Showing posts with label लोकसंस्कृति. Show all posts
Showing posts with label लोकसंस्कृति. Show all posts

Friday, March 15, 2019

गण्डकी क्षेत्रको लोकसुुसेली ठाडो भाका

–यमबहादुर दुरा

ठाडो भाका । लोकसङ्गीकको एउटा विशिष्ट विधा । मूलतः गण्डकी भेगको लोकसुसेली । गाउँघरका अपठित कर्मजीवी कलासाधकले मायाले असाध्यै सुम्सुम्याएको मोहनी भाका । एउटा विशिष्ट सांस्कृतिक निधि । जनस्तरमा बिछट्टै लोकप्रिय रहेर पनि समयक्रमसँगै विलयको संघार पुगेको अमूर्त सांस्कृतिक सम्पदा ।

कुनै समयमा ठाडो भाका गाएरै दुनियाँको मन जितेका देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३), मनिराम दुरा, भेडीँखर्के साइँला (वि.सं. १९९१-२०७४), सकुन्धरा दुरा वि.सं. १९९१-२०७१), भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९), ज्ञानीमाया थापाहरू अब यस दुनियाँमबाट बिदा भइसकेका छन् । समयले भाका फेर्दै जाँदा ठाडो भाकाको आवाज मधुरो हुँदै गएको छ । ठाडो भाका गाउने जान्नेहरूको अभाव दिनदिनै खट्किँदै गएको छ ।

यो समय रैथाने संस्कृतिका लागि अत्यन्त प्रतिकूल हुँदाहुँदै पनि गाउँको कुनाकन्दरामा ठाडो भाका गाउन सक्ने प्रतिभाहरू अझै पनि बचेखुचेका अवस्थामा छन् । समयको कठोर झोक्काले गाउँको रैथाने साङ्गीतिक वातावरण भत्काइदिएको छ, जसबाट कोइलाखानीमा लुकेका हीराजस्ता ती कला र गलाका धनी बेखबर हुन पुगेका छन् । समयले रैथाने गीतको लय भङ्ग पारिदिँदा ती ग्रामीण प्रतिभा आफ्नै भूगोलमा बिरानो हुन पुगेका छन् ।

समयले तीतो स्वाद चखाउँदा चखाउँदै पनि बुद्धिमान दुरा, नन्दमाया दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, शुकमाया विक, सीता दुरा, राधा भण्डारीजस्ता प्रतिभाहरूको उपस्थितिले यस क्षेत्रमा आशाको किरण थपेको छ । यसका अतिरिक्त केही क्षेत्रमा नवप्रतिभाहरूको पनि झिनो उपस्थिति छ । उनीहरू आशाका किरण हुन् ।

ठाडो भाका विशिष्ट सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा जन्मिएको विशिष्ट किसिमको साङ्गीतिक विधा हो । कलाकार भनेर नचिनिएका ग्रामीण कलासाधकहरूले जन्माएर हुर्काएको ठाडो भाका सर्वसाधारण नागरिककोे ढुकढुकी हो । यसमा समकालीन समाजको सामाजिक तथा सांस्कृतिक तस्बिर दृष्टिगोचर हुन्छ ।

हरेक मौलिक लोकगीत आञ्चलिकता–प्रधान हुन्छ, जसमा स्थानीयपन छताछुल्ल भेटिन्छ । ठाडो भाका पनि यसको अपवाद हुन सक्दैन । ठाडो भाकामा स्थानीय बोलीचालीको भाषा अधिक प्रयोग हुन्छन् । स्थानीय जीवनशैलीको झलक स्थानीयपन, आलङकारिकता र विम्बात्मक अभिव्यक्ति यसका मूलभूत विशेषता हुन् ।

ठाडो भाकामा जीवन र जगतका सबै कुरा समेटिन्छन् । भाषा एकदमै शिष्ट र मर्यादित हुन्छ । लोकलाजलाई ख्याल गरिन्छ । दुनियाँलाई असहज लाग्ने कुरालाई सीधा भाषामा अभिव्यक्त गरिँदैन । लोकमर्यादालाई उच्चस्थान दिइन्छ । खासगरी मायप्रेमका कुरा र जीवनका कतिपय आयामलाई विम्बात्मक ढङ्गमा व्यक्त गरिन्छ । जस्तैः प्रेमी–प्रेमिकालाई फूल–भमरा, जीवनलाई घाम–छायाँ आदि विम्बद्वारा चित्रण गरिन्छ ।

