Saturday, February 23, 2019

फूलमा भमरा

—यमबहादुर दुरा

वनपाखामा चरो लखेट्दै हिँड्ने एउटा चुलबुले केटो । लोकगीत भनेपछि सानैदेखि कान ठाडो पार्नेे । आमाको फरिया समातेर हिँड्दैदेखि लोकगीत भनेपछि हुरुक्कै हुने । कहिले चिलाउनेको पात  बजाउने, कहिले वनपाखामा नै घन्कने गरी मनको बह पोख्ने । यस्तै थियो, उनको दिनचर्या ।

त्यो चुलबुले केटोले अरूभन्दा बेग्लै छाँटकाँट देखाउँछन् । उनी किशोरवयमा प्रवेश गर्नुअघि नै रोदीघर, सत्यनारायण पूजाजस्ता स्थानीय सामाजिक जमघटमा मुखको सरस्वती पोख्न तम्सन्छन् । रत्यौलीमा केटीको भेषमा केटीकै स्वर निकालेर गीत गाउँछन् । छरछिमेक र अग्रजले उनको स्वरमा जादु भेट्छन् ।

समयले काँचुली फेर्दै जान्छ । स्थानीय जमघटमा गीत गाउन अग्रसर रहने त्यही चुलबुले केटो आफ्नो स्वरले दुनियाँलाई मोहनी लगाउन सफल हुन्छन् । उनको ख्याति विस्तारै फक्रिँदै जान्छ । अन्त्यमा उनी ख्यातिप्राप्त दोहोरी गायकका रूपमा दरिन पुग्छन् । यही हो, अहिले गुलावी रौनक बटुलिरहेका चर्चित दोहोरी गायक राजु परियारको अभ्युदयसँग गाँसिएको छोटो किस्सा ।

‘लालुपाते नुङ्यो भूईतिर...’, ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर...’, ‘मिर्मिरेको घाम...’, ‘मौरी फूलमाथि...’, ‘फूलमा भमरा...’,‘झिमझिम सानु नझिम्कयाऊ परेली...’, ‘धोका दिनेलाई के भनौँ र खै...’, ‘लमजुङ जाने दाइ...’ जस्ता गीतमा गुञ्जिएको जादुमय स्वरले उनको प्रसिद्धि चुलियो । उनका ‘फ्यान’ हरू एकपछि अर्को गरी ज्यामितीय दरमा बढ्न थाले ।

कुनै समय यस्तो पनि थियो, उनको फोटो नटाँसिएको दोहोरीगीतको कुनै अल्बम हुँदैनथ्यो, उनको नाम प्रचार नगरिएको महोत्सव नै हुँदैनथ्यो,  शहरमा गुड्ने छोटो दूरीमा माइक्रोबसदेखि राजमार्गमा हुइँकिने बसमा उनका गीत नघन्किएको कुनै क्षण नै हुँदैनथ्यो ।

लोकप्रियता शिखर आरोहण गर्दा उनी दन्त्यकथाका पात्रजस्तै भएका थिए । उनबारे अपत्यारिला कुरा सुनिन्थ्यो । उनले एकै दिनमा १३ वटासम्म गीते रेकर्ड गराएका र गीतै गाएर एक दिनमै डेढ लाखसम्म कमाएको चर्चा चल्थ्यो । उनको ख्याति देखेर कतिपयले उनलाई चर्चित क्यानाडेली गायक जस्टिन बिबरसँग तुलना गर्न थालिसकेका थिए ।

हुन पनि उनले छोटो समयमै असीमित ख्याति कमाएका थिए । प्रवल जनसेवा श्री चौँथो विभूषण, डा. नातिकाजी युवा प्रतिभा पुरस्कार, डा. अम्बेडकर पुरस्कार (भारत) जस्ता सयौं सम्मान र विभूषण हात पारिसकेका थिए । अस्ट्रेलिया, एशिया र युरोपका धेरैजसो मुलुकमा पुगेर आफ्नो प्रतिभा पस्किसकेका थिए । लोकगीतका अनुरागीहरूबाट वाहवाही लुटिरहेका थिए । सर्वसाधारणदेखि शक्तिशाली व्यक्तिसम्मका मन जितिरहेका थिए ।

लोकगीतको महफिलमा यतिविधि सुनाम कमाएका राजु परियारको जीवनमा समयले ‘सकुनी खेल’ खेलिदियो । उनी दुनियाँलाई रनभुल्ल पार्दै एकएक अन्तरध्यान भए । २०६८ देखि २०७२ सालसम्मको अवधिमा सार्वजनिक जमघटहरूमा देखा परेनन् । उनी कहाँ बस्छन्, के गर्छन्, कसैलाई पत्तो हुँदैनथ्यो । उनको मोबाइल हरदम स्विच अफ हुन्थ्यो ।

