Thursday, November 24, 2022

फुटबलको इतिहास

 यमबहादुर दुरा

विश्वका बहुसंख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्षस्थ खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास थोरैमा दुई हजारभन्दा लामो देखिन्छ । ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका (Mesoamerica) मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एजटेक्स -Aztecs) ले त्यसप्रकारको खेललाई चिटाली  (Tchatali)  भनी नामकरण गरेका थिए । ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवानको प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवानको नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त सत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि, यसप्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः ईसापूर्व २५०० तथा ईसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ । रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस (Episkyros) र हरपस्टम -Harpastum)  भनी नामकरण गरेका थिए । यसैगरी, अष्ट्रेलियाली आदिवासीहरूले पनि आफ्नै संस्करणका फुटबल खेल्थे, जसलाई मार्न गुक (Marn gook) भनिन्थ्यो । 

सन् १४०८ मा आएपछि मात्र बेलायत राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अंग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ । रोम, युनान तथा अष्ट्रेलियामा प्रचलित फुटबलको आदिम संस्करणबारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरणहरू भने उपलब्ध छैनन् ।

हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु (cuju) नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो । त्यसलाई नै बहुसंख्यक अध्येताले फुटबलको आदिम रूप मानन्छन् । त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँस हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ । यसको गोलाइ ३० देखि ४० सेन्टिमिटर हुन्थ्यो । खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो । यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गरिन्थ्यो । यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ ।

कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी (kemari) जापानमा प्रचलनमा आयो । चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको छ । प्राचीन समयमा जनवारका मूत्राशय (bladder), नरिवालका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुहरूलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ ।


प्राचीन समया फुटबलका असंख्य स्थानीय संस्करणहरू भेटिन्छन् । त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ । कतिपयको भनाइअनुसार एउटै खेलमा १०० भन्दा बढी खेलाडी भिड्थे । खेलमा डण्डाको पनि प्रयोग गरिन्थ्यो । खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो । यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झैझगडा पनि हुन्थे । परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो ।

फुटबलको आदिम संस्करण संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहे पनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ । बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो । त्यस दिन दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ । फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झैझगडा हुने गर्दथे, जसलाई  विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । फुटबल खेलमा हुने हिंसात्मक झैझगडा र दुर्घटनालाई नियन्त्रण गर्न गर्न विभिन्न कानुनी उपायहरू पनि रचिएको पाइन्छ ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७) ले १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध पाइन्छ । यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७) ले सन् १३४९ फुटबलखेलमाथि नै प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ । पछि फुटबल ऐन अन्तर्गत १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो । तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३) ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखेको पाइन्छ । खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा खेल्ने परिपाटी भने कायमै रह्यो । सन् १६०५ आएरमात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ । 

ईश्वीको १९ औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको पाइन्छ । १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो । समयक्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए । सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फुटबल क्लब हो । यस क्लब फुटबल जगतमा गतिलो ब्रान्ड बन्न पुगेको छ । फुटबलसम्बन्धी घटनाक्रम विकास हुँदै जाँदा सन् १९६३ मा लण्डनमा ‘फुटबल असोसिएसन’ भयो । यससँगै फुटबलको स्थानीय नियमहरूलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य शुरु भयो  । 

फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ३० नोभेम्बर १८७२ मा इङल्याण्ड र स्कटल्याण्डबीच भयो । ग्लास्गो शहरको क्वीनन्स पार्क स्टेडियममा सम्पन्न त्यस म्याच बराबरीमा टुङ्गिएको थियो, जुन चार हजार दर्शकले हेरेका थिए भन्ने भनाइ छ । सन् १८८३ मा पहिलो बहुपक्षीय (धेरै टिम प्रतिस्पर्धी रहेको) खेल भएको थियो, जसमा आयरल्याण्ड, इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका टिमले भाग लिएका थिए । 

समयक्रममा फुटबलको विश्व संस्थाको रूपमा १२ मे १९०४ विश्व फुटबल महासङ्घ (फिफा) स्थापना भयो, जसमा शुरुमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र स्विटजरल्याण्डको सहभागिता थियो यसको मुख्यालय स्विटजरल्याण्डको ज्युरिखमा रहेको छ । यसको स्थापना भने फ्रान्सको राजधानी पेरिसमा भएको थियो । 

फिफाको सदस्य राष्ट्रहरूको संख्या १११ छ, जुन संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रभन्दा बढी हो । हालसम्म संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रहरूको संख्या कुल संख्या १९३ मात्र रहेको छ । यो एउटा रोचक पक्ष हो, जसले फुटबलको सर्वव्यापकता र लोकप्रियतालाई उजागर गर्छ । यसले हरेक चार वर्षमा फिफा विश्वकप आयोजना गर्छ । यस वर्ष विश्वकपको बाइसौँ शृङ्खला कतारको राजधानी हुने तरखरमा छ ।

फुटबल दङ्गा

खेलकुदलाई मैत्रीभाव विकास गर्ने कडी मान्ने गरिन्छ । यति हुँदाहुँदै पनि फुटबलको इतिहास यस्ता थुप्रै तीता प्रसङ्गहरू छन्, जसमा कुटपिट, झैझगडा र मृत्युका पीडादायी शृङ्खला भेटिन्छन् । फुटबल म्याचमा पैदा हुने झैझगडा र हुलदङ्गाको अभिलेखीकरण कहिलेदेखि भयो भन्नेबारे कुनै यकिन अभिलेख भेटिँदैन । तर, फुटबलसम्बन्धी हुलदङ्गालाई दर्साउने शब्दावली फुटबल हुलिगनिजम् (football hooliganism) भन्ने शब्दावली ईश्वीको १९ औँ शताब्दीमा आएरमात्र प्रयोगमा आएको पाइन्छ । 

