Showing posts with label दुराडाँडा. Show all posts
Showing posts with label दुराडाँडा. Show all posts

Thursday, May 9, 2019

पहिचान गुमाएको दुराडाँडा

-यमबहादुर दुरा

नयाँ वर्ष २०७६ को शुरुवाती दिनहरू दुराडाँडावासीका लागि चहलपहलपूर्ण बने । नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म चलेको ‘ऐतिहासिक दुराडाँडा महोत्सव’ ले अलिकतिमात्र भए पनि दुराडाँडामा गुलावी क्षणहरू निम्त्याइदियो । महोत्सवले गाउँ छाडेर गएकाहरूलाई फेरि एक पटक गाउँ फर्कन प्रेरित गर्‍यो । त्यही डाँडामा जन्मेका तर गाउँमा पुग्न नसकेकालाई कम्तिमा गाउँको सम्झना गर्ने अवसर त्यही महोत्सवले जुटाइदियो ।

महोत्सवको चाँजोपाँजो मिलाउने क्रममा थुप्रै कमीकमजोरी छरपष्ट भए पनि त्यसले भेटघाटका र रङ्ग–रेशमका मीठो संयोगहरू जुराइदियो । दुराडाँडाको शीर्षभागमा रहेको कालिका मन्दिरमा लाग्ने चैतेदशैं मेला, त्यही अवसरमा हुने छेलो प्रतियोगिता तथा नाचगान, दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ को २६ औं वार्षिकोत्सव समारोह र त्यससँग जोडिएका विविध सांस्कृतिक कार्यक्रम र सामूहिक भोजभतेरले महोत्सव सम्झनलायक बनेको थियो ।

यसका अतिरिक्त महोत्सवमा दुराडाँडाको समग्र विकासका सन्दर्भमा केही बौद्धिक विचार–विमर्श भए । दुराडाँडाको नामकरण दुराहरूकै नामबाट भएको भन्ने कुरामा शंका गरिरहनुपर्ने ठाउँ छैन । यही पृष्ठभूमिमा दुरा समुदायको भाषा र संस्कृतिबारे बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत भए । दुराडाँडामा  पर्यटन उद्योग र कृषि उद्यमलाई कसरी  विकास गर्न सकिन्छ भन्नेबारे पनि कार्यपत्रहरू प्रस्तुत भए । यी विषयवस्तुलाई  व्यावहारिक जामा पहिर्‍याउन कति सम्भव छ वा छैन, त्यो बेग्लै विषय हुनसक्छ ।  कम्तिमा बौद्धिक खुराक पस्कने काम भयो । यसमा खुसी मान्नैपर्ने हुन्छ ।

महोत्सवको उद्घाटनका क्रममा दुराडाँडा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र समापनका क्रममा हस्याङफस्याङ गर्दै दुराडाँडा उक्लिएका सांसद देव गुरुङ, नेपालका लागि इजरायली राजदूतजस्ता विशिष्ट पाहुनाहरूका रसिलो र भरिलो अभिव्यक्तिबाट दुराडाँडावासी मख्ख परे । पृष्ठभूमिमा  दृष्टिगोचर भएका यस्ता मीठा प्रसंगले दुराडाँडावासीमा क्षणिक खुसी थपे पनि उनीहरूको भित्री मन त्यति खुसी थिएन ।

अहिले दुराडाँडा अभिशप्त अवस्थामा छ । गाउँ छाडेर शहर वा विदेश धाउने राष्ट्रव्यापी रोगले दुराडाँडा थलिएकै छ । त्यो भन्दा पनि दुःखद कुरा, राजनीतिक शक्तिको कपटपूर्ण व्यवहारले दुराडाँडालाई एकढिक्क रहन दिएन, जसबाट दुराडाँडा दुःखी बनेको छ । भौगोलिक र सांस्कृतिक दुवै हिसाबले एकीकृत अवस्थामा रहनुपर्ने दुराडाँडालाई राजनीतिक शक्तिले विभाजित गरिदियो । यससँगै दुराडाँडाको शक्ति छिन्नभिन्न भएको छ ।

