Thursday, September 27, 2018

सस्तिएको मान पदवी

-यमबहादुर दुरा

व्यवस्था बदलियो तर शासकको संस्कार बदलिएन । पञ्चायतकालीन शैलीमा वितरण गरिएका विभूषण पाउनेहरूको लर्कोले यस्तै अनुभूत गर्न बाध्य तुल्याउँछ । पञ्चायतकालमा दलविहीन पञ्चायती व्यवस्थाका पृष्ठपोषक, रानी र राजका भाइ-छोरालाई निर्लज्ज किसिमले विभूषण दिइन्थ्यो । त्यो अर्कै युग थियो । तर देश लोकतान्त्रिक युगमा प्रवेश गरिसक्दा समेत पुरानै परिपाटी कायम हुनुलाई भने कुनै पनि अर्थमा जायज मान्न सकिन्न ।

राज्यले दिने विभूषण न चानचुने हुन्छ, न त चानचुने योगदान दिने व्यक्तिलाई नै दिइन्छ । जो पायो उही विभूषणको भागिदार बन्न सक्दैन, बन्नु पनि हुँदैन । ‘विभूषण ऐन, २०२६४’ ले नेपाल सरकारले राष्ट्रिय जीवनमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने नेपाली नागरिकलाई विभूषण प्रदान गर्न सकिनेछ भन्ने उल्लिखित छ ।

ऐनमा प्रयोग भएको ‘विशिष्ट योगदान’ शब्दावलीले विभूषण पाउने व्यक्तिको योगदान चानचुने हुनुहुँदैन, उच्चस्तरको हुनुपर्छ भन्ने स्पष्ट पार्छ । तर विभूषण पाउनेको सूचीमा रहेका कतिपय व्यक्तिको योगदान र पृष्ठभूमि त्यस्तो देखिन्न । देशका लागि ‘विशिष्ट योगदान’ दिनेले भन्दा पनि पहुँचवाला नेताको अघिपछि भएर रिझाउन सक्नेले विभूषण पाएको जनगुनासो अखबार र सोसल मिडियामा छताछुल्ल छन् ।

सरकारले लोकतन्त्रको मर्मविपरीत मान पदवी वितरण गरेकोमा असहमति जनाउँदै राजनीतिक विश्लेषक झलक सुवेदी लेख्छन्, 'सरकारले गणतन्त्र दिवसका दिन वितरण गरेका केही उच्च मान पदवी पाउने गणतन्त्र, संघीयता र धर्म निरपेक्षताप्रति विमति राख्ने पञ्चायती विचारका पक्षपोषकको नाम देख्दा यो सरकार वैचारिक धरातल ठम्याउन मुस्किल पर्छ' (नयाँ पत्रिका, असोज ११, २०७५, पृ.४) ।

विभूषण पाउने व्यक्तिको नाम सुन्दा श्रद्धाले शिर निहुरिने किसिमको हुनुपर्छ । यो सामान्य सामाजिक मनोविज्ञान हो । तर यसविपरीत कुकृत्यमा चुर्लुम्म डुबेका कतिपय व्यक्तिले समेत विभूषण पाएका कयौं दृष्टान्त छन् । विभूषण पाउनेको सूचीमा त्यस्ता व्यक्तिको नाम पनि परेको छ, जसको कुकृत्य सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । राज्यले ‘चोरलाई चौतारो’ दिएको तथ्य ‘खुला रहस्य’ नै बनिसकेको छ । यसबाट लोकतन्त्रको उपहास भइरहेको छ ।

