीको कलम उज्यालो जीवन–दृष्टि छर्न सक्षम छ (विदत्पद्धति, पृ.९) :

पारी प्रसन्न मन, पाप समस्त फाली
अज्ञान हर्दछ, बहाउँछ सत्य बोली ।
पैmलाइदिन्छ यश, उन्नति, मान चैन
सत्संगले पुरुषमाभन के हुँदैन ? ।।

जन्म र मरणबीच अडेको मानव–चोलामा जन्मनुको सार्थकताबारे अधिकारी लेख्नुहुन्छ (मान–शौर्य पद्धति, पृ.११) :
को जन्मदैन, मर्दैन फेरिने दुनिया बिच ।
जन्मेको त्यहि हो, जसले लान्छ उन्नतिमा कुल ।।

यो भौतिकवादीदुनियाँमा धेरैको आँखा धनमाथि नै छ । धन आर्जनका लागि दुनियाँव्यग्र छ । धनको गति, दिशा र दशाबारे ‘नीतिशतकम्’ को सार यस्तो छ (अर्थ पद्धति, पृ.१५) :

दान, भोग अनि नाश यी तीन गति हुन्छन् धन तीन सदा ।
जो दिइन्न, भोगिन, उसको तृतीय गति हुन्छ सदा ।।

पठित व्यक्तिमा पनि दुष्ट व्यावहार कायमै छ । यी त्याज्य व्यावहार हुन् । यस सम्बन्धमा ‘नीतिशतकम्’ ले दिएको राय मर्मस्पर्शी छ (दुर्जन पद्धति, पृ.१८) :

पढेको नै छ त पनि त्याग्नू त्यो दुष्ट दुष्चर ।
मणिशोभित त्यो सर्प भयंकर हुँदैन र ! ।।

यी र यस्ता श्लोकहरूले कृतिलाई पठनीय बनाएका छन् । ‘नीतिशतकम्’ ले सम्प्रेषण गरेका गहकिला र गहन सन्देशहरूलाई चिन्तन–मनन गरेर छायाँनुवादमा उत्रँदा कवि तीर्थराजअधिकारीले धेरै मानसिक श्रम खर्चनुभएको प्रष्ट देखिन्छ ।  भौतिक वैभवका लागि नैतिकता गुमाउँदै गएको वर्तमान सामाजिक परिवेशमा यो कृतिको सन्देश एकदमै सान्दर्भिक ठहरिन्छ ।

उहाँले साहित्य कर्ममार्फत् समाजलाई दिनुभएको योगदान र उहाँका साहित्यिक कृतिमामार्फत् प्रवाहित जीवन–दर्शनसम्बन्धी सन्देश हाम्रा लागि एउटा गतिलो प्रेरणास्रोत बनेका छन् । अधिकारीले साहित्य साधनाको माध्यमबाट समाजलाई आलोकित तुल्याउनुभएको छ, जुन आफैंमा एउटा मीठो र प्रेरणादायी दृष्टान्त हो ।

[साभार: स्मृतिका पानामा साहिँला गुरु (तीर्थराज शर्मा अधिकारी स्मृतिग्रन्थ-२०७५) । तस्बिर: गोविन्दराज खनियाँ ।]

Saturday, January 16, 2016

ढुङ्गामा खोपिएका अक्षर

–यमबहादुर दुरा

नेपाली लोकसंगीतको क्षेत्रमा २०३० को दशकमा एउटा उर्जावान् एवम् प्रतिभाशाली गायकी समूह निकै चम्कियो । त्यो अनौपचारिक समूहले जनजिब्रोमा झुण्डिएका मौलिक लोकगीतहरू जनसमक्ष पस्किएर एउटा लोभलाग्दो दृटान्त प्रस्तुत गर्‍यो  । त्यसमा पनि गहिरो भावपरिष्कार, विवेकपूर्ण शब्दचयन, सुललित स्वराङ्कन र वाद्यसामग्रीको परिष्कृत प्रयोगले ती गीत यति श्रुतिमधुर भए, जनजनको गलामा भाकाहरू गुञ्जिरहे, नेपाली मनहरू तरङ्गित भइरहे ।

