Tuesday, November 10, 2020

कोरोना नियन्त्रणको भावी कार्यदिशा

 –यमबहादुर दुरा

कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारका कार्यशैली र व्यावहारबारे राजनीतिक एवम् गैरराजनीतिक कोणबाट विश्लेषण भइरहेको छ ।  खासगरी, सरकारले नागरिकको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकार समेतलाई सम्मान नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

नेपालको संविधान (२०७२) को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । त्यसको उपधारा (१) मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ 

यसैगरी, उपधारा (३) मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’

नागरिकको स्वास्थ्यसम्बन्धी हकबारे संविधानमा यति प्रष्ट हुँदाहुँदै पनि कोरोना महामारी नियन्त्रण गर्ने दिशामा सरकार संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्नबाट पछि हटेको देखियो । सरकारले संवैधानिक प्रावधानविपरीत कोरोना परीक्षण र उपचार निःशुल्क गर्न नसकिने जिकिर गर्‍यो । सरकारले संवैधानिक जिम्मेवारी पालना नगरेको उसैको व्यावहारबाट प्रष्ट भयो । 

ग्राफिक्स : गुगल


कोरोना भाइरसको परीक्षण र उपचारमा सरकारले खर्च नगर्ने निर्णय  असोज १९ गते घोषणा गर्‍यो, जुन संवैधानिक प्रावधानविपरीत थियो । सरकारको घोषणापछि निजीसहित सरकारी अस्पतालले धरौटी रकमसहित उपचार शुल्क तोकेर बिरामीबाट मोटो असुल्न थाल्यो । 

सरकारको गैरजिम्मेवारीपन झन् झन् प्रकट हुन थाल्यो । अस्पतालमा विरामीको चाप बढ्दै गएपछि बेहोश नभएसम्म अस्पताल नजान सरकारले असोज २२ गते नागरिकलाई अनुरोध गर्‍यो । यतिमात्र होइन, सरकार स्वयम्ले बनाएको कार्यविधि मिचेर कोरोनाबाट मृत्यु हुनेहरूको शव व्यवस्थापन आफन्तजनले नै गर्नुपर्ने घोषणा गर्‍यो।

आफैंले शुल्क तिरेर परीक्षण गर्नुपर्ने भएपछि जनस्तरमा पनि हेलचक्र्याइँ बढ्न थाल्यो । लक्षण नभएकामात्र होइन, लक्षण भएका सङ्क्रमितहरू समेत परीक्षण नगरी बस्न थालेका समाचार आए । यसैगरी, स्थानीय तहले सङ्कलन गरेका ‘स्वाब’ हरूको पनि परीक्षण हुन नसकेको खबर पनि आए ।

देश भयानक स्वास्थ्य सङ्कटमा फँसेको बेलामा सरकारबाट प्रदर्शित व्यावहारलाई लिएर जनआक्रोश बढ्यो । आमसञ्चार माध्यम तथा सोसल मिडियामार्फत्  सरकारप्रतिको असंतुष्टि छताछुल्ल भयो । सरकारको कार्यशैलीलाई लिएर अदालतमा मुद्दा पर्‍यो । यसपछि असोज १५ गते सर्वोच्च अदालतले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई आदेश दियो ।

सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाउँदै सरकारले कात्तिक १७ गते पुरनावलोकनका लागि निवेदन दियो । त्यसपछि सर्वोच्च अदालतले सरकारको पुनरावलोकन निवेदनलाई खारेज गर्दै कोरोना परीक्षण र उपचार निःशुल्क गर्न कात्तिक २० गते पुनः आदेश दियो ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले कात्तिक २४ गते कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गर्‍यो । लामो समयको उतारचढावपूर्ण गोलचक्करपछि नागरिकको नैसर्गिक अधिकारलाई सम्मान गर्ने दिशामा सरकार अघि बढेको देखिन्छ ।

यी घटनाक्रमहरूका रिल घुमिरहँदा स्थिति गञ्जागोल बनिसकेको थियो । देशभरमा कोरोना सङ्क्रमितको संख्या लगभग दुई लाख नजिक पुगिसकेको छ । कोरोनाबाट मृत्युवरण गर्नेहरूको संख्या १ हजार १ जति पुगिसकेको छ । यतिञ्जेलसम्म नागरिकले हुनसम्मको हैरानीका खेप्न विवश भए ।

