Wednesday, January 3, 2024

पत्रकारिताका सच्चा 'मेन्टर'

 –यमबहादुर दुरा


राणाकालमा शुरु भएको नेपाली पत्रकारितामा थुप्रै राजनीतिक तथा प्राविधिक मोड आए । लेटरप्रेस, अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको तिलस्मी युगसम्म आइपुग्दा नेपालको पत्रकारिताले नपत्याउँदो फड्को मारेको छ । राणकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल, २०६२÷०६३ को अप्रिल क्रान्ति र त्यसपछिका सतत घडीमा नेपाली पत्रकारिताले नेपाली समाजलाई बदल्न सघायो र आफू  पनि बदलिँदै गयो ।

नेपालको पत्रकारितामा अहिलेको विकासित चरणसम्म योगदान गर्ने अग्रजमा गोकुल पोखरेल, भारतदत्त कोइराला, गोपालदास श्रेष्ठजस्ता अग्रज पत्रकारहरूको उल्लेखनीय भूमिका रहेको तथ्यलाई सगर्व आत्मासात गर्न सकिन्छ । यस बसाइमा पुस १६ गते मृत्युवरण गर्नुभएका अग्रज पत्रकार गोकुल पोखरेलसँग जोडिएका आफ्ना निजी अनुभूति र उहाँले पत्रकारिताको विकासमा दिनुभएको योगदानलाई पेश गर्ने प्रयत्न गरेको छु । 

कुरा निजी प्रसङबाटै शुरु गरौँ । २०६० सालमा नेपाल प्रेस इन्स्टिच्युटले क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जको क्षेत्रीय संयोजक पदमा विज्ञापन निकालेको थियो । म एएमको पढाइ सकाएर बसेको बेला थियो । कामना प्रकाशन समूहमा कार्यरत थिएँ । त्यस पदका लागि मैले पनि आवेदन दिएको थिएँ । प्रतिस्पर्धा मार्पmत म छनोट भएँ । त्यसबेला नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर र बुटवलमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालन गरिरहेको थियो ।

त्यस समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका २४ वटा जिल्लाका पत्रकारहरूका लागि तालिम, कार्यशाला र अन्य समयसापेक्ष कार्यक्रम सञ्चालन गर्नु संयोजकको जिम्मेवारी थियो । संयोजकका नाताले संयोजनकारी भूमिका मेरै थियो । 

मैले नयाँ नियुक्ति लिएर नयाँ ठाउँमा जाने बेलामा गोकुल पोखरेल नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्ष हुनुहुन्थ्यो । म कार्यक्षेत्रमा खटिनुअघि उहाँले मलाई आफ्नो कार्यकक्षमा बोलाएर मैले निर्वाह गर्नुपर्ने भूमिकाबारे र जिम्मेवारी प्रष्ट भाषामा सम्झाउनुभएको थियो, जुन म अहिले पनि झलझली सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘हाकिम नबन्नू, पत्रकारहरूको सहजकर्ता बन्नू’ । सबैसँग मित्रवत् व्यवहार गरेमा वातारण सहज हुन्छ भन्नुहुन्थ्यो, उहाँ । 

अनुभवले खारिएका गोकुल पोखरेलको सुझाव थियो— साथीसंगी र सहकर्मीहरूबीच कुनै कारणले मनमुटावको वातावरण पैदा भएमा आफू  झगडाको कारक बन्नुहुँदैन, बरू ‘भोल्टगार्ड’ को भूमिका निर्वाह गर्नुपर्छ । उहाँले स्वदेशी तथा विदेशी प्रतिनिधिहरूका अगाडि पालना गर्नुपर्ने शिष्टाचार र सौहद्र्रपूर्ण व्यवहारबारे राम्रैसँग पाठ पढाउनुभएको थियो । एउटा नादान बालकलाई सम्झाए जसरी दिइएका ती सुझाव मेरा लागि गजबको मार्गदशक सिद्धान्त नै बने ।

