Friday, November 24, 2017

चुनावमा दुस्प्रचार

–यमबहादुर दुरा

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका असोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्नआउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छिन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकाहरूलाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर पढाइन्छ ।’

हुन पनि मताधिकार नागरिकको भविष्य निर्धारण गर्ने राजनीतिक अस्त्र हो । मताधिकारको अवसर निम्त्याउने निर्वाचन जनसाधारणको सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम हो, जुन नागरिक तथा राजनीतिक अधिकारका दृष्टिले सर्वाधिक महत्वूर्ण ‘राजनीतिक चाड’ पनि हो । नागरिकले अधिकतम् ध्यान पुर्‍याउनुपर्ने राजनीतिक ‘इभेन्ट’ पनि निर्वाचन नै हो ।

बुद्धि र विवेकको सही उपयोग गरेर जनप्रतिनिधि चुन्ने उपयुक्त घडी पनि यही हो । निर्वाचनका समयमा नागरिक सर्वाधिक शक्तिशाली मानिन्छन् । ‘जनता जनर्दन’ भनिने अमूर्त मान्यता यही समयमा मूर्त बन्न खोज्छ । अघिपछि जे जस्तो भए पनि निर्वाचनको समय जनता ढोगिन्छन् र देउतासरी पुजिञ्छन् ।

निर्वाचन नागरिकले सही निर्णय लिनुपर्ने जटिल समय हो । चुनावमा नागरिकका अगाडि अनेकथरी राजनीतिक शक्तिहरू मतका लागि हारगुहार गर्न आउँछन्, आश्वासन बाँड्छन् र आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गर्छन् । चुनावी माहोलमा राजनीतिक शक्तिले रचेका तमाम प्रपञ्चका अगाडि नागरिक रनभुल्लमा पर्ने अवस्था आउन सक्छ ।

यस्तो अन्यमनस्क अवस्थामा आमसञ्चार माध्यम (खासगरी पत्रकारिता जगत) ले सही बाटो देखाइदिने काम गर्नुपर्ने हुन्छ । निर्वाचनको समयमा पत्रकार अघिपछि  भन्दा पनि बढी रचनात्मक र विवेकशील हुनुपर्छ भन्नेका कुरा पत्रकारिता आचार संहितासम्बन्धी धेरैजसो अन्तर्राष्ट्रिय दस्ताबेजहरूमा उल्लिखित छ । आपूmले चाहेका राजनीतिक दललाई मतदान गर्ने अधिकार पूरापुर नागरिकमै छाड्दै परिस्थितिको स्पष्ट तस्बिर उनीहरू समक्ष राखिदिनु पत्रकारिताको धर्म हो ।

निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने बेलमा फलानो नेताले फलानो आमसभाका यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भन्ने खालका सादा समाचार (प्लेन रिपोर्टिङ) ले मात्र पुग्दैन, साथमा प्रसस्त मात्रामा विश्लेषणात्मक समाचार दिनुपर्ने हुन्छ । प्लेन रिपोर्टिङले कतिपय अवस्थामा राजनीतिक दलका कुत्सित नियतलाई जनजनसम्म विस्तार गरी नागरिकमा प्रसस्त भ्रम छर्ने काम गर्नसक्छ । सही किसिमले तयार पारिएको विश्लेषणात्मक समाचारले यस्ता भ्रमलाई चिर्ने काम गर्छ ।

सम्बन्धित राजनीतिक दलका घोषणापत्रको सबल र दुर्बल पक्ष, दलले चुनावमा गरेका खर्चको स्रोत, त्यसबाट आउनसक्ने नीतिगत अनाचार एवम् उम्मेदवारले विगतमा प्रदर्शन गरेका सार्वजनिक व्यवहारको वस्तुनिष्ठ लेखाजोखा गरी समाचार दिन आवश्यक हुन्छ । विश्लेषणात्मक समाचारले राजनीतिक दलका नेताद्वारा अभिव्यक्त विचारभित्र लुकेको वास्तविकता बुझ्न सहज बनाइदिन्छ, जसले मतदातालाई सही निर्णय लिन सहयोग पुग्छ । तर विश्लेषणको नाम मनोगत विचार सम्प्रेषण हुनसक्ने खतराप्रति पनि उत्तिकै सचेत हुनुपर्छ ।

पत्रकारिताको मूल धर्म नागरिकलाई सुसूचित गर्ने र समाजलाई सहजीकरण गर्ने नै हो । निर्वाचनको समयका पत्रकारिताको यो भूमिका झन व्यापक भएर आउँछ । धेरै खालका अलमल, राजनीतिक चलखेल र व्यापारिक स्वार्थबाट प्रदूषित सूचनाको अथाह समुद्रबाट सही सूचना कपडछान गरेर जनसमक्ष प्रवाह गर्नु आफैंमा एउटा भयानक चुनौतीपूर्ण काम हो ।