सर्वसाधारण नागरिकले अस्पतालमा यथासमयमा बेड नपाउँदा छट्पटिँदै बाटोमै मृत्युवरण गरेका, निजी अस्पतालको महङ्गो शुल्क तिर्न नसक्दा गरिबले उपचार नपाएका, अस्पतालमा मृत्युवरण गरेका विरामीका आफन्तले शुल्क चुकाउन नसक्दा अस्पतालले लाश नदिएकाजस्ता घोर पीडादायी प्रसङ्गहरू आए । पैसा र पहुँच भएकाले मात्र अस्पतालको बेड पाउने अवस्था आयो ।

यस्ता प्रसङ्ग सरकार कर्तव्यच्युत हुँदा निर्माण भएका असहज परिस्थितिको उपज थिए, जुन संविधानले परिकल्पना गरेका सामाजिक न्यायवेष्टित मूल्य–मान्यताविरुद्ध थिए । जेहोस्, लामो समयको अलमलपछि सरकार सही ट्र्याकमा आएको देखिन्छ । अहिलेसम्म बिग्रिएको काम सपार्न सरकारले अरोरात्र कर्मक्षेत्रमा जुट्नुपर्छ । 

महामारी नियन्त्रणका सम्बन्धमा सही र समयोचित प्रभावकारी कदम चाल्नका लागि सरोकालवालाहरूबीच समन्वय र नेतृत्वको अभाव छ भन्ने जनगुनासो छ । कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारद्वारा घोषित तलब–भत्तासमेत नपाएका र चरम असंतुष्टिबीच सरकारी अस्पतालका कतिपय स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएकाजस्ता नमीठा प्रसङ्गले धेरैलाई खिन्न तुल्यायो । 

सबै एकजुट भएर कोरोना महामारीविरुद्ध जुटनुपर्ने अवस्थामा यस्ता मनोमालिन्यपूर्ण प्रसङ्ग सार्वजनिक हुनुले सरोकालवाला पक्षहरूबीच समन्वय र सहकार्यको अभाव छ भन्ने तथ्यलाई पुष्टि गर्छ । कोरोना महामारीविरुद्ध लड्न सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ छैन भन्ने आरोप पनि छ । अब, यसलाई सरकारले व्यावहार र कार्यशैलीले नै चिर्न सक्नुपर्छ ।

आमसञ्चार माध्यममा आएका समाचारअनुसार यतिबेला सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीहरूको ग्राफ उकालो लाग्दैछ । यस्तो अवस्थामा पर्याप्त सघन उपचार कक्ष र भेन्टिलेटरको व्यवस्था हुन आवश्यक छ । यस्ता कुराहरूको चाँजोपाँजो मिलाउन सरोकालवाला पक्षहरूबीच समन्वय र सहकार्य आवश्यक छ । 

नेपालमा गम्भीर खालका विरामीको संख्या बढेको देखिन्छ । यद्यपि, कोरोना सङ्क्रमितको संख्यामा केही कमी आएको देखिन्छ । तर, परीक्षणको दायरा घटाइएकाले कोरोना सङ्क्रमितको संख्या घटेको देखिएको अनुमान गरिएको छ । 

बीबीसी विश्वसेवाको वेबसाइटमा सन् २०२० अक्टोबर २९ मा दक्षिण एशियामा कोरोना भाइरस विस्तारको अवस्थाबारे प्रकाशित श्रुति मेननको लेखले पनि पूर्वउल्लिखित तथ्यलाई अघि सारेको छ ।

‘कोरोना ट्र्याकर’ मा प्रकाशित आँकडाअनुसार नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८१.१ प्रतिशत छ । नेपालमा कोरोनाबाट मृत्युवरण गर्नेको संख्या ०.६ प्रतिशत छ, जुन दक्षिण एशियाकै कम मृत्युदर हो । बीबीसीमा प्रकाशित आँकडाअनुसार बङ्गलादेश, पाकिस्तान र भारतमा मृत्यदर क्रमशः ३.८, ३.३ र ९.४ प्रतिशत रहेको छ ।

कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ बढाउनुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव विभिन्न सञ्चार माध्यम आएका छन् । कतिपयले त ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेर कोरोना महामारीविरुद्ध लड्नुपर्ने सुझाव दिएका छन् । 

