Friday, July 19, 2019

लोकगीतमा अध्ययन–अनुसन्धानको खरेडी

-यमबहादुर दुरा

‘आफ्नो इतिहास, उत्पत्ति र संस्कृतिको ज्ञानविनाको मानिस जरा नभएको रूखजस्तै हुन्छ ।’ अफ्रिकी–अमेरिकी राजनीतिक अभियन्ता तथा पत्रकार मार्कस गार्भी (सन् १८८७—१९४०) को यो भनाइले मानिसका सांस्कृतिक पहिचान कति महत्वपूर्ण छ भन्ने तथ्यलाई इङ्गित गर्छ ।

हाम्रो सांस्कृतिक पहिचानलाई मजबुत बनाउने कडी लोकसाहित्य र लोकसंस्कृतिसँग जोडिएको छ । यिनीहरूसँग जनजीवनमा वास्तविकताले नाता गाँसेका हुन्छन् । यस्ता पक्षसँग व्यक्ति र समुदायको इतिहास, उत्पत्ति र संस्कृतिका आयामहरू दरिलोसँग गाँसिएका हुन्छन् ।

लोकगीत सांस्कृतिक पक्षको त्यस्तो दरिलो खम्बा हो, जसले व्यक्ति र समुदायको पहिचानसँग गाँसिएका  सांस्कृतिक आयामहरूलाई मजासँग धानेको हुन्छ । लोकगीतले जनताका कथाव्यथा र हाँसो–आँसुलाई समेटेको हुन्छ । त्यसभित्र जनजीवनका अनगिन्ती वास्तविकता र किस्सा–कहानी समेटिएका हुन्छन् । खोजीपसेमा यस्ता किस्सा–कहानीमा जनताका इतिहास, गौरवगाथा र संस्कृतिका थुप्रै पाटाहरू एकपछि अर्को गरी खुल्दै जान्छन् ।

थुप्रै इतिहासकार र अध्येताहरूले लोकगीतलाई इतिहासको स्रोत मानेका छन् । यस विषयमा विश्वका चर्चित जर्नलहरूमा खोजमूलक लेख छापिएका छन् । तर, हामीकहाँ भने लोकगीतको खोज–अनुसन्धान चुत्थो विषय बन्न पुगेको छ । यस्ता विषयमा कमै अध्ययन भएका छन् ।

लोकगीतको अध्ययन–अनुसन्धानले उचित स्थान नपाए पनि व्यक्ति र समुदायको असली पहिचानका लागि यसको अध्ययन–अन्वेषण अत्यावश्यक छ । हेर्दा सामान्यजस्तो लागे पनि लोकगीत एकदमै गहन र व्यापक विषय हो ।

अर्कोतिर, लोकगीत बहुआयमिक विषय हो । यसको अध्ययन–अनुसन्धानमा साङ्गीतिक पक्षको ज्ञानमात्र पर्याप्त छैन । सामाजिक–सांस्कृतिक परिवेश र सामाजिक मनोविज्ञानका तमाम पाटाहरूसँग अध्येता परिचित हुन आवश्यक छ । यो एउटा जटिल विषय हो ।

वाल्टर काफम्यानले आजभन्दा ५७ वर्षअघि सन् १९६२ मा ‘इथ्नोम्युजिकोलोजी’ जर्नलमा ‘फोकसङ अफ नेपाल’ शीर्षकमा लेख लेखेका थिए । उनले त्यसेबला नेपाली लोकगीतलाई धार्मिक तथा निरपेक्ष गरी दुई बृहत भागमा विभाजन गरेका थिए ।

नेपाली लोकगीतलाई यति साँगरो घेरामात्र सीमित गर्दा यसको दायरा अलि सीमित हुन जान्छ । नेपाली लोकगीतको व्यापकतालाई बुझ्न र मापन गर्न नेपाली यसलाई अझ मसिनो गरी केलाउन आवश्यक छ । यस दृष्टिले नेपाली लोकगीतलाई विभिन्न चिरामा विभाजन गर्न सकिन्छ ।

