Friday, October 13, 2017

पत्रकारितामा पुरस्कार

–यमबहादुर दुरा

सामाजिक सञ्जाल ‘फेसबुक’ मा पोष्ट हुने ‘कन्टेन्ट’ हरूमा तस्बिरकै प्रचुरता छ ।  ती तस्बिरको भीडमा सम्मान/पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छ । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण गरेको प्रसंग समाजका चिन्तनशील समूहका अघिल्तिर प्रश्नविहीन अवस्थामा रहन सक्तैन ।

आफूलाई सत्यको खोजीमा समर्पण गर्नुपर्ने जिम्मेवारी बोकेको पत्रकारले पुरस्कार थाप्दै हिँड्दा उसको नैतिक र पेशागत धरातल धर्मराउँछ भन्ने एकथरीको मान्यता छ । त्यसैले, पत्रकारले पुरस्कार ग्रहण गरेमा समाजका सचेतले वर्गले सजिलै र सहजै स्वीकारेको पाइँदैन ।

पत्रकार आचारसंहिताले पनि पत्रकारले पुरस्कार लिने कुरालाई त्यति प्रोत्साहन गर्दैन । ‘प्रेस काउन्सिल नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’ ले संयुक्त रूपमा जारी गरेको ‘पत्रकार आचारसंहिता, २०७३’ ले पेशागत मर्यादा र दायित्वमा प्रतिकूल असर पर्ने गरी पुरस्कार लिन नहुने प्रष्ट पारेको छ ।

उक्त आचारसंहिताको दफा १३ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन ।’

 यस्ता पुरस्कार वा सम्मान पेशागत मर्यादाविपरीत भए-नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि पत्रकारकै हो ।

पुरस्कार ग्रहण गर्ने कुरा आफैंमा कुनै अनिष्टकारी प्रसंग होइन तर यसका लागि नेपथ्यमा हुने खेल अनिष्टकारी हुन सक्छ । पुरस्कार दिने संस्था वा व्यक्तिको भित्री अभीष्ट, त्यस्ता व्यक्ति वा संस्थाको पुरस्कार पाउने व्यक्तिसँगको सम्बन्ध र पुरस्कारका लागि व्यक्ति छनोट गर्ने प्रक्रियामा अपनाइने विधिले पुरस्कारको समग्र अभीष्ट र स्तर निर्धारण गर्छ ।

पत्रकारलाई प्रदान गरिने पुरस्कारप्रति सभ्य समाजले सधैँ स्वस्थ्य किसिमले आशंका गर्छ । कतिले त यसप्रति एकदमै आलोचनात्मक दृष्टिकोण पनि राख्छन् । अमेरिकी प्राध्यापक  नोम चोम्स्की (जन्म: सन् १९२८) का अनुसार पुरस्कारले आमसञ्चार माध्यम र पत्रकारको विवेकमा नजानिँदो किसिमले लगाम लगाइदिन्छ ।

पुरस्कारसँग सम्बन्धित रोचक एउटा पाटो रोचक छ । प्राध्यापक तथा अनुसन्धाताहरूले पनि समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा गहिरो गुन लगाएका हुन्छन् तर उनीहरू कमै पुरस्कृत हुन्छन् । कारण स्पष्ट छ, उनीहरूका हातमा पत्रकारको जस्तो ठूलो शक्ति हुँदैन । आमसञ्चार माध्यममार्फत् जनसमुदायलाई नियन्त्रण गर्न सकिने भएकोले शक्तिकेन्द्रहरू पत्रकारलाई हातमा लिन चाहन्छन् । पुरस्कार एउटा उपाय हो, जसले पत्रकारलाई आफ्नो पक्षमा उभ्याउन सहयोग गर्छ । पुरस्कारसम्बन्धी राजनीतिको नाभी यहीनेर अवस्थित छ ।

नेपालमा व्यापारिक घराना, राजनीतिक दल एवम् गैरसरकारी संस्थाहरूले विभिन्न बहाना र आवरणमा पत्रकारलाई पुरस्कृत गरिरहेका छन् । सरकारले प्रदान गर्ने पुरस्कार पनि प्रेमपूर्वक ग्रहण भइरहेका छन् । पुरस्कार दिएर पत्रकारको मन राख्ने र इष्ट बढाउने क्रम चलिरहेकै छ ।

देशको अर्थतन्त्रमै प्रभाव जमाउन सक्ने व्यापारिक घरानाले सञ्चारगृहको विज्ञापन तथा अन्य यस्तै प्रकृतिको आम्दानीमाथि प्रभुत्व नजमाउने कुरै भएन । त्यसमा पनि तिनीहरूबाटै पुरस्कृत भएपछि तिनका कर्तुत उजागर गर्न पत्रकारलाई गाह्रो पर्छ ।

राजनीतिक दलले दिने पुरस्कारले पत्रकारलाई कार्यकर्ताको हैसियतमा थन्क्याउन चाहन्छ । संघसंस्थाले दिने पुरस्कारले उसप्रतिको आलोचनात्मक क्षमता भुत्ते बनाइदिनसक्छ । सरकारले दिने पुरस्कारले उसका गलत रवैयाहरूप्रति आँखा चिम्लिन पत्रकारलाई प्रेरित तुल्याउँछ ।

पुरस्कारको ओइरोले पत्रकारको सत्य खोज्ने जिम्मेवारी र विकृतिप्रति आलोचनात्मक बन्ने क्षमतामा धक्का पुर्‍याउँछ  भन्ने मान्यताबाट प्रेरित भई पुरस्कार नस्वीकारिएका दृष्टान्त पनि छन् ।

भारतीय पत्रकार निखिल चक्रवर्ती (सन् १९१३–१९९८) ले सन् १९९० को ‘पद्म भूषण’ सम्मान अस्वीकार गरेका थिए, जुन सरकारी स्तरबाट प्रदान गरिने तेस्रो उच्च सम्मान हो । अर्का भारतीय पत्रकार खुसवन्त सिंह (सन् १९१५–२०१४) ले  आफूले सन् १९७४ मा पाएको ‘पद्म भूषण सम्मान–१९७४’ सन् १९८४ मा फिर्ता गरेका थिए । अमृतसरस्थित स्वर्णमन्दिरमा घटित घटनामा सरकारले ज्यादती गरेको भन्दै सम्मान फिर्ता गरेका थिए, उनले ।

