Showing posts with label Music Museum. Show all posts
Showing posts with label Music Museum. Show all posts

Saturday, May 3, 2014

संग्रहालयमा रक एण्ड रोल

–यमबहादुर दुरा

सन् २०११ जुलाई १७ तारिखमा अमेरिकाको क्लिभल्याण्डमा  थिएँ । अमेरिकाको पाँचौ तथा विश्वको दशौं ठूलो मानिने इरी तालको दक्षिणी किनारमा अवस्थित क्लिभल्याण्ड अमेरिकास्थित ओहायो राज्यको सुन्दर शहरहरूमध्ये एक मानिन्छ । संयोगले त्यस सुन्दर शहरमा पाइला टेक्न पाएकोले अल्पकालका लागि भए पनि यायावरीय भूमिका निर्वाह गर्न पछि परिएन । केही विदेशी साथीसंगीका साथमा क्लिभल्याण्डको दृश्यपान गर्दै यताउति टहलियौँ ।

त्यस क्रममा स्थानीय टेलिभिजन च्यानल ‘१९ एक्सन न्यूज’, अफ्रिकन अमेरिकन समुदायले सञ्चालन गरेको ९५ वर्ष पुरानो साप्ताहिक समाचारपत्र ‘कल एण्ड पोष्ट’ को कार्यालयलगायत सञ्चार गृह र शहरका नामी गिरामी दर्शनीय स्थलहरू घुम्यौँ । त्यही सिलसिलामा जिन्दगीमा पहिलोपल्ट संगीत संग्रहालयमा पुगियो । त्यस संग्रहालयलाई स्थानीय बासिन्दाहरूले ‘रक एण्ड रोल म्युजियम’ भन्दारहेछन् । संग्रहालयको खास नाम रहेछ, ‘रक एण्ड रोल हल अफ फेम एण्ड म्युजियम’ ।
क्लिभल्याण्स्थित 'रक एन्ड रोल' संगीत संग्रहालय । तस्बिर साभार: इन्टरनेट


मेरो मन शहरका अन्य कुराले भन्दा संगीत असंग्रहालयले नै बढी छोयो । गैरनाफामुखी उद्देश्यले खोलिएको संग्रहालयको मुख्य उद्देश्य रहेछ, ‘रक एण्ड रोल’ संगीतलाई संरक्षण तथा सम्वद्र्धन गर्नु । संग्रहालयको उद्देश्यबारे संस्थाको वेबसाइटमा भनिएको छ, ‘उत्कृष्ट संगीत संकलन गर्ने, संरक्षण गर्ने, अभिलेखीकरण गर्ने, तिनलाई प्रदर्शन गर्ने तथा तिनको व्याख्या–विश्लेषण गर्ने ।’ संग्रहालय भ्रमण गर्ने पाहुनाहरूलाई ‘रक एण्ड रोल’ संगीतको इतिहाससँग परिचित तुल्याउनु पनि संग्रहालयको उद्देश्य रहेछ ।

संग्रहालयले विभिन्न विधि प्रयोग गरेर ‘रक एण्ड रोल’ संगीतको समग्र इतिहासलाई अभिलेखीकरण गर्ने काम गरेको रहेछ । त्यहाँ चर्चित संगीतकार, व्याण्ड तथा संगीत उद्योगको इतिहास जोगाउने काम भएको छ । संग्रहालयमा ‘रक एण्ड रोल’ संगीतमा जमेका कलाकारको तस्बिर, भिडियो प्रोफाइल, प्रेमपत्र, अल्बम, आदिजस्ता उनीहरूका का जीवन बोल्ने सामग्रीहरू राखिएका छन् । कलाकारले गीत रेकर्ड गराएको स्टुडियो पनि संग्रहालयमा राखिएका छन् ।

त्यहाँ ‘रक एण्ड रोल’ संगीतमा जमेका कलाकारको भिडियो प्रोफाइल र तिनका म्युजिक भिडियो हेर्ने एवम् गीत सुन्ने व्यवस्था पनि गरिएको छ । यसले समय समयमा कन्सर्ट, स्टेज सो र खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने रहेछ । यसरी विविध उपाय अपनाएर त्यस संग्रहालयले ‘रक एण्ड रोल’ संगीतको समग्र इतिहासलाई जोगाउने हरसम्भव प्रयास भएको देखिन्छ ।