यस घडीमा असीम परिश्रम र सीपका साथमा ‘वस्तुनिष्ठ व्यवहार’ शिरोपर गर्नुपर्ने हुन्छ । यस्तो चुनौती जोकोहीले सामना गर्न सक्दैन । खासगरी, राजनीतिक दलसँगको निकटतालाई आफ्नो सौर्य ठान्ने, परिश्रम नगर्ने र शोधकार्य (रिसर्च) मा अभ्यस्त नभएका पत्रकारलाई यस्तो भूमिका निर्वाह गर्न सहज हुँदैन । परिश्रमी र विचारशील पत्रकारले सम्प्रेषण गर्ने सही सूचनाले मतदाताको भविष्य निर्माणमा योगदान दिन्छ ।

एक्काईसौं शताब्दीमा सूचनालाई सम्पत्ति मानिएको छ । सूचना–सम्पत्तिको प्रसंग कोट्याउँदा मानिस सूचनाजीवी प्राणी हो भन्ने तथ्यलाई समयले प्रमाणित गर्दै लगेको छ । मानिसलाई सही समयमा सही सूचना आवश्यक पर्छ । सही सूचनाबाट निर्देशित पाइलाले नै उसको जीवनमा सही गन्तव्य निर्धारण गर्छ ।

अहिले भइरहेको सूचना क्रान्तिले सचेत किसिमले पाइला अघि सार्न सहयोग गरिरहेको छ । सँगसँगै, चुनौती पनि थपिएको छ । इन्टरनेटले दुनियाँलाई अद्वितीय गुन लाउँदालाउँदै पनि कतिपय न्युज पोर्टल र सामाजिक सञ्जालहरू दुस्प्रचार यन्त्र बन्न थालेका छन् । त्यसमा पनि दुस्प्रचारयन्त्रको प्रयोगमा राजनीतिक शक्ति पछाडि छैनन् ।

नेपालजस्तो विकासोन्मुख मुलुकमात्र होइन, अमेरिकाजस्तो विकसित मुलुक पनि दुस्प्रचारबाट प्रभावित छन् । ‘अमेरिकन इकनमिक असोसिएसन’ द्वारा प्रकाशित ‘जर्नल अफ इकनमिक्स पर्सपेक्टिभ्स्’ मा छापिएको एक अनुसन्धानात्मक लेखमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा लगभग १७ प्रतिशत वयस्क अमेरिकीहरूले ‘फेक न्युज पोर्टल’ ले प्रवाह गरेको समाचारमा भर परेको उल्लेख गरेको छ । नेपालमा त्यस्तो झुटो समाचारको प्रभाव अमेरिकामा भन्दा निकै बढी हुनुपर्छ ।

पहिलो झलकमै झुटो र बेतुक लाग्ने समाचार र अन्य सामग्रीलाई धेरैले सत्य ठानी सामाजिक सञ्जालमा सेयर गरेका, कमेन्ट गरेका र साथीसंगी एवं घरपरिवारमा ‘हट केक’ शैलीमा कुराकानीको विषय बनाएका दृष्टान्त नेपाली समाजमा छेलोखेलो छ । यसबाट गलत सूचनाले नेपाली समाज धेरै हदसम्म सङ्क्रमित छ भन्न गाह्रो छैन । सही सूचनाको बलले सही जनप्रतिनिधि चुन्नुपर्ने बेलामा गलत सूचनाले मतदातालाई निश्चय नै दिग्भ्रमित तुल्याउँछ ।

लोकतन्त्रको दृष्टिले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउट महत्वपूर्ण हिस्सा हो भने राजनीतिक शक्तिको आँखामा निर्वाचन शक्ति हत्याउने खेल हो । निर्वाचनका बेला राजनीतिक शक्तिले एकअर्काविरुद्ध सक्दो दुस्प्रचार गर्छन् । दुस्प्रचार राजनीतिक दलका लागि शक्ति हत्याउने शक्तिशाली अस्त्र हो । निर्वाचनको समयमा हुने आमसभा, राजनीतिक दलको प्रचार सामग्रीबाट प्रवाहित सूचना, राजनीतिक दलले सञ्चालन गरेका घोषित तथा अघोषित सञ्चार आउटलेट तथा तिनका भ्रातृसंगठनहरूले जारी गरेका सन्देश धेरै हदसम्म दुस्प्रचारले भरिएका हुन्छन् ।

