Wednesday, September 22, 2021

अफगानी समाजमा महिला स्वतन्त्रताको मिसाल

 –यमबहादुर दुरा

‘कोइलाखानीमा हीरा पनि भेटिन सक्छ’ । बूढापाकाहरूको यो भनाइ अफगानिस्तानको सन्दर्भमा पनि लागू हुन्छ । गृहकलह र शक्तिशाली मुलुकहरूको पटक–पटकको हस्तक्षेपबाट जर्जर बन्न पुगेको अफगानिस्तान महिलामाथि हुने हरप्रकारका हिंसा र अमानवीय व्यवहारका लागि पनि कुख्यात बन्न पुगेको छ । 

अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूमा साथ देखाइने बुर्का लगाएका महिलाका ताँती, कट्टरपन्थी तप्काले महिलालाई सार्वजनिक स्थलमै हातपात गरेको दृश्य तथा महिला हिंसासम्बन्धी तमाम प्रतिवेदनहरूले अफगानिस्तान महिलाका लागि भयानक खतरनाक ठाउँ हो भन्ने प्रतीत हुन्छ ।

यो सामाजिक तस्बिर धेरै हदसम्म सही नै हो । तर, यो नै सम्पूर्ण वास्तविकता होइन । विगतमा त्यहाँका महिलाले स्वतन्त्रताको उपभोग गरेका बेमिसाल दृष्टान्त छन् । कुनै समयमा त्यहाँका महिलाहरूले युरोपेली महिला सरह स्वतन्त्रता उपभोगका गरेका सुन्दर उदाहरण पनि छ ।

इतिहासको पाना पल्टाउँदा अफगानी समाजमा महिलाले मीठो किसिमले स्वतन्त्रता उपभोग गरेका अध्यायहरू भेटिन्छन् । यही सिलसिलामा अफगानिस्तानका सुधारवादी राजा अमनुल्लाह खान (सन् १८९२–१९६०) लाई श्रद्धापूर्वक सम्झनुपर्ने हुन्छ । उनले सन् १९१९ देखि १९२९ सम्म राजाको रूपमा शासन गरे । 

अफगानी समाजमा सुधारवादी छवि निर्माण गरेका राजा अमनुल्लाह खान महिला स्वतन्त्रता र महिला शिक्षामा विशेष जोड दिए । उनले सार्वजनिक वृत्तमा महिलाको उपस्थिति बढाउने र महिलाको पोशाकमा सुधार ल्याउने कदम अघि बढाए । यतिमात्र होइन, उनले आजभन्दा एक सय वर्षअघि  सन् १९२१ मै बालविवाह, बलजफ्ती गरिने विवाह, पैसा तिरेर दुलही किन्नेजस्ता सामाजिक कुरीति अन्त्य गर्ने कानुन ल्याए ।

रानी सोयारा तार्जी

राजा अमनुल्लाह खानले महिलाहरूलाई बुर्का त्याग्न र पश्चिमी शैलीका पहिरनमा सजिन प्रेरित गरे । उनका रानी सोयारा तार्जी (सन् १८९९–१९६८) ले पनि कदममा कदम मिलाएर राजाको सुधारवादी आन्दोलनलाई खुल्ला दिलले साथ दिइन् । अफगानी रानी सोयारा तार्जी सार्वजनिक स्थानमा बुर्का उतारेर महिला स्वतन्त्रताको उदाहरण बनेकी थिइन् ।  

यसपछि राजपरिवारका महिला सदस्य र प्रधानमन्त्रीका श्रीमती र छोरी एवम् सरकारी कर्मचारीका श्रीमती तथा छोरीले पनि बुर्का लगाउन छाडे । उनीहरू परम्परावादी अफगानी समाजमा बुर्का त्याग्ने पहिलो लहरका महिला कहलिए । राजा र रानीबाटै साथ पाएपछि शहरी क्षेत्रका महिलाहरू बुर्काविहीन भएर सार्वजनिक स्थानमा देखा पर्न थालेका थिए ।

यसप्रकारको सुधारवादी आन्दोलनलाई अर्का राजनेता मोहम्म दाउद खान (सन् १९०९–१९७८) ले पनि असल आशयका साथ अघि बढाए । खानले सन् १९५३ देखि १९६३ सम्म प्रधानमन्त्रीको पद सम्हाले ।  आफू  प्रधानमन्त्री भएपछि उनले कट्टरपन्थी विचारधारालाई नकार्दै महिलाका पक्षमा सुधार ल्याए । 

