Tuesday, August 23, 2022

लैङ्गिक विभेदको चक्र

-यमबहादुर दुरा

 विविधतायुक्त नेपाली समाजको लोकजीवनलाई अन्वेषण गरी विभिन्न समयमा आख्यान लेखिँदै आएको छ। विगतमा श‌ङ्कर कोइरालाको खैरिनीघाट (वि.सं. २०१८), प्रकाश ए. राजको रोदीघरको सम्झना (वि.सं. २०३३), ध.च. गोतामेको घामका पाइलाहरू (वि.सं.२०३५), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (वि.सं. २०४०), खगेन्द्र संग्रौलाको जूनकीरीको सङ्गीत (वि.सं. २०५६), राजन मुकारुङको दमिनी भीर (वि.सं. २०६९) जस्ता आञ्चलिक स्वादका उपन्यासमा स्थानीय जीवनको विविधता केलाइएको पाइन्छ। यही लहरमा सुरेश प्राञ्जलीको नवीनतम उपन्यास पानीघट्ट थपिएको छ।

ग्राफिक्स साभार : हिमालखबर


यस उपन्यास ब्राह्मण चेली जूनमाया र गुरुङ चेलो रनबहादुरबीचको अन्तरजातीय प्रणयकथा हो। एउटै गाउँमा हुर्किएका उनीहरूबीच बाल्यकालदेखि अङ्कुराएको प्रेम समयसँगै झाँगिँदै जान्छ। तर, कालान्तरमा यी दुईलाई बेग्लै मोडमा पुर्‍याउँछ। घरपरिवारको जोडबलले जूनमायाको अर्कै सजातीय युवकसँग घरबार हुन्छ। तर, जूनमायाले घर खाँदिनन्। समयले बालसखालाई नै जीवनसाथी बनाएर उभ्याए पनि उनीहरूको सहयात्राको आयु लामो हुँदैन।

उपन्यासको परिवेश स्याङ्जाको पेल्काचौर र आसपासको भूगोल हो। कथावस्तु ब्राह्मण समुदायसँग पनि जोडिएको छ, तर मूल हिस्सा स्थानीय गुरुङ समुदायको जीवनशैलीसँग गाँसिएको छ। लाहुरे संस्कृति, रोदी बस्ने परम्परा जस्ता सांस्कृतिक विम्बहरूमा गुरुङ संस्कृतिको जीवनचित्र सजीव बन्न पुगेको छ। उपन्यासमा प्रसङ्ग अनुसार गुरुङ भाषाका शब्दावली तथा वाक्यहरू प्रशस्त प्रयोग भएका छन्। यस हिसाबले यसलाई आञ्चलिकतायुक्त जनजातीय उपन्यास भन्न सकिन्छ।

लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’।

परिचय खण्डमा उल्लेख गरिए झैं यो कृतिको कथा २०३० र २०४० को दशकको गण्डकी भेगको ग्रामीण समाजको हो। भाषा सरल र सरस छ। पात्रहरूले प्रयोग गर्ने संवाद तथा शब्दावलीमा मीठो स्थानीय कथ्य भाषाको प्रचुरता छ। जस्तैः ‘बढ्ता नहाँस, जिमिन रूखिन्च’, ‘क्यार्नी र बरी देखेसी मया लाउनी’, ‘कुटुनीले मज्जाले हँसाइचे आज’ आदि।

कृतिमा ग्रामीण खाद्य परिकार, मेलापात, वनपात, गुन्द्री, राडी, लालटिन, डोको, थुन्से जस्ता ग्रामीण लोकजीवनबोधक पक्ष तथा वस्तुहरू आइराख्छन्, जसले ग्रामीण जीवन भोगेका पाठकका अगाडि गाउँको तस्वीर ल्याउँछ। ढाकाटोपी, भाङ्ग्रा जस्ता पुरुष पहिरन तथा शिरफूल, चोली, घलेक, पोते, कण्ठ, मुगामाला, पटुका, पैसे औंठी, क्रमु (मजेत्रो), सुनको जन्तर जस्ता महिलाका वेशभूषाको चित्रणले ग्रामीण परिवेशमा हुर्केका पाठकको मनलाई गाउँबस्तीतिर पुर्‍याउँछ।

कृतिमा लाहुरे परम्परालाई उच्च स्थान दिइएको छ। लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’। यसले समाजले लाहुरे परम्पराप्रति गरेको उच्च भरोसालाई झल्काउँछ।

पल्टनबाट आएका लाहुरेले गाउँका लालबालालाई मिठाई बाँडेकोस गाउँले आमाबालाई काश्मिरी ओखर, मिश्री आदि उपहार बाँडेकोस लाहुरेले पल्टनबाट पठाएको चिठीमा ‘अगर’, ‘बढिया’, ‘परिसानी, ‘दुपहर’, ‘बहुत प्यार’ जस्ता हिन्दी शब्दको प्रयोग आदि विविध पाटोले लाहुरे संस्कृतिको सजीव अनुभूति गराउँछ।

कृतिले ग्रामीण समाजको मीठो पक्ष मात्र होइन, लैङ्गिक विभेद जस्तो तीतो यथार्थ पनि उजागर गरेको छ। कृतिको मूल पात्र जूनमाया अभिभावकले छोराको चाहना गर्दागर्दै जन्मेकी हुन्। छोरीलाई बोझ मान्ने सामाजिक सोचको शिकार बनेकी उनले हजुरआमा लगायत परिवारजनबाट पटक पटक ‘कुजात’ सम्बोधन सुन्नुपर्छ। उनको पठनपाठन छुटाएर कलिलै उमेरमा सौता बनाएर पठाइएको प्रसङ्ग कम मार्मिक छैन। खासमा जूनमायाले विवाहअघि र पछि भोग्नुपरेको सास्तीको घनचक्कर नै पानीघट्टको कथा हो।

अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ।

सामाजिक यथार्थको चित्रण गर्ने क्रममा गुरुङ तथा ब्राह्मण समुदायबीचको झिनो अन्तरसामुदायिक द्वन्द्व पनि देखाइएको छ। यससँगै, ब्राह्मण समाजकी छोरीले भन्दा गुरुङ समुदायमा जन्मेकी छोरीले बढी स्वतन्त्रता उपभोग गर्न पाउँछिन् भन्ने पनि देखाइएको छ।

कृतिकारले नियम र अनुशासनको नाममा छोरीलाई नियन्त्रण र बन्धनमा राख्ने नेपाली समाजमा विद्यमान असमानता र विभेद भत्काइनुपर्ने आशय राखेका छन्। मन परेकी केटीलाई उसको इच्छा विपरीत तानेर विवाह गर्ने प्रथा पनि कृतिमा प्रस्तुत गरिएको छ। अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी यो चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ। 

२०४६ सालको राजनीतिक परिवर्तनपछि जन्मेका नयाँ पुस्ताका लागि यो उपन्यास राम्रो सांस्कृतिक विषयवस्तु बन्न सक्छ। कुनै समय गण्डकी भेगको ग्रामीण जीवनको अभिन्न अङ्ग बनेको रोदी संस्कृतिसँग अपरिचित नयाँ पुस्ताले तत्कालीन ग्रामीण समाजको लोकसंस्कृति र लोकजीवनका लागि रोदी एउटा गजबको केन्द्र रहेको तथ्य कृतिबाट थाहा पाउन सक्छ। साथै, इन्टरनेट र स्मार्टफोनको आगमन अघि गाउँघरमा तस्वीरप्रतिको मोह कस्तो थियो भन्नेबारेका प्रसङ्ग रोचक र घतलाग्दा छन्।

कृतिमा केही अस्वाभाविक पक्ष पनि छन्। जस्तै- जूनमायाले आमाको गर्भमा रहँदादेखिकै स्मृतिजन्य प्रसङ्गहरू एकपछि अर्को गरी पस्किन्छिन्। यस्तो प्रयोग कता कता अप्राकृतिक प्रतीत हुन्छ। अर्को कुरा, जनजीवनका लोकभाषा टपक्कै टिपेर प्रस्तुत गर्ने क्रममा कतै कतै अश्लील शब्द तथा शब्दावली प्रयोग भएका छन्। यसले यथार्थ पस्कने नाममा सार्वजनिक शिष्टताको स्थान के हुने भन्ने पुरानो बहस जगाउन सक्छ। यति हुँदाहुँदै सांस्कृतिक अन्तर्घुलन र ग्रामीण लोकजीवनको स्वाद बोकेको यो आख्यान रसिलो र चखिलो छ।

पुस्तक: पानीघट्ट, लेखक: सुरेश प्राञ्जली, प्रकाशक: फाइनप्रिन्ट बुक्स, पृष्ठ: २६३, मूल्य: रु.४९८

 [हिमाल । भदौ २०७९ । पृ.९४-९५ ।]

Thursday, August 11, 2022

छोटो भिडियोको संसार

 –यमबहादुर दुरा

डिजिटल युगको तामझामपूर्ण माहोलमा टिकटकको नाम नसुन्ने शायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा पनि फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ । 

प्रतिभा प्रष्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अङ्कुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले सामान्य नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एकप्रकारको हलचल नै आएको छ ।

टिकटकले ल्याएको हलचललाई छोटो भिडियोको युग शुरु भइसकेको सङ्केतको रूपमा पनि लिन सकिन्छ । सामान्य नागरिकको पहुँचमा नभएका स्टुडियोमा निर्मित लामा–लामा भिडियोको आधिपत्य भइरहेको बेलामा सर्वसाधारणको सहज पहुँचमा रहेका छोटा भिडियो एपहरू अस्तित्वमा आएपछि भिडियोजगतको परिदृश्य पूरापुर बदलिएको छ । 

