Showing posts with label दोहोरीगीत. Show all posts
Showing posts with label दोहोरीगीत. Show all posts

Saturday, December 7, 2019

मौलिकता गुमाएको दोहोरीगीत

–यमबहादुर दुरा

यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरीगीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेष्टुराँदेखि विभिन्न मेला–महोत्सवसम्म दोहोरीगीत एउटा लोकप्रिय साङ्गीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो घडीमा दोहोरीगीत त्यस्तो सांस्कृतिक निधि बनेको छ, जसले आधुनिकतासँग पौठेजोरी खेल्दै सांस्कृतिक विरासत धानिरहेको छ ।

हिजोका दिनमा विशुद्ध मनोविनोदको मात्र माध्यम बनेको दोहोरीगीत अहिले आर्थिक पक्षसँग पनि जोडिएको छ । धेरै कलाकारले दोहोरीगीतबाट रोजगारी पाएका छन् । लोकसङ्गीत उद्योगमा कति कलाकार कार्यरत छन् भन्नबारे कुनै तथ्याङ्क नभए पनि दोहोरी रेष्टुराँ र मेला–महोत्सव एउटा तप्काका कलाकारका लागि अर्थोपार्जनको माध्यम बनेको छ । एक हिसाबले यो खुसीको कुरा हो ।

तर, अर्कोतिरबाट हेर्दा त्यति धेरै खुसी मानिरहनुपर्ने ठाउँ पनि छैन । यो समय सांस्कृतिक अधपतनको युग हो । मौलिक सांस्कृतिक धरोहरहरू धमाधम ढल्दैछन् । भएका सांस्कृतिक धरोहरहरू व्यापारीको हातमा पुगेको छ । यतिबेला दोहोरीगीत पनि व्यापारीकै हातमा पुगेको छ । अब दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ ।

दोहोरीगीतमा कतिसम्म व्यापारिक हस्तक्षेप भएको छ भने कतिपय कलाकार नै मेला–महोत्सवमा गायक-गायिका सप्लाइ गर्ने 'एजेन्ट' बनेको गुनासो लोकगीतका कलाकर्मी वृत्तबाटै आवाज उठिरहेको छ । लोकगीतमा देखापरेको यस्तो प्रवृत्तिको भित्रभित्रै विरोध भइरहेको छ ।

दोहोरीगीत ‘व्यापारिक वस्तु’ बन्न थालेपछि यसको मौलिकता पनि हराउँदै गएको छ । परम्परागत  दोहोरीगीत विनशीलता, शिष्टता र मर्यादाको प्रतिरूप हो । तर, अहिले दोहोरीगीत त्यस्तो छैन । यो छाडा र मर्यादाहीन साङ्गीतिक जान्र बन्न थालेको छ । कतिपयले दोहोरीगीतलाई फोहोरीगीत भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

दोहोरी रेष्टुराँ र मेला–महोत्सवमा चल्ने दोहोरीगीतमा अमर्यादित किसिमका रतिरागात्मक अभिव्यक्तिले खुलेआम स्थान पाइसकेको छ । दोहोरीगीतमा अशिष्ट किसिमका भनाबैरी पनि भित्रिइसकेको छ । यो कुरा दोहोरीगीतका कलाकारले नै अनौपचारिक रूपमा स्वीकारिसकेका छन् । अशिष्ट र अर्मादित अभिव्यक्ति मौलिक दोहोरीगीतको व्याकरणभित्र कहिल्यै पनि पर्दैन । दोहोरीगीत मर्यादित किसिमले भावना साटासाट गर्ने माध्यम हो । तर, अहिले त्यस्तो भइरहेको छैन ।

२०५७ साल दोहोरीगीतका कलाकारहरूको छाता सङ्गठनको रूपमा ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ गठन भयो । संस्था गठन गर्ने बेला संस्थाले लिएको उद्देश्यमध्ये एउटा उदेश्य थियो, दोहोरीगीतको मौलिकतालाई जोगाउनु । त्यही उद्देश्यलाई शिरोपर गर्दै संस्थामा थुप्रै पदाधिकारी आए । त्यसबेलादेखि समयको यो विन्दुसम्म आइपुग्दा थुप्रै पदाधिकारी फेरबदल भइसकेका छन् । तर, दोहोरीगीतको मौलिकताको भने प्रतिपल मर्दैछ ।

दोहोरीगीतको मौलिकता हराउनुमा कलाकारलाई मात्र दोषी देख्नु त्यति जायज हुँदैन । यसमा पूँजीवादी संस्कृति नै मूल रूपमा जिम्मेवार छ । कलाकारले प्रयास गरेमा २० को १९ होला । तर, मूल प्रवृत्ति फेरिएलाजस्तो देखिन्न ।

अघि नै भनियो, दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ । ‘व्यापारिक वस्तु’ लाई जसरी सजिलो गरी बेच्न सकिन्छ, त्यसरी नै बेच्नु सम्बन्धित व्यवसायी वा उद्योगीको धर्म हुन्छ । दुनियाँको पूँजीवादी चरित्र नै यही हो । पूँजीवादी चरित्रको आदेश अनुसार नै दोहोरीगीत पनि ‘व्यापारिक वस्तु’ जस्तै गरी बेचिन थालेको छ । यससँगै यसको मौलिकता, विनयशीलता शिष्टता र मर्यादा लोप हुँदै गएको सबैले अनुभूत गर्न थालेका छन् ।

अब दोहोरीगीत लोकसांस्कृतिक निधि नभई साँचो अर्थमा ‘पप कल्चर’ हुन पुगेको छ । ‘पप कल्चर’ मा चीजबीज कसरी व्यापारिक वस्तु बन्छन् भन्नेबारे जर्मनीका दार्शनिकद्वय थियोडोर एडोर्नो (सन् १९०३-१९६९) र म्याक्स होर्खाइमर (सन् १८९५-१९७३) ले राम्रो व्याख्या गरेका छन् ।

सन् १९४७ मा प्रकाशित कृति ‘द कल्चर इन्डष्ट्री : इन्लाइटनमेन्ट एज मास डिसेप्सन’ मा ती दार्शनिकद्वयले ‘पप कल्चर’ मा संस्कृति कसरी कारखानाका उत्पादन सरह बेखबिखन हुन्छन् भन्नेबारे मीठो व्याख्यान दिएका छन् । अहिले दोहोरीगीत पनि कारखानाका उत्पादनजस्तै बनेको छ ।

