Saturday, June 29, 2019

मौलिकता र भावुकताको दोभान

-यमबहादुर दुरा

पाल्पाको विकट गाउँ । मगर समुदायको बाहुल्य भएको बस्ती । चाडपर्वमा रातभरि रामरसी चल्थ्यो । गाउँमा मादल घन्कन्थ्यो । गाउँमा गुञ्जिएको लोकभाकाले मन लोभ्याउँथ्यो । गीतमा चुम्बकीय आकर्षण हुन्थ्यो ।

त्यहाँको बृहत् साङ्गीतिक माहोलले कसैको जीवनमा कमलकोटीको भूमिका खेल्यो । उनी पत्तै नपाई साङ्गीत अनुरागी बने । जान्नेबुझने हुन थालेदेखि नै उनको मनमस्तिष्कमा लोकसङ्गीतको झङ्कारले राज गर्न थाल्यो ।
यसरी नै साङ्गीतिक परागसेचन भयो, नेपाली लोकगीतको धरोहर नारायण रायमाझीको दिल–दिमागमा । रायमाझीको सङ्गीतकर्मले नेपालका मौलिक लोकभाकाहरूले लोकजीवनको फराकिलो घेरासम्म विस्तारित हुने मौका पाएको छ । उनले जनमनमा न्यानो ठाउँ पाएका छन् ।

मगर बस्तीको सङ्गीतमय परिवेश । घरमा आमाको मनमुग्घकारी स्वर । रेडियो घन्कने कतिपय मौलिक लोकभाकाहरू । यी सबै योगदानकारी तत्वको गठजोडमा उनीभित्र साङ्गीतिक भोग जाग्दै गयो । लोकगीतप्रतिको रुचि ज्यामितीय दरमा बढ्दै गयो ।

उनी सानैदेखि मौलिक बाजागाजाहरू बजाउन र सङ्ग्रह गर्नमा रुचि राख्थे । उनी हरप्रकारका बाजागाजामा ताल दिन पारङ्गत छन् । मौरी बाजा, मुर्चुङ्गा, मादललगायतका बाजा बजाउन उनको हात रोकिँदैन । सारङ्गीवादनमा उनको विशेष दख्खल छ ।

गन्धर्वइतर समाजमा जन्मेर पनि उनी कसरी सारङ्गीवादनमा पारङ्गत बने ? धेरैको मनमा यही प्रश्न उब्जन्छ । यसको पनि एउटा बेग्लै किस्सा छ । उनलाई सारङ्गी बिछट्टै मन पर्‍थ्यो । गाउँमा गन्धर्व दाजुभाइ आउँथे । उनी गाउँभरि गन्धर्व दाजुभाइको पछि पछि हिँड्ने, सारङ्गीको धुन सुन्न ।

यस्तैमा गाउँमा एकजना दाइले सारङ्गी बनाइदिए । त्यसमा उनको स्वामित्व कायम भयो । त्यसपछि बिनामेसो सारङ्गी बजाउन थाले । विद्यालय वा मेलपातमा छँदा उनलाई सारङ्गीकै झल्को आउँथ्यो । सारङ्गीवादनको लतले उनी ग्रस्त थिए ।

कतिबेला सारङ्गी बजाऊँ भन्ने उनलाई लाग्थ्यो । घरमा सारङ्गी भित्रिएपछि उनको दिनचर्या केटाकेटीले चराको गुण देखेजस्तै भयो । जतिबेला पनि सारङ्गी हेर्न र छुन चाहने ।

उनका लागि सारङ्गी बजाउन सिक्ने काम गुरुविनाको ज्ञान थियो । वर्षौंको एकल मिहेनतले उनी सारङ्गीमा पारङ्गत भए । ‘घन घोटी बन्चरो’ भने जस्तो । उनको सफलताको राज अरू केही नभएर प्रबल इच्छाशक्तिको करामत थियो ।

गाउँघरको साङ्गीतिक वातावरणमा उनी विस्तारै भिज्दै गएका थिए । रेडियोमा नेपालमा पुगेर गीत गाउने उनको अर्को ठूलो सपना थियो । तर, यो सपना सजिलै पूरा हुने खालको थिएन । दुर्गम गाउँका एउटा ठिटोले चिन्नु न जान्नुसँग रेडियो नेपाल ताक्नु एउटा ठूलै दुस्साहस थियो ।

रेडियोमा बाजागाजासहित मान्छे कसरी अटे होलान् भन्ने सोचाइ राख्ने गाउँले केटोले रेडियो स्टेसनमै पुगेर गीत गाउनु त्यो समयमा सामान्य कुरै थिएन । त्यहाँ गीत गाउन पाइन्छ वा पाइन्न भन्ने पनि उनलाई थाहा थिएन ।

