Saturday, October 26, 2019

जनकपुर डायरी : ‘रामायण सर्किट’ देखि सांस्कृतिक सम्पदासम्म

-यमबहादुर दुरा

जनकपुरधाम — प्रस्तावित ‘रामायण सर्किट’ ले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्वले भरिपूर्ण गन्तव्य । प्रदेश नं. २ को अस्थायी राजधानी ।

यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर जुरेको थियो, असोज महिना निख्रिँदै गर्दा । आध्यात्मिक ग्रन्थ ‘रामायण’ वर्णित थुप्रै प्रसंगहरूको साक्षी बन्न पाइने यो थलो आध्यात्मिक, पौराणिक तथा पुरातात्विक दृष्टिले अर्थपूर्ण छ । हस्तरेखाझैं  फैलिएका यहाँका अनगिन्ती गन्तव्य र तिनले बुनेका पौराणिक कथाले हरेक जिज्ञासु मनलाई उद्धेलित तुल्याउँछ ।

प्रसिद्ध जानकी मन्दिर, सुन्दर तलाउ, कुटीजस्ता सांस्कृतिक सम्पदामा आँखा डुलाउँदा गौरवानुभूति हुन्छ । सँगसँगै प्राचीन वैभवबारे अनेकन् जिज्ञासा मनमा तँछाडमछाड आउँछन् । गङ्गासागरमा हुने सन्ध्याकालीन आरतीले त मनमा शान्ति र सकारात्मक सोचका तरङगहरू ल्याउँछन् ।

यति हुँदाहुँदै पनि कतिपय कुराले मनलाई नमीठो पाररै छाड्छ । जस्तै : यहाँका सडक अव्यवस्थित देखिन्छन् । कतिपय सडक पूर्ववत रूपमा साँगुरा छन् । ठाउँ ठाउँमा सडक विस्तार योजना अघि बढेको देखिन्छ । कतिपय सडक विस्तारको अलपत्र अवस्थामा छन् । सडक छेउछाउमा फोहरका डङ्गुर भेटिन्छन् । ल्याण्डफिल साइटको अभावमा यस्तो अवस्था आएको स्थानीय भुक्तभोगीहरूको भनाइ छ ।

जनकपुरधाम पोखरीका दृष्टिले पनि चर्चित छ । त्यहाँका पोखरीको अवस्था पनि नाजुक छ । ऐतिहासिक अभिलेखहरूमा वर्णन भए अनुसार जनकपुरमा ऐतिहासिक तथा पौराणिक महत्वका ७२ वटा पोखरी छन् । बिहार कुण्ड, अग्नि कुण्ड, रत्नसागर, सूर्य कुण्ड, गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, परशुराम कुण्ड, जनक सरोवर आदि जनकपुरधाममा रहेका पोखरी हुन् ।

गंगासागरलगायत केही पोखरीको सरसफाइ र जीर्णोद्धार गरिए पनि केही पोखरी फोहर फाल्ने थलो बनेको पाइन्छ । कतिपय साना पोखरीमा पुरिएर निजी घर ठडिएका प्रसंग जनकपुरधामवासीहरू सुनाउँछन् । यो क्रम बढ्दो रहेको उनीहरूको बुझाइ छ । माछा उत्पादनको स्रोत, जलवायुको अनुकूलन एवम् मनोविनोदमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता पोखरीहरूको खोजी, सरसफाइ र जीर्णोद्धार त्यहाँको ‘टप अजेण्डा’ मा पर्नैपर्छ ।

नेपाल र भारतबीच विद्यमान भूराजीतिक अवस्था तथा सांस्कृतिक सम्बन्धबाट सिर्जित परिस्थिति जनकपुरको अर्को अजेण्डा हो । नेपाली न्यारेटिभमा जनकपुर सीताको जन्मथलो हो तर छिमेकी मुलुक भारतको न्यारेटिभमा बिहारको सीतामडी सीताको जन्मथलो हो । लामो कालखण्डा पार गरिसकेको बृहत मिथिला सभ्यतामा पौराणिक प्रसंगहरू के कसरी छिरल्लिएका छन्, यकिन गर्न गाह्रो छ ।

जसले जे भने पनि मार्केटिङको जमाना हो । वास्तविकता जे भए पनि मार्केटिङले कुरा फरक पार्छ । भारतले बिहारको सीतामडीलाई सीताको जन्मस्थानको रूपमा प्रचार–पसार गरिरहेको छ । नेपालले जनकपुरलाई साँचो अर्थमा चम्काउन चाहेको हो भने भारतीय न्यारेटिभलाई प्रतिवाद गर्ने गरी रणनीति अघि सार्नुपर्छ ।

नेपालले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थान मानिरहेकै बेला भारतले आफ्नो भूमिलाई गौतम बुद्धको जन्मस्थान भनेर प्रचार गरिरहेको तथ्य छिपेको छैन । यसबारे सङ्घीय सरकार र प्रदेश सरकारले केही सोचेकै होलान् । यहाँनेर कसको मार्केटिङले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।

यही मेहरोमा ‘रामायण सर्किट’ को प्रसंग उठाउनु पनि सान्दर्भिक हुन आउँछ । २०७५ साल वैशाख २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उदघाटन भएको ‘रामायण सर्किट’ कहाँ पुग्यो ? जनकपुरको आध्यात्मिक पर्यटन चम्काउन यस किसिमको अवधारणाले राम्रो भूमिका खेल्छ । तर, यसको प्रगतिबारे प्रेसले निरन्तर खोजखबर गर्न आवश्यक देखिन्छ ।

त्रेता युगमा राम र सीताले यात्रा गरेको रुटलाई ‘रामायण सर्किट’ भन्ने गरिएको छ । स्थानीय अखबार ‘जनकपुर टुडे’ का अनुसार ६ सय ५० किलोमिटर लामो यस सर्किटले भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर, चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोडछ ।

जनकपुरको माछा नेपालमै प्रख्यात छ । त्यहाँ स्वादिष्ट माछा पाइन्छन् भन्ने भनाइ छ । तर, रैथाने  प्रकृतिका स्वादिष्ट माछा जनकपुरमै अभाव रहेको स्थानीयहरूको भनाइ छ । त्यहाँका तलाउ र जलस्रोतको बढ्दो अतिक्रमण र प्रदूषणले यस्तो अवस्था आएको देखिन्छ ।

जनकपुरधाममा रहँदा सङ्घीय राजधानीका र तराईका मिडियाको 'टोन' मा फरकपन भेटियो । राजधानीका मिडिया र तराई मिडियामा भारतलाई हेर्ने दृष्टिकोणमा भिन्नता पाइयो । राजधानीका मिडियाले तराईमा हरेक वर्ष हुने डुबानमा भारतलाई जिम्मेवार देख्छ । तर, तराईका कतिपय पत्रकार सीधै भारतलाई दोष दिने पक्षमा छैनन् । तराईमा कार्यरत कतिपय पत्रकारका दृष्टिमा राजधानीका मिडियाले तराइको वास्तविकता नबुझेकाले भारतलाई बढी दोष दिएका हुन् ।

एउटा संयोग के पर्‍यो भने त्यही समयमा मधेशमा आयोजित नेपाल–भारत मैत्री संघको एक कार्यक्रममा एकजना भारतीय सांसदले नेपाली समुदायले नेपालमा हुने डुबानमा भारत जिम्मेवार ठान्ने गरेको र भारतीयमा भारतमा हुने बाढीमा नेपाल जिम्मेवार रहेको परस्पर विरोधाभाषपूर्ण बुझाइ रहेको विचार व्यक्त गरेको समाचार स्थानीय अखबारमा छापिएको थियो । ती सांसदले यी दुवैथरी बुझाइलाई सच्याएर नेपाल र भारतले एकअर्काको साझा समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

