Showing posts with label पत्रकारिता. Show all posts
Showing posts with label पत्रकारिता. Show all posts

Tuesday, October 1, 2019

पत्रकारिता समाधान अवधारणा

-यमबहादुर दुरा

पत्रकारिता समाजका लागि अक्सिजनजस्तै बन्दै आएको छ । पत्रकारिताको उपस्थितिबिना आधुनिक समाजको कल्पना गर्नसम्म पनि गाह्रो छ । शहरका वासिन्दाको सेयर कारोबारदेखि गाउँका किसानको नगदेबालीको बजारसम्मका तमाम गतिविधिमा पत्रकारिताको निर्णायक भूमिका रहँदै आएको छ । शहरमा भर्खरै भित्रिएका ब्ल्कबष्टर चलचित्रदेखि सङ्गीतको नवीनतम् ट्रेन्डसम्मका यावत समसामयिक जानकारी वा सूचना पत्रकारिताले नै पस्किेरहेको छ । 

पत्रकारिता समाजोपयोगी कर्ममा सरिक हुँदाहुँदै पनि अन्य पेशा–व्यवसायझैं यो पनि आलोचनामुक्त भने छैन । पत्रकारिता आलोचनाको निसाना बन्नुका विविध कारण छन् । पत्रकारिताले एउटा आरोप निरन्तर खेपिरहेको छ — यसले समाजका घटनाक्रम वा समस्याबारे निख्लो सूचनामात्र सम्प्रेषण गर्छ । कहिलेकाहीँ त यतिसम्म गर्छ, निराश शैलीमा समाचार पस्किएर समाजलाई  नै उदास तुल्याइदिन्छ । यसले समाजले भोगिरहेको साझा समस्याबाट कसरी  मुक्ति पाउने भन्नेबारे उतिसाह्रो वास्ता गर्दैन ।

यो विशुद्ध आरोपमात्र हो वा वास्तविकता पनि हो ? तर्क–वितर्क गर्न सकिने धेरै ठाउँ छ । यद्यपि, यसप्रकारको आरोपबाट छुटकारा पाउनका लागि पत्रकारिता वृत्त चिन्तित नभएको होइन । पत्रकारितालाई समाजको पहरेदारमात्र नभई अनन्य मित्र बनाउने असल प्रयत्नहरू पनि नभएका होइनन् । खोजी पत्रकारिता (इनभेष्टिगेटिभ जर्नलिज्म), विकास पत्रकारिता, सिभिक पत्रकारिता, रचनात्मक पत्रकारिता (क्रियटिभ जर्नलिज्म), नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) जस्ता पत्रकारिताका अनेकन् विधा यिनै प्रयत्नका प्रतिफल हुन् ।

पत्रकारिताले नागरिकका समस्याबारे निख्लो र शुष्क रिपोर्टिङमात्र गरिरहेकको छ भन्न मिल्दैन ।  पत्रकारिता क्षेत्रले नागरिकले भोगिरहेका समस्या समाधानका उपायसहितका असल प्रयत्न गरेको छ । यसका थुप्रै दृष्टान्त छन् । यसको एउटा दृष्टान्तको रूपमा समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) लाई लिन सकिन्छ । सन् १९९८ तिर अस्तित्वमा आएको समाधान पत्रकारिताले कुनै निश्चित समस्याबारे समाचारमात्र दिँदैन, समाधानका उपायहरू पनि बताउँछ । अर्को शब्दमा भन्दा यसले समस्याको उठानमात्र गदैन, सम्बन्धित समस्याको बैठान गर्ने दिशामा पनि पर्याप्त काम गर्छ ।

समस्या उजागर गरेर समस्यामाथि समस्याको थुप्रो बढाउने तर समाधानको उपाय नखोज्ने प्रवृत्तिबाट सबैजना वाक्क भएपछि समाधान पत्रकारिताको अवधारणा मौलाएको देखिन्छ । अमेरिकाको वासिङ्टन स्टेटमा शिक्षा क्षेत्रमा देखापरेका समस्याबारे एकोहोरो रिपोर्टिङ भइरहेको बेलामा ‘द सियाटल टाइम्स’ ले समाधानका उपायसहित रिपोर्टिङ गरेपछि समाधान पत्रकारिता अस्तित्वमा आएको पाइन्छ । यद्यपि, यसबारे मतमतान्तर पनि छ ।

समाधान पत्रकारिताले के के गर्छ ? यहाँनेर, पत्रकारिता क्षेत्रमा काम गरेर ख्याति कमाएको अमेरिकी संस्था ‘पोइन्टर इन्स्टिच्युट’ का तत्कालीन निर्देशक भिकी क्रुगरको भनाइ उद्धरण गर्नु सान्दर्भिक हुन आउँछ । क्रुगरको दृष्टिमा समाधान पत्रकारिताले पत्रकारिताको उच्चतम् मर्यादा र आदर्शलाई आत्मासात गर्दै समाजमा असल प्रभाव छाड्ने किसिमको रिपोर्टिङ गर्छ । उनका अनुसार यसले समाजमा रचनात्मक बहस पैदा गर्छ, नागरिकलाई सबल बनाउँछ, गलत सोचाइलाई चिर्छ र समाजलाई उदासीन हुनबाट जोगाउँछ । समाधान पत्रकारिताले समस्याको मूलभूत कारण पत्ता लगाई समस्या निराकरणको उपाय खोज्छ ।

समाधान पत्रकारिताले समाजलाई फुटपरस्त नभई एकताबद्ध बनाउँछ । यसले सही र उपयोगी सूचना प्रवाह गरेर नागरिकलाई आफैं सच्चिने उपाय प्रदान गर्छ । समाजलाई उपयोगी अन्तरदृष्टि दिन्छ । यसले समाजलाई गाँजिरहेको सामाजिक रोगको निदान र उपचारमा सहयोग गर्छ । समस्या समाधानका लागि उपयोगी मोडल प्रस्तुत गर्छ । समस्यालाई रचनात्मक किसिले समाधान गर्नका लागि नयाँ लेन्स प्रदान गर्छ । यस किसिमको पत्रकारिता स्थानीय परिवेशमा बढी प्रभावकारी मानिन्छ ।

कतिपयको दृष्टिमा समाधान पत्रकारिता कुनै नयाँ विषय वा विधा होइन । यो भइरहेकै पत्रकारिताको अभ्यासलाई अझ बढी शुद्धीकरण र स्तरीकरण गर्ने कार्यमात्र हो । अर्को शब्दमा भन्दा विद्यमान पत्रकारिताको अभ्यासलाई अझ बढी जनमुखी र समाधानमुखी बनाउने प्रयत्न हो । यसका लागि पत्रकार रचनात्मक, परिश्रमी र अध्ययनशील हुनुपर्छ । अनिमात्र समाधान पत्रकारिताको ढोका खुल्छ । यसका लागि पत्रकारमा सकारात्मक सोच र असल मनोवृत्ति पनि नभई नहुने पक्ष हुन् ।

प्रश्न उठ्छ, समाधान पत्रकारितालाई नेपालको सन्दर्भमा कसरी ढाल्न सकिएला ? हामीकहाँ अनेकन् गम्भीर मामिलाहरू देखापरेका छन्, जसको तत्क्षण समाधान आवश्यक छ । जस्तै : आत्माहत्याको बढ्दो ग्राफ, युवाहरूमा लागू औषधको दुरुपयोग आदि । नेपालमा हुने आत्माहत्यालाई एउटा दृष्टान्तको रूपमा लिऔँ । नेपालमा आत्महत्या मृत्युको मुख्य कारणमध्ये एक मानिएको छ । यहाँ हरेक वर्ष लगभग चार हजार व्यक्तिले आत्महत्या गर्ने गरेको अभिलेख पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले आत्माहत्या हुने देशहरूको सूचीमा नेपाललाई एक सय २६ औं स्थानमा राखेको छ । नेपालमा हुने आत्माहत्यालाई न्यूनीकरण गर्न समाधान पत्रकारिताको लेन्सबाट हेर्दा पत्रकारले कस्तो भूमिका खेल्नुपर्ला ? यहाँनेर, आत्माहत्याको विकराल अवस्थाबारे निख्लो रिपोर्टिङमात्र गरेरमात्र पुग्दैन, यसको मूल कारण पत्ता लगाउँदै यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सरल र सहज भाषामा उपयोगी उपाय पनि सुझाउनुपर्छ । आत्माहत्या नियन्त्रणमा भएका असल अभ्यास तथा मोडल प्रस्तुत गर्नुपर्छ ।