तस्बिर: गुगल

गोकुल पोखरेलसँग भेट हुनुअघि उहाँका व्यावसायिक जीवनबारे रोचक किस्सो । उहाँ गोरखापत्रको प्रधानसम्पादक हुँदा राजपरिवारका एक सदस्यसँग सम्बन्धित समाचार छपाइ अशुद्धिले अन्यथा अर्थ लाग्ने गरी छापिन गएछ । यसबाट उहाँको जागिर नै चट भएको प्रसङ्ग पत्रकार वृत्तमा चर्चाको विषय बनिरहन्थ्यो । 

जीवनका यस्तै उतारचढावबाट पाठ सिकेर नै होला, कतै पेश गर्ने प्रयोजनले आपूmले लेखेका सामग्री आपैmँले पटक पटक पढ्ने, तथ्य–जाँच गर्ने र आफूलाई सही छ भन्ने नलागेसम्म अन्त फरवार्ड गर्नुहुँदैन भन्नेमा जोड दिनुहुन्थ्यो । 

गोकुल पोखरेलबाट प्रशिक्षित पत्रकारमध्येमा तीर्थ कोइराला पनि हुनुहुन्छ । कोइरालाले कतिपय सन्दर्भमा उहाँसँग पनि सहकार्य गर्नुभयो । पत्रकार कोइरालाका दृष्टिमा गोकुल पोखरेल पेशागत सीप, क्षमता र दक्षता विश्वास गर्ने पेशानिष्ठ पत्रकार हुनुहुन्थ्यो । समग्रमा उहाँ पेशागत मर्यादाको मियो हुनुहुन्थ्यो ।

उहाँले सुझाउनुभएको थियो— ‘आफूले सम्पदान गरेका क्रियाकलापको अभिलेख राख्नू ।' मैले त्यसलाई पालना गर्ने प्रयास गरेँ । यसबाट प्रगति प्रतिवेदन लेख्न र इतिहास बनिसकेका घटना स्मरण गर्न धेरै सहज भएको पाएँ । अभिलेखीकरणको अभ्यासले संस्थागत स्मृति कायम गर्न सघाएको पाएँ । यसलाई उहाँबाट प्राप्त अमूल्य अभौतिक उपहार सम्झन्छु म ।

गोकुल पोखरेलजस्ता अग्रजले पत्रकारिता गरेका समयमा नेपाल पत्रकारिताको ज्ञान र सीप दिने संस्थाको चर्को अभाव थियो । अनुज पुस्ता पत्रकारिताको आधारभूत ज्ञान र सीपबाट बञ्जित नहोउन् भन्ने भावनाले उहाँहरूका मनमा वास गरेको थियो । 

त्यसबेला पत्रकारिताको प्राज्ञिक अध्ययन–अध्यापनको वातावरण राम्रोसँग तयार भइसकेको थिएन । त्रिभुवन विश्वद्यिालयले २०३३ सालमा प्रवीणता प्रमाणपत्र र २०३६ सालमा स्नातक तहमा पत्रकारिताको पढाइ शुरु गरे पनि त्यसले व्यापकता पाएको थिएन । उपत्यकाका एकाध कलेजमा मात्र पढाइ सीमित थियो । 

त्यसबेला पत्रकारितालाई ‘करिअर’ बनाउन चाहनेहरूका लागि ज्ञान, सीप र ‘मेन्टरसिप’ को चर्को अभाव थियो । त्यस खरेडीग्रस्ता समयमा अग्रजहरूका दिमागमा पत्रकारलाई तालिम प्रदान गर्ने संस्थाको चित्र तयार भयो । सोही अनुसार गोपालदास श्रेष्ठ, गोकुल पोखरेल, भारतदत्त कोइराला, भोग्यप्रसाद शाह, गोविन्द वियोगीजस्ता अग्रजले २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना गर्नुभयो ।