दुराडाँडालाई छिन्नभिन्न बनाउने खेल २०४६ सालको राजनीतिक परिवर्तनपछि नै शुरु भएको हो । त्यसबेला क्षेत्र विभाजनका क्रममा एउटै दुराडाँडालाई तीन टुक्रा पारियो । त्यसपछि देश संघीय प्रणाली आयो । राज्य पुनसंरचनाको क्रम शुरु भयो । यस पटक त पहिले गरिएका गल्ती सच्चिनेछ भन्ने आशा धेरैमा थियो । तर, नतिजा उल्टो निस्कियो । दुराडाँडा फेरि पनि विभाजनको शिकार भयो । एउटै दुराडाँडा तीन टुक्रामा विभाजित भयो ।

यहाँका दुरा समुदाय दुराडाँडा टुक्रिनु हुँदैन भन्नेमा थिए । यस्तो सोचाइ राख्नेमा दुराहरूमात्र थिएनन् । यहाँ क्षेत्री–बाहुन र अन्य समुदायका दाजुभाइ–दिदीबहिनीहरूको मत एकै थियो–दुराडाँडा सग्लो अवस्थामा रहनुपर्छ । दुराडाँडालाई टुक्र्याउनका लागि नेपथ्यमा चलखेल चल्दैछ भन्ने आभाष दुराडाँडावासीले पाएका थिए । त्यसो हुन नदिन उनीहरू एकजुट भए । यस क्रममा ‘दुरा सेवा समाज’ र दुराडाँडावासीको सामाजिक संस्था ‘दुराडाँडा सेवा समाज’ अभियानको कमाण्ड सम्हाल्यो ।

यी दुई संस्थाको अगुवाइमा दुराडाँडाको अखण्डता बचाउ अभियान शुरु भयो । दुराडाँडा भेगका रहेका तत्कालीन सिंदुरे, नेटा, पुरानकोट, धुसेनी, चन्द्रेश्वर र दुुराडाँडा गाविसहरू समेटेर दुराडाँडा गाउँपालिका बनाउन माग गरे । यस क्रममा राज्य पुनसंरचनाको आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउने, सार्वजनिक सुनुवाइ गर्ने, लबिङ गर्ने, जिल्लामा शक्ति प्रदर्शन गर्ने तथा प्रेस विज्ञप्ति जारी गरेर आफ्ना चासो र सरोकारलाई फराकिलो घेरामा काम गरिए । तर कतैबाट सुनुवाइ भएन ।

दुराडाँडालाई छिन्नभिन्न पार्ने कुकृत्यमा राजनीतिक शक्ति एकजुट भए । यसमा त्यो वा त्यो दल भन्ने कुरै आएन, सबै दलको मिलिभगत रह्यो । उनीहरूलाई राजनीतिक जोड–घटाउमा नै केन्द्रित भए । उनीहरूले दुराडाँडालाई टुक्र्याउनमै फाइदा देखे । यहाँका वासिन्दाको सांस्कृतिक तथा राजनीतिक अधिकार कायम गर्नेमा कुनै चासो रहेन । राजनीतिक शक्तिको अकर्मन्यताबाट दुराडाँडावासी भारी मन लिएर बाँचेका छन् । राजनीतिक कुकृत्यको सीधा असर अल्पसंख्यक दुरा समुदायमा परेको छ । मर्दापर्दा एकै थलो जुट्नुपर्ने र सोली–डोली सारनतारन हुनुपर्ने सांस्कृतिक पृष्ठभूमिमा दुरा समुदायको राजनीतिक भूगोल आज विभाजित अवस्थामा छ । दुराडाँडावासीको खुसी लुटिएको छ ।