शैलीगत वा विधागत दृष्टिले नेपाली लोकगीतलाई रोइला, ख्याली, ठाडो भाका, चुड्का, तामाङसेलो, मारुनी, देउडा, सालैजोलगायत सयौं विधामा विभक्त गरेर हेर्न सकिन्छ । स्तुति, बालन, मालसिरीजस्ता गीतलाई धार्मिक÷आध्यात्मिक गीतको रूपमा लिन सकिन्छ ।

मैथिली, भोजपुरी, देउडा आदिलाई क्षेत्रीय भाषाका गीतको रूपमा वर्गीकरण गर्न सकिन्छ । नेवार, लिम्बू, राई आदि समुदायमा प्रचलित जातीय संस्कारमा आधारित गीतलाई इथ्नोम्युजिकोलोजी विधामा राख्न सकिन्छ ।

बालन, घाँटु, सोरठीजस्ता लोकनाटकमा विद्यमान गीति पक्ष र कथानकलाई विभिन्न सांस्कृतिक–आध्यातिमक कोणबाट अध्ययन गर्न सकिने पर्याप्त ठाउँ छ ।

यसका अतिरिक्त मौरीबाजा, मादल, सारङ्गी, पञ्चेबाजा, मुरली, मुर्चुङ्गा, बिनायोलगायत थुप्रै स्थानीय र रैथाने लोकबाजालाई लोकगीतको अर्को महत्वपूर्ण पाटोको रूपमा लिन सकिन्छ । यिनीहरूको गहन अध्ययन अर्कै गम्भीर पाटो बन्न पुग्छ ।

म्युजिक अरेञ्ज गर्ने कम्प्युटराइज्ड प्रविधिको विकासले लोकलयको मौलिकतामा पारेको प्रभाव, लोकगीतमा आएका नयाँ नयाँ प्रवृत्ति, प्रतिलिपि अधिकार, लोकगीतमा वाह्य प्रभाव पनि अध्ययनको विषय बन्न सक्छन् । यस्ता विषयमा खासै हात हालिएको छैन ।

यसैगरी भारत, भूटान, बर्मालगायतका देशमा रहेका नेपालीभाषीहरूको लोकगीतको परम्परा अध्ययनको अर्को विषय बन्नसक्छ ।

भाका, कथ्य (भाव), लय र तालको संयुक्त रूप हो, लोकगीत । यस्ता विविध विषयको अध्ययन–अनुसन्धान गर्नु भनेको महासागरमा पौडनु जत्तिकै हो । लोकगीतको गहनता र व्यापकताबारे वर्णन गर्न शब्दहरू अपर्याप्त छन् ।

माथि नै भनियो, सांस्कृतिक पहिचान, विषयगत गहनता, ज्ञान आदिका दृष्टिले लोकगीत व्यापक विषय भए पनि यसको खोज–अनुसन्धान पुग्नुपर्ने जति ध्यान गएको छैन । हाम्रो सन्दर्भमा यो सर्वथा कमजोर पक्ष हो । साथै, दुःखद पक्ष पनि हो ।

नेपालमा पश्चिमी गोलाद्र्धमा जस्तो लोकगीतसम्बन्धी अनुसन्धानको समृद्ध परम्परा पनि छैन । तर पनि  विगतमा सत्यमोहन जोशी (जन्मः वि.सं.१९७७), धर्मराज थापा (वि.सं.१९८१—२०७१), कृष्णप्रसाद पराजुली (वि.सं.१९९२—२०७०), कालीभक्त पन्त, लक्ष्मण लोहनी, हंसपुरे सुवेदी, मोतीलाल पराजुली (जन्मः वि.सं.२०१३) आदिले लोकगीतको खोज–अनुसन्धानलाई केही हदसम्म अघि बढाए ।

उनीहरूभन्दा पछिल्लो पुस्ताका गोविन्द आचार्य, विश्वप्रेम अधिकारी, तुलसी प्रवासजस्ता अध्येताले लोकगीतको खोजबिनमा भरथेग योगदान गरेका छन् ।