एकपछि अर्को गरी सुधारवादी कदम अघि बढ्दा अफगानी समाजमा महिलाहरूको अवस्थामा व्यापक सुधार आउन थाल्यो । महिलाहरू वैज्ञानिक, सरकारी कर्मचारी, शिक्षक, चिकित्सकजस्ता पेशामा आउन थाले । त्यही समयको सेरोफेरोमा मिडिया र मनोरञ्जन उद्योगमा महिलाको उपस्थिति हुन थाल्यो । 

यही मेहोरमा सन् १९६० कै दशकमा रुक्साना नामले परिचित हमिदा असिल (सन् १९४०–२०२०) आफूतिर दुनियाँको ध्यान खिच्न सफल भइन् । उनले पहिलो महिला पप गायिकाको रूपमा आफ्नो सार्वजनिक चिनारी बनाइन् । उनी आफ्नो कला र गलाको माध्यमबाट चर्चाको शिखरमा पुगिन् । उनको ग्याल्मरयुक्त तस्बिर अखबारमा छापिए । बीबीसीमा अन्तरवार्ता दिइन् । 

पप गायिका रुक्साना

रुक्सानाले गायन क्षेत्रमा तहल्का मच्चाइरहेको बेला काबुलमा पश्चिमी जीवनशैलीको झल्को दिने नाइट क्लब र डिस्को खुल्न थाले, जहाँ मनोरञ्जन लिन पुग्ने प्रवृत्ति बढेर गयो । सन् १९६० देखि १९७० को दशकमा काबुलको रात्रिजीवन युरोपको कुनै शहरभन्दा कम नभएको पश्चिमी गोलार्द्धका लेखकहरूले चर्चा गरेका छन् । 

१९६० देखि १९७० को कालखण्ड अफगानिस्तान तुलनात्मक रूपमा शान्त मुलुक थियो । त्यसबेला त्यो मुलुक अर्को कारणले पनि चर्चित थियो । त्यो हो, ‘हिप्पी ट्रेल’ । त्यस कालखण्डमा अमेरिका, क्यानडा, बेलायतलगायतका हिप्पीहरू स्थलमार्ग प्रयोग गरेर टर्कीबाट इरान हुँदै अफगानिस्तान आइपुग्थे ।

अफगानिस्तानमा स्वतन्त्र किसिमले विचरण गरेपछि ती हिप्पीहरू पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । उनीहरू गाँजाजस्ता मादक पदार्थ सेवन गर्दै मानवतावादी दृष्टिकोणसहित स्वतन्त्र जीवन बिताउन रुचाउने समुदाय हुन् । 

हिप्पी समुदायले अफगानिस्तानलाई ‘हिप्पी ट्रेल’ को एउटा प्रमुख गन्तव्यको रूपमा रोज्नुले पनि त्यस समयको अफगानी जीवनशैलीमा स्वतन्त्रताको पारो बढ्दै गएको सङ्केत गर्छ । 

अफगानी समाज क्रमिक रूपमा स्वतन्त्रताको मार्गमा अघि बढिरहेकै बेला सन् १९७८ अफगानिस्तानमा कम्युनिष्ट शासकले सत्ता हातमा लिए । कम्युनिष्ट सत्ताले पनि महिला स्वतन्त्रतालाई कायमै राख्यो । कम्युनिष्ट प्रधानमन्त्री नुर महम्मद तरकी (सन् १९१७–१९७९) को सरकारले महिलालाई समान अधिकार दियो । तरकी नेतृत्वको सरकारले महिलालाई आफ्नो जीवनसाथी र जीवनवृत्ति (करिअर) रोज्ने अधिकार दियो ।

यस्तैमा सन् १९७९ सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्‍यो । यसपछि त्यहाँ दुःखका दिन शुरु भयो । देश युद्धभूमिमा परिणत भयो । महिला स्वतन्त्रतालगायत धेरै अधिकार कटौती हुन थाले । यसपछि अफगानी समाजमा फक्रँदै गएको महिला स्वतन्त्रता विस्तारै कृष्णपक्षको चन्द्रमा जस्तै बन्न थाल्यो ।

