Friday, October 17, 2014

दुरा भाषाको सङ्क्षिप्त अध्ययन

–यमबहादुुर दुरा


लोपप्राय अवस्थामा रहेको दुरा भाषाको अभिलेखीकरण तथा खोज–अनसन्धानमा हालसम्म भएका प्रयासबारे टिपोट प्रस्तुत गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यस लेखमा प्रयोग भएका तथ्याङ्क तथा जानकारीहरू मूलतः द्वितीयक (सेकेण्डरी) स्रोतमा आधारित छन् । यसमा केही मात्रामा पर्यवेक्षणमा आधारित सूचना (जानकारी) पनि प्रयोग भएका छन् । यो विश्लेषणात्मक लेख नभई खासगरी आँकडा तथा तथ्यहरूको प्रस्तुति मात्रै हो । यस लेखले दुरा भाषाको खोज–अनसन्धानमा अरू अनुसन्धाताहरूलाई बाटो देखाउने र त्यस दिशामा प्रेरित गर्नेछ भन्ने अपेक्षा राखेको छ ।

मुख्य शब्द तथा शब्दावलीहरू :  दुरा भाषा, दुरा भाषाका शब्द, लोपप्राय भाषा, वर्ण निर्धारण, टिपोट, भोट बर्मेली भाषा परिवार ।

दुरा समुदाय नेपालका अल्पसंख्यक तथा लोपोन्मुख जनजाति मानिन्छ । लमजुङको दुराडाँडा मुख्य बसोबास क्षेत्र मानिन्छ । अहिले समयक्रमसँगै देशका अन्य भागमा दुरा जातिका मानिसहरू पुगेका छन् । राष्ट्रिय जनगणना २०५८ का अनुसार यस समुदायको कुल जनसंख्या पाँच हजार १६९ रहेको छ भने दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा गरेको जनगणना अनुसार दुराहरूको कुल जनसंख्या पाँच हजार ६७६ रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) । राष्ट्रिय जनगणना २०६८ का अनुसार दुरा समुदायको कुल जनसंख्या जनसंख्या पाँच हजार ३९४ रहेको छ ।

दुरा जातिको मुख्य बस्ती लमजुङ हो । यहाँ दुराहरूको कुल जनसंख्याको लगभग ७२ प्रतिशत मानिस बसोबास गर्छन् । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ, बर्धान, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार आदि गाउँहरुमा दुराहरुको बसोबास रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७)  ।

यसैगरी दुरा जातिको दोस्रो ठूलो बस्ती तनहूँ  हो, जहाँ दुराहरूको कुल जनसंख्याको मोटामोटी १६ प्रतिशत मानिस बसोबास गर्छन् । तनहूँको शिसाघाट, राम्चे, धरमपानी, सत्रसय, चिसापानी, तनहूँसुर, रामथुम्की, क्यामिन आदि गाउँहरूमामा दुरा समुदायको बस्ती रहेको छ । तनहूँको सदरमुकाम दमौली पनि दुरा समुदायको नयाँ बस्तीहरूमध्ये एक मानिन्छ (ऐ.ऐ.) ।

बितेको ४०-५० वर्षमा दुराहरु आफ्नो मौलिक थलो छाडेर देशको विभिन्न भागमा बसाइँ सरेको पाइन्छ । खासगरी तराइमा औलो नियन्त्रण हुन थालेपछि बसाइँ सराइको  गति तीव्रता आएको पाइन्छ । यो क्रम अहिले पनि जारी नै छ । प्राप्त आँकडाअनुसार अहिले दुराहरु कास्की, चितवन, नवलपरासी, ओखलढुङ्गा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछापलगायत देशका १२ जिल्लाहरूमा छरिएर बसेका छन् । यसबाहेक देशका अन्य भागमा पनि दुरा बस्तीहरु अस्तित्वमा रहेको जानकारी प्राप्त भएका छन्, तर तिनको उचित खोजअनुसन्धान हुन सकेको छैन (ऐ.ऐ.)  ।

