Saturday, November 24, 2012

बिदा हलो क्रान्ति–नायक !

-यमबहादुर दुरा

हलो क्रान्तिका अगुवा, जयतु संस्कृतम् आन्दोलनका सदस्य, इतिहास अन्वेषक र शैक्षिक एवं सामाजिक क्षेत्रका अथक अभियन्ता श्रीकान्त अधिकारी हामीबीच रहनुभएन । उहाँ २०६९ साल कात्तिक ३० गते भाइटीकाको दिन ८५ वर्षको उमेरमा यस भौतिक दुनियाँबाट बिदा हुनुभएको छ । उहाँ सबैको प्रेरणापुञ्ज हुनुहुन्थ्यो । उहाँ ब्रह्मलीन भइसके पनि उहाँले हामीमाझ छाडेर जानुभएको विरासतबाट नयाँ पुस्ताले सिक्नु पर्ने र अनुप्राणित हुनु पर्ने थुप्रै  पाठ छन् ।

समाजमा जरो गाडेर रहेका कुरीतिहरूलाई जरैबाट उखेल्नु पर्छ भन्ने चेतले उहाँ ओतप्रोत हुनुहुन्थ्यो । ब्राह्मणले हलो नजोत्ने परम्परागत मान्यतालाई उहाँ ठालू मानसिकताको उपज मान्नुहुन्थ्यो । यसलाई चुनौती दिंदै पण्डित तोयानाथ अधिकारी, लप्टन शेषकान्त अधिकारी, श्रीकान्त अधिकारी, मुखिया हरिभक्त पौडेललगायतका व्यक्तिले लमजुङको दुराडाँडामा विसं २००६ साउन ११ गते हलो जोतेपछि नेपालको राजनीतिक, सामाजिक वृत्तमा हलचल नै ल्यायो । उहाँहरू चौतर्फी आक्रमणको निसाना बन्नुभयो । पतनको सङ्घारमा रहेका राणा शासकले विद्यमान राजनीतिक व्यवस्थाविरुद्धको साङ्केतिक आन्दोलन ठानेर उहाँहरूलाई जेलमा पठाए । अर्कोतिर, समाजको मान्यताविपरीत हलो जोतेकाले उहाँहरू ब्राह्मण समाजभित्रै आलोचित र अपहेलित हुन थाल्नुभयो । कतिपयले त दुराडाँडाका ब्राह्मणहरूसँग सोली–डोली चलाउन पनि गाह्रो माने । यस्तैमा विसं २००८ सालमा लमजुङमा बाढीपहिरोले ठूलो क्षति ग¥यो । यसको दोष पनि हलो क्रान्तिका अगुवाहरूलाई नै लाग्यो । बाहुनले हलो जोतेकाले देउता रिसाएर प्राकृतिक विपत्ति आएको हो भनेर तत्कालीन रुढीबादी समाजले टिप्पणी गर्यो ।

Saturday, November 10, 2012

च्यानपाटा बजार

-यमबहादुर दुरा

च्यानपाटा बजार । कुनै समयमा दुराडाँडा क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र । नून–तेलदेखि लत्ताकपडासम्मका सामानहरु किन्न पाइने ठाउँ । खेती किसानी गरेर जीवन धान्ने कर्मजीवी दाजुभाइ दिदीबहिनीहरुले औंशी-पूर्ने र फुर्सदको समय निकालेर किनमेल र घुमघाम गर्ने गन्तव्य अर्थात् एउटा गाउँले बजार । छुट्टीमा आएका लाहुरेहरु टहलिने एउटा सानो ‘हिल स्टेसन’ । विद्या आर्जन गरेर सुन्दर भविष्य निर्माण गर्न चाहने विद्यार्थीको तीर्थस्थल । च्यानपाटाको परिचय बहुआयमिक छ ।