यी प्रयासहरू राम्रा हुँदाहुँदै पनि पर्याप्त छैनन् । यी अध्ययनमा गीतले समेटेका बृहत सामाजिक तथा सांस्कृतिक परिवेशको गहन र पर्याप्त विश्लेषणको अभाव देखिन्छ । शब्दिक वर्णनले मात्र गीतको मर्म बोल्न सक्दैन । धेरैजसो अध्ययनमा नोटेसन र अन्य प्राविधिक पक्षको  अभाव देखिन्छ ।

यी तमाम मामिलालाई ख्याल गर्दा लोकगीतको अध्ययन र अन्वेषणका लागि एउटा सिङगो दुनियाँ बाँकी छ । यसमा राज्यस्तर र जनस्तरको संयुक्त प्रयास अपेक्षित छ ।

[साभार: लोकसंवाद । २०७६ साल साउन ३ गते ।]

Saturday, July 13, 2019

लोकभाकामा स्वामित्वको कचिङ्गल

-यमबहादुर दुरा

लोकगीत के हो ? लोकगीतको कसको हो ? यो प्रश्नको सीधा र सरल जवाफ हो, लोकगीत जनताको लय हो- लोकगीत जनताको गीत हो । लोकगीतको सर्जक पनि जनता नै हुन्, प्रयोक्ता पनि जनता नै हुन् । लोकगीत सार्वजनिक सम्पत्ति भएकाले भएकाले त्यसलाई चाहेको बेलामा जसले पनि प्रयोग गर्न सक्छ । लोकगीतमा तेरो र मेरो भन्ने कुरा नै हुँदैन  ।

तर, समयको प्रवाहसँगै लोकगीतको परम्परागत परिभाषामा आमूल परिवर्तन आएको छ । यसको स्वाभाव र चरित्र पनि बदलिँदै गएको छ । लोकगीतमा जनताको स्वामित्व गुम्दै गएको छ । हिजो सार्वजनिक स्वामित्व (‘पब्लिक डोमेन’) मा रहेको मानिने लोकगीत निजी स्वामित्व (‘प्राइभेट डोमेन’) मा पुग्न थालेको छ । यो क्रम निरन्तर बढ्दो छ ।

विगतमा लोकगीत ग्रामीणजनको स्वःस्फूर्त मनोरञ्जनको माध्यम थियो । यसमा व्यापार वा अर्थोपार्जनको कुनै गुञ्जायस नै थिएन । जब विस्तारै रेकर्डिङ प्रविधि र सङ्गीत उद्योगको विकास हुन थाल्यो, तब लोकगीत विस्तारै व्यापारिक वस्तु बन्न थाल्यो । जहिलेदेखि लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, त्यहीबेलादेखि नै एउटा वृत्तमा लोकगीत झगडाको बीउ बन्न थाल्यो ।

विकसित मुलुकको तुलनामा नेपालमा धेरै पछिमात्र लोकगीत व्यापारिक वस्तु बन्न थालेको हो । २००७ सालमा राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको स्थापना भएपछि वायुतरङ्गमा लोकगीत प्रसारण हुने वातावरण बन्यो । त्यसपछि लोकगीत सङ्कलन, गायन र प्रसारण गर्ने परिपाटीले विस्तारै गति लिन थाल्यो ।

यससँगै नेपाली लोकगीतले वायुतरङ्गतमार्फत यात्रा गर्न शुरु गर्न थाले । यसपछि स्थानीयस्तरमा प्रचलित लोकभाकाहरू फराकिलो दायरामा विस्तार हुन थाल्यो । तत्कालीन समयमा नयाँ प्रविधिको रूपमा देखापरेको रेडियोमा लोकगीतले स्थान पाउन थालेपति  गायक–गायिकाहरूको लोकप्रियताले शिखर चुम्न थाल्यो ।