फुटबल म्याचमा सामान्यदेखि हिंस्रक हुलदङ्गाका असंख्य दृष्टान्तहरू छन् । हालै (अक्टोबर, २०२२) मा इन्डोनेशियाको पूर्वी जाभास्थित फुटबल रङ्गशालामा दुई टिमका समर्थकबीच भएको दङ्गा–फसादमा १२५ भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विगतदेखि नै इन्डोनेशिया फुटबलसम्बन्धी दङ्गा–फसादका लागि कुख्यात मानिँदै आएको छ । 

इन्डोनेशिया त एउटा दृष्टान्तमात्र हो, संसारका धेरै भागमा यस्ता दङ्गा–फसाद भइरहन्छ । यसै वर्ष गत जनवरीमा क्यामरुनमा सम्पन्न ‘अफ्रिकन कप अब् नेसन्स’ मा दङ्गा भड्कँदा आठजनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए । सन् २०१२ मा इजिप्टमा आयोजित फुटबल प्रतियोगितमा दङ्गा मच्चिँदा ७३ जनाको ज्यान जानुका साथै एक हजार जति घाइते भएका थिए । सन् २००९ मा आइभोरी कोष्टमा आयोजित म्याचमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको थियो । 

यसैगरी, २००१ मा घानाको राजधानी अक्रास्थित फुटबल रङ्गशालामा दुई विरोधी गुटहरूबीच भैmझगडा हुँदा १२० जनाको ज्यान गएको थियो । सोही वर्ष दक्षिण अफ्रिकी शहर जोहानेसवर्गस्थित एलिस पार्क रङ्गशालामा सञ्चालित फुटबल म्याचमा झगडा मच्चिँदा ४३ जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा आयोजित फुटबल म्याचमा विरोधी गुटहरूबीच कुटपिट हुँदा ८० जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दक्षिण अफ्रिकामा आयोजित फुटबल म्याचमा हमला हमला भएपछि भागदौड चल्दा ४२ जनाको मृत्यु भएको थियो । सन् १९८९ मा बेलायतको हिल्सबोरोह रङ्गशालामा अनपेक्षित भीड बढ्दा मच्चिएको भागदौडमा ९६ जनाको ज्यान गएको थियो । सन् १९८५ मा बेल्जियमको राजधानी ब्रसेल्स आयोजित युरोपिन कपको फाइनलमा हिंसा मच्चिँदा ३९ जनाले ज्यान गुमाएका थिए । 

यहाँ प्रस्तुत गरिएका घटनाहरू फुटबलसम्बन्धी दङ्गा–फसादका केही दृष्टान्तमात्र हुन् । विभिन्न कालखण्डमा विश्वका विभिन्न कुनामा साना–ठूला थुप्रै दङ्गा–फसादका भएका छन् । ती सबै दङ्गा–फसादका न यथार्थ विवरण उपलब्ध छ, न त ती सबैको यकिन विवरण पस्कन नै सम्भव छ । 

फुटबल दुर्घटना

सन् १९९२ मा फ्रान्समा फ्रेञ्च कपको सेमिफाइनल भइरहेको बेला फुरियानी स्टेडियम भत्कँदा १८ जनाको ज्यान जानुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए । सन् १९८५ मा बेलायतको भ्याली परेड रङ्गशालामा फुटबल म्याच चलिरहँदा आगलागी हुन गई ५६ जनाको ज्यान गएको थियो । 

सन् १९८५ मा युरोपियन कप शुरु लागेको बेलामा बेल्जियमको राजधानी ब्रसेल्समा रङ्गशालाको पर्खाल खस्दा १४ इटालेली समर्थकहरूले ज्यान गुमाउनु परेको थियो । बेलायतको ब्राडफोर्ड सिटीमा म्याच चलिरहँदा एकजना फुटबल फ्यानले असावधानीपूर्ण तरिकाले चुरोटको ठूटो फालिदिँदा आगलागी भयो, जसबाट ५६ जनाको मृत्यु भएको थियो ।

फुटबल म्याचसम्बन्धी अनिष्टकारी घटनामा नेपालको पनि हिस्सेदारी रहेको छ । २०४४ साल फागुन २९ गते (मार्च १२, १९८८) काठमाडौँस्थित दशरथ रङ्गशालामा जनकपुर चुरोट कारखाना र छिमेकी मुलुक बङ्गलादेशको मुक्तिजोद्धा क्लबबीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यही समयमा भयानक हावाहुरी तथा असिनापानी आएपछि भागदौड चलेको थियो । सोही क्रममा ९३ जनाले ज्यान गुमाएका थिए । त्यस घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

सन् १९५८ मा म्यान्चेष्टर युनाइटेड युरोपियन युरोपियन कपमा सहभागी भई घर फर्कने क्रममा म्युनिखस्थित एयरपोर्टमा इन्धन भरेर उड्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो । फुटबल खेलका क्रममा भएका यस्ता दुःखददायी दुर्घटना केही उदाहरणमात्र हुन् । फुटबल खेलको इतिहासमा यस्ता दुःखदायी घटनाहरूको सूची लामो छ । 

नेपालमा फुटबल

फुटबल नेपालको रैथाने खेल नभए पनि नेपालमा फुटबलको क्रेज कम छैन । विगतदेखि नै नेपालमा फुटबलप्रेमीहरू भेटिन्छन् । विपन्न गाउँबस्तीमा कलिला बच्चाले भोगटेको डल्ला तथा मोजाको फुटबल खेल्ने चलन नयाँ होइन । नेपालमा भारत हुँदै फुटबल खेल भित्रिएको देखिन्छ । नेपालका राणा शासक र भारतमा शासनरत अंग्रेजबीच राम्रो सम्बन्ध थियो । नेपालका खानदानी वर्गले तिनै अंग्रेजहरूबाट फुटबल सिकेको हुनुपर्छ । 

