Sunday, February 26, 2017

नयाँ जमानाको उखान

–यमबहादुर दुरा

सामाजिक सञ्जाल । सूचना र भावना आदानप्रदान गर्ने माध्यम । पहिले रोदीघर, मेलापात, चौतारी, देउराली र भञ्ज्याङका बिसौनीमा खबर र भावना साटसाट हुन्थे । अहिले सामाजिक सञ्जालले त्यसको ठाउँ लिएको छ । ‘फेसबुक’ लगायतका सामाजिक सञ्जालमा पोष्ट हुने तस्बिर, कमेन्ट, टीका–टिप्पणी, एवम् माया–मोहब्बतका मसलेदार कुराले साथीसँगीसँगको भेटघाटमा कुराको कोसेली जुटाइदिएको छ ।

मलाई पनि यो भेटघाटमा सामाजिक सञ्जालमा पोष्ट भएका उखानबारे कुरा गर्न मन लाग्यो । अहिलेका उखानहरूले परिवर्तनशील समयको भाका टिपेका छन् । हिजोका उखानहरू आज नयाँ रूपरङमा ‘रिमोडलिङ’ र ‘रिकण्डिसनिङ’ भएर देखापरेका छन् । ती उखान स्वच्छन्द र बेफिक्री छन्, जो धार्मिक सहिष्णुता, लैङ्गिक समानता एवम् महिला अधिकारका आवाजहरूप्रति एक हिसाबले बेखबर देखिन्छन् ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालीजनको हाँसो–खुसी लुट्यो । खुसी लुटिएको त्यो पीडादायी पलले धेरैलाई भगवानको नाम पुकार्न बाध्य बनायो । त्यही समयमा भगवानको नाम जोडिएको उखान आयो, ‘बाह्र वर्षसम्म बाइबल पढ्यो, भूइँचालो आउँदा रामराम’ । यो उखान चिटिक्क परेको छ । तर यति हुँदाहुँदै पनि यसमा एउटा खोट देखिन्छ । यसले धर्मान्तरितहरूप्रति पूर्वाग्राहपूर्ण व्यङ्ग्योक्तिको छेडेको प्रष्टै भेटिन्छ ।

नेपालमा २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि हाम्रा छिमेकी मुलुक भारतले नाकाबन्दी गर्यो, जसले नेपाली जनजीवनमा बिपत्ति निम्त्याइदियो । नाकाबन्दीपछि नेपालीजनले भोगेका हैरानीको पृष्ठभूमिमा थरीथरीका उखानहरू देखापरे । जस्तै : ‘नाकाबन्दीको चोट नेतालाई के थाहा ?’, ‘कामकुरो एकतिर सिलिण्डर बोकी लाइनतिर’, ‘नहुनु ग्याँसभन्दा मक्किएको दाउरा जाती’, ‘ट््याङ्कभरि तेल आयो, हर्ष न विस्मात’ आदि । ‘रिमोडलिङ’ गरिएका यी उखानले हाम्रा राजनीतिक र सामाजिक  वास्तविकताहरूलाई गहिरोसँग आत्मसात गरेका छन् ।

हाम्रा कतिपय उखान नारी–अस्मिता र प्रतिष्ठालाई ठाडै चुनौती दिने खालका छन् । यो क्रम नयाँ जमानाको नयाँ उखानमा पनि रोकिएको छैन । महिला अधिकारका कुरा जति नै उर्लिए पनि पुरानो जमानाको नकारात्मक विरासत कायमै छ । नयाँ संस्करणमा आएका उखानले पनि पुरानै राग अलापेको देखिन्छ । एउटा दृष्टान्त : ‘आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलाको ड्युटी’ ।

पुँजीवादले चारैतिरबाट घेरेको छ । शहरका कतिपय घरमा ‘मनी प्लान्ट संस्कृति’ मौलाएको छ । मनी प्लान्टमा दिनदिनै पानी खन्याउँदै आर्थिक वैभवको कामना गर्ने परम्परा बसिसकेको छ । यसलाई बेठीक भन्न सकिन्न । तर खरेडीले आफ्नै भाइबन्धुको अन्नबाली सुक्दा कुनै पीडाभाव नझल्काउनेहरूका प्रवृत्तिलाई चाहिँ सही भन्न सकिन्न होला । जनसामान्यको पीरमर्काप्रति बेखबर बनी मनी प्लान्टमा एकोहोरो जलसिंचन गर्नेहरूप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बेपत्ता रुखो देखियो : ‘खरेडीले मकै सुक्यो, मनी प्लान्ट लाई पानी’ ।

तन्नेरीहरूको कुरै बेग्लै । आफूले मन खाएको मनप्यारीले अर्कै व्यक्ति (त्यसमा पनि आफूभन्दा बढी उमेर खाएका) लाई मन पराएपछि उनीहरूको रीसको पारो चढ्ने नै भयो । त्यही झोंक तन्नेरहरू पुरानो उखानलाई ‘रिमोडलिङ’ गरेर भयानक उखरमाउलो उखान रच्न पुग्छन् । उखान यस्तो छ : ‘आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो, आफू ताक्छु तरुनी, तरुनी ताक्छ बुढो’ ।

समाजको एउटा वृत्तमा चम्चागिरी मौलाएको र त्यसले उद्योगकै रूप लिइराखेको चर्चा सुनिन्छ । यदाकदा व्यवहारमा पनि यस्तै देखिन्छ । विद्या आर्जनमा विश्वास नगर्ने तर चम्चागिरीलाई उच्च महत्व दिने । यही प्रवृत्तिमाथि व्यङग्य कस्न सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पछि परेका छैनन् । उनीहरू उखानमार्फत व्यङग्य गर्छन्, ‘पढीलेखी छैन काम, चम्चागिरी गरी खायो माम’ ।

नेपाली समाजमा विदेशी पहिरन (टाई) जीवनशैलीको हिस्सा बन्दै गएको तथ्य जगजाहेर नै छ । अब टाई हाम्रो घाँटीमा मात्र झुण्डिएन, उखानको रचनागर्भमा पनि छिरिसक्यो । पुराना बनिबनाउ उखानमा टाई शब्द घुसेर आउन थाले । ती उखान घतलाग्दै छन्  : ‘बाँदरको पुच्छर, टाई न इजार’, ‘खाई न पाई, दौरामाथि टाई’ ।

