Sunday, March 22, 2020

कोरोना सङ्क्रमित अर्थतन्त्र


–यमबहादुर दुरा

दुनियाँ कोरोना भाइरस (कोभिड–१९) को आतङ्कले त्रस्त छ । विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललगायत दक्षिणपूर्वी एशियामा कोरोना भाइरस फैलन  सक्नेतर्फ  सचेत तुल्याएको छ ।

कोरोना भाइरसले निम्त्याएको स्वास्थ्यसम्बन्धी समस्या स्वाभाविक रूपमा गम्भीर र दुःखदायी छ । यसको अर्को पनि दुःखदायी पाटो छ । त्यो हो, आर्थिक पाटो । कोरोना भाइरसले दुनियाँको आर्थिक पाटोमा नकारात्मक असर पारिसकेको छ । यसले विश्व अर्थतन्त्रमा थप समस्या निम्त्याउँदै गएको छ । यसले विश्व अर्थतन्त्रमा कुन हदसम्म दुरगामी दुष्प्रभाव पार्ने हो, यसै भन्न कठिन छ ।

कोरोना भाइरसको प्रकोपका ठूलै मानवीय तथा आर्थिक मूल्य चुकाउनुपरेको छ । चीनलगायतका औधोगिक गतिविधिमा कमी आएकाले विश्वबजारमा तेलको मूल्यमा ६८ प्रतिशतसम्मको उच्च गिरावट छ । विश्वको सेयरबजार निरन्तर ओरालो लागेको छ । यी आर्थिक घटनाक्रमलाई कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारको दुष्प्रभावको सूचकको रूपमा लिन सकिन्छ ।

कोरोनाको विश्व भ्रमण बढ्दै जाँदा विभिन्न देशले जमिन र हवाइ गरी दुवै किसिमका ‘कनेक्टिभिटी’ बन्द गरिसकेका छन् । खुल्ला आवाज जावतको अवधारणामा चलेका कतिपय युरोपेली मुलुकले पनि एक अर्कासँग सम्पर्क विच्छेद गरेका छन् । विश्वका आवगमनमा आउनुको अर्थ विश्व अर्थतन्त्रमा शिथिलता आउनु पनि हो ।

कोरोना भाइरसको तीव्र विस्तारसँगै आवतजावतमा लगाइएको प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर धक्का पुग्न गएको छ । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको  सार्स संक्रमणको समयमा भएको क्षतिभन्दा कैयौँ गुणा बढी हुने प्रक्षेपण गर्न थालिएको छ ।

कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रमा हालसम्म कति क्षति पुर्‍यायो भन्नेबारे आँकडा आउन थालेका छन् । ‘ब्लुम्बर्ग’ मिडियाले निकालेको एक आँकडा अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म विश्व अर्थतन्त्रमा २ं.७ खर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको छ । आउने समयमा यसको असर थप गम्भीर हुने सङ्केत देखिन्छ ।

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्दैछ ? आउँदा दिनमा यसको नतिजा के हुनेछ ? यसले देशको आर्थिक स्वास्थ्यलाई कसरी संक्रमित गर्दैछ ? यसबारे पनि चर्चा हुन थालेको छ । एशियाली विकास बैंकले कोरोना भाइरसको संक्रमण बढेमा नेपालको कुल गार्हस्थ उत्पादन ०.०४ प्रतिशत (१२.१२ मिलियन अमेरिकी डलर) सम्म खुम्चिने अनुमान गरेको छ ।

जगजाहेर नै छ, नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर हुँदै गएको छ । यी दुवै तुलनात्मक रूपमा अस्थिर र जोखिमपूर्ण मानिन्छन् । कोरोनाको विश्वव्यापी महामारीले नेपालको पर्यटन उद्योग र वैदेशिक रोजगारीमा धावा बोल्न शुरु गरिसकेको छ ।

नेपाल सरकारले वैशाख १८ गतेसम्म ‘अन अराइभर’ भिसा बन्द गरिसकेकको छ । कोरोना भाइरसको फैलावटसँगै पर्यटकको आवगमन घट्दै गएको पर्यटन व्यावसायीहरूको बुझाइ थियो । अहिलेको परिस्थितिले स्वाभाविक रूपमा पर्यटकको आवगमनलाई  मत्थर पार्दै लगेको छ  । यो प्रतिकूल अवस्थाले २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित शुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ त्यसै अलपत्र हुन पुगेको तथ्य सबै समक्ष छर्लङ्ग छ ।

कोरोना भाइरसले निम्त्याएको दुष्प्रभावको असर नेपालको पर्यटन उद्योगमा देखापरिसकेको छ । रोग सर्ने भयले यात्रा गर्ने क्रम घट्दो क्रममा छ ।  पर्यटन उद्योगसँग जोडिएका टुर अपरेटर, होटल–रेष्टुराँ, पथ प्रदर्शन, यातायात आदि क्षेत्रमा यसको दुष्प्रभाव पर्दै गएको समाचार आइरहेका छन् ।

सार्वजनिक जमघटका कार्यक्रम घट्न थालेका छन् । होटल बुकिङ धमाधम रद्द भएका छन् । टिकट बुकिङ र अन्य पर्यटकीय गतिविधि सुस्त हुन थालेका छन् । यससँगै भोलिका दिनमा आउने अनिष्ट सम्झेर पर्यटन उद्योगसँग जोडिएका कामदार तथा व्यावसायीहरू चिन्तामा डुब्न थालेका छन् ।

अर्कोतिर, कृषिमा निर्भर जनसंख्या क्रमिक रूपमा घट्दै गएको छ । अहिले ६५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यसले देशको कुल गार्हस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान दिएको छ । कृषिमा निर्भरता घटैसँगै ग्रामीण जनसंख्या पातलिँदै र शहरी जनसंख्या बढ्दै गएको छ ।

यसको अर्थ हो, सुखभोगी जनसंख्या बढ्दै जानु । देशको उत्पादनमूलक व्यावसाय कमजोर हुँदै गएको देखिन्छ । हामी उत्पादनमुखी भन्दा पनि उपभोगमुखी बन्दै गएको छौँ । समृद्ध अर्थतन्त्रको उचित आधार तयार नहुँदै उपभोगमुखी हुनु आर्थिक स्वास्थ्यका दृष्टिले उपयुक्त प्रवृत्ति होइन ।

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने युवा जनशक्ति वैदेशिक रोजगारीमा प्रवृत्ति प्रवृत्ति बढ्दै गएको छ । दैनिक १५ सय जति नेपाली युवा वैदेशिक रोजगारमा जाने गरेका आँकडाले एउटा भयानक तस्बिर प्रस्तुत गर्छ । देश निर्माणमा योगदान दिन सक्ने जनशक्ति काम र मामकै लागि मुगलान पस्नुपर्ने वाध्यताले राम्रो सन्देश दिँदैन ।

