Thursday, December 11, 2014

भैपरी र खाद्यअधिकार

–यमबहादुर दुरा

‘भोक विवादास्पद विषय होइन ।’ तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याक्लिन रुजबेल्टका निकटम् सल्लाहकार ह्यारी हप्किन्सको यो भनाइले खाद्यअधिकारबारे घुमाउरो ढङ्गमा धेरै कुरा बोलेको छ । यसले खाद्यान्न मानव जातिको अपरिहार्य आवश्यकता हो तथ्यलाई परोक्ष रूपमा पुष्टि गरेको देखिन्छ । साथै, खाद्यअधिकार नागरिकको निर्विवाद र अहरणीय अधिकार हो भन्नेतिर पनि घुमाउरो किसिमले संकेत गरेको देखिन्छ ।

खाद्य अधिकारका विभिन्न परिभाषा छन् । भोक, खाद्य असुरक्षा र खाद्यान्नमा अखाद्य वस्तुको मिसावटबाट मुक्ति पाउनुलाई नै खाद्य सामान्य अर्थमा अधिकार भन्न सकिन्छ । गुणस्तरहीन खाद्यवस्तु, अखाद्यवस्तुको मिसावट, खाद्यवस्तुमा कृत्रिम मूल्यवृद्धिजस्ता खाद्यवस्तुसँग सीधा सरोकार राख्ने समस्याहरूबाट छुटकारा पाउनु पनि खाद्यअधिकार अन्तर्गत नै पर्छ ।

खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष रपोटियरले सन् २०१२ जारी गरेको प्रतिवेदनमा खाद्यअधिकारबारे भनिएको छ, ‘खाद्यअधिकारको अर्थ सरकारले जोकोहीलाई निःशुल्क खाद्यान्न जुटाइदिनुपर्छ भन्ने होइन । तर लडाइँ, प्राकृतिक विपत्ति आदिका कारण अप्ठेरोमा परेका नागरिकलाई पर्याप्त खाद्यवस्तु उपलब्ध गराउनु सरकारको सीधा दायित्व हुन आउँछ ।’

‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ लगायतका अन्तर्राष्ट्रिय दस्तावेजहरूले खाद्यअधिकारलाई उच्चस्थान दिएको पाइन्छ । खाद्य अधिकारको कानुनी व्यवस्थासम्बन्धी इतिहास हेर्दा ‘म्याग्ना कार्टा’ सम्म पुग्न सकिन्छ ।

सन् १२१५ मा बेलायतमा जारी ‘म्याग्ना कार्टा’ ले अप्रत्यक्ष रूपमा खाद्य अधिकारबारे बोलेको पाइन्छ । त्यसमा भनिएको छ, ‘मानिसको बाँच्ने आधार (खाना) नै हर्ने गरी कसैलाई पनि दण्ड दिइने छैन ।’ 'मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८' को धारा २५ ले खाद्यान्न, बासस्थान, लत्ताकपडा, औषधोपचारलागयत समुन्नत जीवनस्तरको हकबारे बोलेको छ ।

‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को (धारा ११ र साधारण टिप्पणी नं १२) ले खाद्य, लत्ताकपडा, आवासलगायत स्तरीय जीवनस्तरको हकको व्यवस्था गरेको छ । ‘नेपालको अन्तरिम संविधान, २०६३’ ले खाद्यअधिकारलाई  प्राथमिकता दिएको छ । त्यसको धारा १८ (३) मा प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम खाद्य सम्प्रभुत्ताको हक हुनेछ भनिएको छ । सोही संविधानको धारा ३३ (ज) ले  शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्य सम्प्रभुतामा सबै नागरिकको अधिकार स्थापित हुने उल्लेख गरेको छ ।

आफ्नो खाद्यअधिकार रक्षाका लागि व्यक्ति स्वयम् जति जिम्मेवार छ, त्यसमा राज्यको जिम्मेवारी कुनै पनि अर्थमा कम छैन । नागरिकले पर्याप्त मात्रामा पौष्टिक तथा गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउने वातावरण तयार पार्नु पनि राज्यकै दायित्व हुन आउँछ । राज्यको खाद्यान्नसम्बन्धी परिपाटीलाई नियमन गर्न कानुनको अभाव भएमा सोसम्बन्धी कानुन बनाउने, खाद्यान्नसम्बन्धी कानुनको मस्यौदा तयार पार्दा अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको अनुकूल हुने गरी बनाउने, खाद्यान्नसम्बन्धी विषयमा रेखदेख गर्ने जिम्मेवारी पाएको सरकारी निकायलाई क्रियाशील र समन्वयात्मक बनाउनेजस्ता जिम्मेवारी पनि राज्यकै हुन्छ ।

नागरिकको खाद्यअधिकारलाई सुनिश्चित गर्नका लागि राज्यका अनुगमनकारी निकायहरू पनि उत्तिकै बलियो र प्रभावकारी हुन आवश्यक छ । नेपाल सरकारद्वारा स्थापित अनुगमनसम्बन्धी निकाय दसैँजस्ता चाडपर्वको पूर्वसन्ध्यामा केही सक्रिय हुने गरेको र बाँकी समयमा निकै सुस्त र प्रभावहीन भएको जनगुनासो छ । यस पृष्ठभूमिका राज्यद्वारा स्थापित अनुगमनसम्बन्धी निकायले थप सक्रियता देखाउनुपर्ने देखिन्छ ।

नागरिकको खाद्य अधिकार सुनिश्चित गर्ने दिशामा उपभोक्तावादी संघसंस्था तथा मानव अधिकारसम्बन्धी निकायहरूको पनि उत्तिकै अहम् भूमिका रहन्छ । उपभोक्तवादी संघसंस्थाले बेलाबखतमा यसमा चासो देखाएको देखिन्छ । यी संघसंस्थाले खाद्यान्नमा अखाद्य वस्तुको मिसावट, कृत्रिम मूल्यवृद्धि आदिबाट उपभोक्तालाई परेको असरबारे समय–समयमा आवाज उठाएको देखिन्छ । यस क्रममा राष्ट्रिय मानव अधिकार आयोगले खाद्यअधिकारलाई मानव अधिकारकै हिस्सा मानेर समय बेलाबखतमा अनुगमन गरेको पाइन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगले ‘उपभोक्ताको मानव अधिकार संरक्षण तथा सम्वद्र्धनका लागि अनुगमन मार्गनिर्देशिका’ जारी गरी अनुगमन कार्यलाई अघि बढाएको पाइन्छ । यद्यपि खाद्यवस्तुको अनुगमनबाट मात्रै नागरिकको खाद्यअधिकार संरक्षण  हुनसक्छ भन्ने होइन । यसलाई खाद्यअधिकार संरक्षणका लागि भएका प्रयासहरूमध्ये एक मान्न सकिन्छ ।