उनको अनुपस्थितिले पैदा भएको खाली ठाउँ हल्लाले भरिन्थ्यो । भए—नभएका कुराले उनका शुभचिन्तक र ‘फ्यान’ का कान भरिन्थे : राजुले गीत गाउन छाडे, पारिवारिक झमेला परे, श्रीमतीसँग मनमुटाव बढ्यो, गीत गाएर जोडेको चल अचल सम्पत्तिमा खोलो लाग्यो, मदिराभोगी बने आदि ।

पृष्ठभूमिमा उनीबारे चाहिँदा नचाहिँदा चर्चा चलिरहेकै थियो । यस्तैमा साथीसंगीले उनी कहाँ छन् भन्नेबारे सोधपुछको सिलसिला चलाए । अखबारहरूमा उनीबारे खोजबखर आउन थाले । तर कसैको केही सीप चलेन । उनको हालखबर सधैँ बेखबरमा परिणत भइरह्यो । समय भुक्तान भएपछि मात्र उनी आफैं सार्वजनिक भए ।
उनी भूमिगत हुनुको पछाडि लुकेको लामो कथाको सार थियो, श्रीमतीसँग मनमुटाव बढ्नु र मनमुटाव पारो बढ्दै जाँदा उनीहरूका सम्बन्ध नदीको दुई किनारजस्तो हुन पुग्नु । यही मूलकथाको सेरोफेरोमा अरू थुपै्र उपकथाहरू जोडिएका थिए ।

अहिले उनको घरेलु मामला सप्रिएको छ । अघिल्लो श्रीमती एक छोरा र एक छोरी दिएर अर्कै बाटो लागेकी छिन् । राजुले पनि अर्कैसँग घरबार जोडेका छन् । अहिलेकी श्रीमतीसँग छोरो जन्मिएको छ, जसको उमेर भर्खर सात महिना पुग्दैछ । अहिलेकी श्रीमती सबै लालाबाला सम्हालेर बसेकी छिन् । राजु रेकर्डिङ र साङ्गीतिक जमघटहरूमा व्यस्त छन् । उनको जिन्दगीले फेरि लय समातेको छ ।

जिन्दगीमा नपत्याउँदा आँधीहुरीको सामना गर्नुअघि उनी दुई थान सपना बोकेर २०५४ सालतिर लमजुङको गाउँशहर (चिसापानी) बाट राजधानी भित्रिएका थिए । उनको सपना थियो, मौका पाएमा नेपाली सेनामा भर्ती हुने, त्यसो हुन नसके गीत गाउने । सेनामा भर्ती हुने सपना तुहियो, गीत गाउने सपना सप्रियो ।

उनी एक साँझ सुन्धाराको गल्लीतिर टहलिँदै थिए । उनले कतै मादलको तालमा लोकभाका गुञ्जिएको सुने । यसबाट उनीभित्रको लोकसङ्गीतको मोह फेरि एकपटक ब्युँतिएर आयो । आवाज पछ्याउँदै जाँदा उनी ‘पुकार दोहोरी साँझ’ पुगे, जुन नेपालकै पहिलो दोहोरी साँझ हो । उनी दर्शकदीर्घामा पुगेर गीत सुन्न थाले । त्यहाँको साङ्गीतिक माहोल देखेरमा उनमा गीत गाउने इच्छा जाग्यो । उनले अनुमति मागेर गीत गाए ।

उनले एउटा गीतमात्रै के निकालेका थिए, सबैजना मन्त्रमुग्ध भए । उनलाई ‘पुकार दोहोरी साँझ’ का मालिकले उनको प्रतिभा पहिचान गरिहाले । दोहोरी साँझका मालिकले उनलाई आफ्नो दोहोरी साँझमा गीत गाउन आग्रह गरे । उनले त्यही दोहोरी साँझमा गीत गाउन थाले । उनको गीतका प्रशंसकहरू थपिन थाले । त्यो घटना उनको जीवनमा कोशेढुङ्गा सावित भयो । उनको परिचय र सम्पर्कको दायरा फराकिलो हुँदै गयो । उनी दोहोरीको दुनियाँमा स्थापित हुँदै गए । समयक्रममा एक पछि अर्को गरी अडियो अल्बम निस्कन थाले । अनि त उनलाई नचिन्ने र नजान्ने मान्छे नै भएन ।

राजुको साङ्गीतिक यात्रामा दुई दशकतिर लम्किँदैछ । यस क्रममा उनको स्मृतिपटलमा अनेकन् संस्मरणको खात लागेका छन् । एकपटकको दोहोरी प्रतियोगितामा उनले तनहूँकी गायिका उत्तम गुरुङसँग दोहोरी गाउनुपर्‍यो । गीत दिदी–भाइको लाइनमा अघि बढ्यो ।

उनले गीत निकाले, ‘रैछ जीवन हावा र हुरीको, सुन्नुुस् कथा टुहुरा र टुहुरीको’ । उत्तम गुरुङ तत्कालै द्रवीभूत भइन् । उनी गाउनै नसक्ने अवस्थामा पुगिन् । निर्णायक मण्डल र दर्शकदीर्घा रहेका सबै स्तब्ध भए । राजु पनि पनि अक्क न बक्क भए । पछिमात्र थाहा भयो, केही महिनाअघि मात्र उत्तमकी आमा परलोक भएकी रहिछन् ।