सन् १९२७ ताका अफगानी महिला

अफगानी भूमिमा सोभियत सैनिकको बुट बजारिएको एक दशकपछि सन् १९८९ अफगानिस्तानले सोभियत सङ्घको खुनी पञ्जाबाट मुक्ति पायो । तर, देशमा अशान्तिको आगो भने दन्किरह्यो । मुजाहिद्दीनजस्ता कट्टरपन्थी समूह जन्मिए । उनीहरूले देशमा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहे । यसबाट महिला सबैभन्दा बढी मारमा परे ।

मुलुक कट्टरपन्थीहरूको रणभूमि बनिरहेको बेला सन् १९९६ मा तालिबान नामक चरमपन्थीहरू शासनसत्ता हातमा लिन सफल भए । उनीहरूको शासन सन् २००१ सम्म जारी रह्यो । पाँच वर्षको अवधिमा धेरै कुरा बिग्रिसकेको थियो । महिला स्वतन्त्रता धेरै हदसम्म हरण भइसकेको थियो ।

यतिञ्जेलसम्म त्यहाँको सामाजिक जीवनमा धेरै नकारात्मक परिवर्तन आइसकेको थियो । महिलाहरूलाई पुनः बुर्काभित्रै लुकाउन थालियो । छोरीहरूलाई स्कुलबाट जबरजस्ती निकालेर घरको चौघेरामा सीमित तुल्याउन थालियो । कामकाजी महिलाहरूलाई पुनः घरगृहस्थीको युगमा फर्काइयो ।

दुई दशकको अवधिपछि उही चरमपन्थी तालिबानहरूको हातमा मुलुकको बागडोर पुगेको छ । उनीहरूको चरित्र र स्वभाव विगतको भन्दा केही सुध्रिएको हो कि भन्ने भनाइ पनि छ । तर, उनीहरूको व्यवहारमा कुनै तात्विक परिवर्तन आएकोचाहिँ देखिन्न ।


यस्तो विषम परिस्थितिमा विगतमा अफगानी महिलाहरूले उपभोग गरेको स्वतन्त्रता एउटा फगत क्षणभङ्गुरपूर्ण मीठो सपनाजस्तो मात्र देखिएको छ । स्वतन्त्रता उपभोग गर्ने अफगानी महिलाहरूको तिर्खा कहिले मेटिने हो ? यसको सहज उत्तर भेट्टाउन अतिशय कठिन छ । 

['फेसनको केन्द्र थियो अफगानिस्तान' शीर्षकमा युवामञ्च (असोज, २०७८) मा प्रकाशित ।  तस्बिर: गुगल । ]


Saturday, September 4, 2021

अफगानी संस्कृतिका निशानी

–यमबहादुर दुरा 

अफगानिस्तान । इतिहासको रक्तरञ्जित अध्यायबाट गुज्रिएको मुलुक । दुनियाँ समक्ष युद्ध, अशान्ति र असुरक्षाको कुरूप विम्ब बन्न पुगेको भूगोल । तर पनि, प्राचीन कला र संस्कृतिको वैभवशाली निशानी च्यापेर बसिरहेको एउटा सभ्यता । 

 शक्तिसम्पन्न मुलुकको हस्तक्षेप र गृहकलहको भुमरीमा परेर अफगानिस्तानले बम र बारुदसँग सामना गर्न परिरहेको छ । यही कारणले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बरोबर छाइरहने मध्यएशियाली मुलुक अफगानिस्तान फेरि पनि चर्चाको शिखरमा छ । 

 तालिबान (धार्मिक विद्यार्र्थी) नामले परिचित विद्रोही शक्तिले दोस्रो पटक सत्ता कब्जा गरेपछि अफगानिस्तानको भविष्यबारे विश्वव्यापी चिन्ता र चासो बढिरहेको छ । पटक पटक युद्ध र अशान्ति भोग्न अभिशप्त अफगानिस्तानको भविष्य फेरि पनि चौबाटोमा पुगेको छ । 

  अफगान रणभूमिको विगत 

 अफगानिस्तानका लागि युद्ध र हस्तक्षेप कुनै नयाँ विषय होइन । विगत दुई हजार वर्षभन्दा बढी समयदेखि यो मुलुकले युद्धको विभीषिका झेल्दै आएको छ । अफगानिस्तानको इतिहास लामो र जटिल छ । 

