Saturday, October 17, 2020

यस्तै भयो यस पटक

 –यमबहादुर दुरा

दशैँको माहोलले छपक्कै छोपेकोे छ, पहाडको टाकुरोलाई बादलले छोपेझैँ  । नछोपोस पनि किन ? नेपालको सामाजिक परिवेशमा दशैँको सांस्कृतिक गुरुत्वाकर्षण सधैँ बलशाली छ । नेपाल बहुसांस्कृतिक मुलुक भएर पनि दशैँ एक्लैले शीर्षस्थान ओगटेको स्पष्ट देखिन्छ । 

दशैँसँग नेपाली जनजीवनको नाता गहिरो देखिन्छ । दशैँ भित्रिँदै गर्दा सञ्चार माध्यममा देखपार्ने दशैँजन्य सामग्री र जनजनमा सुनिने दशैँ–संवाद दशैँको सघनतापूर्ण गुरुत्वाकर्षणलाई दर्साउँछन् ।

चाहेर–नचाहेर दशैँको सांस्कृतिक आकर्षण अतुलनीय किसिमले उच्च देखिन्छ । दशैँप्रतिको सांस्कृतिक रूझान बेजोड छ । यसका पछाडि लामो सामाजिक तथा सांस्कृतिक पृष्ठभूमि छ, जुन बेग्लै विश्लेषणको पाटो हुनसक्छ । अहिले त्यतातिर नजाऔँ ।

विगतमा धेरैका लागि दशैँ ‘राम्रो लाउने, मीठो खाने’ चाड थियो । समयक्रममा नेपाली समाजले आर्थिक तथा सांस्कृतिक रूपमा काँचुली फेर्दै जाँदा विगतको पुरानो भाष्य कमजोर बन्दै गएको छ । राम्रो लाउन र मीठो खानकै लागि दशैँ पर्खनुपर्न अवस्था हट्दै गएको छ । 

यद्यपि, दशैँको अन्यान्य महत्त्व र सान्दर्भिकता कायमै छ । दशैँका लागि आर्थिक जोहो गर्ने, किनमेलको मेलोमेसो मिलाउने, टाढाटाढा रहेका परिवारजनसँग फोनवार्ता गर्ने र घर पुग्न लामो यात्रामा निस्कने उपक्रमले हरेक दशैँमा गति लिन्छ । 

यस पटक पनि दशैँको हस्याङफस्याङपूर्ण दैनिकीले हामीलाई पछ्याइसकेको छ । दशैँले जीवनको उपक्रममाथि अर्को उपक्रम थपिदिएको छ । हाम्रो सांस्कृतिक जीवन फेरि एकपटक गतिविधिमय हुन थालेको छ । जनजीवन तरङ्गित हुन थालेको छ । 

परिवारजन, आफन्तजन र साथीसङ्गीसँग भेटघाटका अभिलाषापूर्ण मनोकाङ्क्षाका जलघडाहरू मनोद्वारमा सजिसजाउ भइसकेका छन् । समग्रमा, व्यस्त र व्यग्र दशैँ दैनिकी शुरु भइसकेको छ । यद्यपि, यस पटकको दशैँ पहिलाको जस्तो उत्साहप्रद भने छैन । जनमन उतिसाह्रो रमाएको छैन ।

परिस्थिति जटिल छ । समय अभिशप्त छ । जीवनको लय खल्बलिएको छ । कोरोना महामारीले जनस्वास्थ्यमा धावा बोलेको बोलेयै छ । यसपटकको दशैँ समयको एउटा कठिनतम् घडीबाट गुज्रिरहेको छ । 

समय विडम्बनाग्रस्त बन्न पुगेको छ । भेटघाट र पुनर्मिलनको लहर लिएर आउने चाड नजिकिँदै गर्दा प्रतिबन्धका सूची पनि लम्बिँदै गएका छन् । निषेधका तगराहरू तेर्सिन थालेका छन् । जीवनकालमै नभोगिएका नमीठा अनुभव र अनुभूतिका थुप्रो लाग्न थालेको छ ।

