Sunday, February 26, 2017

नयाँ जमानाको उखान

–यमबहादुर दुरा

सामाजिक सञ्जाल । सूचना र भावना आदानप्रदान गर्ने माध्यम । पहिले रोदीघर, मेलापात, चौतारी, देउराली र भञ्ज्याङका बिसौनीमा खबर र भावना साटसाट हुन्थे । अहिले सामाजिक सञ्जालले त्यसको ठाउँ लिएको छ । ‘फेसबुक’ लगायतका सामाजिक सञ्जालमा पोष्ट हुने तस्बिर, कमेन्ट, टीका–टिप्पणी, एवम् माया–मोहब्बतका मसलेदार कुराले साथीसँगीसँगको भेटघाटमा कुराको कोसेली जुटाइदिएको छ ।

मलाई पनि यो भेटघाटमा सामाजिक सञ्जालमा पोष्ट भएका उखानबारे कुरा गर्न मन लाग्यो । अहिलेका उखानहरूले परिवर्तनशील समयको भाका टिपेका छन् । हिजोका उखानहरू आज नयाँ रूपरङमा ‘रिमोडलिङ’ र ‘रिकण्डिसनिङ’ भएर देखापरेका छन् । ती उखान स्वच्छन्द र बेफिक्री छन्, जो धार्मिक सहिष्णुता, लैङ्गिक समानता एवम् महिला अधिकारका आवाजहरूप्रति एक हिसाबले बेखबर देखिन्छन् ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालीजनको हाँसो–खुसी लुट्यो । खुसी लुटिएको त्यो पीडादायी पलले धेरैलाई भगवानको नाम पुकार्न बाध्य बनायो । त्यही समयमा भगवानको नाम जोडिएको उखान आयो, ‘बाह्र वर्षसम्म बाइबल पढ्यो, भूइँचालो आउँदा रामराम’ । यो उखान चिटिक्क परेको छ । तर यति हुँदाहुँदै पनि यसमा एउटा खोट देखिन्छ । यसले धर्मान्तरितहरूप्रति पूर्वाग्राहपूर्ण व्यङ्ग्योक्तिको छेडेको प्रष्टै भेटिन्छ ।

नेपालमा २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि हाम्रा छिमेकी मुलुक भारतले नाकाबन्दी गर्यो, जसले नेपाली जनजीवनमा बिपत्ति निम्त्याइदियो । नाकाबन्दीपछि नेपालीजनले भोगेका हैरानीको पृष्ठभूमिमा थरीथरीका उखानहरू देखापरे । जस्तै : ‘नाकाबन्दीको चोट नेतालाई के थाहा ?’, ‘कामकुरो एकतिर सिलिण्डर बोकी लाइनतिर’, ‘नहुनु ग्याँसभन्दा मक्किएको दाउरा जाती’, ‘ट््याङ्कभरि तेल आयो, हर्ष न विस्मात’ आदि । ‘रिमोडलिङ’ गरिएका यी उखानले हाम्रा राजनीतिक र सामाजिक  वास्तविकताहरूलाई गहिरोसँग आत्मसात गरेका छन् ।

हाम्रा कतिपय उखान नारी–अस्मिता र प्रतिष्ठालाई ठाडै चुनौती दिने खालका छन् । यो क्रम नयाँ जमानाको नयाँ उखानमा पनि रोकिएको छैन । महिला अधिकारका कुरा जति नै उर्लिए पनि पुरानो जमानाको नकारात्मक विरासत कायमै छ । नयाँ संस्करणमा आएका उखानले पनि पुरानै राग अलापेको देखिन्छ । एउटा दृष्टान्त : ‘आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलाको ड्युटी’ ।

पुँजीवादले चारैतिरबाट घेरेको छ । शहरका कतिपय घरमा ‘मनी प्लान्ट संस्कृति’ मौलाएको छ । मनी प्लान्टमा दिनदिनै पानी खन्याउँदै आर्थिक वैभवको कामना गर्ने परम्परा बसिसकेको छ । यसलाई बेठीक भन्न सकिन्न । तर खरेडीले आफ्नै भाइबन्धुको अन्नबाली सुक्दा कुनै पीडाभाव नझल्काउनेहरूका प्रवृत्तिलाई चाहिँ सही भन्न सकिन्न होला । जनसामान्यको पीरमर्काप्रति बेखबर बनी मनी प्लान्टमा एकोहोरो जलसिंचन गर्नेहरूप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बेपत्ता रुखो देखियो : ‘खरेडीले मकै सुक्यो, मनी प्लान्ट लाई पानी’ ।

