Monday, October 25, 2021

कोरानाको सामाजिक प्रकम्पन

 

–यमबहादुर दुरा 

सर्वविदित कुरा हो, सन् २०१९ को अन्त्यतिर चीनमा भयानक सङ्क्रामक व्याधि देखा परेपछि दुनियाँ त्रस्त हुन पुग्यो । कोरोना नामबाट परिचित यो महाव्याधि तीव्र गतिमा संसारभर फैलिएर  लाखौँको ज्यान लिन थालेपछि ‘डिजिटल युग’ को रूपमा सर्वपरिचित एक्काईसौँ शताब्दीको परिचयमा अर्को नयाँ परिचय पनि थपियो । त्यो हो, ‘महाव्याधिको युग’ को युग । विगतका कतिपय शताब्दीजस्तै एकाईसौँ शताब्दी पनि महाव्यधिमुक्त शताब्दी बन्न पाएन ।

....

संसारको हरेक कुनामा विनाशलीला मच्चाउन सफल कोरोना महामारीबाट नेपाली जनजीवन पनि अप्रभावित रहन सकेन । भूकम्पपछि नयाँ प्रकम्पन आएजस्तै समाजमा कोरोनाका पनि अनेकन् प्रकम्पनहरू देखापरे । यसबाट संस्कृतिदेखि प्रविधिसम्म, मेलापातदेखि सभा–सम्मेलनसम्म अनि पारिवारिक अर्थतन्त्रदेखि राष्ट्रिय अर्थतन्त्रसम्म प्रभावित भए । यसले हाम्रा अनुभव र अनुभूतिहरूको किताबमा विल्कुलै नयाँ पानाहरू थपिदिएको छ । 

कोरोनाले मृत्युपर्व नै निम्त्याइदियो । कोरोनाकालले जीवनको क्षणभङ्गुरता राम्र्रैसँग सम्झाइदियो । एक समय त यस्तो पनि आयो, फेसबुक खोल्ने बित्तिकै समवेदना सन्देशका नमीठा शृङ्खलाहरू प्रकट हुन थाले । जताततै समवेदना सन्देश । दश हजारभन्दा बढी नेपालीजनले अकालमा मृत्यवरण गर्नुपर्‍यो, जसमा केही चर्चित व्यक्तिहरू पनि परे । 


पूरातत्वविद साफल्य अमात्य (वि.सं. १९९९–२०७८), सञ्चार उद्यमी महेन्द्र शेरचन (वि.सं. २०१०–२०७८), लोकसाहित्यका अध्येता प्रा.डा. मोतीलाल पराजुली (वि.सं. २०१३–२०७८), साहित्यकारद्वय कृष्णप्रसाद श्रेष्ठ (वि.सं. १९९५–२०७८) तथा राजेन्द्र सुवेदी (वि.सं. २००२–२०७८), गीतकार चेतन कार्की (वि.सं. १९९५–२०७८) आदि व्यक्तित्व कोरोनाका कारण अस्ताए । दुर्भाग्यवश, कोरोनाको मृत्युपर्व अझै  जारी छ ।

....

मनमा पीडाको घाउ बल्झिरहेको बेला समाजमा अरू पनि दुःखलाग्दा घटना घटे । कोरोनाले मानवलाई मात्र मारेन, मानवीय भावनालाई पनि मार्ने काम गर्‍यो । मानिसको आगमनबाट कोरोना सर्ने डरले बाटोघाटोमा भाँजो हालिए । पुलमा काँडेदार लगाइए । खोलाको फड्के भत्काइए । बाटोमा बार लगाइए । यस्ता तस्बिरहरू सोसल मिडियामा पोष्टिन थाले ।

कोरोनाको बिरामीलाई मात्र होइन, बिरामीको सेवामा जुटेका स्वास्थ्यकर्मी छिछि दुरदुर गरिएका समाचार आए । यी यावत् अमानवीय क्रियाकलापबाट हाम्रो सामाजिक मनोविज्ञानको कुरूप तस्बिर प्रकट हुन पुग्यो । जानेर वा नजानेर हामीले आफैँलाई अमानीय क्रियाकलापको सूत्रधार तुल्यायौँ । 