समाजमा धेरै आलोचित वर्गमध्ये नेताहरू अग्रपंक्तिमै पर्छन् । समाजमा नेताप्रति वितृष्णाको बेलाबखतमा घनघोर वर्षा हुन्छ । हाम्रो देशमा मात्रै यस्तो हुन्छ कि अरु देशमा पनि यस्तै हुन्छ, मलाई थाहा छैन । देशको समग्र नीति र थिति हाँक्ने नेतागणमाथि आलोचना हुने क्रम जारी नै छ । यही वास्तविकतालाई दर्साउने एउटा उखान : ‘जुत्ताको माला लगाएको नेता छाला देखी तर्सन्छ’ ।

सबैलाई जिन्दगी प्यारो छ । तन्नेरीहरूलाई बाइक झनै प्यारो छ । देशमा लोकतन्त्र छ । यसले दिएको स्वतन्त्रताले असंयमित किसिमको आन्दोलन मौलाएको छ । बेथितिले चलेको देशमा बेथितिकै आन्दोलन चल्नु कुन अनौठो कुरा हो र ! ? अनियन्त्रित आन्दोलनले कतिबेला आमनागरिकको जिन्दगी र तन्नेरीहरूको बाइकलाई छिन्नभिन्न पार्ने हो, कसलाई के थाहा ? सम्भावित अनिष्टलाई दृष्टिगत गर्दै अहिले आजकाल सचेतनामूलक उखान आएको छ : ‘अनिकालमा लाइफ जोगाउनू, आन्दोलनमा बाइक जोगाउनू’ ।

सामाजिक सञ्जालमा देखापरेका यस्ता उखानले समयक्रमसँगै हाम्रा लोकअभिव्यक्तिको स्वरूप र शैली बदलिँदैछ भन्ने संकेत गर्छन् । अहिलेका कतिपय उखान प्रगतिशील देखिन्छन् भने कतिपय कताकता पश्चगामीजस्ता पनि देखिन्छन् । ‘रिमोडलिङ’ गरिएका यी उखान सामाजिक प्रसंग र प्रवृत्तिको प्रतिविम्ब बनेका छन्, जसले हामीलाई गुलावी छेण हानेझैं प्रतीत हुन्छ ।

साभार : संकल्प पोष्ट मासिक ( वर्ष १,अंक १, माघ, २०७३)

Monday, February 13, 2017

भ्रान्तिपूर्ण अनुवाद

–यमबहादुर दुरा


अंग्रेजी । अन्तर्राष्ट्रिय सम्पर्क भाषा । अंग्रेजीकोे दायरा बढ्दो छ । चाहेर वा नचाहेर अंग्रेजी भाषा दैनिक सञ्चारको अपरिहार्य पाटो बन्दै गएको छ । अंग्रेजी भाषा ‘लाइब्रेरी ल्याङ्वेज’ समेत भएकोले प्राज्ञिक तथा शैक्षिक वृत्तमा यसको आयतन झनै फैलिँदो छ । बढ्दो विश्वव्यापीकरणको पृष्ठभूमिमा आमसञ्चार माध्यमले पनि अंग्रेजी भाषालाई कख्याउँदै जानुको विकल्प छैन ।

आमसञ्चार, प्रज्ञिक जगत र जनस्तरमा समेत अंग्रेजी भाषा प्रयोगको ग्राफ उकालो लाग्दो छ । अंग्रेजीबाट आयातित बौद्धिक खुराकहरूको आयतन बढ्दो छ । विदेशी समाचार अंग्रेजीमै आउँछन् । प्राज्ञिक जगतका स्तरीय पुस्तकहरू अङ्ग्रेजीमा छन् । जनस्तरमा पनि मोबाइल, नेटवर्क, रेडियो, टेलिभिजन जस्ता वैज्ञानिक अविष्कारसँग सम्बन्धित अंग्रेजी शब्दहरू हरेक दिन उच्चारण भइरहन्छन् । यस्ता शब्दहरूको सूची समयक्रमसँगै लम्बिँदो छ ।

अंग्रेजी भाषाको फैलिँदो आयतनबारे चर्चा गरिरहँदा सबै बुझ्न सक्ने अवस्थामा छन् भन्न खोजिएको होइन । अंग्रेजीमा भएका विषयवस्तु ठूलो सङ्ख्यामा रहेका गैरअंग्रेजीभाषी समुदायले बुझ्दैनन् । उनीहरूलाई कुरा बुझाउन सम्बन्धित भाषामा अनुवाद नगरी सुखै छैन ।

अब प्रश्न उठ्छ, अंग्रेजीमा भएका विषयवस्तु नेपालीमा कसरी अनुवाद भएका छन् त ? यसको छोटो जवाफ छ, अनुवादसम्बन्धी मामिलाहरू प्रश्नको घेरामा छन् । साहित्यकार डा.तारानाथ शर्माले अंग्रेजीबाट शब्द ‘इस्यू’ लाई अनुवाद गर्दा झगडिया शब्द ‘मुद्दा’ बनाइयो भनेर आपत्ति जनाए । यो एउटा सानो प्रसंग हो । खोजीपस्दा अरु पनि यस्ता थुप्रै प्रसंगहरू छताछुल्ल रूपमा भेटिन्छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टकी श्रीमती हिलारी क्लिन्टले सन् १९९५ मा नेपाल भ्रमण गर्दा एउटा शब्दावली निकै चर्चित रह्यो । त्यो हो, ‘प्रथम महिला’ । ‘रेडियो नेपाल’ लगायतका सञ्चार माध्यमले निकै प्रयोग गरेका उक्त शब्दावली सुनेपछि धेरैले एकआपसमा सोध्न थाले, ‘के हो, प्रथम महिला भनेको ?’ यसको उत्तर दिन धेरै सर्वसाधारण नागरिक असमर्थ थिए ।

अमेरिकी संस्कृतिमा गभर्नर वा राष्ट्रपतिको श्रीमतीलाई ‘फस्ट् लेडी’ भनिन्छ भन्ने कुरा बुझाइदिएको भए यस्तो समस्या आउने थिएन । नेपाली सञ्चार माध्यमले ‘फस्ट लेडी’ को शब्दानुवाद गरे, तर त्यसको अर्थ खुलाएनन् । हाम्रा सञ्चार माध्यमले ‘प्रथम महिला’ नभनेर ‘अमेरिकी राष्ट्रपति बिल क्लिन्टकी श्रीमती हिलारी क्लिन्ट’ भनिदिएको भए कुरा प्रष्ट हुने थियो । ‘प्रथम महिला’ भन्नुपर्ने कुनै आवश्यकता थिएन । अनावश्यक रूपमा ‘फस्ट् लेडी’ को शब्दानुवाद गरेर ‘प्रथम महिला’ भनिदिँदा आमनागरिक ‘कुहिरोको काग’ बन्न पुगे ।

