Showing posts with label Oral tradition. Show all posts
Showing posts with label Oral tradition. Show all posts

Tuesday, July 7, 2020

सिकाइमा मौखिक परम्परा

-यमबहादुर दुरा

लेखेर राख्यो भने सबै कुरा सुरक्षित हुन्छ भन्ने हाम्रो बुझाइ छ । यसमा विमति जनाउने त्यति धेरै ठाउँ नभए पनि पूरापुर सहमत हुन पनि सकिँदैन । लेखिएका सबै कुरा सधैँ जीवन्त रहन्छ भन्ने मान्यता भ्रामक छ । जस्तो, संस्कृत भाषा–साहित्यलाई हेरौँ । लिपि, व्याकरण, साहित्य सबै दृष्टिले संस्कृत समृद्ध भाषा मानिन्छ । तर, त्यही समृद्ध भाषा कालान्तरमा मृतभाषा बनिसकेको छ ।

एक समय विश्वको समृद्ध भाषा संस्कृत मृतभाषामा परिणत हुनु आफैंमा गम्भीर पाठ हो । लेखेर राख्दैमा भाषा, साहित्य र ज्ञान जीवन्त रहन सक्दैन भन्ने यसको केन्द्रीय सन्देश हो । लेखिएका कुरा जनजिब्रोमा नउत्रिएसम्म पुस्तकमै सीमित रहन्छ । अर्को शब्दमा, सामान्यजनको दैनिक व्यवहारमा नआएसम्म कुनै पनि भाषा, साहित्य र ज्ञानले मूर्त रूप पाउँदैन ।
ग्राफिक्स: गुगल

प्रस्तुत दृष्टान्तले भाषा–साहित्य र ज्ञान विस्तारमा मौखिक परम्पराको महत्वबोध गराएको छ । मौखिक परम्पराको अध्ययनमा ख्याति कमाएका अमेरिकी विद्वान वाल्टर ज्याक्सन अङ (सन् १९१२–२००३) आफ्नो चर्चित पुस्तक 'ओरलिटी एण्ड लिटरेसी' मा लेख्छन्– मानव समाजको स्थापना बोलीको सहायताबाटै भएको हो । उनी साक्षरता पनि मौखिक परम्पराबाटै शुरु भएको मान्छन् ।

संसारको पुरानो लिखित दस्ताबेज मानिएको वेद पनि पहिले मौखिक रूपमै थियो । गुरु–शिष्य परम्परामा पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख हस्तान्तरण हुँदै आएको वेदको सुक्तिहरुलाई पछिमात्र ऋषिमुनिहरूले लिपिबद्ध गरेको मानिन्छ ।

पश्चिमी गोलार्धको पनि परम्परा यस्तै हो । युनानी संस्कृति–सभ्यताका बेजोडा व्याख्याता होमरद्वारा रचित विश्वप्रसिद्ध महाकाव्यहरू इलियड र ओडेसी पनि पछि मात्र लिपिबद्ध भएका मानिन्छन् । अर्थात्, ती पनि पहिले अलिखित अवस्थामा थिए ।

मानव समुदाय मौखिक परम्पराबाट लिखित संस्कृतिको उन्नत अवस्थामा आइपुगेकोमा द्विविधा छैन । यद्यपि, मानव सञ्चार र ज्ञानको जग अझै  पनि मौखिक परम्परा (बोली)  नै हो । पुस्तकमा रहेको ज्ञान पठितका लागि मात्र हुन्छ भने मौखिक परम्परारूपी भण्डार साक्षर, निरक्षर सबैका लागि हुन्छ ।

मौखिक परम्परा किताबको चराजस्तो गतिहीन नभई फुक्काफाल हुन्छ । मौखिक परम्परा नितान्त चलायमान र गतिशील हुन्छ । मौखिक परम्परामा वक्तासँगै कुराकानीको विषयवस्तुले सास फेर्छ । यस्तो सिर्जनशील प्रक्रियामा विषयवस्तुले पुनः संशोधन, पुनः परिभाषित र पुनः उत्पादन हुने अवसर पाउँछ । यसबाट एउटै विषयका अनेकन् संस्करण निस्कन पनि सक्छन् ।