खाद्यान्नको उत्पादनेदेखि वितरणसम्मको चक्र र त्यससँग गाँसिएका कानुनी तथा नीतिगत पक्षहरूलाई सही किसिमले दिशानिर्देश गर्न सकेमा नागरिकको खाद्यअधिका सुनिश्चित भएको मानिन्छ । यसैगरी खाद्यअधिकारका आयामहरू : खाद्यान्नको उपलब्धता, पर्याप्तता, पहुँच र दीगोपनलाई उत्तिकै ध्यान दिन आवश्यक छ । खाद्यअधिकारको क्षेत्रमा कार्यरत संस्था ‘फियान नेपाल’ ले खाद्यअधिकारका यी आयामहरूलाई यसरी अर्थ्याएको छ :

उपलब्धता : प्राकृतिक तथा उत्पादनशील स्रोतहरूको व्यवस्थित वितरण, प्रशोधन र बजार प्रणालीमार्फत सबै क्षेत्रमा सहज रूपमा खाद्यान्न प्राप्त हुनुपर्छ ।

पर्याप्तता : गुणस्तरीय, पोषणयुक्त एवम् सांस्कृतिक रूपमा स्वीकार्य खाद्यवस्तु पर्याप्त रूपमा उपलब्ध हुनुपर्छ ।

पहुँच : खाद्यान्न उत्पादन र उपभोगका लागि आवश्यक स्रोत–साधनमा भौतिक र आर्थिक रूपले पहुँच राख्ने वातावरण बन्नुपर्छ ।

दीगोपन : खाद्यान्न प्राप्ति क्षणिक नभई भविष्यका सन्ततिका लागि समेत सुनिश्चित हुने वातावरण बन्नुपर्छ ।
संयुक्त राष्ट्रसंघीय दस्ताबेजहरूले राज्यले नागरिक खाद्य अधिकारको सम्मान, संरक्षण र परिपूरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यी दस्तावेजहरूले खाद्यअधिकार बहुआयमिक विषय भएको स्वीकार्दै यसमा राज्यले पूरा गर्नुपर्ने जिम्मेवारी थुप्रै सन्दर्भमा प्रकाश पारेका छन् ।

‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को धारा ११ ले खाद्यान्न उत्पादन, भण्डार र वितरण प्रणालीलाई सुधार्नेलगायतका खाद्यअधिकारसँग सरोकार राख्ने तमाम मामिलाहरूमा राज्यको महत्वपूर्ण र निर्णायक भूमिका हुनेमा जोड दिएको छ । यी सुधारात्मक कार्यहरू अघि बढाउँदा सम्बन्धित देशको संविधान, कानुन, नीति तथा कार्यक्रमहरूमा समेत आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने पक्षमा पनि सो अभिसन्धिले जोड दिएको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ ले नागरिकको खाद्यअधिकारको सम्मान, संरक्षण र परिपूरण गर्नुपर्ने दायित्वबारे प्रकाश पार्दै राज्यबाट हुनसक्ने विभेदको अन्त्यका लागि पनि जोड दिएको छ । सो अभिसन्धिकोे धारा २ (२) मा खाद्यअधिकार उपभोग गर्ने क्रममा लिङग, रङ्ग, जात, उमेर, भाषा, धर्म, राजनीतिक विचार आदिको आधारमा कसैमाथि पनि भेदभाव गरिनुहुँदैन भनिएको छ ।

राष्ट्रसंघीय प्रतिवेदनहरूले एशिया, अफ्रिका तथा दक्षिण अमेरिकाका कतिपय मुलुकहरूमा खाद्यान्न वितरणका लागि पूर्वाधारको अभाव, खाद्यान्नमा नागरिकको कमजोर पहँच र खाद्यान्न वितरणमा अनियमितता रहेको औंल्याएका छन् ।

खाद्यअधिकारको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजहरूले पर्याप्त रूपमा बोले पनि  नागरिनकको सन्तोषजनक रूपमा खाद्यअधिकार सुरक्षित भएको पाइँदैन । एक अनुमानअनुुसार नेपालमा लगभग ७० लाख मानिस पर्याप्त खाद्यान्न र पौष्टिक आहारको कमीबाट गुज्रिरहेका छन् ।

नेपालको कतिपय पहाडी तथा हिमाली जिल्लाहरूमा समयमा खाद्यान्न नपुगेको तथा पुगिहाले पनि ती खाद्यान्न गुणस्तरहीन भएको चर्चा बेलाबखतमा चल्ने गरेको छ । त्यसमा पनि बाढी–पहिरो, भूकम्प, आगलागी, अनिकाल आदिका कारण प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई उचित समयमा गुणस्तरीय र पौष्टिक नपुगेको गुनासो सुनिन्छ ।

यसको एउटा दृष्टान्तको रूपमा २०७१ साल साउनको अन्त्यतिर बाढीबाट प्रभावित पश्चिम नेपालका नागरिकलाई खाद्यान्नलगायत राहत सामग्री उचित समयमा नपुगेको अवस्थालाई लिन सकिन्छ । बाढीको चपेटामा बर्दिया, सुर्खेत नागरिकले हप्तौंसम्म पनि खाद्यान्नलगातयका आधारभूत राहत सामग्रीहरू नपाएको समाचार आयो ।

प्राकृतिक विपत्तिको बेलामा परिस्थिति नियन्त्रणभन्दा बाहिर हुने भएकोले नागरिक बेसाहरा बन्न पुग्छन् । यस्तो अवस्थामा खाद्यान्नलगायतका जीवन धान्ने आधारभूत वस्तुहरू उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व हुन आउँछ ।