पृष्ठभूमिमा यति धेरै तर्क–वितर्क चल्दाचल्दै पनि नेपालतर्फ हुने डुबानमा नेपाल नै जिम्मेवार छ भन्ने दलिलमा सहमति जनाउने ठाउँ देखिँदैन । सीमावर्ती क्षेत्रमा भारतद्वारा एकपक्षीय रूपमा निर्मित बाँध र सडकलाई हेर्दा नेपालतिर आक्षेपको सुई सोझ्याउनु तर्कसंगत देखिँदैन  ।

सङ्घीय नेपालमा भाषिक मामिलाले बेलाबखतमा स्थान पाउँछ । गएको जेठमा प्रदेश नं. २ मा भाषिक मामिला चर्किएको थियो । प्रदेश सरकारले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव ल्याएपछि त्यहाँ हङ्गमा मच्चिएको थियो । यहाँनेर मुख्यमन्त्री लालबाबु राउतको प्रसंग पनि जोडिन्छ । उहाँको हिन्दीमोहलाई धेरै आश्चर्यको दृष्टिले हेर्छन् । उहाँको मातृभाषा भोजपुरी हो । तर, भोजपुरीप्रति उहाँको मोह देखिँदैन ।

त्यहाँका भाषिक परिदृश्यलाई हेर्दा पनि हिन्दी अग्रस्थानमा आउँदैन । आँकडालाई नियाल्ने हो भने  प्रदेश नं. २ मा मैथिली, भोजपुरी, बज्जिका र नेपाली क्रमशः ४५.३० प्रतिशत, १८.५८ प्रतिशत, १४.७ र ६.६७ प्रतिशत नागरिकले बोल्छन् । समग्रमा भन्दा मैथिली र भोजपुरी नै त्यहाँका मूल भाषा हुन् । भोजपुरी र मैथिली भाषीले एक अर्काले बुझ्ने भएकाले हिन्दीलाई सम्पर्क भाषा बनाउनुको तुक नरहेको विपक्षी दलको तर्क थियो । भाषिक मामिलालाई कसरी सल्टाउने भन्नेबारे जिम्मेवारीपूर्ण सुझबुझ आवश्यक छ ।

प्रदेश नं. २ मा सत्तापक्ष र प्रतिपक्षबीचको ‘केमिस्ट्री’ पनि रोचक नै देखिन्छ । जनकपुरधाममा भेटिएका पत्रकारहरूका अवलोकनमा त्यहाँ सत्तापक्ष र प्रतिपक्षबीच एकअर्कामा वैरभाव छैन । प्रदेशको चौतर्फी विकासका लागि यस्तो ‘केमिस्ट्री’ बनेको हो भने त्यो उदाहरणीय मित्रता हो । अरू विषयमा मिलभगत र एकता हो भने कुरा अर्कै हो ।

यी तमाम विषयका अतिरिक्त जनकपुरको ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन एकदमै महत्वपूर्ण सवाल हो । जनकपुरलाई घच्चीको आध्यात्मिक केन्द्र बनाउन सकेमा सबैको हित हुने कुरा निर्विवाद छ । जनकपुरलाई चम्काउन सकेमा सङ्घीय सरकार र प्रदेश सरकारको शिर ठाडो हुन्छ । अनि हामी सबै गौरवभागी हुन्छौँ नै ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक ८ गते ।

Saturday, October 19, 2019

चिनौँ लोकसाहित्य

-यमबहादुर दुरा

साहित्य, कला र सङ्गीत मानव जीवनलाई रसिलो र भरिलो बनाउने अभौतिक तत्व हुन् । मानव जीवनको यिनको आवश्यकता अन्न–पानीजस्ता जत्तिकै अपरिहार्य छ । साक्षर होस् वा निरक्षर, सबैका लागि साहित्य, कला र सङ्गीत प्रिय विषय हुन् । सबैजना यिनीहरूको वशमा पर्छन् । यिनीहरूको चामत्कारिक उपस्थितिप्रति नतमस्तक हुन्छन् ।

लोकसाहित्य एउटा यस्तै विषय हो । यसमा साहित्य, कला र सङ्गीतका सबै तत्व समाविष्ट छन् । लोकसाहित्य मौखिक साहित्य हो, जुन लिखित वा परिष्कृत साहित्यको पूर्वरूप मानिन्छ । लोकसाहित्यलाई अंग्रेजीमा ‘फोकलोर’ वा ‘फोक लिटरेचर’ भन्ने गरिन्छ । यसलाई नेपालीमा लोकवार्ता पनि भन्ने गरिएको पाइन्छ ।

दुनियाँमा साक्षर परम्पराको विकाससँगै लिखित साहित्यको विकास भएको हो । लिखित साहित्यको आगमन भएको पनि हजारौं वर्ष भइसकेको छ । अहिले लिखित साहित्यको दरिलो उपस्थिति छ । यति हुँदाहुँदै पनि लोकसाहित्यको महत्व र गरिमा हराएको छैन । सुमधुर वाग्धारा र उच्चतम् कल्पनाशीलतालाई लोकसाहित्यको सबल पक्षको रूपमा लिइन्छन् ।

अनलाइन इन्साक्लोपिडिया ‘ब्रिटानिका’ का अनुसार इसापूर्व ४ हजार वर्षअघि सबै साहित्य मौखिक थिए । सोही इन्साक्लोपिडियालाई आधार मान्दा इसापूर्व ४ हजार र ३ हजारबीच इजिप्ट र मेसोपोटामियामा लेख्य परम्पराको विकास भयो । त्यस समयदेखि लिखित साहित्यको उदय भयो  । इजिप्ट र मेसोपोटामियामा शुरु भएको लेख्य परम्परा एशिया, उत्तर अफ्रिका, भूमध्यरेखीय क्षेत्र हुँदै संसारभर फैलियो । यद्यपि, लिखित साहित्य कहिलेदेखि शुरु भयो भन्नेबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

लोकसाहित्यलाई कसरी परिभाषित गर्ने ? संक्षेपमा भन्ने हो भने एउटा पुस्ताबाट अर्को पुस्तामा मुखैमुख सर्दै आएको मौखिक साहित्यिक परम्परा नै लोकसाहित्य हो । डा. रामनाथ ओझा र मसूधन गिरीद्वारा लिखित पुस्तक ‘लोकसाहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध’ नामक पुस्तकमा लोकसाहित्यलाई यसरी परिभाषित गरिएको छ : ‘मानव सभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेका जेठो साहित्य नै लोकसाहित्य हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य नै लोकसाहित्य हो’ (पृ.१) ।

यसैगरी, डा. मोलीलाल पराजुलीले  आफ्नो कृति ‘सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन’ मा लोकसाहित्यलाई यसरी अथ्र्‍याउनुभएको छ : ‘लोकजीवनका अस्था, विश्वास, व्यवहार, चिन्तन र अनुभूतिलाई कल्पनाको आवरण दिएर रोमाञ्चक तत्वहरूको मिश्रण गरी लोकसमुदायद्वारा रचना गरिएको मौखिक साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य समुदायद्वारा रचना गरिन्छ र लोकसमुदायमै प्रचलनमा रहेको हुन्छ’ (पृ.४०) ।

