Friday, December 13, 2024

स्लो फूड मुभमेन्ट

-यमबहादुर दुरा

इक्काइसौँ शताब्दी मानव समाजको तीव्रतर विकासको परिचायक बनेको छ । अहिलेको तीव्रतर विकासको प्रवाहमा मानव जातिका हरेक क्रियाकलाप छिटो–छरितो वा ‘फाष्ट फरवार्ड’ हुँदै गएको देखिन्छ । सञ्चार, यातायात तथा अन्य जीवनदायिनी प्रविधिको जादूमय विकासले मानिसलाई ‘फाष्ट फरवार्ड’ हुन सघाएको छ । 

यद्यपि मानव जति प्रगति पथमा जति नै तीव्र गतिमा अघि बढे पनि प्रकृतिले हरेक चीजको ‘फाष्ट फरवार्ड’ गतिलाई मान्दैन । प्रकृतिले आफ्नो चक्र (साइकल) पूरा गर्न निश्चित समय लिन्छ । प्रकृतिको नियमलाई छलेर ‘सर्टकट’ बाटो अपनाउँदा गम्भीर सङ्कट निम्तिन सक्छ । यसको दृष्टान्तका रूपमा आधुनिक युगको एउटा महत्त्वपूर्ण परिचायक मानिएको ‘फाष्ट फूड’ लाई लिन थालिएको छ । 

स्रोत : गुगल

अनेकौँ अध्ययनले ‘फाष्ट फूड’ जनस्वास्थ्यका दृष्टिले हानीकारक रहेको देखाइसकेका छन् । भनाइ नै छ— ‘फाष्ट फूड, फाष्ट डेथ ।’ फाष्ट स्लो फूड  मुभमेन्टले जनस्वास्थ्यमा पारेको गम्भीर नकारात्मक असरलाई ध्यानमा यसविरुद्ध भद्र आन्दोलन नै शुरु भइसकेको छ । यसको नाम हो— ‘स्लो फूड  मुभमेन्ट’ । 

कसरी शुरु भयो ‘स्लो फूड मुभमेन्ट’ ?

‘स्लो फूड मुभमेन्ट’ को कुरा गर्दा ‘फाष्ट  फूड’ को प्रसङ्ग नआई छाड्दैन । ‘फाष्ट फूड संस्कृति’ दोस्रो विश्वयुद्ध पछि मूलतः अमेरिकामा उदय भयो ।  मध्यम वर्गको उकालो लाग्दो ग्राफ, शहरी संस्कृतिको विस्तार र कार संस्कृतिको उदयबाट ‘फाष्ट फूड संस्कृति’ अभिप्रेरित थियो । 

‘फाष्ट फूड’ उद्योगमा म्याकडोनाल्ड्स, बर्गर किङ, केएफसी जस्ता ठूला कम्पनीको दरिलो उदय भएपछि यिनको विश्वव्यापी नेटवर्क फैलिँदै  गयो । ‘फाष्ट फूड रेस्टुराँ’ हरू अमेरिकी जीवनको अभिन्न अङ्ग बन्न थाले । यससँगै ‘फाष्ट फूड संस्कृति’ ले गति लिन थाल्यो । 

‘फाष्ट फूड रेस्टुराँ’ हरूले बेफुर्सदीमा रहेका कामकाजी व्यक्ति तथा यात्रामा निस्केका यात्रुजनलाई छिटो–छरितो किसिमले सस्तो खाद्यपरिकार उपलब्ध गर्न थाल्यो । यी रेष्टुराँले समयक्रममा आफ्ना सेवालाई अमेरिकाका विभिन्न शहर र विश्वका अन्य भागमा पनि विस्तार गर्दै लगे । यसले विश्वव्यापी रूपमै खानपानको ढाँचामा नजानिँदो किसिमले परिवर्तन ल्याइदियो । 

यससँगै ‘फाष्ट फूड चेन’ हरूले आफ्ना खाद्यपरिकारका मेनु र रेष्टुराँ सञ्चालन विधिलाई पनि मानकीकरण गर्दै एकरूपाता दिन थाले, जसबाट ‘फाष्ट फूड’ रेष्टुराँबाट प्राप्त उपलब्ध वस्तु तथा सेवाको पहिचान सबैतिर लगभग एकै किसिमका देखिन थाले । समयको प्रवाहसँगै ‘फाष्ट फूड चेन’ हरू विश्वभर लोकप्रिय हुन थाले, जुन ‘पप कल्चर’ को एक हिस्सा बन्न पुग्यो ।

शुरु शुरुमा ‘फाष्ट फूड संस्कृति’ बहुसंख्यक उपभोक्तालाई हदैसम्म लोभ्याए पनि समय बित्दै जाँदा यसका नकारात्मक पाटा पनि उद्घाटित हुँदै गए । परिकारलाई स्वादिष्ट तुल्याउन ‘फाष्ट फूड’ मा राखिएको चिल्लो, फ्याट, नून, चिनी आदिको अधिक मात्राले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर देखापर्न थाले । 

‘फाष्ट फूड’ उपभोग गर्नाले मोटोपन, मधुमेह, हृदयरोग, क्यान्सर तथा अन्य असाध्य रोगको दर पनि बढ्दै गएको अध्ययनले देखाएको छ । अमेरिकी संस्था नेसनल इन्स्टिच्युट अब् हेल्थको वेबसाइटमा प्रकाशित एक लेखका अनुसार बितेको ५० वर्षमा अमेरिकी समाजमा ‘फाष्ट फूड’ ले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ । 

लेखका अनुसार अमेरिकामा ७१ प्रतिशत मानिस मोटोपनबाट ग्रसित छन् । अहिले धुम्रपानले भन्दा पनि ‘फाष्ट फूड’ ले तीव्र गतिमा काल निम्त्याएको सोही लेखमा उल्लिखित छ । ‘फाष्ट फूड ले जनस्वास्थ्यमा पारेको नकारात्मक असरबारे अरू कैयन् अध्ययन भएका छन्, जसले खतराको घण्टी बजाएका छन् ।

‘फाष्ट फूड संस्कृति’ ले जनस्वास्थ्यमा गम्भीर असर त निम्त्याएकै छ, यसले रैथाने परिकार, खाद्यसंस्कृति तथा स्थानीय अर्थतन्त्रलाई समेत धरासायी पार्दै लगेकोे छ । यसका अतिरिक्त, ‘फाष्ट फूड’ उद्योगसँग सम्बन्धित फ्याक्ट्री सञ्चालन गर्न हुने वन विनाश र फोहोर उत्पादनबाट वातावरणमा पर्ने नकारात्मक असर पनि सतहमा आउन थालेका छन् । 


यी तमाम कार्य–कारणले विश्वभरका सचेत नागरिक ‘फाष्ट फूड संस्कृति’ बाट वाक्क–दिक्क हुन पुगेका दृष्टान्त भेटिन थालेका छन् । यससँगै ‘फाष्ट फूड संस्कृति’ को प्रतिरोध गर्दै यसको विकल्प खोज्ने कार्य पनि जमानामै शुरु भइसकेको थियो । यसैको नतिजा स्वरूप ‘स्लो फूड मुभमेन्ट’ जन्मियो ।

यस आन्दोलनको झिल्को कसरी शुरु भयो भन्ने थाहा पाउन ‘फाष्ट फूड संस्कृति’ मै ठोक्किनुपर्छ । मानवशास्त्री एलिसन लिचले ‘इथ्नोज’ जर्नल (सन् २००३) मा प्रकाशित आफ्नो शोधपत्रमा ‘स्लो फूड मुभमेन्ट’ को रचनागर्भबारे लेखेका छन् ।

एलिसन लिचले आफ्नो शोधपत्र लेखे अनुसार रोम शहरस्थित ऐतिहासिक स्थल ‘स्पेनिश स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको आफ्नो ‘आउटलेट’ खोल्यो । यसप्रति विरोध जनाउँदै इटालेली लेखक र खाद्य अभियन्ता कार्लो पेत्रिनीले ‘फाष्ट फूड संस्कृति’ विरुद्ध जनचेतना जगाउँदै शान्तिपूर्ण आन्दोलनको श्रीगणेश गरे (लिच, सन् २००३) ।

पेत्रिनीले सन् १९८६ मा इटालीको ब्रा शहरमा ‘फाष्ट फूड’ को विकल्पमा ‘सुस्त खाद्यवस्तु’ को अवधारणा अघि सारे । उनले ‘असल, स्वच्छ र न्यायोचित’ खाद्यवस्तुको पक्षमा वकालत गर्दै वैचारिक आन्दोलनको झिल्को पैदा गरे ।

समयको प्रवाहसँगै आन्दोलनले गति लिँदै गयो । यो आन्दोलन अहिंसात्मक र रचनात्मक वैचारिक आन्दोलन थियो । कार्लो पेत्रिनीले यस वैचारिक आन्दोलनको नाम जुराए— ‘स्लो फूड मुभमेन्ट’ । पछि यस आन्दोलन संस्थागत रूपमै अघि बढ्न थाल्यो ।

बहुआयामिक आन्दोलन

सरसर्ती हेर्दा यस आन्दोलन ‘फाष्ट फूड’ को एकोहोरो विरोधमा जन्मिएको जस्तो मात्र देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । ‘स्लो फूड मुभमेन्ट’ एउटा बहुआयमिक आन्दोलन हो । यसले कृषिमा बढ्दो औद्योगिकीकरण र वैश्विक खाद्य आपूर्ति प्रणालीमा देखापरेको एकाधिकारले साना किसान मर्कामा परेकामा विरोध गर्छ । यतिमात्र होइन, यसले स्थानीय कृषि अर्थव्यवस्थाको मजबूतीकरणमा पनि जोड दिन्छ ।

