Friday, November 24, 2017

चुनावमा दुस्प्रचार

–यमबहादुर दुरा

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका असोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्नआउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छिन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकाहरूलाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर पढाइन्छ ।’

हुन पनि मताधिकार नागरिकको भविष्य निर्धारण गर्ने राजनीतिक अस्त्र हो । मताधिकारको अवसर निम्त्याउने निर्वाचन जनसाधारणको सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम हो, जुन नागरिक तथा राजनीतिक अधिकारका दृष्टिले सर्वाधिक महत्वूर्ण ‘राजनीतिक चाड’ पनि हो । नागरिकले अधिकतम् ध्यान पुर्‍याउनुपर्ने राजनीतिक ‘इभेन्ट’ पनि निर्वाचन नै हो ।

बुद्धि र विवेकको सही उपयोग गरेर जनप्रतिनिधि चुन्ने उपयुक्त घडी पनि यही हो । निर्वाचनका समयमा नागरिक सर्वाधिक शक्तिशाली मानिन्छन् । ‘जनता जनर्दन’ भनिने अमूर्त मान्यता यही समयमा मूर्त बन्न खोज्छ । अघिपछि जे जस्तो भए पनि निर्वाचनको समय जनता ढोगिन्छन् र देउतासरी पुजिञ्छन् ।

निर्वाचन नागरिकले सही निर्णय लिनुपर्ने जटिल समय हो । चुनावमा नागरिकका अगाडि अनेकथरी राजनीतिक शक्तिहरू मतका लागि हारगुहार गर्न आउँछन्, आश्वासन बाँड्छन् र आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गर्छन् । चुनावी माहोलमा राजनीतिक शक्तिले रचेका तमाम प्रपञ्चका अगाडि नागरिक रनभुल्लमा पर्ने अवस्था आउन सक्छ ।

यस्तो अन्यमनस्क अवस्थामा आमसञ्चार माध्यम (खासगरी पत्रकारिता जगत) ले सही बाटो देखाइदिने काम गर्नुपर्ने हुन्छ । निर्वाचनको समयमा पत्रकार अघिपछि  भन्दा पनि बढी रचनात्मक र विवेकशील हुनुपर्छ भन्नेका कुरा पत्रकारिता आचार संहितासम्बन्धी धेरैजसो अन्तर्राष्ट्रिय दस्ताबेजहरूमा उल्लिखित छ । आपूmले चाहेका राजनीतिक दललाई मतदान गर्ने अधिकार पूरापुर नागरिकमै छाड्दै परिस्थितिको स्पष्ट तस्बिर उनीहरू समक्ष राखिदिनु पत्रकारिताको धर्म हो ।

निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने बेलमा फलानो नेताले फलानो आमसभाका यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भन्ने खालका सादा समाचार (प्लेन रिपोर्टिङ) ले मात्र पुग्दैन, साथमा प्रसस्त मात्रामा विश्लेषणात्मक समाचार दिनुपर्ने हुन्छ । प्लेन रिपोर्टिङले कतिपय अवस्थामा राजनीतिक दलका कुत्सित नियतलाई जनजनसम्म विस्तार गरी नागरिकमा प्रसस्त भ्रम छर्ने काम गर्नसक्छ । सही किसिमले तयार पारिएको विश्लेषणात्मक समाचारले यस्ता भ्रमलाई चिर्ने काम गर्छ ।

सम्बन्धित राजनीतिक दलका घोषणापत्रको सबल र दुर्बल पक्ष, दलले चुनावमा गरेका खर्चको स्रोत, त्यसबाट आउनसक्ने नीतिगत अनाचार एवम् उम्मेदवारले विगतमा प्रदर्शन गरेका सार्वजनिक व्यवहारको वस्तुनिष्ठ लेखाजोखा गरी समाचार दिन आवश्यक हुन्छ । विश्लेषणात्मक समाचारले राजनीतिक दलका नेताद्वारा अभिव्यक्त विचारभित्र लुकेको वास्तविकता बुझ्न सहज बनाइदिन्छ, जसले मतदातालाई सही निर्णय लिन सहयोग पुग्छ । तर विश्लेषणको नाम मनोगत विचार सम्प्रेषण हुनसक्ने खतराप्रति पनि उत्तिकै सचेत हुनुपर्छ ।

पत्रकारिताको मूल धर्म नागरिकलाई सुसूचित गर्ने र समाजलाई सहजीकरण गर्ने नै हो । निर्वाचनको समयका पत्रकारिताको यो भूमिका झन व्यापक भएर आउँछ । धेरै खालका अलमल, राजनीतिक चलखेल र व्यापारिक स्वार्थबाट प्रदूषित सूचनाको अथाह समुद्रबाट सही सूचना कपडछान गरेर जनसमक्ष प्रवाह गर्नु आफैंमा एउटा भयानक चुनौतीपूर्ण काम हो ।

यस घडीमा असीम परिश्रम र सीपका साथमा ‘वस्तुनिष्ठ व्यवहार’ शिरोपर गर्नुपर्ने हुन्छ । यस्तो चुनौती जोकोहीले सामना गर्न सक्दैन । खासगरी, राजनीतिक दलसँगको निकटतालाई आफ्नो सौर्य ठान्ने, परिश्रम नगर्ने र शोधकार्य (रिसर्च) मा अभ्यस्त नभएका पत्रकारलाई यस्तो भूमिका निर्वाह गर्न सहज हुँदैन । परिश्रमी र विचारशील पत्रकारले सम्प्रेषण गर्ने सही सूचनाले मतदाताको भविष्य निर्माणमा योगदान दिन्छ ।

एक्काईसौं शताब्दीमा सूचनालाई सम्पत्ति मानिएको छ । सूचना–सम्पत्तिको प्रसंग कोट्याउँदा मानिस सूचनाजीवी प्राणी हो भन्ने तथ्यलाई समयले प्रमाणित गर्दै लगेको छ । मानिसलाई सही समयमा सही सूचना आवश्यक पर्छ । सही सूचनाबाट निर्देशित पाइलाले नै उसको जीवनमा सही गन्तव्य निर्धारण गर्छ ।

अहिले भइरहेको सूचना क्रान्तिले सचेत किसिमले पाइला अघि सार्न सहयोग गरिरहेको छ । सँगसँगै, चुनौती पनि थपिएको छ । इन्टरनेटले दुनियाँलाई अद्वितीय गुन लाउँदालाउँदै पनि कतिपय न्युज पोर्टल र सामाजिक सञ्जालहरू दुस्प्रचार यन्त्र बन्न थालेका छन् । त्यसमा पनि दुस्प्रचारयन्त्रको प्रयोगमा राजनीतिक शक्ति पछाडि छैनन् ।

नेपालजस्तो विकासोन्मुख मुलुकमात्र होइन, अमेरिकाजस्तो विकसित मुलुक पनि दुस्प्रचारबाट प्रभावित छन् । ‘अमेरिकन इकनमिक असोसिएसन’ द्वारा प्रकाशित ‘जर्नल अफ इकनमिक्स पर्सपेक्टिभ्स्’ मा छापिएको एक अनुसन्धानात्मक लेखमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा लगभग १७ प्रतिशत वयस्क अमेरिकीहरूले ‘फेक न्युज पोर्टल’ ले प्रवाह गरेको समाचारमा भर परेको उल्लेख गरेको छ । नेपालमा त्यस्तो झुटो समाचारको प्रभाव अमेरिकामा भन्दा निकै बढी हुनुपर्छ ।

पहिलो झलकमै झुटो र बेतुक लाग्ने समाचार र अन्य सामग्रीलाई धेरैले सत्य ठानी सामाजिक सञ्जालमा सेयर गरेका, कमेन्ट गरेका र साथीसंगी एवं घरपरिवारमा ‘हट केक’ शैलीमा कुराकानीको विषय बनाएका दृष्टान्त नेपाली समाजमा छेलोखेलो छ । यसबाट गलत सूचनाले नेपाली समाज धेरै हदसम्म सङ्क्रमित छ भन्न गाह्रो छैन । सही सूचनाको बलले सही जनप्रतिनिधि चुन्नुपर्ने बेलामा गलत सूचनाले मतदातालाई निश्चय नै दिग्भ्रमित तुल्याउँछ ।

लोकतन्त्रको दृष्टिले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउट महत्वपूर्ण हिस्सा हो भने राजनीतिक शक्तिको आँखामा निर्वाचन शक्ति हत्याउने खेल हो । निर्वाचनका बेला राजनीतिक शक्तिले एकअर्काविरुद्ध सक्दो दुस्प्रचार गर्छन् । दुस्प्रचार राजनीतिक दलका लागि शक्ति हत्याउने शक्तिशाली अस्त्र हो । निर्वाचनको समयमा हुने आमसभा, राजनीतिक दलको प्रचार सामग्रीबाट प्रवाहित सूचना, राजनीतिक दलले सञ्चालन गरेका घोषित तथा अघोषित सञ्चार आउटलेट तथा तिनका भ्रातृसंगठनहरूले जारी गरेका सन्देश धेरै हदसम्म दुस्प्रचारले भरिएका हुन्छन् ।

सबै प्रकारका दुस्प्रचारलाई चिर्दै नागरिकका पक्षमा सही सूचना कसरी दिने ? यस्तो अवस्थामा मिडियाले बहुआयमिक चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसो त, सत्य खोज्ने र त्यसलाई सम्प्रेषण गर्ने काम कहिल्यै पनि सहज छैन । त्यसमा पनि सञ्चार माध्यममा आएका कुरा सही हुन्छन् भन्ने मान्यताका पक्षपातीहरू कम नभएको हाम्रोजस्तो समाजमा सही सूचनाले स्थान पाउनुभन्दा धेरै अघि नै भ्रामक सूचनाले स्थान ओगटिसकेको हुनसक्छ ।
सत्य खोज्ने र सम्प्रेषण गर्ने काममा इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । इन्टरनेटको बढ्दो पहुँचले हरेक व्यक्तिले आफ्नै मिडिया सञ्चालन गर्न सक्ने अवस्था बनिरहेको छ । अहिले मनोगत विचार र भ्रामक सूचनाले भरिएका ‘फेक न्युज’ र अन्य ‘फेक कन्टेन्ट’ को बिगबिगी बढेको छ ।

भ्रामक सूचना प्रवाह गर्ने यस्ता प्रचारयन्त्रको कर्तुतबारे बुझ्न बाँकी रहेका जनसमुदायले भ्रामक जानकारीलाई सही ठानेर सोही बमोजिम मनस्थिति बनाउन सक्ने खतरालाई नकार्न सकिन्न । जगजाहेर नै छ, गलत जानकारीले कहिल्यै पनि सही गन्तव्यमा पुर्‍याउँदैन ।

सही सूचना सम्प्रेषणमा समस्या राजनीतिक दलमात्र बाधक छैन, यसमा समाजको पहरेदार ठानिएका पत्रकारहरूको व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएको छ । राजनीतिक दलको प्रचारयन्त्रमा पत्रकारहरूको संलग्नता रहनुले स्थिति झन जटिल बनेको छ । पत्रकार आचार संहिताले यस्तो व्यवहारलाई स्वीकार्य ठान्दैन । युनेस्कोको सहयोगमा सन् १९९१ मा नामिबियामा सम्पन्न अफ्रिकी अखबारका पत्रकारहरूको भेलामा जारी आचार संहितामा स्वतन्त्र  प्रेसको अर्थ सरकार, राजनीतिक दल वा आर्थिक शक्तिको प्रभावबाट टाढा रहनु हो भनिएको छ ।

यसो भनिरहँदा पत्रकार राजनीतिक दल र तिनका उम्मेदवारसँग पानी बाराबारको सम्बन्ध रहनुपर्छ भन्ने अर्थ नलागोस् ।  बरू, उम्मेदवार र मतदाताबीच सेतु बन्नुपर्छ, पत्रकार । अन्तर्राष्ट्रिय पत्रकार महासंघद्वारा प्रकाशित ‘इलेक्सन रिपोर्टिङ ह्यान्डबुक’ मा पत्रकारले मतदाताका अपेक्षा र उम्मेदवारका आशयलाई विवेकशील ढङ्गबाट जोडिदिनुपर्छ भन्ने उल्लिखित छ ।

नागरिकको ‘राजनीतिक चाड’ मानिने निर्वाचनलाई फलदायी र अर्थपूर्ण बनाउन पत्रकारले खेल्नुपर्ने भूमिका ज्यादै गहन छ । उसको वस्तुनिष्ठ, विचारशील, सिर्जनशील र विवेकशील व्यवहारबाट मात्र यस्तो भूमिका सही अर्थमा निर्वाह हुनसक्छ । यसका लागि आफ्ना निजी आकांक्षाहरूलाई गौण ठान्नुपर्ने हुन्छ । तबमात्र, निर्वाचनमार्फत् नागरिकको राजनीतिक अधिकार रक्षा गर्ने कार्यमा पत्रकारको हिस्सेदारी कायम हुन्छ ।

साभार: अन्नपूर्ण पोष्ट । (मङ्सिर ८, २०७४) ।]

Saturday, November 18, 2017

पत्रकारिता तालिमको घट्दो क्रेज

–यमबहादुरा दुरा

अमेरिकी लेखक रोवर्ट कियोसाकी (जन्मः सन् १९४७) कतै भनेका छन्, ‘अनुशासन र तालिमबाट आत्मविश्वास पलाउँछ ।’ कियोसाकीको भनाइ हरेक पेशा र व्यवसायमा संलग्न व्यक्तिका लागि मननीय छ । त्यसमा पनि प्रतिपल बदलिइरहेको दुनियाँको खोजखबर गर्ने पत्रकारका लागि उनको भनाइ झनै मननीय र सान्दर्भिक छ ।
कियोसाकीको भनाइले तालिमको महत्वलाई झल्काएको छ ।

 नेपालमा पत्रकारितासम्बन्धी तालिमको औपचारिक इतिहास २०४१ सालमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ स्थापित भएपछि शुरु भएको पाइन्छ । गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता नेपालका अग्रज पत्रकारहरूद्वारा स्थापित पत्रकारिता तालिमसम्बन्धी तालिम इन्स्टिच्युटले नेपालका एक से एक पत्रकारहरू उत्पादन गर्‍यो ।

उनीहरूले नयाँ पुस्ताका पत्रकार नआउञ्जेलसम्म नेपालको मूलधार पत्रकारिताको कमाण्ड सम्हालेको इतिहासलाई बिर्सन मिल्दैन । त्रिभुवन विश्वविद्यालयले पत्रकारितासम्बन्धी जनशक्ति पर्याप्त रूपमा उत्पादन गर्न नसक्दाको घडीमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ ले माग पूरा गरेको थियो, जुन नेपालको पत्रकारिता जगतमा प्रशंसनीय कार्य थियो ।

२०५० को दशकसम्म पत्रकारिता तालिमको क्रेज उच्च नै थियो । यतिञ्जेलसम्म पत्रकारितासम्बन्धी तालिम दिनका लागि अरू थुप्रै संस्था अस्तित्वमा आइसकेका थिए । समयक्रममा यस्ता तालिमहरूको क्रेज घट्दै गयो । पहिले पत्रकारका लागि आयोजित तालिममा सहभागी हुन पत्रकारिताभन्दा बाहिरका व्यक्तिहरू पनि मरिहत्ते गर्थे, अहिले पत्रकारका लागि आयोजित तालिममा पत्रकार नै सहभागी नहुने अवस्था छ ।

आखिर के भयो, पत्रकारितासम्बन्धी तालिमलाई ? किन तालिमप्रतिको आकर्षण जाडो मौसमको चियाझैं सेलायो ? यस विषयमा गहन र व्यापक अध्ययन भएका छैनन् । अनुसन्धानमूलक संस्था ‘मार्टिन चौतारी’ ले पत्रकारितासम्बन्धी तालिमबारे २०६६ सालमा अध्ययन गरेको थियो । पत्रकारिताको तालिम दिने संस्था र तालिममा सहभागी पेशेवार प्रशिक्षकहरूसँग परामर्श गरी प्रतिवेदन प्रकाशन गरेको थियो ।

त्यस प्रतिवेदनले मिडियासम्बन्धी तालिमको पाठ्यक्रम, प्रशिक्षक, सहभागी तथा आर्थिक पक्षलाई केन्द्रमा राखेर त्यसको प्रवृत्ति र अभ्यासलाई रौंचिरा गर्ने प्रयास गरेको छ । प्रतिवेदनले तालिमको गुणस्तर, दीगोपन र प्रभावकारिताबारे पनि मननीय ढङ्गमा विश्लेषण गरेको छ । प्रतिवेदनले औंल्याएका धेरै तथ्य अझै पनि सान्दर्भिक र विचारणीय छन् ।

वरिष्ठ ठहरिएका पत्रकारहरूले तालिममा रुचि नराख्ने र कतिपय पत्रकार भत्ता पाएमात्र तालिममा सहभागी हुन चाहने प्रवृत्तिलाई प्रतिवेदनले गम्भीरतापूर्वक औंल्याएको छ । यसैगरी, तालिमको नाममा ठगीधन्दा गर्ने कतिपय संस्थाले मीठो सपना बाँडेर सहभागीहरूलाई बिचल्ली पारेकाले तथ्यबारे प्रतिवेदनले ध्यानाकर्षण गरेको छ ।

नेपालको पत्रकारितासम्बन्धी तालिमको अवस्था र सान्दर्भिकताबारे थप चर्चा गर्नुभन्दा विश्व–सञ्चार परिदृश्यमा आएको युगान्तकारी परिवर्तनलाई नसमेट्दा अध्याय अपूरो हुनजान्छ ।  समयको गतिशीलतासँगै विश्व–सञ्चार परिदृश्यमा व्यापक बदलाव आएको छ । आजभन्दा ११ वर्षअघि सन् २००६ मा ‘टाइम’ म्यागजिनले अनौठो किसिमले ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो ।

उक्त म्याजिनले ‘यु’ अर्थात् ‘तपार्इँ’ (हरेक व्यक्ति) लाई ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो । यसको अर्थ थियो, प्रविधिको विकासले हरेक व्यक्ति शक्तिशाली बन्दैछ र ‘न्यु मिडिया’ मार्फत्  अब हरेक प्रकाशक र प्रसारक बन्नसक्छ । ‘यु ट्युब’, माई स्पेस, फेसबुकजस्ता ‘न्यु मिडिया’ ले यस्तो तिलस्मी सम्भावना छुमन्तर शैलीमा हाम्रो सामु ल्याइदिएको छ । यसबाट ‘मिडिया टाइकुन’ हरूको वर्चस्व क्षय हुने क्रम भइसकेको छ ।