तर, यस्तो काम सहज छैन । यसका लागि पत्रकारले धेरै परिश्रम गर्नुपर्ने हुन्छ । ऊ धेरै रचनात्मक र अध्ययनशील बन्नुपर्छ । अनिमात्र समस्याको जरोमा पुगेर समस्याको हल गर्नका लागि सुझाव दिनसक्ने हैसियतमा पुग्छ । यस क्रममा पत्रकारले खोजी रिपोर्टिङदेखि गहन रिपोर्टिङ (डेप्थ रिपोर्टिङ) सम्मका पत्रकारिताका सबै सीप र शोध विधिलाई आवश्यकता अनुसार उपयोगमा ल्याउनुपर्छ । समस्याको सूक्ष्मतम् विश्लेषण गरी परिस्थितिको गाम्भीर्य पत्ता लगाउनुपर्छ ।

समाधान पत्रकारिताले विषयवस्तुलाई मात्र हेर्दैन । यसले हाम्रो सन्देश बोकेर अडियन्स (स्रोता, दर्शक र पाठक) कहाँ पुग्ने भाषालाई पनि ख्याल गर्छ । समाधान पत्रकारिताको सम्यक भाषालाई मान्यता दिन्छ । हामी कतिपय सञ्चार माध्यममा अत्यन्त विषाक्त अभिव्यक्ति देख्छौँ । गालीगलौज र आरोप–प्रत्यारोपका निकृष्टतम् भाषा प्रयोग भएको पाउँछौँ । यस्ता अभिव्यक्तिहरूले प्रतिशोधपूर्ण समाज निर्माणमा योगदान दिन्छन्, जसबाट सम्यक समाजको जग भत्किन पुग्छ । समाधान पत्रकारिताले यस्ता भाषालाई त्याज्य विषय ठान्छ ।

पत्रकारिता क्षेत्रमा विद्यमान अशुद्धिहरूलाई हटाउँदै समाधानमूलक पत्रकारितालाई प्रश्रय दिने अभिप्रायले अमेरिकामा ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ नामक संस्था स्थापना भएको छ । सन् २०१३ मा अमेरिकी पत्रकार तथा लेखक डेभिड बन्र्सटिन, नारावादी लेखिका कट्नी मार्टिन र अर्की पत्रकार तथा लेखिका टिना रोजेन्वर्गले यो संस्था स्थापना गर्नुभएको हो । ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले पत्रकारितालाई शुद्धीकरण गर्ने दिशामा धेरै रचनात्मक काम गर्दै आएको छ । यो संस्थाले पत्रकारहरूलाई समाधान पत्रकारिताबारे प्रशिक्षण दिने तथा मार्गनिर्देश गर्ने काम गरिरहेको छ ।

‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले अमेरिकाको ‘टेम्पल युनिभर्सिटी स्कुल अफ मिडिया एण्ड कम्युनिकेसन’ तथा ‘पोइन्टर इन्स्टिच्युट’ सँग मिलेर समाधान पत्रकारिताबारे पाठ््यक्रम पनि तयार पारेर प्रशिक्षण कार्यक्रम अगाडि बढाइसकेको छ । यसले अमेरिकाको ‘द सियाटल टाइम्स’, ‘द क्रिस्चियन साइन्स मोनिटर’, ‘द बोस्टन ग्लोब’, ‘द वल्र्ड’ र ‘सेन्टर फर इन्भेष्टिगेटिभ रिपोर्टिङ’ जस्ता सञ्चार गृहसँग मिलेर समाधान पत्रकारिताको अवधारणालाई मूर्त रूप दिने कार्यमा अघि बढिरहेको छ ।

नेपाली समाज बहुआयमिक समस्यासँग जुधिरहेको बेला पनि यस किसिमको असल प्रयत्न नेपालमा पनि हुन आवश्यक छ । समाजमा विद्यमान समस्याको शुष्क रिपोर्टिङमात्र नगरी समस्या समाधानको रचनात्मक उपायहरू खोजेर प्रस्तुत गर्दा समाजलाई योगदान त पुग्छ नै, खोजखजिन गर्ने र समस्याको गहिराइमा पुग्ने पत्रकारको क्षमता पनि अभिवृद्धि हुन्छ । यसबाट समाज र पत्रकार दुवैलाई लाभ हुन्छ । समाजको बृहत्तर हितका नेपाली पत्रकारिता वृत्तले पनि समाधान पत्रकारितालाई अपनाउनुपर्ने समय आएको छ  ।

[साभार : गोरखापत्र । २०७६ साल असोज १४ गते ।]

Wednesday, September 18, 2019

पत्रकारिताका आयाम

–यमबहादुर दुरा

गतिशीलताको अर्को पत्रकारिता हो । सही समयमा सही र सान्दर्भिक सूचना सम्पे्रषण गर्नु नै पत्रकारिताको मूल धर्म हो । आफू गतिशील नभएमा पत्रकारिताले यो अहम् भूमिका निर्वाह गर्न सक्दैन । पत्रकारिता गतिशील बन्नैपर्छ । व्यापक सन्दर्भमा कुरा गर्दा पत्रकारिताले समाजबाट सूचना लिन्छ र पुनः समाजलाई नै सम्प्रेषण गर्छ ।

हेर्दा यो काम सामान्यजस्तो लाग्छ । सधैँभरि एउटै प्रकृतिको काम गरेजस्तो पनि देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । पत्रकारिता कर्ममा हरदम नवीनतम् सूचनासँग अद्यावधिक हुनुपर्ने चुनौती हुन्छ । यस क्रममा अनेकन् सूक्ष्मतम् गतिविधिमा सरिक हुनुपर्ने हुन्छ । समाजोपयोगी र समसामयिक सूचना सङ्कलन गर्ने, परीक्षण गर्ने, सम्पादन गर्ने र तात्तातै जनसमक्ष सम्प्रेषण गर्नु पत्रकारिताको पेशागत जिम्मेवारी हो ।

यतिले मात्र पुग्दैन । ज्ञान र विचार प्रवाह गर्ने समाजलाई गतिवान् र विचारशील बनाउनु पनि पत्रकारिताको अर्को महत्वपूर्ण जिम्मेवारी हो । यसले सत्ता र शक्तिमा भएकाहरूलाई प्रश्न गर्न प्रेरित गर्छ । अर्को शब्दमा भन्दा यसले नागरिकलाई हरदम सचेत तुल्याउँछ । यस्तो कम चुनौतीपूर्ण छैन । पत्रकारिताले हरदम गतिशीलता, कार्यदक्षता र नयाँ शिल्प–शैलीको माग गर्छ ।

नवीनता पत्रकारिताको प्राण हो । यसले सूचना र शिल्प–शैली दुवैमा नवीनता खोज्छ । यही अनुरूप पत्रकारितामा विभिन्न विधा र शैलीहरू आए । केही उदाहरण हेरौँ । बीसौं शताब्दीको शुरुवाततिरै पैरवी पत्रकारिताले आफ्नो उपस्थिति देखायो । सन् १९६० को दशकमा विकास पत्रकारिताको शुरुवात भयो । सन् १९७० को दशक प्रिसिजन जर्नलिज्म तथा गोञ्जो पत्रकारिता अस्तित्वमा आए । सन् १९९० को दशकमा पब्लिक जर्नलिज्म (सिभिक जर्नलिज्म) देखा पर्‍यो । सन् १९९८ तिर समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) को चर्चा हुन थाल्यो ।

यी त उदाहरणमात्र हुन् । समयको दौडमा पत्रकारिताका अनेकन् विधा तथा शिल्प–शैलीहरू आए । अझै पनि आइरहेका छन् । भोलि पनि आउनेछन् । अब प्रश्न उठ्छ, पत्रकारितामा यतिविधि विधाहरू किन आइरहेका छन् ? आखिर, पत्रकारिताको मूल धर्म भनेको नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्नु नै हो । यत्ति कामका लागि पनि किन यति धेरै विधा चाहिन्छन् ? यसका पछाडि अनेकन् कारण छन् ।