तन्नेरीहरूको कुरै बेग्लै । आफूले मन खाएको मनप्यारीले अर्कै व्यक्ति (त्यसमा पनि आफूभन्दा बढी उमेर खाएका) लाई मन पराएपछि उनीहरूको रीसको पारो चढ्ने नै भयो । त्यही झोंक तन्नेरहरू पुरानो उखानलाई ‘रिमोडलिङ’ गरेर भयानक उखरमाउलो उखान रच्न पुग्छन् । उखान यस्तो छ : ‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो, आफू ताक्छु तरुनी, तरुनी ताक्छ बुढो’ ।

समाजको एउटा वृत्तमा चम्चागिरी मौलाएको र त्यसले उद्योगकै रूप लिइराखेको चर्चा सुनिन्छ । यदाकदा व्यवहारमा पनि यस्तै देखिन्छ । विद्या आर्जनमा विश्वास नगर्ने तर चम्चागिरीलाई उच्च महत्व दिने । यही प्रवृत्तिमाथि व्यङग्य कस्न सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पछि परेका छैनन् । उनीहरू उखानमार्फत व्यङग्य गर्छन्, ‘पढीलेखी छैन काम, चम्चागिरी गरी खायो माम’ ।

नेपाली समाजमा विदेशी पहिरन (टाई) जीवनशैलीको हिस्सा बन्दै गएको तथ्य जगजाहेर नै छ । अब टाई हाम्रो घाँटीमा मात्र झुण्डिएन, उखानको रचनागर्भमा पनि छिरिसक्यो । पुराना बनिबनाउ उखानमा टाई शब्द घुसेर आउन थाले । ती उखान घतलाग्दै छन्  : ‘बाँदरको पुच्छर, टाई न इजार’, ‘खाई न पाई, दौरामाथि टाई’ ।

समाजमा धेरै आलोचित वर्गमध्ये नेताहरू अग्रपंक्तिमै पर्छन् । समाजमा नेताप्रति वितृष्णाको बेलाबखतमा घनघोर वर्षा हुन्छ । हाम्रो देशमा मात्रै यस्तो हुन्छ कि अरु देशमा पनि यस्तै हुन्छ, मलाई थाहा छैन । देशको समग्र नीति र थिति हाँक्ने नेतागणमाथि आलोचना हुने क्रम जारी नै छ । यही वास्तविकतालाई दर्साउने एउटा उखान : ‘जुत्ताको माला लगाएको नेता छाला देखी तर्सन्छ’ ।

सबैलाई जिन्दगी प्यारो छ । तन्नेरीहरूलाई बाइक झनै प्यारो छ । देशमा लोकतन्त्र छ । यसले दिएको स्वतन्त्रताले असंयमित किसिमको आन्दोलन मौलाएको छ । बेथितिले चलेको देशमा बेथितिकै आन्दोलन चल्नु कुन अनौठो कुरा हो र ! ? अनियन्त्रित आन्दोलनले कतिबेला आमनागरिकको जिन्दगी र तन्नेरीहरूको बाइकलाई छिन्नभिन्न पार्ने हो, कसलाई के थाहा ? सम्भावित अनिष्टलाई दृष्टिगत गर्दै अहिले आजकाल सचेतनामूलक उखान आएको छ : ‘अनिकालमा लाइफ जोगाउनू, आन्दोलनमा बाइक जोगाउनू’ ।

सामाजिक सञ्जालमा देखापरेका यस्ता उखानले समयक्रमसँगै हाम्रा लोकअभिव्यक्तिको स्वरूप र शैली बदलिँदैछ भन्ने संकेत गर्छन् । अहिलेका कतिपय उखान प्रगतिशील देखिन्छन् भने कतिपय कताकता पश्चगामीजस्ता पनि देखिन्छन् । ‘रिमोडलिङ’ गरिएका यी उखान सामाजिक प्रसंग र प्रवृत्तिको प्रतिविम्ब बनेका छन्, जसले हामीलाई गुलावी छेण हानेझैं प्रतीत हुन्छ ।

साभार : संकल्प पोष्ट मासिक ( वर्ष १,अंक १, माघ, २०७३)

No comments:

Post a Comment