सन् १९८३  अप्रिल २० तारिखमा  ‘रक एण्ड रोल हल अफ फेम फाउन्डेसन’ स्थापना गरेर संग्रहालय निर्माण कार्य अघि बढाइएको रहेछ । संग्रहालयको टावरको उचाइ १६२ फिट भने संग्रहालय भवन लगभग एक लाख ५० हजार वर्गफिट क्षेत्रमा फैलिएको छ । सन् १९९५ सेप्टेम्बर १ तारिखदेखि संग्रहालय दर्शकका लागि खुला गरिएको रहेछ ।

‘रक एण्ड रोल’ नामकरण कसले ग-यो भन्नेबारे विवाद छ । एकथरीले संगीत पत्रकार माउरी ओरोडेन्करले ‘रक एण्ड रोल’ शब्दावली प्रथम पटक प्रयोग गरेको मान्छन् । न्यूयोर्कबाट निस्कने संगीतसम्बन्धी म्यागजिन ‘बिलबोर्ड’ का स्तम्भकार रहेका ओरोडेन्करले सन् १९४२ मा ‘रक एण्ड रोल’  भन्ने शब्दावली पहिलो प्रयोग गरेको उनीहरूको ठहर छ । उनले ‘अपबिट’ अर्थात् उल्लासपूर्ण संगीतलाई बुझाउन यस्तो शब्दावली प्रयोग गरेका थिए भन्ने उनीहरूको बुझाइ छ  ।

अर्काथरीले यसको श्रेय चर्चित अमेरिकी डिजे अलान फ्रिडलाई दिन्छन् । उनी सन् १९५१ तिर क्लिभल्याण्डस्थित रेडियो स्टेसन ‘डब्लूजेडब्लू’ मा काम गर्थे । त्यसबेला उनी ‘मूनडग’ छद्मनामबाट कार्यक्रम सञ्चालन गर्थे । उनले सन् १९४० को दशकमा अस्तित्वमा आएको सुमधुर शैलीका अफ्रिकन–अमेरिकन गीतहरू प्रसारण गरेर श्रोतागणलाई भरपूर मनोरञ्जन दिन्थे । रिदम एण्ड ब्लुज (आर एण्ड बी) नामले चिनिने ती सुमधुर संगीतलार्ई उनले ‘रक एण्ड रोल’ भन्न थाले ।

‘रक एण्ड रोल’ शब्दावलीको प्रयोगबारे जेजस्ता मतमतान्तर रहे पनि यो संगीत अमेरिकी जनताको हृदयको संगीत बन्न सफल भयो । ‘रक एण्ड रोल’ संगीतको आरोह–अवरोहबारे पनि थुप्रै कालक्रमगत मतभिन्नता छन् । जेहोस् ‘रक एण्ड रोल’ संगीत सन् १९४० को दशकतिर शुरु भएर सन् १९६० को दशकपछि विस्तारै सेलाउँदै गएको बुझिन्छ । ‘रक एण्ड रोल’ संगीतले अमेरिकी संगीत–आकाशमा ओजपूर्ण स्थान ओगटेकोमा कुनै द्विविधा छैन ।  त्यहाँ प्रचलित बुगी उगी, जाज, गोस्पेल, वेस्टर्न स्वीङ, कन्ट्री म्युजिक, हिप–हप, सिकागो ब्जुजजस्ता संगीतको भीडमा ‘रक एण्ड रोल’ ले विशिष्ट पहिचान बनाएको छ ।

‘रक एण्ड रोल’ संगीतले अमेरिकी समाजमा पुलको काम पनि ग-यो  । काला र गोराको साँधकिल्ला बाँध्ने रङ्गभेदी नीतिबाट नराम्ररी विभाजित अमेरिकीहरूलाई यसले एकताको सूत्रमा बाँध्ने काम गर्यो । के काला के गोरा, ‘रक एण्ड रोल’ सबैका लागि श्रुतिमधुर संगीत बन्यो । यसमा रङ र जातभात थिएन, केबल संगीत थियो । त्यो पनि विभाजित मनहरूलाई एकताबद्ध गर्ने संगीत । त्यसैले सहअस्तित्वपूर्ण समाजको सपना देख्ने अमेरिकीहरू ‘रक एण्ड रोल’ संगीतले लाएको गुन बिर्सँदैनन् ।