च्यानपाटा बजारसँग मेरो पनि थुपै अनुभूतिहरु गाँसिएका छन् । धेरै मीठा सम्झनाहरु  मनको तख्तामा खात लागेर बसेका छन् । खासगरी बाल्यकालमा मेरा आँखाले च्यानपाटा बजारमा पिएका दृश्य अमिट छन् र मनले भोगेका अनुभूतिका भुमरीहरु बेमिसाल छन् । च्यानपाटाले मेरो मनको क्यानभासमा थुप्रै तस्बिरहरु बनाएको छ, जुन हत्तपत्त मेटिन गाह्रो छ । समयले पछि पारेका तर मनको चित्रपटबाट  नमेटिएका  ती तस्बिर यति जीवन्त छन्, तिनीहरु मेरो मनसँग हरदम कुराकानी गरिरहन्छन् । त्यतिबेलाका त अनुभूतिहरु बिछट्टै रसिला र मीठा छन् । त्यसै भएर त होला नि ! मेरो मनको मझेरीबाट उठ्ने झझल्कोको लर्कोले निरन्तर पछ्याइरहन्छ, च्यानपाटा बजारलाई । एकपटक होइन, दुइपटक होइन, हजारौं पटक ।

च्यानपाटाबजारमा स्थापित खजे दुराको पुरानो शालिक अगाडि बसेर फोटो खिचाएका तत्कालीन युवायुवतीहरु

मैले बाल्यकालमा चिनेको च्यानपाटाको परिचय अलि भिन्न छ । नेबिको बिस्कुट र खाजा बिस्कुट किन्न पाइने ठाउँ । पीपलगेडी मिठाइ र माला मिठाइ किन्न पाइने ठाउँ । बेलुन किन्न पाइने ठाउँ । दशैंमा नयाँ लुगाफाटा किन्न पाइने ठाउँ। भकुण्डो किन्न पाइने ठाउँ । अरु यस्तै चिजबिज किन्न पाइने ठाउँ । त्यसैले त च्यानपाटा जान पाउँदा मेरो बालसुलभ मन त्यसै–त्यसै फुरुङ्ग पर्थ्यो । कहिले बाको पछि लागेर त कहिले हजूरआमाको पछि लागेर च्यानपाटा  पुग्थेँ । त्यसबेला च्यानपाटा पुग्ने जोकोही पनि त्यतिबेलाका नामुद साहू धूलिखेले माहिलाको पसलमा एकपटक नटेकी घर फर्कंदैनथे । म पनि धुलिखेले साहूको पसलमा पुग्थेँ । त्यहाँ पुगेपछि पसलमा सजाएर राखिएका सामानहरु देखेर मन निकै लोभिन्थ्यो । ती सामानहरू देख्दा मनमनै सोंच्ने गर्थें, ‘भएभरका बिस्कुट जति झोलाभरि उठाएर ल्याउन पाए क्या मजा हुन्थ्यो ।’


***

दुराडाँडाको माटोमा हुर्किंदै गर्दा २०३५/०३६ सालपछिका सम्झनाहरु  मेरो मनको क्यानभासमा क्रमिक रुपमा गाढा बन्दै गएको अनुभव छ, मलाई ।  म सानो छँदा चिनी हालेर चिया खाने चलन थिएन । मेरो स्मृति तन्तु गलत छैन भने मैले जीवनमा पहिलोपल्ट चिनी हालेको चिया खाएको ठाउँ च्यापाटा नै हो । गुलियो चिया खान पाउने ठाउँ मेरो लागि प्रिय थियो । जीवनमा पहिलोपल्ट बजारू झिलीमिली देखेको ठाउँ पनि च्यानपाटा नै हो । 'उपभोगवादी संस्कृति' सँग मैले नाता गाँसेको ठाउँ पनि सम्भवतः त्यही नै थियो । पूँजीवादसँग नाता गाँस्न मलाई त्यही च्यानपाटा बजारले सिकाएको थियो । अर्थात् एउटा गाउँले केटा च्यानपाटा बजारको चमकधमकसँगै पूँजीवादको चङ्गुलमा नजानिँदो किसिमले फँस्दै थियो ।

