Tuesday, January 29, 2019

लोकतन्त्रको मर्म


यमबहादुर दुरा

विश्व इतिहासमा फ्रान्सेली क्रान्तिको बरोबर चर्चा भइरहन्छ । सन् १७८९ देखि १७९९ सम्म भएको फ्रान्सेली क्रान्ति मूलतः तानाशाही राजतन्त्र र सामन्ती सामाजिक प्रणालीको विरुद्धमा केन्द्रित थियो । एक दशकको उथलपुथलपूर्ण सङ्घर्षपछि क्रान्तिले सफलता पायो । विश्वका विभिन्न भूखण्डमा अनेकन् कालखण्डमा भएका राज्यक्रान्तिको चुरो कुनै न कुनै रूपमा फ्रान्सेली क्रान्तिको मर्मसँग जोडिएको पाइन्छ । फ्रान्सेली क्रान्तिलाई आदर्शतम् क्रान्तिको रोल मोडलको रूपमा हेर्ने गरिन्छ ।
 
ग्राफिक्स : गुगल
आज पनि फ्रान्सेली क्रान्तिलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्ने क्रम जारी छ । दुनियाँमा अमिट छाप पार्न सफल फ्रान्सेली क्रान्तिको नीतिवाक्य थियो, ‘स्वतन्त्रता, समानता र भातृत्व। यसलाई संसारभर प्रत्यक्ष वा परोक्ष राज्यको निर्देशक सिद्धान्त मानिँदै आएको छ । संसारका लोकतान्त्रिक संविधानहरूमा यो नीतिवाक्यको मर्मलाई समेट्ने गरिएको पाइन्छ ।

नेपालमा २००७ देखि २०६२/०६३ सालसम्म भएका राजनीतिक तथा सामाजिक विद्रोहले खोजेका कुरा पनि फ्रान्सेली क्रान्तिको नीतिवाक्यभन्दा भिन्न छैन । नेपालमा भएका सबै किसिमका विद्रोहले खोजेका आदर्श भावलाई कपडछान गरेर भन्ने हो भने उही कुरा आउँछ, ‘स्वतन्त्रता, समानता र भ्रातृत्व। नेपालमा हालसम्म भएका लोकतान्त्रिक आन्दोलनमा होम्मिएर जे जति शहीदले प्राणोत्सर्ग गरे, तिनले चाहेका आदर्श पनि उही थियो भन्न सकिन्छ । चाहे त्यस आदर्शतम् भावलाई व्यक्त गर्न चयन गरिने शब्द र शैलीमा अनेकन् विविधता किन नहुन् ।

हरेक आन्दोलनको आदर्शतम् भाव स्वतन्त्रता, समानता र भ्रातृत्वभए पनि त्यसको व्यवहारिक पक्ष कस्तो छ ? त्यो भाव व्यवहारमा अनुवाद भयो कि भएन ? प्रश्नहरू पेचिला छन् । विगतदेखि वर्तमानसम्म राज्यले अख्तियार गरेका नीति र व्यवहारलाई हेर्दा यी प्रश्नको उत्तर धेरै टेढोमेडो छ । सरल रेखीय ढाँचामा यसको उत्तर पाउन मुस्किल छ । उत्तरमा आशाभन्दा निराशाको मात्रा बढी छ ।

धेरै परको कुरा छोडेर २०६२/०६३ साल पछिको मात्र राजनीतिक परिदृश्य हेरौं । राजनीतिक हिसाबले देशमा आमूल परिवर्तन भइसकेको छ । हिजोका दिनमा विद्रोहको अग्रदस्तामा रहेका सबै राजनीतिक शक्ति सत्तारुढ भइसकेका छन् । ती राजनीतिक शक्तिले भन्ने गरेका तानाशाही राजतन्त्र इतिहास बनिसकेको छ । तिनले भन्ने गरेका अवरोधकारी शक्ति निस्तेज भइसकेका छन् ।

शासनसत्ताको बागडोर तिनैको हातमा छ । अगाडि बढ्नका लागि बाटो खुल्ला छ तर देश अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । देशको राजनीतिक तथा सामाजिक स्वास्थ्य सन्तोषजनक देखिन्न । आन्दोलनका समयमा  घोक्रो सुक्ने गरी उरालेका आदर्शपूर्ण नारा अहिलेसंकटमा परेका छन । उनीहरू स्वयम्ले कोरेका आदर्श समाजको चित्र तिनकै अगाडि धुमिल हुँदै गएको प्रतीत हुँदैछ ।