आजकल टिकटकजस्ता सैयौँ छोटो भिडियो एप (डबली) हरू अस्तित्वमा छन् । टिककिक, इन्स्टाग्राम रिल, हिप्पो भिडियो, मेजिस्टो, विस्टिया, फनीमेट, बाइट, भिडियो स्टार, फायरवर्क, लिटलट, ब्युटी भिडियो, जुमर्‍याङ, चिज आदि टिकटकजस्तै छोटो भिडियो डबलीहरू हुन्, जसमार्फत्  हजारौँले आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

भिडियो ट्रान्सलेटर नामक वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चर्चित छोटो भिडियो प्ल्याटफर्ममा भिगो भिडियो, टिकटक, लाइकी, म्याजिस्टो लास्सो, भिभा भिडियो, ट्वीच, इन्स्टाग्राम पर्छन् । यीमध्ये लाइकी, इन्स्टाग्राम, टिकटक, भिभो भिडियोले लाइभस्ट्रिमिङको सुविधा पनि दिएका छन् । 

कतिपय देशमा छोटो भिडियोका आफ्नै संस्करणहरू छन् । भिडियोसाइफर नामक वेबसाइटमा प्रकाशित एक लेखमा जनाइएअनुसार छिमेकी मुलुक भारतमा मिट्रन, मोजो, चिङ्गारी, जोश, टिककिट, सेयरच्याट, लिटलट, रोपोसो जस्ता छोटो भिडियो प्ल्याटफर्महरू चल्तीमा छन् ।

परिभाषा

छोटो भिडियो प्रसङ्ग कोट्याउँदा एउटा प्रश्न आउँछ, कति लम्बाइ भएको भिडियोलाई छोटो भिडियो भन्ने ? यसबारे मतैक्य छैन । कतिले १० मिनेटसम्मको भिडियोलाई छोटो भिडियो भन्ने गरेका छन् । तर, अहिलेको बेफुर्सदीको युगमा १० मिनेट त के कुरा, ५ मिनेटको भिडियोलाई समेत लामो भिडियो मान्न थालिएको छ । आजकल त मिनेटमा होइन, सेकेण्डमा सीमित भएको भिडियोलाई छोटो भिडियो आदर्शतम् रूप मान्न थालिएको छ । 


स्प्लाइसएप वेबसाइटमा प्रकाशित एक लेखका अनुसार १० देखि ६० सेकेण्डसम्मको भिडियोलाई छोटो भिडियोको श्रेणीमा राखिन्छ । इन्टाग्राममा १५ सेकेण्डसम्मको भिडियो रेकर्ड गरी पोष्ट गर्ने अवसर उपलब्ध छ, जुन अवसर ट्रिलर, इन्टाग्राम रिल आदिमा ६० सेकेण्डसम्मको छ । यस्तो अवसर टिकटकमा ६० सेकेण्डदेखि तीन मिनेटसम्मको छ ।

इतिहास

छोटो भिडियोको इतिहास लामो छैन । सन् २०१२ मा स्न्यापच्याटले १० सेकेण्ड लामो भिडियो रेकर्ड गर्न सक्ने एप उपलब्ध गरायो, जसमा सन्देश रेकर्ड गरेर साथीसंगीलाई पठाउन सकिन्थ्यो । यसैगरी, सन् २०१३ मा भाइनले ६ सेकेण्डको भिडियो एप उपलब्ध गरायो । 

छोटो भिडियो प्ल्याटफर्महरू एकपछि अर्को गरी आउने क्रममा सन् २०१४ मा म्युजिकल्लीले लिप्सिङ्क सुविधासहितको ६० सेकेण्डको एप उपलब्ध गरायो । सन् २०१६ मा टिकटक अस्तित्वमा आयो, जुन छोटो समयमै सबैलाई उछिनेर संसारभर लोकप्रिय हुन पुग्यो । अहिले पनि टिकटकजस्तै नयाँ–नयाँ छोटो भिडियो डबलीहरू आउने क्रम जारी छ । 

हिजोका दिनमा भिडियो हेर्नका लागि टेलिभिजन सेट नै आवश्यक थियो । अब त्यो असजिलो अवस्था रहेन । स्मार्टफोन आएपछि मोबाइलमै थरीथरीका भिडियो सहजै हेर्न पाइने अवसर पैदा भयो, जुन छोटो भिडियोका लागि एउटा उर्वर भूमि बन्न पुग्यो । 

प्रतिस्पर्धाको घण्टी

छोटो अवधिमै छोटो भिडियो–डबलीको चर्को उपस्थितिले छोटो भिडियो एप उत्पादक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा त छँदैछ, अघि नै ख्याति कमाएका र बजारमा वर्चस्व कायम गरिसकेका कतिपय सोसल मिडिया प्ल्याटफर्महरूले प्रतिस्पर्धाको घण्टी बजेको अनुभव गर्न थालेका छन् । प्रतिस्पर्धाको दौडमा आफू  खरो नउत्रिए पछि परिने भयले उनीहरूले छोटो भिडियोका लागि नयाँ प्ल्याटफर्म सार्वजनिक गरिसकेका छन् । 

उदाहरणका लागि, नेटफ्ल्क्सिले छोटो भिडियो प्ल्याटफर्म ‘फास्ट लाफ्स्’ शुरु गरिसकेको छ भने यु ट्युबले पनि ‘यु ट्युब सर्टस्’ गरिसकेको छ । यसैगरी, स्न्यापच्याटले ‘स्न्यापच्याट स्पटलाइट’ प्रयोगकर्ता सामु ल्याइसकेको छ । फेसबुकले ‘फेसबुक स्टोरी’ मार्फत् तस्बिर तथा छोटो भिडियोलाई स्थान दिँदै आएको छ । यसबाहेक बहुसंख्यक सोसल मिडियाले पनि छोटो भिडियोका लागि अकार्षक प्ल्याटफर्महरू धमाधम खडा गर्दैछन् ।

छोटो भिडियो–डबलीले ल्याएको हलचलले फिचर फिल्म उत्पादन गर्ने चलचित्र उद्योगलाई पनि तरङ्गित तुल्याएको छ । यससँगै छोटो खालका चलचित्र अर्थात् माइक्रोमुभिज् (माइक्रोसिनेमा) को अवधारणा पनि अस्तित्वमा आउन थालेका छन् । 

आजकल छोटो खालका चलचित्र निर्माण हुने क्रमले मूर्त रूप लिइसकेको छ । ‘क्याडिलक’, ‘रुट ६६’, ‘२०८८’, ‘लभ इज अल यु निड’, ‘होल्डिङ द रेन’ । सन् २०१० मा हङकङमा निर्मित चलचित्र ‘क्याडिलक’ पहिलो माइक्रोमुभी मानिन्छ ।

लोकप्रियको रहस्य

एक्काइसौँ शताब्दी सूचना विष्फोटनको युग हो । वर्तमान युगमा सूचनाको कुनै कमी छैन । सोसल मिडियाले मूलतः श्रव्य, लेख्य तथा श्रव्य–दृश्य (भिडियो) माध्यमबाट सूचना सम्प्रेषण गर्छन् । यीमध्ये भिडियोप्रति नै मानिसको आकर्षण बढी छ । सोसल मिडियामार्फत्  धेरै प्रयोगकर्तासम्म पुग्ने लोकप्रिय कन्टेन्ट नै भिडियो भन्ने तथ्य अध्ययनबाट खुलेको छ । मूलतः सोसल मिडियामा प्रयोग हुने सामग्रीमध्ये भिडियोलाई सबै सामग्रीहरूको राजा ९प्ष्लन या बिि अयलतभलत० मान्ने चलन छ ।

भिडियोले यसप्रकारको पद्वी पाउँदापाउँदै पनि सबैले सबै भिडियो हेर्छन् भन्नेचाहिँ छैन । व्यस्त जीवनशैली, चौतर्फी हतारो, विविध रूप–रङ्गका सोसल मिडियाको बाक्लो उपस्थिति आदिले मानिसको एउटै चीजमा ध्यान अडिने समय (attention-span) घट्दै गएको छ । कुनै सामग्रीमा मानिसको छिट्टै ध्यानभङ्ग हुने अवस्था छ । यसलाई ‘ट्याकल’ गर्न छोटो समयमा प्रभावकारी किसिमले सूचना सम्प्रेषण गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।

छोटो भिडियोको आगमन यसैको जवाफ हो । छिटो, छरितो र प्रभावकारी किसिमले आफ्नो कुरा राख्नका लागि छोटो भिडियो एकदमै उपयुक्त माध्यम मानिएको छ । प्रडक्ट ट्युटोरियल्स्, शैक्षिक सामग्री, ब्राण्ड विज्ञापन, लामो चलचित्रको टिजर, नयाँ उत्पादनको विज्ञापन, पूर्वघटित घटनाको पूर्वस्मृति प्रस्तुतीकरण आदिका लागि छोटो भिडियो अतिशय उपयोगी मानिन्छ ।