कतै कतै लोकसाहित्य र जनसाहित्य पनि भन्ने गरिएको पाइन्छ । दुवैलाई एउटै अर्थमा लिने गरिएको पाइन्छ । तर, विशेषज्ञहरू यी दुई शब्दमा भिन्नता देख्छन् । यस सन्दर्भमा ‘नेपाली साहित्य र संस्कृतिका केही पाटाहरू’ नामक पुस्तकमा डा. रविलाल अधिकारीको भनाइलाई उध्रृत गर्दै मनोहर लामिछाने लेख्नुहुन्छ : जनसाहित्य र लोकसाहित्यका बीचमा स्पष्ट रेखा खिच्न कठिन भए पनि यति कुरा स्पष्ट भन्न सकिन्छ – जनसाहित्य औधोगिक क्रान्तिबाट उत्पन्न समाजव्यवस्थाका भूमिमा प्रवेश गरेका सामान्य जनको साहित्य हो र यो व्यक्तिविशेषको रचना हो तर लोकसाहित्य जनताका निमित्त जनताद्वारा नै रचित साहित्य हो (पृ.४) ।


लोकसाहित्यका अनेकन् आयाम र पक्षहरू छन्, जुन आफैंमा एउटा विशाल संसार हो । उखान–टुक्का, गाउँखाने कथा, तन्त्रमन्त्र, श्लोक, लोकगीत, लोकपद्य, सवाई, मिथक, लोककथा (आहान), लोकनाटक, लोकगाथा, विश्वास प्रणाली आदि लोकसाहित्यमा पर्छन् । लोकसाहित्यको लोकसंस्कृतिसँग बलियो नाता हुन्छ । लोकसाहित्य र लोकसंस्कृति शरीर जोडिएका सन्तानजस्तै हुन् ।

हेर्दा स्वच्छन्दझैं लागे पनि लोकसाहित्यका आफ्नै किसिमका विधिविधान छन् । उदाहरणका लागि आहान (कथा) सुत्ने बेलामा भनिन्छ, दिनमा भनिँदैन । बेलुकीको खाना खाइसकेपछि अगेनाको वरिपरि भेला भइन्छ । सामान्यतया घरका बृद्ध व्यक्तिले आहान भन्ने गर्छन् । दिनमा आहान भन्न हुँदैन भन्ने मान्यता छ । जानकारहरूका अनुसार यस मान्यतामा लुकेको रहस्य के हो भने दिनमा आहान भनिदिँदा मानिसले कामकाज छाडेर आहान सुन्न थाल्छन् । यसबाट कामकाजमा बाधा पुग्छ । यही मान्यता अनुुुुसार दिनमा आहान भन्न हुँदैन भनिएको हो ।

लोकसाहित्यका अरू पनि यस्ता अलिखित विधिविधान छन् ।  कतिपय मन्त्र वा श्लोक निश्चित समयमा मात्र उच्चारण गरिन्छ । दुवाली छेक्ने बेलामा उच्चारण गरिने श्लोक अरू बेला भनिँदैन । कुनै गीत निश्चित ऋतुमा मात्र गाइन्छ । मालसिरी गीत दशैंँमा मात्र गाइन्छ । मूलतः गण्डकी भेगमा प्रचलित सती घाटु वैशाख कृष्णपक्षदेखि शुक्लपक्षको अवधिमा मात्र नचाइन्छ ।

लोकसाहित्य मूलतः अपठितहरूको साहित्य हो । यसो भन्दैमा यसका विषयवस्तु सामान्य र हल्काफुल्का भन्ने कदापि होइन । लोकसाहित्यमा अभिव्यक्त जीवन–दर्शन, लोकभावना र मर्महरू भयानक गहिरा र गहन् हुन्छन् । यसमा सत्यम्, शिवम्, सुन्दरम् छचल्किएका हुन्छन्, जसप्रति पठित र सुसंस्कृत भनिएका मानिसहरू पनि चकित हुन्छन् ।

 यिनै गहतम् पक्षको रहस्योद्घाटनका लागि कहलिएका विद्वानहरूले लोकसाहित्य अध्ययनको विशाल फाँटको विचरणमा सिङ्गो जीवन अर्पिएका हुन्छन् । तर पनि उनीहरूले लोकसाहित्यको पूरापुर विचरण गर्न भ्याएका हुँदैनन् । यो गहन र व्यापक विषय हो ।

लोकसाहित्य ज्ञान र विवेकको भण्डार हो, जसले बालबालिकाको शिक्षादीक्षामा रचनात्मक भूमिका खेल्छ । यसले बालबालिकामा विद्यमान कल्पनाशीलताको दायरा अझ फराकिलो पारिदिन्छ । मानिस जति कल्पनाशील हुन्छ, त्यति नै नयाँ नयाँ विषयवस्तुको खोजअनुसन्धान गर्ने र आविष्कार गर्ने काम गर्छ । बालबालिकामा कल्पनाशीलता विकास हुँदा उसले जीवनमा धेरै प्रगति गर्न सक्छ ।

दन्त्यकथाले बालबालिकालाई नैतिक र आध्यात्मिक चेतना दिन्छ । यसले बौद्धिकस्तर उकास्न पनि सहयोग गर्छ । यहाँनेर, सापेक्षतावाद सिद्धान्तका प्रतिपादक विख्यात भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनको भनाइ सान्दर्भिक हुन आउँछ । उनले एक प्रसंगमा भनेका छन्, ‘यदि तिमी तिम्रो बच्चालाई बुद्धिमान बनाउन चाहन्छौ भने उनलाई परीकथा पढ्न देऊ । उनलाई अझ बुद्धिमान बनाउन चाहन्छौ भने अझ बढी परिकथा पढ्न देऊ ।’

लोकसाहित्यले बालबालिकालाई कल्पनाशील बन्नमात्र सघाउँदैन, मौलिक संस्कृतिसँग परिचित पनि बनाउँछ । केटाकेटीले बाजे–बज्यैको काखमा बसेर लोकजीवनसँग गाँसिएका पुराना प्रसंग सुन्न पाउँदा उनीहरू लोकसाहित्य र लोसंस्कृतिका आयामहरूसँग परिचित हुन्छन् । नयाँ पुस्ताले यस्ता कुरा सुन्न पाउनु भनेको लोकसाहित्य र लोसंस्कृतिले प्रत्यक्ष वा परोक्ष रूपमा निरन्तरता पाउनु पनि हो ।

बाजेबज्यैको काखमा बसेर केटाकेटीले रसिला र तिलस्मी प्रकृतिका कथा सुन्ने परम्परा पनि लोकसाहित्यकै अभिन्न हिस्सा हो । तर, अहिले टेलिभिजन र यु ट्युबमा आउने कार्टुन र अन्य मनोरञ्नात्मक कार्यक्रमले बाजेबाजैको काखबाट नातिनातिनालाई खोसिसकेको छ । यससँगै परम्परागत शैलीमा कथा भन्ने र सुन्ने परम्परा लगभग अन्त्य भइसकेको छ ।

लोकसाहित्यमा बालसाहित्यको तत्व पर्याप्त भेटिन्छन् । ‘आउ निदरी आउ...’ जस्ता लोरी तथा बालबालिका लक्षित अनेकन् प्रेरणदायी आहानलाई ज्वलन्त दृष्टान्तको रूपमा लिन सकिन्छ । अर्कोतिर, लोकसाहित्य लिखित साहित्यको माउ हो । लिखित साहित्य लोकसाहित्यबाट धेरै हदसम्म प्रभावित छन् । साहित्यिक बजारमा भेटिने थुप्रै कृति लोकसाहित्यबाट प्रेरित छन्, जसका विवरण निकै लामो छ ।

इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइमा काठमाडौंको काँठमा रोपाइँमा रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन्। यिनको लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ (पदमसिंह कार्की, नेपाली साहित्यका ज्योति, अन्नपूर्ण पोष्ट, भदौ १४, २०७६) ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनमदन’ लोकलयमा आधरित छ ।  साङ्गीतिक बजारमा हिट भएका कतिपय आधुनिक तथा पप गीत पनि लोकगीतबाट प्रभावित छ । हामीले अनुभूत गर्न सक्ने हो भने आधुनिक युगमा पनि लोकसाहित्यको पर्याप्त प्रभाव पाइन्छ ।