यससँगै नेपाली लोकगीत संकलन र गायन एउटा नयाँ दिशातिर मोडियो । जनमनमा गहिरो छाप छोड्दै नेपाली लोकसंगीतलाई नयाँ दिशातिर हाँक्ने शिल्पीहरू हुन् – चेतन कार्की (वि.सं. १९९५), गोपाल योञ्जन (वि.सं.२०००–२०५४), कल्याण शेरचन (वि.सं. २००३–२०६७), लोकबहादुर गुरुङ (वि.सं. २००४–२०७१), क्षेत्र गुरुङ (वि.सं. २००७), पूर्ण नेपाली (वि.सं.२०११), ओबी सोल्टी (वि.सं. २०१३) आदि  ।

यिनै शिल्पीहरूको बीचैबीचबाट आफ्नो चिनारी दिन सफल पारखी हुन् कल्याण शेरचन । गायन, नृत्य र वाद्यवादन संगीतको तीनवटै आयाममा निपूर्ण प्रतिभा । ‘तेरो र मेरो’ को साँगुरो घेराबाट बाहिरिएर लोकसंगीतलाई नयाँ उचाइ दिन लागिपरेका शिल्पी । एउटा अवैयक्तिक व्यक्तित्व । गीतमा नेपाली लोकजिन्दगानीको ढुकढुकी सुन्न चाहने पारखी । गुणी र तृप्तिदायक व्यक्ति भएकाले उनी धेरैका स्मृतिमा ढुङ्गामा खोपिएका अक्षरजस्तै चिरस्थायी छन् ।

उनका दौतरी र अनुजहरूका दृष्टिमा उनी स्वार्थरहित ढङ्गले लोकगीतको श्रीवृद्धिमा लागेका व्यक्ति हुन् । उनी ‘म’ होइन, ‘हामी’ भन्न रुचाउँथे । उनी गाउँ गाउँबाट लोकभाका संकलन गरेर आफ्ना गायकी समूहमा पेश गर्थे । त्यसलाई लोकजिन्दगानीको पाइन चढाएर चिरिच्याँट पार्थे । उनलाई आफू गीतको संकलन हुँ भन्ने लोभ र घमण्ड थिएन । त्यसैले उनको गायकी समूहले स्वराङ्कन गरेको अधिकांश गीतमा उनको निजी परिचय छैन । छ त केवल सामूहिक परिचय ।

‘गाई त मरे लेकिन बाघैले खाला, मै त मरे लेकिन यो जोवन कहाँ जाला’, ‘बरको छायाँ, घरको के माया’, ‘माछापुच्छ्रे भन्नुमात्रै धौलागिरी अल्को, आज भेट्नु रैछ हिजो लाग्यो झल्को’, ‘खुट्टामा नेल परे पर्ला झ्याउरेमा ननाची छाड्दिनँ’, ‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै’, ‘हजूरैको नि हो चौतारीमा हो बरै लरकेको बर’ जस्ता धेरैले रुचिकर र कर्णप्रिय मानेका गीत कल्याण शेरचनसहितको गायकी समूहको मिहेनत र सहकार्यको प्रतिफल हुन् । नेपाली माटोकोे वासना मगमगाउने यी गीत गाउँबस्तीका झुपडीदेखि गोर्खा सैनिकको छाउनीसम्म गुञ्जिरहे । आजपर्यन्त गुञ्जिरहेका छन् ।

कल्याण शेरचन हामीमाझ छैनन् । समयक्रमसँगै उनीलाई बिर्सने उपक्रम तीव्र गतिमा शुरु भए पनि उनका प्रशंसक, समकालीन र अनुजहरूले उनलाई हृदयको एउटा कुनामा सजाएर राखेका छन् ।