जे भए पनि वैदेशिक रोजगारीमा जाने चलन परम्परा नै बनिसक्यो । नेपाली समाज वैदेशिक रोजगारीमा अभ्यस्त हुँदै गइरहेको बेलामा कोरोना भाइरसको बढ्दो विस्तारले जटिलता निम्याएको छ । कतिपय रोजगारदाता देशहरूले नेपाली कामदार लिने काम पनि बन्द गरिसकेका छन् । यसबाट विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा रेमिटयान्स पठाएर घरपरिवार पाल्ने धेरैको बिचल्ली हुने अवस्था आउन सक्छ ।

एशियाली विकास बैंकले गरेको एक अनुमान अनुसार कोरोना भाइरसले नेपाली अर्थतन्त्रलाई संक्रमण गरेमा पाँच हजारदेखि लगभग १५ हजार व्यक्तिले रोजगारी गुमाउने देखिन्छ । यद्यपि, यो अनुमान मात्र हो । कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रमा पार्ने तमाम दुष्प्रभावको यथार्थ विवरण अहिले नै पेश गर्न गाह्रो छ ।

यसरी रोजागारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा निर्भर व्यक्तिहरू नै पहिलो पंक्तिमा हुने अनुमान गर्न कठिन छैन । तर, यसको असर यतिमा मात्र सीमित रहने छैन । नाङ्लो पसलेदेखि डिपार्टमेन्ट स्टोरसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल व्यावसायीसम्म, सारङ्गी रेटेर हिँड्ने गन्धर्वदेखि विविधतापूर्ण मनोरञ्जन उद्योगसम्म र ट्याक्सी ड्राइभरदेखि विमान कम्पनीसम्म यसको प्रत्यक्ष वा अप्रत्यक्ष दुष्प्रभावबाट बँच्न सक्ने देखिन्न ।

अहिलेको जटिल परिस्थितिले २०७२ सालको अघोषित भारतीय नाकाबन्दीको समयमा चलेको प्रसंग पुनः स्मरण गराएको छ । त्यसबेला नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणको प्रसंग चर्कै चलेको थियो । तर, अवस्था सहज भएपछि त्यो प्रसंग त्यसै सेलायो । सङ्कटको घडीमा मात्र आदर्शपूर्ण सोचाइ आउने रोग हामीमा छँदैछ । त्यसको पुनरावृत्ति अहिले पनि भएको छ ।

कोरोना भाइरसको महामारीले निम्त्याएको निराशाको वातावरणलाई सच्याउने र जनमनमा आशा जगाउने कार्यक्रम ल्याउन आवश्यक छ । पर्यटन उद्योग र रेमिट्यान्ससँग क्रमिक रूपमा बढी निर्भर हुँदै गएको नेपाली अर्थतन्त्रको नयाँ क्षितिज उघार्न आवश्यक छ । अहिलेको विश्वव्यापी सङ्कटका समयमा नेपाली अर्थतन्त्रको आन्तरिक मजबुतीकरणका पक्षमा सोच्ने र व्यवहारमा उतार्ने अर्को मौका हो ।

[गोरखापत्र । २०७६ साल चैत ९ गते ।]




Friday, February 21, 2020

परम्परागत ज्ञानको पहिचान

–यमबहादुर दुरा

आधुनिक समाजले प्रगतिका तमाम फेहरिस्त पेश गरिरहेकै बेलामा मानव स्वास्थ्य स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर समस्या देखा पर्न थालेका छन् । यस्ता स्वास्थ्यसम्बन्धी समस्या आधुनिक जीवनशैलीसँग गाँसिएका छन् । सँगसँगै वातावरणीय समस्या पनि चुनौतीको पहाड भनेर उभिइरहेको छ । यो चुनौती पनि आधुनिक जीवनशैलीकै उपज हो ।
ग्राफिक्स गुगल

यस्ता भयानक समस्याका अगाडि विश्व समुदाय एक किसिमले निरीहझैं  देखिएको छ । कतिपय विज्ञले यी गम्भीर समस्या समाधानको उपाय परम्परागत ज्ञानमा रहेको विश्वास गर्छन् । यतिबेला धेरै विज्ञले परम्परागत ज्ञानको महत्व बोध गर्न थालेका छन् । अहिले परम्परागत ज्ञान दीनहीन अवस्थामा छ । यसलाई स्थानीय ज्ञान वा सामुदायिक ज्ञान पनि भनिन्छ । ती विज्ञले परम्परागत ज्ञानलाई मानव स्वास्थ्य र वातावरणमा आएका गम्भीर समस्यासँग जुध्ने उपायको रूपमा चित्रण गर्न थालेका छन् ।

विश्व बौद्धिक सम्पत्ति  सङ्गठन (विपो) ले परम्परागत ज्ञानलाई यसरी परिभाषित गरेको छ, ‘ज्ञान, व्यावहारिक ज्ञान, सीप र अभ्यास नै परम्परागत ज्ञान हो, जुन समुदायभित्र विकसित–सम्वर्द्धित  हुँदै एउटा पुस्ताबाट अर्को पुस्ता हस्तान्तरित हुँदै आएको छ । यसले मानिसको संस्कृति र आध्यात्मिक पहिचान पनि निर्माण गर्छ ।’
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार विश्वभरका आदिवासी जनजाति र स्थानीय समुदायले प्रयोगमा ल्याएका ज्ञान, नयाँ कार्य र व्यवहार नै परम्परागत ज्ञान हो । परम्परागत ज्ञान शताब्दीऔ लामो अनुभवबाट निर्मित हुन्छ, जसलाई स्थानीय संस्कृति र परिवेशले आत्मासात गर्छ । यो एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सर्छ । यस अन्तर्गत कथा, गीत, लोकसाहित्य, उखान, सांस्कृतिक मान्यता, विश्वास, सामुदायिक कानुन, स्थानीय भाषा तथा कृषिसम्बन्धी अभ्यासहरू पर्छन् । यसमा बोट–विरुवा हुर्काउने विधि तथा पशु व्यवस्थापन पनि पर्छन् । परम्परागत ज्ञान व्यावहारिक प्रकृतिको हुन्छ, जसमा माछापालन, स्वास्थ्य, बगैचा, वन तथा वातारवरण व्यवस्थापनलगायतका ज्ञान पर्छन् ।

पुस्तौं पुस्ताको अनुभवबाट खारिएर आएको हुनाले यसलाई स्वास्थ्यमैत्री र वातावरणमैत्री ज्ञान मानिएको छ । औषधि विज्ञान, खाद्यसुरक्षा, बीउ रक्षा, वन–वातावरण संरक्षणलगायत प्राकृतिक संशाधन व्यवस्थापनजस्ता मानव जीवन र प्रकृतिसँग जोडिएका तमाम विषयमा परम्परागत ज्ञान उपयोगी मानिएको छ ।