समयक्रमसँगै रेडियो प्रविधिको  नकारात्मक पक्ष पनि देखा पर्न थाल्यो । कलाकारहरूमा लोभ बढ्न थाल्यो । उनीहरूबीच नजानिँदो किसिमले प्रतिस्पर्धा पनि बढ्न थाल्यो । सार्वजनिक सम्पत्तिको रूपमा रहेको लोकगीतलाई आफ्नो नाममा ल्याउने होड चल्न थाल्यो । त्यसपछि स्वाभाविक रूपमा ‘तेरो र मेरो’ प्रश्न उठ्न थाल्यो ।


२०२४ सालमा रत्न रेकर्डिङ संस्थान स्थापना भएपछि नेपालमा रेकर्डिङ उद्योग बामे सर्न थाल्यो । २०४० को दशकमा निजी क्षेत्रमा रेकर्डिङ स्टुडियो स्थापना हुन थालेपछि एकपछि अर्को गरी लोकगीतका चक्काहरू निस्कन थाले । तिनको सुक्रीबिक्री पनि उत्साहजनक रूपमा हुन थाल्यो । यस्ता गतिविधिले लोकगीत व्यापारिक वस्तुमा परिणत हुँदै गयो ।

सँगसँगै, बजारमा आएका चक्कामध्ये कतिपयका भाका र शब्द अर्काको गीतमा मिलेको भनी सिकायत गर्नेे क्रम शुरु हुन थाल्यो । विवादका नयाँ नयाँ श्रृङ्खलाहरू देखा पर्न थाले । कतिपय अवस्थामा कलाकार–कलाकारबीच र उत्पादक–उत्पादकबीच मनोमालिन्य बढ्न थाल्यो । लोकगीतमा ‘तेरो र मेरो’ प्रश्न झन झन पेचिलो बन्दै गयो । अहिले बेलाबखतमा यस्ता विषयमा तातो बहस  नै चल्ने गर्छ ।

भर्खरैमात्र लोकगीतको मौलिकता र स्वामित्वबारे ठूलै बहस चल्यो । नवस्थापित कलाकार र पुराना कलाकारबीच एउटा चर्चित गीतको लयलाई लिएर शृङ्खलाबद्ध भनाबैरी चल्यो । कलाकारहरु विभिन्न ध्रुवमा उभिन थाले । यसप्रकारको कचिङ्गल कुनै नयाँ विषय होइन, पुरानै कचिङ्गलको नयाँ संस्करणमात्र हो ।

अन्तर्राष्ट्रियस्तरमा पनि सङ्गीतसम्बन्धी स्वामित्वका गम्भीर मामिलाहरू समय-समयमा सतहमा आउँछन् । केसा भर्सेस् डक्टर लुक (सन् २०१४), कोल्डप्ले भर्सेस् जो साट्रियानी (सन् २००८), मेटालिका भर्सेस न्याप्स्टर(सन् २०००),  भनिला आइस भर्सेस् डेभिड बोइ (सन् १९९०), सेली भर्सेस् गिब (सन् १९८४) जस्ता मुद्दामा दोषी ठहरिएका पक्षले लाखौं अमेरिकी डलर क्षतिपूर्ति समेत तिर्नुपरेको दृष्टान्त छ । नेपालमा यस्ता मामिलामा धेरै दन्तबझान भए पनि क्षतिपूर्ति वापत ठूलो रकम तिर्नुपरेको अवस्था छैन ।

आजकल पुराना कलाकारका चर्चित गीत पुनःरेकर्ड गरेर यु ट्युब च्यानलमा राख्ने लहर नै चलेको छ । यो  विषय कलाकार वृत्त र सङ्गीत अनुरागीहरूबीच वादविवादको विषय बनेको छ । साङ्गीतिक  अभिव्यक्तिका दृष्टिले एउटा कलाकार पहिले नै गएका गीत अर्को कलाकारले गाउन पाउन भए पनि प्रतिलिपि अधिकार र आर्थिक-लाभका दृष्टिले निषिद्ध छ,  जसबाट पुराना कलाकार गाएका पुराना कलाकारका चर्चित गीत पुनःरेकर्ड गर्ने प्रवृत्ति कलाकारहरूबीच मनमुटाबको स्रोत बन्न पुगेको छ ।