दुराडाँडाको एउटा हिस्सा बेसीशहर नगरपालिकामा पुगेको छ भने अरू दुई हिस्सा क्रमशः सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा मिसिएका छन् । दुराडाँडाको ठूलो हिस्सा सुन्दरबजार नगरपालिकामा मिसिएको छ । सुन्दरबजार हिजो भर्खर राखिएको नाम हो । यसमा कुनै ऐतिहासिकता छैन । दुराडाँडा सताब्दीऔं पुरानो नाम हो, जसको प्रचुर  ऐतिहासिक महत्व छ ।

यस आधारमा नयाँ स्थानीय तहको नाम ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ राख्न सकिन्थ्यो, जुन न्यायोचित र तर्कसंगत पनि थियो । ‘पोखरा लेखनाथ महानगरपालिका’ नाम हुन सक्थ्यो भने ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ नसक्ने कुरै थिएन ।

 तर, लोकतन्त्र र नागरिक अधिकारको नारा फलाकेर नथाक्ने राजनीतिक शक्तिले त्यतिसम्म पनि उदारता देखाएन । राजनीतिक शक्तिको विवेकहीन रवैयाबाट दुराडाँडावासीको चित्त दुख्नु स्वाभाविकै थियो  ।

राजनीतिक शक्तिले बेवस्ता गरे पनि दुराडाँडा ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि सम्झिनुपर्ने थलो हो । शाहवंशको जग पनि यही थलोमा बसेको हो । तत्कालीन कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रह्म शाहलाई दुराडाँडाको सिंदुरे ढुङ्गामा वि. सं. १५५० मा सिंदुरजात्रा गरेर लमजुङको राजगद्दीमा बसाएसँगै नेपालमा शाहवंशको जग बसेको अभिलेख भेटिन्छ । धार्मिक ग्रन्थ 'गीता' लाई नेपालीमा अनुवाद गरेर सर्वसाधारण पाठकलाई गुन लगाउने व्यक्ति पनि दुराडाँडाकै कोमलनाथ अधिकारी (वि.सं. १९५०–२०२३)  हुन् ।

नेपाली लोकगीतको एउटा विशिष्ट विधा ठाडो भाका गीतको शीर्ष व्यक्तित्व देउबहादुर दुरा यही क्षेत्रका हुन् ।उनी पछिका ख्यातिप्राप्त ठाडोभाका भेँडीखर्के साइँला पनि दुराडाँडामै जन्मेका प्रतिभा हुन् । पछिल्लो पुस्ताका प्रतिभाह कृष्णसुधा ढुङ्गाना, कृष्ण गुरुङ, वीमाकुमारी दुरा पनि दुराडाँडाकै मगगाउँदा लोकसुवास हुन् ।

बाहुनले हलो जोत्न हुँदैन भन्ने गलत सामाजिक मान्यतालाई दुराडाँडाका व्राह्मण समुदायले चुनौती दिएको जाज्वल्यमान इतिहासलाई पनि दुराडाँडाले समेटेको छ । दुराडाँडाका व्राह्मण समुदायले वि.सं. २००६ साल साउन ११ गते हलो जोत्ने काम गर्‍यो । आफ्ना शासन–सत्ताको अन्तिम दिन गनिरहेका राणा शासकलाई समेत झस्काउने गरी गरिएको ‘हलो क्रान्ति’ आजपर्यन्त चर्चित छ । त्यसपछिका दिनमा दुराडाँडामा गरिएका शैक्षिक क्रान्ति र शैक्षिक सम्मेलनका अध्यायहरू पनि उत्तिकै गौरवपूर्ण छन् ।