थुप्रै प्रतिकूलता सहेर उनी पाल्पाको झडेवाबाट दश धामा गरेर राजधानी भित्रिए । अन्ततः रेडियो नेपालमा पुगेर गीत गाएरै छाडे । यहाँनेर, फेरि पनि उनको इच्छाशक्तिले नै काम गर्‍यो । उनले त्यहाँ गीतमात्र गाएनन्, कालान्तरमा त्यही जागिरे पनि भए । रेडियो नेपालमा सङ्गीत संयोजकलगायतका साङ्गीतिक  भूमिकामा रहेर भएर लगभग २० वर्ष बिताए ।

यतिञ्जेलसम्म समय धेरै अघि बढिसकेको थियो । उनी नेपाली लोकगीतको दुनियाँमा झलमल्ल उदाइसकेका थिए । लोकगीतका अनुरागीहरूका हृदयमा उसले बास पाइसकेका थिए । उनको स्वरमा लयबद्ध गीत ‘राम्दी पुल तरने बित्तिकै...’, ‘सरर कोइलाखानीमा...’, ‘हासेर बोलिदिऊ माया...’, ‘चिनिनँ मैले सत्ते रामा राम...’ जस्ता दजनौं गीतहरू मौलिकता र भावुकताको कसीमा खरो उत्रिएका लोकभाकाहरू हुन् ।

उनको गीतमा उच्चस्तरको रैथानेपन छ । उनको लय र शब्दमा भान्सामा पाकेको लेकाली रायोको सागको वास्ना टाढैबाट नाकमा ठोक्किन आएजस्तो रैथाने सुगन्ध भेटिन्छ । गीतमा भावना र भावुकताको भयानक गहिरो भुमरी छ ।

लोकगायक दीपक खड्काको दृष्टिमा नारायण रायमाझी गीतमा माधुर्य भर्न सक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभा हुन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

गीतको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने नारायण रायमाझीले लगभग तीन सय गीत गाएका छन् । तुलनात्मक हिसाबले उनले थोरै गीत गाएका छन् । तर, उनले जति गीत गाएका छन्, अधिकांश मौलिक र भावुक प्रकृतिका छन् ।

उनले रणभूमिका गीत गाएका गाएका छन्, भोको–प्यासी जनसमुदायको गीत गाएका छन् । उनका गीतमा जनस्तरका नगारिकका पीर व्यथा भेटिन्छ, हैरानी र सास्तीका फेहरिस्त भेटिन्छन् । विदेशमा कुल्ली–दरबान भएर जिन्दगी बिताउने धेरै नेपालीका गहिरो पीर–व्यथा उनका गीतमा उनिएका छन् ।

साङ्गीतिक करिअरमा अघि बढ्दा उनले जनजीवनमा उठेका भावनाका ज्वारभाटाहरू निरन्तर देखिरहे । लोकजीवनका असंख्य अनुभव र अनुभूतिहरू पत्रेचट्टानझैं उनको चेतन मन र अवचेतन मनमा थुप्रिएका छन्, जुन कहिसक्नुको छैन ।

उनको गीत सुनेर असंख्य स्रोता/दर्शक द्रवीभूत हुन्छन् । उनले स्टेजमा चढेर गीत पीर–वेदनाको गीत गाउँदा हिक्का छोडेर अश्रुधारा बगाउने कति आमाहरूको आँखा ओबानो हुन मुस्किल पर्छ । उनका गीत सुन्दा भावुकतावश एकआपसमा अङ्गालो मारेर रुने आफन्तीहरूको कथा बताइनसक्नुको छ । उनको सङ्ग्रहमा यस्ता थुप्रै भिडियोहरू छन् ।

नारायाण रायमाझी रैथाने अनुभूतिका सङग्रह नै हुन् । उनीभित्र ग्रामीण अनुभूतिहरू खिलिएर बसेका छन् । मनमा अनुभूतिको थुप्रो छ भने घरमा ‘एन्टिक आइटम’ हरूको थुप्रो छ । ग्रामीण चेलीबेटीहरूले प्रेमपूर्वक समर्पण गरेका झोला, गलबन्दी, खुर्पेटो, टोपीजस्ता सम्झना कोसेली उनीकहाँ छन्, जसले विगतको ममतापूर्ण राग अलापिरहेका छन् ।