पश्चिमा सञ्चार माध्यमले भन्ने गरेको ‘मिडिल इस्ट’ लाई हामीले पनि ‘मध्यपूर्व’ भन्यौं । त्यो भूखण्ड पश्चिमी गोलाद्र्धका लागि ‘मध्यपूर्व’ भए पनि हाम्रो लागि ‘मध्य पश्चिम’ हो । ‘मध्य पश्चिम’ भन्न असहज लागेको हो भने ‘अरब राष्ट’ वा ‘खाडी मुलुक’ भनेरै काम चलाउन सकिन्थ्यो । स्थानगत आधारमा पनि गलत किसिमले शब्दानुवाद भएका छन् ।

त्यसैगरी, सन् १९९० को दशकमा आएको अवधारणा ‘वर्क फर फुड’ लाई ‘कामका लागि खाद्यान्न’ भनेर नेपालीकरण गरियो, जुन नितान्त गलत अनुवाद थियो । खासमा ‘खाद्यान्नका लागि काम’ भन्नुपर्ने थियो ।

अंग्रेजी शब्दको सोझो अनुवाद (‘लिटरल ट्रान्सलेसन’) गरिँदा पठनपाठनमा धेरै भ्रम पैदा भएका छन् । केही दृष्टान्तहरू :

मिडिया अनुसन्धानसम्बन्धी एउटा पुस्तकमा अंग्रेजी शब्द ‘डिस्इप्लिन्’ लाई ‘अनुशासन’ भनेर अनुवाद गरिएको छ । यसका् सोझो अर्थ ‘अनुशासन’ नै भए पनि त्यहाँ अर्कै सन्दर्भमा प्रयोग हुनुपर्दथ्यो । ‘अनुसन्धानको विधा’ को रूपमा  ‘डिस्इप्लिन्’ अर्थ्याइनुपर्थ्यो । यहाँ ‘डिस्इप्लिन्’ शब्दको ‘अनुशासन’ सँग कुनै नाता छैन । यस्तो अवस्थामा यसबाट पाठकले के बुझ्ने ? ‘डिस्इप्लिन्’ शब्दको भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गरिँदो अनर्थ हुन पुगेको छ ।

पत्रकारितालाई मर्यादित तुल्याउने अभिप्रायले ‘अमेरिकन् सोसाइटी अफ न्युजपेपर इडिटर्स्’ (अमेरिकी समाचारपत्र सम्पादक) ले सन् १९२२ मा ‘क्यानन्स अफ जर्नलिजम्’ शीर्षकमा नैतिक निर्देशन जारी गर्यो 

‘फेयर प्ले’ को आशय थियो, समाचारमा जोडिएका व्यक्तिहरूलाई चित्रण गर्दा उनीहरूको इज्जत, प्रतिष्ठा  र अधिकारमा कुनै आँच आउनु दिनुहुँदैन र उनीहरूको गोप्यताको अधिकारलाई सम्मान गर्नुपर्छ ।

पत्रकारितामा समाचारको सन्दर्भमा जोडिएर आउने एउटा पारिभाषिक शब्दावली छ, ‘न्युज होल’ । यसको अर्थ हो,  समाचारपत्रमा विज्ञापनका लागि ठाउँ छुट्याएर बाँकी रहेको ठाउँ – जहाँ समाचार राख्न सकिन्छ । ‘न्युज होल’ लाई शब्दानुवाद गरेर यसलाई ‘समाचार प्वाल’ भनियो । यहाँ ‘समाचार प्वाल’ शब्दावलीमात्रले कुनै अर्थ बुझाउन सक्दैन । यसले पाठक जिल्ल पर्नेबाहेक अरु केही काम गर्दैन ।

समाचारकै सन्दर्भमा आउने ‘हार्ड न्युज’ र ‘सफ्ट न्युज’ शब्दावलीलाई क्रमशः ‘कडा समाचार’ र ‘नरम समाचार’ भनेर उल्था गरिएको छ । कडापन र नरमपनसँग समाचारको कुनै साइनो छैन । ‘हार्ड न्युज’ र ‘सफ्ट न्युज’ लाई क्रमशः ‘घटनाप्रधान समाचार’ र ‘विषयप्रधान समाचार’ भनिदिएको भए कुरा प्रष्ट हुने थियो ।

अंग्रेजी शब्दको भावानुवाद हुनुपर्नेमा शब्दानुभाव हुँदा यस्ता हास्यास्पद स्थिति देखापर्छन् । एउटा संस्थाले निकालेको प्रेस अफिस व्यवस्थापनसम्बन्धी ‘म्यानुअल’ मा यस्तै हास्यास्पद अवस्था आएको छ । त्यसमा प्रयोग भएका अंग्रेजी शब्दावली ‘अन द वन् ह्यान्ड’ र ‘अन द अदर ह्यान्ड’ लाई क्रमशः ‘एक हातमा’ र ‘अर्को हातमा’ अनुवाद गरिएको छ, जुन सर्वथा गलत र हास्यास्पद छ ।

आजकल कुनै वस्तु तथा सेवाको विज्ञापनमा अंग्रेजी शब्द ‘अनविलिभेबल’ को हास्यास्पद किसिमले अनुवाद भएको पाइन्छ । ‘अनविलिभेबल’ शब्दको नेपालीकरण गरिएको विज्ञापनको भाषा यस्तो छ : ‘साथमा पाउनुहोस्, अविश्वसनीय गिफ्ट हाम्पर्स’ । यसको अर्थ लाग्छ, ‘विश्वास गर्न नसकिने गिफ्ट (उपहार) हरू’ । विश्वासै गर्न नसकिने गिफ्ट (उपहार) पाएर के काम ? त्यस्तो चिज त नपाएकै जाती । ‘अनविलिभेबल’ को सोझो अर्थ ‘अविश्सनीय’ भए पनि यहाँनेर यसको अर्थ फरक छ । यसलाई हास्यास्पद हुनबाट जोगाउन यसो भनिनुपथ्र्यो, ‘साथमा प्राप्त पाउनुहोस्, तपार्इँ चकित पर्ने किसिमका आकर्षक उपहारहरू ।’

शोध (‘रिसर्च’) मा प्रयोग हुने कतिपय शब्दावलीहरूको भावानुभाव हुनुपर्नेमा शब्दानुवाद गरिएका छन् । यसबाट पाठक थप अलमलमा पर्ने अवस्था छ । केही उदाहरणहरू : ‘लिटरेचर रिभ्यू’, ‘नेचरलिष्टिक अब्जभेसन्’, ‘आटिफिसल् अब्जभेसन’ आदि । यी शब्दावलीलाई क्रमश : ‘साहित्य समीक्षा’, ‘प्राकृतिक अवलोकन’ र ‘अप्राकृतिक अवलोकन’ भनेर शब्दानुवाद गरिएका छन् । केवल शब्दानुवादले यिनीहरूको अर्थ खुल्दैन । यस्ता शब्दावलीको शब्दानुवाद होइन, भावानुवाद आवश्यक छ ।