आर्थिक समृद्धि, विधिको शासन, सामाजिक न्याय, पारदर्शिता र मानव अधिकारको सम्मान लोकतन्त्रका मानिन्छन् । एक हिसाबले यी स्तम्भ फ्रान्सेली क्रान्तिको नीतिवाक्यको विस्तारित रूप हुन् । देशका राजनीतिक शक्ति र शासन सत्ताको बागडोर सम्हाल्नेहरूका कार्यशैली र व्यवहारले पूर्वोल्लिखित आदर्शतम् व्यवहारलाई अपेक्षित किसिमले आत्मासात गरेको पाइँदैन ।

सत्तारोहणमा रमाइरहेका राजनीतिक शक्ति जनअपेक्षा पूरा गर्ने दिशामा कुन हदसम्म अग्रसर छन् ? उनीहरू कुन राजनीतिक संस्कारका साथ अघि बढिरहेका छन् ? उनीहरू सत्तारुढ भएपछि समाजको बनिबनाउ सिँढीको तल्लो तहमा रहेका नागरिकले प्रष्टसँग सकारात्मक परिवर्तन अनुभूत गर्न पाए कि पाएनन् ? जनअपेक्षाको ग्राफ पूरा गर्न उनीहरू कत्तिको सफल भइरहेका छन् ? राष्ट्र र राष्ट्रियताका सवालमा कुन मनोवल र मनोभावका साथ मैदानमा उत्रिएका छन् ? अहिले यिनै प्रश्नहरूका उत्तर खोज्नुपर्ने बेला आएको छ ।

व्यवहारमा जनअपेक्षभन्दा भिन्न कुराले ठाउँ पाएका छन् । राजनीतिक चलखेलले न्यायालय पथभ्रष्ट बनेको समाचार बरोबर आइरहेका छन् । न्याय लजाउने किसिमका फैसला अदालतबाट भइरहेका छन् । यस्तो अवस्थामा शोषितपीडित नागरिकले न्यायको अन्तिम मन्दिरबाट कुन हदसम्म सही न्याय पाउलान् ? प्रश्न गम्भीर छ । सशस्त्र द्वन्द्वकालमा गम्भीर मानव अधिकार हननका दोषीहरूमाथि कारबाही हुन नसकेकाले द्वन्द्वपीडित नागरिक चरम पीडामा छन् । यहाँनेर, सामाजिक न्याय झुकेको देखिन्छ । अहिले संक्रमणकालीन न्याय ओझेलमा पर्दै गएको र द्वन्द्वपीडितले न्याय नपाउने वातावरण बनिरहेको चर्चा शिखरमा छ ।

विगतमा चर्को राष्ट्रवादको नारा उराल्ने शक्ति अहिले सत्तामा छ तर उसको राष्ट्रवादी चिन्तन व्यवहारमा प्रतिविम्बित भएको देखिँदैन । नेपाली भूमि एकपछि अर्को गरी मिचिँदै गएको प्रामाणिक अभिलेख छ । उसले यसबारे कहीँ कतै आवाज उठाएको पाइँदैन । बरू, यसबारे जनस्तरबाट आवाज बुलन्द भइरहँदा पनि राष्ट्रवादको नारा उराल्ने शक्ति एकदमै मौन देखिन्छ ।

देशमा आर्थिक प्रगतिको ग्राफ उकालो चढिरहेको तथ्याङ्क आइरहे पनि जनजीविकाको सवाल ज्यूँका त्यूँ छन् । सर्वसाधारण नागरिकले राहत अनुभूत गर्ने किसिमका प्रगति नभएको गुनासो यततत्र सर्वत्र छ । सत्तामा पुग्नेहरूले समाजवादी अर्थव्यवस्थाको खुबै बखान गरे पनि  देशको अर्थव्यवस्था भने एक पछि अर्को गरी  दलाल पूँजीवादी अर्थव्यवस्थातिर उन्मुख भइरहेको छ ।

