Thursday, July 11, 2013

नेपाली सङ्गीत

-यमबहादुर दुरा

शायद, सृष्टिको सुन्दरतम् रचनामध्ये सङ्गीत पनि एक पर्छ । सङ्गीतले दिने आत्मिक शान्ति र आनन्दको कुनै तुलना छैन । सङ्गीत र मानव जीवनबीचको घनिष्टतालाई मनन गरेर नै होला, प्रसिद्ध जर्मन दार्शनिक फ्रेडरिक नित्सेले भनेका थिए, ‘सङ्गीत नभएको भए जीवन एउटा भूल हुने थियो ।’

नेपाली सङ्गीतको इतिहास युगौं पुरानो भए पनि ‘रेकर्डेड’ गीतको परम्पराचाहिं एक सय पाँच वर्ष पुरानो देखिन्छ । वि.सं. १९६५ मा गायक सेतुरामले कलकत्तामा गएर गीत रेकर्ड गराएपछि नेपाली गीत रेकर्ड हुने परम्परा शुरु भएको पाइन्छ । यसभन्दा अघि असंख्य गायकगायिकाले वनपाखा, मेलापात र सामाजिक गीत गाए होलान् तर तिनको कला र गला समयको गहिरो गर्तमा हराएको छ । गीत रेकर्ड गर्ने प्रविधिको विकाससँगै सेतुराम, मित्रसेन, मेलवादेवीजस्ता प्रतिभाहरू चर्चामा आए ।
वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि पाखो-पखेरोमा मात्र गुञ्जने गीतहरू गाउँबस्तीमा सञ्चारित हुन थाल्यो । यसपछि नेपाली प्रतिभाहरूको पहिचान हुन थाल्यो र तिनको स्वर झिनै रूपमा भए पनि अभिलेखीकरण र संरक्षण हुन थाल्यो । यो विकासक्रम नेपाली सङ्गीतको इतिहासमा एउटा शुभसंकेत संकेतमात्र नभई कोशेढुङ्गा पनि हुन पुग्यो । नेपाली सङ्गीतका अध्येता रामशरण दर्नालले ‘गायनशैली’ नामक पुस्तकमा रेडियो नेपालको स्थापना भएपछि नेपाली गीतसङ्गीत आधुनिकताको पखेटा हालेर फटफाउन थालेको उल्लेख गरेका छन् ।
अहिले नेपाली सङ्गीतले उद्योगकै रूप धारण गरिसकेको छ । तुलनात्मक रूपमा बजार सानो भए पनि सङ्गीत उद्योगले जरो गाडिसकेको छ । नेपाली सङ्गीतको बजार पनि विस्तार हुन थालेको छ । नेपालीहरू रोटो र भोटोको खोजी संसारको कुनाकाप्चामा पुगिरहेका छन् । उनीहरूले नाभी गाडिएको जन्मभूमिको गीत मन पराउने नै भए । यसबाट नेपाली सङ्गीत भौगोलिक सीमाहरू पार गर्दै संसारका कुना-कन्दरामा पुग्न थालेका छन् । परिणामस्वरुप नेपाली सङ्गीतको भावक वृद्धि भएको छ, यसको दायरा फराकिलो भएको छ । यो उत्साहजनक पक्ष हो ।
नेपाली सङ्गीतमा खड्किएको पक्ष
यति हुँदाहुँदै पनि नेपाली संगीतमा केही खट्किने पक्षहरू छन् । मूलतः नेपाली गीतको सिर्जनाकर्ममा सङ्गीत चिन्तनको अभाव देखिन्छ । गीत के हो र यसले समाजलाई कुन दिशामा कसरी डोर्‍याउनुपर्छ भन्ने कुरामा गीतका श्रष्टाहरूले त्यतिविधि ध्यान दिएको पाइँदैन । गीत सामाजिक र सार्वजनिक उत्पादन भएकाले यो सालिन र सुसंस्कृत हुनुपर्छ । दुर्भाग्यवश, औंलामा गन्न सकिनेबाहेक अधिकांश गीतहरू गीतहरू बजारू सूत्रद्वारा निर्देशित मसलादार बिकाउ वस्तुका देखापरेका छन् । यही नै नेपाली गीतको मूलभूत प्रवृत्ति हुन थालेको छ ।
गीत जीवनको भावधारा हो । यसमा मायाप्रीति कुरा स्वाभाविक रूपमा आउँछन् । स्त्री र पुरुषबीचको प्रेम पनि जीवनको वास्तविकता हो । तर, मायाप्रीतिमात्र सबथोक होइन । यसको अर्थ मायाप्रीतिका गीत गाइनुहुँदैन भन्ने होइन । मायाप्रीतिका गीत उच्चतम् आदर्श कायम राख्ने हुनुपर्छ । तर, गीतमा भेटिने व्यभिचारीपूर्ण रोमान्सजन्य अभिव्यक्तिले कुनै न कुनै रूपमा गीतकै महिमा घटाएको छ । अहिलेका गीतमा भेटिने असहज लाग्ने यौन अभिव्यक्तिको भरमार बौछारले हाम्रो गीति प्रवृत्ति शालिनपथबाट विचलन भएर भ्रष्टीकरणको पथतिर उद्यत हुँदै गएको हो कि भन्ने लाग्छ । यद्यपि यो विचार कसैका लागि पुरातनपन्थी र पश्चगामी सोंच लाग्न सक्छ ।
सङ्गीतलाई सस्तो मनोरञ्जन र भोगविलासको माध्यमको रूपमा मात्र बुझ्नेहरूको कुनै कमी छैन । यो नितान्त गलत सोचाइ हो, दुःखद पक्ष पनि हो । विश्वप्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइन सङ्गीतप्रेमी थिए । उनी आफूद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्त सङ्गीतबाट उत्प्रेरित विचार ठान्थे । उनी साङ्गीतिक दुनियाँका विश्वचर्चित हस्ती मोजार्टका संगीतमा पूरै लीन भएका थिए भनिन्छ ।

