Showing posts with label Obituary. Show all posts
Showing posts with label Obituary. Show all posts

Wednesday, January 3, 2024

पत्रकारिताका सच्चा 'मेन्टर'

 –यमबहादुर दुरा


राणाकालमा शुरु भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक तथा प्राविधिक मोड आए । लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ । राणकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२÷०६३ को अप्रिल क्रान्ति र त्यसपछिका सतत घडीमा नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू  पनि बदलिँदै गयो ।

नेपालको पत्रकारितामा अहिलेको विकासित चरणसम्म योगदान गर्ने अग्रजमा गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठजस्ता अग्रज पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मासात गर्न सकिन्छ । यस बसाइमा पुस १६ गते मृत्युवरण गर्नुभएका अग्रज पत्रकार गोकुल पोखरेलसँग जोडिएका आफ्ना निजी अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गर्ने प्रयत्न गरेको छु । 

कुरा निजी प्रसङबाटै शुरु गरौँ । २०६० सालमा नेपाल प्रेस इन्स्टिच्युटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो । म एएमको पढाइ सकाएर बसेको बेला थियो । कामना प्रकाशन समूहमा कार्यरत थिएँ । त्यस पदका लागि मैले पनि आवेदन दिएको थिएँ । प्रतिस्पर्धा मार्पmत म छनोट भएँ । त्यसबेला नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो ।

त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारहरूका लागि तालिम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो । संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो । 

मैले नयाँ नियुक्ति लिएर नयाँ ठाउँमा जाने बेलामा गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्थ्यो । म कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिकाबारे र जिम्मेवारी प्रष्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू’ । सबैसँग मित्रवत् व्यवहार गरेमा वातारण सहज हुन्छ भन्नुहुन्थ्यो, उहाँ । 

अनुभवले खारिएका गोकुल पोखरेलको सुझाव थियो— साथीसंगी र सहकर्मीहरूबीच कुनै कारणले मनमुटावको वातावरण पैदा भएमा आफू  झगडाको कारक बन्नुहुँदैन, बरू ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ । उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिहरूका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहद्र्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो । एउटा नादान बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि गजबको मार्गदशक सिद्धान्त नै बने ।

तस्बिर: गुगल

गोकुल पोखरेलसँग भेट हुनुअघि उहाँका व्यावसायिक जीवनबारे रोचक किस्सो । उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइ अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिन गएछ । यसबाट उहाँको जागिर नै चट भएको प्रसङ्ग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो । 

जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आपूmले लेखेका सामग्री आपैmँले पटक पटक पढ्ने, तथ्य–जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त फरवार्ड गर्नुहुँदैन भन्नेमा जोड दिनुहुन्थ्यो । 

गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्येमा तीर्थ कोइराला पनि हुनुहुन्छ । कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग पनि सहकार्य गर्नुभयो । पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षता विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो । समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो ।

उहाँले सुझाउनुभएको थियो— ‘आफूले सम्पदान गरेका क्रियाकलापको अभिलेख राख्नू ।' मैले त्यसलाई पालना गर्ने प्रयास गरेँ । यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ । अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ । यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म ।

गोकुल पोखरेलजस्ता अग्रजले पत्रकारिता गरेका समयमा नेपाल पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो । अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट बञ्जित नहोउन् भन्ने भावनाले उहाँहरूका मनमा वास गरेको थियो । 

त्यसबेला पत्रकारिताको प्राज्ञिक अध्ययन–अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन । त्रिभुवन विश्वद्यिालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरु गरे पनि त्यसले व्यापकता पाएको थिएन । उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो । 

त्यसबेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरसिप’ को चर्को अभाव थियो । त्यस खरेडीग्रस्ता समयमा अग्रजहरूका दिमागमा पत्रकारलाई तालिम प्रदान गर्ने संस्थाको चित्र तयार भयो । सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगीजस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना गर्नुभयो ।

त्यसबेला नेपाल प्रेस इन्स्टिच्युट पत्रकारिता क्षेत्रमा मरूद्यानजस्तै हुन पुग्यो । त्यसले एक से एक उर्जाशील पत्रकार कोरल्न थाल्यो । रविन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेतजस्ता राष्ट्रिय जीवनमा कहलिएका हस्तीहरू नेपाल प्रेस इन्स्टिच्युटकै उत्पादन हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा खुला वातावरण तयार भयो । विस्तारै ब्रोडसिट अखबार आउन थाले । यस्तैमा नेपाल प्रेस इन्स्टिच्युटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारहरूलाई तालिम दिने वातावरण बनायो । यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए । 