ठूलोस्वाँराको सरस्वती सदन निमाविमा सात कक्षा पास गरेपछि आठ कक्षामा सर्वोदय माविमा भर्ना च्यानपाटासँग मेरो नाता अरु गाढा भयो ।  २०४३ सालमा एसएलसी दिनुभन्दा अघिसम्म गाउँबाट च्यानपाटासम्मको दूरी हरेक दिन नापिरहन्थेँ ।  त्यसबेलाको चञ्चले उमेरमा भाँगुबाट च्यानपाटासम्मको दूरी ४५ मिनेटमै पार गरिन्थ्यो । घर फर्कने बेलामा गाउँलेका लागि मट्टीतेल, खानेतेल, साबुनजस्ता आवश्यकीय सामान बोकेर ल्याइदिनु पनि मेरो दिनचर्या नै बन्थ्यो ।

हरेक चाडवाडको मुखमा च्यानपाटा रमाइलो बन्थ्यो । अझ  दशैंको मुखमा त च्यानपाटा बजारको चहलपहल र रौनक बेग्लै हुन्थ्यो । लुगाफाटा, नूनतेल, मरमसला र खाँचोका सरसामान किन्न जानेहरुको घुइँचो लाग्थ्यो । बिदामा घर फर्किएका लाहुरे, बटुवा एवम् भरियाहरुको ताँतीले च्यानपाटा बजारलाई जीवन्त बनाउँथ्यो । दशैंमा नयाँ लुगा किन्ने र सूचीकारलाई सिउन दिनेहरुको भीड उत्तिकै हुन्थ्यो । सूचीकारको मेसिनले निकालेको खटखटाहटपूर्ण आवाजले च्यानपाटा बजार गुञ्जयमान हुन्थ्यो । वर्षैभरि फाटेको लुगा लाए पनि चाडवाडका बेलामा नयाँ लुगा लाउन पाउने लालसाले धेरैको मन उद्वेलित हुन्थ्यो ।

गाउँले बजार भएकोले औंशी-पूर्नेको समयमा च्यानपाटाको चहलपहल बढ्थ्यो । औंशी-पूर्नेमा हल चल्दैनथ्यो । यसबाट खेतीपातीमै जीवन अर्पिने कर्मजीवीहरूलाई  अलि हलो हुन्थ्यो । त्यही मौका छोपेर गाम्ले दाजुभाइ गाम्ले दिदीबहिनीहरु च्यानपाटा घुम्न निस्किन्थे । भरे नून तेल र खिस्रीमिश्रीको पोको पुन्तुरो बोकेर घर फर्कन्थे ।

कुनै समयमा च्यानपाटा बजारमा सुनको काम गर्ने सुनकर्मीहरूको व्यवसाय राम्रै जमेको देखिन्थ्यो । त्यहाँ दुरा–गुरुङ समुदायका लाहुरेनी दिदीबहिनी अनि गाउँका अन्य चेलीहरूको ठूलै भीड लाग्थ्यो । उनीहरू ढुङ्ग्री, बुलाकी, जन्तर, कण्ठजस्ता रैथाने गरगहनाहरूको 'अडर' दिन सुनकर्मीहरूकहाँ धाउँथे  । सुनकर्मीहरूलाई गहनाको 'अडर' लिन भ्याइ नभ्याइ हुन्थ्यो । आरनको भर्भराउँदो आगोमा सुन खारेको, टक टक गरेर विस्तारै सुन पिटेको, गहनामा पत्थर हालेको अनि कुचोले सावधानीपूर्वक भूइँ बढारेर सुनको धूलो पोखिएको फोहर एक ठाउमा जम्मा गरको दृश्य नियमित रूपमा देख्न पाइन्थ्यो । च्यानपाटा बजारमा अहिले यस्तो दृश्य दुर्लभ बनिसकेको छ ।

