Showing posts with label सोसल मिडिया. Show all posts
Showing posts with label सोसल मिडिया. Show all posts

Friday, December 20, 2019

‘यु ट्युब’ को बुद्धिमत्तापूर्ण उपयोगको सवाल

-यमबहादुर दुरा

ग्राफिक्स : गुगल
‘टाइम’ म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्‍यो । उसले ‘तपाईँ’ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य व्यक्तिसमेत) लाई वर्ष व्यक्तिको रूपमा घोषणा गर्‍यो ।

सोसल मिडियाको आगमनसँगै हरेक व्यक्ति शक्तिशाली र प्रभावशाली बनिरहेको छ भन्ने आधारमा ‘टाइम’ म्यागजिनले  सामान्य नागरिकलाई पनि वर्ष व्यक्ति घोषणा गरेको हुुनुपर्छ ।  माइस्पेस, फेसबुक ‘यु ट्युब’ जस्ता सोसल मिडियाले ‘बेबी स्टेप’ लिन थालेको त्यस समयमा ‘टाइम’ म्यागजिनले सामान्य नागरिकलाई वर्ष व्यक्तिको दर्जा दिनु कताकता नसुहाउने काम भएको हो कि जस्तो लाग्थ्यो ।

‘टाइम’ म्यागजिनको त्यो घोषणा एक किसिमले असामान्य घटना थियो । तत्कालीन समयमा असामान्य जस्तो लाग्ने त्यो घटना अहिले आएर धेरै अर्थपूर्ण हुन गएको छ । सोसल मिडियाले हरेक व्यक्तिलाई प्रकाशक वा प्रसारक बन्ने अवसर दिएको छ, जुन कुरा विगतमा फगत सपनामात्र थियो । अहिले त्यो सपना विपनामा परिणत भएको छ ।

यसै सन्दर्भमा सोसल मिडियाको एउटा महत्वपूर्ण प्याटफर्म ‘यु ट्युब’ को कुरा गरौँ । आजभन्दा लगभग १५ वर्षअघि सन् २००५ मा यसको जन्म भएको हो । अनलाइन भुक्तानी प्रणालीसम्बन्धी अमेरिकी कम्पनी ‘पेपल’ का तत्कालीन कर्मचारी चाड हर्ले, स्टिभ चेन र जावेद करिमले ‘यु ट्युब’ शुरु गरेका हुन् । भिडियो सेयरिङको भरपर्दो प्याटफर्मको रूपमा ‘यु ट्युब’ को मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनो शहरमा रहेको छ ।

अहिले ‘यु ट्युब’ लाई नचिन्ने र नजान्ने व्यक्ति शायदै होलान् । वेबसाइटको स्तर निर्धारण गर्ने साइट ‘एलेक्सा’ ले ‘यु ट्युब’ लाई बढी भिजिटर भएको दोस्रो वेबसाइटको रूपमा रेटिङ गरेको छ । अहिले यो प्याटफर्म सबै पेशा र व्यावसायका व्यक्तिका लागि प्यारो थलो बनेको छ । ज्ञान प्राप्त गर्ने, ज्ञान बाँड्ने तथा समय बिताउने सबैका लागि गजबको प्याटफर्म बनेको छ, ‘यु ट्युब’ । अनि सिक्न चाहने र सिकाउन चाहने दुवैका लागि उपयोगी थलो हो ।

सार्वजनिक अभिलेखमा रहेको आँकडा अनुसार अहिले ‘यु ट्युब’ मा प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुन्छन् । हरेक दिन ३० मिलियन व्यक्तिले ‘यु ट्युब’ हेर्छन् । हरेक दिन पाँच बिलियन भिडियो हेरिन्छन्, जसमा आधाभन्दा बढी भिडियो मोबाइल सेटबाट हेरिन्छन् ।

विगतका दुर्लभ दृश्यदेखि वर्तमानको ताजा भिडियोसम्म हेर्ने पाइने प्याटफर्म पनि बनेको छ, ‘यु ट्युब’ । भान्छेलाई आवश्यक पाककलादेखि विश्वविद्यालयका प्राध्यापकलाई आवश्यक ज्ञानको भण्डार पनि ‘यु ट्युब’ नै ले उपलब्ध गराएको छ । नयाँ प्रतिभाले प्रतिभा प्रदर्शन गर्ने र हराएका प्रतिभाले पुनःजीवन पाउने अवसर पनि ‘यु ट्युब’ नै दिएको छ । क्लासिकदेखि ‘अल्ट्रमोर्डन’ गीतको अनौठो दोभान पनि ‘यु ट्युब’ नै बनेको छ । ‘यु ट्युब’ को बहुपक्षीय गुणले ‘हर मर्ज की दबा’ भन्ने पुरानो हिन्दी कहाबतको राम्रैसँग सम्झना गराएको छ ।