दुनियाँको दृष्टिमा उनले गीतसङ्गीत र सांस्कृतिक गतिविधिमा लोभलाग्दो प्रगति गरिसकेका छन् । तर, उनी आफैंलाई भने त्यस्तो लाग्दैन । उनलाई ले केही गर्न नसकेको जस्तो लाग्छ । उनलाई लाग्छ, ‘मैले धेरै काम गर्न बाँकी नै छ ।’

उनको मनमा रहेको कार्यसूची धेरै लामो छ । आफूले गाएका चुनिन्दा लोकगीतको भिडियो बनाउनु छ । आफ्ना पुराना गीतलाई कम्तिमा पुनः स्वराङ्कन गर्नु छ । आफ्नै भिडियो प्रोफाइल बनाउनु छ । गाउँघरको मौलिक संस्कृतिलाई चलचित्रमा उतार्नु छ ।

उनका दिगागमा यस्ता धेरै रचनात्मक कार्यसूचीको खिचडी छड्किरहेका छन् । उनका धेरै कार्ययोजनाहरू पाइपलाइनमा छन् । तर, यी योजना चाहेजसरी अघि बढेका छैनन् । कतिपय योजना त अलपत्रै छन् ।

निजी स्वार्थमा मात्र भुलेर उनी आफू असामाजिक बन्न चाँदैनन् । उनी घरपरिवार, साथीसंगी, सामाजिक संघसंस्थालाई पर्याप्त समय दिन्छन् । नतिजा उही हो, उनको योजना यता कतै बीचतिर अड्केका छन् ।

आफ्ना कार्ययोजनाहरूबारे कुरा गर्दागर्दै उनी सोचमग्न हुन पुग्छन् । अनि, गम खाँदै गहिरो विचार पोख्छन्, ‘अहिलेको जस्तो अनुभव र ३० वर्ष अघिको जस्तो जाँगर भएको भए धेरै काम गर्न सक्थेँ हुँला ।’

‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता चलचित्र निर्देशन गरिसकेका रायमाझी आधा मन चलचित्र जोडिएको छ । आजकल उनलाई आरोप लाग्ने गरेको छ, ‘नारायण रायमाझी लोकगीत छाडेर चलचित्रतिर लहसियो ।’

सानैदेखि नाटक र चलचित्रतिर पनि दिलचस्पी राख्ने उनीचाहिँ लोकगीत र चलचित्रलाई एकअर्काका परिपूरक मान्छन् । उनको मान्यता छ – लोकगीतले समेट्न नसकेका पक्षलाई चलचित्रले समेट्छ र चलचित्रले समेट्न नसकेकालाई लोकगीतले समेट्छ । मूल कारणबाट आफू चलचित्रमा जोडिन पुगेको उनको तर्क छ ।

आधुनिकताको बाढीले मौलिक लोकभाकालाई कुनै अञ्जान ठाउँतिर हुत्याउँदै लगेको छ । यस पृष्ठभूमिमा उनको प्रष्ट धारण छ, ‘स्रष्टाले माटोको सुवास आउने गीत समाजलाई दिनुपर्छ । यसबाट देशको संस्कृतिलाई पनि योगदान पुग्छ । यसले स्रष्टा आफैंलाई पनि बचाउँछ ।’

नारायण रायमाझीप्रति बहुसंख्यकको अपेक्षा छ, नेपालका श्रुतिमधुर र भावप्रधान लोकभाकाहरूको श्रीवृद्धिका लागि उनले आउँदा दिनमा स्नेही र प्रेरणादायी कदम दृढतापूर्वक चाल्नेछन् ।

[साभार: लोकसंवाद । २०७६ साल असार १३ गते । तस्बिर:  गुगल ।]

Friday, June 21, 2019

पुराना भाकाहरूको पुनरागमन

यमबहादुर दुरा

पुराना पात झर्छन्, नयाँ पात पलाउँछन् । पुराना जान्छन्, नयाँ आउँछन्, जुन दुनियाँको सर्वजनीन तथा सर्वविदित रीत हो । तर, यो शाश्वत रीत सधैँ सही नहुने रहेछ । ‘ यु ट्युब’ मा धमाधम अपलोड भइरहेका पुराना नेपाली लोकगीत देख्दा यस्तै लाग्छ ।

अहिले सयौंको संख्यामा पुराना नेपाली लोकगीत  'यु ट्युब’  मा अपलोड भइसकेका छन् । यो क्रम जारी नै छ । यस्ता गीतको भ्यु पनि लाखौंको संख्यामा पुगेका छन् ।

