Friday, May 30, 2014

इतिहास अन्वेषणमा श्रीकान्त अधिकारीको योगदान

–यमबहादुर दुरा

आयरल्याण्डका लेखक तथा कवि ओस्कर वाइल्ड  (Oscar Wilde) ले एकपटक भनेका थिए, ‘जोकोही व्यक्तिको पनि इतिहास हुन्छ तर त्यो इतिहास लेख्न प्रतिवान् व्यक्ति चाहिन्छ ।’ राजनीतिज्ञ तथा समाजसेवी श्रीकान्त अधिकारीको जीवनमा ओस्कर वाइल्डको भनाइ लागू भएको पाइन्छ । उहाँले स्वाभाविक रूपमा आफ्नो इतिहास बनाउनुभयो र त्यसलाई लिपिबद्ध पारेर पनि छाड्नुभयो ।

मेरो बुझाइमा श्रीकान्त अधिकारी इतिहासलाई रहस्यको गर्भमा हराउन नदिन प्रयासरत रहने र इतिहासबाट पाठ सिकेर अघि बढने स्वाभावको व्यक्ति हुनुहुन्थ्यो । उहाँ सुदूर अतीतदेखि निकट अतीतसम्मका सामाजिक एवम् राजनीतिक घटनाक्रम सम्झनुहुन्थ्यो र ती घटनाबारे विश्लेषणात्मक धारणा अघि सार्नुहुन्थ्यो । उहाँको त्यसप्रकारको विशेषताबाट नयाँ पुस्ताले इतिहासबारे जानकारी हाँसिल गर्ने अवसर पाएको मेरो अनुभव छ । सधैं इतिहाससँग अद्यावधिक हुन चाहने र त्यसबाट सिकेको पाठ नयाँ पुस्तामाझ राखिदिने उहाँको स्वाभाव थियो ।

वि.सं. २००७ को राणाविरोधी आन्दोलन सफल भएपछि श्रीकान्त अधिकारी र उहाँका सहधर्मीहरूले गर्नुभएका समाज सुधारका काममध्ये इतिहासको खोजी एक थियो । हामीसँगको थुप्रै अनौपचारिक भेटघाटमा उहाँ यस्तै प्रसंग निकाल्नुहुन्थ्यो । इतिहास खोजी गर्ने क्रममा कहिले ठूलोस्वाँरा (लमजुङ) का चन्द्रसिंह दुराको घरमा पाइलो हालेको कहिले पुरानकोटको होमे जिम्मावाल (होमबहादुर गुरुङ) को घरमा पुगेको त कहिले गाउँशहरको खडे जिम्मावाललाई भेटन गएको प्रसंग सुनाउनुहुन्थ्यो । उहाँका ती प्रयास विगतलाई चिन्ने कामसँग गाँसिएका थिए ।

उहाँको प्रयासले एउटा सार्थक परिणाम पनि दियो । नेपालको शाहवंशीय राजसंस्था स्थापनामा खजे दुरा र उनका समकालीन सहकर्मीहरूको योगदानबारे श्रीकान्त अधिकारीको नेतृत्वमा इतिहास अन्वेषण कार्य सम्पन्न भयो ।  २०३३ सालमा दुराडाँडाको च्यानपाटामा खजेपार्क स्थापना भयो । यसबाट आफ्नो हराएको पहिचान खोजिरहेका अल्पसंख्यक दुरा समुदायलाई गुनमात्र लागेन, नेपालको राष्ट्रिय इतिहास जगेर्ना गर्ने कार्यमा समेत टेवा पुग्यो ।

हाम्रा पुराना पुस्ताको पदचाप पहिल्याउने, पूर्खाहरूबारे खोनखनिज गर्ने, त्यसबाट प्राप्त तथ्यहरूलाई विश्लेषण गर्ने र त्यसबाट पाठ सिक्ने सन्दर्भमा यो एउटा महत्वपूर्ण कदम थियो । इतिहास अन्वेषणको त्यो गुनिलो अध्यायलाई  चिरस्मरणीय प्रसंग बनाउनु हाम्रो दायित्व भएको छ ।

ऐतिहासिक स्मारकको रूपमा च्यानपाटामा स्थापित खजेपार्कले सिङगो दुराडाँबासीेको शिर ठाडोमात्र बनाएको छैन, इतिहासप्रति रूचि राख्ने र सहअस्तित्वपूर्ण नेपाली समाजको परिकल्पना गर्ने तमाम नेपाली नागरिक पुग्नलायक ठाउँको सूचीमा दुराडाँडाका नाम लेखिदिएको हो । हामीले राम्ररी चिन्न सक्ने हो भने खजेपार्क ऐतिहासिक महत्वको तीर्थस्थल हो । हामी मन, वचन र कर्मले प्रतिबद्ध रहने हो भने यसलाई पर्यटकीय आकर्षणको केन्द्रविन्दुको रूपमा विकास गर्न सकिन्छ ।

यद्यपि अहिले न शाहवंशीय राजसंस्था छ, न त हिजोको जस्तो राजनीतिक परिपाटी नै । आखिर इतिहास इतिहास नै हो । समाजमा देखापरेको नयाँ परिदृश्यले ऐतिहासिक तथ्यलाई प्रस्थिापन गर्न सक्दैन । साम्राज्यवादी बेलायतले भारत छाडेको ६६ वर्ष जति भइसक्यो, तर पनि कतिपय भारतीय शहरहरूमा बेलायती शासकको शालिक अझै पनि खडा छ । इतिहासबाट पाठ सिक्न सकिन्छ तर यसलाई तोडमोड गर्न सकिन्न ।

