Friday, February 8, 2019

'पानको पात' को किस्सा

-यमबहादुर दुरा

समयले इतिहास रच्दै थियो । २०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो ।   त्यस समयमा दोहोरीगीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा थियो ।

दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु गुरुङको टोली एउटा सुमधुर भाका लिएर प्रतिभाको डबलीमा सुमधुर पौँठेजोरी खेल्न आइपुग्यो । अर्को प्रतिस्पर्धी टोलीमा जुटेका कृष्णसुधा ढुङ्गानालाई त्यो मोहनी भाकाको गुञ्जनले लठ्याउनुसम्म लठ्यायो  ।

त्यस भाकालाई अल्बममा समेट्न पाए गजबै हुने थियो भनेर ढुङ्गानाले मनमनै सोचे । नभन्दै उनको सोचाइले साकार रूप लियो । २०४३ सालमा त्यही भाकामा ‘पानको पात’ नामक अल्बम बजारमा आयो ।

 त्यस अल्बममा स्वराङ्कन गर्नेहरूमा पुरुषतर्फ बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महत थिए भने महिलाततर्फ सुमित्रा गुरुङ, मीरा राना मगर र सरला गौचन ।

‘पानको पात’ ले बजार पिट्यो । जनजिब्रोमा ‘पानको पात’ ले राज गर्‍यो । भर्खर भर्खरै रेकर्डिङ उद्योग अस्तित्वमा आएको त्यस घडीमा बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महतलाई त्यस अल्बमले चर्चाको शिखरमा पुर्‍यायो । गाउँ-शहर, रनबन सबैतिर ‘पानको पात’ भाका गुञ्जन थाल्यो । ‘पानको पात’ भाकाले उनीहरूलाई जति ख्याति दियो, अरू कुनै पनि भाकाले दिन सकेको छैन ।

‘पानको पात’ अल्बम निस्केको पनि ३२ वर्ष भइसकेको छ । गायक मण्डलीमध्येका एक हस्ती कृष्णसुधा ढुङ्गाना त्यसबेला २८ वर्षको भर्भराउँदो जवान थिए । अहिले समयले फेरो मारिसकेको छ । उनको रूपरङ्ग बदलिएको छ । समयले घचेटेर उनलाई ६० वर्षको नजिक पुर्‍याउँदैछ ।

फ्रेन्चकट दाह्री,  त्यो पनि घरमुनिको सुर्केगह्रामा हिउँ परेझैं सेताम्य भइसकेका । अनुहारमा बुढेसकालका धर्साहरू प्रष्ट रूपमा कोरिएका, समयले जवानी खोस्दै लगेका, पारिवारिक जिम्मेवारीमा मिचिँदै गएका र समयको दौडमा पछि पर्दै गएका कृष्णसुधा ढुङ्गानाको अहिलेको वास्तविकता हो ।

अहिले लोकसङ्गीतको दुनियाँ धेरै अर्थमा उलटपुलट भइसकेको छ । कृष्णसुधा ढुङ्गानाका धेरै साथीसँगी लाङ्गाबिङ्गा भइसकेका छन् । कतिपय पुराना स्वरजीवीहरू ओझेल परिसकेका छन् ।

लोकसङ्गीतको महफिलमा उर्जावान्–प्रतिभावान् नयाँ पुस्ताको दरिलो उपस्थिति छ । लोकगीतको शैली र ढाँचाकाँचा बदलिएको छ । हिजो सुन्ने गीतको साम्राज्य थियो, आज हेर्ने गीतको बाढी छ । नयाँ जमाना, नयाँ परिपाटी, नयाँ ‘ट्रेन्ड’ ।

कृष्णसुधा ढुङ्गानाचाहिँ यो चमकधमकपूर्ण दुनियाँबाट टाढिएका जस्ता, अन्तै कतै अलमलिएजस्ता देखिन्छन् । उनी लोकगीतको महफिल नयाँ पुस्तालाई सुम्पेर  अभिभावकीय भूमिकामा बसेको प्रतीत हुन्छ । उनी लोकगीतसम्बन्धी जमघटमा कहिलेकसो मात्रै झुल्किने गर्छन् ।

यद्यपि, लोकगीतको दुनियाँ विकसित घटनाक्रमहरूसँग उनी बेखबर भने छैनन् ।अहिलेको लोकगीतको वृत्तबारे उनको बुझाइ छ,  'हिजोका दिनमा गायनकर्ममा अपठितहरूको अधिकता थियो । अहिले पढालेखाहरूको रजगज  छ ।'

ढुङगानाको ठहर छ, ‘नयाँ पुस्ताका भाइबहिनीहरूले धेरै राम्रा र रसिला गीत बनाएका छन् । तर ती गीत ग्रामीण जीवनशैलीसँग टाढिँदै छन् र शहरी जीवनशैलीसँग नजिकिँदै  छन् ।’ आजका लोकगीतमा हिजोको जस्तो ग्रामीणपन र माटो सुवासमा भेटिन छाडेको उनको बुझाइ छ ।

आफू बाहुन समुदायका भएर पनि तत्कालीन समाजको कठोर नियमले उनलाई बन्दी तुल्याउन सकेन । उनी स्थानीय रोदीघर र अन्य सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहोलबाट पर रहन सकेनन् । लोकगीतप्रति अभिप्रेरित हुँदै गए । अन्ततः गीत गाउन नहुने मान्यताले राज गरेको समाजमा उनी गायक भएर निस्किए ।

पढाइको बहानामा राजधानी भित्रिएका ढुङ्गानाको ध्याउन्न भने राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालतिरै थियो तर धेरै साथीभाइले ‘पञ्चको रेडियो गीत गाउनुहुन्न’ भनेर उनको बाटोमा अवरोध खडा गर्थे । उनलाई भने जसरी भए पनि रेडियो गीत गाउने रहर पूरा गर्नु थियो । उनले रेडियोमा गीत गाएरै छाडे । त्यहीबाट उनको परिचयको घेरा फराकिलो हुँदै गयो  ।

रेडियो नेपालमा ढुङ्गानाका ४० वटा जति लोकगीत रेकर्ड भएका छन् । ती गीतमा लोकजीवनको ढुकढुकी भेटिन्छन् । यसका अतिरिक्त ‘रातो घाम’, ‘गाइको चरन’, ‘चुल्ठी बाटेर’, ‘चाँदीको मोहोर’, ‘रोदीघर’, ‘लाहुरेको जिन्दगी’ गरी दुई सय जति अडियो अल्बममा उनको गायकी र लोकजीवनप्रतिको मोह छचल्किएका छन् ।