यस्ता विम्ब नितान्त सरल, सरस र बोधगम्य हुन्छन्, जसको भाव र छनक निरक्षरजनले पनि सजिलै बुझ्न सक्छन् । गीतमा प्रयोग भएका विम्बात्मक शब्दावलीले एउटा विशिष्ट वाङ्मय र रङ्ग–रेशमको माहोल तयार पार्छ, जसले गीतको खाललाई आकर्षणको केन्द्रविन्दु बनाउन सहयोग गरेका हुन्छन् ।

विनयशीलता ठाडो भाकाको आत्मा हो । आफ्नो अभिव्यक्तिबाट गीत गाउने समकक्षीले अपमानित वा अपहेलित अनुभूत नगरुन् भन्नेमा विशेष ध्यान दिइन्छ । त्यसैले आफूलाई ‘लो प्रोफाइल’ मा राखेर शिष्ट शैलीमा कुरा राखिन्छ । यसमा सीधा घोचपेच गरिँदैन । कसैलाई व्यङ्ग्य नै गर्नुपरे पनि सोझै व्यङ्ग्य नगरी गुलाबी छेण हानिन्छ । कटु शब्दको प्रयोगलाई शिष्टाचारविहीन व्यवहार मानिन्छ ।

ठाडो भाका विशेष प्रकारको गीत भएकोले गीत गाउन विशेष सीप र सिर्जनशीलता आवश्यक पर्छ ।  ठाडो भाकामा एउटै गीत दुई चरणमा गाइन्छ । पहिलो फेद गाइन्छ भने फेदको परिपूरकको रूपमा टुप्पो गाइन्छ । फेद गीतको उठान विन्दु हो भने टुप्पो बैठान विन्दु हो । गीत गाउँदा फेद र टुप्पोको अन्त्यानुप्रास मिल्नुपर्छ । गीतको मूल सन्देश टुप्पोमा रहन्छ तर फेद र टुप्पो एकअर्काका परिपूरक हुन् । फेदले गीतको पृष्ठभूमि तयार पार्छ । फेद र टुप्पो बेग्लाबेग्लै चरणमा गाइन्छ । जस्तै :

(फेद) : हा... हा... अहिलेको खेती भनौं सुनाखरी घैया रे दशैं र तिहारीलाई
(टुप्पो) : हो...हो...रामले धनु ताक्छ धेरै माया लाग्छ बैनी मेरो पियारीलाई

गीत शुरु गर्दा सीधै मूल विषयमा प्रवेश गरिँदैन । देवीदेउता वा सिमे–भूमेको नाम पुकारेर मात्र गीत शुरु गरिन्छ । जस्तै :

(फेद) : बिहानीपख झुलकने घाम गैरीखेत छायाँलाई
(टुप्पो) : खरु घाँस गाईलाई, पहिलो चरण सरस्वती माईलाई दोस्रो चरण मायालाई

(फेद) : पानीरोमा खाई उमकाली लाग्यो रे कालिचै कुखारी
(टुप्पो) : कास्की बैदाम तालमा, बस्यो पञ्चखालमा देवीदेउता पुकारी ।

गीतमा प्रयोग हुने शब्दलाई गेयात्मक (गाउन मिल्ने) बनाउनका लागि कतिपय अवस्थामा कतिपय शब्दलाई हल्का तोडमोड गरेर गाउने गरिन्छ, जुन गायनको व्याकरणभित्रै पर्ने कुरा हो । अंग्रजीमा पोएटिक लाइसन्स (Poetic license) भनेर चिनिने यो परिपाटीले गीतलाई सुललित बनाउन सहयोग गर्छ । माथि उध्रृत गीतमा पानीलाई ‘पानीरोमा’, उकालीलाई ‘उमकाली’, लाग्योलाई ‘लाग्यो रे’, कुखरी ‘कुखारी’ भनी उच्चारण गरिएको छ । यसरी गीतमा सामान्य बोलीचालीको भाषाभन्दा बेग्लै किसिमले उच्चारण गरिन्छ । गीतको आफ्नै व्याकरण हुन्छ ।