उनले गायन यात्रामा संगालेका थुप्रै संस्मरणमध्ये एउटा संस्मरण उनको ‘फ्यान’ सँग सम्बन्धित छ । लगगभ ८ वर्ष अगाडि बुटवल महोत्सवमा उनी स्टेजमा गीत गाइरहेका थिए । विवाहित भए पनि  स्टेजमा गीत गाउँदा उनले आफूलाई ‘कन्य–कुमार’ को रूपमा प्रस्तुत गरिरहेका थिए । यत्तिकैमा स्टेजमा एउटी केटी उक्लन खोजी । उनलाई कसैले रोके ।

पछि त्यही केटी एकजना महिलालाई लिएर उनी बसेको होटलमै आइन् । उनीसँग आएकी महिला उनको आमा रहिछन् । लामो समयदेखि त्यो केटी राजुको ‘डाइहार्ड फ्यान’ रहिछन् । मौका मिलेमा राजुसँग विवाह गर्ने मनस्थितिमा रहिछन्, तिनी । त्यस भेटघाटमा आमामार्फतविवाहको प्रस्ताव आयो । राजुले आफू विवाहित भएकोले प्रस्ताव स्वीकार्य नहुने तर दाजु–बहिनीको नाता भने कायम रहन सक्ने बताए ।

त्यो केटीको अपेक्षामा तूषारापात भयो । तर नाता अर्कै किसिमले अघि बढ्यो । उनीहरूबीच दाजु–बहिनीको नाता कायम भयो । ‘अहिले पनि दाजु-बहिनीको रूपमा फोनवार्ता भइरहन्छ ।’ उनी संयोगवश जोडिएको नाता–सम्बन्धको धागो फुकाउँछन् ।

उनलाई गण्डकी क्षेत्रमा प्रचलित ठाडो भाका निकै मन पर्छ । ‘मलाई ठाडो भाका सुनेपछि अरू गीत सुन्न मन लाग्दैन’ उनी ठाडो भाकाप्रतिको मोहभाव प्रकट गर्छन् । उनी ठाडो भाकामा जस्तो लालित्य र भावनाको ज्वारभाटा अरू गीतमा भेट्दैनन् । ठाडो भाका अलि अलि गाउँछन् पनि । उनी हाक्पारे, देउडा तथा हुड्क्यौली गीतमा पनि नेपाली समाज बोलेको पाउँछन् । यी गीतप्रति असीम श्रद्धाभाव देखाउँछन् ।

दोहोरी गाउँदा तत्क्षण शब्दजाल बुन्न बुन्नैपर्छ । त्यो शब्दजाल माकुरीको जालजस्तै कलात्मक हुनुपर्छ । उनको अनुभवमा शिवु गिरी र केशरबहादुर अधिकारी शब्दजाल बुन्नमा खप्पिस पारखीका हुन् । यसका अतिरिक्त उनका दृष्टिमा प्रजापति पराजुली, बद्री पराजुली, सिर्जनाविरही गुरुङ, शिला आले, सकुन्तला थापा आदि यो मामलामा उत्तम प्रतिभाहरू हुन् । उनी झलकमान गन्धर्व र बीमाकुमारी दुराका स्वरमा बेजोड मार्धुय र विलक्षणपूर्ण झङ्कार पाउँछन् ।

आफू लोकगीतप्रति अनुरक्त हुनुमा लमजुङको सङ्गीतमय वातावरणलाई श्रेय दिन्छन्, उनी । यसमा उनका बुबा मंगलसिंह परियार र आमा सन्तमाया परियार उत्तिकै श्रेयभागी छन् । दुवैजना लोकगीतका अनुरागी । उनले अभिभावकबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणा पाए । यिनै प्रेरणादायी तत्वहरूको गठजोडबाट उनी साङ्गीतिक दुनियाँमा छाएका हुन् ।

राजु गुरुङ मिश्रित समुदायमा हुर्किएका व्यक्ति हुन् । उनीको घर परिपरि गुरुङ गाउँ छ । बहुसांस्कृतिक समाजमा हुर्कँदा उनले कमाएको अमूल्य सम्पत्ति हो, गुरुङ भाषा । उनी गुरुङ भाषा खररै बोल्छन् । गुरुङ गाउँमा हुने साङ्गीतिक जमघटमा गुरुङ भाषामा गीत गाउँछन् । त्यतिमात्र होइन, मौका पर्दा गुरुङ भाषामै मन्तव्य दिन्छन् । उनले गुरुङ भाषाको चलचित्रमा पनि गीत गाएका छन् । गुरुङ भाषामा गीत पनि लेखेका छन् । उनी गुरुङ समुदायमा प्रिय व्यक्ति हुन् ।