‘रक एण्ड रोल’ संगीत संग्रहालयले क्लिभल्याण्डको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । हालसम्म ८० लाखभन्दा बढी ‘भिजिटर’ ले पाइला टेकिसकेको यो संग्रहालय संगीतप्रेमीहरूको तीर्थस्थलजस्तै बनेको छ । संग्रहालय खुलेकै कारण ९५० व्यक्तिले विभिन्न किसिमका रोजगार पाएका छन् भने क्लिभल्याण्डको अर्थतन्त्रमा वार्षिक १.८ बिलियन अमेरिकी डलर बराबरको योगदान पुग्ने गरेको छ ।
‘रक एण्ड रोल’ संगीत संग्रहालयमा कला र गलाले सम्मान पाएको हर्षले मन गदगद भयो ।  अर्कोतिर नेपाली संगीतको अवस्था सम्झेर मन कुटुकुटु खान थाल्यो । कला र गला भएका तर समयक्रमसँगै गुमनाम बनेका नेपाली संगीत उपासकहरूको हविगत देखेर मन बिचलित भयो । न उनीहरूको उपयुक्त अभिलेख छ, न त उनीहरूका कृति नै सुरक्षित हुने विश्वासिलो वातावरण बनेको छ ।

देशको संगीत प्रवर्द्धनका लागि स्थापना भएको 'रत्न रेकर्डिङ संस्थान' जमानामै बन्द हुनु, राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको लाइब्रेरीमा रहेका पुराना गीतहरू सुरक्षित हुन नसेकेका समाचार आउनु, आफ्ना गीत सञ्चार माध्यममा प्रसारण भएवापत कलाकारले न्यायसंगत ढङ्गले रोयल्टी नपाउनुजस्ता प्रतिनिधि घटनाले नेपालका संगीत उपासकहरूले उचित सम्मान नपाएकोतर्फ इङ्गित गर्छ ।

‘रक एण्ड रोल’ संगीत संग्रहालय हेरेपछि मलाई लाग्यो, नेपालमा पनि घच्चीको संगीत संग्रहालय खोल्नुपर्छ । त्यो पनि एउटा होइन थुपै । हामीकहाँ आञ्चलिक पहिचान बोकेका र स्थानीयपनले ओतप्रोत भएका थुप्रै संगीत र संगीतकर्मी छन् । नयाँ पुस्ताको ‘नलेज रिफरेन्स’ का लागि भए पनि यिनीहरूको संरक्षण र सम्वद्धन  गरिनुपर्छ । ‘लोकबाजा संग्रहालय’ ले यस दिशामा केही प्रयास गरेको छ तर यो प्रयास अपर्याप्त छ । नेपालमा 'सुरसुधा', 'लेकाली समूह', 'नेपथ्य समूह' जस्ता सांगीतिक समूह जन्मे । यी र यस्ता सांगीतिक समूहको इतिहास अभिलेखीकरण हुन आवश्यक छ ।

संगीतलाई केवल संगीतको रूपमा  हेर्न मिल्दैन । संगीतमा देशको जीवनशैली प्रतिविम्बित हुन्छ अनि यसमा देशको सांस्कृतिक इतिहास पनि जोडिएको हुन्छ ।  संगीतको इतिहासमा देशको जीवनशैलीगत इतिहास पनि गाँसिएको हुन्छ । त्यसैले संगीतको इतिहासमा  स्वाभाविक रूपमा देशको इतिहास पनि प्रतिविम्बित हुन्छ ।
यहाँनेर डेनिस लेखक तथा कवि ह्यान्स क्रिस्चियन एन्डरसनको भनाइ स्मरणीय हुन आउँछ । उनले भनेका छन्, ‘जहाँ शब्द असफल हुन्छ, त्यहाँ संगीत बोल्छ ।’ शब्दमा व्यक्त नभएका हाम्रो इतिहास संगीतमा  बेजोड ढङ्गले खुल्न सक्छ । देशको इतिहास भिन्न किसिमले अभिलेखीकरण गर्न र संगीत उपासकहरूको सम्मान गर्न पनि संगीत संग्रहालय आवश्यक छ । मेरो व्रह्मले यही भन्छ ।

[साभार: अन्नपूर्ण पोष्ट 'फुर्सद' (वैशाख २०, २०७१)।]