यसैगरी, अवस्थाअनुसार गोरखालाई गोरिखा, कुन्छालाई ‘कुनिछा’, एकलाई एकु, दरबारलाई ‘दरिबार’, घरबारलाई ‘घरिबार’, राजाको धनलाई ‘राजाको रे धनमा’ नमेरसम्मलाई ‘नैत मरेसम्म’ तथा खरको घाँसलाई ‘खरुको घाँस’ भनेर उच्चारण गरिन्छ । यस किसिमको भाष्यले गीतलाई लयात्मक बनाउने भूमिकामात्र खेल्दैन,  सरिलो, भरिलो र श्रुतिमधुर बन्छ । यहाँनेर, नेपाली मानक भाषाको व्याकरण लागू हुँदैन । अपठित भएर पनि हाम्रा अघिल्ला पिँढीले गीतको अलिखित व्याकरणलाई राम्रोसँग बुझेर सोहीअनुसार पालना गरेको देखिन्छ ।

गीतलाई लयात्मक, श्रुुतिमधुर, भावप्रधान र प्रासंगिक बनाउन बीच बीचमा आवश्यकताअनुसार टुक्काप्रधान शब्दावली प्रयोग गरिन्छन् । जस्तै : आँपै काटी कोया बाँसै काटी चोया, देउबहादुर दुरा पञ्चखालको कुरा, बहर बाच्छा दाउँदा साइनोपात लाउँदा, गाईको नाम त गाजु मेरो प्यारो दाजु, दश घरी केरा अहिले यतिन्खेर । यस्ता शब्दावलीले गीतमा ज्यान भर्ने र माटो सुवास थप्ने काम गर्छन् ।

गीत गाउँदा प्रयोग गरिएका शब्दलाई चुइङगमझैं तन्काउने तथा खुम्च्याउने खुबी पनि गायक–गायिकामा हुनु उत्तिकै आवश्यक छ । यसका लागि उपयुक्त ठाउँमा स्वरको आरोह–अवरोह, स्वरघातको प्रयोग गर्ने ज्ञान र सीप वा स्वरसुधाको खाँचो पर्छ । भेँडीखर्के साइँला लोकप्रिय हुनुको एउटा कारण हो, उनले राम्रोसँग स्वरको आरोह–अवरोह गरेर गीतलाई मिठास भर्नु । गीतको आरोह–अवरोहबारे उनीबाट धेरै कुरा सिक्ने ठाउँ छ । नवप्रतिभाहरूमा यसप्रकारको विशिष्ट ज्ञान र सीपको सर्वथा अभाव देखिन्छ ।

ठाडो भाका विम्बप्रधान गीत भएकाले बढी मात्रामा विम्बहरू प्रयोग गरिन्छन् । तर अहिले विम्बको अभाव हुँदै गएको देखिन्छ । यसका पछाडि दुई मूलभूत कारण छन् । पहिलो, विगतमा प्रयोग हुँदै आएका विम्बहरू नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु । दोस्रो, समयानुकूल नयाँ विम्ब बन्न नसक्नु । यसका अतिरिक्त प्रयोग भइआएका कतिपय विम्बहरू पुराना भइसकेका छन् । तिनीहरू समयको कुनै विन्दुमा तयार पारिएका हुन् । खासगरी अपठित कृषिप्रधान समाजमा बनेका ती विम्ब अहिले आएर सन्दर्भविहीन बन्दै गएका छन् ।

हाम्रो सामाजिक तथा सांस्कृतिक परिदृश्यमा थुप्रै परिवर्तन आएका छन् । आजको परिवर्तित सन्दर्भमा हिजोका कतिपय विम्ब र उपमा अपर्याप्तमात्र छैनन, असान्दर्भिक पनि हुन पुगेका छन् । गीतमा प्रयोग भएका ती पुराना विम्ब ऐतिहासिक सन्दर्भमात्र हुन सक्छन्  ठाडो भाकालाई समयको कसीमा राखेर हेर्दा अहिले गीतमा प्रयोग हुने विम्बको रिक्तता देखिन्छ । यसप्रकारको खालीपनलाई समाजोपयोगी वजनदार विम्बहरूले भर्नुपर्ने अवस्था आएको छ । यसका लागि गायक–गायिकाका सिर्जनशील, विचारवान् र कल्पनाशील हुनैपर्छ ।

