–यमबहादुर दुरा
अमेरिकी निबन्धकार अर्थर मिलर (सन् १९१५–२००५) ले एकपटक भनेका थिए, ‘मलाई लाग्छ, एउटा असल अखबार भनेको राष्ट्रले आफैंसँग संवाद गरेजस्तै हो ।’ भनाइको तात्पर्य हो, पत्रकारिता कुनै राजनीतिक वाद, सिद्धान्त र जातीयताको घेरामा सीमित नरही ‘बहुजन हिताय, बहुजन सुखाय’ मा केन्द्रित हुनुपर्छ ।
पत्रकारका लागि जारी भएका तमाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आचार संहिताको निचोड छ, पत्रकार दवाव, प्रभाव र पक्षधरताबाट मुक्त हुनुपर्छ । तर यसप्रकारको नैतिक कानुन पालना गर्न विविध कारणले सजिलो छैन । पत्रकारहरू पेशागत आचार संहिताको मर्मविपरीत कुनै दल, क्षेत्रीयता र जातीयताको परिधिभित्र रमिरहेको भेटिन्छन् । उनीहरूको पक्षधरता उध्रिएको छानोजस्तै छ, जहाँबाट वास्तविकताको तारामण्डल सजिलै चियाउन सकिन्छ ।
‘पक्षधर पत्रकारिता’ (पार्टिजन जर्नलिजम्) नेपालजस्तो विकासोन्मुख मुलुकको मात्र मात्र समस्या होइन, अमेरिका, बेलायत,अस्ट्रेलियाजस्ता सम्पन्न मुलुकहरूका लागि पनि टाउको दुखाइको विषय हो । प्राध्यापक निल थुम्र्यान र उनका टोलीले सन् २०१६ मा ‘जर्नलिस्टस् इन द यूके’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनले बेलायतमा रहेको पत्रकारहरूको राजनीतिक पक्षधरतालाई औंल्याएको छ ।
अमेरिका तथा अस्ट्रेलियामा पनि उन्नाइसौं शताब्दीको ‘पक्षधर पत्रकारिता’ लाई बिर्साउने गरी नयाँ संस्करणमा पक्षधर पत्रकारिता जुर्मुराएको चर्चा चल्दै आएको छ । हाम्रो छिमेकी मुलुक भारतमा ‘पेड पत्रकारिता’ ले संस्कृतिकै रूप धारण गरिरहेको चर्चा सेलाएको छैन । अन्तर्राष्ट्रियस्तरमा विद्यमान ‘पक्षधर पत्रकारिता’ को प्रवृत्ति कुनै न कुनै रूपमा नेपाल पनि कायम छ ।
पत्रकार भुवन केसीले सन् २०१४ मा नेपालमा पत्रकारहरूको राजनीतिक झुकाव र त्यसले समाचारमा पारेको प्रभावबारे अध्ययन गरेका थिए । ‘एटिनियो डि मनिला विश्वविद्यालय’ मा पेश गरिएको उक्त शोधपत्रमा नेपालका ८५ प्रतिशत पत्रकारहरूले निश्चित राजनीतिक विचारधारासँग आफ्नो वैचारिक निकटताबारे खुलेरै बोलेको उल्लेख गरिएको छ ।
पत्रकारहरूले ‘बहुजन हिताय, बहुजन सुखाय’ को मूलमन्त्रलाई एकतिर पञ्छाएर निश्चित घटक, दल वा समूहको पक्षमा उभिने परिपाटीलाई पक्षधर पत्रकारिता (पार्टिजन जर्नलिजम्) को संज्ञा दिइन्छ । यसलाई ‘रेजिमेन्टल जर्नलिजम्’ पनि भन्ने गरिन्छ । अघि नै भनियो, आचार संहितामा जेसुकै भए पनि पत्रकारहरू प्रत्यक्ष वा परोक्ष रूपमा कुनै राजनीतिक दल, क्षेत्रीयता एवम् जातीयताको पक्षमा उभिएकै छन् । विभिन्न सूचकहरूले यही यथार्थलाई इङ्गित गरेका छन् ।
यस्तो हुनुमा पत्रकार वृत्तलाई मात्र दोषी देख्नु अन्याय ठहरिन्छ । यसको दोष मूल रूपमा देशको ‘राजनीतिक अर्थतन्त्र’ (पोलिटिकल इकोनमी) लाई जान्छ । समाजको विकासक्रम, सामाजिक मनोविज्ञान, पत्रकारहरूको जीवनस्तरले पनि यसमा धेरथोर भूमिका खेलेकै हुन्छन् । ‘राजनीतिक अर्थतन्त्र’ सँग बलियो गरी जोडिएका राजनीतिक शक्ति र व्यापारी–उद्योगीजस्ता पूँजीपति वर्गको स्वार्थले पत्रकारिता जगतलाई नराम्ररी गाँजेको छ ।
देशको बागडोर सम्हालेका राजनीतिक शक्ति र सम्पत्तिको ढुकुटी लिएर बसेका पूँजीपति वर्गबीच स्वार्थद्वारा निर्देशित सम्बन्ध अविच्छिन्न रूपमा चलिरहेको छ । यसको जरा देशको शासन–संयन्त्रसम्म जोडिएको छ । यस किसिमको अपवित्र गठबन्धनले राज्यको चौथो अङ्ग मानिएको पत्रकारितााई पनि स्वार्थवश आफ्नो मुठीमा राख्न चाहन्छ ।