वर्तमानको जरा इतिहाससँग नै गाँसिएको हुन्छ । इतिहास नबुझी वर्तमानलाई सही किसिमले चिन्न सकिन्न । अमेरिकी इतिहासकार डेभिड मकल (David McCullough) भनाइमा हामी को हौं र हामी किन यो अवस्थामा छौँ  भन्नेबारे जानकारी दिने शास्त्र नै इतिहास हो । इतिहासले वर्तमानलाई प्रत्यक्ष वा परोक्ष रूपमा दिशानिर्देश गरिरहेको हुन्छ ।

पुरानो पुस्ताको भोगाइ र भुक्तमान नबुझी आफू बाँचेको युगको सग्लो तस्बिर भेट्न सकिन्न । श्रीकान्त अधिकारीले यो तथ्य राम्रोसँग बुझेको देखिन्छ । त्यसैले उहाँ इतिहास खोज्नतिर लाग्नुभयो । इतिहासको पानामा लुकेका तथ्यहरूलाई जनसमक्ष ल्याउनुभयो ।

उहाँलाई पूर्ण रूपमा इतिहासकार भन्न नसकिएला तर उहाँको इतिहासप्रतिको चेतना र लगावलाई नमन गर्नैपर्छ । उहाँमा इतिहासप्रतिको त्यसस्तरको चेतना र लगाव नभएको भए उहाँबाट यसप्रकारको युगान्तकारी कार्य सम्भव थिएन ।

उहाँको राजनीतिज्ञ र समाजसेवीको छवि त आफ्नो ठाउँमा छँदैछ, त्यसमा इतिहास अन्वेषकको छवि पनि थपिएको छ । हराएको इतिहासको पाना खोजेर उहाँले हामीसमक्ष राखिदिनुभएको छ । उहाँले आफ्नै हातले इतिहास नलेखे पनि कर्म र भावनाले  इतिहास लेख्नुभयो । अहिले समयले उहाँलाई नै इतिहास बनाइदियो । उहाँको कर्मले उहाँ स्वयंको र समाजको इतिहास लेखेको छ, जुन ढुङ्गामा लेखिएको अक्षरजस्तै धेरै हदसम्म चिरस्थायी रहनेछ ।

[साभार:  श्रीकान्त अधिकारी स्मृति ग्रन्थ, २०७०]

[अद्यावधिक : २०७१।०५।२४ ]

Saturday, May 17, 2014

नेपाल–अङ्ग्रेज युद्धको विरोधाभासपूर्ण प्रसंग


–यमबहादुर दुरा

नोभेम्बर १, १८१४ । अङ्ग्रेज (तत्कालीन ब्रिटिश इन्डिया) ले नेपालविरुद्ध युद्ध घोषणा गरेको दिन । तत्कालीन ब्रिटिश इन्डियाका गभर्नर जनरल वारेन हेस्टिङ्सले नेपालमाथि धावा बोलेको दिन । नेपालको इतिहासमा एउटा दुःखद अध्याय थपिएको दिन । पृथ्वीनारायण शाह र उहाँका सन्ततिले सम्हालेर एकगठ बनाएको नेपाल खण्डीकृत हुने पृष्ठभूमि बन्न शुरु भएको दिन ।
युद्धघोष गर्ने व्यक्ति : तत्कालीन ब्रिटिश इन्डियाका गर्भनर जनरल वारेन हेस्टिङ्स (सन् १७३२–१८१८), जसले नेपालविरुद्ध युद्धको घोषणा गरेका थिए ।

अङ्ग्रेजबीच युद्ध भएको दुई शताव्दी हुँदैछ । २०० वर्ष अघि भएको युद्धका कतिपय प्रसंगहरू विस्मृत बनेर इतिहासको गर्भमा हराइसकेका छन् भने उचित अभिलेखीकरणको अभावमा कतिपय प्रसंग धमिलो स्मृतिमात्र बनेका छन् । कतिपय प्रसंग प्रमाणको अभावमा अनुमान र अपव्यख्याको विषय बनेको तथ्यलाई पनि बिर्सन मिल्दैन ।

सन् १८१६ मार्च ४ तारिखमा भारत (बिहारको मोतीहारी जिल्ला) स्थित सुगौली भन्ने ठाउँमा शान्ति तथा मित्रतासम्बन्धी सन्धिमा सहीछाप गरेपछि नेपाल–अङ्ग्रेज युद्धको विधिवत अन्त्य भएको थियो, जुन ‘सुगौली सन्धि’ नामले परिचित छ । सन्धिमा हस्ताक्षर भएपछि पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म विस्तार भएको नेपालको भूगोल खुम्चिएर पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित भयो । यसबाट नेपालले आफूले चर्चेको एक तिहाइ भू–भाग गुमायो ।

‘सुगौली सन्धि’ लाई असमान सन्धिको उत्तम दृष्टान्तको रूपमा लिने गरिन्छ । सन्धिको दफा ६ मा नेपाल र सिक्किमबीच कुनै मतभिन्नता देखिएमा त्यसको मध्यस्थता बेलायत सरकारले गर्ने र उसले गरेको निर्णय नेपालले मान्नुपर्ने उल्लेख छ । सोही सन्धिको दफा ७ मा नेपालले बेलायतको अनुमतिबिना कुनै बेलायती, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउने छैन भनिएको छ । सन्धिमा भएका यस्ता प्रावधान पढ्दा यस्तो लाग्छ,  युद्ध सकिएपछि पनि नेपालको अस्तित्वमाथि अङ्ग्रेजले धावा बोलिरहेको अनुभूति हुन्छ ।