ठाडो भाकाका प्रसस्त स्थानीय भेद छन् । उदाहरणका लागि लमजुङे ठाडो भाका, गोर्खाली भाका । यसका अतिरिक्त लमजुङे ठाडो भाका र गोर्खाली ठाडो भाकामा पनि अझ सूक्ष्म किसिमको स्थानीय भेद पाइन्छ ।
एउटै भेगमा गाइने गीतमा पनि एउटै डाँडा वारि र पारि शैलीगत पक्षमा सूक्ष्म किसिमका स्थानीय भिन्नता भेटिन्छन् ।

 त्यही भिन्नतालाई इङ्गित गर्न लमजुङको कतिपय बेंसी तथा होचा भागका प्रचलित ठाडो भाकालाई कछारे भाका वा टरेली भाका भन्ने गरिन्छ । यप्रकारको स्थानीय भेदले ठाडो भाकाको दायरालाई फराकिलो र समृद्ध बनाउन सहयोग गरेको छ । यसलाई सम्पत्ति नै मान्नुपर्ने हुन्छ ।

ठाडो भाकाको चारित्रिक विशेषता हेर्दा यो हतारमा गाइने गीत होइन भन्ने निष्कर्षमा पुगिन्छ । यो गीत अहिलेको चटपटे शैलीको गीतभन्दा धेरै भिन्न छ । यो एकप्रकारले धिर प्रकृतिको गीत हो । एउटै गीत दुई चरणमा गाउने,  गीतको खालमा प्रवेश बसेर गीत शुरु गर्दा देवी देउता तथा सिमे–भूमेको नाम पुकार्ने, त्यसपछि सोधनी–पुछनी गरेर साइनोपात लाउने कार्य ठाडो भाकाको साङ्गीतिक संहिताभित्र पर्छ ।

गीत गाउने सिलसिलामा एउटा समकक्षीले अर्को समकक्षीको नाम, ठेगाना आदि  सोध्नुपर्दा शिष्ट शैलीमा अनुमति मागिन्छ । अर्का समकक्षीले अनुमति दिएपछिमात्र कुरा राखिन्छ । यसप्रकारको अलिखित संहिता पालना गर्दा गीत धेरै लम्बिएर जान्छ तर पनि गीत निरस भर्कोलाग्दो हुँदैन ।


ठाडो भाका गायनको क्षेत्रमा नयाँ पुस्ताका गायक–गायिकाहरूको झिनो उपस्थिति छ । उनीहरूका गीतको शैली र व्यवहार हेर्दा ठाडो भाकाको मर्म र धर्मप्रति धेरै हदसम्म अपरिचितजस्ता देखिन्छन् । नयाँ पुस्ताका कतिपय गायक–गायिकाले ठाडो भाकाका कुनै पनि स्थानीय भेदसँग मेल नखाने निकै भिन्दै किसिमले परिमार्जित शैलीमा गाउने गरेको पाइन्छ । एकतिर ती गीतमास्वरको आरोह–अवरोह मौलिकता भेटिँदैन भने अर्कोतिर शब्द उच्चारणमा ठाडो भाकाको अलिखित व्याकरण पालना भएको पाइँदैन ।

ठाडो भाका गायकमा नयाँ पुस्ताको आगमन हुनु खुसीको कुरा हो तर कतिपय अवस्थामा उनीहरूबाट असम्वेदनशील व्यवहार प्रदर्शन हुँदा चिन्ता मान्नुपर्ने अवस्था पनि छ ।

ठाडो भाकामा देखापरको अर्को विकृत पक्ष हो, अहिलेको चटपटे शैलीको दोहोरी गीतको ठाडो नक्कल गरिनु । अहिलेको दोहोरीमा ‘तिमीसँग लभ गर्छु, तिमीलाई लैजान्छु’ भनेर सीधै भनिन्छ । ठाडो भाकामा यस्तो व्यवहार स्वीकार्य मानिँदैन । यो शिष्ट र विनयशील गीत भएकाले  यसमा ‘तातै खाऊँ जली मरुँ’  गरिँदैन ।