सत्तारुढ राजनीतिक शक्तिले विगतदेखि नै राइँदाँइ गर्दै आएका दलाल र पूँजीपति वर्गको हितभन्दा अलि पर पुग्न आँट गर्न सकेको छैन । यसबाट जनआक्रोश थामिएको छैन । आजकल यस्तो टीकाटिप्पणी पनि सुनिँदैछ, २०६२/०६३ सालको राजनीतिक परिवर्तनले एउटा सुविधाभोगी वर्गलाई सत्तारोहण गराउने काम गर्‍यो । यसलाई मेटाउन सत्तारूढ राजनीतिक शक्तिले आफ्नो व्यवहार र कार्यशैली सच्याउनुपर्ने अवस्था आइसकेको छ ।

विश्व इतिहासमा विशेष ख्याल गर्नुपर्ने एउटा पक्ष छ । फ्रान्सेली क्रान्तिले राजतन्त्र ढालेको थियो तर पछि त्यही क्रान्तिको माध्यमबाट तानाशाहको उदय भयो । उनी थिए, नेपोलियन वोर्नपार्ट (सन् १७६९१८२१) । नेपालले पनि यस्तो नियति भोग्नु नपरोस् । लोकतान्त्रिक आन्दोलनबाट आएका राजनीतिक शक्तिको व्यवहारमा तानाशाहीपनले बास नगरोस् ।

अब राजनीतिक वृत्तमा आत्मामूल्याङ्कन र चारित्रिक शुद्धीकरणको खाँचो छ ।  देश र नागरिकको हितमा काम गर्ने हो भने उच्च नैतिक आदर्शले भरिएको राजनीतिक संस्कार विकास गर्नैपर्छ । कर्तव्यपरायणता र नीतिपरायणता राजनीतिक संस्कारको मूलबाटो बन्नैपर्छ । राजनीतिक वृत्तले यसलाई हृदयको गहिराइबाटै अनुभूत गरेपछि मात्र शहीदको सपना र नागरिकको अपेक्षा पूरा हुने बाटो खुल्छ ।

साभार : संवाद नेपाल । २०७५ साल माघ १५ गते ।

Saturday, January 19, 2019

नेपाली लोकगीतमा रेल

—यमबहादुर दुरा

यतिबेला रेलको प्रसंग चर्चाको चुलीमा पुगेको छ । चिनियाँ रेल, भारतीय रेल एवम् पूर्व-पश्चिम रेलको चर्चाले सार्वजनिक वृत्त रनक्क तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको देश विकासको अजेण्डामध्ये रेललाई पनि शीर्षअजेण्डाको रूपमा चित्रण गरिँदैछ । यतिबेला रेल देश विकासको विम्ब र मानक दुवै बनेको प्रतीत हुन्छ ।

अहिलेको नेपालमा ‘बजवर्ड’ बनेको छ, रेल । यद्यपि, नेपालीजनका लागि यो नयाँ विषय भने पटक्कै होइन । नेपालमा रेलको प्रसंग एक हिसाबले अचम्मलाग्दो पनि छ । देशको सरहद काटेर अन्यत्र पाइला नटेकेका नेपालीजन अझै पनि धेरै छन् । कतिपयले रेलको तस्बिर वा बढीमा टेलिभिजनमा मात्र रेल देख्न पाएका छन् । र पनि, रेलसँग अपरिचित नेपाली कोही नहोलान् । नेपालीजन र रेलबीच निकै पुरानो चिनजान छ । एक हिसाबले उनीहरूबीच पुस्तैनी नाता छ ।
तस्बिर साभार:  गुगल

रेल र नेपालीजनको नाता गाँसिदिने कामको श्रेय धेरै हदसम्म लोकगीतलाई जान्छ । नेपाली लोकगीतहरूमा वर्णित सवारी साधन रेलले सामान्यजनमा मोहभाव र कल्पनाशीलता बढाइदियो । यसबाट रेलै नदेखे पनि रेलमा दिल बस्न पुग्यो, नेपालीजनको । कोइलाले चल्ने दार्जिलिङको छुक्छुके रेल होस् वा गोरखपुरको रेल, धेरै नेपालीको मन रेलमा रमाएको छ ।