दशैँको पूर्वसन्ध्यामा सरकार भन्दैछ - सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस् । जहाँ र जस्तो अवस्थामा हुनुहुन्छ, त्यस्तै अवस्थामा दशैँ मनाउनुहोस् । घरमा पाहुना नबोलाउनुहोस् । 

थाहा छ, जनस्वास्थ्यलाई ध्यानमा राखेर सरकारले प्रतिबन्धको सूची जारी गरेको हो । यसका सरकारसँग विमति जाहेर गर्नुपर्ने कुनै ठाउँ छैन । सरकारको कुरा छाडौँ, अब त जनस्तरमा पनि प्रतिबन्धको सूची टाँस्ने काम भएको छ । 

कतिपयले सोसल मिडियामार्फत्  आफ्नो घरमा अनाइदिनुहोस् भनेर खुला आग्रह गरिसकेका छन् । गाउँमा नजान, पिङ नहाल्न, जमघट नगर्न र कसैसँग पनि टीका थाप्न नजान अपिल गर्नेहरूको कमी छैन । 

यस्ता अपिलप्रति पनि असहमति जनाउनुपर्ने कुनै कारण छैन । यद्यपि, कताकता असहज अनुभूतचाहिँ पक्कै भइरहेको छ ।

अरू बेला जे जस्तो भए पनि दशैँमा गाउँघर गुल्जार हुन्थ्यो । अघिपछि गाउँमा पाइला नटेके पनि दशैँमा गाउँमा पुग्ने आमप्रवृत्ति हो । यस पटक त धेरैका लगि त्यो पनि सम्भव भएको छैन । सञ्चार माध्यममा आएका समाचारअनुसार पहिले २० लाखले काठमाडौँ छाड्थे भने अहिले दुई लाखलेमात्र छाड्दैछन् । 

दशैँमा छोराछोरी घर फर्किने आशमा बाटोतिर आँखा डुलाउने धेरैजसो बृद्ध आमा–बा निराश हुुनुपर्ने अवस्था छ । बिरानो बन्दै गएको गाउँघर दशैंँमा पनि बिरानै रहने अवस्था छ । कोरोनाले गाउँको खुसी पनि धेरै हदसम्म खोसिदिएको छ ।

चाडपर्वहरू स्वाभावैले जमघटयुक्त र मिष्टान्न भोजनयुक्त हुन्छन् । जमघट, भेटघाट र भोजभतेर बिना चाडवाडको परिपाठ पूरा हुँदैन । तर, कोरोना महामारीले निम्त्याएको अकल्पनीय अवस्थाले चाडपर्वको आधारभूत मर्महरूलाई पूरै भताभुङ्ग पारिदिएको छ । न भोजभतेर, न त जमघट नै ।

परिस्थिति अवसादग्रस्त छ । धेरैको आम्दानी घटेको छ । कतिले महिनौँदेखि तनखा पाएका छैनन् । धेरैको कामधन्दा रोकिएको छ । विशेषतः श्रमजीवीहरूको आर्थिक स्वास्थ्य बेपत्ता गडबड छ ।

सामाजिक श्रेणीमा बौद्धिक वर्गको वरीयता पाएका कतिपय कलमजीवीहरू कलमबन्दीमा छन् । उनीहरूले कलम समाउने हातहरू निधारभन्दा माथि ठड्याउँदैछन् । नागरिकको सूचनाको बाहकका रूपमा दरिएका यी कलमजीवी पनि अभिशप्त समयमा बाँचिरहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरूको अवस्था पनि कम पीडादायी छैन । कोरोनबाट ज्यान जोगाउन दशगजा काटेर देशको सरहदभित्र छिरेका प्रवासी बन्न पुगेकाहरूको  पेटको भोकले आक्रान्त बन्न पुगेपछि फेरि पनि दशगजा नै काटेर उतैतिर फर्किएका दृश्यहरू टेलिभिजनका स्क्रिनमा देखिए । यस्ता घटनाक्रमलाई नागरिकका आर्थिक स्वास्थ्य बिगिएको सूचकको रूपमा लिन सकिन्छ ।

