Saturday, March 30, 2019

दोहोरीका उम्दा स्वर

-यमबहादुर दुरा

दोहोरीगीतको आयतन विस्तार भएको छ । यसको आयतन विस्तार हुने कार्यको बीजारोपण पञ्चायतकालमै भएको थियो । दोहोरीगीतलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपछि यसले मूलधार समातेको धेरैको विश्लेषण छ । मूलतः गाउँबस्तीका सर्वसाधारण नगारिकबीच भावना आदानप्रदानको माध्यमको रूपमा रहेको दोहोरीगीत नेपाल अहिले राष्ट्रिय संस्कृतिकै एक हिस्साको रूपमा स्थापित छ ।

दोहोरीगीत मूलधारमा आएपछि गाउँबस्तीका असंख्य प्रतिभाले राष्ट्रियस्तरमै नाम कमाउन थालेका छन् । दीपक खड्का दोहोरीमा नाम कमाउँदै गरेका दा उम्दा प्रतिभा हुन् । दोहोरीगीतमा उनले आफ्नो परिचय निर्माण गरिसकेका छन् । रेडियो नेपालद्वारा २०६० सालमा आयोजित दोहोरीगीत प्रतियोगितमा प्रथम स्थान हाँसिल गर्न सफल खड्काले आफ्नो कीर्तिमानीलाई कायम गर्दै २०६१ सालमा टुबोर्ग दोहोरीगीत प्रतियोगितामा पनि प्रथम भए । यसभन्दा अघि उनी स्थानीयस्तरका थुप्रै दोहोरीगीत प्रतियोगितामा थुप्रै पटक पुरस्कृत भइसकेका थिए ।

आफू दोहोरीगीतको रङ्ग–रेशममा ‘कसरी आएँ’ भन्नेबारे कुनै खास प्रसंग उनको स्मरणमा छैन । समग्रमा भन्दा आफू जन्मेहुर्केको सांस्कृतिक परिवेशले नै दोहोरीगीतको दुनियाँमा आउन सहयोग गरेको उनको बुझाइ छ । यही प्रसंग कोट्याउँदै गर्दा उनी बाल्यकालीन सम्झनामा डुब्न पुग्छन् । उनी हजूरबाको पछि लागेर गोठालो जान्थे । हजूरबाले मीठो गरी पात बजाउँथे । गीत पनि गाउँथे । उनको जिज्ञासा चुलिन्थ्यो, पात कसरी बजाउने होला, गीत कसरी गाउने होला ? उनले जानीनजानी हजूरबाको सिको गर्थे ।

उनको घर नवलपरासीको गैंडाकोट हो । उनको घर नजिक कुमाल समुदायको बस्ती छ । उनीहरूको जीवनशैली अझैपनि रैथाने प्रकृतिको छ । कुमाल समुदायको जीवनशैली सङ्गीतमय छ । बच्चाको न्वारन गर्दा पनि गीत गाउने, छेवर गर्दा पनि गीत गाउने, हुँदा हुँदा भैंसी ब्याउँदा पनि गीतै गाउने । बडो गबजको जीवनशैली छ । यस्तो सामाजिक तथा सांस्कृतिक परिवेशमा हुर्केका उनको साङ्गीतिक चेत खुल्दै गयो । लोकगीतप्रतिको मोहभाव बढ्दै गयो ।

उनले टोल–छिमेकमा हुने सामाजिक जमघटमा जम्ने गीतको खालमा सहभागिता जनाउन थाले । विद्यालयमा हुने लोकगीत प्रतियोगितामा सहभागिता जनाउन थाले । विद्यालयमा हुने हरेक दिनको हाफ छुट्टीमा पनि साथीहरूसँग दोहोरी गाएर बस्थे । स्थानीय धार्मिक अनुष्ठानहरूमा पनि उनी गीत गाउन पुग्थे ।  सत्यनारायण कथावाचन समारोहमा दोहोरीको खाल जम्थ्यो । रातभरि गीत दोहोरी गाउँथे । कुनै बेला त एकै रात दुई तीन ठाउँमा चाहरेर गीत गाउँथे ।

एकपटक सत्यनारायण कथावाचन अनुष्ठानमा असामान्य घटना भयो । त्यहाँ रातभरि गीत गाए । भोलिपल्ट पनि गीतको खाल जम्यो ।  गीतमा स्वाभाविक रूपमा भावना साटासाट भए । घर फर्कन बेलामा फसाद प¥यो । गीत गाउने केटीले उनको पिछा गर्न थालिन् । उनले दीपकलाई जीवनसाथीको रूपमा रोजिसकेकी रहिछन् । उनी सम्झाइ बुझाइ गरेर तर्किए । त्यतिबेला उनी अविवाहित नै थिए । सच्चा हृदय भएकी ती ग्रामीण बालाको भावनाको कदर गर्न नसक्दा उनलाई कताकता ननिको लाग्छ । गीतमा व्यक्त भएको ‘चोखो माया, फुको ठट्टा’ ले जन्माएको त्यो असामान्य घटना उनी बिर्सन सक्दैनन् ।

उनी आफूले भर्खर भर्खर गीत गाउन शुरु गर्दा र अहिलेको सामाजिक परिवेशमा धेरै परिवर्तन आएको देख्छन् । त्यतिबेलाका केटीहरूले शुरुमै एकैचोटि गीत निकाल्दैनथे । गीत गाउने बेसरी मन भए पनि केटीहरू हत्तपत्त अघि नसर्ने । केटाले पाँच छ टुक्का भनेपछि बल्ल गीत निकाल्थे ।  गीत झिक्न थालेपछि गीतका शब्द धेरै मार्मिक र भावुक प्रकृतिका हुन्थे । गीतमा रन्थन्याउने खालका भावुकता र विनयशीलता हुन्थे । गीतको भाव एकदमै साङ्केतिक हुन्थे । तर, अहिले परिस्थितिमा आनका तान फरक आएको छ । अहिले केटीहरू नै पहिला गीत निकाल्छन् । गीत पनि साङ्केतिक नभई सीधै घोच्ने खालका हुन्छन् । यो उनले अवलोकनबाट बटुलेको अनुभव हो ।

नेपाली लोकगीतको क्षेत्रमा उनी नारायण रायमाझीबाट एकदमै प्रभावित छन् । रायमाझीलाई गीतमा माधुर्य भर्नसक्ने र गीतलाई न्याय गर्न सक्ने कुशल प्रतिभाको रूपमा चित्रण गर्छन् । उनी रायमाझीको साङगीतिक विशेषता केलाउँछन्, ‘उहाँको गीत सेलरोटी जस्तो छ । सेल रोटी शुरुमा त्यति मीठो हुँदैन तर पछि झन् मीठो झन् मीठो हुँदै जान्छ । उहाँका गीत पनि त्यस्तै छन् ।’

दीपक खड्का आफैं पनि धेरैको नजरमा राम्रो दोहोरी गायक हुन् । अग्रज दोहोरी गायक अमरविरही गुरुङका आँखामा दीपक खड्का कुशल दोहोरी गायकमात्र होइन, अग्रज र अनुज  दुवै पुस्तालाई सम्मान गर्न जान्ने व्यक्ति पनि हुन् । अर्का पुराना गायक कृष्णसुधा ढुङ्गाना उनलाई विनयशील उम्दा प्रतिभाको रूपमा लिन्छन् । उनलाई नजिकबाट नियालिरहेका समकालीन दोहोरी गायक राजु परियारका दृष्टिमा उनी दोहोरीमा निरन्तर प्रगति गरिरहेका प्रतिभा हुन् ।

देशको सामाजिक तथा राजनीतिक परिवेशसँग कलाकारहरू निरपेक्ष रहन सक्दैनन् । देशमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वबाट उनको मनोभाव पनि अप्रभावित रहेन । उनले तत्कालीन समयमा तयार भएको ‘भय र अनिश्चितताको मनोविज्ञान’ लाई लिएर गीत तयार पारे । सामाजिक मनोविज्ञानको केन्द्रीय भावलाई नै छोएर तयार पारिएको त्यो गीत निकै चर्चित रह्यो, धेरै मन पराए । गीतको थेगो थियो : ‘फेरि के के हुनी कसले जान्ने हो, यसपालिको दशैं तिहार गाउँमै मान्नी हो’ ।

उनी दोहोरी ‘स्टेज पर्फमेन्स’ मा निकै जमेका कलाकार हुन् । उनी देशका विभिन्न भागका हुने महोत्सवहरूको हिस्सा बन्छन् । दीपक खड्काले दोहोरीगीतसम्बन्धी म्युजिक भिडियो पनि निकाल्दै आएका छन् । यसै वर्ष, उनले ‘सोल्टी राजै’ शीर्षकको भिडियो ‘यु ट्युब’ मार्फत सार्वजनिक गरेका छन् ।  यसभन्दा अघि पनि उनले यस्ता म्युजिक भिडियोहरू निकालिसकेका छन् । दोहोरीगीतको पृष्ठभूमिबाट आएका कलाकार भएकाले उनका छोटा खालका लोकगीत थोरै छन् ।  ‘रेडियो नेपाल’ उनका तीनवटा गीत छन् । उनका दोहोरीको अडियो अल्बम र म्युजिक भिडियो गरी लगभग १५ वटा ‘साङ्गीतिक कोसेली’ बजारमा आएका छन् ।

आजकल उनी निर्णायकको भूमिकामा पनि देखापर्न थालेका छन् । यसका अतिरिक्त उनको संगठनकारी–संयोजनकारी भूमिका पनि प्रशंसनीय छ । दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ मा शुरुदेखि नै आबद्ध भई सांगठानिक गतिविधिमा सरिक छन् । अहिले उनी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छन् । उनी संस्थाको नवलपरासी शाखाको सहसचिव, त्यसपछि केन्द्रीय सदस्य तथा केन्द्रीय सहकोषध्यक्ष हुँदै कोषाध्यक्ष पद सम्हाल्न आइपुगेका छन् ।
निर्णायकका भूमिका दीपक खडका (बायाँबाट पहिलो) ।

दोहोरीगीत लोकगीतको मूलधार आएको र गीत गाएर कलाकार बाँच्न सक्ने वातावरण तयार भएको यो समयमा कलाकारको मनोबल उच्च नै छ । दोहोरीगीतमा भित्रिएका अशुद्धिलाई हटाउँदै यसलाई अत्यन्त मर्यादित लोकअभिव्यक्तिको माध्यम बनाउनुपर्ने खाँचो सर्वत्र अनुभत गरिएको छ । यसमा  जो–कोही कलाकारको योगदान अपेक्षित छ । दोहोरी कलाकारहरूको छाता संगठनको नेतृत्वदायी भूमिकामा रहेका ३८ वर्षीय तन्नेरी कालकार दीपक खड्काबाट पनि दोहोरीगीतका अनुरागीहरूले यही अपेक्षा गरेका छन् ।

[साभार: लोकसंवाद । २०७५ साल चैत १५ गते ।]

