Sunday, December 22, 2013

नेपाली लोकगीतको मर्म

–यमबहादुर दुरा

 लेक–बेंसी, भरा–पर्म, ढिकी–जाँतो, उकाली–ओराली, देउराली–भञ्ज्याङ, पाखा–पखेरा, गोठ आदिबाट ग्रामीण जीवन परिवेशित हुन्छ । यही व्यापक परिवेश र पृष्ठभूमिमा लोकगीतको जन्म हुन्छ । लोकगीत बहुप्रचलित एवम् प्राचीन  कर्णप्रिय संगीत हो । यसले ग्रामीण जनजीवनको प्रतिनिधित्व गर्छ । त्यसैले लोकगीतलाई ग्रामीण जनजीवनको ढुकढुकी भन्ने गरिन्छ । आधुनिक गीतमा जस्तो लोकगीतमा रचनाकार हुँदैन । सिङ्गो लोक वा समाज नै लोकगीतको रचनाकार मानिन्छ । लोकगीत कहिलेदेखि प्रचलनमा आयो भन्ने विषयमा विद्वानहरू एकमत देखिँदैनन् । तैपनि मानव सभ्यताको उत्पत्तिसँगसँगै लोकगीतको जन्म भएको मानिन्छ ।
लोकगीत जति मार्मिक छ, त्यति नै सरल, सरस र बोधगम्य पनि छ । निरक्षर मानिसले पनि लोकगीतको भावना र छनक सजिलै बुझ्न सक्छन् । गाउँघरका लोकगायक तथा लोकगायिकाहरूले नदी बगेभैmँ अबिराम गीत गाउँछन् । लोकगीतको खाल जमेको ठाउँमा बालकदेखि बृद्धसम्मका मानिसहरू झुम्मिन्छन् र आफूलाई भावनामा चुर्लुम्म डुबाउँछन् ।
विवाह, ब्रतबन्ध, न्वारान, पूजाआजाजस्ता सामाजिक तथा धार्मिक उत्सव  एवम् चाडपर्वहरूमा लोकगीत गाइन्छ । कुनै कुनै लोकगीत सदावहार रूपमा गाइन्छ भने कुनैचाहिँ विशेष चाडपर्व र अवसरहरूमा गाइन्छ । अर्कोतिर रोदी, मेलापात, वनपात, आदिलाई लोकगीतको उर्वरभूमि मानिन्छ । ठाउँअनुसार लोकगीतमा भिन्नता आउँछ । नेपालको पूर्वी, मध्य र पश्चिमी भागमा विद्यमान लोकलयको भिन्नतालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । नेपालमा हाल मालाश्री, यानीमाया, चुनीमाया, कौरा,देउडा, यानीहो, झयउरे, ठाडो भाका,  लैबरी, देहरादूने, आदि लोकलयहरू प्रचलित छन् । सारङ्गी, मादल, खैंजडी, मजुरा, डम्फू, आदि लोकलयसँग गाँसिएका वाद्यसामग्रीहरू हुन् ।
लोकगीत मानवीय अभिव्यक्ति हो । यसमा सुख–दुःख र हाँसो आँशुका कुराहरू समाहित हुन्छन् । यसमा समाजमा भएगरेका कुराहरू प्रतिविम्बित हुन्छन् ।  लोकगीतको माध्यमबाट व्यक्त भएका केही लोकभावनाहरू यहाँ प्रस्तुत छन् ।
हाम्रो समाजमा छोराले मात्र अंश पाउने प्रचलनलाई तीखो व्यङ्ग्य गर्दै अंशमा ठगिएकी एकजना चेलीले वनको कोइलीको विरही स्वरमा आफ्नो स्वर मिलाउँदै यसो भन्छिन् –
दाजु तिमी अंशको धनी
म बहिनी धुरीको बलेनी ।

हाम्रो समाजलाई गरिबीको क्रूर पञ्जाले गाँजेको छ । एकसरो लुगा लाउन र एकपेट खानका लागि मुग्लान पस्ने युवाहरूको यहाँ कुनै कमी छैन । मन नलाग्दा नलाग्दै पनि मुग्लान पस्न विवश एकजना युवक आमालाई नरुन आग्रह गर्दै यस्तो लोकलय गुञ्जाउँछ–
आमा तिमी नरुनू मेलैमा
मैले डाँडो काटने बेलैमा ।
नेपालबाट भारतीय तथा ब्रिटिश सैनिक सेवामा भर्ती भएर जीवनयापन गर्ने वीर गोर्खाली दाजुभाइहरूको जमात सानो छैन । रेडियोले विदेशमा लडाइँ हुँदा थुप्रै मानिसहरू हताहत भएको समाचार दिँदा सैनिकका प्रियाहरू चिन्तित बन्नु स्वभाविक हो । यस्तो समाचार सुन्दा कतै आफ्नो हृदयको राजालाई गोला–बारुदले निशाना त बनाएन भन्ने आशंकाले उनीहरूलाई हरदम सताइरहेको हुन्छ । यतिखेर उनीहरूको गलाबाट अचानक पीडा मिश्रित स्वर गुञ्जन्छ–
सञ्चै छौ कि विसञ्चो भयौ कि
तातो गोली छातीमा लाग्यो कि ।
उता, युद्धभूमिमा जीवन र मृत्युको दोसाँधमा  रहेर प्रिया र परिवारको यादमा छटपटाइरहेका सैनिक आफ्नो पीडा यसरी पोख्दछ–
हिँड्दैछु नागा हिलैमा
राइफल छ काँधमा पीर शिरैमा ।
काम र मामको खोजीमा मुग्लान पस्ने कतिपय युवाहरू त्यतै हराउने, परदेशमा एकलाशे मरण हुने, यता घर परिवारले दुःख पाउने तथ्य कुनै नयाँ कुरा होइन । यही तीतो यथार्थलाई चिन्तन–मनन गरेर गाउँको बाला आफ्नो प्रेमीलाई विदेश नजान तथा यहीँ दुःखजेलो गरेर जीवन बिताउन आग्रह गर्दछिन्–
यहीँ खनौँला गैची र कोदाली
खाउँला बरु खोलेमा नून हाली ।
लोकगीतमा ऐतिहासिक घटनाक्रमको पनि वर्णन भएको पाइन्छ । यसबाट लोकगीतको मधुर धुनसँगै ऐतिहासिक तथ्य पनि हाँसिल गर्न सक्छौं । विसं १९९० को विष्मयकारी भूइँचालोबारे यस्तो गीत प्रचलित छ–
घुरुमा घुरु परेवा घुर्यो बार्दली कौशीमा
नब्बे है सालमा भूइँचालो गयो सोमबारे औँशीमा
हाम्रो सांस्कृतिको परिचायक मानिने लोकगीतहरू अहिले लोपोन्मुख अवस्थामा छ । यतिखेर हामीकहाँ कोठामा सिर्जना गरिएका नक्कली लोकगीतहरूको बाढी आउन थालेको छ, जसलाई कतिपय हिसाबले जायज भन्न सकिन्न । । समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउने लोकगीतको भण्डार घट्दो छ । यस्ता विकृतिहरूबाट छुटकारा पाउन तथा लोकगीतको गौरवमय परम्परालाई कायम राख्नका लागि यथार्थपरक लोकगीत खोज, अनुसन्धान र संरक्षण गर्नुपर्ने देखिन्छ ।

[साभार: कान्तिपुर कोसेली (चैत १०, २०५२)]