यसैगरी, प्रयोगकर्ताबीच तीव्र विस्तार (fast transmission) को सम्भावना,  सामग्री एकदमै छोटो भएकाले दोहोर्‍याइ-तेहर्‍याइ हेर्न सकिने अवस्था, एउटा सोसल मिडिया प्ल्याटफर्ममा भएको सामग्री अर्को प्ल्याटफर्ममा सेयर हुने (cross-platform sharing) तीव्र सम्भावना, प्रस्तुतिमा रोचकपन आदिका कारण छोटो भिडियो एकदमै छिटो भाइरल हुन्छन् । प्रभावकारी किसिमले तयार पारिएको छोटो भिडियो प्रयोगकर्ताको स्मृतिमा लामो समयसम्म रहन सक्छ ।

अर्को कुरा, गुगल सर्च इञ्जिनमा छोटो भिडियोहरू अग्रस्थानमा देखापर्छन्, जुन जानकारी रककन्टेन्ट वेबसाइटमा प्रकाशित एक लेखमा छ । यसरी, छोटो भिडियोको लोकप्रियताका ग्राफ निरन्तर बढिरहेको देखिन्छ । यही भएर होला, हरेक १० जना स्मार्टफोनधारीमध्ये सताजनाले छोटो भिडियो कुनै न कुनै एप प्रयोग गरेको अध्ययनले बताएको छ । 

छोटो भिडियोको अरू सकारात्मक पक्षहरू पनि छन् । पाँच मिनेटको चिया–ब्रेक होस् वा बस पर्खँदाको छोटो समयमा किन नहोस्, यस्ता भिडियो हेरेर मनोरञ्जन लिन सकिन्छ । अर्कोतिर, छोटो भिडियो बनाउन र प्रयोग गर्न पनि सजिलो छ । यस्ता भिडियो बनाउन धेरै योजना बनाउनु पर्दैन । उत्पादन खर्च पनि धेरै लाग्दैन । यसैगरी, छोटो भिडियो शिर्जनशील भिडियोग्राफरहरूका लागि आम्दानीको माध्यम पनि बनेको छ ।

छोटो भिडियोका यिनै गुनिलो पक्षलाई ध्यानमा राखेर यसको बहुपक्षीय उपयोग हुन थालेको छ । यसलाई बजारीकरणको भरपर्दो माध्यमका रूपमा लिन थालिएको छ । एक अध्ययनले ८५ प्रतिशत विदेशी कम्पनीले छोटो भिडियो बजारीकरणको माध्यम (a marketing tool) का रूपमा प्रयोग गरिसकेका छन् । ८४ प्रतिशत ग्राहणले छोटो भिडियोमा आउने विज्ञापन हेरेर सरसामन किन्ने गरेको पनि अध्ययनबाटै खुलेको छ । 

बिसौनीनेर

विगतमा भिडियो उत्पादक तथा प्रयोगकर्ताबीच ठूलो खाडल थियो । छोटो भिडियोको युग आएपछि उत्पादक तथा प्रयोगकर्ताबीच खाडल पुरिँदै गएको मात्र होइन, उनीहरूबीचको सीमारेखाको काँडेतार पनि हट्दै गएको छ ।

आर्थिक वैभवमा रमाएका बिलिनियरदेखि सडकका ठेलागाडा धकेल्ने कर्मजीवी नागरिकसम्मले छोटो भिडियो बनाउन थालिसकेका छन् । सूचना र मनोरञ्जनको उपभोगमा धनी र गरिबबीचको सीमा मेट्न सघाउने यसप्रकारको रोचक डिजिटल घटनाक्रमलाई क्रान्तिकारी फड्कोको रूपमा नस्वीकारी सुखै छैन । 

[युवामञ्च । साउन, २०७९ । पृ.५०-५३]

Tuesday, July 19, 2022

सार्वजनिक सवारीमा लोकहितैषी नीति

 –यमबहादुर दुरा 

इन्धनको मूल्य वृद्धिभएसँगै यातायातकर्मीहरूले मनलाग्दी भाडा असुलेका समाचार आइरहेको छ । बढी भाडा असुली प्रकरण त सतहमा देखिएको एउटा सानो विषयमात्र हो । यातायात क्षेत्रमा अन्वेषण गरी उजागर गर्नुपर्ने अरू धेरै पक्षहरू छन्, जसप्रति नीतिनिर्माताहरूको उचित ध्यान पुगेको देखिँदैन ।

यात्रुले भाडादरबारे भद्र शैलीमा जिज्ञासा राख्दा सही जवाफ पाइँदैन । यस्तो बेलामा कुनै लिखित भाडादर नदेखाई फलानो ठाउँदेखि फलानो ठाउँसम्मको भाडा यति हो भनेर मौखिक रूपमा जवाफ दिइन्छ । भाडादरबारे प्रश्न उठाउँदा यात्रुलाई अपमान गरिएका थुप्रै दृष्टान्त छन् । 

अपमान सहनुपर्ने भयले यात्रुहरू बाध्य भएर गाडीवालाले भनेको शुल्क तिर्न बाध्य हुन्छन् । पर्ने भाडाभन्दा बढी तिर्नुपर्ने अवस्थाले यात्रु ठगिने र हेपिने क्रम निरन्तर जारी छ । 



भाडा उठाउने क्रममा निर्धारित दरभन्दा बढी भाडा लिन अनेकन् प्रपञ्च रचिन्छ । ‘तेल महङ्गो छ’ भनेर कुरा शुरु गरिन्छ । तर, इन्धनको मूल्य घटेको तेल सस्तो भएको कुरा उठ्दैन । यस्तो बेलामा भाडाको सूची पनि सितिमिति टासिँदैन । किन नटाँसेको भनेर सोध्दा जवाफ आउँछ, ‘सरकारबाट आएकै छैन ।’ 

लामो दूरीका सवारी साधनले विद्यार्थीले पाउने छुटलाई पनि लत्याइएको पाइन्छ । नियमअनुसार विद्यार्थीले नियमअनुसार पाउने छुटबारे आग्रह गर्दा पहिल्यै कोटा पूरा भइसक्यो भन्ने बनिबनाउ जवाफ दिएर सामाजिक दायित्वबाट उम्केको अनेकन् दृष्टान्त भेटिन्छन् । विद्यार्थी पाउनुपर्ने छुट कल्याणकारी राज्यव्यवस्थाको एउटा सानो दृष्टान्त हो । हामी कल्याणकारी राज्यव्यवस्थाको चर्चा गर्छौँ । तर, व्यवहारमा त्यसलाई पूरै लत्याइएको पाइन्छ । 

यातायात क्षेत्रमा देखिने यसप्रकारको अनाचार अनैतिक त हुँदै हो, विधिको शासनप्रतिको उपहास पनि हो । यात्रुबाट अनावश्यक रूपमा रकम असुल्ने र उनीहरूप्रति गरिने दुव्र्यवहारजस्ता अनाचारका कुरा मिडियामा खासै आउँदैन ।

 गाडीमा क्षमताभन्दा बढी यात्रु राख्दा सर्वसाधारण पाउने सास्तीको किस्सा बेग्लै छ  । सडकको इन्जिनियरिङ पक्षलाई बेवास्ता गरी बनाइएको ग्रामीण बाटोको दुरावस्था र सवारी दुर्घटनाका कहालीलाग्दो शृङ्खला बेग्लै विश्लेषणको विषय बन्नसक्छ । समग्रमा, यात्रुले भोगेका हैरानी र सास्ती अहिले मिडियामा आएभन्दा बढी छ ।  

रह्यो भाडादर निर्धारणको कुरा । भाडादर कति र कसरी बढ्ने भन्नेचाहिँ निश्चय नै जनसरोकारको विषय हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा सवारी भाडाबारे केही कुरा भएपछि पनि कुन संयन्त्रले कसरी भाडा निर्धारण गर्छ भन्नेबारे स्पष्ट रूपमा खुलाइएको पाइँदैन । जनसरोकारका यस्ता विषयमा स्पष्ट कुरा बाहिर आउनुपर्छ ।

अहिले पनि तालुकवाला सरकारी निकायले भाडा कसरी निर्धारण गर्छ भन्नेबारे कुनै प्रष्ट विधि र प्रक्रिया सार्वजनिक अभिलेखमा भेटिँदैन । भाडा निर्धारणको विधि र प्रक्रिया पारदर्शी देखिँदैन । क–कसको रोहबरमा कसरी भाडा निर्धारण गरिएको हो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ । यस्ता विषयमा नागरिकलाई जानकारीमा दिइनुपर्छ, जसप्रति सूचनाको हकसम्बन्धी ऐनका प्रावधानहरू आकर्षित हुन्छन् ।

यातायात क्षेत्रमा भएको बेथिति भनिसाध्य छैन । लामो दूरीमा चल्ने सवारी साधनले पूरै रुटलाई विभिन्न खण्ड खण्डमा विभाजन गरेर सोहीअनुसार भाडा असुलेको पाइन्छ । आधा बाटोबाट गाडी चढ्दा पनि सवारी साधनले पनि गाडी छुटेकै ठाउँबाट भाडा उठाएको पाइन्छ । यसरी भाडा असुल्दा यात्रुले अनाहकमा आपूmले यात्रा नगरेको दूरीभन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता आएको छ । 

कतिपय सवारी साधनले भाडाको सूची टाँसेकै हुँदैनन् । टाँसिहाले पनि मनमौजी किसिमले बीसौँ किलोमिटर पर पर्ने मुख्य–मुख्य ठाउँको मात्र टाँसिएको पाइन्छ । बीचमा पर्ने ठाउँको भाडा त्यहाँ उल्लेख गरिएको हुँदैन । यसबाट यात्रुहरूलाई सीधै गुमराहमा पार्ने काम भएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ९६ मा तोकिएबमोजिम भन्दा बढी भाडा लिन पाइने छैन भनिएको छ । व्यवहारचाहिँ ऐनविपरीत भाडा उठाउने काम छ्याप्छ्याप्ती भइरहेको छ ।