‘लिट्रेचर रिभ्यू’ को साहित्यसँग कुनै लेनादेना छैन । यसलाई ‘साहित्य समीक्षा’ भनेर उल्था गर्दा गलत हुन जान्छ । असल शोधकार्य गर्दा आफूले अनुसन्धान गर्न लागेको विषयसँग सम्बन्धित रहेर अगाडि नै अनुसन्धान गरिएका सन्दर्भ सामग्रीहरूको अध्ययन तथा विश्लेषण गर्नु अपरिहार्य मानिन्छ ।

यस क्रममा पूर्वअनुसन्धान कार्यहरूको साङ्गोपाङ्गो अध्ययन र समीक्षा गरिने भएकोले यसलाई ‘सन्दर्भ सामग्री समीक्षा’ (‘लिट्रेचर रिभ्यू’) भन्नु बढी उपयुक्त हुन्छ । ‘साहित्य समीक्षा’ भन्दा पाठकमा भ्रम पैदा हुन जान्छ । पुस्तक प्रकाशन गर्नुभन्दा अघि व्यापक विचार विमर्श हुन पाएको भए यस्तो असहज अवस्था आउने थिएन ।


भाषा आफैंमा परिपूर्ण हुँदैन । सामाजिक अन्तरघुलनको माध्यमबाट एउटा भाषाको शब्दहरू अर्को भाषामा मिसिन पुग्छन्, जुन स्वाभाविक प्रक्रिया हो । नेपाली भाषामा पनि नेपाली राष्ट्रिय भाषाका थुप्रै शब्दहरू भित्रिएका छन् । यसले नेपाली भाषालाई समृद्ध बनाएको छ । नेपाली भाषाका शब्दहरूले अंग्रेजी शब्दकोशमा प्रविष्टि पाएका छन् ।

नयाँ युगले नयाँ शब्द जन्माउँछ । उदारहणको रूपमा सन् १९९० को दशकमा इन्टरनेटको उदयसँगै पछि सूचना–प्रविधिसँग सम्बन्धित शब्द र शब्दावलीहरू भरमार आए । तिनीहरूलाई स्थानीय भाषामा अनुवाद गर्ने कार्य लगभग असम्भव नै छ ।

विषयगत हिसाबामा इन्टनेट, सञ्चार, शोध र सामाजिक अध्ययनका तमाम आयामसँग सम्बन्धित पारिभाषिक शब्दाबली आमसञ्चार र पत्रकारिता जोडिनु स्वभाविक छ । यस्ता सबै शब्द तथा शब्दावलीहरूको शब्दानुवाद न सम्भव छ, न त व्यावहारिक नै । जबरजस्ती अनुवाद गर्दा अनर्थ हुन पुग्छ ।

अरुको आविष्कार र सांस्कृतिक उपजहरूको अनुवाद धेरै हदसम्म सम्भव छैन । अनुवाद भइहाले पनि व्याहारिक हिसाबले ग्रह्य छैन । हाम्रो छिमेकी भारतमा स्वराज आन्दोलनबाट प्रभावित भएर ‘टेलिफोन’ लाई ‘दूरभाष’, ‘टेलिभिजन’ लाई ‘दूरदर्शन’ भनेर नामकरण गरे पनि जनजिब्रोमा ती शब्दहरू ग्रह्य देखिएका छैनन् । विदेशी परिकार र उपकरणहरूको स्वदेशी भाषमा अनुवाद लगभग असम्भव छ ।

अंग्रेजी शब्दकोशमा खुकुरी, हुक्का, चपातीजस्ता शब्दहरूले प्रेमपूर्वक स्थान पाएका छन् । नेपाली जनजिब्रोमा सहजतापूर्वक झुण्डिएका रेडियो, मोबाइल, टेलिभिजन, कम्प्युटरजस्ता अंग्रेजी शब्दलाई जस्ताको तस्तै ग्रहण गर्नुको कुनै विकल्प छैन ।

विदेशी शब्दलाई अनर्थ लाग्ने गरी अनुवाद गर्नु कत्तिको बुद्धिमानी होला ? शब्दको गलत अनुवाद गरेर शब्दवह्मको दुरुपयोग गरी भ्रम बाँड्नुभन्दा आगन्तुक शब्दको मौलिक स्वरूपलाई यथावस्थामा ग्रहण गर्नु राम्रो । सुन्दा अप्रिय लागे पनि हामीले स्वीकार्नै पर्छ, सही अर्थ बुझाउने गरी अनुवाद गर्न नसक्नु आमसञ्चार र प्रज्ञिक वृत्तको कमजोरी बनेको छ ।

[साभार: अन्नपूर्ण टुडे (माघ २८, २०७३)]

Saturday, December 17, 2016

चरी विम्बः गोलसिमलदेखि कर्‍याङकुरुङसम्म


–यमबहादुर दुरा

विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू अनन्त रूपमा प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ को पनि उल्लेख्य स्थान छ । ‘चरी’ लाई विम्बको रूपमा उभ्याउने परिपाटी लोकजिन्दगानीको एउटा हिस्सा नै हो ।

बिहान चराको चिरबिरसँगै आँखा खोलेर दिनचर्या शुरु गर्ने कृषिप्रधान समाजमा चरी विम्बको प्रयोग एउटा यथार्थ हो । हाम्रा लोककथा, लोकगाथा एवम् लोकगीतहरू चरी विम्ब र तिनले उत्पन्न गरेका सामाजिक तरङ्गहरूबाट सजिएका छन् ।

आफूले भन्न खोजेको कुरालाई सोझै नभनी प्रतीकात्मक रूपमा संकेत गर्नका लागि विम्बको प्रयोग हुन्छ । विम्बको प्रयोगले अभिव्यक्तिलाई निरस हुनबाट जोगाउँछ । यसले सम्प्रेषण गर्न खोजिएको सन्देशलाई रुचिकर र लालित्यपूर्णमात्र बनाउँदैन, गहिरो र अर्थपूर्ण पनि बनाउँछ ।

