Showing posts with label श्रुतिपरम्परा. Show all posts
Showing posts with label श्रुतिपरम्परा. Show all posts

Friday, July 28, 2017

श्रुतिपरम्पराको आलोक


–यमबहादुर दुरा

व्रह्मज्ञानीहरूका दृष्टिमा हरेक आधुनिक आविष्कारको ‘आदिस्रोत’ छ । इसापूर्व ३५०० वर्षअघि सुमेरियनहरूले अभिलेखनका लागि प्रयोगमा ल्याएका ‘क्ले ट्याब्लेट’ लाई आधुनिक ‘ट्याब्लेट’ को ‘आदिस्रोत’ मानिएको छ । अहिलेका लिपि र अक्षरहरूको जननी प्राचीन गुफामा लेखिएका भित्तेलेखन हो भनेर धेरै विद्वान्हरूले ठोकुवा गर्दै आएका छन् । घामको गति र चालको आधारमा तयार पारिएको ‘सनडायल’ आधुनिक समय–यन्त्र निर्माणको ‘प्रेरणास्रोत’ मानिन्छ ।

ज्ञान, बुद्धि र विवेक । मनिसलाई सर्वश्रेष्ठ तुल्याउन सघाउने अमूल्य अमूर्त बौद्धिक सम्पदा । यस्ता अमूर्त सम्पदाको ‘आदिस्रोत’ के होला ? खासगरीयिनीहरूको संरक्षण, विस्तार र भण्डारणको ‘आदिस्रोत’ वा माध्यम के होला ? आदिम कालखण्डदेखि हालसम्म यस्ता बौद्धिक सम्पदा कसरी संरक्षित र विस्तारित हुँदै आए ? प्रश्नको उत्तर खोज्न धेरैबेर घोत्लिनै पर्दैन । यसको सहज उत्तर हो, श्रुतिपरम्परा ।

श्रुतिपरम्पराको महिमा अपरम्पार छ । मानव सञ्चारको अभिन्न अङ्ग । वाणीप्रधान सञ्चार । ज्ञानको अजस्र स्रोत । ज्ञान विस्तारको दिव्य माध्यम । मानव र सभ्यताबीचको पुल । सामाजिक संवादको गतिलो माध्यम । ज्ञानयोग, भक्तियोग र कर्मयोगलाई एक–आपसमा जोड्ने अलौकिक शक्ति ।

दुनियाँ दिनानु दिन प्रविधिमय बन्दैछ । कम्प्युटर, मोबाइल, थरीथरीका चिप्स् तथा एप्स् । हाम्रो जिन्दगी प्रविधिको जालोमा जेलिएको छ । अहिले ‘मेमोरी चिप्स’ जस्ता डिभाइस एवम् किण्डलजस्ता इ–पुस्तकको रजगज छ । यस्तो लाग्छ, प्रविधिमय बन्दै गएको वर्तमान युगमा सुन्दै आदिम लाग्ने श्रुतिपरम्पराको अब कुनै ठाउँ नै छैन । तर कुरा त्यसो होइन ।

आखिर, ‘मेमोरी चिप्स’ मा रहेका तमाम जानकारी पनि मानव जातिले प्रयोग नगर्दासम्म निरर्थक नै रहन्छ । अहिलेका उपकरणहरूले पहिले भएकै विषयवस्तु (ज्ञान) लाई ‘लाउडस्पिकिङ’ वा ‘म्याग्निफाइङ’ गर्ने बाहेक केही गरेका छैनन् । यिनीहरूले हिजोकै उक्ति, सूक्ति, श्लोक, मन्त्र आदिमा रहेका मौखिक सूचनाहरूलाई भण्डारण र विस्तार गर्ने काम गरेका छन् । आधुनिक प्रविधि श्रुतिपरम्पराको विकल्प नभई सहयोगीमात्र हुन् ।