तीजमा च्यापाटामा ठूलै जात्रा लाग्थ्यो । एकतिर चेलीबेटीहरु नाँचगानमा भुल्थे अर्कोतिर नौजवानहरु छेलो प्रतियोगितामा झुम्मिन्थे । नौजवानहरु बल दाँज्न मस्त हुन्थे, छेलो प्रतियोगितामा भिडेर । जसले छेलो जित्थ्यो, उसलाई अबिरजात्रा गरिन्थ्यो । छेलो जित्नेलाई काँधमा राखेर बजार परिक्रमा गराइन्थ्यो । चन्द्रेश्वर महादेव (शिवालय) स्थान र धूलिखेले साहूले निर्माण गरेको नारायण मन्दिर पनि परिक्रमाको सूचीमा समावेश हुन्थ्यो । छेलो जित्ने व्यक्ति स्थानीय ‘सेलिब्रिटी’ बन्थ्यो । मेलपात, वनपात, रोदीघर, जताततै उसको पहलमानीको चर्चा चल्थ्यो । फलानोको छोरोले छेलो जितेर नाम राख्यो भनेर उसले सर्वत्र स्यावासी र वाहवाही लुट्थ्यो ।

छेलो जित्नेलाई पगरी गुथाइन्थ्यो । पैसाको फूल लगाइदिने गरिन्थ्यो । यसरी जम्मा भएको रकमलाई ‘फूलपगरी’ भनिन्थ्यो । यसरी जम्मा भएको रकम गाउँका चेलीबेटीहरुलाई दिइन्थ्यो । उनीहरुले पनि माइतीलाई रोटी, अचार र रक्सी दिएर स्वागत गर्थे । यसरी हार्दिकता छचल्किन्थो, माइती र चेलीबेटीबीच ।

***


कुनै समयमा च्यानपाटा बजार एउटा चर्चित शैक्षिक केन्द्र थियो । च्यानपाटामा रहेको सर्वोदय माविको पठनपाठन अब्बल दर्जाको मानिन्थ्यो । त्यस विद्यालयमा पढ्नका लमजुङ र छिमेकी जिल्लाका विद्यार्थीहरू ओइरिन्थे । यसबाट दुराडाँडाको नाम फूलको वस्नासरी  सबैतिर फैलिएको थियो । नेपालको शैक्षिक इतिहासमा दुराडाँडाको नाम उच्च स्थानमा रहेको थियो । 
 
प्रत्येक वर्ष कात्तिक २० गते मनाइने स्थानीय सर्वोदय माविको वार्षिकोत्सव र त्यसको भोलिपल्ट मनाइने खजे दुरा स्मृति दिवसको समयमा च्यानपाटा बजारले जुनी फेथ्र्यो । ठाउँठाउँमा उभ्याइएको केराको थम्मजडित स्वागतद्वार र धजपतकाको फरफराहटले च्यानपाटाको रूप धपक्कै बल्थ्यो । कात्तिक २० गतेको बेलुका सांस्कृतिक कार्यक्रम आयोजना गरिन्थ्यो, जुन कार्यक्रम गाउँघरमा ‘थेटर’ नामले परिचित थियो । थेटर लाहुरे समुदायले प्रचलनमा ल्याएको शब्द हो । विदेशमा थेटर हेरेकाले गाउँघरमा नचाइएका विदेशी शैलीका नाँचलाई पनि उनीहले थेटर भनेका हन् । ‘थेटर’ हेर्न नेटा, थानसिङ, हिले, पिर्सिङ, फोस्रे, पुरानकोट एवम् ठूलोस्वाँरासम्मबाट दर्शकहरु ओइरिन्थे । स्थानीय मन र ढुकढुकी भेटिने नाँच हेर्न र गीत सुन्न मानिसहरु ओइरिन्थे ।

त्यतिबेलाका नाँच र गीतमा अहिलेको झैं 'टेलिसंस्कृति' को  प्रभाव परेको थिएन । कतै परेकै भए पनि नितान्त न्यून थियो । स्थानीय प्रतिभा प्रष्फुटन हुने सांस्कृतिक कार्यक्रमको झङ्कार मधुरो बन्दै गएको छ, अहिले । स्थानीयपन मर्दै गएको छ । अहिले गाउँघरमा मूल संस्कृतिको रूपमा 'टेलिसंस्कृति' को अध्याय शुरु भइसकेको छ । स्थानीय 'रैथाने संस्कृति' घिड्घिडोमा छटपटाइरहेको छ ।