विचलित मनहरूलाई सान्त्वना दिँदै माया–ममता र सदभाव बाँड्नुपर्ने घडीमा किन यस्तो अमानवीय व्यवहार भए ? हामीमा पलाएको अमानीय व्यवहारको स्रोत के हो ? हामीले समतामूलक समाज र सामाजिक न्यायको धरातललाई किन बिर्सियौँ ? कठोर आत्मासमीक्षा गर्नुपर्ने बेला आएको छ । 

....

काकोरोनाकालमा अस्पतालहरूको असुली धन्दा राम्रैसँग मौलायो । अस्पतालले कोरोना बिरामीको उपचार गरेवापत दैनिक ५० हजारदेखि देखि एक लाख रूपैयाँसम्म असुली गरेको तथ्य सार्वजनिक भयो । खोपबाहेक कोरोनाको कुनै पनि भरपर्दो औषधि बनेको छैन । यस्तो अवस्थामा प्रश्न उठ्छ, बिरामीका लागि कुन महङ्गो औषधि चलाइन्छ, जसबाट यति चर्को शुल्क असुल्न परोस् ? जति सोच्दा पनि प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन ।

कतिले घरखेत बेचेर १५/२० लाख रूपैयाँ बिरामीको स्वास्थ्योपचारमा खर्च गरे । दुर्भाग्यवश, गतिमा धनमा खोलो पनि लगाए, बिरामीलाई गुमाए । कति पीडादायी अवस्था ! सोच्दा दिमाग चक्कराउँछ । मुठ्ठीभर धनवान्हरूका लागि १५/२० लाख रूपैयाँ केही होइन होला, तर दश नङ्ग्रा खियाएर जसोतसो हातमुख जोर्ने अधिकांश कर्मजीवीहरूका लागि दुर्लङ्ध्य पहाड नै हो । 

कोरोनाकालमा अस्पतालहरूले मानवता बिर्सिएर देखाएका द्रव्यमोहले स्वास्थ्य सेवाको निजीकरणको घातक असरबारे सोच्न गहिरिएर बाध्य तुल्यायो । यसले जनस्वास्थ्यबारे सरकारले अख्तियार गरेको नीतिबारे पनि सोच्नुपर्ने अवस्था पैदा गरिदिएको छ । यसबाट स्वास्थ्य–सङ्कटकालले गरिबी कुचक्रमा पिल्सिएका नागरिक भीरको डिलमै पुर्‍याउने रहेछ भन्ने नमीठो सन्देश मिलेको छ ।

...

अब, पीडाको कुरा छाडेर केही रमाइलो कुरा गरौँ । कोरोनाले निम्त्याएको लकडाउनले कतिपय मित्रहरूलाई अनुहारको रूप–रङ्ग बदलिदियो ।सधैँ सफाचट दाह्री–जुँगा काटेर चिटिक्क परेर हिँड्ने कतिपय साथीभाइको अघिपछिभन्दा बेग्लै रूपमा देख्न पाइयो । दुई दुई पटकको लम्बेतान लकडाउनमा उनीहरूका गाला र ओठमा दाह्री–जुँगा निकै बढेछन्, हैर्दै ऋषिमुनिजस्ता देखिने ।

लकडाउनमा बर्खायाममा वनपाखामा साल्मे घाँस बढेझैँ  दाह्री–जुँगा बढेछन् । बढेका दाह्री–जुँगाको तस्बिर फेसबुकका भित्ताभरि पोष्ट भए, जसले डिजिटल दुनियाँमा तहल्का नै मच्चायो । ती तस्बिर हेर्दा यस्तो लाग्थ्यो, उनीहरू अफगानिस्तानमा भर्खरै सत्तारोहण गरेका कट्टरपन्थी तालिबानहरू हुन् । 

....