सबै प्रकारका दुस्प्रचारलाई चिर्दै नागरिकका पक्षमा सही सूचना कसरी दिने ? यस्तो अवस्थामा मिडियाले बहुआयमिक चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसो त, सत्य खोज्ने र त्यसलाई सम्प्रेषण गर्ने काम कहिल्यै पनि सहज छैन । त्यसमा पनि सञ्चार माध्यममा आएका कुरा सही हुन्छन् भन्ने मान्यताका पक्षपातीहरू कम नभएको हाम्रोजस्तो समाजमा सही सूचनाले स्थान पाउनुभन्दा धेरै अघि नै भ्रामक सूचनाले स्थान ओगटिसकेको हुनसक्छ ।
सत्य खोज्ने र सम्प्रेषण गर्ने काममा इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । इन्टरनेटको बढ्दो पहुँचले हरेक व्यक्तिले आफ्नै मिडिया सञ्चालन गर्न सक्ने अवस्था बनिरहेको छ । अहिले मनोगत विचार र भ्रामक सूचनाले भरिएका ‘फेक न्युज’ र अन्य ‘फेक कन्टेन्ट’ को बिगबिगी बढेको छ ।

भ्रामक सूचना प्रवाह गर्ने यस्ता प्रचारयन्त्रको कर्तुतबारे बुझ्न बाँकी रहेका जनसमुदायले भ्रामक जानकारीलाई सही ठानेर सोही बमोजिम मनस्थिति बनाउन सक्ने खतरालाई नकार्न सकिन्न । जगजाहेर नै छ, गलत जानकारीले कहिल्यै पनि सही गन्तव्यमा पुर्‍याउँदैन ।

सही सूचना सम्प्रेषणमा समस्या राजनीतिक दलमात्र बाधक छैन, यसमा समाजको पहरेदार ठानिएका पत्रकारहरूको व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएको छ । राजनीतिक दलको प्रचारयन्त्रमा पत्रकारहरूको संलग्नता रहनुले स्थिति झन जटिल बनेको छ । पत्रकार आचार संहिताले यस्तो व्यवहारलाई स्वीकार्य ठान्दैन । युनेस्कोको सहयोगमा सन् १९९१ मा नामिबियामा सम्पन्न अफ्रिकी अखबारका पत्रकारहरूको भेलामा जारी आचार संहितामा स्वतन्त्र  प्रेसको अर्थ सरकार, राजनीतिक दल वा आर्थिक शक्तिको प्रभावबाट टाढा रहनु हो भनिएको छ ।

यसो भनिरहँदा पत्रकार राजनीतिक दल र तिनका उम्मेदवारसँग पानी बाराबारको सम्बन्ध रहनुपर्छ भन्ने अर्थ नलागोस् ।  बरू, उम्मेदवार र मतदाताबीच सेतु बन्नुपर्छ, पत्रकार । अन्तर्राष्ट्रिय पत्रकार महासंघद्वारा प्रकाशित ‘इलेक्सन रिपोर्टिङ ह्यान्डबुक’ मा पत्रकारले मतदाताका अपेक्षा र उम्मेदवारका आशयलाई विवेकशील ढङ्गबाट जोडिदिनुपर्छ भन्ने उल्लिखित छ ।

नागरिकको ‘राजनीतिक चाड’ मानिने निर्वाचनलाई फलदायी र अर्थपूर्ण बनाउन पत्रकारले खेल्नुपर्ने भूमिका ज्यादै गहन छ । उसको वस्तुनिष्ठ, विचारशील, सिर्जनशील र विवेकशील व्यवहारबाट मात्र यस्तो भूमिका सही अर्थमा निर्वाह हुनसक्छ । यसका लागि आफ्ना निजी आकांक्षाहरूलाई गौण ठान्नुपर्ने हुन्छ । तबमात्र, निर्वाचनमार्फत् नागरिकको राजनीतिक अधिकार रक्षा गर्ने कार्यमा पत्रकारको हिस्सेदारी कायम हुन्छ ।

साभार: अन्नपूर्ण पोष्ट । (मङ्सिर ८, २०७४) ।]

Saturday, November 18, 2017

पत्रकारिता तालिमको घट्दो क्रेज

–यमबहादुरा दुरा

अमेरिकी लेखक रोवर्ट कियोसाकी (जन्मः सन् १९४७) कतै भनेका छन्, ‘अनुशासन र तालिमबाट आत्मविश्वास पलाउँछ ।’ कियोसाकीको भनाइ हरेक पेशा र व्यवसायमा संलग्न व्यक्तिका लागि मननीय छ । त्यसमा पनि प्रतिपल बदलिइरहेको दुनियाँको खोजखबर गर्ने पत्रकारका लागि उनको भनाइ झनै मननीय र सान्दर्भिक छ ।
कियोसाकीको भनाइले तालिमको महत्वलाई झल्काएको छ ।