विश्वमा देखापरेको वातावरणीय समस्याको पृष्ठभूमिमा परम्परागत ज्ञानको महत्व झल्कन पुगेको देखिन्छ । परम्परागत ज्ञानको अस्तित्वलाई पहिचान गर्ने दिशाको औपचारिक पाइला सन् १९८० को दशकदेखि शुरु भएको देखिन्छ ।

सन् १९८३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले वातावरणीय समस्यालाई पहिचान गरी प्रस्ताव नं. ३८/१६१ पारित गर्‍यो । सोही वर्ष नर्वेजिय राजनीतिज्ञ ग्रु हार्मेल ब्रुंडल्याण्डको नेतृत्वमा ‘वातावरण र विकासका लागि विश्व आयोग’ गठन भयो ।

पछि आएर आएर त्यो आयोग ब्रुंडल्याण्ड कमिसन  नामबाट परिचित हुन पुग्यो  । विश्वको बिग्रँदो वातावरणीय समस्याबाट आदिवासी जनजातिलगायत स्थानीय समुदायमा परेको आर्थिक तथा सामाजिक अध्ययन गर्नु नै त्यस कमिसनको काम थियो ।

आदिवासी जनजातिलगायत स्थानीय समुदायको सामूहिक मानव अधिकार, स्थानीय अधिकार र आकाङ्क्षालाई स्वीकार गर्दै ब्रुंडल्याण्ड कमिसनले सन् १९८७ मा ‘हाम्रो साझा भविष्य’ शीर्षकमा प्रतिवेदन पेश गर्‍यो ।

‘ब्रुंडल्याण्डका रिपोर्ट’ यो प्रतिवेदन निकै चर्चित रह्यो । ‘दीगो विकास’ भन्ने शब्दावली पनि पहिलो पटक त्यही प्रतिवेदनमा प्रयोग भएको थियो । प्रतिवेदनले आदिवासी जनजातिबारे कार्यदल गठन गर्न पनि सिफारिस पनि गर्‍यो ।

सोही प्रतिवेदनको भावना अनुरूप सन् १९८९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आदिवासी जनजातिहरूको सामूहिक अधिकार (आइएलओ १६९) पारित गर्‍यो। अहिले नेपाल पनि यो अभिसन्धिको पक्षराष्ट्र बनिसकेको छ ।

यी सबै चरण र प्रक्रियामा कुनै न कुनै रूपमा परम्परागत ज्ञानलाई स्थान दिइएको छ ।
सन् १९९२ मा ब्राजिलको राजधानी रियो जेनेरियोमा सम्पन्न अन्तर्राष्ट्रिय वातावरण सम्मेलनले सामूहिक अधिकारको महत्वलाई आत्मासात गर्‍यो । सोही वर्ष सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले विभिन्न प्रजाति, इकोसिस्टम र भूस्वरूप बचाउन परम्परागत ज्ञानको महत्वलाई आत्मासात गर्‍यो ।

सन् १९९६ मा ब्युनस आयर्समा सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनले स्थानीय ज्ञानको सान्दर्भिकतालाई जोड दियो । यसले स्थानीय समुदाय र आदिवासी जनजातिलाई आफ्नो क्षेत्रको जैविक विविधताको देखभाल गर्न दिन सम्बन्धित सरकारहरूलाई आग्रह गर्‍यो ।

सन् १९९९ मा विश्व व्यापार सङ्गठनले व्यापारसँग जोडिएको बौद्धिक सम्पदाको सम्मान गर्न जोड दियो । त्यही वर्ष विश्व बौद्धिक सम्पत्ति सङ्गठनले सङ्गीत र परम्परागत डिजाइनबारे ‘फ्याक्ट फाइन्डिङ मिसन’ गठन गर्‍यो । यसैगरी, यसले बौद्धिक सम्पत्ति, आनुवांशिक संशाधन, जैविक विविधता, लोकसाहित्य र परम्परागत ज्ञानको अन्तरसम्बन्ध विभिन्न समयमा अध्ययन–अनुसन्धान अघि बढायो ।

यसैगरी, सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र जारी गर्‍यो । सन् २०१४ मा अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल’ सम्पन्न भयो ।

यी तमाम अन्तर्राष्ट्रिय सम्मलेन तथा अभिसन्धिका कागजातले परम्परागत ज्ञानको महत्वलाई उच्च स्थान दिएको पाइन्छ । आधुनिक रूप–रङ्गले भरिपूर्ण पश्चिमा विज्ञानले प्रभुत्व जमाउनु अघि विश्वका विभिन्न समुदायबीच परम्परागत ज्ञान  जीवन जिउने ज्ञान थियो । कतिपय ठाउँमा आज पनि प्रचलनमा छ । अहिले यसको अस्तित्व स्वतन्त्र सङ्कटमा छ ।

आधुनिक जीवनशैलीको चमकधमकले पूरै ओझेलमा परेजस्तो देखिए पनि परम्परागत ज्ञान सान्दर्भिकता र औचित्य मरिसकेको छैन । यसको संरक्षण र सम्वर्द्धन  गरी यसलाई जीवन चलाउने सफ्टवेयरका रूपमा गर्न आवश्यक छ । यसले हामी सबैको लागि समझदारी र सुझबुझ अपेक्षा गरेको छ ।

[लोकसंवाद । २०७६ साल फागुन ९ गते ।]

Wednesday, February 19, 2020

परम्परागत ज्ञानको दायरा

–यमबहादुर दुरा

‘अहिलेको सागमा न वास्ना छ, न त स्वाद छ । घिरौंलाको हालत पनि त्यस्तै छ - न वास्ना, न त स्वाद नै । पहिले पहिले घरमा साग पाकेको बाटोबाटै थाहा हुन्थ्यो । धारामा साग धुँदा रागले आँखा पोल्थ्यो । आजकल पुरानो वास्ना र स्वाद बाँकी नै छैन । के भएको यस्तो ?’ पुराना पुस्ताका मानिसबाट यस्ता टीका टिप्पणी बेलाबेला बखतमा सुनिन्छन् ।

साँच्चै, हिजोको स्वादिष्ट सागसब्जीको सुस्वादुपन कसले खोस्यो ? हाम्रो मनमा प्रश्न उब्जिन्छ । यसको सीधा गणित हाम्रो फेरिँदो जीवनशैली र अन्धाधुन्ध आधुनिकीकरणसँग जोडिएको छ । हामीले विकासको नाममा लहजबाजीका पछि लाग्यौँ । परम्परागत ज्ञानलाई त्याग्यौँ । रैथाने बीजबिजनलाई हेँला गर्‍यौँ। त्यसको ठाउँमा आधुनिक वर्णशंकर (हाइब्रिज) बीउबिजन ल्यायौँ । त्यसबाट पर्ने असरबारे ख्याल गरेनौँ । हाइब्रिज बीउबिजनबाट उत्पादित सागसब्जी हेर्दा सर्लक्क परेको देखिए पनि त्यसमा भनेजस्तो स्वाद छैन ।
ग्राफिक्स : गुगल