संगीत पारखी गणेश रसिक (वि.सं.२००४) ले कल्याण शेरचनलाई लोकभाकालाई टपक्कै टिपेर फूलको माला गाँसेझैं गीतमा उन्न र लयबद्ध गर्न खप्पिस प्रतिभाको रूपमा ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा चित्रण गरेका छन् । रसिकले लोकबहादुर गुरुङ, क्षेत्र गुरुङ, पूर्ण नेपाली, सुवर्ण बज्राचार्य, कविता आले, तारा थापा, शशी राईजस्ता प्रतिभासँग उनको ‘केमेष्ट्री’ खुबै मिल्नुलाई नेपालको सांगीतिक वृत्तमा एउटा मीठो संयोगको रूपमा देखापरेको चर्चा गरेका छन् ।

कल्याण शेरचनसँग बाक्लो संगतमा रहेका लोकगीत पारखी बसन्त थकाली (वि.सं.२०१६) उनलाई लोकगीतको मौलिकतामा जोड दिने होनाहार प्रतिभाको रूपमा लिन्छन् । ‘गीतमा स्थानीय शब्दको प्रयोगमा जोड दिने, गीतको ‘थिम’ छनोट गरी त्यसको केन्द्रीय सन्देश पत्ता लगाउने; ‘थिम’ अनुसार गीतले भाव सम्प्रेषण गरे–नगरेको ख्याल गर्ने; तथा जुन भेगको गीतको गीत हो, त्यहीको शब्द र लयलाई जस्ताको तस्तै उतार्ने विषयमा उहाँको ध्यान जान्थ्यो ।’ थकाली कल्याण शेरचनको मनोभावलाई ‘गुरुमन्त्र’ का रूपमा सम्झन्छन् ।

लोककिन्नरी हरिदेवी कोइराला (वि.सं.२०१६) ले कल्याण शेरचनलाई नेपाली मनहरूलाई जोड्ने सेतुको उपमा ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा दिएकी छिन् । मानसम्मानको पटक्कै लोभ नगर्नेे, लोकगीतमा नेपाली जीवन देख्ने, अनेकतामा एकता खोज्ने एवम् लोकगीतको माध्यमबाट मानवीय प्रेमलाई फराकिलो घेरामा विस्तार गर्न तल्लीन प्रतिभावान् व्यक्तिको रूपमा कोइरालाले उनलाई सम्झेकी छिन् ।

पोखरालाई कार्यक्षेत्र बनाएर सांस्कृतिक पत्रकारिता गर्दै आएका तिलक पुन (वि.सं.२०२०) ले कल्याण शेरचनको ग्रामीणजन र लोकगीतप्रति देखाएको सामीप्यबारे एउटा मृदुप्रसंग कोट्याएका छन् । ‘हालको फूललबारी ब्यारेक भएको ठाउँमा भारत सरकारले छाप्रो हाली अस्थायी पेन्सन क्याम्प खडा गरेको थियो । त्यहाँ वर्षको एकपटक पेन्सन वितरण हुन्थ्यो । पेन्सन थाप्नका लागि टाढा–टाढाबाट लाहुरे समुदायका परिवारजनहरू हुलका हुल आउँथे । साथमा भाँडावर्तन र सामल पनि ल्याउँथे । त्यो जमघट पश्चिमाञ्चलकै कुम्भमेलाजस्तो हुन्थ्यो । त्यहाँ रातभरि जुहारी चल्थ्यो । कल्याण शेरचन पनि त्यही हुलमा एकाकार भएर स्वरमा स्वर मिलाइरहेका हुन्थे, भावना साटासाट गरिरहेका हुन्थे ।’ उनी सम्झनाको पेटारो खोल्छन् ।