नेपालमा लोकसाहित्यप्रतिको सचेतना कमजोर लेखिन्छ । पश्चिमी गोलार्द्धमा लोकसाहित्यप्रतिको सचेतना उच्च छ । त्यहाँ लोकसाहित्यले उच्च सम्मान पाएको छ । युरोपमा लोकसाहित्यको सङ्कलन, अन्वेषण तथा अध्ययनको परम्परा दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यहाँ लोकसाहित्यसम्बन्धी अनेकन् शोधग्रन्थ तथा श्रव्यदृश्य सामग्री भेटिन्छन् ।

नेपालमा लोकसाहित्यको खोज–अनुसन्धानको इतिहास त्यति लामो देखिँदैन । यसको समयरेखा किटेरै भन्न नसकिए पनि केहीले २००७ सालको राजनीतिक परिवर्तनपछि लोकसाहित्यको खोज–अध्ययन शुरु भएको पाइन्छ । तर, धेरैजसो अध्ययनचाहिँ नेपालमा विश्वविद्यालय खुलेपछि शुरु भएको देखिन्छ । अहिले कतिपय विश्वविद्यालय पूर्ण वा आंशिक पेपरको रूपमा लोकसाहित्यको अध्ययन भएका छन् । सगम्रमा भन्दा नेपालमा लोकसाहित्य अत्यन्तै कम दिलचस्पी भएको विषयको रूपमा देखापरेको छ, जुन विडम्बनाको विषय हो ।

सत्यमोहन जोशी, चूडामणि बन्धु, हंसपुरे सुवेदी, धर्मराज थापा, पूर्णप्रकाश नेपाल ‘यात्री’, तुलसी दिवस, कालीभक्त पन्त, देवीप्रसाद वनवासी, रत्नाकर देवकोटा, जीवेन्द्रदेव गिरी, कृष्णप्रसाद पराजुली, डा. मोतीलाल पराजुली, डा. रविलाल अधिकारी, डा. शम्भुप्रसाद कोइराला आदिले नेपाली लोकसाहित्यको फाँटमा अतुलनीय योगदान दिनुभएको छ ।

भारतमा पण्डित रामनरेश त्रिपाठी, राहुल सांकृत्यायन, देवेन्द्र सत्यार्थी, सत्येन्द्र, कृष्णदेव उपाध्याय, पीयुष दहिया, एके रामानुजन, विजयदान देथा, सत्यव्रत सिंह, आशुतोष भट्टाचार्यजस्ता विद्वानहरूले लोकसाहित्यको खोजअनुसन्धान गहकिलो योगदान दिएको छन् ।

विश्वमा लोकसाहित्यसम्बन्धी अनेकन् संस्थाहरू छन् । जस्तै : इन्टरनेसनल काउन्सिल अफ अर्गानाइजेसन्स् अफ फोकलोर फेस्टिभल्स् एण्ड आर्टस्, द फोरलोर सोसाइटी (बेलायत), अमेरिकन फोरलोर सोसाइटी आदि । भारतमा पनि लोकसाहित्यसम्बन्धी धेरै संस्था छन् । उदाहरणका लागि भारतीय लोककला मण्डल (उदयपुर), नेसनल फोकलोर सपोर्ट सेन्टर (चेन्नई), मैथिली लोकसाहित्य परिषद (कोलकता), लोकरंग सांस्कृतिक समिति (रायगढ), पश्चिम बंगगण सांस्कृतिक परिषद कोलकता) आदि भारत स्थापित लोकसाहित्यसम्बन्धी संस्था हुन् । नेपालमा पनि लोकवार्ता तथा संस्कृति समाज, नेपाल फोकलोर सोसाइटी जस्ता संस्था अस्तित्वमा छन् ।

हरेक वर्षको अगष्ट २२ तारिखमा विश्व लोकसाहित्य दिवस मनाइन्छ । सन् १८४६ देखि नै लोकसाहित्य दिवस मनाइएको पाइन्छ तर नेपालमा भने यो दिवस राष्ट्रियस्तरमा मनाइएको पाइँदैन । नेपालमा पनि लोकसाहित्य दिवस मनाइनुपर्छ । परम्परागत भेषभूषामा उपस्थित भएर लोकसाहित्यसम्बन्धी विविध गतिविधिमा सहभागी गरिनुपर्छ ।

यस्ता गतिविधिमा नयाँ पुस्तालाई सक्दो सहभागी गराउनुपर्छ यसो गर्न सके लोकसाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुग्छ । लोकसाहित्यलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।  यसमा राज्य र नागरिक दुवैको ध्यान जान आवश्यक छ ।

लोकसाहित्यमा हाम्रो भाषा, परम्परागत ज्ञान, बौद्धिक परम्परा, जीवन–दर्शन, इतिहास र जीवनशैलीका तमाम आयाम र पाटाहरू समेटिन्छन्, जसमा लोकजीवन र लोकसंस्कृतिको ढुकढुकी  भेटिन्छन् । यिनीहरू हाम्रा चिनारी हुन्, जुन हाम्रो अस्तित्वसँग जोडिएको हुन्छ । यस्ता चीजलाई बेलैमा नजोगाउँदा भविष्यमा हामीसँग पछुतोबाहेक केही बाँकी रहँदैन । त्यसैले लोकसाहित्यको समयोचित संरक्षण र सम्वर्द्धन आवश्यक छ ।

[साभार: युवामञ्च । कात्तिक, २०७६ ]

सफा र सुन्दर शहरको तृष्णा

-यमबहादुर दुरा

चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणसँगै मूलतः दुईटा कुरा चर्चामा आए । पहिलो पक्ष, नेपाल–चीनबीचको दौत्य सम्बन्धमा थपिएको भनिएको थप प्रगाढपन । दोस्रो पक्ष, राजधानी शहरका प्रमुख स्थानहरूमा गरिएका सजधजबाट हाम्रा आँखाले गर्न पाएका फरक किसिमको दृश्यपान । यो लेखमा दोस्रो पक्षको परिपरि रहेर सानो विचार–विमर्श गर्ने अभिप्राय राखिएको छ ।

चिनियाँ राष्ट्रपति सि जिङ पिङबाट २०७६ साल असोज २५ देखि २६ गतेसम्म भएको भ्रमणपूर्व राजधानी शहरका मूल सडक सजधजपूर्ण पारिए । एयरपोर्ट नजिकको तीनकुनेमा त कृत्रिम डाँडो नै बनाइयो । राजधानी शहरले उच्चस्तरीय भ्रमण वा उच्चस्तरीय सम्मेलनका क्रममा अक्कलझुक्कल रूप फेर्ने गर्छ ।

निकटपूर्व कालखण्डमा घटित यस्ता घटनाक्रमलाई सम्झने हो भने २०७१ साल साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, त्यसै साल मङ्सिरमा सम्पन्न अठारौं सार्क सम्मेलन र २०७५ साल भदौमा सम्पन्न बिम्सटेक सम्मेलनमा राजधानीले धेरथोर रूप फेरेको थियो । तर, रातारात हुने यसप्रकारको रूप फेराइ क्षणिक हुन्छ, नितान्त क्षणभङ्गुरपूर्ण हुन्छ । यसबाट शहरको दीगो विकासमा खासै योगदान पुग्दैन । बरू, यसले हिन्दी कहावतको सम्झना गराउँछ, ‘दो दिनकी चाँदनी रात, और फिर अन्धेरा’ ।