 नेपालमा पत्रकारितासम्बन्धी तालिमको औपचारिक इतिहास २०४१ सालमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ स्थापित भएपछि शुरु भएको पाइन्छ । गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता नेपालका अग्रज पत्रकारहरूद्वारा स्थापित पत्रकारिता तालिमसम्बन्धी तालिम इन्स्टिच्युटले नेपालका एक से एक पत्रकारहरू उत्पादन गर्‍यो ।

उनीहरूले नयाँ पुस्ताका पत्रकार नआउञ्जेलसम्म नेपालको मूलधार पत्रकारिताको कमाण्ड सम्हालेको इतिहासलाई बिर्सन मिल्दैन । त्रिभुवन विश्वविद्यालयले पत्रकारितासम्बन्धी जनशक्ति पर्याप्त रूपमा उत्पादन गर्न नसक्दाको घडीमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ ले माग पूरा गरेको थियो, जुन नेपालको पत्रकारिता जगतमा प्रशंसनीय कार्य थियो ।

२०५० को दशकसम्म पत्रकारिता तालिमको क्रेज उच्च नै थियो । यतिञ्जेलसम्म पत्रकारितासम्बन्धी तालिम दिनका लागि अरू थुप्रै संस्था अस्तित्वमा आइसकेका थिए । समयक्रममा यस्ता तालिमहरूको क्रेज घट्दै गयो । पहिले पत्रकारका लागि आयोजित तालिममा सहभागी हुन पत्रकारिताभन्दा बाहिरका व्यक्तिहरू पनि मरिहत्ते गर्थे, अहिले पत्रकारका लागि आयोजित तालिममा पत्रकार नै सहभागी नहुने अवस्था छ ।

आखिर के भयो, पत्रकारितासम्बन्धी तालिमलाई ? किन तालिमप्रतिको आकर्षण जाडो मौसमको चियाझैं सेलायो ? यस विषयमा गहन र व्यापक अध्ययन भएका छैनन् । अनुसन्धानमूलक संस्था ‘मार्टिन चौतारी’ ले पत्रकारितासम्बन्धी तालिमबारे २०६६ सालमा अध्ययन गरेको थियो । पत्रकारिताको तालिम दिने संस्था र तालिममा सहभागी पेशेवार प्रशिक्षकहरूसँग परामर्श गरी प्रतिवेदन प्रकाशन गरेको थियो ।

त्यस प्रतिवेदनले मिडियासम्बन्धी तालिमको पाठ्यक्रम, प्रशिक्षक, सहभागी तथा आर्थिक पक्षलाई केन्द्रमा राखेर त्यसको प्रवृत्ति र अभ्यासलाई रौंचिरा गर्ने प्रयास गरेको छ । प्रतिवेदनले तालिमको गुणस्तर, दीगोपन र प्रभावकारिताबारे पनि मननीय ढङ्गमा विश्लेषण गरेको छ । प्रतिवेदनले औंल्याएका धेरै तथ्य अझै पनि सान्दर्भिक र विचारणीय छन् ।

वरिष्ठ ठहरिएका पत्रकारहरूले तालिममा रुचि नराख्ने र कतिपय पत्रकार भत्ता पाएमात्र तालिममा सहभागी हुन चाहने प्रवृत्तिलाई प्रतिवेदनले गम्भीरतापूर्वक औंल्याएको छ । यसैगरी, तालिमको नाममा ठगीधन्दा गर्ने कतिपय संस्थाले मीठो सपना बाँडेर सहभागीहरूलाई बिचल्ली पारेकाले तथ्यबारे प्रतिवेदनले ध्यानाकर्षण गरेको छ ।

नेपालको पत्रकारितासम्बन्धी तालिमको अवस्था र सान्दर्भिकताबारे थप चर्चा गर्नुभन्दा विश्व–सञ्चार परिदृश्यमा आएको युगान्तकारी परिवर्तनलाई नसमेट्दा अध्याय अपूरो हुनजान्छ ।  समयको गतिशीलतासँगै विश्व–सञ्चार परिदृश्यमा व्यापक बदलाव आएको छ । आजभन्दा ११ वर्षअघि सन् २००६ मा ‘टाइम’ म्यागजिनले अनौठो किसिमले ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो ।