यस्तो अवस्थामा कहिलेकाँही आधिकारिकतामाथि भने प्रश्न उठ्न सक्छ, जसको छिनोफानो चेतनशील समाजले गर्छ । नदीले आफ्नो प्रवाहमा मिसिन आएको फोहर परिशोधन गरेजस्तै मौखिक परम्पराले अशुद्धिहरूलाई हटाउने क्षमता राख्दछ ।

यसको विपरीत लिखित दस्ताबेजका अशुद्धि सजिलै हट्दैन । लिखित दस्ताबेजमा रहेका अशुद्धि सन्तान दरसन्तानले सही ठानेर पढिरहन्छन् । अशुद्ध जानकारी ग्रहण गरिरहन्छन् । त्यसमा पनि पुस्तकमा लेखिएका कुरा अकाट्य हुन्छ भन्ने मान्यता हामीकहाँ छँदैछ ।

अमेरिकाका इस्किमोलगायतका आदिवासी समुदायको धारणा छ– इतिहास मानिसको हृदयमा रहन्छ, पाठ्यपुस्तकमा होइन । उनीहरूसँग इतिहासका कुनै लिखित दस्ताबेज छैन, तर उनीहरू आफ्ना इतिहासबारे गहिरो जानकारी राख्छन् । हामीसँग इतिहासबारे अनेकन् कृति उपलब्ध भए पनि इतिहासबारे हाम्रो ज्ञान सापेक्षित रूपमा कमजोर छ ।

अहिले मौखिक परम्पराको अधपतन विश्वव्यापी रूपमै तीव्र छ । युरोपको औधोगिक क्रान्तिले मौखिक परम्परामा अधोगति ल्याएको मानिन्छ । अठारौँ शताब्दीको मध्यतिर शुरु भएको औधोगिक क्रान्ति आर्थिक चरित्रको भए पनि यसले समाजको सबै पक्षमा असर पार्‍यो । मौखिक परम्परा पनि त्यसबाट अछुतो रहेन ।

त्यसअघि युरोपेली समाजको अर्थव्यवस्था कृषिमा आधारित थियो । मानिस गाउँमा बस्थे । उमेरदारजति खेतीपातीमा व्यस्त रहन्थे, घरमा केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी बाजे–बज्यैको हुन्थ्यो । केटाकेटीलाई खुशी राख्ने सजिलो र प्रभावकारी उपाय थियो– कथा । केटाकेटीलाई वोधगम्य हुनेगरी जीवन–जगतका तमाम पक्षका कथा हालिन्थ्यो ।

कथालाई रोचक बनाउन अलौकिक (सुपरनेचुरल) प्रसंगहरू घुसाइन्थ्यो । केटाकेटी ठूलो रुचिका साथ कथा सुन्थे अनि ‘केही सिक्दैछु’ भन्ने पत्तै नपाई जीवनोपयोगी ज्ञान लिन्थे । उनीहरू आफ्ना अपठित बाजेबज्यैका मुखबाट रसिला कथाहरु सुनेर ज्ञानको भण्डार बढाउँथे ।

त्यसरी बाजेबज्यै केटाकेटीका लागि विगत र वर्तमान जोड्ने पुल बन्थे । बाजेबज्यै त्यसरी मौखिक विधिबाट ज्ञान विस्तार गर्ने केन्द्रीय भूमिका रहे ।

औधोगिक क्रान्तिपछि गाउँका मानिस शहरमा बसाइँ सर्न थाले । बाजेबज्यै गाउँमै छुटे । संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थाल्यो । शहरमा आमाबा अर्थोपार्जनका लागि कारखानामा व्यस्त हुन थाले । बालबालिकालाई मौखिक विधिबाट बहुमूल्य ज्ञान दिने कोही भएनन् । कथा सुनाएर पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने बाजेबज्यै महत्त्वहीन बन्दै गए । त्यसरी मौखिक ज्ञान विस्तारमा धक्का लाग्नुका  साथै मौखिक संस्कृति क्षतिग्रस्त बन्न पुग्यो ।