नेपालजनको मनमा रेल कसरी भित्रियो ? यो प्रश्नको उत्तर खोज्दै जाँदा मुगलान यात्रा र लाहुरे परम्परासम्म पुग्न सकिन्छ । परदेश जाने क्रममा मुगलानी र लाहुरेहरूले रेल देखे, रेल यात्राको अनुभव सङ्गाले । उनीहरूले घर फर्केपछि तिलस्मी शैलीमा रेलको वर्णन गरे । रोदीघर, मेलापात र सामाजिक जमघटमा रेलको वर्णन गरेर गीत गाए । त्यो वर्णन सुनेर रेलै नदेखेका गाउँघरका कल्पनाशील ढाक्रेहरूले पनि रेलको गीत रचे होलान् । त्यसलाई जनजिब्रोले टिप्यो । अनि हाम्रो पहाडी जनजीवनमा पनि रेल सर्वव्यापक बन्न पुग्यो ।

इष्ट इण्डिया कम्पनी सरकारले सन् १८१५ मा नै गोर्खा पल्टन खोलिसकेका थिए । यस दृष्टिले लाहुरे संस्कृतिको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । यो भन्दा पनि पुरानो इतिहास छ, मुगलानीहरूको । भारतका मुगल राजाहरूका दरबारमा सेवा गर्न पुग्नेहरू मुगलानी भनेर चिनिए । यस हिसाबले मुगलानीहरूको इतिहास थोरैमा पनि तीन सय वर्षको छ । अहिले पनि रोजगारीका लागि विदेश जानुलाई मुगलान जाने भनिन्छ । यद्यपि, मुगलान र मुगलानी शब्द प्रयोगबाट हराउँदै छ ।

पानीजहाज चढेर भारतमा शासन गर्न आइपुगेका अंग्रेजहरूले त्यहाँ सन् १८५३ देखि मालबहाक रेल चलाउन थालेको इतिहास भेटिन्छ । नेपालमा पनि सन् १९२७ मा रेल यातायात शुरु भएको अभिलेख भेटिन्छ । त्यतिबेला इष्ट इन्डिया कम्पनीले रक्सौल—अमलेखगञ्ज रेलवे निर्माण गरिदिएको थियो । यस हिसाबले नेपालमा रेलको इतिहास ९२ वर्ष पुरानो छ । साहित्यकार ध.च. गोतामेले ‘घामका पाइलाहरू’ मा नेपालमा रेलवे निर्माणको कथाव्यथा रोचक शैलीमा वर्णन गरेका छन् ।

धेरैजसो नेपालीले भारतमै रेल यात्राको अनुभव लिए । त्यसपछि उनीहरूको त्यो भोगाइलाई गीतमार्फत व्यक्त गर्न थाले । अनि शुरु भयो, रेलको गीत । पहिलो पटक कुन नेपालीले रेलको गीत गुनगुनाए ? यसको उत्तर समयको गर्तमा हराइसकेको छ । कतिपयले मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) ले पहिलो पटक रेलसम्बन्धी गीत गाइन् भनेका छन् । उनले ‘सवारी मेरो रेलैमा’ बोलको गीत गाएकी थिइन् । उनले रेलमा कलकत्ता आउजाउ गर्दाको अनुभव समेटेर कलकत्ताकै ‘हिज मास्टर भ्वाइस’ रेकर्डिङ कम्पनीमा गीत रेकर्ड गराएको भनिन्छ ।

तर, मेलवादेवी नै रेलबारे गीत गाउने पहिलो नेपाली हुन् भनेर दाबी गर्न कठिन छ । भारतमा यात्रुबहाक रेल अस्तित्वमा आउनुभन्दा धेरै अघिदेखि असंख्य मुगलानी र लाहुरेहरूले रेल यात्रा गरिसकेका थिए । त्यो अनुभवलाई लिएर उनीहरूका कल्पनाशील दिमागले केही कल्पेन वा कथेन भन्न सकिन्न । तर पनि रेलबारे गीत रेकर्ड गराउने चाहिँ मेलवादेवी पहिलो नै नेपाली हुन सक्छिन् ।

घरको दुःखले मुगलान पस्ने असंख्य स्वप्नजीवी नेपाली युवाको कहानीलाई पनि रेलको इञ्जिनले तानेर सँगसँगै अघि बढउँछ । ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘आज त गुँदरीमाथि भोलि त छे बजे रेलैमा’, ‘गयो माया लाहुरे हुनलाई, रेलको झ्यालमा बसेर रुनलाई’ जस्ता गीतहरूले मुगलानसँग जोडिएको नेपालीजनका दारुण कहानी पस्किएका छन् ।