यस्ता ‘न्यु मिडिया’ को माध्यमबाट शानदार किसिमले पत्रकारिता गर्न सम्भव छ भन्ने तथ्य कुनै रहस्यको विषय रहेन । वेब २.० नामले चिनिने अन्तरक्रियात्मक इन्टरनेट प्रणालीले अनलाइन पत्रकारितालाई नयाँ उचाइमा पुर्‍यायो । यसले परम्परागत पत्रकारितालाई एक अर्थमा पछिल्लो बिसौनीमा छाडिदियो । एउटै माध्यमबाट अडियो, भिडियो र टेक्टसमेत उपलब्ध गर्न सक्ने अनलाइनको अगाडि परम्परागत पत्रकारिता कता कता खल्लो देखिन थालेको छ ।

हिजोका दिनमा अखबार स्थान नपाएका कतिपय प्रतिभाहरू इन्टरनेटको माध्यमबाट राम्रा लेखक/पत्रकारका रूपमा दरिएका छन् । रेडियोमा स्वर सुनाउन र टेलिभिजनमा अनुहार देखाउन लालयित भएका तर अवसर नपाएका कतिपय व्यक्तिले अहिले ‘यु ट्युब’ मार्फत् ‘सेलिब्रिटी’ को ताज पहिरिएका छन् । उनीहरूलाई रेडियो र टेलिभिजन स्टेसन धाउनुपर्ने आवश्यकता नै छैन । उल्टै उनीहरूलाई रेडियो र टेलिभिजन खोज्न थालेका छन् ।

प्रविधिको जादुमय प्रगतिले मिडियाको परिदृश्य पनि बेजोड किसिमले बदलिदिएको छ । मनमा ताप भएका व्यक्तिका अहिले हजारौं अवसर ढोकैमा उपलब्ध छ । पत्रकारिताको डिग्रीदेखि ‘क्र्यास कोर्स’ सम्मका तमाम अवसर अनलाइनमै उपलब्ध छन् । रोगको उपचारदेखि प्राज्ञिक जिज्ञासा हल गर्नसमेत नेट सर्च गर्ने र ‘यु ट्युब’ ट्युटोरियल हेर्ने प्रवृत्ति नयाँ पुस्तामा विकास भएको छ ।

अब पत्रकारिताको ज्ञान र सीप हासिल गर्न परम्परागत शैलीको तालिम लिनैपर्ने बाध्यताको अन्त्य भइसकेको छ। अहिले पत्रकारितालगायत धेरै किसिमका ज्ञान र सीप ‘भर्चुअल क्लासरूम’ बाटै पाउन सकिने अवस्था छ ।पत्रकारिताको तालिमको क्रेजमा गिरावट आउनुको कारणमध्ये प्रविधिले ल्याइएको परिवर्तनलाई एउटा मुख्य कारक तत्व मान्न सकिन्छ । तर यो एकमात्र कारण भने होइन ।

यसका पछाडि अरू थुप्रै कारण छन् । नेपालको सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपछिको २८ वर्षको अवधिमा छापा, रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्म आइपग्दा नेपाली पत्रकारिता जगतमा धेरै उतारचढाव आइसकेको छ ।

यस अवधिमा नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा नसोचिएका परिवर्तन आएका छन् । आमसञ्चार माध्यमले प्राविधिक गुणस्तर र कन्टेन्ट विविधीकरण दुवै दृष्टिले क्रान्तिकारी फड्को मारेको छ । यसबाट सम्भवनाका धेरै ढोका खोलिएका छन् ।

साथसाथै, आमसञ्चार माध्यममा अभूतपूर्व रूपमा जनशक्ति खपत भएको छ । देशभरका सयौं कलेजमा पत्रकारितासम्बन्धी पढाइ शुरु भइसकेको छ  । आमसञ्चार माध्यमको उपस्थितिले विज्ञापनको आयतन बढेको छ र आमसञ्चार आफैंमामा एक उद्योगको स्थापित भएको छ ।

यससँगै आमसञ्चार माध्यमबारे जनमनमा बास गरेको विद्यमान हाउगुजीको पटाक्षेप पनि हुँदै गएको छ ।
हिजोका दिनमा आमसञ्चार माध्यमलाई ग्ल्यामरले भरिएको क्षेत्र मानिन्थ्यो । आज त्यस्तो मान्यतामा ह्रास आएको छ । विगतमा आमसञ्चार माध्यमलाई रहस्यपुञ्जका रूपमा हेर्ने गरिन्थ्यो । मानिसको बढ्दो चेतनास्तर र ‘सोसल मिडिया’ को विष्फोटक उपस्थितिले विगतमा रहस्यको बादलभित्र लुकेका धेरै पक्षको रहस्योद्घाटन हुँदै गइरहेको छ । परिणामस्वरूप आमसञ्चार (पत्रकारिता) प्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ ।

यी तमाम विकासक्रमले पत्रकारिता तालिमलाई चानचुने विषय बनाइदिएको छ । तर पत्रकारितासम्बन्धी तालिमको घट्दो ग्राफलाई हेर्दा पत्रकारिताप्रतिको आकर्षण घटेको मात्र भनेर तर्क गर्नु अन्याय हुन जान्छ । २०४६ सालदेखि हालसम्मको कालखण्डमा नेपाली पत्रकारिता क्षेत्रमा देखापरेको उहापोहबाट बजारशास्त्रको नियमनकारी प्राकृतिक नियमलाई अलग्याउन मिल्दैन ।

पत्रकारिता तालिमको क्षयोन्मुख अवस्थालाई निरपेक्ष रूपमा हेरेर पत्रकारिताप्रति आकर्षण घटेको भन्नु त्यति न्यायोचित हुँदैन । यसलाई पत्रकारिताको बजारले अब आफ्नो वास्तविक ‘सेप’ लिन थालेको छ भन्दा न्यायसँगत हुन्छ ।

तालिममा भाग लिने तर पत्रकारिता नगर्ने, दातृ निकायले दिएको आर्थिक सहयोग पचाउनमात्र तालिम आयोजना गर्ने, उचित पाठ््यक्रम नबनाई तालिम सञ्चालन गर्ने, सही तालिमका लागि सही सहभागी चयन गर्न नसक्नु, तालिमका नाममा सपनाजीवी युवाहरूलाई अल्मल्याउने जस्ता तालिमका विकृत पक्ष विगतमा देखापरे । पत्रकारिता क्षेत्र र पत्रकारिता–तालिमको इज्जत बचाउन यस्ता प्रवत्तिलाई दुरुत्साहित गर्न आवश्यक छ ।

पत्रकारितासम्बन्धी तालिमप्रतिको आकर्षण र विकर्षणबारे नेपथ्यमा चर्चा चलिरहँदा तालिमको आवश्यकता र महत्वलाई कुनै पनि हालतमा नकार्न सकिन्न । पत्रकारितामा मात्र होइन, हरेक पेशामा तालिम आवश्यक छ । तालिमले व्यक्तिको दक्षता, ज्ञान र सीपमा धार लगाउने, पुनर्ताजगी गर्ने र आत्मविश्वासको ग्राफ बढाउन सहयोग गर्ने भएकाले यसको महत्व सधैँ उच्च रहन्छ ।

वर्तमानमा पत्रकारिता तालिमको ग्राफ ओरालो लाग्यो भन्दैमा तालिमको औचित्य सकिएको भन्ने बुझिनुहुँदैन । तालिममा सुस्ती आएको हो, औचित्य सकिएको होइन । पेशागत जीवनमा तालिमको महत्वलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । सबैलाई हेक्का भएकै कुरा हो, असल पत्रकारिता–अभ्यासका लागि तालिमले निश्चय नै रचनात्मक र जीवनदायिनी भूमिका खेल्छ ।

[साभार:  गोरखापत्र 'शनिबार' । मङ्सिर २, २०७४ ।]


Sunday, November 5, 2017

रैथाने धुनको आरोह-अवरोह

–यमबहादुर दुरा

नेपालको मूलधारको सङ्गीतभन्दा बाहिर पनि एउटा अर्को साङ्गीतिक दुनियाँ छ, जुन धेरैले ख्याल नगरेको विषय हुनसक्छ । देशका विभिन्न समुदायले जीवनशैलीकै रूपमा हुर्काउँदै–कख्याउँदै आएका सोरठी, घाँटु, सेर्गाजस्ता साङ्गीतिक परम्परा यसका दृष्टान्त हुन् । ‘स्याटलाइट संस्कृति’ को चमकधमकले यस्ता रैथाने साङ्गीतिक परम्परा दिनानु दिन बेखबर बन्दै गएको अनुभव गरिएकै विषय हो ।

अपहेलित अवस्थामा रहेका यस्ता साङ्गीतिक वैभवबारे स्वदेशीजनलाई उतिसारो चासो नभए पनि विदेशीको भने आँखा पर्ने गरेको छ गम्भीर चासो देखाएका छन् । फिनल्याण्डको ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ सम्बन्धी लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे गरेको अध्ययनलाई यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

मोइजालाले लमजुङको गिलुङ गाउँका गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे विशद अध्ययन गरिन् । अध्ययनको विषय थियो, गुरुङ समुदायमा प्रचलित सङ्गीतको निरन्तरता र परिवर्तन । यही सिलसिलामा उनले सन् १९७५ लमजुङको गिलुङ गाउँको पहिलोपटक भ्रमण गरिन् ।

त्यसको लगत्तैपछि सन् १९७६ मा पनि गिलुङ पुगिन् । पहिलो भ्रमणको १० वर्षपछि १९८५ मा फेरि त्यही गाउँमा पुगेर त्यहाँको सङ्गीतिक परम्पराको पुनरावलोकन गरिन् । अन्त्यमा सन् १९९० मा गिलुङ गाउँमा झुल्किइन् र अध्ययन–अनुष्ठानलाई बिट मारिन् ।

पटक पटकको  भ्रमण, स्थानीय समुदायसँगको छलफल र स्थलगत अवलोकनपछि उनले सन् १९९१ गहकिलो शीर्षकमा शोधग्रन्थ प्रकाशन गरिन् । शोधग्रन्थको शीर्षक थियो,  ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ । उनले नेपाल र फिनल्याण्डका प्राज्ञिक जर्नलमा यसबारे अनुसन्धानात्मक लेखहरू लेखिसकेकी छिन् ।

मोइजालाको शोधग्रन्थ प्रकाशन भएको २६ वर्षपछि टंक प्रसाद गुरुङले सोही कृतिलाई नेपालीमा अनुवाद गरेका छन्, ‘ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन’ शीर्षक दिएर ।

मोइजालाले आफ्नो शोधग्रन्थ मूलतः घाँटु, सोरठी, कृष्णचरित्र, झाँक्रीपन्थ, सेर्गा (मृत्युसंस्कारसँग सम्बन्धित सङ्गीत) बारे अवलोकन र विश्लेषण पेश गरेकी छिन् । पछिल्लो समयमा गाउँमा भित्रिएको पपुलर सङ्गीत (थेटर) बारे पनि चर्चा गरेकी छिन् । समग्रमा भन्दा शोधग्रन्थमा गुरुङ समुदायमा प्रचलित परम्परागत साङ्गीतिक परिपाटीको बेलिबिस्तार लगाइएको छ ।

मोइजालाले रोदीलाई गुरुङ समुदायको अभिन्न अङ्गको रूपमा चित्रण गरेकी छिन् । रोदीले गुरुङ समुदायको आधारभूत सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यता विस्तारमा खेलेको भूमिकाबारे दिलचस्पी ढङ्गमा वर्णन गरेकी छिन् । रोदीघरलाई सङ्गीतिक गतिविधिको महत्वपूर्ण केन्द्र मान्ने उनले रोदीघरको सामाजिक परिवेश पनि अवलोकन गरेकी छिन् ।

उनले विवाहित चेली सामान्यता रोदीमा जाने चलन नभए पनि छोराहरूचहिँ विवाहपछि पनि रा्ेदी बस्न जाने प्रचलन रहेको उल्लेख गरेकी छिन् । उनले रोदीमा सामेल नहुने चेलीलाई एकलकाँटे छोरीको रूपमा बुझ्ने सामाजिक मनोविज्ञानबारे पनि प्रकाश पारेकी छिन् ।

मोइजालाले गिलुङको साङ्गीतिक परिवेशमा १० वर्षका अन्तराल (सन् १९७५ देखि १९८५) मा देखापरेको हेरफेरबारे रोचक वर्णन गरेकी छिन् । सन् १९७५ मा त्यहाँको साङ्गीतिक वातावरण नितान्त प्राकृतिक रहेको चर्चा गरेकी छिन् । त्यस समयमा गाउँको साङ्गीतिक माहोल ढिकी–जाँतोको आवाज, वनपात–मेलापातमा युवायुवतीले उरालेका भाका, बाँसुरी धुन, रोदीघरमा गुञ्जिएका गीतजस्ता प्राकृतिक गुञ्जनबाट भरिएको प्रसंग कोट्याएकी छिन् ।

सन् १८८५ मा गिलुङ गाउँमा पुग्दा त्यहाँको साङ्गीतिक वातावरणमा भिन्नता आइसकेको उनले पाइन् । गाउँमा टेपरेकर्डरको आवाज, रेडियोको गीत, थेटर आदिले बाक्लै प्रवेश पाएको उनले शोधग्रन्थमा लेखिकी छिन् । उनले सन् १९७६ मा अवलोकन गरेको लम्बेतान घाँटु–गीत सन् १९८५ मा पुग्दा  धेरै छरितो भएको पनि उनले पाइन् । उनको सूक्ष्म अवलोकनले रैथाने सङ्गीत आधुनिकताबाट कसरी संक्रमित हुँदैछ भन्ने दृष्टान्त पेश गर्छ ।

मोइजालाले त्यहाँका जनसमुदायको सार्वजनिक व्यवहारमा आएको बदलाबबारे पनि अवलोकन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बाह्य मानिस र वातावरणसँगको सम्पर्कले प्रभावका कारण गाउँलेहरू अन्तरक्रियामा खुल्ला भएर प्रस्तुत भएको देखेँ ।’ सञ्चारमाध्यम र लाहुरेबाट उनीहरू पश्चिमी संस्कृतिसँग परिचित हुनपुगेको उनको ठहर छ ।

 अंग्रेजी भाषामा रहेको शोधग्रन्थलाई नेपालीमा अनुवाद गरिएकाले यसले नेपाली पाठकलाई राम्रो गुन लगाएको छ । शोधग्रन्थको मर्म र भावनालाई प्रतिविम्बित गर्न पुस्तकले धेरै प्रयास गरेको देखिन्छ । शोधग्रन्थमा प्रयोग गरिएका नोटेसन, ग्राफिक्स तथा तस्बिरहरूलाई अनुदित कृतिमा पनि हुबहु उतारिएको छ ।

तर पनि पुस्तकमा केही उल्लेखनीय कमजोरीहरू छन् । मौलिक शोधग्रन्थमा सन्दर्भ–सामग्री राखिएको भए पनि अनुदित कृतिमा त्यसलाई हटा्इएको छ । सन्दर्भ–सामग्रीले अनुसन्धानको वैधता र विश्वसनीयतालाई बलियो पार्ने भए पनि त्यसलाई अनुदित कृतिमा ख्याल गरिएको छैन ।

लेखकको भनाइलाई छोट्याउने नाममा अनुवादकले महत्वपूर्ण प्रसंगहरू हटाएका छन् । जस्तो कि, मोइजालाले अनुसन्धानका क्रममा बेलायती इथ्नोम्युजिकलजिष्ट जोन ब्ल्याकिङ (सन् १९२८–१९९०) तथा अमेरिकी इथ्नोम्युजिकलजिष्टहरू एलन मेरियम (सन् १९२३–१९८०), ब्रुनो नेटल (जन्मः सन् १९३०) आदिसँगको सहकार्यका प्रसंगलाई स्थान दिइएको छैन, जुन पाठकका लागि रोचक विषय हुनसक्थ्यो ।

अनुवादकले कतिपय ठाउँमा भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गर्दा शब्दार्थ र वाक्य गठन अप्राकृतिक बन्न पुगेको देखिन्छ । शुद्धाशुद्धिका दृष्टिले पुस्तकमा सुधानुपर्ने थुप्रै ठाउँ छन् । कही कही वाक्य लामो र भद्दा हुन पुगेको देखिन्छ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउँमा वाक्य गठन छरितो भइदिएको भए राम्रो हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ ।

पुस्तकमा तथ्यगत त्रुटि पनि भेटिएको छ । घाँटुको नायिका (रानी) को नाम कहीँ पम्फावती भनिएको छ भने कहीँ यमावती । यी कमजोरीहरूले पुस्तकको महत्व र गरिमालाई कम आँक्न मिल्दैन । नेपालको परम्परागत साङ्गीतबारे सोधखोज गर्न चाहनेहरूका लागि गतिलो सन्दर्भ सामग्री बन्नेमा शंका छैन ।

कृतिः ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन
लेखकः पिर्को माइेजाला
अनुवादकः टंकप्रसाद गुरुङ
प्रकाशकः रत्न पुस्तक भण्डार
संस्करण : २०७४ (सन् २०१७)
पृष्ठः २४२ं+५

 [साभारः हिमाल (कात्तिक १९-२५, २०७४) । सामान्य परिमार्जनसहित ।]


Friday, October 13, 2017

पत्रकारितामा पुरस्कार

–यमबहादुर दुरा

सामाजिक सञ्जाल ‘फेसबुक’ मा पोष्ट हुने ‘कन्टेन्ट’ हरूमा तस्बिरकै प्रचुरता छ ।  ती तस्बिरको भीडमा सम्मान/पुरस्कार ग्रहण गरिएका दृश्यले ठूलै हिस्सा ओगट्छ । त्यस्ता दृश्यमा पत्रकारका हँसिला अनुहार पनि पर्छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा पत्रकार पुरस्कृत भएका तस्बिरसहित समाचार बरोबर आइरहन्छन् । समाजको पहरेदारी गर्ने एउटा सचेत वर्ग पुरस्कृत हुनुलाई सोझो अर्थमा बेठीक भन्न मिल्दैन । तर पत्रकारले पुरस्कार ग्रहण गरेको प्रसंग समाजका चिन्तनशील समूहका अघिल्तिर प्रश्नविहीन अवस्थामा रहन सक्तैन ।

आफूलाई सत्यको खोजीमा समर्पण गर्नुपर्ने जिम्मेवारी बोकेको पत्रकारले पुरस्कार थाप्दै हिँड्दा उसको नैतिक र पेशागत धरातल धर्मराउँछ भन्ने एकथरीको मान्यता छ । त्यसैले, पत्रकारले पुरस्कार ग्रहण गरेमा समाजका सचेतले वर्गले सजिलै र सहजै स्वीकारेको पाइँदैन ।