चिन्नेजान्नेहरूले उनलाई शहरमा भन्दा ग्रामीण परिवेशमा रमाउने पारखीको रूपमा लिने गर्छन् । उनी बेलाबखतमा ग्रामीण बस्तीहरूको भ्रमणमा निस्कन्थे । ग्रामीण परिवेश र ग्रामीणजनसँग गहिरो नाता गाँस्थे । ग्रामीणजनसँग माया–ममता र सदभाव साटासाट गर्थे । घर फर्कँदा लोकजिन्दगीको ढुकढुकीसहितको लोकसुसेली हृदयभरि साँचेर ल्याउँथे । उनी ठेट लय र भाकाभन्दा बाहिर जानै चाहँदैनथे । उनले संकलन गरेका गीतमा लोकजिन्दगानीको तस्बिर झल्कन्थ्यो । यही कारण हुनसक्छ, उनले संकलन र स्वराङ्कन गरेका गीत हुनसम्म लोकप्रिय र श्रुतिमधुर छन् ।

कल्याण शेरचन सम्मिलित गायकी समूह र त्यसका गीतलाई बहुआयामिक ढंगबाट विश्लेषण गर्न सकिन्छ । चेतन कार्कीजस्ता शब्दशिल्पी, गोपाल योञ्जनजस्ता लोक, आधुनिक र शास्त्रीय संगीत तीनवटै विधामा पारङ्गत व्यक्तित्व तथा समूहमा एक से एक प्रतिभावान् शिल्पीहरूको जमघटबाट यो समूह निकै चम्किएको तथ्य निर्विवाद छ ।

गीत फगत गीतमात्र होइन, सामाजिक रीतभाँतको मार्गदर्शन पनि हो भन्ने सन्देश यो समूहको गीतमा पाइन्छ । कुनै पनि साइनोपात गाँस्नुभन्दा अघि सोधनी–पुछनी र चिनजान गर्नुपर्छ अन्यथा ‘अर्सल–बिर्सल’ पर्नसक्छ  भन्ने परम्परागत भनाइ छ । कल्याण शेरचनको गायकी समूहले स्वाराङ्कन गरेको गीतले यही मर्मको चुरो पक्रिएको छ : ‘कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती–मामली, नानी त रैछौ हाम्रै दमाली’ । गीतमा व्यक्त भाव गहिरो छ ।


यो समूहकोकेही नितान्त मौलिक योगदान छ ।  कौरा (‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो, अहिले पो बूढो भयो र’), तामाङ सेलो (‘च्याङवा होई च्याङवा, च्याङवबाले आज क्या भन्छ’) जस्ता जनजातीय संगीत (इथ्नोम्युजिक) लाई यही समूहले मूलधारमा ल्यायो । हिजो सीमान्तकृत अवस्थामा रहेका यी गीत जनजिब्रो भुण्डिए । सीमित दायराका गीतले स्थान पाएका त्यस समयमा नयाँ किसिमका गीतको प्रवेश आफैंमा महत्वपूर्ण उपलब्धि थियो । उनीहरू यस सुकर्मको श्रेयभागी छन् ।

‘वन हुनलाई रुख चाहिन्छ र रुख विना वनको महत्व पनि हुँदैन’ भनेझैं यो गायकी समूहको सामूहिक पहिचान र व्यक्तिगत चिनारी दुवै छ । कल्याण शेरचनलाई सिङ्गो वनको एउटा रुखको रूपमा हेर्दा उनी आफैं सक्षम, उर्जावान् एवम् प्रतिभाशाली व्यक्तिका रूपमा देखापर्छन् ।

मौलिक लोकगीत संकलन र गायन उनको सांगीतिक व्यक्तित्वको एउटा विशिष्ट पाटो हो । अहिले धेरै भुल्दै गएको र धेरैले ढङ्ग नपुर्‍याउने  तेर्सो (ढिलो र लम्बेतान) भाकाका शिद्धहस्त शिल्पी हुन् । ‘सुखी ज्यानलाई गुँदरी काम्लो, मै दुःखीलाई जहाँ बस्यो उही राम्रो’ बोलको तेर्सो भाकामा उनको प्रतिभाको क्षितिज राम्रोसँग खुलेको धेरैले चर्चा गर्छन् । यो भाका बराबर मीठो भाका अरु नभएको धारणा लोकगीत अनुरागीहरूको छ । तेर्सो भाकाको रसमा भिजेकाहरू यसलाई ‘राजा भाका’ भन्न रुचाउँछन् ।