अहिले आएर हामीलाई रैथाने बीजबिजनको महत्वबोध भएको छ । तर, ती रैथाने बीजबिजन हामीबाट धेरै पर पुगिसकेका छन् । अब खोजेर पनि पाइने अवस्थामा छैन । सागसब्जीको कुरामात्र होइन, जनजीवनका अन्य आयाम आधुनिकताको अन्धानुकरणबाट संक्रमित हुन पुगेको छ ।

परम्परागत ज्ञानलाई नचिन्दा र त्यसलाई सम्मान गर्न नजान्दा रैथाने सागसब्जी हराए । अहिले हामीले चीज त पाएका छौँ तर त्यसको स्वाद र पोषण तत्व गुमाएका छौँ । परम्परागत ज्ञान, सीप र प्रविधिको कदर गर्न नजान्दा हामीले महत्वपूर्ण चीज गुमाएका छौँ र यो क्रम जारी छ ।

यस्ता प्रसंगले हामीलाई परम्परागत ज्ञानको महत्व सम्झनलाई बाध्य तुल्याएको छ । त्यसो भए के हो, परम्परागत ज्ञान ? यसले विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि’ को सचिवालयद्वारा सञ्चालित वेबसाइटमा परम्परागत ज्ञानको परिभाषा दिएको छ । त्यस परिभाषाको भावानुवाद यसप्रकार छ :

‘विश्वभरका स्थानीय समुदायको ज्ञान, नयाँ आविष्कार, अभ्यास आदिलाई परम्परागत ज्ञान भनिन्छ । शताब्दीऔं अघिदेखिको अभ्यास र अनुभवबाट परम्परागत ज्ञान निर्माण हुन्छ, जुन मूलतः मौखिक रूपमा एका पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । परम्परागत ज्ञानको स्वामित्व सामूहिक प्रकृतिको हुन्छ । परम्परागत ज्ञान  कथा, उखान–टुक्का, सांस्कृतिक मूल्य–मान्यता, विश्वास प्रणाली, रीतभाँत, प्रथाजनित कानुन, स्थानीय भाषा, कृषि कार्य, विरुवा रोप्ने–हुर्काउने विधि र घरेलु जनवारको प्रजननसँग सम्बन्धित प्रणालीमा रहन्छ । यसमा हजारौं वर्षदेखिका अभ्यास कामय रहन्छन् । परम्परागत ज्ञान कृषि, माछा पालन, स्वास्थ्य, बगैँचा तथा वन व्यवस्थापन, वातावरण संरक्षणजस्ता विषयसँग सम्बन्धित व्यावहारिक ज्ञान हुन् ।’

परम्परागत ज्ञान युगौंको प्रयोग, अनुभव र परीक्षणमा आधारित हुन्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको परम्परागतको इतिहास लामो हुन्छ । समयको कसीमा खरो उत्रिएकाले यसको उपयोगिताको दायरा पनि निकै व्यापक हुन्छ । परम्परागत ज्ञान सांस्कृतिक दृष्टिले समृद्ध र वातावरणीय दृष्टिले हितकर मानिन्छ । यसको महत्व अपरिमित छ ।

अहिले केमिकलयुक्त ‘प्रसेस्ड फुड’ ले मानव स्वाथ्यमा पारेको असरबारे चर्चा छ । खेतीपातीमा प्रयोग हुने कीटनाशकले मानव स्वास्थ, समग्र चराचर र वातावरणमा नकारात्मक असर परेकोमा सचेत विश्व समुदाय चिन्तित छ । आधुनिक जीवनशैलीले निम्त्याएको नकारात्मक असरले परम्परागत ज्ञानको महत्व बढाएको छ । अहिले यसको महत्व बढेर गएको छ ।

ग्रामीण भेग वा वन क्षेत्रमा बसोबास गर्ने समुदायका लागि मात्र होइन, आधुनिक उद्योग तथा परिमार्जित कृषि प्रणालीमा पनि परम्परागत ज्ञानको महत्व उत्तिकै उच्च छ । दीगो विकास, जमिन व्यवस्थापन, मेडिकल रिसर्च, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोत–साधनको व्यवस्थापनजस्ता विषयमा पनि परम्परागत ज्ञानको खाँचो महसूस गर्न थालिएको छ । यतिमात्र होइन, जलवायु परिवर्तनले निम्त्याएका जटिल समस्यासँग जुध्नका लागि पनि परम्परागत ज्ञानलाई एउटा भरपर्दो उपायको रूपमा लिन थालिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि परम्परागत ज्ञानलाई स्थान दिएको छ । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को धारा ३१ ले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान संरक्षणलाई जोड दिएको छ । ‘जैविक विविधतासम्बन्धी अभिसन्धि, १९९३ को धारा ८ ले आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञानसँगको घनिष्ट नातालाई सम्मान गरेको छ । साथै, परम्परागत ज्ञानले जैविक विविधता जोगाउनका लागि दिएको योगदानलाई कदर गरेको छ ।

अनुवांशिक संशाधन संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘नागोया प्रोटोकल, २०१४’ ले परम्परागत ज्ञानलाई उच्च स्थान दिएको छ । विश्व बौद्धिक सम्पत्ति संगठनले पनि परम्परागत ज्ञानलाई महत्व दिएको छ । संगठनको महासभाले सन् २००५ मा स्वेच्छिक कोष स्थापना गर्ने निर्णय गर्‍यो । यस अन्तर्गत परम्परागत ज्ञान र लोकसाहित्यलाई संरक्षण गतिविधि सञ्चालन भएका छन् । अहिले दीगो विकासका तमाम मामिलासँग परम्परागत ज्ञान जोडिन थालेका छन् ।

विश्वका सानो बौद्धिक जमातले परम्परागतलाई उच्च स्थान दिए पनि यसको अवस्था सन्तोषजनक छैन । परम्परागत अप्रकाशित ज्ञान अप्रकाशित अवस्थामा छ । यसबारे जनचेतनाको स्तर कमजोर छ । परम्परागत ज्ञान संरक्षणको इतिहास कमजोर छ । पुराना पुस्ताबाट नयाँ पुस्तामा ज्ञान हस्तान्तरण हुन सकेको छैन । परिणामस्वरूप कतिपय परम्परागत ज्ञान हराइसकेका छन् । भएका पनि  हराउने क्रममा छ । पश्चिमा विज्ञानका अगाडि ‘इथ्नोसाइन्स’ र परम्परागत ज्ञान फिकाझैं देखिएको छ ।

परम्परागत ज्ञानको कुरा गर्दा हामी पुरानो जमानातिर फर्कनुपर्छ भन्ने अर्थ लाग्न सक्छ । कुरा त्यसो होइन । परम्परागत ज्ञान कुनै बेग्लै ज्ञानपिण्ड होइन । यो पनि एउटा गतिशील ज्ञानपिण्ड नै हो । परम्परागत ज्ञानमा पनि परिमार्जन हुन सक्छ, जसमा आवश्यकता अनुसार आधुनिक ज्ञानपद्धतिलाई समेट्न सकिन्छ । कतिपय अवस्थामा परम्परागत ज्ञान र आधुनिक ज्ञानलाई सँगै अघि बढाउन सकिन्छ ।