Monday, December 16, 2013

त्रुटिपूर्ण राजनीतिक विश्लेषण

–यमबहादुर दुरा

‘संविधानसभा सदस्य निर्वाचन, २०७०’ सम्पन्न भएपछि नेपालको बौद्धिक वृत्तमा एउटा बहस शुरु भएको छ । बहसको विषय हो, निर्वाचनको परिणामबारे राजनीतिक विश्लेषकहरूले गरेका क्षणभङ्गुरपूर्ण अतिरञ्जित आँकलन । उहाँहरूले कुनै अमुक दल (हरू) ले चुनावमा धेरै सिट ल्याएर विजयी हुने भविष्यवाणी गर्नुभएको थियो । राजनीतिक प्रचारबाजीजस्ता लाग्ने ती विश्लेषणलाई समयले गलत ठह¥याइदियो । निर्वाचनमा धेरै सिट ल्याएर विजयको झण्डा फराउनेछ  भनिएका दल (हरू) को हविगत कस्तो भयो भन्ने कुरा चुनावी परिणामले नै देखाइसकेको छ । यसबारेमा धेरै बोल्नै परेन । राजनीतिक प्रक्षेपण गलत सावित भएपछि उहाँहरूको विश्लेषकीय क्षमता, विश्लेषणको आधार र लेखकीय इमान्दारीमाथि स्वाभाविक रूपमा गम्भीर प्रश्न उठेका छन् ।
उहाँहरूमा विश्लेषकीय गुण थियो कि थिएन ? उहाँहरूमा विश्लेषकीय गुण भएको भए आखिर किन उहाँहरूको विश्लेषण एकाएक निराधार ठहरियो ? के उहाँहरूको विश्लेषण स्वैरकल्पना थियो वा परीकथाको एउटा हिस्सा थियो ? उहाँहरूको विश्लेषकीय धरातल के हो ? उहाँहरूको विश्लेषणमा कुन त्यस्तो खोट थियो, जसले उहाँहरूको चुनावी प्रक्षेपणलाई ‘खोटो मोहोर’ सावित गरिदियो ? अब जनमनमा उठेका यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ ।
यी तमाम प्रश्नहरूको उत्तर खोज्दै जाँदा एउटा पक्ष स्पष्ट रूपमा दृष्टिगोचर हुन्छ । त्यो हो, राजनीतिक विश्लेषणको नाममा मनोगत (सब्जेक्टिभ) विचारले स्थान पाउनु । राजनीतिक विश्लेषण कुनै काल्पनिक उँडानमा लेखिएको निबन्ध होइन, यो त आधिकारिक दस्तावेजहरूका आधारमा गरिएको तथ्यपूर्ण प्रक्षेपण हो । देश, काल र परिस्थितिको सही चिरफारबाट मात्र राजनीतिक विश्लेषण सम्भव छ ।
सम्बन्धित राजनीतिक विषयवस्तुसँग सरोकार राख्ने तथ्य र तथ्याङ्कको खोज अन्वेषण गर्ने, त्यसको आधारमा परिस्थितिको विश्लेषण गर्ने तथा नागरिकको ‘मुड मापन’ गर्नेसम्मका कार्य पनि राजनीतिक विश्लेषकको कार्यक्षेत्रभित्र नै पर्छ । यसका लागि धेरै मिहेनत गर्नुपर्छ, गहन अध्ययन र विश्लेषकीय क्षमता अपरिहार्य छ । त्यसैले राजनीतिक विश्लेषण सजिलो काम होइन ।
नेपालमा राजनीतिक विश्लेषकहरूको अर्को समस्या हो, निश्चित राजनीतिक दलप्रतिको अपरिभाषित अतिशय माया–महब्बत । कुनै विश्लेषकको कुनै राजनीतिक दलप्रति माया–महब्बत हुनसक्छ । त्यसलाई अन्यथा लिन पनि मिल्दैन । भनिरहनुपर्ने कुरा होइन, लोकतन्त्रमा बिनाहिच्किचाहट राजनीतिक दलप्रति आस्था राख्न पाइन्छ । दार्शनिक अरिस्टोटलले भनेका छन् ‘मानिस स्वाभावैले राजनीतिक प्राणी हो ।’ तर राजनीतिक विश्लेषक र राजनीतिक दलबीचको सम्बन्ध निश्चित आचारसंहिताद्वारा निर्देशित हुन आवश्यक छ । कुनै राजनीतिक विश्लेषकको कुनै राजनीतिक दलप्रति सम्वद्धता छ वा ऊ कुनै दलको शुभचिन्तक हो भने त्यो कुरा खुलस्त सार्वजनिक हुनुपर्छ ।
राजनीतिक विश्लेषकले वस्तुनिष्ठता (अब्जेक्टिभिटी), स्वच्छता र निष्पक्षता कायम राख्नुपर्ने भएकोले ऊ आचारसंहिताको परिधिमा बाँधिन आवश्यक छ । राजनीतिक दलको प्रवक्ता बन्ने कि स्वतन्त्र विश्लेषक बन्ने ? यो उसको छनोटको विषय हो । यस्तोमा स्पष्ट रूपमा ‘कित्ताकाट’ हुनु जरुरी छ । राजनीतिक दलसँग सम्वद्धता छ भने उसले त्यहीअनुरूप खुलस्त परिचय दिनुपर्छ । पाठकले त्यहीअनुसार विश्लेषकप्रति धारणा बनाउने मौका पाउँछ । लुकीचोरीको व्यवहारले सबैलाई दिग्भ्रमित तुल्याउँछ । राजनीतिक दलसँगको संलग्नता हरियो घाँसमा सर्प लुकेकोजस्तो गरी हुनु कदापि राम्रो होइन ।
दलसँगको अदृश्य सम्वद्धताले वस्तुनिष्ठता (अब्जेक्टिभिटी), स्वच्छता, निष्पक्षताजस्ता राजनीतिक विश्लेषकमा नभई नहुने गुणलाई निस्तेज पारिदिन्छ । यसबाट ऊ आकाङ्क्षी बन्दै जान्छ । यसपछि उसमा आग्रह जन्मन थाल्छ । उसको लेखकीय एवम् विश्लेषकीय धर्म मर्दै जान्छ । परिणामस्वरूप ऊ आफ्नो व्यवहारबाट आपैंm कर्तव्यच्यूत हुनपुग्छ । त्यसकारण स्वतन्त्र विश्लेषकीय धर्मलाई जोगाउन कम्तिमा विश्लेषण गर्ने समयमा राजनीतिक दलप्रति निर्मोही बन्नैपर्छ ।
अङ्ग्रेजीमा एउटा शब्द छ, ‘डेमगग्’ । यसको अर्थ हुन्छ, ‘तर्कले नभई भावनात्मक भड्काउमा पारेर जनतालाई उत्तेजित पार्ने नेता ।’ कुरा स्पष्ट छ, राजनीतिक विश्लेषकहरू ‘डेमगग्’ होइनन् । न त उनीहरू कुनै दलको प्रचारक नै हुन् । अब नेपाली नागरिकले चिन्नुपर्ने बेला आएको छ, हाम्रा राजनीतिक विश्लेषकहरू ‘डेमगग्’ हुन् वा होइनन् । राजनीतिक विश्लेषकको काम ‘डेमगग्’ बनेर भावनाको बाढीमा आफू पनि बग्नु अरूलाई बगाउनु हुँदै होइन ।
विश्लेषकको काम तीतो सत्य जनसमक्ष पस्कुनु हो, मीठो भ्रम दिने होइन । लेखमा प्रयोग गरिने मिथकले प्रस्तुतिलाई जरुर रोचक र स्वादिलो बनाउँछ तर यसले सधैँभरि वास्तविकता नै बोल्छ भन्न सकिन्न, न त धारिलो भाषाशैली र रोचक प्रस्तति हुँदैमा परिस्थितिको यथार्थ तस्बिर नै भल्किन्छ । विश्लेषकको गहन जिम्मेवारी हो, परिस्थितिको सग्लो र स्पष्ट तस्बिर जनसमक्ष राखिदिनु । विषयवस्तुसँग सम्बन्धित तथ्य–तथ्याङ्क र परिस्थितिबारे जनमतको विश्लेषण नगरी मिथक र रोचक प्रस्तुतिले मात्र परिस्थितिको सग्लो र स्पष्ट तस्बिर खिच्न सक्दैन । हामीकहाँ राजनीतिक साहित्यलाई राजनीतिक विश्लेषणको रूपमा ग्रहण गरेको अवस्था छ ।
अहिले समाजको हरेक क्षेत्रमा विविधीकरण देखापरेको छ । लेखन क्षेत्र पनि यसबाट अप्रभावित रहने कुरै भएन । ‘लेखकीय मेनु’ मा विविधीकरण आएको छ । लोकतन्त्रमा सबै मार्का, शैली, र रूचिका लेखहरू लेख्न छुट छ । सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ । कुनै लेखकले कुनै दलप्रति मोहभाव राखेर राजनीतिक साहित्य लेख्नसक्छ तर यसको निश्चित दायरा र थान्कोचाहिँ हुनैपर्छ ।  त्यसप्रकारको लेखलाई निश्चित प्रयोजनका लागि निश्चित सन्दर्भमा लेखिएको हो भनेर ‘लेबल’ लाउनुपर्छ ।  विदेशतिर यस्तो प्रचलन छ । यसो गर्दा समाचारपत्र र लेखकको कार्यगत पारदर्शिता झल्किनुका साथै पाठक पनि भ्रममुक्त हुन्छन् ।
‘लेखकीय मेनु’ विधि र नियमभन्दा बाहिर जान सक्दैन । आजभन्दा करिब ९१ वर्षअघि अर्थात् १९२२ मा अमेरिकी समाचारपत्र सम्पादक समाज (अम्यारिकन सोसाइटी अफ न्यूजपेपर एडिटर्स, आस्ने) ले अखबारमा छापिने समाचारमात्र होइन, सम्पादकीय, समाचार टिप्पणी तथा विश्लेषणात्मक लेखहरू पनि सही र तथ्यपरक धरातलमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएका थियो । ‘क्यानन्स अफ जर्नलिज्म’ शीर्षकमा जारी उक्त आचारसंहिताको मर्म र भावना राजनीतिक विश्लेषणका सन्दर्भमा पनि उत्तिकै मननीय लाग्छन् ।
अब सम्बन्धित सञ्चार गृहले सम्पादकीय नीति (एडिटोरियल पोलिसी) तयार पार्दा यस्ता पक्षहरूमा पनि ध्यान दिनुपर्ने देखिन्छ । लेख सम्पादन गर्ने जिम्मा पाएका फिचर सम्पादकले पनि यस दिशामा ध्यान दिनुपर्छ । भ्रम बाँडेर पाठकलाई दिग्भ्रमित तुल्याउनु पनि एकप्रकारको अपराध नै हो । पत्रकारिताको सिद्धान्तले पनि यही  भन्छ । राजनीतिक विश्लेषणको नाममा राजनीतिक साहित्यले स्थान पाउनु हुँदैन । अर्को कुरा, संसारका कुनै पनि मानिस अन्तर्यामी होइन । सम्बन्धित विषयवस्तुबारे अनुभव, तथ्य–तथ्याङ्क र उपलब्ध अन्य आधारहरूबाटमात्र विश्लेषकले भोलिको हुने कुराबारे प्रक्षेषण गर्नसक्छ । यसबाहेक उससँग भोलिका बारेमा बताउन सघाउने कुनै चमत्कारपूर्ण शक्ति छैन ।
तथ्यपूर्ण आधारमा गरिएको प्रक्षेपण भोलि गलत सावित भए पनि एकप्रकारले त्यसको दोष लेखकमा जाँदैन । किनभने त्यस्तो विश्लेषणमा लेखकभन्दा तथ्य–तथ्याङ्क नै बढी बोलेको हुन्छ । डा. हर्क गुरुङ, जनकलाल शर्मा, डा.जगदीशचन्द्र रेग्मीजस्ता लेखक जनमनमा छाउनुको एउटा महत्वपूर्ण कारण हो, तथ्यपूर्ण आधारमा गरिएको अकाट्य विश्लेषण । नेपालका राजनीतिक विश्लेषकहरूले पनि उहाँहरूबाट पाठ सिक्नुपर्ने देखिन्छ । यसले उहाँहरूलाई अँध्यारोमा प्रकाश छर्ने आलोक बनाउन सक्छ ।