भविष्यमा हुनसक्ने यस्ता प्राकृतिक विपत्तिमा नागरिकको खाद्य अधिकार हनन हुनसक्ने विषयमा सरकार समयमै सचेत भई यसका लागि आवश्यक पूर्वाधारहरू खडा गर्न जरुरी छ । यसका लागि आवश्यक कानुन, नीति र संरचनाहरूलाई दुरुस्त राख्न आवश्यक छ । यसका लागि राज्य हरदम तयारी अवस्थामा रहनुपर्ने देखिन्छ ।

['खाद्यअधिकार लागि राष्ट्रिय सञ्जाल' को प्रकाशन खाद्यअधिकार (अगस्ट–सेप्टेम्बर, २०१४) ]

Friday, October 17, 2014

दुरा भाषाको सङ्क्षिप्त अध्ययन

–यमबहादुुर दुरा


लोपप्राय अवस्थामा रहेको दुरा भाषाको अभिलेखीकरण तथा खोज–अनसन्धानमा हालसम्म भएका प्रयासबारे टिपोट प्रस्तुत गर्नु नै यस लेखको मुख्य उद्देश्य हो । यस लेखमा प्रयोग भएका तथ्याङ्क तथा जानकारीहरू मूलतः द्वितीयक (सेकेण्डरी) स्रोतमा आधारित छन् । यसमा केही मात्रामा पर्यवेक्षणमा आधारित सूचना (जानकारी) पनि प्रयोग भएका छन् । यो विश्लेषणात्मक लेख नभई खासगरी आँकडा तथा तथ्यहरूको प्रस्तुति मात्रै हो । यस लेखले दुरा भाषाको खोज–अनसन्धानमा अरू अनुसन्धाताहरूलाई बाटो देखाउने र त्यस दिशामा प्रेरित गर्नेछ भन्ने अपेक्षा राखेको छ ।

मुख्य शब्द तथा शब्दावलीहरू :  दुरा भाषा, दुरा भाषाका शब्द, लोपप्राय भाषा, वर्ण निर्धारण, टिपोट, भोट बर्मेली भाषा परिवार ।

दुरा समुदाय नेपालका अल्पसंख्यक तथा लोपोन्मुख जनजाति मानिन्छ । लमजुङको दुराडाँडा मुख्य बसोबास क्षेत्र मानिन्छ । अहिले समयक्रमसँगै देशका अन्य भागमा दुरा जातिका मानिसहरू पुगेका छन् । राष्ट्रिय जनगणना २०५८ का अनुसार यस समुदायको कुल जनसंख्या पाँच हजार १६९ रहेको छ भने दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा गरेको जनगणना अनुसार दुराहरूको कुल जनसंख्या पाँच हजार ६७६ रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) । राष्ट्रिय जनगणना २०६८ का अनुसार दुरा समुदायको कुल जनसंख्या जनसंख्या पाँच हजार ३९४ रहेको छ ।

दुरा जातिको मुख्य बस्ती लमजुङ हो । यहाँ दुराहरूको कुल जनसंख्याको लगभग ७२ प्रतिशत मानिस बसोबास गर्छन् । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ, बर्धान, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार आदि गाउँहरुमा दुराहरुको बसोबास रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७)  ।

यसैगरी दुरा जातिको दोस्रो ठूलो बस्ती तनहूँ  हो, जहाँ दुराहरूको कुल जनसंख्याको मोटामोटी १६ प्रतिशत मानिस बसोबास गर्छन् । तनहूँको शिसाघाट, राम्चे, धरमपानी, सत्रसय, चिसापानी, तनहूँसुर, रामथुम्की, क्यामिन आदि गाउँहरूमामा दुरा समुदायको बस्ती रहेको छ । तनहूँको सदरमुकाम दमौली पनि दुरा समुदायको नयाँ बस्तीहरूमध्ये एक मानिन्छ (ऐ.ऐ.) ।

बितेको ४०-५० वर्षमा दुराहरु आफ्नो मौलिक थलो छाडेर देशको विभिन्न भागमा बसाइँ सरेको पाइन्छ । खासगरी तराइमा औलो नियन्त्रण हुन थालेपछि बसाइँ सराइको  गति तीव्रता आएको पाइन्छ । यो क्रम अहिले पनि जारी नै छ । प्राप्त आँकडाअनुसार अहिले दुराहरु कास्की, चितवन, नवलपरासी, ओखलढुङ्गा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछापलगायत देशका १२ जिल्लाहरूमा छरिएर बसेका छन् । यसबाहेक देशका अन्य भागमा पनि दुरा बस्तीहरु अस्तित्वमा रहेको जानकारी प्राप्त भएका छन्, तर तिनको उचित खोजअनुसन्धान हुन सकेको छैन (ऐ.ऐ.)  ।

जनसांख्यिक हिसाबले दुरा समुदाय लोपोन्मुख अवस्थामा रहेजस्तै मातृभाषाको दृष्टिले पनि यो समुदाय संकटापन्न अवस्थामा रहेको देखिन्छ । दुरा जातिको मातृभाषा प्रचलनमा रहेको पाइँदैन । यो भाषा भोट–बर्मेली भाषा परिवारको एक सदस्य मान्छि । दुरा समुदायमा अहिले नेपाली भाषा नै बोलीचालीको भाषा बनेको छ । यद्यपि नेपाली भाषा बोल्दा यदाकदा दुरा समुदायका मानिसका मुखबाट दुरा भाषाका शब्दहरू उच्चारण हुने गरेको पाइन्छ । जस्तै : गुमा (माइजू), माकुली (इन्द्रेणी), झना (तरुनी), कोर्जे (दस्तुर), मैखु (आमा), मुसी (सानिमा) आदि ।

दुरा समुदायका आठ/नौ दशक नाघिसकेका बूढापाकाहरूले आफ्ना आमा–बाले आंशिक रूपमा दुरा भाषा बोल्ने गरेका र आफ्ना बाजेबज्यैले पूरापूर रूपमा दुरा भाषा बोल्ने गरेका जानकारी दिने गरेको पाइएको छ । यस हिसाबले करिब १५० वर्ष अघिसम्म दुरा भाषा दुरा समुदायमा बोलीचालीको भाषा थियो भन्ने अनुमान गर्न सकिन्छ । अनौपचारिक रूपमा दुरा भाषाको चर्चा परिचर्चा भए पनि यसबारे खोजअनुसन्धानको सिलसिला भने धेरै पछि शुरु भएको पाइन्छ ।