***

च्यानपाटा आफैमा एउटा खबर केन्द्र पनि बनेको थियो । गाउँठाउँका मानिसहरु किनमेल गर्न आउँदा च्यानपाटामै भेट हुन्थ्यो । बटुवा र भरियाले थकाइ मार्ने र खाजा खाने थलोमध्येमा च्यानपाटा पनि एक थियो । यी चलयमान र स्वस्फूर्त  भेटघाटहरुमा सञ्चो बिसञ्चोलगायतका स्थानीय खबरहरु आदनप्रदान हुन्थे । यसले घोषित वा अघोषित रुपमा सञ्चारको काम गर्‍थ्यो ।

मुखैमुखबाट प्रवाह हुने परम्परागत सञ्चार प्रणालीको अतिरिक्त त्यस डाँडामा ‘हुलाक घर’ पनि थियो, जसले लिखित सन्देशप्रवाह गर्न सघाएको थियो । खजे गाउँका शुकबहादुर दुराको घर नै ‘हुलाक घर’ थियो । परदेशमा रहेका आफन्तजनको खबर थाहा पाउन लालयितहरुका हात हुलाकको ‘पिजन होल’ मा छिर्थे । तुर्लुङकोट, ठूलोस्वाँरा, पुरानकोट, नेटा, कानेस्वाँरा, धुसेनीलगायतका गाउँहरुका लागि बेग्लाबेग्लै ‘पिजन होल’ को व्यवस्था गरिएका हुन्थे ।

‘लैजा चरी हावा सरी यो पत्र प्रापककहाँ पुग्ने गरी’ लेखिएका पत्रहरुको चाङ नै हुन्थे । त्यहाँ विभिन्न गाउँमा जाने पत्रहरु आउँथे । खासगरी लाहुरेले पठाएका पत्रहरु बढी हुन्थे । त्यसमा पनि भारतमा कार्यरत लाहुरे र गाउँघरको भाषामा ‘फाल्टु नोकरी’ गर्ने दाजुभाइहरुले मुग्लानबाट पठाएका पत्रहरुले ठूलो हिस्सा ओगट्थे । उनीहरुले गाउँभरिका साथीसंगी र छरछिमेकलाई सम्झेर लेखिपठाउँथे । कागजको पानामा हिर्दय नै टाँसेर पठाइएका ती चिठी कम रोचक र मार्मिक हुँदैनथे ।

***

लोकगीतका स्थानीय पारखीहरुले एक समयमा यस्तो गीत रचेका थिए रे : ‘भुँडी ठूलो धुल्पुरे माहिलाको, बोली मीठो ढुङ्गाना सहिँलाको’ ।

च्यानपाटा बजारमा भेटिने एक समयका दुईजना चर्चित नायकका बारेमा बनेको त्यस गीतले हामीलाई एउटा मीठो अतीततिर डोरयाउँछ । धुल्पुरे माहिला एक समयका ख्यातिप्राप्त व्यापारी हुन् । उनको वास्तविक नाउँ दीर्घराज श्रेष्ठ हो । उनी शारीरिक रुपले निकै हट्टाकट्टा थिए । त्यसमा पनि हलो कोदालो चलाउन नपर्ने महाजन । उनको भुँडी ठूलो थियो ।  ढुङ्गाना सहिँला दुराडाँडाका वासिन्दा हुन् । रसिक स्वभावका ढुङ्गाना सहिँलाको नाउँ हेमनाथ ढुङ्गाना हो । अरुलाई मुखले नबिझाउने हेमनाथ ढुङ्गानाले स्थानीय रूपमा निर्माण व्यवसायीको रुपमा परिचय बनाएका थिए । उनी प्रायजसो च्यानपाटा बजारमा भेटिन्थे ।

धुल्पुरे माहिला व्यापारको सिलसिलामा २०१८ सालतिर धुलिखेल (काभ्रे) बाट दुराडाँडा आइपुगेका हुन् । उनले दुराडाँडाको च्यानपाटा बजारमा व्यापार शुरु गरे । उनले त्यस ठाउँमा व्यापारको सम्भावना देखे । व्यापार शुरु गरेर ठूलो सफलता पनि हाँसिल गरे । नाम र दाम दुवै कमाए । उनी त्यस क्षेत्रमा बसेर व्यापारी र समाजसेवीको रूपमा प्रतिष्ठा कमाए  । उनले २०३६ सालतिर आफ्नो घर नजिक नारायण मन्दिर बनाए । उनले त्यहाँ लाखे नृत्यको परम्परा बसाए । सामाजिक गतिविधिहरुमा आफूलाई समाहित गराए । उनी दुराडाँडा क्षेत्रमा हुने सामाजिक जमघट र भोजभतेरमा निम्त्याइन्थे । उनले त्यस क्षेत्रमा राम्रो छवि बनाएका थिए ।