समयले दिशनिर्देश गरेअनुसार यस्ता सुझावलाई शिरोपर गरी काम–कारबाही अघि बढाउनु सरकारको दायित्व हुन आउँछ । अन्यथा, बिग्रँदै गएको अवस्थालाई समयमै समाधान गर्न सकिएन भने अवस्था झन जटिल हुन सक्नेतर्फ  जनस्वास्थ्यविदहरूले इङ्गित गर्दै आएका सम्भावना सही हुन सक्छन् । 

यतिबेला कोरोनाको उपचारमा सरिक निजी अस्पतालहरूले सर्वसाधारणले लगानी गर्नै नसक्ने गरी चर्को शुल्क असुलिरहेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । सबै अस्पताललाई सर्वसाधारणका लागि पहुँचयोग्य बनाउनैपर्छ । 

यस्ता अस्पताललाई सरकारले केही समय आफ्नो मातहतमा राखेर शुल्क घटाउने र आवश्यक प्रबन्ध मिलाउनुपर्ने देखिन्छ । आवश्यकता हेरी अस्पतालहरूमा अक्सिजनयुक्त बेडको व्यवस्था पनि गर्न आवश्यक छ । 

यी तमाम चाँचोपाँजो चुड्कीको भरमा मिलाउन सकिँदैन । यी काम चुनौतीपूर्ण छन् । यसका लागि सरकारको बागडोर सम्हाल्नेहरूको निरन्तर प्रयत्न आवश्यक छ । उनीहरू विवेकशील र धैर्यवान् पनि बन्नैपर्छ । 

सङ्कालीन घडीले कोरलेका यस्ता जिम्मेवारी पूरा गर्न सत्तासीन वर्गमा नेतृत्व, समन्वय र सहकार्यको सीप र क्षमता हुनु पनि उत्तिकै आवश्यक छ । यसमा नागरिक साथ र सहयोग पनि अत्यावश्यक छ । यो पनि बिर्सिनै नहुने पक्ष हो । 

[संवाद नेपाल । २०७७ साल कात्तिक २५ गते ।]

Sunday, November 8, 2020

महामारीबारे मातृभाषामा सूचना

 –यमबहादुर दुरा 

कोरोना महामारीले विश्व समुदायलाई हायलकायल पार्दै गएको एक वर्ष पुग्ने क्रममा छ । यस अवधिमा कोरोनाबाट विश्वभर करिब १२ लाख मानिसको ज्यान गइसकेको छ भने नेपालमा एक हजारभन्दा बढीको जीवनलीला समाप्त भइसकेको छ । यस बीचमा कोरोना नियन्त्रणका लागि खोप परीक्षणदेखि औषधि तयार पार्नेसम्मका सत्प्रयास भइरहेका छन् । कोरोना महामारी कहिले निस्तेज हुन्छ ? यसको कुनै सहज उत्तर छैन । 

कुनै पनि महामारी नियन्त्रणका लागि सुरक्षा–सतर्कता र औषधोपचार जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ–सम्बन्धित विषयको सूचना । सही समयमा प्राप्त हुने सही सूचनाले मानिसको जीवनमा चमत्कारिक परिवर्तन ल्याउन सक्छ, जुन एकप्रकारले सर्वस्वीकार्य तथ्य हो । 

कोरोना महामारीको प्रकोप सघन हुँदै गर्दा यसबाट कसरी बच्ने भन्नेबारे आमसञ्चार माध्यममा थुप्रै सूचना र उपयोगी जानकारीहरू सञ्चार माध्यममा आए । यस्ता सूचना र जानकारीबाट धेरैलाई लाभ पनि पुगेको हुनुपर्छ । 

यति हुँदाहुँदै पनि यहाँनेर एउटा प्रश्नचाहिँ उठ्छ, के सबै तह र तप्काका मानिसले यस्ता सूचनाबाट फाइदा उठाउन सके त ? दुनियाँभरमा स्वास्थ्य सङ्कटकाल आएका बेला दूरदराजमा बस्ने सीमान्तीकृत नागरिकले कोरोना महामारीबारे सही समयमा सही सूचना पाउन सके होलान् त ?