कतिपय लोकगीतले मातृभूमिको जीवन भोगाइ र पराइभूमिसँगको अपेक्षा, शंशय, कौतुहलता र विरोधाभाषका कहानी ओकल्छन् । यस्ता गीतको गीतको एउटा हरफले स्वदेश विचरण गर्छ भने अर्को हरफले विदेश । ‘यो मायाले जाऊँ भन्थ्यो रेलैमा, धान काटेर दाइँ  हाल्ने बेलैमा’, ‘यो मायाले जाउँमात्रै भन्छ, रेलले तान्छ काँ लान्छ काँ लान्छ’, ‘यो गाउँमा बसेर म दिक्कै, जान्छु म त रेलको लिकलिकै’ जस्ता लोकअभिव्यक्तिमा आधा स्वदेश र आधा विदेशका जीवन भोगाइ प्रतिविम्बित छन् ।

माया-मोहब्बत, प्रेमालाप, प्रेमिल निष्फिक्रीपनजस्ता सर्वजनीन प्रसंग लोकगीतमा नआउने कुरै भएन । झन, त्यसमा रेल जोडिन आइपुग्दा भावनाको गंगा सलल बग्न थाल्छ । ‘रेललाई तान्यो रेलैको माउले, मलाई तान्यो हितैको मायाले’, ‘आजैको रात मायाको काख, भोलि त रेलैमा’, ‘लाको खेती जो खाला खाला, जाऊँ हिँड रेलैमा सलल’ जस्ता गीतले हरेकलाई भावगंगाको नौकाबिहार नगराई छाड्दैन ।

यता, गीतको थेगोको रूपमा रेल अनायसै जोडिन आइपुगिहाल्छ  । ‘रेलको टेसनैमा’, ‘जाऊँ रेलमा सलल’, ‘फूलमाया रेलैमा ', ‘जाउँला रेलैमा’, 'जाउँ जाउँ रेलैमा'  जस्ता थेगोले नेपाली लोकगीतले पाइला-पाइलामा रेललाई पछ्याइरहेको अनुभूति मिल्छ । यी थेगोले लोकगीतलाई रेलजस्तै सलल बग्न सघाएका छन् ।

पूर्वोल्लिखित प्रसंग विशाल पृथ्वीको सानो कणजस्तो मात्रै हो । लोकगीतको अथाह भण्डारमा रेलको स्थान एक हिसाबले सानो हिस्साजस्तो देखिए पनि यो विषय सानो वा चनचुने होइन । त्यसमा पनि समयको लामो कालखण्डमा एकपछि अर्को गरी थुप्रिँदै आएका अनुभूतिको भकारी एक धक्कामा फोर्न सकिँदैन । समयान्तरमा पत्रे-चट्टानझैं थुप्रिएका पुस्तौं-पुस्ताका अनुभूतिका पत्रहरू एक चुड्कीमा उजागर हुने कुरै भएन । यसले धैर्यवान् प्रयत्नहरू माग गर्छ ।

नेपाली लोकगीतमा रेलको प्रवेश र यसले लोकअभिव्यक्तिमा पारेको प्रभाव अनुभूतिका पत्रे-चट्टान हुन् । यसबारे व्यापक खोज–अनुसन्धान अपेक्षित छ । अथक प्रयत्न रहेमा नेपाली लोकगीत र रेलबीचको अन्तरसम्बन्धका धेरै आयाम र पाटा खोतल्न र सहयोग पुग्छ, जसबाट सार्वजनिक सम्पत्तिको रूपमा रहेको लोकगीतलाई थप समृद्ध बनाउन सहयोग पुग्नेछ ।

[साभार : गोरखापत्र । २०७५ साल माघ ५ गते ।(सामान्य परिमार्जनसहित) ।]