‘यु ट्युब’ मा मास्टर मित्रसेन (वि.सं. १९५२—२००२), मेलवादेवी गुरुङ (वि.सं. १९५९—२०१२) जस्ता कालातीत कलाकारका गीत पनि भेटिन्छन् । उनीहरू पछिका कलाकारहरू धर्मराज थापा (वि.सं. १९८१—२०७१), हीरादेवी वाइबा (सन् १९४०—२०११), भलकमान गन्धर्व (वि.सं. १९९२—२०६०) आदिका पुराना गीत ‘यु ट्युब’ को विशाल भण्डारमा पनि सजिलै भेटिन्छन् ।

कविता आले, मन छञ्त्याल, लोकबहादुर क्षेत्री (वि.सं. १९१८—२०५०), बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइरला, माया गुरुङ, बीमाकुमारी दुराजस्ता कलाकारका पुराना लोकगीत पनि ‘यु ट्युब’ मा भेटिन्छन् । यी नाम त ‘यु ट्युब’ मा अपलोड भएका पुराना गीतका दृष्टान्तमात्र हुन् ।

सङ्गीत एकदमै चञ्चल र चलयमान विधा मानिन्छ । ख्यातिप्राप्त सङ्गीतकार अमर गुरुङ (वि.सं. १९९४—२०७३) भन्ने गर्थे, सङ्गीतमा समयानुकूल परिवर्तन र नयाँ शैली सधैँ अपेक्षित रहन्छ । सङ्गीतिक महफिलमा एकपछि अर्को गरी देखापरेका नवीनतम् शैली र ट्रेन्डले यही वास्तविकतालाई पुष्टि गरिरहेका छन् ।

गतिशील र परिवर्तनशील साङ्गीतिक दुनियाँमा पुराना गीतको स्थान कति छ ? ‘एन्टिकरेन्ट’ जस्तो देखिने गरी आएका पुराना लोकगीतको लहरले कुन सांस्कृतिक तथा साङ्गीतिक समीकरणलाई उद्घाटन गर्छ ? यसको समाजशास्त्रीय वा अर्थशस्त्रीय नाता–सम्बन्ध के हो ? यसबारे घोत्लिन आवश्यक छ ।

अमेरिकामा पनि पुराना लोकगीतको पुनरागमन भएको थियो । त्यहाँ लोकगीतको पुनरागमन सन् १९४० को दशकमा शुरु भएर १९६० को दशकमा चुचुरोमा पुगेको अभिलेख भेटिन्छ ।

अमेरिकामा सन् १९२० देखि शुरु भएको रेडियो प्रसारण सन् १९४० को दशकसम्म आइपुग्दा  लोकप्रिय सञ्चार माध्यम बन्न पुग्नु, त्यसमा रैथाने लोकगीतले स्थान पाउनु, अमेरिकाका अश्वेत समुदायले सञ्चालन गरेको नागरिक अधिकारसम्बन्धी आन्दोलनमा लोकगीतलाई ‘प्रोटेष्ट सङ’ का प्रयोग गर्नुलाई त्यहाँ लोकगीतको पुनरागमन हुनुको मूलभूत कारण मानिएका छन् ।

नेपालमा वि.सं. २०५० को दशकमा एफएम रेडियो स्थापनाको उभार आयो, जुन २०६० को दशकमा उत्सर्गमा पुग्यो । देशभरि स्थापना भएका स्थानीय रेडियोहरूले लोकगीतलाई उच्च स्थान दिए । यसबाट लोकगीत लोकप्रियता हाँसिल गर्‍यो । यससँगै सङ्गीत उद्योगले पनि राम्रो प्रगति गर्‍यो ।

अहिले समयले नयाँ मोड लिइसकेको छ । अहिले ‘एफएम युग’ को क्रेज पातलिँदै गएको छ भने ‘यु ट्युब युग’ को क्रेज बाक्लिँदै गएको छ ।

यससँगै सङ्गीतकर्मी र सङ्गीत उद्योगको कार्यशैली र रणनीति बदलिएको छ । उनीहरूको ध्यान ‘यु  ट्युब’ तिर केन्द्रित हुन थालेका छन् । अहिले गीतको लोकप्रियता ‘यु ट्युब’ को ‘भ्युवरसिप’ निर्धारण गर्न थालेको छ ।  हिजो यस्तो थिएन । यो नयाँ ट्रेन्ड हो ।

सङ्गीत उद्योगको अर्थशास्त्र पनि यु ‘यु ट्युब'को भ्युवरसिपसँग नै जोडिएको छ । भिडियो सेयरिङ साइट ‘यु ‘‘यु ट्युब’ ले मनिटाइजेसनको प्रावधान ल्याएपछि ‘यु ट्युब’ मा भिडियो अपलोड गर्ने होड नै चलेको छ, जसमा कलाकार स्वयं र सम्बन्धित म्युजिक कम्पनी सामेल छन् ।

