Tuesday, September 27, 2022

खुला विश्वविद्यालय विकिपिडिया

 सन् २०१० मा विश्वविख्यात विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ ले आफ्नो २ सय ४४ वर्ष लामो इतिहासलाई विराम लगाउँदै  प्रिन्ट संस्करण बन्द गर्‍यो । यद्यपि, यसको अनलाइन संस्करणको प्रकाशन भने जारी छ ।  विश्वभर ज्ञानगुनको एउटा महत्त्वपूर्ण स्रोत मानिने ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को प्रिन्ट संस्करण बन्द भएको घटनाले विश्वका प्रमुख समाचारपत्रहरूमा शीर्षस्थान पाए । विश्वभर ख्याति कमाएको विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ ले एकाएक आफ्नो प्रिन्ट संस्करण किन बन्द गर्‍यो ? यसका कारणहरू के थिए ? धेरैका मनमा जिज्ञासा उठ्नु स्वाभाविक हो । 

‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को प्रिन्ट संस्करण अन्त्य हुनुको कारण खोज्दै जाँदा केही स्पष्ट कारणहरू भेटिन्छन् । अनलाइनमा निःशुल्क र छिटो–छरितो किसिमले ज्ञानगुनका कुरा पाउन थालेपछि पैसा तिरेर मोटा मोटा विश्वकोश पढ्न आवश्यक भएन । त्यसमा पनि, सन् २००० पछि इन्टरनेटसमेत प्रयोग गर्न सकिने स्मार्ट फोन उपलब्ध हुन थालेपछि अनलाइनमा ज्ञानगुनका कुरा अझ सजिलो गरी उपलब्ध हुन थाल्यो । 

सन् २००१ मा सूचनाको खुल्ला स्रोत (open source) मा आधारित निःशुल्क अनलाइन विश्वकोश ‘विकिपिडिया’ शुरु भए पछि त ज्ञान उत्पादन, प्रयोग र विस्तारमा क्रान्ति नै आयो । ज्ञान उत्पादन र वितरण प्रणालीमा आएको यसप्रकारको अकल्पनीय परिवर्तनले विश्वविख्यात विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ आफ्नो प्रिन्ट संस्करण बन्द गर्न बाध्य भयो ।

ज्ञानगुनको क्षेत्रमा सम्राट मानिएको ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ लाई पल्टाएर ‘विकिपिडिया’ एउटा अर्को दरिलो ज्ञान स्तम्भका रूपमा उभिन थाल्यो । विश्वभर तहल्का मच्चाउन सफल ‘विकिपिडिया’ को शब्द व्युत्पत्ति खोतल्ने हो भने यो दुई शब्द मिलेर बनेको छ— ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ अमेरिकाको हवाइ टापूमा बोलिने हवाइयन भाषाबाट लिएको हो, जसको अर्थ हुन्छ—छिटो । ‘पिडिया’ चाहिँ ‘इन्साइक्लोपिडिया’ संक्षिप्त रूप हो । यस आधारमा ‘विकिपिडिया’ छिटो–छरितो किसिमले उपलब्ध हुने विश्वकोश (ज्ञानसागर) बनेर बुझ्न सकिन्छ । 


हुन पनि, विश्वका ठूला ठूला पुस्तकालायमा भीमकाय पुस्तकका ठेलीमा रहने विश्वकोश अहिले मानिसको हात हातमा सहजै उपलब्ध छ । यतिबेला ज्ञान पाउन न पुस्तकालय पुग्न पुस्तक पसल चाहर्नुपर्छ, न त पुस्तक पसल नै पुग्नुपर्छ । ज्ञान उत्पादन र उपयोगमा यस्तो सहज अवस्था आउनुमा ‘विकिपिडिया’ को अतुलनीय भुमिका छ । 

अमेरिकी अखबार ‘द स्याटर्डे इभिनिङ पोष्ट’ (अगष्ट १५, २०१७) मा ‘द डेथ अब् इन्साइक्लोपिडिया’ शीर्षकमा प्रकाशित एक लेखमा प्रिन्ट संस्करण आउने अमेरिकी विश्वकोश ‘वर्ल्ड  बुक’ र  अनलाइन विश्वकोशबीच तुलना गरिएको छ । 