यतिबेला ‘यु ट्युब’ मा ‘दोहोरी ब्याटल’ र भनाबैरीपूर्ण दोहोरीगीतको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । यसले ‘व्यापारिक वस्तु’ बनिसकेको दोहोरीगीत ‘पप कल्चर’ को एउटा हिस्सा हो भन्ने तथ्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा पुष्टि गरेको छ ।

विगतमा स्थानीयस्तरमा सुखदुःखको भावना साटासाट गर्ने माध्यमको रूपमा रहेको दोहोरीगीतको दायरा व्यापक फराकिलो भएको छ । दोहोरीगीत स्थानीयस्तरबाट माथि उठेर राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । यो खुसीलाग्दो कुरा हो । तर, दोहोरीगीतको घेरा जति फराकिलो हुँदैछ, त्यति नै यसको मौलिकता र शिष्टतामाथि प्रश्न उठेको छ ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरीगीतको मौलिकपन र मिजास पूर्ववत अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

दुर्भाग्यवश, दोहोरीगीतलाई व्यापारीको हातमा पुगिसकेको छ । अब दोहोरीगीत मौलिक संस्कृति नभई बिकाउ वस्तु बन्न पुगेकाले यसमा पाइला–पाइलामा व्यापारिक चरित्र प्रतिविम्बित भइरहेका छन् । यसबाट दोहोरीगीत प्रत्येक क्षण मौलिकताविहीन बन्दै गएको छ । अहिलेको बजारू दोहोरीगीतमा कसैले मौलिकता देख्छ भने त्यो मीठो भ्रमबाहेक केही होइन ।

तर पनि कसैले तमाम सांस्कृतिक अधपतन र व्यापारिक चरित्रलाई चिरेर दोहोरीगीतमा मौलिकताको रस र गुण भर्न सक्छ भने त्यो निश्चय नै लोकअभिनन्दनीय कार्य हुन जान्छ । परम्परागत सांस्कृतिक धरोहरसँग जरा गाँसिएको दोहोरीगीत एउटा गतिलो लोकअभिनन्दनीय कार्यको प्रतीक्षामा छ ।

[साभार : लोकसंवाद । २०७६ साल मङ्सिर २० गते ।]



Friday, November 29, 2019

दोहोरी ब्याटलले उब्जाएको प्रश्न

-यमबहादुर दुरा

हिप हप, र्‍याप, ब्याटल र्‍याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ बिछट्टै लोकप्रिय छन् । यससँगै देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका साङ्गीतिक शब्दावली बिरानो बन्दै गएको प्रतीत हुन्छ । यसले साङ्गीतिक वातावरणमा आएको जबरजस्त परिवर्तनलाई सङ्केत गर्छ ।
ग्राफिक्स् ; गुगल

सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको फेरबदल आइसकेको छ । यो क्रम निरन्तर जारी छ । दुनियाँ परिवर्तनशील छ । त्यसमा पनि सङ्गीत त झनै बढी गतिशील र परिवर्तनशील छ । अहिले परम्परागत गीतलाई पछि पार्दै ‘ब्याटल र्‍याप’, दोहोरी ब्याटलजस्ता साङ्गीतिक शैली अस्तित्वमा आइसकेका छन् ।

परिवर्तित साङ्गीतिक परिवेशका सन्दर्भमा दोहोरी ब्याटलकै कुरा गरौँ । दोहोरी ब्याटलचाहिँ पश्चिमा शैली ‘ब्याटल र्‍याप’ बाट प्रभावित देखिन्छ ।

‘ब्याटल र्‍याप’ को कुरा गर्दा यसमा प्रयुक्त ‘ब्याटल’ शब्दले नै धेरै कुरा बोलिसकेको छ । ‘ब्याटल’ को सोझो अर्थ हो, लडाइँ । मूलत : ‘ब्याटल र्‍याप’ शाब्दिक लडाइँ हो । एक अर्थमा यो शब्दको भनाभन हो । यसमा आफ्नो प्रतिस्पर्धीको सातो खाइन्छ । अमेरिकी अश्वेत समुदायमा सन् १९८० को दशकमा र्‍याप ब्याटल शुरु भएको मानिन्छ ।

‘ब्याटल र्‍याप’ मा पक्ष–विपक्षबीच भावना, अनुभूति, व्यङ्ग्य र अनुभवहरू चर्काचर्कीपूर्ण वातावरणमा साटासाट गरिन्छन् । यसमा बेलाबखतमा पक्ष–विपक्षबीच गुलाबी क्षेण हानाहान हुन्छ ।  र्‍याप ब्याटलमा शब्दको तिखो छेणखानी भए पनि  यसमा संलग्न गायक-गायिकाका बौद्धिकता, तर्क शक्ति, वाक्पटुता, भावुकता र कल्पनशीलता पनि झल्किन्छन्, जुन प्रशंसायोग्य पक्ष मानिन्छन् ।

‘ब्याटल र्‍याप’ सङ्गीतप्रधान नभई शब्दप्रधान सङ्गीतिक शैली हो । तर पनि यसले शब्दकै माध्यमबाट बेजोड पाराको रसरङपूर्ण वातावरण तयार पार्छ । ब्याटल र्‍यापमा चलेको शब्दयुद्धबाट दर्शकले भरपूर आनन्द लिन्छन् । अहिले र्‍याप ब्याटलमा संलग्न कलाकारका ‘फ्यान फलोवर’ हरूको संख्या निरन्तर बढ्दो छ ।

अमेरिकी सडकहरूबाट लगभग चार दशक अघि शुरु भएको ‘ब्याटल र्‍याप’ को लोकप्रियता संसारभर फैलिएको छ । विश्वव्यापीकरणको तीव्र प्रभावले छोपेको नेपाल यसको अपवाद हुने कुरै भएन ।