जर्मनीको लोकप्रिय अखबार ‘स्वीटड्वेच जाइटुङग्’ ले चर्चित जर्मन पत्रकार हेनरी नानेन (सन् १९१३–१९९६) को नाममा स्थापित पत्रकारिता पुरस्कार अस्वीकार गरेको थियो । अमेरिकाको पुलिट्जर पुरस्कारकै हाराहारीकै सम्मानजनक मानिने उक्त पुरस्कार खोजी पत्रकारिताका लागि सन् २०१२ मा दिने घोषणा गरिएको थियो । ‘द टाइम्स अफ इन्डिया’ का पत्रकार अक्षय मुकुलले प्रतिष्ठित ‘रामनाथ गोयन्का पत्रकारिता पुरस्कार, २०१६’ अस्वीकार गरेका थिए ।

प्रस्तुत दृष्टान्तले पुरस्कारप्रतिको आलोचनात्मक दृष्टिकोणको पृष्ठपोषण गर्छ  । अर्कोतिर, नेपालजस्तो राजनीतिक अस्थिरता, पत्रकारले न्यून वेतनमा काम गर्नुपर्ने अवस्था एवम् सामाजिक असुरक्षा कायम रहेको मुलुकमा पत्रकारलाई पुरस्कृत गर्ने कार्यले आशंका जन्माउँछ । पुरस्कार दिने र लिने दुवैले ‘कुरोको चुरो’ नबुझेका होइनन् तर सबै ‘तैँ चुप मै चुप’ छन् ।

पत्रकारलाई दिइने पुरस्कारबारे यसप्रकारको टीकाटिप्पणी गरिरहँदा पुरस्कारको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठाएको अर्थ नलागोस् । निर्मल विचारले प्रदान गरिएका पुरस्कारबारे केही भन्नु छैन । पत्रकारिताको निष्पक्षतामा प्रभाव नपर्ने गरी स्पष्ट मापदण्ड तयार गरेर स्वतन्त्र तरिकाले प्रदान गरिएका पुरस्कारको महत्वलाई नकार्न सकिन्न ।

[साभार: अन्नपूर्ण टुडे । असोज २७, २०७४ ।]


Sunday, October 8, 2017

दोहोरीका किंवदन्ती

–यमबहादुर दुरा

भदौरे झरीले निथ्रुक्कै भिजेको काठमाडौंमा एक बिहान भेट हुँदा अमरविरही  गुरुङ हाँसीखुुसी देखिन्थे । धेरैलाई अतीतप्रति गुनासो हुन्छ, तर भने अतीत सम्झेर वर्तमानमा रमाइरहेका रहेछन्, भविष्यको चिन्ता अन्त कतै छाडेर ।

‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’, ‘सलल बग्यो गण्डकी...’, ‘खोली रसायो...’, ‘मौरी भुल्यो फूलको रसैमा...’,  ‘गोगनपानीमा...’ जस्ता गीतले लोकगीत अनुरागीहरूलाई भुतुक्कै पारेका उनी यतिबेला शान्त छन् । ६३ वर्षको उमेरले पनि गुरुङलाई यो अवस्थामा पुर्‍याएको हुनुपर्छ । तर, जसै कसैले विगत सम्झाइदिन्छन्, उनी रौसिहाल्छन् ।

‘त्यो जमानाको कुरै बेग्लै । परालको टौवामुनि बसेर तीन दिनसम्म गीत गाइन्थ्यो । सम्झँदा कथाजस्तो लाग्छ’,  ५० भन्दा बढी लोकदोहोरी अल्बममा स्वर भरेका उनी भन्छन्, ‘अहिलेका भाइबहिनीहरूले ‘तीनदिनसम्म पनि गीत गाइन्छ र’ भन्छन ।’ गुरुङका दृष्टिमा मनोरञ्जनका धेरै विकल्प नभएको त्यतिबेलाको समाजमा लोकगीतले उच्चस्थान ओगटेको थियो । कला र गला भएका प्रतिभाहरू पनि प्रशस्त थिए ।

‘मलाई त गाउँघरकै पुराना गायिकाहरूसँग गाउन मन पर्छ । कालो अक्षर नचिनेका उनीहरूको मुखको सरस्वतीको बास छ ।’ उनी मनोभाव  प्रकट छन् । गायिका भनेर नचिनिएका ती गायिकाहरूको श्लील, सरल, विनयशील र भावुक व्यवहारबाट आज पनि उनी असाध्यै प्रभावित छन् । तिनका हृदयमा छचल्किएका भावुकताको छालले उनको हृदयको अन्तरकुन्तरलाई छोइरहन्छ ।

तिनका गलाबाट नपत्याउँदो किसिमले निस्कने उच्चकोटिको भावुक र विनयशील भावोद्गार सम्झेर उनको मन गाउँघरतिरै पुग्छ । ‘मेरो माया काँबाट आउनुभो, मेरो लागि के दुःख पाउनुभो’, ‘मै गीत गाउँ कि, सुनखानीमा पितलु मिसाउँ कि’, ‘मायासँग भेट भयो बेलुकी, रेशम–गोली धागोले जेलुम् कि’, ‘यो मायालाई देखने बित्तिकै, लाग्यो मलाई झुल्केघाम जत्तिकै’ जस्ता मर्मैमर्मले भरिएका भावोद्गार प्रकट गर्ने गुमनाम गायिकाहरूप्रति उनी असीम श्रद्धाभाव पोख्छन् ।

आफ्ना छोरी–बुहारीहरूलाई आमा–बा र सासू–ससुराले नै गीत गाउन प्रेरित गर्ने उदार समाज पनि उनले धेरै देखे । गीतको जातै मोहनी । गीतको माध्यमबाट भावना साटासाट गरेपछि थाहै नपाई भावनात्मक सामीप्य बढ्न जाने । घर फर्कने बेलामा छुट्टिन नसकेर रुवाबासी चल्ने । उनी यस्तै किस्सा सुनाउँछन् ।