मिडियामा दक्ष जनशक्ति पार्नका डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्युटलाई उदार मनले सहयोग ग¥यो । समयक्रममा नेपाल प्रेस इन्स्टिच्युटले देशभरका पत्रकारलाई तालिम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालिम (टट) सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पा¥यो । 

त्यस समयमा देशका विभिन्न कुना–कन्दरामा पत्रकारिताका विभिन्न विधामा तालिम भए । मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो । धेरै युवाका लागि पत्रकारिता ग्लेमरले भरिएको आकर्षक पेशाको रूपमा देखापर्न थाल्यो । देशमा पत्रकारिताको क्रेज बढाउने र पेशगत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता अग्रजहरूले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ । 

नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिममा सहभागी हुँदा गोकुल पोखरेलले लिने कक्षामा सहभागी हुने अवसर पाएको छु । पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबा केही गुण निसृत भएको अनुभूत गर्न सकिन्थ्यो । उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर किसिमले चल्थे । 

बेलायत, फ्रान्स आदि देशबाट पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवको खानी हुनुहुन्थ्यो । पोखरेलले कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो । यसबाट उहाँका कक्षा आकर्षक र पर्याप्त ज्ञानवद्र्धक हुन्थ्यो । 

विज्ञान ज्ञानी व्यक्तिहरूले मात्र थाहा जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ । विज्ञानलाई रहस्यको पर्दाले छोप्नुहुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यस अनुरूप उहाँले गतिविधिहरूपनि सञ्चालन गर्नुभएको थियो । 

मलाई सम्झना भएसम्म तत्कालीन ‘नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ मा विज्ञान सञ्चारसम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो । त्यसले प्रकाशन गर्ने विज्ञानसम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ उहाँको प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता थियो । 

गोकुल पोखरेलजस्ता अग्रजको छत्रछायाँमा रहेर नेपाल प्रेस इन्स्टिच्युटमा काम  गर्दा व्यक्तिगत रूपमा म पनि लाभान्वित भएँ । पी खरेल,ध्रुवहरि अधिकारी, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो । यसैगरी, पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरू कुन्दन अर्याल, रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, धर्मेन्द्र झा, भरत भूषाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार–विमर्श गर्ने सुन्दर अवसर मिल्यो । 

नेपालगञ्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नलाल गुप्त, रेशम विरही, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईँ, सुरेन्द्र काफ्ले, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगञ्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका सहकर्मीहरू आरिफ अन्सारी, पीताम्बर कट्टेल, गंगा फुयाँल तथा गंगाप्रसा ठाकुरको साथ र सहयोग पनि उत्तिकै मिठो थियो ।  यसबाहेक मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारहरूसँग पनि चिनपर्ची र माया–ममता बढ्यो । 

नेपालगञ्जमा रहेका स्वदेशी तथा विदेशी सङ्घ–संस्थाका पदाधिकारीहरूसँग पनि चिनजान भयो । केहीसँग त सहकार्य पनि भयो । यसबाहेक स्थानीय नागरिक समाजसँग पनि साइनोपात गाँसियो । 

त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वको उत्कर्षतिर पुग्दै थियो । हत्याहिंसाको शृङ्खला जारी थियो । यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्वहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो । यही मेहरोमा बाँकेका सञ्चालित नागरिक समाजले ‘शान्ति र सदभाव अभियान’ अघि बढाएको थियो । 

त्यसमा म पनि एक हिस्सा बन्न पुगेको थियो । प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय सीपी सिंहजस्ता तत्कालीन अभियानकर्मीहरूसँगको मीठो सहकार्य भयो । त्यसले दुखको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो । जीवनका यी तमाम भोगाइहरूमा नेपाल प्रेस इन्स्टिच्युट, गोकुल पोखरेल र अन्य अग्रजहरूबाट अवसरको अविष्मरणीय हिस्सेदारी छ ।

गोकुल पोखरेल भन्नुहुन्थ्यो— ‘पत्रकार कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन’ । उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो— सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर । सम्झनाको पूmलबारीमा तपार्इँ सधैँ फक्रनुहुनेछ । तपाईँप्रति हार्दिक श्रद्धासुमन !