अमेरिकी प्राध्यापक मेरी सरिता गाइतानले ‘फूड, कल्चर एण्ड सोसाइटी’ जर्नल (सन् २००४) मा लेखेको शोधपत्रका अनुसार ‘स्लो फूड मुभमेन्ट ले स्वादिष्ट, पौष्टिक तथा वातावरण अनुकूलित खाद्यसंस्कृतिको पृष्ठपोषण गर्छ । यसले अझ गहिरिएर खाद्यपरिकारको कलात्मक आनन्द र सौन्दयका पक्षमा समेत आवाज उठाउँछ  । यसले स्थानीय, जैविक र परम्परागत खाद्य–अभ्यासका पक्षमा वकालत गर्दछ । 

आजकल छिटो उत्पादन हुने अन्न, तरकारी, फलफूल  तथा मासु प्रचलनमा छ, जुन वर्तमान युगको विशेषता नै भएको छ । यस्ता चीजबीज हेर्दा आधुनिक युगको चमत्कारपूर्ण उपहार जस्तो लागे पनि यिनको रचनागर्भ अप्राकृतिक छ, जससले न मानव स्वास्थ्यलाई हित गर्छ, न त वातावरणलाई नै । यसप्रकारको अप्राकृतिक ‘तीव्र कृषि संस्कृति’ को विपक्ष उभिएको छ— ‘स्लो फूड मुभमेन्ट’ ।

समग्रमा ‘स्लो फूड मुभमेन्ट’ ले गुणस्तरीय, दिगो र स्वस्थ्यवर्द्धक  खानपान र खाद्यसंस्कृति संरक्षणमा जोड दिन्छ । यसले रासायनिक मलको प्रयोगविहीन तथा वातावरण अनुकूलित दीगो कृषि प्रणालीलाई मूल मन्त्र मान्छ । यसले जैविक विविधता, स्थानीय खाद्य अर्थव्यवस्था, साना किसानको हित, पशुप्रति उचित व्यवहार तथा कामदारको न्यायोचित पारिश्रमिकका पक्षमा पनि आवाज बुलन्द पार्छ । 

विरासत

आज दुनियाँमा ‘फाष्ट फूड संस्कृति’ को दबदबा देखिँदा ‘स्लो फूड मुभमेन्ट’ कताकता ओझेल परेझैँ  प्रतीत हुन्छ । तर, सूक्ष्म किसिमले हेर्ने हो भने यसको विरासत कायमै देखिन्छ ।

स्वस्थ्यवर्द्धक, दीगो र जीवनदायिनी खाद्यप्रणालीका पक्षमा वकालतमा गर्ने अभिप्रायले जग बसालिएको ‘स्लो फूड मुभमेन्ट’ ले स्थानीय खाद्यपरम्परालाई प्रोत्साहन गर्ने, साना किसानलाई साथ र सहयोग दिने, वातावरणीय दृष्टिले जिम्मेवार खाद्यवस्तु उत्पादन विधिलाई प्रवर्द्धन   गर्ने लगायतका रचनात्मक काम गर्दै आएको चर्चा माथि नै भइसकेको छ । 

यसबाहेक ‘स्लो फूड मुभमेन्ट’ अरू पनि रचनात्मक काम निरन्तर सम्पादन गर्दै आएको छ । यस क्रममा ‘द आर्क अफ टेष्ट’ एउटा यस्तै रचनात्मक कार्य हो, जुन जैविक विविधताको मर्म र भावनालाई शिरोपर गरी अघि बढाइएको परियोजना हो । ‘स्लो फूड फाउन्डेसन’ द्वारा स्थापित खाद्य–क्याटलग हो— ‘द आर्क अफ टेष्ट’ । 

‘स्लो फूड फाउन्डेसन’ को वेबसाइटमा प्रकाशित जानकारीका अनुसार सन् १९९६ मा शुरु गरिएको यस परियोजनाले विश्वव्यापीकरण, औद्योगिक कृषि र खाद्य उपभोग ढाँचामा आएका परिवर्तनबाट लोप हुने जोखिममा रहेका खाद्य पदार्थहरूको संरक्षणमा पहल गर्छ । यसको उद्देश्य विश्वभरका लोपोन्मुख अवस्थामा रहेका परम्परागत खाद्य पदार्थहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्नु हो । 

‘स्लो फूड मुभमेन्ट’ का संस्थापक कार्लो पेत्रिनीद्वारा लिखित पुस्तक ‘स्लो फूड  : द केस फर टेष्ट’ (सन् २००३) मा ‘द आर्क अफ टेस्ट’ क्याटलगमा समाविष्ट खाद्यवस्तुको नालीबेली दिइएको छ । ‘द आर्क अफ टेस्ट’ क्याटलगमा फलफूल, तरकारी र मासुदेखि रोटी र चीजसम्मका हजारौं अद्वितीय उत्पादन समाविष्ट छन, जसमा विश्वका विभिन्न कुना–कन्दराका स्थानीय समुदायका सांस्कृतिक तथा ऐतिहासिक जीवनका पाटाहरू झल्कन्छन् (पेत्रिनी, २०१३) ।

विश्वका विभिन्न भागमा ‘स्लो फूड मुभमेन्ट’ का स्थानीय संस्करणहरू अस्तित्वमा आएका छन् । ‘फाष्ट फूड’ को जननी मानिने अमेरिकामा पनि ‘स्लो फूड मुभमेन्ट’ लाई केन्द्रमा राखेर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यहाँ ‘स्लो फूड फेस्टिबल’ पनि सञ्चालन हुने गरेका छन् । 

कतिपय ठाउँमा विद्यालयमा खाद्य शिक्षा अन्तर्गत परम्परागत खाद्यप्रणालीको महत्त्वबारे शिक्षा दिइन्छ । यस अन्तर्गत विद्यालय बगैंचा र परम्परागत पाकशास्त्र लगायतका कार्यक्रम समाविष्ट छन् । यस्ता कार्यक्रमले युवा पुस्तालाई ‘फाष्ट फूड संस्कृति’ ले पारेको नकारात्मक प्रभाव पारिरहेको बेलामा परम्परागत खाद्यप्रणालीको समग्र चक्र बुझ्न सघाएको छ । 

अहिले ‘स्लो फूड मुभमेन्ट’ विश्वका १६० भन्दा बढी देशमा शाखा स्थापना भई रचनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।  

आलोचना

‘स्लो फूड मुभमेन्ट’ ले परम्परागत खाद्य प्रथाको श्रीवृद्धिका लागि प्रशंसा कमाए पनि यसलाई विभिन्न कोणबाट आयोजना पनि गरिएको छ । 

स्वाभाविक छ— ‘स्लो फूड मुभमेन्ट’ ले जैविक विधिबाट उत्पादन गरिएका अग्र्यानिक खाद्यवस्तुको वकालत गर्छ । यसप्रकारको खाद्यवस्तु विश्वको कृषिप्रणाली नै बदलिएको अहिलेको समयमा महङ्गो पर्दछ, जुन न्यून आयस्रोत भएका जनसंख्याको पहुँचभन्दा बाहिर हुन्छ भन्ने तर्क आलोचनकहरूले अघि सारेका छन् । 

यसबाहेक, ‘स्लो फूड मुभमेन्ट’ ले परम्परागत र स्थानीय खाद्यवस्तुमा आन्दोलनको ध्यान केन्द्रित गर्दा ग्रामीण जीवन र परम्परागत कृषि प्रणालीको अनावश्यक रोमान्टीकरण हुने जोखिम हुन्छ, जसले विश्व ठूलो जनसंख्यालाई खाद्यवस्तु जुटाउने कृषिको आधुनिकीकरणलाई बेवास्ता गरिरहेका तर्क आलोचकहरूको छ । 

दुनियाँ परिवर्तनशील छ । समयको प्रवाहसँगै खाद्यसंस्कृतिमा क्रमिक परिवर्तन हुने तथ्य पनि स्वाभाविक छ । तर, ‘स्लो फूड मुभमेन्ट’ का अभियन्ताहरूले परिवर्तनशीलताको प्राकृतिक नियमलाई स्वीकार गर्न नसकेको आरोप आलोचकहरूले लगाएका छन् । फ्रान्सेली समाजशास्त्री तथा मानवशास्त्री क्लाउड फिशरले ‘सोसल साइन्स इन्फर्मेसन’ जर्नल (सन् २०११) मा प्रकाशित शोधपत्रमा यस्तै तर्क अघि सारेका छन् । 

फिशरले ‘स्लो फूड मुभमेन्ट’ का अवधारणाकारहरूले खाद्यसंस्कृतिसम्बन्धी स्थिर अवधारणालाई आर्दश मानिरहँदा बसाइँसराइ र सांस्कृतिक आदानप्रदानबाट समयक्रममा खाद्य–अभ्यासमा स्वाभाविक रूपमा परिवर्तन आउने तथ्यलाई बेवास्ता गरिएको विचार पेश गरेका छन् ।

कार्लो पेत्रिनी : ‘स्लो फूड मुभमेन्ट’ का संस्थापक

कार्लो पेत्रिनी ‘स्लो फूड मुभमेन्ट’ का संस्थापक हुन् । उनी इटालेली लेखक तथा खाद्यअभियन्ता हुन् । उनी सन् १९४९ जून २२ मा इटलीको ब्रा शहरमा जन्मिएका थिए । पेत्रिनी सन् १९६० को दशकमा वातावरणीय र सामाजिक न्यायको पक्षमा कार्यकर्ताको रूपमा सक्रिय थिए । यसपछि विस्तारै रैथाने कृषिप्रणाली, खाद्यप्रणाली र पाककलातिर आकर्षित हुँदै गए । 