ढुङ्गाना प्रखर दोहोरी गायक हुन् । उनी स्वरका धनीका धनी त हुँदै हुन्, शब्द–कारीगर पनि हुन् । उनले लेखेका शब्दहरू जनजिब्रो झुण्डिएका छन् । ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ ‘रानीघाटैमा, किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’, ‘धान झुलेको छ काँ जाउँ काँ जाउँ भइराछ, मन डुलेको छ’, ‘छिमलेर डाली पलायो, दुई बजे रातिमा सपनीमा कल्ले बोलायो’ जस्ता गीतहरू जनमनमा अमिट छाप पार्न सफल छन् ।

ढुङ्गाना नयाँ पुस्ताका प्रतिभाहरूलाई असीम माया दिन्छन् । तिनलाई कानको फूलझैं गर्छन् । नयाँ गायक गायिकाको सिर्जना कर्मलाई दिल खोलेर सघाउँछन् । विमल क्षेत्री, राजु परियार, शिला आले, बेगम बुलु गोफिके,  दिनेश रञ्जनजस्ता प्रतिभाहरू उनकै छत्रछायाँमा लोकगीतको दुनियाँमा छाएका हुन् ।

यतिबेला ढुङ्गाना =को जीवनले अर्कै लय टिपेको छ । उनी २०७२ सालदेखि कृषिकर्ममा लागेका छन् । काठमाडौंको काभ्रेस्थलीमा १० रोपनी जमिनमा तरकारी खेती गर्छन् । कृषिकर्मबाट बचेको समयमा लोकगीतसम्बन्धी कार्यक्रमको निम्ता मान्छन् अनि साथीभाइसँगको भेटघाट र वार्तालापहरूमा रमाउँछन् ।

उनको तरकारीबारी तीर्थस्थलजस्तो भएको छ । मोबाइलको घण्टी निरन्तर बजिरहन्छन् । बारीमा पाखुरा जोतिरहेका ढुङ्गानालाई भेट्न आउनेहरूको भीड टुट्दैन । उनको शब्द-कारिगरीबाट प्रभावित भएर अहिले पनि धेरै दोहोरी गायक–गायिकाहरू गीतको शब्द बनाइमाग्न उनीकहाँ धाउँछन् ।

ढुङ्गानालाई नामको लोभ छ, न त दामको नै । उनको व्यवहारमा अचम्मको उदारता छ । उनी अरूका लागि गीत लेखिदिन्छन् तर आफूले रचेका शब्दलाई भनेर दाबी गर्दैनन् । एक हिसाबले उनी सन्तान जन्माउने तर राम्ररी नस्याहर्ने माउजस्ता छन् ।

लोकसङ्गीतको झङ्कारले जोडेका उनका सम्बन्धहरूको जालो ठूलो छ । साथीसंगीसँग उठबसका प्रसंगहरू रोचक छन् । समयले बुनेका किस्सा-कहानी घतलाग्दा छन् । लेख्ने हो भने ती किस्सा-कहानीका बेग्लै पुस्तक बन्छ ।

साथीसँग गीतैगीतमा हाँसोठट्टा चल्थ्यो । एउटा प्रसंग सुनाइहालौँ । २०४० सालको राष्ट्रिय युवा महोत्सवमा चितवनका चर्चित दोहोरी गायक रफिक मियाँसँग ढुङ्गानाको राष्ट्रिय नाचघरको गेटैमा भेट भएछ । उनले गीतमै व्यङ्ग्य कसिहालेछन्:

 ‘आइपुग्यो रफिके मियाँ,
दुइटी स्वास्नी राखेर अधिया’ ।

रफिक मियाँ पनि के कम थिए र ! उनले पनि तत्कालै पैंचो तिरिहालेछन्:

 ‘शुद्धि छैन यो मोरो सुधाको
घरकी स्वास्नी अर्कैले कुदाको’ ।

कृष्णसुधा ढुङ्गानालाई जीवनमा दुईटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा, अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहोलमा सर्लक्कै भिजाइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिराभोगसँग गाँसिएका किस्सा-कहानी साथीसंगीबीच निकै  चर्चित छन् ।

जतिबेला कृष्णसुधा ढुङ्गाना प्रसिद्धिको शिखर चढ्दै थिए, त्यतिबेला प्रहरी वृत्तमा कलकारको भाउ राम्रो थियो । मदिरापानको असरले बाटोमा छेपारी बटारिहँदा प्रहरीले उनलाई सम्हालेर डेरासम्मै सुरक्षित तरिकाले ल्याइदिन्थे । त्यो पनि एक पटक होइन, दुई पटक होइन, पटक पटक ।

उनका कतिपय साथीभाइले रेष्टुराँमा उधारो खाएर त्यसै छाडेका हुन्थे । खल्तीमा पैसा भएको बेलामा बहीखाता पल्टाएर हेर्थे । साथीभाइका बक्यौता आफ्नै सम्झेर तिरिदिन्थे । आफूसँग पैसा नभएको बेलाचाहिँ भगवान भरोसा । जस्तो पर्छ, उस्तै टर्छ । उनको गीतले उनकै चर्चा गरेझैं लाग्छ : ‘जहाँ पुगुँला, उही आगो फुकुँला...’ । वास्तवमा निष्फिक्री जिन्दगीका हिमायती हुन्, ढुङ्गाना ।

ढुङ्गानालाई एकदमै मन पर्ने गीत हो, कल्याण सेरचनको ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’ । उनलाई लोकबहादुर क्षेत्री, शावित्री शाह आदिका स्वर बिछट्टै मन पर्छ । अनुज पुस्तामा बीमाकुमारी दुरा, मीरा राना मगर, राजु परियार, राजन ठकुरी, बिमल क्षेत्री, शर्मिला गुरुङ, धना पुन, पार्वती जीसी आदिका कला र गलाका प्रशंसक हुन् ।

साङ्गीतिक यात्रामा भेटिएका नारायाण रायमाझी, तारा शर्मा, पानुमाया गुरुङ, मन छन्त्याल, तत्सत प्रधान, माया गुरुङ, कोमल ओली, नन्द राना, लालु गुरुङ, लोकबहादुर क्षेत्री, तीर्थबहादुर गन्धर्व, राजेन्द्र लम्साल क्षेत्री, रामशरण नेपाली, नारायण पाण्डे, काजु सेरचन, रफिक मियाँजस्ता समकालीन प्रतिभाहरूलाई उनी खुबै सम्झना गर्छन् ।

समयको यो विन्दुबाट उनको विगततिर फर्कँदा जिन्दगीका बाङ्गाटिङ्गा बाटा र घुम्तीहरू आँखा अघिल्तिर आउँछन् । उनले केही वर्ष आफ्नो गृह जिल्ला लमजुङमा मास्टर भएर बिताए । राजधानी छिरेपछि नेपाल आयल निगम, साझा यातायात, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत धेरै ठाउँमा जागिर खाए ।

पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा प्राज्ञ (वि.सं. २०७१-२०७५) भएर लोकसङ्गीत श्रीवृद्धिको  जिम्मेवारी सम्हाले । फुक्काफाल भएर हिँड्न मन पराउने ढुङ्गानाले जागिरमा ध्यानै दिएनन् । जागिर कहिल्यै पनि उनको प्राथमिकताको विषय नै परेन ।

उनी न भौतिक वैभव जोड्नतिर लागे, विज्ञापित हुन नै चाहे । न कुनै लोभ–लालच फँसे, न त कसैप्रति इर्ष्याभाव नै राखे । एक हिसाबले उनी आत्माद्रोही व्यक्ति हुन् । आफ्नो अहित गरेर भए पनि अरूको हित गर्न तम्सने व्यक्ति । उनी आफ्नो दुःख बिर्सिएर अरूको दुःख देख्ने प्राणी हुन् ।

यतिबेला भने ढुङ्गाना अलिकति आफ्नैबारे सोच्न थालेका छन् । आफ्ना छरिएर रहेका गीतहरू एकठ्ठ गरेर अल्बम निकाल्ने उनको योजना छ । नयाँ गीत रेकर्ड गर्ने पनि उनको रहर छ । उनी आफ्नो जन्मस्थान दुराडाँडामा ‘लोकसङ्गीत गाउँ’ स्थापना गर्ने योजना पनि बुन्दैछन् । उनका अरू दुईटा योजना पनि पाइपलाइनमा छन् : ६० वर्ष पुगेको अवसरमा एकल प्रस्तुति गर्ने र मदिरासँग पारपाचुके गर्ने ।

मदिरासँग ढुङ्गानाको पारपाचुके भएको देख्न चाहने शुभचिन्तकहरू सुखद समाचारको व्यग्र पर्खाइमा छन् । उनको सिर्जनाकर्मबाट वनपाखामा गुञ्जने मौलिक लोकभाकाहरू फराकिलो घेरा ढाक्ने गरी प्रतिध्वनित भइरहुन् भन्ने पनि धेरै शुभेच्छुकहरूको शुभेच्छा छ ।

[साभारः लोकसंवाद । २०७५ साल माघ २५ गते ।]

 अद्यावधिक २०७७।०३।२७, २०७७।०३।२८

Sunday, February 3, 2019

Watch what you eat


-Yam Bahadur Dura

The regular appearance of unrealistically skinny models and film stars on TV screens leaves lasting impacts on young people, who aspire to look like them. With these unhealthy proportions, the idea of a 'perfect body' has been peddled by media narratives of in this modern world. Created by and for interest of the patriarchy, these unhealthy ideals, have led to rising rates of depression and self-esteem issues among women.

These days, people like seem to be seen like others, not as themselves. Different phrases that capture these ideals such as 'Barbie figure' or 'size zero' encourage women to aspire them by striving tangible goals. The growing hunger for attractive body has given rise to dangerous industry: fad diets.

Fad diet is a much discussed health-related topic in the present day world. As defined by the promoters, fad diet promotes specific routines of liquid and solid food consumption that promise to produce rapid weight loss, and other health advantages longer life and a more attractive body. Fad diets include high fiber, low-carbohydrate, low-fat, liquid diet, and low-calorie foods.

These diets are often portrayed as low-intensive routines that require minimal effort and produce high results. As stated in public records, modern fad diets came into existence in 1930 in the western world, and it has become an important topic in public health.

 Nepal has already entered the era of fad diets. Most people may not be familiar with the phrase 'fad diet'. But they may be prescribing to its routines using fad diet without knowing its meaning and consequences. Jamara, aloe vera juice, bottle gourd juices, herbal tea, etc. are part of many fad diets, which are increasingly gaining popularity.

Stalls of such products can be seen in the nooks and corners across town. On supermarket shelves all over the metropolis, one can also find plethora of 'slimming teas' and 'fat reducing creams' that promise similar effects. Unfortunately, based on their growing intrusion in the marketplace, it seems that a customer for these diets is amassing.

Fad diet is a big business, and it has become a money spinner for many investors. Promoters of fad diet present their products as a 'panacea for all health problems'. In addition, famous celebrities appear in advertisements of fad diets, and they give a stamp of approval to those products. These persuasive techniques of communication make general public believe in magical results of fad diets. Despite their popularity, the validity and relevancy of fad diets are doubtful.   Health experts are constantly refuting the claims of magical effects by conducting research that proves that many of these routines do not deliver on their promises.

Like everything else, fad diets have both pros and cons. In Jailen Johnson's thought-provoking article for American Council on Science and Health, 'Fad diets are bad diets', she writes:  'The Boston Medical Center reported that of the estimated 45 million American who go on a diet annually, 50% of them use fad diets.' A fad diet promises quick weight loss and that can be true, but that is because they are crash diets and involve unhealthy, unbalanced eating plans. Although fad diets have been proven not to work on multiple occasions, people still have faith in quick fixes.' 

While fad diets may reveal quick results at the onset, they can lead to several unhealthy impacts in the long run. The nature of any crash diet involves unhealthy and unbalanced eating plans that can lead to future digestion complications and weight fluctuation.  As Johnson highlights there are many healthy ways to maintain one's weight that do not include fad diets-including incorporation of whole and healthy food in their diet and exercise. Many experts believe that fad diets are based on pseudo-science. Even diets that claim to be 'backed by research' are often based superficial studies that are not peer-reviewed.

Then it goes without saying that products that are directly related to public health should not go unchecked.  Unregulated sales and uses of such products is a serious public health concern, which demands public discourse.  Its pros and cons should be widely discussed. Public should have an enough chance to be well-informed about positive and negative aspects, without which its validity remains in question.

There is no any short-cut and one-stop solution for health-related problems. Maintaining a healthy life and longer life is a lifelong process. Marian Nestle, an American professor of nutrition, has written a book 'What to Eat', wherein she writes, 'The basic principles of good diets are so simple that I can summarize them in just ten words: eat less, move more, eat lots of fruits and vegetables.' 

This is not to say that fad diets are meaningless and worthless. Rather, it is to encourage the idea of a' healthy sense of doubt'. This sense protects us from bad impacts of any commercial products before it is too late to correct them.