त्यसबेला नेपाल प्रेस इन्स्टिच्युट पत्रकारिता क्षेत्रमा मरूद्यानजस्तै हुन पुग्यो । त्यसले एक से एक उर्जाशील पत्रकार कोरल्न थाल्यो । रविन्द्र मिश्र, हरिकला अधिकारी, आनन्दराम आचार्य, अरुण रञ्जित, तीर्थ कोइराला, कपिल काफ्ले, युवनाथ लम्साल, राजेश घिमिरे, राजेन्द्र दाहाल, लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेतजस्ता राष्ट्रिय जीवनमा कहलिएका हस्तीहरू नेपाल प्रेस इन्स्टिच्युटकै उत्पादन हुनुहुन्छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा खुला वातावरण तयार भयो । विस्तारै ब्रोडसिट अखबार आउन थाले । यस्तैमा नेपाल प्रेस इन्स्टिच्युटले डेनमार्केली संस्था डानिडासँग लेखापढी गरेर देशभरका पत्रकारहरूलाई तालिम दिने वातावरण बनायो । यही उद्देश्यले विराटनगर, बुटवल तथा नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्रहरू स्थापना भए । 

मिडियामा दक्ष जनशक्ति पार्नका डानिडाले सन् १९९६ देखि २००६ सम्म नेपाल प्रेस इन्स्टिच्युटलाई उदार मनले सहयोग ग¥यो । समयक्रममा नेपाल प्रेस इन्स्टिच्युटले देशभरका पत्रकारलाई तालिम दिने अभिप्रायले प्रशिक्षक प्रशिक्षण तालिम (टट) सञ्चालन गरी प्रशिक्षकहरूको समूह तयार पा¥यो । 

त्यस समयमा देशका विभिन्न कुना–कन्दरामा पत्रकारिताका विभिन्न विधामा तालिम भए । मिडियाको विकाससँगै देशभर पत्रकार बन्ने लहर नै आयो । धेरै युवाका लागि पत्रकारिता ग्लेमरले भरिएको आकर्षक पेशाको रूपमा देखापर्न थाल्यो । देशमा पत्रकारिताको क्रेज बढाउने र पेशगत सीप थप्ने दिशामा गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता अग्रजहरूले रचनात्मक भूमिका खेल्नुभयो, जुन धेरै अर्थमा वन्दनीय छ । 

नेपाल प्रेस इन्स्टिच्युटले दिने तालिममा सहभागी हुँदा गोकुल पोखरेलले लिने कक्षामा सहभागी हुने अवसर पाएको छु । पूर्वीय दर्शनका प्रकाण्ड विद्वान् तथा समाज सुधारक पण्डित छविलाल पोखरेलका छोरा हुनुका नाताले पनि उहाँमा बुबा केही गुण निसृत भएको अनुभूत गर्न सकिन्थ्यो । उहाँका कलम नेपाली तथा अंग्रेजी दुवै भाषामा समानान्तर किसिमले चल्थे । 

बेलायत, फ्रान्स आदि देशबाट पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्राप्त गर्नुभएका पोखरेल ज्ञान र अनुभवको खानी हुनुहुन्थ्यो । पोखरेलले कक्षामा आफ्ना कुरा राख्दा पर्याप्त दृष्टान्त पेश गर्नुहुन्थ्यो । यसबाट उहाँका कक्षा आकर्षक र पर्याप्त ज्ञानवद्र्धक हुन्थ्यो । 

विज्ञान ज्ञानी व्यक्तिहरूले मात्र थाहा जान्ने विषय हो भन्ने बुझाइ हामीकहाँ कायमै छ । विज्ञानलाई रहस्यको पर्दाले छोप्नुहुँदैन, यसको रहस्यलाई जतिसक्दो उद्घाटन गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । यस अनुरूप उहाँले गतिविधिहरूपनि सञ्चालन गर्नुभएको थियो । 

मलाई सम्झना भएसम्म तत्कालीन ‘नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान’ मा विज्ञान सञ्चारसम्बन्धी कार्यक्रम सञ्चालनमा पनि उहाँको भूमिका थियो । त्यसले प्रकाशन गर्ने विज्ञानसम्बन्धी फिचर सेवा ‘विज्ञानमाला’ उहाँको प्रत्यक्ष वा परोक्ष रूपमा संलग्नता थियो । 