साभार: हिमालखबर । २०८० साल पुस १७ गते । सामान्य परिमार्जनसहित ।]

Thursday, December 26, 2019

स्मृतिमा बाँचिरहनेछन् नेपाली लोक-रकका सूत्रधार शुक गुरूङ

–यमबहादुर दुरा

नेपाली सङ्गीत र विदेशी सङ्गीतबीच कहिलेदेखि अन्तरघुलन हुन थाल्यो ? नेपाली लोकभाका र विदेशी शैलीका सङ्गीतबीच कहिलेदेखि ‘फ्युजन’ हुन थाल्यो ? दुई गोलार्धका सङ्गीतबीच ‘फ्युजन’ गर्ने काममा क–कसले र कहिले–कहिले योगदान गरे ? यसबारे कुनै स्पष्ट जवाफ पाउन सजिलो छैन ।
तस्बिर : इन्टरनेट

सङ्गीत सर्जक शुक गुरुङले सांसारिक नाता तोडेर हामीसँग बिदा भएको घटना ताजै छ । यो घडीमा ‘सङ्गीत फ्युजन’ को प्रसंग उठाएर उनीबारे केही प्रसंग झिक्नु असान्दर्भिक नहोला । सङ्गीतकार शुक गुरुङ नेपाली लोकभाका र पश्चिमी सङ्गीतलाई मिसाएर नयाँ शैली र स्वादका सङ्गीतिक परिकार पस्कने सङ्गीत सर्जकमध्ये एक पर्छन् । नेपाली लोक–रकका सूत्रधारमध्ये एक मानिन्छन् ।

यही प्रसंगमा ‘रक म्युजिक’ को कुरा गरौँ । अमेरिकामा सन् १९६० तिर ‘रक म्युजिक’ अस्तित्वमा आएको इतिहास भेटिन्छ, जुन  ‘रक एण्ड रोल’  सङ्गीतको विकसित रूप मानिन्छ । सन् १९४०—१९५० तिर ‘रक एण्ड रोल’ अस्तित्वमा आएको विश्वास गरिन्छ । यद्यपि, यसबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

नेपालमा धेरै चर्चामा रहेको साङ्गीतिक ब्याण्ड ‘नेपथ्य समूह’ लाई धेरैले ‘रक म्युजिक’ मा आधारित साङ्गीतिक समूह मान्छन् । यसले नेपाली लोकसङ्गीतको धारलाई पनि छाडेको छैन । ‘नेपथ्य समूह’ को साङ्गीतक प्रस्तुतिमा ‘रक म्युजिक’ र नेपाली लोकसङ्गीतको मिश्रण भेटिन्छ । यही आधारमा ‘नेपथ्य समूह’ लाई नेपाली लोक–रक भनेर चित्रण गरिन्छ ।

शुक ‘नेपथ्य समूह’ बाट उदाए । यसभन्दा अघि अमृत गुरुङ, शुक गुरुङ र भीम पुनको सक्रियतामा ‘भञ्ज्याङ झङ्कार’ नामक साङ्गीतिक समूह गठन भएको र त्यसले केही साङ्गीतिक कार्यक्रम गरेको अभिलेख  भेटिन्छ । यद्यपि, यसबारे उतिसाह्रो चर्चा चलेको पाइन्न ।

‘नेपथ्य समूह’ बाट ‘छेक्यो छेक्यो देउराली डाँडा...’ बोलको गीत निस्कियो । यो गीत युवामाझ बिछट्टै लोकप्रिय बन्यो । यसले शुक गुरुङको साङ्गीतिक व्यक्तित्व ह्वात्तै बढाइदियो । यसपछि के कारण हो, शुक ‘नेपथ्य समूह’ मा बस्न रुचाएनन् । एउटा अतिशय सुन्दर सिर्जना दिएर उनी बाहिरिए । ‘नेपथ्य समूह’ मा उनको सिर्जनाले केराको जुनीजस्तै नियति भोग्यो । एकै बेतमा सारा उत्पादकत्व सकियो ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि मातृसंस्थामा फर्केनन् । संस्थामा कोही आउनु र जानु सामान्य भए पनि सबै अवस्थामा सामान्य मान्न सकिँदैन । ‘नेपथ्य समूह’ बाट शुक किन बाहिरिए ? यसबारे शुक गुरुङ स्वयम् र अमृत गुरुङ दुवैजना मौन रहे, सार्वजनिक रूपमा केही बोलेनन् । सङ्गीतभित्र घुसेको राजनीति के हो, धेरैले बुझ्न  पाएका छैनन् ।