यस्तैमा पेत्रिनीकै देशको राजधानी रोमस्थित ऐतिहासिक स्थल ‘स्पेनिश स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको ‘आउटलेट’ खुल्यो, जुन उनको भावना विपरीतको कार्य थियो । यस घटनाक्रमले उसलाई प्रतिक्रियाविहीन अवस्थामा रहन दिएन । उनले ‘फाष्ट फूड चेन’ मध्ये एक मानिने म्याकडोनाल्ड्सको उपस्थितिको खुलेर विरोध गरे । 

कार्लो पेत्रिनी  । स्रोत: गुगल

ऐतिहासिक धरोहर ‘स्पेनिश स्टेप्स्’ मा व्यापारिक कम्पनी म्याकडोनाल्ड्सको उपस्थितिबाट चोटग्रस्त कार्लो पेत्रिनीले ‘फाष्ट फूड संस्कृति’ विरुद्ध जनचेतनात्मक अभियान शुरु गरे । उनले यस अभियानको नाम ‘स्लो फूड मुभमेन्ट’ राखे । 

कार्लो पेत्रिनी सिद्धहस्त लेखक पनि भएकाले उनले खाद्यसंस्कृति, जैविक विविधता, दीगो कृषि प्रणाली आदि विषयमा व्यापक रूपमा बोल्दै तथा कलम चलाउँदै आएका छन् । उनको पुस्तक ‘स्लो फूड : द केस फर टेष्ट’ (सन् २००३) पठनीय कृति मानिन्छ । 

पेत्रिनीको सतकर्मले उनलाई अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको छ । सन् २०१६ मा उनी संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङगठन (एफएओ) को ‘शून्य भोकमरी’ (Zero Hunger) का लागि विशेष राजदूत नियुक्त भएका थिए । सन् २००४ मा विश्वचर्चित टाइम म्यागजिनले उनलाई वर्षपुरुषको सूचीमा सूचीकृत गरेको थियो । 

निष्कर्ष

‘फाष्ट फूड संस्कृति’ ले जनस्वास्थ्यमा नकारात्मक असर पारेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । यसैगरी, कृषि क्षेत्रमा भएको यान्त्रीकरण एवम् औधोगीकरणले हाम्रो गुणकारी रैथाने कृषिप्रणाली र खाद्यसंस्कृतिमाथि गहिरो धक्का पुगेको छ । यसबाट स्थानीय खाद्य अर्थतन्त्र र साना किसान बहुधा मर्कामा परेको तथ्य छिपेको छैन ।

यी तमाम वास्तविकताप्रति सजग रहँदै ‘स्लो फूड मुभमेन्ट’ को मर्म र भावनालाई आत्मासात गर्न आवश्यक छ । यो आन्दोलन विकासको गतिलाई पछि पार्ने प्रतिगामी कदम होइन, बरू विकासको गति र हाम्रो कृषि प्रणाली र खाद्यसंस्कृतिलाई सन्तुलित रूपमा अघि बढाउने अभियान हो ।


वर्तमान समयमा जलवायु परिवर्तन र वातावरणीय क्षय जल्दोबल्दो विषय बनेको छ । यसले निम्त्याएको विकराल परिस्थितिसँग लड्न ‘स्लो फूड मुभमेन्ट’ को मर्म र भावना सहायक देखिएको छ, जसलाई हाम्रा राष्ट्रिय  नीति तथा कार्यक्रममा पनि समेट्न आवश्यक छ ।

अहिले समाज तीव्र गतिमा विकासपथमा लम्किरहेको देखेर जर्मन समाजशास्त्री हाटमुट रोजाले ‘हाइ स्पिड सोसाइटी’ शब्दावली प्रयोगमा ल्याए । एक्काइसौँ शताब्दीको मानव समाज जति नै तीव्र गतिमा अघि बढे पनि खाद्यसंस्कृतिमा आएका विकृतिहरूसँग लड्न ‘स्लो फूड मुभमेन्ट’ को अवधारणालाई नकार्न सकिने अवस्था छैन । यसलाई हामीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्न आवश्यक देखिन्छ । 

[युवामञ्च । २०८१ मङ्सीर ।]


Wednesday, July 3, 2024

हराउँदै छ रैथाने स्वाद

-यमबहादुर दुरा 

 वासनाले भोजन प्रणालीमा उच्च महत्त्व राख्ने तथ्य निर्विवाद छ । मगमग वासनायुक्त खाद्यपरिकार चौरासी व्यञ्जनको एक गुण हो वा होइन, थाहा छैन । तर, यसले पाकशास्त्र र पाकमनोविज्ञानमा विशिष्ट महत्त्व राख्छ । वासनाले भोजनप्रतिको आकर्षण र स्वादिष्टपन ह्वात्तै बढाइदिन्छ । वासनामा गहिरो विज्ञान र मनोविज्ञान लुकेको हुन्छ । 

वासनादार खाद्यवस्तुको बजारभाउ पनि उच्च छ । बजारमा वास्मती चामल भाउ चर्को छ । आजकल वास्मती चामल सर्वसाधारणको हातबाट फुत्केर सम्भ्रान्त वर्गको भोजनमा परिणत हुन गएको छ । वास्मती चामलको वाणिज्यशास्त्रीय राजनीति पनि चर्को छ । वास्मती धानको एकस्व अधिकार (प्याटेन्ट राइट) का विषयमा शक्तिशाली राष्ट्रहरूबीच तानातानी चलेको प्रसङ्ग पनि सेलाइसकेको छैन । वासनाकै कुरा गर्दा हाम्रै करेसाबारीमा सजिलै फल्ने वासनादार घिरौँलाको महत्त्व किञ्चित कम छैन । 

यसले महङ्गो परिकारको अभाव भइरहने सर्वसाधारण नागरिकका भान्छालाई वासनादार बनाउन सघाएको छ । विडम्बना नै भन्नुपर्छ— निर्वाध भित्रिरहेको वर्णशङ्कर (हाइब्रिड) बीउले यसलाई लगभग विस्थापित गरिसकेको छ । आजकल वासनादार घिरौँलाका पाउनै मुस्किल छ । यसका अतिरिक्त धनियाँ तथा फूलहरूको वासना पनि घट्दै गएको टिप्पणी सुनिन्छन् । विभिन्न अनुष्ठानमा प्रयोग हुने धूपको अवस्था पनि उस्तै छ । 

पहिले एउटा घरमा जिम्मुले दाल झान्दा सिङ्गो गाउँ नै मगमगाउँथ्यो भने अहिले दाल राखिएको भाँडोमा समेत जिम्मुको वासना भेट्टाउन मुस्किल पर्छ भन्ने टिप्पणी सुनिँदै आएको छ । विगतमा भोटबाट आएका जिम्मुको वासना उच्चस्तरको भए पनि आजकल उपलब्ध जिम्मुको स्तर निरन्तर खस्किरहेको भनाइ गाउँघरमा बाक्लै सुन्न पाइन्छ । 

 अब धूपको वासनाको कुरा गरौँ । हाम्रो जस्तो धर्मभीरु समाजमा पूजापाठ तथा विभिन्न अनुष्ठानमा धूप हालिन्छ । धूपको वासनाले हामीलाई सुगन्ध दिन्छ । यसले वातावरणमा विद्यमान हानीकारक तत्त्वलाई निस्तेज पार्छ भन्ने भनाइ पनि छ । हालका दिनमा परम्परागत धूपको वासनामा पनि चर्को गिरावट आएको चर्चा छ । 

हिजोका दिनमा पितृकर्म देवकर्म तथा अन्य धार्मिक अनुष्ठानका क्रममा एउटा डाँडामा हालिएको धूपको वासना अर्को डाँडासम्म मगमगाउँथ्यो भने आजकल उहीँका उहीँ पनि धूपको वासना चल्दैन भन्ने अनुभव र अनुभतिहरू सुनिन्छन् । समयको कोल्टो फेराइसँगै भोटबाट आएको धूप प्रयोग गर्ने चलन हराउँदै गएको छ । यसको सट्टामा कारखानामा निर्मित सिन्के धूपले ठाउँ ओगटिसकेको छ । कतिपय स्वास्थ्य विशेषज्ञाले सिन्के धूप स्वास्थ्यका दृष्टिले पनि हानीकारक छ भन्ने तथ्य पनि अघि सारिरहेका छन् । 

 अब, हाम्रै खेतबारीमा फल्ने रैथाने बेलौती (अम्बा) को कुरा गरौँ । धेरैले अम्बाको वासना र तिख्खर स्वाद भुलेका छैनन् । विकासले अम्बा देख्नमा ठूलो र आकर्षक छ, त्यसमा स्वाद र वास्ना गायब छ भन्ने गुनासो यत्रतत्र सुनिन्छ, जुन धेरै हदसम्म वास्तविकता नजिक छ । हेर्दा ठूलो र आकर्षक तर कमजोर वासना र कमजोर स्वादयुक्त ठूला अम्बा देखेर पुरानो सम्झन पुगिन्छ— 'देख्नको डाल, ढिडाको काल ।'   गाउँघरमा सजिलै उब्जने रायोको सागको हालत पनि उस्तै छ । बजारमा उपलब्ध बेमौसमी सागको त के कुरा गर्नु र ! हाम्रै करेसाबारीमा लगाइएको सागको वासना र स्वाद हराएको टिप्पणी यत्रतत्र सर्वत्र सुनिन्छ । हिजो भन्छामा पकाउँदै गरेको रायोको सागको सुवासिलो वासना तगारोबाट घरतिर छिर्दा–नछिर्दै नाकमा ठोक्किन्थ्यो । अहिले सागमा न वासना बाँकी छ, न त स्वाद नै । 