पत्रकार आचारसंहिताले पनि पत्रकारले पुरस्कार लिने कुरालाई त्यति प्रोत्साहन गर्दैन । ‘प्रेस काउन्सिल नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’ ले संयुक्त रूपमा जारी गरेको ‘पत्रकार आचारसंहिता, २०७३’ ले पेशागत मर्यादा र दायित्वमा प्रतिकूल असर पर्ने गरी पुरस्कार लिन नहुने प्रष्ट पारेको छ ।

उक्त आचारसंहिताको दफा १३ मा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनु हुँदैन ।’

 यस्ता पुरस्कार वा सम्मान पेशागत मर्यादाविपरीत भए-नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि पत्रकारकै हो ।

पुरस्कार ग्रहण गर्ने कुरा आफैंमा कुनै अनिष्टकारी प्रसंग होइन तर यसका लागि नेपथ्यमा हुने खेल अनिष्टकारी हुन सक्छ । पुरस्कार दिने संस्था वा व्यक्तिको भित्री अभीष्ट, त्यस्ता व्यक्ति वा संस्थाको पुरस्कार पाउने व्यक्तिसँगको सम्बन्ध र पुरस्कारका लागि व्यक्ति छनोट गर्ने प्रक्रियामा अपनाइने विधिले पुरस्कारको समग्र अभीष्ट र स्तर निर्धारण गर्छ ।

पत्रकारलाई प्रदान गरिने पुरस्कारप्रति सभ्य समाजले सधैँ स्वस्थ्य किसिमले आशंका गर्छ । कतिले त यसप्रति एकदमै आलोचनात्मक दृष्टिकोण पनि राख्छन् । अमेरिकी प्राध्यापक  नोम चोम्स्की (जन्म: सन् १९२८) का अनुसार पुरस्कारले आमसञ्चार माध्यम र पत्रकारको विवेकमा नजानिँदो किसिमले लगाम लगाइदिन्छ ।

पुरस्कारसँग सम्बन्धित रोचक एउटा पाटो रोचक छ । प्राध्यापक तथा अनुसन्धाताहरूले पनि समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा गहिरो गुन लगाएका हुन्छन् तर उनीहरू कमै पुरस्कृत हुन्छन् । कारण स्पष्ट छ, उनीहरूका हातमा पत्रकारको जस्तो ठूलो शक्ति हुँदैन । आमसञ्चार माध्यममार्फत् जनसमुदायलाई नियन्त्रण गर्न सकिने भएकोले शक्तिकेन्द्रहरू पत्रकारलाई हातमा लिन चाहन्छन् । पुरस्कार एउटा उपाय हो, जसले पत्रकारलाई आफ्नो पक्षमा उभ्याउन सहयोग गर्छ । पुरस्कारसम्बन्धी राजनीतिको नाभी यहीनेर अवस्थित छ ।

नेपालमा व्यापारिक घराना, राजनीतिक दल एवम् गैरसरकारी संस्थाहरूले विभिन्न बहाना र आवरणमा पत्रकारलाई पुरस्कृत गरिरहेका छन् । सरकारले प्रदान गर्ने पुरस्कार पनि प्रेमपूर्वक ग्रहण भइरहेका छन् । पुरस्कार दिएर पत्रकारको मन राख्ने र इष्ट बढाउने क्रम चलिरहेकै छ ।

देशको अर्थतन्त्रमै प्रभाव जमाउन सक्ने व्यापारिक घरानाले सञ्चारगृहको विज्ञापन तथा अन्य यस्तै प्रकृतिको आम्दानीमाथि प्रभुत्व नजमाउने कुरै भएन । त्यसमा पनि तिनीहरूबाटै पुरस्कृत भएपछि तिनका कर्तुत उजागर गर्न पत्रकारलाई गाह्रो पर्छ ।

राजनीतिक दलले दिने पुरस्कारले पत्रकारलाई कार्यकर्ताको हैसियतमा थन्क्याउन चाहन्छ । संघसंस्थाले दिने पुरस्कारले उसप्रतिको आलोचनात्मक क्षमता भुत्ते बनाइदिनसक्छ । सरकारले दिने पुरस्कारले उसका गलत रवैयाहरूप्रति आँखा चिम्लिन पत्रकारलाई प्रेरित तुल्याउँछ ।

पुरस्कारको ओइरोले पत्रकारको सत्य खोज्ने जिम्मेवारी र विकृतिप्रति आलोचनात्मक बन्ने क्षमतामा धक्का पुर्‍याउँछ  भन्ने मान्यताबाट प्रेरित भई पुरस्कार नस्वीकारिएका दृष्टान्त पनि छन् ।

भारतीय पत्रकार निखिल चक्रवर्ती (सन् १९१३–१९९८) ले सन् १९९० को ‘पद्म भूषण’ सम्मान अस्वीकार गरेका थिए, जुन सरकारी स्तरबाट प्रदान गरिने तेस्रो उच्च सम्मान हो । अर्का भारतीय पत्रकार खुसवन्त सिंह (सन् १९१५–२०१४) ले  आफूले सन् १९७४ मा पाएको ‘पद्म भूषण सम्मान–१९७४’ सन् १९८४ मा फिर्ता गरेका थिए । अमृतसरस्थित स्वर्णमन्दिरमा घटित घटनामा सरकारले ज्यादती गरेको भन्दै सम्मान फिर्ता गरेका थिए, उनले ।

जर्मनीको लोकप्रिय अखबार ‘स्वीटड्वेच जाइटुङग्’ ले चर्चित जर्मन पत्रकार हेनरी नानेन (सन् १९१३–१९९६) को नाममा स्थापित पत्रकारिता पुरस्कार अस्वीकार गरेको थियो । अमेरिकाको पुलिट्जर पुरस्कारकै हाराहारीकै सम्मानजनक मानिने उक्त पुरस्कार खोजी पत्रकारिताका लागि सन् २०१२ मा दिने घोषणा गरिएको थियो । ‘द टाइम्स अफ इन्डिया’ का पत्रकार अक्षय मुकुलले प्रतिष्ठित ‘रामनाथ गोयन्का पत्रकारिता पुरस्कार, २०१६’ अस्वीकार गरेका थिए ।

प्रस्तुत दृष्टान्तले पुरस्कारप्रतिको आलोचनात्मक दृष्टिकोणको पृष्ठपोषण गर्छ  । अर्कोतिर, नेपालजस्तो राजनीतिक अस्थिरता, पत्रकारले न्यून वेतनमा काम गर्नुपर्ने अवस्था एवम् सामाजिक असुरक्षा कायम रहेको मुलुकमा पत्रकारलाई पुरस्कृत गर्ने कार्यले आशंका जन्माउँछ । पुरस्कार दिने र लिने दुवैले ‘कुरोको चुरो’ नबुझेका होइनन् तर सबै ‘तैँ चुप मै चुप’ छन् ।

पत्रकारलाई दिइने पुरस्कारबारे यसप्रकारको टीकाटिप्पणी गरिरहँदा पुरस्कारको गरिमा र प्रतिष्ठामाथि प्रश्न उठाएको अर्थ नलागोस् । निर्मल विचारले प्रदान गरिएका पुरस्कारबारे केही भन्नु छैन । पत्रकारिताको निष्पक्षतामा प्रभाव नपर्ने गरी स्पष्ट मापदण्ड तयार गरेर स्वतन्त्र तरिकाले प्रदान गरिएका पुरस्कारको महत्वलाई नकार्न सकिन्न ।

[साभार: अन्नपूर्ण टुडे । असोज २७, २०७४ ।]


Sunday, October 8, 2017

दोहोरीका किंवदन्ती

–यमबहादुर दुरा

भदौरे झरीले निथ्रुक्कै भिजेको काठमाडौंमा एक बिहान भेट हुँदा अमरविरही  गुरुङ हाँसीखुुसी देखिन्थे । धेरैलाई अतीतप्रति गुनासो हुन्छ, तर भने अतीत सम्झेर वर्तमानमा रमाइरहेका रहेछन्, भविष्यको चिन्ता अन्त कतै छाडेर ।

‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’, ‘सलल बग्यो गण्डकी...’, ‘खोली रसायो...’, ‘मौरी भुल्यो फूलको रसैमा...’,  ‘गोगनपानीमा...’ जस्ता गीतले लोकगीत अनुरागीहरूलाई भुतुक्कै पारेका उनी यतिबेला शान्त छन् । ६३ वर्षको उमेरले पनि गुरुङलाई यो अवस्थामा पुर्‍याएको हुनुपर्छ । तर, जसै कसैले विगत सम्झाइदिन्छन्, उनी रौसिहाल्छन् ।

‘त्यो जमानाको कुरै बेग्लै । परालको टौवामुनि बसेर तीन दिनसम्म गीत गाइन्थ्यो । सम्झँदा कथाजस्तो लाग्छ’,  ५० भन्दा बढी लोकदोहोरी अल्बममा स्वर भरेका उनी भन्छन्, ‘अहिलेका भाइबहिनीहरूले ‘तीनदिनसम्म पनि गीत गाइन्छ र’ भन्छन ।’ गुरुङका दृष्टिमा मनोरञ्जनका धेरै विकल्प नभएको त्यतिबेलाको समाजमा लोकगीतले उच्चस्थान ओगटेको थियो । कला र गला भएका प्रतिभाहरू पनि प्रशस्त थिए ।

‘मलाई त गाउँघरकै पुराना गायिकाहरूसँग गाउन मन पर्छ । कालो अक्षर नचिनेका उनीहरूको मुखको सरस्वतीको बास छ ।’ उनी मनोभाव  प्रकट छन् । गायिका भनेर नचिनिएका ती गायिकाहरूको श्लील, सरल, विनयशील र भावुक व्यवहारबाट आज पनि उनी असाध्यै प्रभावित छन् । तिनका हृदयमा छचल्किएका भावुकताको छालले उनको हृदयको अन्तरकुन्तरलाई छोइरहन्छ ।

तिनका गलाबाट नपत्याउँदो किसिमले निस्कने उच्चकोटिको भावुक र विनयशील भावोद्गार सम्झेर उनको मन गाउँघरतिरै पुग्छ । ‘मेरो माया काँबाट आउनुभो, मेरो लागि के दुःख पाउनुभो’, ‘मै गीत गाउँ कि, सुनखानीमा पितलु मिसाउँ कि’, ‘मायासँग भेट भयो बेलुकी, रेशम–गोली धागोले जेलुम् कि’, ‘यो मायालाई देखने बित्तिकै, लाग्यो मलाई झुल्केघाम जत्तिकै’ जस्ता मर्मैमर्मले भरिएका भावोद्गार प्रकट गर्ने गुमनाम गायिकाहरूप्रति उनी असीम श्रद्धाभाव पोख्छन् ।

आफ्ना छोरी–बुहारीहरूलाई आमा–बा र सासू–ससुराले नै गीत गाउन प्रेरित गर्ने उदार समाज पनि उनले धेरै देखे । गीतको जातै मोहनी । गीतको माध्यमबाट भावना साटासाट गरेपछि थाहै नपाई भावनात्मक सामीप्य बढ्न जाने । घर फर्कने बेलामा छुट्टिन नसकेर रुवाबासी चल्ने । उनी यस्तै किस्सा सुनाउँछन् ।

‘गीतको खालबाट छुट्टिएर बिदावादी हुने बेलामा असाध्यै मुश्किल हुने । केटीहरूका आँखा आँसुले भरिएका हुन्थे । गीत सुनेर बसेका केटीका आमा–बा पनि सँगसँगै रुन्थे’, उनी विगत सम्झेर भावुक हुन्छन् ।

‘नजाउन् भनेर उनीहरू बाटो छेक्न आउँथे । हामीले घर फर्किने कुरामा अड्डी कसेपछि परपरसम्म छोड्न आउँथे । कहिलेकाहीँ त छुट्टिन नसकेर त्यहीबाटै फेरि उतै फर्किन्थ्यौँ ।’ उनी अतीतलाई सम्झेर नोष्टाल्जिक बन्छन् ।

२०४१ सालमा उनले रेडियो नेपालमा पहिलो पटक स्वराङ्कन गराए । त्यतिबेला स्वराङ्कित गीतको बोल थियो, ‘स्याउली पलाइछ, नरोऊ न निरमाया सुख कोलाई छ’ । स्रोताले निकै मन पराए । तर गीतको शब्द त्रुटिपूर्ण रहेछ । उनले आफ्नी आमा धनमाया गुरुङबाट यस्तै सुनेर रेडियोमा गाएका थिए । तर उनले पछिमात्र थाहा पाए, आमाले ‘प्याउली’ भनी गाउँदा उनले ‘स्याउली’ सुनेछन् ।

गुरुङलाई कोठामा बसेर रचना गरिएका गीतभन्दा  गाउँबस्तीमै गुञ्जने अर्ग्यानिक गीत मनपर्छ । उनलाई मनपर्ने गीतमध्ये एउटा टुक्का यस्तो छ,  ‘मेरो माया छ भने बोल, शिला–पत्थर ठोकेको मन खोल’ । मेलापातमा सुनेको यो गीत उनले जस्ताको तस्तै  रेडियो नेपालमा स्वराङ्कन गराएका थिए ।

गुरुङसँग यस्ता संस्मरण र किस्साको त खात नै छ । कुराकानीका क्रममा उनले एउटा अपत्यारिलो सत्य पस्किए । लगभग दुई दशकभन्दा अघिको प्रसंग । उनीसँग धीत मरूञ्जेल गाउन नपाएका गायिकाहरू मौका पर्खेर बसेका रहेछन् । यस्तैमा पाँच गायिकाले उनलाई झुक्याएर एकाबिहानै नगरकोट पुर्‍याए  । ‘पाँचदिनसम्म गायनको कठाघरा बसेर उनीहरूसँग लगातार दोहोरी गाउनुपर्‍यो। सम्झँदै अनौठो लाग्छ' -सुन्दा किंवदन्तीजस्तो लाग्ने प्रसंग सुनाउँदै उनी मुस्कुराउँछन् ।

रामरमितामा भुल्ने रौसे स्वभावका गुरुङले आफ्नो थरको अघिल्तिर नसुहाउने ‘विरही’ शब्द थपे । किन ? ‘अमर गुरुङ मात्र भन्दा अरुसँग नाम जुध्ने भएकाले मले यसो गरेँ । मेरो नाम र स्वभाव मिल्दैन ।’ उनी स्पष्टीकरण दिन्छन्, ‘अहिले विरही नाम नराखेको भए हुने थियो जस्तो लाग्छ । मेरो सिको गरेर पछिल्लो पुस्तका गायकगायिकाले विरही नाम राख्न थालेका छन् ।’

समयले काँचुली फेर्‍यो । समयको प्रवाहसँगै लोकगीतले पनि बाटो फेरेको छ । यसबारे उनी बेखबर छैनन् । हिजो स्वच्छ मनोरञ्जनका लागिमात्र गाइने लोकगीत अहिले बजारू सूत्रमा बाँधिएकोमा उनी चिन्तित छन् । उनको विश्लेषण छ, ‘हिजोको लोकगीतको ध्येय माया र सदभाव साट्नु थियो, अहिले जसरी भए पनि बिक्रीयोग्य बनाउनु नै यसको ध्येय बनेको छ ।’

गुरुङ २०३९ सालमा प्रतियोगितात्मक दोहोरीगीतको क्षेत्रमा प्रवेश गरेका हुन् । मेलापात, रोदीघर र अन्य सामाजिक जमघटहरू बाहेक व्यावसायिक गायकमा प्रवेश गरेकै ३५ वर्ष नाघेको छ । उनी २०५७ सालमा स्थापित 'राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल' को संस्थापक अध्यक्ष समेत हुन् ।

दोहोरीगीतको क्षेत्रमा होमिएर उनले के पाए, के गुमाए ? हिसाब–किताब गाञ्जागोल छ । तर, एउटा कुराचाहिँ प्रष्ट छ, उनले स्रोताबाट माया र सद्भाव पाए । रेडियो नेपालमा ६० भन्दा बढी लोकगीत स्वराङ्कन गराएका गुरुङ विभिन्न संघसंस्थाबाट अभिनन्दिन भएका छन् । राष्ट्रले उनलाई गोरखा दक्षिणबाहु (चौथो) बाट विभूषित गरेको छ ।

३१ भदौमा उनी ‘अमरविरही गुरुङ एकल साँझ’ मा गुञ्जिए, जुन उनको पहिलो एकल साँझ थियो । उनको गलाबाट गीत सुनेर स्रोता/दर्शक पुनः एकपटक विगततिर पर्किए ।

उनी तीन छोरा, दुई छोरी र आठ नाति–नातिनाका धनी हुन् । लमजुङको घरपोखरामा जन्मिएका उनी यतिबेला धर्मपत्नी इन्द्रमाया गुरुङका साथ गैंडाकोटमा बस्छन् । जीवन बु्ढ्यौली पयतिर ढल्कँदै गए पनि उनको सक्रियतामा विराम लागेको छैन । ‘बाँकी समय लोकगीतकै विकासमा खर्च गर्छु ।’ उनी आफ्नो भावी योजना दृढतापूूर्वक अघि सार्छन् ।

[साभार: हिमाल । असोज २२-२८, २०७४ । सामान्य परिमार्जनसहित ।]

[अद्यावधिक: २०७४।०६।२५]


Sunday, September 24, 2017

दशैंको चटारो

–यमबहादुर दुरा

'नेपाल पञ्चाङ्ग निर्णयाक समिति' को पात्रोले बेलैमा निम्तो दिए पनि लमजुङको गाउँबस्तीमा आइपुग्न दशैंले निकै गाह्रो मान्थ्यो । गाउँबस्तीका झुपडीहरूले अनेकौं आर्थिक–शारीरिक सकस बेहोरेपछि मात्र त्यो अजुरी-अटेरी दशैं झुल्कन्थ्यो । खुसी  हुनका लागि दशैं शब्द नै काफी हुने त्यसबेलाका हामी भुराभुरीलाई दशैंको आर्थिक तथा सामाजिक वास्तविकता बुझ्न डेढ–दुई दशक लाग्यो ।

तत्कालीन पहाडी समाजमा दशैं हाँसेर मनाउनुपर्ने कष्टसाध्य चाड थियो । दशैंको आगमनले केटाकेटीलाई हर्षोल्लासको बहार ल्याइदिन्थ्यो भने अभिभावकलाई बेचैनी र धपेडी । दश नङ्ग्रा खियाएर बाँच्ने अधिकांश दुःखी–दरिद्रीहरूको दशैं साँच्चै कष्टकर हुन्थ्यो ।

‘मानव विकास सूचाङ्क’ मा पुछारमै रहेको तत्कालीन नेपाली समाजमा एकाध परिवारबाहेक अधिकांशलाई दशैंको खर्च जुटाउनै गाह्रो पर्थ्यो । आर्थिक सकसमाथि दशैंले निम्त्याउने चौतर्फी चटारोको कुरा गरिसाध्य हुन्थेन । मध्यान्तरविहीन कामको सिलसिलाले थिचिएको ग्रामीण जीवनमा दशैंले थप बेफुर्सदी निम्त्याउँथ्यो   । ‘मरेको भोलिपल्ट मात्र फुर्सद हुन्छ’ भन्ने लोकोक्तिको जन्म त्यही बेलादेखि भएजस्तो लाग्छ ।