आर्थिक–सामाजिक परिवेश फरक भएपनि मौखिक परम्परा र त्यसको अधपतनको सन्दर्भमा विश्वभरका समाजको चरित्रमा धेरै भिन्नता छैन । शहरीकरण र आधुनिकरणका कारण विश्वभर मौखिक परम्परा कमजोर हुँदै गयो । विद्युतीय सञ्चार माध्यमको विकासपछि त मौखिक परम्परा बिस्मृतिकै अँधेरोतिर धकेलिएको छ ।

अहिलेको पुस्ता रमाइरहेको श्रव्यदृश्य माध्यमलाई दुईधारे तरबारको रूपमा लिइन्छ । यसले एकातिर ज्ञान विस्तारमा अभूतपूर्व सघाउ पुर्‍याएको छ भने अर्कोतिर अन्तरपुस्ता संवादलाई पूर्णतः बिच्छेद गरिदिएको छ ।
कार्टुनमा रम्ने बालबालिकालाई बाजेबज्यै त टाढाको कुरा, आमाबाको काख समेत प्यारो लाग्नाडेको छ । यसबाट मौखिक परम्पराको माध्यमबाट हुने सिकाइ प्रक्रियामा पूर्णबिराम लागेको छ ।

हामी केटाकेटी छँदा पाका पुस्ताबाट वास्तविक जीवनका वास्तविक कथा सुन्थ्यौँ । अनेकन् कष्ट सहेर भोटका दुर्लङ्ध्य बाटो छिचोल्दै, ज्यान बचाउँदै नून बोकेर घर फर्केका, दश ठाउँमा टालेको कपडामा कैयौँ दिनको यात्रामा पहरो रसाएझैं  पसिना चुहाउँदै बेसाहा ल्याएर भोका केटाकेटीलाई खुवाएका, दोस्रो विश्वयुद्धमा आफू नजिककैको साथीलाई बमले धुजा पारेको, तर संयोगवश आफूलाई केही नभएको कथा सुन्दा हामी रोमाञ्चित र पुलकित हुन्थ्यौँ ।

यस्ता कथा सुन्न अहिले मन लालायित बन्छ । हाम्रो पुस्ताको हृदयको पानामा लेखिएका ती कथा–कहानीहरू अहिलेका थ्रिलरभन्दा कम थिएनन् ।

इतिहास तथा ज्ञान–विज्ञान शिक्षालयमा पढिने कुरा हुन् भन्ने भ्रम छ । आधुनिक शिक्षा पद्धतिले विद्यार्थीलाई कम्प्युटर र पुस्तकमा भर पर्न प्रेरित गर्छ । यसरी मौखिक परम्परामाथि परेको छायाँलाई अझ सघन बनाइन्छ । विश्वका समाजहरू आधुनिक शिक्षाप्रति आकर्षित बनेकै गतिमा मौखिक परम्परा अँध्यारो गर्तमा धकेलिदै गएको छ ।

मौखिक परम्परा नै सबथोक भने होइन, केहीचाहिँ पक्कै हो । मौखिक परम्पराको जीवन्त ज्ञान हस्तान्तरण प्रणालीलाई बचाएर उपयोग गर्नसक्दा सामाजिक समृद्धिमा ठूलो योगदान पुग्छ ।

[गोरखापत्र । २०७७ साल असार २३ गते ।]

Thursday, November 11, 2010

श्रुतिपरम्परा र नेपाली जनजीवन


 -यमबहादुर दुरा

प्रसंग निकटपूर्व अतीतको हो । वर्तमान यो प्रसंग त्यति सान्दर्भिक नहुन सक्छ, तर मननयोग्यचाहिँ अवश्य छ ।

प्रत्येक पल-पलमा चमत्कारपूर्ण आविष्कार भइरहेको एक्काइसौ शताव्दीसित कुनै सरोकार नै नराखी कर्मक्षेत्रमा एकोहोरो जोतिरहने कर्मजीवीहरुका जीवनमा आज पनि लेख्य सामग्रीको  कुनै स्थान छैन । देशको कुना-कन्दरामा रहने कर्मजीवी रातको चार प्रहर ढल्न नपाउँदै झल्याँस्स बिउँझिन्छ । ऊ चरीको चिरबिरसँगै उठ्छ र आँखा मिच्दै आफ्नो कर्मक्षेत्रमा होम्मिन्छ ।