[Courtesy: The Kathmandu Post. February 3, 2019]


Tuesday, January 29, 2019

लोकतन्त्रको मर्म


यमबहादुर दुरा

विश्व इतिहासमा फ्रान्सेली क्रान्तिको बरोबर चर्चा भइरहन्छ । सन् १७८९ देखि १७९९ सम्म भएको फ्रान्सेली क्रान्ति मूलतः तानाशाही राजतन्त्र र सामन्ती सामाजिक प्रणालीको विरुद्धमा केन्द्रित थियो । एक दशकको उथलपुथलपूर्ण सङ्घर्षपछि क्रान्तिले सफलता पायो । विश्वका विभिन्न भूखण्डमा अनेकन् कालखण्डमा भएका राज्यक्रान्तिको चुरो कुनै न कुनै रूपमा फ्रान्सेली क्रान्तिको मर्मसँग जोडिएको पाइन्छ । फ्रान्सेली क्रान्तिलाई आदर्शतम् क्रान्तिको रोल मोडलको रूपमा हेर्ने गरिन्छ ।
 
ग्राफिक्स : गुगल
आज पनि फ्रान्सेली क्रान्तिलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्ने क्रम जारी छ । दुनियाँमा अमिट छाप पार्न सफल फ्रान्सेली क्रान्तिको नीतिवाक्य थियो, ‘स्वतन्त्रता, समानता र भातृत्व। यसलाई संसारभर प्रत्यक्ष वा परोक्ष राज्यको निर्देशक सिद्धान्त मानिँदै आएको छ । संसारका लोकतान्त्रिक संविधानहरूमा यो नीतिवाक्यको मर्मलाई समेट्ने गरिएको पाइन्छ ।

नेपालमा २००७ देखि २०६२/०६३ सालसम्म भएका राजनीतिक तथा सामाजिक विद्रोहले खोजेका कुरा पनि फ्रान्सेली क्रान्तिको नीतिवाक्यभन्दा भिन्न छैन । नेपालमा भएका सबै किसिमका विद्रोहले खोजेका आदर्श भावलाई कपडछान गरेर भन्ने हो भने उही कुरा आउँछ, ‘स्वतन्त्रता, समानता र भ्रातृत्व। नेपालमा हालसम्म भएका लोकतान्त्रिक आन्दोलनमा होम्मिएर जे जति शहीदले प्राणोत्सर्ग गरे, तिनले चाहेका आदर्श पनि उही थियो भन्न सकिन्छ । चाहे त्यस आदर्शतम् भावलाई व्यक्त गर्न चयन गरिने शब्द र शैलीमा अनेकन् विविधता किन नहुन् ।

हरेक आन्दोलनको आदर्शतम् भाव स्वतन्त्रता, समानता र भ्रातृत्वभए पनि त्यसको व्यवहारिक पक्ष कस्तो छ ? त्यो भाव व्यवहारमा अनुवाद भयो कि भएन ? प्रश्नहरू पेचिला छन् । विगतदेखि वर्तमानसम्म राज्यले अख्तियार गरेका नीति र व्यवहारलाई हेर्दा यी प्रश्नको उत्तर धेरै टेढोमेडो छ । सरल रेखीय ढाँचामा यसको उत्तर पाउन मुस्किल छ । उत्तरमा आशाभन्दा निराशाको मात्रा बढी छ ।

धेरै परको कुरा छोडेर २०६२/०६३ साल पछिको मात्र राजनीतिक परिदृश्य हेरौं । राजनीतिक हिसाबले देशमा आमूल परिवर्तन भइसकेको छ । हिजोका दिनमा विद्रोहको अग्रदस्तामा रहेका सबै राजनीतिक शक्ति सत्तारुढ भइसकेका छन् । ती राजनीतिक शक्तिले भन्ने गरेका तानाशाही राजतन्त्र इतिहास बनिसकेको छ । तिनले भन्ने गरेका अवरोधकारी शक्ति निस्तेज भइसकेका छन् ।

शासनसत्ताको बागडोर तिनैको हातमा छ । अगाडि बढ्नका लागि बाटो खुल्ला छ तर देश अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । देशको राजनीतिक तथा सामाजिक स्वास्थ्य सन्तोषजनक देखिन्न । आन्दोलनका समयमा  घोक्रो सुक्ने गरी उरालेका आदर्शपूर्ण नारा अहिलेसंकटमा परेका छन । उनीहरू स्वयम्ले कोरेका आदर्श समाजको चित्र तिनकै अगाडि धुमिल हुँदै गएको प्रतीत हुँदैछ ।

आर्थिक समृद्धि, विधिको शासन, सामाजिक न्याय, पारदर्शिता र मानव अधिकारको सम्मान लोकतन्त्रका मानिन्छन् । एक हिसाबले यी स्तम्भ फ्रान्सेली क्रान्तिको नीतिवाक्यको विस्तारित रूप हुन् । देशका राजनीतिक शक्ति र शासन सत्ताको बागडोर सम्हाल्नेहरूका कार्यशैली र व्यवहारले पूर्वोल्लिखित आदर्शतम् व्यवहारलाई अपेक्षित किसिमले आत्मासात गरेको पाइँदैन ।

सत्तारोहणमा रमाइरहेका राजनीतिक शक्ति जनअपेक्षा पूरा गर्ने दिशामा कुन हदसम्म अग्रसर छन् ? उनीहरू कुन राजनीतिक संस्कारका साथ अघि बढिरहेका छन् ? उनीहरू सत्तारुढ भएपछि समाजको बनिबनाउ सिँढीको तल्लो तहमा रहेका नागरिकले प्रष्टसँग सकारात्मक परिवर्तन अनुभूत गर्न पाए कि पाएनन् ? जनअपेक्षाको ग्राफ पूरा गर्न उनीहरू कत्तिको सफल भइरहेका छन् ? राष्ट्र र राष्ट्रियताका सवालमा कुन मनोवल र मनोभावका साथ मैदानमा उत्रिएका छन् ? अहिले यिनै प्रश्नहरूका उत्तर खोज्नुपर्ने बेला आएको छ ।

व्यवहारमा जनअपेक्षभन्दा भिन्न कुराले ठाउँ पाएका छन् । राजनीतिक चलखेलले न्यायालय पथभ्रष्ट बनेको समाचार बरोबर आइरहेका छन् । न्याय लजाउने किसिमका फैसला अदालतबाट भइरहेका छन् । यस्तो अवस्थामा शोषितपीडित नागरिकले न्यायको अन्तिम मन्दिरबाट कुन हदसम्म सही न्याय पाउलान् ? प्रश्न गम्भीर छ । सशस्त्र द्वन्द्वकालमा गम्भीर मानव अधिकार हननका दोषीहरूमाथि कारबाही हुन नसकेकाले द्वन्द्वपीडित नागरिक चरम पीडामा छन् । यहाँनेर, सामाजिक न्याय झुकेको देखिन्छ । अहिले संक्रमणकालीन न्याय ओझेलमा पर्दै गएको र द्वन्द्वपीडितले न्याय नपाउने वातावरण बनिरहेको चर्चा शिखरमा छ ।