जनसांख्यिक हिसाबले दुरा समुदाय लोपोन्मुख अवस्थामा रहेजस्तै मातृभाषाको दृष्टिले पनि यो समुदाय संकटापन्न अवस्थामा रहेको देखिन्छ । दुरा जातिको मातृभाषा प्रचलनमा रहेको पाइँदैन । यो भाषा भोट–बर्मेली भाषा परिवारको एक सदस्य मान्छि । दुरा समुदायमा अहिले नेपाली भाषा नै बोलीचालीको भाषा बनेको छ । यद्यपि नेपाली भाषा बोल्दा यदाकदा दुरा समुदायका मानिसका मुखबाट दुरा भाषाका शब्दहरू उच्चारण हुने गरेको पाइन्छ । जस्तै : गुमा (माइजू), माकुली (इन्द्रेणी), झना (तरुनी), कोर्जे (दस्तुर), मैखु (आमा), मुसी (सानिमा) आदि ।

दुरा समुदायका आठ/नौ दशक नाघिसकेका बूढापाकाहरूले आफ्ना आमा–बाले आंशिक रूपमा दुरा भाषा बोल्ने गरेका र आफ्ना बाजेबज्यैले पूरापूर रूपमा दुरा भाषा बोल्ने गरेका जानकारी दिने गरेको पाइएको छ । यस हिसाबले करिब १५० वर्ष अघिसम्म दुरा भाषा दुरा समुदायमा बोलीचालीको भाषा थियो भन्ने अनुमान गर्न सकिन्छ । अनौपचारिक रूपमा दुरा भाषाको चर्चा परिचर्चा भए पनि यसबारे खोजअनुसन्धानको सिलसिला भने धेरै पछि शुरु भएको पाइन्छ ।

लमजुङ (दुराडाँडा) का ऋषिकान्त अधिकारीले २०४१ सालमा ‘दुरा जातिको परिचय’ नामक पुस्तिका प्रकाशन गरेपछि दुरा भाषाका शब्दहरू लेख्य रूपमा जनसमक्ष आएको पाइन्छ । ती शब्द लमजुङ (ठूलोस्वाँरा, गैरीगाउँ) निवासी चन्द्रसिङ (थकाली) दुराबाट प्राप्त भएको लेखकले पुस्तिकामा उल्लेख गर्नुभएको छ । उक्त पुस्तिकामा दुरा भाषाका केही शब्दहरूका सूची प्रस्तुत गरिएका छन् । वि.सं. २०३३ सालतिर नै लमजुङ तुर्लुङकोट निवासी केशबहादुर दुरा (२००० सालमा जन्म) ले दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । यसैगरी दुरा जातिको भाषा र संस्कृतिका अध्येता तथा दुरा सेवा समाजका वर्तमान संरक्षक बीरबहादुर दुरा तथा देवबहादुर दुरा ( दुरा सेवा समाजका वर्तमान सल्लाहकार ) ले पनि दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । लमजुङ (ठूलोस्वाँरा) का समाजसेवी जिम्मावाल भीमबहादुर दुराको यस क्षेत्रमा योगदान देखिन्छ ।

वि.सं. २०४२-०४३ (सन् १९८५-०८६) तिर लैला माडेज ( Laila Madge) ले ‘द दुरा अफ सिन्दुरे : पर्सपेक्टिभ अफ इथ्निसिटी’ शीर्षकमा शोधपत्र तयार पार्नुभएको थियो । लमजुङ (ठूलोस्वाँरा, गैरीगाउँ) मा बसेर तयार पारिएको सो शोधपत्रमा दुरा भाषा तीन पुस्ता अघिसम्म बोलिन्थ्यो भन्ने उल्लेख गरिएको छ । त्यस शोधपत्रमा दुरा भाषाका लगभग दुई सय शब्द छन् (दुरा जातिको भाषा, परम्परा र संस्कति, पृ. ३२) ।