उचित सेवाको उचित शुल्क तिर्नु यात्रुको कर्तव्य हो । तर, यात्रुहरू अनुचित शुल्क तिर्न विवश भइरहेका छन् । यातायात क्षेत्रमा हाल भइरहेका यसप्रकार अनाचारको जवाफदेहिता कसको हो ? सर्वसाधारण यात्रुमा अनावश्यक बोझ बोकाइनु कानुनी तथा नैतिक दृष्टिले सही व्यवहार हो ? यस्ता प्रश्नको जवाफ सरोकारवाला पक्षहरूले दिनुपर्छ । साथै, यस्ता जनसरोकारका विषयमा सार्वजनिक वृत्तमा व्यापक विचार–विमर्श गरिनुपर्छ । 

सार्वजनिक यातायातमा विद्यमान तमाम बेथितिलाई दृष्टिगत गर्दा यस क्षेत्र सरकारको कडा निगरानी हुनुपर्ने देखिन्छ । यस पृष्ठभूमिमा मौजुदा ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ नितान्त फिलतो देखिन्छ । यस ऐन समसामयिक छैन र हुनुपर्ने जति यात्रुमैत्री पनि छैन । ऐनको दफा १५७ मा यातायात सेवा कानुन बमोजिम नियमन भए नभएको निरीक्षण गर्न नेपाल सरकारले ‘यातायात निरीक्षक’ नियुक्त गर्न सक्नेछ भन्ने बडो फितलो प्रावधान राखेको पाइन्छ ।

व्यवहारमा ‘यातायात निरीक्षक’ नियुक्त भएको पाइँदैन । कानुनलाई अझ दरिलो बनाएर ‘यातायात निरीक्षक’ मात्र होइन, तालुकवाला सरकारी निकायले एउटा गतिलो ‘अनुगमन संयन्त्र’ नै खडा गरेर कर्मचारीहरूलाई नियमित रूपमा फिल्डमा खटाउनुपर्ने आवश्यकता देखिएको छ । यसो गरिएमा मात्र यातायात क्षेत्रमा भएका मनमौजी व्यवहारमा पनि लगाम लाग्ने थियो । 

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ दफा १५४ मा ‘यातायात व्यवस्थापन समिति’ को व्यवस्था छ । समितिमा यातायात व्यवस्था कार्यालय रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवसायीको प्रतिनिधि, यातायात मजदूरहरूको प्रतिनिधि तथा यातायात व्यवस्था कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । 

ऐनमा व्यवस्था भएबमोजम समिति गठन भएको वा नभएको र त्यसले यातायात क्षेत्रमा विद्यमान बेथितिलाई न्यूनीकरण गर्न कुनै रचनात्मक काम गरेको वा नगरेको कुनै विवरण सार्वजनिक अभिलेखमा आएको पाइँदैन । समिति सक्रिय हुनुपर्छ र यसका कामकारबाही सार्वजनिक जानकारीमा आउनुपर्छ ।

अब, यातायात क्षेत्र परम्परागत शैलीमा चल्नुहुँदैन । समयको बदलिँदो चक्रसँगै यातायात क्षेत्र जनहितकारी र सेवामुखी हुनुपर्छ । यस विषयमा तालुकवाला निकायले रचनात्मक किसिमले सोच्नुपर्छ । अब, सरोकारवाला निकायसँग देशभरका सबै यातायात रूटको लम्बाइ, बाटो अवस्था, भाडा परिवर्तित भाडालगायत सम्पूर्ण विषयमा अद्यावधिक विवरण सरकारसँग हुनुपर्छ । 

प्रचलित यातायातका रूटमा भएका गतिविधि तथा सवारी साधनहरूलाई डिजिटल प्रविधि प्रयोग गरेर ट्र्याक गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि सरकारल विज्ञहरू खटाएर विवरण सङ्कलन गर्नुपर्छ । यातायात क्षेत्रको दीगो व्यवस्थापनका लागि यो नगरी नहुने काम हो । सार्वजनिक यातायातको भाडा निर्धारण गर्नेे कार्यलाई वैज्ञानिक बनाउन आवश्यक छ । 

बृहत्तर जनहितका लागि यातायात क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । यसका लागि लोकहितैषी नीति बन्न जरुरी छ । यस विषयमा नीतिनिर्माता र कानुन निर्माताहरू चिन्तनशील बन्नैपर्छ ।

[नयाँ पत्रिका ।पृ =४२०७९ साल साउन ३ गते ।]]

Sunday, July 17, 2022

इन्टरनेटको पुस्ता

 -यमबहादुर दुरा

महान् वैज्ञानिक स्टेफेन हकिङ (सन् १९४२–२०१८) ले इन्टरनेटबारे एउटा घतलाग्दो विचार अघि सारेका छन् । हकिङको कथन छ, ‘हाम्रो दिमागमा स्नायुकोश (न्युरोन) हरू जोडिएझैँ  हामी पनि इन्टरनेटबाट जोडिएका छौँ ।’ हुन पनि, दिमाग र स्नायुकोश जोडिएर मानव जीवनले सार्थकता पाएजस्तै आधुनिक जीवनशैलीमा इन्टरनेट जोडिन आइपुग्दा हाम्रो जनजीवन जादुमय किसिमले सहज र सार्थक हुन पुगेको छ ।

जसरी स्नायुकोशले मानव शरीर दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुको रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले, एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ, इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्नपुग्छ ।

मानव समाज आधुनिकतामार्फत्  लम्कँदै गर्दा इन्टरनेट प्रयोगकर्ताको संख्या दिनानु दिन बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको एक आँकडाअनुसार नेपालका ९१ प्रतिशत नागरिक इन्टरनेट प्रयोग गर्छन् । बजार सर्वेक्षणसम्बन्धी संस्था ‘स्टाटिस्टा’ का अनुसार विश्वका करिब ६० प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच छ । विश्व समुदायको इन्टरनेटसँग साइनो गाँसिने क्रम निरन्तर जारी छ ।

मानव सञ्चारको विकास–यात्रा निकै लामो छ । बोलीको उद्भव, लेखनकलाको विकास हुँदै सञ्चारको विद्युतीय यात्रामा फड्को मार्दासम्म हजारौँ वर्ष व्यतीत भइसकेको छ । मानव सञ्चारको विद्युतीय यात्रा मोर्स कोडबाट शुरु भएर टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन हुँदै इन्टरनेटको युगमा आइपुगेको हो । 


मोर्स कोडदेखि इन्टरनेटको युगसम्म आइपुग्दा लगभग १ सय ६० वर्षको लामो कालखण्ड बितेको छ । सयौँ आविष्कारक तथा वैज्ञानिकहरूका अथक तथा बुद्धिमत्तापूर्ण शोध एवम् परीक्षणले विद्युतीय सञ्चारलाई सम्भव तुल्याएका हुन् ।

मानव सञ्चारको विद्युतीय यात्रामा इन्टरनेट नवीनतम् विकासक्रम हो । इन्टरनेटले सबै पूर्ववर्ती आविष्कारहरूलाई उछिनिसकेको छ । मोर्स कोडको जमानामा अक्षर वा आवाज केही पनि सम्प्रेषण हुँदैनथ्यो । केवल सङ्केत सम्प्रेषण हुन्थ्यो । त्यसबेलाको सञ्चार अहिलेको जस्तो ताररहित (wireless) थिएन । 

अहिले आएर सूचनाको उच्चराजमार्ग (information superhighway)  मार्फत्  श्रव्य, श्रव्य–दृश्य र लिखित सामग्री (टेक्ट) क्षणभरमै संसारको जुनसुकै कुनामा सम्प्रेषण हुन्छन् । त्यो पनि ताररहित सञ्चार प्रणालीमार्फत्  । 

सूचना प्रवाहमा भएको यसप्रकारको जादुमय प्रगतिले इन्टरनेटलाई महत्त्वपूर्ण र अपरिहार्य सञ्चार प्रणालीको रूपमा स्थापित गरिदिएको छ । इन्टरनेटले नै एक्काइसौँ शताब्दीलाई साँचो अर्थमा ‘सूचना क्रान्तिको युग’ बनाइदिएको छ । इन्टरनेटले मानव सञ्चारलाई छिटो–छरितो र बहुआयमिक बनाइदिएको छ, जुन जादुमय र स्फूर्तिदार पनि छ ।

इन्टरनेटको रचनागर्भ 

सन् १९६० को दशकसम्म अमेरिकामा कम्प्युटरहरू अतिशय ठूला र हलचल नहुने किसिमका थिए । यसका अतिरिक्त कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने कुनै छिटो–छरितो विधि पनि थिएन । यसबाट भौगोलिक दृष्टिले टाढा–टाढा रहेका कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने दिशामा भयानक समस्या आएको थियो । 

त्यस समयमा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा ‘डेटा’ पठाउने कार्य पटक्कै सहज थिएन । यसका लागि म्याग्नेटिक टेपमा डेटा राखेर लामो यात्रा गर्नुप¥थ्यो । डेटा लिएर यात्रा गर्न नचाहनेका लागि अर्को विकल्प थियो । त्यो हो, सम्बन्धित ‘डेटा’ लाई हुलाकमार्पmत् सम्बन्धित ठाउँमा पठाउने । यस्तो विधि झन्झटिलो त छँदैथियो, धेरै समय लाग्ने खर्च हुन्थ्यो । 

