Showing posts with label सम्झना. Show all posts
Showing posts with label सम्झना. Show all posts

Wednesday, January 3, 2024

पत्रकारिताका सच्चा 'मेन्टर'

 –यमबहादुर दुरा


राणाकालमा शुरु भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक तथा प्राविधिक मोड आए । लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ । राणकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२÷०६३ को अप्रिल क्रान्ति र त्यसपछिका सतत घडीमा नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू  पनि बदलिँदै गयो ।

नेपालको पत्रकारितामा अहिलेको विकासित चरणसम्म योगदान गर्ने अग्रजमा गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठजस्ता अग्रज पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मासात गर्न सकिन्छ । यस बसाइमा पुस १६ गते मृत्युवरण गर्नुभएका अग्रज पत्रकार गोकुल पोखरेलसँग जोडिएका आफ्ना निजी अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गर्ने प्रयत्न गरेको छु । 

कुरा निजी प्रसङबाटै शुरु गरौँ । २०६० सालमा नेपाल प्रेस इन्स्टिच्युटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो । म एएमको पढाइ सकाएर बसेको बेला थियो । कामना प्रकाशन समूहमा कार्यरत थिएँ । त्यस पदका लागि मैले पनि आवेदन दिएको थिएँ । प्रतिस्पर्धा मार्पmत म छनोट भएँ । त्यसबेला नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो ।

त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारहरूका लागि तालिम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो । संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो । 

मैले नयाँ नियुक्ति लिएर नयाँ ठाउँमा जाने बेलामा गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्थ्यो । म कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिकाबारे र जिम्मेवारी प्रष्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू’ । सबैसँग मित्रवत् व्यवहार गरेमा वातारण सहज हुन्छ भन्नुहुन्थ्यो, उहाँ । 

अनुभवले खारिएका गोकुल पोखरेलको सुझाव थियो— साथीसंगी र सहकर्मीहरूबीच कुनै कारणले मनमुटावको वातावरण पैदा भएमा आफू  झगडाको कारक बन्नुहुँदैन, बरू ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ । उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिहरूका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहद्र्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो । एउटा नादान बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि गजबको मार्गदशक सिद्धान्त नै बने ।

तस्बिर: गुगल

गोकुल पोखरेलसँग भेट हुनुअघि उहाँका व्यावसायिक जीवनबारे रोचक किस्सो । उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइ अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिन गएछ । यसबाट उहाँको जागिर नै चट भएको प्रसङ्ग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो । 

जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आपूmले लेखेका सामग्री आपैmँले पटक पटक पढ्ने, तथ्य–जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त फरवार्ड गर्नुहुँदैन भन्नेमा जोड दिनुहुन्थ्यो । 

गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्येमा तीर्थ कोइराला पनि हुनुहुन्छ । कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग पनि सहकार्य गर्नुभयो । पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षता विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो । समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो ।

उहाँले सुझाउनुभएको थियो— ‘आफूले सम्पदान गरेका क्रियाकलापको अभिलेख राख्नू ।' मैले त्यसलाई पालना गर्ने प्रयास गरेँ । यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ । अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ । यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म ।

गोकुल पोखरेलजस्ता अग्रजले पत्रकारिता गरेका समयमा नेपाल पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो । अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट बञ्जित नहोउन् भन्ने भावनाले उहाँहरूका मनमा वास गरेको थियो । 

त्यसबेला पत्रकारिताको प्राज्ञिक अध्ययन–अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन । त्रिभुवन विश्वद्यिालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरु गरे पनि त्यसले व्यापकता पाएको थिएन । उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो । 

त्यसबेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरसिप’ को चर्को अभाव थियो । त्यस खरेडीग्रस्ता समयमा अग्रजहरूका दिमागमा पत्रकारलाई तालिम प्रदान गर्ने संस्थाको चित्र तयार भयो । सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगीजस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना गर्नुभयो ।

त्यसबेला नेपाल प्रेस इन्स्टिच्युट पत्रकारिता क्षेत्रमा मरूद्यानजस्तै हुन पुग्यो । त्यसले एक से एक उर्जाशील पत्रकार कोरल्न थाल्यो । रविन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेतजस्ता राष्ट्रिय जीवनमा कहलिएका हस्तीहरू नेपाल प्रेस इन्स्टिच्युटकै उत्पादन हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा खुला वातावरण तयार भयो । विस्तारै ब्रोडसिट अखबार आउन थाले । यस्तैमा नेपाल प्रेस इन्स्टिच्युटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारहरूलाई तालिम दिने वातावरण बनायो । यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए । 

मिडियामा दक्ष जनशक्ति पार्नका डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्युटलाई उदार मनले सहयोग ग¥यो । समयक्रममा नेपाल प्रेस इन्स्टिच्युटले देशभरका पत्रकारलाई तालिम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालिम (टट) सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पा¥यो । 

त्यस समयमा देशका विभिन्न कुना–कन्दरामा पत्रकारिताका विभिन्न विधामा तालिम भए । मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो । धेरै युवाका लागि पत्रकारिता ग्लेमरले भरिएको आकर्षक पेशाको रूपमा देखापर्न थाल्यो । देशमा पत्रकारिताको क्रेज बढाउने र पेशगत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता अग्रजहरूले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ । 

नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिममा सहभागी हुँदा गोकुल पोखरेलले लिने कक्षामा सहभागी हुने अवसर पाएको छु । पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबा केही गुण निसृत भएको अनुभूत गर्न सकिन्थ्यो । उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर किसिमले चल्थे । 

बेलायत, फ्रान्स आदि देशबाट पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवको खानी हुनुहुन्थ्यो । पोखरेलले कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो । यसबाट उहाँका कक्षा आकर्षक र पर्याप्त ज्ञानवद्र्धक हुन्थ्यो । 

विज्ञान ज्ञानी व्यक्तिहरूले मात्र थाहा जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ । विज्ञानलाई रहस्यको पर्दाले छोप्नुहुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यस अनुरूप उहाँले गतिविधिहरूपनि सञ्चालन गर्नुभएको थियो । 

मलाई सम्झना भएसम्म तत्कालीन ‘नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ मा विज्ञान सञ्चारसम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो । त्यसले प्रकाशन गर्ने विज्ञानसम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ उहाँको प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता थियो । 

गोकुल पोखरेलजस्ता अग्रजको छत्रछायाँमा रहेर नेपाल प्रेस इन्स्टिच्युटमा काम  गर्दा व्यक्तिगत रूपमा म पनि लाभान्वित भएँ । पी खरेल,ध्रुवहरि अधिकारी, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो । यसैगरी, पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरू कुन्दन अर्याल, रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, धर्मेन्द्र झा, भरत भूषाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार–विमर्श गर्ने सुन्दर अवसर मिल्यो । 