उनी बाखका संगीतमा पनि त्यत्तिकै लयबद्ध भएका थिए भन्ने चर्चा सुन्न पाइन्छ । वैज्ञानिक अल्बर्ट आइन्सटाइन सङ्गीतप्रेमबारे ऋषिकेश समाधि लेख्छन्, ‘उनी सङ्गीतमा आफूलाई यतिविघ्न एकात्मक पाउँथे कि उनका जीवनका प्रत्येक भोगाइमा सङ्गीत सामानान्तर हुन पुग्थ्यो…।’ अल्बर्ट आइन्सटाइनको सङ्गीतप्रेमले सङ्गीत सस्तो मनोरञ्जन र भोगविलासको माध्यममात्र मात्र होइन भन्ने तथ्यलाई पुष्टि गरेको छ ।
संगीत गहिरो विषय हो । प्रसिद्ध स्कटिस दार्शनिक थोमस कर्लरले भनेका थिए ‘सबै गहिरो कुरा जति गीत हुन् ।’ सङ्गीतको अध्ययन गर्न एक जुनीमात्र पर्याप्त छैन भनेर सङ्गीतकार अम्बर गुरुङ भनेको कुरा यहाँ सान्दर्भिक हुन आउँछ । यस्तो गहन विषयलाई सस्तो मनोरञ्जन र भोगविलासको माध्यमको रूपमा मात्र ठान्नु सङ्गीतप्रतिको घोर अपमान ठहरिन्छ ।
विरोधाभाषपूर्ण  प्रवृत्ति
भित्रभित्रै सङ्गीत मन पराउने तर बाहिर र सङ्गीत र सङ्गीतकर्मीलाई हेयभावले हेर्ने वा खिसीटिउरी गर्ने विरोधाभासपूर्ण अवस्था पनि हामीकहाँ छ । यसबाट सङ्गीत भनेको सजिलो माध्यम हो भन्ने सन्देश प्रवाह भएको देखिन्छ । परिणामस्वरुप धेरै निष्ठावान् सङ्गीतकर्मीहरूको चित्त दुखेको छ । हुन त, सङ्गीतकर्मीलाई हेयभावले हेर्नुका पछाडि केही हदसम्म सङ्गीतकर्मीहरू नै जिम्मेवार देखिन्छन् ।