 मनमा उर्लिएको सुखदुःखका भावना पोख्नका लागि उनलाई कपी कलम चाहिँदैन । लोकगीत गुनगुनाएर ऊ आफ्नो मनका पीर-व्यथाहरु बिर्सने चेष्टा गर्छ । दिनभरिको काम सकेर घर पर्कने बेलामा कुर्लेर वा सुसेली हालेर साथीसंगीलाई बोलाउँछ । सबै साथीसंगी बटुलिएपछि सुखदुःखका कुराकानी गर्दै घरतिर पाइला बढाउँछ ।

घरमा पुगेर गुन्द्रुक र ढिँडोले पेट भरेपछि ऊ रोदीघरतिर लम्कन्छ । त्यहाँ पुगेर आफ्ना दौंतरीहरुसित नाँचगान गर्छ अनि दिनभरिको थकाइ बिर्सन्छ । रोदीघरबाट आफ्नो घर फर्केर ओछ्यानमा ढल्छ अनि ऊ भुसुक्कै निदाउँछ । भोलिपल्ट झिसमिसेमै उठेर पूर्ववत् रुपमा खेतबरीमा आफ्ना जाँगरिला पाखुराहरु जोत्न पुग्छ ।

एवम् रीतले उनको दिनचर्या घडीको सुईझैं घुमिरहन्छ । कर्मभूमिमा पखुरा जोतर बाँचेका कर्मजीवीको जीवन यसरी नै बितिरहको छ, आजसम्म पनि । अनि यही हो, आधुनिकताको छालले नभेटेको गाउँबस्तीमा रहने कर्मजीवीहरुको दिनचर्या । यो परिपाटी उनीहरुको साझा जीवनशैली पनि हो ।

सङ्गीतको नाद लहरजस्तै एकतमाससित गुन्जिएझैं कामसित उनीहरुको जीवनशैली निरन्तर तादत्म्य गाँसिरहन्छ । न ऊ लेखपढ गर्न जान्दछ, न  त लिखित सामग्री पढ्ने फुर्सद नै ऊसित छ । उसको जीवन पूरापूर अलिखित शैली वा श्रुतिपरम्परामा अडेको छ ।

देशको शैक्षिक तथ्याङ्कले साक्षरता दर निरन्तर उकालो चढेको देखाएको छ । तर यस तथ्याङ्कले सधैँभरि पसिनाले नुहाउने यी कर्मजीवीहरुको जीवनलाई अलिकति पनि छोएको छैन । सरकारी तथ्याङ्कले नै नेपालमा ४० जनता निरक्षर छन भन्ने उद्घोष गरेको छ । अहिले पनि उनीहरुको जीवन कपी-कलम र औपचारिक शिक्षा विना नै बितिरहको छ । लगभग नब्बे प्रतिशत जनता गाउँमा बसोबास गर्ने हाम्रो देशमा अझै पनि यस्ता कुना-कन्दराहरु छन् जहाँ अहिलेसम्म कुनै पनि सञ्चार माध्यमका पुगेका छैनन् । न पत्रपत्रिका न त रेडियो र टेलिभिजन नै ।

तथ्याङ्क विभागले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार नेपालका ४१.३ प्रतिशत घरधुरीमा सञ्चारमाध्यमका कुनै पनि माध्यमको पहँच छैन । आमसञ्चारको पहुँच नपुगेको कुना-कन्दराको आकाशमा रेडियो र टेलिभिजनका वायुतरङ्ग दौडिरहे पनि  कमजोर आर्थिक अवस्था चेतनाको अभाव सञ्चारमाध्यमको उपयोगिता र महत्वको बोध नहुनुजस्ता कारणले ती वायुतरङ्गलाई भरपूर उपयोग गर्न सकेको देखिन्न ।

त्यसैले हाम्रा गाउँवस्तीहरु अझै पनि परम्परागत सञ्चार प्रणली कटुवाल कराउन लगाउनेजस्ता अलिखित एवम् अप्रकाशित माध्यम मा आधारित छ । अहिले पनि कतिपय दुर्गम गाउँबस्तीका जनता रेडियो सुन्ने र टेलिभिजन हॆर्नुको सट्टा साँझपख अगेनोको छेउ वा पिढ़ीमा भेला भएर आहान दन्त्यकथा, भूतप्रेतसम्बन्धी प्रसंग सुन्ने एवम् सुनाउने चलन हराएको छैन ।