नेपालमा खेलकुदको व्यवस्थित अभिलेख नभएकाले फुटबललगायतका खेलका इतिहास बहुधा अपूरो र विवादास्पद देखिन्छ । गोविन्द रेग्मीले अन्नपूर्ण पोष्ट (चैत १७, २०७४) मा लेखेअनुसार भारत पढ्न गएका नक्सालका सूर्यजङ्ग थापा र ठमेलका नारायणनरसिंह राणाले वि.सं. १९७० मा नेपालमा फुटबल खेल भित्र्याएको थिए । त्यसो त, गाउँबस्तीमा फुटबल खेल भित्र्याउने कार्यमा लाहुरे समुदायको अपरिमित योगदान छ ।

अनौपचारिक स्रोतका अनुसार सन् १९३४ तिरै नेपालमा महवीर ११, जावलाखेल ११, एनआरटी ११ जस्ता फुटबल क्लबहरूको स्थापना भएका थिए । सन् १९४७ मा पदमशमशेरको आदेशमा मदनशमशेरको अगुवाइमा फुटबल समिति गठन भयो । वि.सं. २०११ सालमा ‘शहीद स्मारक ट्रफी’ स्थापना भएको थियो ।

२००८ साल (सन् १९५१) मा नेपालका फुटबल खेलाडीहरूको छाता सङ्ठन ‘अखिल नेपाल फुटबल सङ्घ’ स्थापना भयो । यसले एशियाली फुटबल महासङ्घ, फिफा तथा दक्षिण एशियाली फुटबल सङ्घबाट क्रमशः सन् १९५४, १९७२ र १९९७ मा मान्यता प्राप्त गरेको थियो । नेपालमा नेपालमा स्थानीय तथा राष्ट्रियस्तरका थुप्रै फुटबल टिम गठन भएका छन् ।

नरशमशेर २०२१ सालमा काठमाडौँ र विराटनगरका खेलाडीलाई समावेश गरी तत्कालीन पाकिस्तानको ढाकामा आगाखाँ वर्ल्ड  कप नेपालको सहभागिता जनाए । आरबी सिंहको कप्तानीमा भएको त्यस खेल नेपाल सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो ।  २०२७ सालमा अच्युतकृष्ण खरेलको कप्तानीमा नेपालमा आगाखाँ वर्ल्ड  कपमा सहभागी भएको थियो । यसपछि नेपालले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ । 

हालका दिनमा कभर्ड हलभित्र खेलिने फुटबलको अर्काे संस्करण फुटसल शौखिन खेलाडीहरूबीच निकै लोकप्रिय बन्दै गएको छ । यी विवरण त नेपाली नेपाली फुटबलको संक्षिप्त इतिहासमात्र हो । यसको इतिहास विस्तृत र यथार्थ इतिहास लेखिन बाँकी नै छ ।

फुटबलको विकासक्रमको समयरेखा

ईपू दोस्रो वा तेस्रो शताब्दी : चिनियाँ सेनाद्वारा फुटबलको आदिम रूप आविष्कार

१४२४ः स्कटल्याण्डका राजा जेम्स प्रथमद्वारा फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८६३ः बेलायतमा फुटबल असोसिएसन गठन ।

१८६४ः हातले छोएमा ह्याण्ड हुने व्यवस्था ।

१८७०ः एक टिममा ११ खेलाडी हुनुपर्ने नियम ।

१८७४ः गोल किक र कर्नर किकको नियम ।

१८७५ः पहिलो पटक गोल पोष्टको व्यवस्था ।

१८७७ः फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८७८ः रेफ्रीद्वारा पहिलो पटक सिटीको प्रयोग 

१८८६ः अफसाइडसम्बन्धी नियममा परिवर्तन

१८८८ः फुटबल लिग गठन ।

१८८८ः पेनाल्टी किकको व्यवस्था ।

१८९५ः महिलाको पहिलो फुटबल प्रतियोगिता ।

१८९१ः लाइनम्यानको व्यवस्था ।

१८९२ः गोलपोष्टमा जाली राख्नुपर्ने नियम लागू ।

१९००ः पहिलो पटक फुटबललाई ओलम्पिक खेलमा सामेल (फ्रान्स, पेरिस) ।

१९०९ः गोलकिपरलाई बेग्लै रङको पोशाक  हुनुपर्ने नियम 

१९३०ः पहिलो पटक फिफा विश्वकप (उरुग्गेको राजधानी मन्टिभिडियो) । 

१९३९ः खेलाडीले नम्बरयुक्त जर्सी लगाउनुपर्ने नियम लागू ।

१९५४ः एशियाली फुटबल महासङ्घ (एफसी) को स्थापना ।

१९६०ः प्रथम युरोपियन च्याम्पियसिप (युरोपिन नेसन्स कप)

१९६६ः फिफा विश्वकपमा पहिलो पटक शुभसङ्केत जनाउने चिह्न (mascot) प्रयोग ।

१९७०ः फिफा विश्वकपमा रातो तथा पहेँलो कार्डको व्यवस्था ।

१९९१ः महिला विश्वकपको प्रारम्भ

(स्रोतः फिफा, फुटबल स्टेडियम्स, टपइण्ड स्पोर्टस् तथा प्लेयर अन साइट ।)

[युवामञ्च । मङ्सिर २०७९ । 'जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो' शीर्षकमा प्रकाशित । परिमार्जित संस्करण । ]

Friday, November 11, 2022

राजनीतिक दलका घोषणापत्रमा अल्पसंख्यकका अनुहार

 –यमबहादुर दुरा

अंग्रेजी शब्द ‘माइनरिटी’ को नेपाली समकक्षीका रूपमा ‘अल्पसंख्यक’ शब्दलाई लिने गरिन्छ । ‘अल्पसंख्यक’ अल्पतासूचक शब्द भए पनि यसले विविधतापूर्ण व्यापक समूहलाई इङ्गित गर्छ । यसभित्र ‘अल्पसंख्यक’ पहिचानयुक्त असंख्य समूह र समुदाय पर्न आउँछन् । अनलाइन विश्वकोश ‘ब्रिटानिका’ का अनुसार सांस्कृतिक, जातीय तथा नश्लीय रूपमा भिन्न समूह नै अल्पसंख्यक हो, जो अधिक प्रभावशाली समूहको अधिनस्थ हुन पुगेका हुन्छन् । 