Saturday, March 23, 2019

सीमानामा दुखेको राष्ट्रियता

-यमबहादुर दुरा

सन् १८१६ को सुगौली सन्धिबाट नेपालको सीमा खुम्चिएसँगै नेपाली राष्ट्रियता अनवरत रूपमा दुख्दै आएको छ । नेपाली राष्ट्रियताको दुखाइले तत्काल विश्राम पाउने कुनै छाँटकाँट देखिँदैन । सत्ताभोगलाई मात्र प्राथमिकतामा राख्ने राजनीतिक नेतृत्वका कारण नेपालको भूराजनीति निरन्तर कमजोर बन्दै गएको छ । सीमावर्ती क्षेत्रका नागरिकले भोग्नुपरेका पीर–कष्टबारे जनस्तरबाट व्यापक आवाज उठेका छन् । तर, यस मामिलामा राजनीतिक नेतृत्व मौन रहँदै आएको छ । राजनीतिक नेतृत्वले कहीँ कतै बोलिहाले पनि बोलीको हैसियत ‘लिप सर्भिस’ भन्दा माथि उठ्न सकेको छैन ।

सीमावर्ती क्षेत्रका नागरिकले भोग्नुपरेका सास्ती र हैरानीका कथाहरू अनन्त छन् । भारतीय सुरक्षा दस्ताको धम्की र अमानवीय व्यहार चर्को छ । कतिपय ठाउँमा यस्तो अवस्था पनि छ, जहाँ नेपाली नागरिकलाई आफ्नै भूमिमा स्वतन्त्रतापूर्वक हिँडडुल पनि आघोषित प्रतिबन्ध छ । यताउति चल्मलाए गोली खानुपर्ने अवस्था छ । भारतीय सुरक्षा दस्ताको गोली लागेर कञ्चनपुरका गोविन्द गौतमको २०७३ साल फागुन २६ गते ज्यान गएको घटना यसको ज्वलन्त प्रमाण हो ।

राजनीतिक नेतृत्व मौन बसिदिँदा नागरिकले असीम पीडा भोग्नुपर्ने अवस्था छ । सीमावर्ती क्षेत्रमा भारतले अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप एकतर्फी रूपमा बाँध तथा सडक बनाउने, दशगजा क्षेत्रमा बस्ती बसाल्ने, दशगजामै सडक बनाउनेजस्ता हेपाहा व्यवहार प्रदर्शन गर्दै आएको समाचार सञ्चार माध्यमहरू आउन छाडेका छैनन् । थुप्रै ठाउँमा सीमा स्तम्भ हराएका र दशगजासमेत अस्पष्ट भएका समाचार अब समाचारै हुन छाड्यो । यथार्थमा यी ज्यादै भयानक गम्भीर समाचार हुन् ।

भारतले नेपालको सीमाना क्रमिक रूपमा अतिक्रमण गरिरहेको समाचार पनि नेपाली सञ्चार माध्यमका नियमित विषयवस्तु बनिरहेको छ । महेशपुर, सुस्ता, कालापानीलगायतका क्षेत्र गरी ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले अनधिकृत रूपमा कब्जा गरेको र नेपाल–भारतबीच ७१ स्थानमा सीमा विवाद रहेको दलिल सीमाविद बुद्धिनारायण श्रेष्ठलगायतका बुद्धिजीवीहरूले पेश गरिरहेका छन् । भारतले नेपालको जमिन कब्जा गरेकाले नै उसको क्षेत्रफल निरन्तर बढिरहेको र नेपालको क्षेत्रफल घटिरहेको अध्ययनले बताएको प्रसंग बाहिर आएका छन् ।
अन्तर्राष्ट्रिय कानुनको विरुद्ध हुने गरी भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध, रसियावाल–खुर्दलोटन बाँध, महलीसागर बाँधजस्ता साना–ठूला ड््यामहरूबाट वर्षात्मा नेपाली भूमि डुबान पर्ने र त्यसबाट हरेक वर्ष जनधनको क्षति हुने गरेको विषय कुनै नयाँ होइन । भारतले सीमावर्ती क्षेत्रमा नेपाली भूमिमात्र होइन, जंगल पनि हडप्ने गरेका समाचार आएका छन् ।

नेपालको सीमाभित्र रहेका जङ्गललगायतका प्राकृतिक स्रोतसाधन उपभोग गर्न पनि भारतले रोक लगाएका हैकमवादी प्रवृत्ति बाहिर आएका छन् । सीमावर्ती क्षेत्रका नागरिकले निरन्तर रूपमा तिरो तिरेका तथा जग्गाधनी प्रमाणपत्र भएका आफ्ना जमिनसमेत जोतभोग गर्न नपाएका समाचार निरन्तर आएका छन् । नेपाल र भारतबीच लगभग एक हजार ७ सय किलोमिटर लामो सीमा जोडिएको छ । कति नागरिक यस्ता समस्यासँग जुधिरहेका होलान् ? यस्तो समस्या कसले सुनिदिने ?

भारतीय पक्षबाट भएका यस्ता हैकमवादी र अमानवीय व्यवहार नेपाली नागरिकले कहिलेसम्म भोग्नुपर्ने हो ? सार्वभौम मुलुककास्वाभिमानी नेपाली नागरिकले भोग्नुपरेका यी तमान यातना, हैरानी र सस्तीको सत्तासीनहरू कहिलेसम्म मूकदर्शक बन्ने हुन् ? राष्ट्र र राष्टियतासँग जोडिएका यस्ता गम्भीर समस्याप्रति राजनीतिक नेतृत्व किन मौन छ ?  प्रश्न पेचिला छन् ।

राजनीतिक नेतृत्व सम्वेदनाहीन बने पनि जनस्तरमा यस्ता मामिला सेलाएका छैनन् । सुगौली सन्धिपछि बचेको नेपाली भूमि पनि क्रमिक रूपमा ठूला छिमेकी मुलुक भारतको पोल्टामा परिरहेको अवस्थामा २०७५ साल चैत ४ गते संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा ‘ग्रेटर नेपाल’ सम्बन्धी मामिलाले प्रवेश पाएको छ । भएकै भूगोल जोगाउन नसकिएको अवस्थामा सुगौली सन्धिमा गुमेका भूभागसमेत नेपालले पाउनुपर्ने माग रहेको ‘ग्रेटर नेपाल’ मामिला एकदमै महत्वकांक्षी विषय हो । तर पनि जनस्तरबाट भएको यस किसिमको प्रयासलाई सकारात्मक कदम मान्नैपर्छ । यसले दुखिरहेको नेपाली राष्ट्रियतामा मलमपट्टी गर्न सघाएको छ ।

विगतमा आमनिर्वाचनको समयमा सीमालगायत नेपाल र भारतबीच विद्यमान जल्दाबल्दा समस्याको समाधानबारे नागरिकको रगत उमाल्ने राष्ट्रवादी भाषण नगरिएका होइनन् । तर, सत्तारोहण भएपछि ती सबै राजनीतिक दलले आफ्ना बाचा र प्रतिबद्धता बिर्सदै गए । सत्ताभोगमा मस्त रहँदा आफैं उभिएको भूगोल बिर्सने आत्मघाती परम्पराको लहर नै चल्न थाल्यो । अब त सीमा समस्या चुनावी अजेण्डासमेत बन्न छाड्यो । नेपाली राजनीतिले लिएको यो एउटा खतरनाक मोड हो ।

नागरिकले भोग्नुपरेको संगीन समस्याबारे उच्चारणसमेत नहुने राजनीतिक परिपाटीले हामीलाई कता लैजाँदैछ ? राष्ट्रिय र आमनागरिकको सरकोरसँग जोडिएका यस्ता गम्भीर मामिला चुनावी अजेण्डासमेत नबन्नुले हाम्रो राष्ट्रिय स्वाभिान र राष्ट्रिय अखण्डताका मामिला कतिसम्म कमजोर बन्दै गइरहेको छ भन्ने तथ्यलाई उजागर गर्छ । राष्ट्रियताका सम्बन्धमा हालसम्म कुनै पनि दलको सरकारले आफ्नो औचित्य पुष्टि गर्न सकेका छैनन् । नेपालको हितमा मनमोहन अधिकारीबाहेक कुनै पनि प्रधानमन्त्रीले जोडदार आवाज उठाउन नसकेका कुरा पनि बौद्धिक वृत्तमा चल्दै आएको छ ।

राजनीतिक स्तरमा नेपाल र भारतबीच सीमा समस्याबारे वार्तालाप भएको पाइँदैन । यद्यपि, संयन्त्रगत हिसाबमा नेपाल र भारतबीच सीमा–समस्याबारे विज्ञहरूको बैठक बसेको समाचार आउँछन् । तर, उनीहरूबीच के कस्ता विषयमा छलफल भए ? उनीहरूको विज्ञताबाट कसरी समस्या समाधान हुँदैछ ? समस्याको समाधान कहिलेसम्म हुन्छ ? नागरिक जान्न चाहन्छन् । सीमा समास्या समधानबारे भएका प्रयासबारे नागरिकलाई सुसूचित गर्नैपर्छ ।

राष्ट्रियताको नारा गुञ्जयमान गरेर सत्तारोहण गरेको वर्तमान सरकारका लागि सीमा–समस्या एउटा गम्भीर विषय हो । यो सरकार साच्चै राष्ट्रवादी हो भने उसले व्यवहारबाटै आफ्नो औचित्य पुष्टि गर्नुपर्छ, जुन उसका अगाडि चुनौती र अवसर दुबै बनेर खडा भएको छ । नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूहजस्ता संयन्त्र र अन्य कूटनीतिक माध्यमबाट नेपालले भारतसँग जोडदार किसिमले आफ्नो कुरा राख्नैपर्छ ।

सीमा–समस्या समाधानको मामिला एकमना कम्युनिष्ट सरकारको कार्यसूची (अजेण्डा) मा पहिलो नम्बरमै पर्नुपर्छ । वर्षौंदेखि नागरिकले भोग्नुपरेका समस्या काँडा निकालेजस्तो गरी समाधान गर्नुपर्छ । वर्तमान सरकार यस दिशाम समय खेर नफाली अग्रसर हुनुपर्छ । वर्तमान सरकारका लागि राष्ट्रियताको हकमा आफ्नो औचित्य पुष्टि गर्ने योभन्दा ठूलो अर्को अवसर छैन ।

[साभार : परिसंवाद । २०७५ साल चैत ९ गते ।]

Friday, March 15, 2019

गण्डकी क्षेत्रको लोकसुुसेली ठाडो भाका

–यमबहादुर दुरा

ठाडो भाका । लोकसङ्गीकको एउटा विशिष्ट विधा । मूलतः गण्डकी भेगको लोकसुसेली । गाउँघरका अपठित कर्मजीवी कलासाधकले मायाले असाध्यै सुम्सुम्याएको मोहनी भाका । एउटा विशिष्ट सांस्कृतिक निधि । जनस्तरमा बिछट्टै लोकप्रिय रहेर पनि समयक्रमसँगै विलयको संघार पुगेको अमूर्त सांस्कृतिक सम्पदा ।