दुराडाँडा नेपालका अल्पसंख्यक दुरा समुदायको पुख्र्यौली थलो हो । देशको संविधान तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरूले अल्पसंख्यकहरूको अधिकारका लागि राज्य जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालको संविधान, भाग ५, धारा ५६ को उपधारा (५) मासंघीय कानुनबमोजिम सामाजिक, सांस्कृतिक, संरक्षण वा आर्थिक विकासको लागि विशेष, स्वायत वा संरक्षित क्षेत्र कायम गर्न सकिने प्रावधान राखिएको छ । ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को २०४८ सालमै नेपाल पक्षराष्ट्र बनिसकेको छ । यसको धारा २७ ले अल्पसंख्यक समुदायको सांस्कृतिक अधिकार रक्षा गर्न राज्यपक्षले आवश्यक व्यवस्था मिलाउनुपर्ने पक्षमा जोड दिएको छ ।

विडम्बनावश, आफूलाई लोकतन्त्रको मसिहा ठान्ने राजनीतिक शक्ति यस्ता प्रावधानहरूप्रति बेखबर बने। अल्पसंख्यक समुदायलाई अधिकारसम्पन्न बनाउने भन्दा पनि उनीहरूलाई चोट पारेर राजनीतिक स्वार्थसिद्ध गर्नेतिर उनीहरूको ध्यान गयो । राजनीतिक शक्तिको विवेकहीन व्यवहारबाट सामाजिक तथा सांस्कृतिक क्षेत्रमा भरिलो इतिहास रच्ने दुराडाँडाको पहिचान अहिले आएर नामेट भएको छ । नेपालको राजनीतिक–प्रशासनिक नक्शाबाट दुराडाँडाको नाम मेटिएको छ । यससँगै पहिचानको संकट भोग्दै आएका नेपालका अल्पसंख्यक दुरा समुदायको पहिचान थप संकटमा पर्दै गएको छ ।

राजनीतिक शक्तिले दुराडाँडाप्रति देखाएको यसप्रकारको स्वार्थी, कपटपूर्ण र विवेकहीन व्यवहार आफैंमा सांस्कृतिक हिंसाको दरिलो दृष्टान्त बनेको छ । यसबाट देशको सांस्कृतिक विविधतालाई अमूल्य सम्पत्ति मान्नुपर्ने लोकतान्त्रिक मान्यताको जग नै भासिएको प्रतीत भएको छ । यसले प्रत्यक्ष वा परोक्ष रूपमा देशको भावनात्मक एकतालाई कमजोर तुल्याएको छ । भावनात्मक एकताबिना देशको चौतर्फी विकास फगत नारामात्र हुनपुग्छ । दुराडाँडाको खण्डीकरणसम्बन्धी मामिला अझै सेलाएको छैन । राजनीतिक शक्तिले यस वास्तविकताप्रति आँखा चिम्लन मिल्दैन । उनीहरूले जानीजानी गरेको गल्तीलाई ढिलो चाँडो नसच्याई सुखै छैन । सबैलाई चेतना भया ।

[साभार: परिसंवाद । २०७६ साल वैशाख २६ गते ।]

[अद्यावधिक: २०७६।०२।०४, २०७८।०७।०४]





Sunday, March 4, 2012

दुराडाँडामा आशाको त्यान्द्रो

 -यमबहादुर दुरा

गाउँघर रित्तिँदै गएको बेलामा मेरो जन्मथलो दुराडाँडा पुग्दा यसपटक मलाई बेग्लै अनुभूति भयो । गाउँघरमा चहलपहल बढेको पाएँ । गाउँमा पाखुरामा तागत भएका तन्नेरीहरु त खासै भेटिएनन् । तर त्यहाँ बचेखुचेका जे जति जनशक्ति थिए, तिनमा एकप्रकारको उत्साह भेटियो । गाउँघरको हराउँदै गएको कान्ति फेरि फर्किएजस्तो लाग्यो । उनीहरुको ओंठमा मुस्कान फक्रिएको देख्दा कोइलाखानीमा हीरा भेटिएजस्तो लाग्यो ।