अघि पछि धुवाँ–धूलो, हिलो, अव्यवस्था र प्रदूषण राजधानी शहरको मूलभूत विशेषता हुन्, जुन जुन शहरवासी हरदिन भोग्दै आएका छन् । ट्राफिक नियमको बेवास्ता, शहरका खुल्ला स्थानहरूको क्रमिक अतिक्रमण, अलपत्र अवस्थामा रहेका कतिपय भित्री सडक, सडक विस्तारपछि पनि सडककै बीचैबीचमा ठडिएका बिजुलीको पोल आदिले शहरको यथार्थ हविगत दर्साउँछन् ।

सडक विस्तार गर्ने नाममा पैदलयात्रु र साइकलयात्रुप्रति गरिएको बेवास्ताले अर्को दारुण कथाको कहालीलाग्दो अध्याय थपेको छ । सुरक्षित सडकको अवधारणालाई चुनौती दिएको प्रतीत हुन्छ ।  विशेष अवस्थामा मात्र राजधानीले कस्मेटिक लिपघस पाएर रूप बदल्छ । सारमा सडक र शहरको अवस्थामा कुनै परिवर्तन आएको हुँदैन । यथार्थमा हाम्रा शहर साँचो अर्थमा शहर बन्न सकेका छैनन् ।

अब प्रश्न तेर्सिन्छ,  हाम्रा शहरलाई कहिलेसम्म कुरूप बन्न दिइरहने ? शहरको कुरूपपनलाई कस्मेटिक सौन्दर्यबाट कहिलेसम्म छोपिरहने ? सङ्घीय राजधानीलगायत हाम्रा सबै शहरलाई सदावहार सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना किन अघि सारिँदैन वा यस्ता योजना किन कार्यान्वयन गरिँदैनन् ? यी प्रश्नमा देशका तमाम नीतिनिर्माता र जनप्रतिनिधिले जति घोत्लिनुपर्ने हो, त्यति घोत्लिएका छैनन् भन्ने अनुभूति मिल्छ ।

सफासुग्घर र सुन्दर शहरसँग नागरिकको स्वास्थ्य, मनोविज्ञान र सामूहिक इज्जत–प्रतिष्ठा गाँसिएका हुन्छन् । तर, यही मूलभूत चासोका विषयमा नीतिनिर्माता र जिम्मेवार पदाधिकारी उदसीनझैं देखिन्छन् । शहरको अवस्था जे जस्तो भए पनि राजधानी शहरमा मोनोरेल दौडाउने योजना राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहन्छ । मोनोरेलभन्दा अघि शहरलाई सफासुग्घर र सुन्दर बनाउने योजनाले नै प्राथमिकता पाउनुपर्छ । सफासुग्घर र सुन्दर शहर पहिलो प्राथमिकता बन्नुपर्छ । मोनोरेलजस्ता भौतिक वैभवले यसलाई पछ्याउनुपर्छ ।

विडम्बनावश, सफासुग्घर र सुन्दर बनाउने विषयमा खासै चर्चा भएको पाइँदैन । यसबारे कतै गोष्ठी वा विचार विमर्श भएको पाइँदैन । यस्तो लाग्छ, यस्ता विषय कसैको प्राथमिकतामा पर्दैन । शहरलाई सफासुग्घर र सुन्दर बनाउनेबारे कहीँ कतै विचार विमर्श भएको रहेछ भने यस्ता विषयसँग सम्बन्धित कागजात पब्लिक डोमेनमा भेटिँदैनन् ।

सांस्कृतिक दृष्टिले काठमाडौं दर्शनीय शहर मानिए पनि वातावरणीय दृष्टिले सोचनीय छ । सञ्चार माध्यममा आएका रिपोर्टका अनुसार काठमाडौं विश्वका बढी प्रदूषित शहरमा सातौँ स्थानमा आउँछ । वायु प्रदूषणलगायतका तमाम वातावरणीय समस्याबाट शहरवासीको स्वास्थ्यमा नकारात्मक असर परेका समाचार सञ्चार माध्यममा आइरहन्छन् ।

वायु प्रदूषणले मुटु, फोक्सो, मिर्गौला, दिमाग, स्नायु प्रणाली शरीरका अन्य अङ्गहरूमा गम्भीर असर पार्ने तथ्य विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । वायु प्रदूषणले स्वासप्रस्वाससम्बन्धी समस्या र क्यान्सर निम्त्याइरहेको रिपोर्ट आइरहेका छन् । स्थिति भयावह छ ।

हाम्रो सङ्घीय राजधानी फोहरमैला, प्रदूषण र अव्यवस्थाबाट गुज्रिरहेको बेला विश्वका कतिपय शहरले सफासुग्घर र सुन्दरपनमा नाम कमाएका छन् । शहर, प्रविधि र नागरिकबारे सामग्री पस्कने वेबसाइट ‘सिटी आइओ’ का अनुसार संसारमा दश सफासुग्घर शहरमा ह्यमबर्ग, सिकागो, होनुलुलु, हेलसिन्की, भियना, रिकेभेक (आइसल्याण्डको राजधानी) जिनिभा, क्युरिटिबा (ब्राजिल) र सिङ्गापुर पर्छन् । ‘यु सिटीगाइड्स’ वेबसाइटका अनुसार दुनियाँका दश सुन्दर शहरमा भेनिस, पेरिस, प्राग, लिस्बन, रियो द जेनिरियो, आम्र्सटरडम, फ्लोलेन्स, रोम, बुढापेष्ट र ब्रुस (बेल्जियम) पर्छन् ।

यी शहर त्यत्तिकै सफासुग्घर र सुन्दर बनेका होइनन् । नीतिनिर्माता, जनप्रतिनिधि र नागरिकका सत्प्रयासबाट दुनियाँका अगाडि यी शहर सकारात्मक उदाहरण बनेका हुन् । हामीलाई निरन्तर पछ्याइरहेका दुर्गतिलाई त्यागेर विश्वका सफा र सुन्दर शहरका शहरका गति र मति हामीले कहिले पछ्याउने ? यी शहर जस्ता सकारात्मक उदाहरण बन्नका लागि हाम्रा नीतिनिर्माता र जनप्रतिनिधि प्रयत्नशील छन् कि छैनन् ? प्रयत्नशील छन् भने प्रगति विवरण के छ ? आफै सकारात्मक उदाहरण बन्ने दिशामा अघि बढ्दा समस्या आएका छन् के के हुन् ? ती समस्या हल गर्ने दिशामा के कस्ता प्रयास भएका छन् ? यस्ता विषयमा नीतिनिर्माता र जनप्रतिनिधिले जवाफदेही बन्नैपर्छ ।

देखावटी सौन्दर्यमा लोकधन खर्च गर्नुभन्दा साँचो अर्थमा शहरलाई सफासुग्घर र सुन्दर बनाउने दिशामा नीतिनिर्माता र जनप्रतिनिधिको मति सोझिनुपर्छ । यसमा नागरिकको साथ र सहयोग पनि उत्तिकै अपरिहार्य छ । नागरिकको पसिनाबाट आर्जित लोकधनलाई पानी सरह बगाएर शहरमा क्षणिक र कस्मेटिक सौन्दर्य थप्ने परिपाटी अन्त्य हुनैपर्छ । अब, शहरलाई सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना ल्याउनैपर्छ ।

शहरलाई जनमैत्री–वातावरणमैत्री बनाउन नगरका जिम्मेवार व्यक्तिहरूबाट असल आशय र रचनात्मक व्यवहार प्रदर्शन हुनैपर्छ । हरेक शहरका नगरप्रमुखले आफ्नो शहरलाई सफासुग्घर र सुन्दर बनाउनका लागि विश्वका संघर्षशील नगरप्रमुखका जीवनगाथा अध्ययन गरी सोही बमोजिम आफ्ना नीति र व्यवहारलाई शहरको सर्वतोमुखी विकासमा उपयोग गर्न सिक्नुपर्छ । परिवर्तन सहज छैन तर शहरको सुख र समृद्धिका लागि यथास्थितिलाई नभत्काई सुखै छैन ।