पत्रकारिता ज्ञान र सूचनाको भण्डार हो । अहिले अनुसन्धान परम्पराको दायरा र विद्वत संस्कृति बढ्दो छ । यससँगै ज्ञान उत्पादनमा पनि तीव्रता आएको छ । समयसँगै आएका नयाँ ज्ञानका अगाडि पुरानो ज्ञान असान्दर्भिक देखिने क्रम पनि बढ्दो छ । पत्रकारिता पनि नयाँ ज्ञान उत्पादन हुने क्रम बढ्दो छ । नयाँ ज्ञानले पुरानो ज्ञानलाई असान्दर्भिक बनाउँदै लगेको छ ।

यद्यपि, ज्ञान कहिल्यै पुरानो हुँदैन भन्ने मान्यता छ । तर, ज्ञानको महत्व आफ्नो ठाउँमा रहे पनि सबै ज्ञान सधैँ सान्दर्भिक र उपयोगी नहुन सक्छ । समयसँगै कतिपय पुराना ज्ञान असान्दर्भिक र अनुपयोगी बन्दै जान्छन् । यसका अनेकन् टड्कारो दृष्टान्त छन् । त्रिभुवन विश्वविद्यालयमा भूगोल, संस्कृति, इतिहासजस्ता विषयमा विद्यार्थी भर्नाको घट्दो दरले यही कुराको सङ्केत गर्छ । यसको अर्थ यी विषय महत्त्वहीन छन् भन्नेचाहिँ कदापि होइन ।

पत्रकारिता पेशामात्र नभएर ज्ञानको सागर पनि हो । त्यसैले यो अध्ययनको विधा पनि हो । विश्वविद्यालयमा पत्रकारिताबारे व्यापकस्तरमा अध्ययन–अध्यापन हुँदै आएको छ । पत्रकारिताबारे हुने गरेका अध्ययन–अनुसन्धानले नयाँ नयाँ ज्ञान उत्पादन हुँदै गएका छन् । नयाँ ज्ञानले पुरानो ज्ञानलाई विस्थापन गर्दै गएको पनि छ । यसले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ विधा र शिल्प–शैली जन्माएको छ ।

अर्कोतिर, प्रतिस्पर्धा जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । अहिले नयाँ जानकारी पाउनकै लागि पत्रकारिताको खाँचो पर्दैन । कतिपय अवस्थामा सोसल मिडियाले पत्रकारितालाई उछिनेको देखिन्छ । सोसल मिडियाको दरिलो उपस्थितिले परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो र टेलिभिजन) नै आवश्यक नपर्ने अवस्था आएको छ । प्रतिस्पर्धी वातावरणले पत्रकारितामा नयाँ विधा र शिल्प–शैलीलाई निम्तो दिएको छ । यसबाट पत्रकारिताको दिशा र दशा नै बदलिँदै गएको छ ।

एकतिर सूचनाको हाटबजारमा तँछाड–मछाडको अवस्था छ भने अर्कोतिर पत्रकारिताको भूमिकाबारे पनि थुप्रै प्रश्न उठेका छन् । पत्रकारिताको आचार संहिता भन्छ, ‘पत्रकारिता जहिले पनि नागरिकको पक्षमा उभिनुपर्छ । यो पत्रकारिताको पहिलो र महत्त्वपूर्ण नैतिक दायित्व हो ।’ तर, यो सजिलो काम भने पक्कै होइन । पत्रकारिता आफ्नो धर्मबाट पर हटेर सत्ता र शक्तिको पृष्ठपोषणमा लागेको जनगुनासो पनि उत्तिकै प्रबल छ ।

कतिपय सन्दर्भमा पत्रकारिताले बद्नामी पनि कमाएको छ । पत्रकारितामा छाएका नकारात्मक प्रवृत्तिहरूलाई जनाउन अनेकन् शब्दावलीहरू प्रयोगमा छन् । जस्तै : पीतपत्रकारिता (बढाइचढाइ र अफवाहपूर्ण पत्रकारिता), ट्याब्लोइड पत्रकारिता (समाजका गम्भीर विषयलाई असरल्ल छाडेर प्रेम, यौनजस्ता हल्काफुल्का विषयमा केन्द्रित रहने पत्रकारिता), प्यारासुट पत्रकारिता (कुनै ठाउँमा अचानक पुगेर सीमित समयावधिमा कुनै विषयमा गरिने रिपोर्टिङ जसमा कुनै गहिराइ हुँदैन), कि–होल पत्रकारिता (अरूको अनावश्यक रूपमा चियोचर्चा गर्ने पत्रकारिता) ।

पत्रकारिता समाजको पहरेदारी गर्ने पेशा हो । एक अर्थमा यो समाज सेवा हो । तर, पत्रकारिता समाज सेवामात्र होइन । अर्को कोणबाट हेर्दा पत्रकारिता व्यावसाय वा उद्योग  हो । पत्रकारिताले व्यावसायिक रूपमा फस्टाउने मौका पाएन भने यसको अस्तित्व सङ्कटमा पर्छ । अर्थलाभ नगरे जनशक्तिलाई कसरी पारिश्रमिक दिने ? दैनिक सञ्चालन खर्च कसरी जुटाउने ? सञ्चार उद्यमीलाई यस्ता प्रश्नले सधैँ घोचिरहन्छन् ।

यी प्रश्नले पत्रकारितालाई आफ्नो कर्पोरेट स्वार्थबारे सोच्न बाध्य तुल्याउँछ । उसले आफ्नो उद्यमशीलता बचाउनका लागि पनि वाणिज्य वृत्त र शक्तिसँग कुनै न कुनै किसिमको सम्बन्ध कायम गर्नैपर्ने हुन्छ । तर, यस्तो सम्बन्ध सन्तुलित हुनुपर्छ । ‘सर्प पनि मरोस लठ्ठी पनि नभाँचियोस्’ भन्ने उखान चरितार्थ हुनुपर्छ ।

पत्रकारिताका लागि यो  चुनौती हो । ती शक्तिसँगको सम्बन्धलाई कर्पोरेट स्वार्थलगायत कतिपय मामलाले असन्तुलित बनाइदिन्छ । यसपछि पत्रकारिताको विश्वसनीयता डगमगाउन थाल्छ । विश्वसनीयता गुमाएको पत्रकारितालाई समाजको सचेत वर्गले पत्याउँदैन ।

यही पृष्ठभूमिमा पत्रकारिताले आलोचना खेपिरहेको छ । यतिबेला हाम्रो छिमेकी भारतमा पनि मूलधारको पत्रकारिता आलोचनाको केन्द्रमा छ, जसमाथि सत्ताको खाँतिरदारी गरेको आरोप लाग्दै आएको छ । एकथरी आलोचकले यस्तो पत्रकारितालाई ‘गोदी पत्रकारिता’ भन्न थालेका छन् । यसको अर्थमा हो, सत्ताको काखमा बसेर गरिने पत्रकारिता ।

सत्ता र पत्रकारिताको साइनो पनि गजबकै छ । कतै मीठो, कतै तीतो । भारतमा सत्ता र मूलधार पत्रकारिता एकआपसमा लहसिएको आरोप लाग्दै आएको छ । उता, विश्वको शक्तिसम्पन्न मानिने मुलुक अमेरिकामा पत्रकारिता र सत्ताको सम्बन्ध विपरीत ध्रुवजस्तै हुन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त एकथरी पत्रकारलाई ‘जनताको शत्रु’ भनेर हपारेका दृश्य टेलिभिजनका स्क्रिनमा देखिएकै हो ।

सामाजिक, राजनीतिक तथा प्राज्ञिक परिदृश्यमा आएका तमाम परिवर्तनले पत्रकारितालाई यथास्थितिमा रहन दिएको छैन । यसका अतिरिक्त सामाजिक मनोविज्ञानको बदलिँदो स्वरूप, बढ्दो प्रतिस्पर्धा, ज्ञान उत्पादनमा आएको तीव्रता, नवीनतम् ढाँचा र शैलीप्रति मानिसका सदावहार आकर्षणजस्ता तत्त्वहरूले पत्रकारितामा नयाँ नयाँ विधा र शिल्प–शैली आएका हुन् भन्न सकिन्छ ।