यसमा अशिष्ट व्यवहार बर्जित छ । व्यक्त गर्न खोजिएका कुरालाई शिष्टतापूर्वक क्रमबद्ध शैलीमा अघि सारिन्छ । यो वास्तविकतालाई भुलेर कतिपय गायक–गायिकाले गोली  हाने जस्तो गरी सोझै कुरा राखेको भेटिन्छ, जुन ठाडो भाकाको मूलमर्मको विरुद्धमा छ । यसलाई अशिष्ट र अमर्यादित मानिन्छ ।

कतिपय नवप्रतिभाले कुनै स्थापित गायकको शैली र शब्द सोझै नक्कल गरेको पाइन्छ । कलाकार अरूबाट प्रभावित हुने कुरा स्वाभाविक हो, तर अरूको ठाडो नक्कल गर्ने प्रवृत्ति गलत हो । यसले सम्बन्धित कलाकारको आत्मापहिचान संकटमा पर्छ ।

अरूबाट प्रभावित हुनु स्वभाविकै भए पनि आफ्नो मौलिक चिनारी हराउने गरी अरूको नक्कल गर्नुलाई कुनै पनि अर्थमा जायज भन्न सकिँदैन । अरूबाट प्रभावित हुँदै नयाँ विम्ब र भावधारा सिर्जना गर्दा मौरीले महको चाकामा फूलको रस राखेर अझ मिठास थपेजस्तै हुन्छ । तर अरूको ठाडो नक्कलले सुगा–रटाइ निम्तिन्छ, जसले कला र कलाकार दुबैलाई क्षति गर्छ ।

ठाडो भाका अपठित ग्रामीण कर्मजीवीहरूले सिर्जना गरेको गीत हो । यसमा मानक भाषाभन्दा भिन्न भाषा प्रयोग हुन्छन्, जुन स्वभाविक हो । यसमा मानक भाषा प्रयोग गरिनुपर्छ भन्ने आग्रह पनि राखिनुहुन्न । ठाडो भाका प्रतियोगितामा निर्णायक मण्डलमा बसेका कतिपय व्यक्तिहरूले यस्ता स्थानीय लवजलाई मान्यता नदिई नम्बर घटाइदिएका घटना पनि सतहमा आएका छन् ।

स्थानीयपन लोकगीतको आत्मा हो । यही स्थानीयपनले उसको पृथक पहिचान दिइरहेको हुन्छ, जुन उसको सम्पत्ति हो, मुटु हो, सबल पक्ष हो । निर्णायक मण्डलमा बसेका व्यक्ति शब्दको स्थानीयपनमा हुने तागत र लोकगीतको भाव–भङ्गितसँग परिचित हुनु आवश्यक छ । स्थानीय जीवनशैलीसँग परिचित नभई ठाडो भाकाको मर्म बुझ्न सकिँदैन ।


ठाडो भाका अमूर्त सांस्कृतिक सम्पदा हो । मानव सभ्यताको उत्थान र विकासमा यसले विशेष महत्व राख्छ । त्यसै सांस्कृतिक पक्ष हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले अमूर्त संस्कृतिको संरक्षणमा  जोड दिएको पाइन्छ ।  अमूर्त संस्कृतिको सबैभन्दा ठूलो र जिउँदो–जाग्दो संग्रहालय मानिसको मनमस्तिष्क नै हो । यसको सबल र दुर्बल पक्ष पनि यही नै हो । मानिस–मानिसबीचको सामाजिक अन्तरघुलन र अन्तरक्रियाका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा अमूर्त सांस्कृतिक सम्पदा विस्तार हुनसक्छ, जुन यसको सबल पक्ष हो ।