[साभार : संवाद नेपाल । २०७६ साल कात्तिक १ गते ।]

Saturday, October 12, 2019

दशैँ डायरी

-यमबहादुर दुरा

कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेको–भोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको हुनुपर्छ । पहाडको जनसंख्या कति प्रतिशतले घट्यो भन्नेबारे भरपर्दो तथ्याङ्क छैन । यतिचाहिँ निर्धक्क भन्न सकिन्छ, गाउँघर सुनसानप्रायः छ । दशैँले गाउँघरमा चहलपहल ल्याउँछ । तर त्यो चहलपहल क्षणभङ्गुरपूर्ण हुन्छ । दशैँ सकिँदानसकिँदै गाउँघर फेरि पुरानै अवस्थामा फर्किन्छ ।

यसपटक गाउँ पुग्दा एकाध ठाउँमा रोहोटे पिङ भेटिए । पहिले पहिले दशैँमा हरेक गाउँमा रोहोटे पिङ हालिन्थे । साथमा लिङ्गे पिङ पनि हालिन्थे । अहिले समय बदलिएको छ । एकाध गाउँमा रोहोटे पिङ हालिएका छन् । लिङ्गे पिङभन्दा रोहोटे पिङ बनाउन धेरै सर्दाम, जनशक्ति र सीप चाहिन्छ । गाउँमा युवाशक्ति पातलिएको बेलामा रोहोटे पिङ बनाउन सजिलो छैन । अब रोहोटे पिङले डाइनोसरको नियति भोग्ने हो कि भन्ने चिन्ता पो थपिएको छ ।

विगतमा रोहोटे पिङ सामाजिक जमघटको जिउँदोजाग्दो थलो थियो । खासगरी अल्लो गाउँ–पल्लो गाउँका युवायुवती भेला भएर भलाकुसरी गर्ने थलो थियो, रोहोटे पिङ । त्यस किसिमको भलाकुसरीमा जन्मने साङ्गीतिक माहोल स्थानीय परिवेशलाई जीवन्त तुल्याउँथ्यो । रोहोटे पिङमा गुञ्जने लोकभाकामा मन बहलाउन स्थानीय बूढापाका पनि झुम्मिन्थे । यस्ता जमघटले सामाजिक अन्तरघुलन र कलाको विकासमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान दिन्थ्यो ।

अहिले भेटघाटका अनेकन प्लाटफर्महरू थपिएकाले परम्परागत शैलीका प्लाटफर्म खाँचो छैन । समयले परम्परागत शैलीका प्लाटफर्म लाई विगतको अँध्यारो कुनातिर धकेलिदिएको छ । अहिले गाउँ गाउँमा रेकर्डेड म्युजिक पुगेको छ । गाउँका कतिपय आमा समूहले लाउड स्पिकर किन्न थालेका छन् । अब कसैले मुख बाउन पर्दैन । लाउड स्पिकरमा बजेका गीतमा नाचिदिएमात्र पुग्छ । गाउँमा लाउड स्पिकर संस्कृति भित्रिएपछि सबैलाई सजिलो भएको छ । यसले गाउँघरको गला र गलालाई आम रूपमा मार्दै लगेको छ । स्थानीय लोकभाका र रैथाने संस्कृति पलपल मर्दै गएको छ ।

यसपटक गाउँमा पुग्दा संयोगवश कृष्ण चरित्र सोरठी नृत्य र दोहोरीको खाल देख्न पाइयो, जुन आजकल गाउँघरमै दुर्लभ दृश्य बन्न थालेका छन् । गाउँका युवायुवतीहरू आधुनिक शैलीका गीत र नृत्यमा अभ्यस्त हुँदै गएका बेलामा यस्ता सांस्कृतिक कार्यक्रमको साक्षी बन्न पाउनु पनि एक अर्थमा भाग्य नै बन्न पुगेको छ ।

हिजोका दिनमा गाउँमा दूध–दही छेलोखेलो हुन्थ्यो । एकाध परिवारमा मात्र दूध–दही हुँदैनथ्यो । अहिले परिस्थिति उल्टो भएको छ । आजकल एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । दूध–दही दिने गाई–भैँसी पाल्न पाखुरा चाहिन्छ । गाउँका घाँस काट्ने बलशाली पाखुरा अन्यत्र बसाइँ सरेपछि कसले गाई–भैँसी पाल्नु ? अनि कसरी दूध–दही पाउनु ? बरू दूध–दहीको ठाउँ बहुराष्ट्रिय कम्पनीको उत्पादनले लिन थालेका छन् ।

गाउँ डुल्दा कतिपय घरमा कोल्ड ड्रिक्स दिएर स्वागत गरिए । दूध–दहीजस्ता सस्तो, सहज र स्वस्थ्यकर रैथाने उत्पादनको ठाउँमा बहुराष्ट्रिय कम्पनीको महङ्गो र अस्वस्थ्यकर उत्पादन गाउँमा पुग्दा हाम्रो रैथाने उत्पादन र स्थानीय अर्थतन्त्रको हालत के हेला ? मन चसक्क भयो । गाउँमा दूध–दही भेट्न मुस्किल छ तर बियर र अन्य ब्राण्डका मदिरा सजिलै पाइन्छ ।

गाउँका कतिपय वासिन्दा बाहिरी उत्पादनका अतिशय भोगी बनेको पाइयो, जो स्थानीय मदिराभन्दा कम्ती चार गुण महङ्गो छ । स्थानीय आयस्तरले नधान्ने यस्ता उत्पादनप्रतिको मोहले स्थानीय अर्थतन्त्रलाई कता पुर्‍याउला ? दुनियाँ ग्लोबलाइजेसनको सघन प्रक्रियाबाट अघि बढिरहेको परिवर्तनशील घडीमा यस्तो कुरा गरिरहँदा कतै पंक्तिकार आफैं परम्परावादी भएको त होइन ? आफैंलाई प्रश्न सोध्न मन लाग्छ ।

कताकता सरकार नै बहुराष्ट्रिय कम्पनीको एजेन्ट जस्तो लाग्छ । यो कुनै एक सरकारको कुरा होइन, विगतका सबै सरकारको कुरा हो । सरकारले नागरिकको सांस्कृतिक अधिकारको विरुद्ध हुने गरी घरेलु मदिरा निषेध अभियान चलाउँदै आएको छ । प्रहरी–प्रशासन घर घरमा घुसेर अत्याचारपूर्ण किसिमले घरेलु मदिरा नष्ट गर्ने काम सगौरव भइरहेको छ ।

उता, गाउँ गाउँमा बहुराष्ट्रियका उत्पादन पुगेका छन् । यसमा कुनै नियन्त्रण छैन । स्थानीय संस्कृति र अर्थतन्त्रको एक हिस्सा रहेको घरेलु उत्पादनप्रति सरकार हिंस्रक छ । बहुराष्ट्रिय कम्पनीको उत्पादनप्रति घोषित वा अघोषित रूपमा हरेक सरकारले मोहभाव दर्साउँदै आएको छ । घरेलु अर्थतन्त्र मर्दैछ, बहुराष्ट्रिय कम्पनीको अर्थतन्त्र आयातन र प्रभाव बढ्दो छ । कुरा प्रष्ट छ – स्थानीय अर्थतन्त्र हार्दैछ, बहुराष्ट्रिय कम्पनीको उत्पादनले शनैशनै: एकाधिकार जमाउँदै छ ।