साभारः राजधानी दैनिक (पुस १, २०७०)

Tuesday, December 10, 2013

सत्य निरूपण तथा मेलमिलाप आयोगको सान्दर्भिकता

–यमबहादुर दुरा

 आज डिसेम्बर १० तारिख । विश्व मानव अधिकार दिवस । प्रथम र दोस्रो विश्वयुद्धको विभीषिकाबाट मानव मर्यादा र प्रतिष्ठामा गहिरो आघात परेको पृष्ठभूमिमा सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरिएको थियो । उक्त घोषणापत्र कानुनी हिसाबले बाध्यकारी नभए पनि यसले मानव जातिलाई पशुतुल्य व्यवहारबाट मुक्त गरी मानवोचित व्यवहार गरिनुपर्छ अर्थात् मानव भएर जन्मनुको नाताले स्वतन्त्र भएर बाँच्न पाउनेलगायतका उसका सबै नैसर्गिक अधिकारहरूको सम्मान गरिनुपर्छ भन्ने सन्देश विश्वव्यापी रूपमा दियो ।

 अन्तरदेशीय युद्ध एवम् गृहयुद्धले मानिसको बाँच्न पाउने अधिकारलगायतमा धावा बोल्ने भएकोले यस्ता युद्धहरू हरसम्भव छिटो रोकिनुपर्छ र युद्धको अवशेषको रूपमा रहेका वैरभावहरूलाई सथाशक्य छिटो निस्तेज पारिनुपर्छ भन्ने सन्दर्भमा पनि ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८’ ले अप्रत्यक्ष सन्देश दिएको पाइन्छ ।

नेपाल पनि आन्तरिक सशस्त्र गुज्रनुपर्यो । नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको सात वर्ष बितिसकेको छ  ।  तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरु गरेको सशस्त्र सङ्घर्ष अन्त्य गरी २०६३ साल मङ्सिर ५ गते ‘विस्तृत शान्ति सम्झौता, २०६३’ भएको थियो । लगभग १५ हजार नेपाली नागरिकको जीवनलीला समाप्त गरी तिनका परिवारजनमा गहिरो मानसिक चोट दिँदै चलेको एक दशकभन्दा लामो सशस्त्र द्वन्द्व अन्त्य गरी द्वन्द्वरत पक्षहरू शान्ति प्रक्रियामा सामेल हुन मञ्जुर गराउनु सम्झौताको मुख्य उपलब्धि थियो, जुन नेपालको राजनीतिक एवम् सामाजिक वृत्तमा एउटा सुखद अध्याय बन्न पुगेको थियो ।

‘विस्तृत शान्ति सम्झौता, २०६३’ मा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ गठन गर्ने कुरा उल्लिखित थियो । यसले सशस्त्र द्वन्द्वले छाडेका पीडादायी अवशेषहरू अन्त्य गरी मेलमिलापपूर्ण प्रगतिशील राजनीतिक एवम् सामाजिक परिवेश तयार पार्न चाहेको थियो ।  दुःखको कुरा, ‘नेपालको अन्तरिम संविधान, २०६३’ ले समेत परिकल्पना गरेको ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ आजसम्म पनि गठन हुन सकेको छैन । परिणामस्वरूप सशस्त्र द्वन्द्वकालीन मानव अधिकार हननका  अधिकांश मुद्दाहरू ज्यूँका त्यूँ रहन पुगेका छन् ।
समयले कोल्टो फेर्दै जाँदा द्वन्द्वरत पक्षहरू एक–अर्काप्रति नरम देखिएका छन् । उनीहरू एक–अर्काको विरुद्धमा मुख नखोल्ने मनस्थितिमा देखिन्छन् ।

यसै प्रसंगमा यहाँनेर एउटा घटना स्मरणीय हुन आउँछ । मानव अधिकार समुदाय र नागरिक समाजको तीव्र असहमति हुँदाहुदै पनि नेकपा एमाओवादी नेतृत्वको सरकारले मानव अधिकार हननको अभियोग लागेका नेपाली सेना र नेपाल प्रहरीका विवादस्पद छवि भएका उच्चपदस्थ अधिकृतहरूलाई बढुवा ग¥यो । यसबाट पनि माओवादी तत्कालीन समयमा शत्रु ठानिएका पक्षप्रति उदार र क्षमाशील छन् भन्ने प्रष्ट देखिन्छ । नयाँ परिस्थितिमा द्वन्द्वरत पक्षहरू एक–अर्काप्रति क्षमाशील हुनु राम्रो पनि हो ।