दशैं मुखमै आइपुग्दा पनि तत्कालीन पहाडी बस्तीहरूमा चामललगायतका अनाज नै हुँदैनथ्यो । लोकतन्त्र पुनःस्थापना भएको डेढ–दुई दशकमै  यो कुरा पत्याइनसक्नु एकादेशको कथा बनेको  छ । सडक सञ्जाल र खाद्य डिपोहरूको अभावमा बेसाहा खोज्न गाउँ-गाउँ डुल्नुपर्थ्यो । बेसाहा खोज्दै हिँड्दा कहिले पाटी त कहिले जंगलमा बास हुन्थ्यो । आज चामलजस्तै पैसा पनि फालाफाल छ । त्यो बेला पैसा अति दुर्लभ वस्तुमा पर्थ्यो ।


मुस्किलले एकाध सय जुटाएर बेसाहा खोज्न निस्केकाहरू घरमा  दशैं पर्खेर बसेका लालाबालालाई सम्झेर दौडन्थे । शिरमा नाम्लोको डाम बसाएर ल्याएको बेसाहाले घरमा दशैंमा बहार ल्याउँथ्यो । पाउको धूलो शिरमा र शिरको पसिना पाउमा पुर्‍याएर ल्याएको बेसाहाले ती लालाबालाको भुँडी हाँस्थ्यो ।

आज हाम्रो समाज पनि शाकाहारको रहर गर्न थालेको छ । यही समाज हो, जहाँ ‘दशैंमा पनि अघाउन्जेल मासु नखाए कहिले खाने ?’भन्ने  मान्यता थियो । अहिलेको जस्तो व्यवसायिक पशुपालन नभएको त्यस समयमा मासुको जोहो गर्न सजिलो थिएन ।

ऋणपान गरेको पैसाले मासुको व्यवस्था गर्न गाउँ–गाउँ  डुल्नुपर्ने डुल्नुपर्थ्यो । बल्लतल्ल भाउ मिलाएर ल्याइएका राँगा-भैंसीहरू कुनै तर्काहा पर्थे, बाटोघाटो केही नहेरी दगुर्ने । कुनै बँधुवा पर्थे, डेग नचल्ने । यस्तालाई साँगुरो–घुम्ती बाटो र खोला–जंघारबाट जोगाएर घरसम्म ल्याउन दाँतबाट पसिना आउँथ्यो ।

गाउँघरको दशैं उत्सवमा पिङले महत्वपूर्ण भूमिका खेल्थ्यो । गाउँका तन्नेरीहरू रोटे र लिङ्गे पिङ हाल्न एकजुट हुन्थे । हेर्दा सामान्य लागेपछि पिङ हाल्नु मामुली काम हुन्नथ्यो । पिङको रहर पूरा गर्न गाउँको एकमुष्ठ बल र सीप चाहिन्थ्यो ।

वनमा पुगेर पिङको सर्दाम काटनु, ती सर्दामलाई गाउँका बलिया–बाङगा एकजुट भई कमिलाले आहरा ओसारेजस्तो गरी ओसार्नु कम कष्टप्रद हुँदैनथ्यो । पिङ निर्माणको इञ्जिनियरिङ नमिल्दा कतिलाई त ठूलै घाउचोट लाग्थ्यो ।

माटोखानीबाट रातो माटो झिक्ने तथा खोलाखोल्साबाट कमेरो निकाल्ने, ओसार्ने  र घर लिपपोप गर्ने काम छोरीबुहारीको जिम्मामा आउँथ्यो ।  माटो झिक्न जाँदा कति त माटोको ढिस्कोले पुरिन्थे । साथीसंगीले हतार हतार उद्दार गर्थे  र बालबाल बच्थे ।

दशैंको सारा चटारो ठूलो भार छोरीबुहारीको काँधमा थुप्रिन्थ्यो । अझ बुहारीहरूलाई घरको दशैं ठिक्क पारेर माइत पनि पुग्नुपर्थ्यो, भन्टाङ–भुन्टुङ र कोसेली सम्हाल्दै ।

धन्न त्यो बेला निकै सुन्दर चलन थियो – बर्खाभर भल–बाढीले बिगारेका गौंडागल्फा र बाटोघाटोलाई दशैंको ठीक अगाडि मर्मतसम्भार गरेर पूर्ववत् अवस्थामा फर्काइएको हुन्थ्यो । अहिले भने यस्तो कल्याणकारी कामलाई सरकारको जिम्मामा छोड्ने प्रचलन बाक्लिएको छ ।

दशैं भित्र्याउन र बिदा गर्न महिलाहरूले भोग्नुपर्ने हैरानी अवर्णनीय छ । ठूलो परिवारका बुहारीका लागि त एउटा दशैं दशा बनेर आउँथ्यो । एक पटकको दशैं उतार्न पूरा एकजुनीकै मिहेनेत गर्नुपर्थ्यो ।

दिनभरिको कामको थकाइ सहँदै राति अबेरसम्मको घरधन्दा सकेर ओछ्यानमा ढल्किन नपाउँदै उठ्नेबेला भइहाल्थ्यो । भालेको डाँकभन्दा अघि नै उठेर ढिकीजाँतो नगर्ने बुहारी काजु मानिँदैनथ्यो ।  उसका उछित्तो काढ्न बेर हुँदैनथ्यो ।

घरको सिंगारपटार, ढिकीजाँतो, मेलापात र भातभान्सादेखि जाँडरक्सी उत्पादनसम्मका काम तिनको ‘ठेक्का’ मा पर्थे । घर सिंगारपटार गर्ने तथा पुरानी भर्ने क्रममा कति त माथिबाट खुर्मुरिन्थे । दशैंभरि कुना पस्थे । ऐया–आथ्यो गर्दैमा तिनको दशैं बित्थ्यो ।

पातीमा कोपिला नलाग्दै जाँडका घैंटाहरूले घरको तला-बुइगल भरिनुपर्थ्यो । पाती फुल्न थालेसँगै घरका छोरीबुहारीले एकपछि अर्को गरी जाँडरक्सीको बाहान उतार्न थाल्थे, जुन घरदेखि माइत–मामलासम्मका पुङ र गिलासमा पुग्थे, दशैंभर ।

अहिलेको जस्तो घरघरै पानीको कलधारा नजोडिएको त्यो समयमा जाँडरक्सीको बाहान उतार्न टाढा–टाढाबाट सयौं गाग्री पानी बोक्नुपर्थ्यो । शारीरिक श्रमले गलेर फतक्कै  भएका छोरीबुहारीहरू सुस्केरा हाल्थे, ‘यो दशैं भन्ने दशा त कहिल्यै नआए हुने ।’

हामी भुराभुरीलाई भने दशैं ‘आउन बेर न जान बेर’ हुन्थ्यो । जमराको टपरी पँधेरामा सेलाउन नपाउँदै एक वर्ष पर कुदिसकेको हुन्थ्यो, दशैं । हामी थक्कथक्क हुँदै दक्षिणा गन्थ्यौं, दशै पटक ।

यतिञ्जेलसम्म धेरै घरधुरीको वसालत असन्तुलित भइसकेको हुन्थ्यो । दशैंको रौनक मत्थर हुन नपाउँदै घरमुलीहरूलाई श्रीपञ्चीको भाकाले पोल्न थालिसकेको हुन्थ्यो – ‘जसोतसो दशैं त टारियो, अब ऋणको सावाँ–ब्याज कहिले चुक्ता गर्ने ?’

नेपाली समाजमा सर्वाधिक महत्व पाएको चाड दशैंले चरम आर्थिक विपन्नताले गाँजेको तत्कालीन समयमा निम्त्याएको आर्थिक र सामाजिक सकस एउटा बेग्लै अध्ययनको विषय बन्नसक्छ ।

[साभार: हिमाल (दशैं अङ्क) । असोज ८-२१, २०७४ । परिमार्जित संस्करण । ग्राफिक्स: गुगल।]

[अद्यावधिक २०७४।०७।०१]

Sunday, September 17, 2017

जनताका भाका

–यमबहादुर दुरा

  लमजुङस्थित हाँडेटार सिंचाइ आयोजनाको उद्घाटन गर्न  वि.सं. २०३३  पुस ९ गते राजा वीरेन्द्रको हाँडेटारमा सवारी भयो । राजाको सवारी सम्पन्न भएपछि  ठाडो भाका गायक दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०-२०७४) बारे गाउँघरमा एउटा हल्ला चल्यो । हल्लाको सार थियो--उनले राजाको सवारीमा गीत गाउने क्रममा राजालाई होच्याए । गीतमा ‘सानो राजा नेपालमा, ठूलो राजा चीनमा...’ पदावली घुसाएकाले राजाले अपमानित अनुभूत गरे ।
दीर्घराज अधिकारी ‘भेँडीखर्के साइँला’ (वि.सं. १९९०–२०७४) 


यो हल्ला मात्र थियो । अहिलेको जस्तो दोहोरो संवादमूलक सामाजिक सञ्जाल नभएको त्यस समयमा उनको छवि एक हदसम्म क्षय भयो । गाउँघरमा धेरै पछिसम्म पनि यो हल्लाले ठाउँ लिइरह्यो । धेरै पछिमात्र वास्ताविकता पत्ता लाग्यो, गीत गाउन निम्त्याइएको ठाउँमा नजाँदा उनीसँग बेखुसी भएकाहरूले यस्तो हल्ला चलाएका रहेछन् ।

उनका विरुद्ध अनर्गल प्रचार हुनुअघि नै उनी जनस्तरका निर्विवाद सिद्धहस्त गायकको रूपमा देखापरिसकेका थिए । जात्रा, सामाजिक जमघट र रङ्ग–रसका महफिलमा उनको माग थियो । यद्यपि, उनी जुन समयमा ठाडो भाका गायनमा अघि बढ्दै थिए, त्यस समयमा ठाडो भाका गाउने गायक–गायिकाको कुनै कमी थिएन । तर उनी असंख्य ताराका माझमा टहटह जूनजस्ता भए । उनलाई प्रसिद्ध गायक देउबहादुर दुराको अवतार मान्नेहरू पनि छन् ।

उनको नाम दीर्घराज अधिकारी भए पनि भेँडीखर्के साइँला नामले यत्रतत्र परिचित भए । उनको नामका पछाडि सानो किस्सा जोडिएको छ । उनका बा तुर्लुङकोट (लमजुङ) स्थित भेँडीखर्क (भेँडीगोठ) मा बस्थे । उनले  बेला-बखतमा यो कुरा बताउँदै आएका थिए ।  भाँगु गाउँ र तुर्लुङकोटबीच रहेको जङ्गलको एक खण्ड अझै पनि 'भेँडीखर्क' नामले परिचित छ ।उनी साइँलो छोरो थिए । यही विरासतबाट जोडिँदै आएर उनी कालान्तरमा 'भेँडीखर्के साइँला'  नामले चिनिए ।

गीतमा माया–महब्बत र धर्मशास्त्रका अनेक प्रसंग ल्याएर टुक्का जोड्ने र गीत भट्ट्याउने भेँडीखर्के साइँलामा विशिष्ट कला थियो । उनको अनुपम स्वर–माधुर्य पनि सर्वत्र प्रशंसा भएको पक्ष हो । यिनै विशेषताबाट उनी आफ्नो पृथक पहिचान दिन सफल भए । ‘बाहुनले गीत गाउन हुँदैन’ भन्ने मानसिकताले राज गरेको जमानामा बा-आमाको आँखा छलेर नौ वर्षको उमेरदेखि नै गीत गाउनु र दुनियाँलाई उछिन्न सफल हुनु उनको साङ्गीतिक यात्राको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।

२००६ सालमा उनको परिवार दुराडाँडास्थित तुर्लुङकोटबाट परेवाडाँडामा बसाइँ सर्‍यो । आफ्नो जन्मस्थानको साङ्गीतिक माहोलबाट बेग्लै सामाजिक परिवेशमा मिसिन पुगे पनि ठाडो भाकाका डफ्फासँग उनको संगत पूर्ववत् रूपमा कायमै रह्यो । आफ्नो जन्मथलो आउजाउ र उठबस भइरह्यो । गीतको खाल जमिरह्यो ।

यस क्रममा उनले आफ्नो जीवनकालमा असंख्य गायिकाहरूसँग साङ्गीतिक सवाल-जवाफ गरे । उनका समकालीन भक्तिमाया दुरा, सकुन्धरा दुरा (ढाँडथोके माहिली,  वि.सं.१९९१-२०७०), गौमाया दुरा, ज्ञानुमाया थापालगायतका प्रतिभाहरू उनीभन्दा अघि नै यस दुनियाँबाट अस्ताइसकेका छन्  ।

शुरुका दिनमा स्थानीय साङ्गीतिक रङ्गमञ्चमा मात्र बढी चर्चित भेँडीखर्के साइँला २०५० को दशकदेखि आमसञ्चार माध्यममा विस्तारै छाउन थाले । २०६० को दशकको मध्यततिर आइपुग्दा उनको सुनाम फूलको सुवाससरी सबैतिर मगमगाइसकेको थियो । तर, केही मिडियाले कुरै नबुझी उनलाई मिथकीय पात्रजस्तो गरी चित्रण गरे । यसबाट अन्य स्थानीय प्रतिभामाथि नजानिँदो किसिमले अन्याय  भयो । ठाडो भाका गाउन सक्ने व्यक्ति भेँडीखर्के साइँलामात्र हुन् भन्ने दलिल आयो, जुन सर्वथा गलत थियो ।

ठाडो भाका गाउनसक्ने प्रतिभाहरू अझै पनि गाउँघरमा नभएका होइनन् तर उनीहरू चर्चामा छैनन् । अहिले सामान्य चर्चामा रहेका नन्दमाया दुरा, बुद्धिमान दुरा ‘धम्पू’, उत्तम गुरुङ, शिवकुमारी दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, यमबहादुर दुरा (पंक्तिकार होइन), सीता दुरालगायतका प्रतिभाहरूले ठाडो भाका गाउन सक्छन् । अहिले यिनै प्रतिभाहरूले ठाडो भाकाको विरासत थामिरहेका छन् ।

रेडियो नेपालमा गीत रेकर्ड गर्न उनी २०३५ सालमा राजधानी आए तर मौका पाएनन् । त्यतिबेला  उनीसँग रहर थियो, पहुँच थिएन । गीत रेकर्ड गर्ने अभिलाषा राख्दा तीतो अनुभव संगालेको १८ वर्षपछि चलचित्र निर्देशक प्रदीप उपाध्यायले उनको  रहर पूरा गरिदिए । २०५३ सालमा उपाध्यायको टोली सुन्दरबजार (लमजुङ) धाएर अल्ट्रसाउण्ड प्रालिमार्फत् भेँडीखर्के साइँला र भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९) को स्वरमा गीत रेकर्ड गरे । अल्बमको नाम जुराइयो, ‘सेरोफेरो’ । पहिलो अल्बम उत्पादन भएको सात वर्षपछि २०६० सालतिर आरबीए फिल्मस् ले उनी र ज्ञानुमाया थापाको स्वरमा अर्को श्रव्य अल्बम निकाल्यो ।

दुई सय वर्षको इतिहास 

कर्पुटारे भाका, लमजुङे भाका, दुरा भाकालगायत विभिन्न नामले चिनिने ठाडो भाकाको इतिहास दुई सय वर्षभन्दा पुरानो देखिन्छ ।  बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बाग्लुङ) का गोर्‍या श्रीस (वि.सं. १८५३—१९५०) ले वि.सं. १८७४ झ्याउरेमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गरेका छन् ।


वि.सं. १९१४ मा धौलागिरिबाट कास्कीको हंसपुरमा बसाइँ सरेका बौद्धसिङ गुरुङले आफूसँगै ल्याएका ठाडो भाकालाई त्यस ठाउँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले विस्तार गर्ने काम गरे भनेर धर्मराज थापाले आफ्नो पुस्तक ‘गण्डकीका सुसेली’ मा लेखेका छन् । यसरी विस्तार हुँदै आएको ठाडो भाकालाई अर्को पुस्ताले थप विस्तार गरे ।

हाँडीखोला (बर्धान, लमजुङ) का देउबहादुर दुरा र रबैडाँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) ले ठाडो भाकालाई जनस्तरमा पुर्‍याएर लोकप्रिय बनाउने गरेको थिए । उनीहरू पुरुष भए पनि केटा र केटी बनेर गीत गाउँथे भन्ने भनाइ छ । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद डा. जगमान गुरुङको छ ।

वि.सं. १९७० तिर देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबीचको घम्साघम्सीपूर्ण भएको गीत सुन्न करापुटार लाग्ने शिवरात्रि तथा फागूपूर्णिमाको अवसरमा लाग्ने मेलामा  जनसमुदायको ठूलो भीड लाग्ने गरेको प्रसंग कालीभक्त पन्तले आफ्नो पुस्तकमा कोट्याएका छन् । केटा-केटाबीच गीत गाउँदा स्रोता/दर्शकलाई त्यति मजा नहुने भएकाले देउबहादुर दुराले नेटा (लमजुङ) की मैरानी दुरालाई गीत गाउन सिकाएपछि केटा र केटीबीच ठाडो भाका गाउने प्रचलन शुरु भएको मानिन्छ ।

***

 भदौ २६ गते मानवचोला त्यागेका भेँडीखर्के साइँलाले जनस्तरमा निकै माया र सम्मान पाए । जनस्तरबाटै ठाडो भाका शिरोमणिको उपाधि पाए । दूधपोखरी प्रतिभा परिवार (वि.सं.२०५२), कोइरालाफाँट युवा क्लब (वि.सं.२०५५),  दुरा सेवा समाज (वि.सं.२०५७), सामाजिक सेवा द रेयुकाइ लमजुङ उपशाखा (वि.सं. २०५७), हिमालचुली कला साहित्य प्रतिष्ठान (वि.सं.२०६५), लमजुङ लोकसंस्कृति विकास केन्द्र (वि.सं.२०६८) लगायतका जनस्तरका संघसंस्थाले उनलाई सम्मान गरे । राज्यबाट भने उनले कहिल्यै पनि सम्मान पाएनन् ।

उनी बिरामी भएर ओखतीमूलोको गर्ने पैसाको अभाव हुँदासमेत राज्य निर्मम रह्यो । बासमतीको भात नरुच्ने अभिजात्य वर्गलाई उपचारको नाममा राज्यकोषबाट लाखौं रुपियाँ बाँड्ने राज्यले गायक भेडीँखर्के साइँलाप्रति कुनै सदासयता देखाएन । ठाडो भाकाको विरासत जोगाउन जनस्तरको प्रयासमात्र पर्याप्त छैन । राज्यको साथ र सहयोग अपरिहार्य छ ।