उक्त म्याजिनले ‘यु’ अर्थात् ‘तपार्इँ’ (हरेक व्यक्ति) लाई ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो । यसको अर्थ थियो, प्रविधिको विकासले हरेक व्यक्ति शक्तिशाली बन्दैछ र ‘न्यु मिडिया’ मार्फत्  अब हरेक प्रकाशक र प्रसारक बन्नसक्छ । ‘यु ट्युब’, माई स्पेस, फेसबुकजस्ता ‘न्यु मिडिया’ ले यस्तो तिलस्मी सम्भावना छुमन्तर शैलीमा हाम्रो सामु ल्याइदिएको छ । यसबाट ‘मिडिया टाइकुन’ हरूको वर्चस्व क्षय हुने क्रम भइसकेको छ ।

यस्ता ‘न्यु मिडिया’ को माध्यमबाट शानदार किसिमले पत्रकारिता गर्न सम्भव छ भन्ने तथ्य कुनै रहस्यको विषय रहेन । वेब २.० नामले चिनिने अन्तरक्रियात्मक इन्टरनेट प्रणालीले अनलाइन पत्रकारितालाई नयाँ उचाइमा पुर्‍यायो । यसले परम्परागत पत्रकारितालाई एक अर्थमा पछिल्लो बिसौनीमा छाडिदियो । एउटै माध्यमबाट अडियो, भिडियो र टेक्टसमेत उपलब्ध गर्न सक्ने अनलाइनको अगाडि परम्परागत पत्रकारिता कता कता खल्लो देखिन थालेको छ ।

हिजोका दिनमा अखबार स्थान नपाएका कतिपय प्रतिभाहरू इन्टरनेटको माध्यमबाट राम्रा लेखक/पत्रकारका रूपमा दरिएका छन् । रेडियोमा स्वर सुनाउन र टेलिभिजनमा अनुहार देखाउन लालयित भएका तर अवसर नपाएका कतिपय व्यक्तिले अहिले ‘यु ट्युब’ मार्फत् ‘सेलिब्रिटी’ को ताज पहिरिएका छन् । उनीहरूलाई रेडियो र टेलिभिजन स्टेसन धाउनुपर्ने आवश्यकता नै छैन । उल्टै उनीहरूलाई रेडियो र टेलिभिजन खोज्न थालेका छन् ।

प्रविधिको जादुमय प्रगतिले मिडियाको परिदृश्य पनि बेजोड किसिमले बदलिदिएको छ । मनमा ताप भएका व्यक्तिका अहिले हजारौं अवसर ढोकैमा उपलब्ध छ । पत्रकारिताको डिग्रीदेखि ‘क्र्यास कोर्स’ सम्मका तमाम अवसर अनलाइनमै उपलब्ध छन् । रोगको उपचारदेखि प्राज्ञिक जिज्ञासा हल गर्नसमेत नेट सर्च गर्ने र ‘यु ट्युब’ ट्युटोरियल हेर्ने प्रवृत्ति नयाँ पुस्तामा विकास भएको छ ।

अब पत्रकारिताको ज्ञान र सीप हासिल गर्न परम्परागत शैलीको तालिम लिनैपर्ने बाध्यताको अन्त्य भइसकेको छ। अहिले पत्रकारितालगायत धेरै किसिमका ज्ञान र सीप ‘भर्चुअल क्लासरूम’ बाटै पाउन सकिने अवस्था छ ।पत्रकारिताको तालिमको क्रेजमा गिरावट आउनुको कारणमध्ये प्रविधिले ल्याइएको परिवर्तनलाई एउटा मुख्य कारक तत्व मान्न सकिन्छ । तर यो एकमात्र कारण भने होइन ।

यसका पछाडि अरू थुप्रै कारण छन् । नेपालको सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपछिको २८ वर्षको अवधिमा छापा, रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्म आइपग्दा नेपाली पत्रकारिता जगतमा धेरै उतारचढाव आइसकेको छ ।

यस अवधिमा नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा नसोचिएका परिवर्तन आएका छन् । आमसञ्चार माध्यमले प्राविधिक गुणस्तर र कन्टेन्ट विविधीकरण दुवै दृष्टिले क्रान्तिकारी फड्को मारेको छ । यसबाट सम्भवनाका धेरै ढोका खोलिएका छन् ।

साथसाथै, आमसञ्चार माध्यममा अभूतपूर्व रूपमा जनशक्ति खपत भएको छ । देशभरका सयौं कलेजमा पत्रकारितासम्बन्धी पढाइ शुरु भइसकेको छ  । आमसञ्चार माध्यमको उपस्थितिले विज्ञापनको आयतन बढेको छ र आमसञ्चार आफैंमामा एक उद्योगको स्थापित भएको छ ।