श्रुतिको सीधा सम्बन्ध बोलीसँग छ । बोली मानव सञ्चारको सशक्त माध्यमको रूपमा स्थापित छ । श्रुतिको सर्वव्यापक र चिरस्थायी अस्तित्वबाट श्रुतिपरम्पराको विकास भएको छ, जुन मानव सभ्यताको विकास र विस्तारमा अपरिहार्य तत्व बनेको छ । यही कारण हुनसक्छ, लेख्यपरम्परा र सूचना प्रविधिको चरम विकास भएको वर्तमान युगमा पनि श्रुतिपरम्पराको महत्व कायमै रहेको छ ।

छन्द र लयको माध्यमबाट कुनै पनि विषयवस्तुलाई रमाइलोसँग सम्झन सकिन्छ । यही मान्यताअनुरूप श्लोक, गीत, उखान–टुक्का एवम् सूक्ति बनेको हुनुपर्छ । श्रुतिपरम्परासँग गाँसिएका विविध आयामबाट समाजमा ज्ञानको विस्तारमात्र भएको छैन, पुरानो पुस्तामा विद्यमान ज्ञान नयाँ पुस्तामा सजिलैसँग हस्तान्तरण पनि भएको छ ।

श्रुतिपरम्परा र सिकाइ

सिकाइ र श्रुतिपरम्पराको गहिरो नाता छ । बालमनोविदहरूको भनाइ छ, लालाबालालाई सङ्गीतको माध्यमबाट शिक्षा दिनुपर्छ । सङ्गीतमय परिवेशमा दिइएको शिक्षाबाट केटाकेटीका ‘स्पञ्ज’ जस्तो ग्रहणशील दिमागले यति छिटो ग्रहण गर्छन् कि उनीहरूको जादुमय सिकाइ गतिको कुनै तुलना नै छैन । यही प्रसंगमा महान् ग्रीक दार्शनिक अरिस्टोटल (इसापूर्व३८४–३२२) ले मननीय विचार व्यक्त गरेका छन् ।

उनको भनाइ छ, ‘सङ्गीतमा चरित्र निर्माण गर्ने शक्ति हुन्छ । त्यसैले केटाकेटीलाई सङ्गीतको माध्यमबाट  शिक्षाततर्फ अभिुखीकरण गर्नुपर्छ ।’ संगीत श्रुतिपरम्पराकै निरन्तरता हो । घरमा राम्रा राम्रा श्लोक र गीत गुनगुनाउँदा बालबच्चाले रमाइलोमात्र मान्दैनन्, त्यसबाट नजानिँदो किसिमले शिक्षा पनि ग्रहण गर्छन् ।

भाषा सिकाइको प्रक्रियामा सुनाइ, बोलाइ, पढाइ र लेखाइ महत्वपूर्ण पक्ष मानिन्छ । त्यसमा पनि प्राथमिक तहको शिक्षा पद्धतिमा यीमध्ये सुनाइ र बोलाइ नै बढी महत्व दिइन्छ । यसबाट सिकाइमा श्रुतिपरम्पराको महत्व झल्कन्छ । श्रुति–सिकाइका कारण अक्षरसँग अपरिचितहरूले ज्ञान पाउन सकेका छन् । परिणामस्वरूप निरक्षर व्यक्तिमा ‘मुखको सरस्वती’ बाँचेको छ । गुरुकुलीय परम्परामा गुरुले शिष्यलाई मौखिक रूपमा दिएको शिक्षाबाट ज्ञानको विस्तारबाट ज्ञानको विस्तार हुन्थ्यो ।

हाम्रो समाजले श्रुतिपरम्परा, सिकाइ र पठनसंस्कृतिसँग सम्बन्धित थुप्रै रोचक प्रसंग जन्माएको छ । एकपटक सुनेको कुरा सम्झनेलाई श्रुतिधर, राम्रोसँग वेद पाठ गर्न जान्नेलाई पाठक, तीनवटा वेद पाठ गर्नेलाई त्रिपाठी, चालीस अध्याय वेद पाठ गर्नेलाई चालिसे भन्ने गरिएको रमाइलो प्रसंग पाका–पुराना व्यक्तिहरूबाट सुन्न पाइन्छ, जुन  आफैंमा श्रुतिपरम्पराको निरन्तरता हो ।