‘गीतको खालबाट छुट्टिएर बिदावादी हुने बेलामा असाध्यै मुश्किल हुने । केटीहरूका आँखा आँसुले भरिएका हुन्थे । गीत सुनेर बसेका केटीका आमा–बा पनि सँगसँगै रुन्थे’, उनी विगत सम्झेर भावुक हुन्छन् ।

‘नजाउन् भनेर उनीहरू बाटो छेक्न आउँथे । हामीले घर फर्किने कुरामा अड्डी कसेपछि परपरसम्म छोड्न आउँथे । कहिलेकाहीँ त छुट्टिन नसकेर त्यहीबाटै फेरि उतै फर्किन्थ्यौँ ।’ उनी अतीतलाई सम्झेर नोष्टाल्जिक बन्छन् ।

२०४१ सालमा उनले रेडियो नेपालमा पहिलो पटक स्वराङ्कन गराए । त्यतिबेला स्वराङ्कित गीतको बोल थियो, ‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’ । स्रोताले निकै मन पराए । तर गीतको शब्द त्रुटिपूर्ण रहेछ । उनले आफ्नी आमा धनमाया गुरुङबाट यस्तै सुनेर रेडियोमा गाएका थिए । तर उनले पछिमात्र थाहा पाए, आमाले ‘प्याउली’ भनी गाउँदा उनले ‘स्याउली’ सुनेछन् ।

गुरुङलाई कोठामा बसेर रचना गरिएका गीतभन्दा  गाउँबस्तीमै गुञ्जने अर्ग्यानिक गीत मनपर्छ । उनलाई मनपर्ने गीतमध्ये एउटा टुक्का यस्तो छ,  ‘मेरो माया छ भने बोल, शिला–पत्थर ठोकेको मन खोल’ । मेलापातमा सुनेको यो गीत उनले जस्ताको तस्तै  रेडियो नेपालमा स्वराङ्कन गराएका थिए ।

गुरुङसँग यस्ता संस्मरण र किस्साको त खात नै छ । कुराकानीका क्रममा उनले एउटा अपत्यारिलो सत्य पस्किए । लगभग दुई दशकभन्दा अघिको प्रसंग । उनीसँग धीत मरूञ्जेल गाउन नपाएका गायिकाहरू मौका पर्खेर बसेका रहेछन् । यस्तैमा पाँच गायिकाले उनलाई झुक्याएर एकाबिहानै नगरकोट पुर्‍याए  । ‘पाँचदिनसम्म गायनको कठाघरा बसेर उनीहरूसँग लगातार दोहोरी गाउनुपर्‍यो। सम्झँदै अनौठो लाग्छ' -सुन्दा किंवदन्तीजस्तो लाग्ने प्रसंग सुनाउँदै उनी मुस्कुराउँछन् ।

रामरमितामा भुल्ने रौसे स्वभावका गुरुङले आफ्नो थरको अघिल्तिर नसुहाउने ‘विरही’ शब्द थपे । किन ? ‘अमर गुरुङ मात्र भन्दा अरुसँग नाम जुध्ने भएकाले मले यसो गरेँ । मेरो नाम र स्वभाव मिल्दैन ।’ उनी स्पष्टीकरण दिन्छन्, ‘अहिले विरही नाम नराखेको भए हुने थियो जस्तो लाग्छ । मेरो सिको गरेर पछिल्लो पुस्तका गायकगायिकाले विरही नाम राख्न थालेका छन् ।’

समयले काँचुली फेर्‍यो । समयको प्रवाहसँगै लोकगीतले पनि बाटो फेरेको छ । यसबारे उनी बेखबर छैनन् । हिजो स्वच्छ मनोरञ्जनका लागिमात्र गाइने लोकगीत अहिले बजारू सूत्रमा बाँधिएकोमा उनी चिन्तित छन् । उनको विश्लेषण छ, ‘हिजोको लोकगीतको ध्येय माया र सदभाव साट्नु थियो, अहिले जसरी भए पनि बिक्रीयोग्य बनाउनु नै यसको ध्येय बनेको छ ।’

गुरुङ २०३९ सालमा प्रतियोगितात्मक दोहोरीगीतको क्षेत्रमा प्रवेश गरेका हुन् । मेलापात, रोदीघर र अन्य सामाजिक जमघटहरू बाहेक व्यावसायिक गायकमा प्रवेश गरेकै ३५ वर्ष नाघेको छ । उनी २०५७ सालमा स्थापित 'राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल' को संस्थापक अध्यक्ष समेत हुन् ।

दोहोरीगीतको क्षेत्रमा होमिएर उनले के पाए, के गुमाए ? हिसाब–किताब गाञ्जागोल छ । तर, एउटा कुराचाहिँ प्रष्ट छ, उनले स्रोताबाट माया र सद्भाव पाए । रेडियो नेपालमा ६० भन्दा बढी लोकगीत स्वराङ्कन गराएका गुरुङ विभिन्न संघसंस्थाबाट अभिनन्दिन भएका छन् । राष्ट्रले उनलाई गोरखा दक्षिणबाहु (चौथो) बाट विभूषित गरेको छ ।

३१ भदौमा उनी ‘अमरविरही गुरुङ एकल साँझ’ मा गुञ्जिए, जुन उनको पहिलो एकल साँझ थियो । उनको गलाबाट गीत सुनेर स्रोता/दर्शक पुनः एकपटक विगततिर पर्किए ।

उनी तीन छोरा, दुई छोरी र आठ नाति–नातिनाका धनी हुन् । लमजुङको घरपोखरामा जन्मिएका उनी यतिबेला धर्मपत्नी इन्द्रमाया गुरुङका साथ गैंडाकोटमा बस्छन् । जीवन बु्ढ्यौली पयतिर ढल्कँदै गए पनि उनको सक्रियतामा विराम लागेको छैन । ‘बाँकी समय लोकगीतकै विकासमा खर्च गर्छु ।’ उनी आफ्नो भावी योजना दृढतापूूर्वक अघि सार्छन् ।

[साभार: हिमाल । असोज २२-२८, २०७४ । सामान्य परिमार्जनसहित ।]

