Showing posts with label Social Media. Show all posts
Showing posts with label Social Media. Show all posts

Wednesday, June 10, 2020

अनलाइन मिडियाको विश्वसनीयता

–यमबहादुर दुरा

दुनियाँ गतिशील छ । त्यसमा पनि अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यावहार व्यापक फेरबदल ल्याइएको छ ।

ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो ।

अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दरिलो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।

अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । आधुनिक युगले दिएको एउटा सुन्दर उपहार हो, यो । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । जगजाहेर नै छ, सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ ।

हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । धेरै पर नजाऔँ । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन समाज नराम्ररी कुसूचित हुन पुगेका छन् । धेरै अध्ययनहरूले यो तथ्यलाई औंल्याएका छन् ।

अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् ।

पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युजरुम प्रसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकारले पाएको कुनै पनि सूचना वा जानकारीको सहीपन पाठक–स्रोतामा पुग्नुअघि नै परीक्षण गर्नुपर्छ । त्यसो नगरी जानकारी प्रकाशन–प्रसारण गर्न मिल्दैन । अर्थात् पत्रकारितामा खास चरणहरू पार गरेरमात्रै सूचना प्रवाह गर्ने अवस्थामा पुग्छ ।

अन्य प्रकृतिको सञ्चार जोकोहीले पनि गर्न सक्छ, जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । नेपालको संविधान, २०७२ को धारा १९ ले हरेक नागरिकलाई सञ्चारको हक दिएको छ । सञ्चारको हक प्रयोग गर्ने कुरा एउट हो, सही सूचना प्रवाह गर्ने कुरा अर्को हो । अभिव्यक्ति (सूचना प्रवाहको) स्वतन्त्रता र सूचनाको सहीपनलाई एउटै अर्थमा बुझिनुहुन्न ।

सोसल मिडियाको विष्फोटक उपस्थितिले सूचनाको हक उपभोगमा सहजता थपिएको छ । मूलधारका सञ्चार माध्यममा स्थान नपाएका कतिपय विषयले सोसल मिडियामा राम्रो स्थान पाएका छन् । सोसल मिडिया वैकल्पिक मिडियाको रूपमा पनि देखापर्दैछ । यसले व्यक्ति, समूह वा समाजका वास्तविक सरोकारलाई स्थान दिएका छन् । कतिपय व्यक्तिका लागि सोसल मिडिया प्रतिभा प्रदर्शन गर्ने डबली पनि बनेको छ ।

सोसल मिडियाका नकारात्मक पाटो पनि छ । यसमा सूचना प्रवाह गर्नुअघि पत्रकारले जस्तो परीक्षण गर्नुपर्ने बाध्यता पनि हँुदैन । सोसल मिडियामा प्रवाह गरिने सूचनाको सत्यता जाँच्ने कुरा सम्बन्धित व्यक्तिको नैतिकतामा निर्भर रहन्छ । कुनै कारणवश व्यक्तिबाट गलत जानकारी फुत्किएमा त्यो एकचोटि जनसागरमा पुग्छ । त्यसले गर्ने क्षतिको लेखाजोखा गर्न मुस्किल छ ।

जोकोहीले सूचना प्रवाह गर्नसक्ने अवस्थामा जस्तो पायो त्यस्तै सूचना सार्वजनिक हुने सम्भावना रहन्छ नै । यस किसिमको सञ्चार प्रणालीमा व्यक्तिले उपयोगी, अनुपयोगी, हानीकारक सबै प्रकृतिका जानकारी सम्प्रेषण गर्न सक्छन् । त्यस्तो कार्य जानेर नजानेर वा गलत आशयका साथ पनि हुन सक्छ ।

कतिपय अवस्थामा बद्नियत नभए पनि सम्प्रेषणकर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत सावित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । कसैले दिएको अहितकर जानकारीलाई उपयोगी ठानेर सेयर गर्नु पनि ‘मिस्इन्फरमेसन’ नै हो । अहिले सोसल मिडियामा ‘मिस्इन्फरमेसन’ एउटा रोगकै रूपमा देखापरेको छ ।

कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थसिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्धसत्य वा पूरापूर असत्य वा नितान्त भ्रामक हुन सक्छन् । कसैको फेसबुक स्ट््याटस, तस्बिर, ट्वीट आदि जे पनि यसमा पर्न सक्छन् । आकर्षक स्वरूपमा देखापर्ने यस्ता सामग्रीको भ्रमजालमा जो कोही पर्छन् ।

सोसल मिडियामा यो प्रकृतिका जानकारी भरमार भेटिन्छन् । ‘डिस्इन्फरमेसन’ का अनेक उद्देश्य हुन सक्छन् । आफ्नो वस्तु तथा सेवाको बढाइ–चढाइ प्रचार गर्न, आफ्नो साइट वा च्यानलको भिजिटर बढाउन, आफ्ना विरोधीहरूलाई अरूको नजरमा गिराउने वा घृणा फैल्याउनेजस्ता अनेकन् कुत्सित नियत पूरा गर्न ‘डिस्इन्फरमेसन’ को सहारा लिइएको पाइन्छ ।

आकर्षक शीर्षक, तस्बिर तथा भिडियोको गलत प्रयोग, बिकाउ नारा, ‘सेन्टिमेन्टल ब्ल्याक  मेलिङ’ आदिको सहारा लिएर ‘डिस्इन्फरमेसन’ गर्ने क्रम बढेको छ । हाम्रो सन्दर्भमा मूलतः युट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति कमाएका छन् ।

राजनीतिक, कूटनीतिक तथा राष्ट्र–राष्ट्रका सन्दर्भमा पनि ‘डिस्इन्फरमेसन’ लाई अस्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । महाभारतलगायत आध्यात्मिक प्रसंगमा समेत ‘डिस्इन्फरमेसन’ को प्रयोग भएको छ ।
कुनै सामाजिक उत्तरदायित्य बिना नै अर्थोपार्जन गर्ने एकमात्र अभीष्टमा खुलेका कतिपय युट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता अनेकन् कुकृत्य रचेका बग्रेल्ती दृष्टान्त छन् ।

प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हो भनेको छ । तर, कतिपय अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) द्वारा जारी पत्रकार आचार संहिताको दफा ५ मा छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने प्रावधान छ । तर, कतिपय जिम्मेवार अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् ।

आचार संहितालाई आत्मासात नगर्ने सोसल मिडियाका कतिपय  प्रयोगकर्ताले त सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियाप्रति अनुदार नियम ल्याउने बाटो खोलिएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर क्षति पुर्‍याउने सम्भावना छ  ।

सूचना प्रवाहमा देखापरेको यसप्रकारको आशंका र अनिष्टको बादल हटाउन आवश्यक छ । यसका लागि हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्मीलाई कसैले नियमन गर्नुभन्दा पनि आफैं  जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ । यसको कुनै विकल्प छैन ।

[गोरखापत्र । २०७७ साल जेठ २८ गते ।]

Friday, December 20, 2019

‘यु ट्युब’ को बुद्धिमत्तापूर्ण उपयोगको सवाल

-यमबहादुर दुरा

ग्राफिक्स : गुगल
‘टाइम’ म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्‍यो । उसले ‘तपाईँ’ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य व्यक्तिसमेत) लाई वर्ष व्यक्तिको रूपमा घोषणा गर्‍यो ।

सोसल मिडियाको आगमनसँगै हरेक व्यक्ति शक्तिशाली र प्रभावशाली बनिरहेको छ भन्ने आधारमा ‘टाइम’ म्यागजिनले  सामान्य नागरिकलाई पनि वर्ष व्यक्ति घोषणा गरेको हुुनुपर्छ ।  माइस्पेस, फेसबुक ‘यु ट्युब’ जस्ता सोसल मिडियाले ‘बेबी स्टेप’ लिन थालेको त्यस समयमा ‘टाइम’ म्यागजिनले सामान्य नागरिकलाई वर्ष व्यक्तिको दर्जा दिनु कताकता नसुहाउने काम भएको हो कि जस्तो लाग्थ्यो ।