विश्वसामु 'वीर गोर्खाली' भनेर चिनिएका नेपालीको रगत उमाल्ने गरी शुरु भएको र तिनै 'वीर गोर्खाली' लाई चरम निराशामा डुबाएर अन्त्य भएको त्यो युद्धको कारण के थियो होला ? युद्धको पृष्ठभूमिबारे घोत्लिँदा केही रोचक र कतिपय अवस्थामा विरोधाभासपूर्ण प्रसंगहरू फेला पर्छन् ।

विश्वभर साम्राज्य फैलाउँदै अरूलाई आफ्नो अधिनमा राख्ने प्रवृत्तिका कारण विश्वभर परिचित अङ्ग्रेजहरूले नेपालमाथि हमला गर्नुका पछाडि उसको साम्रज्यवादी चरित्र नै मुख्य कारण रहेको एकथरी इतिहासकारहरूको बुझाइ छ । यद्यपि यसलाई मात्र पहिलो र अन्तिम कारण भने मान्न सकिँदैन । यसका पछाडि राजनीतिक, आर्थिक तथा अन्य तत्कालीन परिस्थितिहरू पनि उत्तिकै गहिरोसँग गाँसिएका देखिन्छन् । यसबारे स्वदेशी तथा विदेशी थुप्रै विद्वानहरूले प्रसस्त विश्लेषणात्मक धारणा पेश गर्नुभएको छ ।

शुरुमा व्यापार गर्ने उद्देश्यले भारत छिरेका अङ्ग्रेजहरूले कालान्तरमा त्यहाँको शासन–सत्ता  नै आफ्नो हातमा लिएको घटनाक्रमसँग परिचित पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूले कुनै न कुनै दिन नेपालमाथि आक्रमण गर्छ भन्ने आभाष पाइसक्नुभएको बुझिन्छ । इतिहासकार बाबुराम आचार्यले यसबारे चर्चा गर्नुभएको छ । उहाँले ‘श्री पाँच बडामहाराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ पुस्तकमा पृथ्वीनारायण शाहले गर्नुभएको भविष्यवाणीबारे लेख्नुभएको छ, ‘दक्षिणपट्टी उत्तरहिन्दुस्थानका बङ्गालदेखि रुहेलखण्डसम्म इष्ट इन्डिया कम्पनीको आधिपत्य स्थापित भएको हुनाले यस कम्पनीसँग राजनैतिक सम्झौता स्थापित भएको भए पनि त्यो कच्चा छ र निकट भविष्यमा नै एक न एक दिन उसको नेपालमाथि आक्रमण हुन्छ र अङ्ग्रेजहरू पेशवाका गृहयुद्धमा पसेका हुनाले यसद्वारा हुने युद्ध सकिनेबित्तिकै नेपालमा आक्रमण हुन्छ भन्ने उनले ताडेका देखिन्छ’ (पृ.४८२) ।
वीर बलभद्र : नालापानीको युद्धमा अङग्रेजसँग बहादुरीपूर्वक लडेका बलभद्र कुँवर ।

अङ्ग्रेजहरूबाट भविष्यमा हुनसक्ने आक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे दूरदर्शी राष्ट्रनिर्माताका रूपमा परिचित पृथ्वीनारायण शाहले उपदेशात्मक सुझाव दिनुभएको छ । यसबारे इतिहासकार आचार्य लेख्नुहुन्छ, ‘‘अङ्ग्रेजले निकट भविष्यमा नै आक्रमण गरेमा आफ्ना उत्तराधिकारीहरूले कर्तव्य सम्झून् भनेर ‘दक्षिण सीमानाका अङ्ग्रेजसंग मित्रसंबन्ध राख्नू अर्थात् मैदानमा उसका देशमा जाइनलाग्नू । आइलाग्यो भने भामर (भावर) सम्म आउनदिई गुरिल्ला लडाइँद्वारा त्यसलाई परास्त गरी फर्काउनू’ भन्ने उपदेश श्री पाँच पृथ्वीनारायण शाहले दिएका थिए । त्यतिमात्र होइन, ‘त्यो महाचतुर छ । लडाइँ नगरीकन पनि छल कपट गरी घुस्न आउनेछ । होसियार भई अगावै सन्धि सर्पन हेरी गढी बनाई बाटाघाटामा भाँजा हलिराख्नू’ भन्ने उपदेश पनि उनले दिएका थिए’’ (पृ.४८२–४८३) ।