लमजुङमा हालसालै शुरु भएको नयाँ पदमार्गको उद्घाटन समारोहमा भाग लिन दुराडाँडा पुग्दा मेरो मनमा उत्साहको सञ्चार  भयो । ठाउँ-ठाउँमा स्वागतद्वार उभ्याइएका थिए । गाउँ छाडेर सुखको खोजीमा देशका अन्य भागमा पुगेका गाम्ले दाजुभाइहरु त्यतिबेला गाउँमै भेटिएका थिए । उनीहरु लागीमिली काम गरिरहेका थिए । उनीहरुको उपस्थितिले गाउँघरको सहकाल फर्किएर आएजस्तो लाग्यो ।

काठमाडौंबाट बाटो लाग्दा मेरो साथमा तीनजना पत्रकार थिए-किशोर पौडेल (एबीसी टेलिभिजन), उद्धव थापा (आर्थिक अभियान)  र अनुप ओझा (द काठमाण्डू पोष्ट) । बाटोमा खाजा खान र भात खान पृथ्वीराजमार्गका होटलहरुमा पस्दा पुरानै अव्यवस्था र महङ्गी कायमै देखियो । त्यहाँ हामीबीच ठट्टा पनि चल्यो -' बाबुरामले अनुगमन टोली खटाउन छाडे, क्यारे ।' 

काठमाडौंबाट खत्रीठाँटी पुगेपछि दुराडाँडाका लागि अर्को बस समात्नुपर्ने थियो । चितवन बन्दले हामी मुग्लिनमा डेड घण्टा जाममा परेका थियौँ। परिणामस्वरुप खत्रीठाँटीबाट दुराडाँडाका लागि बस छुट्ने समय टरिसकेको थियो । भाग्यवश, त्यस दिन दुराडाँडा जाने बस निर्धारित समयमा छुटेको रहेनछ । हामीले बस भेट्टायौं । सिट प्याक भएकोले छतमा बस्यौँ ।  किशोर पौडेल भिडियो क्यामेरा नै लिएर छतमा बसे । अप्ठेरो बाटो । त्यसमा पनि  भिडियो क्यामरा लिएर छतमा बस्नुपर्ने अवस्था । क्यामरा फुट्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । मैले उनीतिर फर्केर भनें, 'क्यामरा फुट्ने हो कि?'  तर उनले मलाई उल्टै ढाडस दिए 'केही हुँदैन ।'

छतमा यात्रा गर्दा रुखका हाँगाबिंगाले हामीलाई थुप्रैपटक झापड लगायो । एकपटक रुखका हाँगाले मेरो टोपी नै खसालिदियो । भूइँ चुम्न पुगेको मेरो टोपी किशोर पौडेलले ल्याइदियो । यात्राका यिनै अनुभवहरु मनमा सजाउँदै घरमा पुग्यौँ  । हामीलाई देखेपछि आमा-बा निकै खुसी हुनुभयो । नहोस् पनि किन ! आधुनिकताले निम्त्याएको शहरबास र व्यस्तताले  वर्षमा मुस्किलले तीन चार पटकमात्र उहाँहरुसँग भेट हुने गरेको छ । बहिनीले ढिँडोरोटो पकाएकी थिइन् । भोक र थकाइले चुर भएकोले बेला त्यही ढिँडोरोटो पनि हाम्रा लागि   मिष्टान्न भोजनमा परिणत भयो । घरैमा उत्पादित बिदाइ बिजुलीपानीले करामत देखाउँदै थियो । साथीहरुका बोली लरबराउँदै थियो । उनीहरु छिट्टै निन्द्रादेवीको शरणमा परे ।