यसैगरी, वेदको ज्ञान भएको व्यक्ति सुवेदी, दुई वेद जान्ने द्विवेदी, तीन वेद जान्ने त्रिवेदी, चारै वेद जान्ने चतुर्वेदी एवम् शास्त्रार्थ गर्ने शास्त्री नामबाट कहलिएको  प्रसंग पनि सामाजिक जमघटहरूमा सुनिन्छ । यसले हाम्रो ज्ञान आर्जन गर्ने पद्धति र श्रुतिपरम्परा नातालाई प्रस्ट्याउँछ  ।

हिन्दू समाजमा श्रुतिपरम्परा

हिन्दू समाजमा श्रुतिपरम्परालाई मायवी शक्तिको रूपमा वर्णन गरिएको पाइन्छ, जहाँ श्रुतिपरम्परा, ईश्वरतत्व र आध्यात्मिकताको त्रिवेणी भेटिन्छन् । हिन्दू धर्मशास्त्रका अनुसार श्रुति ईश्वर–रचित ग्रन्थ हो । ऋषिमुनि ध्यानमग्न भएको समयमा ईश्वरको वाणी सुनेर त्यसलाई लेख्य रूपमा उतारेपछि वेदको जन्म भएको मानिन्छ । वेदलाईश्रुतिकोमूल स्रोत मानिएको छ । वेद हिन्दू धर्मको प्राचीन र सर्वाधिक महत्वपूर्ण ग्रन्थ मानिएको तथ्य जगजाहेर नै छ ।

प्राचीन समाजमा वेद शब्द गहिरो आस्था र श्रद्धाको द्योतक बन्न पुग्यो । हरेक शास्त्रको रचना भएपछि त्यसका रचयिताले आफ्नो कृतिमा ‘वेद’ शब्द जोडने चलन आयो । जस्तै : धनु विद्या सिकाउने शास्त्रलाई धनुर्वेद चिकित्साशास्त्रलाई आयुर्वेद आदि । कतिपयले महाभारतलाइं ‘पञ्चम वेद’ भनेर पुकारेको पाइन्छ ।
श्रुतिको कुरा गर्दा स्मृतिलाई पनि बिर्सन मिल्दैन । श्रुति र स्मृतिको सम्बन्ध पनि कम रोचक छैन ।

श्रुतिाई वैदिक परम्परा मानिन्छ भने स्मृतिलाई लौकिक परम्परा । श्रुति वाणीको आधारमा लेखिएको ग्रन्थ हो भने स्मृति मानव बुद्धि र सम्झनाको आधारमा रचित ग्रन्थ । वेदलाई अपौरुषेय कृति मानिन्छ भने स्मृतिलाई पौरुषेय कृति । अर्को शब्दमा भन्दा वेद अलौकिक कृति हो भने स्मृति लौकिक कृति ।

श्रुतिको तुलनामा स्मृति कमसल र कलिलो मानिन्छ । श्रुति अस्तित्वमा आएको धेरै पछि स्मृतिको रचना भएको ठानिन्छ । श्रुति जटिल र दुरुह मानिन्छ भने स्मृति सरस बोधगम्य । श्रुति र स्मृतिको आधिकारिकतबारे विवाद हुँदा श्रुतिलाई नै मान्यता दिने चलन रहेको छ । यद्यपि मनुले श्रुति र स्मृतिलाई समान महत्व दिएका छन् । वृहस्पतिले श्रुति र स्मृतिलाई मानिसको दुई आँखाको रूपमा चित्रण गरेका छन् ।

मनुले समाज र परिवारबारे तयार पारेको संहितालाई मनुस्मृति भनिन्छ, जुन स्मृति ग्रन्थ हो । स्मृतिको आधारमा संकलित ज्ञानको पुस्तकीकृत स्वरूपलाई स्मृति भन्न थालियो । आध्यात्मिक साहित्यका अध्येताहरूगीता, महाभारत, पुराण, विष्णुसहस्रनाम, रामायण आदिलाई स्मृतिशास्त्र मान्ने गर्छन् ।