पुराना गीत अपलोड गर्ने क्रममा पुराना गीतले पनि राम्रै प्राथमिकता पाउन  थालेका छन् । कतिपय ‘यु ट्युबर  ले अरूका गीत आफ्ना च्यानलमा अनाधिकृत रूपमा राख्ने प्रवृत्ति देखापरेको छ ।

हालका दिनमा पुराना लोकगीत खोजीखोजी अपलोड गर्ने प्रवृत्ति बढेको छ । यसो हुनुमा ‘यु ट्युब' को मनिटाइजेसन नीतिलाई कारक तत्व मान्न सकिन्छ । यद्यपि, कतिपयले गीत मन परेर अर्थोपार्जन गर्ने मनाशय नराखी पुराना लोकगीत अपलोड गरेका छन् । योे तथ्यलाई पनि भुल्न मिल्दैन ।

कतिपय यु ‘यु ट्युबर’ ले आफ्ना च्यानलमा राखेका पुराना लोकगीत प्रतिलिपि अधिकारका दृष्टिले कति नियमसम्मत छ ? त्यो बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, ‘यु ट्युब’ भरि छताछुल्ल पुराना गीत सुनेर मनोरञ्जन लिन चाहनेको मनोकांक्षा पूरा हुन थालेको छ ।

'यु ट्युब' मा पुराना लोकगीत अपलोड गर्ने परिपाटी सम्पदा अभिलेखीकरण र विस्तारीकरणको एउटा महत्वपूर्ण हिस्सा बनेको छ, जुन प्रविधिले दिएको सुन्दर वरदान हो । यसबाट मौलिक साङ्गीतिक सम्पदाको श्रीवृद्धिमा योगदान पुगेको छ ।

‘यु ट्युब’ मा नयाँ नयाँ ट्रेन्डका गीत टनाटन छन् । संसारभरबाट ‘यु ट्युब’ मा भिडियो अपलोड भइरहँदा प्रत्येक मिनेट तीन सय घण्टाको भिडियो अपलोड हुने तथ्याङ्कले देखाएको छ ।

त्यसमा नेपालको हिस्सेदारी कति छ, त्यसबारे कुनै यकिन आँकडा छैन । तर, नेपालबाट पनि उत्साहजनक किसिमले भिडियो अपलोड भएका छन् ।

‘यु ट्युब’ मा अपलोड भएका पुराना लोकगीतलाई एउटा अडियन्सले मन पराएका छन् । त्यसमा भ्युअरसिप पनि उत्साहजनक निकै बढेको छ । उनीहरूबाट प्रेमपूर्ण प्रतिक्रिया पनि आइरहेका छन् ।

चेतमान गुरुङ, नायाण रायमाझी, लक्ष्मी न्यौपाने र चन्द्र गुरुङको स्वरमा रहेको स्वरमा गुञ्जिएको ‘शिरमा रिबन’ बोलको गीतमा प्रवीण दर्लामी मगरले प्रतिक्रिया लेखेका छन्, ‘यो गीत २०–२५ पटक सुनिसकेँ । अझै धित मरेको छैन ।’

त्यही गीतमा विजय सिंहले गीत जति सुने पनि मन नभरिएको प्रतिक्रिया दिँदै फेरि पनि यस्तै गीत ल्याउन आग्रह गरेका छन् ।

समयले पछि पारेका तर जनमनमा अमिट छाप पार्न सफल यस्ता गीतको पुनरागमनले लोकसङ्गीत अनुरागी तथा अध्येताहरूका अगाडि सुन्दर अवसर ल्याइदिएको छ ।

त्यो हो, पुराना लोकसम्पदाबाट अनुप्राणित हुने र तिनलाई विभिन्न दृष्टिबाट विश्लेषण गर्ने । ‘सिलिकन भ्याली’ को अत्याधुनिक ‘क्लाउड स्टोरेज’ बाट उदाएका यी सांस्कृतिक सम्पदा हाम्रा लागि अनुपम उपहार हुन् ।

यस्ता सांस्कृतिक सम्पदाको उभारले सांस्कृतिक चेतको विकास र मौलिक लोकगीतको श्रीवृद्धिमा रचनात्मक योगदान पुग्नेमा झिनो आशा पलाएको छ ।

[साभार: लोकसंवाद । २०७६ साल असार ६ गते ।]