जनजीवनमा भुक्तमानको कोर्रा बर्साउने कोरोनाले थामिने कुनै नरम सङ्केत देखाएकै छैन । सञ्चार माध्यमले युरोप कोरोनो दोस्रो लहर शुरु भएको जनाएको छ । स्वदेशकै कुरा गर्दा कोरोना सङ्क्रमितको ग्राफले चुचुरो ताकिरहेको छ । कोरोना सङ्क्रमणबाट मृत्यवरण गर्नेहरूको संख्या पनि फेदीबाट उकालो लागिरहेको छ ।

यी तमाम उहापोहपूर्ण घटनाक्रमले परिस्थिति असहज छ भन्ने बुझ्न कुनै कठिनाइ छैन । सबैको गणित गोलमाल छ । देशको आर्थिक स्वास्थ्य कमजोर छ । कोरोनाले रडाको मच्चाउनुभन्दा अघि नेपालको नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतको हाराहारीमा थियो । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० र २०२१ मा क्रमशः २.३ र १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

यतिबेला अर्थतन्त्रभन्दा जीवन नै ठूलो हो । एकबारको चोलामा जीवनभन्दा ठूलो अर्को कुरा छैन । सानो असावधानीले अमूल्य मानवचोला पानीफोकाझैँ  समाप्त हुनसक्छ । उच्च सावधानी अपेक्षित छ । जीवन रहेमा अर्थतन्त्र मजबुत बनाउँला, चाडवाडको रमझममा रमाउँदै रामरमिता पनि गरौँला । 

अहिलेको मुख्य अजेण्डा जीवनरक्षा नै हो । यो सङ्कटपूर्ण घडीमा अरू अजेण्डा सहायक हुन् । हाम्रो यावत् प्रयत्न जीवनरक्षामै केन्द्रित हुन आवश्यक छ । आशा गरौँ, भोलिका दिनहरू शुभघडी लिएर आउनेछन् । यस्तै भयो, यस पटक ।

[संवाद नेपाल । २०७७ साल कात्तिक १ गते । ]

अद्यावधिक: २०७९।०८।२२

Tuesday, October 13, 2020

गहन छ, सांस्कृतिक पर्यटन

–यमबहादुर दुरा 

 दुनियाँको मिजास पहिचान गर्ने सबैभन्दा भरपर्दो माध्यम घुमघामलाई नै मानिँदै आएको छ । यहाँनेर, धर्मशास्त्री सेन्ट अगस्टिन (सन् ३५४–४३०) को युगौँ पुरानो कथन उद्धरणीय हुन आउँछ । उनले भनेका छन्, ‘संसार पुस्तक हो । दुनियाँको घुमघाम नगर्नेहरूले संसाररूपी पुस्तकको एउटा पानामात्र पढ्छन् ।’ 

 अगस्टिनको भनाइले भ्रमणको महत्त्वलाई प्रष्ट पार्छ । ज्ञान र अनुभव आर्जनका लागि भ्रमणको अतुलनीय महत्त्व छ । भ्रमणशील व्यक्तिहरूले संसारलाई नजिकबाट चियाउने सुनौलो अवसर पाउँछन् । 

 उद्देश्य र प्रयोजनका दृष्टिले भ्रमण (पर्यटनकर्म) का अनेकन् स्वरूपहरू छन् । जस्तैः खेल पर्यटन, साहसिक पर्यटन, कृषि पर्यटन आदि । यी विविध स्वरूपमध्ये एक हो, सांस्कृतिक पर्यटन । यो आफैंमा बृहत्तर अवधारणा हो । यसमा सम्बन्धित गन्तव्यको जीवनशैली, भूगोल, इतिहास, पूरातत्व, वास्तुकला, धर्म, मूर्त एवम् अमूर्त कलालगायत सबै सांस्कृतिक आयाम समेटिन पुग्छन् । 