पश्चिमा श्रुति परम्परा

प्राचीन युनानी साहित्यमा होमरको नाउँ अग्रपंक्तिमा आउँछ । युनानी सभ्यता र संस्कृतिका भरोसायोग्य व्याख्याता मानिएका होमर दृष्टिविहीन थिए । उनीद्वारा रचित विश्वप्रसिद्ध महाकाव्य ‘इलियड’ र ‘ओडेसी’ अलिखित थिए भनेर धेरै अध्येताहरूले निष्कर्ष निकालेका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख सर्दैआएका यी महाकाव्यलाई पछिमात्र लिपिबद्ध गरिएको हो भन्ने भनाइ छ ।

पछिल्लो समयमा पश्चिमी विद्वानहरूले श्रुतिपरम्पराबारे विशद अध्ययन गरेका छन् । अमेरिकी दार्शनिक प्राध्यापक वल्टर ज्याक्सन अङ (सन् १९१२–२००३), बेल्जियन इतिहासकार तथा मानवशास्त्री जन भनिसा (सन् १९२९),जोन माइल्स् फोले (सन् १९४७–२०१२) आदि यस विषयका केही चुनिन्दा विद्वान हुन् ।

 अङको ‘ओरलिटी एण्ड लिट्रेसी’ (१९८२), भनिसाको ‘ओरल ट्रेडिसन एण्ड हिस्ट्री’ (१९८५), फोलेको ‘द थियरी अफ ओरल कम्पोजिसन’ (१९८८) जस्ता पुस्तक श्रुतिपरम्पराबारे लेखिएका शोधमूलक कृतिका दृष्टान्त हुन् ।

पश्चिमी दुनियाँमा लिखित इतिहासको साथसाथै मौखिक इतिहासको परिपाटी पनि बलियो छ । बूढापाकासँग कुरा गरेर तिनको बाल्यकाल, युवा अवस्था तथा प्रौढ अवस्था तथा तिनले देखेका देश र दुनियाँबारे तयार पारिएको संस्मरणात्मक इतिहास विश्वभरि नै रुचिपूर्वक पढिन्छ । यस्तो इतिहासलाई लिखित इतिहासकै हाराहारीमा आधिकारिक मानिन्छ । आखिर, लिखित इतिहासको स्रोत कुनै न कुनै रूपमा मौखिक परम्परामा आधारित हुन्छन् ।

बेलायतमा सन् १९७३ मा ‘ओरल हिस्ट्री सोसाइटी’ गठन भयो। यसले मौखिक इतिहासलाई बचाउने अभियान अन्तर्गत ‘ओरल हिस्ट्री’ जर्नल प्रकाशन गर्छ । लन्डनबाट प्रकाशन हुने यो जर्नल रुचिपूर्वक पढिन्छ, जसले अन्तरपुस्ता संवादमा ठूलो गुन लगाएको छ ।

अमेरिकास्थित ‘सेन्टर फर स्टडिज इन ओरल ट्रेडिसन’ ले ‘ओरल ट्रेडिसन’ जर्नल प्रकाशन गर्छ । मौखिक परम्पराका अध्येता जोन माइल्स् फोलेको अगुवाइमा सन् १९८६ देखि प्रकाशन शुरु भएको हो । यसमा लोकवाङमय, सांस्कृतिक मानवशास्त्र, सामाजिक मानवशास्त्र, इथ्नोग्राफ्रीजस्ता श्रुतिपरम्परासँग नाता जोडिएका सम्बन्धी खोजमूलक र गहिरा विषयवस्तुहरू प्रकाशन हुन्छन् ।

परस्पर विरोधी धारणा

श्रुतिपरम्परा र लेख्य परम्पराबीचको सम्बन्ध रोचक छ ।  यी दुईबीचको नाता–सम्बन्ध कतै परिपूरक त कतै विरोधाभाषपूर्ण पाइन्छ । पश्चिमी गोलाद्र्धमा यसबारे प्रसस्त अध्ययन–अनुसन्धान भएका छन् । लेख्य परम्पराले श्रुति परम्परलाई गुन लगायो वा घाटा पुर्यायो भन्नेबारे परस्पर विरोधी धारणा भेटिन्छन् ।