उनमा विद्रोही चेत छ । जातभातको सिंढीदार सामाजिक संरचनाप्रति उनी स्वभाविक रूपमा आलोचक छन् । उनी जातभातले निम्त्याएको उचनीच व्यवहारप्रति विद्रोहको स्वर ओकल्छन् । ‘सुनपानीले छर्क मायालु’, ‘यो खोलीको पानी कोई नखानू मैले छोको छु’, ‘अछुतले नै हो मूर्ति कुँदेको, पुजारीले छ छैन बुझेको’ जस्ता गीतमा उनका विद्रोही चेत मजासँग सल्बलाएका छन् ।

उनले पछिल्लो समयमा पनि जातभातले जालोले छोपिएको समाजलाई तरङ्गित पार्ने गीत गाए : ‘कति राम्रो दमाइको छोरो’ ।  यसमा उनले ताली र गाली दुवै पाए । कतिले यस्तो गीत गाउन हुँदैनथ्यो भने, कतिले गाएकामा राम्रो माने । उनलाई भने सामाजिक वास्तविकता उजागर गर्ने गीत गाएर ‘ठीक गरेँ’ भन्ने लागेको छ । तर, ‘कति राम्रो दमाइको छोरो’ भनेर गीत गाउने उनी दलित शब्दलाई शब्दकोशबाटै हटाउनुपर्छ भन्छन् । उनको दृष्टिमा शब्दकोशमा दलित शब्द रहँदासम्म भेदभावको बीउ रहिरहन्छ ।

उनको जीवन–घडीको सुई चार दशक नजिक-नजिक सोझिन लाग्दैछ । उर्वर समय अझै बाँकी छ । उनीबाट धेरै आशा गर्ने ठाउँ छ । उनी आशा र भरोसाहरू उमार्दै साङ्गीतिक यात्रामा अग्रसर छन् । उनका शुभचिन्तक र ‘फ्यान’ हरूको अपेक्षा र सुझाव एउटै छ, विगतका अलमल र बाँझो समयको क्षतिपूर्ति हुने गरी उनको साङ्गीतिक यात्रा अघि बढ्नुपर्छ ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १० गते ।]

Friday, February 15, 2019

देऊ रुमाल फूल भरेर

-यमबहादुर दुरा

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफूजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो ।

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनु पर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए ।

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला आफ्ना पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियो पाउँदा उनलाई युद्ध जितेजस्तै भयो । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमाउनलाई मन पर्ने थुप्रै आवाजहरूमा नेपाली लोकगीतको एउटा विरहिणी विम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुभन्दा अघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो :  ‘खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...’ । (बाग्लुङतिरको लवजमा ध्याँसोलाई धैंस भनिन्छ) । यो गीत उनलाई खुबै मन पर्‍थ्यो ।

उनी पिढीको खाँबोमा रेडियो भुण्ड्याएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाँजिर हुन्थे । रेडियोमा बज्ने रैथानेपन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो ।

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई हुनसम्म पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । त्यसबेलाको रोदीघर र सामाजिक जमघटहरू मोहनी भाकाले गुञ्जयमान हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो ।

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । शुरु शुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रीसले बाँसुरी हुर्‍याइदिन्थे  । रीस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगालगयातका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो ।

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए तर उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलो पटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए ।

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए ।

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो ।

यसका अतिरिक्त ‘गाउंँशहरको भीर...’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल...’, बुट्टे चोलीरी..., ‘खो पाते...’ आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे, त्यो पनि स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रोव-रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फष्टाउने ठाउँ थिएन ।

 अन्तत: उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरी वादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

कृष्ण गुरुङ थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् ।

त्यसपछि शिकारी-चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको शिकार गर्नु कानुनतः निषिद्ध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको व्रह्मास्त्र थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा कृष्ण गुरुङले पनि अचुक अस्त्र प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे - डाँफेचरी होस् वा अन्य जीवजन्तु नै किन नहोस, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको व्रह्मास्त्रलाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे कृष्ण गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत लम्मरी लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक विम्बको रूपमा लिन्छन् ।

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर विम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’ सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’ सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ ।

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’

परिवर्तित परिस्थितिबारे उनी  टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टीभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’
परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’

नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको  दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ  ।

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँशहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ ।

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको तालिम लिएका छन् ।

उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा-बा र दाजुभाइ दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् ।

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एशिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् ।

उनले गुरुङ भाषाका दर्जन भन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी रेडियो नेपालबाट प्रतिष्ठित गायकको उपाधि, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साल साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्यमा पुगिने उनको अपेक्षा छ ।

[साभार: लोकसंवाद । २०७५ साल फागुन ३ गते ।]

Friday, February 8, 2019

'पानको पात' को किस्सा

-यमबहादुर दुरा

समयले इतिहास रच्दै थियो । २०४१ सालमा वीरगञ्जमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको थियो ।   त्यस समयमा दोहोरीगीत पनि खेलकुद प्रतियोगिताकै एक हिस्सा थियो ।