‘टाइम’ म्यागजिनको त्यो घोषणा एक किसिमले असामान्य घटना थियो । तत्कालीन समयमा असामान्य जस्तो लाग्ने त्यो घटना अहिले आएर धेरै अर्थपूर्ण हुन गएको छ । सोसल मिडियाले हरेक व्यक्तिलाई प्रकाशक वा प्रसारक बन्ने अवसर दिएको छ, जुन कुरा विगतमा फगत सपनामात्र थियो । अहिले त्यो सपना विपनामा परिणत भएको छ ।

यसै सन्दर्भमा सोसल मिडियाको एउटा महत्वपूर्ण प्याटफर्म ‘यु ट्युब’ को कुरा गरौँ । आजभन्दा लगभग १५ वर्षअघि सन् २००५ मा यसको जन्म भएको हो । अनलाइन भुक्तानी प्रणालीसम्बन्धी अमेरिकी कम्पनी ‘पेपल’ का तत्कालीन कर्मचारी चाड हर्ले, स्टिभ चेन र जावेद करिमले ‘यु ट्युब’ शुरु गरेका हुन् । भिडियो सेयरिङको भरपर्दो प्याटफर्मको रूपमा ‘यु ट्युब’ को मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनो शहरमा रहेको छ ।

अहिले ‘यु ट्युब’ लाई नचिन्ने र नजान्ने व्यक्ति शायदै होलान् । वेबसाइटको स्तर निर्धारण गर्ने साइट ‘एलेक्सा’ ले ‘यु ट्युब’ लाई बढी भिजिटर भएको दोस्रो वेबसाइटको रूपमा रेटिङ गरेको छ । अहिले यो प्याटफर्म सबै पेशा र व्यावसायका व्यक्तिका लागि प्यारो थलो बनेको छ । ज्ञान प्राप्त गर्ने, ज्ञान बाँड्ने तथा समय बिताउने सबैका लागि गजबको प्याटफर्म बनेको छ, ‘यु ट्युब’ । अनि सिक्न चाहने र सिकाउन चाहने दुवैका लागि उपयोगी थलो हो ।

सार्वजनिक अभिलेखमा रहेको आँकडा अनुसार अहिले ‘यु ट्युब’ मा प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुन्छन् । हरेक दिन ३० मिलियन व्यक्तिले ‘यु ट्युब’ हेर्छन् । हरेक दिन पाँच बिलियन भिडियो हेरिन्छन्, जसमा आधाभन्दा बढी भिडियो मोबाइल सेटबाट हेरिन्छन् ।

विगतका दुर्लभ दृश्यदेखि वर्तमानको ताजा भिडियोसम्म हेर्ने पाइने प्याटफर्म पनि बनेको छ, ‘यु ट्युब’ । भान्छेलाई आवश्यक पाककलादेखि विश्वविद्यालयका प्राध्यापकलाई आवश्यक ज्ञानको भण्डार पनि ‘यु ट्युब’ नै ले उपलब्ध गराएको छ । नयाँ प्रतिभाले प्रतिभा प्रदर्शन गर्ने र हराएका प्रतिभाले पुनःजीवन पाउने अवसर पनि ‘यु ट्युब’ नै दिएको छ । क्लासिकदेखि ‘अल्ट्रमोर्डन’ गीतको अनौठो दोभान पनि ‘यु ट्युब’ नै बनेको छ । ‘यु ट्युब’ को बहुपक्षीय गुणले ‘हर मर्ज की दबा’ भन्ने पुरानो हिन्दी कहाबतको राम्रैसँग सम्झना गराएको छ ।