कल्याण शेरचनको प्रतिभाको एउटा सानो चर्चामात्र यो । उनका सांगीतिक देनसम्बन्धी आयामहरू खोज्दै जाँदा जीवन भोगाइ र अनुभूतिका थुप्रै पानाहरू पल्टिन सक्छन्, जुन अपरिमित छन् ।

‘फूलको वासना डाँडावारि, मान्छेको वासना डाँडापरि’ भन्ने उखान उनको जीवनमा पनि चरितार्थ भयो । दुनियाँभरि मगमगाएको उनकोे जमगाउँदो–मगमगाउँदो व्यक्तित्व उनकै घरपरिवारमा त्यतिविधि मगमगाउन पाएनछ । दुनियाँले भलीभाँती चिन्दा पनि परिवारजनले नै उनलाई राम्रोसँग चिन्न नसकेको परिवारजनबाटै स्वीकारोक्ति आएको छ ।

उनका दाजु नरबहादुर शेरचनले आफ्ना भाइलाई दुनियाँले कानको फूलजस्तो प्यारो ठानिरहँदा पनि आफूहरूले चाहिँ कस्तुरीले आफूभित्रको सुगन्ध चिन्न नसकेझैं आफ्नै परिवारका होनाहार प्रतिभालाई उचित किसिमले चिन्न नसकेको भाव प्रकट गरेका छन् । उनले आफ्नो भाइको निधन भएपछि उनको व्यक्तित्व र कृतित्वबारे आमसञ्चार माध्यममा आएका समाचार तथा विश्लेषणहरूबाट उनी दुनियाँको भयानक निधि रहेछन् भन्ने थाहा पाएको ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा उल्लेख गरेका छन् । कल्याण शेरचनकी धर्मपत्नी शर्मिला शेरचनले पनि आफूले श्रीमानलाई जुन रूपमा चिन्नुपर्ने थियो, त्यो रूपमा चिन्न नसकेको अभिव्यक्ति दिएकी छिन् ।

भनिरहनु नपर्ला, नेपाली लोकसंगीतको क्षेत्रमा कल्याण शेरचन एउटा सम्झनलायक नाउँ हो । नयाँ पुस्ताले उनलाई सम्झन्छन् कि सम्झँदैनन्, त्यो उनीहरूकै आत्मानुभूति र विवेकको कुरा हो । आखिर, कुरोको चुरो कल्याण शेरचन र साथीहरूको गीतले नै समातेको छ : ‘सम्झे माया लाखै भयो, बिर्से के गर्ने’ ।

[साभार : अन्नपूर्ण पोष्ट (माघ २, २०७२) ]

Saturday, November 28, 2015

मध्यआकाशमै अस्ताएको नक्षत्र


–यमबहादुर दुरा

अङ्ग्रेज कवि पीबी शेली (सन् १७९२–१८२२) ले ठीकै भनेका हुन्, ‘दुःखका गीतहरू नै अतिशय सुमधुर हुन्छन् ।’ उनले भनेझैँ  लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) अतिशय सुमधुर गीत गाउने किन्नर हुन् । उनले जनमनका गहिरा विरह–व्यथालाई गीतमा उनेर गाए ।  उनका गीतहरू अतिशय सुमधुर मानिन्छन् । ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘साइँलो दाइ कहाँ गयो, पानी खाँदा न्याउली झुरायो’ जस्ता गीत उनका ‘सुपरहिट’ लोकसिर्जना हुन् । समयले पछि पारिसक्दा पनि यी गीत लोकस्मृतिबाट हटेका छैनन् ।

लोकबहादुर क्षेत्री समयको यस्तो चलयमान घडीमा जन्मे, जुन घडीमा सुखको खोजीमा पहाडबाट मधेश झर्ने युगको सूत्रपात भएको थियो । नेपाली समाजमा एकपेट पाल्नकै लागि मुगलान जाने परम्परा त धेरै अघिदेखि नै कायम छँदैथियो । त्यसमा पनि उनी जन्मेको समयको सेरोफेरोमा पहाडका पुर्ख्यौली  थलो छाडेर मधेश झर्ने नयाँ चलन शुरु भयो । उनी आफ्नो नाभी गाडिएको थलो गुल्मीमा तोतेबोली बोल्दै गर्दा मुगलान जाने परम्परा र आन्तरिक बसाइँ सराइको साक्षी बने ।