विम्बले जटिलभन्दा जटिलतम् विषयलाई पनि थोरै शब्दमा अर्थ्याउन सघाउँछ । अमेरिकी संगीतकार जेम्स हल (जन्मः सन् १९७१) ले विम्बबारे ब्लग लेखेका छन् । उनले भनेका छन्, ‘एउटा विम्बको प्रयोगले १० हजार शब्दले भन्न नसकेको कुरालाई सहजै अर्थ्याउँछ ।’

 विम्बले लोकहृदयको अविरल भावप्रवाहलाई अझ वेगवान् बनाएर भावनाको उडान भर्न सहयोग गरेका छन् । यसले सन्देशमा मिठास त थपेकै छ नै, त्यसमा पनि सांस्कृतिक मूल्य–मन्यताले रङ्गिएका सामाजिक तस्बिरहरू आँखा अघिल्तिर ल्याइदिएका छन् । यसले जीवनको गोरेटोमा घटित सन्दर्भ र प्रसंगहरूलाई छर्लङ्ग्याउन सघाएका छन् ।

‘चरी’ विम्बले विम्बले लोकजीवनका बहुआयामिक पक्षहरूलाई समेटछ । यसले अवस्थाअनुसार कार्य, व्यक्ति, स्थान, वस्तु, घटना, स्वभाव, भाव, विचार आदिलाई प्रतिनिधित्व गर्छ । यसले मानिसको मानिसको चञ्चल मन (मनचरी) देखि लोकव्यवहारका तमाम पहलुहरूलाई अङ्गालेको देखिन्छ ।

‘वनको चरा, वनकै ढुङगा’ जस्ता उखान, ‘रानीचरी स्याकलुङे वनभरि, बोल माया तिमै छ मनपरी’ जस्ता गीत त्यसै बनेका होइनन् । यी दृष्टान्तले नेपाली जनजीवनमा ‘चरी’ विम्बको महत्वलाई प्रष्ट्याउँछन् । हाम्रो जीवनशैलीले यी लोकविम्बसँग गहिरो नाता गाँसेको छ । यस्ता अनेकन लोकविम्बहरूमा लोकजीवनको ढुकढुकी स्पन्दित भइरहेका छन् ।

चरी विम्ब लोकवाङ्मयको परिधिभन्दा बाहिर निस्केर धेरै परसम्म पुगेको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) ले   सुप्रसिद्ध कृति ‘मुनामदन’ मा भोटमा मदनको मृत्युलाई काग कराएको प्रसंग अघि सारेर विम्बमय बनाएका छन् । जनकवि केशरी धर्मराज थापा (वि.सं. १९८१–२०७१) ले आफ्ना कृतिको नाम ‘वनचरो’ र ‘गोलसिमल’ राखेका छन् ।

चर्चित अमेरिकी उपन्यासकार हार्पर लि (सन् १९२३–२०१६) ले ‘टु किल अ मकिङबर्ड’ उपन्यासमा ‘मकिङबर्ड’ नामक चरालाई विम्बको रूपमा प्रयोग गरेकी छिन् । सन् १९६१ मा पुलिट्जर पुरस्कार पाउन सफल उक्त कृतिमा खडा गरिएको त्यो चराले निरीह र निष्कपट व्यक्तिको प्रतिनिधित्व गर्छ ।

सिमलचरी (गोलसिमल) नेपाली समाजमा एउटा चर्चित विरहिरणी विम्ब हो । सिमलचरी भन्नेबित्तिकै एउटी टुहुरी, निरीह र अपहेलित चेलीको तस्बिर हामीसामु आउँछ, जो सौतेनी आमाको बुहार्तन खेप्न अभिशप्त छ । सानो छँदा अगेनाको छेउमा पलेटी कसेर बस्दा हजूरआमाले सिमलचरीको आहान सुनाउनुहुन्थ्यो । हजूरआमाबाट सिमलचरीका दुःखदायी वृत्तान्त सुन्दा हाम्रा परेली निथ्रुक्कै भिज्थे ।

लोकगीतका पारखीहरूले चरी विम्बको भरपूर उपयोग गरेका छन् । आफ्नो मन परेको मान्छे आफ्नो सेरोफेरोमा नभेट्दा प्रेमातुर मायालु सांकेतिक रूपमा न्यास्रो व्यक्त पोख्छ :

‘यो वनमा छैन कि चरी
भएदेखि कराउँथ्यो क्यै  गरी’ ।

मानिसको स्वभावलाई अर्थ्याउन पनि चरी विम्बको प्रयोग हुँदै आएको छ । समाजसँग घुलमिल हुन नचाहने एकलकाटे स्वाभावका मानिसलाई ‘वनको चराजस्तो पर पर भाग्ने मान्छे’ भनेर टिप्पणी गर्ने गरिन्छ । मुख बाँधेर नबस्ने फरासिलो स्वभावका व्यक्तिलाई ‘मैना’ भन्ने चलन छ ।

हाम्रो ‘विश्वास प्रणाली’ ले कागलाई यमदूतको रूपमा स्वीकारेको छ । सबैलाई थाहा भएकै कुरा हो, घरछेउमा आएर काग कराउँदा अब के अशुभ खबर सुन्नुपर्ने हो भनेर धेरै मानिस सशंकित हुन्छन् । घर वरपर काग कराउनसाथ ‘शुभबोल ! शुभबोल !’ भन्ने चलन छ । कागले कुनै अशुभ खबरको पूर्वसंकेत दिन्छ भन्ने मान्यताले हाम्रो समाजमा जरो गाडेको छ ।

हाम्रा अग्रजहरूले बोली–बचनलाई पनि चरी विम्बमा ढालेका छन् । मृदुभाषीको बोलीलाई कोइलीको आवाजसँग तुलना गर्ने प्रचलन नयाँ होइन । यसको विपरीत अप्रिय बचन बोल्न पछि नपर्ने पचमुखे स्वभावका व्यक्तिलाई तित्रासँग तुलना गर्ने चलन छ । उखानै छ, ‘तित्राको मुखै बैरी’ ।

कृषिप्रधान समाजमा हरेक बिहान चटारोले भरिएको हुन्छ । कृषिकर्ममा हरदिनको अर्थपूर्ण तयारीका लागि बिहानी समय मूल्यवान मनिन्छ, जसको सही उपयोग अनिवार्यजस्तै हुन्छ । बिहानको समय त्यत्तिकै चिप्लिएमा व्यस्ततापूर्ण जिन्दगीको कार्यतालिका बिग्रन पुग्छ । कुखुराले बिहानको उद्घोष गरेर खेतबारीमा पाखुरा जोत्ने कर्मजीवीहरूको कार्यतालिका दुरुस्त राख्न सघाउँछ  । समय–यन्त्रविहीन ग्रामीण समाजमा कुखुरा बिहानीसूचक घडी हो ।

