Saturday, November 28, 2015

मध्यआकाशमै अस्ताएको नक्षत्र


–यमबहादुर दुरा

अङ्ग्रेज कवि शेली (सन् १७९२–१८२२) ले ठीकै भनेका हुन्, ‘दुःखका गीतहरू नै अतिशय सुमधुर हुन्छन् ।’ उनले भनेझैँ  लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) अतिशय सुमधुर गीत गाउने किन्नर हुन् । उनले जनमनका गहिरा विरह–व्यथालाई गीतमा उनेर गाए ।  उनका गीतहरू अतिशय सुमधुर मानिन्छन् । ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’, ‘साइँलो दाइ कहाँ गयो, पानी खाँदा न्याउली झुरायो’ जस्ता गीत उनका ‘सुपरहिट’ लोकसिर्जना हुन् । समयले पछि पारिसक्दा पनि यी गीत लोकस्मृतिबाट हटेका छैनन् ।

लोकबहादुर क्षेत्री समयको यस्तो चलयमान घडीमा जन्मे, जुन घडीमा सुखको खोजीमा पहाडबाट मधेश झर्ने युगको सूत्रपात भएको थियो । नेपाली समाजमा एकपेट पाल्नकै लागि मुगलान जाने परम्परा त धेरै अघिदेखि नै कायम छँदैथियो । त्यसमा पनि उनी जन्मेको समयको सेरोफेरोमा पहाडका पुर्ख्यौली  थलो छाडेर मधेश झर्ने नयाँ चलन शुरु भयो । उनी आफ्नो नाभी गाडिएको थलो गुल्मीमा तोतेबोली बोल्दै गर्दा मुगलान जाने परम्परा र आन्तरिक बसाइँ सराइको साक्षी बने ।

स्थान्तरणको बढ्दो गतिले निम्त्याएका बिछोड र पीडादायी परिस्थितिहरूले उनको मनलाई एकतमाससँग हुँडलिरह्योे । बसाइँ सराइाबाट उत्पन्न विरह–वेदनालाई उनले अन्तस्करणबाटै अनुभूत गरे । आर्थिक तथा सामाजिक परिस्थितिले निम्त्याएको बसाइँ सराइका पीडादायी क्षणहरूले उनको हृदयमा अमिट छाप छाड्यो, जसको प्रतिविम्ब उनका गीतमा छताछुल्ल भेटिन्छन् ।

आन्तरिक बसाइँ सराइले नेपाली गाउँबस्तीहरूमा थुप्रै साथीसंगी र दौतरीहरूलाई बिछोडको तीतो चखायो । थुप्रै समकालीन दौंतरी र समबैंशेहरूका मनमा बिछोडको आँधीहुरी चल्यो । यसप्रकारको सामाजिक परिवेशलाई लोकबहादुर क्षेत्रीले सूक्ष्म रूपमा अवलोकन तथा अनुभूत गरेका छन् । यही पीडादायी अनुभूतिलाई हृदयको एउटा कुनामा संगालेर उनले गाए, ‘पँधेरामा धुल्यो उँड्यो मूलको पानी सुक्दा, साइला दाइकै झल्को लाग्छ गाउँमा कुकुर भुक्दा’ । यो गीत सुनेर धेरैको आँखाबाट आँसुको मूल फुट्यो ।

उनका गीतहरू लिलाटमै मुगलानको कष्टभोग लेखिएका असंख्य नेपालीहरूका लागि ‘हृदयको गीत’ बन्न पुगे । मुगलान पसेका छोरा घर फर्कने आशामा बृद्ध आमा–बा आँगनको डिलबाट बाटो हेरेर बस्नुपर्ने अवस्था हिजो पनि थियो, आज पनि छ । नेपाली समाजको यो वास्तविकतालाई उनले आफ्नो गीतमा मार्मिक ढङ्गबाट चित्रण गरेका छन् । उनले गाएका छन्, ‘हे बाबु फर्क है अब त, तिमै मुख हेर्नलाई बाँकी छ’ ।

लोकबहादुर क्षेत्रीका गीतमा अभाव र विपत्तिबाट ग्रसित ग्रामीण जीवनका कारुणिक तस्बिर झल्कन्छ । उनले गाएका गीतको एउटा पंक्ति यस्तो छ, ‘घरबारी गोठ पनि पहिराले लाग्यो, दैव पनि हाम्लाई मात्र लागेजस्तो भयो’ । यो गीतको मर्मसँगै गहिरिँदै जाँदा भएभरका कष्टभोगमा रुमल्लिएका ग्रामीण जीवनको नाभी नै यसमा भेटिन्छ । यस्तो लाग्छ, उनको गीतको मर्म प्रसान्त महासागरको ‘मरियाना ट्रेन्च’ भन्दा पनि गहिरो छ ।