[अद्यावधिक: २०७४।०६।२५]


Sunday, September 24, 2017

दशैंको चटारो

–यमबहादुर दुरा

'नेपाल पञ्चाङ्ग निर्णयाक समिति' को पात्रोले बेलैमा निम्तो दिए पनि लमजुङको गाउँबस्तीमा आइपुग्न दशैंले निकै गाह्रो मान्थ्यो । गाउँबस्तीका झुपडीहरूले अनेकौं आर्थिक–शारीरिक सकस बेहोरेपछि मात्र त्यो अजुरी-अटेरी दशैं झुल्कन्थ्यो । खुसी  हुनका लागि दशैं शब्द नै काफी हुने त्यसबेलाका हामी भुराभुरीलाई दशैंको आर्थिक तथा सामाजिक वास्तविकता बुझ्न डेढ–दुई दशक लाग्यो ।

तत्कालीन पहाडी समाजमा दशैं हाँसेर मनाउनुपर्ने कष्टसाध्य चाड थियो । दशैंको आगमनले केटाकेटीलाई हर्षोल्लासको बहार ल्याइदिन्थ्यो भने अभिभावकलाई बेचैनी र धपेडी । दश नङ्ग्रा खियाएर बाँच्ने अधिकांश दुःखी–दरिद्रीहरूको दशैं साँच्चै कष्टकर हुन्थ्यो ।

‘मानव विकास सूचाङ्क’ मा पुछारमै रहेको तत्कालीन नेपाली समाजमा एकाध परिवारबाहेक अधिकांशलाई दशैंको खर्च जुटाउनै गाह्रो पर्थ्यो । आर्थिक सकसमाथि दशैंले निम्त्याउने चौतर्फी चटारोको कुरा गरिसाध्य हुन्थेन । मध्यान्तरविहीन कामको सिलसिलाले थिचिएको ग्रामीण जीवनमा दशैंले थप बेफुर्सदी निम्त्याउँथ्यो   । ‘मरेको भोलिपल्ट मात्र फुर्सद हुन्छ’ भन्ने लोकोक्तिको जन्म त्यही बेलादेखि भएजस्तो लाग्छ ।

दशैं मुखमै आइपुग्दा पनि तत्कालीन पहाडी बस्तीहरूमा चामललगायतका अनाज नै हुँदैनथ्यो । लोकतन्त्र पुनःस्थापना भएको डेढ–दुई दशकमै  यो कुरा पत्याइनसक्नु एकादेशको कथा बनेको  छ । सडक सञ्जाल र खाद्य डिपोहरूको अभावमा बेसाहा खोज्न गाउँ-गाउँ डुल्नुपर्थ्यो । बेसाहा खोज्दै हिँड्दा कहिले पाटी त कहिले जंगलमा बास हुन्थ्यो । आज चामलजस्तै पैसा पनि फालाफाल छ । त्यो बेला पैसा अति दुर्लभ वस्तुमा पर्थ्यो ।


मुस्किलले एकाध सय जुटाएर बेसाहा खोज्न निस्केकाहरू घरमा  दशैं पर्खेर बसेका लालाबालालाई सम्झेर दौडन्थे । शिरमा नाम्लोको डाम बसाएर ल्याएको बेसाहाले घरमा दशैंमा बहार ल्याउँथ्यो । पाउको धूलो शिरमा र शिरको पसिना पाउमा पुर्‍याएर ल्याएको बेसाहाले ती लालाबालाको भुँडी हाँस्थ्यो ।

आज हाम्रो समाज पनि शाकाहारको रहर गर्न थालेको छ । यही समाज हो, जहाँ ‘दशैंमा पनि अघाउन्जेल मासु नखाए कहिले खाने ?’भन्ने  मान्यता थियो । अहिलेको जस्तो व्यवसायिक पशुपालन नभएको त्यस समयमा मासुको जोहो गर्न सजिलो थिएन ।

ऋणपान गरेको पैसाले मासुको व्यवस्था गर्न गाउँ–गाउँ  डुल्नुपर्ने डुल्नुपर्थ्यो । बल्लतल्ल भाउ मिलाएर ल्याइएका राँगा-भैंसीहरू कुनै तर्काहा पर्थे, बाटोघाटो केही नहेरी दगुर्ने । कुनै बँधुवा पर्थे, डेग नचल्ने । यस्तालाई साँगुरो–घुम्ती बाटो र खोला–जंघारबाट जोगाएर घरसम्म ल्याउन दाँतबाट पसिना आउँथ्यो ।

गाउँघरको दशैं उत्सवमा पिङले महत्वपूर्ण भूमिका खेल्थ्यो । गाउँका तन्नेरीहरू रोटे र लिङ्गे पिङ हाल्न एकजुट हुन्थे । हेर्दा सामान्य लागेपछि पिङ हाल्नु मामुली काम हुन्नथ्यो । पिङको रहर पूरा गर्न गाउँको एकमुष्ठ बल र सीप चाहिन्थ्यो ।

वनमा पुगेर पिङको सर्दाम काटनु, ती सर्दामलाई गाउँका बलिया–बाङगा एकजुट भई कमिलाले आहरा ओसारेजस्तो गरी ओसार्नु कम कष्टप्रद हुँदैनथ्यो । पिङ निर्माणको इञ्जिनियरिङ नमिल्दा कतिलाई त ठूलै घाउचोट लाग्थ्यो ।

माटोखानीबाट रातो माटो झिक्ने तथा खोलाखोल्साबाट कमेरो निकाल्ने, ओसार्ने  र घर लिपपोप गर्ने काम छोरीबुहारीको जिम्मामा आउँथ्यो ।  माटो झिक्न जाँदा कति त माटोको ढिस्कोले पुरिन्थे । साथीसंगीले हतार हतार उद्दार गर्थे  र बालबाल बच्थे ।

दशैंको सारा चटारो ठूलो भार छोरीबुहारीको काँधमा थुप्रिन्थ्यो । अझ बुहारीहरूलाई घरको दशैं ठिक्क पारेर माइत पनि पुग्नुपर्थ्यो, भन्टाङ–भुन्टुङ र कोसेली सम्हाल्दै ।