पत्रकारहरूको पेशागत संगठनको चुनावमा राजनीतिक दल र व्यापारी–उद्योगीहरू पर्दाभित्र र पर्दाबाहिरबाट सक्रिय भूमिकामा रहनुको अर्थ यही हो । नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ तथा राजनीतिक दल निकटका पत्रकार युनियनहरूको चुनावमा यस्ता थुप्रै परिदृश्यहरू देखापरेको कसैको नजरमा छिपेको छैन ।
‘राजनीतिक अर्थतन्त्र’ का ज्ञाताहरूले भन्दै आएका छन् – राजनीतिक दल र व्यापारी–उद्योगीहरूबीचको स्वार्थप्रेरित सम्बन्धले नीतिगत भ्रष्टाचार हुन्छ, जुन कुरा सर्वसाधारण नागरिकले सुइँकोसम्म पाउँदैनन् । यस्तो अनैतिक व्यवहारलाई ढाकछोप गर्न पत्रकारिता जगतको सहयोग अपरिहार्य छ । यसबाट देशमा नजानिँदो किसिमले आर्थिक, राजनीतिक र सामाजिक बिश्रृङ्खलता पैदा हुन्छ ।
यस्तो अवस्थामा पत्रकारिताले पनि बाटो बिराउन सक्छ । नतिजा यस्तो हुनजान्छ, आवाजविहीनहरूको आवाज मानिएको पत्रकारिताले सीमान्तकृत, अपहेलित एवम् अल्पसंख्यकको पक्षमा नबोली अरू कसैको पक्षमा वकालत गर्न थाल्छ ।
मूलधारको पत्रकारिताले आफ्नो पक्षमा आवाज नउठाएपछि सीमान्तकृत, अपहेलित एवम् अल्पसंख्यकका वैकल्पिक बाटो खोज्न बाध्य हुन्छन् । यसपछि जातीयता एवम् क्षेत्रीयतामा आधारमा संगठित भई आवाज उठाउने परिपाटीको विकास हुन्छ । नेपालमा मात्र होइन, अमेरिकाजस्तो समृद्ध मुलुकमा पनि यस्तो परिपाटी देखिन्छ । ‘न्यासनल–असोसिएसन अफ ब्ल्याक जर्नलिस्टस्’, ‘एशियन अमेरिकन जर्नलिस्टस् असोसिएसन’, अफ्रिकन–अमेरिकन जर्नलिस्टस्’, ‘न्यासनल असोसिएसन हिस्प्यानिक जर्नलिस्टस्’, ‘नेपाल अमेरिका जर्नलिस्टस् असोसिएसन’ यसका दृष्टान्त हुन् ।
यद्यपि यस्ता संस्था सम्बन्धित वर्ग वा समुदाय अपहेलित भएकाले सामूहिक रूपमा संगठित आवाज उठाउनका लागि मात्र गठन भएका हुन् भन्ठान्नु गलत हुन्छ । देश, काल र परिस्थितिअनुसार राष्ट्रिय, जातीयता एवम् क्षेत्रीयताका आधारमा संगठित भई आपसी भाइचारा अभिवृद्धि गर्ने अभिप्रायले पनि यस्ता संस्था गठन हुने यथार्थलाई नकार्न सकिन्न ।
पत्रकारितालाई सञ्चालन गर्ने शक्तिशाली इञ्जिन नै पत्रकार हुो । ऊ एउटा सचेत, विचारवान् र गतिशील सामाजिक प्राणी हो । पेशागत निष्पक्षताको नाममा उसलाई कुनै विचारधाराविहीन निरपेक्ष प्राणीको रूपमा बुझ्नु पनि सर्वथा गलत हुन्छ । पेशागत घेराभन्दा बाहिर पनि उसको ठूलो संसार छ । यस पृष्ठभूमिमा बीसौं शताब्दीमा प्रचलित वस्तुनिष्ठ र निष्पक्ष पत्रकारिताको अवधारणाले उन्नाइसौं शताब्दीको ‘पक्षधर पत्रकारिता’ लाई पूरपुर विस्थापित गर्नसक्छ भन्न गाह्रो छ ।
विडम्बना नै भन्नुपर्छ, पत्रकारहरू ‘राजनीतिक अर्थतन्त्र’ को चङ्गुलबाट बाहिर आउन सकेका छैनन् । यो नै ‘पक्षधर पत्रकारिता’ को सबैभन्दा खतरनाक पक्ष हो । राजनीतिक शक्ति र पूँजीपति वर्गको ‘नेक्सस’ बाट जन्मेको ‘राजनीतिक अर्थतन्त्र’ को चक्रव्यूहमा उनीहरू नजानिँदो किसिमले अल्झिएका छन् । पूँजीवाद हावी भएको वर्तमान युगमा ‘राजनीतिक अर्थतन्त्र’ ले बनाएको चक्रव्यूह तोडिने कुनै सम्भावना छैन । बरू, भविष्यमा पत्रकारहरू ‘राजनीतिक अर्थतन्त्र’ द्वारा सिर्जित परिस्थितिको मोहरा बनिरहने यथार्थलाई चुपचाप शिरोपर गर्नुपर्ने अवस्था छ ।
साभार : अन्नपूर्ण टुडे (फागुन २७, २०७३) ।
No comments:
Post a Comment