लमजुङ (दुराडाँडा) का ऋषिकान्त अधिकारीले २०४१ सालमा ‘दुरा जातिको परिचय’ नामक पुस्तिका प्रकाशन गरेपछि दुरा भाषाका शब्दहरू लेख्य रूपमा जनसमक्ष आएको पाइन्छ । ती शब्द लमजुङ (ठूलोस्वाँरा, गैरीगाउँ) निवासी चन्द्रसिङ (थकाली) दुराबाट प्राप्त भएको लेखकले पुस्तिकामा उल्लेख गर्नुभएको छ । उक्त पुस्तिकामा दुरा भाषाका केही शब्दहरूका सूची प्रस्तुत गरिएका छन् । वि.सं. २०३३ सालतिर नै लमजुङ तुर्लुङकोट निवासी केशबहादुर दुरा (२००० सालमा जन्म) ले दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । यसैगरी दुरा जातिको भाषा र संस्कृतिका अध्येता तथा दुरा सेवा समाजका वर्तमान संरक्षक बीरबहादुर दुरा तथा देवबहादुर दुरा ( दुरा सेवा समाजका वर्तमान सल्लाहकार ) ले पनि दुरा भाषाका शब्दहरू संकलन गरेको पाइन्छ । लमजुङ (ठूलोस्वाँरा) का समाजसेवी जिम्मावाल भीमबहादुर दुराको यस क्षेत्रमा योगदान देखिन्छ ।

वि.सं. २०४२-०४३ (सन् १९८५-०८६) तिर लैला माडेज ( Laila Madge) ले ‘द दुरा अफ सिन्दुरे : पर्सपेक्टिभ अफ इथ्निसिटी’ शीर्षकमा शोधपत्र तयार पार्नुभएको थियो । लमजुङ (ठूलोस्वाँरा, गैरीगाउँ) मा बसेर तयार पारिएको सो शोधपत्रमा दुरा भाषा तीन पुस्ता अघिसम्म बोलिन्थ्यो भन्ने उल्लेख गरिएको छ । त्यस शोधपत्रमा दुरा भाषाका लगभग दुई सय शब्द छन् (दुरा जातिको भाषा, परम्परा र संस्कति, पृ. ३२) ।

विभिन्न अनुसन्धानाहरूको स्रोत व्यक्तिबाट दुरा भाषाका शब्द तथा वाक्यहरू संकलन गरेका पाइन्छ । यस्ता स्रोत व्यक्तिहरूमा बर्धान निवासी बुदुनीमाया दुरा, कलौदी दुरा, तत्कालीन समयका ७० वर्षीय विष्णुमाया दुरा, ठूलोस्वाँरा निवासी तत्कालीन समयका  ८० वर्षीय सन्तमाया दुरा (सुबेदार्नी आमा) लगायतका महिलाहरूको नाम आउँछ (ऐ.ऐ. पृ. ३३) ।

केशबहादुर दुराले संकलन गरेका दुरा भाषाका शब्दहरू तथा आफ्नै स्थलगत अध्ययनका आधारमा मुक्तिनाथ घिमिरे (२००९ सालमा जन्म) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पारेको भेटिन्छ । ‘दुरा सेवा समाज’ ले २०५७ सालमा ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन ग-यो  । उक्त पुस्तकमा जातिको सांस्कृतिक पक्षका अतिरिक्त दुरा भाषाका केही शब्द र सामान्य वाक्यहरू समावेश गरिएका थिए । यसपछि ‘दुरा सेवा समाज’ ले २०५९ सालमा दुरा भाषाको ‘संक्षिप्त व्याकरण तथा शब्दावली’ शीर्षकको पुस्तक तयार ग-यो , जुन अप्रकाशित कृतिको रूपमा रहेको छ ।

‘दुरा सेवा समाज’ ले 'आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान' को सहयोगमा २०६० सालमा ‘दुरा भाषाको शब्दकोश’ प्रकाशन ग-यो  । उक्त शब्दकोशमा करिब एक हजार ५०० शब्द र २७७ वाक्य रहेका छन् । दुरा भाषाका शब्दको अर्थ नेपाली भाषामा दिइएको भए पनि उक्त शब्दकोशमा अङ्ग्रेजीमा अर्थ दिइएको छैन ।

‘दुरा सेवा समाज’ ले दुरा भाषाको संरक्षण  गर्ने हेतुले २०६४ साल माघ १९ गतेको बैठकको निर्णयानुसार एक निकाय गठन गरेको पाइन्छ । यसको नाम हो ‘दुरा भाषा संरक्षण समिति’ । मिथुन दुराको संयोजकत्वमा गठित उक्त समितिमा यमबहादुर दुरा (भाँगु, लमजुङ), प्रेमबहादुर दुरा (भाँगु, लमजुङ), बुद्धिबहादुर दुरा (सानोस्वाँरा, भोर्लेटार) र होमबहादुर दुरा (शिशाघाट, तनहूँ) रहेका छन् ।

उक्त समितिको पहलकदमीमा ‘दुरा सेवा समाज’ ले २०६७ साल असार पाँच गते ‘दुरा भाषा खोजीका प्रयासहरू : विगत र वर्तमान’ समीक्षा गोष्ठी आयोजना ग-यो । गोष्ठीमा भाषाविद डा. माधव पोखरेल, भाषिक परामर्शदाता अमृत योञ्जन, दुरा भाषाका अध्येताद्वय केदार नागिला तथा मुक्तिनाथ घिमिरे एवम् दुरा भाषाका वक्ता मानिएका सोमामाया दुराले दुरा भाषाको संरक्षण तथा सम्वर्धनका विषयमा विश्लेषणात्मक धारणा राख्नुभएको थियो ।  उक्त गोष्ठीमा दुरा भाषाको खोजअनुसन्धानमा आइरपरेका समस्या र सम्भावनाहरूबारे व्यापक विचार विमर्श भएको थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०६७) ।