धन्न त्यो बेला निकै सुन्दर चलन थियो – बर्खाभर भल–बाढीले बिगारेका गौंडागल्फा र बाटोघाटोलाई दशैंको ठीक अगाडि मर्मतसम्भार गरेर पूर्ववत् अवस्थामा फर्काइएको हुन्थ्यो । अहिले भने यस्तो कल्याणकारी कामलाई सरकारको जिम्मामा छोड्ने प्रचलन बाक्लिएको छ ।

दशैं भित्र्याउन र बिदा गर्न महिलाहरूले भोग्नुपर्ने हैरानी अवर्णनीय छ । ठूलो परिवारका बुहारीका लागि त एउटा दशैं दशा बनेर आउँथ्यो । एक पटकको दशैं उतार्न पूरा एकजुनीकै मिहेनेत गर्नुपर्थ्यो ।

दिनभरिको कामको थकाइ सहँदै राति अबेरसम्मको घरधन्दा सकेर ओछ्यानमा ढल्किन नपाउँदै उठ्नेबेला भइहाल्थ्यो । भालेको डाँकभन्दा अघि नै उठेर ढिकीजाँतो नगर्ने बुहारी काजु मानिँदैनथ्यो ।  उसका उछित्तो काढ्न बेर हुँदैनथ्यो ।

घरको सिंगारपटार, ढिकीजाँतो, मेलापात र भातभान्सादेखि जाँडरक्सी उत्पादनसम्मका काम तिनको ‘ठेक्का’ मा पर्थे । घर सिंगारपटार गर्ने तथा पुरानी भर्ने क्रममा कति त माथिबाट खुर्मुरिन्थे । दशैंभरि कुना पस्थे । ऐया–आथ्यो गर्दैमा तिनको दशैं बित्थ्यो ।

पातीमा कोपिला नलाग्दै जाँडका घैंटाहरूले घरको तला-बुइगल भरिनुपर्थ्यो । पाती फुल्न थालेसँगै घरका छोरीबुहारीले एकपछि अर्को गरी जाँडरक्सीको बाहान उतार्न थाल्थे, जुन घरदेखि माइत–मामलासम्मका पुङ र गिलासमा पुग्थे, दशैंभर ।

अहिलेको जस्तो घरघरै पानीको कलधारा नजोडिएको त्यो समयमा जाँडरक्सीको बाहान उतार्न टाढा–टाढाबाट सयौं गाग्री पानी बोक्नुपर्थ्यो । शारीरिक श्रमले गलेर फतक्कै  भएका छोरीबुहारीहरू सुस्केरा हाल्थे, ‘यो दशैं भन्ने दशा त कहिल्यै नआए हुने ।’

हामी भुराभुरीलाई भने दशैं ‘आउन बेर न जान बेर’ हुन्थ्यो । जमराको टपरी पँधेरामा सेलाउन नपाउँदै एक वर्ष पर कुदिसकेको हुन्थ्यो, दशैं । हामी थक्कथक्क हुँदै दक्षिणा गन्थ्यौं, दशै पटक ।

यतिञ्जेलसम्म धेरै घरधुरीको वसालत असन्तुलित भइसकेको हुन्थ्यो । दशैंको रौनक मत्थर हुन नपाउँदै घरमुलीहरूलाई श्रीपञ्चीको भाकाले पोल्न थालिसकेको हुन्थ्यो – ‘जसोतसो दशैं त टारियो, अब ऋणको सावाँ–ब्याज कहिले चुक्ता गर्ने ?’

नेपाली समाजमा सर्वाधिक महत्व पाएको चाड दशैंले चरम आर्थिक विपन्नताले गाँजेको तत्कालीन समयमा निम्त्याएको आर्थिक र सामाजिक सकस एउटा बेग्लै अध्ययनको विषय बन्नसक्छ ।

[साभार: हिमाल (दशैं अङ्क) । असोज ८-२१, २०७४ । परिमार्जित संस्करण । ग्राफिक्स: गुगल।]

[अद्यावधिक २०७४।०७।०१]

Sunday, September 17, 2017

जनताका भाका

–यमबहादुर दुरा

  लमजुङस्थित हाँडेटार सिंचाइ आयोजनाको उद्घाटन गर्न  वि.सं. २०३३  पुस ९ गते राजा वीरेन्द्रको हाँडेटारमा सवारी भयो । राजाको सवारी सम्पन्न भएपछि  ठाडो भाका गायक दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०-२०७४) बारे गाउँघरमा एउटा हल्ला चल्यो । हल्लाको सार थियो--उनले राजाको सवारीमा गीत गाउने क्रममा राजालाई होच्याए । गीतमा ‘सानो राजा नेपालमा, ठूलो राजा चीनमा...’ पदावली घुसाएकाले राजाले अपमानित अनुभूत गरे ।
दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०–२०७४) 


यो हल्ला मात्र थियो । अहिलेको जस्तो दोहोरो संवादमूलक सामाजिक सञ्जाल नभएको त्यस समयमा उनको छवि एक हदसम्म क्षय भयो । गाउँघरमा धेरै पछिसम्म पनि यो हल्लाले ठाउँ लिइरह्यो । धेरै पछिमात्र वास्ताविकता पत्ता लाग्यो, गीत गाउन निम्त्याइएको ठाउँमा नजाँदा उनीसँग बेखुसी भएकाहरूले यस्तो हल्ला चलाएका रहेछन् ।

उनका विरुद्ध अनर्गल प्रचार हुनुअघि नै उनी जनस्तरका निर्विवाद सिद्धहस्त गायकको रूपमा देखापरिसकेका थिए । जात्रा, सामाजिक जमघट र रङ्ग–रसका महफिलमा उनको माग थियो । यद्यपि, उनी जुन समयमा ठाडो भाका गायनमा अघि बढ्दै थिए, त्यस समयमा ठाडो भाका गाउने गायक–गायिकाको कुनै कमी थिएन । तर उनी असंख्य ताराका माझमा टहटह जूनजस्ता भए । उनलाई प्रसिद्ध गायक देउबहादुर दुराको अवतार मान्नेहरू पनि छन् ।