लेख्य परम्पराले श्रुतिपरम्परालाई लिपिबद्ध गरेर भावी पुस्ताका लागि गतिलो कोसेली दिएको छ । यसबाट छिरल्लिएर रहेका बहुरूपी श्रुतिपरम्परालाई एकै ठाउमा बटुल्ने काम गरेको छ । यस अर्थमा लेख्यपरम्पराले श्रुतिपम्परालाई गुन लाएको देखिन्छ ।

यति हुँदाहुँदै पनि कतिपय विद्वानश्रुतिपरम्परालाई लेख्यपरम्परामा ढाल्नुहुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू श्रुतिपरम्परालाई लेख्य परम्परामा ढालेमा यसको मर्म मर्छ भन्ने मान्यता राख्छन् । यस्तो मान्यता राख्नेमध्ये ग्रीक दार्शनिक  सुकरात (इसापूर्व ४७०–३९९) एक हुन् । उनी लेख्य परम्परालाई अमानवीय कार्यको संज्ञा दिन्छन् ।

अङ्ग्रेज दार्शनिक हेनरी सिजविक (सन् १८३८–१९००) पनि यस्तै धारणा राख्छन् । उनको दृष्टिमा मौखिक गाथालाई लेख्न शुरु गर्‍यो  भने त्यसको हत्या गरेको ठहरिन्छ । उनको ठम्याइ छ, ‘जबसम्म मौखिक छ, तबसम्म यसमा जीवन छ, अन्यथा छैन ।’

धेरैको तर्क छ, लेख्य परम्पराले श्रुतिपरम्पराको दायरालाई कमजोर र सीमित बनाइदिन्छ । उनीहरूका मतमा सामाजिक गाथाहरू समाजको फराकिलो घेरामा मौखिक रूपमा विस्तार भएमा एउटै गाथाको धेरै स्थानीय संस्करण जन्मन्छन्, जसले लोकगाथालाई वैभवशाली बनाउँदछ । तर लेख्य परम्पराले भएको गाथालाई पनि सीमित तुल्याइदिन्छ ।

⸼⸼⸼

श्रुतिपरम्पराको दुनियाँ अपरिमित छ । हिन्दू, बौद्ध एवम् जैन धर्मका धेरै सिकाइहरू मौखिक नै छन् । किराँतलगायत विभिन्न जनजाति समुदायको धर्मग्रन्थमा वर्णित जीवन र जगतबारेको चर्चा मूलत: मौखिक नै छ । हाम्रो लोकवाङ्मयको अथाह भण्डार नै पूरापुर श्रुतिपरम्परामा अडिएको छ । श्रुतिपरम्पराको आलोकमा सिङ्गो मानव सभ्यता जगमगाएको छ ।

[साभार: अन्नपूर्ण टुडे । (साउन १३, २०७४) । सामान्य परिमार्जनसहित  । ]

Thursday, November 11, 2010

श्रुतिपरम्परा र नेपाली जनजीवन


 -यमबहादुर दुरा

प्रसंग निकटपूर्व अतीतको हो । वर्तमान यो प्रसंग त्यति सान्दर्भिक नहुन सक्छ, तर मननयोग्यचाहिँ अवश्य छ ।

प्रत्येक पल-पलमा चमत्कारपूर्ण आविष्कार भइरहेको एक्काइसौ शताव्दीसित कुनै सरोकार नै नराखी कर्मक्षेत्रमा एकोहोरो जोतिरहने कर्मजीवीहरुका जीवनमा आज पनि लेख्य सामग्रीको  कुनै स्थान छैन । देशको कुना-कन्दरामा रहने कर्मजीवी रातको चार प्रहर ढल्न नपाउँदै झल्याँस्स बिउँझिन्छ । ऊ चरीको चिरबिरसँगै उठ्छ र आँखा मिच्दै आफ्नो कर्मक्षेत्रमा होम्मिन्छ ।