समयको पाना पल्टिसकेको छ । धुल्पुरे माहिला र ढुङ्गाना सहिँलाको गीत  अब सन्दर्भविहीन हुन पुगेको छ, अहिले । त्यहाँ न धुल्पुरे माहिला छन्, न त ढुङ्गाना सहिँला नै । धुल्पुरे माहिलाले २०५८ सालमै च्यानपाटा छोडिसकेका छन् भने ढुङ्गाना सहिँला २०४४ सालतिरै दुराडाँडाबाट बसाइँ सरेर नवलपरासीतिर बसोबास गर्न थालेका छन् ।

व्यापारिक अभ्युदयको एउटा उचाइमा पुगेपछि ओरालो लाग्ने पालो आयो, धुल्पुरे माहिलाको ।  उनको व्यापार ओह्रालो लाग्दै गयो । गाउँ गाउँमा पसल खुल्न थाले । छिमेकी गाउँबस्तीका उपभोक्ताहरु घरआँगनमै सामान पाउन थाले । त्यसो भएपछि च्यानपाटा आउने कुरै भएन । अर्कोतिर राजनीतिक हिसाबले पनि उनको लागि च्यानपाटामा बस्न गाह्रो पर्न थाल्यो । देशमा सशस्त्र द्वन्द्व शुरु भएपछि च्यानपाटामा बस्न उनलाई दिन प्रतिदिन असहज हुँदै गयो ।

यस्तैमा २०५८ सालमा उनले दुराडाँडा पूर्ण रुपमा छोडे । अहिले उनको भुँडी पनि घटिसकेको छ । उनी मधुमेहबाट ग्रसित छन् । च्यानपाटामा व्यापार शुरु गरेको चालीस वर्षपछि उनै आफ्नै मौलिक थलो धुलिखेल फर्किए । उनका तीनवटाका छोराहरु काठमाडौंमा व्यापार गर्छन् । उनको महिलो छोरोले मात्र बाबुको बिंडो थामेको छ, जो  सानोतिनो व्यापार गरेर च्यानपाटामा बसेका छन् । अहिले धुल्पुरे माहिला आफ्ना श्रीमतीसहित  कहिले काठमाडौमा त कहिले धूलिखेलमा बस्ने गर्छन् ।

***

विगत र वर्तमानलाई समयको कसीमा जाँचेर हेर्दा च्यानपाटा बजार विरासतविहीन बन्न पुगेको प्रतीत हुन्छ ।  बटुवाले भारी बिसाएर थकाइ मार्ने र बेलाबखतमा राजनीतिक तथा सामाजिक सभा–समारोह हुने विजय चौतारी अब कुनै नामोनिसाना छैन । च्यानपाटामा २०३३ सालतिर नेपाल बैंकको शाखा कार्यालय स्थापना भएको थियो । देशमा सशस्त्र द्वन्द्व शुरु भएपछि बैंक लुट्ने थुप्रै प्रयास भए । त्यसपछि च्यानपाटामा भएको नेपाल बैंकको शाखा कार्यालयलाई २०५३ सालतिर बेंसीशहरमा सार्ने काम भयो । देशमा शन्ति सम्झौता भएपछि पनि उक्त बैंक च्यानपाटामा फिर्ता ल्याइएन ।

यसरी एकपछि अर्को गरेर च्यानपाटाले धेरै सांस्कृतिक एवम् आर्थिक धरोहर गुमाइसकेको छ । देशको चौतर्फी विकास गर्ने भनेर शुरु भएको माओवादी विद्रोहले देशका अन्य गाउँबस्तीहरुलाई जस्तै च्यानपाटालाई पनि उजाड बनाइदियो ।