उनको नाम दीर्घराज अधिकारी भए पनि भेँडीखर्के साइँला नामले यत्रतत्र परिचित भए । उनको नामका पछाडि सानो किस्सा जोडिएको छ । उनका बा तुर्लुङकोट (लमजुङ) स्थित भेँडीखर्क (भेँडीगोठ) मा बस्थे । उनले  बेला-बखतमा यो कुरा बताउँदै आएका थिए ।  भाँगु गाउँ र तुर्लुङकोटबीच रहेको जङ्गलको एक खण्ड अझै पनि 'भेँडीखर्क' नामले परिचित छ ।उनी साइँलो छोरो थिए । यही विरासतबाट जोडिँदै आएर उनी कालान्तरमा 'भेँडीखर्के साइँला'  नामले चिनिए ।

गीतमा माया–महब्बत र धर्मशास्त्रका अनेक प्रसंग ल्याएर टुक्का जोड्ने र गीत भट्ट्याउने भेँडीखर्के साइँलामा विशिष्ट कला थियो । उनको अनुपम स्वर–माधुर्य पनि सर्वत्र प्रशंसा भएको पक्ष हो । यिनै विशेषताबाट उनी आफ्नो पृथक पहिचान दिन सफल भए । ‘बाहुनले गीत गाउन हुँदैन’ भन्ने मानसिकताले राज गरेको जमानामा बा-आमाको आँखा छलेर नौ वर्षको उमेरदेखि नै गीत गाउनु र दुनियाँलाई उछिन्न सफल हुनु उनको साङ्गीतिक यात्राको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

२००६ सालमा उनको परिवार दुराडाँडास्थित तुर्लुङकोटबाट परेवाडाँडामा बसाइँ सर्‍यो । आफ्नो जन्मस्थानको साङ्गीतिक माहोलबाट बेग्लै सामाजिक परिवेशमा मिसिन पुगे पनि ठाडो भाकाका डफ्फासँग उनको संगत पूर्ववत् रूपमा कायमै रह्यो । आफ्नो जन्मथलो आउजाउ र उठबस भइरह्यो । गीतको खाल जमिरह्यो ।

यस क्रममा उनले आफ्नो जीवनकालमा असंख्य गायिकाहरूसँग साङ्गीतिक सवाल-जवाफ गरे । उनका समकालीन भक्तिमाया दुरा, सकुन्धरा दुरा (ढाँडथोके माहिली,  वि.सं.१९९१-२०७०), गौमाया दुरा, ज्ञानुमाया थापालगायतका प्रतिभाहरू उनीभन्दा अघि नै यस दुनियाँबाट अस्ताइसकेका छन्  ।

शुरुका दिनमा स्थानीय साङ्गीतिक रङ्गमञ्चमा मात्र बढी चर्चित भेँडीखर्के साइँला २०५० को दशकदेखि आमसञ्चार माध्यममा विस्तारै छाउन थाले । २०६० को दशकको मध्यततिर आइपुग्दा उनको सुनाम फूलको सुवाससरी सबैतिर मगमगाइसकेको थियो । तर, केही मिडियाले कुरै नबुझी उनलाई मिथकीय पात्रजस्तो गरी चित्रण गरे । यसबाट अन्य स्थानीय प्रतिभामाथि नजानिँदो किसिमले अन्याय  भयो । ठाडो भाका गाउन सक्ने व्यक्ति भेँडीखर्के साइँलामात्र हुन् भन्ने दलिल आयो, जुन सर्वथा गलत थियो ।

ठाडो भाका गाउनसक्ने प्रतिभाहरू अझै पनि गाउँघरमा नभएका होइनन् तर उनीहरू चर्चामा छैनन् । अहिले सामान्य चर्चामा रहेका नन्दमाया दुरा, बुद्धिमान दुरा ‘धम्पू’, उत्तम गुरुङ, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, यमबहादुर दुरा (पंक्तिकार होइन), सीता दुरालगायतका प्रतिभाहरूले ठाडो भाका गाउन सक्छन् । अहिले यिनै प्रतिभाहरूले ठाडो भाकाको विरासत थामिरहेका छन् ।

रेडियो नेपालमा गीत रेकर्ड गर्न उनी २०३५ सालमा राजधानी आए तर मौका पाएनन् । त्यतिबेला  उनीसँग रहर थियो, पहुँच थिएन । गीत रेकर्ड गर्ने अभिलाषा राख्दा तीतो अनुभव संगालेको १८ वर्षपछि चलचित्र निर्देशक प्रदीप उपाध्यायले उनको  रहर पूरा गरिदिए । २०५३ सालमा उपाध्यायको टोली सुन्दरबजार (लमजुङ) धाएर अल्ट्रसाउण्ड प्रालिमार्फत् भेँडीखर्के साइँला र भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९) को स्वरमा गीत रेकर्ड गरे । अल्बमको नाम जुराइयो, ‘सेरोफेरो’ । पहिलो अल्बम उत्पादन भएको सात वर्षपछि २०६० सालतिर आरबीए फिल्मस् ले उनी र ज्ञानुमाया थापाको स्वरमा अर्को श्रव्य अल्बम निकाल्यो ।

दुई सय वर्षको इतिहास 

कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाकालगायत विभिन्न नामले चिनिने ठाडो भाकाको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ ।  बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३—१९५०) ले वि.सं. १८७४ झ्याउरेमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गरेका छन् ।


वि.सं. १९१४ मा धौलागिरिबाट कास्कीको हंसपुरमा बसाइँ सरेका बौद्धसिङ गुरुङले आफूसँगै ल्याएका ठाडो भाकालाई त्यस ठाउँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले विस्तार गर्ने काम गरे भनेर धर्मराज थापाले आफ्नो पुस्तक ‘गण्डकीका सुसेली’ मा लेखेका छन् । यसरी विस्तार हुँदै आएको ठाडो भाकालाई अर्को पुस्ताले थप विस्तार गरे ।

हाँडीखोला (बर्धान, लमजुङ) का देउबहादुर दुरा र रबैडाँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) ले ठाडो भाकालाई जनस्तरमा पुर्‍याएर लोकप्रिय बनाउने गरेको थिए । उनीहरू पुरुष भए पनि केटा र केटी बनेर गीत गाउँथे भन्ने भनाइ छ । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