अर्कोतिर, एउटा टेलिभिजन च्यानलमा हुने सबै गुण ‘यु ट्युब’ मा छ । यसमा समाचार, ‘टक सो’, ‘म्युजिक भिडियो’ वृत्तचित्र पाककलालगायतका सबै किसिमका सामग्री पाइन्छन् । यसमा टेलिभिजनमा नभएको अर्को महत्वपूर्ण गुण पनि छ । त्यो हो, ‘रियल टाइम’ मा प्रसारण हेर्नुपर्ने बाध्यताको अन्त्य । ‘यु ट्युब’ का सामग्री भविष्य हेर्ने गरी साँचेर राख्न सकिन्छ ।

यस्तो मीठो अवसर टेलिभिजनले आफ्ना दर्शकलाई दिन सकेको छैन । अर्को कुरा, टेलिभिजन निश्चित मुठ्ठीभर व्यक्तिको हातमा छ भने ‘यु ट्युब’ एक हिसाबले सर्वहाराको हातमा छ । जिमेल अकाउण्ट हुने जोकोहीले पनि‘यु ट्युब’ च्यानल खोल्न सक्छ । अब टेलिभिजनले पाउँदै आएको विज्ञापन पनि ‘यु ट्युब’ तिरै मोडिने क्रम शुरु भइसकेको छ ।

आफूलाई प्रतिस्पर्धीसँगको दौडमा सामेल गराउनका लागि टेलिभिजन च्यानलले ‘यु ट्युब’ कै आश्रय लिनुपरेको छ । अहिले टेलिभिजन च्यानलहरू धमाधम ‘यु ट्युब’ मा जान थालेका छन् । अब, टेलिभिजनको चर्को प्रतिस्पर्धी अर्को कोही छ भने आफूले आश्रय लिएको त्यही ‘यु ट्युब’ नै हो भन्न थालिएको छ ।

जसरी डिजिटल प्रविधिको उपस्थितिले अखबारले भोगिरहेको पीडादायी नियति भोग्नुपर्ने पालो अब टेलिभिजनको आएको छ । त्यसमा पनि ‘यु ट्युब’ र फेसबुकले कुनै पनि ‘इभेन्ट’ को प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) को अवसरलाई सहज तुल्याएपछि टेलिभिजन थप सङ्कटमा पर्न थालेको छ ।

टेलिभिजन उद्योगलाई सङ्कटमा पारे पनि ‘यु ट्युब’ ले सर्वसाधारणलाई धेरै दृष्टिले लाभ नै पुर्‍याएको छ । रैथाने कला र संस्कृतिबारे भिडियो अभिलेखीकरण गर्न ‘यु ट्युब’ राम्रो संग्रहालय भएको छ । सांस्कृतिक पक्षको अध्ययन–अनुसन्धान गर्नेहरूका लागि पनि ‘यु ट्युब’ एउटा गतिलो थलो बनेको छ ।

 विकृति र विसङ्गतिको पाटोबाट हेर्ने हो भने पनि ‘यु ट्युब’ को वृत्तान्त अकथनीय छ । नकारात्मक शिराबाट हेर्ने हो भने ‘यु ट्युब’ एक किसिमको ‘ब्याक स्पट’ नै हो । यु ट्युब भिडियोसँग सम्बन्धित कतिपय गम्भीर मामिला अमेरिकी अदालतमा विचाराधीन छन् ।

 यसमा छाडा र अश्लील भिडियोको कुनै कमी छैन । घृणा फैलाउने अभिव्यक्तिको पनि कुनै अभाव छैन । यसमा अपराधिक सोच र मनोवृत्ति पृष्ठपोषण गर्ने खालका सामग्रीको पनि कुनै दुःख छैन ।
नेपालीबाट पनि पर्याप्त मात्रामा छाडा र अश्लील भिडियो ‘यु ट्युब’ मा अपलोड भइरहेको देखिन्छ । मानिसलाई भ्रममा पार्न भ्रामक र गलत सूचना प्रवाह गर्ने काम पनि नेपाली यु ट्युबरबाट भइरहेका छन् । हालसालै उठेको कालापानीको सीमा विवादमा नेपाललाई सघाउन चिनियाँ सेना लिपुलेक आइपुगेको झुटो खबर ‘यु ट्युब’ मा आए ।