‘अन्तर्राष्ट्रिय क्षेत्राधिकार’ अन्तर्गत २०६९ साल पुस १९ गते बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको यातनासम्बन्धी मुद्दामा नेकपा माओवादीको सरकारले पूरा शक्ति प्रयोग गरेर बचाउमा लागेको देखियो ।  नेपालले विगतमा कहिल्यै नभोगेको अनौठो प्रकृतिको यस मुद्दामा नेकपा माओवादी नराम्ररी झस्किएको देखिन्छ । ‘तिमीलाई खाने बाघले मलाई पनि खान सक्छ’ भन्ने भनाइले यहाँनेर काम गरेजस्तो देखिन्छ ।

द्वन्द्वरत पक्षहरू एकअर्काप्रति नरम र क्षमाशील बन्दैमा सशस्त्र द्वन्द्वकालका पीडादायक अवशेषहरू मेटिने सम्भावना भने अझै देखिँदैन । द्वन्द्वरत पक्षहरूको चेपमा परेका कतिपय निहत्था र निर्दोष द्वन्द्वपीडितहरूको घाउ अभै पनि ओबाएको छैन । त्यसैले  हुनसक्छ, उनीहरू क्षमाशील देखिएका पनि छैनन् । उनीहरू यति सजिलै क्षमाशील हुने आधार पनि देखिँदैन । नेपाली सेनाले २०६० साउन ३२ घटाएको दोरम्बा हत्याकाण्ड र २०६२ साल जेठ २३ गते तत्कालीन नेकपा एमाओवादीले घटाएको बाँदरमुडे काण्ड नेपाली समाजले भोग्नुपरेको भयानक पीडादायी नियतिको दृष्टान्त हुन्, जसका लागि द्वन्द्वपीडितहरू हत्तपत्त क्षमाशील हुन सक्तैनन् ।

नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ पर्नु, २०६२ साल जेठ २४ गते चितवनमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारीका बा नन्दप्रसाद अधिकारी र आमा गङ्गादेवी अधिकारी दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग लिएर पटक पटक आमरण अनसनमा बस्नुले त्यस्ता घटनाको प्रतिनिधित्व गरेका छन्, जसले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार हननका मुद्दाहरूको उचित सम्बोधन हुन बाँकी नै छ भन्ने संकेत गर्छ । यस्ता घटनाक्रमले सशस्त्र द्वन्द्वकालीन मानव अधिकार हननका मुद्दाहरूको सही छिनोफानो गर्नका लागि संक्रमणकालीन न्याय सम्पादनसम्बन्धी संयन्त्रको पुनः आवश्यकताबोध गराएको छ ।
सशस्त्र द्वन्द्वको कारण र प्रभावबारे पीडक र पीडितबीच साझा बुझाइ र सामञ्जस्य नभएसम्म क्षमादान सम्भव देखिँदैन । पीडकले आत्मसमर्पण नगरेसम्म पीडितले मनैदेखि क्षमादान दिने वातावरण तयार हुँदैन । यसका लागि दुबैमा पर्याप्त सुझबुझ आवश्यक छ । विविध कारणले विभाजित सामाजिक मनोविज्ञानले राज गरेको मुलुकमा यसप्रकारको सुझबुझ त्यति सजिलै विकास हुने देखिँदैन । अर्कोतिर मानवताविरुद्धको अपराध, यातना, बेपत्ता, बलात्कारजस्ता अपराधलाई क्षमादान गर्न नमिल्ने अन्तर्राष्ट्रय प्रावधान छ ।

द्वन्द्व व्यवस्थापन जतिसुकै जटिल भए पनि सशस्त्र द्वन्द्वकाका  मानव अधिकार हननका घटनाहरूको उचित छिनोफानो नभएसम्म शान्ति प्रक्रियाले अपेक्षित गति लिने छाँटकाँट देखिँदैन । त्यसैले सशस्त्र द्वन्द्वकालीन मानव अधिकार हननका मुद्दाहरूको उचित सम्बोधन आवश्यक छ । यसका लागि संक्रमणकालीन न्यायसम्बन्धी गतिलो संयन्त्र बन्नुपर्ने देखिन्छ ।

सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार हननसम्बन्धी घटनाले जन्माएका पीडाहरूलाई निकास दिन ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ गठन गरेर संक्रमणकालीन न्याय सम्पादन गर्न अत्यावश्यक छ । उक्त आयोग अन्तर्राष्ट्रिय मानवीय कानुन, जेनेभा महासन्धि (साझा धारा ३) लगायतका दस्तावेजहरूको मर्म र भावनाअनुरूप अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बन्ने कुराको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ ।

विगतमा राष्ट्रिय मानव अधिकार आयोगलगायतका मानव अधिकार समुदायले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्र बनाउन सरकारलाई पटक पटक घच्घच्याएको थियो । तर त्यसमा राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा खास प्रगति हुन सकेन । यस दिशामा राजनीतिक दलहरू कताकता किंकर्तव्यविमुढ देखिए भने उनीहरूमा इच्छाशक्तिको अभाव पनि देखियो ।

कतिपय सन्दर्भमा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ राजनीतिक दलको देखाउने अस्त्रमात्र बनेको देखियो । विगतका प्रायः सबैजसो सरकारले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार हननसम्बन्धी मुद्दाहरू खुरुखुरु फिर्ता लिने काम गरे । तर त्यतिबेलाका मानव अधिकार हननका घटनाहरूबारे मुद्दा चलाउन ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ गठन नभएसम्म पर्खनुपर्ने तर्क अघि सारियो । रमाइलो कुरा के भयो भने मुद्दा फिर्ता लिनचाहिँ ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ नचाहिने तर त्यस्ता मुद्दामाथि कारबाही चलाउन आयोग चाहिने चाहिने विरोधाभाषपूर्ण तर्क जिम्मेवार राजनीतिक दलले नै अघि सार्यो ।

संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्र नबनाई राजनीतिक पुहँचको आधारमा मुद्दा फिर्ता लिनाले जघन्य अपराधको ढाकछोप गर्ने काम भएको र यसबाट दोषीलाई थप प्रोत्साहन मिलेको एवम् पीडितलाई चोटमाथि चोट थपिएको टीकाटिप्पणी समाजमा व्याप्त छ । यसले एकप्रकारको अविश्वासपूर्ण वातावरण जन्माएको छ, जुन शान्ति प्रक्रियाका लागि घातक ठहरिन सक्छ ।

थुप्रै आलटाल र ढिलासुस्तीका बीच नेपाल सरकारले २०६९ सालमा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ सम्बन्धी अध्यादेश जारी गर्‌यो । विगतमा बेपत्ता नागरिकसम्बन्धी आयोग पनि बन्ने कुरा चलेको थियो । तर त्यसो भएन । ढिलो गरी मस्यौदा तयार भएको ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ सम्बन्धी अध्यादेश विवादको घेरामा पर्यो । उक्त अध्यादेशले आममाफी दिने र पीडितको सहमतिबिना नै मेलमिलाप गराउन सकिने प्रावधान राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट चर्को विरोध भयो ।

पीडितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तअनुरूप ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ बन्नुपर्नेमा जोड दिँदै राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमान्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको थियो । ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ सम्बन्धी विधेयकको मस्यौदा तयार पार्दा आफूसँग परामर्श गर्नुपर्ने प्रावधान भए पनि त्यसो नगरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले २०६९ साल साउन २९ गते नेपाल सरकारलाई पत्राचार गरेको थियो ।

ढिलो गरी न्याय दिनु भनेको न्याय नदिनु हो भन्ने विश्वव्यापी मान्यता छ । यस मान्यतालाई आत्मसात गरेर सशस्त्र द्वन्द्वकालका पीडितहरूलाई यथाशक्य छिटो न्याय दिन आवश्यक छ । यसका लागि सशक्त प्रकृतिको ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ गठन हुनुपर्छ । सशस्त्र द्वन्द्वकालका मुद्दाहरू समयै छिनोफानो नभएमा समस्या अझ जटिल र पेचिलो बन्दै जाने देखिन्छ । यस दिशामा अब बन्ने सरकार गम्भीर बन्नुपर्ने देखिन्छ ।

[साभार: गोरखापत्र (मङ्सिर २५, २०७०)] 