विगतमा चर्को राष्ट्रवादको नारा उराल्ने शक्ति अहिले सत्तामा छ तर उसको राष्ट्रवादी चिन्तन व्यवहारमा प्रतिविम्बित भएको देखिँदैन । नेपाली भूमि एकपछि अर्को गरी मिचिँदै गएको प्रामाणिक अभिलेख छ । उसले यसबारे कहीँ कतै आवाज उठाएको पाइँदैन । बरू, यसबारे जनस्तरबाट आवाज बुलन्द भइरहँदा पनि राष्ट्रवादको नारा उराल्ने शक्ति एकदमै मौन देखिन्छ ।

देशमा आर्थिक प्रगतिको ग्राफ उकालो चढिरहेको तथ्याङ्क आइरहे पनि जनजीविकाको सवाल ज्यूँका त्यूँ छन् । सर्वसाधारण नागरिकले राहत अनुभूत गर्ने किसिमका प्रगति नभएको गुनासो यततत्र सर्वत्र छ । सत्तामा पुग्नेहरूले समाजवादी अर्थव्यवस्थाको खुबै बखान गरे पनि  देशको अर्थव्यवस्था भने एक पछि अर्को गरी  दलाल पूँजीवादी अर्थव्यवस्थातिर उन्मुख भइरहेको छ ।

सत्तारुढ राजनीतिक शक्तिले विगतदेखि नै राइँदाँइ गर्दै आएका दलाल र पूँजीपति वर्गको हितभन्दा अलि पर पुग्न आँट गर्न सकेको छैन । यसबाट जनआक्रोश थामिएको छैन । आजकल यस्तो टीकाटिप्पणी पनि सुनिँदैछ, २०६२/०६३ सालको राजनीतिक परिवर्तनले एउटा सुविधाभोगी वर्गलाई सत्तारोहण गराउने काम गर्‍यो । यसलाई मेटाउन सत्तारूढ राजनीतिक शक्तिले आफ्नो व्यवहार र कार्यशैली सच्याउनुपर्ने अवस्था आइसकेको छ ।

विश्व इतिहासमा विशेष ख्याल गर्नुपर्ने एउटा पक्ष छ । फ्रान्सेली क्रान्तिले राजतन्त्र ढालेको थियो तर पछि त्यही क्रान्तिको माध्यमबाट तानाशाहको उदय भयो । उनी थिए, नेपोलियन वोर्नपार्ट (सन् १७६९१८२१) । नेपालले पनि यस्तो नियति भोग्नु नपरोस् । लोकतान्त्रिक आन्दोलनबाट आएका राजनीतिक शक्तिको व्यवहारमा तानाशाहीपनले बास नगरोस् ।

अब राजनीतिक वृत्तमा आत्मामूल्याङ्कन र चारित्रिक शुद्धीकरणको खाँचो छ ।  देश र नागरिकको हितमा काम गर्ने हो भने उच्च नैतिक आदर्शले भरिएको राजनीतिक संस्कार विकास गर्नैपर्छ । कर्तव्यपरायणता र नीतिपरायणता राजनीतिक संस्कारको मूलबाटो बन्नैपर्छ । राजनीतिक वृत्तले यसलाई हृदयको गहिराइबाटै अनुभूत गरेपछि मात्र शहीदको सपना र नागरिकको अपेक्षा पूरा हुने बाटो खुल्छ ।

साभार : संवाद नेपाल । २०७५ साल माघ १५ गते ।

Saturday, January 19, 2019

नेपाली लोकगीतमा रेल

—यमबहादुर दुरा

यतिबेला रेलको प्रसंग चर्चाको चुलीमा पुगेको छ । चिनियाँ रेल, भारतीय रेल एवम् पूर्व-पश्चिम रेलको चर्चाले सार्वजनिक वृत्त रनक्क तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देश विकासको अजेण्डामध्ये रेललाई पनि शीर्षअजेण्डाको रूपमा चित्रण गरिँदैछ । यतिबेला रेल देश विकासको विम्ब र मानक दुवै बनेको प्रतीत हुन्छ ।

अहिलेको नेपालमा ‘बजवर्ड’ बनेको छ, रेल । यद्यपि, नेपालीजनका लागि यो नयाँ विषय भने पटक्कै होइन । नेपालमा रेलको प्रसंग एक हिसाबले अचम्मलाग्दो पनि छ । देशको सरहद काटेर अन्यत्र पाइला नटेकेका नेपालीजन अझै पनि धेरै छन् । कतिपयले रेलको तस्बिर वा बढीमा टेलिभिजनमा मात्र रेल देख्न पाएका छन् । र पनि, रेलसँग अपरिचित नेपाली कोही नहोलान् । नेपालीजन र रेलबीच निकै पुरानो चिनजान छ । एक हिसाबले उनीहरूबीच पुस्तैनी नाता छ ।
तस्बिर साभार:  गुगल

रेल र नेपालीजनको नाता गाँसिदिने कामको श्रेय धेरै हदसम्म लोकगीतलाई जान्छ । नेपाली लोकगीतहरूमा वर्णित सवारी साधन रेलले सामान्यजनमा मोहभाव र कल्पनाशीलता बढाइदियो । यसबाट रेलै नदेखे पनि रेलमा दिल बस्न पुग्यो, नेपालीजनको । कोइलाले चल्ने दार्जिलिङको छुक्छुके रेल होस् वा गोरखपुरको रेल, धेरै नेपालीको मन रेलमा रमाएको छ ।

नेपालजनको मनमा रेल कसरी भित्रियो ? यो प्रश्नको उत्तर खोज्दै जाँदा मुगलान यात्रा र लाहुरे परम्परासम्म पुग्न सकिन्छ । परदेश जाने क्रममा मुगलानी र लाहुरेहरूले रेल देखे, रेल यात्राको अनुभव सङ्गाले । उनीहरूले घर फर्केपछि तिलस्मी शैलीमा रेलको वर्णन गरे । रोदीघर, मेलापात र सामाजिक जमघटमा रेलको वर्णन गरेर गीत गाए । त्यो वर्णन सुनेर रेलै नदेखेका गाउँघरका कल्पनाशील ढाक्रेहरूले पनि रेलको गीत रचे होलान् । त्यसलाई जनजिब्रोले टिप्यो । अनि हाम्रो पहाडी जनजीवनमा पनि रेल सर्वव्यापक बन्न पुग्यो ।

