Sunday, September 24, 2017

दशैंको चटारो

–यमबहादुर दुरा

'नेपाल पञ्चाङ्ग निर्णयाक समिति' को पात्रोले बेलैमा निम्तो दिए पनि लमजुङको गाउँबस्तीमा आइपुग्न दशैंले निकै गाह्रो मान्थ्यो । गाउँबस्तीका झुपडीहरूले अनेकौं आर्थिक–शारीरिक सकस बेहोरेपछि मात्र त्यो अजुरी-अटेरी दशैं झुल्कन्थ्यो । खुसी  हुनका लागि दशैं शब्द नै काफी हुने त्यसबेलाका हामी भुराभुरीलाई दशैंको आर्थिक तथा सामाजिक वास्तविकता बुझ्न डेढ–दुई दशक लाग्यो ।

तत्कालीन पहाडी समाजमा दशैं हाँसेर मनाउनुपर्ने कष्टसाध्य चाड थियो । दशैंको आगमनले केटाकेटीलाई हर्षोल्लासको बहार ल्याइदिन्थ्यो भने अभिभावकलाई बेचैनी र धपेडी । दश नङ्ग्रा खियाएर बाँच्ने अधिकांश दुःखी–दरिद्रीहरूको दशैं साँच्चै कष्टकर हुन्थ्यो ।

‘मानव विकास सूचाङ्क’ मा पुछारमै रहेको तत्कालीन नेपाली समाजमा एकाध परिवारबाहेक अधिकांशलाई दशैंको खर्च जुटाउनै गाह्रो पर्थ्यो । आर्थिक सकसमाथि दशैंले निम्त्याउने चौतर्फी चटारोको कुरा गरिसाध्य हुन्थेन । मध्यान्तरविहीन कामको सिलसिलाले थिचिएको ग्रामीण जीवनमा दशैंले थप बेफुर्सदी निम्त्याउँथ्यो   । ‘मरेको भोलिपल्ट मात्र फुर्सद हुन्छ’ भन्ने लोकोक्तिको जन्म त्यही बेलादेखि भएजस्तो लाग्छ ।

दशैं मुखमै आइपुग्दा पनि तत्कालीन पहाडी बस्तीहरूमा चामललगायतका अनाज नै हुँदैनथ्यो । लोकतन्त्र पुनःस्थापना भएको डेढ–दुई दशकमै  यो कुरा पत्याइनसक्नु एकादेशको कथा बनेको  छ । सडक सञ्जाल र खाद्य डिपोहरूको अभावमा बेसाहा खोज्न गाउँ-गाउँ डुल्नुपर्थ्यो । बेसाहा खोज्दै हिँड्दा कहिले पाटी त कहिले जंगलमा बास हुन्थ्यो । आज चामलजस्तै पैसा पनि फालाफाल छ । त्यो बेला पैसा अति दुर्लभ वस्तुमा पर्थ्यो ।


मुस्किलले एकाध सय जुटाएर बेसाहा खोज्न निस्केकाहरू घरमा  दशैं पर्खेर बसेका लालाबालालाई सम्झेर दौडन्थे । शिरमा नाम्लोको डाम बसाएर ल्याएको बेसाहाले घरमा दशैंमा बहार ल्याउँथ्यो । पाउको धूलो शिरमा र शिरको पसिना पाउमा पुर्‍याएर ल्याएको बेसाहाले ती लालाबालाको भुँडी हाँस्थ्यो ।

आज हाम्रो समाज पनि शाकाहारको रहर गर्न थालेको छ । यही समाज हो, जहाँ ‘दशैंमा पनि अघाउन्जेल मासु नखाए कहिले खाने ?’भन्ने  मान्यता थियो । अहिलेको जस्तो व्यवसायिक पशुपालन नभएको त्यस समयमा मासुको जोहो गर्न सजिलो थिएन ।

ऋणपान गरेको पैसाले मासुको व्यवस्था गर्न गाउँ–गाउँ  डुल्नुपर्ने डुल्नुपर्थ्यो । बल्लतल्ल भाउ मिलाएर ल्याइएका राँगा-भैंसीहरू कुनै तर्काहा पर्थे, बाटोघाटो केही नहेरी दगुर्ने । कुनै बँधुवा पर्थे, डेग नचल्ने । यस्तालाई साँगुरो–घुम्ती बाटो र खोला–जंघारबाट जोगाएर घरसम्म ल्याउन दाँतबाट पसिना आउँथ्यो ।