 मनमा उर्लिएको सुखदुःखका भावना पोख्नका लागि उनलाई कपी कलम चाहिँदैन । लोकगीत गुनगुनाएर ऊ आफ्नो मनका पीर-व्यथाहरु बिर्सने चेष्टा गर्छ । दिनभरिको काम सकेर घर पर्कने बेलामा कुर्लेर वा सुसेली हालेर साथीसंगीलाई बोलाउँछ । सबै साथीसंगी बटुलिएपछि सुखदुःखका कुराकानी गर्दै घरतिर पाइला बढाउँछ ।

घरमा पुगेर गुन्द्रुक र ढिँडोले पेट भरेपछि ऊ रोदीघरतिर लम्कन्छ । त्यहाँ पुगेर आफ्ना दौंतरीहरुसित नाँचगान गर्छ अनि दिनभरिको थकाइ बिर्सन्छ । रोदीघरबाट आफ्नो घर फर्केर ओछ्यानमा ढल्छ अनि ऊ भुसुक्कै निदाउँछ । भोलिपल्ट झिसमिसेमै उठेर पूर्ववत् रुपमा खेतबरीमा आफ्ना जाँगरिला पाखुराहरु जोत्न पुग्छ ।

एवम् रीतले उनको दिनचर्या घडीको सुईझैं घुमिरहन्छ । कर्मभूमिमा पखुरा जोतर बाँचेका कर्मजीवीको जीवन यसरी नै बितिरहको छ, आजसम्म पनि । अनि यही हो, आधुनिकताको छालले नभेटेको गाउँबस्तीमा रहने कर्मजीवीहरुको दिनचर्या । यो परिपाटी उनीहरुको साझा जीवनशैली पनि हो ।

सङ्गीतको नाद लहरजस्तै एकतमाससित गुन्जिएझैं कामसित उनीहरुको जीवनशैली निरन्तर तादत्म्य गाँसिरहन्छ । न ऊ लेखपढ गर्न जान्दछ, न  त लिखित सामग्री पढ्ने फुर्सद नै ऊसित छ । उसको जीवन पूरापूर अलिखित शैली वा श्रुतिपरम्परामा अडेको छ ।

देशको शैक्षिक तथ्याङ्कले साक्षरता दर निरन्तर उकालो चढेको देखाएको छ । तर यस तथ्याङ्कले सधैँभरि पसिनाले नुहाउने यी कर्मजीवीहरुको जीवनलाई अलिकति पनि छोएको छैन । सरकारी तथ्याङ्कले नै नेपालमा ४० जनता निरक्षर छन भन्ने उद्घोष गरेको छ । अहिले पनि उनीहरुको जीवन कपी-कलम र औपचारिक शिक्षा विना नै बितिरहको छ । लगभग नब्बे प्रतिशत जनता गाउँमा बसोबास गर्ने हाम्रो देशमा अझै पनि यस्ता कुना-कन्दराहरु छन् जहाँ अहिलेसम्म कुनै पनि सञ्चार माध्यमका पुगेका छैनन् । न पत्रपत्रिका न त रेडियो र टेलिभिजन नै ।

तथ्याङ्क विभागले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार नेपालका ४१.३ प्रतिशत घरधुरीमा सञ्चारमाध्यमका कुनै पनि माध्यमको पहँच छैन । आमसञ्चारको पहुँच नपुगेको कुना-कन्दराको आकाशमा रेडियो र टेलिभिजनका वायुतरङ्ग दौडिरहे पनि  कमजोर आर्थिक अवस्था चेतनाको अभाव सञ्चारमाध्यमको उपयोगिता र महत्वको बोध नहुनुजस्ता कारणले ती वायुतरङ्गलाई भरपूर उपयोग गर्न सकेको देखिन्न ।

त्यसैले हाम्रा गाउँवस्तीहरु अझै पनि परम्परागत सञ्चार प्रणली कटुवाल कराउन लगाउनेजस्ता अलिखित एवम् अप्रकाशित माध्यम मा आधारित छ । अहिले पनि कतिपय दुर्गम गाउँबस्तीका जनता रेडियो सुन्ने र टेलिभिजन हॆर्नुको सट्टा साँझपख अगेनोको छेउ वा पिढ़ीमा भेला भएर आहान दन्त्यकथा, भूतप्रेतसम्बन्धी प्रसंग सुन्ने एवम् सुनाउने चलन हराएको छैन ।