 पर्यटनसम्बन्धी विश्वसंस्था ‘वर्ल्ड टुरिजम अर्गानाइजेस’ का अनुसार अवस्था सामान्य रहेमा हरेक वर्ष अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढेको देखिन्छ । सोही संस्थाको आँकडाअनुसार विश्वमा सांस्कृतिक पर्यटनले ३७ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको सन्दर्भमा सांस्कृतिक पर्यटनले कति ठूलो हिस्सा ओगटेको छ भन्नेबारे यकिन आँकडा भेटिँदैन । यद्यपि, नेपाल सांस्कृतिक पर्यटनका दृष्टिले सम्भावनायुक्त देश रहँदै आएको छ ।

 प्राचीनकालमा विदेशी तीर्थयात्रीहरूले गरेका वर्णनले यहाँको सांस्कृतिक पर्यटनको महत्त्व युगौँ अघि नै उजागर भइसकेको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धरोहर मानिने नेपाल ऋषिमुनिहरूको तपोभूमिको रूपमा चित्रण हुँदै आएको छ । यससँगै यहाँको विविधतापूर्ण भूगोल, सांस्कृतिक विविधता, जैविक विविधता, पूरातात्विक तथा धार्मिक महत्त्वका स्थलहरूको प्रचुरताले सांस्कृतिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्यको रूपमा दरिँदै आएको छ । 


 धार्मिक तथा आध्यात्मिक भ्रमण (तीर्थयात्रा) का क्रममा छिमेकी मुलुकबाट पर्यटकहरू हरेक वर्ष नेपाल भित्रिने परिपाटी एउटा स्थापित सांस्कृतिक तथा पर्यटकीय परम्परा हो । यसलाई सांस्कृतिक पर्यटनको एउटा हाँगाको रूपमा लिन सकिन्छ । नेपालमा २०५० को दशकमा शुरु भएको ‘होमस्टे’ लाई एक अर्थमा सांस्कृतिक पर्यटनकै एक हिस्सा मान्न सकिन्छ । अबको सवाल भनेको विद्यमान सांस्कृतिक पर्यटनमा नयाँ आयाम थप्दै यसलाई कसरी व्यवस्थित र फलदायी बनाउने भन्ने हो । 

 नेपाल सरकारले तयार पारेको ‘पर्यटन नीति, २०६५’ ले सांस्कृतिक पर्यटनलाई समेटेको छ । सरकारद्वारा जारी पर्यटन नीतिमा पर्यटनका किसिमबारे चर्चा गर्ने क्रममा बुँदा नं. ६ मा विभिन्न जातजातिहरूका मौलिक संस्कृतिलाई समेटी सांस्कृतिक पर्यटनसम्बन्धी क्रियाकलाप सञ्चालनमा स्थानीय निकाय (तह) र जनसमुदायलाई प्रोत्साहन गरिने कुरा उल्लेख गरिएको छ ।

‘पर्यटन नीति, २०६५’ को उद्देश्यमा सांस्कृतिक पर्यटनलाई प्रष्ट सङ्केत नगरिए पनि त्यसमा सांस्कृतिक पर्यटनको छनक पाइन्छ । त्यसको बुँदा (ख) मा भनिएको छ, ‘देशका मूर्त–अमूर्त प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानव निर्मित सम्पदाहरूको खोज, संरक्षण, सम्वद्र्धन एवं विकास गरी नेपाललाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्ने ।’ 

सांस्कृतिक पर्यटन आफैंमा गहन अवधारणा भएकाले यसका लागि सोहीअनुसारका आवश्यकताहरू पूरा गर्नुपर्ने हुन्छ । यसले सांस्कृतिक पक्षसँग जोडिएका पूर्वाधारहरूको जोडदार माग गर्छ । यसका लागि नीतिगत स्पष्टता र सही कार्यान्वयन अपरिहार्य हुन्छ । यस दिशामा सरकार र पर्यटन व्यवसायीहरूको अर्जुनदृष्टि आवश्यक छ । 