हुन पनि पृथ्वीनारायण शाहले भन्नुभएजस्तै अङ्ग्रेजहरू महाचतुर देखिन्छ । उहाँ (पृथ्वीनारायण शाह) ले सचेत गराउँदा गराउँदै पनि उहाँका उत्तराधिकारीहरूका पालामा लडाइँ नगरीकन अङ्ग्रेजहरू नेपालमा घुसेर स्वार्थसिद्धि गर्न सफल भएको पाइन्छ । अङ्ग्रेजलाई नेपाल घुस्न नदिन पृथ्वीनारायण शाहका सन्ततिहरूले विविध कूटनीतिक प्रयास गरेको देखिन्छ तर ती प्रयास कालान्तरमा असफलतामा परिणत भएको पाइन्छ । अङ्ग्रेज सरकारका दूत कर्कप्याट्रिक नेपाल आउन खोज्दा दरबारले विभिन्न बहाना बनाएर उनलाई नेपाल भित्रन नदिएको तर लगातारको पत्राचार तथा अन्य कुटनीतिक प्रयासबाट अन्ततः उनी नेपाल आउन सफल भएको प्रसंग इतिहासमा पढ्न पाइन्छ ।

उहाँ नेपाल आउन खोज्नुका पछाडि मूल रूपमा दुइटा मूल कारण थिए : पहिलो, विवादित सीमाबारे नेपालसँग कुरा गर्ने र दोस्रो, नेपालसँग व्यापरिक सम्बन्ध स्थापना गरेर विस्तार आफ्नो अधिनमा ल्याउने । नेपालबारे गोप्य रूपमा सूचना संकलन गर्नु उनको अघोषित अभीष्ट त छँदैथियो । इतिहासकार डा. डिल्लीरमरण रेग्मीले ‘मोडर्न नेपाल’ (भोल्युम १ र २) पुस्तकमा कर्कप्याट्रिकको नेपाल भ्रमणलाई स्वार्थप्ररित भ्रमण भन्नुभएको छ (पृ. ५२२)  । उहाँले कर्कप्याट्रिकले नेपालबार गोेप्य सूचना प्रवाह गर्न वा आवश्यक गोप्य परामर्श गर्न ब्रिटिश–इन्डियाको तत्कालीन राजधानी कलकत्तास्थित उच्चपदस्थ अधिकारीहरूसँग भएमा कोड (साङ्केतिक भाषा) प्रयोग गरेको उल्लेख गर्नुभएको छ (पृ. ५२७) ।

कर्कप्याट्रिक नेपाल आउँदा–नआउँदै नेपाल र अङ्ग्रेजबीच व्यापरिक सन्धिको सिलसिला शुरु भएको पाइन्छ । इतिहासविद नगेन्द्रकुमार सिंहले ‘नेपाल एण्ड द ब्रिटिश इन्डिया’ पुस्तकमा नेपाल र अङ्ग्रेजबीच सन् १७९२ मार्च १ र त्यसभन्दा पछि सन् १८२६ अक्टोबर २६ तारिखमा नेपालसँग व्यापारिक सन्धि गर्न सफल भएको उल्लेख गर्नुभएको छ । यसप्रकार अङ्ग्रेजले नेपालमा पाइला हाल्ने बाटो अगाडि नै बनाइसकेको प्रष्टै देखिन्छ । उनीहरूले नेपालसँग व्यापारिक सन्धि हुनुभन्दा अगावै विभिन्न माध्यमको उपयोग गरेर गुप्त वा प्रत्यक्ष रूपमा नेपालबारे आवश्यक जानकारी लिइसकेको देखिन्छ ।

इतिहासकार बाबुराम आचार्यले अङ्ग्रेजहरूले नेपालमा आएर गुप्तचरी गरेको एउटा रोचक प्रसंग अघि सार्नुभएको छ । उहाँले तत्कालीन मुख्तियार भीमसेन थापाले नेपालका सैनिकहरूलाई व्यवस्थित रूपमा तालिम दिन भनेर बे्रल र बे्रन नाम गरेका दुईजना अङ्ग्रेज नागरिकलाई त्यतिबेला नै मासिक पाँच/पाँच सय रुपैयाँ तलब दिई सैनिक सेवामा भर्ना गरेको र पछि उनीहरू नेपालको सैन्यशक्तिबारे यथेष्ट जानकारी लिएर भाग्न सफल भएको उल्लेख गर्नुभएको छ । यी विभिन्न घटनाक्रमबाट अङ्ग्रेजले नेपालप्रतिको दृष्टिकोण सफा थिएन भन्ने आधार मिल्छ । समग्रमा भन्दा अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्ने पृष्ठभूमि तयार हुँदै थियो । आक्रमणको अभ्यास कतै नेपथ्यमा भएका थिए भने कतै हाकाहाकी नै । आक्रमणका पछाडि दृश्य र अदृश्य कारण थिए ।
नालापानी : हाल भारतको देहरादूनमा रहेको नालापानी किल्ला, जहाँ बलभद्र कुँवरको नेतृत्वमा रहेको योद्धाहरूको आक्रमणबाट ब्रिटिश इन्डिया सेनाका मेजर जनलर रोलो जिलेस्पी मारिएका थिए ।

अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्नुका पछाडि यहाँको सुरम्य जलवायु पनि एक हो भन्ने तर्क पनि अघि सारिएका छन् । भनिन्छ, युरोपको चीसो हावापानीमा हुर्किएका अङ्ग्रेजहरूलाई भारतको गर्मी हावापानी पचाउन कठिन भइरहेको थियो, त्यसैले उनीहरूले मातादिल जलवायु भएकोे देश नेपालमा आँखा गाडिरहेका थिए । यद्यपि यस्तो तर्कलाई राष्ट्रवादी धारमा लेखिएको इतिहासको कमजोर तर्क मान्नेहरू पनि छन् । तर पनि नेपालका कतिपय इतिहासकारले सुरम्य जलवायु भएको नेपाललाई हत्याउन अङ्ग्रेजले आक्रमण गरेको तर्क अघि सार्नुभएको छ । यद्यपि यसलाई नेपाल–अङ्ग्रेज युद्धको प्रत्यक्ष कारण भने मान्न सकिँदैन ।
तोत्रराज पाण्डेय र नयराज पन्तले ‘नेपालको संक्षिप्त इतिहास’ पुस्तकमा यस्तै प्रसंग कोट्याउनु भएको छ । उहाँहरू लेख्नुहुन्छ, ‘यूरोपजस्तो ठण्डा मुलुकका बासिन्दा अङ्ग्रेजहरूलाई भारतको गर्मी खप्न गाह्रो पर्दथ्यो । यस कारण हिमालयको काख नेपाललाई हात लाउने यिनीहरूको भित्री मनासय थियो’ (पृ. ११९) ।

यस्तै तर्क इतिहासकार बाबुराम आचार्यको पनि छ । उहाँले नेपाल–अङ्ग्रेज युद्धको समयमा नेपालको मुख्तियार रहनुभएका मुख्तियार भीमसेन थापाबारे ‘जनरल भीमसेन थापा : यिनका उत्थान तथा पतन’ शीर्षकमा पुस्तक लेख्नुभएको छ । उहाँ पुस्तकमा लेख्नुहुन्छ, ‘उत्तरी भारतका समतल मैदानहरूमा आफ्नो अधिकार पूर्ण रूपमा स्थापित भैसकेपछि यसै मैदानसँग सीमाना जोडिएका – शीतल जलवायु भएका – नवगठित नेपाल अधिराज्यका पहाडी भू–भागहरूमाथि कम्पनी सरकारको सेवामा कार्यरत रहेका अङ्ग्रेजका पदाधिकारीहरूका आँखा लाग्नु स्वाभाविकै पनि हुन आएको थियो । वि.सं. १८६१ को आरम्भसम्ममा समग्र उत्तरी भागमा आफूहरू सर्वशक्तिमान भएपछि कम्पनी सरकारको सेवामा कार्यरत रहेका अङ्ग्रेजका पदाधिकारीहरूले नेपाल अधिराज्यका पहाडी क्षेत्रहरूमाथि आफ्ना गिद्धदृष्टिहरू दिन थालि पनि हाले’ (पृ. १०६) ।

अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्नुको योमात्र कारण भने थिएन । यसका पछाडि अरू पनि थुप्रै कारण थिए । त्यसमध्ये सीमाविवाद महत्वपूर्ण पक्ष थियो । विदेशी तथा स्वदेशी इतिहासकारहरूले नेपाल र अङ्ग्रेजबीच युद्ध हुनुमा सीमाविवादलाई प्रत्यक्ष कारण मान्नुभएको छ । इतिहासविद डा. डिल्लीरमण रेग्मीले पृथ्वीनारायण शाहको निधन भएको केही वर्षपछि नेपाल र अङ्ग्रेज सीमाविवाद चर्किएको प्रसंग उठाउनुभएको छ । उहाँले दुई देशबीच विद्यमान सीमाविवादलाई साम्य पार्न राजेन्द्र लक्ष्मी र बहादुर शाहले प्रयास गरेका चर्चा गर्नुभएको छ ।

यद्यपि इतिहास लेख्न बस्दा भारतीय तथा नेपाली इतिहासकारले केही हदसम्म आ–आफ्नो राष्ट्रवादी रुझान त्याग्न सक्नुभएको देखिँदैन । केही भारतीय इतिहासकारले नेपालले सीमाबारे बखेडा झिकेको उल्लेख गर्नुभएको छ भने नेपाली इतिहासकारले सीमाबारे भारतले  नै बखेडा झिकेको तर्क अघि सार्नुभएको छ । यी तर्क एक–आपसमा विरोधाभाषपूर्ण देखिन्छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयस्थित ‘सेन्ट्रल एशियन स्टडिज’ का निवृत्त प्राध्यापक राम राहुलले ‘रोयल नेपाल : अ पोलिटकल हिस्ट्री’ पुस्तकमा नेपाल र अङ्ग्रेजबीच युद्ध हुनुका कारण खोतल्नुभएको छ । उहाँले सीमाविवादका कारण नेपाल र अङ्ग्रेजबीच युद्ध भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालले ब्रिटिश–इन्डियाको जमिन अतिक्रमण गरेको दलिल पेश गर्नुभएको छ । राम राहुलले नेपालले पूर्णिया, गोरखपुर, बरेलीलगायत स्थानका केही भागमा आफ्नो हक दावी गरेपछि नेपाल र अङ्ग्रेजबीच युद्ध भएको तर्क अघि सार्नुभएको छ । ब्रिटिश–इन्डियाले सेना हटाउन पटक पटक आग्रह गर्दा पनि यी स्थानबाट नेपाली सेना नहटेपछि अङ्ग्रेजले नेपालविरुद्ध युद्ध गर्नुपरेको उहाँको भनाइ छ (पृ.२४) ।