Tuesday, January 1, 2019

सन् २०१८ लाई सरसर्ती नियाल्दा


-यमबहादुर दुरा

समय निरन्तर गतिवान् छ । समयको गतिशीलतासँगै क्यालेण्डरका पानाहरू पल्टिने क्रम जारी छ । यही क्रममा सन् २०१८ का सम्पूर्ण पाना पल्टिसके । अब सन् २०१८ का लागि निर्मित क्यालेण्डरको हैसियत ऐतिहासिक दस्ताबेजभन्दा बढी रहने छैन । यस लेखमा हामीमाझबाट अलग्गिएर भर्खरैमात्र अतीत बनेको सन् २०१८ लाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विश्व राजनीतिक रङगमञ्चमा घटित विभिन्न घटनाक्रमका बीचमा नेपालले पनि आफ्नो स्थान सुरक्षित राख्यो । संघीयता लागू हुने चरणमा रहेको अवस्थामा भएको निर्वाचनमा नेपालमा कम्युनिष्ट घटकले  दुई-तिहाइ बहुमत प्राप्त गरे । नयाँ वर्षको पूर्वार्द्ध(फेब्रुवरी १५) मा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टको एकमना सरकार बन्यो ।

सन् २०१८ भरि नै दक्षिण अमेरिकाको कम्युनिष्ट मुलुक भेनेजुएला चर्चामा रह्यो । आर्थिक मन्दी झेलिरहेका भेनेजुयाली नागरिकले हैरानी खेपिरहे । हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेपछि त्यहाँका नागरिक देश छाडेर छिमेकी मुलुकमा जाने क्रम चलिरह्यो । टेलिभिजनका पर्दा र अखबारका पानाहरू त्यहाँका नागरिकले झेल्नुपरेको अर्थतन्त्रसँग सम्बन्धित पीडाका अनन्त र अवर्णनीय कथाबाट रङ्गिरहे ।


भेनेजुएला सन् २०१० देखि निरन्तर आर्थिक संकटमा फसिरहेको छ । त्यहाँको मुद्रा बोलिभार चर्को किसिमले अवमूल्यन भइरह्यो । महंगीले सर्वसाधारण नागरिकको ढाड सेकाइरह्यो । सँगसँगै बेरोजगारी पनि उर्लिएर गयो । नागरिकले भोगेका आर्थिक मारबाट मुक्ति दिलाउन सरकारले ठूलो मूल्य (एक लाख) को मुद्रा निष्काशन गर्नेलगायतका धेरै कदम चाल्यो । तर ती सबै प्रयास प्रभावहीन बने । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको कम्युनिष्ट सत्ता जनआक्रोशको केन्द्र बनिरहे ।


दक्षिण अमेरिकीका अर्का कम्युनिष्ट मुलुक क्युबा पनि एक मन्द तर जबरस्त राजनीतिक परिवर्तनबाट गुज्रियो । राउल क्याट्रोले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरे । उनी फिडेल क्यास्ट्रो (सन् १९२६—२०१६) का भाइ हुन् । क्रान्तिकारी छवि बनाएका फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्ममा निरन्तर सत्तामा रहे, जसले अमेरिकासँँग सधैँभरि टक्कर लिइरहे ।

यी कम्युनिष्ट तानाशाहका अडानलाई धेरैले पहरोसँग कुइनो जुधाएको भनेर टिप्पणी गरिरहे तर कहिल्यै हार्न नजान्ने उनको आँटप्रति विश्वसमुदाय दङ्गदास बनिरह्यो । उनै क्रान्तिकारी व्यक्तित्वका भाइ दाइको ठाउँमा आसिन रहे । अन्ततः राउल क्याट्रोले पनि पूर्वघोषित रूपमा अप्रिलमा पदत्याग गरे । यससँगै क्युबामा लगभग छ दशक लामो क्याट्रो युगको अन्त्य भयो । त्यहाँ राजनीतिक व्यवस्था नबलिए पनि वंश भने बदलियो ।

प्रेम र घृणाको सम्बन्धमा रहेका विश्व शक्तिसम्पन्न मुलुक चीन र अमेरिकाको साइनोले सन् २०१८ मा अलिक परक धार समात्यो । विगतमा चीनमा मानव अधिकारको कमजोर रेकर्ड, तिब्बत तथा ताइवानको स्वतन्त्रताजस्ता मामिलालाई अमेरिकाले जोडतोडका साथ उठाउँथ्यो । चीनले त्यसको प्रतिवाद गर्नमै समय खर्च गर्‍थ्यो ।