अफगानी भूमिमा भएको युद्धको सुदूरपूर्व इतिहासतिर फर्कँदा प्राचीन म्यासेडोनियन सम्राट अलेक्जेण्डर महानले इसापूर्वमा ३३० मा अफगानिस्तानमा आक्रमण गरेको इतिहास छ । यसपछि पनि समयको विभिन्न कालखण्डमा अफगानिस्तानले युद्धको मार निरन्तरजसो झेलिरह्यो । 

विभिन्न अरब शासकले इश्वीको सातौँदेखि नवौँ शताब्दीमा, मङ्गोल सम्राट चङ्गेज खानले तेह्रौँ शतब्दीमा, मुगल सम्राटहरूले चौधौँ र साह्रौँ शताब्दीमा र सिख राजा रञ्जित सिंहले उन्नाइसौँ शताब्दीमा अफगानिस्तानमा युुद्ध मच्चाएको ऐतिहासिक अभिलेख भेटिन्छ । 

 विगतमा अनेकन् शक्तिशाली शासनहरूको घोडचडी फौजले धावा बोलेको अफगानिस्तानमा आधुनिक समयमा पनि शक्तिसम्पन्न मुलुकहरूले निसाना बनाइरहे । उन्नाइसौँ शताब्दीमा बेलायत, बीसौँ शताब्दीमा सोभियत संघ र एक्काइसौँ शताब्दीमा अमेरिकाले एउटा–एउटा कुत्सित अभीष्ट राखेर अफगानिस्तानमाथि गोला–बारुद बर्षाए । 

यद्यपि, यी तीनवटै मुलुकले लज्जास्पद हार बेहोर्नुपर्‍यो । यी तीनवटै ‘मै हुँ’ भन्ने मुलुकले व्यहोर्नुपरेको लज्जास्पादहारबाट अफगानिस्तानको एउटा बेग्लै पहिचान बनेको छ । अफगानिस्तानलाई ‘साम्राज्यवादीहरूको चिहान’ भनेर पुकारिन्छ, जुन बहुधा अर्थपूर्ण र सान्दर्भिक प्रतीत हुन्छ । यो शब्दावलीले अफगानी नागरिकको जुझारुपनलाई पनि सङ्केत गर्छ ।


 वर्तमान तस्बिर 

अफगानी नागरिक जति नै जुझारु भए पनि वाह्य मुलुकको हस्तक्षेप र गृहकलहबाट मुलुक जर्जर बनेको छ । सोभियत कालकालदेखि अहिलेसम्मको युद्धमा बिछ्याइएकामध्ये एक लाख जति विष्फोटक पदार्थ (ल्याण्डमाइन) अझै पनि देशका विभिन्न भागमा छरिएर रहेका छन्, जसबाट समय–समयमा अनाहकमा सर्वसाधारणको ज्यान जाने गर्छ । 

 राष्ट्रसङ्घीय जनसंख्या कोषका अनुसार अफगानिस्तानको कुल जनसंख्या पुग–नपुग ४ करोड छ । मुलुकको जर्जर अवस्थाबाट वाक्क भएर देशै छाडेर जानेहरूको संख्या उच्च छ । यही आधारमा अफगानिस्तान विश्वकै ठूलो शरणार्थी उत्पादक मुलुक मानिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीको रूपमा दर्ता भएका नागरिकको संख्या २५ लाख छ, जुन वास्तविक संख्याभन्दा निकै कम मानिन्छ । 

 मुलुकमा भ्रष्टाचारको दर उच्च छ । यसबाट अन्तर्राष्ट्रिय मानकमा अफगानिस्तानको स्थान निकै तल पर्न गएको छ । ‘ट्रान्सप्यारेन्स इन्टरनेसन’ द्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार पारदर्शिता र आर्थिक सदाचारको कसीमा अफगानिस्तान १६५ औँ स्थानमा छ । 

 मानव विकासमा यो मुलुक पछाडि नै छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) का अनुसार अफगानिस्तानको मानव विकास सूचकाङ्कमा क्रमिक सुधार आए पनि अझै  धेरै सुधार हुन आवश्यक छ । अफगानिस्तानको मानव विकास सूचकाङ्क ०.५११ रहेको छ, जुन विश्व वरीयतामा १६९ स्थानमा पर्छ ।