लकडाउनले जनजीवनका धेरैजसो धमनीहरू बन्द गरिदिए । कतिपय पुस्तक प्रेसमै अड्किए । यद्यपि, यही अभिशप्त समयमै कतिपय लेखक तथा साहित्यकारका लेखन धमनीहरू खुले । उनीहरूले ‘बन्दी समय’ लाई उपयोग गरेर लेखनकर्म पूर्ण गतिका साथ अघि बढेको चर्चा–परिचर्चाले सुनियो । 


लेखक तथा साहित्यकारले लकडाउनको समयमा कोरलेका नयाँ कृतिका तस्बिरसहित समाचार आए । कतिपय लेखकले त भर्चुअल माध्यमबाट कृति विमोचन गर्नसमेत भ्याए । कृति सार्वजनिकीरणको नयाँ परिपाटीप्रति कतिपयले रमाइलो टिप्पणी गरे- राम्रै भयो, खाजा र यातायातको खर्च बच्यो ।  

लकडाउनमा वयस्क लेखक लेखनकर्ममा अग्रसर भइरहेको बेला कलिला लालाबाला पनि लेखनकर्ममा सरिक भएको समाचार आयो । उनीहरू भिडियो कन्फरेन्सिङमार्फत्  बालकथा लेखन प्रतियोगितामा सहभागी भएको समाचार पढ्न पाइयो । सङ्कटले लालाबालालाई नयाँ ‘प्ल्याटफर्म’ जुटाइदिएको घटनालाई सकारात्मक विकासक्रम मान्नैपर्छ । 

लकडाउनले लेखनका अतिरिक्त पठन संस्कृतिलाई प्रवर्द्धन गरेको चर्चाले पनि भाउ पायो । केही पढैया व्यक्तिहरूले लकडाउनको निरस समय धबाउन पढिएका र फुर्सदका समयमा पढनलायक कृतिहरूको लामै पेश गरे । कहिल्यै पनि नदेखिएका वा छुनसम्म नपाइएका कृतिका लोभलाग्दा मुखपृष्ठ सोसल मिडियामा दर्शन गर्न पाइयो ।

....

कोरोना महामारी हाउगुजी बन्न पुग्यो । कोरोनाबारे काल्पनिक कथा बुनिए । सोसल मिडियाका मिडिया आउटलेटमा कोरोनाबारे भ्रामक सूचना प्रवाह गरेर भ्रमजाल तयार पारियो । परिणामतः कतिपय सोझासीधा नागरिकले गलत सूचनालाई आत्मासात गरे । गलत सूचनाका कारण कतिपय सर्वसाधारणले खोप लाउन मानेनन् ।

गलत सूचनाको शिकार बनेर कतिले कोरोनाविरुद्धको खोप लगाउन मानेनन् । कोरोनाको सङ्क्रमण बढदै गएर घातक नतिजा प्रकट हुन थालेपछि खोपको ह्वात्तै माग बढ्यो । समयमा खोप ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । पहुँचवालाहरूले लुकीलुकी खोप लगाएको सूचना पनि बाहिरिए । 


खोप लाउन नमान्नेहरू नै खोप लगाउन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रिए गरे । यसले एउटा लोकोक्तिको सम्झना दिलायो, जसको परिमार्जित संस्करण यहाँ प्रस्तुत गर्न मन लाग्यो : ‘अघि तिम्ले मानिनौ, पछि तिम्ले जानिनौ, बाघ लाग्यो घिच्याउन, तिमी लाग्यो चिच्याउन ।’

....