Sunday, December 1, 2013

बढ्दो सडक दुर्घटना

–यमबहादुर दुरा

आधुनिक जीवनशैली र सडक यातायातको गहिरो नाता छ । सडक आधुनिक जीवनशैलीको सूचकहरूमध्ये एक मानिन्छ । समयको प्रवाहसँगै देशभर सडक–सञ्जाल त्रमिक रूपमा विस्तार हुने र सडक प्रयोगकर्ताहरूको संख्या बृद्धि हुने क्रम निरन्तर रूपमा जारी छ । यससँगै सडक दुर्घटना पनि बढ्दै गएको छ । यसबाट जनधनको क्षति हुने क्रम बढ्दै गएको देखिन्छ, जुन एक गम्भीर समस्याको रूपमा देखापरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनाबाट प्रतिवर्ष दुई हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको १.७० प्रतिशत हुन आउँछ । अर्को आँकडा अनुसार नेपालमा हुने कुल सवारी दुर्घटनामध्ये ५० प्रतिशत हिस्सा राजधानी शहर काठमाडौंले ओगट्छ । विश्वमा सडक दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ७० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकहरूले ओगट्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सडक दुर्घटनालाई तीव्र गतिमा बढ्दै गएको महामारीको रूपमा चित्रण गरेको छ ।

‘ग्लोबल स्ट्याटस रिपोर्ट अन रोड सेफ्टी २०१३’ का अनुसार नेपालमा सडक दुर्घटनाबाट प्रति एक लाखमा १६ जनाको मृत्यु हुन्छ । सोही प्रतिवेदनका अनुसार बेलायत, स्वडेनजस्ता विकसित मुलुकमा प्रति एक लाखमा तीन जनाभन्दा कमको मृत्यु हुन्छ । यस हिसाबले सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशहरूको सूचीमा नेपाल पनि पर्छ  । मानिसलाई शारीरिक रूपमा अपाङ्ग बनाउने मूल स्रोतमध्ये सडक दुर्घटना अग्रपक्तिमा आउँछ ।

नेपालमा हवाइ यातायात तुलनात्मक रूपमा कम मानिसले प्रयोग गर्ने तथा जलयातायातको अन्वेषण र उपयोग न्यून रहेकाले सडक यातायात नै बहुसंख्यक नागरिकको आवगमनको माध्यम बनेको छ । विडम्बना नै भन्नुपर्ने हुन्छ, बहुसंख्यक नागरिकले प्रयोग गर्ने सडक यातायात नेपालमा सर्वाधिक असुरक्षित छ ।
सडकको भौतिक अवस्था अवैज्ञानिक हुनु, सडक इञ्जिनियरिङको मान्यताबमोजिम सडक नबन्नु, सडक यातायातसम्बन्धी तयार पारिएको कानुनी व्यवस्थाको कार्यान्वयमा फितलोपन देखिनु, सडक प्रयोगकर्ताहरूमा सवारी नियमको ज्ञान र त्यसको पालनाको अभाव हुनु, यातायात व्यवसायीहरूले सवारी  कानुन र मापदण्डलाई उचित किसिमले  अनुशरण नगर्नुलगायतका कारणहरूबाट सडक दुर्घटना बढेको देखिन्छ ।

सडक दुर्घटनाबाट हुने जनधनको क्षतिको विवरण सार्वजनिक भए पनि दुर्घटनामा  ज्यान गुमाउनेको परिवारजनमा पर्ने आर्थिक एवम् मनोसामाजिक असरबारे खासै अध्ययन भएका छैनन् । अदृश्य रूपमा रहेका यस्ता असरबारे अध्ययन गर्ने हो भने  सडक दुर्घटनाले निम्त्याएका हृदयविदारक दुर्दान्त कथाहरू सतहमा आउँछन् । यस्ता पीडाहरूबारे चर्चा गर्न शब्दहरू अपर्याप्त हुन्छन् । यसर्थ समाजमा दृश्य र अदृश्य किसिमले प्रभाव पार्ने सडक दुर्घटना न्यूनीकरणका लागि हरसम्भव प्रयासहरू हुनु आवश्यक छ ।

सडक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सरकारीस्तरबाट प्रयास भएका नभएका होइनन् । ‘सवारी कर ऐन, २०३१’, ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’, ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’, ‘सडक बोर्ड ऐन, २०५८’ जस्ता कानुनहरूमार्फत सरकारले सडक यातायातलाई कानुनी दायरामा ल्याउने काम देखिन्छ । यसैगरी सरकारले सडक यातायातलाई सुरक्षित तुल्याउन ‘रोड सेफ्टी एक्सन प्लान, २०१३–२०२०’ अघि सारेको छ  । सरकारी कार्ययोजना जतिसुकै सुन्दर भए पनि उचित कार्यान्वयनको अभावमा कागजी बाघजस्तो मात्र देखिएको छ ।

आधुनिक जीवनपद्धतिमा सडक यातायात व्यापक जनसरोकारको विषय भएकोले यसलाई सुरक्षित र प्रभावकारी बनाउन सरकारले व्यापक स्रोत र साधनको लगानी गर्नुपर्ने देखिन्छ । निर्माण भइसकेका सडकको मर्मत–सम्भार एवम् पुनः निर्माणबारे आवधिक कार्ययोजना बनाउने र सही किसिमले अनुशरण गर्ने, सडक इञ्जिनियरिङका दृष्टिले त्रुटिपूर्ण ठहरिएका सडकको ट्रयाक फेर्ने वा आवश्यक सुधार गर्ने, विद्यमान सडकको भौतिक अवस्थाबारे नियमित रूपमा अनुगमन गर्ने, अनुगमन प्रतिवेदनका आधारमा समयमै आवश्यक सुधार गर्नेजस्ता काम गरेमा सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ ।

नयाँ सडक बनाउँदा सडक इञ्जिनियरिङको सिद्धान्तलाई अक्षरस पालना गर्ने, नयाँ ट्रयाक खोलेपछि आवश्यक मापदण्ड पूरा नभएसम्म यात्रुवहाक सवारी साधन चलाउन अनुमति नदिने, सवारीसम्बन्धी ऐन–कानुनमा सामयिक सुधार गर्ने, सवारी नियमबारे गाउँबस्तीमा समेत जनचेतना जगाउने, सवारी नियम उल्लङ्घन गर्नेहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सीसी क्यामरा एवम् सवारी साधनको गतिमापन यन्त्रजस्ता अत्याधुनिक प्रविधि उपयोगलगायतका उपायहरूद्वारा सडक यातायातलाई सुरक्षित र जनमैत्री बनाउन सकिन्छ ।

सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक प्रयोगकर्ताको व्यवहारगत एवम् आचरणगत पक्षहरूमा व्यापक शुद्धीकरण हुनु अत्यावश्यक छ । गाडी प्रयोगकर्ताले स्वस्फूर्त र अनिवार्य रूपमा ‘सिट बेल्ट’ बाँध्ने, साइकल वा मोटरसाइकल चालकले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने, सवारी साधनको गति अनुकूलन बनाउनेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्ने, ‘लेन डिस्प्लिन’ कायम गर्नेजस्ता आचरणगत पक्षहरूमा सुधार गर्ने एवम् सवारी नियमको नियम र कानुनको पूर्ण पालना नगरेसम्म सडक यातायात सुरक्षित हुन सक्तैन । त्यसैले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन प्रत्येक प्रयोगकर्ता ‘बर्दीबिनाको ट्राफिक’ बन्न आवश्यक छ ।

विकसित मुलुकका राजमार्गहरू मानव बस्तीभन्दा निकै पर रहन्छ । यसको मूल आशय हो,  मानिस र घरपालुवा जनवारको ‘मुभमेन्ट’ ले सवारी साधनलाई अनावश्यक अवरोध नपुर्याउन् । परिणामस्वरूप सवारी दुर्घटना कम हुन्छ । नेपालका राजमार्गहरूलाई मानव बस्तीभन्दा पर सार्नुपर्ने आवश्यकता देखिएको छ । समयले यसको आवश्यकताबोध गराएको छ । एक आँकडा अनुसार पूर्व–पश्चिम राजमार्गको इटहरी, नारायणगढ, बुटवलजस्ता घनाबस्ती भएको सडक–खण्डमा बढी दुर्घटना हुने गरेको पाइएको छ । यस्ता घनाबस्तीबाट सडकको ट्रयाक अन्तै नमोडेसम्म जनधनको क्षति हुने क्रम बढ्ने देखिन्छ । अब यस दिशामा पनि सरकारको ध्यान जानुपर्छ ।