 मासुको हविगत पनि उस्तै छ । रैथाने/ घरपालुवा  कुखुराको मासुको स्वादलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । घरपालुवा कुखुराको तिख्खर स्वाद धेरैले भुलेका छैनन् । पहिले घरपालुवा कुखुराको मासु खाएका कतिपयले ब्रोइलर कुखुरा खानै रुचाउँदैनन् । कतिले त ब्रोइलर कुखुराको मासुमा कुनै स्वादै हुँदैन भनेर टिप्पणी गर्छन् । ब्रोइलर कुखुराको मासुभन्दा त आलु दश गुणा मिठो भनेर पनि टिप्पणी गर्न पनि पछि पर्र्दैनन् । यद्यपि, बाल्यकालदेखि नै ब्रोइलर कुखुराको मासुमा बानी परेका नयाँ पुस्ताको बुझाइ फरक छ । 


उनीहरू घरपालुवा कुखुरा रुचाउँदैनन् । नयाँ पुस्ताका केटाकेटीका दिल ब्रोइलर कुखुरामा बसेको छ । उनीहरूका दृष्टिमा घरपालुवा कुखुरामा हड्डी बढी हुन्छ । घरपालुवा कुखुराको अवगुणमात्रै देख्ने नयाँ पुस्ताले घरपालुवा कुखुराको स्वाद र महत्त्व चिन्नै पाएका छैनन् टिप्पणी पनि सुनिन्छ । मासुकै लागि भनेर कृत्रिम तरिकाले उत्पादन गरिएका ब्रोइलरमा अवश्य नै मासु बढी हुन्छ तर स्वादका दृष्टिले घरपालुवा कुखुरा नै सयौँ गुना मिठो हो भन्ने कुरा निर्विवाद छ । कुखुराको मासु र त्यसको भोल ग्रामीण समाजमा निकै लोकप्रिय थियो । 

विगतमा घरमा आएका पाहुनालाई टक्र्याइने रोज्जा परिकारदेखि सुत्केरीलाई खुवाइने तागतिलो परिकार घरपालुवा कुखुराको मासु नै थियो । हिजोका दिनमा लोकप्रिय रहेको घरपालुवा कुखुराको स्वाद ग्रामीण समाजले क्रमिक रूपमा बिर्सन थालेको छ । तर, शहरमा व्यापारिक दृष्टिले यसको लोकप्रियता बढ्न थालेको छ । आजकल शहरका रेष्टुराँमा घरपालुवा कुखुराको माग बढेको देखिन्छ । घरपालुवा कुखुराको मासुका साथ ढिडो तथा भात खुवाएर रामै्र अर्थोपार्जन रेष्टुरा अहिले धेरै ठाउँमा खुलेका छन् । आजकल रैथाने कुखुराको स्वाद हाम्रो जिब्रोले भन्दा बढी पूँजीवादले चिनेको छ ।

  किन हराउँदै छ, वासना र स्वाद ? 

पाकशास्त्रमा वासना र स्वादको महत्त्वपूर्ण छ भन्नेबारे माथि नै चर्चा भइसकेको छ । दुःखको कुरा, खानेकुराको वासना, स्वाद पोषकतत्त्व क्रमिक रूपमा घट्दै गइरहेको अध्ययनले देखाएको छ । आजकल बालीनालीलाई अप्राकृतिक तरिका धेरै उत्पादनशील बनाउने, फलको आकार ठूलो बनाउने तथा थोरै समयमा धेरै उब्जनी गर्ने अभ्यास बढ्दो छ । ‘लाइफ, फुड एण्ड डाइनिङ’ वेबसाइटमा प्रकाशित एक लेखमा यस्तो अभ्यासले वासना, स्वाद र पोषक तत्त्व घट्न थालेको चर्चा गरिएको छ । 

‘गोइङ लाइफ’ वेबसा्इटमा प्रकाशित एक सामग्री अमेरिकामा गरिएको अध्ययनले आधुनिक तरिकाले उत्पादन गरिएका स्ट्रबेरी, गोलभेडा, मकै आदिमा पनि स्वाद र पोषकत्व खस्किएको देखाएको छ । बालीनालीमा अनियन्त्रित किसिमले रासायनिक मल तथा कीटनाशकको प्रयोग बढ्दो छ । हाइब्रिड बीउ प्रयोग गर्ने संस्कृति पनि बढेर गएको छ । 

यस्ता गतिविधिले बालीनालीको प्राकृतिक चक्र बिथोलिन गई वासना, स्वाद र पोषकत्वमा नकारात्मक प्रभाव पर्न गएको विभिन्न अध्ययनले देखाएका छन् । यससँगै बढ्दो जल, स्थल र वायु प्रदूषणले पनि बालीनालीको प्राकृतिक चक्रलाई कुनै न कुनै रूपमा क्षति पुर्‍याएको पनि अध्येताहरूको बुझाइ छ । 

 खानेकुराको वासना र स्वाद घट्नुको कारणबारे वैकल्पिक धारणा पनि भेटिन्छ । मानिसको उमेर बढेसँगै वासना र स्वाद ग्रहण गर्ने तन्तु कमजोर हुँदै जाने भएकाले प्रौढ बन्दै गएका व्यक्तिहरूले खाद्यपरिकारको पूरापुर किसिमले वासना र स्वाद लिन सक्दैनन् भन्ने भनाइ पनि सुनिन्छ । यसको वैज्ञाकिताबारे यसै भन्न सकिने अवस्था छैन । अर्कोतिर, चिनी मैदा जस्ता प्रशोधिन खाद्यवस्तु बढी मात्रामा खाँदा कालान्तरमा स्वादको परिपाटी नै बदलिने कोरा डट कममा प्रकाशित छ । 

  कृत्रिम वासना र स्वादको साम्राज्य 

प्राकृतिक रूपमा उपलब्ध वासना र स्वादमा क्रमिक ह्रास आउन थालेपछि खाद्यवस्तुलाई कृत्रिम तरिकाले वासनादार र स्वादिलो बनाउने प्रवृत्ति बढेको देखिन्छ । पेय पदार्थ, चुइङ गम, केक, पाउरोटी आदिमा आजकल कृत्रिम तरिकाले उत्पादित वासनादायक र मिठासदायक पदार्थ प्रयोग हुन थालेका छन् । यसैगरी, फाष्टफुड रेष्टुरामा तयार गरिने अनेकन् आकर्षक परिकार तथा क्यान र प्याकेटमा उपलब्ध खाद्यवस्तुमा अनेकन् कृत्रिम वासनादायक र स्वाददायक वस्तु (फुड एडिटिभ्स) प्रयोग भएका हुन्छन् । यिनीहरू आकर्षक पनि प्रतीत हुन्छन् । 

 ‘फुड एडिटिभ्स’ ले खाद्यवस्तुलाई वासनादार, स्वादिष्ट र आकर्षक बनाउन सघाउँछन् । यसले खाद्यपरिकारलाई यति चित्ताकर्षक बनाइदिन्छ कि कतिपयले यसैलाई नै मौलिक वासना र स्वाद ठान्छन् र प्राकृतिक तवरमा उपलब्ध स्वाद र सुगन्धलाई दोस्रो दर्जाको ठान्छन् । मासु, सागपात तथा अन्य तरकारीमा प्राकृतिक वासना र स्वाद गुम्दै जाँदा रासायनिक मसला वा टेस्टरलाई वासना र स्वाद व्यापक रूपमा प्रयोग हुन थालेको छ । चिप्सजस्ता आधुनिक ‘फाष्ट फुड’ मा रासायनिक मसला वा टेस्टर व्यापक रूपमा प्रयोग भएका हुन्छन् । 

 विचारणीय कुरा के छ भने कृत्रिम वासना र स्वाद सित्तैमा आउँदैन । यसको मौद्रिक मूल्य उति महङ्गो नहोला, तर स्वास्थ्यसम्बन्धी मूल्यचाहिँ चर्को छ । कृत्रिम वासना र स्वादमा भुल्दा स्वास्थ्य बिग्रन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको वेबसाइट (नोभेम्बर १६, २०२३) मा प्रकाशित एक लेखमा ‘फुड एडिटिभ्स’ को सकारात्मक पक्षबारे प्रकाश पार्ने क्रममा यसको नकारात्मक पक्षबारे पनि प्रकाश पारिएको छ । 

प्रस्तुत लेखमा ‘फुड एडिटिभ्स’ मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने तथ्य अघि सारिएको छ । ‘फुड एडिटिभ्स’ को अधिक प्रयोगले रक्तचाप, हृदयरोग, मोटोपनजस्ता स्वास्थ्य समस्या निम्तिने विभिन्न अध्ययनले देखाएको छ । यतिमात्र होइन, यसबाट पेटसम्बन्धी समस्या देखापर्ने अध्ययन प्रतिवेदनमा उल्लिखित छ । अझ डरलाग्दो पक्ष त के छ भने यसबाट क्यान्सर हुने सम्भावना पनि औँल्याइएको छ ।

  लुकेको भोक

संसारमा पर्याप्त मात्रामा अन्न, तरकारी तथा फलफूल भइरहँदा पनि हामीलाई भोकले भने छोडेको छैन । आजकलको भोक कुनै अनिकालसँग सम्बन्धित छैन, यो त हामीले ग्रहण गर्ने खानेकुरामा विद्यमान पोषक तत्त्वको अभावसँग सम्बन्धित । यसलाई लुकेको भोक (हिडन हङ्गर) भनिन्छ । यसलाई सूक्ष्म पोषण तत्त्वको अभाव (micro-nutrient deficiency) पनि भन्ने गरिन्छ । यो एक प्रकारको कुपोषण हो । हामीले दैनिक पर्याप्त मात्रामा भोजन ग्रहण गर्छौँ । तर, त्यसमा शरीरलाई आवश्यक पर्ने आइरन, जिङ्क, भिटामिन ए जस्ता पोषक तत्त्वको कमी हुँदा पोषक तत्त्वका दृष्टिले शरीर भोकै रहन्छ । 