कोरोना जमघटबाट सजिलै सर्ने व्यथा–व्याधि भएकाले सांस्कृतिक गतिविधि, जमघट र जात्रामात्रामा रोक लागे । युगौँदेखि चलिआएका सांस्कृतिक गतिविधिहरू ठप्प भए । यसबाट पलपल कृष्णपक्षको चन्द्रमा जस्तै बन्दै गएको हाम्रा रैथाने संस्कृतिमाथि थप नकारात्मक प्रभाव पार्ने नै भयो । 

रैथाने संस्कृतिमाथि बाहिरी संस्कृतिको प्रभाव भने यथावत नै रह्यो । वाह्य संस्कृति त भूउपग्रहमार्फत्  भित्रिने हो, जुन हिजो पनि भित्रिएकै थियो, आज पनि निर्वाध रूपमा भित्रिरहेको छ । कोरोना हाम्रो मौलिक संस्कृति विस्थापनका लागि अप्रत्यक्ष रूपमा नकारात्मक भूमिका खेल्यो । 

आखिर, हामी धेरै अघिदेखि नै सांस्कृतिक अतिक्रमण शिकार बन्दै आइरहेका छौँ । हाम्रो चिनारीसँग गाँसिएको मौलिक पहिचान पल–पल मेटिँदै गएको छ । तर, हाम्रो रैथाने पहिचान गुम्दै गएकोमा धेरैलाई चासो नभएको लाग्छ । अझ यसो भनौँ:

 बुझ्नेलाई यो कुरा गैह्रो छ 

घरछेउमा पैह्रो छ

यद्यपि, हाम्रो सांस्कृतिक जीवनमा एउटा अनपेक्षित तर रोचक मोडचाहिँ आएको छ । विगतमा भेटघाटमा हात मिलाउने बेसरी मौलाउँदै गएको थियो, जसलाई कोरोनाले क्वाप्पै निलिदियो भन्दा पनि हुन्छ । आजकल हात मिलाउने भन्दा पनि नमस्कार गर्ने पुरानो चलनको पुनरावृत्ति भएको छ । 

भेटघाटमा हात मिलाउने र अङ्कमाल गर्ने चलन भएका विदेशी नेताहरूले समेत आपसी भेटघाटमा टाढैबाट नमस्ते गरेका दृश्य टेलिभिजनका पर्दामा देखिए । पूर्वीय संस्कृतिलाई पश्चिमी गोलार्द्धमा यति मजासँग विस्तार भएको यो दुर्लभ घटना हो ।

....

कोराना महामारीले अरू क्षेत्रलाई जस्तै ‘मौन तर अविच्छिन्न क्रान्ति’ मानिने शिक्षा जगतलाई बेहाल तुल्याइदियो । भोलि देश चलाउनेहरूको भविष्य अन्योलग्रस्त नहोस् भनेर अनलाइन शिक्षाको विकल्प रोजियो, जुन नेपाली समाजका लागि तुलनात्मक रूपमा नयाँ विषय थियो । 

स्वाभाविक थियो, नेपाली समाजमा अनलाइन शिक्षा अपेक्षित रूपमा प्रभावकारी हुन सकेन । ब्रोडब्याण्ड इन्टरनेट, बिजुली, मोबाइल सेट वा ल्यापटपमा पहुँच नहुनु तथा प्राविधिक ज्ञानको कमीले कतिपय विद्यार्थीका अनलाइन सिकाइमा अनगिन्ती अवरोध आए । 

जतिसुकै कडीकडाउन नियम लागू गरे पनि अधिकांश कलेज तथा स्कुलमा ५० प्रतिशतभन्दा कमै विद्यार्थी अनलाइन कक्षमा सहभागी हुन सके । कति ठाउँमा ३० प्रतिशत पनि विद्यार्थी जुट्न सकेनन् । 

अनलाइन शिक्षाबारे अनेकन् तीतामीठा अनुभव सार्वजनिक हुन थाले । यस्तैमा कलेजका अध्यापकहरूले यस्तो पनि अनुभव सुनाए- कतिपय विद्यार्थी त रुखमा चढेरसमेत अनलाइन कक्षा लिएका लिन विवश थिए । यसले हामीकहाँ ज्ञानको भोक र ‘डिजिटल डिभाइड’ बीचको द्वन्द्व चर्कै छ भन्ने प्रष्ट्याउँछ ।


कोरोनाले निम्त्याएको अनलाइन शिक्षाले नेपाली समाजमा विद्यमान डिजिटल डिभाइड, अनलाइन शिक्षाको स्तर तथा इन्टरनेट सेवाको गुणस्तरबारे गहिरिएर सोच्न बाध्य तुल्यायो । यतिमात्र होइन, अनलाइन शिक्षा गुरुजन, विद्यार्थी र अभिभावकका लागि नयाँ पाठ हुन गएको छ । 

....