[साभार: हिमाल ।असोज १, २०७४ । परिमार्जित संस्करण । तस्बिरः याहु ]

[अद्यावधिक २०७४।०६।०२, २०७४।०६।०३, २०७४।०६।०४, २०७५।०८।२२, २०७७।१।२५, २०७७।०२।०४, २०७९।०८।२४]

Friday, August 11, 2017

कपी एडिटरका कथा

–यमबहादुर दुरा

पत्रकार वृत्तमा आजकल एउटा गम्भीर प्रकृतिको चर्चा चल्न थालेको छ । चर्चाको विषय हो, पत्रकारितामा  प्रतिबद्ध जनशक्तिको घट्दो दर ।

यसबारे खासै शोधखोज (रिसर्च) नभए पनि पत्रकारिताको प्रतिबद्ध जनशक्ति निरन्तर घट्दै गइरहेको दैनिक व्यवहारमै महसूस गर्न थालिएको छ । समाचार संकलन (रिपोर्टिङ) मा जनशक्तिको आजपर्यन्त खासै अभाव महसूस नगरिए पनि सम्पादन (डेक्स वर्क) गर्नेहरूको अभाव बढ्दो क्रममा रहेको धेरैले प्रष्टै अनुभव गर्न थालेका छन् ।

विगतमा मिडियासम्बन्धी औपचारिक जनशक्ति उत्पादन नभएको बेला यस्तो महसूस गरिएको थिएन । त्यतिबेला एक से एक राम्रा र प्रतिबद्ध सम्पादनकर्मी (कपी एडिटर) हरू थिए । अहिले विश्वविद्यालयबाट मिडियासम्बन्धी जनशक्ति निरन्तर उत्पादन भइरहँदा पनि किन यस्तो अवस्था आयो ? प्रश्न पेचिलो छ ।
२०४६ सालअघि नेपाली मिडियाको आयतन फैलन पाएको थिएन । बजार सानो थियो । मिडियाको दुनियाँमा सरकारी सञ्चार माध्यमको एकछत्र रजाइँ थियो । निजी क्षेत्रमा प्रसारण माध्यम थिएन । निजी स्मामित्वका छापा माध्यम मूलतः मिसन पत्रकारिताको अभियानमा थियो ।

दलविहीन पञ्चायती व्यवस्था ढलेपछि आएका ‘राष्ट्रिय सञ्चार नीति, २०४९’ र ‘राष्ट्रिय सञ्चार ऐन, २०४९’ ले निजी क्षेत्रका प्रसारण माध्यमका बाटो खोलिदिए । सँगसँगै ब्रोडसिट दैनिकहरू पनि जन्मन थाले । समयक्रममा रेडियो र टेलिभिजन आए । पछिल्लो समयमा अनलाइन न्युज पोर्टलहरूको बाढी नै आएको छ ।

हिजो कुवाजस्तै संकीर्ण दायरामा रहेको नेपाली मिडिया आज समुद्रजस्तै विस्तीर्ण हुन पुगेको छ । मिडिया अर्थतन्त्रको दायरा फराकिलो बनेको छ । अवसर र सम्भावनाहरू बढेको छ । मिडियालाई ‘करिअर’ बनाउनेहरूको कुनै कमी छैन । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसँग आबद्ध पत्रकारहरूको संख्या १२ हजारभन्दा माथि छ ।

मिडियामा यस्ता उत्साहप्रद पक्षको उभार हुँदाहुँदै पनि पत्रकारितामा दक्ष र प्रतिबद्ध जनशक्ति ऋणात्मक दिशातर्पm उन्मुख भइरहेको महसूस गरिँदैछ । त्यसमा पनि न्युजरूममा दक्ष र प्रतिबद्ध कपी एडिटर अभाव टड्कारै देखिन थालेको छ । संवाददाता र कपी एडिटर पत्रकारिताका दुई बलिया स्तम्भ हुन् । यीमध्ये संवाददाताहरू बढी चलयमान् छन् । उनीहरू बाइलाइनको फाइदा उठाउन सक्छन् । कपी एडिटरलाई यस्तो लाभ प्राप्त हुँदैन ।

कपी एडिटरहरू पर्दापछाडिका नायक हुन् । संवाददाता वा लेखकको पाण्डुलिपिमा रहेका त्रुटि सच्याएर लेखाइमा बान्की थपिदिने काम कपी एडिटरको हो । तर पनि उसले जस पाउँदैन । धेरैको दृष्टिमा कपी एडिटिङ श्रेयविहीन काम (थ्याङ्कलेस जब) हो । न्युजरूममा एउटा भनाइ प्रचलित छ,  'कपी एडिटरको काम त्यतिबेला मात्र ख्याल गरिन्छ, जतिबेला सम्पादनका क्रममा गम्भीर गल्ती भेटिन्छन् ।'

संवाददाताको तुलनामा कपी एडिटरलाई ‘एक्सपोजर’ को अभाव छ । कुनै शक्ति, समूह वा व्यक्तिको अभीष्ट पूरा गरिदिएबापत कुनै खास पृष्ठ वा संस्करण हेर्ने निश्चित कपी एडिटरले क्याण्डल–लाइट डिनर, विदेश सयर वा यस्तै प्रकृतिका ‘बनञ्जा’ पाउने बाहेक  धेरैले ‘तर मार्न’ पाउँदैनन् । अधिकांशको अवस्था ‘विचरा’ नै छ ।

कपी एडिटरले ‘एक्सपोजर’ नपाए पनि उसको काँधमा जिम्मेवारी ठूलो हुन्छ । कपी एडिटिङ प्राविधिक र सिर्जनशील काम हो । उसले अरुले तयार पारेको झर्कोलाग्दो सामग्रीलाई रुचिकर र पठनीय बनाउनुपर्छ । त्यो पनि समयसीमाभित्रै  । यो चानचुने काम होइन । लरोतरो जाँगर, ज्ञान र सीपले यस्तो जिम्मेवारी पूरा गर्न सकिन्न । असल कपी एडिटर भाषिक हिसाबले शब्दशिल्पी र ज्ञानको गहनताको दृष्टिले इन्साइक्लोपिडिया बन्नुपर्नेमा दुईमत छैन ।

अरुको प्राणहीन रचनालाई जीवन्त बनाउन कपी एडिटरले धेरै मिहेनत गर्नुपर्छ । ऊ उर्जावान्, सिर्जनशील, कल्पनाशील र विचारवान् हुन आवश्यक छ । उसका लागि दिलबहलाव आवश्यक छ ।

यसका लागि उसले प्रशस्त अवसर र समय पाउनुपर्छ । मिडिया हाउसले उसको कामको चरित्र र प्रकृति बुझिदिनुपर्छ । विदेशतिर कपी एडिटरलाई आकर्षक पारिश्रमिक र पर्याप्त बिदा दिने चलन छ । नेपाली न्युजरूममा यस्तो परिपाटीको अभाव छ ।

कपी एडिटरको कामबारे कुरा गरिरहँदा हाम्रो शिक्षा पद्धतिबारे चर्चा गर्नुपर्ने हुन्छ । राम्रा स्कुलमा अंग्रेजीमा माध्यममा पढेकाहरू सामान्यता यो दुनियाँमा आउँदैनन् । कोही आएमा त्यो अपवादमात्र हुन्छ । जगजाहेर नै छ, उनीहरू कि त पश्चिमा दुनियाँमा भासिन्छन् कि त स्वदेशमै आइएनजीओको कारिन्दा बन्न पुग्छन् ।
नेपाली न्युजरूममा खपत हुने जनशक्ति मूलतः सरकारी विद्यालय वा सामान्य बोर्डिङ स्कुलमा पढेकाहरू नै हुन्छन् । सामान्यता उनीहरूको भाषिक दक्षता र ज्ञानको गहिराइ सरदर नै देखिन्छ ।

यही जनशक्ति न्युजरूममा पुग्छ । त्यसको नजिता के हुन्छ, भनिरहन नपर्ला । अहिलेको न्युजरूम जनशक्तिका दृष्टिले मात्र होइन, गुणवत्ताका दृष्टिले पनि शून्यतातर्फ लम्कँदैछ भन्नेहरू पनि भेटिन थालेका छन् । न्युजरूमले प्रतिभावान् जनशक्ति माग गर्छ तर बजारले सरदर खालको जनशक्ति उपलब्ध गराइरहेको छ ।

यहाँनेर, पत्रकारिताप्रतिको सामाजिक मनोविज्ञानबारे सानो चर्चा गर्नुपर्ने हुन्छ । धेरैको बुझाइ छ, पत्रकारिता ‘लो पेड जब’ हो । वास्तविकता पनि लगभग यस्तै छ । टेलिभिजनको स्क्रिनमा अनुहार देखाउने, रेडियोमा स्वर सुनाउने र अखबार (बाइलाइन) मा छाउने रोमाञ्टिक आकांक्षाले मात्र पत्रकारिताको दुनियाँमा प्रवेश गर्नेहरू छिट्टै ‘स्याचुरेसन पोइन्ट’ मा पुग्छन् ।

धेरै मिहेनत गरेर पनि अपेक्षित आम्दानी नहुँदा उनीहरू कालान्तरमा निराश बन्छन् । अन्ततः दुई दिनको पाहुनाजस्तो बनेर बाहिरिन्छन् । सुन्दा अप्रिय लागे पनि वास्तविकता यही हो ।'

बाहिरबाट खासै जटिल नेदेखिए पनि भित्रभित्रै बिकराल बन्दै गएको जनशक्तिसम्बन्धी समस्याले मिडिया उद्योगको अस्तित्व र गुणवत्तामा धक्का  दिन सक्छ । पत्रकारितालाई आशा र भरोसाको केन्द्र बनाउन सम्बन्धित निकायको रचनात्मक भूमिका अपेक्षित छ ।

साभार: अन्नपूर्ण टुडे । साउन २७, २०७४ ।

Monday, August 7, 2017

सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग


–यमबहादुर दुरा

नयाँ नयाँ ‘साइबर फेस्टिबल’ ले नेपाली जीवनशैलीमा इन्द्रधनुषी रङ थप्दैछ । गत असार १६ गते नेपाललगायत विश्वभर ‘सोसल मिडिया दिवस’ मनाइएको समाचारले सञ्चार माध्यममा स्थान पायो । बहुलवादी समाजमा यस्ता दिवसले जीवनशैलीको अनेकौं रूप र रङलाई समेट्छन् । जीवनशैलीमा विविधता छ र पो त बहुलवादी समाजको अस्तित्व छ ।

सन् १९९० पछि अस्तित्वमा आएको ‘इन्टरनेट संस्कृति’ ले दुनियाँलाई थुप्रै जीवनदायिनी उपहार दिएको छ, जसले मानव जातिको समृद्धिमा अतुलनीय योगदान दिइरहेको छ । ‘नेटिजन’ (इन्टरनेट प्रयोगकर्ता) हरूले ‘सोसल मिडिया’ मार्फत ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’  को भरमार उपयोग गरिरहेका छन् । इन्टरनेटले मानव समाजलाई दिएको एउटा सुन्दर उपहारको रूपमा यसलाई लिन सकिन्छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लोकतन्त्रको आधार स्तम्भ मानिन्छ । ‘नेपालको संविधान, २०७२’ धारा १७ (क), ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८’ (धारा १९), ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अधिकारसम्बन्धी’ (धारा १९) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरूले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई उच्च स्थान दिएका छन् ।

आफूमाथि भएका वा हुनसक्ने हरप्रकारको ज्यादातीविरुद्ध आवाज उठाउन ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ आवश्यक हुन्छ । यसको अनुपस्थितिमा कुनै पनि अधिकार सुरक्षित हुन सक्दैन  । त्यसैले यसलाई आधारभूत मानव अधिकार मानिएको हो । लोकतान्त्रिक परिपाटीमा ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ ले उच्च स्थान पाएको छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई मूर्त रूप दिने दिशामा अतुलनीय भूमिका खेलिरहेको छ । यसले मनभित्र छचल्किएका  खुल्दुली र विमतिलाई खुलस्त राख्न हरेक व्यक्तिलाई अवसर दिएको छ । इन्टरनेट नहुँदा आफ्ना कुरा समाजका सामु राख्ने यति सहज माध्यम जनसाधारणलाई उपलब्ध थिएन । ‘सोसल मिडिया’ ले मनको पोको फुकाउन जनसाधारणलाई बेमिसाल अवसर दिएको छ । यसले सर्वसाधारण नागरिकलाई अभूतपूर्व रूपमा शक्तिशाली बनाउँदै लगेको छ ।

फेसबुक, ट्वीटर, ब्लग, यु ट्युबजस्ता ‘सोसल मिडिया’ ले सिङ्गो समाजलाई सचेत तुल्याउने र बाटो देखाउने कम गरेका छन् । सामाजिक सञ्जालमा उर्लिएका जनआक्रोशलाई दृष्टिगत गरी व्यक्ति, सेवा प्रदायक तथा सरकारले आफ्ना कार्यशैली र त्रुटिहरू सच्याएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त छन् ।

यसले समाजलाई लोकतन्त्रको ट्र्याकमा हिँडाउन प्रत्यक्ष वा परोक्ष रूपमा बल दिइरहेको छ । इन्टरनेटले प्रवर्द्धन गरेको लोकतन्त्र आज ‘ई–डेमोक्रेसी’, ‘इन्टरनेट डेमोक्रेसी’ वा ‘डिजिटल डेमोक्रेसी’ बाट परिचित छ, जुन हाम्रो घरदैलोमा उपस्थित छ ।

सन् २०११ मा अरब भूमिको राजनीतिक परिदृश्य नै बदलिने गरी राजनीतिक बिद्रोह शुरु भयो । ‘अरब स्प्रिङ’ नामले परिचित उक्त बिद्रोह दबाउन राज्यपक्षबाट भएका ज्यादाती उजागर गर्न ‘सोसल मिडिया’ ले ठूलो भूमिका खेल्यो । मूलधारका सञ्चार माध्यमले दिन नसकेका दमनका 'इक्सक्लुसिभ' दृश्य विश्वसामु राख्ने काम ‘सोसल मिडिया’ ले नै गर्यो ।

एक्काइसौं शताब्दीमा पनि बन्द समाजको रूपमा परिचित अरबियन मुलुकका कतिपय महिलाले छद्मनाममा ब्लग लेखेर महिलाप्रतिको सामाजिक दृष्टिकोण बदल्न पहिलेदेखि नै प्रयास गरेका हुन् । ‘अरब स्प्रिङ’ लाई निश्चित रूप दिने काममा पनि ती छद्मनामधारी महिला ब्लगर कुनै न कुनै रूपमा हिस्सेदार छन् । ‘सोसल मिडिया’ ले समाज परिवर्तनका दिशामा दिएको योगदानको यस्ता अनेकौं दृष्टान्त छन् ।

खासगरी लोकतन्त्रको अभ्युदय नभइसकेका र तानाशाही शासन पद्धति कामयै भएका बन्द समाजमा ‘सोसल मिडिया’ को प्रभाव उल्लेखनीय छ । सूचनाको निर्वाध प्रवाहले हरप्रकारको जडसूत्रवाद र तानाशाही प्रवृत्तिविरुद्ध जेहाद छेडिरहेको छ । चाहे बोक्सीप्रथा विरुद्धको कुरीति होस् वा राज्यशक्तिको आडमा गरिएका जनविरोधी क्रियाकलाप नै किन नहोस्, ‘सोसल मिडिया’ को खबरदारी जारी छ ।

हरेक कुराको दुइटा पाटो हुन्छ भनेझैं ‘सोसल मिडिया’ को पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । यद्यपि कुनै पनि मिडिया आफैंमा राम्रो वा नराम्रो हुँदैन, प्रयोगकर्ता सद्विचार वा कुविचार केबाट निर्देशित छ भन्ने कुराले यसको नतिजा असल वा खराब के हुने भन्ने निर्धारण गर्दछ । यसलाई यही अनुरूप बुझ्न आवश्यक हुन्छ ।

एक तथ्याङ्कअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८२ प्रतिशतभन्दा बढी छ । समयक्रमसँगै इन्टरनेट प्रयोगकर्ताहरूको संख्या निरन्तर बढ्दो छ । इन्टरनेको विभिन्न एप्लिकेसनमध्ये फेसबुक, यु ट्युब, ट्वीटर जस्ता  ‘सोसल मिडिया’ सँग सम्बन्धित एप नै बढी प्रयोगमा आएका छन् ।

नेपालमा ‘सोसल मिडिया’ को बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक दुवै किसिमका नतिजा देखापर्न थालेका छन् । मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्योपचारका लागि सहयोग जुटाउने पुण्य कामदेखि गालीगलौजका निकृष्ट व्यवहारसम्म ‘सोसल मिडिया’ मा प्रतिविम्बित भएका छन् । यस्ता कुराले हाम्रो सोचाइको धरातल र सामाजिक मनोविज्ञानलाई इङ्गित गर्छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को प्रवर्द्धन गरिरहेको छ । यसले लोकतन्त्रको मजबुदीकरणमा योगदान दिइरहेकोमा शंका छैन । छ । तर ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ बेलगाम अधिकार होइन । यसका सीमाहरू छन् । त्यसलाई आत्मसात गर्न आवश्यक छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को अधिकार प्रयोग गर्दा अरुको इज्जत–प्रतिष्ठा र सामाजिक मर्यादामा कस्तो असर पर्छ भन्नेमा प्रयोगकर्ता पूर्ण सचेत भएन भने यसको नतिजा अकल्पनीय हुनसक्छ । बेलगाम अभिव्यक्तिले समाजलाई क्षति त हुन्छ नै, प्रयोगकर्ताकै छवि बिग्रने र ऊ कानुनी झमेलामा पर्नसक्ने अवस्था पनि आउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरुद्ध ‘सोसल मिडिया’ मा जथाभावी अभिव्यक्ति दिने व्यक्ति पक्राउ परी कानुनी दायरमा आएको घटनालाई यसको नवीनतम् दृष्टान्तको रूपमा लिन सकिन्छ । ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को उपयोग गर्दा त्यसको सीमा बुझ्नु जरुरी छ भन्ने तथ्यलाई यो घट्नाले प्रष्ट्याएको छ । प्रयोगकर्ताले पर्याप्त संयम अपनाउन आवश्यक हुन्छ भन्ने पनि यसले सिकाएको पाठ हो ।