त्यस अखबारका अनुसार विश्वकोश ‘वर्ल्ड  बुक’ को  नवीनतम् संस्करणमा जम्मा १७ हजार लेख छन् भने अनलाइन विश्वकोशमा ५० लाख लेख अटाएका छन् । यी दुईबीच कुनै तुलना हुनसक्ने अवस्था नै छैन । विषयवस्तुको निरन्तर समृद्धीकरण र गतिशीलताका दृष्टिले अनलाइन विश्वकोश कता हो कता अगाडि छ । 

इतिहास

समयकले कोल्टो फेर्दै जाँदा हार्ड कपीमा मात्र उपलब्ध विश्वकोश (encyclopedia)  लाई सफ्ट कपीमा पनि पढ्ने चाहना पाठकमा मनमा पलाउन थाल्यो, जुन कल्पनाशील पाठकका लागि अस्वाभाविक थिएन । यसलाई दृष्टिगत गर्दै माइक्रोसफ्ट कम्पनीले सन् १९९३ मा सीडीमार्फत्  ‘इन्कार्टा’ नामक डिजिटल विश्वकोश लञ्च ग¥यो, जसलाई कम्प्युटरमा पढ्न सकिन्थ्यो । त्यसपछि डीभीडीमा पनि विश्वकोश हेर्न तथा पढ्न सकिने अवस्था आयो । समयको अनन्त प्रवाहसँगै यसलाई अझ परिष्कृत र पाठकमैत्री बनाउने प्रयासहरू विभिन्न व्यक्ति तथा संस्थाहरूबाट हुँदै गए । 

यस क्रममा इन्टरनेट उद्यमी जिमी वेल्सले अमेरिकाको क्यालिफोर्नियामा वेब पोर्टल कम्पनी खोले । अनलाइन विश्वकोश ‘ब्रिटानिका’ का अनुसार उनले सन् २००० मा ‘नुपिडिया’ नामक नामक अनलाइन विश्वकोश स्थापना गरे । यसका सम्पादक इन्टर परियोजना डिभलपर ल्यारी स्याङगर थिए । ‘नुपिडिया’ को विधि र प्रक्रिया परम्परागत विश्वकोशजस्तै थियो । अर्थात् ‘नुपिडिया’ जानकारी सङ्कलन, प्रशोधन र सम्पादनको एउटा लम्बेतान प्रक्रियाबाट गुज्रनुपर्दथ्यो । यसलाई छिटो छरितो बनाउने अभिप्रायले यसका सम्पादक ल्यारी स्याङगर सूचनाको खुल्ला स्रोतमा आधारित विश्वकोश बनाउनुपर्ने पक्षमा उभिए । यसअनुरूप सन् २००१ जनवरी १५ मा ‘नुपिडिया’ को सहायक साइटको रूपमा ‘विकिपिडिया’ शुरु गरियो । 

‘नुपिडिया’ को सल्लाहकार बोर्डले यसलाई ‘नुपिडिया’ को सहायक साइटको रूपमा नभई बेग्लै साइटकको रूपमा राख्न दबाब दिएकाले केही दिनपछि ‘विकिपिडिया’ लाई एउटा स्वतन्त्र अस्तित्व भएको अनलाइन विश्वकोशको रूपमा सञ्चालन गर्न थालियो । 

छोटो समयमै ‘विकिपिडिया’ को लोकप्रियता बढ्न थालेपछि सन् २००३ मा आएर ‘नुपिडिया’ लाई बन्द गरियो । त्यसमा भएका सामग्रीलाई ‘विकिपिडिया’ मा स्थानान्तरण गरियो । ‘विकिपिडिया’ ले दुनियाँको पठन संस्कृति र ज्ञान उत्पादनको प्रक्रियामा आमूल परिवर्तन ल्याइदिएको छ । अहिले गैरनाफामूलक संस्था ‘विकिमिडिया फाउन्डेसन’ ले ‘विकिपिडिया’ को सञ्चालन र व्यवस्थापनको अभिभारा बोकेको छ ।