आधुनिक जीवनशैलीको दायरा फराकिलो हुँदै जाँदा बढ्दै गएको सडक यातायातको सञ्जाल र त्यसबाट बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न सरकारी कार्यशैली र नागरिकको आचरणगत पक्षमा क्रान्तिकारी सुधार हुन आवश्यक छ । सुरक्षित आवगमनलाई सरकारी अजेण्डामा उच्च प्राथमिकताका साथ राख्नुपर्ने देखिन्छ ।

[साभार: गोरखापत्र (मङ्सिर १५, २०७०)]

Wednesday, November 27, 2013

पहिचानको राजनीतिक व्यवस्थापन

-यमबहादुर दुरा
‘संविधानसभा सदस्य निर्वाचन, २०७०’ को परिणामले नेपालको राजनीतिक एवम् सामाजिक परिदृश्यमा एउटा मननयोग्य सन्देश बोकेर आएको छ । संघीयता, जातीय परिचान तथा धर्मनिरपेक्षताका मामिलाहरूलाई जोडतोडका साथ उठाउने नेकपा एमाओवादीले गहिरो पराजय भोग्नु र यी मामिलामा तुलनात्मक रूपमा अनुदार ठानिएका नेपाली काङ्ग्रेस र नेकपा एमालेले ठूलो आकार ग्रहण गर्नुले नेपालको राजनीतिक एवम् सामाजिक परिदृश्यमा विशेष अर्थ राखेको देखिन्छ ।
संघीयता र जातीय परिचानका मामिलाहरूबारे पार्टीभित्र सङ्घर्ष चर्काएर नेकपा एमालेबाट बाहिएका अशोक राईको संघीय समाजवादी दल र पार्टीभित्र अन्तरिक सङ्घर्ष गरेर पनि एमालेभित्रै रहेर चुनावमा होम्मिएका पृथ्वीसुब्बा गुरुङजस्ता नेताहरूले पराजय भोग्नु र हिन्दू राज्य एवम् राजतन्त्रको नारा दिने दक्षिणपन्थी शक्तिले पूर्वी क्षितिजमा उदाउने तरखर गर्नुलाई मूलतः जातीय परिचान तथा धर्मनिरपेक्षताका अजेण्डाहरूको अवसानको रूपमा अथ्र्याउन थालिएको छ ।
अब प्रश्न उठ्छ, त्यसो भए जातीय परिचान तथा धर्मनिरपेक्षताका अजेण्डाहरू साँच्ची नै नामेट नै भएका ह्न् त ? चुनावी परिणाममा स्वाभाविक रूपमा जनमत प्रतिविम्बत भए पनि विजयीबाहेकका दलका पक्षमा खसेका मत पनि जनमत नै हो भन्ने तथ्य पनि उत्तिकै मननयोग्य पक्ष हो । विजयीइतर दलका पक्षमा खसेको मतले पनि समाज निर्माणमा अर्थ राख्न भन्ने मान्यतालाई लोकतन्त्रमा स्थान दिइन्छ । यो नै लोकतन्त्रको अर्को सुन्दर पक्ष हो ।
चुनावी परिणाममार्फत दृष्टिगोचर भएको यो नवीनतम् परिदृश्य नेपाली समाजमा विकसित उहापोहपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमहरूको पछिल्लो स्वरूप हो, जसले बहुलवादी नेपाली समाजको उर्लँदो वैचारिक ज्वारभाटाको प्रतिनिधित्व गर्छ । अर्को शब्दमा भन्दा विविधतापूर्ण नेपाली समाजमा विद्यमान विरोधाषपूर्ण विचारहरूको लुकमारी खेल हो । नेपालको राजनीतिक रङगमञ्चमा देखापरेको लुकमारीको यो खेल यत्तिकैमा टुङ्गिने छाँट देखिँदैन ।
यो लुकमारी खेल तबसम्म चलिरहने देखिन्छ, जबसम्म वैचारिक संघर्षमार्फत व्यक्त भएका नेपाली समाजको चुलिँदो आकाङक्षाहरूको सही व्यवस्थापन हुँदैन । देशको राजनीतिक शक्तिले नगारिकका आकाङ्क्षाहरूलाई व्यवस्थापन सक्नुपर्छ । नागरिकका आकाङ्क्षाहरूको समयमै सही व्यवस्थापन नहुँदा देशमा केही रमाइला परिदृश्यहरू पनि देखापरे । यसपटकको चुनावमा ‘सूगा’, ‘रूगा’ ‘बाछी र गाछी’, ‘दाइ र गाई’ जस्ता नाराहरू जन्मिए ।
यी नाराले एकतिर दलीय राजनीतिसँग त्यति मेल नखाने ‘क्रस–भोटिङ’ को प्रवत्तिलाई स्थापित गर्न खोजेको देखिन्छ भने अर्कोतिर यसले अलिकति त्रास, अलिकति व्राह्मणवादी अहङ्कार, अलिकति पुरातनवादी सोंच र अलिकति अन्यमनस्कमिश्रित सामाजिक मनोविज्ञानलाई पनि प्रतिनिधित्व गर्न खोजेको प्रतीत हुन्छ । विश्व मानचित्रमा नेपाल सानो भए पनि नेपालको सामाजिक विविधता विशाल छ, जुन हाम्रो अमूल्य सम्पत्ति हो । संसारकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकाको जादुमय प्रगतिको एउटा कारण हो, सामाजिक विविधताको कदर र व्यवस्थापन ।
उनीहरू सामाजिक विविधतालाई सम्पत्ति ठान्छन् । त्यसैले त उनीहरू ‘डाइभर्सिटी भिसा’ चिठ्ठामार्फत् बेग्लै सामाजिक र सांस्कृतिक पृष्ठभूमि भएका अरू देशका मानिसहरूलाई हरेक वर्ष स्वागत गरेर आफ्नो देशको नागरिक बनाउँछन् । सांस्कृतिक विविधताले समाजलाई रसिलो र भरिलो बनाउँछ भन्ने अमेरिकी विश्वास निरन्तर जारी छ । अब हाम्रै नेपालको कुरा गरौं । सामाजिक विविधता देखेर हामी निरन्तर डराइरहेका छौं । नागरिकका जातीय पहिचनको कुरा गर्दा रगतको खोलो बग्ने र देश टुक्रिने डरले हामी लुगलुग कामिरहेका छौं । बनको बाघले खानु कता छ कता, हामीलाई मनको बाघले खाइरहेको छ । सबैभन्दा पहिले हामी सबै नेपाली हौं । जनजातिहरूलाई पनि देशको माया छ ।
आजसम्म देश टुक्र्याउने कुरा कसैले गरेका छैनन् । कसैले भावावेगमा देश टुक्र्याउने र रगतको खोलो बगाउने कुरा गरेको छ भने त्यो परालको रुन्को बलेको भन्दा बढी केही होइन । बरु देशलाई भित्रभित्रै खोको तुल्याउने विदेशी शक्तिका उपासकहरूबाट पो देशलाई खतरा छ ।