ती सङ्गीत–शिल्पीहरूको निजी सम्बन्धका ‘केमेष्ट्री’ को जोड–घटाउन गर्नु कसैको रहर होइन । यद्यपि, उनीहरू काँधमा काँध मिलाएर सँगै रहेका भए अरू बेजोड साङ्गीतिक कोसेली तयार हुने थिए । उनीहरूको सम्बन्धबारे यतिचाहिँ टिप्पणी गर्न सकिन्छ ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि उनी २०५० को दशकको पूर्वाद्धतिरै काठमाडौँ छिरे । उनी एक्लै सङ्गीतकर्ममा लागे । ‘आँखैमा झलझली...’, ‘भाइटीकामा भेट्न आउँला...’, ‘कसैलाई दोष दिन चाहन्न...’ जस्ता दर्जनौं गीत सिर्जना गरे । उनका  यी गीत धेरैका मनमस्तिष्कमा सुमधुर झङ्कार बनेर बसिरहे । उनले चर्चा बटुलिरहे । स्रोतागणको माया र सदभाव उनीमाथि ओइरिरहे ।

सङ्गीत सिर्जनाभन्दा बाहिरको उनको व्यक्तित्वलाई हेर्ने हो भने उनी रसिला व्यक्ति थिए भन्न सकिन्छ । उनी कुराको सेलरोटी पकाउन सिपालु थिए । उनी हास्यचेतले भरिएका व्यक्ति थिए । बोल्दा धेरै हाँसो–ठठ्ठा गर्थे । विनोदी स्वाभाका थिए । बोलीमा अनेकन् विम्ब र उपमा प्रयोग गरेर मिठासपूर्ण अभिव्यक्ति पस्कन्थे । व्यङ्ग्यात्मक अभिव्यक्तिमा निपुण थिए । उनको कुरा सुनेर धेरैले रमाइलो मान्थे ।

सबै कुरा ठीकठाक चलिरहेको बेला नियतिले एउटा कुनाबाट उनीप्रति कुदृष्टि लगाइरहेको थियो । पंक्तिकारले २०५८ सालतिर उनलाई काठमाडौंमा भेटेको थियो । त्यतिबेलै उनलाई मधुमेहले छोइसकेको थियो ।

तर, उमेरदार व्यक्ति भएकाले उनी हट्टाकट्टा र फूर्तिला  नै थिए । त्यतिबेला उनी म्हेपीमा बस्थे । उनको डेराको गमलामा मधुमेह निको पार्न सघाउने वनस्पति फक्रिरहेका–फुलिरहेका हुन्थे ।

उनी आहार विहारमा निष्फिक्रीजस्ता देखिन्थे । त्यतिबेला केही साथीभाइलाई मदिराभोगको नशाबाट छुटकारा दिलाउन प्रयत्न गरिरहेका भेटिन्थे । विडम्बनाश, उनी आफैं   भने मदिराभोगबाट टाढिन सकेका थिएनन् । यस्तो लाग्थ्यो, नशाले उनको विवेकमाथि कब्जा जमाइरहेको छ ।

पथ पहरेजलाई नै पहरेज गर्दै जाँदा उनीभित्रको रोग मौलाउँदै गयो । पछि पहरेज नियन्त्रण गर्न सकिने रोग असाध्य व्यथामा परिणत हुन थाल्यो । मधुमेहले चौतर्फी असर देखाउँदै गयो । विस्तारै आँखा कमजोर हुन थाल्यो । अन्त्यमा आँखाको ज्योति निभ्यो । त्यसपछि मिर्गौला पनि बिग्रँदै गयो । कालान्तरमा मिर्गौलाले धोका दिएरै छाड्यो ।

स्वास्थ्यका दृष्टिले उनको जीवनमा एकपछि अर्को गरी दुर्भाग्यपूर्ण घडी आइरहे । यसको दुःखदायी असर उनको साङ्गीतिक करिअरमा पनि पर्दै गयो । उनका नयाँ कृतिहरू जन्मन छाडे । साथीभाइहरू टाढिँदै गए । ख्याति कमाएर पनि उनी गुमनाम बन्ने दिशातिर उन्मुख थिए ।

जीवनको उत्तरार्धमा शुक गुरुङ साङ्गीतिक दृष्टिले एक्ला र सुस्त जस्ता भएका थिए । रोगले एकपछि अर्को गरी गिजोल्दै जाँदा उनी सङ्गीतकर्मबाट निवृत्तजस्ता भइसकेका देखिन्थे । समयको कठोर झोक्काले उनलाई पल पल कमजोर बनाइरहेको थियो । शारीरिक दृष्टिले मात्र होइन, साङ्गीतिक दृष्टिले पनि ।