नेपालमा पनि प्रतिभाशाली र्‍यापरहरूको संख्या बढ्दै गएको छ । साथै, फ्यानहरूको भीड पनि भयानक दरमा बढ्दो छ । यु ट्युबमा राखिएका ‘ब्याटल र्‍याप’ का भिडियोहरूको भ्यु उल्लेखनीय रूपमा बढेको छ । ‘ब्याटल र्‍याप’ को श्रीवृद्धिमा यम बुद्ध (वि.सं.२०४४-२०७३) जस्ता र्‍यापरहरूको योगदान देखिन्छ ।

नेपाली सङ्गीत प्रयोग र परीक्षणको चरणबाट गुज्रिरहेको छ । यो विश्वव्यापी ट्रेन्ड नै हो । यस क्रममा नेपाली गीत र पश्चिमा शैलीका गीतबीच दशकौँ अघि नै अन्तरघुलन भइसकेको देखिन्छ । अन्य गीतको तुलनामा लोकगीत पश्चिमा शैलीका गीतबाट कम प्रभावित देखिन्छ । तर, अब त्यो अवस्था रहेन ।

नेपाली लोकगीतमा पनि पश्चिमा शैलीका गीतको ‘फ्युजन’ भइसकेको छ । यसको ज्वलन्त दृष्टान्त हो, दोहोरी ब्याटल । दोहोरी ब्याटल ‘ब्याटल र्‍याप’ बाट प्रभावित साङ्गीतिका शैली (जान्र) हो । यसमा दोहोरी गीत र ‘ब्याटल र्‍याप’ दुवैको विशेषताहरू भेटिन्छन् । यो वर्णशंकर गीत हो ।

एकातिर दोहोरी गीतको फ्लेबर, अर्कोतिर ‘ब्याटल र्‍याप’ फ्लेबर । दोहोरी ब्याटल युवाहरूबीच निकै लोकप्रिय छ । चुलिँदो ‘भ्युवरसिप’ ले यो तथ्यलाई प्रष्ट पार्छ । दोहोरी ब्याटल नेपाली संस्कृति र पश्चिमा संस्कृतिको दोभान बनेको छ । यु ट्युबमा राखिएको छ महिना पुग्दानपुग्दै ‘दोहोरी ब्याटल–२’ को भ्यु १३ मिलियन नाघिसकेको छ ।

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन ।

दोहोरी ब्याटल प्रयोग भएका शब्द तथा शब्दावली, आधुनिक पहिरन, संवाद, सुटिङ स्थलको चकमधमकपूर्ण वातावरणले युवापुस्तालाई हदैसम्म आकर्षित तुल्याएको देखिन्छ । भिडियोलाई आकर्षक बनाउन अपनाइएको छलयोजना (म्यानिपुलेटिभ टेक्निक्स्) ले पनि धेरैको मन जितेको देखिन्छ । भिडियो निर्माताको सिर्जनशीलतालाई मान्नैपर्छ ।
ग्राफिक्स् ; गुगल

दोहोरी ब्याटलको अभूतपूर्व लोकप्रियताले नेपालको साङ्गीतिक माहोलमा केही गम्भीर प्रश्नहरू जन्मेका छन् । दोहोरी ब्याटल दोहोरीगीतको 'फ्लेबर' मा आएर पनि यसले मौलिक दोहोरीगीतको जग नै भत्काएको देखिन्छ ।

परम्परागत दोहोरी गीत विनयशीलता र शिष्टता, सार्वजनिक मर्यादाको अर्को नाम हो । मौलिक दोहोरीगीतमा आफूलाई निम्न श्रेणीमा राखेर समकक्षीलाई उच्चकोटिमा राख्ने प्रचलन छ । गीत गाउँदा समकक्षीलाई उच्च सम्मान गरिन्छ । जस्तै :

‘म त हजूर डढेलोको ठूटाजस्तो,
मेरो माया पुर्नेको जूनजस्तो’ ।

यसको विपरीत दोहोरी ब्याटलको परम्परा ठ्याक्कै उल्टो छ । यसले समकक्षी सकेसम्म हेप्ने काम गर्छ । दोहोरी ब्याटलमा अपमान सूचकहरू शब्दहरू भरमार प्रयोग गरिन्छन् ।समकक्षी गायक–गायिकाले एकअर्कालाई सकेसम्म खसाल्नु नै यसको मूल ध्येय हुन्छ । दृष्टान्त :

‘आयो तेरो मिस,
चुप लाग् साला ठिस’ ।

दोहोरी ब्याटल नेपाली साङ्गीतिक परम्पराको विपरीत धारमा अघि बढेको देखिन्छ । यसले लोकगीतमा विद्यमान शिष्ट परम्परालाई पूरै भत्काएको छ । यसले अशिष्ट र अमर्यादित परम्पराको जग बसालेको छ । दोहोरी ब्याटलले निम्त्याएको अशिष्ट शब्दको रणसंग्रामले विनयशीलताको छेलोखेलो भएको दोहोरीगीत परम्परालाई क्षति पुर्‍याएको देखिन्छ ।

यद्यपि, दोहोरी ब्याटलले मात्र नेपाली दोहोरीगीतको शिष्ट परम्परालाई क्षति पुर्‍यायो भन्नु अन्यायपूर्ण हुन्छ । पछिल्लो समयमा दोहोरीगीतमा अशिष्ट र अमार्यादित  किसिमका भनाबैरी चलिसकेको छ । दोहोरी ब्याटलले यो अशिष्ट परम्परालाई थप बल दिएको भने पक्कै हो ।

दोहोरी ब्याटलले नेपालको साङ्गीतिक रङ्गमञ्चमा नयाँ ढाँचा र नयाँ शैली निम्त्याएकोमा खुसी मान्नुपर्ने हो । तर, त्यो भन्दा पनि यसले बसालेको अशिष्ट परम्पराप्रति चिन्ता मान्नुपर्ने अवस्था छ । कतिपय विश्लेषकले यसलाई सांस्कृतिक अधपतनको रूपमा हेर्ने गरेका छन् ।

अर्थशास्त्रीय दृष्टिबाट हेर्दा सङ्गीतमा घुसेको पूँजीवादले दोहोरी ब्याटललाई जन्म दिएको पाइन्छ । अर्कोतिर, कलाकारमा विद्यमान लोकप्रियता कमाउने सर्वजनीन मनोविज्ञानले पनि यसमा बल दिएको देखिन्छ ।