पछिल्लो समयमा ‘दुरा सेवा समाज’ ले दुरा भाषाको संरक्षण र सम्वद्र्धनमा केन्द्रित भएको पाइन्छ । यसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा २०६८ साल वैशाख ३१ र जेठ १ गते दुरा भाषाको वर्ण निर्धारण गरियो । यस अनुरूप दुरा भाषामा ३७ वर्ण र १० स्वर गरी ४७ वटा वर्ण निर्धारण भएका छन् (दुरा भाषाको वर्ण निर्धारण, पृ. २६) ।

‘दुरा सेवा समाज’ ले विगत दुई वर्षदेखि दुरा भाषाको प्रशिक्षक प्रशिक्षक कार्यक्रम दिँदै आएको छ । २०७० साल वैशाख १२ देखि २१ गतेसम्म दुरा सेवा समाज केन्द्रीय कार्यालय (काठमाडौँ) मा दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरियो । उक्त प्रशिक्षण कार्यक्रममा काठमाडौं, चितवन, लमजुङ, कास्की र तनहूँका १७ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०७०) ।

२०७० साल वैशाख २० देखि २९ गतेसम्म दुराबस्ती अयोध्यापुरी– ९, माडी ९चितवन) मा दुरा भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरियो । मुक्तिनाथ घिमिरे, केशबहादुर दुरा तथा विनेश दुराले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा काठमाडौं, चितवन, लमजुङ, कास्की र तनहूँका २० जना प्रशिक्षार्थीहरूको सहभागिता थियो (दुरा सेवा समाजको प्रगति प्रतिवेदन, २०७१) ।

पूर्वोल्लिखित गतिविधिहरूबाट दुरा भाषाको खोजअनुसन्धान तथा संरक्षणमा सहयोग पुगेको देखिन्छ । यद्यपि दुरा भाषाको संरक्षण र सम्वर्धनमा धेरै काम गर्न बाँकी छ । प्रचलनमा नभएको भाषा भएकोले दुरा भाषामा कुनै साहित्य भेटिएको छैन । दुरा भाषालाई बोलीचालीमा उतार्ने, यसको व्याकरण तयार पार्ने, दुरा भाषामा लोककथा तथा लोकगीत तयार पार्नेजस्ता काम चुनौतीको विषय बनेको छ ।


सन्दर्भ सामग्री

अधिकारी, ऋषिकान्त । (२०४१) । दुरा जातिको परिचय । पोखराः यशोधा अधिकारी ।
घिमिरे, मुक्तिनाथ । (२०४९) । दुरा भाषाको व्याकरणात्मक स्वरूप । काठमाडौं : त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेपाली विभाग ।
दुरा सेवा समाज । (२०५९) । दुरा जाति आर्थिक तथा सामाजिक पक्षको एक अध्ययन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --  --            । (२०५७) । दुरा जाति भाषा, परम्परा र संस्कृति । पृ. ३२-३३ । काठमाडौं :  दुरा सेवा समाज ।
--  --  --            । (२०७०) । दुरा भाषाको वर्ण निर्धारण । काठमाडौं : दुरा सेवा समाज ।
--  --  --            । (२०५९) । दुरा भाषाको संक्षिप्त व्याकरण तथा शब्दावली (अप्रकाशित) । काठमाडौं :  दुरा --  --  --   --           ।
--  --   --           । (२०५९) । दुरा भाषाको संक्षिप्त व्याकरण तथा शब्दावली (अप्रकाशित) । काठमाडौं :  दुरा सेवा समाज ।
--  --   --           । (सन् २००७) । दुरा सेवा समाज : एक चिनारी (ब्रोसर) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०६७) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०७०) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --           । (२०७१) । दुरा सेवा समाजको प्रगति प्रतिवेदन (अप्रकाशित) । काठमाडौं : दुरा सेवा समाज ।
--  --   --            । (२०६०) । दुरा भाषाको शब्दकोश । काठमाडौं : दुरा सेवा समाज ।

[साभार : सम्पदा 'भाषा विशेषाङ्क’ (वर्ष १, अङ्क १, असार, २०७१)। पृ.१७३-१७५ । परिमार्जित संस्करण ।]

[अद्यावधिक २०७१।०६।०२, २०७१।०७।१३, २०७१।०७।१८, २०७१।१०।०५, २०७१।१०।२६]


Sunday, September 28, 2014

रेडियो भूत


-यमबहादुर दुरा
  
खरले छाएको घर। नजिकै गोठ। मखमलको खोल हालेर घरको पालीमा खाँबोमा झुन्ड्याइएको रेडियो। बाल्यकालमा देखेको गाउँघरको विविध दृश्यमध्ये एक हो यो, जुन अझ पनि झलझली आँखामा आउँछ। पालीको खाँबोमा झुन्ड्याइएको रेडियोले घरको शोभा बढाउँथ्यो। 

यसले गीत गाउँथ्यो, देश विदेशको खबर भन्थ्यो थुप्रै समसामयिक जानकारी पस्कन्थ्यो। मलाई लाग्थ्यो, रेडियो कुनै जादुमय शक्तिले चलिरहेको छ। रेडियोको त्यही जादुमय शक्तिले मलाई पनि रेडियो भएतिरै पु:याउँथ्यो, चुम्बकले फलामलाई तानेझैं। 

साँच्चै ! बाल्यकालमा अचम्मित तुल्याउने वस्तुमध्ये एक थियो, रेडियो। एउटा सानो उपकरणभित्र मान्छे बोल्ने, गीत गाउने वाद्ययन्त्र गुञ्जने। तीन छक पर्थें, यस्तो अचम्मको उपकरण देखेर। मेरो बालमस्तिष्कले सोंच्ने गथ्र्यो- रेडियोभित्र सानासाना मानिस बस्छन्, जो आवश्यकताअनुसार बोल्छन्, गीत गाउँछन् वाद्ययन्त्र बजाउँछन्। 

सानो छँदा छुट्टीमा आएको बेला बाले लाहुरबाट रेडियो ल्याएको सम्झन्छु। सम्भवत: यो नै रेडियोसँगको मेरो पहिलो चिनजान थियो। रेडियो देखेपछि मेरो चकचकेपन बढेर गयो। रेडियो कसरी चलाउने भन्नबारे कुनै आधारभूत जानकारीबिना नै रेडियोका बटन चलाउन पुग्थेँ। 

जथाभावी बटन चलाएर रेडियो बिगारेँ कि बिगारिनँ, त्यो मेरो सम्झनामा छैन। त्यसपछि एकैचोटी अर्को दृश्य सम्झन्छु। घरमा दाइँ-पराल सकेपछि धान बत्याउने बेलामा आँगनको मियोमा रेडियो झुन्ड्याइएको थियो। त्यसमा बजेको गीत पनि सम्झन्छु : 'रातो भाले क्वाएँ क्वाएँ, सुत्केरीलाई ख्वाएँ...