ज्ञानको लोकतान्त्रिकीकरण

जर्मनीको अन्तर्राष्ट्रिय प्रसारण संस्था ‘डचे बेले’ ले पसारण गरेको वृत्तचित्र (जुन १, २०२२) का अनुसार ‘विकिपिडिया’ मा विश्वका ३ सयभन्दा बढी भाषामा ५० लाखभन्दा बढी सामग्रीहरू छन्, जुन ज्ञानको अथाह भण्डार हो । यसको दायरा आयातन समयक्रमसँगै बढ्दै गएको छ ।  इन्टरनेटमा पहुँच भएका जोकोहीले यसप्रकारको अथाह ज्ञानकुञ्चमा सहजै पहुँच पाउँछन् । 

विगतमा यस्तो सुनौलो अवसर उपलब्ध थिएन । छापिएर आउने विश्वकोशमा सर्वसाधारणको सहज पहुँच थिएन । मूलतः दुई कारणले पहुँच थिएन । एक, विगतमा धेरै मानिस शिक्षित थिएनन् । दुई, किनेर वा पुस्तकालय धाएरमात्र विश्वकोश पढ्न पाइन्थ्यो, जुन धेरैका लागि सहज थिएन । यस दृष्टिले विगतमा शास्त्रको ज्ञान ठूलाठूला धर्मगुरु, चिन्तक, प्राध्यापकजस्ता सम्भ्रान्त वर्गको पेवा जस्तै थियो । 

ज्ञानलाई सीमित व्यक्ति व वर्गको घेराबाट बाहिर निकालेर सर्वसाधारणको पहुँचमा पुर्‍याउने काम ‘विकिपिडिया’ तथा अन्य अनलाइन प्ल्याटफर्महरूले गरे ।  ‘विकिपिडिया’ ले अनेकन् महङ्गा पुस्तक खरिद नगरिकनै तथा नामुद पुस्तकालय नचाहरिकनै ज्ञानका असंख्य विधामा पहुँच बढाउन सकिने अवसर निम्त्याइदिएको छ । यसले झुपडीमा बस्ने सर्वसाधारणदेखि गगनचुम्बी महलमा बस्ने सम्भ्रान्त वर्गका मानिसका लागि ज्ञानमा समान पहुँच बढाउन सहयोग गरेको छ । यो कुनै चानचुने उपलब्धि होइन । 

अहिले विश्वभर साक्षरता दर बढ्दै पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यु’ को नवीनतम् आँकडाअनुसार विश्वका ८६ प्रतिशत वासिन्दा साक्षर छन् । विश्वको साक्षरता दर उकालो लागेसँगै ज्ञान आर्जनमा मात्रै होइन, ज्ञान उत्पादनमा पनि सर्वसाधारणको सहभागिता बढ्दै गएको छ । 

ज्ञान उत्पादनको अभियानमा ‘विकिपिडिया’ एउटा गजबको थलो बन्न पुगेको छ । संसारभरका स्वयम्सेवकहरूले ‘विकिपिडिया’ मा सामग्री अपलोड तथा सम्पादन गर्न सक्छन् । ज्ञान उत्पादनमा आएको यसप्रकारको उदारतापूर्ण खुल्लापन विश्व समुदायका लागि एउटा अभूतपूर्व र सुन्दर उपहार हो । ‘विकिपिडिया’ खुल्ला विश्वविद्यालय बन्न पुगेको छ । यसबाट ज्ञानको लोकतान्त्रिकीरणमा सहयोग पुगेको छ, जुन प्रकारान्तरले विश्वको राजनीतिक परिपाटीको लोकतान्त्रिकीरणतर्फको कदम पनि हुन गएको छ । 