विभिन्न अनुसन्धानाहरूको स्रोत व्यक्तिबाट दुरा भाषाका शब्द तथा वाक्यहरू संकलन गरेका पाइन्छ । यस्ता स्रोत व्यक्तिहरूमा बर्धान निवासी बुदुनीमाया दुरा, कलौदी दुरा, तत्कालीन समयका ७० वर्षीय विष्णुमाया दुरा, ठूलोस्वाँरा निवासी तत्कालीन समयका  ८० वर्षीय सन्तमाया दुरा (सुबेदार्नी आमा) लगायतका महिलाहरूको नाम आउँछ (ऐ.ऐ. पृ. ३३) ।

केशबहादुर दुराले संकलन गरेका दुरा भाषाका शब्दहरू तथा आफ्नै स्थलगत अध्ययनका आधारमा मुक्तिनाथ घिमिरे (२००९ सालमा जन्म) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पारेको भेटिन्छ । ‘दुरा सेवा समाज’ ले २०५७ सालमा ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन ग-यो  । उक्त पुस्तकमा जातिको सांस्कृतिक पक्षका अतिरिक्त दुरा भाषाका केही शब्द र सामान्य वाक्यहरू समावेश गरिएका थिए । यसपछि ‘दुरा सेवा समाज’ ले २०५९ सालमा दुरा भाषाको ‘संक्षिप्त व्याकरण तथा शब्दावली’ शीर्षकको पुस्तक तयार ग-यो , जुन अप्रकाशित कृतिको रूपमा रहेको छ ।

‘दुरा सेवा समाज’ ले 'आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान' को सहयोगमा २०६० सालमा ‘दुरा भाषाको शब्दकोश’ प्रकाशन ग-यो  । उक्त शब्दकोशमा करिब एक हजार ५०० शब्द र २७७ वाक्य रहेका छन् । दुरा भाषाका शब्दको अर्थ नेपाली भाषामा दिइएको भए पनि उक्त शब्दकोशमा अङ्ग्रेजीमा अर्थ दिइएको छैन ।

‘दुरा सेवा समाज’ ले दुरा भाषाको संरक्षण  गर्ने हेतुले २०६४ साल माघ १९ गतेको बैठकको निर्णयानुसार एक निकाय गठन गरेको पाइन्छ । यसको नाम हो ‘दुरा भाषा संरक्षण समिति’ । मिथुन दुराको संयोजकत्वमा गठित उक्त समितिमा यमबहादुर दुरा (भाँगु, लमजुङ), प्रेमबहादुर दुरा (भाँगु, लमजुङ), बुद्धिबहादुर दुरा (सानोस्वाँरा, भोर्लेटार) र होमबहादुर दुरा (शिशाघाट, तनहूँ) रहेका छन् ।

उक्त समितिको पहलकदमीमा ‘दुरा सेवा समाज’ ले २०६७ साल असार पाँच गते ‘दुरा भाषा खोजीका प्रयासहरू : विगत र वर्तमान’ समीक्षा गोष्ठी आयोजना ग-यो । गोष्ठीमा भाषाविद डा. माधव पोखरेल, भाषिक परामर्शदाता अमृत योञ्जन, दुरा भाषाका अध्येताद्वय केदार नागिला तथा मुक्तिनाथ घिमिरे एवम् दुरा भाषाका वक्ता मानिएका सोमामाया दुराले दुरा भाषाको संरक्षण तथा सम्वर्धनका विषयमा विश्लेषणात्मक धारणा राख्नुभएको थियो ।  उक्त गोष्ठीमा दुरा भाषाको खोजअनुसन्धानमा आइरपरेका समस्या र सम्भावनाहरूबारे व्यापक विचार विमर्श भएको थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०६७) ।