नेपालगञ्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नलाल गुप्त, रेशम विरही, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईँ, सुरेन्द्र काफ्ले, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगञ्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका सहकर्मीहरू आरिफ अन्सारी, पीताम्बर कट्टेल, गंगा फुयाँल तथा गंगाप्रसा ठाकुरको साथ र सहयोग पनि उत्तिकै मिठो थियो ।  यसबाहेक मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारहरूसँग पनि चिनपर्ची र माया–ममता बढ्यो । 

नेपालगञ्जमा रहेका स्वदेशी तथा विदेशी सङ्घ–संस्थाका पदाधिकारीहरूसँग पनि चिनजान भयो । केहीसँग त सहकार्य पनि भयो । यसबाहेक स्थानीय नागरिक समाजसँग पनि साइनोपात गाँसियो । 

त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वको उत्कर्षतिर पुग्दै थियो । हत्याहिंसाको शृङ्खला जारी थियो । यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्वहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो । यही मेहरोमा बाँकेका सञ्चालित नागरिक समाजले ‘शान्ति र सदभाव अभियान’ अघि बढाएको थियो । 

त्यसमा म पनि एक हिस्सा बन्न पुगेको थियो । प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय सीपी सिंहजस्ता तत्कालीन अभियानकर्मीहरूसँगको मीठो सहकार्य भयो । त्यसले दुखको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो । जीवनका यी तमाम भोगाइहरूमा नेपाल प्रेस इन्स्टिच्युट, गोकुल पोखरेल र अन्य अग्रजहरूबाट अवसरको अविष्मरणीय हिस्सेदारी छ ।

गोकुल पोखरेल भन्नुहुन्थ्यो— ‘पत्रकार कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन’ । उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो— सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर । सम्झनाको पूmलबारीमा तपार्इँ सधैँ फक्रनुहुनेछ । तपाईँप्रति हार्दिक श्रद्धासुमन !

साभार: हिमालखबर । २०८० साल पुस १७ गते । सामान्य परिमार्जनसहित ।]

Saturday, February 3, 2018

चौतारीको छहारी


–यमबहादुर दुरा

कुनै समयमा ‘रेडियो नेपाल’ को चुम्वकीय आकर्षणले धेरैलाई तान्थ्यो ।  प्रसारण प्रविधिसँग अपरिचित जनसमुदायले राष्ट्रिय प्रसारण संस्था ‘रेडियो नेपाल’ लाई मिथकीय वस्तु ठान्थे । रेडियोको जादुगरी चमत्कारबाट आकर्षित हुनेमा गायक–गायिकाहरू पनि पर्थे ।

युक्त गुरुङ
एकैपटक  हजारौं स्रोतामाझ पुग्नसक्ने क्षमताले उनीहरू ‘रेडियो नेपाल’ प्रति मनमुग्ध  हुन्थे तर रेडियोमा गीत गाउन सहज थिएन । ‘एक्स्पोजर’ को अरू बाटो नभएको त्यो समयमा रेडियोमा गीत गाउन पाउनु कलाकारका लागि भाग्योदय चिठ्ठा पर्नु जत्तिकै हुन्थ्यो । त्यतिबेला स्वर परीक्षा पास गरेरमात्र रेडियोमा गीत गाउन पाउने प्रावधान थियो ।

दूरदराजमा मेलापातमा जीवनमा बिताउने कला अनुरागीहरूले राजधानी छिर्ने मौका कहिले पाउने ? छिरिहाले पनि ‘रेडियो नेपाल’ प्रवेशद्वारसम्म कसरी पुग्ने ? ‘रेडियो नेपाल’ मा पाइला हाल्ने मौका पाइहाले पनि स्वर परीक्षाको झञ्जटिलो प्रक्रिया कसरी पार गर्नेे ? यी तमाम जटिलताले कुना–कन्दराका कलाकारहरूको गीत गाउने धोको मनमै दबिएर बस्थ्यो । ‘रेडियो नेपाल’मा सहज पहुँच अभावले धेरैले आशा मार्थे ।

निराशाले राज गरेको त्यो घडीमा रेडियो नेपालको ‘चौतारी’ कार्यक्रमले कलाकारहरू गायक–गायिकाहरूमा आशा जगाउने काम गरेको थियो । ‘चौतारी’ मा गीत गाउन स्वर परीक्षा पास गर्नुपर्दैनथ्यो तर त्यहाँ गीत गाएपछि गाउँघरमा कुस्त चर्चा पनि भइहाल्थ्यो । त्यतिबेला चौतारीमार्फत धेरैको प्रतिभाले अङ्कुरित हुने मौका पायो । २०३० को दशकदेखि सञ्चालनमा आएको ‘चौतारी’ उदीयमान गायक–गायिकाहरूको आशा र भरोसाको केन्द्र बनेको थियो ।

पाण्डव सुनुवार (वि.सं. २००९–२०६३), हिरण्य भोजपुरे (जन्म : वि.सं. १९९९), युक्त गुरुङ (वि.सं. २०११–२०६४) जस्ता लोकसङ्गीतका उम्दा प्रतिभाहरूको सोचको उपज थियो, ‘चौतारी’ । शुरुमा पाण्डव सुनुवार र हिरण्य भोजपुरेले कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा युक्त गुरुङले सहयोगीको भूमिका गर्नुभयो । पछि, ‘चौतारी’ कार्यक्रमको जिम्मेवारी युक्त गुरुङले नै पाउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्न थालेपछि कार्यक्रमको लोकप्रियताको ग्राफ झन उकालो  लाग्न थाल्यो ।

गुरुङले अग्रजहरूको पदचाप पछ्याउँदै ‘चौतारी’ लाई गायक–गायिकाहरूको साँच्चिकै साझा चौतारी बनाउनुभयो । कार्यक्रम सञ्चालन गर्दा उहाँको बोलीमा झल्कने आत्मीयता र मौलिकपनबाट प्रभावित धेरै स्वरजीवी आज पनि उहाँको सम्झना गर्छन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, उहाँबाट धेरै स्वरजीवीहरूले साङ्गीतिक क्षेत्रमा अघि बढ्ने प्रेरणा पाए । चार दशक उमेर काटेका अधिकांश लोकगायक–गायिकाले आफूहरू ‘चौतारी’ बाट ‘ग्रुम’ भएको धारणा विभिन्न सन्दर्भमा व्यक्त गर्दै आएका छन् ।

युक्त गुरुङ गायन र वाद्यवादनमा पारङ्गत प्रतिभाका रूपमा हुनुहुन्थ्यो ।  कुशल सङ्गीत शिक्षक पनि । उहाँसँग लामो संगत गरेका लोकगायक कृष्ण गुरुङ उनलाई सबैखाले बाजा बजाउन जान्ने प्रतिभा र प्रेरणा–स्रोतको रूपमा चित्रण गर्नुहुन्छ । उहाँले हर्मोनियम वादन, सङ्गीतको स्केललगायत सङ्गीतको औपचारिक ज्ञान युक्त गुरुङबाटै पाउनुभएको थियो  ।