युएनडीपीकै अनुसार अफगानिस्तानमा १३ प्रतिशत नागरिकले मात्र इन्टरनेट सेवा उपयोग गर्न पाएका छन्, जहाँ इन्टरनेट सेवा तुलनात्मक रूपमा महङ्गो पनि मानिन्छ । नागरिकमा मोबाइल फोनको पहुँच भने उत्साहप्रद छ । त्यहाँका त्यहाँका ९० प्रतिशत नागरिक मोबाइल फोनको पहुँच रहेको आँकडा छ । 

 अफगानिस्तानको साक्षरता दर ४३ प्रतिशत छ । यो मुुलुकले शिक्षामा सबै बालबालिकाको समान पहुँच बढाउन धेरै मेहेनत गर्नुपर्ने अवस्था छ । एक अनुमानअनुसार त्यहाँ ३ं७ लाख युवा शिक्षाको उज्यालो घामबाट बञ्चित भएका छन्, जसमा महिलाको हिस्सा ६० प्रतिशत हुन आउँछ । 

 अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बुर्का लगाएका अफगानी महिलाहरूको तस्बिर तथा भिडियो बारम्बार देख्दा धेरैलाई लाग्न सक्छ—विगतदेखि नै अफानिस्तान बुर्काभित्र गुटमुटिएको परम्परापरावादी मुस्लिम मुलुक हो । यो बुझाइ आंशिक सत्य हो । सन् १९७० को दशक अघि अफगानिस्तान महिलाहरू शहरिया महिलाहरू बुर्काबिनै हिँडडुल गर्न सक्थे, त्यहाँ खुलेका डिस्को र नाइट क्लबमा उनीहरू जान सक्थे । 

अफगानी समाजलाई नजिकबाट नियालिरहेका कतिपय मानिसका दृष्टिमा तत्कालीन अफगान भूमिको शहरी क्षेत्र युरोपजस्तै थियो । कतिपय अफगानी शासकहरू महिला अधिकारका पक्षमा खुलेर लागेको इतिहास भेटिन्छ । यसको एउटा दृष्टान्त राजा अमानुल्लाह खान (सन् १८९२–१९६०) हुन् ।

उनले महिलालाई बुर्काबाट छुटकारा दिएर पश्चिमी शैलीका पहिरनमा रमाउन प्रेरित गरेका थिए । मुजाहिद्दीन, तालिबानजस्ता कट्टरपन्थीहरूको हातमा शासन गएपछि अफगानी समाज पुनः ‘ब्याक गियर’ मा गएको प्रष्टै देखिन्छ । 

  रेशममार्ग 

प्राचीन रेशममार्ग (सिल्क रोड) को महत्त्वपूर्ण नाकाको रूपमा रहेको अफगानिस्तान नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो, जुन युरोप र एशियालाई जोड्ने योजक–भूमि मानिन्छ । समयको लामो कालखण्डमा रेशममार्गबाट व्यापारिक वस्तुकमात्र होइन, अनेकन् धर्म, कला र संस्कृति पनि आदानप्रदान भए । यस किसिमको आदानप्रदानको प्रतिविम्ब अफगानी संस्कृतिमा देखिन्छ । 

अफगानिस्तान युरोप र मध्यएशियाका लागि एउटा महत्त्वपूर्ण भौगोलिक कडी मानिन्छ, जहाँबाट पाकिस्तान, भारतलगायतका दक्षिण एशियाली मुलुक छिर्ने ढोका खुल्छ । बाटोघाटो उचित व्यवस्थान नभएको समयमा चर्चित युरोपेली व्यापारी, अन्वेषक तथा यात्री मार्को पोलो (सन् १२५४–१३२४) ले अफगानिस्तानसँग जोडिएको रेशममार्ग हुँदै भारत, मङ्गोलिया, चीनलगायतका एशियाली मुलुकको कष्टसाध्य यात्रा सम्पन्न गरे । 

उनको कायम गरेको कीर्तिमानीको गौरवगाथा इतिहासका पानाभरि भेटिन्छ । आधुनिक समयमा अफगानिस्तानलाई पश्चिमी गोलार्द्धमा चिनाउने काममा स्कटिस् अन्वेषक सर अलेक्जेण्डर बर्नस् (सन् १८०५–१८४१) नाम अग्रपंक्तिमा आउँछ । बर्नस्ले अफगानिस्तन, तुर्कमेनिस्तान तथा इरानको लामो र कष्टप्रद भ्रमणपछि सन् १८३५ मा ‘ट्रभल्स् इनटु बुखारा’ पुस्तक निकाले । 