पत्रकारिताले पस्कने समाचार तथा अन्य सूचनामूलक सामग्री पनि दैनिक उपभोग्य वस्तुजस्तै वस्तु (कमोडिटी) हुन् । यस्ता वस्तुलाई सर्वग्रह्य तरिकाले बजारमा बिक्री–वितरण गर्न ब्रान्डिङ र बजारीकरण आवश्यक छ । यसका लागि पनि नयाँ शिल्प–शैली आवश्यक पर्छ । यी तमाम कारणले पत्रकारिताको मिजासमा निरन्तरण रूपमा परिवर्तन आइरहेका छन् । पत्रकारिताको मर्म र धर्म उही भए पनि यसको स्वरूप निरन्तर परिवर्तन हुँदै गएको छ ।

[साभार : संवाद नेपाल । २०७६ साल असोज १ गते ।]

Friday, October 13, 2017

पत्रकारितामा पुरस्कार

–यमबहादुर दुरा

सामाजिक सञ्जाल ‘फेसबुक’ मा पोष्ट हुने ‘कन्टेन्ट’ हरूमा तस्बिरकै प्रचुरता छ ।  ती तस्बिरको भीडमा सम्मान/पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छ । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण गरेको प्रसंग समाजका चिन्तनशील समूहका अघिल्तिर प्रश्नविहीन अवस्थामा रहन सक्तैन ।

आफूलाई सत्यको खोजीमा समर्पण गर्नुपर्ने जिम्मेवारी बोकेको पत्रकारले पुरस्कार थाप्दै हिँड्दा उसको नैतिक र पेशागत धरातल धर्मराउँछ भन्ने एकथरीको मान्यता छ । त्यसैले, पत्रकारले पुरस्कार ग्रहण गरेमा समाजका सचेतले वर्गले सजिलै र सहजै स्वीकारेको पाइँदैन ।

पत्रकार आचारसंहिताले पनि पत्रकारले पुरस्कार लिने कुरालाई त्यति प्रोत्साहन गर्दैन । ‘प्रेस काउन्सिल नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’ ले संयुक्त रूपमा जारी गरेको ‘पत्रकार आचारसंहिता, २०७३’ ले पेशागत मर्यादा र दायित्वमा प्रतिकूल असर पर्ने गरी पुरस्कार लिन नहुने प्रष्ट पारेको छ ।

उक्त आचारसंहिताको दफा १३ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन ।’

 यस्ता पुरस्कार वा सम्मान पेशागत मर्यादाविपरीत भए-नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि पत्रकारकै हो ।

पुरस्कार ग्रहण गर्ने कुरा आफैंमा कुनै अनिष्टकारी प्रसंग होइन तर यसका लागि नेपथ्यमा हुने खेल अनिष्टकारी हुन सक्छ । पुरस्कार दिने संस्था वा व्यक्तिको भित्री अभीष्ट, त्यस्ता व्यक्ति वा संस्थाको पुरस्कार पाउने व्यक्तिसँगको सम्बन्ध र पुरस्कारका लागि व्यक्ति छनोट गर्ने प्रक्रियामा अपनाइने विधिले पुरस्कारको समग्र अभीष्ट र स्तर निर्धारण गर्छ ।

पत्रकारलाई प्रदान गरिने पुरस्कारप्रति सभ्य समाजले सधैँ स्वस्थ्य किसिमले आशंका गर्छ । कतिले त यसप्रति एकदमै आलोचनात्मक दृष्टिकोण पनि राख्छन् । अमेरिकी प्राध्यापक  नोम चोम्स्की (जन्म: सन् १९२८) का अनुसार पुरस्कारले आमसञ्चार माध्यम र पत्रकारको विवेकमा नजानिँदो किसिमले लगाम लगाइदिन्छ ।

पुरस्कारसँग सम्बन्धित रोचक एउटा पाटो रोचक छ । प्राध्यापक तथा अनुसन्धाताहरूले पनि समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा गहिरो गुन लगाएका हुन्छन् तर उनीहरू कमै पुरस्कृत हुन्छन् । कारण स्पष्ट छ, उनीहरूका हातमा पत्रकारको जस्तो ठूलो शक्ति हुँदैन । आमसञ्चार माध्यममार्फत् जनसमुदायलाई नियन्त्रण गर्न सकिने भएकोले शक्तिकेन्द्रहरू पत्रकारलाई हातमा लिन चाहन्छन् । पुरस्कार एउटा उपाय हो, जसले पत्रकारलाई आफ्नो पक्षमा उभ्याउन सहयोग गर्छ । पुरस्कारसम्बन्धी राजनीतिको नाभी यहीनेर अवस्थित छ ।

नेपालमा व्यापारिक घराना, राजनीतिक दल एवम् गैरसरकारी संस्थाहरूले विभिन्न बहाना र आवरणमा पत्रकारलाई पुरस्कृत गरिरहेका छन् । सरकारले प्रदान गर्ने पुरस्कार पनि प्रेमपूर्वक ग्रहण भइरहेका छन् । पुरस्कार दिएर पत्रकारको मन राख्ने र इष्ट बढाउने क्रम चलिरहेकै छ ।

देशको अर्थतन्त्रमै प्रभाव जमाउन सक्ने व्यापारिक घरानाले सञ्चारगृहको विज्ञापन तथा अन्य यस्तै प्रकृतिको आम्दानीमाथि प्रभुत्व नजमाउने कुरै भएन । त्यसमा पनि तिनीहरूबाटै पुरस्कृत भएपछि तिनका कर्तुत उजागर गर्न पत्रकारलाई गाह्रो पर्छ ।

राजनीतिक दलले दिने पुरस्कारले पत्रकारलाई कार्यकर्ताको हैसियतमा थन्क्याउन चाहन्छ । संघसंस्थाले दिने पुरस्कारले उसप्रतिको आलोचनात्मक क्षमता भुत्ते बनाइदिनसक्छ । सरकारले दिने पुरस्कारले उसका गलत रवैयाहरूप्रति आँखा चिम्लिन पत्रकारलाई प्रेरित तुल्याउँछ ।

पुरस्कारको ओइरोले पत्रकारको सत्य खोज्ने जिम्मेवारी र विकृतिप्रति आलोचनात्मक बन्ने क्षमतामा धक्का पुर्‍याउँछ  भन्ने मान्यताबाट प्रेरित भई पुरस्कार नस्वीकारिएका दृष्टान्त पनि छन् ।

भारतीय पत्रकार निखिल चक्रवर्ती (सन् १९१३–१९९८) ले सन् १९९० को ‘पद्म भूषण’ सम्मान अस्वीकार गरेका थिए, जुन सरकारी स्तरबाट प्रदान गरिने तेस्रो उच्च सम्मान हो । अर्का भारतीय पत्रकार खुसवन्त सिंह (सन् १९१५–२०१४) ले  आफूले सन् १९७४ मा पाएको ‘पद्म भूषण सम्मान–१९७४’ सन् १९८४ मा फिर्ता गरेका थिए । अमृतसरस्थित स्वर्णमन्दिरमा घटित घटनामा सरकारले ज्यादती गरेको भन्दै सम्मान फिर्ता गरेका थिए, उनले ।

जर्मनीको लोकप्रिय अखबार ‘स्वीटड्वेच जाइटुङग्’ ले चर्चित जर्मन पत्रकार हेनरी नानेन (सन् १९१३–१९९६) को नाममा स्थापित पत्रकारिता पुरस्कार अस्वीकार गरेको थियो । अमेरिकाको पुलिट्जर पुरस्कारकै हाराहारीकै सम्मानजनक मानिने उक्त पुरस्कार खोजी पत्रकारिताका लागि सन् २०१२ मा दिने घोषणा गरिएको थियो । ‘द टाइम्स अफ इन्डिया’ का पत्रकार अक्षय मुकुलले प्रतिष्ठित ‘रामनाथ गोयन्का पत्रकारिता पुरस्कार, २०१६’ अस्वीकार गरेका थिए ।