अझै  पनि कतिपय सीमान्तीकृत नागरिक जङ्गलको छेउछाउ र दूरदराजमा बसोबास गर्छन् । उनीहरू आधारभूत स्वास्थ्य सेवाबाट मात्र होइन, जीवनोपयोगी सूचनाबाट पनि बञ्चित हुन पुग्छन् । कोरोनो महामारीजस्ता स्वास्थ्य सङ्कटबाट बचाउन सबैभन्दा पहिले उनीहरूले आफ्नै भाषामा सूचना पाउनु अत्यावश्यक हुन जान्छ । सही सूचनाले सञ्जिवनीको रूपमा काम गर्छ ।

कोरोना महामारीका समयमा धेरैजसो सूचना नेपाली भाषामा प्रकाशन–प्रसारण भए । सबैले नेपाली भाषा बुझ्छन् भन्ने छैन । दूरदराजका कतिपय ज्येष्ठ नागरिकहरू अझै  पनि नेपाली भाषा बुझ्दैन र बोल्न पनि जान्दैनन् । यद्यपि, कति नागरिकले नेपाली भाषा बुझ्दैनन् भन्ने यथार्थ आँकडा उपलब्ध छैन । 

खासगरी, आदिवासी जनजाति समुदाय आ–आफ्नै मातृभाषा बोल्छन् । २०६८ सालको जनगणनाअनुसार देशमा १ सय २३ भाषा बोलिन्छन् । नेपालमा देशको कुल जनसंख्याको ३५.८१ प्रतिशत आदिवासी जनजाति समुदायले ओगट्छ ।

देशमा साक्षरता दर बढ्दै जाँदा नेपाली भाषामा सम्प्रेषण गरिएका सूचना नबुझ्नेको संख्या कम हुनसक्छ । तर, कम संख्याका मानिसले सही समयमा सही सूचना पाउन सकेनन् भने त्यसको सामाजिक मूल्य र स्वास्थ्यसम्बन्धी मूल्य चर्को हुनसक्छ । त्यसैले, हरेक नागरिकले आपूmले बुझ्ने भाषामा सूचना पाउन उसको नैसर्गिक अधिकार हो । 

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ ले भाषिक अधिकारलाई मानव अधिकारको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा परिभाषित गरेको छ । त्यस घोषणापत्रको धारा २, १०, १६ र १९ ले भेदभावविरुद्धको अधिकार, न्यायिक अधिकार, शैक्षिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई नागरिकको भाषिक अधिकारसँग जोडेर वकालत गरेको छ । भाषिक अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९९६ ले पनि नागरिकको भाषिक अधिकारलाई उच्च स्थान दिएको छ । 

आदिवासी जनजातिहरूको अधिकारसम्बन्धी घोषणापत्र (युनड्रिप) आदिवासी जनजातिहरूले मातृभाषामा सूचनामा पाउनुपर्ने प्रावधान राखेको छ । नेपालको संविधान, २०७२ ले नेपाली नागरिकले उनीहरूले बोल्ने बुझ्ने भाषामा स्वास्थ्यसम्बन्धी सूचना पहुँचको सुनिश्चित गरेको छ । 

संयोग नै भन्नुपर्छ, संयुक्त राष्ट्रसङ्घले सन् २०१९ लाई आदिवासीहरूको भाषाको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गर्‍यो । यसैगरी, सन् २०२२ देखि २०३२ सम्मको समयावधिलाई आदिवासीहरूको भाषाको अन्तर्राष्ट्रिय दशकको घोषणा गरिसकेको छ । यी घटनाक्रमले मातृभाषाको महत्त्व कति छ भन्ने तथ्यलाई उजागर गर्छ ।

कोरोना महामारी शुरु भएपछि नेपालका सरकारी सञ्चार माध्यम र निजी क्षेत्रका सञ्चार माध्यमहरूले नेपालीलगायतका भाषाहरूमा महामारीबारे लोककल्याणकारी सूचना (पीएसए) प्रकाशन–प्रसारण गरे । गोरखापत्रले पनि भाषाभाषीका छुट्याइएको पृष्ठ ‘नयाँ नेपाल’ मार्फत् विभिन्न भाषामा कोरोना महामारीबारे महत्त्वपूर्ण जानकारी प्रकाशन गरेको पाइन्छ । 