अर्कोतिर, सम्बन्धित कलाकारको मृत्युपछि ऊसँगै यस्ता सांस्कृतिक सम्पदा हराउने खतरा रहन्छ, जुन यसको दुर्बल पक्ष हो । त्यसमा पनि अहिले बाहिरी दुनियाँसँगको तीव्रतर समागमले पुरानो पिँढीबाट नयाँ पिँढीमा परम्परागत सांस्कृतिक सम्पदा हस्तान्तरण हुने प्रक्रिया व्यापकस्तरमा कमजोर हुँदै गएको छ । ठाडो भाकाले पनि यही नियति भोग्दै आएको छ । अमूर्त सांस्कृतिक सम्पदा एकपटक हराएपछि पुनप्र्राप्तिको सम्भावना लगभग शून्य रहन्छ । यो चिन्ताको विषय हो ।

ठाडो भाकाको शैलीगत विशेषता हेर्दा रोदीघरमा लामो रात कटाउन, मेलापर्मलगायत श्रमप्रधान कामकोे झर्कोलाग्दो समय मनोरञ्जन गरेर कटाउन यो गीत अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ । तर अहिले समयको हावा बेग्लै दिशामा बगेको छ । समयको बदलिँदो घडीमा पल पलको मूल्य नगदमा मापन हुने बेला आएको छ । यतिबेला रेडिमेड र छिटो–छरितो चीजको उच्च माग छ । यस्तो अवस्थामा लम्बेतान शैलीको गीतले आफ्नो अस्तित्व कुन हदसम्म बचाउन सक्ला ? प्रश्न गम्भीर छ ।

एकतिर परम्परा पनि बचाउनुपर्ने र अर्कोतिर समयले ल्याएको परिवर्तनलाई पनि आत्मासात गर्नुपर्ने । यो काम निकै जटिल र चुनौतीपूर्ण छ । समयले निम्त्याएको जटिलतालई चिर्न सरोकारवालाहरूसँग गहन विचार–विमर्श गरी व्यवहारिक समाधान निकाल्न आवश्यक छ । यसका लागि राज्यस्तर र समुदायस्तरको संयुक्त प्रयास हुन आवश्यक छ ।

ठाडो भाकाको आत्मालाई बचाउँदै समयले ल्याएको परिवर्तनलाई उचित किसिमले आत्मसात गनुर्को विकल्प छैन । संस्कृति संरक्षण सरोकारवालाहरूकोे सहभागिता र राज्यको रचनात्मक सहयोगसबिना सम्भव छैन । जनस्तकार नागरिकको सांस्कृतिक निधिको रूपमा रहेको ठाडो भाकाको संरक्षण तथा सम्वर्धन गर्ने जिम्मा कुनै अमुक व्यक्ति वा समुदायलाई थोपर्नु न्यायोचित हुँदैन । अब ठाडो भाकालाई माया गर्ने कवि, लेखक, गायक–गायिका तथा संस्कृतिकर्मीहरूबीच सहकार्य आवश्यक छ । यस राज्य संरक्षक र सरोकारवाला जनसमुदाय हर्ताकर्ता बन्नुपर्छ ।

[साभार : मधुपर्क । चैत, २०७५  ।]

यस लेखमा प्रयोग भएको जानकारीलाई अन्यत्र प्रयोग गर्न सकिन्छ । तर, जानकारी प्रयोग गर्दा स्रोत पनि खुलाइदिनुहोला । कृपया, अरुको बौद्धिक श्रमको सम्मान गर्न सिकौँ ।

[अद्यावधिक: २०७६।०१।३०, २०७६।०५।२९, २०७७।०४।१८, २०७९।०३।३१]

सिम्रिकझैं सिमल फुलेको

यमबहादुर दुरा

एउटा गाउँले केटो । लोकगीतसँग साइनो गाँस्दै हुर्किए, उनी । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला गाउँको सांस्कृतिक वातावरण उर्वर थियो । उनको जन्मस्थान मौलिक लोकभाकाहरूको खानी थियो । उनी प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाहरूप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरीगायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८-२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीतहरू रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो ।  त्यतिबेलाको समय नै बेग्लै थियो । कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपर्‍थ्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वरपरीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’ मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि बिछट्टै खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो : ‘कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई’ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’ मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो : ‘घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेश बालबच्चा रुवाउँदै’ । एक अर्थमा यो गीत भयानक क्रान्तिकारी आवाज हो, जसमा उनको आफ्नै जीवनभोगाइ प्रतिविम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती  खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेश झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासीको डाण्डा  झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेश झर्दा उनी नौ वर्षका थिए ।  प्रस्तुत गीतमा आन्तरिक बसाइँ सराइ र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