अर्कोतिर, एउटा टेलिभिजन च्यानलमा हुने सबै गुण ‘यु ट्युब’ मा छ । यसमा समाचार, ‘टक सो’, ‘म्युजिक भिडियो’ वृत्तचित्र पाककलालगायतका सबै किसिमका सामग्री पाइन्छन् । यसमा टेलिभिजनमा नभएको अर्को महत्वपूर्ण गुण पनि छ । त्यो हो, ‘रियल टाइम’ मा प्रसारण हेर्नुपर्ने बाध्यताको अन्त्य । ‘यु ट्युब’ का सामग्री भविष्य हेर्ने गरी साँचेर राख्न सकिन्छ ।

यस्तो मीठो अवसर टेलिभिजनले आफ्ना दर्शकलाई दिन सकेको छैन । अर्को कुरा, टेलिभिजन निश्चित मुठ्ठीभर व्यक्तिको हातमा छ भने ‘यु ट्युब’ एक हिसाबले सर्वहाराको हातमा छ । जिमेल अकाउण्ट हुने जोकोहीले पनि‘यु ट्युब’ च्यानल खोल्न सक्छ । अब टेलिभिजनले पाउँदै आएको विज्ञापन पनि ‘यु ट्युब’ तिरै मोडिने क्रम शुरु भइसकेको छ ।

आफूलाई प्रतिस्पर्धीसँगको दौडमा सामेल गराउनका लागि टेलिभिजन च्यानलले ‘यु ट्युब’ कै आश्रय लिनुपरेको छ । अहिले टेलिभिजन च्यानलहरू धमाधम ‘यु ट्युब’ मा जान थालेका छन् । अब, टेलिभिजनको चर्को प्रतिस्पर्धी अर्को कोही छ भने आफूले आश्रय लिएको त्यही ‘यु ट्युब’ नै हो भन्न थालिएको छ ।

जसरी डिजिटल प्रविधिको उपस्थितिले अखबारले भोगिरहेको पीडादायी नियति भोग्नुपर्ने पालो अब टेलिभिजनको आएको छ । त्यसमा पनि ‘यु ट्युब’ र फेसबुकले कुनै पनि ‘इभेन्ट’ को प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) को अवसरलाई सहज तुल्याएपछि टेलिभिजन थप सङ्कटमा पर्न थालेको छ ।

टेलिभिजन उद्योगलाई सङ्कटमा पारे पनि ‘यु ट्युब’ ले सर्वसाधारणलाई धेरै दृष्टिले लाभ नै पुर्‍याएको छ । रैथाने कला र संस्कृतिबारे भिडियो अभिलेखीकरण गर्न ‘यु ट्युब’ राम्रो संग्रहालय भएको छ । सांस्कृतिक पक्षको अध्ययन–अनुसन्धान गर्नेहरूका लागि पनि ‘यु ट्युब’ एउटा गतिलो थलो बनेको छ ।

 विकृति र विसङ्गतिको पाटोबाट हेर्ने हो भने पनि ‘यु ट्युब’ को वृत्तान्त अकथनीय छ । नकारात्मक शिराबाट हेर्ने हो भने ‘यु ट्युब’ एक किसिमको ‘ब्याक स्पट’ नै हो । यु ट्युब भिडियोसँग सम्बन्धित कतिपय गम्भीर मामिला अमेरिकी अदालतमा विचाराधीन छन् ।

 यसमा छाडा र अश्लील भिडियोको कुनै कमी छैन । घृणा फैलाउने अभिव्यक्तिको पनि कुनै अभाव छैन । यसमा अपराधिक सोच र मनोवृत्ति पृष्ठपोषण गर्ने खालका सामग्रीको पनि कुनै दुःख छैन ।
नेपालीबाट पनि पर्याप्त मात्रामा छाडा र अश्लील भिडियो ‘यु ट्युब’ मा अपलोड भइरहेको देखिन्छ । मानिसलाई भ्रममा पार्न भ्रामक र गलत सूचना प्रवाह गर्ने काम पनि नेपाली यु ट्युबरबाट भइरहेका छन् । हालसालै उठेको कालापानीको सीमा विवादमा नेपाललाई सघाउन चिनियाँ सेना लिपुलेक आइपुगेको झुटो खबर ‘यु ट्युब’ मा आए ।

आपतकालीन समयमा के कस्ता तयारी गर्ने भन्नेबारे गरिएको ‘रिहर्ससल’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान दुर्घटना भएकाले उद्दार कार्य भइरहेको छ भनेर कतिपय यु ट्युबरले प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने काम गरे । यी त यु ट्युबरले गरेका दुष्कर्मको सामान्य दृष्टान्तमात्र हुन् । ‘यु ट्युब’ मा आकर्षक थमनेल, क्याप्सन, शीर्षक राखेर दुष्प्रचार गरी सर्वसाधारणलाई उल्लू बनाउने काम व्यापकस्तरमा भइरहेको छ ।