बदलिँदो समयमा यी दुवै पक्षलाई बेठीक भन्न सकिने अवस्था छैन । तर, यसबाट शिष्टताले ओतप्रोत मौलिक लोकगीत जोगाउन चाहनेहरूका लागि भने यक्षप्रश्न खडा भएको छ । अहिले, दोहोरी ब्याटलको यो नयाँ विकासक्रम एउटा गहन चिन्तन–मननको विषय बनेको छ ।

[लोकसंवाद । २०७६ साल मंसिर १३ गते । ]

[अद्यावधिक : २०७७।०३।२०, २०७७।०४।१०]

Saturday, March 30, 2019

दोहोरीका उम्दा स्वर

-यमबहादुर दुरा

दोहोरीगीतको आयतन विस्तार भएको छ । यसको आयतन विस्तार हुने कार्यको बीजारोपण पञ्चायतकालमै भएको थियो । दोहोरीगीतलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपछि यसले मूलधार समातेको धेरैको विश्लेषण छ । मूलतः गाउँबस्तीका सर्वसाधारण नगारिकबीच भावना आदानप्रदानको माध्यमको रूपमा रहेको दोहोरीगीत नेपाल अहिले राष्ट्रिय संस्कृतिकै एक हिस्साको रूपमा स्थापित छ ।

दोहोरीगीत मूलधारमा आएपछि गाउँबस्तीका असंख्य प्रतिभाले राष्ट्रियस्तरमै नाम कमाउन थालेका छन् । दीपक खड्का दोहोरीमा नाम कमाउँदै गरेका दा उम्दा प्रतिभा हुन् । दोहोरीगीतमा उनले आफ्नो परिचय निर्माण गरिसकेका छन् । रेडियो नेपालद्वारा २०६० सालमा आयोजित दोहोरीगीत प्रतियोगितमा प्रथम स्थान हाँसिल गर्न सफल खड्काले आफ्नो कीर्तिमानीलाई कायम गर्दै २०६१ सालमा टुबोर्ग दोहोरीगीत प्रतियोगितामा पनि प्रथम भए । यसभन्दा अघि उनी स्थानीयस्तरका थुप्रै दोहोरीगीत प्रतियोगितामा थुप्रै पटक पुरस्कृत भइसकेका थिए ।

आफू दोहोरीगीतको रङ्ग–रेशममा ‘कसरी आएँ’ भन्नेबारे कुनै खास प्रसंग उनको स्मरणमा छैन । समग्रमा भन्दा आफू जन्मेहुर्केको सांस्कृतिक परिवेशले नै दोहोरीगीतको दुनियाँमा आउन सहयोग गरेको उनको बुझाइ छ । यही प्रसंग कोट्याउँदै गर्दा उनी बाल्यकालीन सम्झनामा डुब्न पुग्छन् । उनी हजूरबाको पछि लागेर गोठालो जान्थे । हजूरबाले मीठो गरी पात बजाउँथे । गीत पनि गाउँथे । उनको जिज्ञासा चुलिन्थ्यो, पात कसरी बजाउने होला, गीत कसरी गाउने होला ? उनले जानीनजानी हजूरबाको सिको गर्थे ।

उनको घर नवलपरासीको गैंडाकोट हो । उनको घर नजिक कुमाल समुदायको बस्ती छ । उनीहरूको जीवनशैली अझैपनि रैथाने प्रकृतिको छ । कुमाल समुदायको जीवनशैली सङ्गीतमय छ । बच्चाको न्वारन गर्दा पनि गीत गाउने, छेवर गर्दा पनि गीत गाउने, हुँदा हुँदा भैंसी ब्याउँदा पनि गीतै गाउने । बडो गबजको जीवनशैली छ । यस्तो सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्केका उनको साङ्गीतिक चेत खुल्दै गयो । लोकगीतप्रतिको मोहभाव बढ्दै गयो ।

उनले टोल–छिमेकमा हुने सामाजिक जमघटमा जम्ने गीतको खालमा सहभागिता जनाउन थाले । विद्यालयमा हुने लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थाले । विद्यालयमा हुने हरेक दिनको हाफ छुट्टीमा पनि साथीहरूसँग दोहोरी गाएर बस्थे । स्थानीय धार्मिक अनुष्ठानहरूमा पनि उनी गीत गाउन पुग्थे ।  सत्यनारायण कथावाचन समारोहमा दोहोरीको खाल जम्थ्यो । रातभरि गीत दोहोरी गाउँथे । कुनै बेला त एकै रात दुई तीन ठाउँमा चाहरेर गीत गाउँथे ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद प¥यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई कताकता ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् ।

उनी आफूले भर्खर भर्खर गीत गाउन शुरु गर्दा र अहिलेको सामाजिक परिवेशमा धेरै परिवर्तन आएको देख्छन् । त्यतिबेलाका केटीहरूले शुरुमै एकैचोटि गीत निकाल्दैनथे । गीत गाउने बेसरी मन भए पनि केटीहरू हत्तपत्त अघि नसर्ने । केटाले पाँच छ टुक्का भनेपछि बल्ल गीत निकाल्थे ।  गीत झिक्न थालेपछि गीतका शब्द धेरै मार्मिक र भावुक प्रकृतिका हुन्थे । गीतमा रन्थन्याउने खालका भावुकता र विनयशीलता हुन्थे । गीतको भाव एकदमै साङ्केतिक हुन्थे । तर, अहिले परिस्थितिमा आनका तान फरक आएको छ । अहिले केटीहरू नै पहिला गीत निकाल्छन् । गीत पनि साङ्केतिक नभई सीधै घोच्ने खालका हुन्छन् । यो उनले अवलोकनबाट बटुलेको अनुभव हो ।

नेपाली लोकगीतको क्षेत्रमा उनी नारायण रायमाझीबाट एकदमै प्रभावित छन् । रायमाझीलाई गीतमा माधुर्य भर्नसक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभाको रूपमा चित्रण गर्छन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