उनको चर्चाको ग्राफ उरालो झरिरहेको थियो । एकाध साथीसंगीले बाहेक उनको चर्चा गरेको भेटिँदैनथ्यो । केही गरी उनको चर्चा भइहाले पनि सङ्गीतकर्मका कारण भन्दा पनि शारीरिक अवस्थ्यताका कारणले बढी चर्चा पाएको थियो ।

यद्यपि, उनीप्रति माया र सदभाव खन्याउने साथीसंगी र शुभचिन्तकहरूले भने बिर्सिएका थिएनन् । उनको उपचारार्थ देश–विदेशमा आर्थिक सहयोग जुटाउने अभियान चलेका थिए । उनको सहयोगका लागि ठूलो सहयोग राशी जुटेको समाचार माध्यममा आएका थिए ।

शुक गुरुङ भने आफूसँग हरपल हार्दै गएका थिए । उनले बाँच्ने आशा त्यागिसकेका थिए । आफ्नो उपचारका लागि उठेको रकम आफ्नो उपचारमा खर्च गर्न चाहेनन् । पैसा हातमा परेर पनि मिर्गौला फेर्ने चाहेनन् ।

त्यो रकम आफूभन्दा लामो समय बाँच्ने उमेर भएका परिवारजनलाई टाउको लुकाउने गुँड बनाइदिन आग्रह गरे । उनले आफ्नै जीवन खण्डहर पारेर परिवारजनको भविष्य बनाउने सोच अघि सारे । उनका सहयोगीहरूले त्यो चाहना पूरा  गरिदिए ।

उनको जीवन बसाइँ सर्ने चराको जस्तो रह्यो । कहिले कता त कुनैबेला कता । पुख्र्यौली घर लमजुङ भएका शुक चितवन पुगे । त्यहाँबाट पोखरा पुगे । उनको बाल्यकाल त्यतै बित्यो । पोखरामा रहँदा नयाँ धारका सङ्गीत अनुरागीहरूसँग हिमचिम बढ्यो । त्यहीँबाट सङ्गीतलाई जीवनको लयको रूप लिए । सङ्गीतकर्ममा जुटिरहे ।

यही मेहरोमा पोखराबाट काठमाडौंँ हानिए । काठमाडौं छिरेपछि पनि सङ्गीत सिर्जनामा जुटे । रोग असाध्य बन्दै गएपछि पुनः पोखरा नै फर्किए । रोटेपिङझैं  एउटा वृत्तमा घुमेर उनको जीवनले  सदाका लागि विश्राम लियो ।

बहीखाता पल्टाउँदा उनको जीवनमा जोड–घटाउन गर्नुपर्ने थुप्रै पक्ष होलान् । जोड–घटाउनको अङ्क–गणितमा उनको जीवनमा जोडिन आएकी जीवनसंगिनी जुना गुरुङको सानो चर्चा नगरी उनको जीवनगाथा अपूरो हुन्छ ।
अनेकन् झञ्झावतसँग जुधेर जुनाले जीवनसंगी र दुई छोराका मुहारमा खुसी फक्राउन अथक प्रयत्न गरिन् ।

आफूभन्दा धेरै पाको जीवनसंगीलाई डोर्‍याएर क्लिनिक र अस्पताल पुर्‍याइरहिन् । सेवा–सुश्रुषामा जुटेर माया–ममताको वर्षा गरिरहिन् । आफ्नो कर्तव्यपथबाट कहिल्यै विचलित भइनन् । उनले शुक गुरुङलाई साँचो अर्थमा साङ्गीतिक–सामाजिक व्यक्तित्व बनाउन हरसम्भव प्रयत्न गरिन् ।

तमाम नाता–सम्बन्धको जालो तोडेर शुक अर्कै लोकमा पुगिसके । अब उनी स्मृतिमा मात्र बाँच्नेछन् । यहाँनेर, रोमन दार्शनिक सिसिरोको भनाइ सान्दर्भिक हुन आउँछ । उनले भनेका छन्, ‘दिवङ्गत व्यक्तिको जीवन जिउँदो व्यक्तिको स्मृतिमा बाँच्छ ।’ आफ्नै साङ्गीतिक विरासतको प्रतापबाट उनी धेरैको स्मृतिमा बाँचिरहनेछन् ।

साभार :  देखापढी । २०७६ साल पुस १० गते ।

Saturday, November 24, 2012

बिदा हलो क्रान्ति–नायक !