बाहिर नदेखिने भोक भएकाले यसलाई लुकेको भोक भनिएको हो । यी सूक्ष्म पोषक तत्त्व सही किसिमले सही समयमा ग्रहण गर्न पाएमा यिनले शरीरलाई तन्दुरुस्त राख्न र क्यान्सर, मधुमेह, मुटुरोगजस्ता विभिन्न रोगबाट बचाउन सहयोग गर्दछन् । ‘जर्नल अफ अमेरिकन कलेज अफ न्युट्रिसन’ (२००४) मा प्रकाशित एक शोधपत्रका अनुसार सन् १९५० देखि १९९९ का अमेरिकामा ४३ किसिमका तरकारी र फलफूलहरूको पोषकतत्त्वको अध्ययन गरिएको थियो । 

 अध्ययनको निष्कर्षले बितेको आधा शताब्दीमा खाद्यबालीमा प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीको मात्रामा निरन्तर गिरावट देखाएको छ । अध्ययनको नतिजा अनुसार प्रोटिनमा ६ प्रतिशत, फोस्फोरसमा ९ प्रतिशत, आइरनमा १५ प्रतिशत, भिटामिन सीमा १५ प्रतिशत, क्याल्सियमा १६, भिटामिन एमा १८ प्रतिशत र भिटामिन बीमा ३८ प्रतिशत पोषक तत्त्वको गिरावट आएको देखाएको छ । 

 ‘अमेरिकन कलेज अफ न्युट्रिसन’ (एसीएन) र ‘अमेरिकन जर्नल अफ एग्रिकल्चरल साइन्सेज’ मा प्रकाशित एक शोधपत्रका अनुसार पछिल्लो ७० वर्षदेखि नै अमेरिकीमा सागपात र फलफूलको पोषण सामग्रीमा ह्रास आइरहेको छ । यसको अर्थ हो— नयाँ पुस्ताका मानिसले पुराना पुस्ताका मानिसले भन्दा कम पोषिलो खाद्यवस्तु ग्रहण गर्न बाध्य छन् । 

 ‘गोइङ लाइफ’ वेबसाइटमा प्रकाशित लेखका अनुसार बालीनालीमा पोषकतत्त गिरावट हुनुका पछाडि कृषि क्षेत्रमा भएका अप्राकृतिक अभ्यासहरू नै जिम्मेवार देखिन्छन् । बालीनालीमा कीटनाशक औषधि तथा अन्य रासायनिक मल अधिक प्रयोगले पदार्थको प्रयोगले माटोमा विद्यमान पोषक तत्त्व रित्तिनु, ठूलो क्षेत्रमा खेती गर्नका लागि स्थानीय इकोसिस्टम बिग्रने गरी ठूला ठूला उपकरण प्रयोग गर्नु, बेलै नपुगी पसल ठूलो र आकर्षक देखाउन अनेकन् कृत्रिम विधि अपनाउनु आदिलाई बालीनालीमा पोषक तत्त्व ह्रास हुनुको मुख्य कारण मानिएको छ । 

 ‘इच ग्रिन कर्नर’ (जुन २३ २०२३) मा प्रकाशित लेख अनुसार अमेरिका र बेलायतमा २००९ मा गरिएको एउटा अध्ययनले बालीनालीको बढ्दो उत्पादनशीलता र त्यसमा रहेको पोषक गुणस्तरबीच विपरीत सम्बन्ध रहेको पाएको छ । यसको अर्थ हो, जति बढी बाली उत्पादन हुन्छ, त्यति नै कम पोषक तत्त्व कम हुँदै जान्छ । अध्ययनले बालीनालीको उत्पादनशीलता बृद्धि भएसँगै पोषक तत्त्व पाँचदेखि ४० प्रतिशतसम्मको गिरावट आएको देखाएको छ, जुन एउटा गम्भीर सरोकारको विषय हो । 

 ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक लेखमा बालीनालीहरूको पोषक तत्त्वको गुणस्तरमा गिरावट आउनुमा जानेर वा नजानेर ‘उन्नत’ भनिएका बीउ पनि जिम्मेवार हुनसक्छ भन्ने औँल्याइएको छ । लेखले हाइब्रिड तथा आनुवांशिकी परिवर्तन गरिएका (जिएमओ) बीउ लाई सङ्केत गरेको देखिन्छ । यसको अर्थ यस्ता बीउले कारण बालीनालीको वासना, स्वाद र पोषक तत्त्वमा निरन्तर ह्रास ल्याइरहेका छन् । 

  उपसंहार

हामी जति जति आधुनिक बन्दै छौँ, उति नै जहाँ प्राकृतिक रूपमा उत्पादित बालीनाली तथा फलफूललाई एकपछि अर्को गरी त्याग्दै छौँ र कृत्रिमतालाई अङ्गाल्दै छौँ । हामी प्रयोगशालामा कृत्रिम तरिकाले निर्मित वासना र स्वादलाई जीवनशैलीको हिस्सा बनाउन पुगिरहेका छौँ । पोषक तत्त्वयुक्त प्राकृतिक खाद्यवस्तु भन्दा पनि हेर्दा आकर्षक लाग्ने कृत्रिम विधिबाट उत्पादित वस्तुका पछि लागिरहेका छौँ, जुन स्वास्थ्यका दृष्टिले गलत अभ्यास हो भन्ने पुष्टि भइसकेको छ । 

 अब, प्राकृतिक चक्रलाई नबिथोलिकन पोषक तत्त्वयुक्त बालीनाली तथा फलफूल उत्पादन गर्ने अभ्यास विकास गर्न आवश्यक छ । यो काम सजिलो छैन । तर पनि स्वस्थ्यकर जीवनयापन गर्ने हो भने यस्तो अभ्यासको विकल्प पनि छैन । आधुनिक रासायनिक मल तथा कीटनाशक प्रयोग नगरी कसरी पोषक तत्त्वयुक्त बालीनाली लगाउन सकिन्छ भन्नेबारे दुनियाँका विभिन्न कुनाकन्दरामा भएका असल अभ्यासहरूको ‘केस स्टडी’ गर्न आवश्यक छ । यस विषयमा गहन शोधकार्य गम्भीर किसिमले अघि बढाउन अत्यावश्यक भइसकेको छ । 

 [युवामञ्च । २०८१ असार । ]

Wednesday, January 3, 2024

पत्रकारिताका सच्चा 'मेन्टर'

 –यमबहादुर दुरा


राणाकालमा शुरु भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक तथा प्राविधिक मोड आए । लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ । राणकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२÷०६३ को अप्रिल क्रान्ति र त्यसपछिका सतत घडीमा नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू  पनि बदलिँदै गयो ।

नेपालको पत्रकारितामा अहिलेको विकासित चरणसम्म योगदान गर्ने अग्रजमा गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठजस्ता अग्रज पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मासात गर्न सकिन्छ । यस बसाइमा पुस १६ गते मृत्युवरण गर्नुभएका अग्रज पत्रकार गोकुल पोखरेलसँग जोडिएका आफ्ना निजी अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गर्ने प्रयत्न गरेको छु । 

कुरा निजी प्रसङबाटै शुरु गरौँ । २०६० सालमा नेपाल प्रेस इन्स्टिच्युटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो । म एएमको पढाइ सकाएर बसेको बेला थियो । कामना प्रकाशन समूहमा कार्यरत थिएँ । त्यस पदका लागि मैले पनि आवेदन दिएको थिएँ । प्रतिस्पर्धा मार्पmत म छनोट भएँ । त्यसबेला नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो ।

त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारहरूका लागि तालिम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो । संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो । 

मैले नयाँ नियुक्ति लिएर नयाँ ठाउँमा जाने बेलामा गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्थ्यो । म कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिकाबारे र जिम्मेवारी प्रष्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू’ । सबैसँग मित्रवत् व्यवहार गरेमा वातारण सहज हुन्छ भन्नुहुन्थ्यो, उहाँ । 

अनुभवले खारिएका गोकुल पोखरेलको सुझाव थियो— साथीसंगी र सहकर्मीहरूबीच कुनै कारणले मनमुटावको वातावरण पैदा भएमा आफू  झगडाको कारक बन्नुहुँदैन, बरू ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ । उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिहरूका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहद्र्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो । एउटा नादान बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि गजबको मार्गदशक सिद्धान्त नै बने ।

तस्बिर: गुगल

गोकुल पोखरेलसँग भेट हुनुअघि उहाँका व्यावसायिक जीवनबारे रोचक किस्सो । उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइ अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिन गएछ । यसबाट उहाँको जागिर नै चट भएको प्रसङ्ग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो । 

जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आपूmले लेखेका सामग्री आपैmँले पटक पटक पढ्ने, तथ्य–जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त फरवार्ड गर्नुहुँदैन भन्नेमा जोड दिनुहुन्थ्यो । 

गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्येमा तीर्थ कोइराला पनि हुनुहुन्छ । कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग पनि सहकार्य गर्नुभयो । पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षता विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो । समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो ।

उहाँले सुझाउनुभएको थियो— ‘आफूले सम्पदान गरेका क्रियाकलापको अभिलेख राख्नू ।' मैले त्यसलाई पालना गर्ने प्रयास गरेँ । यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ । अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ । यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म ।

गोकुल पोखरेलजस्ता अग्रजले पत्रकारिता गरेका समयमा नेपाल पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो । अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट बञ्जित नहोउन् भन्ने भावनाले उहाँहरूका मनमा वास गरेको थियो । 

त्यसबेला पत्रकारिताको प्राज्ञिक अध्ययन–अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन । त्रिभुवन विश्वद्यिालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरु गरे पनि त्यसले व्यापकता पाएको थिएन । उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो । 