 मूलतः राजनीतिक मामिलामा रस्साकसी चल्ने यी शक्तिसम्पन्न मुलुकका लागि यस पटकचाहिँ अर्कै विषय शिरदर्द बन्यो । त्यो हो, व्यापारिक विषय । यद्यपि, व्यापारलाई पनि राजीतिकै हिस्सा मान्न नसकिने होइन । चीन र अमेरिका आफैंमा ठूला व्यापार साझेदार हुन् । व्यापारिक वस्तुहरूमा लगाइने करको विषयलाई लिएर दुई मुलुकबीच चर्काचर्की भइरह्यो, भनाबैरी चलिरह्यो । व्यापारिक मामिलाबाट विकसित यस घटनाक्रम ‘व्यापार युद्ध’ नामले परिचित छ ।


सूचना प्रविधिको दुनियाँ सन् २०१८ चर्चाभन्दा बाहिर रहन सकेन । बेलायतस्थित राजनीतिक परामर्शदाता संस्था 'क्याम्ब्रिज एनालिटिका' ले लाखौं प्रयोगकर्ताको प्रोफाइलबाट निजी जानकारी लिएको भेद खुल्यो । यस प्रकरणमा नितान्त राजनीतिक प्रयोजनका लागि लाखौं मानिसका व्यक्तिगत विवरण अनुमतिबिनै प्रयोग गरिएका थिए । यो घटनाले 'फेसबुक' लगायतका सामाजिक सञ्जालबाट मानिसको गोपनीयता जतिबेला पनि भङ्ग हुनसक्छ भन्ने सन्देश दिएको छ ।

बेलायती राजखानदान चर्चाबाहिर रहन सक्दैन । राजकीय जीवनमा धेरै उतारचढाव व्यहोरेको बेलायतको राजखानदानका लागि सन् २०१८ उल्लेखनीय रह्यो । कतै प्रशंसा त कतै आलोचना भोगेका राजकुमार ह्यारीले यसै वर्षको मे १९ तारिखमा घरबार जोडे । लामो प्रेम प्रसंगपछि उनले अमेरिकी अभिनेत्री मेघन मार्कललाई जीवनसाथी रोजे, जो  अगाडि नै वैवाहिक जीवन भोगिसकेकी थिइन् । उनै अभिनेत्रीसँग राजकुमार ह्यारी एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिए ।

विवादास्पद जीवनशैलीका कारण असीमित मिडिया कमरेज पाएकी बेलायती राजकुमारी डायनाका छोरा भएकाले पनि हुनसक्छ, ह्यारीको वैवाहिक प्रसंग निकै चर्चामा रह्यो । यद्यपि, ह्यारी स्वयं धेरै हिसाबले सेलिब्रिटी हुन् । उनको चर्चाका लागि उनको कर्म नै काफी छ ।

सधैँभरि सत्ता र शक्तिको वृत्तमा  घुमिरहने रुसी राजनीतिज्ञ भ्लादिमिर पुटिन यस वर्ष पनि चर्चामा रहे । कहिले अमेरिकासँग पौठेजोरी खेलेर त कहिले आन्तरिक राजनीतिक बाघचालमा बाजी मारेर उनी बरोबर चर्चामा आइरहन्छन् । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै सन् सन् १९९९ देखि निरन्तर सत्ता र शक्तिमा रहिरहेका पुटिन मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्लो घटनाक्रमले उनको राजनीतिक सौर्यको थप परिचय दिएको छ ।

उता, लामो समयदेखि एकअर्काविरुद्ध धम्कीको भाषा बोलिरहने उत्तर कोरिया र अमेरिकाको सम्बन्धले सन् २०१८ नयाँ मोड लियो । यी दुई मुलुकले दुनियाँलाई चकित तुल्याउने गरी मित्रताको हात बढाए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा जुन १२ तारिखमा भेटवार्ता गरे । एकअर्कालाई देखिनसहने यी नामुद दुस्मनहरूले अंगालो हालेका र हात मिलाएका तस्बिर र भिडियो फुटेज विश्वभर भाइरल भए ।