इष्ट इण्डिया कम्पनी सरकारले सन् १८१५ मा नै गोर्खा पल्टन खोलिसकेका थिए । यस दृष्टिले लाहुरे संस्कृतिको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । यो भन्दा पनि पुरानो इतिहास छ, मुगलानीहरूको । भारतका मुगल राजाहरूका दरबारमा सेवा गर्न पुग्नेहरू मुगलानी भनेर चिनिए । यस हिसाबले मुगलानीहरूको इतिहास थोरैमा पनि तीन सय वर्षको छ । अहिले पनि रोजगारीका लागि विदेश जानुलाई मुगलान जाने भनिन्छ । यद्यपि, मुगलान र मुगलानी शब्द प्रयोगबाट हराउँदै छ ।

पानीजहाज चढेर भारतमा शासन गर्न आइपुगेका अंग्रेजहरूले त्यहाँ सन् १८५३ देखि मालबहाक रेल चलाउन थालेको इतिहास भेटिन्छ । नेपालमा पनि सन् १९२७ मा रेल यातायात शुरु भएको अभिलेख भेटिन्छ । त्यतिबेला इष्ट इन्डिया कम्पनीले रक्सौल—अमलेखगञ्ज रेलवे निर्माण गरिदिएको थियो । यस हिसाबले नेपालमा रेलको इतिहास ९२ वर्ष पुरानो छ । साहित्यकार ध.च. गोतामेले ‘घामका पाइलाहरू’ मा नेपालमा रेलवे निर्माणको कथाव्यथा रोचक शैलीमा वर्णन गरेका छन् ।

धेरैजसो नेपालीले भारतमै रेल यात्राको अनुभव लिए । त्यसपछि उनीहरूको त्यो भोगाइलाई गीतमार्फत व्यक्त गर्न थाले । अनि शुरु भयो, रेलको गीत । पहिलो पटक कुन नेपालीले रेलको गीत गुनगुनाए ? यसको उत्तर समयको गर्तमा हराइसकेको छ । कतिपयले मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) ले पहिलो पटक रेलसम्बन्धी गीत गाइन् भनेका छन् । उनले ‘सवारी मेरो रेलैमा’ बोलको गीत गाएकी थिइन् । उनले रेलमा कलकत्ता आउजाउ गर्दाको अनुभव समेटेर कलकत्ताकै ‘हिज मास्टर भ्वाइस’ रेकर्डिङ कम्पनीमा गीत रेकर्ड गराएको भनिन्छ ।

तर, मेलवादेवी नै रेलबारे गीत गाउने पहिलो नेपाली हुन् भनेर दाबी गर्न कठिन छ । भारतमा यात्रुबहाक रेल अस्तित्वमा आउनुभन्दा धेरै अघिदेखि असंख्य मुगलानी र लाहुरेहरूले रेल यात्रा गरिसकेका थिए । त्यो अनुभवलाई लिएर उनीहरूका कल्पनाशील दिमागले केही कल्पेन वा कथेन भन्न सकिन्न । तर पनि रेलबारे गीत रेकर्ड गराउने चाहिँ मेलवादेवी पहिलो नै नेपाली हुन सक्छिन् ।

घरको दुःखले मुगलान पस्ने असंख्य स्वप्नजीवी नेपाली युवाको कहानीलाई पनि रेलको इञ्जिनले तानेर सँगसँगै अघि बढउँछ । ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘आज त गुँदरीमाथि भोलि त छे बजे रेलैमा’, ‘गयो माया लाहुरे हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई’ जस्ता गीतहरूले मुगलानसँग जोडिएको नेपालीजनका दारुण कहानी पस्किएका छन् ।

कतिपय लोकगीतले मातृभूमिको जीवन भोगाइ र पराइभूमिसँगको अपेक्षा, शंशय, कौतुहलता र विरोधाभाषका कहानी ओकल्छन् । यस्ता गीतको गीतको एउटा हरफले स्वदेश विचरण गर्छ भने अर्को हरफले विदेश । ‘यो मायाले जाऊँ भन्थ्यो रेलैमा, धान काटेर दाइँ  हाल्ने बेलैमा’, ‘यो मायाले जाउँमात्रै भन्छ, रेलले तान्छ काँ लान्छ काँ लान्छ’, ‘यो गाउँमा बसेर म दिक्कै, जान्छु म त रेलको लिकलिकै’ जस्ता लोकअभिव्यक्तिमा आधा स्वदेश र आधा विदेशका जीवन भोगाइ प्रतिविम्बित छन् ।

माया-मोहब्बत, प्रेमालाप, प्रेमिल निष्फिक्रीपनजस्ता सर्वजनीन प्रसंग लोकगीतमा नआउने कुरै भएन । झन, त्यसमा रेल जोडिन आइपुग्दा भावनाको गंगा सलल बग्न थाल्छ । ‘रेललाई तान्यो रेलैको माउले, मलाई तान्यो हितैको मायाले’, ‘आजैको रात मायाको काख, भोलि त रेलैमा’, ‘लाको खेती जो खाला खाला, जाऊँ हिँड रेलैमा सलल’ जस्ता गीतले हरेकलाई भावगंगाको नौकाबिहार नगराई छाड्दैन ।

यता, गीतको थेगोको रूपमा रेल अनायसै जोडिन आइपुगिहाल्छ  । ‘रेलको टेसनैमा’, ‘जाऊँ रेलमा सलल’, ‘फूलमाया रेलैमा ', ‘जाउँला रेलैमा’, 'जाउँ जाउँ रेलैमा'  जस्ता थेगोले नेपाली लोकगीतले पाइला-पाइलामा रेललाई पछ्याइरहेको अनुभूति मिल्छ । यी थेगोले लोकगीतलाई रेलजस्तै सलल बग्न सघाएका छन् ।

पूर्वोल्लिखित प्रसंग विशाल पृथ्वीको सानो कणजस्तो मात्रै हो । लोकगीतको अथाह भण्डारमा रेलको स्थान एक हिसाबले सानो हिस्साजस्तो देखिए पनि यो विषय सानो वा चनचुने होइन । त्यसमा पनि समयको लामो कालखण्डमा एकपछि अर्को गरी थुप्रिँदै आएका अनुभूतिको भकारी एक धक्कामा फोर्न सकिँदैन । समयान्तरमा पत्रे-चट्टानझैं थुप्रिएका पुस्तौं-पुस्ताका अनुभूतिका पत्रहरू एक चुड्कीमा उजागर हुने कुरै भएन । यसले धैर्यवान् प्रयत्नहरू माग गर्छ ।

नेपाली लोकगीतमा रेलको प्रवेश र यसले लोकअभिव्यक्तिमा पारेको प्रभाव अनुभूतिका पत्रे-चट्टान हुन् । यसबारे व्यापक खोज–अनुसन्धान अपेक्षित छ । अथक प्रयत्न रहेमा नेपाली लोकगीत र रेलबीचको अन्तरसम्बन्धका धेरै आयाम र पाटा खोतल्न र सहयोग पुग्छ, जसबाट सार्वजनिक सम्पत्तिको रूपमा रहेको लोकगीतलाई थप समृद्ध बनाउन सहयोग पुग्नेछ ।