रेडियोमा प्रसारण हुने समाचारले पनि मलाई अचम्ममा पार्थ्यो मलाई लाग्थ्यो, रेडियोमा खबर भन्ने व्यक्तिले एउटा ठाउँमा बसीबसी देश दुनियाँको हालखबर कसरी खरर बताउन सकेका होलान्? 'महाभारत' को पात्र सञ्जयले दृष्टिविहीन धृतराष्ट्रलाई कौरव पाण्डवबीचको लडाइँबारे सविस्तार विवरण सुनाएजस्तो गरी रेडियोबाट खबर भनेको सुन्दा मलाई आश्चर्य लाग्थ्यो। समाचारवाचकले देश दुनियाँको खबर कसरी थाहा पाएको होला, चकित हुन्थेँ। 

त्यतिबेला, पर्दापछाडिको कुरा मलाई कसले बताइदिओस्? समाचारवाचकले अरू कसैले लेखिदिएको सामग्री पढेको हो भन्ने कुरा मलाई कसले अथ्र्याइदिओस्? एउटा समाचार बुलेटिन तयार पार्न सिंगो टिमले मौरीझैं व्यस्त भएर काम गरेको तथ्य मलाई के थाहा? समाचार बुलेटिनलाई मूर्तरूप दिने क्रममा स्वदेशी तथा विदेशी समाचार संस्था, स्थानीय संवाददाता तथा समाचार सम्पादकको मत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा बबुरोलाई त्यतिबेला के थाहा
हामी केटाकेटी छँदा गाउँमा ठूलाबडा छुट्टीमा आएका लाहुरेहरूसँग मात्र रेडियो हुन्थे। त्यसमा पनि लाहुरेहरूको सान बेग्लै हुन्थ्यो। उनीहरू काँधमा रेडियो भुन्ड्याएर ठूलो ठूलो आवाजमा रेडियो घन्काउँदै हिँड्थे। अरूको सिको गर्न हामी केटाकेटीलाई कसले रोक्ने। हाम्रो काँधमा पनि रेडियो झुन्डिन्थ्यो। हाम्रो रेडियो हुन्थ्यो, सलाईको बट्टा। त्यही सलाईको बट्टाभित्र झ्याउँकिरीलगायतका उड्ने हल्लाखोर कीराहरू छोपेर राखिन्थ्यो। 

ती कीराले कैदमुक्त हुने प्रयास गर्थे नै। तिनले बाहिर निस्कने प्रयास गर्दा सलाईको खोकाभित्र पिँपिँ गरेको आवाज आउँथ्यो। कताकता गुनगुन गरेजस्तो आवाज पनि निस्कन्थ्यो। यस प्रकारको आवाजले कताकता रेडियो बजेको भान हुन्थ्यो। सलाईको बट्टामा धागोको फिता हालिन्थ्यो त्यसलाई काँधमा झुन्ड्याएर हिँडिन्थ्यो। कहिलेकहीँ विगततिर विचरण गर्छु, पुरानो कुरा सम्झन पुग्छु। आफ्नो स्वार्थसिद्धिका लागि ती अबोध जीवलाई कैद गरेर आफूले दिएको यातना सम्झँदा कताकता आत्माग्लानि हुन्छ। 

रेडियो अर्को तरिकाले पनि बन्थ्यो। केराको थामलाई काटेर त्यसलाई रेडियोको आकारका काटिन्थ्यो। त्यसमा काँधमा झुन्ड्याएर उपयुक्त हुने गरी फिता राखिन्थ्यो। त्यसपछि काँधमा बोकेर हिँडिन्थ्यो। त्यो ख्यालख्यालको रेडियो बज्ने कुरै थिएन। त्यसैले मुखैले रेडियो बजेजस्तो आवाज निकालेर रेडियो बजेको आभास दिने प्रयास निकालिन्थ्यो। यसरी हामी केटाकेटी पनि लाहुरेहरूको दाँजोमा पुग्ने प्रयासमा हुन्थ्यौं। 

छुट्टी पूरा गरेर हाजिर हुन जाने बेला आफूले ल्याएको रेडियो बाले कसैलाई दिएछन् त्यसपछि हाम्रो घर रेडियोविहीन बन्यो। भने रेडियो सुन्न पल्किसकेको थिएँ। विद्यालय छुट्टी भएको बेलामा गाईबस्तु चराउन जाँदा रेडियो सुन्ने काम हुन्थ्यो। रेडियो लिएर जाने गोठालोसँग आफ्नो गाईबस्तु पनि मिसाउँथे। यसो गर्दा रेडियो सुन्न पाइन्थ्यो। कसैको घरमा जाँदा कानै थापेर रेडियो सुन्थेँ। 

रेडियो बोकेर कुनै पाहुना हाम्रो घरमा आउँदा उसैको छेउमा गएर रेडियो सुन्थेँ। रेडियोमा प्रसारण हुने हरेक कार्यक्रम मलाई रोचक लाग्थ्यो। रेडियो नेपालको प्रसारण सुरु हुने बेलामा बज्ने शंखध्वनि मिश्रित आरम्भ धुन मलाई विलक्षण दुर्लभ लाग्थ्यो। आज पनि त्यो धुन उत्तिकै विलक्षण दुर्लभ लाग्छ। 

आफूसँग रेडियो हुनेहरूले रूखमा रेडियो झुन्ड्याएर खेतबारीमा काम गर्थे। हिउँदकालीन समयको एक दिनको सानो दृश्य मेरो स्मृतिपटबाट हराएको छैन। हिउँदको न्यानो पारिलो घाम वरिपरिको माछीकाँढे डाँडामा झलमल्ल छरिएको थियो। बारीमा हालिएको छाप्रे गोठबाट घामका प्रकाश छिरेका थिए। मेरा छिमेकीले नजिकैको चिलौनेको रूखमा रेडियो झुन्ड्याएर राखेका थिए। त्यस रेडियोमा गीत घन्कियो, 'भैंसी लड्यो है माया भीरबाट हेर ...