बर्माका रोहिज्या मुस्लिम समुदायले भोग्नुपरेका मानवीय समस्या सन् २०१८ मा पनि यथावतै रह्यो । सन् १९४८ देखि नै भुसको आगो बन्दै आएको रोहिज्या मामिला सन् २०१६ आगोको लप्काजस्तै बन्न थाल्यो । हिंसा चर्कन थाल्यो । उनीहरूमाथि हिंसाको श्रृङ्खला चलिरह्यो ।
रोहिज्या समुदायका कतिपय सदस्यलाई जिउँदै जलाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए । हिंसाको श्रृङ्खला निरन्तर चुलिँदै जाँदा उनीहरू आफ्ना देशमा बस्नै नसक्ने भएपछि देश छाड्न बाध्य भए । अहिले करिब सात लाखको संख्यामा रोहिज्या मुस्लिम छिमेकी देश बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अभिलेख छ ।

रोहिज्या मामिलामा वर्माका नेतृ आङसाङ सुकी नराम्ररी तानिइन् । उनीमाथि रोहिज्या समुदायले भोग्नुपरका मानवीय संकट समाधानका लागि उचित प्रयास नगरेको मात्र होइन, बेवास्ता गरेको आरोपसमेत लाग्न थाल्यो । यसले उनको उज्यालो छवि धुमिल बनायो । अन्तर्राष्ट्रिय समुदायमा उनको व्यापक आलोचना शुरु भयो । उनले पाएका मानसम्मान खोस्नुपर्ने माग उठ्न थाल्यो ।

नभन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई दिएको सम्मान फिर्ता लिएको घोषणा गरे । ती संस्थाले उनलाई जसरी सम्मान गरे, त्यसरी नै अपमान पनि गरे । यसबारे उनको धारणा बाहिर आएको पाइँदैन । तर एक समयमा मानव अधिकार र लोकतन्त्रका प्रतिमूर्ति मानिएकी आङसाङ सुकी हेर्दाहेर्दै एक बदनाम पात्र बन्न पुगिन् ।

उनको बद्नामी यतिसम्म चुलियो, शान्तिका लागि सन् १९९१ मा प्राप्त गरेको नोबेल पुरस्कार समेत फिर्ता गर्नुपर्ने माग उठ्यो । तर नर्बेजियन नोबेल पुरस्कार कमिटिले स्पष्ट भाषामा भन्यो—दिइसकिएको नोबेल पुरस्कार फिर्ता लिइने छैन ।

यसले अतिकति भए पनि उनको इज्जत जोगाइदियो ।

अक्टोबर महिनामा साउदी पत्रकार जमल खसोगी (सन् १९५८—२०१८) को रहस्यमय परिस्थितिमा हत्या भयो । शुरुमा साउदी राजघरानासँग नजिकको सम्बन्ध रहेका खसोगीको पछिल्लो समयमा सम्बन्ध चिसिएको थियो । उनले राजघरानाविरुद्ध ‘वासिङटन पोष्ट’ अखबारमा लेख्दै आएका थिए ।

उनको हत्याकाण्डले आलोचना सुन्न नचाहने वर्ग र अभिव्यक्ति स्वतन्तत्राका पक्षधरबीच विद्यमान खाडललाई प्रष्ट्याउँछ । आफ्नो ज्यानलाई ताकमा राखेर भए पनि विचार राख्ने आँट गरेकोमा ‘टाइम’ म्यागजिनले खसोगीलाई  सन् २०१८ को 'वर्ष पुरुष' घोषण गर्‍यो ।

सन् २०१८ निख्रिँदै गर्दा दक्षिण एशियाली मुलुक बंगलादेश राजनीतिक सरगर्मीले तातिन पुग्यो । त्यहाँ भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजिद लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री क्रममा  छिन् । निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाभन्दा  बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्ष दलले पुनः निर्वाचन माग गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरिदिएको छ ।

असंख्य उथुलपुथुलपूर्ण घटनाक्रमहरूलाई समयको गर्तमा  धकेलेर सन् २०१८ अतीतका पानामा समाहित भइसकेको छ । अहिले क्यालेण्डरको पाना पल्टिसकेको छ । नयाँ वर्ष २०१९ हामी समक्ष हाँजिर भइसकेको छ । यो वर्ष आशा र भरोसाको उर्वर कालखण्ड बनोस् । आशाहरू फक्रिँदै जाउन्, निराशाहरू मेटिँदै जाउन् । सबैमा शुभकामना !

[साभार: संवाद नेपाल । २०७५ साल पुस १७ गते । तस्बिर: गुगल]