आपतकालीन समयमा के कस्ता तयारी गर्ने भन्नेबारे गरिएको ‘रिहर्ससल’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान दुर्घटना भएकाले उद्दार कार्य भइरहेको छ भनेर कतिपय यु ट्युबरले प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने काम गरे । यी त यु ट्युबरले गरेका दुष्कर्मको सामान्य दृष्टान्तमात्र हुन् । ‘यु ट्युब’ मा आकर्षक थमनेल, क्याप्सन, शीर्षक राखेर दुष्प्रचार गरी सर्वसाधारणलाई उल्लू बनाउने काम व्यापकस्तरमा भइरहेको छ ।

यस्ता विकृतिसँग लड्न डिजिटल साक्षरता आवश्यक छ । इन्टरनेटसँग सम्बन्धित कानुनी ज्ञान पनि आवश्यक भइसकेको छ । दुष्प्रचार गरेर स्वार्थको झोली  भर्न पल्केका जो–कोही कानुनी दृष्टिले उन्मुक्त हुन छैनन् ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा २० ले जातीय घृणा, हिंसा आदिलाई प्रश्रय दिने दुष्प्रचारलाई प्रतिबन्ध लगाएको छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने काम अन्तर्गत दफा ५ (१) मा विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव गर्ने प्रकृतिका समाचार प्रकाशन तथा प्रकाशन गर्न नहुने उल्लेख गरेको छ ।

‘यु ट्युब’ एउटा अथाह सागर हो, जहाँ स्वाभाविक रूपमा राम्रा र नराम्रा दुवै चीज छन् । यसलाई ज्ञानकुञ्ज बनाउने कि विकृतिको महाकुण्ड बनाउने ? यो हरेक सचेत नागरिकले आफैंसँग सोध्नुपर्ने प्रश्न हो । अहिले देखिएका तमाम विकृतिको समाधान पनि यसैमा छ ।

साभार : लोकसंवाद । २०७६ साल पुस ४ गते ।

Thursday, October 25, 2018

मिथ्या समाचारको प्रभाव

—यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । ऊ हरपल नयाँ नयाँ सूचनासँग अद्यावधिक हुन चाहन्छ । आफ्ना बौद्धिक र भावनात्मक आवश्यकता पूरा गर्न उसलाई सूचना आवश्यक पर्छ । ताजा र सान्दर्भिक समाचारले सचेत व्यक्तिको सूचनाको भोक शान्त गर्न सहयोग गर्छ । ताजा जानकारी र समाचारले मानिसलाई गतिवान् र सबल बन्न सघाउँछ ।

हामी डिजिटल युगमा छौंँ । डिजिटल युगमा सूचना र समाचारको प्रवाहको गति अपरिमित छ । सूचनाको तीव्रतर प्रवाहलाई बुझाउन तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले ‘इन्फमेसन सुपरहाइवे’ शब्दावली प्रयोग गरेको धेरै भइसक्यो । जगजाहेर नै छ,  डिजिटल सञ्चारले दुनियाँमा जादूमय परिवर्तन ल्याएको छ ।
एकतिर डिजिटल युगले ताजा र सान्दर्भिक समाचार (सूचना) मार्फत दुनियाँलाई हिजोको भन्दा बढी सुसूचित र शक्तिशाली बनाएको छ भने अर्कोतिर मिथ्या सूचना प्रवाह गरेर दिग्भ्रमित बनाउने काम पनि सँगसँगै गरेको छ । अहिले यसबारे सचेत हुनुपर्ने बेला आइसकेको छ किनभने  ‘इन्फमेसन सुपरहाइवे’ मार्फत मिथ्या समाचार (फेक न्युज) प्रवाह हुन थालिसकेको छ ।
ग्राफिक्स: गुगल