कोसोभामा अल्पसंख्यकहरूका पक्षमा कार्यरत संस्था ‘युरोपियन सेन्टर फर माइरिटी इस्सुज कोसोभो’ ले सांस्कृतिक, जातीय, धार्मिक तथा भाषिक दृष्टिले सानो संख्यामा रहेका समूहलाई नै अल्पसंख्यक भनी परिभाषित गरेको छ । संस्थाका अनुसार अल्पसंख्यक स्वयम्ले आफूलाई अल्पसंख्यक भनी परिभाषित गर्न पनि सक्छन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले कुनै भूगोल (टेरिटरी) वा राज्य (स्टेट) मा आधाभन्दा कम जनसंख्या भएका जातीय, धार्मिक वा भाषिक समूहलाई अल्पसंख्यक भनी परिभाषित गरेको पाइन्छ । युएनएचसीआरका अनुसार कुनै पनि व्यक्ति नागरिकता, आवास, आधिकारिक मान्यता वा कुनै हैसियतबिना नै स्वतन्त्र किसिमले जातीय, धार्मिक वा भाषिक अल्पसंख्यक हुनसक्छ ।

अल्पसंख्यकहरूका पहिचानलाई राष्ट्रिय कानुनले मान्यता दिनुपर्छ र यस क्रममा अल्पसंख्यकसम्बन्धी अन्तर्राष्ट्रिय बाध्यकारी कानुनलाई पनि आत्मासात गर्नुपर्छ । अल्पसंख्यकहरूका अधिकारका पक्षमा ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६’ तथा ‘राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसंख्यकसँग सम्बन्धित व्यक्तिहरूका अधिकारसम्बन्धी घोषणापत्र, १९९२’ उभिएका छन् । यसबाहेक संयुक्त राष्ट्रसङ्घ तथा युरोपेली सङ्घका विभिन्न संयन्त्रहरूले अल्पसंख्यकहरूका अधिकारका पक्षमा बहस–पैरवी गरेको पाइन्छ ।

नेपालको तस्बिर

अल्पसंख्यक हुनका लागि कुनै भूगोल वा राज्यमा आधा (५० प्रतिशत) भन्दा कम जनसंख्या हुनुपर्ने भनी युनएससीएचआरले दिएको परिभाषा नेपालमा सान्दर्भिक हुने देखिँदैन । जातीय दृष्टिले नेपालमा कुनै पनि जाति बहुसंख्यक देखिँदैन । राष्ट्रिय जनगणना (२०६८) मा उल्लेख भएअनुसार नेपालका जातिहरूमा सबैभन्दा धेरै जनसंख्या भएको भनिएको क्षेत्रीको संख्या कुल जनसंख्याको १६.५९ प्रतिशत छ ।



धार्मिक पन्थका दृष्टिले नेपालमा हिन्दू धर्मबाहेक अरू सबै धर्म अल्पसंख्यक देखिन्छ । राष्ट्रिय जनगणना (२०६८) लाई आधार मान्दा नेपालमा हिन्दूहरूको संख्या ८१.३ प्रतिशत छ भने बौद्धमार्गी ९ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, किराँत ३ प्रतिशत र क्रिस्चियन १.४ प्रतिशत र अन्य ०.९ प्रतिशत छन् ।

नेपालमा बोलिने भाषालाई भाषा परिवारको बृहत्तर छानोमुनि राखेर हेर्दा भारोपेली ८२.२ प्रतिशत, भोटबर्मेली १७.३१ प्रतिशत, अष्ट्रोएशियाटिक ०.१९ प्रतिशत, द्रबिडेली ०.१३ प्रतिशत र अन्य पहिचान नखुलेका भाषा ०.२७ प्रतिशत रहेका छन् । यी आँकडा त एक दशक अघिको धुमिल भाषिक तस्बिर हुन् । नेपालमा प्रचलित रैथाने भाषाहरूको अवस्था पहिल्याउन थप गहन र सूक्ष्मतम् अध्ययनको खाँचो छ । 

नेपालमा अल्पसंख्यकहरूको सही पहिचान र वर्गीकरण हुन बाँकी नै छ । पूर्ववर्णित नेपालका जातीय, धार्मिक तथा भाषिक समूहबाट देशको वास्तविकताअनुरूप अल्पसंख्यकका अनेकन् आयाम र पाटो पहिल्याउनुपर्ने हुन्छ । यसका लागि राज्यस्तरबाटै गहन अध्ययन र विश्लेषण आवश्यक छ ।

सम्वैधानिक व्यवस्था

नेपालको संविधान, २०७२ को धारा ४३ मा सामाजिक सुरक्षाको हकअन्तर्गत आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ  गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख छ ।

यसैगरी, धारा ५१ (९) मा अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान कायम राखी सामाजिक र सांस्कृतिक अधिकार प्रयोगको अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने भनिएको छ । यद्यपि, अल्पसंख्यक भनेको को हुन् भनी नखुट्याई व्यापक दायरामा अभिव्यक्त यसप्रकारको सम्वैधानिक प्रावधान एकप्रकारले अधुरो देखिन्छ ।

नेपालमा ‘अल्पसंख्यक’ बारे राजनीतिक वृत्त तथा नागरिकस्तरमा बरोबर चर्चा भइरहे पनि यसलाई राज्यस्तरबाट कुनै ठोस रूपमा परिभाषित गरेको पाइँदैन । नेपाल सरकारले केही आदिवासी जनजातिहरूलाई सीमान्तकृत, अति सीमान्तकृत तथा सङ्कटापन्न भनी वर्गीकरण गरेको पाइन्छ । 