दीपक खड्का आफैं पनि धेरैको नजरमा राम्रो दोहोरी गायक हुन् । अग्रज दोहोरी गायक अमरविरही गुरुङका आँखामा दीपक खड्का कुशल दोहोरी गायकमात्र होइन, अग्रज र अनुज  दुवै पुस्तालाई सम्मान गर्न जान्ने व्यक्ति पनि हुन् । अर्का पुराना गायक कृष्णसुधा ढुङ्गाना उनलाई विनयशील उम्दा प्रतिभाको रूपमा लिन्छन् । उनलाई नजिकबाट नियालिरहेका समकालीन दोहोरी गायक राजु परियारका दृष्टिमा उनी दोहोरीमा निरन्तर प्रगति गरिरहेका प्रतिभा हुन् ।

देशको सामाजिक तथा राजनीतिक परिवेशसँग कलाकारहरू निरपेक्ष रहन सक्दैनन् । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वबाट उनको मनोभाव पनि अप्रभावित रहेन । उनले तत्कालीन समयमा तयार भएको ‘भय र अनिश्चितताको मनोविज्ञान’ लाई लिएर गीत तयार पारे । सामाजिक मनोविज्ञानको केन्द्रीय भावलाई नै छोएर तयार पारिएको त्यो गीत निकै चर्चित रह्यो, धेरै मन पराए । गीतको थेगो थियो : ‘फेरि के के हुनी कसले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्नी हो’ ।

उनी दोहोरी ‘स्टेज पर्फमेन्स’ मा निकै जमेका कलाकार हुन् । उनी देशका विभिन्न भागका हुने महोत्सवहरूको हिस्सा बन्छन् । दीपक खड्काले दोहोरीगीतसम्बन्धी म्युजिक भिडियो पनि निकाल्दै आएका छन् । यसै वर्ष, उनले ‘सोल्टी राजै’ शीर्षकको भिडियो ‘यु ट्युब’ मार्फत सार्वजनिक गरेका छन् ।  यसभन्दा अघि पनि उनले यस्ता म्युजिक भिडियोहरू निकालिसकेका छन् । दोहोरीगीतको पृष्ठभूमिबाट आएका कलाकार भएकाले उनका छोटा खालका लोकगीत थोरै छन् ।  ‘रेडियो नेपाल’ उनका तीनवटा गीत छन् । उनका दोहोरीको अडियो अल्बम र म्युजिक भिडियो गरी लगभग १५ वटा ‘साङ्गीतिक कोसेली’ बजारमा आएका छन् ।

आजकल उनी निर्णायकको भूमिकामा पनि देखापर्न थालेका छन् । यसका अतिरिक्त उनको संगठनकारी–संयोजनकारी भूमिका पनि प्रशंसनीय छ । दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ मा शुरुदेखि नै आबद्ध भई सांगठानिक गतिविधिमा सरिक छन् । अहिले उनी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छन् । उनी संस्थाको नवलपरासी शाखाको सहसचिव, त्यसपछि केन्द्रीय सदस्य तथा केन्द्रीय सहकोषध्यक्ष हुँदै कोषाध्यक्ष पद सम्हाल्न आइपुगेका छन् ।
निर्णायकका भूमिका दीपक खडका (बायाँबाट पहिलो) ।

दोहोरीगीत लोकगीतको मूलधार आएको र गीत गाएर कलाकार बाँच्न सक्ने वातावरण तयार भएको यो समयमा कलाकारको मनोबल उच्च नै छ । दोहोरीगीतमा भित्रिएका अशुद्धिलाई हटाउँदै यसलाई अत्यन्त मर्यादित लोकअभिव्यक्तिको माध्यम बनाउनुपर्ने खाँचो सर्वत्र अनुभत गरिएको छ । यसमा  जो–कोही कलाकारको योगदान अपेक्षित छ । दोहोरी कलाकारहरूको छाता संगठनको नेतृत्वदायी भूमिकामा रहेका ३८ वर्षीय तन्नेरी कालकार दीपक खड्काबाट पनि दोहोरीगीतका अनुरागीहरूले यही अपेक्षा गरेका छन् ।

[साभार: लोकसंवाद । २०७५ साल चैत १५ गते ।]

Friday, March 15, 2019

सिम्रिकझैं सिमल फुलेको

यमबहादुर दुरा

एउटा गाउँले केटो । लोकगीतसँग साइनो गाँस्दै हुर्किए, उनी । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला गाउँको सांस्कृतिक वातावरण उर्वर थियो । उनको जन्मस्थान मौलिक लोकभाकाहरूको खानी थियो । उनी प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाहरूप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरीगायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८-२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीतहरू रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो ।  त्यतिबेलाको समय नै बेग्लै थियो । कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपर्‍थ्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वरपरीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’ मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि बिछट्टै खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो : ‘कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई’ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’ मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो : ‘घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेश बालबच्चा रुवाउँदै’ । एक अर्थमा यो गीत भयानक क्रान्तिकारी आवाज हो, जसमा उनको आफ्नै जीवनभोगाइ प्रतिविम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती  खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेश झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासीको डाण्डा  झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेश झर्दा उनी नौ वर्षका थिए ।  प्रस्तुत गीतमा आन्तरिक बसाइँ सराइ र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

साङ्गीतिक यात्रामा अघि बढ्ने क्रममा लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’ बाट बज्ने भजन ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । देशको धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’ मा श्रृङ्गारिक रसको गीत स्वराङ्कन गरे : ‘सिम्रिकझैंसिमल फुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवन सँगै डुलेको’ । जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो श्रृगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्यो।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो  कदम छायाँले’, ‘सिम्रिकझैं सिमल फुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बमको प्रतिभा पोखिएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने यो भने यो संख्या ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’ मा दशवटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरबिरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रै नाम चलेका प्रतिभाहरूसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जुन सजिलो काम होइन । यो धेरै अपजसे काम हो । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं  तीतामीठा प्रसंग र घटनाहरू सञ्चित छन् ।
एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको पनि गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रूर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरीत दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितमा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तर निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी २०७४ साल भदौ २४ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट अनावरण भइसकेको छ  । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलारकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ साल असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउन पनि उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७-२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९-२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, तअहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत शहरका दोहोरी रेष्टुरेण्ट र महोत्सव भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले शहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।