प्रस्तुत दृष्टान्तले पुरस्कारप्रतिको आलोचनात्मक दृष्टिकोणको पृष्ठपोषण गर्छ  । अर्कोतिर, नेपालजस्तो राजनीतिक अस्थिरता, पत्रकारले न्यून वेतनमा काम गर्नुपर्ने अवस्था एवम् सामाजिक असुरक्षा कायम रहेको मुलुकमा पत्रकारलाई पुरस्कृत गर्ने कार्यले आशंका जन्माउँछ । पुरस्कार दिने र लिने दुवैले ‘कुरोको चुरो’ नबुझेका होइनन् तर सबै ‘तैँ चुप मै चुप’ छन् ।

पत्रकारलाई दिइने पुरस्कारबारे यसप्रकारको टीकाटिप्पणी गरिरहँदा पुरस्कारको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठाएको अर्थ नलागोस् । निर्मल विचारले प्रदान गरिएका पुरस्कारबारे केही भन्नु छैन । पत्रकारिताको निष्पक्षतामा प्रभाव नपर्ने गरी स्पष्ट मापदण्ड तयार गरेर स्वतन्त्र तरिकाले प्रदान गरिएका पुरस्कारको महत्वलाई नकार्न सकिन्न ।

[साभार: अन्नपूर्ण टुडे । असोज २७, २०७४ ।]


Friday, June 16, 2017

‘डेटा जर्नलिजम’ को युग

–यमबहादुर दुरा

कुनै समय यस्तो थियो, पत्रकारिताका गुरु र प्रशिक्षकहरूले समाचार लेख्दा सकेसम्म कम आँकडा प्रयोग गर्नुपर्छ भनेर गुरुमन्त्र सिकाउँथे । समाचारमा धेरै आँकडा (डेटा) प्रयोग गर्दा सर्वसाधारण अडियन्स (पाठक, दर्शक तथा स्रोता) अल्मलिन्छन् भन्ने मान्यताले कम आँकडा प्रयोग गर्न सिकाइन्थ्यो । त्यो गुरुमन्त्र आफ्नो ठाउँमा जायज नै थियो । अडियन्स नै दिग्भ्रमित हुने गरी आँकडाको अनावश्यक भारी बोकाउनु उचित पनि होइन ।

हिजोका गुरुमन्त्र अब धेरै हदसम्म असान्दर्भिक र अव्यवहारिक हुन थालेको छ । प्रविधिको तीव्रतर विकासले पत्रकारिताका मूल्य–मान्यताहरूमा छिटो छिटो परिवर्तन आइरहेका छन् ।  अहिलेको पत्रकारितामा आवश्यकताअनुसार जति पनि आँकडा प्रयोग गर्न प्रोत्साहित गरिन्छ, तर भिन्न किसिमले । अहिले कम्प्युटर प्रविधिको ‘डेटा प्रेजेन्टेसन टेक्निक’ मार्फत् हरप्रकारका आँकडा प्रयोग गर्न गर्न सकिने युगको सूत्रपात भइसेको छ । यसले जटिलभन्दा जटिल आँकडालाई सरल र बोधगम्य तरिकाले प्रस्तुतीकरण गर्ने अवसर दिएको छ ।

परम्परागत मान्यताअनुसार पत्रकार शब्दजीवी (वर्डस्मिथ) हो, ऊ शब्दसँग खेल्ने  प्राणी हो । उसले शब्दमार्फत् वास्तविक जीवनको वास्ताविकत कहानी प्रस्तुत गर्छ । तर  अब यो पुरानो कुरा हुन गएको छ । अब शब्दले मात्र कथा भन्ने परिपाटीको अन्त्य हुँदैछ । पत्रकारले आँकडामार्फत पनि कथा भन्नुपर्ने समय आएको छ । शब्दसँग मात्र खेल्ने पत्रकार अब एकलकाँटे सावित हुँदैछ । पत्रकारितामा शब्द, उद्धरण, ग्राफिक्स एवम् तस्बिर अधिक प्रयोग हुन्छन्, जुन पत्रकारिताको औजारका रूपमा चिनिन्छन् । अब पत्रकारले यस्ता औजारका साथमा ‘डेटा प्रेजेन्टेसन टेक्निक’ लाई पनि उपयोगमा ल्याउने खुबी  विकास गर्नुपर्ने भएको छ ।

अहिले समाचार, फिचर तथा अन्य खोजमूलक सामग्रीहरूमा आवश्यकताअनुसार आँकडा समावेश गर्ने प्रचलन बढ्दो छ । आधुनिक प्रविधिको उपयोग गरेर आँकडाको बुद्धिमत्तापूर्ण प्रयोगले लेखाइलाई आधिकारिक र तथ्यपूर्णमात्र बनाउँदैन, आकर्षक र अर्थपूर्ण पनि बनाउँछ । यसले शब्द र तथ्याङ्कबीचको खाडल पुर्न पनि सहयोग गर्छ ।

यस किसिमको पत्रकारिता ‘डेटा जर्नलिजम’ नामले परिचित छ, जुन सन् १९७० तिर प्रचलनमा आएको ‘प्रिसिशन जर्नलिजम’ को परिमार्जित संस्करण मानिन्छ । ‘डेटा जर्नलिजम’ ले निरस र झर्कोलाग्दो आँकडाको तालिकाहरूलाई कसरी रुचिकर र बोधगम्य तरिकाले प्रस्तुत गर्ने भन्ने उपाय पनि सुझाउँछ ।  'कम्प्युटर असिस्टेड रिपोर्टिङ', 'कम्प्युटेसनल जर्नलिजम्', 'डेटा ड्रिभन जर्नलिजम्' अदिजस्ता पत्रकारिताका विधा यसका नातेदार हुन् । तर यिनीहरूबीच लक्ष्मणरेखा कोर्न भने सहज छैन ।

‘डेटा जर्नलिजम’ परम्परागत पत्रकारिताको विकल्प होइन, परिपूरकमात्र हो । यसले भइरहेको अभ्यासलाई अझ बढी आकर्षक, प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग गर्छ । एबीसी, बीबीसी, सिकागो ट्रिव्युन, द गार्जियन, जाइट अनलाइनजस्ता सञ्चारमाध्यमहरू ‘डेटा जर्नलिजम’ मा अगाडि देखिएका छन् ।

लेटर प्रेस तथा अफसेट प्रेस हुँदै डिजिटल पब्लिकेसनको चरणमा आइपुग्दा सञ्चार उद्योगमा क्रान्तिकारी परिवर्तन आइसकेको छ । सूचना सम्प्रेषण गर्ने कला र शैलीमा तात्विक भिन्नता आइसकेको छ । शब्द र अंङ्कमा व्यक्त गर्दा भर्को लाग्ने किसिमका आँकडाहरूलाई पनि चित्रात्मक सन्देश (‘पिक्टोरियल मेसेज’) का रूपमा प्रस्तुत गर्दा आकर्षक र प्रभावकारी हुन  पुग्छन् । अहिलेको प्रविधिले यस्तो अवसर दिएको छ ।

‘पिक्टोरियल मेसेज’ रुचिकर र आकर्षक हुन्छन् । यसबाट अडियन्समा सन्देशप्रतिको आकर्षण र ग्रहणशीलता बढेर जान्छ । विगतमा ‘पिक्टोरियल मेसेज’ तयार पार्न हातैले काम गर्नुपथ्यो, जुन नितान्त झन्झटिलो र बढी समय लाग्ने खालका हुन्थे । प्रविधिको विकाससँगै यस्ता समस्या हटिसेकेका छन् ।