= = =

भोलिपल्ट विहान हामी पुरानकोटतिर लाग्यौँ  । घरबाट एक घण्टा जति हिँडेपछि पुरानकोट गाउँमा पुग्यौँ  । पुरानकोट थाप्लोतिर पाइला नाप्दै गर्दा विदेशी पर्यटकहरु पनि भेटिए । थकाइका सुस्केरा फ्याँक्दै करिब १ हजार ९ सय मिटर पुरानकोटको थाप्लोमा पुगेपछि आँखाले मनोरम भूदृश्य तनतनी पिउन थाल्यो । उत्तरतिर दन्तलहर खोलेर मुस्काएका हिमश्रृखला, पूर्वतिर गोर्खा,  दक्षिणतिर तनहूँ र नवलपरासी र पश्चिमतिर कास्कीका मनमोहक भूतरेलीहरु सिनेमाका 'लो सट एंगल' र 'हाइ सट एंगल' का दृश्यहरुझैं आँखा वरिपरि देखिन थाले । यद्यपि तुँवालोको घुम्टो ओढेकी प्रकृति खुल्नुपर्ने जति खुलेकी थिइनन् ।

पुरानकोट थाप्लोमा भग्नावशेषको रुपमा रहेको यशोब्रह्म शाह र उनकी रानीको बेग्लाबेग्लै दरबारलबारे गुरुप्रसाद ढुङ्गाना, दामोदर अधिकारीलगायतका स्थानीय जानकारहरुले दिएको जानकारीले हामीलाई इतिहाससित रुबरु गरायो । त्यस घडीले मलाई मेरा गुरुजनसँग पनि रुबरु गरायो । वर्षौंदेखि अलगथलग हुन पुगेका मेरा गुरुहरु लालबीर गुरुङ र बुद्धिबहादुर गुरुङ भेटिए, त्यहाँ । गुरुहरुसँगको भेटघाटले मन फुरुङ्ग भयो । उहाँहरु मलाई बाल्यकालमा शिक्षा दिने गुरु हुनुहुन्छ । उता पुरानकोटका गुरुङसेनी चेलीबेटीहरुले प्रेमपूर्वक दिएको भुटेको मकै, लट्टे, मह र अचारले तन र मन दुवै पुष्टिँदै थियो ।

पुष्टिएको  तन र मन लिएर पुरानकोटको थाप्लोबाट तलतिर झर्यौँ , 'रक क्लाइम्बिङ वाल' को उद्घाटन कार्यक्रममा सहभागी हुन । 'रक क्लाइम्बिङ वाल' उद्घाटन स्थलमा थुप्रै स्थानीय बासिन्दाहरुले अघि नै भरिभराउ भएको रहेछ । सूचना आयोगका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, नेपाल सरकारका सहसचिव कृष्ण रानादेखिका गन्यमान्य व्यक्ति र विदेशी पाहुनाहरु 'रक क्लाइम्बिङ' को रोमान्चक दृश्यमा रमाउन ढुङ्गे पहरामा आँखा जोतेर बसिरहेका थिए । 'च्वाइस इन्टरनेसन' का निर्देशक क्रिस जोन्सनले रक क्लाइम्बिङ वालको उद्घाटन गरेपछि त्यहाँ बेजोडसँग  सिठी बज्न थाल्यो । लगभग १ सय ६० फिटमाथिको ढुङ्गे पहराको टुप्पोबाट दुई युवा तुलबहादुर गुरुङ र राजकुमार गुरुङ डोरीको साहराबाट तलतिर झर्न थाले । त्यस क्षणलाई जीवन्त बनाउन भिडियो क्यामरादेखि मोबाइलसम्मको प्रयोग फोटो खिच्नेहरुको भीड नै उर्लियो ।