गीत सुन्दा सुन्दा अलि बेग्लै किसिमले आनन्दित हुन पुगेको थिएँ। उफ्रौँजस्तो, नाचौं जस्तो, बुर्कशी मार्दै दगुरौंजस्तो, कताकता के के भएको थियो। त्यतिबेला शब्दमा व्यक्त गर्न नसकिने आनन्दबाट गुज्रिएको थिएँ। मनमा नजानिँदो किसिमले उमङ्गको ज्वारभाटा चलेको थियो। त्यति नै बेला मेरो मनको एउटा कुनामा लागेको थियो, यस्तो मीठो गीत बज्ने रेडियो हाम्रो घरमा पनि भइदिएको भए ... वर्षौंपछि मात्र मैले स्वामित्वमा रेडियो आयो। 

मेरो मनलाई पुलकित तुल्याउने गायिका दार्जिलिङकी डेजी बराइली रहिछन्। नेपालबाट प्रकाशित थुप्रै पत्रपत्रिकामा समयक्रममा उनको बारेमा थुप्रै सामग्री छापिए। ती सामग्री रुचिपूर्वक पढेँ, प्रेमपूर्वक पढेँ। डेजी बराइलीको बारेमा पढिरहँदा चिलौनेको रूखमा झुन्ड्याइएको रेडियोमा 'भैंसी लड्यो है माया' गीत घन्किएको सम्झना आउँछ। उनको प्रसंग आउँदा अहिले पनि त्यही बाल्यकालीन स्मृति एकाएक ताजा हुन पुग्छ। 

रेडियो नेपालको लोकसङ्गीतसँग सम्बन्धित कार्यक्रमहरू गाउँबस्तीमा बिछट्टै लोकप्रिय थिए। 'रोदी', 'चौतारी' जस्ता लोकसङ्गीतसँग गाँसिएका कार्यक्रम ग्रामीणजनका लागि बिछट्टै रुचिकर थिए। त्यसमा पनि माटोको सुवास मगमगाउने आञ्चलिक मिठासले भरिएका लोकगीत बज्दा ग्रामीणजन प्रफुल्लित हुन्थे। यस्ता गीत बज्दा उनीहरू चिनी पोखिएको ठाउँमा कमिला झुम्मिएजस्तो गरी रेडियोको वरिपरि पोको परेर गीत सुन्थे। 

दु: विरहका गीत बज्दा आमाहरूका आँखा रसाउँथे। झलकमान गन्धर्वको गीत 'आमाले सोध्लिन् नि, खै छोरो भन्लिन्...' रेडियोमा बज्दा आमाहरूका आँखामा आँसुको भल बगेको अहिल्यैजस्तो लाग्छ। 

हामी केटाकेटी छँदा गाउँघरमा 'चलचित्र संस्कृति' भित्रिसकेको थिएन। त्यतिबेला चलचित्र 'स्यानिमा' नामले चिनिन्थ्यो। लाहुरबाट फर्केका लाहुरे-लाहुरेनीहरूले रोचक पाराले 'स्यानिमा' को वर्णन गर्थे। उनीहरू भन्थे : 'स्यानिमा' ले गीत गाउँछ, गजबसँग नाच्छ, माया-पिरति गाँस्छ। उनीहरू 'स्यानिमा' बारे यस्तै कुरा सुनाउँथे। 'स्यानिमा' पात्र हो कि माध्यम हो, उनीहरूको कुरा गराइमा खुल्दैनथ्यो। 'स्यानिमा' अपरिचित कुरा थिए। हाम्रा लागि रेडियो नै सबथोक थियो। 

त्यतिबेलाको ग्रामीण समाजमा 'स्यानिमा' 'हिरो-हिरोइन' को स्थान लोकगीतका लयजीवीहरूले ओगटेको पाइन्थ्यो। तिनको नाकमुख कस्तो होला, तिनको स्वभाव कस्तो होला, आदि जिज्ञासा ग्रामीणजनहरूका मनमा स्वाभाविक रूपमा उठ्थे। 

रेडियोका लयजीवीका बारेमा भारापर्म मेलापातमा सानोतिनो 'गाउँले गसिप' चल्थ्यो। रेडियो नेपालका एकाध कलाकारसँग सानोतिनो चिनजान भएका, राजधानीमा बसोबास गरेका अनि बेलाबखतमा गाउँघरमा झुल्कने नवसहरियाहरू नै 'गसिप' को स्रोत हुन्थे। उनीहरूले बढाइचढाइ गरेर कान भरिदिएको भरमामा ती लयजीवीका बारेमा धारणा बनाउँथे, ग्रामीणजन। 

त्यतिबेला अहिलेको जस्तो 'डेटा स्टोरेज डिभाइस' उपलब्ध थिएन । नेटबाट गीत डाउनलोड गरेर राख्ने सुविधका नै थियो । अहिलेको जस्तो आफ्नो रुचि अनुकूलताअनुसार 'रेकर्डेड' गीत सुन्ने अवसर हुँदै हुँदैनथ्यो भन्दा पनि हुन्छ। गाउँघरमा कुनै लाहुरे परिवारमा कतैकतै 'टेपरेकर्डर' हुन्थे। त्यसमा चक्का हालेर गीत रेकर्ड गर्ने सुन्ने सुविधा हुन्थ्यो। 