संयमित बन्ने नाउँमा आफ्ना विचार राख्नै हुँदैन भन्नेचाहिँ कदापि होइन । आफ्ना विचार वा असहमतिका बुँदा शिष्ट र मर्यादित किसिमले राख्नुपर्छ  भन्ने यसको आशय हो । ‘सोसल मिडिया’ वा अन्य कुनै मिडियाले कसैको निजी जीवन र प्रतिष्ठामा गरेको क्षतिको भरपाइ हुन सक्दैन । यस किसिमको वास्तविकताप्रति पनि प्रयोगकर्ता सचेत हुनैपर्छ ।

‘सोसल मिडिया’ को प्रचलनमा व्यापकता आएसँगै विभिन्न स्वार्थी तत्वहरूले यसलाई खेल मैदानको रूपमा प्रयोग गर्न थालेको तथ्य अर्को मननीय पक्ष हो । सर्वसाधारण प्रयोगकर्तामाथि ‘सेन्टिमेन्टल ब्याकमेलिङ’ गरेर आफ्ना स्वार्थप्रेरित कन्टेन्ट सेयर गर्न लगाउने कार्यमा यस्ता तत्व सक्रिय देखिएका छन् ।

यस्ता स्वार्थी तत्वले बिच्छ्याएको भुलभुलैयापूर्ण पासोमा सर्वसाधारण प्रयोगकर्ता सजिलै पर्छन् । प्रयोगकर्ताहरूले लहैलहैमा त्यस्ता कन्टेन्ट सेयर गरिदिँदा गलत तत्वको मनोबल बढ्छ । गलत उद्देश्यपूर्तिका लागि सञ्चालित साइटको हिट बढाउने, गुगल एड हत्याउने र कसैको मानमर्दन गर्ने अभिप्रायले यस्ता कन्टेन्ट तयार पारिएका हुन्छन् ।

कसैसँग बदला लिन फेसबुकमा सम्बन्धित व्यक्तिको नाउँमा नक्कली अकाउण्ट खोल्ने, त्यसमा मर्यादाहीन तस्बिर पोष्ट गर्ने, हुँदो नहुँदो स्ट्याटस लेख्ने जस्ता काम पनि भएका छन् । सम्बन्धित व्यक्तिलाई दुनियाँसामु बेइज्जत गर्नु नै यसको ध्येय हुन्छ । यस्ता घटनालाई भैझगडा भई अदालतमा मुद्दा मामिला चल्नेसम्मको अवस्था आइसकेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखालाई उध्रृत गर्दै छापा माध्यमहरूमा आएका समाचार अनुसार गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ८३० उजुरी परेकोमा चालू आर्थिक वर्षको प्रथम छ महिनामै ५६० वटा यस्ता उजुरी परेका छन् । साइबर अपराधको क्रम बढ्दो क्रममा रहेको देखिन्छ ।

प्रयोगकर्ताको अज्ञानता अर्को खतरनाक पक्ष हो । कतिपय ‘सोसल मिडिया’ प्रयोगकर्ताले अज्ञानतावश दुर्घटनाका क्षतविक्षत लाशको तस्बिर तथा भिडियो पोष्ट गरेका हुन्छन्, जुन गर्नै नहुने काम हो । हामी कसैले पनि आफ्ना परिवारजनको यस्तो दृश्यको कल्पनासम्म पनि गर्न सक्दैनौं ।

आफ्ना परिवारजनको यस्तो दृश्यको हामी कल्पना पनि गर्न सक्दैनौं भने अरुका परिवारजनलाई यस्तै हुन्छ भन्ने समानुभूतिबाट हामी निर्देशित हुन आवश्यक छ । यस्ता दृश्यले सम्बन्धित परिवारलाई दिने चोटको गहिराइ जान्न आवश्यक छ । यस्ता तस्बिर तथा दृश्यले बालबालिका मनोविज्ञान बिग्रने तथ्यलाई पनि ख्याल गर्नु जरुरी छ ।

अहिले झुटा समाचार (फेक न्युज) तयार पार्ने, उत्तेजनापूर्ण स्ट्याटस लेख्ने तथा प्रोपगाण्डा भिडियो तयार पार्ने कामको कुनै कमी छैन । यस्ता कामका पछाडि गलत आशय लुकेका हुन्छन् । कतिपय प्रयोगकर्ताले कुराको गहिराइ नै नबुझी त्यसलाई सेयर गर्ने तथा कमेन्ट गर्ने गर्छन् । यसबाट गलत आशयबाट निर्देशित व्यक्तिलाई बल पुग्छ । हामीले थाहै नपाई गलत तत्वलाई काँधमा बोकिरहेका हुन्छौँ । यसप्रति हाम्रो सचेतता आवश्यक छ ।

वृहत्तर सामाजिक हितका लागि ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोग अहिलेको मूलभूत सवाल हो । यसको सही प्रयोगले समाजलाई सपार्न सक्छ भने गलत प्रयोगले बिगार्न पनि सक्छ । प्रत्येक ‘सोसल मिडिया’ प्रयोगकर्ताले रचनात्मक र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आवश्यक छ ।

हरेक प्रयोगकर्ताले कुनै सामग्री पोष्ट गर्नु अघि यसले आफू स्वयं र समाजलाई नकारात्मक असर पार्छ कि पार्दैन भनेर सोच्नैपर्छ । ‘सोसल मिडिया’ मा प्रयोग गरिएका सामग्री सही–सत्य छन् कि छैनन् भनेर सत्यापन परीक्षण गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

आफूजस्तै अन्य प्रयोगकर्ताको सत्य–तथ्य जान्ने, उपयोगी जानकारी ग्रहण गर्ने र त्यस्ता सामग्रीबाट अनुप्राणीत हुने अधिकारलाई सम्मान गर्नुपर्ने हुन्छ । हरेक प्रयोगकर्ता सचेत, रचनात्मक, जिम्मेवार र नैतिकवान् बन्नुमा नै ‘सोसल मिडिया’ को औचित्य रहन्छ । ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोगको जग पनि यही हो ।

[साभार: अन्नपूर्ण पोष्ट । साउन २३, २०७४ ।]


Friday, July 28, 2017

श्रुतिपरम्पराको आलोक


–यमबहादुर दुरा

व्रह्मज्ञानीहरूका दृष्टिमा हरेक आधुनिक आविष्कारको ‘आदिस्रोत’ छ । इसापूर्व ३५०० वर्षअघि सुमेरियनहरूले अभिलेखनका लागि प्रयोगमा ल्याएका ‘क्ले ट्याब्लेट’ लाई आधुनिक ‘ट्याब्लेट’ को ‘आदिस्रोत’ मानिएको छ । अहिलेका लिपि र अक्षरहरूको जननी प्राचीन गुफामा लेखिएका भित्तेलेखन हो भनेर धेरै विद्वान्हरूले ठोकुवा गर्दै आएका छन् । घामको गति र चालको आधारमा तयार पारिएको ‘सनडायल’ आधुनिक समय–यन्त्र निर्माणको ‘प्रेरणास्रोत’ मानिन्छ ।

ज्ञान, बुद्धि र विवेक । मनिसलाई सर्वश्रेष्ठ तुल्याउन सघाउने अमूल्य अमूर्त बौद्धिक सम्पदा । यस्ता अमूर्त सम्पदाको ‘आदिस्रोत’ के होला ? खासगरीयिनीहरूको संरक्षण, विस्तार र भण्डारणको ‘आदिस्रोत’ वा माध्यम के होला ? आदिम कालखण्डदेखि हालसम्म यस्ता बौद्धिक सम्पदा कसरी संरक्षित र विस्तारित हुँदै आए ? प्रश्नको उत्तर खोज्न धेरैबेर घोत्लिनै पर्दैन । यसको सहज उत्तर हो, श्रुतिपरम्परा ।

श्रुतिपरम्पराको महिमा अपरम्पार छ । मानव सञ्चारको अभिन्न अङ्ग । वाणीप्रधान सञ्चार । ज्ञानको अजस्र स्रोत । ज्ञान विस्तारको दिव्य माध्यम । मानव र सभ्यताबीचको पुल । सामाजिक संवादको गतिलो माध्यम । ज्ञानयोग, भक्तियोग र कर्मयोगलाई एक–आपसमा जोड्ने अलौकिक शक्ति ।

दुनियाँ दिनानु दिन प्रविधिमय बन्दैछ । कम्प्युटर, मोबाइल, थरीथरीका चिप्स् तथा एप्स् । हाम्रो जिन्दगी प्रविधिको जालोमा जेलिएको छ । अहिले ‘मेमोरी चिप्स’ जस्ता डिभाइस एवम् किण्डलजस्ता इ–पुस्तकको रजगज छ । यस्तो लाग्छ, प्रविधिमय बन्दै गएको वर्तमान युगमा सुन्दै आदिम लाग्ने श्रुतिपरम्पराको अब कुनै ठाउँ नै छैन । तर कुरा त्यसो होइन ।

आखिर, ‘मेमोरी चिप्स’ मा रहेका तमाम जानकारी पनि मानव जातिले प्रयोग नगर्दासम्म निरर्थक नै रहन्छ । अहिलेका उपकरणहरूले पहिले भएकै विषयवस्तु (ज्ञान) लाई ‘लाउडस्पिकिङ’ वा ‘म्याग्निफाइङ’ गर्ने बाहेक केही गरेका छैनन् । यिनीहरूले हिजोकै उक्ति, सूक्ति, श्लोक, मन्त्र आदिमा रहेका मौखिक सूचनाहरूलाई भण्डारण र विस्तार गर्ने काम गरेका छन् । आधुनिक प्रविधि श्रुतिपरम्पराको विकल्प नभई सहयोगीमात्र हुन् ।

श्रुतिको सीधा सम्बन्ध बोलीसँग छ । बोली मानव सञ्चारको सशक्त माध्यमको रूपमा स्थापित छ । श्रुतिको सर्वव्यापक र चिरस्थायी अस्तित्वबाट श्रुतिपरम्पराको विकास भएको छ, जुन मानव सभ्यताको विकास र विस्तारमा अपरिहार्य तत्व बनेको छ । यही कारण हुनसक्छ, लेख्यपरम्परा र सूचना प्रविधिको चरम विकास भएको वर्तमान युगमा पनि श्रुतिपरम्पराको महत्व कायमै रहेको छ ।

छन्द र लयको माध्यमबाट कुनै पनि विषयवस्तुलाई रमाइलोसँग सम्झन सकिन्छ । यही मान्यताअनुरूप श्लोक, गीत, उखान–टुक्का एवम् सूक्ति बनेको हुनुपर्छ । श्रुतिपरम्परासँग गाँसिएका विविध आयामबाट समाजमा ज्ञानको विस्तारमात्र भएको छैन, पुरानो पुस्तामा विद्यमान ज्ञान नयाँ पुस्तामा सजिलैसँग हस्तान्तरण पनि भएको छ ।

श्रुतिपरम्परा र सिकाइ

सिकाइ र श्रुतिपरम्पराको गहिरो नाता छ । बालमनोविदहरूको भनाइ छ, लालाबालालाई सङ्गीतको माध्यमबाट शिक्षा दिनुपर्छ । सङ्गीतमय परिवेशमा दिइएको शिक्षाबाट केटाकेटीका ‘स्पञ्ज’ जस्तो ग्रहणशील दिमागले यति छिटो ग्रहण गर्छन् कि उनीहरूको जादुमय सिकाइ गतिको कुनै तुलना नै छैन । यही प्रसंगमा महान् ग्रीक दार्शनिक अरिस्टोटल (इसापूर्व३८४–३२२) ले मननीय विचार व्यक्त गरेका छन् ।

उनको भनाइ छ, ‘सङ्गीतमा चरित्र निर्माण गर्ने शक्ति हुन्छ । त्यसैले केटाकेटीलाई सङ्गीतको माध्यमबाट  शिक्षाततर्फ अभिुखीकरण गर्नुपर्छ ।’ संगीत श्रुतिपरम्पराकै निरन्तरता हो । घरमा राम्रा राम्रा श्लोक र गीत गुनगुनाउँदा बालबच्चाले रमाइलोमात्र मान्दैनन्, त्यसबाट नजानिँदो किसिमले शिक्षा पनि ग्रहण गर्छन् ।

भाषा सिकाइको प्रक्रियामा सुनाइ, बोलाइ, पढाइ र लेखाइ महत्वपूर्ण पक्ष मानिन्छ । त्यसमा पनि प्राथमिक तहको शिक्षा पद्धतिमा यीमध्ये सुनाइ र बोलाइ नै बढी महत्व दिइन्छ । यसबाट सिकाइमा श्रुतिपरम्पराको महत्व झल्कन्छ । श्रुति–सिकाइका कारण अक्षरसँग अपरिचितहरूले ज्ञान पाउन सकेका छन् । परिणामस्वरूप निरक्षर व्यक्तिमा ‘मुखको सरस्वती’ बाँचेको छ । गुरुकुलीय परम्परामा गुरुले शिष्यलाई मौखिक रूपमा दिएको शिक्षाबाट ज्ञानको विस्तारबाट ज्ञानको विस्तार हुन्थ्यो ।

हाम्रो समाजले श्रुतिपरम्परा, सिकाइ र पठनसंस्कृतिसँग सम्बन्धित थुप्रै रोचक प्रसंग जन्माएको छ । एकपटक सुनेको कुरा सम्झनेलाई श्रुतिधर, राम्रोसँग वेद पाठ गर्न जान्नेलाई पाठक, तीनवटा वेद पाठ गर्नेलाई त्रिपाठी, चालीस अध्याय वेद पाठ गर्नेलाई चालिसे भन्ने गरिएको रमाइलो प्रसंग पाका–पुराना व्यक्तिहरूबाट सुन्न पाइन्छ, जुन  आफैंमा श्रुतिपरम्पराको निरन्तरता हो ।

यसैगरी, वेदको ज्ञान भएको व्यक्ति सुवेदी, दुई वेद जान्ने द्विवेदी, तीन वेद जान्ने त्रिवेदी, चारै वेद जान्ने चतुर्वेदी एवम् शास्त्रार्थ गर्ने शास्त्री नामबाट कहलिएको  प्रसंग पनि सामाजिक जमघटहरूमा सुनिन्छ । यसले हाम्रो ज्ञान आर्जन गर्ने पद्धति र श्रुतिपरम्परा नातालाई प्रस्ट्याउँछ  ।

हिन्दू समाजमा श्रुतिपरम्परा

हिन्दू समाजमा श्रुतिपरम्परालाई मायवी शक्तिको रूपमा वर्णन गरिएको पाइन्छ, जहाँ श्रुतिपरम्परा, ईश्वरतत्व र आध्यात्मिकताको त्रिवेणी भेटिन्छन् । हिन्दू धर्मशास्त्रका अनुसार श्रुति ईश्वर–रचित ग्रन्थ हो । ऋषिमुनि ध्यानमग्न भएको समयमा ईश्वरको वाणी सुनेर त्यसलाई लेख्य रूपमा उतारेपछि वेदको जन्म भएको मानिन्छ । वेदलाईश्रुतिकोमूल स्रोत मानिएको छ । वेद हिन्दू धर्मको प्राचीन र सर्वाधिक महत्वपूर्ण ग्रन्थ मानिएको तथ्य जगजाहेर नै छ ।

प्राचीन समाजमा वेद शब्द गहिरो आस्था र श्रद्धाको द्योतक बन्न पुग्यो । हरेक शास्त्रको रचना भएपछि त्यसका रचयिताले आफ्नो कृतिमा ‘वेद’ शब्द जोडने चलन आयो । जस्तै : धनु विद्या सिकाउने शास्त्रलाई धनुर्वेद चिकित्साशास्त्रलाई आयुर्वेद आदि । कतिपयले महाभारतलाइं ‘पञ्चम वेद’ भनेर पुकारेको पाइन्छ ।
श्रुतिको कुरा गर्दा स्मृतिलाई पनि बिर्सन मिल्दैन । श्रुति र स्मृतिको सम्बन्ध पनि कम रोचक छैन ।

श्रुतिाई वैदिक परम्परा मानिन्छ भने स्मृतिलाई लौकिक परम्परा । श्रुति वाणीको आधारमा लेखिएको ग्रन्थ हो भने स्मृति मानव बुद्धि र सम्झनाको आधारमा रचित ग्रन्थ । वेदलाई अपौरुषेय कृति मानिन्छ भने स्मृतिलाई पौरुषेय कृति । अर्को शब्दमा भन्दा वेद अलौकिक कृति हो भने स्मृति लौकिक कृति ।

श्रुतिको तुलनामा स्मृति कमसल र कलिलो मानिन्छ । श्रुति अस्तित्वमा आएको धेरै पछि स्मृतिको रचना भएको ठानिन्छ । श्रुति जटिल र दुरुह मानिन्छ भने स्मृति सरस बोधगम्य । श्रुति र स्मृतिको आधिकारिकतबारे विवाद हुँदा श्रुतिलाई नै मान्यता दिने चलन रहेको छ । यद्यपि मनुले श्रुति र स्मृतिलाई समान महत्व दिएका छन् । वृहस्पतिले श्रुति र स्मृतिलाई मानिसको दुई आँखाको रूपमा चित्रण गरेका छन् ।

मनुले समाज र परिवारबारे तयार पारेको संहितालाई मनुस्मृति भनिन्छ, जुन स्मृति ग्रन्थ हो । स्मृतिको आधारमा संकलित ज्ञानको पुस्तकीकृत स्वरूपलाई स्मृति भन्न थालियो । आध्यात्मिक साहित्यका अध्येताहरूगीता, महाभारत, पुराण, विष्णुसहस्रनाम, रामायण आदिलाई स्मृतिशास्त्र मान्ने गर्छन् ।

पश्चिमा श्रुति परम्परा

प्राचीन युनानी साहित्यमा होमरको नाउँ अग्रपंक्तिमा आउँछ । युनानी सभ्यता र संस्कृतिका भरोसायोग्य व्याख्याता मानिएका होमर दृष्टिविहीन थिए । उनीद्वारा रचित विश्वप्रसिद्ध महाकाव्य ‘इलियड’ र ‘ओडेसी’ अलिखित थिए भनेर धेरै अध्येताहरूले निष्कर्ष निकालेका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख सर्दैआएका यी महाकाव्यलाई पछिमात्र लिपिबद्ध गरिएको हो भन्ने भनाइ छ ।

पछिल्लो समयमा पश्चिमी विद्वानहरूले श्रुतिपरम्पराबारे विशद अध्ययन गरेका छन् । अमेरिकी दार्शनिक प्राध्यापक वल्टर ज्याक्सन अङ (सन् १९१२–२००३), बेल्जियन इतिहासकार तथा मानवशास्त्री जन भनिसा (सन् १९२९),जोन माइल्स् फोले (सन् १९४७–२०१२) आदि यस विषयका केही चुनिन्दा विद्वान हुन् ।

 अङको ‘ओरलिटी एण्ड लिट्रेसी’ (१९८२), भनिसाको ‘ओरल ट्रेडिसन एण्ड हिस्ट्री’ (१९८५), फोलेको ‘द थियरी अफ ओरल कम्पोजिसन’ (१९८८) जस्ता पुस्तक श्रुतिपरम्पराबारे लेखिएका शोधमूलक कृतिका दृष्टान्त हुन् ।