त्यतिबेला नै पुरानकोट एक युवा निकै हर्षित हुँदै पत्रकार अमृत भादगाउँलेलाई फोन गर्न थाले । केही वर्षअघि पुरानकोट पुग्दा अमृत भादगाउँलेले 'रक क्लाइम्बिङ' लाई सपना भनेका थिए रे । त्यस सपना पूरा भएको जानकारी दिन अमृतजीलाई फोन गरेर उनी भावुक मनोभावमा वायुतरङ्गमार्फत छताछुल्ल पोख्दै थिए । हुन पनि पुरानकोटको रक क्लाइम्बिङ तान्द्राङकोट-पुरानकोट पदमार्गको मात्र नभई नेपालभरिकै पदमार्गहरु गहना ठहरिन पुगेको छ ।
= = =
पुरानकोटको भव्य कार्यक्रमपछि बिदाइका हात हल्लाउँदै हामी तुर्लुङकोटतिर लाग्यौँ । झमक्कै साँझपरेपछि तुर्लुङकोट आइपुग्दा जाडोको जवानी बेजोड ढङ्गले बढिरहेको थियो । जाडोले हामीलाई सेक्नुसम्म सेक्यो । तर हामी जाडोसँग डराएनौँ । ठाउँ ठाउँमा मुढा जोतिएका थिए । आधुनिक भाषामा भन्नुपर्दा त्यहाँ गाउँले शैलीको 'क्याम्प फायर' गरिएका थिए । त्यतिमात्र कहाँ हो र!  कोदाकॊ खाँट्टी बिजुलीपानीले पाहुनाहरुको भित्री कम्मल बनेर जाडोको दोहोलो काढ्न तम्तयार थियो । त्यहाँ उपलब्ध तातो-तातो चिया र तातो पानी पनि जाडोलाई निस्तेज बनाउन प्रयासरत थिए । खानपिनपछि चलेको नाचगानले त जाडोलाई झनै पर धपाइदिएको थियो । 

विहान खाजा खाएपछि पर्यटक र पत्रकारहरु फोटो खिच्न र गाउँघर डुल्न व्यस्त देखिए । दुराडाँडामा जन्मेकी प्रसिद्ध लोकगायिका बीमाकुमारी दुराको गीतमा उल्लिखित तुर्लुङकोटको लाँकुरीबोटको तस्बिर खिच्नमा व्यस्त थिए,पत्रकार किशोर पौडेल । बिडम्बना नै भन्नुपर्ने हुन्छ, इतिहास रच्न सफल त्यो लाँकुरीबोट रहेको चौतारी बाटो खन्ने बुल्डोजरको निर्मम आक्रमणको निसाना बनिसकेको छ । त्यो चौतारी थोते र कुरुप बनेको छ । 

लमजुङ तुर्लुङकोट
सरर हावा चल्यो लाँकुरीको बोट

बीमाकुमारी दुराको कोइलीजस्तो स्वरले चित्रण गरेको त्यो लाँकुरीबोटको भौतिक अवस्था गीतजस्तो सुन्दर छैन, अहिले । बीमाकुमारी दुरा, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गानाजस्ता लोकप्रतिभा र पाखुरामा जाँगर भएका गाउँले युवाहरुको अनुपस्थितिमा त्यो लाँकुरीको बोट एक्लो छँदैथियो, त्यसमा पनि भत्कन लागेका लाँकुरी चौतारीको दुरावस्था देखेर भित्री मन गहिरो गरी दु:ख्न थाल्यो । हामी खिन्न भएको मन लिएर 'तुर्लुङकोट गढी' हुँदै तुर्लुङकोटकोटको थाप्लोतिर लाग्यौँ  । उकालो लाग्दा देखिएका आँखाको अघिल्तिर नाँच्न आएका मनोरम प्राकृतिक भूदृश्यहरुले दु:खेको मनलाई विस्तारै ओखतीमूलो गर्न थाल्यो । चौतारीको बेहाल देखेर चिमोटिएको मन विस्तारै निको हुँदै गयो । तुर्लुङकोटकोटको थाप्लोमा बाह्रमासे घाँटु, सोरठी, भजन र ठाडो भाकाका खालहरु जमेका थिए । तान्द्राङकोट-पुरानकोट पदमार्ग उद्घाटनको अवसरमा यसप्रकारको सांस्कृतिक एवम् सांगीतिक जनमघट आयोजना गरिएको थियो । यसप्रकारको जमघटमा मिसिन पाउँदा मन फुरुङ्ग भयो । बाल्यकालका सम्झनाहरु ताजा भए । पानी परेपछि  फूलहरु ताजा भएजस्तै ।