बसाइँ–सराइले तत्कालीन समाजमा वियोगका लहरहरू छचल्काए पनि यसले नेपाली लोकगीतको क्षेत्रमा लोकसंगीतको क्षेत्रमा एउटा सुखद संयोग पनि निम्त्याएको छ, । बसाइँ–सराइले निर्माण गरेको यो सांगीतिक परिवेश गजब मीठो छ । लोकगीत–पारखीहरू लोकबहादुर क्षेत्री, तेजबहादुर केसी (वि.सं. २०१९), नारायण रायमाझी (वि.सं. २०२०) र कृष्णसुधा ढुङ्गाना (वि.सं. २०१६) पहाडबाट बसाइँ–सरेर नवलपरासीमा पुगे । क्षेत्री, केसी, रामयमाझी र ढुङ्गाना क्रमशः गुल्मी, प्यूठान, पाल्पा र लमजुङबाट बसाइँ सरेर नवलपरासी पुगेका हुन् ।

यी पारखीहरूबीचको आपसी हिमचिम र आत्मीय सम्बन्धले लोकगीत सिर्जनाकर्म हलक्क मौलायो । आञ्चलिक मिठासले भरिएका लोकलय संलकन, शब्दरचना र रेकर्ड गर्ने कार्यमा नसोचिएको प्रगति भयो । सयौं पुष्परसले बनेको महजस्तो बेहद मीठा लोकगीत सिर्जना भए । रेडियो नेपालमा श्रुतिमधुर र भावप्रधान लोकगीतहरू रेकर्ड भए । ती गीत गाउँबस्तीहरूमा बिछट्टै लोकप्रिय भए । लोकगीत पारखीहरूले तयार पारेका यसप्रकारको विशाल परिवेशयुक्त भावभूमिमा लमजुङ (नाल्मा) का विरही गायिकाद्वय माया गुरुङ र उमा गुरुङदेखि नवलपरासीकै प्रतिभा प्रचण्डबहादुर बुढाथोकी मगरसम्म तानिए ।

सोही समयमा यिनै पारखीहरूको संयोजनमा रेकर्डिङ कम्पनीहरूबाट ‘गाइको चरन’ (२०४३), ‘रातो घाम’ (२०४६), ‘नवलपुरे दाइ’ (२०४६) ‘औंठी हीराको’ (२०४७) जस्ता नेपाली जनजीवनको स्पन्दन भेटिने गीतका अल्बमहरू उत्पादन भए । ती गीत लाहुरेले काँधमा झुण्ड्याउने टेपरेकर्डदेखि विदेशमा बस्ने नेपालीका कार्यस्थलसम्म घन्कन थाले । सांगीतिक सिर्जनाकर्म यो सिङ्गो गाथा लोकगीतको इतिहासमा एउटा कोशेढुङ्गा बनेको छ ।

लोकबहादुर क्षेत्रीले जीवनको केही कालखण्ड ‘रेडियो नेपाल’ को जागिर (वि.सं. २०३६–२०४३)  खाएर बिताए । सोही समयमा रेडियो नेपालमा कार्यरत स्याङ्जाकी सावित्री शाहसँग उनको भेट भयो । उनले मखमली स्वरकी धनी शाहसँग युगल गायन गरे ।  सावित्री शाहसँग उनको साङ्गीतिक जोडी खुब जम्यो । २०३६ सालदेखि रेडियो नेपालबाट घन्किन थालेको गीत ‘घर त मेरो सलल हो स्याङ्जा जिल्ला, माया लाउन सलल मिल्ला कि नमिल्ला’ लोकप्रियताको शिखरमा पुग्यो ।  ‘छमछम नाचिदेउ निउरेर, हातमा रुमाल कानमा  फूल  सिउरेर’ जमेको अर्को युगल गीत हो ।

यी गीत सुनेर असंख्य ग्रामीणजन भावविभोर भए, स्वर्गीय आनन्दमा लीन भए । गीतबाट नेपाली मनहरू तरङ्गित भए, जन–जनको गलामा यी गीत गुञ्जन थाले, गाउँबस्ती रनघन भए । यस प्रसंगलाई नेपाली लोकसंगीतमा एउटा सुखद संयोग मानिन्छ । 