बिहान हुन लागेको संकेत भालेको डाँकले गर्थ्यो । यससँगै कृषिप्रधान समाजमा दिनचर्या शुरु हुन्थ्यो । मुगलान पस्ने युवाहरू भालेको डाँकसँगै गाउँको सीमाना काट्थे । देशमा घडीको आमप्रचलन शुरु हुनुभन्दा अघिको साहित्य र लोकगीतहरूमा कुखुरा गतिलो समयविम्बको उभिएको पाइन्छ ।

हिमालको डाँफे र मधेशकोे मुरलीको दुःखान्त प्रेमकथा लोकजीवनमा चर्चित छ । डाँफे र मुरलीको आरिसलाग्दो मिलन र त्यसपछिकोे बिछोडले भरिएको विरहपूर्ण कथा नेपाली समाजको अमूर्त सांस्कृतिक सम्पदा हो । डाँफे र मुरलीको कथालाई झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०) ले गीतमा उतारेका छन् ।

न्याउली चरीलाई विरह र बिछोडको प्रतीक मानिन्छ, जसलाई विम्बको रूपमा खडा गरेर थुप्रै लोकगीत बनेका छन् । मुगलान पसेका छोरो घर नफर्किएको प्रसंग उठाएर लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) ले ‘रेडियो नेपाल’ मा मर्मस्पर्शी गीत रेकर्ड गराएका छन् । क्षेत्रीले न्याउली चरीलाई विम्ब बनाएको गीतको एउटा अंश यस्तो छ:

 ‘साइलो दाइ कहाँ गयो
पानी खाँदा न्याउली झुरायो’ ।

ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ, जसको प्रतिविम्ब नेपाली लोकगीतमा पर्याप्त देख्न सकिन्छ । तनहूँकी लोकगायिका मीरा राना मगर ( जन्मः वि.सं. २०२८) ले ५० को दशकको शुरुतिरै ‘रेडियो नेपाल’ मा सुमधुर गीत रेकर्ड गराएकी थिइन् । आञ्चलिक सुवास मगमगाउने त्यो गीतको एउटा हरफ विम्बमय छ:

 ‘आजभोलि के हुन्छ के हुन्छ
जोडी ढुकुर देख्दा नि मन रुन्छ’ ।

बारीमा उभिएको आरुबोटमा फूल  खेल्दानखेल्दै हरेक वर्ष आकाशमा कर्याङ्गकुरुङको बथान उँड्न थाल्छ । यसले छरपातको समय आएको सन्देश दिन्छ । मालचरीको नामले समेत चिनिने ‘कर्‍याङकुरुङ’ को आगमनले खेतीपातीको समय शुरु भएको संकेत गर्छ । भनाइ नै छ– ‘कर्‍याङकुरुङ आयो, काँक्रा फर्सी रोप’ । यसरी नेपाली समाज ‘कर्‍याङकुरुङ’ चरा  खेतीपातीको विम्ब बन्न पुगेको छ । नेपाली साहित्यमा समेत ‘कर्‍याङकुरुङ’ लाई प्रेमपूर्वक आत्मासात गरेको पाइन्छ ।

माथि चर्चा गरिएका विम्बका अतिरिक्त चाँचरी, परेवा, मलेवा, काफल पाक्यो, बिउ कुहियो, जुरेली, लामपुच्छ्रेजस्ता असंख्य चरीको प्रतीकात्मक प्रयोगबारे ‘कार्टुन नेटवर्क’ सँगै हुर्केका नयाँ पुस्ता धेरै हदसम्म अनभिज्ञ छ । लोकजीवनले यिनीहरूलाई विम्बको रूपमा कसरी प्रयोग गरिरहेको थियो र कसरी गरिरहेको छ भन्नेबारे थप खोज–अनुसन्धान हुन बाँकी छ ।

प्रकृतिको निकट रहेको ग्रामीण जीवनशैलीलाई त्यागेर ‘अटोमेसन’ तिर लम्कँदै गरेको र शहरी जीवनशैलीमा रूपान्तरण हुँदै गएको वर्तमान घडीमा कतिपय लोकविम्ब अबोधगम्य र असान्दर्भिक बन्न पुगेका छन् ।

हाम्रो समाज अतीतमुखी परम्परा र भविष्यमुखी आधुनिकताको दोसाँधमा उभिरहेको बेलामा कतिपय लोकविम्ब नखोतलिएको गाडधनजस्तै हुन पुगेको छ, जो खोज–अनुसन्धानप्रति मोहभाव राख्ने नयाँ पुस्ताको जाँगर र उत्सुकताको व्यग्र प्रतीक्षामा छ ।

[साभार: गोरखापत्र 'शनिबार'। (पुस २, २०७३) । तस्बिर : गुगल]

[अद्यावधिक : २०७४।०३।१३, २०७४।०५।११, २०७७।०३।२४]


Sunday, October 30, 2016

पहरामाथिको पोथ्रो


–यमबहादुर दुरा

गण्डकी अञ्चलको सेरोफेरोमा बिछट्टै लोकप्रिय रहेको ‘ठाडो भाका’ पतनको संघारमा छ । यो भाका लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाका आदि नामले पनि परिचित छ, जुन चर्चित गायकद्वय देउबहादुर दुरा  र पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३) ले शुरु गरेको साङ्गीतिक विरासत मानिन्छ । पश्चिम लमजुङको करापुटार ‘ठाडो भाका’ को उर्वरभूमि मानिन्छ ।

करापुटारमा लाग्ने शिवरात्रि र फागुपूर्णिको जात्रामा ‘ठाडो भाका’ घच्चीको खाल जम्थ्यो । देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको गीत सुन्नका लागि गोरखा, लमजुङ, तनहूँ, कास्कीलगायतका जिल्लाबाट किचाघान मानिस ओइरिन्थे ।

अहिले ५० वर्षभन्दा कम उमेरका मानिसले ‘ठाडो भाका’ गाउन जान्दैनन् । औंलामा गन्न सकिने पारखीहरूले मात्र यो गीतमा सवाल–जवाफ गर्न सक्छन् ।

नन्दमाया दुरा (६४ वर्ष) ठाडो भाकाका बचेखुचेका शिद्धहस्त प्रतिभा हुन् । उनी सञ्चारमाध्यम, चमकधमकपूर्ण जिन्दगी र प्रचारबाजीको दुनियाँबाट कोसौं पर छिन् । बाहिरी दुनियाँसँगको उनको परिचय बनेको छैन तर पनि स्थानीयस्तरको उनको नाउँ ठूलो छ । निरक्षर भएर पनि उनले गर्ने शब्दचयन धेरैले सराहना गरेका पक्ष हो । उनको सुमधुर स्वर र ओजिलो शब्दमा गीत गुञ्जिँदा ‘ठाडो भाका’ का अनुरागीहरू मन्त्रमुग्ध हुन पुग्छन् ।