महामारीले कुनै जातभात र रूपरङ्ग हेर्दैन । कोरोना महमारीले जोकोहीलाई पनि गाँज्न सक्छ । महामारी फैलाउने  भाइरसको वाहक जो पनि हुन सक्छ । तर, कोरोना चीन (वुहान) बाट शुरु भएकोले सङ्क्रामक भाइरसको पहिलो वाहक चिनियाँ नै हुन् भन्ने आमधारणा थियो । 

त्यसैले दुनियाँ चिनियाँहरूप्रति सशङ्कित थियो । यतिञ्जेलसम्म अमेरिका र बेलायतमा पनि चिनियाँ मुलका मानिसहरूप्रति दुर्व्यवहारका घटना भन्ने समाचार आइसकेका थिए । 

सञ्चार माध्यममा कोरोनाबारे अनेकन् समाचार आइरहेका बेला २०७६ साल फागुन २१ गते साथीभाइको एउटा टोलीसँग मिसिएर भारतको बैङ्लोर प्रस्थान गरेका थियौँ । उद्देश्य थियो, सञ्चारसम्बन्धी सम्मेलनमा सहभागी हुने ।  

दिल्ली, कोची हुँदै हाम्रो टोली बैङ्लोर पुगेको थियो । ट्रान्जिट र स्क्रिनिङले यसै पनि दिक्क लगाइसकेको थियो, त्यसमा पनि मेरो रूप–रङ्ग चिनियाँजस्तो भएकाले मलाई धेरैले आशङ्कापूर्ण नजरले थालिसकेका थिए, जुन दिल्ली एयरपोर्टदेखि नै शुरु भयो । 

एयरपोर्टको इन्ट्री, एक्जिट र काउण्टरमा ममाथिको सोधपुछ र निगरानीका दिक्कलाग्दो शृङ्खलाले मलाई पछ्याइरहे । मलाई देखेर मानिसहरू मुख छोपेर तर्किँदै हिँड्न थाले । मेरा सँगैका साथीले जानकारी गराए– तपाईंलाई हेरेर ती मानिसहरू कानेखुसी गर्दैछन्, मुख पनि छोप्दैछन् । 

एयरपोर्टमा ममाथि भएका व्यवहारबाट वाक्कदिक्क भइसकेको थिएँ । चार–पाँच दिनको छोटो बसाइ पनि झर्कोलाग्दो भइसकेको थियो, मेरा लागि । कहिले घर फर्कौ जस्तो भइसकेको थिएँ । अन्ततः एयरपोर्टमा भएका अनेकन् सोधपुछ र निगरानीलाई छिचोल्दै आफ्नै घर फर्कियौँ । बल्ल पो ढुक्क भएँ ।

....

समग्रमा कोरोना महामारीले राम्रै शिक्षा दियो । रोगव्यधिले निर्माण गर्ने मानवीय मनोविज्ञान, सरकारी नीति र स्वास्थ्यसेवाबीच विद्यमान खाडल, शिक्षा प्रणाली र डिजिटल प्रणालीबीचको बेमेल, अर्थतन्त्रलगायत तमाम विषयमा चिन्तन विषय ठाउँ हामी सामु छाडिदिएको छ । यसबाट पाठ सिक्ने ? त्यो हामीमै भर पर्ने कुरा हो । इति शुभम् ।


[मधुपर्क, कत्तिक, २०७८ ]