समयको प्रवाहसँगै सबैमा व्यस्तता बढेको छ । झर्कोलाग्दो आँकडामा आँखा गाडेर हेर्ने र त्यसलाई अथ्र्याएर बस्ने धैयता र समय अडियन्ससँग छैन । उनीहरू एकै झलकमा मूल सन्देश थाहा पाउन चाहन्छ । ‘डेटा जर्नलिजम’ ले अडियन्सको यही आवश्यकता पूरा गर्न सहयोग गर्छ । थोरै शब्दको प्रयोग गरेर धेरै कुरा बुझाउन सफल हुनु नै ‘डेटा जर्नलिजम’ को सुन्दर पक्ष हो । ‘डेटा भिजुअलाइजेसन’ विधि उपयोग गरेर भर्कोलाग्दा आँकडाहरूलाई सरल, सहज सुपाच्य किसिमले प्रस्तुत गर्न सकिन्छ ।

एउटा दृष्टान्त : एक महिनाभित्र राजधानीमा वायुप्रदूषण कति बढ्यो, सेयरको कारोबार कस्तो रह्यो, के कस्ता आपराधिक घट्ना घटे, तरकारीको खपत कति भयो, सवारी दुर्घटना अवस्था कस्तो रह्यो, बजार भाउको अवस्था कस्तो रह्यो भन्नेजस्ता जनसरोकारका कुराहरूलाई ‘डेटा भिजुअलाइजेसन’ को माध्यमबाट अडियन्स समक्ष प्रस्तुत गर्न सकिन्छ । यसो गर्न सके अडियन्सको ध्यान खिचिन्छ । उनीहरूले थोरै समय खर्च गरेर कुरोको चुरो थाहा पाउन सक्छन् । परिणामस्वरूप सम्बन्धित मिडिया र पत्रकारको लोकप्रियताको ग्राफ उकालो लाग्छ ।

नेपालमा ‘डेटा जर्नलिजम’ को प्रयोग भइसकेको छ । २०७४ साल वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालका केही अखबार र अनलाइनहरूले ‘डेटा भिजुअलाइजेसन’ लाई उपयोगमा ल्याए । अडियन्सले थोरै समय खर्च गरेर जटिल प्रकृतिका सूचना सरल र सहज किसिमबाट प्राप्त गर्न सके । यसबाट निर्वाचनको परिणाम जान्न आतुर सर्वसाधारणलाई ठूलो गुन लाग्यो । ‘डेटा भिजुअलाइजेसन’ गर्ने अनलाइन समाचार पोर्टलको भिजिटर पनि ह्वात्तै बढेर गयो ।

अडियन्सको सूचनाप्रतिको भोकलाई ‘डेटा जर्नलिजम’ मार्फत शान्त पार्न सजिलो भने छैन । ‘डेटा जर्नलिजम’  गर्न पत्रकारले धेरै कष्ट उठाउनैपर्छ । अहिलेको प्रतिस्पर्धात्मक  युगमा यो अनिवार्य सर्त हो । जटिल प्रकृतिका आँकडा संकलन, परीक्षण, संश्लेषण, शुद्धीकरण, विश्लेषण र व्याख्या गर्ने क्षमता पत्रकारसँग हुनैपर्छ । कम्प्युटरको सफ्टवेयर चलाउने क्षमता पनि ऊसँँग हुनैपर्छ ।

पत्रकारमा निहित खुबी, इच्छाशक्ति, पेशागत ज्ञानको धरातल, सीपजस्ता पक्षहरूले ‘डेटा जर्नलिजम’ को स्तर निर्धारण गर्दछ । ‘डेटा जर्नलिजम’ को उभारले पत्रकारलाई थप परिश्रमी र ज्ञानशाली बन्न चुनौती दिएको छ ।

[साभार: अन्नपूर्ण टुडे  ।असार २, २०७४  । ग्राफिक्स : गुगल ]

Friday, April 21, 2017

पत्रकारितामा प्राज्ञिक डिग्री


–यमबहादुर दुरा

पत्रकारिता परेर गर्ने पेशा हो कि पढेर अपनाउने पेशा हो ? पत्रकारिता वृत्तमा बहस जारी छ । एकथरिको भनाइ छ, ‘सैद्धान्तिक ज्ञानविनाको पत्रकारिता अपूरो हुन्छ ।’ अर्काथरिको उदघोष छ, ‘पत्रकारिताको व्यवहारिक पक्षलाई बिर्सेर सैद्धान्तिक ज्ञानले मात्र दाल गल्नेवाला छैन ।’ वैचारिक बहसका क्रममा आएका यी परस्पर विरोधाभासपूर्ण भनाइ आ–अफ्नो ठाउँमा सही छन् । तर यो बहस शालीन संवादमा मात्र सीमित छैन ।

यदाकदा यस्ता वैचारिक कटुता सतहबाट उर्लिएर घोचपेच र आरोप प्रत्यारोपसम्म चुलिन पुग्छ । पत्रकारितामा प्राज्ञिक डिग्री आवश्यक छ घटकको आरोप छ, ‘पत्रकारिताजस्तो सम्वेदनशील र बहुआयमिक पेशा उचित प्राज्ञिक डिग्री बिना नै हाँकिरहेका छन् ।’ पत्रकारितामा प्राज्ञिक डिग्री दरकार नपर्ने मान्यताका पक्षपातीहरूको रोषपूर्ण अभिमत छ, ‘विश्वविद्यालयको पढाइ पूरा गरेर पत्रकारितामा आएकाहरूले ठूला कुरा नगरे हुन्छ, उनीहरू एक अनुच्छेद पनि राम्रोसँग समाचार लेख्न जान्दैनन् ।’

कतैकतै वास्तविकताजस्ता लाग्ने कतकतै पूर्वाग्रहजस्ता लाग्ने यस्ता अभिव्यक्तिहरूको केन्द्रविन्दुमा उभिएर कुरोको चुरो खोज्दा पत्रकारिताको निकटपूर्व इतिहासदेखि वर्तमानसम्मको विकासक्रमलाई नियाल्नुपर्ने हुन्छ । यस क्रममा हाम्रो सामाजिक तथा राजनीतिक परिवेश, पत्रकारिताको विकासक्रम, पत्रकारिता जनशक्ति खपतको ट्रेन्ड, प्राज्ञिक वहसको दिशा र गतिसम्म पुग्न सकिन्छ ।

पत्रकारिताको विश्वव्यापी ट्रेन्डलाई हेर्ने हो भने पत्रकारिता पढेर भन्दा पनि परेर नै अपनाइने पेशा हो भन्न कर लाग्छ । यद्यपि सर्वस्वीकार्य कुरा होइन । राजनीतिक कार्यकर्ता, वकिल, साहित्यकारजस्ता पत्रकारिताइतरका जनशक्तिले पत्रकारितालाई हाँकेका असंख्य विश्वव्यापी दृष्तान्त छन् । नेपालमा पनि कवि सिद्धिचरण श्रेष्ठ, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजस्ता गैरपत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले पत्रकारिता गरेका उदाहरण छन् ।

नेपालको सन्दर्भमा शुरुवाती चरणमा उच्च राजीतिक चेत भएका व्यवस्थाविरोधी व्यक्तिहरूले पत्रकारिता गरेको थिए । राणाकाल र पञ्चायतकालमा यही स्थिति थियो ।  उनीहरू पत्रकार कम तथा राजनीतिक अभियन्ता बढी थिए । उनीहरूले व्यावसायिक पत्रकारिता कम र मिसन पत्रकारिता बढी गरिरहेका थिए । त्यस समयमा राजनीति र पत्रकारिताको सीमारेखा छुट्टिन एक हिसाबले असम्भव नै थियो । यस्तो अवस्था तत्कालीन राजनीतिक तथा सामाजिक परिवेशको उपज थियो ।

अहिलेको समय र परिवेश फरक छ । त्रिभुवन विश्वविद्यालयले २०३३ सालमा प्रमाणपत्र तह र २०३६ सालमा स्नातक तहमा पत्रकारिता र आमसञ्चारको अध्यापन शुरु गरेपछि नेपालको पत्रकारिता जगतमा जनशक्तिका दृष्टिले नयाँ तरङ्ग पैदा हुन थाल्यो । यसैगरी, २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युटले पत्रकारिताको तालिम शुरु गरेपछि नेपालको पत्रकारिता जगतमा नयाँ आयाम देखापर्न थाल्यो ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले २०५८ सालमा पत्रकारिता र आमसञ्चारमा एमएको पढाइ शुरु गरे । सोही समयको सेरोफेरोमा अस्तित्वमा आएको मार्टिन चौतारीले मिडिया अध्ययन र अनुसन्धानका विविध पाटाबारे चर्कै स्वर उराल्यो । यससँगै पत्रकारितामा सम्बन्धित विषयको डिग्रीधारी जनशक्तिको बहसले पनि गति समात्यो । पत्रकारितामा आवश्यकतासम्बन्धी बहसमा पत्रकारिता वृत्त एक हदसम्म विभाजित मनस्थितिमा देखापर्यो ।