 ठूला ठूला टेप रेकर्डर बोकेर गीत घन्काउँदै च्यानपाटा धाउने लाहुरेहरु पनि त्यहाँ भेटिँदैनन । न त्यहाँ गरगहनाले झकिझकाउ लाहुरेनीहरु आउँछन्, न त लाहुरेका छोराछोरी नै । समयको प्रवाहसँगै उनीहरुको मिजास फेरिएको छ, जीवनशैली फेरिएको छ, भेषभूषा बदलिएको छ, भाका बदलिएको छ । पहिले त्यहाँ भेटिनेहरु लाहुरे र तिनका परिवारजन काठमाडौं, पोखरालगायत शहरी क्षेत्रमा बसाइँ सरेका छन् । त्यसमा पनि सन्तोष नमानेर उनीहरु ब्रुनाइ, हङकङ,  बेलायततिर पुगेका छन् ।
अहिलेको च्यानपाटा बजार

समयको बदलिँदो चक्रसँगै च्यानपाटा बजार आधुनिक भएको छ । हिजोका खरका झुप्राहरूले आधुनिक घरका रूपमा चोला फेरेका छन् । विजुली बत्तीको आलोकले टुकी युगलाई धेरै पर गलहत्याइदिएको छ । धुलाम्मे बाटोमा गुड्ने गाडीले हिजोका भरिया र खच्चरलाई छुट्टी दिएको छ । स्थानीय वासिन्दाहरू भू-उपग्रहमार्फत टेलिभिजन हेर्न थालेका छन् । आधुनिकता झल्कने यस्ता थुप्रै दृश्यहरू च्यानपाटा बजारमा देखिन्छन् ।

 आधुनिकताको आलोकमा जगमगाए पनि च्यानपाटा बजार जनशक्ति र धनशक्तिको दृष्टिले कमजोर बन्दै गएको छ । देशका अन्य गाउँबस्तीजस्तै दुराडाँडा पनि दिन प्रतिदिन खाली बन्दै गएको छ । परिणामस्वरुप दुराडाँडा क्षेत्रको चर्चित व्यापारिक केन्द्र च्यानपाटा बजार यतिबेला 'फूलीबिनाको महारथि' जस्तो बन्न पुगेको छ ।

[साभार : राजधानी  (कात्तिक २५, २०६९) । परिमार्जित संस्करण । ]

[अद्यावधिक : २०७० ।०६। १०, २०७१।०४।१६,२०७१।०४।१, २०७१।०४।१, २०७२।०२।०४, २०७२।०४।१६, २०७२।०४।१८]

Wednesday, October 10, 2012

बाल्यकालको दशैं : केही झझल्काहरु

 -यमबहादुर दुरा

जीवनले धेरै कुइनेटाहरु पार गर्दै जाँदा बाल्यकालका क्षणहरु झन् झन् मूल्यवान बन्दै जाँदो रहेछ, झन् झन् सम्झनालायक बन्दै जाँदो रहेछ । ती क्षणहरु अब कहिल्यै पनि फर्केर आउँदैनन् तर पनि हृदयको चित्रपटबाट नमेटिने रहेछ । ढुङ्गा खोपेर लेखिएका अक्षरजस्तै चिरस्थायी हुने रहेछन्, ती क्षणहरु । समयलाई साक्षी राखेर बिताइएका ती घतलाग्दा क्षणहरुलाई चाहेर पनि बिर्सन नसकिने रहेछ। बाल्यकालको दशैं पनि यस्तै बिर्सन नसकिने क्षणहरु हुन् ।
जिन्दगीले धेरै घुम्तीहरु पार गरिसकेको हालको घडीमा पछाडि फर्केर हेर्दा आफ्नै बाल्यकाल देखेर एकप्रकारले अचम्म लाग्छ । सानो छँदा अहिलेको जस्तो यातायात प्रणालीको जालो गाउँबस्तीको भूगोलमा छापिएको थिएन । इन्टरनेट तथा टेलिभिजनजस्ता जादुमय सञ्चार प्रणालीको उपस्थितिको थिएन । बुबा लाहुरे भए पनि उहाँसँग लाहुर जाने मौका पनि मिलेन । यिनै कारणले आफूलाई बाहिरी दुनियाँसँग दाँज्ने कुनै मौका मिलेन ।