यस्ता विकृतिसँग लड्न डिजिटल साक्षरता आवश्यक छ । इन्टरनेटसँग सम्बन्धित कानुनी ज्ञान पनि आवश्यक भइसकेको छ । दुष्प्रचार गरेर स्वार्थको झोली  भर्न पल्केका जो–कोही कानुनी दृष्टिले उन्मुक्त हुन छैनन् ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा २० ले जातीय घृणा, हिंसा आदिलाई प्रश्रय दिने दुष्प्रचारलाई प्रतिबन्ध लगाएको छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने काम अन्तर्गत दफा ५ (१) मा विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव गर्ने प्रकृतिका समाचार प्रकाशन तथा प्रकाशन गर्न नहुने उल्लेख गरेको छ ।

‘यु ट्युब’ एउटा अथाह सागर हो, जहाँ स्वाभाविक रूपमा राम्रा र नराम्रा दुवै चीज छन् । यसलाई ज्ञानकुञ्ज बनाउने कि विकृतिको महाकुण्ड बनाउने ? यो हरेक सचेत नागरिकले आफैंसँग सोध्नुपर्ने प्रश्न हो । अहिले देखिएका तमाम विकृतिको समाधान पनि यसैमा छ ।

साभार : लोकसंवाद । २०७६ साल पुस ४ गते ।

Thursday, October 25, 2018

मिथ्या समाचारको प्रभाव

—यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । ऊ हरपल नयाँ नयाँ सूचनासँग अद्यावधिक हुन चाहन्छ । आफ्ना बौद्धिक र भावनात्मक आवश्यकता पूरा गर्न उसलाई सूचना आवश्यक पर्छ । ताजा र सान्दर्भिक समाचारले सचेत व्यक्तिको सूचनाको भोक शान्त गर्न सहयोग गर्छ । ताजा जानकारी र समाचारले मानिसलाई गतिवान् र सबल बन्न सघाउँछ ।

हामी डिजिटल युगमा छौंँ । डिजिटल युगमा सूचना र समाचारको प्रवाहको गति अपरिमित छ । सूचनाको तीव्रतर प्रवाहलाई बुझाउन तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले ‘इन्फमेसन सुपरहाइवे’ शब्दावली प्रयोग गरेको धेरै भइसक्यो । जगजाहेर नै छ,  डिजिटल सञ्चारले दुनियाँमा जादूमय परिवर्तन ल्याएको छ ।
एकतिर डिजिटल युगले ताजा र सान्दर्भिक समाचार (सूचना) मार्फत दुनियाँलाई हिजोको भन्दा बढी सुसूचित र शक्तिशाली बनाएको छ भने अर्कोतिर मिथ्या सूचना प्रवाह गरेर दिग्भ्रमित बनाउने काम पनि सँगसँगै गरेको छ । अहिले यसबारे सचेत हुनुपर्ने बेला आइसकेको छ किनभने  ‘इन्फमेसन सुपरहाइवे’ मार्फत मिथ्या समाचार (फेक न्युज) प्रवाह हुन थालिसकेको छ ।
ग्राफिक्स: गुगल

वर्तमानमा (फेक न्युज) को जगजगी छ । यद्यपि, मिथ्या समाचार कुनै नयाँ विषय होइन । समाचार युगको लामो कालखण्डमा कुनै न कुनै रूपमा मिथ्या समाचारले स्थान पाउँदै आएको छ । इन्टरनेटले यसलाई मलजल गरेको छ । त्यसमा पनि इन्फमेसन सुपरहाइवे र सोसल मिडियाको समागमले रक्तबीजकै काम गरेको छ । हालका दिनमा मिथ्या समाचार चुनौतीको विषय बनिसकेको छ ।

सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावदेखि मिथ्या समाचारले बढी चर्चा नै बटुलेको छ । ‘कलिन्स शब्दकोश’ ले ‘फेक न्युज’ लाई सन् २०१७ को चर्चित शब्दावली मानेको तथ्यले यसको सघनतालाई पुष्टि गर्छ । अमेरिकी राष्ट्रपतीय चुनावका बेलामा पोप फ्रान्सिसले डोनाल्ड ट्रम्पलाई समर्थन गरेको, ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले विद्रोही संस्था आइएसआइलाई हतियार बेचेको जस्ता झूटा समाचार भाइरल भएका थिए । त्यतिबेला यस्ता समाचारले ‘द वासिङ्टन पोष्ट’, ‘द न्युयोर्क टाइम्स’ जस्ता विश्वसनीय समाचारपत्रले भन्दा बढी पाठक पाएको चर्चा चलेको थियो ।

त्यस समयमा म्यासेडोनियामा सञ्चालित फेक वेबसाइटबाट यस्ता मिथ्या समाचार प्रवाह भएकोबारे बेलायती समाचारपत्र ‘द गार्जियन’ ले विस्तृत विवरण नै छापेको थियो । अमेरिकाको मूलधारका सञ्चार माध्यमले हिलारी क्लिन्टनलाई समर्थन गरिरहेका बेलामा डोनाल्ड ट्रम्पले आश्चर्यजनक किसिमले चुनाव जितेपछि मिथ्या समाचार दिने वेबसाइटप्रति अध्येताहरूको ध्यान खिचिएको थियो ।
ग्राफिक्स: गुगल