वर्तमानमा (फेक न्युज) को जगजगी छ । यद्यपि, मिथ्या समाचार कुनै नयाँ विषय होइन । समाचार युगको लामो कालखण्डमा कुनै न कुनै रूपमा मिथ्या समाचारले स्थान पाउँदै आएको छ । इन्टरनेटले यसलाई मलजल गरेको छ । त्यसमा पनि इन्फमेसन सुपरहाइवे र सोसल मिडियाको समागमले रक्तबीजकै काम गरेको छ । हालका दिनमा मिथ्या समाचार चुनौतीको विषय बनिसकेको छ ।

सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावदेखि मिथ्या समाचारले बढी चर्चा नै बटुलेको छ । ‘कलिन्स शब्दकोश’ ले ‘फेक न्युज’ लाई सन् २०१७ को चर्चित शब्दावली मानेको तथ्यले यसको सघनतालाई पुष्टि गर्छ । अमेरिकी राष्ट्रपतीय चुनावका बेलामा पोप फ्रान्सिसले डोनाल्ड ट्रम्पलाई समर्थन गरेको, ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले विद्रोही संस्था आइएसआइलाई हतियार बेचेको जस्ता झूटा समाचार भाइरल भएका थिए । त्यतिबेला यस्ता समाचारले ‘द वासिङ्टन पोष्ट’, ‘द न्युयोर्क टाइम्स’ जस्ता विश्वसनीय समाचारपत्रले भन्दा बढी पाठक पाएको चर्चा चलेको थियो ।

त्यस समयमा म्यासेडोनियामा सञ्चालित फेक वेबसाइटबाट यस्ता मिथ्या समाचार प्रवाह भएकोबारे बेलायती समाचारपत्र ‘द गार्जियन’ ले विस्तृत विवरण नै छापेको थियो । अमेरिकाको मूलधारका सञ्चार माध्यमले हिलारी क्लिन्टनलाई समर्थन गरिरहेका बेलामा डोनाल्ड ट्रम्पले आश्चर्यजनक किसिमले चुनाव जितेपछि मिथ्या समाचार दिने वेबसाइटप्रति अध्येताहरूको ध्यान खिचिएको थियो ।
ग्राफिक्स: गुगल


अमेरिकी राष्ट्रपतीय चुनावताक परीक्षणको रूपमा सञ्चालित यस्ता वेबसाइटले अकल्पनीय रूपमा विज्ञापन र आर्थिक सहयोग पाएपछि म्यासेडोनियामा फेक वेबसाइटले उद्योगको रूप धारण गरेको थियो । त्यस समयमा म्यासेडोनियामा सञ्चालित सयौं फेक वेबसाइटको आर्थिक स्रोतबारे धेरै तथ्य अझै पनि खुल्न सकेको छैन ।

नेपालमा पनि मिथ्या समाचारका अनेकन प्रसंगहरू छन् । केही समय अघि फोब्स् म्याजिनले नेपालका १० जना धनाढ्य व्यक्तिहरूको सूची प्रकाशन गरेको समाचार अनलाइनमा आयो । त्यसपछि त्यही समाचार अरू अनलाइनमा भाइरल भएर आउन थाल्यो । हुँदा हँदा केही अखबारमा पनि त्यो समाचार आयो । वास्तवमा त्यो समाचार झूटो थियो । फोब्स् म्याजिनले विश्वका अर्बपतिहरूका मात्र सूची प्रकाशन गर्छ । त्यसमा नेपालबाट पर्ने विनोद चौधरीमात्र हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरोधी उम्मेदवारविरुद्ध सोसल मिडियामार्फत तथ्यहीन समाचार प्रवाह गरिएका धेरै घटना सार्वजनिक भएका थिए । लगभग दुई वर्ष अघि विद्रोही नेता नेत्रविक्रम चन्दले आफ्ना छोरालाई ५० लाखको मोटरसाइकल किनिदिएको समाचार एउटा वेबसाइटले प्रकाशन गरेको थियो । त्यसलाई सोसल मिडियामा सेयर गरिए, निकै भाइरल भयो, उनीप्रति आक्रोश पोखिए । वास्तवमा त्यो समाचार झूटो थियो भन्ने तथ्य विभिन्न स्रोतबाट पुष्टि भइसकेको छ ।