अन्य पर्यटकजस्तै सांस्कृतिक पर्यटकका लागि पनि सम्बन्धित गन्तव्यमा पुग्नका लागि यातायातको सुविधा, सुविधाजनक आवास तथा भोजनको व्यवस्था, अन्तरसांस्कृतिक सहिष्णुता, पर्यटकमैत्री व्यावहार, आधुनिक सञ्चार आदि अत्यावश्यक हुन्छ । साथै, सम्बन्धित क्षेत्रको इतिहास र संस्कृतिको ज्ञान भएका पथप्रदर्शकहरू तयार पार्न पनि उत्तिकै आवश्यक पर्छन् । 

मौलिक पहिचान भएका गाउँबस्तीको पहिचान जोगाउने र पर्यटकमैत्री बनाउन आवश्यक छ । ऐतिहासिक महत्त्वका स्थल, गढी, स्मारक, धार्मिक स्थलजस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र अभिलेखनको खाँचो छ । 

यसैगरी, लुकेर रहेका तर पर्याप्त पर्यटकीय महत्त्व बोकेका ठाउँहरूको खोजी गरी तथ्यपूर्ण विवरण तयार पार्ने काम पनि उत्तिकै आवश्यक छ । यस्ता पर्यटकीय महत्त्वका थलोमा पुग्नका लागि पहुँचमार्ग (पदमार्ग) निर्माण गर्ने तथा ब्रोसरलगायतका तथ्यपरक प्रचार सामग्री हुन्छ । 

यसका अतिरिक्त स्थानीय जीवनशैली झल्कने संग्रहालय बनाउने काम पनि आवश्यक छ । यस्ता काम चुड्कीको भरमा सम्पन्न हुँदैन । यसका लागि सुव्यवस्थित योजना, स्रोत–साधनको व्यवस्था तथा साझेदार निकायहरूबीच हातेमालोको खाँचो पर्छ । 

 सामान्यतयाः सांस्कृतिक पर्यटकहरू मौलिक संस्कृतिका भोका हुन्छन् । उनीहरूका लागि ‘म्याकडोनाल्ड’ शैलीका ‘फास्टफुड’ र ‘डिज्नेल्याण्ड’ शैलीका विकास अपाच्य हुन सक्छन् । यसका सट्टामा उनीहरू परम्परागत जीवनशैली र अर्ग्यानिक खाद्यपरिकार (लाइभ फुड) मा बढी रमाउँछन् ।

 आजकल, सबैतिर आधुनिक विकासको बाघपञ्जा फैलिएको अवस्थामा मौलिक जीवनशैली कायम राख्न धेरै कठिन भइसकेको छ । अझ, विकासको नाममा कुनै सोच–विचार विना नै कार्यान्वयनमा ल्याइएका अर्थहीन विकास परियोजनाहरूले सांस्कृतिक जीवनमा थप बर्बादी निम्त्याएको छ । शायद, सांस्कृतिक पर्यटनको सबैभन्दा ठूलो चुनौती यही हो । 

 सांस्कृतिक पर्यटनका लागि स्थानीयपन अपरिहार्य सर्त हो । स्थानीपनमा मौलिक संस्कृतिको मर्म लुकेको हुन्छ, जसमा स्थानीय समुदायको पहिचानका सूत्रहरू भेटिन्छन् । सबैतिर एकै किसिमको चालचलन र खानपान अस्तित्वमा रहने हो भने पर्यटकहरू देशका विभिन्न कुन–कन्दरामा डुलेर समय र धन खर्च गर्नुको खासै औचित्य रहँदैन । 

 स्थानीय जनजीवनमा पाइने पृथकपनको रसास्वादनका लागि पर्यटकहरू बेग्लाबेग्लै गाउँठाउँ डुलेर पैसा खर्च गरुन् भन्नका लागि स्थानीयपन जोगाउन आवश्यक छ । स्थानीय उत्पादनहरूलाई बेग्लै ब्राण्डको रूपमा विकास गर्न आवश्यक छ । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू गाउँगाउँमा घुसेर दुनियाँको बानी बिगारेको अभिशप्त समयमा स्थानीय उत्पादनहरूलाई बेग्लै ब्राण्डको रूपमा विकास गर्नु अर्को भयानक चुनौती हुन गएको छ । 