अझ रमाइलो पक्ष त के छ भने उपयुक्त पात्र नभेटिएकाले ‘राष्ट्रगौरव पदक’ बाट यस वर्ष कसैलाई पनि सम्मान नगरिने खबर आयो । यसले देशका स्वाभिमानी नागरिकलाई हदैसम्म अपमान गरेको छ । ‘लो प्रोफाइल’ मा बसेर लोकहितैषी काम गर्ने स्वाभिमानी र कर्तव्यपरायण नागरिक पनि यो देशमा छन् । यो कुराको हेक्का राज्यलाई हुनुपर्ने हो । देशको सेवामा जुटेका त्यस्ता नागरिकलाई देख्न राज्यले तेस्रो आँखा प्रयोग गर्नुपर्छ, शासकीय विवेक प्रयोग गर्नुपर्छ । दूरदराज बसेका र मिडियामा नआएका त्यस्ता राष्ट्रसेवक सजिलै सतहमा देखा पर्दैनन् ।

आत्मस्वाभिमानको भएको कुनै पनि व्यक्तिले ‘मलाई विभूषण देऊ’ भन्न जाँदैन, न त कुनै नेता सामु झुकेर सिफारिसका लागि अनुनय–विनय नै गर्छ । त्यस्ता व्यक्तिलाई विभूषण दिइहाले पनि सजिलै ग्रहण गरिहाल्छ भन्ने पनि छैन । विभूषण पाउनलायक दुर्लभ प्रकृतिका कर्तव्यपरायण व्यक्ति पहिचान गर्ने र त्यस्ता व्यक्तिको अभिलेख राख्ने काम राज्यको हो । यसका लागि राज्यको संयन्त्र पूर्ण विवेकका साथ परिचालित हुनुपर्छ ।

दुर्भाग्यवश, राज्य यस्तो काममा विवेकपूर्ण ढङ्गले जुटेको पाइएन । आसेपासे र नजिकका हितैषीहरूको गणेशवृत्तमै राज्य-संयन्त्र रमाएको देखियो । वस्तुगत आधार र कारणबिनै आफ्ना गुटका व्यक्तिहरूलाई आभूषण दिने रोगले राष्ट्रिय स्वाभिमानलाई निल्दैछ ।

यसबाट पहुँचवाला नेताका बफादार कार्यकर्ता सम्मानित हुने र असल, योग्य र कर्तव्यपरायण व्यक्तिहरू घेराबाहिर पर्ने अवस्था पैदा भइरहेको छ । विभूषण पाउने कतिपयले आफ्नो कुनचाहिँ योगदानका लागि राज्यले सम्मान गरेको हो, त्यसबारे आफैं अनभिज्ञ हुने अवस्था छ । यसबाट राज्यको विवेकहीन र अराजक चरित्र चहकिलो बन्दै गएको छ ।

विभूषणकोको विकृत तस्बिर कोर्नमा राजनीतिक वृत्तको मात्र होइन, कर्मचारी वृत्तको पनि भयानक ठूलो हात छ । विगतमा कर्मचारीतन्त्रको माथिल्लो सोपानमा रहेका विशिष्ट व्यक्तिहरूले आफू स्वयं र आफ्ना नातागोतालाई सम्मान दिलाएका विवरण सप्रमाण आमसञ्चार माध्यममा आएका थिए । यसपटक पनि त्यही प्रवृत्ति दोहोरियो । यहाँनेर, त्यस्ता व्यक्तिको कार्य-व्यवहारप्रति गम्भीर किसिमको नैतिक र कानुनी प्रश्न उठ्छ । तर आफ्नो दुनो सोझ्याउनतिर लागेकाहरूको हुल ठूलो भएको बेलामा यस्ता इमान-जमानको कुरामा कसको ध्यान जाने ?

विभूषण पाउनेमा उच्च तहका कर्मचारीहरूको संख्या बढी देखिन्छ । पदीय हैसियतले उनीहरू आफ्नै हात जगन्नाथ गर्न समक्ष छन् । त्यही कर्मचारी वृत्तमा पनि तल्ला तहका कर्मचारी विभूषण पाउनबाट बञ्चित भएको अवस्था छ । सधैँभरि तल्ला तहका कर्मचारीको कामबाट प्रगति विवरण देखाउने उच्च तहका कर्मचारीहरू तल्ला तहका सहकर्मीलाई विभूषणको सिफारिस गर्न सानो मन गर्ने प्रवृत्ति छ । सिफारिस गरिहाले पनि आफ्नालाई मात्र गर्ने प्रवृत्ति कायमै छ । लोकतान्त्रिक परिपाटीमा पनि आफूभन्दा सानालाई सम्मान गर्ने परिपाटी हामीकहाँ बस्नै सकेन ।