लोकबहादुर क्षेत्री संगीतको गहिरो ज्ञान भएको प्रतिभा थिए । उनले छोटो समयमा धेरै स्तरीय गीत गाए । उनी संख्याको पछि दौडेनन् । गीत थोरै होस् तर स्तरीय होस् भन्नेमा उनको ध्यान गएको थियो । छोटो समयमा नेपाली लोकगीतको दुनियाँमा उनले आफ्नो गतिलो परिचय दिए । लोकगीत–पारखी कृष्णसुधा ढुड्गानाको दृष्टिमा क्षेत्री ‘नेपाली लोकगीतको मोतीराम भट्ट’ हुन् ।

स्तरीय नेपाली लोकगीतलाई दीर्घजीवन दिनका लागि अघोषित अभियानमा लागेका लोकबहादुर क्षेत्री स्वयम्को आयुचाहिँ छोटो रह्यो । २०५० साल पुस ६ गते नवलपरासीको बर्दघाटमा उनी मोटरसाइकल दुर्घटनामा परे । परिणामस्वरूप उनले ३२ वर्षको भर्भराउँदो उमेरमा सांसारिक नाता तोडे । उनको असामयिक र अनपेक्षित अवसानले असंख्य लोकगीत अनुरागी र साथीसंगीहरूको हृदयमा गहिरो घाउ लाग्यो । उनी लोकगीतको एउटा चम्किला नक्षत्र थिए । तर त्यो नक्षत्र मध्यआकाशमै अस्तायो ।

लोकबहादुर क्षेत्री यस दुनियाँमा नभए पनि उनले बुनेको सांगीतिक परिवेशको चर्चा हुन छाडेको छैन । सानै वृत्तमा किन नहोस् आज पनि उनी लोकगीत अनुरागीहरूबीच प्रिय छन् । उनका समबैशे दौंतरीहरूसँगको उठबसका संस्मरण हिर्दयभरि समेटिएका छन् । उनीसँग आत्मीय सम्बन्ध रहेका लोकगीत पारखी तेजबहादुर केसीको एउटा संस्मरण यस्तो छ :

प्रसंग २०४८ सालतिरको हो । लोकबहादुर क्षेत्री र तेजबहादुर केसी रिङ्दैघुम्दै नवलपरासीको रतवल भन्ने ठाउँमा पुगे । बाग्लुङबाट बसाइ सरेर आएकी एकजना महिला आँगनमा गुन्द्री बुनिरहेकी थिइन् । भोकले के खाउँ के खाउँ भएका लोकबहादुर क्षेत्री महिलासँग मुला मागे । ती महिलाले दिन चाहिनन् ।

यत्तिकैमा क्षेत्रीले गीत गुनगुनाउन थाले,  ‘कहिले तल कहिले माथि चर्खे पिङको पिर्का, कति मूलको पानी खाएँ मेटिएन तिर्खा’, ‘यसै राम्रो त्रिवेणी त घाम लागेको राम्रो, मरी जानी चोला रैछ त नि हाम्रो’ । गीत सुनेर ती महिलाले बबर आँसु खसालिन् । मुला पनि दिन तयार नभएकी ती महिलाले कुखुरा काटेर सुस्वादु परिकारका साथ स्वागत सत्कार गरिन् ।

उनको गीतले ग्रामीणजनको हृदय पगालेको यो एउटा सानो दृष्टान्तमात्र हो । उनको गीत र सांगीतिक यात्राको गहन विश्लेषण गर्ने हो भने यस्ता थुप्रै मृदुप्रसंगहरू उजागर हुन सक्नछन् । तर यस्तो कार्य हुन सकिरहेको छैन ।

लोकस्मृति एकदमै छोटो हुन्छ । दुनियाँले आखै अघिको कुरामात्र बढी देख्छ र समयले पछि पारेको कुराहरूलाई छिटो छिटो बिर्सदै जान्छ । दुनियाँको रङ्गमञ्चमा आउने नयाँ पात्रका अगाडि पुराना पात्रहरू ओझेल पर्दै जान्छन् । लोकबहादुर क्षेत्री पनि यस शाश्वत नियमको अपवाद बन्न सक्तैनन् । तर पनि उनका सच्चा अनुयायी र प्रशंसकहरूले उनलाई युगयुगान्तरसम्म सम्झिरहने तथ्यलाई सजिलै नकार्न सकिँदैन ।

[साभार : अन्नपूर्ण पोष्ट (मंसिर १२, २०७२) ]