सम्पादनको अनन्त शृङ्खला

‘विकिपिडिया’ को सामग्री विश्वभर छरिएर रहेका स्वयम्सेवीहरू स्वस्फूर्त  किसिमले सम्पादन गर्छन् । 'विकिपिडिया  को मातृसंस्था ‘विकिपिडिया फाउन्डेसन’ का पूर्व कार्यकारी अधिकृत काथरी महरले ‘टेड टक्स’ (जुन २८, २०२२) मार्फत् दिएको प्रवचनका अनुसार ‘विकिपिडिया’ मा प्रतिमिनेट तीन सय ५० पटक सम्पादन हुन्छन् । यसको अर्थ हो, ‘विकिपिडिया’ मा एउटा विषयमा धेरै वादविवाद, तर्क–वितर्क र परिमार्जन भइरहन्छ । सोहीअनुसार ‘विकिपिडिया’ का सामग्रीहरू परिमार्जन भइरहन्छन् । सम्पादनको अविरल शृङ्खलाको माध्यमबाट ‘विकिपिडिया’ ले सत्य र विश्वास बीच सन्तुलन कायम गर्ने हरदम प्रयास गर्छ । यसैगरी, यसले धारणा (perception)  र वास्तविकता (reality)  बीच समविन्दु कायम गर्ने प्रयास पनि निरन्तर गरिरहन्छ । 

‘विकिपिडिया’ मा जोकोहीले संसारको जुनसुकै कुनाबाट सामग्री अपलोड तथा सम्पादन गर्न सक्छ । यसप्रकार खुल्ला परिपाटी नै ‘विकिपिडिया’ को सबल र दुर्बल पक्ष मानिन्छ । जोकोहीले ज्ञान उत्पादन र परिमार्जनमा सामूहिक योगदान दिन सक्ने भएको छ । यसलाई ‘विकिपिडिया’ को एउटा कोणबाट सबल मानिएको छ । तर, ‘विकिपिडिया’ मा जसले पनि लेख्न सक्ने भएकाले खुल्ला स्रोतबाट उत्पादित ज्ञानको गुणस्तर के हुने भन्नेबारे विश्वव्यापी रूपमै शङ्का–उपशङ्का उब्जिएको उब्जियै छ, जुन ‘विकिपिडिया’ को दुर्बल पक्ष मानिएको छ ।

‘विकिपिडिया’ मा विद्यमान सामग्री सम्पादन कार्यमा जुनसुकै व्यक्तिले हात हाल्न सक्ने भएकाले यसमा गलत आशययुक्त व्यक्तिहरूले चलखेल गर्न सक्छन् । उनीहरूले अनुचित तरिकाले जानकारी हटाउने र दुराशयपूर्ण महत्त्वपूर्ण सूचना फेरबदल गर्ने सम्भावना रहन्छ । 

यस्तो कार्यलाई बुझाउन अंग्रेजीमा भ्यान्डलिजम् (vandalism)  भन्ने शब्द प्रयोग गर्न थालिएको छ । कुनै सामग्रीमा भ्यान्डलिजम् भए–नभएको तथ्य ‘विकिपिडिया’ का सम्पादकले भन्दा पनि स्वचालित कम्प्युटर रोबोट ‘विकिपिडिया बट्स’ ले पत्ता लगाउँछन् । 

कुनै सम्वेदनशील विषयमा तिक्ततापूर्ण वादविवाद, कटुआलोचना तथा प्रत्यालोचना भएमा त्यस्ता सामग्रीलाई केही समय सम्पादन गर्न नमिल्ने गरी जाम गर्ने सम्पादकीय नीति ‘विकिपिडिया’ ले लिएको छ । आफ्ना सामग्रीका कारण वैरभावपूर्ण स्थिति उत्पन्न नहोस् भन्नका लागि ‘विकिपिडिया’ ले कुनै पनि विषयमा तटस्थ दृष्टिकोण राख्ने, अपलोड गरिएका सामग्री परीक्षणयोग्य हुनुपर्ने तथा स्रोतविनाको सामग्री प्रयोग नगर्ने नीति अपनाएको छ, जुन ‘विकिपिडिया’ को मूल मन्त्रको अपनाएको छ । 