 रोचक यात्रावृत्तान्तले भरिएको त्यो पुस्तक निस्केपछि उनी त्यस समयमा 'सेलिब्रिटी' नै बने । त्यस पुस्तकमार्फत् पश्चिमी दुनियाँले अफगानिस्तानलगायत मध्यएशियाबारे जानकारी प्राप्त गरे । यसभन्दा अघि अफगानिस्तानबारे पश्चिमा दुनियाँलाई धेरै कम जानकारी थियो भनिन्छ ।

 अथाह प्राकृतिक वैभव
 
 भौगोलिक दृष्टिले रणनीतिक अवस्थितिमा रहेको अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले पनि वैभवपूर्ण मानिन्छ । त्यहाँ फलाम, तामा, सुन, मार्बल, प्राकृतिक ग्याँस, कोइला, निकेल, कोल्बाटजस्ता प्राकृतिक स्रोतका लागि धनी मुलुक मानिन्छ । 

यतिमात्र होइन, विश्वकै दुर्लभ खजिन मानिने लिथियमको ठूला भण्डारमध्ये एक यही मुलुक मानिन्छ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट (अगष्ट १९, २०२१) मा प्रकाशित एक लेखका अनुसार अफगानिस्तान प्राकृतिक स्रोत–साधनका दृष्टिले अत्यन्त्य वैभवशाली भएर पनि अधिकांश नागरिक दैनिक दुई अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवन गुजारा गर्छन् ।

 मुलुक विद्यमान अथाह प्राकृतिक सम्पदालाई उपयोग गर्न सक्ने हो र शान्ति सुव्यवस्था कायम हुने हो भने एक दशकभित्रै अफगानिस्तान त्यस क्षेत्रको समृद्ध मुलुकमध्ये एक बन्न सक्छ भन्ने तथ्य लेखमा औँंल्याइएको छ । अफगानिस्तान नशालु पदार्थ अफिमको प्रमुख उत्पादक मानिन्छ, जुन अफगानी अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिन्छ । 

अफगान भूमिमा शक्तिशाली मुलुकहरूले अनेकन् बहानामा पटक पटक हस्तक्षेप गर्नुको मूल ध्येय त्यहाँ अथाह प्राकृतिक सम्पदा हत्याउनु हो भन्ने दृष्टिकोण राख्नेहरू पनि थुप्रै छन् । 

  प्राकृतिक तथा सांस्कृतिक सम्पदा 

अफगानिस्तान कम पानी पर्ने शुष्क जलयुक्त मुलुक हो । झलक्क हेर्दा त्यहाँको शुष्क जलवायुयुक्त प्राकृृतिक परिवेश उतिविधि चित्ताकर्षक देखिँदैनन् । तर पनि, अफगानी भूगोलमा लुकेर रहेको प्राकृतिक सौन्दर्य र मनमोहकपन अद्वितीय मानिन्छ । 

कतिपयले अफगानिस्तानलाई पृथ्वीको स्वर्ग मानेका छन् । भारतमा मुगल साम्राज्यको जग बसाल्ने बादशाह जाहिरूद्दीन मोहम्मद बाबर (सन् १४४३–१५३०) अफगानिस्तानको राजधानी काबुलको उच्च प्रशंसक मानिन्छन् । बाबरले सन् १५०४ मा काबुलमा विजयको ध्वजा फहपराएका थिए ।

 उनले आफ्नो आत्मावृत्तान्त ‘बाबरनामा’ मा काबुलको खुलेर प्रशंसा गरेका छन् । बाबर प्रकृतिप्रेमी थिए । उनले काबुलको हावापानी, भौगोलिक अवस्थिति, यस वरपर भेटिने चराचुरुङ्गी, नदी, तालतलैया तथा फलफूलबारे मीठो वर्णन गरेका छन् । 

उनले आफ्ना कृति ‘बाबरनामा’ मा काबुल वरपर अङ्गुर, कागती, अनार, आरु, स्याउ, आलुबखडा, बयर, बदाम, ओखर, सुन्तला आदि फलफूल पाइने र तिनीहरू हुने बेमिसाल सुस्वादु हुने चर्चा गरेका छन् । अनार अफगानस्तिानको चर्चित फल मानिन्छ । अफगानिस्तानलाई ‘अनारको देश’ भनेर पुकार्ने चलन पनि छ । 