अमेरिकी राष्ट्रपतीय चुनावताक परीक्षणको रूपमा सञ्चालित यस्ता वेबसाइटले अकल्पनीय रूपमा विज्ञापन र आर्थिक सहयोग पाएपछि म्यासेडोनियामा फेक वेबसाइटले उद्योगको रूप धारण गरेको थियो । त्यस समयमा म्यासेडोनियामा सञ्चालित सयौं फेक वेबसाइटको आर्थिक स्रोतबारे धेरै तथ्य अझै पनि खुल्न सकेको छैन ।

नेपालमा पनि मिथ्या समाचारका अनेकन प्रसंगहरू छन् । केही समय अघि फोब्स् म्याजिनले नेपालका १० जना धनाढ्य व्यक्तिहरूको सूची प्रकाशन गरेको समाचार अनलाइनमा आयो । त्यसपछि त्यही समाचार अरू अनलाइनमा भाइरल भएर आउन थाल्यो । हुँदा हँदा केही अखबारमा पनि त्यो समाचार आयो । वास्तवमा त्यो समाचार झूटो थियो । फोब्स् म्याजिनले विश्वका अर्बपतिहरूका मात्र सूची प्रकाशन गर्छ । त्यसमा नेपालबाट पर्ने विनोद चौधरीमात्र हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरोधी उम्मेदवारविरुद्ध सोसल मिडियामार्फत तथ्यहीन समाचार प्रवाह गरिएका धेरै घटना सार्वजनिक भएका थिए । लगभग दुई वर्ष अघि विद्रोही नेता नेत्रविक्रम चन्दले आफ्ना छोरालाई ५० लाखको मोटरसाइकल किनिदिएको समाचार एउटा वेबसाइटले प्रकाशन गरेको थियो । त्यसलाई सोसल मिडियामा सेयर गरिए, निकै भाइरल भयो, उनीप्रति आक्रोश पोखिए । वास्तवमा त्यो समाचार झूटो थियो भन्ने तथ्य विभिन्न स्रोतबाट पुष्टि भइसकेको छ ।

२०७२ को भूकम्पपछि थुप्रै मिथ्या समाचारले ठाउँ पाए । त्यतिबेला अर्को ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला समाचारका रूपमा सोसल मिडियामा भइरल भए । भूकम्प आउने तिथिमिति पनि तोकिए । सर्वसाधारण नागरिकले त्यसलाई विश्वास गरिरहे, आतङ्कित भइरहे र उल्लू बनिरहे ।

नेपालको भूकम्पबारे प्रवाह भएको मिथ्या समाचारबारे बीबीसीको वेबसाइटमा एउटा रोचक सामग्री भेटिन्छ । भूकम्पका कारण काठमाडौंस्थित एक होटलको स्विमिङ पुलमा भयानक किसिमले पानी छचल्एिको भनेर गलत दृश्य बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रसारण गरेको थियो । यसबारे बीबीसीले आफ्नो वेबसाइटमा स्वीकारोक्ति दिइसकेको छ । खासमा यो दृश्य सन् २०१० को अप्रिलमा मेक्सिकोमा आएको भूकम्पको दृश्य थियो । त्यही समयमा इजिष्ट ढलेको बिल्डिङको दृश्यलाई नेपालको भूकम्प भनेर देखाउने काम पनि भएको थियो ।

नेपालमा आएको भूकम्पबारे रिपोर्टिङ गर्न आएका भारतीय सञ्चार माध्यमले पनि मिथ्या समाचार प्रवाह गर्ने कार्यमा कुख्याति कमाए । त्यस समयमा भारतीय सञ्चार नेपालमा काफी अलोकप्रिय भएका थिए । त्यस पछाडि विभिन्न कारणमध्ये एक थियो, नेपालबारे मिथ्या समाचार दिनु । एउटा भारतीय टेलिभिजन च्यानलले दुईजना साना साना बालबालिकाको तस्बिर देखाएर उनीहरू भूकम्पबाट अभिभावकविहीन भएको बताएको थियो । तर त्यो तस्बिर नेपालको नभई सन् २००७ मा भियतनाममा खिचिएको खुलेको थियो ।

नेपालका ख्यातिप्राप्त स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटाको २०७५ साल असार ४ गते निधन भयो । तर उनको निधन हुनुभन्दा धेरै दिन अघि नै केही न्युज पोर्टलमा निधनको खबर आइसकेको थियो । उनी ज्यूँदै छँदा कतिपयले कुनै नबुझी फेसबुकमा श्रद्धान्जलि दिएका थिए । यस्तो दुर्भाग्यपूर्ण अवस्था मिथ्या समाचारले पैदा गरेको थियो ।