गाउँको कृषि अर्थतन्त्र धरापमा छ । धेरै जमिन बाँझो पल्टिएका छन् । तर, कतिपयले खेताला लगाएर भए पनि खेतीबाली लगाउन छाडेका छैनन् । उनीहरूलाई पूरापुर जानकारी छ, कृषि उत्पादनभन्दा खर्च धेरै छ । तुलनात्मक रूपमा कृषि मजदुर महंगो छ । काममा लगाउन खेतालालाई धेरै खुसी तुल्याउनुपर्ने अवस्था छ । कुरा प्रष्ट छ, यस्तो कृषि प्रणाली धेरैबेर टिक्नेवाला छैन ।

गाउँमा निराशामात्र छैन, आशालाग्दा पक्ष पनि छन् । विगतमा पेन्सिलको धर्साजस्तो मात्र देखिने ग्रामीण सडक स्तरोन्नति भएका छन् । चिल्ला कार पुग्न नसके पनि धेरैजसो ग्रामीण सडकमा बाह्रैकाल बस दौडन थालेका छन् । तुर्लुङकोटमा होमस्टे रहेका कतिपय घरमा वाइफाइ जडान गरिएका छन् । यसबाट कतिपय ग्रामीण समुदाय चौबीसै घण्टा सूचना र सञ्चारको पहुँचमा रहने वातावरण तयार भएको छ ।

विकेन्द्रीकरणको चर्को भोकलाई शान्त पार्दै देशमा सङ्घीय प्रणाली लागू भइसकेको अवस्थामा स्थानीय सरकार अधिकार सम्पन्न छ । विगतको तुलनमा ठूलो धनराशीको बजेट गाउँमा पुग्न थालेको छ । नयाँ सरकारले अघि सारेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले गाउँघरमा रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ ।

यी आशालाग्दा परिदृश्य आँखासामु दृष्टिगोचर हुँदाहुँदै पनि अघि नै रित्तो बनिसकेको गाउँघरमा सहकाल ल्याउन सजिलो छैन । आन्तरिक बसाइँ सराइको शहरमुखी ट्रेन्डलाई हेर्दा गाउँघरमा हरप्रकारको सहकाल फर्कन्छ भन्न कठिन छ । भोलिका दिनमा गाउँघर पूरापुर रित्तो हुन्छ वा फेरि भरिलो बन्छ ? यसबारे भविष्यवाणी गर्न गाह्रो छ । तर पनि गाउँको जनशक्ति गाउँमै अडिने वातावरण तयार नहुँदासम्म गाउँमा सहकाल आउँछ भन्न मुस्किल छ । बाँकी उत्तर समयले दिनेछ ।

[साभार : लोकसंवाद । २०७६ साल असोज २४ गते ।]

Tuesday, October 1, 2019

पत्रकारिता समाधान अवधारणा

-यमबहादुर दुरा

पत्रकारिता समाजका लागि अक्सिजनजस्तै बन्दै आएको छ । पत्रकारिताको उपस्थितिबिना आधुनिक समाजको कल्पना गर्नसम्म पनि गाह्रो छ । शहरका वासिन्दाको सेयर कारोबारदेखि गाउँका किसानको नगदेबालीको बजारसम्मका तमाम गतिविधिमा पत्रकारिताको निर्णायक भूमिका रहँदै आएको छ । शहरमा भर्खरै भित्रिएका ब्ल्कबष्टर चलचित्रदेखि सङ्गीतको नवीनतम् ट्रेन्डसम्मका यावत समसामयिक जानकारी वा सूचना पत्रकारिताले नै पस्किेरहेको छ । 

पत्रकारिता समाजोपयोगी कर्ममा सरिक हुँदाहुँदै पनि अन्य पेशा–व्यवसायझैं यो पनि आलोचनामुक्त भने छैन । पत्रकारिता आलोचनाको निसाना बन्नुका विविध कारण छन् । पत्रकारिताले एउटा आरोप निरन्तर खेपिरहेको छ — यसले समाजका घटनाक्रम वा समस्याबारे निख्लो सूचनामात्र सम्प्रेषण गर्छ । कहिलेकाहीँ त यतिसम्म गर्छ, निराश शैलीमा समाचार पस्किएर समाजलाई  नै उदास तुल्याइदिन्छ । यसले समाजले भोगिरहेको साझा समस्याबाट कसरी  मुक्ति पाउने भन्नेबारे उतिसाह्रो वास्ता गर्दैन ।

यो विशुद्ध आरोपमात्र हो वा वास्तविकता पनि हो ? तर्क–वितर्क गर्न सकिने धेरै ठाउँ छ । यद्यपि, यसप्रकारको आरोपबाट छुटकारा पाउनका लागि पत्रकारिता वृत्त चिन्तित नभएको होइन । पत्रकारितालाई समाजको पहरेदारमात्र नभई अनन्य मित्र बनाउने असल प्रयत्नहरू पनि नभएका होइनन् । खोजी पत्रकारिता (इनभेष्टिगेटिभ जर्नलिज्म), विकास पत्रकारिता, सिभिक पत्रकारिता, रचनात्मक पत्रकारिता (क्रियटिभ जर्नलिज्म), नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) जस्ता पत्रकारिताका अनेकन् विधा यिनै प्रयत्नका प्रतिफल हुन् ।

पत्रकारिताले नागरिकका समस्याबारे निख्लो र शुष्क रिपोर्टिङमात्र गरिरहेकको छ भन्न मिल्दैन ।  पत्रकारिता क्षेत्रले नागरिकले भोगिरहेका समस्या समाधानका उपायसहितका असल प्रयत्न गरेको छ । यसका थुप्रै दृष्टान्त छन् । यसको एउटा दृष्टान्तको रूपमा समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) लाई लिन सकिन्छ । सन् १९९८ तिर अस्तित्वमा आएको समाधान पत्रकारिताले कुनै निश्चित समस्याबारे समाचारमात्र दिँदैन, समाधानका उपायहरू पनि बताउँछ । अर्को शब्दमा भन्दा यसले समस्याको उठानमात्र गदैन, सम्बन्धित समस्याको बैठान गर्ने दिशामा पनि पर्याप्त काम गर्छ ।

समस्या उजागर गरेर समस्यामाथि समस्याको थुप्रो बढाउने तर समाधानको उपाय नखोज्ने प्रवृत्तिबाट सबैजना वाक्क भएपछि समाधान पत्रकारिताको अवधारणा मौलाएको देखिन्छ । अमेरिकाको वासिङ्टन स्टेटमा शिक्षा क्षेत्रमा देखापरेका समस्याबारे एकोहोरो रिपोर्टिङ भइरहेको बेलामा ‘द सियाटल टाइम्स’ ले समाधानका उपायसहित रिपोर्टिङ गरेपछि समाधान पत्रकारिता अस्तित्वमा आएको पाइन्छ । यद्यपि, यसबारे मतमतान्तर पनि छ ।

समाधान पत्रकारिताले के के गर्छ ? यहाँनेर, पत्रकारिता क्षेत्रमा काम गरेर ख्याति कमाएको अमेरिकी संस्था ‘पोइन्टर इन्स्टिच्युट’ का तत्कालीन निर्देशक भिकी क्रुगरको भनाइ उद्धरण गर्नु सान्दर्भिक हुन आउँछ । क्रुगरको दृष्टिमा समाधान पत्रकारिताले पत्रकारिताको उच्चतम् मर्यादा र आदर्शलाई आत्मासात गर्दै समाजमा असल प्रभाव छाड्ने किसिमको रिपोर्टिङ गर्छ । उनका अनुसार यसले समाजमा रचनात्मक बहस पैदा गर्छ, नागरिकलाई सबल बनाउँछ, गलत सोचाइलाई चिर्छ र समाजलाई उदासीन हुनबाट जोगाउँछ । समाधान पत्रकारिताले समस्याको मूलभूत कारण पत्ता लगाई समस्या निराकरणको उपाय खोज्छ ।