पश्चिमी दुनियाँमा लिखित इतिहासको साथसाथै मौखिक इतिहासको परिपाटी पनि बलियो छ । बूढापाकासँग कुरा गरेर तिनको बाल्यकाल, युवा अवस्था तथा प्रौढ अवस्था तथा तिनले देखेका देश र दुनियाँबारे तयार पारिएको संस्मरणात्मक इतिहास विश्वभरि नै रुचिपूर्वक पढिन्छ । यस्तो इतिहासलाई लिखित इतिहासकै हाराहारीमा आधिकारिक मानिन्छ । आखिर, लिखित इतिहासको स्रोत कुनै न कुनै रूपमा मौखिक परम्परामा आधारित हुन्छन् ।

बेलायतमा सन् १९७३ मा ‘ओरल हिस्ट्री सोसाइटी’ गठन भयो। यसले मौखिक इतिहासलाई बचाउने अभियान अन्तर्गत ‘ओरल हिस्ट्री’ जर्नल प्रकाशन गर्छ । लन्डनबाट प्रकाशन हुने यो जर्नल रुचिपूर्वक पढिन्छ, जसले अन्तरपुस्ता संवादमा ठूलो गुन लगाएको छ ।

अमेरिकास्थित ‘सेन्टर फर स्टडिज इन ओरल ट्रेडिसन’ ले ‘ओरल ट्रेडिसन’ जर्नल प्रकाशन गर्छ । मौखिक परम्पराका अध्येता जोन माइल्स् फोलेको अगुवाइमा सन् १९८६ देखि प्रकाशन शुरु भएको हो । यसमा लोकवाङमय, सांस्कृतिक मानवशास्त्र, सामाजिक मानवशास्त्र, इथ्नोग्राफ्रीजस्ता श्रुतिपरम्परासँग नाता जोडिएका सम्बन्धी खोजमूलक र गहिरा विषयवस्तुहरू प्रकाशन हुन्छन् ।

परस्पर विरोधी धारणा

श्रुतिपरम्परा र लेख्य परम्पराबीचको सम्बन्ध रोचक छ ।  यी दुईबीचको नाता–सम्बन्ध कतै परिपूरक त कतै विरोधाभाषपूर्ण पाइन्छ । पश्चिमी गोलाद्र्धमा यसबारे प्रसस्त अध्ययन–अनुसन्धान भएका छन् । लेख्य परम्पराले श्रुति परम्परलाई गुन लगायो वा घाटा पुर्यायो भन्नेबारे परस्पर विरोधी धारणा भेटिन्छन् ।

लेख्य परम्पराले श्रुतिपरम्परालाई लिपिबद्ध गरेर भावी पुस्ताका लागि गतिलो कोसेली दिएको छ । यसबाट छिरल्लिएर रहेका बहुरूपी श्रुतिपरम्परालाई एकै ठाउमा बटुल्ने काम गरेको छ । यस अर्थमा लेख्यपरम्पराले श्रुतिपम्परालाई गुन लाएको देखिन्छ ।

यति हुँदाहुँदै पनि कतिपय विद्वानश्रुतिपरम्परालाई लेख्यपरम्परामा ढाल्नुहुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू श्रुतिपरम्परालाई लेख्य परम्परामा ढालेमा यसको मर्म मर्छ भन्ने मान्यता राख्छन् । यस्तो मान्यता राख्नेमध्ये ग्रीक दार्शनिक  सुकरात (इसापूर्व ४७०–३९९) एक हुन् । उनी लेख्य परम्परालाई अमानवीय कार्यको संज्ञा दिन्छन् ।

अङ्ग्रेज दार्शनिक हेनरी सिजविक (सन् १८३८–१९००) पनि यस्तै धारणा राख्छन् । उनको दृष्टिमा मौखिक गाथालाई लेख्न शुरु गर्‍यो  भने त्यसको हत्या गरेको ठहरिन्छ । उनको ठम्याइ छ, ‘जबसम्म मौखिक छ, तबसम्म यसमा जीवन छ, अन्यथा छैन ।’

धेरैको तर्क छ, लेख्य परम्पराले श्रुतिपरम्पराको दायरालाई कमजोर र सीमित बनाइदिन्छ । उनीहरूका मतमा सामाजिक गाथाहरू समाजको फराकिलो घेरामा मौखिक रूपमा विस्तार भएमा एउटै गाथाको धेरै स्थानीय संस्करण जन्मन्छन्, जसले लोकगाथालाई वैभवशाली बनाउँदछ । तर लेख्य परम्पराले भएको गाथालाई पनि सीमित तुल्याइदिन्छ ।

⸼⸼⸼

श्रुतिपरम्पराको दुनियाँ अपरिमित छ । हिन्दू, बौद्ध एवम् जैन धर्मका धेरै सिकाइहरू मौखिक नै छन् । किराँतलगायत विभिन्न जनजाति समुदायको धर्मग्रन्थमा वर्णित जीवन र जगतबारेको चर्चा मूलत: मौखिक नै छ । हाम्रो लोकवाङ्मयको अथाह भण्डार नै पूरापुर श्रुतिपरम्परामा अडिएको छ । श्रुतिपरम्पराको आलोकमा सिङ्गो मानव सभ्यता जगमगाएको छ ।

[साभार: अन्नपूर्ण टुडे । (साउन १३, २०७४) । सामान्य परिमार्जनसहित  । ]

Sunday, July 2, 2017

विवादास्पद ‘अंश’


–यमबहादुर दुरा

जनजाति अभियन्ता तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी (वि.सं. २००३–२०७३) ले जीवनको अधिकांश हिस्सा जनजातिका सांस्कृतिक अधिकारबारे चर्को आवाज उठाएर व्यतित गरे । उनको दलिल थियो,  दशैं जनजातिको चाड नभएकोले दशैंको टीका वहिष्कार गर्नुपर्छ । उनै गोरेबहादुर खपाङ्गी २०५९ सालमा राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सामेल भए । मन्त्री भएपछि राजाको हातबाट चुपचाप दशैंको टीका ग्रहण गरे ।

गोरेबहादुर खपाङ्गीले चुपचाप टीका ग्रहण गरेको जनताको नजरमा छिपेन । पत्रकार उजिर मगरले  खपाङ्गीले दशैंको टीका ग्रहण गरेको समाचार ‘कान्तिपुर’ दैनिकमार्फत् ‘ब्रेक’ गरिदिए । खपाङ्गीको बोली र व्यवहारमा भिन्नता दुनियाँ चकित भए । गोरेबहादुर खपाङ्गीले उठाएका दशैं वहिष्कारलगायतका जनजातिका सांस्कृतिक अधिकारका कुराहरू वैकल्पिक धारको पत्रकारितामार्फत् ‘एम्प्लिफाई’ गर्ने काम उजिर मगरलगायतका पत्रकारले नै गरेका थिए ।

‘राजनीतिमा कुनै स्थायी मित्र र सत्रु हुँदैन’ हुँदैन भन्ने भनाइ धेरै हदसम्मपत्रकारिता पनि लागू हुन्छ भन्ने तथ्य मगरले व्यवहारबाटै पुष्टि गरिदिए । उनले आफ्नो ‘करिअर’ को शुरुवती घडीमा जनजातिका सांस्कृतिक अधिकारसम्बन्धी मामिलाहरूलाई आमसञ्चार माध्यममा ल्याउने काम गरे ।

के कारण हो कुन्नि, जीवनयात्रा अधबैंशे पयतिर ढल्कँदा–नढल्कँदै उनी अतीतमुखी बन्न पुगेका छन् ।समयको मध्यविन्दुतिर आइपुग्दा उनले अतीतका बाङ्गाटिङ्गा बाटाहरूलाई पछि फर्किएर हेर्न रुचाएका छन् । उनी अतीतगमनमा मगनमस्तबनी समयले पछिल्तिर धकेलिदिएका पलहरूलाई संस्मरणका रूपमा प्रस्तुतगर्दैछन् । यसको प्रमाण हालसालै सार्वजनिक भएको उनका कृति ‘अंश’ मा भेटिन्छ ।

‘हाँक’, ‘समानान्तर’, ‘कान्तिपुर’ र ‘नागरिक’ हुँदै पत्रकारिताको राजनीति माहोमिएका उजिर मगरले आफ्ना कृतिमाविद्यार्थी राजनीतिदेखि पत्रकारितासम्मका यावत् अनुभव र अनुभूतिहरूलाई समेटेका छन् । विद्यार्थी कालदेखि नै नेकपा मसालको राजनीतिमा अभ्यस्त बनेका उनी तत्कालीन समयदेखि नै राजनीतिको हिस्सा बनेको देखिन्छ ।

मगर आफ्नो राजनीतिक संलग्नताखुलेरै बोल्छन् । उनी बाग्लुङको तत्कालीन स्थानीय राजनीतिको धार र अभीष्टबारे लेख्छन्, ‘२०५१ सालको मध्यावधि निर्वाचनहाम्रो गाउँमा बेस्सरी लाग्यो । पार्टीले परी थापालाई उठाउने भयो ।..उनलाई जिताइयो । त्यो भेगमा एकप्रकारले बुथ कब्जा गरियो’ (पृ.५) ।

उजिर मगरको पत्रकारिता–यात्रा रोचक छ । उनी २०५१ सालमा भारतको राजधानी दिल्ली पुग्छन्, साहिँली दिदीलाई पुर्याउन । उनको भिनाजु दिल्लीमा काम गर्थे, जो नेकपा (मसाल) समर्थित अखिलभारत नेपालीएकता समाज (हकेसनगर इकाइ समति) का अध्यक्ष थिए । थोरै कमाइमा चारजनाको परिवार पाल्नुपर्ने बाध्यतमा जेलिएका भिनाजुसँग उनले बाटोखर्च मागेनन् । बरू काम खोजे ।

उजिर मगरले अखिल भारत नेपाली एकता समाज, केन्द्रीय कार्यालयका सचिव धनपति शर्माको सम्पर्कमा आए । शर्माकै कृपाबाट उनले एउटा गार्मेन्ट कारखानामा चौकीदारको काम पाए । महिनामा १५ दिन बिहान र १५ दिन राति ड्युटी बस्नुपर्ने । दिनमा ड्युटी हरेक महिनाको पहिलो हप्ता ‘नेपाली एकता’ म्यागजिन निस्कन्थ्यो ।

 दिनमा ड्युटी त्यही म्यागजिन उनको साथी बन्थ्यो । पत्रकारिताप्रतिको लगाव र अनुराग देखेर धनपति शर्माले उनलाई म्यागजिनका लागि समाचार लेख्न लगाए । पत्रकारिताप्रतिको उनको प्रेमभाव त्यहाँ पुगेर फक्रन थाल्यो । उनी अखिल भारत नेपाली एकता समाज (हकेसनगर इकाइ समति) को सदस्य पनि बने ।

त्यस समयमा उनी टाइपिङ सेन्टरमा भर्ना भए । उनमा ‘अब म पत्रकारितागर्न सक्छु’ भन्ने आत्मविश्वास पलायो । चौकीदारी गर्दाको समयमा आर्जेको पत्रकारिताको अनुभव लिएर उनी २०५२ सालमा नेपाल फर्किए । त्यसपछि उनको पत्रकारिता–यात्राविना रोकावट अघि बढ्यो ।

उजिर मगरले आफ्ना कृतिमा यस्तै रोचक संस्मरण पस्केका छन् । ‘कान्तिपुर’ दैनिकमा आवद्ध भएपछि  उनले माओवादी बिट हेर्न थाले । यसपछि विभिन्न समय र सन्दर्भमा माओवादी शीर्षनेतृत्वसँग निरन्तर सम्पर्कमा रहे । तर यसको ‘साइड इफेक्ट’ पनि पुस्तकमा देख्न सकिन्छ । माओवादी नेतृत्वसँगको उनको सामीप्य कतिसम्म बढेको देखिन्छ भने उनी तिनै माओवादीबाट जानेरै प्रयोग भएका छन् ।

गोरखाको एउटा जेलबाट सुरुङ खनेर केही माओवादी फरार भएको एउटा समाचार काल्पनिक भएको उनले १२ वर्षपछि स्वीकारेका छन् । मगरको यो स्वीकारोक्तिले संवाददाता, सम्पादक र मिडिया हाउसकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ । उसै पनि पत्रकारिता पेसा विश्वसनीयताको कसीमा कमजोर हुँदै गइरहेको बेलामा मगरले स्वीकारेको त्रुटिले थप प्रश्नहरू उठेका छन् ।

मगरले रिपोर्टिङका क्रममा देखे–भोगेका थुप्रै प्रसंगहरू आफ्ना कृतिमा पस्केका छन् । केशव नेपालले ‘हाँक’ छाड्दा ‘नेपाल बिदा हुनुभयो’ शीर्षकमा फोटोसहित बिदाइ समाचार लेख्दा कतिपयले समाचारै नपढी उनको मृत्यु भएको बुझेको, लिवाङमा प्रेमपूर्वक गोरुको मासु खाएको, जापानी महिला पत्रकारलाई गाउँमा शाकाहारी भोजन भनेर कुखुराको मासु टक्र्याइएको जस्ता प्रसंगले पाठकलाई रोमाञ्चक दुनियाँतिर लैजान्छ । रिपोर्टिङको क्रममा बाटोमा हिँड्दाहिँदै आफूले हलो जोतेको प्रसंगले उनको चुलबुले स्वभावको परिचय दिन्छ ।

सांस्कृतिक रूपमै मदिराभोगी समुदायको भएर होला, उजिर मगरले ठाउँ ठाउँमा मदिराभोगको प्रसंग निष्फिक्री ल्याएका छन् । उनले संगत गरेका सबैजसो पत्रकारसँगको उठबसका प्रसंगहरू पुस्तकभरि छताछुल्ल भेटिन्छन् ।

लेखाइमा लालित्य खोज्ने पाठकहरूले यो कृतिमा त्यस्तो पाउने छैैनन् । लेखाइ नितान्त सरल र सहज छ । त्यसमा आडम्बरी शब्दजाल र कस्मेटिक लेखाइको छनकसम्म पनि भेटिँदैन । नलेखेको भए पनि हुने थियो जस्तो प्रसंगहरू पुस्तकमा छन् । कतिपय सानोतिनो प्रसंगको सूक्ष्म विवरणहरू छन् । यसबाट पुस्तक अनाश्यक रूपमा मोटो हुन गएको छ । लेखाइ खासै विश्लेषणात्मक छैन । कतिपय हरफहरू त घटनाक्रमहरूको टिपोटजस्तो मात्र पनि लाग्छ ।

उनले राजनीतिक नेतृत्व हिजोको मौलिक र जनमुखी सोचाइबाट पथभ्रष्ट भएको र तिनीहरू उच्च आचार–विचारमा गिरावट आएको नजानिँदो किसिमले संकेत गरेका छन् । मगरले एक प्रसंगमा भनेका छन्, ‘रिपोर्टिङसँगसँगै गणतान्त्रिक आन्दोलनमा होमिँदा अनेक पात्र भेट्टाएँ । तीमध्ये कतिको निधन भयो; कतिले जेलनेल खाए; कति प्रधामन्त्री/मन्त्रीभए; कतिले राजनीतिक नियुक्ति पाए...। ती पात्रहरूलाई अहिले अनेक रूपमा देख्दा कुनै फिल्मका नायक, खलनायक, जोकर देखे जस्तो लाग्छ’ (पृ.३६१) ।

सशस्त्र संघर्षकालको परिशीलनगर्न चाहनेहरूका लागि उनको कृति एउटा महत्वपूर्ण सन्दर्भ सामग्री बन्नसक्छ । सशस्त्रद्वन्द्वकालमा गरिएका स्थलगत रिपोर्टिङको अनुभव संगालिएको यो दस्ताबेज युद्ध रिपोर्टिङको अनुभव, कला र सीप जान्न चाहने नयाँ पुस्ताका पत्रकारहरूका लागि प्रेरणास्रोत बन्नसक्छ ।

पुस्तक : अंश
विधा : संस्मरण
लेखक : उजिर मगर
प्रकाशक :  नाउर प्रकाशन प्रालि
मूल्य : ४७५ रुपैयाँ

 [साभार: अन्नपूर्ण टुडे । असार १६, २०७४ । सामान्य परिमार्जनसहित ।]

Tuesday, June 27, 2017

Mapping Readers' Feedbacks in a Nepali News portal

-Yam Bahadur Dura


1. Background and context

This article aims at mapping readers' feedback in a Nepali online news portal. The study is based on readers' feedback appearing within a given timeframe on the portal. The news portal, Onlinekhabar is one of the more popular news-based websites run by Nepalese citizens, with popularity both within and outside the country. Onlinekhabar delivers content mainly in Nepal language, as well as provides a limited amount of content in English language. However, with the contents in English drawing negligible feedback during the study period (December 1 to 8, 2015), such feedback were therefore not taken into the purview of the study. Altogether, a total of seven items (news, analysis, interview, and opinion article) in Nepali language, and the feedback these items had garnered during the study period were taken into account.

The study was limited to the mapping of feedback for only one news portal, despite original intention of analyzing the information for at least three news portals. Unfortunately, no other Nepali news portals had enough readers' feedback that could meet the purpose of the study during the said period. While this may have made the scope of this study a little narrower, it does however provide a dipstick into the readers' tendencies such as leaving comments, questions or other forms of feedback.

The study was carried out at a time when the 'Madhesh Movement' was at a high following the promulgation of Nepal's constitution. This also coincided with the unofficial economic blockade by India. As the said movement was sparked by the promulgation of Nepal's Constitution on September 20, 2015, most of the contents therefore highlight Nepal's worsening internal politics as well as the injured relations between Nepal and India. Thus, the contents studied and analyzed here belong to one of the most politically heated periods in Nepal's history.

