Saturday, January 12, 2013

लोकसंगीतको झंकारसँगै हुर्कँदा

 -यमबहादुर दुरा

 लोकसंगीतले मलाई सानैदेखि मोहनी लगायो । । मेलापात एवं सामाजिक जमघटमा गुञ्जने श्रुतिमधुर लोकगीतहरूले मेरो मन तरङ्गित हुन्थ्यो । ती लोकगीत एकदमै भावप्रधान एवम् अर्थपूर्ण हुन्थे । वनपात जाँदा वा पहाडका उकाली-ओराली काट्दा म पनि ती गुनगुनाउँथें, मुखमा सरस्वती  नभए पनि । गायनकलामा मेरो हैसियत 'बाथरुम सिङ्गर' भन्दा माथि छैन । म कुनै लोकस्रष्टा पनि होइन, फगत एक अनुरागी ।  एकोहोरो मायामा फँसेको प्रेमीजस्तो ।

नितान्त ग्रामीण परिवेश हुर्किएँ, जसले ममा लोकसंगीतप्रति मोह थप्दै लग्यो । हाम्रो गाउँबस्तीमा एकदमै संगीतमय वातावरण थियो । त्यतिबेला वनपात, मेलापात  विवाह, जात्रा जताततै लोकसंगीतको साम्राज्य थियो । हरेक व्यक्ति गायक थिए । हरेक व्यक्ति वाद्यवादक थिए । एउटा स्वस्फूर्त सांगीतिक वातावरण थियो । गाउँघर आफैंमा संगीत विश्वविद्यालय थियो ।