स्थान्तरणको बढ्दो गतिले निम्त्याएका बिछोड र पीडादायी परिस्थितिहरूले उनको मनलाई एकतमाससँग हुँडलिरह्योे । बसाइँ सराइाबाट उत्पन्न विरह–वेदनालाई उनले अन्तस्करणबाटै अनुभूत गरे । आर्थिक तथा सामाजिक परिस्थितिले निम्त्याएको बसाइँ सराइका पीडादायी क्षणहरूले उनको हृदयमा अमिट छाप छाड्यो, जसको प्रतिविम्ब उनका गीतमा छताछुल्ल भेटिन्छन् ।

आन्तरिक बसाइँ सराइले नेपाली गाउँबस्तीहरूमा थुप्रै साथीसंगी र दौतरीहरूलाई बिछोडको तीतो चखायो । थुप्रै समकालीन दौंतरी र समबैंशेहरूका मनमा बिछोडको आँधीहुरी चल्यो । यसप्रकारको सामाजिक परिवेशलाई लोकबहादुर क्षेत्रीले सूक्ष्म रूपमा अवलोकन तथा अनुभूत गरेका छन् । यही पीडादायी अनुभूतिलाई हृदयको एउटा कुनामा संगालेर उनले गाए, ‘पँधेरामा धुल्यो उँड्यो मूलको पानी सुक्दा, साइला दाइकै झल्को लाग्छ गाउँमा कुकुर भुक्दा’ । यो गीत सुनेर धेरैको आँखाबाट आँसुको मूल फुट्यो ।

उनका गीतहरू लिलाटमै मुगलानको कष्टभोग लेखिएका असंख्य नेपालीहरूका लागि ‘हृदयको गीत’ बन्न पुगे । मुगलान पसेका छोरा घर फर्कने आशामा बृद्ध आमा–बा आँगनको डिलबाट बाटो हेरेर बस्नुपर्ने अवस्था हिजो पनि थियो, आज पनि छ । नेपाली समाजको यो वास्तविकतालाई उनले आफ्नो गीतमा मार्मिक ढङ्गबाट चित्रण गरेका छन् । उनले गाएका छन्, ‘हे बाबु फर्क है अब त, तिमै मुख हेर्नलाई बाँकी छ’ ।

लोकबहादुर क्षेत्रीका गीतमा अभाव र विपत्तिबाट ग्रसित ग्रामीण जीवनका कारुणिक तस्बिर झल्कन्छ । उनले गाएका गीतको एउटा पंक्ति यस्तो छ, ‘घरबारी गोठ पनि पहिराले लाग्यो, दैव पनि हाम्लाई मात्र लागेजस्तो भयो’ । यो गीतको मर्मसँगै गहिरिँदै जाँदा भएभरका कष्टभोगमा रुमल्लिएका ग्रामीण जीवनको नाभी नै यसमा भेटिन्छ । यस्तो लाग्छ, उनको गीतको मर्म प्रसान्त महासागरको ‘मरियाना ट्रेन्च’ भन्दा पनि गहिरो छ ।

बसाइँ–सराइले तत्कालीन समाजमा वियोगका लहरहरू छचल्काए पनि यसले नेपाली लोकगीतको क्षेत्रमा लोकसंगीतको क्षेत्रमा एउटा सुखद संयोग पनि निम्त्याएको छ, । बसाइँ–सराइले निर्माण गरेको यो सांगीतिक परिवेश गजब मीठो छ । लोकगीत–पारखीहरू लोकबहादुर क्षेत्री, तेजबहादुर केसी (वि.सं. २०१९), नारायण रायमाझी (वि.सं. २०२०) र कृष्णसुधा ढुङ्गाना (वि.सं. २०१६) पहाडबाट बसाइँ–सरेर नवलपरासीमा पुगे । क्षेत्री, केसी, रामयमाझी र ढुङ्गाना क्रमशः गुल्मी, प्यूठान, पाल्पा र लमजुङबाट बसाइँ सरेर नवलपरासी पुगेका हुन् ।