त्यसबेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरसिप’ को चर्को अभाव थियो । त्यस खरेडीग्रस्ता समयमा अग्रजहरूका दिमागमा पत्रकारलाई तालिम प्रदान गर्ने संस्थाको चित्र तयार भयो । सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगीजस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना गर्नुभयो ।

त्यसबेला नेपाल प्रेस इन्स्टिच्युट पत्रकारिता क्षेत्रमा मरूद्यानजस्तै हुन पुग्यो । त्यसले एक से एक उर्जाशील पत्रकार कोरल्न थाल्यो । रविन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेतजस्ता राष्ट्रिय जीवनमा कहलिएका हस्तीहरू नेपाल प्रेस इन्स्टिच्युटकै उत्पादन हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा खुला वातावरण तयार भयो । विस्तारै ब्रोडसिट अखबार आउन थाले । यस्तैमा नेपाल प्रेस इन्स्टिच्युटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारहरूलाई तालिम दिने वातावरण बनायो । यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए । 

मिडियामा दक्ष जनशक्ति पार्नका डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्युटलाई उदार मनले सहयोग ग¥यो । समयक्रममा नेपाल प्रेस इन्स्टिच्युटले देशभरका पत्रकारलाई तालिम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालिम (टट) सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पा¥यो । 

त्यस समयमा देशका विभिन्न कुना–कन्दरामा पत्रकारिताका विभिन्न विधामा तालिम भए । मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो । धेरै युवाका लागि पत्रकारिता ग्लेमरले भरिएको आकर्षक पेशाको रूपमा देखापर्न थाल्यो । देशमा पत्रकारिताको क्रेज बढाउने र पेशगत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता अग्रजहरूले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ । 

नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिममा सहभागी हुँदा गोकुल पोखरेलले लिने कक्षामा सहभागी हुने अवसर पाएको छु । पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबा केही गुण निसृत भएको अनुभूत गर्न सकिन्थ्यो । उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर किसिमले चल्थे । 

बेलायत, फ्रान्स आदि देशबाट पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवको खानी हुनुहुन्थ्यो । पोखरेलले कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो । यसबाट उहाँका कक्षा आकर्षक र पर्याप्त ज्ञानवद्र्धक हुन्थ्यो । 

विज्ञान ज्ञानी व्यक्तिहरूले मात्र थाहा जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ । विज्ञानलाई रहस्यको पर्दाले छोप्नुहुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यस अनुरूप उहाँले गतिविधिहरूपनि सञ्चालन गर्नुभएको थियो । 

मलाई सम्झना भएसम्म तत्कालीन ‘नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ मा विज्ञान सञ्चारसम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो । त्यसले प्रकाशन गर्ने विज्ञानसम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ उहाँको प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता थियो । 

गोकुल पोखरेलजस्ता अग्रजको छत्रछायाँमा रहेर नेपाल प्रेस इन्स्टिच्युटमा काम  गर्दा व्यक्तिगत रूपमा म पनि लाभान्वित भएँ । पी खरेल,ध्रुवहरि अधिकारी, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो । यसैगरी, पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरू कुन्दन अर्याल, रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, धर्मेन्द्र झा, भरत भूषाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार–विमर्श गर्ने सुन्दर अवसर मिल्यो । 

नेपालगञ्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नलाल गुप्त, रेशम विरही, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईँ, सुरेन्द्र काफ्ले, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगञ्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका सहकर्मीहरू आरिफ अन्सारी, पीताम्बर कट्टेल, गंगा फुयाँल तथा गंगाप्रसा ठाकुरको साथ र सहयोग पनि उत्तिकै मिठो थियो ।  यसबाहेक मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारहरूसँग पनि चिनपर्ची र माया–ममता बढ्यो । 

नेपालगञ्जमा रहेका स्वदेशी तथा विदेशी सङ्घ–संस्थाका पदाधिकारीहरूसँग पनि चिनजान भयो । केहीसँग त सहकार्य पनि भयो । यसबाहेक स्थानीय नागरिक समाजसँग पनि साइनोपात गाँसियो । 

त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वको उत्कर्षतिर पुग्दै थियो । हत्याहिंसाको शृङ्खला जारी थियो । यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्वहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो । यही मेहरोमा बाँकेका सञ्चालित नागरिक समाजले ‘शान्ति र सदभाव अभियान’ अघि बढाएको थियो । 

त्यसमा म पनि एक हिस्सा बन्न पुगेको थियो । प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय सीपी सिंहजस्ता तत्कालीन अभियानकर्मीहरूसँगको मीठो सहकार्य भयो । त्यसले दुखको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो । जीवनका यी तमाम भोगाइहरूमा नेपाल प्रेस इन्स्टिच्युट, गोकुल पोखरेल र अन्य अग्रजहरूबाट अवसरको अविष्मरणीय हिस्सेदारी छ ।

गोकुल पोखरेल भन्नुहुन्थ्यो— ‘पत्रकार कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन’ । उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो— सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर । सम्झनाको पूmलबारीमा तपार्इँ सधैँ फक्रनुहुनेछ । तपाईँप्रति हार्दिक श्रद्धासुमन !

साभार: हिमालखबर । २०८० साल पुस १७ गते । सामान्य परिमार्जनसहित ।]

Monday, December 4, 2023

नचिनिएका अमृत

 -यमबहादुर दुरा

'स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । 

कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न सकिन्न । त्यसैले ‘स्वास्थ्य–धन’ धनको पनि धन हो । राम्रो स्वास्थ्यभन्दा ठूलो अर्को धन छैन ।

भौतिक दृष्टिले हाम्रो चोला एकबारको हो । फेरि फेरि नपाइने एक जुनीको मानव चोलामा राम्रो स्वास्थ्यको अपार महत्व छ । अस्वस्थ शरीर र विकारग्रस्त मन लिएर बाँच्नु अतिशय कठिन जीवन भोगाइ हो, जुन आफैँमा अतिशय कठोर सजाय हुन्छ । यस्तो अनुभव भुक्तभोगीहरूबाट सुनिँदै आएको हो । राम्रो स्वास्थ्य कायम गर्नु र भएको राम्रो स्वास्थ्यलाई यथावत् राख्नु सुखद जीवनका लागि अपरिहार्य छ ।

त्यसो हो भने हाम्रो स्वास्थ्य कसरी राम्रो बनाउने रु यस प्रश्नको उत्तर सरल र सहज छ । बहुधा स्वास्थ्यविज्ञको भनाइ छ, उचित आहारविहार नै राम्रो स्वास्थ्यको रहस्य हो । यसलाई अर्को शब्दमा भन्ने हो भने उचित किसिमको खानपिन र जीवनशैलीले नै स्वास्थ्य राम्रो बनाउँछ । 


हामीले ग्रहण गर्ने खानेकुराले नै हाम्रो स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण गर्छ । हाम्रो शरीरलाई अन्नपानीको शरीर भन्ने भनाइ बहुश्रुत छ । धार्मिक मतानुसार अन्नमा देवतत्व निहित छ । त्यसैले हामीले ग्रहण गर्ने अन्नलाई ‘अन्नब्रह्म’ भन्ने चलन छ । यसै गरी ‘अन्नको परान, नुनको तरान’ यो भनाइ पनि जनस्तरमा बहुतै सुनिएको लोकअभिव्यक्ति हो । अचेल सुनिन थालेको अर्को भनाइ छ ‘जस्तो खाना उस्तै शरीर र मन’ । 

यी सबै लोकअभिव्यक्ति र मतले स्वस्थ जीवनयापनका लागि सही किसिमको खानपिनको महìवलाई दर्साउँछ । स्वाभाविक रूपमा खानपिनले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । सही किसिमले पहिचान गरी ग्रहण गर्न जानेमा पृथ्वीतलमा पर्याप्त पोसिलो खाद्यभण्डार छ । धर्तीमा अनेकन् प्रकारका पोसिलो र गुनिलो खानेकुरा उपलब्ध छन्, जसमा प्राकृतिक रूपमै सहज किसिमले उपलब्ध खाद्यपरिकारदेखि कृत्रिम तवरबाट उत्पादित खानेकुरासम्मको लामो सूची पर्छन् । 

जैविक खाद्यवस्तु

विज्ञान र प्रविधिले चरम प्रगति चुमेको एक्काइसौँ शताब्दीमा खाद्यवस्तुका अनेकन् विकल्प छन् । खाद्यविद्हरूका अनुसार संसारमा मूल रूपमा तीन प्रकारका खाद्यवस्तुका स्रोत छन् । तीन हुन्, बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु (plant-based food), जनावरको मासु, दूध–दही तथा अन्डा (animal products)  र प्रशोधित खाद्यवस्तु (processed food) ।

यीमध्ये बोटबिरुवा वा फसलबाट उत्पादित खाद्यवस्तु नै मानव जातिका सबैभन्दा उपयुक्त खानेकुरा हो भन्ने राय पोषणविद्हरूले पेस गर्दै आएका छन् । यिनीहरू नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन् । यस्ता खाद्यवस्तुका अनेकन् जीवनदायिनी लाभ छन् । 

सङ्क्षेपमा भन्दा जैविक खाद्यवस्तु ग्रहण गर्दा शरीरको प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि हुने, क्यान्सरजस्ता घातक रोगको जोखिम कम हुने, शरीरको तौल सन्तुलित तुल्याउन सहयोग पुग्ने, हृदयरोगको जोखिम कम हुनेजस्ता गुणदायिनी लाभ मिल्छ भन्ने पोषणविद्हरूको एकमना निष्कर्ष छ ।

यसका अतिरिक्त जैविक खाद्यवस्तुमा औषधीय गुण पनि अन्तरनिहित छ । सही किसिमले सही खानेकुरा खाएमा खानेकुरा स्वयम् नै औषधि बन्छ, रोग लाग्दैन र औषधिको कुनै दरकार पर्दैन । अर्को शब्दमा भन्दा उपयुक्त खानेकुरा उपयुक्त मात्रामा खाएमा त्यही जीवनदायिनी औषधि बन्छ । खानेकुरालाई औषधिका रूपमा उपयोग गर्ने परिपाटीलाई खाद्य औषधि (food medicine) भनिन्छ । 