Wednesday, October 3, 2012

मिडिया शिक्षामा विविधीकरणको आवश्यकता

यमबहादुर दुरा

नेपालमा विभिन्न विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा 'आमसञ्चार र पत्रकारिता' को पठनपाठन चलिरहेको छ । त्रिभुवन विश्वविद्यालयले विसं २०३३ सालदेखि पत्रकारिताको पठनपाठन शुरु गरेपछि नेपालमा आमसञ्चार र पत्रकारिताको औपचारिक पठनपाठन शुरु भएको मानिन्छ । त्रिभुवन विश्वविद्यालयबाट शुरु भएको पत्रकारिता पढाइ नेपालका अन्य विश्वविद्यालयमा पनि हुने गर्छ । जस्तैः पूर्वान्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, आदि । सुर्खेतमा खुल्न लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्नातक तहमा 'आमसञ्चार र पत्रकारिता' को पठनपाठन शुरु गर्ने तयारी गरिरहेको छ ।

विसं २०३३ सालमा पत्रकारिताको औपचारिक पठनपाठन शुरु भएर वर्तमान घडीसम्म आइपुग्दा नेपालको मिडिया परिदृश्यमा थुप्रै परिवर्तन आएका छन्  । पत्रकारिताको औपचारिक शिक्षाले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालको मिडिया परिदृश्यमा प्रभाव पारिरहेको अनुभव गर्न सकिन्छ ।  अहिले पत्रकारितालाई पेशाको रुपमा गर्वसाथ अपनाउनेदेखि लिएर आमसञ्चार र पत्रकारिताको विविध आयाम र पाटाहरुमा खोजअनुसन्धान गर्ने कार्य भइरहेका छन् । यस्ता कार्यहरुको नेतृत्व नयाँ पुस्ताले गरिरहेको पाइन्छ । यसबाट नेपालको मिडिया परिदृश्यमा जुझारु युवाहरुको प्रवेश भइरहेको छ भन्ने छनक मिल्छ, जुन सकारात्मक पक्ष हो । यसप्रकारको परिदृश्यलाई आशालाग्दो परिवर्तनको सूचकको रुपमा लिन सकिन्छ ।

Wednesday, August 8, 2012

सम्झनाका तरेलीहरूमा ठाकुर सर


-यमबहादुर दुरा

'तिनाउ खोलाको, के भर छ नि मर्ने चोलाको'। मानव चोलाको शाश्वत पक्ष उद्घाटन गर्ने यस लोकगीतको मर्मसँग तादात्म्यता मिलाउँदै मेरा गुरु ठाकुरप्रसाद अधिकारी भौतिक दुनियाँबाट अस्ताउनुभयो । उहाँले संसार छाडेको आज ठ्याक्कै एक वर्ष पुगेछ ।
तस्बिर साभार : रविकिरण अधिकारी

उहाँ लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालयको प्रधानाध्यपक हुनुहुन्थ्यो । उहाँले २०२५ सालदेखि २०४९ सालसम्म अनवरत रुपमा प्रधानाध्यपकको जिम्मेवारी सम्हाल्नुभयो । उहाँको सतप्रयासले सर्वोदय माध्यमिक विद्यालय लमजुङको राम्रो स्कूलमा गणना हुन पुगेको थियो ।

ठाकुर सर अंगेजी पढाउनुहुन्थ्यो । उहाँको पढाउने कला र शैली प्रशंसनीय थियो । सौहार्दपूर्ण वातावरणमा ज्ञान बाँड्न सक्ने खुबीले उहाँ विद्यार्थीहरुमाझ ज्यादै लोकप्रिय हुनुहुन्थ्यो । उहाँसँग ज्ञानको गहिराइ र व्यवस्थापकीय सीप दुवै थियो ।  समग्रमा उहाँ कुशल शिक्षक हुनुन्थ्यो ।