गाउँघरको दशैं उत्सवमा पिङले महत्वपूर्ण भूमिका खेल्थ्यो । गाउँका तन्नेरीहरू रोटे र लिङ्गे पिङ हाल्न एकजुट हुन्थे । हेर्दा सामान्य लागेपछि पिङ हाल्नु मामुली काम हुन्नथ्यो । पिङको रहर पूरा गर्न गाउँको एकमुष्ठ बल र सीप चाहिन्थ्यो ।

वनमा पुगेर पिङको सर्दाम काटनु, ती सर्दामलाई गाउँका बलिया–बाङगा एकजुट भई कमिलाले आहरा ओसारेजस्तो गरी ओसार्नु कम कष्टप्रद हुँदैनथ्यो । पिङ निर्माणको इञ्जिनियरिङ नमिल्दा कतिलाई त ठूलै घाउचोट लाग्थ्यो ।

माटोखानीबाट रातो माटो झिक्ने तथा खोलाखोल्साबाट कमेरो निकाल्ने, ओसार्ने  र घर लिपपोप गर्ने काम छोरीबुहारीको जिम्मामा आउँथ्यो ।  माटो झिक्न जाँदा कति त माटोको ढिस्कोले पुरिन्थे । साथीसंगीले हतार हतार उद्दार गर्थे  र बालबाल बच्थे ।

दशैंको सारा चटारो ठूलो भार छोरीबुहारीको काँधमा थुप्रिन्थ्यो । अझ बुहारीहरूलाई घरको दशैं ठिक्क पारेर माइत पनि पुग्नुपर्थ्यो, भन्टाङ–भुन्टुङ र कोसेली सम्हाल्दै ।

धन्न त्यो बेला निकै सुन्दर चलन थियो – बर्खाभर भल–बाढीले बिगारेका गौंडागल्फा र बाटोघाटोलाई दशैंको ठीक अगाडि मर्मतसम्भार गरेर पूर्ववत् अवस्थामा फर्काइएको हुन्थ्यो । अहिले भने यस्तो कल्याणकारी कामलाई सरकारको जिम्मामा छोड्ने प्रचलन बाक्लिएको छ ।

दशैं भित्र्याउन र बिदा गर्न महिलाहरूले भोग्नुपर्ने हैरानी अवर्णनीय छ । ठूलो परिवारका बुहारीका लागि त एउटा दशैं दशा बनेर आउँथ्यो । एक पटकको दशैं उतार्न पूरा एकजुनीकै मिहेनेत गर्नुपर्थ्यो ।

दिनभरिको कामको थकाइ सहँदै राति अबेरसम्मको घरधन्दा सकेर ओछ्यानमा ढल्किन नपाउँदै उठ्नेबेला भइहाल्थ्यो । भालेको डाँकभन्दा अघि नै उठेर ढिकीजाँतो नगर्ने बुहारी काजु मानिँदैनथ्यो ।  उसका उछित्तो काढ्न बेर हुँदैनथ्यो ।

घरको सिंगारपटार, ढिकीजाँतो, मेलापात र भातभान्सादेखि जाँडरक्सी उत्पादनसम्मका काम तिनको ‘ठेक्का’ मा पर्थे । घर सिंगारपटार गर्ने तथा पुरानी भर्ने क्रममा कति त माथिबाट खुर्मुरिन्थे । दशैंभरि कुना पस्थे । ऐया–आथ्यो गर्दैमा तिनको दशैं बित्थ्यो ।

पातीमा कोपिला नलाग्दै जाँडका घैंटाहरूले घरको तला-बुइगल भरिनुपर्थ्यो । पाती फुल्न थालेसँगै घरका छोरीबुहारीले एकपछि अर्को गरी जाँडरक्सीको बाहान उतार्न थाल्थे, जुन घरदेखि माइत–मामलासम्मका पुङ र गिलासमा पुग्थे, दशैंभर ।