Monday, June 10, 2019

अन्तरसांस्कृतिक सञ्चार

-यमबहादुर दुरा

हरेक समाजको आफ्नै संस्कृति हुन्छ । प्रत्येक संस्कृतिले आफ्नै किसिमको परिवेश निर्माण गरेको हुन्छ । संस्कृति के हो ? यसबारे सयौं परिभाषा छन् । तर, यसको परिभाषा सरल र सहज छैन । संक्षेपमा भन्ने हो भने कुनै समुदायको जीवनशैली नै संस्कृति हो । मानवशास्त्री एडवार्ड बी टेलर (सन् १८३२–१९१७) ले समाजको सदस्यको नाताले मानिसले प्राप्त गरेको ज्ञान, विश्वास प्रणाली, कला, नैतिक मूल्य–मान्यता, कानुन, परम्परा, क्षमता, बानी–व्यहोरा आदिको जटिल गठजोडलाई  नै संस्कृति मानेका छन् ।
ग्राफिक्स: गुगल

हरेक व्यक्ति आफू जन्मे–हुर्केको सांस्कृतिक परिवेशको उपज हो । उसको सोचाइ र जीवन–दर्शन पनि धेरै हदसम्म त्यही सांस्कृतिक परिवेशकै उपज हो । यो उसको जीवनको एउटा पाटोमात्र हो । ऊ जन्मे–हुर्केको सांस्कृतिक परिवेशभन्दा बाहिर पनि अर्को बृहत् सांस्कृतिक परिवेश छ, जससँग परिचित नहुँदा उसको जीवन अधुरो र एकाङ्गी हुन पुग्छ ।

 त्यसैले, हरेक व्यक्ति आफूइतरको विशाल सांस्कृतिक परिवेशसँग परिचित हुन आवश्यक छ । यसप्रकारको बृहत् सांस्कृतिक परिवेशसँग परिचित भएरमात्र पुग्दैन, उनीहरूको सांस्कृतिक मूल्य–मान्यतासँग तादात्म्य मिलाउन र सदभाव पस्कन पनि सफल हुनुपर्छ ।

अन्तरसांस्कृतिक सञ्चार (क्रस–कल्चरल कम्युनिकेसन) सम्बन्धी अवधारणाको प्रस्थान विन्दु पनि यही हो । विभिन्न संस्कृतिहरूबीच अर्थपूर्ण सञ्चार गर्ने कार्यलाई सामान्य अर्थमा अन्तरसांस्कृतिक सञ्चार भनिन्छ । भिन्न सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले एकअर्काको संस्कृति र जीवन–पद्धतिप्रति सम्मान जनाउनु, एकआपसमा अर्थपूर्ण सञ्चार गर्नु र सदभावपूर्ण व्यवहार प्रदर्शन गर्नु नै अन्तरसांस्कृतिक सञ्चारको मूलभूत उद्देश्य हो ।

अन्तरसांस्कृतिक सञ्चारको अवधारणाको शुरुवाती विन्दु कुन हो ? यसको उत्तर खोज्न दोस्रो विश्वयुद्धपछिको संयुक्त राज्य अमेरिकालाई नियाल्नुपर्ने हुन्छ । अन्तरसांस्कृतिक सञ्चारसम्बन्धी विभिन्न सन्दर्भ सामग्रीका अनुसार दोस्रो  विश्वयुद्ध थामिएपछिका कालखण्डमा अमेरिकाले आफ्नो असल छवि निर्माण विभिन्न देशमा अनेकन् मिसन पठायो ।  मिसनका लागि ठूलो धनराशी खर्च गर्‍यो तर ती मिसन अपेक्षित रूपमा सफल हुन सकेनन् ।

विभिन्न देशमा विविध सांस्कृतिक तथा सामाजिक पृष्ठभूमिका मानिसहरूबीच अर्थपूर्णसञ्चार हुन नसक्नुलाई मिसन सफल नहुनुको कारण मूल कारणको रूपमा पहिचान गरियो । त्यसपछिका घडीमा अमेरिकाले विदेशी मिसन जाने जनशक्तिलाई ‘फरेन सर्भिस इन्स्टिच्युट’ (एफएसआई) मार्फत सम्बन्धित देशको भाषालगायतका सांस्कृतिक पक्षहरूमा तालिम दिन थाल्यो । यहीबाट अन्तरसांस्कृतिक सञ्चारको अवधारणा फष्टाउँदै गएको देखिन्छ ।