एन्टिबायोटिक्सजस्ता आधुनिक औषधिको गलत प्रयोगले जनस्वास्थ्यमा अनेकौँ कहालीलाग्दा दुष्प्रभाव पारिरहेको बेलामा खाद्य औषधिको महत्व बढेर गएको छ । औषधिको गलत प्रयोगले जनधनको अपार क्षति भइरहेको रिपोर्ट आइरहेको छ । यस्तो प्रतिकूल घडीमा खाद्य औषधिको महिमा र गरिमा नबढ्ने कुरै छैन । 

आधुनिक समाजमा ‘अग्र्यानिक खाद्यवस्तु’ भनेर चिनिने जैविक खाद्यवस्तु नै मानव जातिका लागि पहिलो श्रेणीको उपयुक्त खाद्यवस्तु हो भन्ने तथ्य अघि नै आइसकेको छ । जनस्तरको लवजमा मिठोपिठो, साग–सिस्नु, ककरी–मकरी आदि नामले चिनिने अप्रशोधित खाद्यवस्तु नै साँचो अर्थमा जैविक खाद्यवस्तु हुन्, जो हामीले राम्रसँग नचिनेको वा हामीबाट अपहेलित अमृत हुन् भन्न सकिन्छ ।  


प्रशोधित खाद्यवस्तुको अँध्यारो पक्ष

अचेल विकासोन्मुख मुलुकका बहुसङ्ख्यक उपभोक्ता आकर्षक प्याकेट वा डिब्बामा उपलब्ध प्रशोधित खाद्यवस्तुका पछाडि लागेका छन् । हामीकहाँ म्याकडोनाल्ड, केएफसीजस्ता ‘फास्टफुड’ को लोकप्रियता बढेर गएको छ । यस्ता खाद्यपरिकार ग्रहण गर्ने परिपाटीलाई कसै कसैले सम्पन्नताको प्रतीक ९स्ट्यास सिम्बोल० का रूपमा लिने गरेको पाइन्छ । अर्थात् यस्ता खाद्यपरिकार ग्रहण गर्ने व्यक्तिको आर्थिक तथा सामाजिक हैसियत उच्च छ भन्ने सङ्केतका रूपमा बुझ्ने प्रवृत्ति हामीकहाँ छ, जुन उच्चस्तरको भ्रमबाहेक केही होइन । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तु (processed food) मूलधारको खाद्यवस्तु बन्ने तरखरमा रहेको प्रतीत हुन्छ । खाद्यवस्तु जीवनशैलीको एक हिस्सा बन्न लागिरहेका बेला यसका अँध्यारो पक्षबारे हामी जानकार बन्नै पर्छ । प्रशोधित खाद्यवस्तु देख्नमा आकर्षक र  जिब्रोका लागि स्वादिलो हुन्छ नै तर प्रशोधित खाद्यवस्तुलाई स्वादिष्ट बनाउन स्वास्थ्यका लागि प्रतिकूल ठहरिएका रसायनलगायतका अखाद्य वस्तु प्रयोग हुन्छन् । यसको मूल्य मानव जीवन नै हुन सक्छ । 

प्रशोधित खाद्यवस्तुमा खाद्यवस्तुको प्रकृति अनुसार अत्यधिक मात्रामा नुन तथा चिनी प्रयोग गरिँदा मानव स्वास्थ्यमा एकपछि अर्को गरी गम्भीर असर परिरहेको चर्चा पनि शिखरमा छ । 

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा जारी एक प्रतिवेदनले गुणस्तरहीन प्रशोधित खाद्यवस्तु ग्रहण गर्दा विश्वभरका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परेको जनाएको छ । खासगरी गुणस्तरहीन प्रशोधित खाद्यवस्तुले शरीरको प्रतिरोधात्मक क्षमतामा कमजोर हुने, क्यान्सरको जोखिम बढ्ने, शरीरको तौल असन्तुलित हुने, हृदयरोगको जोखिम बढ्ने लगायतका गम्भीर प्रकृतिका स्वास्थ्यसम्बन्धी जोखिम तथ्य पोषणविद्हरूले औँल्याउँदै आएका छन् । 

गुणस्तरहीन प्रशोधित खाद्यवस्तुलगायतका गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगको ग्राफ उकालो लाग्दै छ, जुन हामी स्वयम्ले निम्त्याएको सङ्कट हो । आधुनिकताको नाममा गलत खानपिन र जीवनशैलीसँग सम्बन्धित रोगले विश्वमा हरेक वर्ष लाखौँ मानिसको जीवनलीला समाप्त हुँदै आएको छ । 

अमेरिकी पत्रिका ‘टाइम’ (अप्रिल ३, सन् २०१९) ले ‘द ल्यानसेट’ जर्नलमा प्रकाशित शोधमूलक लेखलाई उद्धरण गर्दै विश्वका कुल मृत्युमध्ये २० प्रतिशत मृत्यु ‘जङ्क फुड’ लगायत कमसल खालका खानेकुरासँग सम्बन्धित छ भन्ने तथ्य उजागर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा गुणस्तरहीन तथा कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्नेको सङ्ख्या सुर्तीजन्य पदार्थ सेवनबाट मर्नेको भन्दा बढी छ ।

तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष एक करोड १० लाख मानिस कमसल खानेकुराबाट लाग्ने रोगबाट मर्छन् भने सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट देहत्याग हुनेको सङ्ख्या जम्मा ७० लाख रहेको छ । ‘द हिन्दुस्तान टाइम्स’ ९अगस्ट २३, सन् २०२३० मा प्रकाशित लेखमा बालबालिकाको स्वास्थ्यमा क्षति पु¥याउने चाउचाउ, गुलियो पेय, प्रशोधित मासुलगायत १० वटा ‘जङ्क फुड’ को सूची दिइएको छ । 

विज्ञापनको भ्रमजाल

हामी विज्ञापनको युगमा बाँचिरहेका छौँ । हामीकहाँ नकारात्मक र गुणस्तरहीन चिजलाई के के न हो जस्तो गरी प्रचार गरेर भ्रम बाँड्ने संयन्त्र तयार भइसकेको छ । गलत चिजलाई गौरवीकरण गरिएका विज्ञापन ९नयिचषष्भम बमक० अहिलेको निर्मम वास्तविकता हो । अचेल आकर्षक तर भ्रामक विज्ञापनबाट सङ्क्रमित पुस्ता तयार भइसकेको छ, जो विज्ञापनमा प्रस्तुत भएका अवास्तविक दुनियाँलाई साँचो ठान्छन् तर वास्तविक भुक्तभोगीका मौलिक जीवन भोगाइबाट निसृत ज्ञानलाई अङ्गीकार गर्न हतपत तयार हुँदैनन् । 

भ्रमयुक्त विज्ञापनले नयाँ पुस्ताको दिमाग एकोहोरो बनाइदिएको हुन्छ । विज्ञापनको सूत्रमय र शानदार प्रस्तुतिले उनीहरूलाई पागलप्रेमी जस्तो एकोहोरो बनाइदिइसकेको हुन्छ । परिणामस्वरूप विज्ञापनले बिछ्याएको भ्रमजाललाई सत्य ठानी गुणस्तरहीन चिजलाई उच्चस्तरीय वस्तु मान्नेहरू पनि हामीकहाँ कम छैनन् । 

विज्ञापनले समाजमा कसरी भ्रमजाल बिछ्याएका छन् र हामी कसरी हुस्सु बनिरहेका छौँ भन्ने जान्न आवश्यक छ । ‘द अनरियालिटी इन्डस्ट्री’ ९सन् १९८९०, ‘नो लोगो’ (सन् १९९९), ‘डिह्युमनाइजेसन अब् अमेरिका’ (सन् १९९२), ‘अम्युजिङ आवरसेल्भस् टु डेथ’ (सन् २००५) आदि पुस्तकले भ्रामक र धोकापूर्ण विज्ञापनले हाम्रो जन, धन र मन  कसरीलाई सिध्याउँदै छ भन्ने मार्मिक दृष्टान्त पेस गरेका छन् । ‘जङ्क फुड’ का पक्षमा खर्च गरिएका करोडौँको खर्चले गजब किसिमले नयाँ पुस्ताको ‘ब्रेन-वास’ गरिरहेको छ । 

चेतनाको दियो

पश्चिमी गोलार्द्धमा खाद्यवस्तुसम्बन्धी मनोविज्ञान हाम्रोभन्दा नितान्त भिन्न देखिन्छ । हामी ‘जङ्क फुड’ को हिमायती बनिरहेका बेला पश्चिमी समाजले म्याकडोनाल्ड, केएफसी आदि ब्रान्डका खाद्यवस्तुलाई सस्तो र कमसल खालका खानेकुरा मान्दछ । उनीहरूले जैविक खाद्यवस्तुलाई गुणस्तरीय र स्वास्थ्यवर्द्धक  खानेकुरा मान्छन् ।

वास्तविकता पनि त्यही हो। पश्चिमी समाज प्रशोधित खाद्यवस्तुलाई त्यागी जैविक खाद्यवस्तुतर्फ  आकर्षित हुँदै गएको छ । परिणामतः त्यहाँ जैविक खाद्यवस्त अकल्पनीय किसिमले महँगो पनि छ । 