यससँगै आमसञ्चार माध्यमबारे जनमनमा बास गरेको विद्यमान हाउगुजीको पटाक्षेप पनि हुँदै गएको छ ।
हिजोका दिनमा आमसञ्चार माध्यमलाई ग्ल्यामरले भरिएको क्षेत्र मानिन्थ्यो । आज त्यस्तो मान्यतामा ह्रास आएको छ । विगतमा आमसञ्चार माध्यमलाई रहस्यपुञ्जका रूपमा हेर्ने गरिन्थ्यो । मानिसको बढ्दो चेतनास्तर र ‘सोसल मिडिया’ को विष्फोटक उपस्थितिले विगतमा रहस्यको बादलभित्र लुकेका धेरै पक्षको रहस्योद्घाटन हुँदै गइरहेको छ । परिणामस्वरूप आमसञ्चार (पत्रकारिता) प्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ ।

यी तमाम विकासक्रमले पत्रकारिता तालिमलाई चानचुने विषय बनाइदिएको छ । तर पत्रकारितासम्बन्धी तालिमको घट्दो ग्राफलाई हेर्दा पत्रकारिताप्रतिको आकर्षण घटेको मात्र भनेर तर्क गर्नु अन्याय हुन जान्छ । २०४६ सालदेखि हालसम्मको कालखण्डमा नेपाली पत्रकारिता क्षेत्रमा देखापरेको उहापोहबाट बजारशास्त्रको नियमनकारी प्राकृतिक नियमलाई अलग्याउन मिल्दैन ।

पत्रकारिता तालिमको क्षयोन्मुख अवस्थालाई निरपेक्ष रूपमा हेरेर पत्रकारिताप्रति आकर्षण घटेको भन्नु त्यति न्यायोचित हुँदैन । यसलाई पत्रकारिताको बजारले अब आफ्नो वास्तविक ‘सेप’ लिन थालेको छ भन्दा न्यायसँगत हुन्छ ।

तालिममा भाग लिने तर पत्रकारिता नगर्ने, दातृ निकायले दिएको आर्थिक सहयोग पचाउनमात्र तालिम आयोजना गर्ने, उचित पाठ््यक्रम नबनाई तालिम सञ्चालन गर्ने, सही तालिमका लागि सही सहभागी चयन गर्न नसक्नु, तालिमका नाममा सपनाजीवी युवाहरूलाई अल्मल्याउने जस्ता तालिमका विकृत पक्ष विगतमा देखापरे । पत्रकारिता क्षेत्र र पत्रकारिता–तालिमको इज्जत बचाउन यस्ता प्रवत्तिलाई दुरुत्साहित गर्न आवश्यक छ ।

पत्रकारितासम्बन्धी तालिमप्रतिको आकर्षण र विकर्षणबारे नेपथ्यमा चर्चा चलिरहँदा तालिमको आवश्यकता र महत्वलाई कुनै पनि हालतमा नकार्न सकिन्न । पत्रकारितामा मात्र होइन, हरेक पेशामा तालिम आवश्यक छ । तालिमले व्यक्तिको दक्षता, ज्ञान र सीपमा धार लगाउने, पुनर्ताजगी गर्ने र आत्मविश्वासको ग्राफ बढाउन सहयोग गर्ने भएकाले यसको महत्व सधैँ उच्च रहन्छ ।

वर्तमानमा पत्रकारिता तालिमको ग्राफ ओरालो लाग्यो भन्दैमा तालिमको औचित्य सकिएको भन्ने बुझिनुहुँदैन । तालिममा सुस्ती आएको हो, औचित्य सकिएको होइन । पेशागत जीवनमा तालिमको महत्वलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । सबैलाई हेक्का भएकै कुरा हो, असल पत्रकारिता–अभ्यासका लागि तालिमले निश्चय नै रचनात्मक र जीवनदायिनी भूमिका खेल्छ ।

[साभार:  गोरखापत्र 'शनिबार' । मङ्सिर २, २०७४ ।]


Sunday, November 5, 2017

रैथाने धुनको आरोह-अवरोह

–यमबहादुर दुरा

नेपालको मूलधारको सङ्गीतभन्दा बाहिर पनि एउटा अर्को साङ्गीतिक दुनियाँ छ, जुन धेरैले ख्याल नगरेको विषय हुनसक्छ । देशका विभिन्न समुदायले जीवनशैलीकै रूपमा हुर्काउँदै–कख्याउँदै आएका सोरठी, घाँटु, सेर्गाजस्ता साङ्गीतिक परम्परा यसका दृष्टान्त हुन् । ‘स्याटलाइट संस्कृति’ को चमकधमकले यस्ता रैथाने साङ्गीतिक परम्परा दिनानु दिन बेखबर बन्दै गएको अनुभव गरिएकै विषय हो ।