[ साभार : लोकसंवाद । २०७५ साल चैत १ गते ।]

[अद्यावधिक: २०७५।१२।१२।१५, २०७६।१।५]


Friday, February 15, 2019

देऊ रुमाल फूल भरेर

-यमबहादुर दुरा

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफूजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो ।

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनु पर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए ।

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला आफ्ना पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियो पाउँदा उनलाई युद्ध जितेजस्तै भयो । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमाउनलाई मन पर्ने थुप्रै आवाजहरूमा नेपाली लोकगीतको एउटा विरहिणी विम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुभन्दा अघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो :  ‘खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...’ । (बाग्लुङतिरको लवजमा ध्याँसोलाई धैंस भनिन्छ) । यो गीत उनलाई खुबै मन पर्‍थ्यो ।

उनी पिढीको खाँबोमा रेडियो भुण्ड्याएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाँजिर हुन्थे । रेडियोमा बज्ने रैथानेपन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो ।

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई हुनसम्म पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । त्यसबेलाको रोदीघर र सामाजिक जमघटहरू मोहनी भाकाले गुञ्जयमान हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो ।

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । शुरु शुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रीसले बाँसुरी हुर्‍याइदिन्थे  । रीस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगालगयातका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो ।

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए तर उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलो पटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए ।

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए ।

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो ।

यसका अतिरिक्त ‘गाउंँशहरको भीर...’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल...’, बुट्टे चोलीरी..., ‘खो पाते...’ आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे, त्यो पनि स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रोव-रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फष्टाउने ठाउँ थिएन ।

 अन्तत: उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरी वादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

कृष्ण गुरुङ थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् ।

त्यसपछि शिकारी-चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको शिकार गर्नु कानुनतः निषिद्ध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको व्रह्मास्त्र थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा कृष्ण गुरुङले पनि अचुक अस्त्र प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे - डाँफेचरी होस् वा अन्य जीवजन्तु नै किन नहोस, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको व्रह्मास्त्रलाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे कृष्ण गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत लम्मरी लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक विम्बको रूपमा लिन्छन् ।

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर विम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’ सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’ सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ ।

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’

परिवर्तित परिस्थितिबारे उनी  टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टीभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’
परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’

नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको  दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ  ।

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँशहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ ।

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको तालिम लिएका छन् ।

उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा-बा र दाजुभाइ दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् ।

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एशिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् ।

उनले गुरुङ भाषाका दर्जन भन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी रेडियो नेपालबाट प्रतिष्ठित गायकको उपाधि, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साल साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्यमा पुगिने उनको अपेक्षा छ ।

[साभार: लोकसंवाद । २०७५ साल फागुन ३ गते ।]

Friday, February 8, 2019

'पानको पात' को किस्सा

-यमबहादुर दुरा

समयले इतिहास रच्दै थियो । २०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो ।   त्यस समयमा दोहोरीगीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा थियो ।

दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु गुरुङको टोली एउटा सुमधुर भाका लिएर प्रतिभाको डबलीमा सुमधुर पौँठेजोरी खेल्न आइपुग्यो । अर्को प्रतिस्पर्धी टोलीमा जुटेका कृष्णसुधा ढुङ्गानालाई त्यो मोहनी भाकाको गुञ्जनले लठ्याउनुसम्म लठ्यायो  ।

त्यस भाकालाई अल्बममा समेट्न पाए गजबै हुने थियो भनेर ढुङ्गानाले मनमनै सोचे । नभन्दै उनको सोचाइले साकार रूप लियो । २०४३ सालमा त्यही भाकामा ‘पानको पात’ नामक अल्बम बजारमा आयो ।

 त्यस अल्बममा स्वराङ्कन गर्नेहरूमा पुरुषतर्फ बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महत थिए भने महिलाततर्फ सुमित्रा गुरुङ, मीरा राना मगर र सरला गौचन ।

‘पानको पात’ ले बजार पिट्यो । जनजिब्रोमा ‘पानको पात’ ले राज गर्‍यो । भर्खर भर्खरै रेकर्डिङ उद्योग अस्तित्वमा आएको त्यस घडीमा बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महतलाई त्यस अल्बमले चर्चाको शिखरमा पुर्‍यायो । गाउँ-शहर, रनबन सबैतिर ‘पानको पात’ भाका गुञ्जन थाल्यो । ‘पानको पात’ भाकाले उनीहरूलाई जति ख्याति दियो, अरू कुनै पनि भाकाले दिन सकेको छैन ।

‘पानको पात’ अल्बम निस्केको पनि ३२ वर्ष भइसकेको छ । गायक मण्डलीमध्येका एक हस्ती कृष्णसुधा ढुङ्गाना त्यसबेला २८ वर्षको भर्भराउँदो जवान थिए । अहिले समयले फेरो मारिसकेको छ । उनको रूपरङ्ग बदलिएको छ । समयले घचेटेर उनलाई ६० वर्षको नजिक पुर्‍याउँदैछ ।

फ्रेन्चकट दाह्री,  त्यो पनि घरमुनिको सुर्केगह्रामा हिउँ परेझैं सेताम्य भइसकेका । अनुहारमा बुढेसकालका धर्साहरू प्रष्ट रूपमा कोरिएका, समयले जवानी खोस्दै लगेका, पारिवारिक जिम्मेवारीमा मिचिँदै गएका र समयको दौडमा पछि पर्दै गएका कृष्णसुधा ढुङ्गानाको अहिलेको वास्तविकता हो ।

अहिले लोकसङ्गीतको दुनियाँ धेरै अर्थमा उलटपुलट भइसकेको छ । कृष्णसुधा ढुङ्गानाका धेरै साथीसँगी लाङ्गाबिङ्गा भइसकेका छन् । कतिपय पुराना स्वरजीवीहरू ओझेल परिसकेका छन् ।

लोकसङ्गीतको महफिलमा उर्जावान्–प्रतिभावान् नयाँ पुस्ताको दरिलो उपस्थिति छ । लोकगीतको शैली र ढाँचाकाँचा बदलिएको छ । हिजो सुन्ने गीतको साम्राज्य थियो, आज हेर्ने गीतको बाढी छ । नयाँ जमाना, नयाँ परिपाटी, नयाँ ‘ट्रेन्ड’ ।