ब्रिटिश–इन्डियाले नेपालसँग सीमाविवाद चर्काएको प्रसंग उल्लेख गर्दै इतिहासकार बाबुराम आचार्य लेख्नुहुन्छ, ‘यिनताक नेपाल–सरकार र कम्पनी–सरकारका राज्यक्षेत्रका सिमानाहरू स्पष्ट रूपमा अङ्कित भइसकेका थिएनन । साबिकदेखि चल्दै आइरहेको आ–आफ्ना भोगचलनहरूको आधारमा नै दुई देशका बीचका सीमानाहरू निर्धारण हुँदै आइरहेका थिए । कम्पनी–सरकारको सेवामा कार्यरत रहेका उच्चपदस्थ अङ्ग्रेज पदाधिकारीहरूले अब नेपाल–सरकारसँग सिमानासम्बन्धी विवादहरूलाई जोड–तोडका साथ उठाउन शुरु गरिदिए’ (पृ.१०७) ।

सीमाविवादको श्रृङ्खलाबद्ध घटनाक्रमको पछिल्लो चरणमा नेपाल र ब्रिटिश–इन्डियाबीच बुटवल र स्युराज कसको स्वामित्वमा रहने भन्ने विषयमा केन्द्रित भएको देखिन्छ । पाल्पाको अधिनमा रहेको बुटवललाई भीमसेन थापाका पिता अम्बरसिंह थापाको नेतृत्वमा वि.सं. १८६३ मा नेपालमा गाभिसकिएको थियो । पाल्पा राज्यले निष्कंंटक भोगचलन गर्दै बुटवल नेपालमा गाभिएपछि दक्षिणका छिमेकी अवधका नवाबहरूले कुनै हक दावी नगरेको तर पछि अङ्ग्रेजले बखेडा झिकेपछि सीमाविवाद चर्किएर गएको तोत्रराज पाण्डेय र नयराज पन्तले उल्लेख गर्नुभएको छ (पृ.१२०) ।

बुटवल क्षेत्रबाट २५ दिनभित्र नेपाली सुरक्ष बल हटाउन ब्रिटिश–इन्डियाले ‘अल्टिमेटम’ दियो । नेपालले ‘अल्टिमेटम’ को पालना गरेन । यसपछि ब्रिटिश–इन्डियाले १८१४ नोभेम्बर १ तारिखमा नेपालविरुद्ध युद्ध घोषण गर्यो । युद्ध भएरै छाड्यो । सीमाविवाद नै युद्धको प्रत्यक्ष कारण बन्यो । इतिहासका अध्येताहरूले युद्धका अप्रत्यक्ष कारणहरू औंल्याएका छन् : धर्मप्रचारमा नेपालमा आएका क्रिस्चियन पादरीहरूको विभिन्न समयमा गरिएको निष्काशन, ब्रिटिश–इन्डियाका दूतहरूसँगको खचपचपूर्ण सम्बन्ध, नेपालको प्राकृतिक स्रोतहरूको निर्वाध उपयोग गर्ने मनाशय, नेपालको बाटो हुँदै तिब्बतसित व्यापारिक सम्बन्ध कायम अभिप्राय, आदि । यिनै  प्रत्यक्ष र परोक्ष कारणबाट नेपाल–अङ्ग्रेज युद्धको पृष्ठभूमि तयार भएको देखिन्छ ।

नेपाल–अङ्ग्रेज युद्धलाई राष्ट्रवादी धारबाट विश्लेषण गर्ने कि तत्कालीन विश्वराजनीतिक दृष्टिबाट विश्लेषण गर्ने भन्ने कुरा बहसको विषय बन्न सक्छ ।


[साभार : गोरखापत्र  'शनिबार' (जेठ ३, २०७१)। तस्बिर  : इन्टरनेट ]


Saturday, May 3, 2014

संग्रहालयमा रक एण्ड रोल

–यमबहादुर दुरा

सन् २०११ जुलाई १७ तारिखमा अमेरिकाको क्लिभल्याण्डमा  थिएँ । अमेरिकाको पाँचौ तथा विश्वको दशौं ठूलो मानिने इरी तालको दक्षिणी किनारमा अवस्थित क्लिभल्याण्ड अमेरिकास्थित ओहायो राज्यको सुन्दर शहरहरूमध्ये एक मानिन्छ । संयोगले त्यस सुन्दर शहरमा पाइला टेक्न पाएकोले अल्पकालका लागि भए पनि यायावरीय भूमिका निर्वाह गर्न पछि परिएन । केही विदेशी साथीसंगीका साथमा क्लिभल्याण्डको दृश्यपान गर्दै यताउति टहलियौँ ।

त्यस क्रममा स्थानीय टेलिभिजन च्यानल ‘१९ एक्सन न्यूज’, अफ्रिकन अमेरिकन समुदायले सञ्चालन गरेको ९५ वर्ष पुरानो साप्ताहिक समाचारपत्र ‘कल एण्ड पोष्ट’ को कार्यालयलगायत सञ्चार गृह र शहरका नामी गिरामी दर्शनीय स्थलहरू घुम्यौँ । त्यही सिलसिलामा जिन्दगीमा पहिलोपल्ट संगीत संग्रहालयमा पुगियो । त्यस संग्रहालयलाई स्थानीय बासिन्दाहरूले ‘रक एण्ड रोल म्युजियम’ भन्दारहेछन् । संग्रहालयको खास नाम रहेछ, ‘रक एण्ड रोल हल अफ फेम एण्ड म्युजियम’ ।
क्लिभल्याण्स्थित 'रक एन्ड रोल' संगीत संग्रहालय । तस्बिर साभार: इन्टरनेट