कुनै समयमा ठाडो भाका गाएरै दुनियाँको मन जितेका देउबहादुर दुरा, पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७-२०३३), मनिराम दुरा, भेडीँखर्के साइँला (वि.सं. १९९१-२०७४), सकुन्धरा दुरा वि.सं. १९९१-२०७१), भक्तिमाया दुरा (वि.सं. १९८४-२०६९), ज्ञानीमाया थापाहरू अब यस दुनियाँमबाट बिदा भइसकेका छन् । समयले भाका फेर्दै जाँदा ठाडो भाकाको आवाज मधुरो हुँदै गएको छ । ठाडो भाका गाउने जान्नेहरूको अभाव दिनदिनै खट्किँदै गएको छ ।

यो समय रैथाने संस्कृतिका लागि अत्यन्त प्रतिकूल हुँदाहुँदै पनि गाउँको कुनाकन्दरामा ठाडो भाका गाउन सक्ने प्रतिभाहरू अझै पनि बचेखुचेका अवस्थामा छन् । समयको कठोर झोक्काले गाउँको रैथाने साङ्गीतिक वातावरण भत्काइदिएको छ, जसबाट कोइलाखानीमा लुकेका हीराजस्ता ती कला र गलाका धनी बेखबर हुन पुगेका छन् । समयले रैथाने गीतको लय भङ्ग पारिदिँदा ती ग्रामीण प्रतिभा आफ्नै भूगोलमा बिरानो हुन पुगेका छन् ।

समयले तीतो स्वाद चखाउँदा चखाउँदै पनि बुद्धिमान दुरा, नन्दमाया दुरा, कृष्ण गुरुङ, हरिमाया गुरुङ, शुकमाया विक, सीता दुरा, राधा भण्डारीजस्ता प्रतिभाहरूको उपस्थितिले यस क्षेत्रमा आशाको किरण थपेको छ । यसका अतिरिक्त केही क्षेत्रमा नवप्रतिभाहरूको पनि झिनो उपस्थिति छ । उनीहरू आशाका किरण हुन् ।

ठाडो भाका विशिष्ट सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा जन्मिएको विशिष्ट किसिमको साङ्गीतिक विधा हो । कलाकार भनेर नचिनिएका ग्रामीण कलासाधकहरूले जन्माएर हुर्काएको ठाडो भाका सर्वसाधारण नागरिककोे ढुकढुकी हो । यसमा समकालीन समाजको सामाजिक तथा सांस्कृतिक तस्बिर दृष्टिगोचर हुन्छ ।

हरेक मौलिक लोकगीत आञ्चलिकता–प्रधान हुन्छ, जसमा स्थानीयपन छताछुल्ल भेटिन्छ । ठाडो भाका पनि यसको अपवाद हुन सक्दैन । ठाडो भाकामा स्थानीय बोलीचालीको भाषा अधिक प्रयोग हुन्छन् । स्थानीय जीवनशैलीको झलक स्थानीयपन, आलङकारिकता र विम्बात्मक अभिव्यक्ति यसका मूलभूत विशेषता हुन् ।

ठाडो भाकामा जीवन र जगतका सबै कुरा समेटिन्छन् । भाषा एकदमै शिष्ट र मर्यादित हुन्छ । लोकलाजलाई ख्याल गरिन्छ । दुनियाँलाई असहज लाग्ने कुरालाई सीधा भाषामा अभिव्यक्त गरिँदैन । लोकमर्यादालाई उच्चस्थान दिइन्छ । खासगरी मायप्रेमका कुरा र जीवनका कतिपय आयामलाई विम्बात्मक ढङ्गमा व्यक्त गरिन्छ । जस्तैः प्रेमी–प्रेमिकालाई फूल–भमरा, जीवनलाई घाम–छायाँ आदि विम्बद्वारा चित्रण गरिन्छ ।

यस्ता विम्ब नितान्त सरल, सरस र बोधगम्य हुन्छन्, जसको भाव र छनक निरक्षरजनले पनि सजिलै बुझ्न सक्छन् । गीतमा प्रयोग भएका विम्बात्मक शब्दावलीले एउटा विशिष्ट वाङ्मय र रङ्ग–रेशमको माहोल तयार पार्छ, जसले गीतको खाललाई आकर्षणको केन्द्रविन्दु बनाउन सहयोग गरेका हुन्छन् ।

विनयशीलता ठाडो भाकाको आत्मा हो । आफ्नो अभिव्यक्तिबाट गीत गाउने समकक्षीले अपमानित वा अपहेलित अनुभूत नगरुन् भन्नेमा विशेष ध्यान दिइन्छ । त्यसैले आफूलाई ‘लो प्रोफाइल’ मा राखेर शिष्ट शैलीमा कुरा राखिन्छ । यसमा सीधा घोचपेच गरिँदैन । कसैलाई व्यङ्ग्य नै गर्नुपरे पनि सोझै व्यङ्ग्य नगरी गुलाबी छेण हानिन्छ । कटु शब्दको प्रयोगलाई शिष्टाचारविहीन व्यवहार मानिन्छ ।

ठाडो भाका विशेष प्रकारको गीत भएकोले गीत गाउन विशेष सीप र सिर्जनशीलता आवश्यक पर्छ ।  ठाडो भाकामा एउटै गीत दुई चरणमा गाइन्छ । पहिलो फेद गाइन्छ भने फेदको परिपूरकको रूपमा टुप्पो गाइन्छ । फेद गीतको उठान विन्दु हो भने टुप्पो बैठान विन्दु हो । गीत गाउँदा फेद र टुप्पोको अन्त्यानुप्रास मिल्नुपर्छ । गीतको मूल सन्देश टुप्पोमा रहन्छ तर फेद र टुप्पो एकअर्काका परिपूरक हुन् । फेदले गीतको पृष्ठभूमि तयार पार्छ । फेद र टुप्पो बेग्लाबेग्लै चरणमा गाइन्छ । जस्तै :

(फेद) : हा... हा... अहिलेको खेती भनौं सुनाखरी घैया रे दशैं र तिहारीलाई
(टुप्पो) : हो...हो...रामले धनु ताक्छ धेरै माया लाग्छ बैनी मेरो पियारीलाई

गीत शुरु गर्दा सीधै मूल विषयमा प्रवेश गरिँदैन । देवीदेउता वा सिमे–भूमेको नाम पुकारेर मात्र गीत शुरु गरिन्छ । जस्तै :

(फेद) : बिहानीपख झुलकने घाम गैरीखेत छायाँलाई
(टुप्पो) : खरु घाँस गाईलाई, पहिलो चरण सरस्वती माईलाई दोस्रो चरण मायालाई

(फेद) : पानीरोमा खाई उमकाली लाग्यो रे कालिचै कुखारी
(टुप्पो) : कास्की बैदाम तालमा, बस्यो पञ्चखालमा देवीदेउता पुकारी ।

गीतमा प्रयोग हुने शब्दलाई गेयात्मक (गाउन मिल्ने) बनाउनका लागि कतिपय अवस्थामा कतिपय शब्दलाई हल्का तोडमोड गरेर गाउने गरिन्छ, जुन गायनको व्याकरणभित्रै पर्ने कुरा हो । अंग्रजीमा पोएटिक लाइसन्स (Poetic license) भनेर चिनिने यो परिपाटीले गीतलाई सुललित बनाउन सहयोग गर्छ । माथि उध्रृत गीतमा पानीलाई ‘पानीरोमा’, उकालीलाई ‘उमकाली’, लाग्योलाई ‘लाग्यो रे’, कुखरी ‘कुखारी’ भनी उच्चारण गरिएको छ । यसरी गीतमा सामान्य बोलीचालीको भाषाभन्दा बेग्लै किसिमले उच्चारण गरिन्छ । गीतको आफ्नै व्याकरण हुन्छ ।

यसैगरी, अवस्थाअनुसार गोरखालाई गोरिखा, कुन्छालाई ‘कुनिछा’, एकलाई एकु, दरबारलाई ‘दरिबार’, घरबारलाई ‘घरिबार’, राजाको धनलाई ‘राजाको रे धनमा’ नमेरसम्मलाई ‘नैत मरेसम्म’ तथा खरको घाँसलाई ‘खरुको घाँस’ भनेर उच्चारण गरिन्छ । यस किसिमको भाष्यले गीतलाई लयात्मक बनाउने भूमिकामात्र खेल्दैन,  सरिलो, भरिलो र श्रुतिमधुर बन्छ । यहाँनेर, नेपाली मानक भाषाको व्याकरण लागू हुँदैन । अपठित भएर पनि हाम्रा अघिल्ला पिँढीले गीतको अलिखित व्याकरणलाई राम्रोसँग बुझेर सोहीअनुसार पालना गरेको देखिन्छ ।

गीतलाई लयात्मक, श्रुुतिमधुर, भावप्रधान र प्रासंगिक बनाउन बीच बीचमा आवश्यकताअनुसार टुक्काप्रधान शब्दावली प्रयोग गरिन्छन् । जस्तै : आँपै काटी कोया बाँसै काटी चोया, देउबहादुर दुरा पञ्चखालको कुरा, बहर बाच्छा दाउँदा साइनोपात लाउँदा, गाईको नाम त गाजु मेरो प्यारो दाजु, दश घरी केरा अहिले यतिन्खेर । यस्ता शब्दावलीले गीतमा ज्यान भर्ने र माटो सुवास थप्ने काम गर्छन् ।

गीत गाउँदा प्रयोग गरिएका शब्दलाई चुइङगमझैं तन्काउने तथा खुम्च्याउने खुबी पनि गायक–गायिकामा हुनु उत्तिकै आवश्यक छ । यसका लागि उपयुक्त ठाउँमा स्वरको आरोह–अवरोह, स्वरघातको प्रयोग गर्ने ज्ञान र सीप वा स्वरसुधाको खाँचो पर्छ । भेँडीखर्के साइँला लोकप्रिय हुनुको एउटा कारण हो, उनले राम्रोसँग स्वरको आरोह–अवरोह गरेर गीतलाई मिठास भर्नु । गीतको आरोह–अवरोहबारे उनीबाट धेरै कुरा सिक्ने ठाउँ छ । नवप्रतिभाहरूमा यसप्रकारको विशिष्ट ज्ञान र सीपको सर्वथा अभाव देखिन्छ ।

ठाडो भाका विम्बप्रधान गीत भएकाले बढी मात्रामा विम्बहरू प्रयोग गरिन्छन् । तर अहिले विम्बको अभाव हुँदै गएको देखिन्छ । यसका पछाडि दुई मूलभूत कारण छन् । पहिलो, विगतमा प्रयोग हुँदै आएका विम्बहरू नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु । दोस्रो, समयानुकूल नयाँ विम्ब बन्न नसक्नु । यसका अतिरिक्त प्रयोग भइआएका कतिपय विम्बहरू पुराना भइसकेका छन् । तिनीहरू समयको कुनै विन्दुमा तयार पारिएका हुन् । खासगरी अपठित कृषिप्रधान समाजमा बनेका ती विम्ब अहिले आएर सन्दर्भविहीन बन्दै गएका छन् ।