कृष्णसुधा ढुङ्गानाचाहिँ यो चमकधमकपूर्ण दुनियाँबाट टाढिएका जस्ता, अन्तै कतै अलमलिएजस्ता देखिन्छन् । उनी लोकगीतको महफिल नयाँ पुस्तालाई सुम्पेर  अभिभावकीय भूमिकामा बसेको प्रतीत हुन्छ । उनी लोकगीतसम्बन्धी जमघटमा कहिलेकसो मात्रै झुल्किने गर्छन् ।

यद्यपि, लोकगीतको दुनियाँ विकसित घटनाक्रमहरूसँग उनी बेखबर भने छैनन् ।अहिलेको लोकगीतको वृत्तबारे उनको बुझाइ छ,  'हिजोका दिनमा गायनकर्ममा अपठितहरूको अधिकता थियो । अहिले पढालेखाहरूको रजगज  छ ।'

ढुङगानाको ठहर छ, ‘नयाँ पुस्ताका भाइबहिनीहरूले धेरै राम्रा र रसिला गीत बनाएका छन् । तर ती गीत ग्रामीण जीवनशैलीसँग टाढिँदै छन् र शहरी जीवनशैलीसँग नजिकिँदै  छन् ।’ आजका लोकगीतमा हिजोको जस्तो ग्रामीणपन र माटो सुवासमा भेटिन छाडेको उनको बुझाइ छ ।

आफू बाहुन समुदायका भएर पनि तत्कालीन समाजको कठोर नियमले उनलाई बन्दी तुल्याउन सकेन । उनी स्थानीय रोदीघर र अन्य सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहोलबाट पर रहन सकेनन् । लोकगीतप्रति अभिप्रेरित हुँदै गए । अन्ततः गीत गाउन नहुने मान्यताले राज गरेको समाजमा उनी गायक भएर निस्किए ।

पढाइको बहानामा राजधानी भित्रिएका ढुङ्गानाको ध्याउन्न भने राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालतिरै थियो तर धेरै साथीभाइले ‘पञ्चको रेडियो गीत गाउनुहुन्न’ भनेर उनको बाटोमा अवरोध खडा गर्थे । उनलाई भने जसरी भए पनि रेडियो गीत गाउने रहर पूरा गर्नु थियो । उनले रेडियोमा गीत गाएरै छाडे । त्यहीबाट उनको परिचयको घेरा फराकिलो हुँदै गयो  ।

रेडियो नेपालमा ढुङ्गानाका ४० वटा जति लोकगीत रेकर्ड भएका छन् । ती गीतमा लोकजीवनको ढुकढुकी भेटिन्छन् । यसका अतिरिक्त ‘रातो घाम’, ‘गाइको चरन’, ‘चुल्ठी बाटेर’, ‘चाँदीको मोहोर’, ‘रोदीघर’, ‘लाहुरेको जिन्दगी’ गरी दुई सय जति अडियो अल्बममा उनको गायकी र लोकजीवनप्रतिको मोह छचल्किएका छन् ।

ढुङ्गाना प्रखर दोहोरी गायक हुन् । उनी स्वरका धनीका धनी त हुँदै हुन्, शब्द–कारीगर पनि हुन् । उनले लेखेका शब्दहरू जनजिब्रो झुण्डिएका छन् । ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ ‘रानीघाटैमा, किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’, ‘धान झुलेको छ काँ जाउँ काँ जाउँ भइराछ, मन डुलेको छ’, ‘छिमलेर डाली पलायो, दुई बजे रातिमा सपनीमा कल्ले बोलायो’ जस्ता गीतहरू जनमनमा अमिट छाप पार्न सफल छन् ।

ढुङ्गाना नयाँ पुस्ताका प्रतिभाहरूलाई असीम माया दिन्छन् । तिनलाई कानको फूलझैं गर्छन् । नयाँ गायक गायिकाको सिर्जना कर्मलाई दिल खोलेर सघाउँछन् । विमल क्षेत्री, राजु परियार, शिला आले, बेगम बुलु गोफिके,  दिनेश रञ्जनजस्ता प्रतिभाहरू उनकै छत्रछायाँमा लोकगीतको दुनियाँमा छाएका हुन् ।

यतिबेला ढुङ्गाना =को जीवनले अर्कै लय टिपेको छ । उनी २०७२ सालदेखि कृषिकर्ममा लागेका छन् । काठमाडौंको काभ्रेस्थलीमा १० रोपनी जमिनमा तरकारी खेती गर्छन् । कृषिकर्मबाट बचेको समयमा लोकगीतसम्बन्धी कार्यक्रमको निम्ता मान्छन् अनि साथीभाइसँगको भेटघाट र वार्तालापहरूमा रमाउँछन् ।

उनको तरकारीबारी तीर्थस्थलजस्तो भएको छ । मोबाइलको घण्टी निरन्तर बजिरहन्छन् । बारीमा पाखुरा जोतिरहेका ढुङ्गानालाई भेट्न आउनेहरूको भीड टुट्दैन । उनको शब्द-कारिगरीबाट प्रभावित भएर अहिले पनि धेरै दोहोरी गायक–गायिकाहरू गीतको शब्द बनाइमाग्न उनीकहाँ धाउँछन् ।

ढुङ्गानालाई नामको लोभ छ, न त दामको नै । उनको व्यवहारमा अचम्मको उदारता छ । उनी अरूका लागि गीत लेखिदिन्छन् तर आफूले रचेका शब्दलाई भनेर दाबी गर्दैनन् । एक हिसाबले उनी सन्तान जन्माउने तर राम्ररी नस्याहर्ने माउजस्ता छन् ।

लोकसङ्गीतको झङ्कारले जोडेका उनका सम्बन्धहरूको जालो ठूलो छ । साथीसंगीसँग उठबसका प्रसंगहरू रोचक छन् । समयले बुनेका किस्सा-कहानी घतलाग्दा छन् । लेख्ने हो भने ती किस्सा-कहानीका बेग्लै पुस्तक बन्छ ।