दीगो र वातावरणमैत्री विकासका लागि परम्परागत ज्ञान अपरिहार्य छ । यसलाई पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तालाई यसबारे सचेत र जानकार बनाउन आवश्यक छ । परम्परागत ज्ञान संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्न आवश्यक छ । परम्परागत ज्ञानलाई संरक्षण–सम्वर्धन गर्न र यसबाट फाइदा लिन सरकार र स्थानीय समुदायको साझा प्रयास अत्यावश्यक छ  ।

[संवाद नेपाल । २०७६ साल फागुन ७ गते ।]

Tuesday, January 14, 2020

साझा फूलबारीका फूल



-यमबहादुर दुरा

बाइसे–चौबीसे राज्यमा विभक्त नेपाललाई एकीकरण गरेको विशद् चर्चा भइरहँदा एउटा महत्वपूर्ण पक्ष सधैँ ओझेलमा पर्दै आएको छ । त्यो पक्ष हो– एकीकरण अभियानलाई सघाउने जनस्तरका हितैषी । घडीका कलपुर्जाजस्ता साना, तर चल्ताफुर्ता नागरिकका योगदानविना बहादुर पृथ्वीनारायण शाहका सौर्यगाथा लेखिने थिएन ।

पृथ्वीनारायण शाहका पछाडि कस्ता कलपुर्जा वा संयन्त्र सक्रिय थिए, जसले नेपाललाई एउटै सूत्रमा बाँध्ने पृथ्वीनारायण शाहका सपना साकार पार्न सघाए भन्नेबारे बिरलै चर्चा हुन्छ । आफूभित्रको स–साना पुर्जा रिठ्ठो नबिराई अविराम चलयमान हुँदा घडीले जीवन पाउँछ । त्यस्तै, जनस्तरका नागरिकको साथ–सहयोगविना पृथ्वीनारायण शाहको अभियान सम्भव थिएन ।

इतिहासका बाछिटालाई एकठ्ठा गरेर हेर्दा जनस्तरका नागरिकले पृथ्वीनारायण शाहलाई अनेक किसिमले साथ दिएको भेटिन्छ । तर, तिनका बारेमा हुनुपर्नेजति अभिलेखीकरण नभएकाले उनीहरूको इतिहास विलुप्तप्रायः छ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जोडिन आउने एउटा नाम हो, झगल गुरुङ । इतिहासकार उनलाई पृथ्वीनारायण शाहको सैन्य अभियानका मुख्य व्यक्तिमध्ये एक मान्छन् । नेपाल एकीकरण अभियानमा आइपरेका बाधा–अड्काउ फुकाउन र षड्यन्त्रलाई गर्भमै निस्तेज तुल्याउन उनले उल्लेखनीय योगदान गरेको चर्चा सुन्न पाइन्छ । 

तत्कालीन पहाडी राज्यमा गोरखा आर्थिक र सैन्यशक्तिका दृष्टिले कमजोर राज्य थियो भनेर धेरै इतिहासकारले उल्लेख गरेका छन् । गोरखा राज्य विस्तारका क्रममा आवश्यक हातहतियार खरिद गर्न अपुग रकम जोहो गर्न धौ–धौ भएको थियो ।

कोष नहुँदा पृथ्वीनारायण शाहको मनोबल ढलपल भएको अवस्थामा खर्च जोहो गर्नेबारे बिसे नगर्चीले सजिलो उपाय सुझाएका थिए । उनी पृथ्वीनारायण शाहका कटुवाल थिए । उनले पृथ्वीनारायण शाहलाई एक रुपैयाँ दाम चढाएर गोरखाका १२ हजार घरधुरीबाट यही दरले रकम उठाएमा हातहतियार किन्न मनग्य पुग्छ भनेर ढाडस दिएका थिए ।

अरूको भन्दा बिसे नगर्चीको चर्चा बढी भएको पाइन्छ । उनले गोरखा दरबारमा सिलाइबुनाइ गर्ने, नगरा बजाउने र पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको अभियानमा गोरखाली फौजसँगै लडाइँमा नगरा बजाउन हिँड्ने गरेको देखिन्छ ।

पृथ्वीनारायण शाहले घरेलु हातहतियार बनाउने सीप भएका स्थानीय विश्वकर्मालाई पनि प्रयोग गरेको भेटिन्छ । हातहतियार निर्माणका लागि कच्चापदार्थ कहाँबाट ल्याइन्थे र हतियार निर्माणका क्रममा कुन विधि–प्रविधि प्रयोग हुन्थे भन्नेबारे नखुले पनि उनले स्थानीयस्तरमै उपलब्ध कालिगडको उपयोग गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहले हतियार निर्माण कार्यमा सिपालु धार्ने कामीसहितका कामी कालिगड भर्ना गरेर युद्धका लागि आवश्यक धनुकाँड, तरबार, भाला, ढाल, खुँडा, खुकुरी बनाउन लगाएका थिए । सोमध्वज विष्टकृत ‘शाही सैनिक इतिहास’ मा यसबारे उल्लेख छ ।

बिसे नगर्चीसँगै मणिराज गाइने र बानादार दमाईको पनि नाम जोडिन आउँछ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा विजय हासिल भएका स्थानमा मणिराम गाइनेले विजयगाथा गाउँदै हिँड्थे । बिसे नगर्ची र बानादार दमाईले नगरा लगाउने काम गर्थे भन्ने भनाइ छ । गन्धर्व समुदायले नेपाल एकीकरणमा सघाएको देखिन्छ ।


नेपाल एकीकरणअघिदेखि नै राष्ट्र निर्माणको मूलमन्त्रलाई आत्मसात् गर्दै जनजनको दैलोमा पुगेर सन्देश उद्घोष गर्थे । गन्धर्वले बोकेको ऐतिहासिक बिरासतका दृष्टिले पनि पृथ्वीनारायण शाहले गन्धर्व समुदायलाई आफ्नो अभियानमा राम्रैसँग उपयोग गरेको अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहको अभियानलाई सांगीतिक दस्ताले सघाए पनि उनको संगीतप्रतिको नीति अलि फरक देखिन्छ । उनी गीत–संगीतप्रति उतिसारो उदार देखिँदैनन् ।