वि.सं. १९७० तिर देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीचको घम्साघम्सीपूर्ण भएको गीत सुन्न करापुटार लाग्ने शिवरात्रि तथा फागूपूर्णिमाको अवसरमा लाग्ने मेलामा  जनसमुदायको ठूलो भीड लाग्ने गरेको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तकमा कोट्याएका छन् । केटा-केटाबीच गीत गाउँदा स्रोता/दर्शकलाई त्यति मजा नहुने भएकाले देउबहादुर दुराले नेटा (लमजुङ) की मैरानी दुरालाई गीत गाउन सिकाएपछि केटा र केटीबीच ठाडो भाका गाउने प्रचलन शुरु भएको मानिन्छ ।

***

 भदौ २६ गते मानवचोला त्यागेका भेँडीखर्के साइँलाले जनस्तरमा निकै माया र सम्मान पाए । जनस्तरबाटै ठाडो भाका शिरोमणिको उपाधि पाए । दूधपोखरी प्रतिभा परिवार (वि.सं.२०५२), कोइरालाफाँट युवा क्लब (वि.सं.२०५५),  दुरा सेवा समाज (वि.सं.२०५७), सामाजिक सेवा द रेयुकाइ लमजुङ उपशाखा (वि.सं. २०५७), हिमालचुली कला साहित्य प्रतिष्ठान (वि.सं.२०६५), लमजुङ लोकसंस्कृति विकास केन्द्र (वि.सं.२०६८) लगायतका जनस्तरका संघसंस्थाले उनलाई सम्मान गरे । राज्यबाट भने उनले कहिल्यै पनि सम्मान पाएनन् ।

उनी बिरामी भएर ओखतीमूलोको गर्ने पैसाको अभाव हुँदासमेत राज्य निर्मम रह्यो । बासमतीको भात नरुच्ने अभिजात्य वर्गलाई उपचारको नाममा राज्यकोषबाट लाखौं रुपियाँ बाँड्ने राज्यले गायक भेडीँखर्के साइँलाप्रति कुनै सदासयता देखाएन । ठाडो भाकाको विरासत जोगाउन जनस्तरको प्रयासमात्र पर्याप्त छैन । राज्यको साथ र सहयोग अपरिहार्य छ ।

[साभार: हिमाल ।असोज १, २०७४ । परिमार्जित संस्करण । तस्बिरः याहु ]

[अद्यावधिक २०७४।०६।०२, २०७४।०६।०३, २०७४।०६।०४, २०७५।०८।२२, २०७७।१।२५, २०७७।०२।०४, २०७९।०८।२४]

Friday, August 11, 2017

कपी एडिटरका कथा

–यमबहादुर दुरा

पत्रकार वृत्तमा आजकल एउटा गम्भीर प्रकृतिको चर्चा चल्न थालेको छ । चर्चाको विषय हो, पत्रकारितामा  प्रतिबद्ध जनशक्तिको घट्दो दर ।

यसबारे खासै शोधखोज (रिसर्च) नभए पनि पत्रकारिताको प्रतिबद्ध जनशक्ति निरन्तर घट्दै गइरहेको दैनिक व्यवहारमै महसूस गर्न थालिएको छ । समाचार संकलन (रिपोर्टिङ) मा जनशक्तिको आजपर्यन्त खासै अभाव महसूस नगरिए पनि सम्पादन (डेक्स वर्क) गर्नेहरूको अभाव बढ्दो क्रममा रहेको धेरैले प्रष्टै अनुभव गर्न थालेका छन् ।

विगतमा मिडियासम्बन्धी औपचारिक जनशक्ति उत्पादन नभएको बेला यस्तो महसूस गरिएको थिएन । त्यतिबेला एक से एक राम्रा र प्रतिबद्ध सम्पादनकर्मी (कपी एडिटर) हरू थिए । अहिले विश्वविद्यालयबाट मिडियासम्बन्धी जनशक्ति निरन्तर उत्पादन भइरहँदा पनि किन यस्तो अवस्था आयो ? प्रश्न पेचिलो छ ।
२०४६ सालअघि नेपाली मिडियाको आयतन फैलन पाएको थिएन । बजार सानो थियो । मिडियाको दुनियाँमा सरकारी सञ्चार माध्यमको एकछत्र रजाइँ थियो । निजी क्षेत्रमा प्रसारण माध्यम थिएन । निजी स्मामित्वका छापा माध्यम मूलतः मिसन पत्रकारिताको अभियानमा थियो ।

दलविहीन पञ्चायती व्यवस्था ढलेपछि आएका ‘राष्ट्रिय सञ्चार नीति, २०४९’ र ‘राष्ट्रिय सञ्चार ऐन, २०४९’ ले निजी क्षेत्रका प्रसारण माध्यमका बाटो खोलिदिए । सँगसँगै ब्रोडसिट दैनिकहरू पनि जन्मन थाले । समयक्रममा रेडियो र टेलिभिजन आए । पछिल्लो समयमा अनलाइन न्युज पोर्टलहरूको बाढी नै आएको छ ।

हिजो कुवाजस्तै संकीर्ण दायरामा रहेको नेपाली मिडिया आज समुद्रजस्तै विस्तीर्ण हुन पुगेको छ । मिडिया अर्थतन्त्रको दायरा फराकिलो बनेको छ । अवसर र सम्भावनाहरू बढेको छ । मिडियालाई ‘करिअर’ बनाउनेहरूको कुनै कमी छैन । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसँग आबद्ध पत्रकारहरूको संख्या १२ हजारभन्दा माथि छ ।

मिडियामा यस्ता उत्साहप्रद पक्षको उभार हुँदाहुँदै पनि पत्रकारितामा दक्ष र प्रतिबद्ध जनशक्ति ऋणात्मक दिशातर्पm उन्मुख भइरहेको महसूस गरिँदैछ । त्यसमा पनि न्युजरूममा दक्ष र प्रतिबद्ध कपी एडिटर अभाव टड्कारै देखिन थालेको छ । संवाददाता र कपी एडिटर पत्रकारिताका दुई बलिया स्तम्भ हुन् । यीमध्ये संवाददाताहरू बढी चलयमान् छन् । उनीहरू बाइलाइनको फाइदा उठाउन सक्छन् । कपी एडिटरलाई यस्तो लाभ प्राप्त हुँदैन ।