यी पारखीहरूबीचको आपसी हिमचिम र आत्मीय सम्बन्धले लोकगीत सिर्जनाकर्म हलक्क मौलायो । आञ्चलिक मिठासले भरिएका लोकलय संलकन, शब्दरचना र रेकर्ड गर्ने कार्यमा नसोचिएको प्रगति भयो । सयौं पुष्परसले बनेको महजस्तो बेहद मीठा लोकगीत सिर्जना भए । रेडियो नेपालमा श्रुतिमधुर र भावप्रधान लोकगीतहरू रेकर्ड भए । ती गीत गाउँबस्तीहरूमा बिछट्टै लोकप्रिय भए । लोकगीत पारखीहरूले तयार पारेका यसप्रकारको विशाल परिवेशयुक्त भावभूमिमा लमजुङ (नाल्मा) का विरही गायिकाद्वय माया गुरुङ र उमा गुरुङदेखि नवलपरासीकै प्रतिभा प्रचण्डबहादुर बुढाथोकी मगरसम्म तानिए ।

सोही समयमा यिनै पारखीहरूको संयोजनमा रेकर्डिङ कम्पनीहरूबाट ‘गाइको चरन’ (२०४३), ‘रातो घाम’ (२०४६), ‘नवलपुरे दाइ’ (२०४६) ‘औंठी हीराको’ (२०४७) जस्ता नेपाली जनजीवनको स्पन्दन भेटिने गीतका अल्बमहरू उत्पादन भए । ती गीत लाहुरेले काँधमा झुण्ड्याउने टेपरेकर्डदेखि विदेशमा बस्ने नेपालीका कार्यस्थलसम्म घन्कन थाले । सांगीतिक सिर्जनाकर्म यो सिङ्गो गाथा लोकगीतको इतिहासमा एउटा कोशेढुङ्गा बनेको छ ।

लोकबहादुर क्षेत्रीले जीवनको केही कालखण्ड ‘रेडियो नेपाल’ को जागिर (वि.सं. २०३६–२०४३)  खाएर बिताए । सोही समयमा रेडियो नेपालमा कार्यरत स्याङ्जाकी सावित्री शाहसँग उनको भेट भयो । उनले मखमली स्वरकी धनी शाहसँग युगल गायन गरे ।  सावित्री शाहसँग उनको साङ्गीतिक जोडी खुब जम्यो । २०३६ सालदेखि रेडियो नेपालबाट घन्किन थालेको गीत ‘घर त मेरो सलल हो स्याङ्जा जिल्ला, माया लाउन सलल मिल्ला कि नमिल्ला’ लोकप्रियताको शिखरमा पुग्यो ।  ‘छमछम नाचिदेउ निउरेर, हातमा रुमाल कानमा  फूल  सिउरेर’ जमेको अर्को युगल गीत हो ।

यी गीत सुनेर असंख्य ग्रामीणजन भावविभोर भए, स्वर्गीय आनन्दमा लीन भए । गीतबाट नेपाली मनहरू तरङ्गित भए, जन–जनको गलामा यी गीत गुञ्जन थाले, गाउँबस्ती रनघन भए । यस प्रसंगलाई नेपाली लोकसंगीतमा एउटा सुखद संयोग मानिन्छ । 

लोकबहादुर क्षेत्री संगीतको गहिरो ज्ञान भएको प्रतिभा थिए । उनले छोटो समयमा धेरै स्तरीय गीत गाए । उनी संख्याको पछि दौडेनन् । गीत थोरै होस् तर स्तरीय होस् भन्नेमा उनको ध्यान गएको थियो । छोटो समयमा नेपाली लोकगीतको दुनियाँमा उनले आफ्नो गतिलो परिचय दिए । लोकगीत–पारखी कृष्णसुधा ढुड्गानाको दृष्टिमा क्षेत्री ‘नेपाली लोकगीतको मोतीराम भट्ट’ हुन् ।