-यमबहादुर दुरा

हलो क्रान्तिका अगुवा, जयतु संस्कृतम् आन्दोलनका सदस्य, इतिहास अन्वेषक र शैक्षिक एवं सामाजिक क्षेत्रका अथक अभियन्ता श्रीकान्त अधिकारी हामीबीच रहनुभएन । उहाँ २०६९ साल कात्तिक ३० गते भाइटीकाको दिन ८५ वर्षको उमेरमा यस भौतिक दुनियाँबाट बिदा हुनुभएको छ । उहाँ सबैको प्रेरणापुञ्ज हुनुहुन्थ्यो । उहाँ ब्रह्मलीन भइसके पनि उहाँले हामीमाझ छाडेर जानुभएको विरासतबाट नयाँ पुस्ताले सिक्नु पर्ने र अनुप्राणित हुनु पर्ने थुप्रै  पाठ छन् ।

समाजमा जरो गाडेर रहेका कुरीतिहरूलाई जरैबाट उखेल्नु पर्छ भन्ने चेतले उहाँ ओतप्रोत हुनुहुन्थ्यो । ब्राह्मणले हलो नजोत्ने परम्परागत मान्यतालाई उहाँ ठालू मानसिकताको उपज मान्नुहुन्थ्यो । यसलाई चुनौती दिंदै पण्डित तोयानाथ अधिकारी, लप्टन शेषकान्त अधिकारी, श्रीकान्त अधिकारी, मुखिया हरिभक्त पौडेललगायतका व्यक्तिले लमजुङको दुराडाँडामा विसं २००६ साउन ११ गते हलो जोतेपछि नेपालको राजनीतिक, सामाजिक वृत्तमा हलचल नै ल्यायो । उहाँहरू चौतर्फी आक्रमणको निसाना बन्नुभयो । पतनको सङ्घारमा रहेका राणा शासकले विद्यमान राजनीतिक व्यवस्थाविरुद्धको साङ्केतिक आन्दोलन ठानेर उहाँहरूलाई जेलमा पठाए । अर्कोतिर, समाजको मान्यताविपरीत हलो जोतेकाले उहाँहरू ब्राह्मण समाजभित्रै आलोचित र अपहेलित हुन थाल्नुभयो । कतिपयले त दुराडाँडाका ब्राह्मणहरूसँग सोली–डोली चलाउन पनि गाह्रो माने । यस्तैमा विसं २००८ सालमा लमजुङमा बाढीपहिरोले ठूलो क्षति ग¥यो । यसको दोष पनि हलो क्रान्तिका अगुवाहरूलाई नै लाग्यो । बाहुनले हलो जोतेकाले देउता रिसाएर प्राकृतिक विपत्ति आएको हो भनेर तत्कालीन रुढीबादी समाजले टिप्पणी गर्यो ।

Wednesday, August 8, 2012

सम्झनाका तरेलीहरूमा ठाकुर सर


-यमबहादुर दुरा

'तिनाउ खोलाको, के भर छ नि मर्ने चोलाको'। मानव चोलाको शाश्वत पक्ष उद्घाटन गर्ने यस लोकगीतको मर्मसँग तादात्म्यता मिलाउँदै मेरा गुरु ठाकुरप्रसाद अधिकारी भौतिक दुनियाँबाट अस्ताउनुभयो । उहाँले संसार छाडेको आज ठ्याक्कै एक वर्ष पुगेछ ।
तस्बिर साभार : रविकिरण अधिकारी

उहाँ लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालयको प्रधानाध्यपक हुनुहुन्थ्यो । उहाँले २०२५ सालदेखि २०४९ सालसम्म अनवरत रुपमा प्रधानाध्यपकको जिम्मेवारी सम्हाल्नुभयो । उहाँको सतप्रयासले सर्वोदय माध्यमिक विद्यालय लमजुङको राम्रो स्कूलमा गणना हुन पुगेको थियो ।

ठाकुर सर अंगेजी पढाउनुहुन्थ्यो । उहाँको पढाउने कला र शैली प्रशंसनीय थियो । सौहार्दपूर्ण वातावरणमा ज्ञान बाँड्न सक्ने खुबीले उहाँ विद्यार्थीहरुमाझ ज्यादै लोकप्रिय हुनुहुन्थ्यो । उहाँसँग ज्ञानको गहिराइ र व्यवस्थापकीय सीप दुवै थियो ।  समग्रमा उहाँ कुशल शिक्षक हुनुन्थ्यो ।