हाम्रो सामाजिक तथा सांस्कृतिक परिदृश्यमा थुप्रै परिवर्तन आएका छन् । आजको परिवर्तित सन्दर्भमा हिजोका कतिपय विम्ब र उपमा अपर्याप्तमात्र छैनन, असान्दर्भिक पनि हुन पुगेका छन् । गीतमा प्रयोग भएका ती पुराना विम्ब ऐतिहासिक सन्दर्भमात्र हुन सक्छन्  ठाडो भाकालाई समयको कसीमा राखेर हेर्दा अहिले गीतमा प्रयोग हुने विम्बको रिक्तता देखिन्छ । यसप्रकारको खालीपनलाई समाजोपयोगी वजनदार विम्बहरूले भर्नुपर्ने अवस्था आएको छ । यसका लागि गायक–गायिकाका सिर्जनशील, विचारवान् र कल्पनाशील हुनैपर्छ ।

ठाडो भाकाका प्रसस्त स्थानीय भेद छन् । उदाहरणका लागि लमजुङे ठाडो भाका, गोर्खाली भाका । यसका अतिरिक्त लमजुङे ठाडो भाका र गोर्खाली ठाडो भाकामा पनि अझ सूक्ष्म किसिमको स्थानीय भेद पाइन्छ ।
एउटै भेगमा गाइने गीतमा पनि एउटै डाँडा वारि र पारि शैलीगत पक्षमा सूक्ष्म किसिमका स्थानीय भिन्नता भेटिन्छन् ।

 त्यही भिन्नतालाई इङ्गित गर्न लमजुङको कतिपय बेंसी तथा होचा भागका प्रचलित ठाडो भाकालाई कछारे भाका वा टरेली भाका भन्ने गरिन्छ । यप्रकारको स्थानीय भेदले ठाडो भाकाको दायरालाई फराकिलो र समृद्ध बनाउन सहयोग गरेको छ । यसलाई सम्पत्ति नै मान्नुपर्ने हुन्छ ।

ठाडो भाकाको चारित्रिक विशेषता हेर्दा यो हतारमा गाइने गीत होइन भन्ने निष्कर्षमा पुगिन्छ । यो गीत अहिलेको चटपटे शैलीको गीतभन्दा धेरै भिन्न छ । यो एकप्रकारले धिर प्रकृतिको गीत हो । एउटै गीत दुई चरणमा गाउने,  गीतको खालमा प्रवेश बसेर गीत शुरु गर्दा देवी देउता तथा सिमे–भूमेको नाम पुकार्ने, त्यसपछि सोधनी–पुछनी गरेर साइनोपात लाउने कार्य ठाडो भाकाको साङ्गीतिक संहिताभित्र पर्छ ।

गीत गाउने सिलसिलामा एउटा समकक्षीले अर्को समकक्षीको नाम, ठेगाना आदि  सोध्नुपर्दा शिष्ट शैलीमा अनुमति मागिन्छ । अर्का समकक्षीले अनुमति दिएपछिमात्र कुरा राखिन्छ । यसप्रकारको अलिखित संहिता पालना गर्दा गीत धेरै लम्बिएर जान्छ तर पनि गीत निरस भर्कोलाग्दो हुँदैन ।


ठाडो भाका गायनको क्षेत्रमा नयाँ पुस्ताका गायक–गायिकाहरूको झिनो उपस्थिति छ । उनीहरूका गीतको शैली र व्यवहार हेर्दा ठाडो भाकाको मर्म र धर्मप्रति धेरै हदसम्म अपरिचितजस्ता देखिन्छन् । नयाँ पुस्ताका कतिपय गायक–गायिकाले ठाडो भाकाका कुनै पनि स्थानीय भेदसँग मेल नखाने निकै भिन्दै किसिमले परिमार्जित शैलीमा गाउने गरेको पाइन्छ । एकतिर ती गीतमास्वरको आरोह–अवरोह मौलिकता भेटिँदैन भने अर्कोतिर शब्द उच्चारणमा ठाडो भाकाको अलिखित व्याकरण पालना भएको पाइँदैन ।

ठाडो भाका गायकमा नयाँ पुस्ताको आगमन हुनु खुसीको कुरा हो तर कतिपय अवस्थामा उनीहरूबाट असम्वेदनशील व्यवहार प्रदर्शन हुँदा चिन्ता मान्नुपर्ने अवस्था पनि छ ।

ठाडो भाकामा देखापरको अर्को विकृत पक्ष हो, अहिलेको चटपटे शैलीको दोहोरी गीतको ठाडो नक्कल गरिनु । अहिलेको दोहोरीमा ‘तिमीसँग लभ गर्छु, तिमीलाई लैजान्छु’ भनेर सीधै भनिन्छ । ठाडो भाकामा यस्तो व्यवहार स्वीकार्य मानिँदैन । यो शिष्ट र विनयशील गीत भएकाले  यसमा ‘तातै खाऊँ जली मरुँ’  गरिँदैन ।

यसमा अशिष्ट व्यवहार बर्जित छ । व्यक्त गर्न खोजिएका कुरालाई शिष्टतापूर्वक क्रमबद्ध शैलीमा अघि सारिन्छ । यो वास्तविकतालाई भुलेर कतिपय गायक–गायिकाले गोली  हाने जस्तो गरी सोझै कुरा राखेको भेटिन्छ, जुन ठाडो भाकाको मूलमर्मको विरुद्धमा छ । यसलाई अशिष्ट र अमर्यादित मानिन्छ ।

कतिपय नवप्रतिभाले कुनै स्थापित गायकको शैली र शब्द सोझै नक्कल गरेको पाइन्छ । कलाकार अरूबाट प्रभावित हुने कुरा स्वाभाविक हो, तर अरूको ठाडो नक्कल गर्ने प्रवृत्ति गलत हो । यसले सम्बन्धित कलाकारको आत्मापहिचान संकटमा पर्छ ।

अरूबाट प्रभावित हुनु स्वभाविकै भए पनि आफ्नो मौलिक चिनारी हराउने गरी अरूको नक्कल गर्नुलाई कुनै पनि अर्थमा जायज भन्न सकिँदैन । अरूबाट प्रभावित हुँदै नयाँ विम्ब र भावधारा सिर्जना गर्दा मौरीले महको चाकामा फूलको रस राखेर अझ मिठास थपेजस्तै हुन्छ । तर अरूको ठाडो नक्कलले सुगा–रटाइ निम्तिन्छ, जसले कला र कलाकार दुबैलाई क्षति गर्छ ।

ठाडो भाका अपठित ग्रामीण कर्मजीवीहरूले सिर्जना गरेको गीत हो । यसमा मानक भाषाभन्दा भिन्न भाषा प्रयोग हुन्छन्, जुन स्वभाविक हो । यसमा मानक भाषा प्रयोग गरिनुपर्छ भन्ने आग्रह पनि राखिनुहुन्न । ठाडो भाका प्रतियोगितामा निर्णायक मण्डलमा बसेका कतिपय व्यक्तिहरूले यस्ता स्थानीय लवजलाई मान्यता नदिई नम्बर घटाइदिएका घटना पनि सतहमा आएका छन् ।

स्थानीयपन लोकगीतको आत्मा हो । यही स्थानीयपनले उसको पृथक पहिचान दिइरहेको हुन्छ, जुन उसको सम्पत्ति हो, मुटु हो, सबल पक्ष हो । निर्णायक मण्डलमा बसेका व्यक्ति शब्दको स्थानीयपनमा हुने तागत र लोकगीतको भाव–भङ्गितसँग परिचित हुनु आवश्यक छ । स्थानीय जीवनशैलीसँग परिचित नभई ठाडो भाकाको मर्म बुझ्न सकिँदैन ।


ठाडो भाका अमूर्त सांस्कृतिक सम्पदा हो । मानव सभ्यताको उत्थान र विकासमा यसले विशेष महत्व राख्छ । त्यसै सांस्कृतिक पक्ष हेर्ने संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले अमूर्त संस्कृतिको संरक्षणमा  जोड दिएको पाइन्छ ।  अमूर्त संस्कृतिको सबैभन्दा ठूलो र जिउँदो–जाग्दो संग्रहालय मानिसको मनमस्तिष्क नै हो । यसको सबल र दुर्बल पक्ष पनि यही नै हो । मानिस–मानिसबीचको सामाजिक अन्तरघुलन र अन्तरक्रियाका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा अमूर्त सांस्कृतिक सम्पदा विस्तार हुनसक्छ, जुन यसको सबल पक्ष हो ।

अर्कोतिर, सम्बन्धित कलाकारको मृत्युपछि ऊसँगै यस्ता सांस्कृतिक सम्पदा हराउने खतरा रहन्छ, जुन यसको दुर्बल पक्ष हो । त्यसमा पनि अहिले बाहिरी दुनियाँसँगको तीव्रतर समागमले पुरानो पिँढीबाट नयाँ पिँढीमा परम्परागत सांस्कृतिक सम्पदा हस्तान्तरण हुने प्रक्रिया व्यापकस्तरमा कमजोर हुँदै गएको छ । ठाडो भाकाले पनि यही नियति भोग्दै आएको छ । अमूर्त सांस्कृतिक सम्पदा एकपटक हराएपछि पुनप्र्राप्तिको सम्भावना लगभग शून्य रहन्छ । यो चिन्ताको विषय हो ।

ठाडो भाकाको शैलीगत विशेषता हेर्दा रोदीघरमा लामो रात कटाउन, मेलापर्मलगायत श्रमप्रधान कामकोे झर्कोलाग्दो समय मनोरञ्जन गरेर कटाउन यो गीत अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ । तर अहिले समयको हावा बेग्लै दिशामा बगेको छ । समयको बदलिँदो घडीमा पल पलको मूल्य नगदमा मापन हुने बेला आएको छ । यतिबेला रेडिमेड र छिटो–छरितो चीजको उच्च माग छ । यस्तो अवस्थामा लम्बेतान शैलीको गीतले आफ्नो अस्तित्व कुन हदसम्म बचाउन सक्ला ? प्रश्न गम्भीर छ ।

एकतिर परम्परा पनि बचाउनुपर्ने र अर्कोतिर समयले ल्याएको परिवर्तनलाई पनि आत्मासात गर्नुपर्ने । यो काम निकै जटिल र चुनौतीपूर्ण छ । समयले निम्त्याएको जटिलतालई चिर्न सरोकारवालाहरूसँग गहन विचार–विमर्श गरी व्यवहारिक समाधान निकाल्न आवश्यक छ । यसका लागि राज्यस्तर र समुदायस्तरको संयुक्त प्रयास हुन आवश्यक छ ।