२०७२ को भूकम्पपछि थुप्रै मिथ्या समाचारले ठाउँ पाए । त्यतिबेला अर्को ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला समाचारका रूपमा सोसल मिडियामा भइरल भए । भूकम्प आउने तिथिमिति पनि तोकिए । सर्वसाधारण नागरिकले त्यसलाई विश्वास गरिरहे, आतङ्कित भइरहे र उल्लू बनिरहे ।

नेपालको भूकम्पबारे प्रवाह भएको मिथ्या समाचारबारे बीबीसीको वेबसाइटमा एउटा रोचक सामग्री भेटिन्छ । भूकम्पका कारण काठमाडौंस्थित एक होटलको स्विमिङ पुलमा भयानक किसिमले पानी छचल्एिको भनेर गलत दृश्य बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रसारण गरेको थियो । यसबारे बीबीसीले आफ्नो वेबसाइटमा स्वीकारोक्ति दिइसकेको छ । खासमा यो दृश्य सन् २०१० को अप्रिलमा मेक्सिकोमा आएको भूकम्पको दृश्य थियो । त्यही समयमा इजिष्ट ढलेको बिल्डिङको दृश्यलाई नेपालको भूकम्प भनेर देखाउने काम पनि भएको थियो ।

नेपालमा आएको भूकम्पबारे रिपोर्टिङ गर्न आएका भारतीय सञ्चार माध्यमले पनि मिथ्या समाचार प्रवाह गर्ने कार्यमा कुख्याति कमाए । त्यस समयमा भारतीय सञ्चार नेपालमा काफी अलोकप्रिय भएका थिए । त्यस पछाडि विभिन्न कारणमध्ये एक थियो, नेपालबारे मिथ्या समाचार दिनु । एउटा भारतीय टेलिभिजन च्यानलले दुईजना साना साना बालबालिकाको तस्बिर देखाएर उनीहरू भूकम्पबाट अभिभावकविहीन भएको बताएको थियो । तर त्यो तस्बिर नेपालको नभई सन् २००७ मा भियतनाममा खिचिएको खुलेको थियो ।

नेपालका ख्यातिप्राप्त स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटाको २०७५ साल असार ४ गते निधन भयो । तर उनको निधन हुनुभन्दा धेरै दिन अघि नै केही न्युज पोर्टलमा निधनको खबर आइसकेको थियो । उनी ज्यूँदै छँदा कतिपयले कुनै नबुझी फेसबुकमा श्रद्धान्जलि दिएका थिए । यस्तो दुर्भाग्यपूर्ण अवस्था मिथ्या समाचारले पैदा गरेको थियो ।

मिथ्या समाचारले पार्ने प्रभाव धेरै गहिरो छ । मानिस ज्यूँदै छँदा मृत्युको खबर आउँदा सम्बन्धित व्यक्ति र उनका परिवारजनमा पर्ने असर अवर्णनीय छ । मिथ्या समाचारबाट भड्कन सक्ने दंगा–फसादले गर्ने जनधनको क्षति, मानिसको प्रतिष्ठामा लाग्ने दागको कुनै भरपाइ हुन सक्दैन । २०७४ साल जेठ १७ गते छिमेकी मुलुक भारतको झारखण्डमा उत्तेजित भीडले कुटीकुटी सातजनाको ज्यान लिएकोे थियो । यसको कारण थियो, ह्वाट्सएपमा फरवार्ड गरिएको झूटो मेसेज । भीडमा मारिएका व्यक्तिहरूलाई बालबच्चा अपहरण गर्ने गिरोहको रूपमा चित्रण गरिएको थियो ।

मिथ्या समाचार के हो ? यसलाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । मिडिया अनुसन्धानसम्बन्धी संस्था ‘सेन्टर फर मिडिया रिसर्च, नेपाल’ का अनुसार भूटो वा गलत वा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका आमसञ्चार व इन्टरनेटका सामग्री मिथ्या समाचार (वा सूचना) हुन् । ‘कलिन्स शब्दकोश’ ले ‘समाचारका रूपमा प्रस्तुत गरिएका गलत र अक्सर सनसनीपूर्ण सूचना’ लाई मिथ्या समाचार भनेको छ ।

