Sunday, October 30, 2016

पहरामाथिको पोथ्रो


–यमबहादुर दुरा

गण्डकी अञ्चलको सेरोफेरोमा बिछट्टै लोकप्रिय रहेको ‘ठाडो भाका’ पतनको संघारमा छ । यो भाका लमजुङे भाका, कर्पुटारे भाका, दुरा भाका आदि नामले पनि परिचित छ, जुन चर्चित गायकद्वय देउबहादुर दुरा  र पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३) ले शुरु गरेको साङ्गीतिक विरासत मानिन्छ । पश्चिम लमजुङको करापुटार ‘ठाडो भाका’ को उर्वरभूमि मानिन्छ ।

करापुटारमा लाग्ने शिवरात्रि र फागुपूर्णिको जात्रामा ‘ठाडो भाका’ घच्चीको खाल जम्थ्यो । देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको गीत सुन्नका लागि गोरखा, लमजुङ, तनहूँ, कास्कीलगायतका जिल्लाबाट किचाघान मानिस ओइरिन्थे ।

अहिले ५० वर्षभन्दा कम उमेरका मानिसले ‘ठाडो भाका’ गाउन जान्दैनन् । औंलामा गन्न सकिने पारखीहरूले मात्र यो गीतमा सवाल–जवाफ गर्न सक्छन् ।

नन्दमाया दुरा (६४ वर्ष) ठाडो भाकाका बचेखुचेका शिद्धहस्त प्रतिभा हुन् । उनी सञ्चारमाध्यम, चमकधमकपूर्ण जिन्दगी र प्रचारबाजीको दुनियाँबाट कोसौं पर छिन् । बाहिरी दुनियाँसँगको उनको परिचय बनेको छैन तर पनि स्थानीयस्तरको उनको नाउँ ठूलो छ । निरक्षर भएर पनि उनले गर्ने शब्दचयन धेरैले सराहना गरेका पक्ष हो । उनको सुमधुर स्वर र ओजिलो शब्दमा गीत गुञ्जिँदा ‘ठाडो भाका’ का अनुरागीहरू मन्त्रमुग्ध हुन पुग्छन् ।

१६ वर्षको उमेरमै एक पल्टनिया जवानसँग उनको लगनगाँठो कसियो । उनको श्रीमान्  भारतीय सेनामा कार्यरत थिए । उनी विवाह गरेर गएपछि एकपटक एक पटकमात्र छुट्टीमा घर आए, त्यसपछि कहिल्यै पनि फर्केनन् । सन् १९७१ को बंगलादेशको स्वतन्त्रता आन्दोलनमा उनले ज्यान गुमाएकोे खबर घरै बसेर थाहा पाइन् । त्यही आन्दोलनमा उनको जेठाजुको पनि देहान्त भयो ।

कलिलो बैंशमै विधवा बन्नुपर्ने नियति भोगेकी नन्दमाया दुरालाई आफ्नै निःसन्तान दिदीले आफैंतिर तानिन् । आफ्नै भिजानुसँग उनको दोस्रो घरबार जोडियो । यसपछि उनको जीवनमा अर्को अध्याय शुरु भयो । उनको एउटा छोरा छ । उनको पनि घरबार भइसकेको छ । नन्दमाया दुराको दिदी र श्रीमानले यस दुनियाँबाट बिदा लिइसकेका छन् । अहिले उनी पाँचजना नातिबाट घेरिएकी छिन् ।

जिन्दगीले जस्तो व्यवहार गरे पनि उनले गायन छाडिनन् । उनले ‘मुखको सरस्वती’ को आरधना गर्न छाडिनन् । गीतको माध्यमबाट दुखका रेखाहरू मेटाउने प्रयास गरिन् । सामाजिक जमघट र मेलापातहरूमा उनले आफ्नो कला र गलाको परिचय दिइरहिन् ।

उनको प्रतिभालाई नजिकबाट चिन्नेहरू उनलाई उच्चकोटीका गायिकाको श्रेणीमा राख्छन् ।  नन्दमाया दुराको प्रतिभासँग परिचित पूर्वशिक्षक लोकबहादुर दुराको दृष्टिमा उनी विलक्षण प्रतिभा भएकी बिरलाकोटीमा पर्ने गायिका हुन् ।

उनको गीतमा लोकजीवनको विम्ब र स्थानीयपन भेटिन्छन् । धेरैको भनाइमा उनको गीत–गुञ्जन यति मिठासपूर्ण र सुगन्धमय छ, टहटह जून लागेको शरदकालीन रातमा मगमगाउने केवँराको फूलको वासनाजस्तो । उनको लालित्यपूर्ण गीत सुन्न थालेपछि गीतको खालमा बसेकाहरू उठ्नै मन गर्दैनन् ।

उनले आफ्नो सांगीतिक यात्राको उत्कर्षमा दीर्घराज अधिकारी 'भेँडीखर्के साइँला' (जन्म : वि.सं. १९९०) लगायतका नामुद गायकहरूसँग डटेर सवाल–जवाफ गरिन् । अहिले भने समयले आफूलाई पछि पार्दै लगेको उनलाई अनुभूति हुन थालेको छ । यतिबेला गाउँघरमा आयातीत गीत र ‘रेकर्डेड म्युजिक’ बाढी पसेको छ ।

परम्परागत सांगीतिक पद्धति ओझेलमा पर्दै गएको छ । बढ्दै गएको बुढ्यौलीले उनलाई ङ्याक्न थालेको छ । सामाजिक जमघटहरूमा ‘ठाडो भाका’ को मह्फिल जम्न छोडेको छ ।  उनी गाउँघरमा कहिलेकाहीँ जम्ने ठाडो भाकाको खालमा बिर्सन लागेको गीत फाँकी र फुंदाहरू सम्झने प्रयास गर्छिन् ।

पहिले पहिले चाडबाड, जात्राजस्ता सामाजिक जमघटहरूमा उनलाई निम्ता आउँथ्यो । निम्ता यति आउँथ्यो, निमन्त्रणाकर्ताहरूको मन राख्ने हम्मेहम्मे पर्ने । नयाँ पुस्तामा ‘ठाडो भाका’ को रौनक घटेकाले अहिले त्यो माहोल छैन । समयले अर्कै रुपरङ्ग लिएर आयो । यद्यपि अहिले पनि उनलाई निम्ता नआउने होइन । तर कम आउँछ । घरव्यवहारले किचिएकोले कतिपय निम्ता मान्न पनि भ्याउँदिनन् ।

प्रतिभा भएर पनि उनी कतै अल्झिरहेको र आफ्नो क्षमताको भरपूर उपयोग गर्ने अवसरमा बञ्चित भइरहेको प्रतीत हुन्छ । परिवर्तित समयको झोंक्कासँगै उनको सांगीतिक यात्रा निरन्तर खुम्चिँदै गइरहेको छ । कला र गलाले भरिपूर्ण भएर पनि उनको सांगीतिक ‘करिअर’ पहरोमाथिको पोथ्रोझैं निरन्तर टाक्सिँदै गएको छ ।

[साभार: हिमाल (कात्तिक १४-२७, २०७३, पृ.६४)। सामान्य परिमार्जनसहित । ]

[अद्यावधिक: २०७४।०५।२७, २०७५।०९।२३]