अमेरिकी विदेश विभागअन्तर्गत ‘फरेन सर्भिस इन्स्टिच्युट’ मा रहेर तालिम दिने मुख्य स्रोत व्यक्तिहरूमा अमेरिकी समाजशास्त्री एडवार्ड टी हल (सन् १९१४–२००९) पनि हुनुहुन्थ्यो, जो अन्तरसांस्कृतिक सञ्चारको अग्रणी ज्ञाता मानिनुहुन्छ । उहाँले ‘द साइलेन्ट ल्याङ्ग्वेज’ (सन् १९५९), ‘द हिडन डाइमेन्सन’ (१९६६), ‘बियोण्ड कल्चर’ (सन् १९७६), ‘द डान्स अफ लाइफ’ (सन् १९८३) जस्ता पुस्तक मार्पmत् अन्तरसांस्कृतिक सञ्चारका सम्वेदनशील आयामहरूलाई समेट्नुभएको छ ।

अन्तरसांस्कृतिक सञ्चारले विभिन्न समुदायबीच विद्यमान सांस्कृतिक भिन्नतालाई बुझ्ने र त्यसलाई आत्मसात गर्ने काम गर्छ । साथै, यसले विभिन्न कारणले उत्पन्न हुनसक्ने आपसी असमझदारीहरू अन्त्य गरी सौहाद्र्रपूर्ण वातावरण कायम गर्न पनि सहयोग गर्छ ।

सांस्कृतिक विविधा दुनियाँको वास्ताविकता हो । पूर्वीय दर्शनमा खाना खाँदा बोल्नुहुँदैन भन्ने मान्यता छ भने पश्चिमाहरूमा खाँदै कुराकानी गर्ने परिपाटी छ । यही मान्यताको जगमा पश्चिमा दुनियाँमा ‘लञ्च मिटिङ’ आमप्रचलन नै बनेको छ । एकअर्काको सांस्कृतिक भिन्नतासँग परिचित नभए असझदारी निम्तिन सक्छ ।

त्यसैले, विभिन्न सांस्कृतिक पृष्ठभूमि भएका व्यक्तिहरू एकै थलोमा भेला भई काम गर्दा अन्तरसांस्कृतिक सञ्चारका आदर्श र सिद्धान्तहरूलाई आत्मसात गर्नु आवश्यक छ । यसो गरिनु उपयोगीमात्र होइन, अनिवार्य पनि मानिन्छ । यसले अमझदारीपूर्ण अवस्थाबाट मुक्ति दिन्छ ।

हरेक संस्कृतिमा असंख्य अलिखित विधान हुन्छन्, जससँग बाहिरी व्यक्ति अपरिचित हुनसक्छ । कुनै पनि संस्कृतिको अलिखित विधान कुनै कारणले उल्लङ्न भएमा त्यसले असहज अवस्था निम्त्याउन सक्छ । यसबाट छुटकारा पाउन सम्बन्धित संस्कतिलाई भित्रैबाट बुझेर सोही अनुसार कदम चाल्नुपर्ने हुन्छ । यसका लागि अन्तरसांस्कृतिक सञ्चार सहायकसिद्ध हुनसक्छ ।

नेपालले २०४० को दशकदेखि वैदेशिक रोजगारका लागि ढोका खुला गरेपछि रोटो र भोटोका लागि विदेश जानेको संख्या ह्वात्तै बढेको छ । यतिबेला ४० लाखभन्दा बढी स्वदेशी जनशक्ति विदेशमा कार्यरत रहेको तथ्याङ्क छ । विदेशको जागिर खानु धेरै अर्थमा चुनौतीपूर्ण छ ।

एउटा सांस्कृतिक पृष्ठभूमिका हुर्केको मानिस भिन्न भाषा र चालचलन भएको ठाउँमा पुग्नु कतिपय अर्थमा ‘डेञ्जर जोन’ मा पुग्नु हो । नयाँ सांस्कृतिक परिवेशमा काम गर्न पुग्दा धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

विदेशमा कार्यक्षेत्रमा कार्यरत रहँदा स्वदेशी कामदारले सांस्कृतिक भिन्नताबाट उत्पन्न समस्या झेल्न विवश हुन्छन्, जसका सयौं दृष्टान्त छन् । भिन्न भाषा र चालचलनसँग परिचित नहुँदा अनाहकमा हिंसा भोग्नुपरेका तथा जागिरबाट निकालिनुपरेका थुप्रै घटना छन् ।

एक तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष २० लाखभन्दा बढी व्यक्तिले कार्यस्थलमा हिंसा भोग्ने गरेका छन् भने २५ प्रतिशत हिंसाबारे सम्बन्धित ठाउँमा रिपोर्ट गरिएको हुँदैन । कार्यस्थलमा हुने हिंसा हुनुमा सम्बन्धित देशको भाषा र चालचलनसँग राम्ररी परिचित नहुनुलाई एउटा महत्वपूर्ण कारक तत्व मानिएको छ । यस किसिमको परिदृश्यले अन्तरसांस्कृतिक सञ्चारको महत्वलाई उजागर गरेको छ ।