विकिपिडिया पुस्तकालय

हरेक विधामा कुस्त प्रमाण जुटाएर त्यसलाई विश्वासिलो बनाएर प्रस्तुत गर्न विश्वकोशलाई व्यापकस्तरमा भरपर्दा सन्दर्भ सामग्री आवश्यक पर्छ । यही प्रयोजनका लागि ‘विकिपिडिया’ ले आफ्ना सम्पादकहरूका लागि भर्चुअल पुस्तकालयको व्यवस्था गरिदिएको छ, जसलाई ‘विकिपिडिया पुस्तकालय’ भनिन्छ । 

‘विकिपिडिया पुस्तकालय’ मा ठूलो मात्रामा डिजिटल प्रकाशनहरू उपलब्ध छन्, जसलाई ‘विकिपिडिया’ का सम्पादकहरूले सन्दर्भ सामग्रीका रूपमा भरपूर उपयोग गर्न सक्छन् । ६० भन्दा बढी पुस्तक प्रकाशकहरूले ‘विकिपिडिया पुस्तकालय’ लाई सन्दर्भ सामग्री उपलब्ध गराउनेबारे साभेदारी शुरु गरिसकेको छ । 

विकिपिडिया परिवार

अहिले ‘विकिपिडिया’ को सञ्चालक संस्था ‘विकिमिडिया फाउन्डेसन’ विस्तारित हुँदै गएर समुद्रजस्तै विस्तीर्ण बनेको छ । आजकल अनलाइन विश्वकोश ‘विकिपिडिया’ का अतिरिक्त ज्ञानगुन आर्जन गर्ने तथा लेखपढ गर्ने अन्य थुप्रै अनलाइलन प्ल्याटफर्महरू ‘विकिमिडिया फाउन्डेसन’ अन्तर्गत उपलब्ध छन्, जुन ‘विकिपिडिया’ कै बृहत्तर परिवारका सदस्यहरू हुन् । विकिनरी (अनलाइन शब्दकोश), विकिबुक (अनलाइन पुस्तकहरूको सङ्ग्रह), विकिकोट (उद्धरणहरूको सङ्ग्रह), विकिभोएज (ट्राभल गाइड), विकिन्युज (अनलाइन अखबार), विकिभर्सिटी (प्राज्ञिक अध्ययनसँग सम्बन्धित अध्ययन–सामग्रीहरूको सङ्ग्रह), विकिजर्नल्स् (शोधमूलक प्राज्ञिक जर्नल) जस्ता प्ल्याटफर्महरूमा ज्ञानको व्रह्माण्ड नै भेटिन्छन् । यस्ता प्ल्याटफर्मले ज्ञानव्यसनीहरूको ज्ञानको क्षितिज अझ फराकिलो बनाउन सहयोग गरिरहेका छन् । 

बिसौनीनेर

ज्ञानको खुल्ला विश्वविद्यालयको रूपमा रहेको ‘विकिपिडिया’ का सामग्रीहरूलाई प्राज्ञिक प्रयोजनका लागि उद्धरण गर्न विश्वविद्यालयले अनुमति दिँदैन । खुल्ला स्रोतबाट निर्मित ज्ञान भएकाले त्यसको गुणस्तर र विश्वसनीयतामाथि प्रश्न उठाउँदै यस्तो विश्वविद्यालयले नीति अपनाएको हुनुपर्छ । यति हुँदाहुँदै पनि विश्वभरका प्राध्यापक तथा विद्यार्थीहरूले कुनै न कुनै रूपमा ‘विकिपिडिया’ साइट भिजिट गर्छन् । 

‘विकिपिडिया’ को सुन्दर पक्ष के हो भने यसले भिजिटरलाई ज्ञानको मौलिक स्रोतसम्म पुर्‍याइदिन्छ, जुन काम सम्बन्धित सामग्रीको सन्दर्भ सामग्री (reference)  खण्डले गर्छ । विकिपिडिया’ माथि पूरापुर विश्वास नगर्नेहरूले पनि यसलाई ज्ञानको अनन्त भण्डारमा प्रवेश गर्ने प्रवेशद्वारको रूपमा प्रयोग गर्दै आएका छन् । यस तथ्यलाई कसैले शायदै नकार्न सक्ला । 

[युवामञ्च । भदौ २०७९ । पृ. २३-२७]