यसप्रकारको झञ्झटबाट मुक्ति पाउने उपाय खोज्न थालियो । यस क्रममा अनेकन् वैज्ञानिक शोधहरू भए, जसमध्ये अमेरिकी रक्षा विभागले सन् १९६९ मा शुरु गरेको एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) विशेष उल्लेखनीय छ । अर्पानेटले शुरुमा युनिभर्सिटी अब् क्यारिलोना (लस एन्जेलस), युनिभर्सिटी अब क्यालिफोर्निया, स्ट्यानफोर्ड रिसर्च इन्टिच्युट र युनिभर्सिटी अब् युटा गरी चार ठाउँका कम्युटरहरूलाई एउटै नेटवर्कमा जोडेको थियो । यसपछि अमेरिका र युरोपमा अरू यस्ता नेटवर्कहरू विस्तार हुँदै गए । 

यस्तैमा, सन् १९८९ ब्रिटिश कम्प्युटर वैज्ञानिक टिम बर्नस् लि (जन्मः सन् १९५५) ले वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) आविष्कार गरे । यसबाट इन्टरनेट विकास र बिस्तारमा जादुयम प्रगति भयो । डब्लूडब्लूडब्लूले विश्वभरका कम्प्युटरहरूलाई एकआपसमा जोड्ने योजकको रूपमा काम गर्न थाल्यो । यसबाट सन् १९९० पछि विश्वभरका वेबपेजहरूलाई एउटै नेटवर्कमा जोड्ने र ‘डेटा ट्रान्सफर’ गर्ने वातावरण तयार भयो । यहीँबाट वास्तविक अर्थमा इन्टरनेटको उदय भएको मानिन्छ ।

इन्टरनेटको पुस्ता 

इन्टरनेट नयाँ माध्यम भए पनि यसको पुस्ता छिटो छिटो व्यतीत भइरहेको छ । समयको वर्तमान विन्दुसम्म आइपुग्दा इन्टनेटको तेस्रो पुस्ता सकिएर भई चौथो पुस्तामा यात्रारत छ । इन्टनेटको पाँचौँ पुस्ता आउन बाँकी छ । तर पनि, भविष्यको अथाह गर्भमा रहेको इन्टरनेटको भावी पुस्ताको चरित्र र प्रकृति कस्तो हुनेछ भन्नेबारे अग्रिम चर्चा हुन थालिसकेको छ । इन्टनेटको पुस्तासम्बन्धी सङ्क्षिप्त विवरण :

वेब ०.० : इन्टरनेटको रचनागर्भ तयार हुँदै गर्दाको अल्पविकसित र अपरिस्कृत संस्करणलाई ‘वेब ०.०’ भनिन्छ । यस अवधिमा इन्टरनेटको विकासका लागि खोजअनुसन्धान, पूर्वाधार निर्माणलगायतका आधारभूमि तयार हुने क्रम शुरु भएको मानिन्छ  । यसको समयावधि सन् १९८० देखि १९९० लाई मानिन्छ । यद्यपि, कसै कसैले सन् १९६० दशकदेखि १९९० को समयलाई यसको कालखण्ड मान्ने गरेको पनि पाइन्छ ।

वेब १.० : यो इन्टरनेटको पहिलो पुस्ता हो, जसअन्तर्गत गतिहीन ९क्तबतष्अ० प्रकृतिका वेबसाइटहरू पर्छन् । यसलाई ‘इन्फर्मेसन वेब’ भनिन्छ । यसप्रकारले वेबसाइट एकतर्फी सवारीजस्तै हो । यस्ता वेबसाइटमा रहेका सामग्री पाठक (प्रयोगकर्ता) ले पढन सक्थे । तर, प्रयोगकर्ता प्रतिक्रिया दिने वा टिप्पणी लेख्ने कुनै अवसर हुँदैनथ्यो । सामन्यतया, यसको समयावधि सन् १९९०–२००० मानिएको छ । 

वेब २.० : यो इन्टरनेटको दोस्रो पुस्ता हो । यसअन्तरगत अन्तरक्रियात्मक बेवसाइटहरू पर्छन् । यस्ता साइटमा रहेका सामग्री प्रयोगकर्ताले पढ्ने र त्यसबारे प्रतिक्रिया व्यक्त गर्न पाउने अवसर पाउँछन् । त्यसैले यसलाई दुईतर्फी सञ्चारयुक्त वेबसाइट मानिन्छ । 

तत्कालीन समयमा माइस्पेस, विकिपिडिया, फेसबुक, ब्लगिङ साइट आदिलाई वेब २.० को संस्करण मानिन्थ्यो । अडियो तथा गेमिङ साइटलाई पनि यसै अन्तरगत राखिन्छ । अहिले, साहित्यिक वृत्तमा पनि वेब २.० लाई विम्बात्मक रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । दोहोरो सञ्चारलाई इङ्गित गर्छ । यसको समयावधि सन् २०००–२०१० लाई मानिन्छ ।

वेब ३.० : यो इन्टरनेटको तेस्रो पुस्ता हो, जुन  बेव २.० को विकसित तथा परिमार्जित संस्करण हो । यसप्रकारका वेबसाइट कृत्रिम बौद्धिकी ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ०, यन्त्र–उपकरणको माध्यमबाट सिक्ने सुविधा (machine learning), भर्चुअल रियालिटी तथा आगमेन्टेड रियालिटीको गठजोठ मानिन्छ । यी तमाम सुविधाले तीव्र गतिमा सूचना प्राप्त गर्ने, पढ्ने तथा प्रतिक्रिया लेख्ने सुविधाका अतिरिक्त भिडियो कल गर्ने, गेम खेल्नेजस्ता उच्चस्तरीय अवसर उपलब्ध हुन्छन् । यसले प्रयोगकर्तालाई त्रिआयमिक वातावरण (three-dimensional environment) दिन्छ । यसको समयावधि सन् २०१०–२०२० मानिएको छ ।

वेब ४.० : इन्टरनेटको चौथो पुस्ता हो, जुन बेव ३.० भन्दा स्वाभाविक रूपमा विकसित र परिस्कृत संस्करण हो । यसले कुनै व्यक्ति घर तथा अफिसभन्दा बाहिर रहेर पनि अत्याधुनिक यन्त्र–उपकरणको माध्यमबाट त्यहाँका गतिविधि उपर नजर राख्ने अवसर दिन्छ । वेब ४.० मा कृत्रिम बौद्धिकीको उच्चस्तरीय प्रयोग हुन्छ, जसबाट मानिस र मेसिनबीच उच्चस्तरको अन्तरक्रिया सम्भव छ । 

यही आधारमा यसलाई सिम्बियोटिक वेब (symbiotic web) पनि भन्ने गरिन्छ । कृत्रिम बौद्धिकीको परिष्कृत संस्करण, साइबर दुनियाँमा नयाँ सम्भावनाको अन्वेषणका लागि सहज वातावरण, उच्चस्तरको भिडियो गुणनस्तर (एचडी भिडियो), भरोसायोग्य सञ्चार वातावरण, तीव्रतर सूचना प्रवाह आदि वेब ४.० का विशेषताहरू हुन् । यसको समयावधि सन् २०२०–२०३० मानिएको छ ।

वेब ५.० : यो इन्टरनेटको पाँचौँ पुस्ता हो, जो आउन बाँकी नै छ । वेब ५.० मा कृत्रिम बौद्धिकीको नितान्त परिष्कृत संस्करण उपयोग गरिन्छ, जसले बुद्धिमत्तापूर्ण व्यवहारलाई निर्देशन गर्छ । यस आधारमा वेब ५.० लाई बुद्धिमत्तापूर्ण वेब (intelligence web) पनि भनिन्छ । यसले जटिल प्रकृतिका बहुआयमिक मानवीय आवश्यकतालाई पूरा गर्न सघाउन अपेक्षा गरिएको छ । 

वेब ५.० ले मानिसका भावनात्मक उतारचढावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्ने पनि अपेक्षा गरिएको छ । त्यसैले, यसलाई भावनात्मक बुद्धियुक्त (emotional intelligence web)  नाम पनि दिइएको छ । वेब ५.० मानिसले जस्तै सोच्ने र सोहीअनुसार व्यवहार गर्ने उच्चस्तरीय कृत्रिम बौद्धिकीयुक्त इन्टरनेट हो । यसको समयवाधि सन् २०३०–२०४० मानिएको छ ।

पुछारमा

इन्टरनेटको पाँचौँ पुस्ता आउन बाँकी नै छ । तर पनि, भविष्यको गर्भमा रहेको नवीतम् पुस्ताबारे अहिले नै व्यापक चर्चा–परिचर्चा भइसकेको छ । समयक्रम एक दिन पाँचौ पुस्ताको समेत आगमन भई त्यसको युग अन्त्य पनि हुनेछ । त्यसपछि इन्टरको अर्को पुस्ता आउनेछ । तर, त्यसको रूप, रङ्ग र जादुमय चरित्र कसरी प्रकट होलान त ? यसै भन्न सकिन्न । यसको उत्तर समयले मात्र दिन सक्नेछ ।

[युवामञ्च । जेठ २०७९ । सामान्य परिमार्जनसहित ।]