मिथ्या समाचारले पार्ने प्रभाव धेरै गहिरो छ । मानिस ज्यूँदै छँदा मृत्युको खबर आउँदा सम्बन्धित व्यक्ति र उनका परिवारजनमा पर्ने असर अवर्णनीय छ । मिथ्या समाचारबाट भड्कन सक्ने दंगा–फसादले गर्ने जनधनको क्षति, मानिसको प्रतिष्ठामा लाग्ने दागको कुनै भरपाइ हुन सक्दैन । २०७४ साल जेठ १७ गते छिमेकी मुलुक भारतको झारखण्डमा उत्तेजित भीडले कुटीकुटी सातजनाको ज्यान लिएकोे थियो । यसको कारण थियो, ह्वाट्सएपमा फरवार्ड गरिएको झूटो मेसेज । भीडमा मारिएका व्यक्तिहरूलाई बालबच्चा अपहरण गर्ने गिरोहको रूपमा चित्रण गरिएको थियो ।

मिथ्या समाचार के हो ? यसलाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । मिडिया अनुसन्धानसम्बन्धी संस्था ‘सेन्टर फर मिडिया रिसर्च, नेपाल’ का अनुसार भूटो वा गलत वा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका आमसञ्चार व इन्टरनेटका सामग्री मिथ्या समाचार (वा सूचना) हुन् । ‘कलिन्स शब्दकोश’ ले ‘समाचारका रूपमा प्रस्तुत गरिएका गलत र अक्सर सनसनीपूर्ण सूचना’ लाई मिथ्या समाचार भनेको छ ।

अमेरिकाबाट सञ्चालित वेबसाइट ‘फष्ट ड्राफ्ट न्युज’ ले सूचनाको विश्वसनीयता परीक्षण गर्ने काम गर्छ । यसका अनुसार मिथ्या समाचार सात प्रकार हुन्छन् : १. कसैको नोक्सान गर्ने उद्देश्य नभएको तर रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक विषयवस्तु, २. शीर्षक, दृश्य वा तस्बिरको मूलभावसँग मेल नखाने सामग्री, ३. अर्थको अनर्थ हुने गरी तयार पारिएका भ्रामक सामग्री, ४. जानकारी यथार्थ भए पनि त्यसलाई गलत सन्दर्भमा प्रयोग गरिएका सामग्री, ५. कुनै विश्वसनीय व्यक्तिको नाम अघि सारेर प्रस्तुत गरिएका झूटो अभिव्यक्ति, ६.कुनै तथ्य वा तस्बिरलाई तोडमोड गरेर तयार पारिएका सामग्री, र ७. अरूलाई दिग्भ्रमित तुल्याउन तयार पारिएका सत प्रतिशत झूटो सामग्री ।

मिथ्या समाचार चिन्नका लागि हामीसँग ‘स्वस्थ्य आशंका’ को भाव हुनु आवश्यक छ । हरेक व्यक्तिसँग समाचारप्रति आलोचनात्मक दृष्टिकोण पनि हुनुपर्छ । समाचारमा सनसनीखेज प्रसंग तथा आश्चर्यजनक वा अस्वाभाविक शीर्षक राखिएको छ भने त्यसप्रति बढी ‘स्वस्थ्य आशंका’ गर्नुपर्ने हुन्छ । यस्ता समाचारलाई सोसल मिडियामा सेयर गर्नुअघि समाचारको सत्यता र यसले पार्न सक्ने प्रभावबारे सोच्न आवश्यक छ ।

मिथ्या समाचार प्रवाह गर्ने फेक वेबसाइट मूलतः पैसा कमाउने अभिप्रायले सञ्चालित हुन्छन् । उनीहरू भड्किलो शीर्षक वा तस्बिर दिएर पाठकलाई आकर्षित गर्न चाहन्छन् । कतिपय अवस्थामा उनीहरू पाठकलाई ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ (मनोवैज्ञानिक व्यापार) गर्न पनि पछि पर्दैनन् । कतिले मूलधारका चर्चित सञ्चार माध्यमका वेबसाइटसँग मिल्ने गरी वेबसाइटका नाम राखेका हुन्छन् । वेबसाइटको नामबारे आलोचनात्मक दृष्टिकोण नराख्दा पाठक सोझै जालमा पर्छन् ।

नेपालमा तथ्य—परीक्षण गर्ने गतिलो परिपाटी नहुँदा सर्वसाधारणमात्र नभई कहलिएका सञ्चार माध्यमहरू पनि मिथ्या सञ्चारको माकुरी जालमा परेको देखिन्छ । अर्कोतिर हामीकहाँ स्रोत–साधनको पनि अभाव छ । नेपालका ग्रामीण भेगमा धेरै एफएम रेडियोहरूले संवाददाता राख्न नसक्दा अनलाइनको समाचारमा पर्छन् । कुनै कारणवश अनलाइनमा गलत समाचार पोष्ट भएमा रेडियोमार्फत जन–जनसम्म मिथ्या समाचार फैलिने खतरा छ ।

‘इन्फमेसन सुपरहाइवे’ ले दुनियाँलाई जीवनदायिनी गुण लगाए पनि यसले फैलाउन सक्ने भ्रामक समाचारबारे पनि सोच्नु उत्तिकै आवश्यक भइसकेको छ ।