उता घरका बाजे-बज्यैले  आफ्ना नाति-नातिनलाई काखमा लुट्पुट्याएर घतलाग्दा कथा एवम् जीवन र जगतसित गाँसिएका मार्मिक र रोचक प्रसंगहरु सुनाउने चलन नयाँ होइन । बाजेबज्यैका काखमा बसेर सुनेका यस्ता कथा एवम् प्रसंग केटाकेटीका लागि ज्यादै महत्वपूर्ण हुन्छन् । भविष्यका लागि मागदर्शकका रुपमा रहने यस्ता प्रसंगहरु स्मृतिपटलमा  सदा-सर्वदा ताजा रहन्छन्, जुन भविष्यका लागि गतिलो प्रेरणास्रोत बन्छन् । साथै यस्ता प्रसंगहरु भोलिका लागि उद्धरणयोग्य उद्धरण बन्छन् ।


नेपाली जीवनशैलीलाई नजिकबाट नियाल्ने हो भने हाम्रो परम्परा र संस्कृति श्रुतिपरम्परामा आधारित छ भन्न करै लाग्छ । लोकले युगौंदेखि  मुखमुखै जोगाउँदै आएको जनश्रुति, परिकथा, कहावत, आदि नै हाम्रो परम्परा र संस्कृतिका आधार हुन् । दशैंमा टीका थाप्दा दिइने आशीर्वाद होस्, नित्य कर्मकाण्डका पूजाआजाका विधि-विधान नै किन नहोस्,  केहीमा पनि लिखित रुप भेटिँदैन । तर पनि सबै कुराहरु शास्त्रसम्मत नै देखिन्छन् । शताब्दीयौंदेखि चलिआएको कृष्णचरित्र, सोरठी, घाँटु, बालन, आदि परम्परागत नाचका लय र शब्दहरु अलिखित रुपमा बाँच्दै आएका छन् ।

यी नाचका सम्पूर्ण अध्यायहरु गाउँघरका बूढापकाका मुखमै कण्ठस्त झुण्डिरहेका छन् । विवाह भोज-भतेर जात्रा हाट-बजारजस्ता सामाजिक जमघट एवम् वनपातमा गुन्जिएको  गीत सुन्दासुन्दै कलिला केटाकेटीहरुले गीत गाउन सिकिसकेका हुन्छन् । बाउ-बाजेले बेला-बखतमा गुनगुनाउने मन्त्र एवम् श्लोकहरु पत्तै नपाई केटाकेटीका गलामा सारिसकेका हुन्छन् । 

नेपाली जनजीवनको स्पन्दनको रुपमा रहेको  लोकसहित्य आहान लोकगीत लोकनाटक उखान-टुक्का लाकोक्ति गाउँखाने कथा आदि पूरापूर श्रुतिपरम्परामा आधारित छ । यो अलिखित विधा हो । सधैँभरि पसिनाले नुहाउने कुना-कन्दराका कर्मजीवीहरु लोकसाहित्यमा रुन्छन् लोकसाहित्यमा हाँस्छन् अनि लोकसाहित्यमा नै मन बुझाउँछन् । त्यसैले यो विधा उनीहरुको सुखदुःखको साथी बनेको छ । उनीहरु लोकसाहित्यको शाब्दिक अर्थसित परिचित नहुन सक्छन् । तर पनि लोकसाहित्यको मर्मसित भने उनीहरुको जीवन नै घोलिएको छ ।

 "जिउँदाको जन्ती, मर्दाको मलामी"  "भाइ कहाँ पाइ, भाइ मुटु खाइ",  "बाचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो", "सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैन दाजुभाइ", "कालो ठेकी कालीकाठको रातो ठेकी दारको, दिन आउँछ घुमिघुमी जोवन एकैबारको"  जस्ता लोकसाहित्यका फाँकी र फुँदाहरु मुखमुखबाटै पुराना पुस्ताबाट नयाँ पुस्तासम्म आइपुगेका छ्न् ।