पत्रकारितामा सम्बन्धित विषयको डिग्रीधारी जनशक्तिको खाँचो हुन्छ वा हुन्न भन्नेबारे पश्चिमी गोलार्द्धमा पनि बहस जारी छ । बेलायतका विख्यात मिडिया टिप्पणीकार प्राध्यापक रोेय ग्रिन्स्लाडेले ‘द गार्जियन’ (नोभेम्बर १३, २०१२) मा पत्रकारितमा खपत हुने जनशक्तिबारे रोचक लेख लेखेका छन् । उनले बेलायतमा सम्पन्न एउटा मत सर्वेक्षणको नतिजालाई उध्रृत गर्दै लेखेका छन्, ‘७७ प्रतिशत उत्तरदाताले पत्रकारिता गर्न सम्बन्धित विषय डिग्री आवश्यकता पर्दैन भन्ने राय प्रकट गरे ।’

अर्कोतिर, पत्रकारिता पढेकाहरूले पत्रकारिता गर्छन् नै भन्ने कुनै ग्यारेन्टी छैन । विश्वविद्यालयमा पत्रकारिता अध्ययन गर्नेहरूमध्ये औंलामा गन्न सकिनेले मात्र पत्रकारिता अपनाउने गरेका छेलोखेलो दृष्टान्त छ । बरू, रमाइलो कुरा के छ भने विश्वविद्यालयमा कानुन, साइन्स, वाणिज्य शास्त्रजस्ता अन्य विषय पढेका विद्यार्थीहरू पत्रकारितामा ओइरिएका छन् । पश्चिमी गोलार्द्धको अमेरिका र पूर्वी गोलार्द्धको नेपालमा यही ट्रेन्ड नभेटिने होइन ।

अन्य क्षेत्रबाट पत्रकारितामा जनशक्ति भित्रिनुलाई कतिपय विश्लेषकहरू राम्रो मान्छन् । उनीहरूको दृष्टिमा मेडिकल साइन्स, कानुन, साइन्स, राजनीतिशास्त्र, वाणिज्य शास्त्रजस्ता गैरपत्रकारिता क्षेत्रबाट जनशक्ति भित्रिँदा पत्रकारिता क्षेत्र धनी बन्न पुग्छ । उनीहरूले तत्तत् विषयमा पत्रकारिताको सीप र कला प्रयोग गरेर राम्रो खोजखनिज गर्न सक्छन्, जुन विशुद्ध पत्रकारको रिपोर्टिङभन्दा कयौं गुना बढी गहन र प्रभावकारी हुनसक्छ । पत्रकारितामा सीप र कलामात्र आवश्यक नभई सम्बन्धित विषयको गहिरो ज्ञान आवश्यक पर्ने विधा हो ।

पत्रकारिता नितान्त गतिशील पेशा भएकोले यसमा कार्यरत जनशक्ति पनि स्वाभाविक रूपमा गतिशील छन्, चलयमान छन् । पत्रकारितालाई आफ्ना प्यारो पेशा ठान्नेहरू केही समयमै रहर पूरा गरेर बाहिरिन्छन् भने कतिपय पत्रकारिता आफ्नो प्राज्ञिक अध्ययनको विषय नभए पनि उच्च इच्छाशक्तिका यस पेशामा समाहित हुन्छन् । त्यसैले पत्रकारितामा आगमन र वहिर्गमन दुवै दर उच्च देखिन्छ ।

पेशागत शुद्धीकरण र परिपक्कता हरेक पेशामा आवश्यक छ । यस दृष्टिले पत्रकारितामा पनि प्राज्ञिक श्रीवृद्धिको आवश्यकतालाई नकार्न सकिँदैन । शुरुवाती चरणदेखि नै पत्रकारिता खुल्ला विषय रहेकाले प्राज्ञिक डिग्रीलाई मात्र एकमात्र मानक मान्नचाहिँ गाह्रो छ । जगजाहेर नै छ, प्राज्ञिक डिग्रीको अतिरिक्त पेशागत निष्ठा, जिज्ञासाको उच्च ग्राफ, सम्बन्धित विषयमा गहिरो ज्ञान र कर्तव्यपरायणता हरेक पेशाका लागि अपरिहार्य छ । पत्रकारिता यसको अपवाद बन्न सक्दैन ।

धेरै पेशाकर्मीहरूले समयक्रममा वास्तविकता बुझ्दै गएका छन् । आफ्नो ‘करिअर’ लाई राम्रो बनाउन चाहनेहरूले यो तथ्यलाई आत्मसात गरिसकेका छन् । हरक्षण प्रतिस्पर्धात्मक बन्दै गएको बजारमा आफूलाई ‘सेलेबल’ बनाउन हरेक पेशाकर्मीले समयको आवश्यकता बुझ्दै गएका छन् र आफूलाई सोही अनुरूप ढाल्दै पनि गएका छन् । यससँगै पत्रकारितामा प्राज्ञिक डिग्री आवश्यक हो कि होइन भन्ने बहस पनि क्रमिक रूपमा मत्थर बन्दै गएको प्रतीत हुन्छ ।

[साभार: अन्नपूर्ण टुडे (वैशाख ८, २०७४)]


Friday, March 10, 2017

पक्षधर पत्रकारिता


–यमबहादुर दुरा

अमेरिकी निबन्धकार अर्थर मिलर (सन् १९१५–२००५) ले एकपटक भनेका थिए, ‘मलाई लाग्छ, एउटा असल अखबार भनेको राष्ट्रले आफैंसँग संवाद गरेजस्तै हो ।’ भनाइको तात्पर्य हो, पत्रकारिता कुनै राजनीतिक वाद, सिद्धान्त र जातीयताको घेरामा सीमित नरही ‘बहुजन हिताय, बहुजन सुखाय’ मा केन्द्रित हुनुपर्छ ।

पत्रकारका लागि जारी भएका तमाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आचार संहिताको निचोड छ, पत्रकार दवाव, प्रभाव र पक्षधरताबाट मुक्त हुनुपर्छ । तर यसप्रकारको नैतिक कानुन पालना गर्न विविध कारणले सजिलो छैन । पत्रकारहरू पेशागत आचार संहिताको मर्मविपरीत कुनै दल, क्षेत्रीयता र जातीयताको परिधिभित्र रमिरहेको भेटिन्छन् । उनीहरूको पक्षधरता उध्रिएको छानोजस्तै छ, जहाँबाट वास्तविकताको तारामण्डल सजिलै चियाउन सकिन्छ ।

‘पक्षधर पत्रकारिता’ (पार्टिजन जर्नलिजम्) नेपालजस्तो विकासोन्मुख मुलुकको मात्र मात्र समस्या होइन, अमेरिका, बेलायत,अस्ट्रेलियाजस्ता सम्पन्न मुलुकहरूका लागि पनि टाउको दुखाइको विषय हो । प्राध्यापक निल थुम्र्यान र उनका टोलीले सन् २०१६ मा ‘जर्नलिस्टस् इन द यूके’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनले बेलायतमा रहेको पत्रकारहरूको राजनीतिक पक्षधरतालाई औंल्याएको छ ।

अमेरिका तथा अस्ट्रेलियामा पनि उन्नाइसौं शताब्दीको ‘पक्षधर पत्रकारिता’ लाई बिर्साउने गरी नयाँ संस्करणमा पक्षधर पत्रकारिता जुर्मुराएको चर्चा चल्दै आएको छ । हाम्रो छिमेकी मुलुक भारतमा ‘पेड पत्रकारिता’ ले संस्कृतिकै रूप धारण गरिरहेको चर्चा सेलाएको छैन । अन्तर्राष्ट्रियस्तरमा विद्यमान ‘पक्षधर पत्रकारिता’ को प्रवृत्ति कुनै न कुनै रूपमा नेपाल पनि कायम छ ।