बाल्यकालमा उनलाई सांगीतिक रंग–रेशमबाट टाढै राखिएको इतिहासकारले उल्लेख गरेका छन् । मल्ल राजा र अन्य भुरेटाकुरे राजकुमार चाहिनेभन्दा बढी रस–रंगमा भुल्दा राजकाजमा नकारात्मक असर परेको पृथ्वीनारायण शाहका अभिभावकको बुझाइ थियो । यसबाट पाठ सिकेर उनलाई नाचगानको माहोलबाट टाढा राखिएको देखिन्छ । पृथ्वीनारायणको व्यक्तित्व निर्माणमा रानी चन्द्रप्रभाको नै मुख्य हात थियो । अरू चौबीसे राजकुमार ठाँटबाँट र भोगविलासद्वारा बिग्रने गरेको देखेकी चन्द्रप्रभाले यिनलाई नाचगान आदि विलासितादेखि टाढा राखिन् ।

यी तमाम कारणले पृथ्वीनारायण शाह रंगपरम्परा वा रागतानप्रति नरम देखिँदैनन् । उनले औपचारिक रूपमै रागतानको मोहमा नभुल्नू भनेका छन् । त्यसमा पनि उनी विदेशी संगीतप्रति बढी कठोर देखिन्छन् । ‘मलाई यवटा (एउटा) कुरोको सन्देह (शंका) लागिरहेछ, कुन्कुरो (कुन कुरो) भन्या मुग्लानानजिकै रहेछ, त्यस जग्गामा छोकडा (अल्लारे ठिटा) र पत्रिया (पातर्नी) रह्या छन् । चित्रकार भर्‍याका कोठामा ढोेलक सितारका रागतानमा भुल्नन् । रागतानमा बडो ठूलो मोह हुन्छ र दवलथ (दौलत) पनि षोलिन्छ (रित्तिन्छ) । देशको भेद पनि तिनैले लैजान्छन् र हरिपले (शत्रुले) दगा गर्छ । रागको अभ्यास पनि कसैले नगर्नू ।

तिन जातलाई पाहाड आम्फदरफ (आवतजावत) कसैले नषोल्नु (गर्न नदिनू) अथवा फागुलाई यक (एक) दुई दिन गरी झिकी चाँडै बिदा गराइदिनु र देशको भेद पनि पाउँदैनन् । आफ्ना स्वषसयेललाई (सुखसयल) ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ । इनमा त दियाको पनि आफ्नै देशमा रहन्छ । यस्व भया (यसो भए) आफ्नु देश पनि गमन (सुरक्षित) रहन्छ’– पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।

पृथ्वीनारायण शाहले निर्धारण गरेको नीति यिनको देहान्तपछि छोरा बहादुर शाहको प्रशासनकाल नभएसम्म १८ वर्षजति कायमै रहिरह्यो, तर यिनको पदच्युतपछि राजभवन, विशिष्ट भारदारका महल, विलासिता तथा षड्यन्त्रका अखाडाका रूपमा परिणत भए । र, एक सय ५० वर्षको नेपाल अधिराज्यको सांस्कृतिक इतिहास लज्जाजनक अवस्थामा पुगेको पाइन्छ । संगीतप्रति फरक दृष्टिकोण राख्ने पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा स्वदेशी रंगकर्मीलाई व्यापक रूपमा प्रयोग गरेको प्रमाण भेटिन्न ।

राष्ट्रिय कला एवं नाटकको विकास गर्ने प्रेरणा दिनका निम्ति उनले सालभरको नाच र गाना जाँची प्रथम ठहरेकालाई पुरस्कार दिने व्यवस्था गरेका थिए । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले सन्न्यासी जोगी र गाइनेलाई खबरदूतका रूपमा प्रयोग गरेका जनश्रुति छ । उनीहरूले युद्धका समयमा कसरी गोप्य सूचना संकलन गर्थे र कसरी सम्बन्धित निकायमा रिपोर्टिङ गर्थे भन्ने तथ्य अज्ञात छ । नेपालको हुलाक सेवा पृथ्वीनारायण शाहको मौलिक योगदान मानिन्छ । अभिलेख भन्छ– त्यस समयमा काठमाडौं, नुवाकोट, गोरखा र अन्य भागमा हुलाक सेवा सञ्चालनमा थिए ।

त्यसवेलाको हुलाक सेवा सर्वसाधारणको उपयोगका लागि थिएन । केवल सरकारी काजगात र मालताल ओसार्ने प्रयोजनका लागि हुलाक सेवा स्थापित भएको पाइन्छ । जनस्तरका अधिकांश नागरिक लेखपढ गर्न अक्षम रहेको त्यस समयमा हुलाक सेवा जनताका लागि आवश्यक नभएको पनि हुन सक्छ । त्यस समयमा ‘कागते हुलाक’ र ‘थाप्ले हुलाक’ गरी दुई थरीका हुलाक अस्तित्वमा रहेका थिए । ‘कागते हुलाक’ मार्फत  सरकारी कागजात ओसारिन्थे भने ‘थाप्ले हुलाक’ मार्फत सरकारी मालताल ओसारिन्थे । हुलाक सेवामा हुलाकीको रूपमा जनस्तरका विश्वासिला र गतिशील नागरिकले काम गरेका होलान् ।

जनस्तरका ती सहयोगीको कहीँ–कतै चर्चा पाइँदैन । लिखित दस्ताबेजलाई मात्र प्रमाण मान्ने इतिहास लेखन परम्पराले लोकस्मरणमा रहेका इतिहासका स्रोतलाई बेवास्ता गरेको देखिन्छ । यसबाट जनस्तरका नागरिकले निर्माण गरेको इतिहास तीव्र गतिमा मर्दै गएको छ । यसले रिक्ततापूर्ण वातावरण तयार भइरहेको छ ।

यस किसिमको रिक्तताले ज्ञान उत्पादन र इतिहास निर्माणमा सर्वसाधारण नागरिकले दिएका योगदानको इतिहास पनि मेटिँदै गएको छ । ज्ञान उत्पादन नै हुन नसकेपछि ऐतिहासिक विषयमाथि हुने विवेचना पनि स्वाभाविक रूपमा कमजोर हुन पुगेको छ । यसले नजानिँदो किसिमले नेपाली विद्वत् परम्परालाई नै क्षति गरिरहेको छ ।

[नयाँ पत्रिका । २०७६ साल पुस २८ गते ।]

Friday, January 3, 2020

‘प्यारासोसल’ सम्बन्धका आयाम


–यमबहादुर दुरा

महान् भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५) ले कल्पनालाई नै सबथोक मानेका छन् । उनको ठम्याइ छ, मानिसले भोलिको सुन्दर संसारको निर्माण कल्पनाबाटै शुरु गरेको हुन्छ ।

उनले भनेका छन्, ‘कल्पना ज्ञानभन्दा महत्वपूर्ण हुन्छ । ज्ञान हामीले जानेको र बुझेको कुरामा मात्र सीमित रहन्छ । जब कि, कल्पनाले सिङ्गो दुनियाँलाई समेटेको हुन्छ, जुन कुरा कहिले पनि जानेर–बुझेर सकिँदैन ।’