एक तथ्याङ्कअनुसार अफगानिस्तानमा तरभुजा, अंगुरलगायतका विविध प्रकारका १५ लाख टन फलफूल प्रत्येक वर्ष उत्पादन हुने गर्छ । 

 काबुल बाबरले निकै मन पराएको ठाउँ थियो । उनले त्यहाँ १० वटा बगैचा बनाउन लगाए भनिन्छ । उनले बनाउन लगाएका एउटा बगैँचा बाग–ए–बाबर नामले परिचित छ । बाबरको बगैँचा ११.५ हेक्टरमा फैलिएको छ । बाबरको समाधि पनि यही बगैँचामा छ ।

 बाग–ए–बाबर विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ । बाबरको बगैँचा सन् १८४२ को भूकम्पबाट क्षतिग्रस्त बन्न पुग्यो । युनेस्कोले यसलाई जीर्णोद्दार गरेपछि सन् २००८ मा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो, जुन एउटा चुम्वकीय आकर्षणयुक्त गन्तव्य मानिन्छ । 

सन् २०१६ मा दश लाख पर्यटकले बाग–ए–बाबरको भ्रमण गरेका ‘फ्याक्टस्’ नामक वेबसाइटमा उल्लिखित छ । काबुलबाहेक कन्दाहार, मजार–ए–सरिफ, जलालावाद, बाख, हेरात, फैजावादलगायतका कैयौँ स्थानमा प्राचीन सभ्यताका डोबहरू भेट्टाउन सकिन्छ । 

यी स्थानको भ्रमण ऐतिहासिक तथा पूरातात्विक अन्वेषणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यसैगरी, संसारको छानो नामले परिचित पामिर, हिन्दुकुश पर्वत शृङ्खलाका अनेकन् भूखण्ड र अन्य विविधतायुक्त भूभाग पदयात्रा तथा दृश्यावलोकनका दृष्टिले मात्र होइन, प्राकृतिक सम्पदा र जीवनशैलीको अध्ययन–अन्वेषणका दृष्टिले परम महत्त्वपूर्ण गन्तव्य हुन् । 

  बामियान उपत्यको वैभव 

 बामियान उपत्यकाको शाब्दिक अर्थ हो, ईश्वरको उपत्यका । यो उपत्यका राजधानी काबुलबाट १३० उत्तर पश्चिममा हिन्दुकुश पर्वत शृङ्खलामा पर्छ । २५०० मिटर उचाइमा अवस्थित बामियान उपत्यका ऐतिहासिक तथा पूरातात्विक दृष्टिले अतिशय अर्थपूर्ण गन्तव्य मानिन्छ । 

 बामियन उपत्यकामा ईश्वीको पाँचौँ शताब्दीतिर निर्मित बुद्धको दुईवटा मूर्ति विशेष चर्चित छन् । ५५ मिटर र ३८ मिटर अग्लो मूर्तिले विश्वको ध्यान खिचेको छ । यी मूर्ति पहाडलाई खोपेर तयार पारिएका हुन् । सन् २००१ मा तालिबानले नष्ट गर्नुभन्दा अघि यी मूर्ति विश्वकै अग्लो र पुरानो बुद्धमूर्ति मानिन्थ्यो । 

बानियाम उपत्यकामा निर्मित अग्लो मूर्तिको उचाइलाई बीस तला अग्लो भवनसँग तुलना गरिन्छ । आधुनिक यन्त्र–उपकरण र प्रविधि विकास नभएको त्यस युगमा यसप्रकारका अद्भूत कलाकृति सिर्जना हुनु निश्यच नै अनौठो घटना हो, जुन अन्वेषकहरूका लागि दिमाग रन्थन्याउने विषय बन्दै आएको छ । 

 बामियान उपत्यकामा यी दुई बुद्धमूर्तिका अतिरिक्त अरू साना मूर्तिहरू छन् । थुप्रै गुफा पनि छन् । ती गुफामा तैलचित्रहरू छन्, जुन विश्वको पुरानो तैलचित्रमध्येकै मानिन्छन् । बामियान उपत्यकामा लोपोन्मुख अवस्थामा रहेका यस्ता सांस्कृतिक तथा पूरातात्विक वस्तुले प्राचीन समयको सांस्कृतिक वैभवबारे मुकभाषामा वर्णन गरिरहेका छन् ।