दोहोरी प्रतियोगिताका सहभागी टोलीमध्ये लालु गुरुङको टोली एउटा सुमधुर भाका लिएर प्रतिभाको डबलीमा सुमधुर पौँठेजोरी खेल्न आइपुग्यो । अर्को प्रतिस्पर्धी टोलीमा जुटेका कृष्णसुधा ढुङ्गानालाई त्यो मोहनी भाकाको गुञ्जनले लठ्याउनुसम्म लठ्यायो  ।

त्यस भाकालाई अल्बममा समेट्न पाए गजबै हुने थियो भनेर ढुङ्गानाले मनमनै सोचे । नभन्दै उनको सोचाइले साकार रूप लियो । २०४३ सालमा त्यही भाकामा ‘पानको पात’ नामक अल्बम बजारमा आयो ।

 त्यस अल्बममा स्वराङ्कन गर्नेहरूमा पुरुषतर्फ बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महत थिए भने महिलाततर्फ सुमित्रा गुरुङ, मीरा राना मगर र सरला गौचन ।

‘पानको पात’ ले बजार पिट्यो । जनजिब्रोमा ‘पानको पात’ ले राज गर्‍यो । भर्खर भर्खरै रेकर्डिङ उद्योग अस्तित्वमा आएको त्यस घडीमा बमबहादुर कार्की, कृष्णसुधा ढुङ्गाना र प्रेमराजा महतलाई त्यस अल्बमले चर्चाको शिखरमा पुर्‍यायो । गाउँ-शहर, रनबन सबैतिर ‘पानको पात’ भाका गुञ्जन थाल्यो । ‘पानको पात’ भाकाले उनीहरूलाई जति ख्याति दियो, अरू कुनै पनि भाकाले दिन सकेको छैन ।

‘पानको पात’ अल्बम निस्केको पनि ३२ वर्ष भइसकेको छ । गायक मण्डलीमध्येका एक हस्ती कृष्णसुधा ढुङ्गाना त्यसबेला २८ वर्षको भर्भराउँदो जवान थिए । अहिले समयले फेरो मारिसकेको छ । उनको रूपरङ्ग बदलिएको छ । समयले घचेटेर उनलाई ६० वर्षको नजिक पुर्‍याउँदैछ ।

फ्रेन्चकट दाह्री,  त्यो पनि घरमुनिको सुर्केगह्रामा हिउँ परेझैं सेताम्य भइसकेका । अनुहारमा बुढेसकालका धर्साहरू प्रष्ट रूपमा कोरिएका, समयले जवानी खोस्दै लगेका, पारिवारिक जिम्मेवारीमा मिचिँदै गएका र समयको दौडमा पछि पर्दै गएका कृष्णसुधा ढुङ्गानाको अहिलेको वास्तविकता हो ।

अहिले लोकसङ्गीतको दुनियाँ धेरै अर्थमा उलटपुलट भइसकेको छ । कृष्णसुधा ढुङ्गानाका धेरै साथीसँगी लाङ्गाबिङ्गा भइसकेका छन् । कतिपय पुराना स्वरजीवीहरू ओझेल परिसकेका छन् ।

लोकसङ्गीतको महफिलमा उर्जावान्–प्रतिभावान् नयाँ पुस्ताको दरिलो उपस्थिति छ । लोकगीतको शैली र ढाँचाकाँचा बदलिएको छ । हिजो सुन्ने गीतको साम्राज्य थियो, आज हेर्ने गीतको बाढी छ । नयाँ जमाना, नयाँ परिपाटी, नयाँ ‘ट्रेन्ड’ ।

कृष्णसुधा ढुङ्गानाचाहिँ यो चमकधमकपूर्ण दुनियाँबाट टाढिएका जस्ता, अन्तै कतै अलमलिएजस्ता देखिन्छन् । उनी लोकगीतको महफिल नयाँ पुस्तालाई सुम्पेर  अभिभावकीय भूमिकामा बसेको प्रतीत हुन्छ । उनी लोकगीतसम्बन्धी जमघटमा कहिलेकसो मात्रै झुल्किने गर्छन् ।

यद्यपि, लोकगीतको दुनियाँ विकसित घटनाक्रमहरूसँग उनी बेखबर भने छैनन् ।अहिलेको लोकगीतको वृत्तबारे उनको बुझाइ छ,  'हिजोका दिनमा गायनकर्ममा अपठितहरूको अधिकता थियो । अहिले पढालेखाहरूको रजगज  छ ।'

ढुङगानाको ठहर छ, ‘नयाँ पुस्ताका भाइबहिनीहरूले धेरै राम्रा र रसिला गीत बनाएका छन् । तर ती गीत ग्रामीण जीवनशैलीसँग टाढिँदै छन् र शहरी जीवनशैलीसँग नजिकिँदै  छन् ।’ आजका लोकगीतमा हिजोको जस्तो ग्रामीणपन र माटो सुवासमा भेटिन छाडेको उनको बुझाइ छ ।