अपहेलित अवस्थामा रहेका यस्ता साङ्गीतिक वैभवबारे स्वदेशीजनलाई उतिसारो चासो नभए पनि विदेशीको भने आँखा पर्ने गरेको छ गम्भीर चासो देखाएका छन् । फिनल्याण्डको ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ सम्बन्धी लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे गरेको अध्ययनलाई यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

मोइजालाले लमजुङको गिलुङ गाउँका गुरुङ समुदायमा प्रचलित सङ्गीतबारे विशद अध्ययन गरिन् । अध्ययनको विषय थियो, गुरुङ समुदायमा प्रचलित सङ्गीतको निरन्तरता र परिवर्तन । यही सिलसिलामा उनले सन् १९७५ लमजुङको गिलुङ गाउँको पहिलोपटक भ्रमण गरिन् ।

त्यसको लगत्तैपछि सन् १९७६ मा पनि गिलुङ पुगिन् । पहिलो भ्रमणको १० वर्षपछि १९८५ मा फेरि त्यही गाउँमा पुगेर त्यहाँको सङ्गीतिक परम्पराको पुनरावलोकन गरिन् । अन्त्यमा सन् १९९० मा गिलुङ गाउँमा झुल्किइन् र अध्ययन–अनुष्ठानलाई बिट मारिन् ।

पटक पटकको  भ्रमण, स्थानीय समुदायसँगको छलफल र स्थलगत अवलोकनपछि उनले सन् १९९१ गहकिलो शीर्षकमा शोधग्रन्थ प्रकाशन गरिन् । शोधग्रन्थको शीर्षक थियो,  ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ । उनले नेपाल र फिनल्याण्डका प्राज्ञिक जर्नलमा यसबारे अनुसन्धानात्मक लेखहरू लेखिसकेकी छिन् ।

मोइजालाको शोधग्रन्थ प्रकाशन भएको २६ वर्षपछि टंक प्रसाद गुरुङले सोही कृतिलाई नेपालीमा अनुवाद गरेका छन्, ‘ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन’ शीर्षक दिएर ।

मोइजालाले आफ्नो शोधग्रन्थ मूलतः घाँटु, सोरठी, कृष्णचरित्र, झाँक्रीपन्थ, सेर्गा (मृत्युसंस्कारसँग सम्बन्धित सङ्गीत) बारे अवलोकन र विश्लेषण पेश गरेकी छिन् । पछिल्लो समयमा गाउँमा भित्रिएको पपुलर सङ्गीत (थेटर) बारे पनि चर्चा गरेकी छिन् । समग्रमा भन्दा शोधग्रन्थमा गुरुङ समुदायमा प्रचलित परम्परागत साङ्गीतिक परिपाटीको बेलिबिस्तार लगाइएको छ ।

मोइजालाले रोदीलाई गुरुङ समुदायको अभिन्न अङ्गको रूपमा चित्रण गरेकी छिन् । रोदीले गुरुङ समुदायको आधारभूत सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यता विस्तारमा खेलेको भूमिकाबारे दिलचस्पी ढङ्गमा वर्णन गरेकी छिन् । रोदीघरलाई सङ्गीतिक गतिविधिको महत्वपूर्ण केन्द्र मान्ने उनले रोदीघरको सामाजिक परिवेश पनि अवलोकन गरेकी छिन् ।

उनले विवाहित चेली सामान्यता रोदीमा जाने चलन नभए पनि छोराहरूचहिँ विवाहपछि पनि रा्ेदी बस्न जाने प्रचलन रहेको उल्लेख गरेकी छिन् । उनले रोदीमा सामेल नहुने चेलीलाई एकलकाँटे छोरीको रूपमा बुझ्ने सामाजिक मनोविज्ञानबारे पनि प्रकाश पारेकी छिन् ।

मोइजालाले गिलुङको साङ्गीतिक परिवेशमा १० वर्षका अन्तराल (सन् १९७५ देखि १९८५) मा देखापरेको हेरफेरबारे रोचक वर्णन गरेकी छिन् । सन् १९७५ मा त्यहाँको साङ्गीतिक वातावरण नितान्त प्राकृतिक रहेको चर्चा गरेकी छिन् । त्यस समयमा गाउँको साङ्गीतिक माहोल ढिकी–जाँतोको आवाज, वनपात–मेलापातमा युवायुवतीले उरालेका भाका, बाँसुरी धुन, रोदीघरमा गुञ्जिएका गीतजस्ता प्राकृतिक गुञ्जनबाट भरिएको प्रसंग कोट्याएकी छिन् ।