यतिले मात्र पुग्ने देखिँदैन । अब, सीमान्तकृत, अति सीमान्तकृत र सङ्कटापन्नका वर्गीकरणभित्र ‘अल्पसंख्यक’ को पनि पहिचान र स्थान कहाँ छ भनेर खोज्नुपर्ने बेला आएको छ । यससँगै ‘अल्पसंख्यक’ को वर्गीकरण गरी कानुनी परिभाषाको दायरामा समाविष्ट गर्नुपर्ने देखिन्छ, जुन लोकतान्त्रिक मर्म र धर्मभित्रै पर्छ ।

राजनीतिक दलको मनोभाव

सत्ता र शक्तिको अभ्यासमा चालक शक्ति मानिएका राजनीतिक दलहरू पनि अल्पसंख्यकका चासो र सरोकारलाई कसरी बुझेका छन् ? उनीहरूका जल्दाबल्दा मामिलाहरू आफ्ना नीति र कार्यक्रममा कसरी चित्रण गरेका छन् ? यिनै प्रश्नका उत्तर खोज्न २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा केही राजनीतिक दलले जारी गरेका घोषणापत्रमा सरसर्ती अध्ययन गरिएको थियो । 

नेपाल समाजवादी पार्टीले आफ्नो घोषणापत्रमा अल्पमत, अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समूहलाई आफ्नो दल, संघीय तथा प्रदेश सरकार एवम् राज्यका संयन्त्रमामा समावेश गरिने उल्लेख गरेको छ । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा अल्पसंख्यक शब्दको प्रयोग नगरी सबै जाति, भाषा, लिङ्ग, वर्ग, क्षेत्र र समुदायलाई समान पहुँचको व्यवस्था गर्ने जनाएको छ ।

यसैगरी, नेकपा एमालेले सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गरेर ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता उल्लेख गरेको छ । 

नेकपा समाजवादीको घोषणापत्रमा लैङ्गिक अल्पसंख्यक समुदायको हकहितबारे काम गर्ने कुरा उल्लिखित छ । उसले आपाङ्गता भएका व्यक्तिहरूका पक्षमा नारा नै तयार पारेको छ, जुन यसप्रकार छ : ‘आपाङ्गता मैत्री गाउँ शहर, हाम्रो रहर’ । यति हुँदाहुँदै पनि नेकपा समाजवादी जातीय, भाषिक एवम् धार्मिक अल्पसंख्यकहरूका मामिलामा मौन रहेको छ । 

नेकपा माओवादी केन्द्रको घोषणापत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारलाई बेग्लै खण्डमा राखेर चर्चा गरिएको छ । घोषणापात्र नागरिकका अधिकारबारे विपुल चर्चा गरिए पनि जातीय, भाषिक एवम् धार्मिक अल्पसंख्यकहरू कुनै चर्चा भएको पाइँदैन । उनीहरूका अधिकारबारे सूक्ष्मतम् विश्लेषण र मार्गचित्र भेटिँदैन । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घोषणापत्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक, असाहय, अशक्त, आपङ्गता भएका व्यक्ति, उत्पीडित तथा सीमान्तकृत समुदायका लागि सामाजिक सुरक्षाको सुनिश्चितता हुने चर्चा गरिएको छ । राप्रपाले पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यकबारे बोले पनि अन्य अल्पसंख्यकबारे केही पनि बोलेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा प्रत्यक्ष, समावेशी र सहभागितामूलक लोकतन्त्रलाई जोड दिइने कुरा उल्लिखित छ । अल्पसंख्यकबारे स्पष्ट तवरमा केही नबोली फराकिलो दायरामा बोलिएको यस बोलीमा अल्पसंख्यक पनि पर्छन् भन्ने अनुमानमात्र गर्न सकिन्छ । 

जनता समाजवादी पार्टी (जसपा) ले अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई एउटा बेग्लै शीर्षकअन्तरगत राखेर व्याख्या गरेको छ । उनीहरूको बेग्लै धार्मिक, सांस्कृतिक एवम् लैङ्गिक पहिचानलाई संरक्षण गर्ने दिशामा प्रयत्नरत रहने उल्लिखित छ । तुलनात्मक दृष्टिले जसपाले अल्पसंख्यकका बारेमा बढी स्पष्ट तरिकाले प्रकाश पारेको देखिन्छ ।

नेकपा एमाले (गण्डकी प्रदेश) द्वारा जारी घोषणापत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था गरिने उल्लिखित छ । तर, यस घोषणापत्रमा पनि अल्पसंख्यकबारे स्पष्ट रूपमा केही पनि बोलिएको छैन ।

अध्ययन गरिएका दलमध्ये केहीले देशका जल्दाबल्दा मामिलाहरूबारे कुरा उठाए पनि अल्पसंख्यकबारे मौन रहेको पाइयो । उदाहरणका लागि विवेकशील साझा पार्टी र नेपाल मजदूर किसान पार्टीले आफ्ना घोषणापत्रमा अल्पसंख्यकबारे कुनै चर्चा नै गरेका पाइएन । यी दलले देशका ठूला विषयमा चर्चा गर्दा अल्पसंख्यकका सूक्ष्म तथा गम्भीर विषयमा बोल्न भुलेको देखिन्छ ।

अब, अल्पसंख्यकबारे आफ्नो घोषणापत्रमा मुखर रहेका राजनीतिक दलका असली रूप हेर्न बाँकी छ । भोलि सत्तासीन भएपछि अल्पसंख्यकका चासो र सरोकारलाई व्यावहारिक जामा पहि¥याएसम्म अघि गरिएका सारा बाचाबन्धन निर्जीव अक्षरमात्र हुन पुग्छ । 