स्तरीय नेपाली लोकगीतलाई दीर्घजीवन दिनका लागि अघोषित अभियानमा लागेका लोकबहादुर क्षेत्री स्वयम्को आयुचाहिँ छोटो रह्यो । २०५० साल पुस ६ गते नवलपरासीको बर्दघाटमा उनी मोटरसाइकल दुर्घटनामा परे । परिणामस्वरूप उनले ३२ वर्षको भर्भराउँदो उमेरमा सांसारिक नाता तोडे । उनको असामयिक र अनपेक्षित अवसानले असंख्य लोकगीत अनुरागी र साथीसंगीहरूको हृदयमा गहिरो घाउ लाग्यो । उनी लोकगीतको एउटा चम्किला नक्षत्र थिए । तर त्यो नक्षत्र मध्यआकाशमै अस्तायो ।

लोकबहादुर क्षेत्री यस दुनियाँमा नभए पनि उनले बुनेको सांगीतिक परिवेशको चर्चा हुन छाडेको छैन । सानै वृत्तमा किन नहोस् आज पनि उनी लोकगीत अनुरागीहरूबीच प्रिय छन् । उनका समबैशे दौंतरीहरूसँगको उठबसका संस्मरण हिर्दयभरि समेटिएका छन् । उनीसँग आत्मीय सम्बन्ध रहेका लोकगीत पारखी तेजबहादुर केसीको एउटा संस्मरण यस्तो छ :

प्रसंग २०४८ सालतिरको हो । लोकबहादुर क्षेत्री र तेजबहादुर केसी रिङ्दैघुम्दै नवलपरासीको रतवल भन्ने ठाउँमा पुगे । बाग्लुङबाट बसाइ सरेर आएकी एकजना महिला आँगनमा गुन्द्री बुनिरहेकी थिइन् । भोकले के खाउँ के खाउँ भएका लोकबहादुर क्षेत्री महिलासँग मुला मागे । ती महिलाले दिन चाहिनन् ।

यत्तिकैमा क्षेत्रीले गीत गुनगुनाउन थाले,  ‘कहिले तल कहिले माथि चर्खे पिङको पिर्का, कति मूलको पानी खाएँ मेटिएन तिर्खा’, ‘यसै राम्रो त्रिवेणी त घाम लागेको राम्रो, मरी जानी चोला रैछ त नि हाम्रो’ । गीत सुनेर ती महिलाले बबर आँसु खसालिन् । मुला पनि दिन तयार नभएकी ती महिलाले कुखुरा काटेर सुस्वादु परिकारका साथ स्वागत सत्कार गरिन् ।

उनको गीतले ग्रामीणजनको हृदय पगालेको यो एउटा सानो दृष्टान्तमात्र हो । उनको गीत र सांगीतिक यात्राको गहन विश्लेषण गर्ने हो भने यस्ता थुप्रै मृदुप्रसंगहरू उजागर हुन सक्नछन् । तर यस्तो कार्य हुन सकिरहेको छैन ।

लोकस्मृति एकदमै छोटो हुन्छ । दुनियाँले आखै अघिको कुरामात्र बढी देख्छ र समयले पछि पारेको कुराहरूलाई छिटो छिटो बिर्सदै जान्छ । दुनियाँको रङ्गमञ्चमा आउने नयाँ पात्रका अगाडि पुराना पात्रहरू ओझेल पर्दै जान्छन् । लोकबहादुर क्षेत्री पनि यस शाश्वत नियमको अपवाद बन्न सक्तैनन् । तर पनि उनका सच्चा अनुयायी र प्रशंसकहरूले उनलाई युगयुगान्तरसम्म सम्झिरहने तथ्यलाई सजिलै नकार्न सकिँदैन ।

[साभार : अन्नपूर्ण पोष्ट । (मंसिर १२, २०७२) ]