१६ वर्षको उमेरमै एक पल्टनिया जवानसँग उनको लगनगाँठो कसियो । उनको श्रीमान्  भारतीय सेनामा कार्यरत थिए । उनी विवाह गरेर गएपछि एकपटक एक पटकमात्र छुट्टीमा घर आए, त्यसपछि कहिल्यै पनि फर्केनन् । सन् १९७१ को बंगलादेशको स्वतन्त्रता आन्दोलनमा उनले ज्यान गुमाएकोे खबर घरै बसेर थाहा पाइन् । त्यही आन्दोलनमा उनको जेठाजुको पनि देहान्त भयो ।

कलिलो बैंशमै विधवा बन्नुपर्ने नियति भोगेकी नन्दमाया दुरालाई आफ्नै निःसन्तान दिदीले आफैंतिर तानिन् । आफ्नै भिजानुसँग उनको दोस्रो घरबार जोडियो । यसपछि उनको जीवनमा अर्को अध्याय शुरु भयो । उनको एउटा छोरा छ । उनको पनि घरबार भइसकेको छ । नन्दमाया दुराको दिदी र श्रीमानले यस दुनियाँबाट बिदा लिइसकेका छन् । अहिले उनी पाँचजना नातिबाट घेरिएकी छिन् ।

जिन्दगीले जस्तो व्यवहार गरे पनि उनले गायन छाडिनन् । उनले ‘मुखको सरस्वती’ को आरधना गर्न छाडिनन् । गीतको माध्यमबाट दुखका रेखाहरू मेटाउने प्रयास गरिन् । सामाजिक जमघट र मेलापातहरूमा उनले आफ्नो कला र गलाको परिचय दिइरहिन् ।

उनको प्रतिभालाई नजिकबाट चिन्नेहरू उनलाई उच्चकोटीका गायिकाको श्रेणीमा राख्छन् ।  नन्दमाया दुराको प्रतिभासँग परिचित पूर्वशिक्षक लोकबहादुर दुराको दृष्टिमा उनी विलक्षण प्रतिभा भएकी बिरलाकोटीमा पर्ने गायिका हुन् ।

उनको गीतमा लोकजीवनको विम्ब र स्थानीयपन भेटिन्छन् । धेरैको भनाइमा उनको गीत–गुञ्जन यति मिठासपूर्ण र सुगन्धमय छ, टहटह जून लागेको शरदकालीन रातमा मगमगाउने केवँराको फूलको वासनाजस्तो । उनको लालित्यपूर्ण गीत सुन्न थालेपछि गीतको खालमा बसेकाहरू उठ्नै मन गर्दैनन् ।

उनले आफ्नो सांगीतिक यात्राको उत्कर्षमा दीर्घराज अधिकारी 'भेँडीखर्के साइँला' (जन्म : वि.सं. १९९०) लगायतका नामुद गायकहरूसँग डटेर सवाल–जवाफ गरिन् । अहिले भने समयले आफूलाई पछि पार्दै लगेको उनलाई अनुभूति हुन थालेको छ । यतिबेला गाउँघरमा आयातीत गीत र ‘रेकर्डेड म्युजिक’ बाढी पसेको छ ।

परम्परागत सांगीतिक पद्धति ओझेलमा पर्दै गएको छ । बढ्दै गएको बुढ्यौलीले उनलाई ङ्याक्न थालेको छ । सामाजिक जमघटहरूमा ‘ठाडो भाका’ को मह्फिल जम्न छोडेको छ ।  उनी गाउँघरमा कहिलेकाहीँ जम्ने ठाडो भाकाको खालमा बिर्सन लागेको गीत फाँकी र फुंदाहरू सम्झने प्रयास गर्छिन् ।

पहिले पहिले चाडबाड, जात्राजस्ता सामाजिक जमघटहरूमा उनलाई निम्ता आउँथ्यो । निम्ता यति आउँथ्यो, निमन्त्रणाकर्ताहरूको मन राख्ने हम्मेहम्मे पर्ने । नयाँ पुस्तामा ‘ठाडो भाका’ को रौनक घटेकाले अहिले त्यो माहोल छैन । समयले अर्कै रुपरङ्ग लिएर आयो । यद्यपि अहिले पनि उनलाई निम्ता नआउने होइन । तर कम आउँछ । घरव्यवहारले किचिएकोले कतिपय निम्ता मान्न पनि भ्याउँदिनन् ।

प्रतिभा भएर पनि उनी कतै अल्झिरहेको र आफ्नो क्षमताको भरपूर उपयोग गर्ने अवसरमा बञ्चित भइरहेको प्रतीत हुन्छ । परिवर्तित समयको झोंक्कासँगै उनको सांगीतिक यात्रा निरन्तर खुम्चिँदै गइरहेको छ । कला र गलाले भरिपूर्ण भएर पनि उनको सांगीतिक ‘करिअर’ पहरोमाथिको पोथ्रोझैं निरन्तर टाक्सिँदै गएको छ ।

[साभार: हिमाल (कात्तिक १४-२७, २०७३, पृ.६४)। सामान्य परिमार्जनसहित । ]

[अद्यावधिक: २०७४।०५।२७, २०७५।०९।२३]

Monday, June 27, 2016

Blogging: A vehicle for self-exploration

-Yam Bahadur Dura

A Nepali proverb strikes my mind: ‘man ko baha katai nakaha.’ This can be loosely translated as ‘don’t express what you feel.’ I disagree with this proverb. The basic reason behind this is that it violates people’s right to opinion and expression, which is considered as foundation of all rights. For this reason, I stand against this proverb. Since we are in a democratic society, the essence of the aforesaid proverb seems to be dangerously misleading. Furthermore, every human being is a freedom lover.  Any freedom lover cannot compromise with opinion and expression, which are lifeblood of life.

 These days, blogging has become a powerful tool for opinion and expression. Unlike conventional media outlets like newspapers and broadcast media, it doesn’t impose any censorship on the content developers. Instead, it facilitates people to express their views freely without any kind of censorship. A blogger himself or herself is the sole authority of the content. It is no other than a respective blogger who can impose censorship on the content if he or she likes to. This has given immense freedom, which is why people love blogging. 