समाधान पत्रकारिताले समाजलाई फुटपरस्त नभई एकताबद्ध बनाउँछ । यसले सही र उपयोगी सूचना प्रवाह गरेर नागरिकलाई आफैं सच्चिने उपाय प्रदान गर्छ । समाजलाई उपयोगी अन्तरदृष्टि दिन्छ । यसले समाजलाई गाँजिरहेको सामाजिक रोगको निदान र उपचारमा सहयोग गर्छ । समस्या समाधानका लागि उपयोगी मोडल प्रस्तुत गर्छ । समस्यालाई रचनात्मक किसिले समाधान गर्नका लागि नयाँ लेन्स प्रदान गर्छ । यस किसिमको पत्रकारिता स्थानीय परिवेशमा बढी प्रभावकारी मानिन्छ ।

कतिपयको दृष्टिमा समाधान पत्रकारिता कुनै नयाँ विषय वा विधा होइन । यो भइरहेकै पत्रकारिताको अभ्यासलाई अझ बढी शुद्धीकरण र स्तरीकरण गर्ने कार्यमात्र हो । अर्को शब्दमा भन्दा विद्यमान पत्रकारिताको अभ्यासलाई अझ बढी जनमुखी र समाधानमुखी बनाउने प्रयत्न हो । यसका लागि पत्रकार रचनात्मक, परिश्रमी र अध्ययनशील हुनुपर्छ । अनिमात्र समाधान पत्रकारिताको ढोका खुल्छ । यसका लागि पत्रकारमा सकारात्मक सोच र असल मनोवृत्ति पनि नभई नहुने पक्ष हुन् ।

प्रश्न उठ्छ, समाधान पत्रकारितालाई नेपालको सन्दर्भमा कसरी ढाल्न सकिएला ? हामीकहाँ अनेकन् गम्भीर मामिलाहरू देखापरेका छन्, जसको तत्क्षण समाधान आवश्यक छ । जस्तै : आत्माहत्याको बढ्दो ग्राफ, युवाहरूमा लागू औषधको दुरुपयोग आदि । नेपालमा हुने आत्माहत्यालाई एउटा दृष्टान्तको रूपमा लिऔँ । नेपालमा आत्महत्या मृत्युको मुख्य कारणमध्ये एक मानिएको छ । यहाँ हरेक वर्ष लगभग चार हजार व्यक्तिले आत्महत्या गर्ने गरेको अभिलेख पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले आत्माहत्या हुने देशहरूको सूचीमा नेपाललाई एक सय २६ औं स्थानमा राखेको छ । नेपालमा हुने आत्माहत्यालाई न्यूनीकरण गर्न समाधान पत्रकारिताको लेन्सबाट हेर्दा पत्रकारले कस्तो भूमिका खेल्नुपर्ला ? यहाँनेर, आत्माहत्याको विकराल अवस्थाबारे निख्लो रिपोर्टिङमात्र गरेरमात्र पुग्दैन, यसको मूल कारण पत्ता लगाउँदै यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सरल र सहज भाषामा उपयोगी उपाय पनि सुझाउनुपर्छ । आत्माहत्या नियन्त्रणमा भएका असल अभ्यास तथा मोडल प्रस्तुत गर्नुपर्छ ।

तर, यस्तो काम सहज छैन । यसका लागि पत्रकारले धेरै परिश्रम गर्नुपर्ने हुन्छ । ऊ धेरै रचनात्मक र अध्ययनशील बन्नुपर्छ । अनिमात्र समस्याको जरोमा पुगेर समस्याको हल गर्नका लागि सुझाव दिनसक्ने हैसियतमा पुग्छ । यस क्रममा पत्रकारले खोजी रिपोर्टिङदेखि गहन रिपोर्टिङ (डेप्थ रिपोर्टिङ) सम्मका पत्रकारिताका सबै सीप र शोध विधिलाई आवश्यकता अनुसार उपयोगमा ल्याउनुपर्छ । समस्याको सूक्ष्मतम् विश्लेषण गरी परिस्थितिको गाम्भीर्य पत्ता लगाउनुपर्छ ।

समाधान पत्रकारिताले विषयवस्तुलाई मात्र हेर्दैन । यसले हाम्रो सन्देश बोकेर अडियन्स (स्रोता, दर्शक र पाठक) कहाँ पुग्ने भाषालाई पनि ख्याल गर्छ । समाधान पत्रकारिताको सम्यक भाषालाई मान्यता दिन्छ । हामी कतिपय सञ्चार माध्यममा अत्यन्त विषाक्त अभिव्यक्ति देख्छौँ । गालीगलौज र आरोप–प्रत्यारोपका निकृष्टतम् भाषा प्रयोग भएको पाउँछौँ । यस्ता अभिव्यक्तिहरूले प्रतिशोधपूर्ण समाज निर्माणमा योगदान दिन्छन्, जसबाट सम्यक समाजको जग भत्किन पुग्छ । समाधान पत्रकारिताले यस्ता भाषालाई त्याज्य विषय ठान्छ ।

पत्रकारिता क्षेत्रमा विद्यमान अशुद्धिहरूलाई हटाउँदै समाधानमूलक पत्रकारितालाई प्रश्रय दिने अभिप्रायले अमेरिकामा ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ नामक संस्था स्थापना भएको छ । सन् २०१३ मा अमेरिकी पत्रकार तथा लेखक डेभिड बन्र्सटिन, नारावादी लेखिका कट्नी मार्टिन र अर्की पत्रकार तथा लेखिका टिना रोजेन्वर्गले यो संस्था स्थापना गर्नुभएको हो । ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले पत्रकारितालाई शुद्धीकरण गर्ने दिशामा धेरै रचनात्मक काम गर्दै आएको छ । यो संस्थाले पत्रकारहरूलाई समाधान पत्रकारिताबारे प्रशिक्षण दिने तथा मार्गनिर्देश गर्ने काम गरिरहेको छ ।

‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले अमेरिकाको ‘टेम्पल युनिभर्सिटी स्कुल अफ मिडिया एण्ड कम्युनिकेसन’ तथा ‘पोइन्टर इन्स्टिच्युट’ सँग मिलेर समाधान पत्रकारिताबारे पाठ््यक्रम पनि तयार पारेर प्रशिक्षण कार्यक्रम अगाडि बढाइसकेको छ । यसले अमेरिकाको ‘द सियाटल टाइम्स’, ‘द क्रिस्चियन साइन्स मोनिटर’, ‘द बोस्टन ग्लोब’, ‘द वल्र्ड’ र ‘सेन्टर फर इन्भेष्टिगेटिभ रिपोर्टिङ’ जस्ता सञ्चार गृहसँग मिलेर समाधान पत्रकारिताको अवधारणालाई मूर्त रूप दिने कार्यमा अघि बढिरहेको छ ।

नेपाली समाज बहुआयमिक समस्यासँग जुधिरहेको बेला पनि यस किसिमको असल प्रयत्न नेपालमा पनि हुन आवश्यक छ । समाजमा विद्यमान समस्याको शुष्क रिपोर्टिङमात्र नगरी समस्या समाधानको रचनात्मक उपायहरू खोजेर प्रस्तुत गर्दा समाजलाई योगदान त पुग्छ नै, खोजखजिन गर्ने र समस्याको गहिराइमा पुग्ने पत्रकारको क्षमता पनि अभिवृद्धि हुन्छ । यसबाट समाज र पत्रकार दुवैलाई लाभ हुन्छ । समाजको बृहत्तर हितका नेपाली पत्रकारिता वृत्तले पनि समाधान पत्रकारितालाई अपनाउनुपर्ने समय आएको छ  ।

[साभार : गोरखापत्र । २०७६ साल असोज १४ गते ।]