 हामी मध्ययुगीन नेपाली होइनौं, एक्काइसौं शताब्दीको लोकतान्त्रिक मूल्य र मान्यताप्रति सचेत नागरिक हौं । पहिचानको नाममा कसैलाई देशनिकाला गर्ने र आँखा फोर्ने काम कसैले गर्न पाउने छैनन् । तर यहाँ पहिचानको कुरा गर्नेबित्तिकै कोकोहोलो मच्चिने गरेको छ ।
मानौं, पहिचानको कुरा गर्ने बित्तिकै रणसंग्राम मच्चिइहाल्छ । पहिचानसँग डराउनुपर्ने कुनै कारण नै छैन । समुदायको नाम र जीवनशैली नै पहिचान हो । यसमा योभन्दा बढी कुरा छैन । लोकतान्त्रिक नेपालमा अलोकतान्त्रिक चरित्र देखिन थालेको छ । ‘नाम मेरो, गाउँ तेरो’ भनेजस्तो हो, पहिचान । दुराडाँडामा बस्ने बाहुन र बाहुनडाँडामा बस्ने गुरुङले जातीय पहिचान र साम्प्रदायिक सदभावको राम्रो उदाहरण दिएका छन् । यिनै भौगोलिक एवम् सांस्कृतिक विशेषताहरूको आधारमा अब बन्ने संघीय राज्यको नामाकरण गर्दा के अनिष्ट हुन्छ ?
विगतदेखि चलिआएको नामसित जोडिएको पहिचानको सवालसँग डराउनुपर्ने के कारण छ ? यसरी नामाकरण गर्दा स्थानीय समुदायको सम्मान गरेको ठहरिन्छ । विगतमा भाषिक एवम् सांस्कृतिक रूपमा उत्पीडनमा परेका समुदायको पहिचानलाई आत्मसात गर्दा राष्ट्रियता एकता अझ मजबुत बन्छ । विविध संस्कृतिहरूको गठजोड नै सिङ्गो नेपाली संस्कृति हो । त्यसैले नेपाललाई बलियो तुल्याउन नेपालका विविध संस्कृति र समुदायहरूलाई मायाममताले कख्याउनै पर्छ ।
यो नै पहिचानको सर्त हो । अहिले नेपालको राजनीतिक ढिकीमा जनजाति समुदायका लागि भनेर फलामे च्यूरा कुटिँदैछन्, जसलाई चपाउन जनजाति अधिकारकर्मी र अभियन्ताहरूलाई हदैसम्म कठिन हुनेछ भनिँदैछ । नागरिकका आकाङ्क्षाहरूलाई पक्ष र प्रतिपक्षको विचारधाराको रूपमा चित्रण गरिँदैछ । नेपाली नागरिकका पहिचानसित गाँसिएका आकाङ्क्षाहरूलाई पक्ष र प्रतिपक्षको विचारधाराको रूपमा रूपमा हेर्ने काम नै गलत हो ।
यसलाई सम्पूर्ण नेपालीको साझा आकाङ्क्षाको रूपमा आत्मसात गरिनुपर्छ । यसो भएमा मात्र नागरिकका आकाङ्क्षाहरूको सही व्यवस्थापन हुनसक्छ । समाजमा समुदायहरू स्वाभाविक रूपमा आकाङ्क्षी हुन्छन् । समुदायको आकाङ्क्षालाई तेजोबध गरेर समस्याको समाधान हुँदैन । यसले समस्याको समाधान गर्दैन, बरु समस्यामाथि समस्या थप्छ । विश्वका थुप्रै दृष्टान्तहरूले यसलाई पुष्टि गरेका छन् । समुदायको आकाङ्क्षालाई सही व्यवस्थापन गरेमात्र समस्याको गाँठो फुकिन्छ । समस्याको गाँठो भावावेगबाट फुकिँदैन । यसका लागि राजनीतिक र सामाजिक सुझबुझ जरुरी छ ।
यसो भएमा मात्र विविधताले भरिएको नेपाली समाजको सुन्दरतालाई बचाउन सकिन्छ र नेपाली नागरिकको उर्लँदो आकाङ्क्षाको सही व्यवस्थापन गर्न सकिन्छ । नागरिकलाई आकाङ्क्षाहरूले भरिएको सपना देखाउने तर नागरिकका सपनालाई विपनामा परिणत गर्न प्रयास इमान्दार प्रयास भूल राजनीतिक नेतृत्वबाटै भएको हो ।
यही भूल भूसको आगोमा परिणत भइरहेको छ । अब यसलाई निभाउने काम राजनीतिक नेतृत्वले नगरी सुखै छैन । अनि, भुसको आगो निभाउन भुस र आगोको प्रकृति नबुझी हुँदैन । सबैलाई चेतना भया ।

[ साभार: राजधानी दैनिक  ( मंसिर १२, २०७०)  



Sunday, November 10, 2013

इतिहासको दुर्लभ साक्षीलाई सम्झँदा



यमबहादुर दुरा
प्रथम दोस्रो विश्वयुद्ध सबैलाई एकपटक सोंच्न बाध्य तुल्याउने रक्तरञ्जित इतिहास सौभाग्य भनौं वा दुर्भाग्य, गोर्खा सैनिकहरू इतिहासका यी रक्तरञ्जित अध्यायहरूका साक्षी बन्न पुगे प्रथम विश्वयुद्धका भुक्तभोगी गोर्खा सैनिकहरू अब यस धर्तीमा छैनन् दोस्रो विश्वयुद्ध देख्नेभोग्नेहरू अझै जीवित छन्, त्यो पनि औंलामै गन्न सकिने जति मात्र उनीहरू डाँडामाथिको घामजस्ता छन् आज हो कि भोलि, कुनै भरोसा छैन उनीहरू एकपछि अर्को गरी अस्ताउँदैछन्
दोस्रो विश्वयुद्धको दुर्लभ साक्षीमध्येका एक क्याप्टेन बखानसिंह दुरा केही महिनाअघि यस संसारबाट बिदा हुनुभयो उहाँ केही वर्षदेखि पोखरामा बस्दै आउनुभएको थियो उमेरले एक शताब्दीमा टेक्दै गर्दा २०७० साल भदौ २० गते उहाँ यस धर्तीबाट सदाका लागि अस्ताउनुभयो

उहाँको देहावसनबाट नेपाली समाजले इतिहासको एउटा दुर्लभ साक्षीलाई गुमायो यससँगसँगै उहाँको लगभग ८० वर्ष लामो दाम्पत्य जीवनको अध्याय पनि अन्त्य भयो  

उहाँको जीवनकहानी कम घतलाग्दो छैन ।  फौजी सिंदुर पहिरिएर पहिलो छुट्टीमा घर आउँदा उहाँले मैखु दुरालाई सिंदुर पहिर्‍याउनुभएको थियो त्यतिबेला बेहुलाको उमेर २० वर्ष थियो भने बेहुली मैखु दुराको उमेर  मात्र १२ वर्ष अहिले मैखु दुरा ९२ वर्षकी हुनुभयो
अहिले क्याप्टेन बखानसिंह दुराका १४ पनाति, १८ पनातिनी, तीन खनाति तीन खनातिनीसहित ८७ जना शाखासन्तान छन् उनीरूको नसामा बखानसिंह दुराको रगत जीवित उहाँले आठ दशक लामो दाम्पत्य जीवन बिताउन पाउनुभयो खानातिखनातिनीसम्मलाई काखमा खेलाउन पाउनुभयो यो चानचुने कुरा होइन उहाँको जस्तो शौभाग्यपूर्ण जीवन अबका दिनमा कमैले भोग्न पाउलान्, ‘लेट म्यारिज् कम सन्तान जन्माउने चलनले गाँजेको वर्तमान घडीमा





पल्टनिया सँगीहरूसँग क्या. बखानसिंह   दुरा
वि.सं. १९७१ साल मङ्सिर १० गते उहाँ लमजुङ जिल्लाको दुराडाँडास्थित भाँगु गाउँमा जन्मनुभएको थियो उहाँ सन् १९३३ अप्रिल १२ तारिखमा भारतको गोरखपुरमा १८ वर्षको उमेरमा भर्ती हुनभयो त्यसपछि हालको पाकिस्तानस्थित अटवाबाज तालिम केन्द्रमा पल्टनिया बुट बजार्न पुग्नुभएको थियो

सन् १९३९ दोस्रो विश्वयुद्धको नरसंहारकारी आगो सल्किँदै थियो पल्टनमा लडाइँको तयारीसम्बन्धी तालिम चल्दै थियो यत्तिकैमा लडाइँको शंखघोष भयो उहाँ तत्कालीन ब्रिटिशइन्डियाको तर्फबाट विभिन्न स्थानमा मर्ने मार्ने खेलमा खटिनुभयो यसै मेसोमा सन् १९४५ मा उनी जापानसँगको लडाइँमा बर्मामा खटिनुभयो त्यतिबेला जापानी सैनिकले हानेको बमको  टुक्राले उहाँको बायाँ कोखामा निशाना लगायो उहाँको आन्द्रभुँडी बाहिर निस्कियो उहाँको सहकर्मीले त्यसलाई पुनः पेटभित्र हुलिदियो उहाँ पाँच दिनसम्म बेहोश हुनुभयो
 