हाम्रो समाजमा पनि जैविक खाद्यवस्तुका पक्षमा जनचेतनाको दियो सल्किने क्रम जारी छ । झिनो रूपमा नै सही अचेल जैविक खाद्यवस्तुका पक्षमा जनमत तयार हुँदै गएको छ । हुन त नेपाली समाज मूलभूत रूपमै जैविक खाद्यवस्तु उपभोग गर्दै आएको रैथाने समाज हो । प्रकृतिको निकटमा रहेर प्रकृतिकै काखमा उपलब्ध जैविक खाद्यवस्तु ग्रहण गरी निरोगी र दीर्घजीवी बन्ने परिपाटी हाम्रो समाजको मौलिक चिनारी हो । 

पहिलेका तपस्वीले जैविक खाद्यवस्तुलाई आत्मसात् गरेको पाइन्छ । मातृका तिम्सिनाले तपस्विनी योगमाया न्यौपाने (वि.सं. १९२५–१९९८) बारे लेखेको लेखमा यही प्रसङ्ग कोट्याएका छन् । समाजको विसङ्गति तथा विकृतिविरुद्ध सामाजिक अभियन्ताका रूपमा प्रकटित योगमायाले जैविक खाद्यवस्तुको महìव बुझेकी थिइन् । उनले आश्रम सञ्चालन गर्ने अभिप्रायले ‘भिक्षापत्र’ जारी गरेको इतिहास छ । त्यस ‘भिक्षापत्र’ मा साग, सिस्नो, पिठोको प्रसङ्ग छ । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय काव्यकृति ‘मुनामदन’ मा साग र सिस्नुको प्रसङ्ग छ । ‘मुनामदन’ मा एउटा मार्मिक हरफ छ, ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ । सर्वसाधारणका लागि समेत बोधगम्य ठहरिएका यस हरफमा मौलिक आहारा र आनन्दी मनबीचको सम्बन्धलाई उजागर गरिएको छ । 

‘मुनामदन’ को उपर्युक्त हरफले स्वस्थ जीवनका लागि शरीर र मन दुवै स्वस्थ हुन आवश्यक छ भन्ने सरल तर मार्मिक सन्देश दिएको छ । साथै यसले स्वस्थ जीवनका लागि साग, सिस्नुजस्ता सहजै उपलब्ध हुने खाद्यवस्तु पर्याप्त छ भन्ने शक्तिशाली सन्देश पनि दिएको छ । 

सागकै परिवर्तित रूप गुन्द्रुकलाई धेरैले हेयभावले हेर्छन् तर यसको महत्व आफ्नै किसिमको छ । नेपाल समाचारपत्रमा प्रकाशित डा। प्रकाशराज रेग्मीको एक लेखमा जाडोको समयमा बेलुका गुन्द्रुकको झोल खाने गरेमा यसले जिउ तताउन मद्दत गर्छ भनी उल्लेख गरिएको छ ।

समयको खेल नै मान्नुपर्ला कुनै बेला गरिबको आहारा भनेर चिनिएका र हेला गरिएका गुन्द्रुक, ढिँडो तथा सिस्नुको लोकप्रियता बढेर गएको छ । हिजोका दिनमा फालिएको अवस्थामा रहेका ती खाद्यपरिकार आज सहरका तामझामपूर्ण होटलको मेनु बन्न पुगेका छन् । घरगाउँमा सित्तैमा पाइने ती वस्तु अब महँगो मूल्य चुकाएर मात्र खान पाइने भएको छ । हामीले बेलैमा अमृतलाई चिन्न नसक्दा यस्तो अवस्था आएको हो ।

समस्याको पाटो

जैविक खाद्यवस्तु बहुधा गुणकारी हुँदाहुँदै पनि समस्याविहीन भने रहन सकेको छैन । यसका पछाडि हाम्रै गैरजिम्मेवारपूर्ण व्यवहार जिम्मेवार बनेको छ । अनावश्यक किसिमले रासायनिक मल तथा कीटनाशकको प्रयोगले जैविक खाद्यवस्तु विषालु बन्न पुगेको अवस्था छ । कीटनाशक प्रयोग भएका तरकारी, फलफूल र अन्नबाट जनस्वास्थ्यमा गम्भीर समस्या आइरहेको निष्कर्ष आइरहेका छन् । 

रासायनिक मल तथा कीटनाशकले माटो रुखो बन्नुका साथै जलचर तथा थलचर जस्ता यावत् मित्रजीव क्रमिक रूपमा नासिन पुगेका छन् । यसबाट प्रकृतिको चक्र खल्बलिने अवस्था आएको छ । व्यापारिक प्रयोजनका निमित्त उत्पादित खाद्यवस्तुमा अखाद्य वस्तुको मिसावट अर्को गम्भीर समस्या बनेको छ ।

अर्कोतिर हामी छिटो, छरितो र उब्जाउ बालीनालीका पछि लागेका छौँ । यस क्रममा हामी जिन नै परिवर्तन गरिएका ‘जिएमओ’ फसलका उपासक बनेका छौँ । अब किसानको हातमा बिउ नरहने अवस्था आएको छ । किसानले वर्षैपिच्छे व्यापारीकहाँ बिउ किन्नुपर्ने अभूतपूर्व अवस्था आएको छ । व्यापारिक कम्पनीको ‘मुठीको माखा’ बन्न पुगेका छन् किसानवर्ग । 

एकातिर किसानले आत्मनिर्भरता गुमाउने र अर्कोतिर बहुराष्ट्रिय व्यापारिक कम्पनीको किसानलाई टेकेर नाफा कमाउने । यसलाई हाम्रो नीतिगत असफलता मान्न सकिन्छ । यस प्रकारको दुःखदायी दृष्टान्तलाई गुणकारी रैथाने बालीनालीप्रति गरिएका अत्याचारपूर्ण व्यवहारका रूपमा लिन सकिन्छ । 

‘जिएमओ’ फसलप्रतिको मोहले हाम्रै सेरोफेरोमा रहेका औषधीय गुणयुक्त कतिपय रैथाने बाली हेलाहोचो हुन पुगेका छन् । परिणामस्वरूप कतिपय रैथाने बालीनाली त पूरापूर विलुप्त भइसके भने कतिपय लोप हुने चरणमा छन् । 

यति हुँदाहुँदै पनि पछिल्लो चरणमा रैथाने बालीप्रति झिनो रूपमा भए पनि आकर्षक बढेको छ । रैथाने फसलको माग बढेको छ तर माग पूरा गर्न सकिने अवस्था देखिँदैन । यहाँनेर, एउटा समाचार शीर्षकलाई दृष्टान्तका रूपमा लिन सकिन्छ : ‘गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै’ (बाह्रखरी, असोज २७, २०८० साल) । समाजलाई स्वस्थ रहन सघाउने हो भने रैथाने बालीको खेती बढाउनुको विकल्प छैन ।


यात्रा र ‘जङ्क फुड’

यात्रामा ‘जङ्क फुड’ को प्रयोग भरमार देखिन्छ । बेच्नेले पनि गौरवपूर्ण किसिमले बेचिरहेको र किन्नेले पनि छाती फुलाएर किनिरहेको देखिन्छ । स्वास्थ्यका दृष्टिले अभक्ष ठहरिएका यस्ता खाद्यवस्तु किन्ने, बेच्ने र जनस्वास्थ्यलाई हाकाहाकी ताकमा राख्ने काम भइरहेको छ । ‘जङ्क फुड’ को प्याकेट तथा डिब्बाले वातावरणमा पारेको नकारात्मक प्रभावबारे बेग्लै अध्ययन तथा विश्लेषणको विषय बन्न पुगेको छ । 

यात्रामा निस्कँदा खानपानमा उच्च सतर्कता अपनाउने व्यक्तिले पनि जङ्क फुड खानैपर्ने बाध्यता छ । किनभने मौजुदा खाद्य संस्कृतिमा यसको कुनै भरपर्दो विकल्प उपलब्ध छैन । यस प्रकारको कुचक्र लाई तोड्नैपर्ने अवस्था आएको छ । राजमार्गका व्यापारीले ताजा जैविक खानेकुरा बेच्ने नीतिगत परिपाटी बसाल्न आवश्यक छ । यसबाट किसान, बिक्रेता र उपभोक्तालाई लाभ हुन्छ । 

 

अबको बाटो

सबैभन्दा हामीमा पहिले रैथाने खाद्यवस्तुप्रति प्रेमभाव विकास हुन आवश्यक छ । आकर्षक तर भ्रामक विज्ञापनका पछाडि दौडने परिपाटीमा आमूल परिवर्तन आउन आवश्यक छ । रैथाने जैविक बालीनाली चिन्न र तिनका व्यावहारिक उपयोगबारे व्यापकस्तरमा जनचेतना जगाउन विलम्ब गर्न नहुने अवस्था छ । 

गुणस्तरहीन खाद्यवस्तुको प्रभाव मन्द विषजस्तो गरी  फैलिएको सन्दर्भमा यस्तो कदम अत्यावश्यक भइसकेको छ । अब रैथाने प्रविधिमा आधारित जैविक खाद्यवस्तुको उत्पादन र उपभोग बढाउन प्रेरित तुल्याउने नीतिगत संरचना पनि आवश्यक छ । औषधिको सहारामा जीवन धकेल्नुपर्ने कारुणिक अवस्थाबाट मुक्ति लिएर हाम्रा जन, धन र मनलाई जोगाएर जीवनको लयमा लयबद्ध बनाउने योभन्दा अर्को कुनै सुन्दर र भरपर्दो उपाय छैन ।  


[साभार:  युवामञ्च । मङ्सिर २०८० । ]


Friday, March 3, 2023

चौतारीको एक्लो वर - from @Himal_Khabar

चौतारीको एक्लो वर - from @Himal_Khabar: सन्तानलाई परम्परागत भाका-भजन र वाद्य सामग्री बजाउन नदिने अनि गाउँशहरमा कसका लागि रोदीघर खोल्ने? रुद्रनिधि तिवारीको चिन्ता छ।