ठाडो भाकाको आत्मालाई बचाउँदै समयले ल्याएको परिवर्तनलाई उचित किसिमले आत्मसात गनुर्को विकल्प छैन । संस्कृति संरक्षण सरोकारवालाहरूकोे सहभागिता र राज्यको रचनात्मक सहयोगसबिना सम्भव छैन । जनस्तकार नागरिकको सांस्कृतिक निधिको रूपमा रहेको ठाडो भाकाको संरक्षण तथा सम्वर्धन गर्ने जिम्मा कुनै अमुक व्यक्ति वा समुदायलाई थोपर्नु न्यायोचित हुँदैन । अब ठाडो भाकालाई माया गर्ने कवि, लेखक, गायक–गायिका तथा संस्कृतिकर्मीहरूबीच सहकार्य आवश्यक छ । यस राज्य संरक्षक र सरोकारवाला जनसमुदाय हर्ताकर्ता बन्नुपर्छ ।

[साभार : मधुपर्क । चैत, २०७५  ।]

यस लेखमा प्रयोग भएको जानकारीलाई अन्यत्र प्रयोग गर्न सकिन्छ । तर, जानकारी प्रयोग गर्दा स्रोत पनि खुलाइदिनुहोला । कृपया, अरुको बौद्धिक श्रमको सम्मान गर्न सिकौँ ।

[अद्यावधिक: २०७६।०१।३०, २०७६।०५।२९, २०७७।०४।१८, २०७९।०३।३१]

सिम्रिकझैं सिमल फुलेको

यमबहादुर दुरा

एउटा गाउँले केटो । लोकगीतसँग साइनो गाँस्दै हुर्किए, उनी । जतिबेला तोतेबोली बोल्दै थिए, त्यतिबेला गाउँको सांस्कृतिक वातावरण उर्वर थियो । उनको जन्मस्थान मौलिक लोकभाकाहरूको खानी थियो । उनी प्रकृतिको काखमा हुर्कँदै जाँदा स्थानीय लोकभाकाहरूप्रति एकपछि अर्को गरी मोहित हुँदै गए । यससँगै उनको साङ्गीतिक चेत पनि मजबुत हुँदै थियो ।

अहिलेका दोहोरीगायक तथा लोकगीत अभियन्ता तेजबहादुर केसी लोकगीतको दुनियाँमा आउनका लागि पाइला उचाल्दै थिए । त्यतिबेला लोकबहादुर क्षेत्री (वि.सं. २०१८-२०५०), शावित्री शाहजस्ता मूर्धन्य कलाकारका सुमधुर र भावप्रधान गीतहरू रेडियोमा बज्थे । नेपाली लोकजीवनको तस्बिर झल्कने ती गीतबाट प्रेरित हुन थाले । उनीभित्र गायक बन्ने चाहना मौलाउँदै गयो ।

उनमा निहित प्रतिभा र इच्छाशक्तिले उनलाई लोकगीतको क्षेत्रमा निरन्तर अघि बढिरहने शक्ति दिइरह्यो । २०४३ आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोहोरीगीत प्रतियोगितामा उनी पहिलो पटक सामेल भए । यसपछिका दोहोरीगीत प्रतियोगिता र लोकगीतसँग सम्बन्धित जमघटहरूमा उनी निरन्तर देखा पर्न थाले । प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई ‘पछार्न’ थाले ।

यसपछि उनको साङ्गीतिक यात्रा अविश्रान्त अघि बढिरह्यो ।  त्यतिबेलाको समय नै बेग्लै थियो । कलाकारको रूपमा दरिन ‘रेडियो नेपाल’ ले लिने स्वर परीक्षामा उत्तीर्ण हुनैपर्‍थ्यो । अनिमात्र रेडियोमा गीत गाउन पाइन्थ्यो । तत्कालीन परिवेशले एउटा यस्तो मापदण्ड तयार पारेको थियो, रेडियोमा गीत नगाएसम्म कोही पनि कलाकारको श्रेणीमा पर्दैनथ्यो ।

उनी स्वरपरीक्षामा सहभागी भए । परीक्षामा उत्तीर्ण भए । लोकबहादुर क्षेत्रीसँग २०४४ सालतिर ‘रेडियो नेपाल’ मा स्वराङ्कन गर्ने अवसर पाए । क्षेत्री उनको आदर्श व्यक्ति थिए । आफ्नो आदर्शका धरोहरसँग स्वराङ्कन गर्न पाउँदाको यो घडी उनका लागि बिछट्टै खुसीको क्षण थियो । उनले त्यतिबेला गाएका गीत काम र मामको खोजीमा मुगलान पस्नुपर्ने आमनेपालीको नियतिसँग जोडिएको थियो । गीतको बोल थियो : ‘कल्लाई रहर होला र सान्दाइ गाउँघर छाडेर जानलाई’ ।

उनले २०४५ सालमा ‘रेडियो नेपाल’ मा अर्को गीत गाए । गीतको एउटा हरफ यस्तो थियो : ‘घरबासी साहूलाई बुझाउँदै, झरेँ मधेश बालबच्चा रुवाउँदै’ । एक अर्थमा यो गीत भयानक क्रान्तिकारी आवाज हो, जसमा उनको आफ्नै जीवनभोगाइ प्रतिविम्बित भएको प्रतीत हुन्छ । तत्कालीन समयमा पहाडी गाउँबस्ती  खाद्यान्न अभाव र विपन्नताले आक्रान्त थियो । यसबाट पहाडका सयौं परिवार मधेश झर्न बाध्य भए । उनको परिवारले पनि यही नियति भोग्यो ।

२०२८ सालमा उनको परिवार कुम्लो–कुटुरो बोकेर प्यूठानबाट नवलपरासीको डाण्डा  झर्‍यो । बुबा रुद्रबहादुर केसी र आमा सुमित्रा केसीको साथ लागेर मधेश झर्दा उनी नौ वर्षका थिए ।  प्रस्तुत गीतमा आन्तरिक बसाइँ सराइ र त्यसले निम्त्याएको आर्थिक तथा सामाजिक परिवेशको भुक्तभोगी अनुभव झल्कन्छ ।

साङ्गीतिक यात्रामा अघि बढ्ने क्रममा लोकगीतका विभिन्न विधामा स्वर दिएका उनले भजन पनि गाएका छन् । ‘रेडियो नेपाल’ बाट बज्ने भजन ‘कति सुहायो कति सुहायो, नागको माला बाघको छाला कति सुहायो’ धेरै पराइएको भजन हो । देशको धार्मिक तथा सांस्कृतिक परिवेश झल्कने यो भजनमा बमबहादुर कार्की, शिवा आले र बीमाकुमारी दुराको स्वर रहेको छ ।

तेजबहादुर केसीले त्यही समयमा ‘रेडियो नेपाल’ मा श्रृङ्गारिक रसको गीत स्वराङ्कन गरे : ‘सिम्रिकझैंसिमल फुलेको, बिर्सेछेउ कि सम्झेइछेउ मायालु रनवन सँगै डुलेको’ । जीवनको प्रेमिल क्यानभासमा मायालु रङ पोखिएजस्तो लाग्ने यो श्रृगार भावधाराको यो गीतमा उनलाई तारा पुन, कमला राना र टकबहादुर आले दरिलो साथ दिएका छन् । बैंशालु मनहरूबाट निकै प्रशंसा बटुल्न यो गीत सफल रह्यो।

उनी नेपाली लोकगीतको मूलधारमा छाउँदै गर्दा अडियो अल्बमले बजार पिटेको थियो । उनले पनि अडियो अल्बममा आफ्ना भावना बिसाएका छन् । ‘छेल पर्‍यो  कदम छायाँले’, ‘सिम्रिकझैं सिमल फुलेको’, ‘बेचिएकी चेलीको कथा’, ‘औंठी हीराको’, ‘नवलपुरे दाइ’ ‘सुकुम्बासी’, ‘हारेको करिमा’ लगायत ११ वटा अल्बमको प्रतिभा पोखिएका छन् । उनले स्वर दिएका अरू कलाकारका अल्बमको समेत हिसाब गर्ने यो भने यो संख्या ५० भन्दा बढी पुग्छ । ‘रेडियो नेपाल’ मा दशवटा गीत रेकर्ड भएका छन् ।

लोकबहादुर क्षेत्री, अमरबिरही गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरि न्यौपाने, हरिदेवी कोइराला, बमबहादुर कार्की, शिवा आले, बीमाकुमारी दुरा, शिवु गिरी, पुरुषोत्तम न्यौपानेलगायतका थुप्रै नाम चलेका प्रतिभाहरूसँग मिलेर विभिन्न अल्बममा स्वराङ्कन गरेका छन् ।

उनले स्थानीयदेखि राष्ट्रियस्तरका दोहोरीगीत प्रतियोगितामा भाग लिने क्रममा थुप्रै पटक पुरस्कृत भइसकेका छन् । २०५६ सालमा राजधानीमा आयोजित सार्क दोहोरीगीत प्रतियोगिता उनको टोली पहिलो भयो । टोलीमा शिवु गिरी र केशरबहादुर अधिकारी उनका सहयात्री थिए ।

तेजबहादुर केसी गायनबाट विस्तारै अलग्गिएर प्रतियोगितामा निर्णायकको भूमिका देखापरेका छन् । धेरै ठाउँमा धेरै पटक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जुन सजिलो काम होइन । यो धेरै अपजसे काम हो । अहिले उनको परिचय दोहोरीगीत प्रतियोगिताका निर्णायकका रूपमा पनि बनेको छ ।

केसी कलाकारका शब्द संयोजन, भाव, सुर, लय, ताल, मध्यानुप्रास, अन्त्यानुप्रास, मौलिकता र प्रस्तुतीकरणको सूक्ष्मतम अवलोकन र परख गर्छन् । यही आधारमा तिनमा अन्तरनिहित प्रतिभाको मूल्याङ्कन गर्छन् ।

उनी केशरबहादुर अधिकारी, बद्री पराजुली, छवि पराजुली, रेवती पौडेल, माया गिरि, शिवु गिरि, सिर्जनाविरही थापा, रमेश बिजी, केशुमाया रामदान, बाबुराम पौडेल, श्रीराम अधिकारीजस्ता प्रतिभाका शब्द चयन र भावधाराबाट अतिशय प्रभावित छन् ।

लोकगीत अनुरागी र लोकगीत अभियन्ता भएका नाताले केसी असंख्य गायक–गायिकासँग घुलमिल भएका छन् । उनी धेरैको कला र गलाबाट प्रभावित छन् । तर, उनी पनि शावित्री शाह, लोकबहादुर क्षेत्री, नारायण रायमाझी, माया गुरुङ, हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, विष्णु माझी, विमल क्षेत्रीजस्ता कलाकारका स्वरमा एक किसिमको पृथकपन पाउँछन् ।

जीवनको गणित लम्बिँदै जाँदा उनको स्मृतिपटलमा अनेकौं  तीतामीठा प्रसंग र घटनाहरू सञ्चित छन् ।
एकपटक उनी एउटा लोमहर्षक नियतिबाट घेरिए । विगतमा ‘रेडियो नेपाल’ ले हरेक वर्ष अधिराज्यव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो । यही क्रममा २०५० सालको प्रतियोगितामा सहभागी हुने मन बनाए । मनमा उत्साह लिएर उनी राजधानी भित्रिए । प्रतियोगिताका लागि उनको पनि गीत छनोट भयो ।