युद्ध जारी रहेको अवस्थामा उहाँलाई तत्कालै अस्पताल पुरयाउने व्यवस्था हुन सकेन केही दिन क्याम्पमै घाइते शरीर लिएर बसेपछि उनलाई ढाका (बंगलादेश) स्थित अस्पतालमा भर्ना गरियो उपचारपछि निको भएर लडाइँमा जाने बेलामा एक्सरे गर्दा पेटमा बमको छर्रा बाँकी रहेको भेटियो डाक्टरको सल्लाहअनुसार अपरेशन गरेपछि उहाँले तीन महिना अस्पतालमै बिताउनुभयो त्यसपछि उहाँ तन्दुरुस्त हुनुभयो लडाइँमा पुनः सामेल हुने तयारी गर्दै गर्दा दोस्रो विश्वयुद्ध सकिएको घोषण भयो उहाँ युद्धको विभीषिकाबाट बाँच्नुभयो उहाँको मुखबाट युद्ध फौजी जीवनसँग गाँसिएका यस्ता संस्मरणहरू श्रृङ्खलाबद्ध रूपमा सुन्न पाइन्थ्यो
 
दोस्रो विश्वयुद्धताका उहाँको तलब १६ भारतीय रुपैयाँ  थियो उहाँको त्यतिबेलाको खर्चको फाँटवारी पनि कम रोचक छैन उहाँले एक ठाउँमा भन्नुभएको , ‘१६ रुपैयाँमध्ये १२ रुपियाँ परिवारलाई दिइन्थ्यो, रुपियाँ छुट्टीको लागि काटिन्थ्यो भने रुपैयाँमात्र हामीले पाउँथ्यौं
उहाँको पल्टनिया गफ निकै चाखलाग्दो हुन्थ्यो गाउँघरमा मारुनी सोरठी नाँचेर पल्टनमा पुगेका गोर्खाली ठिटाहरू विदेशी शैलीको नाँचमा तालमा ताल मिलाएर नाँच्न नजान्दा बेढङ्गे देखिन पुगेको, पानी जहाजमा हप्तौं यात्रा गर्दा फौजी जवानहरूमोसन सिकनेसले इन्तु चिन्तु भएको, छुट्टीमा घर फर्कदा  ‘ट्रन्जिट क्याम्पमालैनछोकडीको नगदमुखीमा मायामा भुलेर लाहुरेहरू रित्तो खल्ती लिएर घर फर्किएको, गाउँका सोल्टिनीहरूले दिएको सम्झनाकोसेलीको पोको बोकेर पल्टने ठिटाहरू आँसु पुछ्दै हाँजिर हुन गएको आदि अब हत्तपत्त सुन्न नपाइने तत्कालीन समयको फौजी संस्करणका यी कहानीहरू आफैंमा दुर्लभ विषय बनेका छन्



जवान छँदा क्या. बखानसिंह दुरा
सन् १९४७ मा अङ्ग्रेजको साम्राज्यवादी पञ्जाबाट भारत मुक्त भएपछि भारतीय सैनिक बन्ने कि बेलायती सैनिक बन्ने भन्नेबारे उहाँको साथीसंगीहरूबीच बहस चल्यो यस क्रममा उहाँले बेलायतको अधिनमा बस्ने निधो गर्नुभयो बेलायती सैनिक बनेपछि बर्माबाट उहाँ मलाया (मलेशिया) को 'सुनगाइ पटानी' भन्ने ठाउँमा पुग्नुभयो सैनिक सेवामा उल्लेखनीय योगदान दिएवापत थुपै पदक मानपद्वी थाप्ने उहाँलाई श्रद्धासाथ हेर्ने मानिसहरूको कुनै कमी छैन बेलायती सेनाका ९२ वर्षीय कर्णेल जेपी क्रसको विचारमा क्याप्टेन बखानसिंह दुरा जङ्गी सेवा समाजसेवाको प्रतिमूर्ति हुनुहुन्छ

२४ वर्षको पल्टनिया जीवनको थुप्रै उतारचढाव  पार गरेपछि उहाँ सन् १९५७ मा सैनिक सेवाबाट सेवा निवृत्त हुनुभयो   शुरुमा उहाँको पेन्सन ६० रुपैयाँमात्र थियो । उहाँले सन् १९६० देखि १९६८ सम्म पक्लिहवामाअसिस्टेन्ट रिक्रुटिङ अफिसर’ (एआरओ) को रूपमा काम गर्नुभयो यस क्रममा उहाँले रोटो भोटोको खोजीमा भौंतारिएका गाउँबस्तीका थुप्रै बेरोजगार युवाहरूलाई बेलायती सेनामा भर्ती गराउनुभयो यद्यपि राजनीतिक वृत्तमा गोरखा भर्ती केन्द्रको पक्ष विपक्षमा बहस चलेको बहस आजपर्यन्त कायमै छ ।
 
एआरओको जिम्मेवारी पूरा गरेपछि उहाँ पूर्ण रूपमा समाजसेवामा होम्मिनुभयो वि.सं. २०२४ तिर उहाँ तत्कालीन रत्नदेवी गाउँ पञ्चायतको कार्यवहाक प्रधानपञ्च समाजको सेवामा लाग्नुभयो उहाँ स्थानीय विद्यालयहरूसर्वोदय मावि (च्यानपाटा), देवी सदन प्रावि (तुर्लुङकोट) सरस्वती सदन मावि (ठूलोस्वाँरा) — को सञ्चालक समितिमा रहेर शिक्षा सेवामा सरिक हुनुभयो
 
वि.सं. २०३९ सालमा रत्नदेवी गाविस टुक्रिएर पुरानकोट गाउँ पञ्चायत सिंदुरे गाउँ पञ्चायत बनेपछि उहाँ सिंदुरे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो त्यसपछि उहाँ गाउँठाउँको विकासमा जुट्नुभयो राजनीतिक पद लिएर पनि राजनीति नगरिकनै समाजसेवामा जुट्नुभयो उहाँ पाटीपौवादेखि बाटोघाटोसम्मको स्थानीय आवश्यकताअनुरूपका विकास निर्माण कार्यमा जुट्नुभयो त्यस क्षेत्रमा उहाँ निस्वार्थी कर्मठ समाजसेवीको रूपमा चिनिनुहुन्छ


क्या. बखानसिंह दुरा श्रीमती मैखु दुराका साथ (तस्बिर : किसान दुरा)
पहिचानको निम्ति छटपटाइरहेका अल्पसंख्यक दुरा
समुदायको इतिहास  खोज्ने, शाहवंशीय राजसंस्थाको स्थापनासँग गाँसिएको लमजुङको दुराडाँडास्थित ऐतिहासिक स्थल सिंदुरे ढुङ्गाको उत्थान विकास, सिंदुरे ढुङ्गामा फूटबल मैदान निर्माण, राणाशासनको अवशेषको रूपमा रहेको बेठबेगारी प्रथा हटाउनेलगायतका लोककल्याणकारी कार्यमा उहाँको उल्लेखनीय भूमिका रह्यो
उहाँको निधनबारे आमसञ्चार माध्यमहरू बेखबरजस्तै भए भनिन्छ, बेलायतमा सडकमावार भेटरानहिँडेको देखेमा हरेक व्यक्तिले श्रद्धापूर्वकस्यालुट मार्ने ' गरिन्छ तर यहाँ इतिहास रचयिताको मृत्युको खबरसम्म पनि आमसञ्चार माध्यममा नआएको घटनालाई अनौठो मानिँदैन इतिहास रचयिताकै इतिहास नलेखिने विडम्बनापूर्ण अवस्था हामीकहाँ आफैं इतिहास बनिसक्नुभएका इतिहासका दुर्लभ साक्षी तथा लोकहितैषी क्याप्टेन बखानसिंह दुराप्रति असीम श्रद्धा र लाख लाख 'स्यालुट' ।

[साभार: गोरखपत्र 'शनिबार' (कात्तिक २३,२०७०)। सामान्य परिमार्जनसहित]
  
[अद्यावधिक : २०७२।०६।१९ ]