आजकल धेरैका लागि बिरानो र दुरूह विधा बनेको सोरठी नृत्यमामा कुशलतापूर्वक मादले र गायकको भूमिका निर्वाह गर्न पनि सक्षम रहेको प्रतिभा हुनुहुन्थ्यो  ।

युक्त गुरुङका सहकर्मी तथा लोकगीत अन्वेषक बुलु मुकारूङ उहाँलाई ‘लोकगीतको जीवित सम्पदा’ ठान्नुहुन्छ । मुकारूङले 'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लेख्दै गण्डकी भेगका लोकभाकालाई रेडियोमार्फत आमनेपालीबीच पुर्‍याउने दिशामा गुरुङले  स्तुत्य भूमिका निर्वाह गरेको श्रेय दिनुहुन्छ ।

युक्त गुरुङको सङ्गीतप्रतिको मोहभाव र लगावबारे उहाँका आफन्तजन र साथीसँगीहरूले बेलाबखतमा रोचक प्रसंग अघि सार्छन् । यस्तै दिलचस्पीपूर्ण सम्झना उहाँकी साइँली दिदी पीपलमाया गुरुङको मनमा खोपिएर बसेको छ  । भाइले आफूलाई  मादल बनाइदिन निरन्तर कर गरेपछि  केराको थम्मको मादल बनाइदिएको, त्यसपछि त्यही मादल भिरेर कित्लीको ढकनी र सिल्बरको कचौरा बजाई नाचेको र यसबाट छरछिमेक चकित भएको स्मरण गर्नुहुन्छ । उहाँले यो बाल्यकालीन सम्झना  'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लिपिबद्ध गर्नुभएको छ ।

युक्त गुरुङले आञ्चलिक मिठासले भरिएका धेरै गीत गाउनुभएको छ, जसमा जीवनशैली झल्किन्छन् । गण्डकी भेगमा एउटा प्रचलन छ, जसमा सामाजिक जमघटहरूमा चेलीबेटी–माइती र सोल्टी–सोल्टिनीहरू भेट हुँदा चुरोट दिएर संवाद शुरु गरिन्थ्यो । यही चलनलाई टपक्क टिपेर युक्त गुरुङले गायिका शशी गुरुङसँग मिलेर २०३६ सालमा रेडियो नेपालमा गीत स्वराङ्कन गराउनुभयो । त्यो पनि गुरुङ भाषामा ।

सोल्टी र सोल्टिनीबीचको संवादमा आधारित गीत बोल थियो, (केटा)– आशामाया चुरोट थुँबरी खोसे ङोल्स्यो (आशामारा चुरोट खान आऊ सोल्टिनी), (केटी)– तै तै ङोलो भारा लइदिमु (भयो, भयो सोल्टी भारा लाग्छ) ।पछि आशामारा चुरोट नाम दिएर गुरुङ भाषाको अल्बम निकाल्नुभयो ।

स्थानीय जनजीवनको ढुकढुकी भेटिने यो गीत गण्डकी भेगका गुरुङ समुदाय र गुरुङ भाषा बुझ्नेहरूबीच बेहद लोकप्रिय भयो । यसले युक्त गुरुङको परिचयको क्षितिज फराकिलो गरी उघार्‍यो । उहाँले असंख्य ग्रामीणजनको हृदयमा बास पाउनुभयो ।

उहाँले मुग्लानी पस्ने परम्पराले ग्रामीणजनको हृदयमा लगाएको घाउलाई विषय बनाएर अर्को गीत गाउनुभयो । सुमधुर स्वरकी धनी सावित्री शाहले यसमा उहाँलाई साथ दिनुभयो । गीतको ‘ओपनिङ लाइन’ थियो, ‘दाइ त मेरो लाहुर जाने, म बैनी त सम्झेरै रोइरहने’ । गीतमा छचल्किएको मिठास र भावुकताबाट स्रोता द्रवीभूत भइरहे । यो गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो ।

उहाँले स्वरबद्ध गरेका १ सय ५० जति गीतमध्ये यी दुई गीतबाट नै उहाँ बढी चिनिनुहुन्छ । जनजीवनको ढुकढुकी स्पन्दित गीत नै कालजयी हुन्छन् भन्ने तथ्य उहाँको गीतबाट पुष्टि हुन्छ ।

उहाँ ब्रिटिश गोर्खाका लप्टन दीर्घसिंह गुरुङका छोरा हुनुहुन्थ्यो । एकप्रकारले हुनेखाने परिवारकै छोरा । उहाँ केही सिंगापुरमा बस्नुभयो । ‘भाञ्जाभाञ्जी’ भनेर चिनिने विदेशी संस्कारमा हुर्केका गोर्खा सैनिकका छोराछोरी र विदेशीहरूसँग पनि दोस्ती बढ्यो । यसबाट उहाँको सोचाइको दायरा र जीवनदृष्टिको क्षितिज फराकिलो हुन पुग्यो ।

उहाँको सोचाइ औसत व्यक्तिहरूको भन्दा फरक थियो । उहाँले 'रेडियो नेपाल' मा लामो समय (वि.सं. २०३२–२०६४) काम गर्नुभयो । त्यहाँ आठौं तहको अधिकृत भएर काम गर्दा उनले कार्यस्थललाई जागिरमात्र ठान्नुभएन, त्यसलाई अनुष्ठानको रूपमा पनि लिनुभयो । पुराना गीत संकलन, संरक्षण र सम्बद्र्धनमा उहाँले खेलेको भूमिका प्रशंसनीय छ । लोपोन्मुख ठाडो भाकाको श्रीवृद्धिमा पनि उहाँको योगदान रह्यो ।

२०६४ साल मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परेर निधन हुँदाको घडीसम्म पनि उहाँ लोकसङ्गीतको खोज–अनुसन्धानमा जुटिरहनुभएको थियो । लोकसङ्गीतसम्बन्धी पुस्तक सङ्कलन गर्ने, पढ्ने र लोकस्रष्टाहरूसँग अन्तरक्रिया गर्ने काममा जुटेर उहाँले नयाँ बाटो देखाइरहनुभएको थियो ।

यहाँनेर अर्को प्रसंग सान्दर्भिक हुन आउँछ । फिनल्याण्डका ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ विषयका तत्कालीन लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले लमजुङको गिलुङ गाउँमा प्रचलित घाँटु नृत्यको अध्ययन गर्नुभयो ।

मोइजलाले सन् १९७५–१९७६, १९८५ र १९९० को अवधिमा घाँटु नृत्यका कसरी परिवर्तन आइरहेको छ भन्ने अध्ययन गर्नुभयो । अध्ययनको क्रममा सहयोगीको रूपमा पत्याएको व्यक्ति हुनुहुन्थ्यो, युक्त गुरुङ । त्यस अध्ययन कार्यमा उहाँको रचनात्मक भूमिका रह्यो ।