त्यही समयमा भाग्यले उनीसँग क्रूर ठट्टा गर्‍यो । प्रतियोगिताको पूर्वसन्ध्यामा उनी साथीहरूसँग रत्नपार्कको सडकपेटी हिँडिरहेका थिए । त्यही समयमा विपरीत दिशाबाट आएको गाडीले उनलाई अचानक ठक्कर दियो । उनी तत्काल बेहोश भए । ब्युँझदा उनले आफूलाई वीर अस्पतालको बेडमा पाए । प्रतियोगितामा सहभागी अवसर गुम्यो । त्यही लय लिएर रेखा शाह प्रतियोगितमा सहभागी भइन्, प्रेमराजा महतको सहयोगमा । उनी प्रथम पनि भइन् । त्यसबेला उनको भाग्य रेखा शाहको तग्दिरमा सरेजस्तो पो भयो ।

वि.सं. २०५० पुस ६ गते जनस्तर निकै लोकप्रिय गायक लोकबहादुर क्षेत्रीको मोटरसाइकल दुर्घटना परे । उनको दुःखदायी निधन भयो । यसलाई उनी आफ्नो जीवनको नितान्त दुःखदायी क्षण मान्छन् । अहिले उनी लोकबहादुर क्षेत्रीको व्यक्तित्व र कृतित्वलाई लोकस्मृतिमा चिरस्थायी बनाउने अभियानमा छन् ।

उनको संयोजकत्वमा २०५२, २०५३ र २०५४ सालमा निरन्तर तीन वर्ष लोकबहादुर क्षेत्री स्मृति दोहोरीगीत प्रतियोगिता आयोजना भयो । यसका लागि उनले निकै दौडधूप गर्नुपर्‍यो । उनकै सक्रियतामा नवलपरासीको बर्दघाटमा लोकबहादुर क्षेत्रीको शालिक तयार पारी २०७४ साल भदौ २४ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतबाट अनावरण भइसकेको छ  । शालिक तयार गर्ने काममा उनको भूमिका निर्णायक रह्यो ।

उनले समयको बदलिँदो प्रवाहसँगै लोककलारकारहरू संगठित रूपमा अघि बढ्नुपर्छ भन्ने सोचाइ राखे । यही सोचाइ मूर्त रूप दिँदै २०५७ साल असोज १६ गते नवलपरासीमा दोहोरी कलाकारहरूको छाता संगठन ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ स्थापना भयो । संस्था जन्माउन पनि उनको उल्लेखनीय भूमिका रह्यो ।

उनी संस्थापक सचिव (वि.सं. २०५७-२०५९) रहेर संस्थाको शैशवकाल निकै सक्रिय रहे । त्यसपछि महासचिव (वि.सं. २०५९-२०६१) भएर संस्थालाई अघि बढाउने कार्यमा सरिक भए । अहिले पनि ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ का हरेक गतिविधिमा उनी उत्तिकै सक्रिय छन् ।

जतिबेला उनी लोकगीतको क्षेत्रमा आएका थिए, त्यतिबेला लोकगीतमा व्यवसायिकताको कुनै गुञ्जायस नै थिएन । तर, तअहिले परिस्थिति बदलिएको छ । लोकगीतमा व्यवसायिकता आएको छ । कलाकारले गीत गाएरै जीवनयापन गर्न सक्ने अवस्था पैदा भएको छ । पूँजीवादले निम्त्याएको व्यापारीकरण नै सही, गाउँको दोहोरीगीत शहरका दोहोरी रेष्टुरेण्ट र महोत्सव भेटिन थालेको छ । यसलाई बुझाउन उनी राजनीतिक शब्दावली प्रयोग गर्छन्, ‘गाउँले शहर घेर्न थाल्यो ।’

लोकगीत हाम्रो परम्परा र संस्कृति हो, जुन हाम्रोे लोकजीवनको आधार पनि हो । तर, देशका शासक वर्गमात्र होइन, सचेत वर्गले पनि लोकगीतको महत्व र गरिमालाई सही किसिमले बुझ्न नसकेको उनको बुझाइ छ । हाम्रो सांस्कृतिक पहिचानका लागि लोकगीतको मर्म र भावनालाई सबैले सम्मान गर्नुपर्छ र लोकगीतको श्रीवृद्धिमा जुट्नुपर्छ भन्ने उनको सुझाव छ ।

[ साभार : लोकसंवाद । २०७५ साल चैत १ गते ।]

[अद्यावधिक: २०७५।१२।१२।१५, २०७६।१।५]


Friday, March 8, 2019

स्वरकी रानी

—यमबहादुर दुरा

उनको बैठक कोठामा भित्ताभरि प्रंशसापत्र र अभिनन्दनपत्र सजिएका छन् । विभिन्न संस्थाले दिएका थरीथरीका मायाको चिनाले तख्ता भरिएका छन् । उनको फेसबुक प्रोफाइलमा साङ्गीतिक जमघटका अनगिन्ती तस्बिरहरू पोष्ट भएका छन् । यी परिदृश्यहरूले लोकगायिका बीमाकुमारी दुराको समृद्ध साङ्गीतिक जीवनको साक्षी बक्छन् ।

लोकगीतको दुनियाँमा वाहवाही लुटिरहेकी उनको बाल्यकाल वनपात र मेलापातमै बित्यो । उनलाई विद्यालय जाने अवसर जुटेन ।  उनले विद्यालय गएर साउँ अक्षर सिक्नुको सट्टा वनपात र मेलापातमा लोकभाकाको सिकिन् । यद्यपि, उनले सङ्गीतको औपचारिक ज्ञान पनि कहिल्यै पाइनन् ।

जानीनजानी मुखको सरस्वती जगाउन थालिन् । समयक्रममा लोकभाका र रैथाने जीवनधाराका विविध आयामहरूसँग परिचित हुँदै गइन् । वनपात र मेलापातमा साथीसंगीसँग गीत गुनगुनाउन ग्रामीण जीवनको रीत थियो, बसिबियालो पनि । उनले लोकजीवनको रीत पालना गर्दै गइन् ।

जुनबेला उनी लमजुङ (दुराडाँडा) को पाखापखेरोमा हुर्किँदैथिइन्, त्यसबेला गाउँघर टेलिसंस्कृतिको प्रभावबाट मुक्त थियो । तत्कालीन समाजमा बाहिरी संस्कृतिको प्रभाव र अनुकरणको कुनै गुञ्जायस थिएन । उनले तत्कालीन समाजबाट जे पाइन्, जे सिकिन्, ती पूरापुर अर्ग्यानिक थिए् । उनको गीतमा ठेटपन भेटिनुको मूलभूत रहस्य यही हुनुपर्छ ।

समयको लयमा बयली खेल्दै जाँदा लोकभाकाहरूसँग पत्तै नपाई  नाता गाँसिँदै गयो । लोकगीतमा रस बस्दै गयो । आफूभन्दा अघिल्ला दाइदिदीहरूको साथ लागेर गीतको खालमा उपस्थिति जनाउन थालिन् । लोकगीतका पारखीहरूले उनको स्वरमा बेग्लै मिठास र जादू देख्न थाले । उनीहरूले बीमामा प्रचुर सम्भावना देख्न थाले । विस्तारै स्थानीय जमघटमा उनको स्वरको प्रशंसा हुन थाल्यो ।

स्थानीय र जिल्लास्तरीय साङ्गीतिक जमघटहरूमा हाँजिर हुन थालिन् । २०४३ सालमा सोरठी नृत्यको टोलीमा मिसिएर पोखरा पुगिन् । सम्भवत : उनको लागि यो पहिलो फराकिलो डबली थियो । २०४५ सालमा दोहोरीगीत प्रतियोगितामा भिड्न साथीसंगीको दस्तासहित काठमाडौं आइन् । त्यतिबेला बमबहादुर कार्की र प्रेमराजा महतबाट पाएको हौसला र आत्मीय सहयोग वन्दनीय थियो । बीमा उनीहरूप्रति अतिशय आभारी छिन् ।

उनीहरूकै साथ र संयोजनबाट ‘सिंदुरे ढुङ्गा’ शीर्षकमा अडियो अल्बम निस्कियो । आमस्रोतका लागि उनको यो पहिलो साङ्गीतिक कोसेली थियो । उनको तत्कालीन साङ्गीतिक सहयात्रीहरू रत्ना दुरा, बुद्धिसरा दुरा, लालकुमारी दुरा गाउँघरतिरै घरधन्दामै अल्मलिएका छन् । ती प्रतिभावान् साथीहरू उतै छुटेकोमा उनको मन पोल्छ ।

यता, बीमाको साङ्गीतिक क्षितिज उघ्रिने क्रम जारी रह्यो । रेडियो नेपालद्वारा २०४७ सालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितमा उनले दरिलो सहभागिता जनाइन् । प्रतियोगितमा उनी प्रथम भइन् । त्यसबेला उनको गलाबाट गुञ्जेको गीत थियो, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी’ । यो गीत लोकगायक कृष्ण गुरुङले तयार पारेका थिए ।

उनको ख्यातामा दिन दुगुना, रात चौगुना बढ्दै गयो । उनको स्वरको बखान हुन थाल्यो । उनी साङ्गीतिक जमघटको हिस्सा बन्न थालिन् । रेकर्डिङ स्टुडियोमा आउजाउ बाक्लिन थाल्यो । भकाभक अडियो अल्बम निस्कन थाले । साङ्गीतिक यात्राको वर्तमान घुम्तीमा आइपुग्दा उनले स्वदेश र विदेशका असंख्य साङ्गीतिक जमघटहरूमा उभिएर हजारौं हजार स्रोता–दर्शकलाई भावुक तुल्याइसकेकी छिन् । सँगसँगै, नेपाली लोकगीतको अघोषित राजदूत बनेकी छिन् ।

अहिलेसम्म बीमाले हजारौंको संख्यामा गीत गाएकी छिन् । ‘सम्झी फर्क साइँलो दाइ...’, ‘लमजुङ तुर्लुङकोट...’, ‘खैरेनीमा गेट...’, ‘छुटयो मायाजाल...’, ‘सरर कोइलाखानीमा...’, ‘फुल्यो निमपत्ता...’ आदि धेरै मन पराइएका गीतमा पर्छन् । अहिलेसम्म आफूले गाएका गीतको यथार्थ हिसाबकिताब उनीसँग छैन । पाँच हजारभन्दा बढी गीत गाएको अनुमान लगाउँछिन् । सयौं संघसंस्थाबाट अभिनन्दित बीमाकुमारी दुराले रेडियो नेपालबाट प्रतिष्ठित गायिकाको प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

पूर्वी पहाडका मौलिक लोकभाकाहरू रेडियो नेपालमा ल्याउनुमा जसरी हीरादेवी वाइवा, कविता आलेजस्ता प्रतिभाको योगदान रह्यो, त्यसरी नै गण्डकी भेगका ठेट लोकभाकालाई फराकिलो दायरामा विस्तार गर्नुमा बीमाकुमारी दुराको पनि उल्लेखनीय योगदान रह्यो । शावित्री शाह, युक्त गुरुङ, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गाना, हरिदेवी कोइराला, तीर्थबहादुर गन्धर्व आदिको पदचाप  पछ्याउँदै उनले गण्डकी भेगका लोकभाकाको विस्तारमा योगदान पुर्‍याइन् ।