अर्को शब्दमा भन्दा निर्वाचनपछि सत्तासीन हुने सरकारले आफ्ना चुनावी घोषणापत्रलाई चट्टानी प्रतिबद्धताका साथ कार्यान्वयन नगरेसम्म घोषणपत्रका हरफहरू ‘सार्वजनिक खपत’ का लागि अघि सारिएका गुलिया कार्यसूचीमात्र हुन पुग्छन् । सत्तासीन दलले अल्पसंख्यकका चासो र सरोकारलाई सूक्ष्मतम् तथा गम्भीरतम् किसिमले विश्लेषण गरेर व्यवहारमा कार्यान्वयन गरेमा मात्र लक्षित समुदायको मनमा आशाको अरुणोदय हुन सक्छ । 

राज्यको दायित्व

‘राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसंख्यकसँग सम्बन्धित व्यक्तिहरूका अधिकारसम्बन्धी घोषणापत्र, १९९२’ ले अल्पसंख्यकका अधिकारबारे राज्यलाई जिम्मेवार तुल्याएको छ । घोषणापत्रको धारा १ ले अल्पसंख्यकहरूको पहिचान राज्यले जोगाउनुपर्छ र यसका लागि आवश्यक कानुन पनि निर्माण गर्नुपर्छ भनिएको छ । 

नेपालको संविधानले अल्पसंख्यकका अधिकारबारे बोले पनि अल्पसंख्यक को हुन् भन्ने नखुलेकाले कार्यान्वयनमा अलमल छ । छिमेकी मुलुक भारतको संविधान (धारा ३०) ले अल्पसंख्यकहरूबारे प्रष्ट बोलेको छ । यसले अल्पसंख्यकका अधिकारका रक्षाका आवश्यक कानुन बनाउनुपर्ने जिम्मेवारी राज्यको काँधमा सुम्पिएको छ ।

नेपालको संविधानको ५६ (५) मा भनिएको छ —‘संघीय कानून बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ’ । यस सम्वैधानिक प्रावधानलाई अल्पसंख्यक जाति वा समुदायको हितका लागि उपयोग गर्न सकिन्छ । नयाँ संविधान घोषणा भएपछि सत्तासीन भएका प्रत्येक ‘पपुलिष्ट’ सरकार यस विषयमा उदासीन देखिएको छ ।

‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को धारा २७ ले अल्पसंख्यक समुदायको सांस्कृतिक अधिकार रक्षा गर्न राज्यपक्षले आवश्यक व्यवस्था मिलाउनुपर्ने पक्षमा बोलेको छ । यही अभिसन्धिको वैकल्पिक प्रलेख भाग २, दफा २ (१) ले राज्यपक्षले सबै जाति, समुदाय र वर्गका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने प्रावधानबारे पनि स्पष्ट पारेको छ । स्मरणीय छ, ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को नेपाल २०४८ सालमै पक्षराष्ट्र बनिसकेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले अल्पसंख्यकका पक्षमा काम गर्नुपर्ने नैतिक तथा कानुनी ‘म्यान्डेट’ दिएकामा पनि सरकारले अल्पसंख्यकका पक्षका कुन हदसम्मको जनपक्षीय काम ग¥यो भन्नेबारे निर्मम तरिकाले सामाजिक तथा राजनीतिक ‘अडिट’ हुनुपर्ने देखिन्छ । 

अल्पसंख्यकहरूका मामिला समावेशितासँग पनि जोडिएको हुन्छ । विडम्बनावश, समावेशिताका नाममा राज्य संयन्त्रबाटै षडयन्त्र भएको दृष्टान्त छ । २०७६ साल जेठ १५ गते स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी माग भयो । त्यसबेला नियतवश् नै संविधानको मर्मविपरीत ठूलो संख्यामा आरक्षित सिट घटाइयो । यस कुकृत्यलाई न्यायालयबाट समेत मोहोर लागेको तीतो अनुभव छ ।

कतिपय कारणले अल्पसंख्यकका चासो र सरोकार सार्वजनिक वृत्तमा कार्यसूचीका रूपमा आउँदैनन् । बहुधा आवाजविहीन भएकाले उनीहरूका आवाज हत्तपत्त नसुनिने अवस्था छ । यी तमाम पीडादायी कुचक्रलाई तोडी अल्पसंख्यक समूहलाई देशको मूलप्रवाहमा ल्याउन आवश्यक छ । यस भावनालाई मूर्त रूप दिन अल्पसंख्यकका नीतिगत र कानुनी पक्षमा राज्यबाट विवेकपूर्ण र उदारमना व्यवहार प्रदर्शन हुन आवश्यक छ ।

[हिमालखबर । २०७९ साल कात्तिक २४ गते ।]


Tuesday, September 27, 2022

खुला विश्वविद्यालय विकिपिडिया

 सन् २०१० मा विश्वविख्यात विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ ले आफ्नो २ सय ४४ वर्ष लामो इतिहासलाई विराम लगाउँदै  प्रिन्ट संस्करण बन्द गर्‍यो । यद्यपि, यसको अनलाइन संस्करणको प्रकाशन भने जारी छ ।  विश्वभर ज्ञानगुनको एउटा महत्त्वपूर्ण स्रोत मानिने ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को प्रिन्ट संस्करण बन्द भएको घटनाले विश्वका प्रमुख समाचारपत्रहरूमा शीर्षस्थान पाए । विश्वभर ख्याति कमाएको विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ ले एकाएक आफ्नो प्रिन्ट संस्करण किन बन्द गर्‍यो ? यसका कारणहरू के थिए ? धेरैका मनमा जिज्ञासा उठ्नु स्वाभाविक हो । 

‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को प्रिन्ट संस्करण अन्त्य हुनुको कारण खोज्दै जाँदा केही स्पष्ट कारणहरू भेटिन्छन् । अनलाइनमा निःशुल्क र छिटो–छरितो किसिमले ज्ञानगुनका कुरा पाउन थालेपछि पैसा तिरेर मोटा मोटा विश्वकोश पढ्न आवश्यक भएन । त्यसमा पनि, सन् २००० पछि इन्टरनेटसमेत प्रयोग गर्न सकिने स्मार्ट फोन उपलब्ध हुन थालेपछि अनलाइनमा ज्ञानगुनका कुरा अझ सजिलो गरी उपलब्ध हुन थाल्यो । 

सन् २००१ मा सूचनाको खुल्ला स्रोत (open source) मा आधारित निःशुल्क अनलाइन विश्वकोश ‘विकिपिडिया’ शुरु भए पछि त ज्ञान उत्पादन, प्रयोग र विस्तारमा क्रान्ति नै आयो । ज्ञान उत्पादन र वितरण प्रणालीमा आएको यसप्रकारको अकल्पनीय परिवर्तनले विश्वविख्यात विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ आफ्नो प्रिन्ट संस्करण बन्द गर्न बाध्य भयो ।

ज्ञानगुनको क्षेत्रमा सम्राट मानिएको ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ लाई पल्टाएर ‘विकिपिडिया’ एउटा अर्को दरिलो ज्ञान स्तम्भका रूपमा उभिन थाल्यो । विश्वभर तहल्का मच्चाउन सफल ‘विकिपिडिया’ को शब्द व्युत्पत्ति खोतल्ने हो भने यो दुई शब्द मिलेर बनेको छ— ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ अमेरिकाको हवाइ टापूमा बोलिने हवाइयन भाषाबाट लिएको हो, जसको अर्थ हुन्छ—छिटो । ‘पिडिया’ चाहिँ ‘इन्साइक्लोपिडिया’ संक्षिप्त रूप हो । यस आधारमा ‘विकिपिडिया’ छिटो–छरितो किसिमले उपलब्ध हुने विश्वकोश (ज्ञानसागर) बनेर बुझ्न सकिन्छ । 


हुन पनि, विश्वका ठूला ठूला पुस्तकालायमा भीमकाय पुस्तकका ठेलीमा रहने विश्वकोश अहिले मानिसको हात हातमा सहजै उपलब्ध छ । यतिबेला ज्ञान पाउन न पुस्तकालय पुग्न पुस्तक पसल चाहर्नुपर्छ, न त पुस्तक पसल नै पुग्नुपर्छ । ज्ञान उत्पादन र उपयोगमा यस्तो सहज अवस्था आउनुमा ‘विकिपिडिया’ को अतुलनीय भुमिका छ । 

अमेरिकी अखबार ‘द स्याटर्डे इभिनिङ पोष्ट’ (अगष्ट १५, २०१७) मा ‘द डेथ अब् इन्साइक्लोपिडिया’ शीर्षकमा प्रकाशित एक लेखमा प्रिन्ट संस्करण आउने अमेरिकी विश्वकोश ‘वर्ल्ड  बुक’ र  अनलाइन विश्वकोशबीच तुलना गरिएको छ । 

त्यस अखबारका अनुसार विश्वकोश ‘वर्ल्ड  बुक’ को  नवीनतम् संस्करणमा जम्मा १७ हजार लेख छन् भने अनलाइन विश्वकोशमा ५० लाख लेख अटाएका छन् । यी दुईबीच कुनै तुलना हुनसक्ने अवस्था नै छैन । विषयवस्तुको निरन्तर समृद्धीकरण र गतिशीलताका दृष्टिले अनलाइन विश्वकोश कता हो कता अगाडि छ । 

इतिहास

समयकले कोल्टो फेर्दै जाँदा हार्ड कपीमा मात्र उपलब्ध विश्वकोश (encyclopedia)  लाई सफ्ट कपीमा पनि पढ्ने चाहना पाठकमा मनमा पलाउन थाल्यो, जुन कल्पनाशील पाठकका लागि अस्वाभाविक थिएन । यसलाई दृष्टिगत गर्दै माइक्रोसफ्ट कम्पनीले सन् १९९३ मा सीडीमार्फत्  ‘इन्कार्टा’ नामक डिजिटल विश्वकोश लञ्च ग¥यो, जसलाई कम्प्युटरमा पढ्न सकिन्थ्यो । त्यसपछि डीभीडीमा पनि विश्वकोश हेर्न तथा पढ्न सकिने अवस्था आयो । समयको अनन्त प्रवाहसँगै यसलाई अझ परिष्कृत र पाठकमैत्री बनाउने प्रयासहरू विभिन्न व्यक्ति तथा संस्थाहरूबाट हुँदै गए । 

यस क्रममा इन्टरनेट उद्यमी जिमी वेल्सले अमेरिकाको क्यालिफोर्नियामा वेब पोर्टल कम्पनी खोले । अनलाइन विश्वकोश ‘ब्रिटानिका’ का अनुसार उनले सन् २००० मा ‘नुपिडिया’ नामक नामक अनलाइन विश्वकोश स्थापना गरे । यसका सम्पादक इन्टर परियोजना डिभलपर ल्यारी स्याङगर थिए । ‘नुपिडिया’ को विधि र प्रक्रिया परम्परागत विश्वकोशजस्तै थियो । अर्थात् ‘नुपिडिया’ जानकारी सङ्कलन, प्रशोधन र सम्पादनको एउटा लम्बेतान प्रक्रियाबाट गुज्रनुपर्दथ्यो । यसलाई छिटो छरितो बनाउने अभिप्रायले यसका सम्पादक ल्यारी स्याङगर सूचनाको खुल्ला स्रोतमा आधारित विश्वकोश बनाउनुपर्ने पक्षमा उभिए । यसअनुरूप सन् २००१ जनवरी १५ मा ‘नुपिडिया’ को सहायक साइटको रूपमा ‘विकिपिडिया’ शुरु गरियो । 