[साभार: गोरखापत्र (२०७५ साल कात्तिक ८ गते)]

Monday, August 7, 2017

सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग


–यमबहादुर दुरा

नयाँ नयाँ ‘साइबर फेस्टिबल’ ले नेपाली जीवनशैलीमा इन्द्रधनुषी रङ थप्दैछ । गत असार १६ गते नेपाललगायत विश्वभर ‘सोसल मिडिया दिवस’ मनाइएको समाचारले सञ्चार माध्यममा स्थान पायो । बहुलवादी समाजमा यस्ता दिवसले जीवनशैलीको अनेकौं रूप र रङलाई समेट्छन् । जीवनशैलीमा विविधता छ र पो त बहुलवादी समाजको अस्तित्व छ ।

सन् १९९० पछि अस्तित्वमा आएको ‘इन्टरनेट संस्कृति’ ले दुनियाँलाई थुप्रै जीवनदायिनी उपहार दिएको छ, जसले मानव जातिको समृद्धिमा अतुलनीय योगदान दिइरहेको छ । ‘नेटिजन’ (इन्टरनेट प्रयोगकर्ता) हरूले ‘सोसल मिडिया’ मार्फत ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’  को भरमार उपयोग गरिरहेका छन् । इन्टरनेटले मानव समाजलाई दिएको एउटा सुन्दर उपहारको रूपमा यसलाई लिन सकिन्छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लोकतन्त्रको आधार स्तम्भ मानिन्छ । ‘नेपालको संविधान, २०७२’ धारा १७ (क), ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८’ (धारा १९), ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अधिकारसम्बन्धी’ (धारा १९) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरूले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई उच्च स्थान दिएका छन् ।

आफूमाथि भएका वा हुनसक्ने हरप्रकारको ज्यादातीविरुद्ध आवाज उठाउन ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ आवश्यक हुन्छ । यसको अनुपस्थितिमा कुनै पनि अधिकार सुरक्षित हुन सक्दैन  । त्यसैले यसलाई आधारभूत मानव अधिकार मानिएको हो । लोकतान्त्रिक परिपाटीमा ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ ले उच्च स्थान पाएको छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई मूर्त रूप दिने दिशामा अतुलनीय भूमिका खेलिरहेको छ । यसले मनभित्र छचल्किएका  खुल्दुली र विमतिलाई खुलस्त राख्न हरेक व्यक्तिलाई अवसर दिएको छ । इन्टरनेट नहुँदा आफ्ना कुरा समाजका सामु राख्ने यति सहज माध्यम जनसाधारणलाई उपलब्ध थिएन । ‘सोसल मिडिया’ ले मनको पोको फुकाउन जनसाधारणलाई बेमिसाल अवसर दिएको छ । यसले सर्वसाधारण नागरिकलाई अभूतपूर्व रूपमा शक्तिशाली बनाउँदै लगेको छ ।

फेसबुक, ट्वीटर, ब्लग, यु ट्युबजस्ता ‘सोसल मिडिया’ ले सिङ्गो समाजलाई सचेत तुल्याउने र बाटो देखाउने कम गरेका छन् । सामाजिक सञ्जालमा उर्लिएका जनआक्रोशलाई दृष्टिगत गरी व्यक्ति, सेवा प्रदायक तथा सरकारले आफ्ना कार्यशैली र त्रुटिहरू सच्याएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त छन् ।

यसले समाजलाई लोकतन्त्रको ट्र्याकमा हिँडाउन प्रत्यक्ष वा परोक्ष रूपमा बल दिइरहेको छ । इन्टरनेटले प्रवर्द्धन गरेको लोकतन्त्र आज ‘ई–डेमोक्रेसी’, ‘इन्टरनेट डेमोक्रेसी’ वा ‘डिजिटल डेमोक्रेसी’ बाट परिचित छ, जुन हाम्रो घरदैलोमा उपस्थित छ ।

सन् २०११ मा अरब भूमिको राजनीतिक परिदृश्य नै बदलिने गरी राजनीतिक बिद्रोह शुरु भयो । ‘अरब स्प्रिङ’ नामले परिचित उक्त बिद्रोह दबाउन राज्यपक्षबाट भएका ज्यादाती उजागर गर्न ‘सोसल मिडिया’ ले ठूलो भूमिका खेल्यो । मूलधारका सञ्चार माध्यमले दिन नसकेका दमनका 'इक्सक्लुसिभ' दृश्य विश्वसामु राख्ने काम ‘सोसल मिडिया’ ले नै गर्यो ।

एक्काइसौं शताब्दीमा पनि बन्द समाजको रूपमा परिचित अरबियन मुलुकका कतिपय महिलाले छद्मनाममा ब्लग लेखेर महिलाप्रतिको सामाजिक दृष्टिकोण बदल्न पहिलेदेखि नै प्रयास गरेका हुन् । ‘अरब स्प्रिङ’ लाई निश्चित रूप दिने काममा पनि ती छद्मनामधारी महिला ब्लगर कुनै न कुनै रूपमा हिस्सेदार छन् । ‘सोसल मिडिया’ ले समाज परिवर्तनका दिशामा दिएको योगदानको यस्ता अनेकौं दृष्टान्त छन् ।