Thursday, July 7, 2022

सामाजिक सञ्जाल : सम्भावना र चुनौती

 -यमबहादुर दुरा

इन्टरनेटले विश्व समुदायलाई जादुमय तरिकाले बदलिदिएको छ । भौगोलिक रूपमा विविध कारण अलग–थलग भएका आफन्तजन तथा मित्रगणसँग आमुन्ने–सामुन्ने बसेर कुराकानी गरेजस्तै गरी ‘रियल टाइम’ मा वार्तालाप गर्ने अवसर इन्टरनेटले नै जुटाइदिएको छ, जुन मानव जातिका लागि एउटा सुन्दर अवसर हो । 

विश्वको एउटा कुनाबाट अर्को कुनामा अडियो, भिडियो तथा टेक्ट आदानप्रदान गर्ने अवसर पाइनु इन्टरनेटकै देन हो । इन्टरनेटले दुनियाँ समक्ष यस्तै तिलस्मी करामत देखाएको छ । यही आधारमा कतिपयले इन्टरनेटको आगमनलाई औद्योगिक क्रान्तिपछिको सबैभन्दा ठूलो तथा युगान्तकारी मानव फड्को मान्ने गर्छन्, जुन बहुधा अर्थपूर्ण छ । 

सोसल मिडिया इन्टरनेटको आगमनले जन्माएको एउटा लोकप्रिय शब्दावली हो, जुन मानव जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । विश्वविख्यात फोब्स म्यागजिनको वेबसाइट (डिसेम्बर ९, २०१०) मा प्रकाशित लेखका अनुसार डराल बेरीले सन् १९९४ मा पहिलो पटक ‘सोसल मिडिया’ भन्ने शब्दावली प्रयोगमा ल्याएका थिए । 

हाम्रो मनमा जिज्ञासा उठ्छ, विश्व क्षितिजमा उदाएको नयाँ प्रकृतिको सञ्चार प्रणालीलाई किन सोसल मिडिया भनियो त ? यसका पछाडि निश्चित कारणहरू छन् । परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो तथा टेलिभिजन) मूलतः एकतर्फी सञ्चार प्रणाली हो, जसमा धेरै हदसम्म दोहोरो सञ्चार हुँदैन । 

यसको विपरीत सोसल मिडियामा प्रयोगकर्ताहरूबीच दोहोरो सञ्चार सम्भव छ । प्रयोगकर्ताहरूबीच हुने दोहोरो सञ्चार नै सोसल मिडियाको एउटा मूलभूत विशेषता हो । यसबाट प्रयोगकर्ताहरूबीच पर्याप्त अन्तरक्रिया र सामाजिक गतिविधि हुन्छ । 

हामीलाई थाहा छ, मैत्रीपूर्ण सम्बन्धमा जोडिएका समाजका सदस्यहरूबीच निरन्तरजसो दोहोरो सञ्चार हुन्छ, जसले पर्याप्त अन्तरक्रिया जन्माउँछ । सोसल मिडियाले पनि यही काम गर्छ । यसबाट समाज चलयमान् बन्छ । सोसल मिडियाले सामाजिक चरित्र बोकेकाले यसलाई सोसल मिडिया भनिएको हो भन्ने तर्क छ, जुन दमदार छ ।  

के हो सोसल मिडिया ?

सोसल मिडिया हाम्रो मुखमा झुण्डिएको प्रिय शब्दावली भए पनि यसको परिभाषाबारे पर्याप्त अलमल पाइन्छ । सूचना प्रविधिमा कलम चलाउने अमेरिकी लेखक बेन लुकभिखका अनुसार सोसल मिडिया वेबसाइट तथा एपहरूलाई जनाउने समूहवाचक शब्दावली हो, जसले आपसी सञ्चार, समुदायिक  गतिविधि, अन्तरक्रिया, सामग्री सेयरिङ (content sharing) तथा सहकार्यलाई जोड दिन्छ ।

अक्सफोर्ड अनलाइन डिक्सनरीको परिभाषा पनि लगभग उस्तै छ । अक्सफोर्ड डिक्सनरीका अनुसार सोसल मिडिया ती वेबसाइट तथा एपहरू हुन्, जसले प्रयोगकर्तालाई सामग्री उत्पादन र सेयर गर्ने अवसर दिन्छ । साथै, यसले सामाजिक सञ्जालमा जोडिने अवसर पनि दिन्छ । 


समग्रमा सोसल मिडिया इन्टरनेटमा आधारित भर्चुअल नेटवर्क तथा समुदाय हो । यसबाट प्रयोगकर्ताहरूबीच अडियो, भिडियो, फोटो तथा टेक्ट आदानप्रदान गर्न सकिन्छ । आवश्यकताअनुसार प्रयोगकर्ताहरूबीच व्यक्तिगत तथा सामूहिक प्रकृतिका सूचना सेयर गर्न सकिन्छ । डेक्सटप, ल्यापटप, ट्याबलेड तथा स्मार्टफोनमार्फत् गरी सोसल मिडिया प्रयोग गर्न सकिन्छ ।

अमेरिकी नागरिक अन्ड्रु वाइनराइकलाई सोसल मिडियाका अग्रणी मानिन्छन् । उनले सन् १९९७ मा पहिलो पटक ‘सिक्स डिग्रीज्’ नामक सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याएका थिए, जसमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल खडा गर्ने, साथी बनाउने तथा इन्ट्यान्ट मेसेजिङ गर्ने सुविधा थियो । 

बिजनिससम्बन्धी अमेरिकी वेबसाइट इन्भेष्टोपिडियाका अनुसार विश्वभर ३.८ अर्ब मानिसले सोसल मिडिया प्रयोग गर्छन् । विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा नेपालमा ९१ प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच पुगेको देखिन्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड ३० लाख नागरिक सोसल मिडिया प्रयोगकर्ता छन् ।

वेब ट्राफिक विश्लेषण गर्ने वेबसाइट स्ट्याटकाउन्टरका नेपालमा सोसल मिडिया प्रयोगकर्तामध्ये फेसबुक प्रयोगकर्ता ९०.१२ प्रतिशत, ट्विटर प्रयोगकर्ता ४.२३ प्रतिशत, इन्टाग्राम प्रयोगकर्ता ०.९ प्रतिशत, पिन्ट्रेस्ट प्रयोगकर्ता ०.७९ प्रतिशत तथा लिङ्कडइन प्रयोगकर्ता ०.६१ प्रतिशत छन् । सोसल मिडिया प्रयोगकर्ताको संख्या बढ्दो छ ।

धेरैको दृष्टिमा फेसबुक, ट्विटर, लिङ्कडइनजस्ता सोसल नेटवर्किङ साइट नै सोसल मिडिया हुन् । वास्तविकता त्यस्तो होइन । सोसल मिडियाको दायरा निकै फराकिलो छ, जसमा सोसल मिडिया भनेर हत्तपत्त नसोचिएका धेरै साइट र एपहरू पर्छन् । समयक्रममा यस्ता साइट र एपहरूको संख्या बढेर जाने देखिन्छ । 

गेमिङ साइट, ब्लग (वर्डप्रेस, ब्लगर आदि), माइक्रोब्लग (ट्विटर, टम्बलर आदि), भिडियो सेयरिङ साइट (यु ट्युब, मेटाक्याफे, डेलीमोसन आदि), फोटो सेयरिङ साइट (फ्लिकर, पिन्टे«ष्ट, एक्सपोजर आदि), सपिङ साइट (अमेजन, इबे आदि), सञ्चार एप (भाइबर, स्काइप आदि), ट्राभल एप (पठाओ, टुटल आदि), न्युज एग्रिगेटर (न्युज ३६०, गुगल न्युज आदि) पनि सोसल मिडियाको दायराभित्रै पर्छन् ।

अवसर

आजकल हरेक व्यक्तिले आफूसँग छापाखाना नभए पनि प्रकाशक बन्ने मौका पाएको छ । यसैगरी, आफ्नो स्वामित्वमा रेडियो र टेलिभिजन नभए पनि प्रसारक हुने अवसर मिलेको छ । हिजोका दिनमा मुठ्ठीभर व्यक्तिले मात्र पाउने यस्तो अवसर अहिले प्रत्येक व्यक्ति पाएको छ । यसमा सोसल मिडियाको निर्णायक भूमिका छ ।

सोसल मिडियाले सर्वसाधारण नागरिक शक्तिशाली बनाएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता मार्क म्याकिननको भनाइमा प्रविधि र सोसल मिडियाबाट नागरिकले शक्ति प्राप्त गरेका छन् । 

विगतमा बहुसंख्यक सर्वसाधारणले आफ्ना दबिएका विचार वा भावना व्यक्त गर्ने उपयुक्त सार्वजनिक ‘प्ल्याटफर्म’ पाएका थिएनन् । परिणामस्वरूप उनीहरूका आवाज व्रह्माण्डमा त्यसै बिलाएर गए ।

भनाइ नै थियो, ‘बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उडाउँछ ।’ आज त्यस्तो छैन । हरेक व्यक्तिले आफ्नो भनाइ वा पीरमर्का सबैले सुन्ने  गरी राख्ने वातावरण तयार भएको छ, जुन सोसल मिडियाले दिएको सुन्दर अवसर हो ।

आवाजविहीन मानिएका निमुखा, गरिब तथा विकासको दौडमा पछि परेका नागरिकका पक्षमा सोसल मिडिया आवाज बनेर प्रस्तुत भएको अवस्थालाई चित्रण गर्दै अमेरिकी पत्रकार तथा वृत्तचित्र निर्माता जोन रोन्सन (जन्मः सन् १९६७) ले मीठो टिप्पणी गरेका छन् । उनको टिप्पणी छ—सोसल मिडियाको महान् पक्ष के भने यसलाई आवाजविहीनहरूलाई आवाज दिएको छ । 