उता घरका बाजे-बज्यैले  आफ्ना नाति-नातिनलाई काखमा लुट्पुट्याएर घतलाग्दा कथा एवम् जीवन र जगतसित गाँसिएका मार्मिक र रोचक प्रसंगहरु सुनाउने चलन नयाँ होइन । बाजेबज्यैका काखमा बसेर सुनेका यस्ता कथा एवम् प्रसंग केटाकेटीका लागि ज्यादै महत्वपूर्ण हुन्छन् । भविष्यका लागि मागदर्शकका रुपमा रहने यस्ता प्रसंगहरु स्मृतिपटलमा  सदा-सर्वदा ताजा रहन्छन्, जुन भविष्यका लागि गतिलो प्रेरणास्रोत बन्छन् । साथै यस्ता प्रसंगहरु भोलिका लागि उद्धरणयोग्य उद्धरण बन्छन् ।


नेपाली जीवनशैलीलाई नजिकबाट नियाल्ने हो भने हाम्रो परम्परा र संस्कृति श्रुतिपरम्परामा आधारित छ भन्न करै लाग्छ । लोकले युगौंदेखि  मुखमुखै जोगाउँदै आएको जनश्रुति, परिकथा, कहावत, आदि नै हाम्रो परम्परा र संस्कृतिका आधार हुन् । दशैंमा टीका थाप्दा दिइने आशीर्वाद होस्, नित्य कर्मकाण्डका पूजाआजाका विधि-विधान नै किन नहोस्,  केहीमा पनि लिखित रुप भेटिँदैन । तर पनि सबै कुराहरु शास्त्रसम्मत नै देखिन्छन् । शताब्दीयौंदेखि चलिआएको कृष्णचरित्र, सोरठी, घाँटु, बालन, आदि परम्परागत नाचका लय र शब्दहरु अलिखित रुपमा बाँच्दै आएका छन् ।

यी नाचका सम्पूर्ण अध्यायहरु गाउँघरका बूढापकाका मुखमै कण्ठस्त झुण्डिरहेका छन् । विवाह भोज-भतेर जात्रा हाट-बजारजस्ता सामाजिक जमघट एवम् वनपातमा गुन्जिएको  गीत सुन्दासुन्दै कलिला केटाकेटीहरुले गीत गाउन सिकिसकेका हुन्छन् । बाउ-बाजेले बेला-बखतमा गुनगुनाउने मन्त्र एवम् श्लोकहरु पत्तै नपाई केटाकेटीका गलामा सारिसकेका हुन्छन् । 

नेपाली जनजीवनको स्पन्दनको रुपमा रहेको  लोकसहित्य आहान लोकगीत लोकनाटक उखान-टुक्का लाकोक्ति गाउँखाने कथा आदि पूरापूर श्रुतिपरम्परामा आधारित छ । यो अलिखित विधा हो । सधैँभरि पसिनाले नुहाउने कुना-कन्दराका कर्मजीवीहरु लोकसाहित्यमा रुन्छन् लोकसाहित्यमा हाँस्छन् अनि लोकसाहित्यमा नै मन बुझाउँछन् । त्यसैले यो विधा उनीहरुको सुखदुःखको साथी बनेको छ । उनीहरु लोकसाहित्यको शाब्दिक अर्थसित परिचित नहुन सक्छन् । तर पनि लोकसाहित्यको मर्मसित भने उनीहरुको जीवन नै घोलिएको छ ।

 "जिउँदाको जन्ती, मर्दाको मलामी"  "भाइ कहाँ पाइ, भाइ मुटु खाइ",  "बाचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो", "सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैन दाजुभाइ", "कालो ठेकी कालीकाठको रातो ठेकी दारको, दिन आउँछ घुमिघुमी जोवन एकैबारको"  जस्ता लोकसाहित्यका फाँकी र फुँदाहरु मुखमुखबाटै पुराना पुस्ताबाट नयाँ पुस्तासम्म आइपुगेका छ्न् ।