पिर्को मोइजालाले अध्ययनको निष्कर्षस्वरूप सन् १९९१ मा ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ शीर्षकमा अध्ययन प्रतिवेदन प्रकाशन गर्नुभयो ।

युक्त गुरुङ जीवनभर लोकसङ्गीत श्रीवृद्धिमा डटिरहनुभयो, थुप्रै योजना फिजाएर । उहाँको जीवनको साङ्गीतिक आयाम र योगदानलाई उहाँका अनुज, आफन्तजन र सहयात्री र लोकगीत अनुरागीहरूले स्तुत्य ठानेका छन् । उहाँको बीचैमा विधाताले उहाँलाई ५३ वर्षकै अल्पायुमै खोसेर लग्यो, धेरै योजनाहरूलाई अलपत्रै पारेर । उहाँको पीडादायी प्रस्थानले लोकसङ्गीतका अध्येताहरूको काँधमा थप जिम्मेवारी थपिदिएको छ ।

[साभार : गोरखापत्र शनिबार । माघ २०, २०७४ । तस्बिर सौजन्य : शासन गुरुङ ।]

Saturday, January 13, 2018

कर्खा युगका स्वरजीवी


–यमबहादुर दुरा

जनस्तरमा सारङ्गीको लोकप्रियताको ग्राफ पत्याइनसक्नुको उच्च छ । सारङ्गीको धूनले नेपाली मन र मुटुहरूलाई जोड्ने काम गरिरहेको छ, निरन्तर । सारङ्गीवादकहरूले नेपालीपनको विस्तारमा योगदान दिइरहेका छन् । तीर्थबहादुर गन्धर्व (वि.सं.२०१०–२०७०) तिनै सारङ्गीवादक स्वरजीवीमध्ये एक हुन्, जो जीवनभर सारङ्गीको धूनमिश्रित लोकगीतमार्फत् नेपालीत्व जोगाउने र नेपाली मनहरूलाई झङ्कृत तुल्याउने कार्यमा सरिक भइरहे । 

नेपालमा छापा तथा विद्युतीय सञ्चार माध्यमहरूको विष्फोटक उपस्थिति हुनुभन्दा अघि नेपाली समाजमा सार्वजनिक सूचना प्रवाहकोे अवस्था नाजुक थियो । एकतिर लोकतान्त्रिक परिपाटीको अभाव, अर्कोतिर ‘सूचना संस्कृति’ को खरेडी । सही सूचनाको अभावमा अफवाहले राज गर्‍थ्यो ।

गन्धर्वहरू सारङ्गी भिरेर गाउँ–गाउँ डुल्थे । सूचना र मर्मले भरिएका कर्खा (घटनाप्रधान गीत) गाएर जीविकोपार्जनको प्रयासमा जुट्थे । समाजमा विद्यमान सूचनाको ‘भ्याकुम’ हटाउने काम गर्थे । कर्खामार्फत समाजका नवीनतम् घटनाक्रमहरू उजागर हुन्थे । यसरी गन्धर्व समुदायले सञ्चारकर्मको अनौपचारिक ‘कमाण्ड’ सम्हालेको थियो । त्यतिबेला यो समुदायले ‘जिउँदो समाचारपत्र’ र ‘जिउँदो रेडियो’ को रूपमा सूचना प्रवाह गर्‍थ्यो । यसबाट समसामयिक सूचनाको प्यास मेटाउन भरथेग सहयोग पुग्थ्यो । 

तीर्थबहादुर गन्धर्व रेडियो नेपालमा जागिरे हुनुभन्दा अघि यही प्रकृतिको सञ्चारकर्ममा संलग्न थिए । उनी आफ्नो घर दूधेकुना (तनहूँ) बाट सारङ्गी भिरेर तनहूँ तथा लमजुङका गाउँबस्तीहरू डुल्थे । सानै उमेरदेखि कर्खा गाउँथे । मायामोह र विरह–व्यथाका गीत पनि गाउँथे । उनको गीतमा गाउँबस्ती झङ्कृत र तरङ्गित हुन्थ्यो । गीत सुन्दासुन्दै कतिको आँखामा आँसु टल्पलाउँथ्यो त कतिको ओठमा मुस्कान फक्रन्थ्यो ।

उनले आफ्नोे सांगीतिक यात्राले लाहुरे समुदायसँग जोडेको नातालाई पनि बिर्सन मिल्दैन । छुट्टीमा घर आएका लाहुरेहरूले आफ्ना टेप रेकर्डरमा गन्धर्व गीत भर्थे । तीर्थबहादुर गन्धर्वले लाहुरे ल्याएका ठूला ठूला टेप रेकर्डरमा उनका गीत घन्कन्थे । स्थानीय जात्रा तथा सामाजिक जमघटहरू गुञ्जयमान हुन्थे । ती गीत लाहुरेसँगै जहाज चढेर हङकङ, बेलायत तथा बु्रनाइसम्म पुग्थे । विदेशी छाउनीमा स्वदेशी गीत घन्कन्थे । यहाँनेर, उनीको प्रतिभा विस्तारमा लाहुरेको समुदायले अप्रत्यक्ष रूपमा लाएको गुनलाई बिर्सन मिल्दैन । 

गाउँबस्तीहरूमा नेपालीपनले ओतप्रोत भएका गीत गाउँदै हिँडदा उनको जीवनले अचानक नयाँ मोड लियो । लमजुङ घुम्न निस्केका रेडियो नेपालका एक हुल कलाकारसँग लमजुङको सुन्दरबजारमा उनको जम्काभेट भयो । त्यस हुलमा पाण्डव सुनुवार (वि.सं.२००९–२०६३), राम थापा (वि.सं.२०१५–२०६५), बमहादुर कार्कीलगायतका कलाकारहरू थिए । 

त्यो जम्काभेटले रेडियो नेपालमा लोकसङ्गीतको फाँट सम्हालेर बसेका ती कलाकारलाई तीर्थबहादुर गन्धर्वको प्रतिभासँग परिचित हुने मौका दियो । गन्धर्वको कला र गलाबाट उनीहरू प्रभावित पनि भए । यही जौमेसोमा उनी २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरे, वाद्यवादकको रूपमा । गाउँबेंसीको सीमित दायरामा सुनिने उनका गीतहरू अबचाहिँ रेडियो नेपालबाट पनि घन्कन थाले । 

शुरुवाती चरणमा उनले पाण्डव सुनुवारले सञ्चालन गर्ने लोकगीतसम्बन्धी ‘चौतारी’ कार्यक्रममा सारङ्गी बजाउने र गीत गाउने गरेपछि उनी थप चर्चामा आए । उनको परिचयको घेरा फराकिलो हुँदै गयो । त्यस समयमा उनी साङ्गीतिक यात्राको शिखर आरोहणको क्रममा थिए ।