साङ्गीतिक यात्रामा अघि बढ्ने क्रममा लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’ बाट बज्ने भजन ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । देशको धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’ मा श्रृङ्गारिक रसको गीत स्वराङ्कन गरे : ‘सिम्रिकझैंसिमल फुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवन सँगै डुलेको’ । जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो श्रृगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्यो।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो  कदम छायाँले’, ‘सिम्रिकझैं सिमल फुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बमको प्रतिभा पोखिएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने यो भने यो संख्या ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’ मा दशवटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरबिरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रै नाम चलेका प्रतिभाहरूसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जुन सजिलो काम होइन । यो धेरै अपजसे काम हो । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं  तीतामीठा प्रसंग र घटनाहरू सञ्चित छन् ।
एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको पनि गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रूर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरीत दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितमा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तर निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी २०७४ साल भदौ २४ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट अनावरण भइसकेको छ  । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलारकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ साल असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउन पनि उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७-२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९-२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, तअहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत शहरका दोहोरी रेष्टुरेण्ट र महोत्सव भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले शहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।

[ साभार : लोकसंवाद । २०७५ साल चैत १ गते ।]

[अद्यावधिक: २०७५।१२।१२।१५, २०७६।१।५]


Friday, February 15, 2019

देऊ रुमाल फूल भरेर

-यमबहादुर दुरा

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफूजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो ।

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनु पर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए ।

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला आफ्ना पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियो पाउँदा उनलाई युद्ध जितेजस्तै भयो । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमाउनलाई मन पर्ने थुप्रै आवाजहरूमा नेपाली लोकगीतको एउटा विरहिणी विम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुभन्दा अघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो :  ‘खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...’ । (बाग्लुङतिरको लवजमा ध्याँसोलाई धैंस भनिन्छ) । यो गीत उनलाई खुबै मन पर्‍थ्यो ।

उनी पिढीको खाँबोमा रेडियो भुण्ड्याएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाँजिर हुन्थे । रेडियोमा बज्ने रैथानेपन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो ।

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई हुनसम्म पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । त्यसबेलाको रोदीघर र सामाजिक जमघटहरू मोहनी भाकाले गुञ्जयमान हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो ।

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । शुरु शुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रीसले बाँसुरी हुर्‍याइदिन्थे  । रीस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगालगयातका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो ।

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए तर उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलो पटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए ।

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए ।

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो ।

यसका अतिरिक्त ‘गाउंँशहरको भीर...’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल...’, बुट्टे चोलीरी..., ‘खो पाते...’ आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे, त्यो पनि स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रोव-रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फष्टाउने ठाउँ थिएन ।

 अन्तत: उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरी वादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

कृष्ण गुरुङ थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् ।

त्यसपछि शिकारी-चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको शिकार गर्नु कानुनतः निषिद्ध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको व्रह्मास्त्र थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा कृष्ण गुरुङले पनि अचुक अस्त्र प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे - डाँफेचरी होस् वा अन्य जीवजन्तु नै किन नहोस, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको व्रह्मास्त्रलाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे कृष्ण गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत लम्मरी लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक विम्बको रूपमा लिन्छन् ।

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर विम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’ सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’ सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ ।

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’

परिवर्तित परिस्थितिबारे उनी  टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टीभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’
परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’

नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको  दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ  ।

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँशहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ ।

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको तालिम लिएका छन् ।

उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा-बा र दाजुभाइ दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् ।

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एशिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् ।

उनले गुरुङ भाषाका दर्जन भन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी रेडियो नेपालबाट प्रतिष्ठित गायकको उपाधि, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साल साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्यमा पुगिने उनको अपेक्षा छ ।

[साभार: लोकसंवाद । २०७५ साल फागुन ३ गते ।]