प्रतिलिपि अधिकारसम्बन्धी कानुनले सम्बन्धित सर्जकको सिर्जनामा कति समयसम्मप्रतिलिपि अधिकार कायम रहने भन्नेबारे विभिन्न प्रावधानहरू राखेको पाइन्छ । अमेरिकी कानुनले  भन्छ – सर्जकको मृत्यु भएको ७० वर्षपछि प्रतिलिपि अधिकार अन्त्य हुन्छ र त्यसपछि त्यो रचना ‘पब्लिक डोमेन’ मा रहन्छ ।

नेपालमा पनि सङ्गीतको प्रतिलिपि अधिकारसम्बन्धमा  केही प्रावधानहरू छन् । ती प्रावधान कति पर्याप्त र मजबुद छन् भन्ने कुरा बेग्लै विश्लेषणको विषय हो ।  २०७४ सालमा संशोधित ‘प्रतिलिपि अधिकार ऐन, २०४९’ ले नाटक, नाट्य-संगीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना एवम् शब्दसहित वा शब्दरहित सांगीतिक रचनालाई प्रतिलिपि अधिकारको दायरामा ल्याएको छ ।

‘राष्ट्रिय वौद्धिक सम्पत्ति नीति, २०७३’ ले लोकगीतबारे स्पष्ट शब्दमा नभने पनि कला, साहित्य, संस्कृति, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति आदिको रचनात्मकतालाई प्रोत्साहन गर्ने कुरा गरेको छ । तर, यस्ता नीति-नियम र कानुनले लोकगीतमा उठेका नैतिक प्रश्नलाई साम्य पार्न सकेका छैनन् ।

लोकगीतको मौलिकता र प्रतिलिपि अधिकारबारे अनेकन् जटिलता छन् । मूल कुरा के हो भने लोकगीत युगौंदेखि पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो ।  यसको मौलिकता र मौलिक रचनाकारको पहिचान खुट्याउन सहज छैन ।

त्यसमा पनि डिजिटल प्रविधिको आगमनले मौलिक रचनालाई सजिलै परिमार्जन गर्ने र आफ्नोजस्तो देखाएर प्रस्तुत गर्ने कार्यलाई सहज तुल्याइदिएको छ । यसले थप जटिलता निम्त्याएको छ ।

जति जति समय बित्दैछ, उति उति सार्वजनिक दायरामा रहेको लोकगीत व्यक्तिको खल्तीमा पुग्दैछ । अर्को शब्दमा भन्दा पूँजीवादले लोकगीतमा रहेको आर्थिक सम्भावनालाई पूरापुर दोहन गरिरहेको छ ।जनजीवनमा यसको नकारात्मक प्रभाव पर्न थालिसकेको छ । वनपाखामा युगौँदेखि गुञ्जिँदै आएका कोकिलकण्ठे भाकाहरूलाई जनताले आफ्नो गीत भन्न नपाउने अवस्था छ ।

यही पृष्ठभूमिमा लोकगीतको स्वामित्वबारे उठेका विवादले लोकगीतका सर्जकहरू थप रचनात्मक र विवेकशील हुनुपर्ने तथ्य औंल्याएकोमात्र छैन, उनीहरूको नैतिक धरातल पनि मजबुत हुनुपर्छ भन्ने  सूक्ष्म किसिमको सन्देश दिएको छ ।

लोकगीतमा ‘तेरो र मेरो’ बारे विवाद चुलिँदै गर्दा दूरगामी महत्वको एउटा गम्भीर प्रश्न उठेको छ । त्यो प्रश्न हो, ‘लोकगीत कसको हो ?’ यसको उत्तर खोज्ने जिम्म तपाईँ–हाम्रै हो ।

[लोकसंवाद । २०७६ साल असार २७ गते ।]

[अद्यावधिक : २०७६।०४।२०, २०७६।०८।१२, २०७७।०३।२९, २०७७।०४।१२, २०७७।०८।०४]