वास्तवमै मानिस कल्पनाशील प्राणी हो । ऊ कल्पनाको दुनियाँमा बाँच्छ । त्यसैले ऊ विचारशील छ । ऊ जिन्दगीभर कल्पनाको व्रह्माण्डमा सयर गरिरहन्छ । ऊ मनमा कल्पनाको सुन्दर बस्ती बसाइरहन्छ । यस अर्थमा मानिस साँचो अर्थमा कल्पनाजीवी प्राणी पनि हो ।


कतिपयको बुझाइमा मानिसका अध्यात्मिक आस्था र विश्वासको जग पनि कल्पना नै हो । हाम्रा अस्थाका पात्रहरू कल्पनाको गर्भबाट जन्मेका अद्भूत प्राणी हुन् । पौराणिक कालदेखि श्रद्धाको शिखरमा रहँदै आएका भगवान् हुन् वा दन्त्यकथामा वर्णित तिलस्मी नायक-नायिका नै किन नहुन्, सबै हाम्रा कल्पनामा बाँचेका पात्र हुन् ।

मिथमा बाँचेका यस्ता पात्रसँग भौतिक रूपमा भेट हुन सम्भव छैन । तर पनि मानिसको उनीहरूप्रतिको लगाव र श्रद्धा अटल छ ।

कहिल्यै भेट नभएका वा भेट हुन सम्भव नहुने पात्रसँग मानिस कतिपय परिस्थितिमा एकतर्फी प्रेम वा मोहमा पर्छन् । यसप्रकारको लगाव वा आकर्षण वा मोहभावलाई ‘प्यारासोसल रिलेसनसिप’ भनिन्छ । विश्वमा भएका असंख्य अध्ययनको निष्कर्ष छ – थुप्रै  मानिस ‘प्यारासोसल रिलेसनसिप’ को चक्रव्यूहमा परेका छन् । कुनै खास देवी वा देउताप्रतिको असीम भक्तिभावलाई पनि कतिपयले यही श्रेणीमा राख्छन् ।

बीसौं शताब्दीमा  विद्युतीय प्रसारण माध्यम र चलचित्र अस्तित्वमा आए । विद्युतीय प्रसारण माध्यमको आगमन भएपछि  ‘प्यारासोसल रिलेसनससिप’ ले अर्को मोड लियो । चर्चित टेलिभिजन सेलिब्रिटी, चलचित्रका नायक–नायिका र रेडियो प्रस्तोता मिडियामामार्फत समाजको फराकिलो घेरासम्म पुग्न थाले ।

यससँगै उनीहरूप्रति कतिपय दर्शक÷स्रोता एकतर्फी रूपमा आकर्षित हुन थाले । उनीहरू देवीदेउताजस्तो काल्पनिक पात्र होइनन्, जससँग अन्तरक्रिया गर्न एक अर्थमा असम्भव छैन । तर, उनीहरूसँगको अन्तरक्रिया धेरै अर्थमा सहज पनि छैन ।

सयौं–हजारौं किलोमिटर पर रहेका अपरिचित (आफूले मात्र चिनेको) व्यक्ति सँग भेटघाट गर्न र मनोभाव व्यक्त गर्न बहुसंख्यक सर्वसाधारणका लागि  सहज छैन– पहुँच, भौगोलिक दूरी र अन्य विविध व्यवधानका दृष्टिले ।

अर्को कुरा, सेलिब्रिटीहरू आफूलाई कुन व्यक्तिले कति हदसम्म मन पराएका छन् भन्नेबारे अनभिज्ञ हुन्छन् । किनभने सेलिब्रिटीहरू चर्चित होलान् तर अन्तरयामी होइनन् । अर्को कुरा, सबैसँग अन्तरक्रिया गर्नु उनीहरूका लागि सहज पनि छैन ।

न उसले हरेकलाई भेटेर सान्त्वना दिनसक्छ, न त सबै ‘डाइहार्ड प्यान’ का भावनात्मक तिर्सनाहरू एक एक गरी मेटिदिन सम्भव छ । चाहेर पनि यस्तो गर्न सम्भव छैन । ‘प्यारासोसल रिलेसनसिप’ को गणित पनि विविध दृष्टिले समस्याग्रस्त छ ।

इन्टरनेटको आगमनले ‘प्यारासोसल रिलेसनसिप’ मा अर्को आयाम थपियो । इन्टरनेटसँगै अस्तित्वमा आएको सोसल मिडियाका कारण ‘प्यारासोसल रिलेसनसिप’ को आयतन झन बढेर गयो । यसले धेरैभन्दा धेरै व्यक्तिलाई ‘प्यारासोसल रिलेसनसिप’ को दायरामा समेट्न थाल्यो ।

पूर्ववर्णित सेलिब्रिटीका अतिरिक्त, गायक–गायिका, यु ट्युबर, खेलाडी, सोसल मिडिया प्रयोगकर्तालगायत विभिन्न तह र तप्काका मानिस ‘प्यारासोसल रिलेसनसिप’ को दायरामा आउन थाले ।

अन्तरक्रियात्मक हुनु सोसल मिडियाको एउटा मूलभूत चरित्र हो । सोसल मिडियाको यही गुणवत्ताका कारण आफूले एकततर्फी हिसाबले मन पराएका व्यक्तिसँग भर्चुअल दुनियाँमा भेटघाट (अन्तरक्रिया) गरेर मनको वह पोख्न सम्भव भएको छ । ‘प्यारासोसल रिलेसनसिप’ को यो आयाम सापेक्षित रूपमा प्रगतिशील छ ।

यद्यपि, यो सम्बन्ध पनि समस्यारहित भने छैन । उनीहरूबीचको अन्तरक्रिया त्यतिबेलामात्र सम्भव छ, जतिबेला मन पराइएका व्यक्ति अन्तरक्रियाका लागि राजी हुन्छन् । यहाँनेर अर्को कुरा पनि छ, मन परेका व्यक्तिसँग मनमाफिक सम्बन्ध विकास गर्न पाउने भाग्य सबैको निधारमा लेखिएको हुँदैन ।

उता, ‘प्यारासोसल रिलेसनसिप’ मा परेका व्यक्ति एकपछि अर्को गरी एकोहोरो प्रेममा फस्दै जान्छ । उसले सम्बन्धित व्यक्तिबारे थप जानकारी खोज्दै जान्छ । अखबारका ‘गसिप पेज’, इन्टरनेटका ‘गसिप कन्टेन्ट’ र रेडियो–टेलिभिजनले प्रसारण गर्ने सेलिब्रिटीसम्बन्धी रिपोर्टहरूको माध्यमबाट थप जानकारी सङ्कलन गरेर आफूलाई अद्यावधिक गराइरहन्छ ।

मन पराएको व्यक्तिबारे जति धेरै जानकारी प्राप्त गर्छ, आफू  त्यति नै उससँग नजिक भएको अनुभूत गर्छ । आफूले एकतर्फी रूपमा मन पराएको व्यक्ति अरू कसैसँग विवाह बन्धनमा बाँधिएको, दुर्घटनामा परेको वा मृत्यु भएको खबरले उसलाई अपरिमित दु;खी  तुल्याउँछ ।