 हिप्पी ट्रेल 

अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार अमेरिकी मूलधारको समाजभन्दा भिन्न जीवनशैली अपनाएका शान्तिप्रेमी र मानवतावादी दृष्टिकोणका हिमायतीहरू नै हिप्पी हुन् । अरूको भन्दा बेग्लै खालको पहिरनमा हिँड्नु, लामो–लामो कपाल तथा दाह्रीजुँगा पाल्नु तथा गाँजाजस्ता लागू औषध प्रयोग गर्नु उनीहरूको थप परिचय हो । 

 सन् १९५० को मध्यदेखि १९७० को दशकसम्म कायम रहेको हिप्पी आन्दोलन जारी रह्यो । यस आन्दोलनमा अमेरिका, क्यानडा तथा बेलायतका युवाहरूको संलग्नता रह्यो । ती युवा युरोप हुँदै एशियाको भ्रमण गरेर जीवनको आनन्द लुट्दै हिप्पी आन्दोलनको सन्देश प्रवाह गर्थे ।

 त्यस कालखण्डमा पश्चिमाहरू टर्कीबाट स्थलगत यात्रा शुरु गरेर इरान, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बंगलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । 

यो रुट ‘हिप्पी ट्रेल’ नामले परिचित थियो, जुन एक समयमा ज्यादै चर्चित थियो । यसरी स्थलगत यात्रा गर्नु वैकल्पिक पर्यटनको अभ्यास पनि थियो । ‘हिप्पी ट्रेल’ मा पर्यटकहरू हिँड्ने समयमा अफगानिस्तान सापेक्षित रूपमा शान्त देश मानिन्थ्यो । 

विविधतापूर्ण भूगोल, मौलिक जीवनशैली, गाँजा–अफिमजस्ता लागू पदार्थको उपलब्धताजस्ता कारणले हिप्पीहरूका लागि अफगानिस्तान आकर्षक गन्तव्य मानिन्थ्यो । 

  अफगानी सङ्गीत 

अफगानिस्तानमा पस्तुन, ताजिक तथा हजारा समुदायमा प्रचलित परम्परागत भावप्रधान रैथाने गीत–सङ्गीत निकै लोकप्रिय मानिन्छन् । अफगानी सङ्गीतमा भारतीय, इरानी तथा अरबी सङ्गीतिक ढबको प्रभाव पनि देखिन्छ । समयको प्रवाहसँगै अफगानी सङ्गीतमा रक तथा पप सङ्गीत पनि भित्रिएको छ । 

आधुनिक इतिहास नियाल्दा सन् १९५० देखि १९७० को कालखण्डलाई अफगानी सङ्गीतको स्वर्ण युग मान्न सकिन्छ । सन् १९९६ मा तालिबानी युग शुरु भएपछि सङ्गीतकर्मीहरूमाथि कुटपिट तथा गीत–सङ्गीत सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध हुन थालेपछि कतिपय सङ्गीत देश छाडेर भागे । 

तालिबानी युग (सन् १९९६–२००१) अफगानी साङ्गीतिक परिवेशका अँधेरो युग मानिन्छ । अब, फेरि पनि तालिबानी युग नै शुरु भएको अवस्थामा अफगानी सङ्गीतको भविष्य फेरि पनि दोबाटोमा पुगेको छ । 

  बिसौनी 

 अफगानिस्तानको शासनसत्तामा फेरि पनि तलिबानको हातमा गएको छ । रजगज शुरु भएको छ । यसपटक उदारवादी चेहरा देखाउने प्रयास गरेको छ । अब, पुरानो सभ्यतासँग जोडिएको विराट अफगानी समाज उही बुर्का र लामा लामा दाह्री जुँगाको युगमा फर्कन्छ वा नयाँ सुधारका साथ लोकतान्त्रिक तरिकाले अघि बढ्छ ? अफगानी नागरिकको भविष्यसँग जोडिएको यो प्रश्नको उत्तर समयले मात्र दिन सक्नेछ ।

[गोरखापत्र (शनिवार) । २०७८ साल भदौ १९ गते । ]