खासगरी लोकतन्त्रको अभ्युदय नभइसकेका र तानाशाही शासन पद्धति कामयै भएका बन्द समाजमा ‘सोसल मिडिया’ को प्रभाव उल्लेखनीय छ । सूचनाको निर्वाध प्रवाहले हरप्रकारको जडसूत्रवाद र तानाशाही प्रवृत्तिविरुद्ध जेहाद छेडिरहेको छ । चाहे बोक्सीप्रथा विरुद्धको कुरीति होस् वा राज्यशक्तिको आडमा गरिएका जनविरोधी क्रियाकलाप नै किन नहोस्, ‘सोसल मिडिया’ को खबरदारी जारी छ ।

हरेक कुराको दुइटा पाटो हुन्छ भनेझैं ‘सोसल मिडिया’ को पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । यद्यपि कुनै पनि मिडिया आफैंमा राम्रो वा नराम्रो हुँदैन, प्रयोगकर्ता सद्विचार वा कुविचार केबाट निर्देशित छ भन्ने कुराले यसको नतिजा असल वा खराब के हुने भन्ने निर्धारण गर्दछ । यसलाई यही अनुरूप बुझ्न आवश्यक हुन्छ ।

एक तथ्याङ्कअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८२ प्रतिशतभन्दा बढी छ । समयक्रमसँगै इन्टरनेट प्रयोगकर्ताहरूको संख्या निरन्तर बढ्दो छ । इन्टरनेको विभिन्न एप्लिकेसनमध्ये फेसबुक, यु ट्युब, ट्वीटर जस्ता  ‘सोसल मिडिया’ सँग सम्बन्धित एप नै बढी प्रयोगमा आएका छन् ।

नेपालमा ‘सोसल मिडिया’ को बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक दुवै किसिमका नतिजा देखापर्न थालेका छन् । मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्योपचारका लागि सहयोग जुटाउने पुण्य कामदेखि गालीगलौजका निकृष्ट व्यवहारसम्म ‘सोसल मिडिया’ मा प्रतिविम्बित भएका छन् । यस्ता कुराले हाम्रो सोचाइको धरातल र सामाजिक मनोविज्ञानलाई इङ्गित गर्छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को प्रवर्द्धन गरिरहेको छ । यसले लोकतन्त्रको मजबुदीकरणमा योगदान दिइरहेकोमा शंका छैन । छ । तर ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ बेलगाम अधिकार होइन । यसका सीमाहरू छन् । त्यसलाई आत्मसात गर्न आवश्यक छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को अधिकार प्रयोग गर्दा अरुको इज्जत–प्रतिष्ठा र सामाजिक मर्यादामा कस्तो असर पर्छ भन्नेमा प्रयोगकर्ता पूर्ण सचेत भएन भने यसको नतिजा अकल्पनीय हुनसक्छ । बेलगाम अभिव्यक्तिले समाजलाई क्षति त हुन्छ नै, प्रयोगकर्ताकै छवि बिग्रने र ऊ कानुनी झमेलामा पर्नसक्ने अवस्था पनि आउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरुद्ध ‘सोसल मिडिया’ मा जथाभावी अभिव्यक्ति दिने व्यक्ति पक्राउ परी कानुनी दायरमा आएको घटनालाई यसको नवीनतम् दृष्टान्तको रूपमा लिन सकिन्छ । ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को उपयोग गर्दा त्यसको सीमा बुझ्नु जरुरी छ भन्ने तथ्यलाई यो घट्नाले प्रष्ट्याएको छ । प्रयोगकर्ताले पर्याप्त संयम अपनाउन आवश्यक हुन्छ भन्ने पनि यसले सिकाएको पाठ हो ।

संयमित बन्ने नाउँमा आफ्ना विचार राख्नै हुँदैन भन्नेचाहिँ कदापि होइन । आफ्ना विचार वा असहमतिका बुँदा शिष्ट र मर्यादित किसिमले राख्नुपर्छ  भन्ने यसको आशय हो । ‘सोसल मिडिया’ वा अन्य कुनै मिडियाले कसैको निजी जीवन र प्रतिष्ठामा गरेको क्षतिको भरपाइ हुन सक्दैन । यस किसिमको वास्तविकताप्रति पनि प्रयोगकर्ता सचेत हुनैपर्छ ।

‘सोसल मिडिया’ को प्रचलनमा व्यापकता आएसँगै विभिन्न स्वार्थी तत्वहरूले यसलाई खेल मैदानको रूपमा प्रयोग गर्न थालेको तथ्य अर्को मननीय पक्ष हो । सर्वसाधारण प्रयोगकर्तामाथि ‘सेन्टिमेन्टल ब्याकमेलिङ’ गरेर आफ्ना स्वार्थप्रेरित कन्टेन्ट सेयर गर्न लगाउने कार्यमा यस्ता तत्व सक्रिय देखिएका छन् ।