तीर्थबहादुर गन्धर्वको साङ्गीतिक यात्राको उभारले एउटा विरोधाभाषपूर्ण समयको प्रतिनिधित्व गर्छ । त्यस कालखण्डमा गन्धर्व सङ्गीतले विडम्बनापूर्ण नियति भोग्दै थियो । जतिबेला उनीजस्ता ‘ग्रासरूट्स’ का ‘नाङ्गेपाउ गायक’ राष्ट्रिय प्रसारण संस्थामा प्रवेश गर्दै थिए, त्यही समयमा गन्धर्व संस्कृतिको जीवन्त पाटोको रूपमा रहेको कर्खा हराउँदै थियो । शायद, समयको हावा नै त्यसरी बहेको थियो । 

यो विडम्बनालाई एकछिन बिर्सिएर उनको योगदानलाई सम्झने हो भने उनले प्रशंसायोग्य काम छन् । गाउँघरका मौलिक भाकाहरू विस्तारमा उनको उल्लेखनीय योगदान रह्यो । उनले तुकबन्दी गीतमात्र गाउँदैनथे, बीच–बीचमा भट्टयाएर गीतलाई रोचक,  घोचक र सुललित बनाउँथे । यो नै उनको गायनकलाको विशेषता थियो ।  

गीत भट्टयाउने क्रममा दुई मिनेटमा नेपालका नयाँ–पुराना सबै ब्रान्डका चुरोटको नाम लिन भ्याउँथे । उनको गीत भट्टयाइले सासू–बुहारी बीचको किचलो, श्रीमतीले लाहुरे श्रीमान्लाई पठाएको घुर्कीपूर्ण पत्र, जिन्दगीको पत्झडपनजस्ता तमाम सामाजिक परिवेशलाई समेट्थ्यो । उनको गीत बज्दा ग्रामीणजन रेडियोमा कान थापेर सुन्थे र अल्हादित हुन्थे । 

उनले गाउँबस्तीका विरह–वेदनाले भरिएका भाकाहरू सारङ्गीको झङ्कारसँगै गाए । पसिनाले पैसा साटेर ल्याउने मुगलानी, साहू–महाजनको थिचोमिचो सहन विवश सीधासाधा ग्रामीणजन, छोरीबुहारीले भोग्नुपर्ने हेँलाहोचोबारे मर्मभेदी गीत गाए, जुन गाउँबस्ती बेहद लोकप्रिय रहे । धेरैले मेलापात र वनपातमा उनको गीत गुनगुनाए र गुनगुनाइरहेका छन् ।

छोरीचेलीको कुरा गर्दा उनीहरूले दुर्भाग्यपूर्ण नियतिबारे चर्चा गर्नुपर्ने हुन्छ । कुनै जमाना यस्तो थियो – छोरीलाई केटा मन पर्न पर्दैनथ्यो, आमा–बाउलाई मन परे पुग्थ्यो । सबैलाई जगजाहेर नै छ, छोरीचेलीले कुनै सहमति र पूर्वजानकारी बिना जन्मघर छाडेर पराइघर जानुपर्‍थ्यो । यही नियतिले निर्माण गरेको छोरीचेलीको मनोविज्ञानबारे उनले गीत गाएका छन् : ‘म छोरीको हारेको कर्म, जन्मे यहाँ मर्नु छ कुन घरमा, पारि वन रुन्छ मेरो मन’ ।

मार्मिक र भावुक गीतसँगसँगै उनले ठट्यौला र व्यङ्ग्यविनोदी प्रकृतिका गीत पनि गाएका छन् । उनको चर्चित गीत ‘आइ एम सरी...’ यही श्रेणीका गीत हो । यसमा आधुनिक महिलाको चरित्र–चित्रण गरिएको छ । गीतमा प्रयुक्त कतिपय शब्द र भावप्रति महिला अधिकारका दृष्टिले आपत्ति जनाउन सकिने ठाउँ छन् । 

तीर्थबहादुर गन्धर्व कर्खा गाउने अन्तिम पुस्ता हुन् । उनीभन्दा पछिका पुस्ताले कर्खालाई निरन्तरता दिन सकेनन् । उनी बाढी–पहिरोले पुर्‍याएको जनधनको क्षति, हत्या, कुनै व्यक्ति प्रदर्शन गरेको असामान्य बहादुरी आदिलाई घट्नाप्रधान गीतका रूपमा प्रस्तुत गर्न खप्पिस थिए । तत्कालीन समयमा गाउँठाउँमा यस्ता गीतले निकै ख्याति कमाएका थिए । उनको पुस्तापछि गाउँघरमा कर्खा सुनिन छाड्यो ।  

लोकगीत आफैंमा सञ्चार हो । उनी एक अर्थमा प्रभावोत्पादक सामाजिक सञ्चारकर्ता थिए । उनले जनमनमा हासिल गरेको लोकप्रियतालाई दृष्टिगत गरी उनको स्वरमा विभिन्न विषयमा ‘जनहितकारी विज्ञापन’ (पीएसए) तयार गरिएका छन्, जुन रेडियोहरूमा अझै गुञ्जन्छन् । सङ्गीतकर्ममा संलग्न हुँदा उनले धेरै लोकगीतमा सारङ्गीको धून भरे । चलचित्रका गीतमा सारङ्गीको धून भर्ने मौका पनि पाए ।

यही सिलसिलामा उनलाई अवसरको मधुमासले पछ््यायो । एकपटक उनलाई सङ्गीतकार शम्भुजीत बास्कोटाले सारङ्गी मुम्बई लगे । त्यही सिलसिलामा उनी बलिउडका चर्चित सङ्गीतकार आरडी बर्मन (सन् १९३९–१९९४) को सम्पर्कमा आए । सङ्गीतकार बर्मनले उनको सारङ्गीवादन मन पराए । बर्मनले उनलाई आफूसँगै बसेर काम गर्न भने तर घरमा छोरी बिरामी भएकाले उनी त्यहाँ बस्न सकेन । उनले यो कुरा एउटा भिडियो अन्तरवार्तामा बताएका थिए । 

‘ग्रासरूट्स’ बाट उठेर लोकगीतको क्षेत्रमा ख्याति कमाएका तीर्थबहादुर गन्धर्वको गलाबाट ‘कपालु कोरेर...’, ‘चरी बस्यो बरको डालीमा...’, ‘आइ एम सरी...’, ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ गुञ्जिए, जुन बिछट्टै हिट भए । उनले ‘छड्के सलाम’, ‘चरी बस्यो’, ‘सानु’ जस्ता दर्जनौं अल्बममार्फत् लोकभाकाहरूको श्रीवृद्धि गरे । 

लोकगीतलाई जीवनधारा सम्झने उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । यस्तैमा २०७० साल भदौ २७ साँझमा उनलाई हृदयघात भयो । भोलिपल्ट सूर्यको पहिलो किरण धर्तीमा पर्नुभन्दा धेरै अघि नै उनी दुनियाँबाट अस्ताए ।