आफू बाहुन समुदायका भएर पनि तत्कालीन समाजको कठोर नियमले उनलाई बन्दी तुल्याउन सकेन । उनी स्थानीय रोदीघर र अन्य सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहोलबाट पर रहन सकेनन् । लोकगीतप्रति अभिप्रेरित हुँदै गए । अन्ततः गीत गाउन नहुने मान्यताले राज गरेको समाजमा उनी गायक भएर निस्किए ।

पढाइको बहानामा राजधानी भित्रिएका ढुङ्गानाको ध्याउन्न भने राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालतिरै थियो तर धेरै साथीभाइले ‘पञ्चको रेडियो गीत गाउनुहुन्न’ भनेर उनको बाटोमा अवरोध खडा गर्थे । उनलाई भने जसरी भए पनि रेडियो गीत गाउने रहर पूरा गर्नु थियो । उनले रेडियोमा गीत गाएरै छाडे । त्यहीबाट उनको परिचयको घेरा फराकिलो हुँदै गयो  ।

रेडियो नेपालमा ढुङ्गानाका ४० वटा जति लोकगीत रेकर्ड भएका छन् । ती गीतमा लोकजीवनको ढुकढुकी भेटिन्छन् । यसका अतिरिक्त ‘रातो घाम’, ‘गाइको चरन’, ‘चुल्ठी बाटेर’, ‘चाँदीको मोहोर’, ‘रोदीघर’, ‘लाहुरेको जिन्दगी’ गरी दुई सय जति अडियो अल्बममा उनको गायकी र लोकजीवनप्रतिको मोह छचल्किएका छन् ।

ढुङ्गाना प्रखर दोहोरी गायक हुन् । उनी स्वरका धनीका धनी त हुँदै हुन्, शब्द–कारीगर पनि हुन् । उनले लेखेका शब्दहरू जनजिब्रो झुण्डिएका छन् । ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ ‘रानीघाटैमा, किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा’, ‘धान झुलेको छ काँ जाउँ काँ जाउँ भइराछ, मन डुलेको छ’, ‘छिमलेर डाली पलायो, दुई बजे रातिमा सपनीमा कल्ले बोलायो’ जस्ता गीतहरू जनमनमा अमिट छाप पार्न सफल छन् ।

ढुङ्गाना नयाँ पुस्ताका प्रतिभाहरूलाई असीम माया दिन्छन् । तिनलाई कानको फूलझैं गर्छन् । नयाँ गायक गायिकाको सिर्जना कर्मलाई दिल खोलेर सघाउँछन् । विमल क्षेत्री, राजु परियार, शिला आले, बेगम बुलु गोफिके,  दिनेश रञ्जनजस्ता प्रतिभाहरू उनकै छत्रछायाँमा लोकगीतको दुनियाँमा छाएका हुन् ।

यतिबेला ढुङ्गाना =को जीवनले अर्कै लय टिपेको छ । उनी २०७२ सालदेखि कृषिकर्ममा लागेका छन् । काठमाडौंको काभ्रेस्थलीमा १० रोपनी जमिनमा तरकारी खेती गर्छन् । कृषिकर्मबाट बचेको समयमा लोकगीतसम्बन्धी कार्यक्रमको निम्ता मान्छन् अनि साथीभाइसँगको भेटघाट र वार्तालापहरूमा रमाउँछन् ।

उनको तरकारीबारी तीर्थस्थलजस्तो भएको छ । मोबाइलको घण्टी निरन्तर बजिरहन्छन् । बारीमा पाखुरा जोतिरहेका ढुङ्गानालाई भेट्न आउनेहरूको भीड टुट्दैन । उनको शब्द-कारिगरीबाट प्रभावित भएर अहिले पनि धेरै दोहोरी गायक–गायिकाहरू गीतको शब्द बनाइमाग्न उनीकहाँ धाउँछन् ।

ढुङ्गानालाई नामको लोभ छ, न त दामको नै । उनको व्यवहारमा अचम्मको उदारता छ । उनी अरूका लागि गीत लेखिदिन्छन् तर आफूले रचेका शब्दलाई भनेर दाबी गर्दैनन् । एक हिसाबले उनी सन्तान जन्माउने तर राम्ररी नस्याहर्ने माउजस्ता छन् ।

लोकसङ्गीतको झङ्कारले जोडेका उनका सम्बन्धहरूको जालो ठूलो छ । साथीसंगीसँग उठबसका प्रसंगहरू रोचक छन् । समयले बुनेका किस्सा-कहानी घतलाग्दा छन् । लेख्ने हो भने ती किस्सा-कहानीका बेग्लै पुस्तक बन्छ ।

साथीसँग गीतैगीतमा हाँसोठट्टा चल्थ्यो । एउटा प्रसंग सुनाइहालौँ । २०४० सालको राष्ट्रिय युवा महोत्सवमा चितवनका चर्चित दोहोरी गायक रफिक मियाँसँग ढुङ्गानाको राष्ट्रिय नाचघरको गेटैमा भेट भएछ । उनले गीतमै व्यङ्ग्य कसिहालेछन्:

 ‘आइपुग्यो रफिके मियाँ,
दुइटी स्वास्नी राखेर अधिया’ ।

रफिक मियाँ पनि के कम थिए र ! उनले पनि तत्कालै पैंचो तिरिहालेछन्:

 ‘शुद्धि छैन यो मोरो सुधाको
घरकी स्वास्नी अर्कैले कुदाको’ ।

कृष्णसुधा ढुङ्गानालाई जीवनमा दुईटा भयानक नशाले छाडेनन् । एउटा लोकगीतको नशा, अर्को मदिराको नशा । लोकगीतको नशाले उनलाई साङ्गीतिक माहोलमा सर्लक्कै भिजाइदियो भने मदिराको नशाले केही हदसम्म जीवनको लय भत्काइदियो । उनको मदिराभोगसँग गाँसिएका किस्सा-कहानी साथीसंगीबीच निकै  चर्चित छन् ।

जतिबेला कृष्णसुधा ढुङ्गाना प्रसिद्धिको शिखर चढ्दै थिए, त्यतिबेला प्रहरी वृत्तमा कलकारको भाउ राम्रो थियो । मदिरापानको असरले बाटोमा छेपारी बटारिहँदा प्रहरीले उनलाई सम्हालेर डेरासम्मै सुरक्षित तरिकाले ल्याइदिन्थे । त्यो पनि एक पटक होइन, दुई पटक होइन, पटक पटक ।

उनका कतिपय साथीभाइले रेष्टुराँमा उधारो खाएर त्यसै छाडेका हुन्थे । खल्तीमा पैसा भएको बेलामा बहीखाता पल्टाएर हेर्थे । साथीभाइका बक्यौता आफ्नै सम्झेर तिरिदिन्थे । आफूसँग पैसा नभएको बेलाचाहिँ भगवान भरोसा । जस्तो पर्छ, उस्तै टर्छ । उनको गीतले उनकै चर्चा गरेझैं लाग्छ : ‘जहाँ पुगुँला, उही आगो फुकुँला...’ । वास्तवमा निष्फिक्री जिन्दगीका हिमायती हुन्, ढुङ्गाना ।

ढुङ्गानालाई एकदमै मन पर्ने गीत हो, कल्याण सेरचनको ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’ । उनलाई लोकबहादुर क्षेत्री, शावित्री शाह आदिका स्वर बिछट्टै मन पर्छ । अनुज पुस्तामा बीमाकुमारी दुरा, मीरा राना मगर, राजु परियार, राजन ठकुरी, बिमल क्षेत्री, शर्मिला गुरुङ, धना पुन, पार्वती जीसी आदिका कला र गलाका प्रशंसक हुन् ।

साङ्गीतिक यात्रामा भेटिएका नारायाण रायमाझी, तारा शर्मा, पानुमाया गुरुङ, मन छन्त्याल, तत्सत प्रधान, माया गुरुङ, कोमल ओली, नन्द राना, लालु गुरुङ, लोकबहादुर क्षेत्री, तीर्थबहादुर गन्धर्व, राजेन्द्र लम्साल क्षेत्री, रामशरण नेपाली, नारायण पाण्डे, काजु सेरचन, रफिक मियाँजस्ता समकालीन प्रतिभाहरूलाई उनी खुबै सम्झना गर्छन् ।

समयको यो विन्दुबाट उनको विगततिर फर्कँदा जिन्दगीका बाङ्गाटिङ्गा बाटा र घुम्तीहरू आँखा अघिल्तिर आउँछन् । उनले केही वर्ष आफ्नो गृह जिल्ला लमजुङमा मास्टर भएर बिताए । राजधानी छिरेपछि नेपाल आयल निगम, साझा यातायात, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत धेरै ठाउँमा जागिर खाए ।

पछिल्लो समयमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा प्राज्ञ (वि.सं. २०७१-२०७५) भएर लोकसङ्गीत श्रीवृद्धिको  जिम्मेवारी सम्हाले । फुक्काफाल भएर हिँड्न मन पराउने ढुङ्गानाले जागिरमा ध्यानै दिएनन् । जागिर कहिल्यै पनि उनको प्राथमिकताको विषय नै परेन ।

उनी न भौतिक वैभव जोड्नतिर लागे, विज्ञापित हुन नै चाहे । न कुनै लोभ–लालच फँसे, न त कसैप्रति इर्ष्याभाव नै राखे । एक हिसाबले उनी आत्माद्रोही व्यक्ति हुन् । आफ्नो अहित गरेर भए पनि अरूको हित गर्न तम्सने व्यक्ति । उनी आफ्नो दुःख बिर्सिएर अरूको दुःख देख्ने प्राणी हुन् ।

यतिबेला भने ढुङ्गाना अलिकति आफ्नैबारे सोच्न थालेका छन् । आफ्ना छरिएर रहेका गीतहरू एकठ्ठ गरेर अल्बम निकाल्ने उनको योजना छ । नयाँ गीत रेकर्ड गर्ने पनि उनको रहर छ । उनी आफ्नो जन्मस्थान दुराडाँडामा ‘लोकसङ्गीत गाउँ’ स्थापना गर्ने योजना पनि बुन्दैछन् । उनका अरू दुईटा योजना पनि पाइपलाइनमा छन् : ६० वर्ष पुगेको अवसरमा एकल प्रस्तुति गर्ने र मदिरासँग पारपाचुके गर्ने ।