कपी एडिटरहरू पर्दापछाडिका नायक हुन् । संवाददाता वा लेखकको पाण्डुलिपिमा रहेका त्रुटि सच्याएर लेखाइमा बान्की थपिदिने काम कपी एडिटरको हो । तर पनि उसले जस पाउँदैन । धेरैको दृष्टिमा कपी एडिटिङ श्रेयविहीन काम (थ्याङ्कलेस जब) हो । न्युजरूममा एउटा भनाइ प्रचलित छ,  'कपी एडिटरको काम त्यतिबेला मात्र ख्याल गरिन्छ, जतिबेला सम्पादनका क्रममा गम्भीर गल्ती भेटिन्छन् ।'

संवाददाताको तुलनामा कपी एडिटरलाई ‘एक्सपोजर’ को अभाव छ । कुनै शक्ति, समूह वा व्यक्तिको अभीष्ट पूरा गरिदिएबापत कुनै खास पृष्ठ वा संस्करण हेर्ने निश्चित कपी एडिटरले क्याण्डल–लाइट डिनर, विदेश सयर वा यस्तै प्रकृतिका ‘बनञ्जा’ पाउने बाहेक  धेरैले ‘तर मार्न’ पाउँदैनन् । अधिकांशको अवस्था ‘विचरा’ नै छ ।

कपी एडिटरले ‘एक्सपोजर’ नपाए पनि उसको काँधमा जिम्मेवारी ठूलो हुन्छ । कपी एडिटिङ प्राविधिक र सिर्जनशील काम हो । उसले अरुले तयार पारेको झर्कोलाग्दो सामग्रीलाई रुचिकर र पठनीय बनाउनुपर्छ । त्यो पनि समयसीमाभित्रै  । यो चानचुने काम होइन । लरोतरो जाँगर, ज्ञान र सीपले यस्तो जिम्मेवारी पूरा गर्न सकिन्न । असल कपी एडिटर भाषिक हिसाबले शब्दशिल्पी र ज्ञानको गहनताको दृष्टिले इन्साइक्लोपिडिया बन्नुपर्नेमा दुईमत छैन ।

अरुको प्राणहीन रचनालाई जीवन्त बनाउन कपी एडिटरले धेरै मिहेनत गर्नुपर्छ । ऊ उर्जावान्, सिर्जनशील, कल्पनाशील र विचारवान् हुन आवश्यक छ । उसका लागि दिलबहलाव आवश्यक छ ।

यसका लागि उसले प्रशस्त अवसर र समय पाउनुपर्छ । मिडिया हाउसले उसको कामको चरित्र र प्रकृति बुझिदिनुपर्छ । विदेशतिर कपी एडिटरलाई आकर्षक पारिश्रमिक र पर्याप्त बिदा दिने चलन छ । नेपाली न्युजरूममा यस्तो परिपाटीको अभाव छ ।

कपी एडिटरको कामबारे कुरा गरिरहँदा हाम्रो शिक्षा पद्धतिबारे चर्चा गर्नुपर्ने हुन्छ । राम्रा स्कुलमा अंग्रेजीमा माध्यममा पढेकाहरू सामान्यता यो दुनियाँमा आउँदैनन् । कोही आएमा त्यो अपवादमात्र हुन्छ । जगजाहेर नै छ, उनीहरू कि त पश्चिमा दुनियाँमा भासिन्छन् कि त स्वदेशमै आइएनजीओको कारिन्दा बन्न पुग्छन् ।
नेपाली न्युजरूममा खपत हुने जनशक्ति मूलतः सरकारी विद्यालय वा सामान्य बोर्डिङ स्कुलमा पढेकाहरू नै हुन्छन् । सामान्यता उनीहरूको भाषिक दक्षता र ज्ञानको गहिराइ सरदर नै देखिन्छ ।

यही जनशक्ति न्युजरूममा पुग्छ । त्यसको नजिता के हुन्छ, भनिरहन नपर्ला । अहिलेको न्युजरूम जनशक्तिका दृष्टिले मात्र होइन, गुणवत्ताका दृष्टिले पनि शून्यतातर्फ लम्कँदैछ भन्नेहरू पनि भेटिन थालेका छन् । न्युजरूमले प्रतिभावान् जनशक्ति माग गर्छ तर बजारले सरदर खालको जनशक्ति उपलब्ध गराइरहेको छ ।

यहाँनेर, पत्रकारिताप्रतिको सामाजिक मनोविज्ञानबारे सानो चर्चा गर्नुपर्ने हुन्छ । धेरैको बुझाइ छ, पत्रकारिता ‘लो पेड जब’ हो । वास्तविकता पनि लगभग यस्तै छ । टेलिभिजनको स्क्रिनमा अनुहार देखाउने, रेडियोमा स्वर सुनाउने र अखबार (बाइलाइन) मा छाउने रोमाञ्टिक आकांक्षाले मात्र पत्रकारिताको दुनियाँमा प्रवेश गर्नेहरू छिट्टै ‘स्याचुरेसन पोइन्ट’ मा पुग्छन् ।

धेरै मिहेनत गरेर पनि अपेक्षित आम्दानी नहुँदा उनीहरू कालान्तरमा निराश बन्छन् । अन्ततः दुई दिनको पाहुनाजस्तो बनेर बाहिरिन्छन् । सुन्दा अप्रिय लागे पनि वास्तविकता यही हो ।'

बाहिरबाट खासै जटिल नेदेखिए पनि भित्रभित्रै बिकराल बन्दै गएको जनशक्तिसम्बन्धी समस्याले मिडिया उद्योगको अस्तित्व र गुणवत्तामा धक्का  दिन सक्छ । पत्रकारितालाई आशा र भरोसाको केन्द्र बनाउन सम्बन्धित निकायको रचनात्मक भूमिका अपेक्षित छ ।

साभार: अन्नपूर्ण टुडे । साउन २७, २०७४ ।