उनको निधनबाट नेपाली समाजले मौलिक स्वरका धनीलाई मात्र गुमाएन, कुशल सारङ्गीवादक पनि गुमायो । उनले नेपाली लोकसङगीतलाई अझै गुन लाउन बाँकी नै थियो तर यो आग्रह विधातालाई मञ्जुर भएन । उनले सिर्जना गरेका सारङ्गीका धुन र स्वराङकन गरेका गीतहरू नै उनले हामीलाई छाडेर गएका सम्झना कोसेली हुन् ।

[साभार : गोरखापत्र 'शनिबार' । पुस २९, २०७४ । सामान्य परिमार्जनसहित । तस्बिर : गुगल]

Sunday, May 28, 2017

समाजसेवाको मियो

-यमबहादुर दुरा

‘बच्चाको आँखाबाट दुनियाँलाई हेर्ने गर, दुनियाँ सुन्दर छ ।’ नोबेल पुरस्कार बिजेता भारतीय बालअधिकारकर्मी कैलाश सत्यार्थीको भनाइ मलाई ज्यादै प्यारो लाग्छ । बाल्यकालीन सम्झनाले मलाई पनि कुनै एउटा सुन्दर दुनियाँतिर लगेको अनुभूति हुन्छ  र त्यसै त्यसै बाल्यकालीन संसारमा हराउन पुग्छु । सम्झनाको  भेल उर्लिएर आउँदा पुराना पलहरू भुमरी पर्दै आँखा अघि नाच्न थाल्छन्  ।

बाल्यकालीन समयतिर फर्कँदा थुपै व्यक्तिहरूसँग मनले मितेरी गाँस्न पुग्छ । समाजसेवी  जिमु भीमबहादुर दुरा (वि.सं. १९८६–२०६९) मेरो मनमस्तिष्कमा छाल बनेर आउने व्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँसँग जोडिएका यादहरू तालको पानीझैं छचल्किएर हृदयको अन्तरकुन्तर छुन आइपुग्छन् ।
सम्झना : २०५८ सालमा ठूलोस्वाँराको सरस्वती सदन माविमा आयोजित 'दुरा सेवा समाज' को आठौं वार्षिकोत्सव समारोहमा जिमु भीमबहादुर दुरा ।

भीमबहादुर दुरासँगको सम्झना मेरो शिक्षाराम्भको समयदेखि नै जोडिएको छ । हामीले ठूलोस्वाँरास्थित मुसेस्वाँराको कटेरो स्कुल (हालको आयुर्वेद औषधालय रहेको ठाउँ) मा साउँ अक्षरहरू सिक्दै गर्दा ‘दिलखुस’ हुने खालको एउटा खबर सुन्यौँ । त्यो २०३४ सालतिरको कुरा हो । टिनको छानो भएको नयाँ स्कुल बन्न लागेको खबर पायौँ । यसले हामी भुसुनाहरूमा उत्साहको तरङ्ग ल्याइदियो । यससँगै नयाँ स्कुलमा पढ्ने हतारो र हुटहुटीले सताइरह्यो । कहिले टिनको छानामुनि बसेर पढ्ने दिन कहिले आउला भन्ने कुराले हामीमा छटपटी बढ्दै थियो ।

हामी भुसुनाहरुको मनमा सपना-जपना जतिखेर पनि आइरहने नयाँ स्कुल बनाउने कार्यमा ब्रिटिश सेनाका कर्णेल जेपी क्रसको योगदानलाई बिर्सन मिल्दैन । स्कुलका लागि टिन र प्राविधिक सहयोग जुटाउन उहाँले संयोजनकारी भूमिका खेल्नुभयो । यता, स्थानीय तहमा नेतृत्वदायी भूमिकामा भीमबहादुर दुरा हुनुहुन्थ्यो । मलाई लाग्छ, त्यतिबेला भारतीय सेनाबाट पेन्सन पकाएर उहाँ भर्खरै स्वदेश फर्कनुभएको थियो ।

स्कुल उभ्याउनका लागि आवश्यक जनश्रम जुटाउने र सारा चाँजोपाँजो मिलाउने काम भीमबहादुर दुराको नेतृत्वमा भएको थियो । सुबेदार मेजर मनबहादुर दुरा (शिक्षक दुर्गाबहादुर दुराका पिता) को पनि यसमा दर्बिलो साथ र सहयोग थियो ।

ठूलोस्वाँराबासीको अथक परिश्रमपछि अन्ततः स्कुल तयार भयो । स्कुल बन्नुअघिको चिहानघारी अब विद्या–मन्दिरको रूपमा चम्कन थाल्यो । स्कुल बनाउने क्रममा जमिन खन्दा थुप्रै मानव कंकाल निस्केका थिए । ती दृश्य यही आँखाले देखेको हो । चिहानघारीलाई विद्या–मन्दिर बनाउन ठूलोस्वाँराबासीले धेरै पसिना बगाएका छन् । उनीहरूको जनश्रमको गाथा स्कुलको ढुङ्गा र माटोको कण–कणमा लुकेको छ । त्यसबेला बेगनास तालबाट टिन बोकेर स्कुलको छानो छाएका पलहरू ठूलोस्वाँराबासीको मनमस्तिष्कमा ताजै छ । अनेक दुःखकष्ट झेलेर शिक्षाको मन्दिर खडा गर्ने श्रमसाध्य व्यक्तिहरूको अग्रदस्तामा भीमबहादुर दुरा उभिनुभएको थियो ।

स्कुल तयार भएपछि उहाँ स्कुलमा नियमितजसो देखिन थाल्नुभयो । विद्यार्थीहरूलाई लाइनमा उभ्याएर फौजको कमाण्डर शैलीमा उहाँले 'लेक्चर' दिनुहुन्थ्यो । उहाँको बोलीमा विनयशीलता कम हुकुम बढी भएको प्रतीत हुन्थ्यो ।

‘सबैजना ट्याममा स्कुल आउला, कोइ भागेर घर नजाला, कसैले स्कुलमा मिठाइको पोका नल्याउला, कसैले पनि साथीसित झगडा नगर्ला, स्कुल छुट्टी भएपछि सरासर घर जाला, कोइ पनि पाखुरीको रुखमा नचढ्ला, सफा सुग्घर भएर स्कुल आउला’, उहाँको मुखारविन्दबाट यस्ता यस्ता हुकुम निस्कन्थे ।

‘कुन विद्यार्थी आधा दिनमै स्कुलबाट भाग्यो’, ‘कुन शिक्षकले नपढाइकन घरतिर टाप कस्यो’ जस्ता कुराहरू निकै ख्याल गर्नुहुन्थ्यो । स्कुल बङ्क गरेर भाग्ने र अन्य खालका बदमासी गर्नेहरूको उहाँले सातो खाइदिनुहुन्थ्यो । उहाँलाई देखेर शिक्षक र विद्यार्थी दुवै थर्कमान हुन्थे ।
त्यो उत्सवमय क्षण : २०४३ सालमा सिंदुरे ढुङ्गामा आयोजित फूटबल प्रतियोगिताको समपान समारोहमा पुरस्कार वितरण गर्नुहुँदै तत्कालीन सिंदरे गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्च क्रमश : क्याप्टेन बखानसिंह दुरा र भीमबहादुर दुरा । तस्बिर : इन्द्रबहादुर दुरा ।