A total of 71 feedback (figure 1) drawn by 7 items (contents) published on Onlinekhabar in the period of one week were taken into consideration. These contents consist of 1 opinion article, 1 interview, 1 analysis, and 4 news items. Different aspects of feedback have been studied to gauge the readers' feelings and viewpoints. The contents have been analyzed with regard to length of text, as well as the nature/type of readers' point of view, identity, language, tone, and timeline (timeframe).
Table 1: Summary of contents and feedback considered in the study
SN
Title
Category
Date of posting
No. of feedback
Timeframe
Posted (NST)*
Feedback tracking (NST) *
Time span
1
This is why it is impossible to merge Nepal in India
Article/ opinion
Dec. 1, 2015
3
3:34 PM
11: 24 AM (next day)
18:24 hours
2
Kingship comes back if Oli fails to address the problem in two weeks : (Interview with RPP leader Dilnath Giri)
Interview
Dec. 3, 2015
25
11:53 AM
3:32 PM (same day)
3:39 hours
3
Former king Gyanendra's son-in-law to former prime minister Sher Bahadur's brother-in-law have been involved in transaction of gas and oil
News analysis
Dec. 3, 2015
3
12:15 PM
3:29 PM (same day)
3:14 hours
4
Tri-lateral dialogue between the government, Nepali Congress and the Madheshi Front is to take place this evening
News
Dec. 4, 2015
3
10:01 AM
2:55 PM
(same day)
4:14 hours
5
We had raised a snake beneath the staircases, and it was in our knowledge that it will bite us one day: UML leader Rajendra Pandey
News
Dec. 6, 2015
2
2:33 PM
4:47 PM
(same day)
2:14 hours
6
Nepal should be pressurized even if it draws criticisms:  Former Indian Ambassador Mukherjee
News
Dec. 7, 2015
30
7:00 PM
9: 23 AM
(Next day)
12:23 hours
7
National Muslim Alliance alienates itself from the Madhesi Front
News
Dec. 8, 2015
5
1:03 PM
2:19 PM
1:16 hours
* Nepal Standard Time

Key words and phrases: Online news portal, Onlinekhabar, mapping readers' feedback, readers' point of view, identity, web 2.0, etc.

2. Dimensions of readers' feedback
The Internet has brought revolutionary changes in communication. It provides an opportunity for individuals to easily become producers, mediators, commentators and distributors of any kind of messages and opinions without additional costs, given that the individual has the access to the Internet and is using a suitable device (Acharya, 2012:5).

This immense possibility of the internet has been revolutionized by 'web 2.0' – one of the popular features of the Internet – which provides immense opportunities for readers (visitors) to express their views freely, and in a smart way. Online news portals have taken advantage of 'web 2.0' to attract followers, through providing them with a wonderful platform to interact.

As 'WhatIs.com', an online IT encyclopedia, defines, 'Web 2.0 is the current state of online technology as it compares to the early days of the Web, characterized by greater user interactivity and collaboration, more pervasive network connectivity and enhanced communication channels.' 

Keeping this great feature of online news portal in mind, this section examines different aspects and dimensions of selected readers' feedback which appeared on Onlinekhabar during the study period (December 1 to 8, 2015).

2. 1. Length of text
A counting of words in readers' feedback suggests a wide variation in the length of text. In Nepali (Devanagari), the longest and the shortest were respectively 257 and 3 words. In English, the longest and the shortest were 94 and 3 words respectively. In Roman, the longest and the shortest ones were 97 and 3 words respectively.

The longest feedback among the Nepali comments came from a reader who identified her/himself as Shantidoot (in English, messenger of peace). The reader with this impersonal identity wrote a letter as feedback, addressing former Indian Ambassador Shiv Shankar Mukherjee (b.1949). Mr. Mukherjee was the Indian Ambassador to Nepal during 2004-2008. This letter is in response to the news entitled 'Nepal should be pressurized even if it draws criticisms: Former Indian Ambassador Mukherjee' (December 7, 2015). The crux of the 257-word letter was that India should not interfere in Nepal's domestic policies and affairs.

A reader who identified himself as Tilak Shrestha wrote the longest feedback among the English ones. This was written in response to an interview with a Rastriya Prajanta Party-Nepal (RPP-N) leader Dilnath Giri (December 3, 2015). The title of the interview was 'Kingship comes back if [Prime Minister KP] Oli fails to address the problem in two weeks'.Tilak Shrestha coincided his stance with the RPP-N leader, expressing that Nepal should remain a Hindu State. He objected to secularism, saying that 'Dharma nirapexata [secularism] is imposed by Europeans to facilitate religious conversions. It is imposed on us using Maoists and other traitors. It must be rejected.'

The longest among the feedback in Roman (Hindi) came from a reader who identified himself as Saaj Aale Magar. Magar's view also came in connection to the statement of former Indian Ambassador Mukherjee discussed above. Magar opined that India has no grounds to teach Nepal a lesson, as there are rampant injustices against Muslims and Nepali-speaking community in India.

The shortest among the feedback in Nepali, English and Roman were of 3, 4 and 3 words respectively. These were respectively, 'Jaya Swatantra Madhesh' (let victory be of Madhesh), 'Good. I like it' and 'Ekdam sahi ho' (it is extremely true).

The feedback 'Jaya Swatantra Madhesh' came from a reader who identified her/himself as Madhesi Awaaj (voice of the Madhesh). The reader expressed the want for an independent Madhesh, and thus gave a voice to the 'Madhesh movement' indirectly. This feedback is connected to the statement made by former Indian Ambassador Mukharjee. He had quoted that Nepal has not given enough rights to the Madheshi people.

'Good. I like it' – the shortest feedback in English – came from a user identified as Kashi Ram Khatri in reply to another user Rajan Ghimire Jigyasu's feedback on the ideas expressed by the RPP-N leader Dilnath Giri regarding the possibilities of re-emergence of kingship in Nepal. Rajan Ghimire 'Jigyasu' remarked that three major parties [Nepali Congress, United Marxist and Leninists (CPN-UML), and Maoists United, now known as the CPN-Maoist Centre] are betraying the nation. He has also expressed quite sarcastically that the increasing number of provinces (proposed in the new, federal set up for Nepal) will create a situation where the number of (elected) leaders will surpass that of people.

'Ekdam sahi ho' (it is extremely true) – the shortest feedback in Roman script – came from a person who identified himself as Kabin. He wrote this expression in response to the views of another reader who identified her/himself as 'Shantidoot' (discussed above, the letter addressing the 'irrational' statement made by former Indian Ambassador Mukherjee). Kabin seemed to endorse Shantidoot's simmering response to Mukherjee's statement.

2.2 Readers' point of view
A wide array of readers' viewpoints can be seen in the feedback studied. Common issues that could be inferred from these feedback includes a nationalistic sentiment, anti-India feelings, sense of hatred against political leaders, views and counter-views on secularism and conflicting views on Hindu state, views for and against federal republic and kingdom, clashing opinions on 'Madhesh movement'.

One reader Tilak Shrestha refuted ex-envoy Mukherjee's point of view on Nepal and how India should treat Nepal. Mr. Mukherjee was quoted as saying, 'Nepal embraced democracy, but has not provided Madheshi people with the fruits of democracy'. Onlinekhabar had repackaged Mukherjee-related news from an article published in an Indian newspaper.

In his response, Tilak Shrestha portrayed Nepal as a sovereign nation, saying that Nepali people can make their constitution on their own. He opines that India doesn't have to worry about Nepal. Another reader (with an impersonal identity) also added to the argument against Mukherjee's viewpoint, enquiring where "the severe discrimination in the current Nepalese constitution" was. Mukherjee's statement seemed to spark a strong sense of nationalism and anti-India feelings among Nepalese readers. Almost all readers nurtured nationalism in their feedback, expressing a strong discontentment to Indian stance on 'Madhesh Movement', and India's unofficial economic blockade to Nepal.

Many of the feedback which appeared on the news portal suggested that political leaders are some of the most disliked figures in Nepal. This may not be a new phenomenon in Nepal, but most readers during the study period seemed not in favor of the political leaders. Some of them went as far as to criticize the leaders taking their names as well. The crux of their resentment with the leaders was that the political leaders are behind the painful sufferings of Nepali people.

Opinions were however divided on the issue of secularism. Nepal is already a secular state. However, the debate on secularism versus Hindu state has been a continuing one. Some of the readers were in favor of a secular state and some were against it. A good number of readers were in favor of a Hindu state. Interestingly, one of the proponents of secular state rejected the idea of Hindu state using a provocative expression, 'if Nepal becomes a Hindu state, Islamic State (IS) will attack Nepal.'

The constitution hails Nepal as a federal democratic republic. Legal and political arrangements are already underway to develop or promote federal structures. In this scenario, the debate on re-emergence of a kingdom versus institutionalization of federal republican governance may have gained futile momentum, although people continue to debate on the issue. One of the supporters of the ex-king wrote 'Raja aau desh bachau' (Oh! King, come and save the nation). The supporter of kingship opines that the king is a patron of the nation, and can rescue Nepal and Nepali people from the painful present situation.

Anti-king feelings were also rampant. A proponent of the republic stated that kingdom cannot replace republic state at any cost. Another supporter challenged that any return of a kingdom would also mean the return of the 'people's war' (in reference to the armed conflict prior to the peace accord a decade ago). Views and counterviews on kingdom were noticed endlessly in the virtual world, although there may be no impact or possibilities of discussions on this issue.

The 'Madhesh movement' was noticed as another important issue that was immensely popular in discussions, and making headlines across most online news portals, but also followed in general by provocative reactions (feedback). Many readers felt that the 'Madhesh movement' is an 'India-backed movement'. Their comments suggested that India was backing the Madheshi political leaders only to fulfill its own selfish motives. This could have been the reason or "understanding" why ex-envoy Mukherjee was so heavily criticized. The key force behind the Madheshi movement, the Madheshi Morcha (Madheshi Front), was also widely criticized in these conversations. It is quite interesting that very few feedback appeared in favor of 'Madhesh moverment'. One of these was noted to be in favor of an independent Madhesh (see above: 2.1. Length of text, para 6; page 4).

2.3 Identity
The identity of the readers in terms of their names can be classified in at least three categories:
a. Full name (27 readers),
b. First name (26 readers), and
c. Impersonal name (18 readers)

This paints a mosaic of the identity used by readers when providing their feedback. It may easily be inferred that those who used impersonal names intend to hide their real identities.  These impersonal identities of the readers give some sense of preparedness and awareness about possible implications (or adverse results) for expressing opinions using their real identity.

Some examples of impersonal identities used by readers were: Nepali Sewak (one who serves Nepal), Madhesi Awaaj (voice of the Madhesh), Shaantidoot (peace ambassador), Prajatantrabadi ek Nepali (a democrat Nepali), Nepali, and so on. These identities can be said to have been adopted to shield their real identities from possible future criticism or harm.

No geographical locations of the readers appeared to be disclosed in their feedback.

2.4 Language
Of the 71 feedback studied, 33 appeared in Nepali (Devanagari script). In the same way, 19 and 16 appeared in English language and Roman script respectively. Furthermore, a fusion of these scripts/languages were noticed: 2 and 1 respectively found as fusion of English language with Roman, and Roman script with Devanagari. One feedback was found in Hindi language, albeit written in Roman script.

Figure 1: Languages used by readers in providing their feedback (n=71)

The diversity in language implicitly, as well as explicitly, provides an insight into the level of education, language competence and socio-cultural backgrounds of the readers. Majority of the comments were found to be below-average in terms of grammar and syntax.

2.5 Tone
Majority of the readers appeared to be aggressive towards their targets. Some of the readers made pejorative remarks. One commentator has termed the political leaders as 'dogs'. Some other commentators were found quite sober, one of them suggesting that the political leaders maintain calm and not lose their cool. This particular expression was in reference to UML leader Rajendra Pandey, who had made an aggressive remark against Mr. Lok Maan Singh Karki, then-Chief Commissioner, Commission for the Investigation of Abuse of Authority (CIAA), after the CIAA had sent a letter alleging corruption charges to Mr. Pandey.

Commentators (readers) suggested UML leader Pandey, 'Don't worry if you have not committed any misdeeds. The state has the rights to investigate on you. You are not above the law.' Mr. Pandey was reported as saying, 'We had raised a snake beneath the staircases, and it was in our knowledge that it will bite us one day.'
Among the positive and negative commentary was one short, specific feedback which was sober and possibly aimed at suggesting or moderating the discussion, which read, 'Comments should be civilized and logical.'

2.6 Timeframe
Only those items or contents, and corresponding feedback, which appeared within the period of 8 days (December 1 to 8, 2016). These seven items, of 4 types, are indicated in the figure below, and in further detail in table 1 above (see page 1).

Figure 2: Contents or items studied (n=7)

Some interesting observations could be made from the timing of the feedback. For instance, it was quite interesting that no feedback appeared on December 5. Overall however, the first four contents (Serial numbers 1, 2, 3 and 4 in table 1, page 1) respectively drew 3, 25, 3 and 3 feedback during the study period. The time span required for these contents to accumulate were 18:24 hours, 3:39 hours, 3:14 hours and 4:14 hours respectively. In similar fashion, the last three contents studied (Serial numbers 5, 6 and 7 in table 1, page 1) respectively received 2, 30, and 5 feedback within a time span of 2.14 hours, 12.23 hours, and 1.6 hours respectively.

Another interesting observation is that one item (serial no. 2) received 25 feedback in a time span of just 3:39 hours, while another item (serial no. 6) received only 30 feedback in a time span of 12:23 hours. These contrasting situations suggest quite clearly that the tendency of readers' responses is also determined by the seriousness of issues, and not by the time span. However, both the issues were serious and burning in Nepal's context at the time, and were both taken quite seriously by the readers. Contents of serial numbers 6 and 2 stood first and second respectively among the feedback studied.


3. Conclusion
Online platforms have given audiences a great opportunity to get their voices heard worldwide, which was almost impossible in print media. These platforms have been promoting democracy and the freedom of opinion and expression in an unprecedented way. These definitely promote the spirits of the Universal Declaration of Human Rights, 1948 (UDHR, Article 19) and the International Covenant on Civil and Political Rights, 1966 (ICCPR, Article 19). These should therefore be regarded as a positive step towards building an equitable society.

Nepali audiences (readers) – as everywhere across the world – have been taking advantage of the advent of the internet and its various applications and platforms like the online news portals to get their voices heard. This miniature study suggests that Nepali audiences are almost habituated to express their feelings, and do not hesitate to expressing any kind of feelings.

One of the suggestive observations is that however serious the issue, online readers have a tendency to read the materials quite sooner rather than later, with responses timed similarly. It may seem that the days when one could post something online and get responses for a long period of time seem numbered – a trend that may not be for online news portals alone, and for the wider application of the internet platform.

Like other contemporary societies, Nepal is going through a huge socio-political and cultural transition, which has by now painted a different picture of the Nepali society as we knew it. They have accepted the inevitable changes, reserving some space within themselves for socio-cultural legacies. With more education and more consciousness about their rights than previous generations, they look more rights-centric now than ever before. These kinds of changes and evolved attitudes were reflected in the feedback they posted on the online news platform.

The world is full of thoughts and counter-thoughts, and thesis and anti-thesis – Nepali society cannot be an exception to these contrasting beliefs, opinions, perceptions and even experiences.  The debate between 'perception versus reality' on different issues must be taken as only natural during a transitional period, and it has definitely generated views and counterviews among the Nepali community. It is only natural then that such views and counterviews have spilled on to the virtual public sphere of online news portal. Almost all issues studied and analyzed here fall under the jurisdiction of aforesaid topics. For these reasons, controversies and arguments between two sets of thoughts are only natural, both in the actual world and in the virtual world. Even so, nothing can replace universally accepted democratic norms and values.


The virtual world of online news portal seems to be governed by these topics, which is quite natural. However, the tone of feedback often seemed to deviate towards negativity – up to the point where people did not respect each other's freedoms and beliefs. This latter observation is critical to our circumstance; it can hamper the spirit of our dream to develop an equitable and civilized society. We have yet to realize that there is a need of protecting virtual public space for good learnings and ensuring civic behavior as in the real world.

References

अनलाइनखबर (सन् २०१५) आलोचना सहेर भए पनि नेपाललाई दबाव जारी राख्नुपर्छ : भारतीय पूर्वराजदूत मुखर्जी  (Nepal should be pressurized even if it draws criticisms:  Former Indian Ambassador Mukherjee)  Retrieved from:    http://www.onlinekhabar.com/2015/12/359733/  on December 7, 2015.


अनलाइनखबर (सन् २०१५) ग्यास र तेलको कारोबारमा पूर्वराजाका ज्वाइँदेखि शेरबहादुरका सालासम्म ! (Former king Gyanendra's son-in-law to former prime minister Sher Bahadur's brother-in-law have been involved in transaction of gas and oil) Retrieved from http://www.onlinekhabar.com/2015/12/358061/ on December 3, 2015.


अनलाइनखबर । (सन् २०१५) तराईलाई भारतमा गाभ्न यसकारण असम्भव  (This is why it is impossible to merge Nepal in India) Retrieved from:

अनलाइनखबर । (सन् २०१५) दुई सातामा ओली असफल भए राजतन्त्र फर्किन्छः राप्रपा नेपाल  (Kingship comes back if Oli fails to address the problem in two weeks : RPP Nepal) Retrieved from http://www.onlinekhabar.com/2015/12/358252/  on December 3, 2015

अनलाइनखबर (सन् २०१५) भर्‍याङमुनि साप पालेका थियौं, टोक्छ भन्ने थाहा थियो: राजेन्द्र पाण्डे (We had raised a snake beneath the staircases, and it was our in knowledge that it bites us one day: UML leader Rajendra Pandey)
Retrieved from:   http://www.onlinekhabar.com/2015/12/359217/   on December 6, 2015.

अनलाइनखबर (सन् २०१५) राष्ट्रिय मुस्लिम गठबन्धन मधेसी मोर्चाबाट अलग (National Muslim Alliance Alienates itself from Madhesi Front) Retrieved from: http://www.onlinekhabar.com/2015/12/360054/ on December 8, 2015.


अनलाइनखबर (सन् २०१५) सरकार, कांग्रेस र मधेसी मोर्चाको त्रिपक्षीय वार्ता साँझ  (Tri-lateral dialogue among government, Congress and Madheshi Front is to take place this evening) Retrieved from:

Acharya, Ujjwal. (2012). Online Media in Nepal: Need for Policy Intervention. Kathmandu: Alliance for Social Dialogue. Retrieved from: http://research.butmedia.org/wp-content/uploads/2013/09/online_media_in_nepal_UjjwalAcharya.pdf. accessed on January 9, 2015.

Embassy of India (Kathmandu, Nepal). (2016). Previous Ambassadors. Retrieved from http://www.indianembassy.org.np/index1.php?option=e6r5wlVM8od_u8Y0CdwsDiTfg0cohLLpEcNS8hphu-0&id=PNhhtjKCPnWueLYvCJ1-HzWqDzcVM2RRbQZpr2_eB2Q  accessed on January 10, 2016

Mukharjee, Shiv Shankar. (2016). 'News analysis: India should ignore criticism of its Nepal policy, continue what it's doing.' The Times of India. Retrieved from:  http://timesofindia.indiatimes.com/india/News-analysis-India-should-ignore-criticism-of-its-Nepal-policy-continue-what-its-doing/articleshow/49098388.cms  on January 13, 2016


SOAS University of London.  (2016). Mr Shiv Shankar Mukherjee. Retrieved from

WhatIs.com. (2016). Web 2.0.  Retrieved from: http://whatis.techtarget.com/definition/Web-20-or-Web-2     on January 12, 2016