सन् १८८५ मा गिलुङ गाउँमा पुग्दा त्यहाँको साङ्गीतिक वातावरणमा भिन्नता आइसकेको उनले पाइन् । गाउँमा टेपरेकर्डरको आवाज, रेडियोको गीत, थेटर आदिले बाक्लै प्रवेश पाएको उनले शोधग्रन्थमा लेखिकी छिन् । उनले सन् १९७६ मा अवलोकन गरेको लम्बेतान घाँटु–गीत सन् १९८५ मा पुग्दा  धेरै छरितो भएको पनि उनले पाइन् । उनको सूक्ष्म अवलोकनले रैथाने सङ्गीत आधुनिकताबाट कसरी संक्रमित हुँदैछ भन्ने दृष्टान्त पेश गर्छ ।

मोइजालाले त्यहाँका जनसमुदायको सार्वजनिक व्यवहारमा आएको बदलाबबारे पनि अवलोकन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बाह्य मानिस र वातावरणसँगको सम्पर्कले प्रभावका कारण गाउँलेहरू अन्तरक्रियामा खुल्ला भएर प्रस्तुत भएको देखेँ ।’ सञ्चारमाध्यम र लाहुरेबाट उनीहरू पश्चिमी संस्कृतिसँग परिचित हुनपुगेको उनको ठहर छ ।

 अंग्रेजी भाषामा रहेको शोधग्रन्थलाई नेपालीमा अनुवाद गरिएकाले यसले नेपाली पाठकलाई राम्रो गुन लगाएको छ । शोधग्रन्थको मर्म र भावनालाई प्रतिविम्बित गर्न पुस्तकले धेरै प्रयास गरेको देखिन्छ । शोधग्रन्थमा प्रयोग गरिएका नोटेसन, ग्राफिक्स तथा तस्बिरहरूलाई अनुदित कृतिमा पनि हुबहु उतारिएको छ ।

तर पनि पुस्तकमा केही उल्लेखनीय कमजोरीहरू छन् । मौलिक शोधग्रन्थमा सन्दर्भ–सामग्री राखिएको भए पनि अनुदित कृतिमा त्यसलाई हटा्इएको छ । सन्दर्भ–सामग्रीले अनुसन्धानको वैधता र विश्वसनीयतालाई बलियो पार्ने भए पनि त्यसलाई अनुदित कृतिमा ख्याल गरिएको छैन ।

लेखकको भनाइलाई छोट्याउने नाममा अनुवादकले महत्वपूर्ण प्रसंगहरू हटाएका छन् । जस्तो कि, मोइजालाले अनुसन्धानका क्रममा बेलायती इथ्नोम्युजिकलजिष्ट जोन ब्ल्याकिङ (सन् १९२८–१९९०) तथा अमेरिकी इथ्नोम्युजिकलजिष्टहरू एलन मेरियम (सन् १९२३–१९८०), ब्रुनो नेटल (जन्मः सन् १९३०) आदिसँगको सहकार्यका प्रसंगलाई स्थान दिइएको छैन, जुन पाठकका लागि रोचक विषय हुनसक्थ्यो ।

अनुवादकले कतिपय ठाउँमा भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गर्दा शब्दार्थ र वाक्य गठन अप्राकृतिक बन्न पुगेको देखिन्छ । शुद्धाशुद्धिका दृष्टिले पुस्तकमा सुधानुपर्ने थुप्रै ठाउँ छन् । कही कही वाक्य लामो र भद्दा हुन पुगेको देखिन्छ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउँमा वाक्य गठन छरितो भइदिएको भए राम्रो हुने थियो भन्ने पाठकलाई लाग्न सक्छ ।

पुस्तकमा तथ्यगत त्रुटि पनि भेटिएको छ । घाँटुको नायिका (रानी) को नाम कहीँ पम्फावती भनिएको छ भने कहीँ यमावती । यी कमजोरीहरूले पुस्तकको महत्व र गरिमालाई कम आँक्न मिल्दैन । नेपालको परम्परागत साङ्गीतबारे सोधखोज गर्न चाहनेहरूका लागि गतिलो सन्दर्भ सामग्री बन्नेमा शंका छैन ।

कृतिः ग्रामीण गुरुङ साङ्गीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तन
लेखकः पिर्को माइेजाला
अनुवादकः टंकप्रसाद गुरुङ
प्रकाशकः रत्न पुस्तक भण्डार
संस्करण : २०७४ (सन् २०१७)
पृष्ठः २४२ं+५

 [साभारः हिमाल (कात्तिक १९-२५, २०७४) । सामान्य परिमार्जनसहित ।]