अघिपछि चर्को स्वरमा बोलेर सातो खाए पनि व्यवहारले सबैलाई माया गर्नुहुन्थ्यो । त्यसमा पनि शिक्षकलाई माया र सम्मान दुवै दिनुहुन्थ्यो । नाच–घाँटुको ख्वाइजस्ता भोजभतेरमा सबैभन्दा पहिले शिक्षकलाई खुवाउने प्रबन्ध मिलाउनुहुन्थ्यो । उहाँ भान्छेरीलाई कड्केर आदेश दिनुहुन्थ्यो, ‘मास्टर पाटीलाई पहिले  खुवाउनुपर््यो । 'गुन्द्रीमाथि कम्बल राखेर माड्सापहरूलाई बसाइन्थ्यो । उहाँ शिक्षकहरूतिर फर्केर सिंह गर्जेजस्तै स्वरमा भन्दै जानुहुन्थ्यो, ‘मास्टर पाटी ! लाज नमानीकन खानू, थपीथपी खानू, पेटभरि खानू ।’


भीमबहादुर दुरा हठी स्वभावको हुनुहुन्थ्यो । उहाँ जिम्मावाल भएकोले उहाँको जीवनधारामा राणाशासनको विरासत थियो । यसका अतिरिक्त फौजी कानुन-काइदामा चलेको व्यक्ति हुनुहुन्थ्यो । उहाँ भारतीय सेनाको हवल्दार हुनुहुन्थ्यो । उहाँको व्यवहारमा जिम्मुवाली संस्कार र फौजी जीवनशैलीको ‘फ्युजन’ भेटिन्थ्यो । चर्को स्वरमा बोलेर मानिसलाई अह्राउने–कजाउने उहाँको बानी थियो ।

कसैले उहाँको विचारमा विमति जनाएमा ठाउँका ठाउँ कुरा समातेर झम्टिन पनि पछि पर्नुहुन्नथ्यो । उहाँको चट्टानी स्वाभावका अगाडि कसैको तर्कले काम गर्दैनथ्यो । ‘कालको ओखती हुँदैन, हुकुमको जवाफ हुँदैन’ भन्ने उखान चरितार्थ हुन्थ्यो । उहाँको स्वाभावलाई देखेर कसै कसैले तानाशाह पनि भन्थे । उहाँमा निहित यतिविधि कडापन निजी स्वार्थका थिएन । त्यो कडा मिजासले समाजको विकास ताकेको थियो ।

भीमबहादुर दुराको अर्को रोचक स्वाभाव थियो । उहाँले बाटोघाटोमा चुपचाप हिँड्न जान्नुभएकै थिएन । आफ्नो बाटोमा पर्ने सबै चिनेजानेका व्यक्तिलाई टाढैबाट बोलाउँदै, हल्लाखल्ला गर्दै हिँड्ने उहाँको आदत थियो । उहाँ बाटोघाटोमा हिँडेको अलक्कै थाहा हुन्थ्यो । उहाँ हल्लाखल्ला गर्दै आउनुभएको देखेर मैदान (ढुङ्गाना गाउँ) को एकजना बज्यैले भनेकी थिइन् रे : ‘आइपुग्यो, भोटे काग’ ।

उहाँको शब्द उच्चारणशैली आफ्नै खालको थियो । चलनचल्तीका कतिपय नेपाली र अंग्रेजी शब्दहरूलाई भिन्न किसिमले उच्चारण गर्नुहुन्थ्यो । जस्तै : निर्णयलाई निर्लया, 'सर्टिफिकेट' लाई साठीपिकेट, 'ब्रेक अप' लाई बिर्काप (स्कुलमा एक बजे हुने हाफ छुट्टीको समय), 'फल इन लाइन' लाई फालिन भन्नुहुन्थ्यो । उहाँले अपभ्रंशित रूपमा बोल्नुभएका शब्दहरूका शुद्ध उच्चारण धेरै पछिमात्र थाहा भयो । उहाँको मौलिकता झल्कने यस्ता शब्दहरूलाई सम्झँदा अहिले पनि रोमाञ्चक अनुभूति हुन्छ ।

घरमा आउने पाहुनालाई बिमुख नपठाउने भीमबहादुर दुराको स्वभाव थियो । उहाँको अतिथि–सत्कार गर्ने तरिका ज्यादै उच्चकोटिको थियो । उहाँ पाहुनाको स्वागत–सत्कारमा असाध्यै कुशल र उदारमना व्यक्ति हुनुन्थ्यो । घरमा आएका पाहुनाले खान सकोस्–नसकोस्, थालभरि भात र कचौराभरि मासु टक्र्याइन्थ्यो । पाहुना प्रफुल्लित भएर फर्कन्थे । यस्तै न्यानो आतिथ्य पाएर होला, २०४२/०४३ सालतिर लैला माडेज नामकी विदेशी महिलाले उहाँकै घरमा बसेर दुरा जातिबारे अध्ययन पूरा गर्नुभएको थियो ।

कुनै समयमा ठूलोस्वाँरामा खानेपानीको उपलब्धता सहज थिएन । मकैस्वाँराको काउरे पँधेरा सबैको पानीको स्रोत थियो । ठूलोस्वाँरामा ठूलो जनसंख्यालाई आवश्यक पर्ने पानीको अभाव हटाउन २०३७ सालतिर खानेपानीको योजना अघि सारियो । केउरानी नजिकको गह्रौं खोलाबाट पानी ल्याउने कार्यका लागि जनपरिचालन गर्ने कार्यको अगुवाइ पनि भीमबहादुर दुराले नै गर्नुभयो ।

 ठूलोस्वाँरामा आयुर्वेद औषधालय तथा हुलाक कार्यालय उहाँको महत्वपूर्ण भूमिका रह्यो । नयाँ भवन यस दिशामा शिक्षक लोकबहादुर दुराले खेल्नुभएको रचनात्मक भूमिकालाई कम आँक्न मिल्दैन । नयाँ स्कुल बनेको लगभग १७ वर्षपछि त्यही ठाउँमा आधुनिक शैलीको अर्को स्कुल भवन खडा गर्न ठूलोस्वाँराबासी कस्सिए । २०५२ साल सम्झौता भई २०५५ सालमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।  नयाँ भवन पहाड गुठी (हिल ट्रष्ट) को आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ भवन बनेको थियो ।