अन्तरसांस्कृतिक सञ्चारको महत्व विदेशमा मात्र होइन, स्वदेशमा पनि छ । सांस्कृतिक विविधताको दृष्टिले नेपाल आफैंमा एउटा सानो संसार हो । नेपाली समाज हरेक दृष्टिले विविधतापूर्ण छ । नेपालीजनको शारीरिक बनोट, वर्ण र चालचलनका दृष्टिले नेपाली समाजमा एकल परिपाटी र सोच काम लाग्दैन ।
ग्राफिक्स: गुगल

यही नेपाली समाज हो, जहाँ कुनै समुदायमा छोरीले बाउलाई ढोग्ने चलन छ भने कतिपय समुदायमा बाउले छोरीलाई ढोग्ने चलन उत्तिकै प्रबल छ । कुनै समुदायको विवाह संस्कारमा सुङ्गुरको टाउको लिएर जानैपर्ने रीत छ भने कुनै समुदाय सुङ्गुर छुनै हुँदैन भन्ने मान्यता छ । कुनै समुदायमा मदिरा निषिद्ध छ भने कुनै समुदायमा जन्मदेखि मृत्यसम्मका सम्पूर्ण संस्कारमा मदिरा नभई हुँदैन ।

यसैगरी, एउटा समुदायमा दैनिक जीवनमा प्रयोग हुने शब्द अर्को समुदायमा अश्लील ठहरिन सक्छ । एउटा समुदायमा सम्मानसूचक ठहरिने शब्दावली अर्को समुदायमा अपमानसूचक हुनसक्छ । एउटा भाषामा सहजै प्रयोग हुने शब्द अर्को भाषा बोल्ने व्यक्तिले सुन्दा अर्थान्तर भई असजिलो अवस्था आउन सक्छ ।

हरेक संस्कृतिको स्थानीय संस्करण हुन्छ । एउटै भाषा र संस्कृतिका अनुयायी भए पनि भूगोलको भिन्नताले त्यसमा अनेकन भिन्नता आइसकेको हुन्छ । हरेक क्रियाशील र भ्रमणशील नेपालीले आफ्नो जीवनकालमा भौगोलिक र सांस्कृतिक भिन्नताबाट उत्पन्न कुनै न कुनै यस्ता रोचक परिस्थिति भोगेको हुनुपर्छ । यी हाम्रा सांस्कृतिक वास्तविकता हुन् ।

अर्कोतिर, हामीकहाँ कुनै जात, लिङ्ग, समुदाय, क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिलाई चोट पु¥्याउने खालको उखान एवम् अभिव्यक्तिहरूको कमी छैन । यसले व्यक्तिको प्रतिष्ठा र सांस्कृतिक विविधतामा नोक्सानी गरिरहेको छ । यस्ता विभेदकारी अभिव्यक्तिमा लगाम लगाउने कुरा पनि अन्तरसांस्कृतिक सञ्चारको दायराभित्रै पर्छ ।

दुनियाँलाई एउटै लेन्सबाट हेर्ने र सोही अनुसारको धारणा बनाउने हुँदैन भन्ने मान्यतामा अन्तरसांस्कृतिक सञ्चारको अवधारणा अडिएको छ । यसले सांस्कृतिक विविधतालाई साझा सम्पत्तिको रूपमा सम्मान गर्छ । यसका अतिरिक्त सांस्कृतिक अन्तरघुलनलाई पनि जोड दिन्छ ।

दुनियाँमा विद्यमान विविधतालाई दृष्टिगत गर्दा हरेक व्यक्ति अन्तरसांस्कृतिक सञ्चारको आधारभूत मूल्य–मान्यतासँग परिचित हुनुपर्ने देखिन्छ । यसको अर्थ सबैजना अन्तरसांस्कृतिक सञ्चारका ज्ञाता हुनुपर्छ भन्ने होइन । देश–विदेश भ्रमणको बढ्दो चलनले अन्तरसांस्कृतिक सञ्चारको महत्व निकै बढेर गएको छ । अबका दिनमा अन्तरसांस्कृतिक सञ्चार एउटा महत्वपूर्ण कार्यसूची बन्नैपर्छ ।

[साभार : गोरखापत्र । २०७६ साल जेठ २४ गते ।]

[अद्यावधिक : २०७७।०९।१०]