गोकुल पोखरेलजस्ता अग्रजको छत्रछायाँमा रहेर नेपाल प्रेस इन्स्टिच्युटमा काम  गर्दा व्यक्तिगत रूपमा म पनि लाभान्वित भएँ । पी खरेल,ध्रुवहरि अधिकारी, चिरञ्जीवी खनाल, हस्त गुरुङ, पुष्प अधिकारी, कपिल काफ्ले आदिसँग सहकार्य गर्ने अवसर जुट्यो । यसैगरी, पत्रकारिताका प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरू कुन्दन अर्याल, रघु मैनाली, किशोर कार्की, मन्टेश्वरी राजभण्डारी, खेम भण्डारी, चिरञ्जीवी अर्याल, हेमन्त कर्माचार्य, धर्मेन्द्र झा, भरत भूषाल आदिसँग पत्रकारिताका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे विचार–विमर्श गर्ने सुन्दर अवसर मिल्यो । 

नेपालगञ्जको बसाइमा स्थानीयस्तरमा ‘चाचाजी’ नामबाट सुपरिचित अग्रज पत्रकार पन्नलाल गुप्त, रेशम विरही, पूर्णलाल चुके, जनक नेपाल, मेघराज ओली, शुक्रऋषि चौलागाईँ, सुरेन्द्र काफ्ले, अक्षरी पोखरेल, करुणा थापा, लियाकत अली, एकराज चौधरी, डिल्ली बिसी आदि नेपालगञ्जीय सञ्चारकर्मीहरूसँग मीठो किसिमले पेशागत दोस्ती बढ्यो । क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका सहकर्मीहरू आरिफ अन्सारी, पीताम्बर कट्टेल, गंगा फुयाँल तथा गंगाप्रसा ठाकुरको साथ र सहयोग पनि उत्तिकै मिठो थियो ।  यसबाहेक मध्य र सुदूरपश्चिमका २४ वटा जिल्लाका पत्रकारहरूसँग पनि चिनपर्ची र माया–ममता बढ्यो । 

नेपालगञ्जमा रहेका स्वदेशी तथा विदेशी सङ्घ–संस्थाका पदाधिकारीहरूसँग पनि चिनजान भयो । केहीसँग त सहकार्य पनि भयो । यसबाहेक स्थानीय नागरिक समाजसँग पनि साइनोपात गाँसियो । 

त्यसबेला माओवादीको सशस्त्र द्वन्द्वको उत्कर्षतिर पुग्दै थियो । हत्याहिंसाको शृङ्खला जारी थियो । यस्तो अभिशप्त समयमा देशमा शान्ति पुनर्वहाली होस् भन्ने आमनागरिकको उत्कट चाहना थियो, जुन स्वाभाविक थियो । यही मेहरोमा बाँकेका सञ्चालित नागरिक समाजले ‘शान्ति र सदभाव अभियान’ अघि बढाएको थियो । 

त्यसमा म पनि एक हिस्सा बन्न पुगेको थियो । प्राध्यापक गणेश रेग्मी, जमुना भट्ट, झुकमाया जिएम, झविलाल शर्मा, ईश्वरी विश्वकर्मा, कृष्ण उपाध्याय सीपी सिंहजस्ता तत्कालीन अभियानकर्मीहरूसँगको मीठो सहकार्य भयो । त्यसले दुखको घडीमा सहजीवन र सहकार्यको महत्त्वबारे राम्रै पाठ सिकायो । जीवनका यी तमाम भोगाइहरूमा नेपाल प्रेस इन्स्टिच्युट, गोकुल पोखरेल र अन्य अग्रजहरूबाट अवसरको अविष्मरणीय हिस्सेदारी छ ।

गोकुल पोखरेल भन्नुहुन्थ्यो— ‘पत्रकार कहिल्यै पनि ‘रिटायर्ड’ हुँदैन’ । उहाँको कथनमा नतमस्तक हुँदै एउटा शब्दावली थप्न मन लाग्यो— सम्झना पनि कहिल्यै बिरानो हुँदैन, गोकुल सर । सम्झनाको पूmलबारीमा तपार्इँ सधैँ फक्रनुहुनेछ । तपाईँप्रति हार्दिक श्रद्धासुमन !

साभार: हिमालखबर । २०८० साल पुस १७ गते । सामान्य परिमार्जनसहित ।]