= = =

शहरप्रतिको बढ्दो मोह गाउँमा अवसरहरुको अभाव आदि कारणले दुराडाँडा प्रतिपल खाली  बन्दै गएको छ । अहिले मणि हराएको सर्पजस्तै कान्तिहीन बनेको छ, दुराडाँडा । हुन त  दुराडाँडाको यो अवस्था नेपालका अधिकांश गाउँबस्तीहरुको साझा कथा पनि हो । थुप्रै सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक निधिहरुबाट सजिँदै वैभवशाली विगत बोकेको यो ठाउँ विसर्जित हुनु र बिरानो बन्दै जानु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो लाग्छ, हामीले ममतामयी भूगोल र वैभवशाली इतिहासलाई सनैसनै बिर्सदै गइरहेका छौं ।

दुराडाँडा शाहवंशीय राजसंस्थाको उद्गम विन्दु हो । खजे दुरा र उनका तत्कालीन सहकर्मीहरुले दुराडाँडामा शाहवंशीय राजसंस्था स्थापना गरेको इतिहास छ

सांगीतिक निधिको कुरा गर्दा प्रख्यात ठाडोभाका देउबहादुर दुराको जन्मथलो पनि यतै  हो ।  २००६ साल भएको हलो क्रान्ति र त्यसको लगत्तै शुरु भएको शैक्षिक एवम् सामाजिक क्रान्तिका दुराडाँडाले थुप्रै चर्चा र प्रशंसा बटुल्यो । एक समयमा  दुराडाँडा एउटा राम्रो शैक्षिक गन्तव्य बनेको थियो । त्यहाँ छिमेकी जिल्ला र लमजुङकै अन्य भागबाट विद्यार्थी झुत्तिने गर्थे । आज शून्य बन्दै गएको दुराडाँडा त्यही थलो हो, जहाँ वि.सं. २००९ र २०१० सालमा क्रमशः 'राजनीतिक सम्मलेन' र 'शैक्षिक सम्मेलन' आयोजना गरिएका थिए । ती सम्मेलनमा देश सुधारका निम्ति घोषणपत्रहरु जारी गरिएका थिए । सामाजिक एवम् राजनीतिक चेतनाको दीयो बाल्ने दुराडाँडा कुनै समयमा आकर्षणको केन्द्रविन्दु थियो ।

क्रमिक रुपमा बिरानो र शून्य बन्दै गएको दुराडाँडामा अहिले आशाको त्यान्द्रो पलाएको छ । दुराडाँडाकै मेधावी व्यक्तित्व विष्णुहरि अधिकारीले अघि सारेको पर्यटन, समाज कल्याण र समाज विकाससम्बन्धी अवधारणाले हालको रिक्ततालाई  चिर्न  सहयोग गर्छ भन्ने आशा पलाएको छ । उनले अघि 'तान्द्राङकोट-पुरानकोट पदमार्ग', 'होम स्टे' विद्यालय सुधार र समाज सुधारका अन्य कार्यक्रमले विस्तारै गति लिँदै गएको छ ।  यसमा अरुको पनि सहयोग र समर्थन मिल्यो भने यो ठाउँ पुनः गुल्जार बन्नसक्छ । आशा गरौँ, यसले दुराडाँडाको हराएको सहकाललाई फेरि फर्काएर ल्याउनेछ । यहाँबाट बसाइँ सरेर जानेहरु फेरि यतै फर्किउन् । दुराडाँडाको माटोले यही पुकारा गरिहरेको छ ।


[साभार : नागरिक (फागुन २०, २०६८ ) । सामान्य परिमार्जनसहित । तस्बिर: किरण न्यौपाने ]
 

[अद्यावधिक: २०६९ ।०२ ।०३, २०७१।०३।१०, २०७१।०३।११, २०७५।०७।१४ ]