सस्तो मनोरञ्जनका लागिमात्र सङ्गीत सिर्जना गर्नु र आफ्नो आचरण रसालतमा पुग्ने गरी सार्वजनिक जीवनमा प्रस्तुत हुनु नै यसको मूल कारण हो । जेहोस् एक दुईजना सङ्गीतकर्मीको व्यवहारलाई आधार बनाएर सिङ्गो सङ्गीतिक जगतलाई लाञ्छित तुल्याउने र हेयभाव सिर्जना गर्नु पनि अफैंमा बिडम्बनापूर्ण अवस्था हो । यस प्रकारको सोचाइले वृहत 'सांस्कृतिक संस्कृति' निर्माणमा सहयोग पुर्‍याउँदैन ।
सङ्गीत सामाजिक अनुष्ठान, अनुशासन र जीवन-साधना पनि हो भन्ने तथ्य धेरैले बिर्सिएको पाइन्छ । राष्ट्रिय जनजीवनको ढुककुकी पनि हो, सङ्गीत । सङ्गीत भावसञ्चार र सुरसञ्चारमात्र पनि होइन, यो त संस्कृति सञ्चार पनि हो । सङ्गीत निर्माण प्रक्रिया थुप्रै सम्वेदनशील प्रक्रिया भएर गुज्रन आवश्यक छ । असल सङ्गीतमा निर्माणमा सर्जकहरूको ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । असल गीतले मनोरञ्जन वा आत्मिक शान्तिमात्र दिंदैन, संस्कृति निर्माण पनि गर्छ । पूर्वीय दर्शनअनुसार कर्मयोग, भक्तियोग र ज्ञानयोग मानव जीवनका महत्वपूर्ण पक्ष हुन् । यस्ता पक्ष पनि हाम्रा सङ्गीतमा प्रतिविम्बित हुनुपर्ने हो ।
प्रगतिशील धाराका गीतबारे
नेपालमा प्रगतिशील धारले एउटा बेग्लै अध्याय बनाएको छ तर यो धारको गीत पनि दोषमुक्त देखिंदैन । प्रगतिशील गीतमा नागरिकका दुःखकष्टप्रति साहनुभूति र संवेदना त भेटिन्छ, तर त्यो संवेदना कताकता कागजको फूलजस्तो कृतिम प्रतीत हुन्छ । यान्त्रिक शैलीमा बनेका कतिपय प्रगतिशील गीतमा सौन्दर्यचेतको सर्वथा अभाव देखिन्छ भने अस्वाभाविक रूपमा ‘बारूद संस्कृति’ हावी भएको पाइन्छन् । फराकिलो बाटो उपलब्ध हुँदाहुँदै पनि प्रगतिशील गीतिधारा साँगुरो बाटोमा हिंड्न खोजेको अनुभूति मिल्छ । त्यसैले प्रगतिशील सांगीतिक धारले आफ्नो दायरा फराकिलो पार्नु राम्रो हुन्छ ।
कस्तो हुनुपर्छ नेपालको गीत, संगीत

नेपाल भौगोलिक र सांस्कृतिक विविधताले भरिएको देश हो । हाम्रा सङ्गीतमा यी विविधता झल्कनुपर्छ । नेपाल विविध जातजाति बसोबास गर्ने देश भएकाले जातीय सङ्गीतशास्त्र (Ethnomusicology) को उपयोग गरेर यहाँको सांगीतिक विविधतालाई उजागर गर्न आवश्यक छ । नेपालको भौगोलिक विविधताले निर्धारण गरेका विविधतापूर्ण जीवनशैली, सांस्कृतिक पूँजी, सामाजिक पूँजी, जातजातिबीच रहेका युगौं पुरानो अन्तरसांस्कृतिक सम्बन्ध, देशको मूल संस्कृतिभित्र रमाइरहेका उपसंस्कृति (Subculture) का आयामहरू पनि सङ्गीतमा प्रतिविम्बित हुन आवश्यक छ । समग्रमा हाम्रा सङ्गीतलाई देशको भौगोलिक विविधता र सांस्कृतिक विविधतालाई जोड्ने सेतुको रूपमा उपयोग गर्न सके हाम्रो सांस्कृतिक पूँजीलाई अरु दरिलो हुने थियो ।