यिनीहरुले मानव जीवनका शाश्वत पक्षहरुलाई उद्घाटन गरेका छन् । एक मुखबाट अर्को मुखमा सर्दै अएका यी मर्मभेदी अभिब्यक्ति युग र अनुभवको कसीमा खारिएका हुन्छन् । पहाडबाट खहरेखोलासँगै भरेको लाम्चो ढुङ्गा नदीको धार परेपछि कालान्तरमा एउटा निश्चित आकारमा परिणत भएझैं ।

गन्धर्व समुदायले लोकसाहित्यको एउटा हाँगो लोकगीत लाई बलियोसित समातेका छन् । गन्धर्व समुदायले परम्परादेखि नै  सुखदुःखका हाम्रा अभिव्यक्ति लोकगीत एवम् कर्खा हरुलाई मौखिक रुपमा साँच्दै आएका छन् । यिनै अभिव्यक्तिले अवस्थाअनुसार हाम्रो परेलीलाई निथ्रुक्कै भिजाइदिन्छ अनि हाम्रो ओंठमा मुस्कान फक्राइदिन्छ ।

 यिनै गन्धर्वहरुले अलिखित तर जीवित इतिहास पनि साँचेका छन् । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रा, चन्द्रशमसेरको जीवनी, अन्य राजा-महाराजाको उथुलपुथुलपूर्ण जीवन कहानी आदि घट्नामा आधारित भएर तयार पारिएका कर्खा यसका जिउँदा प्रमाण हुन् ।

नेपाली जनजीवन खासगरी ग्रामीण जनजीवनसित गहिरो नाता गाँसेको श्रुतिपरम्परालाई जोगाउने काम देशका कुना-कन्दराका अपठित कर्मजीवीहरुले गरेका छन् । उनीहरु डिस्को र क्याब्रे नृत्यमा छेपारी बटार्न पल्केका छैनन् । उनीहरु बाहिरी दुनियाँबाट अप्रभावित छन् ।

आ-आफ्नै  परिवेशमा फक्रिएका सांस्कृतिक निधिसित रमाइरहेका छन्, उनीहरु । पूजापाठमा प्रयोग हुने श्लोकदेखि विशेष मौकामा नचाइने घाँटु नाँचका कथामय अध्यायसम्मका सांस्कृतिक निधिलाई मुखमुखै बचाएर राख्ने पनि उनीहरु नै हुन् । यसैमा उनीहरुको जीवनको ढुकढुकी भेटिन्छ ।

हामीकहाँ श्रुतिपरम्पराको अथाह भण्डार छ । तर, समयको बदलिँदो प्रवाहसँगै यसको भण्डार रित्तिँदै गएको छ । यसको अवनतिलाई "पुरानो पात झर्दै जान्छ, नयाँ पलाउँदै जान्छ" भन्ने मान्यतसँग गाँसेर चित्त बुझाउनॆ वा यसलाई हाम्रो संस्कृतिको आधारशिला मानेर बचाउनतिर लाग्ने  निष्कर्ष आ-आफ्नै  हुनसक्छ । तर विकासको दौडमा पछि परको हाम्रो गरिब देशका अपठित कर्मजीवीहरुलाई  विकासको मूल प्रवाहमा ल्याउन जरुरी छ ।

यस दिशामा उनीहरुलाई अभिप्रेरित गर्नाका लागि  सजिलो र भरपर्दो माध्यमचाहि श्रुतिपरम्परा, लोकगीत, लोकनाटक, प्रहसन, आदि नै हुन् । श्रुतिपरम्पराको मध्यमबाट प्रवाहित सन्देश उनीहरुका लागि रुचिकर र वोधगम्य हुनसक्छ । लिखित परम्पराको चरम विकास भएको आधुनिक समयमा पनि श्रुति परपरम्पराले परिपूरकको भूमिका गरिरहेको छ ।

मनमनै मनन गर्ने हो भने आज  पनि श्रुति परम्पराको अतुलनीय भूमिका छ ।

नेपाली पोष्ट  २०६७ साल कात्तिक २५ गते ।]

[अद्यावधिक :२०६८१०१२, २०६९०१२५, २०६९।०९।११, २०७७।०२।२३, २०७७।०२।२४]