समयले माग गरेको नयाँपन र प्रगतिशीलतालाई सम्बोधन गर्दै नयाँ भवन खडा हुुनुमा धेरै गन्यमान्य व्यक्तित्वहरूको साथ र सहयोग रह्यो । क्या. बखानसिंह दुरा (वि.सं. १९७१–२०७०), भीमबहादुर दुरा (मकैस्वाँरा), स्थानीय शिक्षक लोकबहादुर दुरा एवम् जेपी क्रसको आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका रह्यो । भवन निर्माण प्रक्रियाको मियोको रूपमा  भीमबहादुर दुरा नै रहनुभएको थियो । उक्त नयाँ भवन २०७२ साल वैशाखको भूकम्पबाट बिग्रन पुगेको छ ।

उहाँ एउटा असल सामाजिक प्राणी हुनुहुन्थ्यो । उहाँ सामाजिक जीवनबाट टाढा रहेर घरको सुखीधन्दामा कहिल्यै पनि सीमित हुन चाहनुभएन । पारिपारिक दायरामा आफ्नो दिनचर्या सीमित गरेर 'स्वायन्त सुखाय' ढङ्गमा जीवन गुजार्न उहाँले कहिले रुचाउनुभएन । सामाजिक गतिविधि र सामाजिक उतारचढावहरूमा गहिरो चासो–खाँचो राख्नुहुन्थ्यो । पेन्सन पकाएर घर फर्केदेखि उहाँले स्कुलसँगको नाता टुटाउनु भएन । उहाँ जीवनको अन्त्य कालसम्म पनि सरस्वती सदन माविको विद्यालय व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो ।

विदेशी सेनामा भर्ती हुने क्रममा दुरा समुदायले पहिचानको संकट भोगेको थियो । भारतीय तथा ब्रिटिश सेनामा भर्ती हुने क्रममा दुरा थर लेखाउँदा भर्तीमा नलिने अवस्था थियो । यो समस्या दुरा समुदायको रोजीरोटीको मात्र समस्या थिएन, जातीय पहिचानको संकटको रूपमा पनि खडा भएको थियो । तत्कालीन अग्रदस्तामा रहेका व्यक्तित्वहरू समस्याको निकास खोज्दै थिए ।

यही मामिलालाई लिएर २०३७ सालको पुसमा क्या. बखानसिंह दुरा, भीमबहादुर दुरा, सुबेदार मेजर मनबहादुर दुरा, कमानसिंह दुरा र लोकबहादुर दुरा काठमाडौं आउनुभयो । उहाँहरूले राजदरबार, परराष्ट्र मन्त्रालय, भारतीय राजदूताबास तथा बेलायती राजदूताबासमा ज्ञापनपत्र पेश पेश गर्नुभयो । यस कार्यमा समाजसेवी तथा राजनीतिज्ञ हरिप्रसाद अधिकारीले सहयोग गर्नुभएको थियो । उहाँहरूको प्रयास सार्थक रह्यो । त्यसपछि दुरा युवाहरू भारतीय तथा बेलायती सेनमा दुरा थर लेखाएर भर्ती हुन सक्ने भए ।

काठमाडौँ गएको मौका पारेर उहाँहरूले पशुपतिको मृगस्थलीमा पुगेर योगी नरहरिनाथलाई भेटेर दुरा समुदायको इतिहासको स्रोत र सन्दर्भ खोज्नुभएको थियो । महत्वपूर्ण कागजातहरूको दस्ताबेजीकरण (अभिलेखीकरण) गर्ने कार्यमा कार्य पनि भीमबहादुर दुरा धेरै अगाडि देखिनुभएको छ । उहाँको संग्रहमा दुरा जातिको इतिहाससम्बन्धी ऐतिहासिक दस्ताबेजहरू छन् । उहाँको जीवनकाल अन्त्य भइसकेको अहिलेको अवस्थामा ती दस्ताबेजलाई जोगाउने विषय एउटा गम्भीर सवाल बनेको छ ।

क्याप्टेन बखानसिंह दुरा र भीमबहादुर दुरा २०३९ सालमा तत्कालीन सिंदुरे गाउँ पञ्चायतको क्रमशः प्रधानपञ्च र उपप्रधानपञ्च बन्नुभयो । उहाँहरूकै कार्यकालमा सिंदरे ढुङ्गाले काँचुली फेरेको थियो । त्यही समयमा सिंदुरे ढु्ङ्गा वरिपरि पर्खाल लगाउने र सिंदुरे ढु्ङ्गा नजिक गाउँ पञ्चायत भवन बनाउने काम सम्पन्न भएको थियो । सिंदुरे ढु्ङ्गाभन्दा पश्चिमतिर रहेको चिम्मु भन्ने ठाउँमा फुटबल मैदान बनाउने कामको शुरुवात पनि त्यतिबेलै भएको थियो । हेर्दा सामान्यजस्तो लागे पनि यी काम हाम्रा ऐतिहासिक विरासतलाई जीवन्त राख्ने दिशामा गौरवशाली कदम थिए ।

‘दुरा सेवा समाज’ को सिफारिसमा २०५८ सालतिर तत्कालीन ‘राष्ट्रिय जनजाति विकास समिति’ को सदस्यमा नियुक्त हुनुभएका भीमबहादुर दुराले सरकारी निकायमा रहेर भिन्न किमिसले जनसेवा अवसर पनि पाउनुभयो । तर त्यो एकप्रकारले आलङ्कारिक पद भएकोले उहाँबाट धेरै आशा गर्ने ठाउँ भने थिए ।

उहाँको राजनीतिक चेत अलि धमिलो भएको भान हुन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि धेरैको राजनीतिक कित्ताकाट भए पनि उहाँको कुनै प्रष्ट राजनीतिक कित्ता देखिएन । कतिपयले उहाँ नेपाली कांग्रेस समर्थित रहेको र पछि मूल सिद्धान्तबाट  विचलित हुनुभयो भन्ने टीका–टिप्पणी पनि नसुनिएको होइन । उहाँले समाजलाई दिनुभएको योगदानका अगाडि यस्ता कुरा महत्वहीन लाग्छन् ।

एकजना व्यक्तिको रूपमा उहाँभित्र स्वाभाविक रूपमा थुप्रै कमीकमजोरी थिए होलान् । तर पनि समाजको लागि नपाउँदो व्यक्ति हुनुहुन्थ्यो । उहाँ त्यस क्षेत्रको घनघोर कडा व्यक्तित्व हुनुहुन्थ्यो । एकै रातको चोट्टे व्यथाले २०६९ साल साउन १७ गते परलोक हुनुभयो ।

एक समय यस्तो थियो, भीमबहादुर दुरा बोलेपछि अरू कसैले प्रतिवाद गर्ने अवस्था थिएन । गाउँघर अनावश्यक वादविवाद र किचलोबाट मुक्त थियो । त्यसबेला गाउँ एकढिक्क थियो । अहिले त्यस्तो छैन । लोकतान्त्रिक परिपाटीमा सबै स्वतन्त्र भएका छन् तर गाउँमा एकता छैन । कहिलेकाहीँ आफैंसँग प्रश्न गर्न मन लाग्छ, 'समाजको मियो ढलेकोले यस्तो अवस्था आएको त हैन ?'

[अद्यावधिक: २०७४।०३।१०]