पछिल्लो समयमा ‘दुरा सेवा समाज’ ले दुरा भाषाको संरक्षण र सम्वद्र्धनमा केन्द्रित भएको पाइन्छ । यसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा २०६८ साल वैशाख ३१ र जेठ १ गते दुरा भाषाको वर्ण निर्धारण गरियो । यस अनुरूप दुरा भाषामा ३७ वर्ण र १० स्वर गरी ४७ वटा वर्ण निर्धारण भएका छन् (दुरा भाषाको वर्ण निर्धारण, पृ. २६) ।

‘दुरा सेवा समाज’ ले विगत दुई वर्षदेखि दुरा भाषाको प्रशिक्षक प्रशिक्षक कार्यक्रम दिँदै आएको छ । २०७० साल वैशाख १२ देखि २१ गतेसम्म दुरा सेवा समाज केन्द्रीय कार्यालय (काठमाडौँ) मा दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरियो । उक्त प्रशिक्षण कार्यक्रममा काठमाडौं, चितवन, लमजुङ, कास्की र तनहूँका १७ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०७०) ।

२०७० साल वैशाख २० देखि २९ गतेसम्म दुराबस्ती अयोध्यापुरी– ९, माडी ९चितवन) मा दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरियो । मुक्तिनाथ घिमिरे, केशबहादुर दुरा तथा विनेश दुराले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा काठमाडौं, चितवन, लमजुङ, कास्की र तनहूँका २० जना प्रशिक्षार्थीहरूको सहभागिता थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०७१) ।

पूर्वोल्लिखित गतिविधिहरूबाट दुरा भाषाको खोजअनुसन्धान तथा संरक्षणमा सहयोग पुगेको देखिन्छ । यद्यपि दुरा भाषाको संरक्षण र सम्वर्धनमा धेरै काम गर्न बाँकी छ । प्रचलनमा नभएको भाषा भएकोले दुरा भाषामा कुनै साहित्य भेटिएको छैन । दुरा भाषालाई बोलीचालीमा उतार्ने, यसको व्याकरण तयार पार्ने, दुरा भाषामा लोककथा तथा लोकगीत तयार पार्नेजस्ता काम चुनौतीको विषय बनेको छ ।


सन्दर्भ सामग्री

अधिकारी, ऋषिकान्त । (२०४१) । दुरा जातिको परिचय । पोखराः यशोधा अधिकारी ।
घिमिरे, मुक्तिनाथ । (२०४९) । दुरा भाषाको व्याकरणात्मक स्वरूप । काठमाडौं : त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेपाली विभाग ।
दुरा सेवा समाज । (२०५९) । दुरा जाति आर्थिक तथा सामाजिक पक्षको एक अध्ययन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --  --            । (२०५७) । दुरा जाति भाषा, परम्परा र संस्कृति । पृ. ३२-३३ । काठमाडौं :  दुरा सेवा समाज ।
--  --  --            । (२०७०) । दुरा भाषाको वर्ण निर्धारण । काठमाडौं : दुरा सेवा समाज ।
--  --  --            । (२०५९) । दुरा भाषाको संक्षिप्त व्याकरण तथा शब्दावली (अप्रकाशित) । काठमाडौं :  दुरा --  --  --   --           ।
--  --   --           । (२०५९) । दुरा भाषाको संक्षिप्त व्याकरण तथा शब्दावली (अप्रकाशित) । काठमाडौं :  दुरा सेवा समाज ।
--  --   --           । (सन् २००७) । दुरा सेवा समाज : एक चिनारी (ब्रोसर) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०६७) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०७०) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०७१) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --            । (२०६०) । दुरा भाषाको शब्दकोश । काठमाडौं : दुरा सेवा समाज ।

[साभार : सम्पदा 'भाषा विशेषाङ्क’ (वर्ष १, अङ्क १, असार, २०७१)। पृ.१७३-१७५ । परिमार्जित संस्करण ।]

[अद्यावधिक २०७१।०६।०२, २०७१।०७।१३, २०७१।०७।१८, २०७१।१०।०५, २०७१।१०।२६]