'मेमोरी चिप' को कुरै थिएन । 'आइप्याड', 'आइपोड', 'ट्याबलेट', 'मोबाइल सेट' जस्ता 'डेटा स्टोरेज' क्षमता भएका अत्याधुनिक उपकरणहरू कल्पनाबाहिरका कुरा थिए। छुट्टीमा आएका कुनै कुनै ब्रिटिस लाहुरेले 'वाकम्यान' नामक 'डिभाइस' मा 'हेडफोन' लाएर गीत सुनेको देखिन्थ्यो। 
यस्ता उपकरणको अभावमा आफूले चाहेको समयमा चाहेको गीत सुन्न पाइने सुविधा आममानिसलाई उपलब्ध थिएन। आफूलाई मन परेको गीत सुन्न रेडियो नै सुन्नुपर्ने बाध्यता थियो । त्यसमा पनि रेडियोले आफूले भनेको गीत भनेको समयमा बजाइदिने भए पो। मन परेको गीत सुन्नका लागि रेडियो नेपालमा अनुरोधपत्र पठाउनुपर्‍थ्यो। त्यतिबेला अनुरोध गीत (फर्माइसी गीत) सम्बन्धी कार्यक्रम लोकप्रियताको चुचुरोमा पुगेको थियो। कार्यक्रम सञ्चालकले अनुरोधपत्र पठाउने देशभरिका श्रोताको लामो सूची पढ्दापढ्दै गीत बजाउने समय सकिने अवस्था आउँथ्यो। 

कार्यक्रम सञ्चालकले समय बचाउने अभिप्रायले पृष्ठभूमिमा गीत बजाएर श्रोताको नाम पढ्ने काम गर्‍थ्यो। श्रोताको सूची यति लामो हुन्थ्यो, उनीहरूको नाम फलाक्दाफलाक्दै गीत सकिने अवस्था आउँथ्यो। अनुरोध गीतको समय आधा घन्टामात्र हुन्थ्यो। गीत सुन्दा समय यति बेपत्ता किसिमले चिप्लिन्थ्यो कि आधा घन्टाको समय चुड्की बजाउँदैमा बितेजस्तो लाग्थ्यो। त्यसपछि अधुरो चाहनालाई पूरा गर्न अर्को फर्माइसी गीत कार्यक्रमलाई व्यग्रतापूर्वक पर्खने उपक्रम सुरु हुन्थ्यो। 

रेडियोका प्रस्तोताहरूका बोली ज्यादै मीठो लाग्थ्यो। उनीहरूका बोलीमै दन्ते मोहनी लुकेको कि जस्तो लाग्थ्यो। आवाजको दुनियाँका ती सम्राज- साम्राज्ञीहरूको रूपरंग कस्तो होला भन्ने जिज्ञासा मनमा जिज्ञासा उठिरहन्थ्यो। 

उनीहरूबारे चासो राख्ने व्यक्ति ममात्र रहेनछु। २०४७ सालतिरको एउटा प्रसंग सम्झन्छु। धरानकी एक महिला श्रोताले तत्कालीन समयका चर्चित प्रस्तोता पाण्डव सुनुवारको रूपरंग थाहा पाउन चाहेकी रहिछन्। उनले काठमाडौंमा बस्ने एकजना पत्रमित्रलाई पाण्डव सुनुवारको तस्बिर पठाइदिन आग्रह गरेकी रहिछन्। ती पत्रमित्रले पाण्डव सुनुवारले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रम 'फोन इन' मा बोल्दै धरानकी पत्रमित्रलाई तस्बिर पठाइदिन आग्रह गरेका थिए। यस आग्रहलाई पाण्डव सुनुवारले शिष्ट किसिमले नकारेका थिए। त्यतिबेला उनले भनेका थिए, 'कतिपय कुरा पर्दाभित्रै रहनु राम्रो हुन्छ।

रेडियो नेपालबाट प्रसारण हुने विभिन्न कार्यक्रममा अरूको लेख रचना प्रसारण हुँदा आफ्नो लेख पनि प्रसारण गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। एउटा मनले भन्थ्यो, 'मेरो लेख के प्रसारण होला !' फेरि अर्को मनले भन्थ्यो, 'अरूको सामग्री प्रसारण भएको ठाउँमा मेरो लेख कसो प्रसारण नहोला !' दोधार दोधारमै हुलाकमार्फत रेडियो नेपालमा लेख पठाएँ। 

मेरो लेख प्रसारण होला कि नहोला भन्ने खुल्दुली मनमा मच्चिरहेको बेला एक दिन रेडियोले मेरो नाम फुक्यो : 'अब हामी प्रस्तुत गर्दैछौं, एउटा लेख। यो लेख पठाउनुभएको , सिन्दुरे गाविस वडा नं भाँगुबाट यमबहादुर दुराले।' एकछिन मलाई आफूले सुनेको कुराको विश्वास भएन। रेडियोले आफ्नो नाम फलाक्दा गर्वले हो वा अनपेक्षित परिस्थितिले हो, मेरो छाती फुल्यो ढुकढुकी बढ्यो। पछि थाहा भयो, रेडियोमा प्रसारण भएको लेख रचनाको पारिश्रमिक पनि पाइन्छ। खुुसीमाथि खुसी थपियो  त्यसपछि के चाहियो ! भुइँमा खुट्टा रहेन। 

एक जमानामा मभित्र रेडियोको भूत राम्रैसँग चढेको थियो। जतिखेर पनि मेरो साथमा रेडियो छुट्दैनथ्यो। खेतबारीमा काम गर्न जाँदा पनि रेडियो लिएर जान्थेँ। आली खन्दा हलो जोत्दा पनि रेडियो साथमै हुन्थ्यो। 

जानकारी मनोरञ्जनका लागि रेडियोमा मात्र भर पर्नुपर्ने तत्कालीन ग्रामीण जीवनबाट रक्तबीजझैं सूचना फैलिएको यो युगसम्म आइपुग्दा 'क्यालेन्डर' का थुप्रै पानाहरू पल्टिसकेका छन्। रेडियो युगबाट 'मल्टिमिडिया' को चमत्कारपूर्ण परिवेशसम्म आइपुग्दा जीवन भोगाइका अनुभूतिहरू खातमाथि खात लागेका छन्। समयको यो बिसौनीबाट पछि फर्किएर त्यो निख्लो रेडियो युगलाई नियाल्दा आफ्नै जीवन एउटा दन्त्य कथाजस्तो लाग्छ। 

[साभार: अन्नपूर्ण पोष्ट/ फुर्सद संस्मरण विशेष (असोज ११, २०७१)]