उनी जुन जनु पुग्छिन, ती कार्यक्रम विशेष बन्न पुग्छन् । उनले पाइला टेक्दैमा कार्यक्रम विशेष बन्न पुग्छ, त्यसमा पनि उनको स्वर गुञ्जन थालेपछि माहोल अर्कै बन्छ । कार्यक्रम स्थलबाट परपरसम्म पुग्नुपर्ने ग्रामीण स्रोता–दर्शकहरू उनकै गीत सुन्नका लागि झुम्मिन्छन्, घरधन्दा असरल्लै पारेर । उनको स्वर रहेको जादू र शब्दमा भरिएको मिठास र भावुकताले चुम्वकीय आकर्षण पैदा गर्छन् ।

नेपाली लोकगीतको विम्ब बनेकी बीमा लोकगीतको मूलधारमै छिन्, तर उनको गीत अहिलेको मूलधारको गीतभन्दा आधारभूत रूपमै भिन्न छ । अहिलेको मूलधारको गीत स्रोता–दर्शकलाई उफार्ने किसिमका छन् भने उनको गीतचाहिँ दुनियाँलाई भावुक तुल्याउने खालका छन् । एक हिसाबले उनी नेपाली लोकगीतको एउटा विरहिणी विम्ब हुन् । उनको गीत सुन्दा धेरै द्रवीभूत हुन्छन् । उनको गीतमा बैंशालु मनहरूमा भूइँचालो ल्याउने मैमत्तपन र उन्मादको लेस पनि भेटिन्न । उनको गीतहरू नितान्त सरिफ र शिष्ट छन् ।

उनको गीतमा नेपाली लोकजीवन प्रतिविम्बत हुन्छन् । उनको स्वरमा लयबद्ध गीतमा परदेश पुगेका सन्तान घर फर्कने आशामा आँगनको डिलमा बसेर बाटोभरि नजर बिछ्याउने बृद्धबृद्धाको कथा बुनिएका छन्, जन्मघर छाडेर पराइघर पुग्नुपर्ने चेली नियति झल्किन्छ, लालाबालाको नाङ्गो शरीर छोप्न र भोको पेट शान्त पार्न अँधेरो कोइलाखानीमा घण्टौं श्रम गर्न बाध्य भाइ-छोराहरूको सुस्केरा भेटिन्छन् र लोकजीवनको भाँकी झल्किन्छन् ।

उनको जिन्दगी उतारचढावपूर्ण रह्यो । उनको जीवन  कतिपय आयामखएक अर्थमा सुखद रहेनन् ।
उनी २०५३ सालमा विवाह बन्धनमा बाँधिइन् । तर यो नाता-सम्बन्ध लामो समयसम्म टिकेन । विवाह-बन्धन बिछोडमा पुगेर टुङ्गियो । समयको एउटा विन्दूमा अर्जापिएको त्यो नाता-सम्बन्धको निसानी बाँकी छ । उनको छोरी त्यो निसानी साँचेकी छिन् । अहिले अमेरिकामा उच्चशिक्षा अध्ययन गर्दैछिन् । यता, आमाचाहिँ एक्लो जीवन बिताउँदैछिन् । परिवारको सदस्यको रूपमा घरमा कुकुर छ । सन्तानको माया त्यही कुकुरमाथि खन्याउँछिन् । यतिबेला त्यही कुकुर उनको साथी र सन्तान दुवै भएको छ ।

५० को दशकको अन्त्य र ६० को दशकको शुरुवाततिर उनी मिडियामा ‘हट केक’ बनिन् । कारण थियो, उनले ‘अब म गीत गाउँदिनँ’ भनेर घोषणा गर्नु । स्वरको जादूले दुनियाँलाई लठ्याउने एउटा ख्यातिप्राप्त गायिकाले यस्तो घोषण गर्नु आफैंमा हलचलपूर्ण घटना थियो । एक हिसाबले उनको यो घोषणा माछाले पानीमा नबस्ने घोषणा गर्नुजस्तै दुस्साहसिक कदम थियो ।

उनको त्यो उद्घोष हठातपूर्ण थियो । उनले गीत नगाएर सुखै थिएन । अन्ततः उनी गायनको दुनियाँ फर्किएरै छाडिन् । पारिवारिक तनावले घेरिँदा उनी यस्तो घोषणा गर्न बाध्य भएकी थिइन् । उनको जीवनमा यो एउटा भयानक साङ्गीतिक दुर्घटना थियो ।

सङ्गीत वृत्तमा उनको कला र गलाको अतिक्ति उनको स्वाभावबारे पनि बेलाबखतमा चर्चा हुने गर्छ । उनी हक्की स्वभावकी छिन् । आफूलाई लागेको कुरा नचपाई प्वाक्कै भनिहाल्ने । उनको यही स्वाभावलाई कसैले सबल पक्षको चित्रण गर्छन् भने कसैले कमजोरीको रूपमा हेर्छन् । कुनै पनि कुरा पूरापुर सही वा गलत हुन सक्दैन । हेराइ आफ्नो आफ्नै हो ।

उनी भर्खर भर्खर गायन क्षेत्रमा आउँदा अनालग प्रविधिमा गीत रेकर्ड हुन्थे । अहिले रेकर्डिङ प्रविधिमा व्यापक परिवर्तन आएको छ । डिजिटल प्रविधिले रेकर्डिङलाई आनका तान फरक पारिदिएको छ । गायन टोलीले सँगै गीत गाउनु नपर्ने । केटाले आफ्नो भाग गाएर हिँडे हुने । केटीले एक्लै आफ्नो भाग गाए पुग्ने । बाजाको धुन पनि पछि मिसाए पुग्ने । तर उनलाई भने लाइभ रेकर्डिङ नै बढी मन पर्छ । गायन टोलीले सँगै गाउँदा मुड बन्ने र गीत जीवन्त बन्ने उनको धारणा छ ।

ठाडो भाका उनलाई मन पर्ने भाका हो । ठाडोभाका गायनमा उदाएका नवप्रप्रतिभाको प्रशंसा गर्छिन् । तर उनीहरूको स्वर र शब्दमा अपेक्षित मौलिकपन आउन नसकेको उनको ठहर छ । यसका लागि उनीहरूले पर्याप्त मेहेनत गर्नुपर्ने उनको सुझाव छ । उनी आफैं पनि ठाडो भाका गाउन सिक्दैछिन् । ठाडो भाकाको रेकर्ड निकाल्ने रहर छ ।

कतिपय सञ्चारकर्मीको व्यवहारबाट उनी वाक्कदिक्क छिन् । कतिपयले अनौपचारिक वार्तालापमा भएका कतिपय कुरालाई तीलको पहाड बनाएर प्रस्तुत गर्ने र मानिसको निजी जीवनको कुनै सम्मानै नगरी प्रस्तुत हुने गरेको उनको गुनासो छ । व्यक्तिको इज्जत र प्रतिष्ठालाई दाउमा राखेर आफ्ना ‘मिडिया प्रडक्ट’ लाई बिकाउ वस्तुमात्र सम्झने कतिपय सञ्चारकमीले सामाजिक उत्तरदायित्व बिर्सने गरेका उनको आरोप छ  ।

उमेरले चार दशकको अन्त्यतिर लाग्दै गर्दा उनको मनको कुनामा जीवन भोगाइका अनेकन् अनुभवहरू बटुलिएका छन् । उनको दृष्टिमा साङ्गीत वृत्तामा हिजो अधिक हार्दिकता र माया–ममता थियो, जुन अहिले दुब्लाउँदै गएको छ । अहिले प्रतिस्पर्धाको भावना बढी र हार्दिकता कम भएको उनको अनुभव छ । प्रतिस्पर्धाले हिजोको हार्दिकता र माया–ममता लाई झिनो बनाउँदै लगेको उनको बुझाइ छ ।

अहिले परिचयका लागि उनको नामै काफी छ । उनी लोकगीतको दुनियाँमा ‘स्वरकी रानी’ उपमाले परिचित छिन् । वनपाखाबाट माथि उठेर एउटा अपठित ग्रामीण बालाले आफ्नो राष्ट्रिय छवि निर्माण गर्न सफल हुनु आफैंमा एउटा भयानक उपलब्धि होे । सफलता प्राप्तिका दिशामा अघि बढिरहेका नयाँ पुस्ताका लागि उनी एउटा उर्जाशील प्रेरणास्रोत हुन् ।

[साभारः लोकसंवाद । २०७५ साल फागुन २४ गते ।]


Saturday, March 2, 2019

धेरैलाई 'सेलिब्रिटी' बनाउने एउटा गुमनाम प्रतिभा

-यमबहादुर दुरा

गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति 'सेलिब्रिटी' बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता 'सेलिब्रिटी' को नाम घर घरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू ‘हाउसहोल्ड नेम’ बन्न पुग्छन् । तर, त्यही गीत-सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्, जसको भूमिका ठूलो भएर पनि चर्चा चर्चा हुँदैन ।

सङ्गीत संयोजक एउटा यस्तै प्राणी हुन् । उसले गीतको 'मुड' सुहाउँदो सङ्गीत संयोजन गर्ने र उपयुक्त ‘म्युजिक पिस’ हरूलाई जोडेर गीतलाई सिंगारपटार गर्ने काम गर्छ । उसले गीतमा सङ्गीतिक फूलबुट्टा भर्छ । गीतमा सङ्गीतको मिठास थपेर श्रुतिमधुर बनाउँछ ।

यतिमात्र होइन, उसले गायकगायिकालाई मार्गनिर्देश गरेर गीतमा मधुरभाव थप्न सहयोग गर्छ । तर, ऊ सधैँभरि छायाँमा पर्छ । संक्षेपमा भन्ने हो भने सङ्गीत संयोजकको भूमिका नम्बरीलाई सुनलाई पिटेर आकर्षक गहना बनाउने व्यक्तिको जस्तै हुन्छ । ऊ पर्दापछाडिको नायक हो ।

यति भएर पनि सङ्गीत संयोजक (म्युजिक अरेञ्जर) हरू गुमनाम जिन्दगी बिताउँछन् । उनीहरू ‘बत्तीमुनिको अँधेरो’ बन्न पुग्छन् । गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा रहेर पनि यस्तै भोगिरहेका व्यक्तिहरूमा जुजु गुरुङको नाम पनि पर्छ । चर्चा पाउनु नपाउनु अलग कुरा हो, नेपालका चर्चित सङ्गीत संयोजकहरूमा उनको नाम आदरपूर्वक उच्चारण गरिन्छ ।