 स्थानीयपन जोगाउनका लागि परम्परागत ज्ञान तथा लोकविधिविज्ञान (इथ्नोमेथडोलजी) मा आधारित हस्तकला, पाककला तथा अन्य स्थानीय सीपहरू जोगाइराख्नु अपरिहार्य छ । सँगसँगै ‘डेक संस्कृति’ लाई विस्थापन गर्दै स्थानीय गीत र नाचलाई प्राथमिकता दिनुपर्ने हुन्छ । 

स्थानीयपन झल्कने प्रहसन तथा लोककथा वाचनलाई उच्च स्थान नदिइहुन्न । सांस्कृतिक मिथकहरूलाई खोजीखोजी अभिलेखीकरण गर्नुपर्छ । नयाँ पुस्तालाई यस्ता बहुमूल्य सांस्कृतिक सम्पदातिर अभिमुखीकरण गर्नु अत्यावश्यक छ । 

टेलिसंस्कृतिले युवापुस्तालाई अर्कै रुमानी दुनियाँतिर डोर्‍यााइरहेको अवस्थामा उनीहरूलाई परम्परागत जीवनशैलीतिर फर्काउनु फलामको च्युरा चपाउनुसरह हुनसक्छ । यस किसिमको जटिल ‘कोर्स करेक्सन’ का लागि एकल प्रयास अपर्याप्त हुन्छ । यसमा जनस्तर र सरकारबीच व्यापक समन्वय र सहकार्य अत्यावश्यक हुन्छ । सही किसिमले व्यवस्थापन गर्न सकिएमा सांस्कृतिक पर्यटन समाज र संस्कृतिका लागि धेरै अर्थमा हितकर मानिन्छ । 

सांस्कृतिक पर्यटनमा निस्कनेहरूमा मूलतः अध्येता, शोधकर्ता, लेखक, आध्यात्मिक गुरु, पूरातत्वविद, विद्यार्थी र संस्कतिमा रुचि राख्ने जो–कोही पनि हुन सक्छन् । यस किसिमको पर्यटनकर्म अध्ययन–अनुसन्धानका दृष्टिले पनि फलदायी हुनसक्छ । यसबाट ज्ञान निर्माणमा सहयोग पुग्छ । 

 भ्रमण सकेर फर्किएपछि सिर्जनशील पर्यटकहरूद्वारा भ्रमण गरिएका स्थानबारे पुस्तक लेखिन सक्छन्, रसिलो यात्रा–संस्मरण कोरलिन सक्छन् एवम् वृत्तचित्र निर्माण हुन सक्छन् । विश्वविद्यालयका कतिपय शोधार्थीद्वारा शोधपत्रहरू तयार पारिन सक्छन् । यस्ता प्रकाशनजन्य प्राज्ञिक गतिविधिबाट स्थानीय सांस्कृतिक सम्पदाको यश र कृति दुनियाँको फराकिलो घेरासम्म पुग्नसक्छ, जुन संस्कृति प्रवर्द्धनको एउटा सुन्दर उपाय हो । 

 नेदरल्याण्ड्सस्थित टिलबर्ग विश्वविद्यालयका प्राध्यापक ग्रेस रिचर्डस्ले आफूद्वारा सम्पादित पुस्तक ‘कल्चरल टुरिजम् : ग्लोबल एण्ड लोकर पस्र्पेक्टिभ्स्’ (सन् २००७) मा सांस्कृतिक पर्यटनले संस्कृति संरक्षण श्रीवृद्धि गर्न सघाउने विचार अघि सारेका छन् । उनले सांस्कृतिक पर्यटनलाई गुणस्तरीय पर्यटन मानेका छन् ।

 संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सांस्कृतिक पर्यटनलाई विश्वसम्पदा जोगाउने उपाय मानेको छ । युरोपेली आयोगले सांस्कृतिक पर्यटनलाई महत्त्वपूर्ण उद्योगको दर्जा दिएको छ । यी दुई संस्थाले सांस्कृतिक पर्यटनबारे गरेको ठहर मननीय छ । 

 [गोरखापत्र । २०७७ साल असोज २७ गते । सामान्य परिमार्जनसहित]