मेरो मन शहरका अन्य कुराले भन्दा संगीत असंग्रहालयले नै बढी छोयो । गैरनाफामुखी उद्देश्यले खोलिएको संग्रहालयको मुख्य उद्देश्य रहेछ, ‘रक एण्ड रोल’ संगीतलाई संरक्षण तथा सम्वद्र्धन गर्नु । संग्रहालयको उद्देश्यबारे संस्थाको वेबसाइटमा भनिएको छ, ‘उत्कृष्ट संगीत संकलन गर्ने, संरक्षण गर्ने, अभिलेखीकरण गर्ने, तिनलाई प्रदर्शन गर्ने तथा तिनको व्याख्या–विश्लेषण गर्ने ।’ संग्रहालय भ्रमण गर्ने पाहुनाहरूलाई ‘रक एण्ड रोल’ संगीतको इतिहाससँग परिचित तुल्याउनु पनि संग्रहालयको उद्देश्य रहेछ ।

संग्रहालयले विभिन्न विधि प्रयोग गरेर ‘रक एण्ड रोल’ संगीतको समग्र इतिहासलाई अभिलेखीकरण गर्ने काम गरेको रहेछ । त्यहाँ चर्चित संगीतकार, व्याण्ड तथा संगीत उद्योगको इतिहास जोगाउने काम भएको छ । संग्रहालयमा ‘रक एण्ड रोल’ संगीतमा जमेका कलाकारको तस्बिर, भिडियो प्रोफाइल, प्रेमपत्र, अल्बम, आदिजस्ता उनीहरूका का जीवन बोल्ने सामग्रीहरू राखिएका छन् । कलाकारले गीत रेकर्ड गराएको स्टुडियो पनि संग्रहालयमा राखिएका छन् ।

त्यहाँ ‘रक एण्ड रोल’ संगीतमा जमेका कलाकारको भिडियो प्रोफाइल र तिनका म्युजिक भिडियो हेर्ने एवम् गीत सुन्ने व्यवस्था पनि गरिएको छ । यसले समय समयमा कन्सर्ट, स्टेज सो र खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने रहेछ । यसरी विविध उपाय अपनाएर त्यस संग्रहालयले ‘रक एण्ड रोल’ संगीतको समग्र इतिहासलाई जोगाउने हरसम्भव प्रयास भएको देखिन्छ ।

सन् १९८३  अप्रिल २० तारिखमा  ‘रक एण्ड रोल हल अफ फेम फाउन्डेसन’ स्थापना गरेर संग्रहालय निर्माण कार्य अघि बढाइएको रहेछ । संग्रहालयको टावरको उचाइ १६२ फिट भने संग्रहालय भवन लगभग एक लाख ५० हजार वर्गफिट क्षेत्रमा फैलिएको छ । सन् १९९५ सेप्टेम्बर १ तारिखदेखि संग्रहालय दर्शकका लागि खुला गरिएको रहेछ ।

‘रक एण्ड रोल’ नामकरण कसले ग-यो भन्नेबारे विवाद छ । एकथरीले संगीत पत्रकार माउरी ओरोडेन्करले ‘रक एण्ड रोल’ शब्दावली प्रथम पटक प्रयोग गरेको मान्छन् । न्यूयोर्कबाट निस्कने संगीतसम्बन्धी म्यागजिन ‘बिलबोर्ड’ का स्तम्भकार रहेका ओरोडेन्करले सन् १९४२ मा ‘रक एण्ड रोल’  भन्ने शब्दावली पहिलो प्रयोग गरेको उनीहरूको ठहर छ । उनले ‘अपबिट’ अर्थात् उल्लासपूर्ण संगीतलाई बुझाउन यस्तो शब्दावली प्रयोग गरेका थिए भन्ने उनीहरूको बुझाइ छ  ।

अर्काथरीले यसको श्रेय चर्चित अमेरिकी डिजे अलान फ्रिडलाई दिन्छन् । उनी सन् १९५१ तिर क्लिभल्याण्डस्थित रेडियो स्टेसन ‘डब्लूजेडब्लू’ मा काम गर्थे । त्यसबेला उनी ‘मूनडग’ छद्मनामबाट कार्यक्रम सञ्चालन गर्थे । उनले सन् १९४० को दशकमा अस्तित्वमा आएको सुमधुर शैलीका अफ्रिकन–अमेरिकन गीतहरू प्रसारण गरेर श्रोतागणलाई भरपूर मनोरञ्जन दिन्थे । रिदम एण्ड ब्लुज (आर एण्ड बी) नामले चिनिने ती सुमधुर संगीतलार्ई उनले ‘रक एण्ड रोल’ भन्न थाले ।

‘रक एण्ड रोल’ शब्दावलीको प्रयोगबारे जेजस्ता मतमतान्तर रहे पनि यो संगीत अमेरिकी जनताको हृदयको संगीत बन्न सफल भयो । ‘रक एण्ड रोल’ संगीतको आरोह–अवरोहबारे पनि थुप्रै कालक्रमगत मतभिन्नता छन् । जेहोस् ‘रक एण्ड रोल’ संगीत सन् १९४० को दशकतिर शुरु भएर सन् १९६० को दशकपछि विस्तारै सेलाउँदै गएको बुझिन्छ । ‘रक एण्ड रोल’ संगीतले अमेरिकी संगीत–आकाशमा ओजपूर्ण स्थान ओगटेकोमा कुनै द्विविधा छैन ।  त्यहाँ प्रचलित बुगी उगी, जाज, गोस्पेल, वेस्टर्न स्वीङ, कन्ट्री म्युजिक, हिप–हप, सिकागो ब्जुजजस्ता संगीतको भीडमा ‘रक एण्ड रोल’ ले विशिष्ट पहिचान बनाएको छ ।