साथीसँग गीतैगीतमा हाँसोठट्टा चल्थ्यो । एउटा प्रसंग सुनाइहालौँ । २०४० सालको राष्ट्रिय युवा महोत्सवमा चितवनका चर्चित दोहोरी गायक रफिक मियाँसँग ढुङ्गानाको राष्ट्रिय नाचघरको गेटैमा भेट भएछ । उनले गीतमै व्यङ्ग्य कसिहालेछन्:

 ‘आइपुग्यो रफिके मियाँ,
दुइटी स्वास्नी राखेर अधिया’ ।

रफिक मियाँ पनि के कम थिए र ! उनले पनि तत्कालै पैंचो तिरिहालेछन्:

 ‘शुद्धि छैन यो मोरो सुधाको
घरकी स्वास्नी अर्कैले कुदाको’ ।

कृष्णसुधा ढुङ्गानालाई जीवनमा दुईटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा, अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहोलमा सर्लक्कै भिजाइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिराभोगसँग गाँसिएका किस्सा-कहानी साथीसंगीबीच निकै  चर्चित छन् ।

जतिबेला कृष्णसुधा ढुङ्गाना प्रसिद्धिको शिखर चढ्दै थिए, त्यतिबेला प्रहरी वृत्तमा कलकारको भाउ राम्रो थियो । मदिरापानको असरले बाटोमा छेपारी बटारिहँदा प्रहरीले उनलाई सम्हालेर डेरासम्मै सुरक्षित तरिकाले ल्याइदिन्थे । त्यो पनि एक पटक होइन, दुई पटक होइन, पटक पटक ।

उनका कतिपय साथीभाइले रेष्टुराँमा उधारो खाएर त्यसै छाडेका हुन्थे । खल्तीमा पैसा भएको बेलामा बहीखाता पल्टाएर हेर्थे । साथीभाइका बक्यौता आफ्नै सम्झेर तिरिदिन्थे । आफूसँग पैसा नभएको बेलाचाहिँ भगवान भरोसा । जस्तो पर्छ, उस्तै टर्छ । उनको गीतले उनकै चर्चा गरेझैं लाग्छ : ‘जहाँ पुगुँला, उही आगो फुकुँला...’ । वास्तवमा निष्फिक्री जिन्दगीका हिमायती हुन्, ढुङ्गाना ।

ढुङ्गानालाई एकदमै मन पर्ने गीत हो, कल्याण सेरचनको ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’ । उनलाई लोकबहादुर क्षेत्री, शावित्री शाह आदिका स्वर बिछट्टै मन पर्छ । अनुज पुस्तामा बीमाकुमारी दुरा, मीरा राना मगर, राजु परियार, राजन ठकुरी, बिमल क्षेत्री, शर्मिला गुरुङ, धना पुन, पार्वती जीसी आदिका कला र गलाका प्रशंसक हुन् ।

साङ्गीतिक यात्रामा भेटिएका नारायाण रायमाझी, तारा शर्मा, पानुमाया गुरुङ, मन छन्त्याल, तत्सत प्रधान, माया गुरुङ, कोमल ओली, नन्द राना, लालु गुरुङ, लोकबहादुर क्षेत्री, तीर्थबहादुर गन्धर्व, राजेन्द्र लम्साल क्षेत्री, रामशरण नेपाली, नारायण पाण्डे, काजु सेरचन, रफिक मियाँजस्ता समकालीन प्रतिभाहरूलाई उनी खुबै सम्झना गर्छन् ।

समयको यो विन्दुबाट उनको विगततिर फर्कँदा जिन्दगीका बाङ्गाटिङ्गा बाटा र घुम्तीहरू आँखा अघिल्तिर आउँछन् । उनले केही वर्ष आफ्नो गृह जिल्ला लमजुङमा मास्टर भएर बिताए । राजधानी छिरेपछि नेपाल आयल निगम, साझा यातायात, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत धेरै ठाउँमा जागिर खाए ।

पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा प्राज्ञ (वि.सं. २०७१-२०७५) भएर लोकसङ्गीत श्रीवृद्धिको  जिम्मेवारी सम्हाले । फुक्काफाल भएर हिँड्न मन पराउने ढुङ्गानाले जागिरमा ध्यानै दिएनन् । जागिर कहिल्यै पनि उनको प्राथमिकताको विषय नै परेन ।

उनी न भौतिक वैभव जोड्नतिर लागे, विज्ञापित हुन नै चाहे । न कुनै लोभ–लालच फँसे, न त कसैप्रति इर्ष्याभाव नै राखे । एक हिसाबले उनी आत्माद्रोही व्यक्ति हुन् । आफ्नो अहित गरेर भए पनि अरूको हित गर्न तम्सने व्यक्ति । उनी आफ्नो दुःख बिर्सिएर अरूको दुःख देख्ने प्राणी हुन् ।

यतिबेला भने ढुङ्गाना अलिकति आफ्नैबारे सोच्न थालेका छन् । आफ्ना छरिएर रहेका गीतहरू एकठ्ठ गरेर अल्बम निकाल्ने उनको योजना छ । नयाँ गीत रेकर्ड गर्ने पनि उनको रहर छ । उनी आफ्नो जन्मस्थान दुराडाँडामा ‘लोकसङ्गीत गाउँ’ स्थापना गर्ने योजना पनि बुन्दैछन् । उनका अरू दुईटा योजना पनि पाइपलाइनमा छन् : ६० वर्ष पुगेको अवसरमा एकल प्रस्तुति गर्ने र मदिरासँग पारपाचुके गर्ने ।

मदिरासँग ढुङ्गानाको पारपाचुके भएको देख्न चाहने शुभचिन्तकहरू सुखद समाचारको व्यग्र पर्खाइमा छन् । उनको सिर्जनाकर्मबाट वनपाखामा गुञ्जने मौलिक लोकभाकाहरू फराकिलो घेरा ढाक्ने गरी प्रतिध्वनित भइरहुन् भन्ने पनि धेरै शुभेच्छुकहरूको शुभेच्छा छ ।

[साभारः लोकसंवाद । २०७५ साल माघ २५ गते ।]

 अद्यावधिक २०७७।०३।२७, २०७७।०३।२८