यिनीहरुले मानव जीवनका शाश्वत पक्षहरुलाई उद्घाटन गरेका छन् । एक मुखबाट अर्को मुखमा सर्दै अएका यी मर्मभेदी अभिब्यक्ति युग र अनुभवको कसीमा खारिएका हुन्छन् । पहाडबाट खहरेखोलासँगै भरेको लाम्चो ढुङ्गा नदीको धार परेपछि कालान्तरमा एउटा निश्चित आकारमा परिणत भएझैं ।

गन्धर्व समुदायले लोकसाहित्यको एउटा हाँगो लोकगीत लाई बलियोसित समातेका छन् । गन्धर्व समुदायले परम्परादेखि नै  सुखदुःखका हाम्रा अभिव्यक्ति लोकगीत एवम् कर्खा हरुलाई मौखिक रुपमा साँच्दै आएका छन् । यिनै अभिव्यक्तिले अवस्थाअनुसार हाम्रो परेलीलाई निथ्रुक्कै भिजाइदिन्छ अनि हाम्रो ओंठमा मुस्कान फक्राइदिन्छ ।

 यिनै गन्धर्वहरुले अलिखित तर जीवित इतिहास पनि साँचेका छन् । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रा, चन्द्रशमसेरको जीवनी, अन्य राजा-महाराजाको उथुलपुथुलपूर्ण जीवन कहानी आदि घट्नामा आधारित भएर तयार पारिएका कर्खा यसका जिउँदा प्रमाण हुन् ।

नेपाली जनजीवन खासगरी ग्रामीण जनजीवनसित गहिरो नाता गाँसेको श्रुतिपरम्परालाई जोगाउने काम देशका कुना-कन्दराका अपठित कर्मजीवीहरुले गरेका छन् । उनीहरु डिस्को र क्याब्रे नृत्यमा छेपारी बटार्न पल्केका छैनन् । उनीहरु बाहिरी दुनियाँबाट अप्रभावित छन् ।

आ-आफ्नै  परिवेशमा फक्रिएका सांस्कृतिक निधिसित रमाइरहेका छन्, उनीहरु । पूजापाठमा प्रयोग हुने श्लोकदेखि विशेष मौकामा नचाइने घाँटु नाँचका कथामय अध्यायसम्मका सांस्कृतिक निधिलाई मुखमुखै बचाएर राख्ने पनि उनीहरु नै हुन् । यसैमा उनीहरुको जीवनको ढुकढुकी भेटिन्छ ।

हामीकहाँ श्रुतिपरम्पराको अथाह भण्डार छ । तर, समयको बदलिँदो प्रवाहसँगै यसको भण्डार रित्तिँदै गएको छ । यसको अवनतिलाई "पुरानो पात झर्दै जान्छ, नयाँ पलाउँदै जान्छ" भन्ने मान्यतसँग गाँसेर चित्त बुझाउनॆ वा यसलाई हाम्रो संस्कृतिको आधारशिला मानेर बचाउनतिर लाग्ने  निष्कर्ष आ-आफ्नै  हुनसक्छ । तर विकासको दौडमा पछि परको हाम्रो गरिब देशका अपठित कर्मजीवीहरुलाई  विकासको मूल प्रवाहमा ल्याउन जरुरी छ ।

यस दिशामा उनीहरुलाई अभिप्रेरित गर्नाका लागि  सजिलो र भरपर्दो माध्यमचाहि श्रुतिपरम्परा, लोकगीत, लोकनाटक, प्रहसन, आदि नै हुन् । श्रुतिपरम्पराको मध्यमबाट प्रवाहित सन्देश उनीहरुका लागि रुचिकर र वोधगम्य हुनसक्छ । लिखित परम्पराको चरम विकास भएको आधुनिक समयमा पनि श्रुति परपरम्पराले परिपूरकको भूमिका गरिरहेको छ ।

मनमनै मनन गर्ने हो भने आज  पनि श्रुति परम्पराको अतुलनीय भूमिका छ ।

नेपाली पोष्ट  २०६७ साल कात्तिक २५ गते ।]

[अद्यावधिक :२०६८१०१२, २०६९०१२५, २०६९।०९।११, २०७७।०२।२३, २०७७।०२।२४]