मदिरासँग ढुङ्गानाको पारपाचुके भएको देख्न चाहने शुभचिन्तकहरू सुखद समाचारको व्यग्र पर्खाइमा छन् । उनको सिर्जनाकर्मबाट वनपाखामा गुञ्जने मौलिक लोकभाकाहरू फराकिलो घेरा ढाक्ने गरी प्रतिध्वनित भइरहुन् भन्ने पनि धेरै शुभेच्छुकहरूको शुभेच्छा छ ।

[साभारः लोकसंवाद । २०७५ साल माघ २५ गते ।]

 अद्यावधिक २०७७।०३।२७, २०७७।०३।२८

Sunday, February 3, 2019

Watch what you eat


-Yam Bahadur Dura

The regular appearance of unrealistically skinny models and film stars on TV screens leaves lasting impacts on young people, who aspire to look like them. With these unhealthy proportions, the idea of a 'perfect body' has been peddled by media narratives of in this modern world. Created by and for interest of the patriarchy, these unhealthy ideals, have led to rising rates of depression and self-esteem issues among women.

These days, people like seem to be seen like others, not as themselves. Different phrases that capture these ideals such as 'Barbie figure' or 'size zero' encourage women to aspire them by striving tangible goals. The growing hunger for attractive body has given rise to dangerous industry: fad diets.

Fad diet is a much discussed health-related topic in the present day world. As defined by the promoters, fad diet promotes specific routines of liquid and solid food consumption that promise to produce rapid weight loss, and other health advantages longer life and a more attractive body. Fad diets include high fiber, low-carbohydrate, low-fat, liquid diet, and low-calorie foods.

These diets are often portrayed as low-intensive routines that require minimal effort and produce high results. As stated in public records, modern fad diets came into existence in 1930 in the western world, and it has become an important topic in public health.

 Nepal has already entered the era of fad diets. Most people may not be familiar with the phrase 'fad diet'. But they may be prescribing to its routines using fad diet without knowing its meaning and consequences. Jamara, aloe vera juice, bottle gourd juices, herbal tea, etc. are part of many fad diets, which are increasingly gaining popularity.

Stalls of such products can be seen in the nooks and corners across town. On supermarket shelves all over the metropolis, one can also find plethora of 'slimming teas' and 'fat reducing creams' that promise similar effects. Unfortunately, based on their growing intrusion in the marketplace, it seems that a customer for these diets is amassing.

Fad diet is a big business, and it has become a money spinner for many investors. Promoters of fad diet present their products as a 'panacea for all health problems'. In addition, famous celebrities appear in advertisements of fad diets, and they give a stamp of approval to those products. These persuasive techniques of communication make general public believe in magical results of fad diets. Despite their popularity, the validity and relevancy of fad diets are doubtful.   Health experts are constantly refuting the claims of magical effects by conducting research that proves that many of these routines do not deliver on their promises.

Like everything else, fad diets have both pros and cons. In Jailen Johnson's thought-provoking article for American Council on Science and Health, 'Fad diets are bad diets', she writes:  'The Boston Medical Center reported that of the estimated 45 million American who go on a diet annually, 50% of them use fad diets.' A fad diet promises quick weight loss and that can be true, but that is because they are crash diets and involve unhealthy, unbalanced eating plans. Although fad diets have been proven not to work on multiple occasions, people still have faith in quick fixes.' 

While fad diets may reveal quick results at the onset, they can lead to several unhealthy impacts in the long run. The nature of any crash diet involves unhealthy and unbalanced eating plans that can lead to future digestion complications and weight fluctuation.  As Johnson highlights there are many healthy ways to maintain one's weight that do not include fad diets-including incorporation of whole and healthy food in their diet and exercise. Many experts believe that fad diets are based on pseudo-science. Even diets that claim to be 'backed by research' are often based superficial studies that are not peer-reviewed.

Then it goes without saying that products that are directly related to public health should not go unchecked.  Unregulated sales and uses of such products is a serious public health concern, which demands public discourse.  Its pros and cons should be widely discussed. Public should have an enough chance to be well-informed about positive and negative aspects, without which its validity remains in question.

There is no any short-cut and one-stop solution for health-related problems. Maintaining a healthy life and longer life is a lifelong process. Marian Nestle, an American professor of nutrition, has written a book 'What to Eat', wherein she writes, 'The basic principles of good diets are so simple that I can summarize them in just ten words: eat less, move more, eat lots of fruits and vegetables.' 

This is not to say that fad diets are meaningless and worthless. Rather, it is to encourage the idea of a' healthy sense of doubt'. This sense protects us from bad impacts of any commercial products before it is too late to correct them.

[Courtesy: The Kathmandu Post. February 3, 2019]