यसैगरी, कोभिड–१९ को प्रकोप शुरु भएपछि केही आदिवासी जनजातिका संस्थाले आ–आफ्ना मातृभाषामा कोभिड–१९ सम्बन्धी सूचना प्रवाह गरे । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि यस दिशामा धेरथोर सहयोग गरे । 

यस्ता जानकारी लक्षित समुदाय (खासगरी सीमान्तीकृत समुदायसम्म) पुगे–पुुगेनन् ? उनीहरू लाभान्वित हुन पाए–पाएनन ? यसको उचित लेखाजोखा हुन सकेको छैन । यस्ता सूचनामा स्रोत–साधन, भाषा र साक्षरताका दृष्टिले सीमान्तीकृत समुदायको पहुँच भएकै छ भन्न सकिन्न । यस्ता सूचनालाई यथासम्भव फराकिलो घेरासम्म विस्तार गर्न आवश्यक छ । 

यही वास्तविकतलाई ध्यानमा राखेर राजधानीबाट सञ्चालित इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क यस अभियानमा एक कदम अघि बढेको देखिन्छ । सङ्कटको घडीमा कोरोना महामारीबारे आदिवासी जनजातिका भाषामा सूचना सम्प्रेषण गरेर समाजलाई गुन लगाएका छन् ।

इन्डिजिनियस टेलिभिजनका अध्यक्षका देवकुमार सुनुवारका अनुसार इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कले २९ वटा आदिवासी जनजातिका भाषा र नेपाली भाषा गरी ३० वटा भाषामा कोरोना महामारीबारे लोककल्याणकारी सूचना (पीएसए) प्रसारण गरे । त्यस्ता पीएसएलाई सोसल मिडियामा राख्ने काम पनि भयो । 

कतिपय जनप्रतिनिधिहरूले यस अभियानमा धेरथोर काम गरेको देखिन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीबारे गुरुङ भाषामा सूचना सम्प्रेषण गरेको खबर आएको थियो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनबारे नेवार भाषामा सूचना सम्प्रेषण गरेका थिए  । 

त्यसपछि सबै वडा समितिहरूले नेवार भाषामा यस्ता सूचना प्रवाह गरे । यसबाट नेपाली भाषा राम्रोसँग नबुझ्ने बूढापाकाहरूले कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारे मातृभाषामै जानकारी पाए । 

कोभिड–१९ नयाँ खालको महामारी हो । कसैले पनि अगाडि कहिल्यै नभोगेको यस महामारीबारे नयाँ खालका शब्दहरू पनि सँगसँगै लिएर आयो । जस्तैः पाण्डेमिक, इन्फोडेमिक, लकडाउन, आइसोलेसन । यस्ता शब्द उनीहरूको जीवनशैलीसँग भिजेका परिचित कुरा होइनन् । 

सप्रसङ्ग सन्दर्भ नखुलाउने हो भने यिनीहरूको अर्थ सर्वसाधारणले बुझ्न सक्दैनन् । यस्ता शब्दको अर्थ सम्बन्धित मातृभाषामा उल्था गर्न त्यति सहज हुँदैन । यद्यपि, बुझाउनै नसकिने भने होइन । कुरा बुझाउन धेरै विचार पुर्‍याएर व्याख्या गर्नुपर्ने हुन्छ । यसका लागि भाषिक कुशलता आवश्यक छ ।

यी तमाम मामिला आ–आफ्नो ठाउँमा छन् । नागरिकलाई आफ्नै मातृभाषामा जीवनोपयोगी सूचना सम्प्रेषण गर्नु उत्तिकै महत्त्वपूर्ण छ । यसले उनीहरूलाई सुसूचित र सबल बनाउन सहयोग गर्छ, जसले प्रत्यक्ष वा परोक्ष रूपमा लोकतन्त्रलाई मजबुत बनाउन सहयोग गर्छ । 

नागरिकले मातृभाषामा जीवनोपयोगी सूचना प्राप्त गर्ने वातावरण तयार पार्नका लागि भाषा आयोगजस्ता सरकारी निकाय, अन्तर्राष्ट्रिय गैरसकारी संस्था, आदिवासी जनजातिका संघ–संस्था, सरकारी तथा निजी सञ्चारमाध्यमहरूले रचनात्मक भूमिका निर्वाह गर्नु सान्दर्भिक र औचित्यपूर्ण हुन आउँछ । 

[परिसंवाद । २०७७ कात्तिक २३ गते ।]