[साभार : गोरखापत्र । २०७५ साल माघ ५ गते ।(सामान्य परिमार्जनसहित) ।]

Tuesday, January 1, 2019

सन् २०१८ लाई सरसर्ती नियाल्दा


-यमबहादुर दुरा

समय निरन्तर गतिवान् छ । समयको गतिशीलतासँगै क्यालेण्डरका पानाहरू पल्टिने क्रम जारी छ । यही क्रममा सन् २०१८ का सम्पूर्ण पाना पल्टिसके । अब सन् २०१८ का लागि निर्मित क्यालेण्डरको हैसियत ऐतिहासिक दस्ताबेजभन्दा बढी रहने छैन । यस लेखमा हामीमाझबाट अलग्गिएर भर्खरैमात्र अतीत बनेको सन् २०१८ लाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विश्व राजनीतिक रङगमञ्चमा घटित विभिन्न घटनाक्रमका बीचमा नेपालले पनि आफ्नो स्थान सुरक्षित राख्यो । संघीयता लागू हुने चरणमा रहेको अवस्थामा भएको निर्वाचनमा नेपालमा कम्युनिष्ट घटकले  दुई-तिहाइ बहुमत प्राप्त गरे । नयाँ वर्षको पूर्वार्द्ध(फेब्रुवरी १५) मा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टको एकमना सरकार बन्यो ।

सन् २०१८ भरि नै दक्षिण अमेरिकाको कम्युनिष्ट मुलुक भेनेजुएला चर्चामा रह्यो । आर्थिक मन्दी झेलिरहेका भेनेजुयाली नागरिकले हैरानी खेपिरहे । हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेपछि त्यहाँका नागरिक देश छाडेर छिमेकी मुलुकमा जाने क्रम चलिरह्यो । टेलिभिजनका पर्दा र अखबारका पानाहरू त्यहाँका नागरिकले झेल्नुपरेको अर्थतन्त्रसँग सम्बन्धित पीडाका अनन्त र अवर्णनीय कथाबाट रङ्गिरहे ।


भेनेजुएला सन् २०१० देखि निरन्तर आर्थिक संकटमा फसिरहेको छ । त्यहाँको मुद्रा बोलिभार चर्को किसिमले अवमूल्यन भइरह्यो । महंगीले सर्वसाधारण नागरिकको ढाड सेकाइरह्यो । सँगसँगै बेरोजगारी पनि उर्लिएर गयो । नागरिकले भोगेका आर्थिक मारबाट मुक्ति दिलाउन सरकारले ठूलो मूल्य (एक लाख) को मुद्रा निष्काशन गर्नेलगायतका धेरै कदम चाल्यो । तर ती सबै प्रयास प्रभावहीन बने । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको कम्युनिष्ट सत्ता जनआक्रोशको केन्द्र बनिरहे ।


दक्षिण अमेरिकीका अर्का कम्युनिष्ट मुलुक क्युबा पनि एक मन्द तर जबरस्त राजनीतिक परिवर्तनबाट गुज्रियो । राउल क्याट्रोले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरे । उनी फिडेल क्यास्ट्रो (सन् १९२६—२०१६) का भाइ हुन् । क्रान्तिकारी छवि बनाएका फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्ममा निरन्तर सत्तामा रहे, जसले अमेरिकासँँग सधैँभरि टक्कर लिइरहे ।

यी कम्युनिष्ट तानाशाहका अडानलाई धेरैले पहरोसँग कुइनो जुधाएको भनेर टिप्पणी गरिरहे तर कहिल्यै हार्न नजान्ने उनको आँटप्रति विश्वसमुदाय दङ्गदास बनिरह्यो । उनै क्रान्तिकारी व्यक्तित्वका भाइ दाइको ठाउँमा आसिन रहे । अन्ततः राउल क्याट्रोले पनि पूर्वघोषित रूपमा अप्रिलमा पदत्याग गरे । यससँगै क्युबामा लगभग छ दशक लामो क्याट्रो युगको अन्त्य भयो । त्यहाँ राजनीतिक व्यवस्था नबलिए पनि वंश भने बदलियो ।

प्रेम र घृणाको सम्बन्धमा रहेका विश्व शक्तिसम्पन्न मुलुक चीन र अमेरिकाको साइनोले सन् २०१८ मा अलिक परक धार समात्यो । विगतमा चीनमा मानव अधिकारको कमजोर रेकर्ड, तिब्बत तथा ताइवानको स्वतन्त्रताजस्ता मामिलालाई अमेरिकाले जोडतोडका साथ उठाउँथ्यो । चीनले त्यसको प्रतिवाद गर्नमै समय खर्च गर्‍थ्यो ।

 मूलतः राजनीतिक मामिलामा रस्साकसी चल्ने यी शक्तिसम्पन्न मुलुकका लागि यस पटकचाहिँ अर्कै विषय शिरदर्द बन्यो । त्यो हो, व्यापारिक विषय । यद्यपि, व्यापारलाई पनि राजीतिकै हिस्सा मान्न नसकिने होइन । चीन र अमेरिका आफैंमा ठूला व्यापार साझेदार हुन् । व्यापारिक वस्तुहरूमा लगाइने करको विषयलाई लिएर दुई मुलुकबीच चर्काचर्की भइरह्यो, भनाबैरी चलिरह्यो । व्यापारिक मामिलाबाट विकसित यस घटनाक्रम ‘व्यापार युद्ध’ नामले परिचित छ ।


सूचना प्रविधिको दुनियाँ सन् २०१८ चर्चाभन्दा बाहिर रहन सकेन । बेलायतस्थित राजनीतिक परामर्शदाता संस्था 'क्याम्ब्रिज एनालिटिका' ले लाखौं प्रयोगकर्ताको प्रोफाइलबाट निजी जानकारी लिएको भेद खुल्यो । यस प्रकरणमा नितान्त राजनीतिक प्रयोजनका लागि लाखौं मानिसका व्यक्तिगत विवरण अनुमतिबिनै प्रयोग गरिएका थिए । यो घटनाले 'फेसबुक' लगायतका सामाजिक सञ्जालबाट मानिसको गोपनीयता जतिबेला पनि भङ्ग हुनसक्छ भन्ने सन्देश दिएको छ ।