हाम्रो सङ्गीतमा नेपाली जनजीवनको तस्बिर आउनुपर्छ । अझ भनौं, भोटोको तुनामा बुकी फूल उनेर कर्मक्षेत्रमा होम्मिएका कर्मठ युवाहरूको जाँगर, भेँडीगोठालेको जीवनशैली, परदेशिएका छोराछोरी फर्कने आशामा पिंढीको डिल कुरेर बस्ने आमा-बाको अनुहारमा कोरिएका आशा र निराशाका रेखा, लालाबालाको चारो जुटाउन अरबको मरुभूमिमा पसिना सिञ्चन गर्ने नेपाली दाजुभाइ-दिदीबहिनीको सङ्घर्षमय जीवनगाथा, लोकतन्त्र स्थापना गर्न नेपाली नागरिकले बलिदानीपूर्ण सङ्घर्षको गाथा, लोकतन्त्र आएपछि पनि हेपिएका जनता-जनार्दनका सुस्केरा, सीमावर्ती क्षेत्रमा अनागरिकको जस्तो जीवन भोग्न विवश नेपालीको पीडा, सगरमाथाको चुचुरोमा पाइला टेक्ने नेपाली चेली पासाङ ल्यामु शेर्पाको साहसजस्ता पक्ष मूलधारको गीतमा समेटिनु आवश्यक छ ।
भूपाल राई, श्रवण मुकारुङ, रमेश क्षितिजजस्ता गीतकारहरूले जीवनशैलीलाई समेटेर गीत लेखेका छन्, जसबाट थोरै भए पनि नेपाली जनजीवनलाई सङ्गीतमा प्रतिविम्बत हुन पगेको छ । यस्ता गीतसङ्गीतले असल संस्कृति निर्माणमा सहयोग गर्छन् । हाम्रो साङ्गीतिक भावधाराले नेपाली जनजीवनको वृहत् क्यानभासको सबै भागलाई समेट्न आवश्यक छ । यसो गरेपछिमात्र हाम्रो सङ्गीतमा राष्ट्रिय भावधारा बग्न थाल्छ र सङ्गीतले थप सम्मान पाउने वातावरण बन्छ । यसले राष्ट्रिय एकता, भ्रातृत्व, जागरण र कर्तव्यपरायणताको भावनालाई अरु दरिलो बनाउन सघाउँछ ।
माग र पूर्तिको अर्थशास्त्रीय नियमको आधारमा कथाले मागेअनुसारको गीत तयार पार्दै जाने हो भने हाम्रा संगीत विकृतिको थुप्रोमा परिणत हुन सक्छन् । सङ्गीत भावनाको गहन सागर नभएर बिक्री गर्ने वस्तु (commodity goods) बन्न पुग्छ । गीतसङ्गीत स्वभावैले ठूलो समूहमा प्रवाह हुने भएकोले विकृत गीतले आमनागरिकमा कुसंस्कृति निर्माण गर्न सहयोग गर्छ, जुन असल समाज निर्माणको अभियानमा सर्वथा हनिकारक सावित हुनसक्छ ।

यसले सामाजिक मनोविज्ञानलाई भ्रष्ट तुल्याउँछ ।अब बन्ने गीतमा नयाँ युगचेतना र विविधतापूर्ण नेपाली जीवनशैली चित्रित हुनु श्रेयस्कर देखिन्छ । यसले एकातिर युगचेतनाको बिगुल फुक्नेछ भने अर्कोतिर भोलिका पुस्ताका लागि नेपाली जीवनशैलीको अभिलेखीकरण गर्नेछ । यसले हाम्रा सामाजिक एवम् सांस्कृतिक पूँजीलाई नासोको रूपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउनेछ ।

[ साभार: अनलाइन खबर  (असार २७, २०७०) ]