अमेरिकाबाट सञ्चालित वेबसाइट ‘फष्ट ड्राफ्ट न्युज’ ले सूचनाको विश्वसनीयता परीक्षण गर्ने काम गर्छ । यसका अनुसार मिथ्या समाचार सात प्रकार हुन्छन् : १. कसैको नोक्सान गर्ने उद्देश्य नभएको तर रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक विषयवस्तु, २. शीर्षक, दृश्य वा तस्बिरको मूलभावसँग मेल नखाने सामग्री, ३. अर्थको अनर्थ हुने गरी तयार पारिएका भ्रामक सामग्री, ४. जानकारी यथार्थ भए पनि त्यसलाई गलत सन्दर्भमा प्रयोग गरिएका सामग्री, ५. कुनै विश्वसनीय व्यक्तिको नाम अघि सारेर प्रस्तुत गरिएका झूटो अभिव्यक्ति, ६.कुनै तथ्य वा तस्बिरलाई तोडमोड गरेर तयार पारिएका सामग्री, र ७. अरूलाई दिग्भ्रमित तुल्याउन तयार पारिएका सत प्रतिशत झूटो सामग्री ।

मिथ्या समाचार चिन्नका लागि हामीसँग ‘स्वस्थ्य आशंका’ को भाव हुनु आवश्यक छ । हरेक व्यक्तिसँग समाचारप्रति आलोचनात्मक दृष्टिकोण पनि हुनुपर्छ । समाचारमा सनसनीखेज प्रसंग तथा आश्चर्यजनक वा अस्वाभाविक शीर्षक राखिएको छ भने त्यसप्रति बढी ‘स्वस्थ्य आशंका’ गर्नुपर्ने हुन्छ । यस्ता समाचारलाई सोसल मिडियामा सेयर गर्नुअघि समाचारको सत्यता र यसले पार्न सक्ने प्रभावबारे सोच्न आवश्यक छ ।

मिथ्या समाचार प्रवाह गर्ने फेक वेबसाइट मूलतः पैसा कमाउने अभिप्रायले सञ्चालित हुन्छन् । उनीहरू भड्किलो शीर्षक वा तस्बिर दिएर पाठकलाई आकर्षित गर्न चाहन्छन् । कतिपय अवस्थामा उनीहरू पाठकलाई ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ (मनोवैज्ञानिक व्यापार) गर्न पनि पछि पर्दैनन् । कतिले मूलधारका चर्चित सञ्चार माध्यमका वेबसाइटसँग मिल्ने गरी वेबसाइटका नाम राखेका हुन्छन् । वेबसाइटको नामबारे आलोचनात्मक दृष्टिकोण नराख्दा पाठक सोझै जालमा पर्छन् ।

नेपालमा तथ्य—परीक्षण गर्ने गतिलो परिपाटी नहुँदा सर्वसाधारणमात्र नभई कहलिएका सञ्चार माध्यमहरू पनि मिथ्या सञ्चारको माकुरी जालमा परेको देखिन्छ । अर्कोतिर हामीकहाँ स्रोत–साधनको पनि अभाव छ । नेपालका ग्रामीण भेगमा धेरै एफएम रेडियोहरूले संवाददाता राख्न नसक्दा अनलाइनको समाचारमा पर्छन् । कुनै कारणवश अनलाइनमा गलत समाचार पोष्ट भएमा रेडियोमार्फत जन–जनसम्म मिथ्या समाचार फैलिने खतरा छ ।

‘इन्फमेसन सुपरहाइवे’ ले दुनियाँलाई जीवनदायिनी गुण लगाए पनि यसले फैलाउन सक्ने भ्रामक समाचारबारे पनि सोच्नु उत्तिकै आवश्यक भइसकेको छ ।

[साभार: गोरखापत्र (२०७५ साल कात्तिक ८ गते)]