‘रक एण्ड रोल’ संगीतले अमेरिकी समाजमा पुलको काम पनि ग-यो  । काला र गोराको साँधकिल्ला बाँध्ने रङ्गभेदी नीतिबाट नराम्ररी विभाजित अमेरिकीहरूलाई यसले एकताको सूत्रमा बाँध्ने काम गर्यो । के काला के गोरा, ‘रक एण्ड रोल’ सबैका लागि श्रुतिमधुर संगीत बन्यो । यसमा रङ र जातभात थिएन, केबल संगीत थियो । त्यो पनि विभाजित मनहरूलाई एकताबद्ध गर्ने संगीत । त्यसैले सहअस्तित्वपूर्ण समाजको सपना देख्ने अमेरिकीहरू ‘रक एण्ड रोल’ संगीतले लाएको गुन बिर्सँदैनन् ।

‘रक एण्ड रोल’ संगीत संग्रहालयले क्लिभल्याण्डको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । हालसम्म ८० लाखभन्दा बढी ‘भिजिटर’ ले पाइला टेकिसकेको यो संग्रहालय संगीतप्रेमीहरूको तीर्थस्थलजस्तै बनेको छ । संग्रहालय खुलेकै कारण ९५० व्यक्तिले विभिन्न किसिमका रोजगार पाएका छन् भने क्लिभल्याण्डको अर्थतन्त्रमा वार्षिक १.८ बिलियन अमेरिकी डलर बराबरको योगदान पुग्ने गरेको छ ।
‘रक एण्ड रोल’ संगीत संग्रहालयमा कला र गलाले सम्मान पाएको हर्षले मन गदगद भयो ।  अर्कोतिर नेपाली संगीतको अवस्था सम्झेर मन कुटुकुटु खान थाल्यो । कला र गला भएका तर समयक्रमसँगै गुमनाम बनेका नेपाली संगीत उपासकहरूको हविगत देखेर मन बिचलित भयो । न उनीहरूको उपयुक्त अभिलेख छ, न त उनीहरूका कृति नै सुरक्षित हुने विश्वासिलो वातावरण बनेको छ ।

देशको संगीत प्रवर्द्धनका लागि स्थापना भएको 'रत्न रेकर्डिङ संस्थान' जमानामै बन्द हुनु, राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालको लाइब्रेरीमा रहेका पुराना गीतहरू सुरक्षित हुन नसेकेका समाचार आउनु, आफ्ना गीत सञ्चार माध्यममा प्रसारण भएवापत कलाकारले न्यायसंगत ढङ्गले रोयल्टी नपाउनुजस्ता प्रतिनिधि घटनाले नेपालका संगीत उपासकहरूले उचित सम्मान नपाएकोतर्फ इङ्गित गर्छ ।

‘रक एण्ड रोल’ संगीत संग्रहालय हेरेपछि मलाई लाग्यो, नेपालमा पनि घच्चीको संगीत संग्रहालय खोल्नुपर्छ । त्यो पनि एउटा होइन थुपै । हामीकहाँ आञ्चलिक पहिचान बोकेका र स्थानीयपनले ओतप्रोत भएका थुप्रै संगीत र संगीतकर्मी छन् । नयाँ पुस्ताको ‘नलेज रिफरेन्स’ का लागि भए पनि यिनीहरूको संरक्षण र सम्वद्धन  गरिनुपर्छ । ‘लोकबाजा संग्रहालय’ ले यस दिशामा केही प्रयास गरेको छ तर यो प्रयास अपर्याप्त छ । नेपालमा 'सुरसुधा', 'लेकाली समूह', 'नेपथ्य समूह' जस्ता सांगीतिक समूह जन्मे । यी र यस्ता सांगीतिक समूहको इतिहास अभिलेखीकरण हुन आवश्यक छ ।

संगीतलाई केवल संगीतको रूपमा  हेर्न मिल्दैन । संगीतमा देशको जीवनशैली प्रतिविम्बित हुन्छ अनि यसमा देशको सांस्कृतिक इतिहास पनि जोडिएको हुन्छ ।  संगीतको इतिहासमा देशको जीवनशैलीगत इतिहास पनि गाँसिएको हुन्छ । त्यसैले संगीतको इतिहासमा  स्वाभाविक रूपमा देशको इतिहास पनि प्रतिविम्बित हुन्छ ।
यहाँनेर डेनिस लेखक तथा कवि ह्यान्स क्रिस्चियन एन्डरसनको भनाइ स्मरणीय हुन आउँछ । उनले भनेका छन्, ‘जहाँ शब्द असफल हुन्छ, त्यहाँ संगीत बोल्छ ।’ शब्दमा व्यक्त नभएका हाम्रो इतिहास संगीतमा  बेजोड ढङ्गले खुल्न सक्छ । देशको इतिहास भिन्न किसिमले अभिलेखीकरण गर्न र संगीत उपासकहरूको सम्मान गर्न पनि संगीत संग्रहालय आवश्यक छ । मेरो व्रह्मले यही भन्छ ।

[साभार: अन्नपूर्ण पोष्ट 'फुर्सद' (वैशाख २०, २०७१)।]