अहिलेको जस्तो घरघरै पानीको कलधारा नजोडिएको त्यो समयमा जाँडरक्सीको बाहान उतार्न टाढा–टाढाबाट सयौं गाग्री पानी बोक्नुपर्थ्यो । शारीरिक श्रमले गलेर फतक्कै  भएका छोरीबुहारीहरू सुस्केरा हाल्थे, ‘यो दशैं भन्ने दशा त कहिल्यै नआए हुने ।’

हामी भुराभुरीलाई भने दशैं ‘आउन बेर न जान बेर’ हुन्थ्यो । जमराको टपरी पँधेरामा सेलाउन नपाउँदै एक वर्ष पर कुदिसकेको हुन्थ्यो, दशैं । हामी थक्कथक्क हुँदै दक्षिणा गन्थ्यौं, दशै पटक ।

यतिञ्जेलसम्म धेरै घरधुरीको वसालत असन्तुलित भइसकेको हुन्थ्यो । दशैंको रौनक मत्थर हुन नपाउँदै घरमुलीहरूलाई श्रीपञ्चीको भाकाले पोल्न थालिसकेको हुन्थ्यो – ‘जसोतसो दशैं त टारियो, अब ऋणको सावाँ–ब्याज कहिले चुक्ता गर्ने ?’

नेपाली समाजमा सर्वाधिक महत्व पाएको चाड दशैंले चरम आर्थिक विपन्नताले गाँजेको तत्कालीन समयमा निम्त्याएको आर्थिक र सामाजिक सकस एउटा बेग्लै अध्ययनको विषय बन्नसक्छ ।

[साभार: हिमाल (दशैं अङ्क) । असोज ८-२१, २०७४ । परिमार्जित संस्करण । ग्राफिक्स: गुगल।]

[अद्यावधिक २०७४।०७।०१]

Sunday, September 17, 2017

जनताका भाका

–यमबहादुर दुरा

  लमजुङस्थित हाँडेटार सिंचाइ आयोजनाको उद्घाटन गर्न  वि.सं. २०३३  पुस ९ गते राजा वीरेन्द्रको हाँडेटारमा सवारी भयो । राजाको सवारी सम्पन्न भएपछि  ठाडो भाका गायक दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०-२०७४) बारे गाउँघरमा एउटा हल्ला चल्यो । हल्लाको सार थियो--उनले राजाको सवारीमा गीत गाउने क्रममा राजालाई होच्याए । गीतमा ‘सानो राजा नेपालमा, ठूलो राजा चीनमा...’ पदावली घुसाएकाले राजाले अपमानित अनुभूत गरे ।
दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०–२०७४) 


यो हल्ला मात्र थियो । अहिलेको जस्तो दोहोरो संवादमूलक सामाजिक सञ्जाल नभएको त्यस समयमा उनको छवि एक हदसम्म क्षय भयो । गाउँघरमा धेरै पछिसम्म पनि यो हल्लाले ठाउँ लिइरह्यो । धेरै पछिमात्र वास्ताविकता पत्ता लाग्यो, गीत गाउन निम्त्याइएको ठाउँमा नजाँदा उनीसँग बेखुसी भएकाहरूले यस्तो हल्ला चलाएका रहेछन् ।

उनका विरुद्ध अनर्गल प्रचार हुनुअघि नै उनी जनस्तरका निर्विवाद सिद्धहस्त गायकको रूपमा देखापरिसकेका थिए । जात्रा, सामाजिक जमघट र रङ्ग–रसका महफिलमा उनको माग थियो । यद्यपि, उनी जुन समयमा ठाडो भाका गायनमा अघि बढ्दै थिए, त्यस समयमा ठाडो भाका गाउने गायक–गायिकाको कुनै कमी थिएन । तर उनी असंख्य ताराका माझमा टहटह जूनजस्ता भए । उनलाई प्रसिद्ध गायक देउबहादुर दुराको अवतार मान्नेहरू पनि छन् ।

उनको नाम दीर्घराज अधिकारी भए पनि भेँडीखर्के साइँला नामले यत्रतत्र परिचित भए । उनको नामका पछाडि सानो किस्सा जोडिएको छ । उनका बा तुर्लुङकोट (लमजुङ) स्थित भेँडीखर्क (भेँडीगोठ) मा बस्थे । उनले  बेला-बखतमा यो कुरा बताउँदै आएका थिए ।  भाँगु गाउँ र तुर्लुङकोटबीच रहेको जङ्गलको एक खण्ड अझै पनि 'भेँडीखर्क' नामले परिचित छ ।उनी साइँलो छोरो थिए । यही विरासतबाट जोडिँदै आएर उनी कालान्तरमा 'भेँडीखर्के साइँला'  नामले चिनिए ।