यस्ता स्वार्थी तत्वले बिच्छ्याएको भुलभुलैयापूर्ण पासोमा सर्वसाधारण प्रयोगकर्ता सजिलै पर्छन् । प्रयोगकर्ताहरूले लहैलहैमा त्यस्ता कन्टेन्ट सेयर गरिदिँदा गलत तत्वको मनोबल बढ्छ । गलत उद्देश्यपूर्तिका लागि सञ्चालित साइटको हिट बढाउने, गुगल एड हत्याउने र कसैको मानमर्दन गर्ने अभिप्रायले यस्ता कन्टेन्ट तयार पारिएका हुन्छन् ।

कसैसँग बदला लिन फेसबुकमा सम्बन्धित व्यक्तिको नाउँमा नक्कली अकाउण्ट खोल्ने, त्यसमा मर्यादाहीन तस्बिर पोष्ट गर्ने, हुँदो नहुँदो स्ट्याटस लेख्ने जस्ता काम पनि भएका छन् । सम्बन्धित व्यक्तिलाई दुनियाँसामु बेइज्जत गर्नु नै यसको ध्येय हुन्छ । यस्ता घटनालाई भैझगडा भई अदालतमा मुद्दा मामिला चल्नेसम्मको अवस्था आइसकेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखालाई उध्रृत गर्दै छापा माध्यमहरूमा आएका समाचार अनुसार गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ८३० उजुरी परेकोमा चालू आर्थिक वर्षको प्रथम छ महिनामै ५६० वटा यस्ता उजुरी परेका छन् । साइबर अपराधको क्रम बढ्दो क्रममा रहेको देखिन्छ ।

प्रयोगकर्ताको अज्ञानता अर्को खतरनाक पक्ष हो । कतिपय ‘सोसल मिडिया’ प्रयोगकर्ताले अज्ञानतावश दुर्घटनाका क्षतविक्षत लाशको तस्बिर तथा भिडियो पोष्ट गरेका हुन्छन्, जुन गर्नै नहुने काम हो । हामी कसैले पनि आफ्ना परिवारजनको यस्तो दृश्यको कल्पनासम्म पनि गर्न सक्दैनौं ।

आफ्ना परिवारजनको यस्तो दृश्यको हामी कल्पना पनि गर्न सक्दैनौं भने अरुका परिवारजनलाई यस्तै हुन्छ भन्ने समानुभूतिबाट हामी निर्देशित हुन आवश्यक छ । यस्ता दृश्यले सम्बन्धित परिवारलाई दिने चोटको गहिराइ जान्न आवश्यक छ । यस्ता तस्बिर तथा दृश्यले बालबालिका मनोविज्ञान बिग्रने तथ्यलाई पनि ख्याल गर्नु जरुरी छ ।

अहिले झुटा समाचार (फेक न्युज) तयार पार्ने, उत्तेजनापूर्ण स्ट्याटस लेख्ने तथा प्रोपगाण्डा भिडियो तयार पार्ने कामको कुनै कमी छैन । यस्ता कामका पछाडि गलत आशय लुकेका हुन्छन् । कतिपय प्रयोगकर्ताले कुराको गहिराइ नै नबुझी त्यसलाई सेयर गर्ने तथा कमेन्ट गर्ने गर्छन् । यसबाट गलत आशयबाट निर्देशित व्यक्तिलाई बल पुग्छ । हामीले थाहै नपाई गलत तत्वलाई काँधमा बोकिरहेका हुन्छौँ । यसप्रति हाम्रो सचेतता आवश्यक छ ।

वृहत्तर सामाजिक हितका लागि ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोग अहिलेको मूलभूत सवाल हो । यसको सही प्रयोगले समाजलाई सपार्न सक्छ भने गलत प्रयोगले बिगार्न पनि सक्छ । प्रत्येक ‘सोसल मिडिया’ प्रयोगकर्ताले रचनात्मक र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आवश्यक छ ।

हरेक प्रयोगकर्ताले कुनै सामग्री पोष्ट गर्नु अघि यसले आफू स्वयं र समाजलाई नकारात्मक असर पार्छ कि पार्दैन भनेर सोच्नैपर्छ । ‘सोसल मिडिया’ मा प्रयोग गरिएका सामग्री सही–सत्य छन् कि छैनन् भनेर सत्यापन परीक्षण गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

आफूजस्तै अन्य प्रयोगकर्ताको सत्य–तथ्य जान्ने, उपयोगी जानकारी ग्रहण गर्ने र त्यस्ता सामग्रीबाट अनुप्राणीत हुने अधिकारलाई सम्मान गर्नुपर्ने हुन्छ । हरेक प्रयोगकर्ता सचेत, रचनात्मक, जिम्मेवार र नैतिकवान् बन्नुमा नै ‘सोसल मिडिया’ को औचित्य रहन्छ । ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोगको जग पनि यही हो ।

[साभार: अन्नपूर्ण पोष्ट । साउन २३, २०७४ ।]