बेलायती राजखानदान चर्चाबाहिर रहन सक्दैन । राजकीय जीवनमा धेरै उतारचढाव व्यहोरेको बेलायतको राजखानदानका लागि सन् २०१८ उल्लेखनीय रह्यो । कतै प्रशंसा त कतै आलोचना भोगेका राजकुमार ह्यारीले यसै वर्षको मे १९ तारिखमा घरबार जोडे । लामो प्रेम प्रसंगपछि उनले अमेरिकी अभिनेत्री मेघन मार्कललाई जीवनसाथी रोजे, जो  अगाडि नै वैवाहिक जीवन भोगिसकेकी थिइन् । उनै अभिनेत्रीसँग राजकुमार ह्यारी एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिए ।

विवादास्पद जीवनशैलीका कारण असीमित मिडिया कमरेज पाएकी बेलायती राजकुमारी डायनाका छोरा भएकाले पनि हुनसक्छ, ह्यारीको वैवाहिक प्रसंग निकै चर्चामा रह्यो । यद्यपि, ह्यारी स्वयं धेरै हिसाबले सेलिब्रिटी हुन् । उनको चर्चाका लागि उनको कर्म नै काफी छ ।

सधैँभरि सत्ता र शक्तिको वृत्तमा  घुमिरहने रुसी राजनीतिज्ञ भ्लादिमिर पुटिन यस वर्ष पनि चर्चामा रहे । कहिले अमेरिकासँग पौठेजोरी खेलेर त कहिले आन्तरिक राजनीतिक बाघचालमा बाजी मारेर उनी बरोबर चर्चामा आइरहन्छन् । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै सन् सन् १९९९ देखि निरन्तर सत्ता र शक्तिमा रहिरहेका पुटिन मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्लो घटनाक्रमले उनको राजनीतिक सौर्यको थप परिचय दिएको छ ।

उता, लामो समयदेखि एकअर्काविरुद्ध धम्कीको भाषा बोलिरहने उत्तर कोरिया र अमेरिकाको सम्बन्धले सन् २०१८ नयाँ मोड लियो । यी दुई मुलुकले दुनियाँलाई चकित तुल्याउने गरी मित्रताको हात बढाए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा जुन १२ तारिखमा भेटवार्ता गरे । एकअर्कालाई देखिनसहने यी नामुद दुस्मनहरूले अंगालो हालेका र हात मिलाएका तस्बिर र भिडियो फुटेज विश्वभर भाइरल भए ।

बर्माका रोहिज्या मुस्लिम समुदायले भोग्नुपरेका मानवीय समस्या सन् २०१८ मा पनि यथावतै रह्यो । सन् १९४८ देखि नै भुसको आगो बन्दै आएको रोहिज्या मामिला सन् २०१६ आगोको लप्काजस्तै बन्न थाल्यो । हिंसा चर्कन थाल्यो । उनीहरूमाथि हिंसाको श्रृङ्खला चलिरह्यो ।
रोहिज्या समुदायका कतिपय सदस्यलाई जिउँदै जलाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए । हिंसाको श्रृङ्खला निरन्तर चुलिँदै जाँदा उनीहरू आफ्ना देशमा बस्नै नसक्ने भएपछि देश छाड्न बाध्य भए । अहिले करिब सात लाखको संख्यामा रोहिज्या मुस्लिम छिमेकी देश बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अभिलेख छ ।

रोहिज्या मामिलामा वर्माका नेतृ आङसाङ सुकी नराम्ररी तानिइन् । उनीमाथि रोहिज्या समुदायले भोग्नुपरका मानवीय संकट समाधानका लागि उचित प्रयास नगरेको मात्र होइन, बेवास्ता गरेको आरोपसमेत लाग्न थाल्यो । यसले उनको उज्यालो छवि धुमिल बनायो । अन्तर्राष्ट्रिय समुदायमा उनको व्यापक आलोचना शुरु भयो । उनले पाएका मानसम्मान खोस्नुपर्ने माग उठ्न थाल्यो ।

नभन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई दिएको सम्मान फिर्ता लिएको घोषणा गरे । ती संस्थाले उनलाई जसरी सम्मान गरे, त्यसरी नै अपमान पनि गरे । यसबारे उनको धारणा बाहिर आएको पाइँदैन । तर एक समयमा मानव अधिकार र लोकतन्त्रका प्रतिमूर्ति मानिएकी आङसाङ सुकी हेर्दाहेर्दै एक बदनाम पात्र बन्न पुगिन् ।

उनको बद्नामी यतिसम्म चुलियो, शान्तिका लागि सन् १९९१ मा प्राप्त गरेको नोबेल पुरस्कार समेत फिर्ता गर्नुपर्ने माग उठ्यो । तर नर्बेजियन नोबेल पुरस्कार कमिटिले स्पष्ट भाषामा भन्यो—दिइसकिएको नोबेल पुरस्कार फिर्ता लिइने छैन ।

यसले अतिकति भए पनि उनको इज्जत जोगाइदियो ।

अक्टोबर महिनामा साउदी पत्रकार जमल खसोगी (सन् १९५८—२०१८) को रहस्यमय परिस्थितिमा हत्या भयो । शुरुमा साउदी राजघरानासँग नजिकको सम्बन्ध रहेका खसोगीको पछिल्लो समयमा सम्बन्ध चिसिएको थियो । उनले राजघरानाविरुद्ध ‘वासिङटन पोष्ट’ अखबारमा लेख्दै आएका थिए ।

उनको हत्याकाण्डले आलोचना सुन्न नचाहने वर्ग र अभिव्यक्ति स्वतन्तत्राका पक्षधरबीच विद्यमान खाडललाई प्रष्ट्याउँछ । आफ्नो ज्यानलाई ताकमा राखेर भए पनि विचार राख्ने आँट गरेकोमा ‘टाइम’ म्यागजिनले खसोगीलाई  सन् २०१८ को 'वर्ष पुरुष' घोषण गर्‍यो ।

सन् २०१८ निख्रिँदै गर्दा दक्षिण एशियाली मुलुक बंगलादेश राजनीतिक सरगर्मीले तातिन पुग्यो । त्यहाँ भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजिद लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री क्रममा  छिन् । निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाभन्दा  बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्ष दलले पुनः निर्वाचन माग गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरिदिएको छ ।

असंख्य उथुलपुथुलपूर्ण घटनाक्रमहरूलाई समयको गर्तमा  धकेलेर सन् २०१८ अतीतका पानामा समाहित भइसकेको छ । अहिले क्यालेण्डरको पाना पल्टिसकेको छ । नयाँ वर्ष २०१९ हामी समक्ष हाँजिर भइसकेको छ । यो वर्ष आशा र भरोसाको उर्वर कालखण्ड बनोस् । आशाहरू फक्रिँदै जाउन्, निराशाहरू मेटिँदै जाउन् । सबैमा शुभकामना !

[साभार: संवाद नेपाल । २०७५ साल पुस १७ गते । तस्बिर: गुगल]