उनका बुबा कुलबहादुर गुरुङ (वि.सं. १९८५-२०५५) सङ्गीतप्रेमी थिए । उनी घरमा जोरमादल राख्थे । बाजागाजा र नाचगानमा मन दिन्थे । चुनीमाया, यानीमाया भाका गाउँथे । सोेरठी र कृष्णचरित्रको गीत पनि गाउँथे । दोस्रो विश्वयुद्ध लडेका कुलबहादुर गुरुङ गाउँका जिम्मुवाल पनि थिए । गाउँहरूले उनको घरमा नाचगान र रामरमिताका लागि भेला हुन्थे ।

यसप्रकारको साङ्गीतिक माहोललाई सूक्ष्म किसिमबाट नियालिरहेका जुजुको सङ्गीतप्रतिको रुझान बढ्दै गयो । बुबा पदचाप पछ्याउँदै अघि बढेका जुजुले वाद्ययन्त्रहरू बजाउन सिक्दै गए । थाहै नपाई उनका औंलाहरू वाद्ययन्त्रहरूमा अभ्यस्त भइसकेका थिए । सानै छँदा हरप्रकारका वाद्ययन्त्र बजाएर उनले चमत्कार देखाइसकेका थिए ।

आमासँग सुतिरहेको जुजुलाई ओछ्यानबाटै तानेर दिदीहरूले लैजान्थे र मादल बजाउन लगाउँथे । किशोरवयमा प्रवेश गर्दा नगर्दै उनी स्थानीय साङगीतिक कार्यक्रमहरूको हिस्सा बनिसकेका थिए । त्यहाँको साङगीतिक माहोललाई रौनकपूर्ण बनाउन उनको उपस्थिति अपरिहार्य मानिन्थ्यो ।

उनी सानै उमेरमा बाच्छेबाजा (माउथ हार्मोनियम), हार्मोनियम, मादल, खैंजडी आदि बजाएर दुनियाँको मन भुलाउन खप्पिस भइसकेका थिए । आठ-नौ कक्षातिर पुग्दा सारङ्गी बजाउन पनि पारङ्गत भइसकेका थिए । विद्यालयमा हुने साङगीतिक कार्यक्रममा उनले पुरस्कार थापिरहन्थे ।

२०४६ सालमा एसएलसी पास गरेका उनी एक वर्ष गाउँतिरै अल्मलिए । त्यो एक वर्ष गाउँको प्राथमिक विद्यालयमा ज्ञान बाँडेर बिताए । त्यसबेला पनि उनको साङ्गीतिक गतिविधि जारी नै रह्यो । शिक्षणकर्मको छोटो अनुभव सङ्गालेपछि उच्च शिक्षा अध्ययनका लागि आफ्नो घर लमजुङको भोटेओडार छाडेर राजधानीतर्फ पाइला लम्काए ।

राजधानी छिरेपछि उनले आफ्नो स्वाभाव र रुचि अनुसारको संगत मिल्दै गयो । यस्तैमा एउटा सांस्कृतिक टोलीसँग उनको सम्पर्क बढ्यो । त्यो टोली मयुर नाच, चौंरी नृत्य, शेर्पा नित्यजस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्थे । उनी त्यही टोलीमा सामेल भए । उनी वाद्यवादन कार्यमा संगल्न हुन्थे । त्यस सांस्कृतिक टोलीसँगको उठबसले उनमा अन्तरनिहित प्रतिभा माझिँदै गयो । देश र दुनियाँलाई हेर्ने साङ्गीतिक नजर फराकिलो हुँदै गयो ।

उनको साङ्गीतिक नातासम्बन्धको जालो विस्तार हुँदै गयो ।

२०४८ सालतिर उनलाई एकजना साथीले एउटा रोचक कुरा सुनाए । त्यो साथीले उनलाई एउटा यस्तो ठाउँबारे बताए, जहाँ हरप्रकारका बाजा उपलब्ध थिए । सङ्गीत भनेपछि हुरुक्कै हुने जुजुलाई त्यस ठाउँमा पुगौं पुगौं लाग्यो । उनी साथीको पछि लागेर त्यस ठाउँमा पुगे ।

हुन पनि साथीले जुन कुरा भनेका थिए, त्यही कुरा दुरुस्त पाए । त्यहाँ उनले जीवनमा छुन नपाएका र देख्न नपाएका हरप्रकारका बाजा थिए । उनले ती बाजालाई सूक्ष्म किसिमले अवलोकन गरे ।

त्यहाँ लिएर जाने साथीले त्यहाँको साङ्गीतिक दस्तासँग उनको परिचय गराइदियो । सँगै जाने साथीले नवआगन्तुक रूपमा पुगेका जुजुले हरप्रकारका बाजा बजाउन सक्छ भन्ने पनि बताइदियो । उनीहरूले केही बाजा बजाउन लगाए । उनले सारङ्गीलगायतका केही बाजा बजाएर आफ्नो प्रतिभाको परिचय दिए । उनको कलाकौशल देखेर साङ्गीतिक दस्ताको नेतृत्व पंक्ति प्रभावित भयो र आउँदै गर्न आग्रह गरे ।

त्यसपछि त्यस साङ्गीतिक दस्तासँग उनको आउजाउ बढ्यो । तिनीहरूले उनलाई माया मान्न थाले । तिनले पकेट खर्च दिन थाले, गाह्रोसाह्रोमा सघाउन थाले । विद्यार्थी जीवनमा यसप्रकारको सहयोगी हात पाउनु उनको लागि ठूलो कुरा थियो । वास्तवमा त्यो साङ्गीतिक दस्ता कुनै राजनीतिक दलको सांस्कृतिक विभाग थियो  । त्यस साङ्गीतिक दस्ताको सम्पर्क र समन्वयमा काम गर्दा उनले ध्रुव ज्ञवाली र धनकाजी गुरुङबाट सङ्गीतबारे धेरै ज्ञान पाए ।

उनको जीवनको भाँकी र सम्बन्धहरू फेरिँदै गए । त्यो साङ्गीतिक दस्तासँगको जम्काभेट जुजुका लागि जीवनको एउटा मोडमात्र थियो । उनी साङ्गीतिक प्राणी थिए, राजनीतिक प्राणी थिएनन् । राजनीतिसँग कुनै लेनादेना थिएन । उनको साङ्गीतिक यात्रा निरन्तर अघि बढिरह्यो ।

साङ्गीतिक कार्यक्रमहरूमा हिँड्दा २०५४ साल गायक तथा सङ्गीतकार नारायण रायमाझीसँग उनको भेट भयो । रायमाझीले एकाध भेटघाटमै जुजुको प्रतिभा पहिचान गरिहाले । यो भेटको उनको जीवनमा अर्को महत्वपूर्ण मोड थियो । नारायण रायमाझीले उनलाई आफ्नो म्युजिक कम्पनी रीमा रेकर्डिङमा वाद्यवादक बन्न आग्रह गरे । उनले त्यसलाई सहर्ष र सप्रेम स्वीकारे । त्यसपछि उनी केही वर्ष त्यही कार्यरत रहे । उनले आफूलाई खार्दै लगे ।

 २०५० को दशकको मध्यदेखि वाद्यवादन छाडेर सङगीत संयोजनमा लागे । उनले विभिन्न रेकर्डिङ स्टुडियोमा सङगीत संयोजनको काम गरे । उनले राम्रो 'पर्फमेन्स' देखाउँदै गए । यसपछि उनले निरन्तर प्रगति गर्दै गए । उनलाई सङगीतिक क्षेत्रका धेरै मानिसहरूले खोज्न थाले । काम ह्वारह्वाहर्ती आउन थाल्यो । उनलाई सङगीत संयोजनमा धेरै काम आउन थाल्यो । उनको प्रसिद्धि बढ्दै गयो ।

पहिले उनी दिनमा पाँच छवटा अडियो अल्बममा सङ्गीत संयोजन गर्थे । उनी दिनभर व्यस्त रहन्थे । उनले ‘मिर्मिरेमा भाले बासेको...’, ‘छिनको छिनैमा...’, ‘यो मायाको संसार विचित्र...’, ‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘हङकङ आइडीले...’, ‘फूलमा भमरा...’, ‘वनको काफल वनको चरीलाई...’, ‘जम्मू-कास्मिरमा...’, ‘भरिया दाइले बिसाउने भारी...’, ‘...माया बढ्यो झन’ जस्ता असंख्य चर्चित गीतको सङ्गीत संयोजन गरिसकेका छन् ।

उनले सङ्गीत संयोजन गरेको गीतका कारण धेरैले चर्चा बटुले । उनीहरू सेलिब्रिटी बने । यही भएर होला, बजारमा चर्चा बटुलेका कतिपय कलकारहरू ठूला ठूला साङ्गीतिक जमघटमा उनलाई देखेर नतमस्तक हुन पुग्छन् ।

उनले असंख्य गीतमा सङ्गीत संयोजन गरेका छन् । तर अहिलेसम्म आफूले सङ्गीत संयोजन गरेको गीतको यथार्थ अभिलेख छैन । उनी आफूले हालसम्म २० हजार जति गीतमा सङ्गीत संयोजन गरेको अनुमान गर्छन् । यतिबेला महिनामा २०/२२ वटासम्म गीतको सङ्गीत संयोजन गर्छन् ।

सङ्गीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा...’, ‘धादिङ सल्यानटार...’, ‘दुवाली थुनेको...’ आदि उनले स्वर दिएका गीत हुन् ।

उनले इन्दिरा कलानिधि विद्यालयबाट सङ्गीतसम्बन्धी शिक्षा लिएका छन् ।सङ्गीत अनुरागी र सङ्गीतिक वृत्तमा रहेकाहरूका दृष्टिमा जुजु गहिरो सङ्गीत चेत भएका प्रतिभाशाली व्यक्ति हुन् । तर, उनी आफैं भने आफूलाई कम आँक्छन् । सङ्गीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई आफ्नो प्रेरणास्रोतका रूपमा लिने गर्छन् ।

उनी चुपचाप आफ्नो कर्मक्षेत्रमा होम्मिन रुचाउने कर्मजीवी हुन् । उनी विज्ञापन गर्न रुचाउँदैनन् । आफूले अङ्गालेको पेशाका कारण पनि उनी ओझेलमा छन् । उनको स्वाभाव पनि हाइफाइ जीवनभन्दा परै रहन मन पराउने किसिमको छ । अभिनन्दन, सम्मान, पुरस्कार आदि उनलाई झर्को लाग्ने विषय हुन् । समय-समयमा उनको नाममा पनि पुरस्कार र सम्मान उदघोष भइरन्छन् ।

उनी यस्ता कार्यक्रमहरू सकेसम्म छल्न खोज्छन् । उनी धेरैजसो पुरस्कार वितरण समारोहमा उपस्थित हुँदैनन् । आफ्नो घोषणा गरिएको पुरस्कारको थुप्रो उठाउनै बाँकी छ । उनी भने सब कुरा छाडेर सङ्गीत साधनामा एकोहोरो तल्लीन रहन मन पराउँछन् । पेशा र स्वाभाव दुवैले उनी चमकधमकपूर्ण दुनियाँबाट पर छन् ।

[साभार : लोकसंवाद । २०७५ साल फागुन १७ गते । ]