हुन पनि सोसल मिडियाले नागरिकका लागि दरिलो आवाज दिएको छ । कसैले फेसबुकमा लेखेको एक हरफको स्ट्याटसले सार्वजनिक ओहोदाधारी अधिकारीको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । सोसल मिडियामा आएको सूचनाका आधारमा अपराधी कानुनी कठाघरामा उभिन बाध्य हुन्छ । यसका अतिरिक्त सोसल मिडियाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक दायरा  (public sphere) लाई फराकिलो बनाउँदै लगेको छ, जुन लोकतन्त्रको श्रीवृद्धिका लागि पनि हितकर छ ।

सोसल मिडियाले दुनियाँसामु सूचना र ज्ञानको अथाह भण्डार राखिदिएको छ । स्टारी डट कम (जुलाई २९, २०१९) मा प्रकाशित लेखअनुसार गुगल, अमेजन, माइक्रोसफ्ट तथा फेसबुकको बेग्लाबेग्ल सूचना भण्डारणमा रहेको सूचनालाई एउटै ठाउमा भण्डारण गर्ने हो भने एक हजार २ सय पेटाबाइट्स हुन्छ, जुन सूचनाको अथाह सागर हो । 

चौबीसै घण्टा चालू रहने सोसल मिडियाले सूचना र ज्ञानको प्रवाहमा अतुलनीय योगदान दिएको छ । यसबाट प्रयोगकर्ताले जीवनोपयोगी र जीवनदायिनी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियाले समाजमा सूचनाको खाडल (information gap) घटाउने दिशामा योगदान दिइरहेको छ ।

सोसल मिडियाको उपस्थितिले सूचना र ज्ञानको बहुआयमिक उपयोग गर्ने बाटो खुलेको छ । सामान्य जीवनयापन गरिरहेकी गृहिणीदेखि विश्वविद्यालयका प्राध्यापकसम्मले सोसल मिडियामा उपलब्ध असंख्य टेक्ट, फोटो, अडियो तथा भिडियोबाट आफूलाई आवश्यक पर्ने सामयिक सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियामा आएका सूचना र ज्ञानलाई उपयोग गरेर सर्वसाधारण नागरिकदेखि सेलिब्रिटीसम्मले फाइदा उठारहेका छन् ।

सोसल मिडियामार्फत्  लोककल्याणकारी काम पनि भइरहेको छ । बाढीपहिरोजस्ता प्राकृतिक बिपत्तिमा परेका व्यक्ति तथा विभिन्न रोगबाट ग्रसित असाहय बिरामीलाई सहयोग जुटाउने काममा सोसल मिडियाको भरपूर उपयोग हुँदै आएको छ । बिपत्तिले घेरा हालेको पीडादायी घडीमा आहातग्रस्त मनिसहरूलाई भावनात्मक तथा आर्थिक रूपमा ढाडस दिने कार्यमा सोसल मिडिया सहयोगी बन्दै आएको छ । 

यस्ता कार्य स्थानीयस्तर, राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रियस्तर गरी तीनै तहमा हुँदै आएका छन् । नेपालमा २०७२ सालमा आएको भूकम्पले निम्त्याएको बिपत्तिका समयमा उद्धार र राहतसम्बन्धी गतिविधिमा सोसल मिडियाको अतुलनीय भूमिका रह्यो । 

भूकम्पका समयमा सोसल मिडिया प्रयोगकर्तामात्र होइन, सोसल मिडिया कम्पनी पनि अघि सरे । त्यस समयमा फेसबुकले भूकम्पबाट सुरक्षित रहनका लागि नेपालका लागि ‘अर्थक्वेक अलर्ट’ मात्र जारी गरेन, नेपाल सरकारको राहत कोषमा दुई करोड अमेरिकी डलर पठाएर उदारमना व्यवहार प्रदर्शन गर्‍यो  । 

अर्कोतिर, सोसल मिडियाले विश्वको विभिन्न कुनामा छिरल्लिएर रहेका मानव समुदायलाई एकै ठाउँमा ल्याउने काम पनि गरेको छ । विविध कारण वर्षौँदेखि बिछोडिएका परिवारजनलाई भेट गराइदिएको छ । बिरक्तिपूर्ण किसिमले एक्लो जीवन बिताउन बाध्य सयौँ व्यक्तिलाई जीवनसाथी भेटाइदिएर सोसल मिडियाले निराश मनहरूमा खुसीको बहार ल्याइदिएको कैयौँ दृष्टान्त छन् ।

सोसल मिडिया जागिरदाता र जागिरापेक्षीबीच पुल बनेको छ । यसले प्रडक्ट उत्पादक र उपभोक्तबीच पनि मध्यस्थता गरिरहेको छ । सोसल मिडिया नै कतिपय प्रडक्टको ‘सोरूम’ बन्न पुगेको छ । यहीबाट व्यापारको सिलसिला शुरु भएको छ । आजकल सोसल मिडियामार्फत् हुने व्यापारलाई बुझाउन नयाँ शब्दावली ‘सोसल कमर्स’ प्रयोग गर्न थालिएको छ ।

यसबाहेक सोसल मिडियाले अलनाइन सिकाइ, अनलाइन रोजगार, टेलिमेडिसिन, अनलाइन बैंकिङलगायत अनगिन्ती अवसर दिएको छ ।समाजको चौतर्फी उन्नतिका लागि सोसल मिडियाले निरन्तर ठूलो योगदान दिइरहेको छ । समाजको प्रवाहसँगै यसले समाजलाई दिने योगदानको सूची पनि निरन्तर लम्बिँदै गएको छ । समग्रमा भन्दा सोसल मिडियाले समाजलाई दिने योगदान अपरिमित छ ।

चुनौती

हरेक वस्तुको सकारात्मक र नकारात्मक पाटो हुन्छ नै । सोसल मिडिया यसको अपवाद बन्न कुरै भएन । कतिपय अवस्थामा सोसल मिडिया मिथ्या (भ्रामक) जानकारी, जालसाजीसँग जोडिएका अपराध, निजी जीवनमाथि हमला, साइबर बुलिङ, ट्रोलिङ, पोर्नोग्राफी, फिसिङ स्क्याम, बौद्धिक चोरी, हत्या–हिंसाजस्ता तमाम अपराधको स्रोत बन्न पुगेको छ ।

कतिपय अवस्थामा सोसल मिडिया भ्रामक जानकारीको स्रोत हुन पुगेको छ । सोसल मिडियामार्पmत प्रवाहित भ्रामक सूचनाबाट समाजमा घातक असर पर्न थालिसकेको छ । सोसल मिडियामा प्रवाहित भ्रामक सूचनाको भरमा परेर जनधनको क्षति हुने क्रम शुरु भइसकेको छ । नयाँ आध्ययनका अनुसार मिथ्या सामग्री सही समाचारभन्दा छ गुना बढी छिटो फैलन्छ । यसबाट हुने क्षतिको दर पनि उच्च रहन्छ ।

'साउथ चाइन मर्निङ पोष्ट' को अनलाइन संस्करण (फेब्रवरी २५, २०१९) मा प्रकाशित समाचारअनुसार छिमेकी मुलुक भारतमा ह्वाट्सएपमार्फत्  जारी भएको भ्रामक जानकारीलाई वास्तविक ठान्दा भीडले कुटीकुटी हालसम्म ३० जना निर्दोष व्यक्तिको ज्यानसमेत गइरहेको छ । यस घटनाले सोसल मिडियाबाट प्रवाहित गलत जानकारीको नतिजा कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

साइबर बुलिङ सोसल मिडिया ‘प्ल्याटफर्म’ मा देखापरेको अर्को खतरनाक पक्ष हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का अनुसार इन्टरनेटमार्फत्  धम्क्याउनु, रिस उठाउनु वा लज्जित तुल्याउनु नै साइबर बुलिङ हो । कसैको सामाजिक दृष्टिले अस्वीकार्य तस्बिर सोसल मिडियामा राखिदिनु, कसैलाई धम्कीपूर्ण वा चोट पार्ने सन्देश प्रवाह गर्नेजस्ता कार्य साइबर बुलिङअन्तर्गत पर्छन् ।

एक तथ्याङ्कअनुसार विश्वमा हरेक सात मिनेटमा एउटा किशोर वा किशोरीमाथि साइबर बुलिङ हुन्छ । यसका ८५ प्रतिशत मामिला समाधान हुँदैन । साइबर बुलिङकै कतिपय किशोर–किशोरी आत्महत्या गर्न विवश भइरहेका तथ्याङ्क पनि आउन थालेका छन, जुन सभ्य समाजका लागि एउटा गम्भीर चुनौती हो ।

अर्कोतिर, संसारभर नै आत्माहत्याको दर बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रतिवर्ष सात लाख मानिसले आत्माहत्या गर्छन् । नेपाली टाइम्स (अगष्ट ७, २०२१) मा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा पनि आत्माहत्याको दर बढिरहेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६/०१७ मा पाँच हजारले आत्माहत्या गरेका थिए भने सन् २०२०/०२१ मा यो संख्या बढेर आठ हजार पुग्यो । 

सोसल मिडियामा आउने कतिपय निराशाजनक स्ट्याटस तथा बैराग्यपूर्ण पोष्टहरूले प्रत्यक्ष वा परोक्ष रूपमा आत्माहत्या गर्ने प्रवृत्तिलाई सहयोग गरिरहेको छ । अझ सोसल मिडियामा उपस्थित भएर लाइभ आत्माहत्या गर्ने घटना नेपालमा पनि देखापरिसकेको छ, जुन सोसल मिडियासँग जोडिएको एउटा खतरनाक पक्ष हो ।