अर्को कुरा, नागरिकले तिरेको तिरोबाट तलब खाने राष्ट्रसेवकले आफ्नो कामका लागि विभूषण पाउनुपर्छ भन्ने मनस्थिति लिएर बस्नु सधैँभरि जायज हुँदैन । यहाँनेर, तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी (सन् १९१७ - १९८४) का नजिकका सहयोगी मानिने पी एन हक्सर (सन् १९१३ - १९९८) को किस्सा सान्दर्भिक हुन आउँछ । इन्दिरा गान्धीको प्रधानमन्त्रीत्वको एक कालखण्डमा पी एन हक्सर प्रमुख सचिव (सन् १९७१ - १९७३) थिए ।

हक्सर आफ्नो कार्यकाल सकिएर सेवाबाट बाहिरने घडीमा इन्दिरा गान्धीले उनलाई भारतीय उच्च आभूषण ‘पदम विभूषण’ दिने मनाशय व्यक्ति गरिन् । हक्सरले त्यसको तत्कालै प्रतिवाद गरे । काम गर्नु आफ्नो जिम्मेवारी भएको, राज्यकोषबाट तलब खाएर काम गर्दा आफूलाई कुनै मानपद्वी आवश्यक नपर्ने र मानपद्वी दिएमा आफूलाई नितान्त असहज हुने उनले जवाफ दिएको प्रसंग भारतीय पत्रकार सौरभ द्विवेदी कोट्याएका छन् । कतिलाई यो किस्सा अति आदर्शवादी लाग्नसक्छ तर निष्ठावान् र नीतिपरायण व्यक्तिहरूका लागि यो नै गतिलो मार्गदर्शक सिद्धान्त बन्नसक्छ ।

राज्यले नागरिकलाई विभूषण दिनुको उद्देश्य हो, देशमा असल चरित्र निर्माणमा सघाउनु  । विडम्बनावश, विभूषण नै विकृतिको मुहान बन्न पुगेको छ । यही प्रसंगमा भूगोलविद डा. हर्क गुरुङ  (वि.सं. १९९५ - २०६३) को किस्सा पनि उत्तिकै ज्वलन्त छ । डा. गुरुङ विभूषणका विपक्षमा थिए । देशमा विभूषण पाउनेहरूको सूची हेर्ने हो भने नेपाल रामराज्य बनिसक्थ्यो भनेर उनले टिप्पणी गरेको प्रसंग बौद्धिक वृत्तमा चर्चित छ । डा. गुरुङ स्वयं विडम्बनाको शिकार भए । लोकतन्त्रको आगमनपछि उनलाई २०६९ सालमा ‘महाउज्जल राष्ट्रद्वीप’ मरणोपरान्त प्रदान गरियो ।

लोकधन खर्चेर दिइने विभूषणलाई व्यवस्थित र मर्यादित बनाउनै पर्छ । विभूषणका लागि नाजायज सिफारिसलाई दुरुत्साहन गरिनुपर्छ ।समाजमा उदाहरणीय काम गर्ने व्यक्तिहरूलाई खोजीखोजी विभूषण दिइनुपर्छ । यस्ता व्यक्ति राज्य-संयन्त्रको राडारमा नदेखिन सक्छन् । राज्यले देशका उदाहरणीय योगदान दिने व्यक्ति खोज्न शासकीय न्याय र विवेक प्रयोग गर्न सक्नुपर्छ । जो पायो उहीलाई विभूषण दिएर लोकधनको दुरुपयोग गर्ने र राष्ट्रिय लज्जा बढाउने काम तत्काल बन्द गर्नुपर्छ ।

अब राष्ट्रिय विभूषणको इज्जत बचाउनुपर्ने बेला आएको छ ।