गीतमा माया–महब्बत र धर्मशास्त्रका अनेक प्रसंग ल्याएर टुक्का जोड्ने र गीत भट्ट्याउने भेँडीखर्के साइँलामा विशिष्ट कला थियो । उनको अनुपम स्वर–माधुर्य पनि सर्वत्र प्रशंसा भएको पक्ष हो । यिनै विशेषताबाट उनी आफ्नो पृथक पहिचान दिन सफल भए । ‘बाहुनले गीत गाउन हुँदैन’ भन्ने मानसिकताले राज गरेको जमानामा बा-आमाको आँखा छलेर नौ वर्षको उमेरदेखि नै गीत गाउनु र दुनियाँलाई उछिन्न सफल हुनु उनको साङ्गीतिक यात्राको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

२००६ सालमा उनको परिवार दुराडाँडास्थित तुर्लुङकोटबाट परेवाडाँडामा बसाइँ सर्‍यो । आफ्नो जन्मस्थानको साङ्गीतिक माहोलबाट बेग्लै सामाजिक परिवेशमा मिसिन पुगे पनि ठाडो भाकाका डफ्फासँग उनको संगत पूर्ववत् रूपमा कायमै रह्यो । आफ्नो जन्मथलो आउजाउ र उठबस भइरह्यो । गीतको खाल जमिरह्यो ।

यस क्रममा उनले आफ्नो जीवनकालमा असंख्य गायिकाहरूसँग साङ्गीतिक सवाल-जवाफ गरे । उनका समकालीन भक्तिमाया दुरा, सकुन्धरा दुरा (ढाँडथोके माहिली,  वि.सं.१९९१-२०७०), गौमाया दुरा, ज्ञानुमाया थापालगायतका प्रतिभाहरू उनीभन्दा अघि नै यस दुनियाँबाट अस्ताइसकेका छन्  ।

शुरुका दिनमा स्थानीय साङ्गीतिक रङ्गमञ्चमा मात्र बढी चर्चित भेँडीखर्के साइँला २०५० को दशकदेखि आमसञ्चार माध्यममा विस्तारै छाउन थाले । २०६० को दशकको मध्यततिर आइपुग्दा उनको सुनाम फूलको सुवाससरी सबैतिर मगमगाइसकेको थियो । तर, केही मिडियाले कुरै नबुझी उनलाई मिथकीय पात्रजस्तो गरी चित्रण गरे । यसबाट अन्य स्थानीय प्रतिभामाथि नजानिँदो किसिमले अन्याय  भयो । ठाडो भाका गाउन सक्ने व्यक्ति भेँडीखर्के साइँलामात्र हुन् भन्ने दलिल आयो, जुन सर्वथा गलत थियो ।

ठाडो भाका गाउनसक्ने प्रतिभाहरू अझै पनि गाउँघरमा नभएका होइनन् तर उनीहरू चर्चामा छैनन् । अहिले सामान्य चर्चामा रहेका नन्दमाया दुरा, बुद्धिमान दुरा ‘धम्पू’, उत्तम गुरुङ, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, यमबहादुर दुरा (पंक्तिकार होइन), सीता दुरालगायतका प्रतिभाहरूले ठाडो भाका गाउन सक्छन् । अहिले यिनै प्रतिभाहरूले ठाडो भाकाको विरासत थामिरहेका छन् ।

रेडियो नेपालमा गीत रेकर्ड गर्न उनी २०३५ सालमा राजधानी आए तर मौका पाएनन् । त्यतिबेला  उनीसँग रहर थियो, पहुँच थिएन । गीत रेकर्ड गर्ने अभिलाषा राख्दा तीतो अनुभव संगालेको १८ वर्षपछि चलचित्र निर्देशक प्रदीप उपाध्यायले उनको  रहर पूरा गरिदिए । २०५३ सालमा उपाध्यायको टोली सुन्दरबजार (लमजुङ) धाएर अल्ट्रसाउण्ड प्रालिमार्फत् भेँडीखर्के साइँला र भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९) को स्वरमा गीत रेकर्ड गरे । अल्बमको नाम जुराइयो, ‘सेरोफेरो’ । पहिलो अल्बम उत्पादन भएको सात वर्षपछि २०६० सालतिर आरबीए फिल्मस् ले उनी र ज्ञानुमाया थापाको स्वरमा अर्को श्रव्य अल्बम निकाल्यो ।