Andrew Michael Sullivan (born August 1963) is a British author, editor and blogger. He is quoted in IncomeDiary website (visited on July 1, 2016) about the importance of blog. His quotation goes like this, 'A blog allows you to write and publish anything from anywhere, and have it be immediately available to billions of people around the world.' His quotation is simple but powerful and gives the crux of blogging.

The word ‘blog’ is made of two words ‘web’ and ’log’. The contracted form of these words is ‘blog’, which simply is an online log or diary. The act of keeping online diary is ‘blogging’. Those who do ‘blogging’ are known as ‘bloggers’.

A blog is not just an online diary. It’s a big universe of knowledge, ideas, thoughts and feelings. A wide variety of thematic blogs are available on the web, which includes everything under the sun. However, cuisine, travel, beauty, lifestyle, gossip, fashion, music, health, etc. are the most popular themes for blogging in the present day world.

Besides these themes, there are lots of themes like blogging itself, literature, history, culture, and so on. The list blog themes goes on and on. There are lots of blogs that teach foreign languages including English. ‘Rosetta Stone’ is a UK based language blog that teaches Spanish, French, German, English and Italian. The slogan of this site is also very attention-grabbing. It reads, ‘We’re building a world in which everyone can speak, read, and write with confidence.’





The history of blogging is relatively short. Historical records say that Justin Hall (born: December 1974), an American journalist, is the first blogger. He created a blog 'Links.net' in 1994. He was a Swarthmore College student at that time. According to Cameron Chapman, an American filmmaker and blogger, blogs were reaching the mainstream by mid 2000s. Her observation is that by 2000s there experienced an exponential growth in blogging. The blogs are now rampant in the blogosphere.

The history of blogging in Nepal is shorter. Nepali bloggers seem to be entered in blogosphere around the time of 1999. Many analysts says that blogging in Nepal gathered momentum after King Gyanendra's political step on February 1, 2005. In an article, Tilak Pathak, a journalist and researcher, has shared his experiences on how Nepali bloggers became united and started raising voices against the autocratic rule. Ujjwal Acharya (nepalivoices.com), Deepak Adhikari (nepalmonitor.com), Umesh Shrestha (mysansar.com), and Dinesh Wagle are pioneer bloggers in Nepal. Now, we can see hundreds of young and energetic bloggers at the scene.

With the passage of time, new dimensions have been added on blogosphere. Nowadays video blogging is on the rise. Those who do video blogging (vlogging) are known vloggers. They are also called You Tubers as well. It can cater multimedia (audio, video and text) content to its audiences.

Likewise, microblogging is also gaining in popularity. Microblogging sites like Twitter, Tumblr, etc. have given ample opportunities to millions of users to express their views in an instant and smart way. Blogging through mobile device is another development in this sphere. Blogging through mobile device is called ‘moblogging’, which has been helping speed up blogging. On the other hand, social media and social networking sites have magnified blogging.


A blog is digital publication that doesn’t need any pen, paper and printing press to publish any document. This is an important platform to demonstration one’s talents to the outside world.  Like traditional (hard copy) publication, a well-choreographed digital publication (blog) leaves far-reaching impacts on its audiences.

Thousands of people across the world have been able to explore their literary, journalistic and other talents through blogging, which has made them stars. Their respective fans and followers remain desperately waited to read their new blog postings. Successful bloggers have been earning both name and fame.

Gina Trapani (born September 1975), an American technology blogger, is one among the highest earning bloggers. ‘The Richest’ website has portrayed her among top-ten bloggers (visited on June 2, 2016). She earns $110,000 per month. She is founder of the popular blog ‘Lifehacker’. Gina Trapani is just an example. There are many more other bright people in the world who have come into spotlight due to blogging.


Mitch Joel (born: May 1971), a Canadian music journalist, has written about importance of blogging on his blog 'Six Pixel of Separation'. He says that search engine loves blog. This means a blog content is searchable on the web. He concludes, 'Whatever you blog about becomes part of global and collective history'.


People's presence on the virtual world of the web matters much these days. Online presence is extremely important, especially for those who are in the career building age. Well-written articles and other creations on the web can add an extra value in a person's life. This matters much when a candidate is being searched on the web by those who are willing to offer them job and other opportunities.

There is no room for anarchy on the blogosphere. Even though a blogger is free to write whatever he or she likes, not everything cannot be shared on the blog. Nobody can go like an unbridled horse. It’s a blogger responsibility to abide by universal norms of human values. No blogger should forget ethical values while blogging. A blogger should not post such a content that hampers the society and puts a blogger’s reputation at stake.

In his book entitled ‘The Net for Journalists’, Martin Hunckerby, a renowned British journalist, has suggested staying far away from the statements that plunge a blogger into embarrassment in future. He writes,  ‘If you go ahead under your name, bear in mind that will likely stay out there, somewhere – so you need more restrain than the average blogger. Avoid saying anything which could damage your future reputation’ (P. 77). Right to privacy is one of the crucial issues in the present day world.

In some cases, blogging comes with a cost. Bloggers are not safe from intruders. They have been paying costs for blogging. They are being manhandled, threatened, arrested, jailed, tortured and even killed in different parts of the world. Bangladesh has become one of the bad examples in this regard. According to ‘Library of Congress’ website, four bloggers have been killed in Bangladesh since February 2015 (visited on June 1, 2016).

Both state and non-state forces have exercised their iron hands exercised on bloggers. Asia seems a black spot for bloggers. A report produced by ‘Committee to Protect Journalists’ (CPJ), a New York based press freedom related organization, says that Burma, Egypt, Iran, Saudi Arabia, North Korea, Tunisia, and Vietnam have been keeping a close eye on bloggers and imposed restrictions.

Despite these life-threatening hurdles, bloggers have  been continuing their journey. By the way, continuity is one of the important driving force in blogging. A good blogger must be a good time manager led by a strong sense of self disciple and a higher level of commitment. His or her blogging should be supported by meticulous research and hairsplitting analysis. The whole bunch of aforesaid efforts helps a blogger reach a desired destination.

Those who have not started blogging can start now. It’s entirely up to us whether to explore or not immense of opportunities offered by the blogosphere. It is never late to start a good work. Let’s do a small thing in the blogosphere with a difference that can bring us a good fortune. Our small efforts can yield opportunities for us. Vernor Venge (born October 1944), a retired American professor’s statement, seems relevant in this regard. He once said, ‘Even the largest avalanche is triggered by small things.’

[Courtesy:  Sweta Shardul, a yearly souvenir of Madam Bhandari Memorial College, Vol. XIII-2016 (2073 VS), Pp. 82-85, Graphics : Google]

[Updated: June 24, 2017]