आर्थिक स्वार्थ दुनियाँको एउटा जटिल मामिला बन्दै आएको छ । यस्तैमा द्रव्यमोहको चक्रव्युहमा परेर सोसल मिडियाले प्रयोगकर्तामाथि छलकपटपूर्ण व्यवहार गरिरहेको आरोप लाग्दैछ । यही पृष्ठभूमिा २०२० सेप्टेम्बर ९ मा नेटफ्ल्क्सिमा ‘द सोसल डिलेमा’ नामक वृत्तचित्र प्रसारण भयो ।

फेसबुक, गुगल, ट्विटर, मोजिल्ला तथा यु ट्युब कम्पनीमा उच्च तहमा रहेर काम गरेका पूर्वकर्मचारीलाई समेत प्रस्तुत गरिएको त्यस वृत्तचित्रमा सोसल मिडिया कम्पनीले कृत्रिम बौद्धिकी (artificial intelligence) मार्फत् प्रयोगकर्ताको मनोविज्ञान कसरी मापन गर्छ र महजाल (honey-trap) मा फसाएर आर्थिक स्वार्थ पूरा गर्छ भन्ने देखाइएको छ । 

प्रयोगकर्तालाई आफ्नैबारेमा त्यति थाहा हुँदैन, जति सोसल मिडिया कम्पनीलाई थाहा हुन्छ भन्ने गम्भीर वास्तविकता वृत्तचित्रमा चित्रण गरिएको छ । सोसल मिडियाले व्यक्तिका स्वभाव र मनोविज्ञानअनुसारका सामग्री पस्किदिएर त्यसमा भुलाउँछ र प्रयोगकर्तालाई नै ‘प्रडक्ट’ को रूपमा प्रयोग भन्ने पनि दर्साइएको छ । त्यस वृत्तचित्रले सोसल मिडियाले अपनाउने हत्कण्डाप्रति प्रयोगकर्ता सचेत हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।

सोसल मिडिया अप्राकृतिक जीवनशैलीको स्रोत बन्न पुगेको छ । कतिपय प्रयोगकर्ता रातभरि सोसल मिडियाका विभिन्न एप्लिकेसनहरूमा भुल्ने, बिहान समयमा नउठ्ने र दिउँसो सुत्ने गरेको पाइन्छ, जुन स्वाभाविक जीवनशैलीको विरुद्धमा छ । यसबाट सम्बन्धित सोसल मिडिया प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । प्रकारान्तरले सोसल मिडिया अनिन्द्रा, चिन्ता, मानसिक अवसाद, एक्लोपनको कारक तत्व बन्न पुगेको छ ।

सोसल मिडिया प्रयोग गरेर बैकिङ तथा अन्य आर्थिक अपराध गर्ने, फिसिङ स्क्याम गर्ने, हत्या–हिंसा–हुलदङ्गा मच्चाउने, कसैको फेक प्रोफाइल बनाई लज्जास्पद सामग्री राखिदिएर चरित्रहत्या गर्नेजस्ता डरलाग्दा अपराध भएका छन् । त्यसैले कतिपयले सोसल मिडियालाई ‘अपराधकर्मको प्रवेशद्वार’ मान्ने गरेका छन् । नेपालमा पनि साइबर अपराधसँग जोडिएका उजुरीहरूको ग्राफ उकालो लागिरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

अबको बाटो

सोसल मिडिया आफैँमा असल वा खराब केही होइन । यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको असल वा खराब पक्षको निर्धारण गर्छ । यसका सकारात्मक तथा नकारात्मक सम्भावनाहरू अनन्त छन् । एक अर्थमा सोसल मिडिया मूलधारको मिडिया भन्दा पनि शक्तिशाली छ । अब, यसलाई लत्याउन सकिने अवस्था छैन । 

अबको मूल सवाल सोसल मिडियालाई बृहत्तर हितका लागि कसरी रचनात्मक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने नै हो । हाम्रो सामु चुनौती छ, सोसल मिडिया सोसल मिडियाको प्रयोग प्रयोग पनि गर्नुछ, त्यसलाई तल बन्नबाट पनि जोगाउनु छ ।

हरेक प्रयोगकर्ता सोसल मिडियालाई लत बन्न नदिन हुनुपर्ने अवस्था छ । यसका लागि वैकल्पिक उपाय रच्न सकिन्छ । जस्तै  : अनावश्यक रूपमा सोसल मिडिया प्रयोग गर्नुको सट्टा सङ्गीत सुन्ने, बाद्ययन्त्र बजाउने, खेल खेल्नेजस्ता रचनात्मक काम गर्न सकिन्छ । 

अमेरिकास्थित टफ्टस् विश्वविद्यालयको वेबसाइटमा सोसल मिडियालाई कसरी  सिद्धान्तनिष्ठ तरिकाले प्रयोग गर्नेबारे बुँदागत रूपमा सुझाव दिइएको छ, जुन यसप्रकार छ : १, सोसल मिडियालाई संवाद, सम्बन्ध विस्तार तथा समुदाय निर्माणको थलो रूपमा प्रयोग गर्नुहोस्, २, आधिकारिक जानकारी प्रवाह गर्नुहोस्, इमान्दारिता प्रदर्शन गर्नुहोस् तथा खुल्ला संवादलाई प्राथमिकता दिनुहोस्, ३, पहिला सुन्नुहोस, त्यसपछिमात्र बोल्नुहोस् ।

सोसल मिडिया प्रयोगकर्ताको मूलभूत जिम्मेवारी भनेको आपूm पनि सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने नै हो । यसका लागि समाजका लागि उपयोगी र सान्दर्भिक सामग्रीहरू पोष्ट गर्नु नै हरेक प्रयोगकर्ताको दायित्व हुन आउँछ । यसैगरी, सोसल मिडियामा आएका भ्रामक जानकारीबाट बँच्नका लागि हरेक सामग्रीप्रति स्वस्थ्य किसिमको आशंका गर्नुपर्ने हुन्छ ।

सोसल मिडिया अभिव्यक्तिको सुन्दर ‘प्ल्याटफर्म’ हो । तर, अभिव्यक्तिको नाममा तीक्ततापूर्ण, अपमानजनक तथा घृणास्पद अभिव्यक्ति दिनुहुँदैन । यसले नजानिँदो किसिमले समाजमा बैरभाव पैदा गर्छ । 

यसबाट समाज विभाजित हुने खतरा पनि रहन्छ । त्यसकारण, सोसल मिडियामा यस्ता अभिव्यक्तिले कुनै स्थान पाउन हुँदैन । आफ्ना असहमति र असन्तोषलाई शिष्ट भाषामा व्यक्त गर्नु श्रेयस्कर हुन्छ ।

यी र यस्ता पक्षहरूलाई मनमा राखेर रचनात्मक एवम् विवेकपूर्ण ढङ्गाबाट सोसल मिडियाको प्रयोग गरेमा त्यसले कसैको अहित गर्दैन । बरू, यसले समाजको गुरुत्तर प्रगतिमा एकपछि अर्को गरी योगदान दिँदै जान्छ ।

अतिरिक्त सामग्री

टिप्स्ः सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्ने ? 

  • आफू सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने कार्यलाई मूलभूत उद्देश्य राख्नुहोस् ।
  • आलोचनात्मक चेतका साथ सोसल मिडिया प्रयोग गर्नुहोस् ।
  • सोसल मिडियामा आएका सामग्रीप्रति स्वस्थ्य किसिमको आशंकाको भाव( a healthy sense of doubt ) राख्नुहोस् ।
  • अतिरञ्जनापूर्ण अभिव्यक्तिलाई ठाउँ नदिनुहोस् ।
  • सोसल मिडियाको प्रयोगलाई लत बन्न नदिनुहोस् । 
  • घृणास्पद अभिव्यक्ति र गाली–गलौजबाट परै रहनुहोस् ।
  • अनैतिक तथा गैरकानुनी सामग्री उत्पादन र सेयर गर्ने कार्यबाट पूरै बच्नुहोस् ।

के हो फिसिङ ?

प्रतिष्ठित व्यक्ति वा संस्थाको नामबाट इमेल वा टेक्ट मेसेज पठाएर कसैको क्रेडिट कार्ड नम्बर, बैंक खाता नम्बर, पासवर्डजस्ता महत्त्वपूर्ण व्यक्तिगत सूचना हत्याउने दुष्कर्मलाई नै फिसिङ (phishing) भनिन्छ । यसअन्तर्गत कुनै विशिष्ट प्रयोजनका लागि भन्दै मागिएका गोप्य सूचनाको प्रयोग गरेर बैंक खाता वा क्रेडिट कार्डबाट पैसा चोर्ने तथा व्यक्तिगत सूचनाहरू लिक गर्ने वा अनधिकृत प्रयोग गर्ने गरिन्छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनको इमेल अकाउण्ट ह्याक गरी उनका निजी सूचनाहरू सार्वजनिक गरिएको घटनालाई यसको एउटा गतिलो दृष्टान्त मान्न सकिन्छ ।

[युवामञ्च । मंसिर २०७८ । 'सामाजिक सञ्जाल : सम्भावना र जाल' शीर्षकमा प्रकाशित । ब्लगमा भएका सामग्री  प्रयोग गर्न सकिन्छ । प्रयोग गर्दा स्रोत खुलाइदिनुहोला ।]