दुई सय वर्षको इतिहास 

कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाकालगायत विभिन्न नामले चिनिने ठाडो भाकाको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ ।  बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३—१९५०) ले वि.सं. १८७४ झ्याउरेमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गरेका छन् ।


वि.सं. १९१४ मा धौलागिरिबाट कास्कीको हंसपुरमा बसाइँ सरेका बौद्धसिङ गुरुङले आफूसँगै ल्याएका ठाडो भाकालाई त्यस ठाउँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले विस्तार गर्ने काम गरे भनेर धर्मराज थापाले आफ्नो पुस्तक ‘गण्डकीका सुसेली’ मा लेखेका छन् । यसरी विस्तार हुँदै आएको ठाडो भाकालाई अर्को पुस्ताले थप विस्तार गरे ।

हाँडीखोला (बर्धान, लमजुङ) का देउबहादुर दुरा र रबैडाँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) ले ठाडो भाकालाई जनस्तरमा पुर्‍याएर लोकप्रिय बनाउने गरेको थिए । उनीहरू पुरुष भए पनि केटा र केटी बनेर गीत गाउँथे भन्ने भनाइ छ । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

वि.सं. १९७० तिर देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीचको घम्साघम्सीपूर्ण भएको गीत सुन्न करापुटार लाग्ने शिवरात्रि तथा फागूपूर्णिमाको अवसरमा लाग्ने मेलामा  जनसमुदायको ठूलो भीड लाग्ने गरेको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तकमा कोट्याएका छन् । केटा-केटाबीच गीत गाउँदा स्रोता/दर्शकलाई त्यति मजा नहुने भएकाले देउबहादुर दुराले नेटा (लमजुङ) की मैरानी दुरालाई गीत गाउन सिकाएपछि केटा र केटीबीच ठाडो भाका गाउने प्रचलन शुरु भएको मानिन्छ ।

***

 भदौ २६ गते मानवचोला त्यागेका भेँडीखर्के साइँलाले जनस्तरमा निकै माया र सम्मान पाए । जनस्तरबाटै ठाडो भाका शिरोमणिको उपाधि पाए । दूधपोखरी प्रतिभा परिवार (वि.सं.२०५२), कोइरालाफाँट युवा क्लब (वि.सं.२०५५),  दुरा सेवा समाज (वि.सं.२०५७), सामाजिक सेवा द रेयुकाइ लमजुङ उपशाखा (वि.सं. २०५७), हिमालचुली कला साहित्य प्रतिष्ठान (वि.सं.२०६५), लमजुङ लोकसंस्कृति विकास केन्द्र (वि.सं.२०६८) लगायतका जनस्तरका संघसंस्थाले उनलाई सम्मान गरे । राज्यबाट भने उनले कहिल्यै पनि सम्मान पाएनन् ।

उनी बिरामी भएर ओखतीमूलोको गर्ने पैसाको अभाव हुँदासमेत राज्य निर्मम रह्यो । बासमतीको भात नरुच्ने अभिजात्य वर्गलाई उपचारको नाममा राज्यकोषबाट लाखौं रुपियाँ बाँड्ने राज्यले गायक भेडीँखर्के साइँलाप्रति कुनै सदासयता देखाएन । ठाडो भाकाको विरासत जोगाउन जनस्तरको प्रयासमात्र पर्याप्त छैन । राज्यको साथ र सहयोग अपरिहार्य छ ।

[साभार: हिमाल ।असोज १, २०७४ । परिमार्जित संस्करण । तस्बिरः याहु ]

[अद्यावधिक २०७४।०६।०२, २०७४।०६।०३, २०७४।०६।०४, २०७५।०८।२२, २०७७।१।२५, २०७७।०२।०४, २०७९।०८।२४]