पत्रकार भुवन केसीले सन् २०१४ मा नेपालमा पत्रकारहरूको राजनीतिक झुकाव र त्यसले समाचारमा पारेको प्रभावबारे अध्ययन गरेका थिए । ‘एटिनियो डि मनिला विश्वविद्यालय’ मा पेश गरिएको उक्त शोधपत्रमा नेपालका ८५ प्रतिशत पत्रकारहरूले निश्चित राजनीतिक विचारधारासँग आफ्नो वैचारिक निकटताबारे खुलेरै बोलेको उल्लेख गरिएको छ ।

पत्रकारहरूले ‘बहुजन हिताय, बहुजन सुखाय’ को मूलमन्त्रलाई एकतिर पञ्छाएर निश्चित घटक, दल वा समूहको पक्षमा उभिने परिपाटीलाई पक्षधर पत्रकारिता (पार्टिजन जर्नलिजम्) को संज्ञा दिइन्छ । यसलाई ‘रेजिमेन्टल जर्नलिजम्’ पनि भन्ने गरिन्छ । अघि नै भनियो, आचार संहितामा जेसुकै भए पनि पत्रकारहरू प्रत्यक्ष वा परोक्ष रूपमा कुनै राजनीतिक दल, क्षेत्रीयता एवम् जातीयताको पक्षमा उभिएकै छन् । विभिन्न सूचकहरूले यही यथार्थलाई इङ्गित गरेका छन् ।

यस्तो हुनुमा पत्रकार वृत्तलाई मात्र दोषी देख्नु अन्याय ठहरिन्छ । यसको दोष मूल रूपमा देशको ‘राजनीतिक अर्थतन्त्र’ (पोलिटिकल इकोनमी) लाई जान्छ । समाजको विकासक्रम, सामाजिक मनोविज्ञान, पत्रकारहरूको जीवनस्तरले पनि यसमा धेरथोर भूमिका खेलेकै हुन्छन् । ‘राजनीतिक अर्थतन्त्र’ सँग बलियो गरी जोडिएका राजनीतिक शक्ति र व्यापारी–उद्योगीजस्ता पूँजीपति वर्गको स्वार्थले पत्रकारिता जगतलाई नराम्ररी गाँजेको छ ।

देशको बागडोर सम्हालेका राजनीतिक शक्ति र सम्पत्तिको ढुकुटी लिएर बसेका पूँजीपति वर्गबीच स्वार्थद्वारा निर्देशित सम्बन्ध अविच्छिन्न रूपमा चलिरहेको छ । यसको जरा देशको शासन–संयन्त्रसम्म जोडिएको छ । यस किसिमको अपवित्र गठबन्धनले राज्यको चौथो अङ्ग मानिएको पत्रकारितााई पनि स्वार्थवश आफ्नो मुठीमा राख्न चाहन्छ ।

पत्रकारहरूको पेशागत संगठनको चुनावमा राजनीतिक दल र व्यापारी–उद्योगीहरू पर्दाभित्र र पर्दाबाहिरबाट सक्रिय भूमिकामा रहनुको अर्थ यही हो । नेपाल पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ तथा राजनीतिक दल निकटका पत्रकार युनियनहरूको चुनावमा यस्ता थुप्रै परिदृश्यहरू देखापरेको कसैको नजरमा छिपेको छैन ।

‘राजनीतिक अर्थतन्त्र’ का ज्ञाताहरूले भन्दै आएका छन् – राजनीतिक दल र व्यापारी–उद्योगीहरूबीचको स्वार्थप्रेरित सम्बन्धले नीतिगत भ्रष्टाचार हुन्छ, जुन कुरा सर्वसाधारण नागरिकले सुइँकोसम्म पाउँदैनन् । यस्तो अनैतिक व्यवहारलाई ढाकछोप गर्न पत्रकारिता जगतको सहयोग अपरिहार्य छ । यसबाट देशमा नजानिँदो किसिमले आर्थिक, राजनीतिक र सामाजिक बिश्रृङ्खलता पैदा हुन्छ ।

यस्तो अवस्थामा पत्रकारिताले पनि बाटो बिराउन सक्छ । नतिजा यस्तो हुनजान्छ, आवाजविहीनहरूको आवाज मानिएको पत्रकारिताले सीमान्तकृत, अपहेलित एवम् अल्पसंख्यकको पक्षमा नबोली अरू कसैको पक्षमा वकालत गर्न थाल्छ ।

मूलधारको पत्रकारिताले आफ्नो पक्षमा आवाज नउठाएपछि सीमान्तकृत, अपहेलित एवम् अल्पसंख्यकका वैकल्पिक बाटो खोज्न बाध्य हुन्छन् । यसपछि जातीयता एवम् क्षेत्रीयतामा आधारमा संगठित भई आवाज उठाउने परिपाटीको विकास हुन्छ । नेपालमा मात्र होइन, अमेरिकाजस्तो समृद्ध मुलुकमा पनि यस्तो परिपाटी देखिन्छ । ‘न्यासनल–असोसिएसन अफ ब्ल्याक जर्नलिस्टस्’, ‘एशियन अमेरिकन जर्नलिस्टस् असोसिएसन’, अफ्रिकन–अमेरिकन जर्नलिस्टस्’, ‘न्यासनल असोसिएसन हिस्प्यानिक जर्नलिस्टस्’, ‘नेपाल अमेरिका जर्नलिस्टस् असोसिएसन’ यसका दृष्टान्त हुन् ।

यद्यपि यस्ता संस्था सम्बन्धित वर्ग वा समुदाय अपहेलित भएकाले सामूहिक रूपमा संगठित आवाज उठाउनका लागि मात्र गठन भएका हुन् भन्ठान्नु गलत हुन्छ । देश, काल र परिस्थितिअनुसार राष्ट्रिय, जातीयता एवम् क्षेत्रीयताका आधारमा संगठित भई आपसी भाइचारा अभिवृद्धि गर्ने अभिप्रायले पनि यस्ता संस्था गठन हुने यथार्थलाई नकार्न सकिन्न ।

पत्रकारितालाई सञ्चालन गर्ने शक्तिशाली इञ्जिन नै पत्रकार हुो । ऊ एउटा सचेत, विचारवान् र गतिशील सामाजिक प्राणी हो । पेशागत निष्पक्षताको नाममा उसलाई कुनै विचारधाराविहीन निरपेक्ष प्राणीको रूपमा बुझ्नु पनि सर्वथा गलत हुन्छ । पेशागत घेराभन्दा बाहिर पनि उसको ठूलो संसार छ । यस पृष्ठभूमिमा बीसौं शताब्दीमा प्रचलित वस्तुनिष्ठ र निष्पक्ष पत्रकारिताको अवधारणाले उन्नाइसौं शताब्दीको ‘पक्षधर पत्रकारिता’ लाई पूरपुर विस्थापित गर्नसक्छ भन्न गाह्रो छ ।

विडम्बना नै भन्नुपर्छ, पत्रकारहरू ‘राजनीतिक अर्थतन्त्र’ को चङ्गुलबाट बाहिर आउन सकेका छैनन् । यो नै ‘पक्षधर पत्रकारिता’ को सबैभन्दा खतरनाक पक्ष हो । राजनीतिक शक्ति र पूँजीपति वर्गको ‘नेक्सस’ बाट जन्मेको ‘राजनीतिक अर्थतन्त्र’ को चक्रव्यूहमा उनीहरू नजानिँदो किसिमले अल्झिएका छन् । पूँजीवाद हावी भएको वर्तमान युगमा ‘राजनीतिक अर्थतन्त्र’ ले बनाएको चक्रव्यूह तोडिने कुनै सम्भावना छैन । बरू, भविष्यमा पत्रकारहरू ‘राजनीतिक अर्थतन्त्र’ द्वारा सिर्जित परिस्थितिको मोहरा बनिरहने यथार्थलाई चुपचाप शिरोपर गर्नुपर्ने अवस्था छ ।

साभार : अन्नपूर्ण टुडे (फागुन २७, २०७३) ।