‘प्यारासोसल रिलेसनसिप’ रहेका व्यक्तिले आफूले प्यारो ठानेको व्यक्तिलाई हरदम मन पराइरहने अवस्था बनिरहन्छ भन्ने पनि होइन । कतिपय अवस्थामा आफ्नो हृदयमा रहेको व्यक्तिप्रति मोहभङ्ग हुने अवस्था पनि आउँछ ।

प्यारो ठानिएका व्यक्ति गैरसामाजिक क्रियाकलापमा लागेको थाहा पाएका, उसका अक्षम्य कर्तुतहरू सार्वजनिक भएमा वा अन्य यस्तै कारणले उसप्रति मोहभङ्ग हुन पुग्छ । यससँगै उसप्रतिको प्रेम र आस्थाको धरोधर ढल्छ, यस्तो अवस्थालाई ‘प्यारासोसल ब्रेकअप’ भनिन्छ ।

प्यारासोसल सम्बन्धका आधार के के हुन् ? यसबारे अनेकन् मतमतान्तर छन् । सन् २००९ मा अमेरिकाको युनिभर्सिटी अफ नेभाडाका एक विद्यार्थीले ‘प्यारासोसल रिलेसनसिप्स् उइद् सेलिब्रिटिज् : एन इलुजन अफ इन्टिमेसी उइद् मिडिएटेड फ्रेन्डस्’ शीर्षकमा पेश गरेको शोधपत्रमा प्यारासोसल सम्बन्धका विविध आयामहरूलाई चिरफार गरिएको छ ।

शोधपत्रका अनुसार मानिसहरू सेलिब्रिटीका बौद्धिकता, सामथ्र्य र रूपभन्दा पनि प्रसिद्धिका पछि लाग्छन् । ४२ प्रतिशत अश्वेत र २१ प्रतिशत श्वेत बालबालिका सेलिब्रिटीका प्रसिद्धिका आधारमा उनीहरूप्रति आकर्षित हुने गरेको सोही अध्ययनमा पाइएको छ ।

‘प्यारासोसल रिलेसनसिप’ को अध्ययनसम्बन्धी इतिहासतिर खोतल्दा डोनाल्ड होर्टन र रिचर्ड होलले पहिलो पटक यो शब्दावली प्रयोगमा ल्याएका हुन् । सन् १९५६ मा होर्टन र रिचर्डले ‘साइकेट्री’ जर्नलमा ‘मास कम्युनिकेसन एण्ड इन्टरयाक्सन : अब्जरभेसन अन इन्टिमेसी एट अ डिस्ट्यान्स’ शीर्षकमा लेख प्रकाशन गरेपछि ‘प्यारासोसल रिलेसनसिप’ बारे चर्चा हुन थाल्यो ।

सन् १९७० को दशकदेखि ‘प्यारासोसल रिलेसनसिप’ को वैज्ञानिक अध्ययन शुरु भएको देखिन्छ । समयको यो विन्दुमा आइपुग्दा ‘प्यारासोसल रिलेसनसिप’ का विविध आयामबारे असंख्य अध्ययन–अनुसन्धान भइसकेका छन् । यस्ता विषयका अध्ययन प्रतिवेदनको खात जति चुलिँदैछ, त्यति नै प्यारासोसल सम्बन्धका जटिलताहरू बढ्दै गएका छन् ।

सोसल मिडियामार्फत कायम हुने ‘प्यारासोसल रिलेसनसिप’ एक अर्थमा प्रगतिशील भए पनि यसबाट सबैको मनचिन्ते झोला भरिँदैन । औंलामा गन्न सकिने भाग्यमानी व्यक्तिहरूको ‘प्यारासोसल रिलेसनसिप’ वास्तविक सम्बन्धमा परिणत भएर सुखान्त बनेका छन् ।

अधिकांशको सम्बन्ध अभेद्य चट्टानजस्तो अप्रसारयोग्य बनी टाक्सिएका छन् भने कतिपय सम्बन्ध धोकाधडीमा टुङ्गिएका छन् । यस्ता सम्बन्धले साइबर बुलिङ, साइबर दुर्व्यवहार  र अनेकन् दुर्दान्त कथाहरू जन्माएका छन् ।

नेपालमा ‘प्यारासोसल रिलेसनसिप’ बारे कुनै व्यवस्थित अध्ययन भएको पाइँदैन । यसबारे कुनै तथ्याङ्क वा अध्ययन प्रतिवेदन भेटिँदैन । तर पनि अनौपचारिक छलफल तथा कुराकानीमा कतिपय युवायुवती स्वदेशी तथा विदेशी सेलिब्रिटीहरूप्रति अतिशय आकर्षित भएको र एकोहोरो प्रेममा भौंतारिएको चर्चा सुनिन्छ । यस सन्दर्भमा कलेजका कतिपय विद्यार्थीले सिनेमाका कतिपय सेलिब्रिटी आफूलाई निकै मन पर्ने गरेको विचार व्यक्त गरेका छन् ।

फेसबुकलगायतका भर्चुअल माध्यमबाट हजारौं किलोमिटर पर रहेका व्यक्तिसँग थुप्रै व्यक्ति प्रेममा परेका तर सशरीर भेटघाट हुन नसक्दा मानसिक विक्षिप्तता आएका प्रसंग पनि बेलाबखतमा सुनिन्छन् । यस्ता विषयमा व्यवस्थित अध्ययन हुन आवश्यक भएको छ ।

अध्येताहरूका अनुसार ‘प्यारासोसल रिलेसनसिप’ मा रहेका व्यक्तिले एकततर्फी किसिमले ठूलो मात्रामा आफ्नो भावनात्मक उर्जा, रुचि र समय व्यर्थमा खर्च गर्छ, जुन अन्ततः डिप्रेसन, चिन्ता र तनावको गतिलो स्रोत बन्न पुग्छ ।

यु ट्युब च्यानल ‘टेडेक्स’ मार्फत ‘प्यारासोसल रिलेसनसिप’ बारे थुप्रै लेक्चर दिएकी क्यानडेली विज्ञ बेली पर्नेलले बेलायत, अमेरिका र क्यानडामा गरिएको अध्ययनले ‘प्यारासोसल रिलेसनसिप’ ले  धेरै दुःखान्त अध्याय निम्त्याएको चर्चा गर्दै यसबारे सचेत हुन आग्रह गरेकी छिन् ।

असल कामका लागि असर आशयका साथ कसैबाट प्रभावित हुनु र कसैलाई आस्था वा प्रेमको धरोहर ठान्नु गलत होइन । तर, यही कुरा मानिसक दुव्र्यसन बन्न पुग्यो भने यसले घातक नतिजा निम्त्याउन सक्छ भन्ने तथ्यलाई अध्ययनहरूले औंल्याएका छन् । यसबारे सावधान हुन आवश्यक छ ।

[साभार : युवामञ्च । २०७६ पुस ।]