‘नुपिडिया’ को सल्लाहकार बोर्डले यसलाई ‘नुपिडिया’ को सहायक साइटको रूपमा नभई बेग्लै साइटकको रूपमा राख्न दबाब दिएकाले केही दिनपछि ‘विकिपिडिया’ लाई एउटा स्वतन्त्र अस्तित्व भएको अनलाइन विश्वकोशको रूपमा सञ्चालन गर्न थालियो । 

छोटो समयमै ‘विकिपिडिया’ को लोकप्रियता बढ्न थालेपछि सन् २००३ मा आएर ‘नुपिडिया’ लाई बन्द गरियो । त्यसमा भएका सामग्रीलाई ‘विकिपिडिया’ मा स्थानान्तरण गरियो । ‘विकिपिडिया’ ले दुनियाँको पठन संस्कृति र ज्ञान उत्पादनको प्रक्रियामा आमूल परिवर्तन ल्याइदिएको छ । अहिले गैरनाफामूलक संस्था ‘विकिमिडिया फाउन्डेसन’ ले ‘विकिपिडिया’ को सञ्चालन र व्यवस्थापनको अभिभारा बोकेको छ ।

ज्ञानको लोकतान्त्रिकीकरण

जर्मनीको अन्तर्राष्ट्रिय प्रसारण संस्था ‘डचे बेले’ ले पसारण गरेको वृत्तचित्र (जुन १, २०२२) का अनुसार ‘विकिपिडिया’ मा विश्वका ३ सयभन्दा बढी भाषामा ५० लाखभन्दा बढी सामग्रीहरू छन्, जुन ज्ञानको अथाह भण्डार हो । यसको दायरा आयातन समयक्रमसँगै बढ्दै गएको छ ।  इन्टरनेटमा पहुँच भएका जोकोहीले यसप्रकारको अथाह ज्ञानकुञ्चमा सहजै पहुँच पाउँछन् । 

विगतमा यस्तो सुनौलो अवसर उपलब्ध थिएन । छापिएर आउने विश्वकोशमा सर्वसाधारणको सहज पहुँच थिएन । मूलतः दुई कारणले पहुँच थिएन । एक, विगतमा धेरै मानिस शिक्षित थिएनन् । दुई, किनेर वा पुस्तकालय धाएरमात्र विश्वकोश पढ्न पाइन्थ्यो, जुन धेरैका लागि सहज थिएन । यस दृष्टिले विगतमा शास्त्रको ज्ञान ठूलाठूला धर्मगुरु, चिन्तक, प्राध्यापकजस्ता सम्भ्रान्त वर्गको पेवा जस्तै थियो । 

ज्ञानलाई सीमित व्यक्ति व वर्गको घेराबाट बाहिर निकालेर सर्वसाधारणको पहुँचमा पुर्‍याउने काम ‘विकिपिडिया’ तथा अन्य अनलाइन प्ल्याटफर्महरूले गरे ।  ‘विकिपिडिया’ ले अनेकन् महङ्गा पुस्तक खरिद नगरिकनै तथा नामुद पुस्तकालय नचाहरिकनै ज्ञानका असंख्य विधामा पहुँच बढाउन सकिने अवसर निम्त्याइदिएको छ । यसले झुपडीमा बस्ने सर्वसाधारणदेखि गगनचुम्बी महलमा बस्ने सम्भ्रान्त वर्गका मानिसका लागि ज्ञानमा समान पहुँच बढाउन सहयोग गरेको छ । यो कुनै चानचुने उपलब्धि होइन । 

अहिले विश्वभर साक्षरता दर बढ्दै पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यु’ को नवीनतम् आँकडाअनुसार विश्वका ८६ प्रतिशत वासिन्दा साक्षर छन् । विश्वको साक्षरता दर उकालो लागेसँगै ज्ञान आर्जनमा मात्रै होइन, ज्ञान उत्पादनमा पनि सर्वसाधारणको सहभागिता बढ्दै गएको छ । 

ज्ञान उत्पादनको अभियानमा ‘विकिपिडिया’ एउटा गजबको थलो बन्न पुगेको छ । संसारभरका स्वयम्सेवकहरूले ‘विकिपिडिया’ मा सामग्री अपलोड तथा सम्पादन गर्न सक्छन् । ज्ञान उत्पादनमा आएको यसप्रकारको उदारतापूर्ण खुल्लापन विश्व समुदायका लागि एउटा अभूतपूर्व र सुन्दर उपहार हो । ‘विकिपिडिया’ खुल्ला विश्वविद्यालय बन्न पुगेको छ । यसबाट ज्ञानको लोकतान्त्रिकीरणमा सहयोग पुगेको छ, जुन प्रकारान्तरले विश्वको राजनीतिक परिपाटीको लोकतान्त्रिकीरणतर्फको कदम पनि हुन गएको छ । 

सम्पादनको अनन्त शृङ्खला

‘विकिपिडिया’ को सामग्री विश्वभर छरिएर रहेका स्वयम्सेवीहरू स्वस्फूर्त  किसिमले सम्पादन गर्छन् । 'विकिपिडिया  को मातृसंस्था ‘विकिपिडिया फाउन्डेसन’ का पूर्व कार्यकारी अधिकृत काथरी महरले ‘टेड टक्स’ (जुन २८, २०२२) मार्फत् दिएको प्रवचनका अनुसार ‘विकिपिडिया’ मा प्रतिमिनेट तीन सय ५० पटक सम्पादन हुन्छन् । यसको अर्थ हो, ‘विकिपिडिया’ मा एउटा विषयमा धेरै वादविवाद, तर्क–वितर्क र परिमार्जन भइरहन्छ । सोहीअनुसार ‘विकिपिडिया’ का सामग्रीहरू परिमार्जन भइरहन्छन् । सम्पादनको अविरल शृङ्खलाको माध्यमबाट ‘विकिपिडिया’ ले सत्य र विश्वास बीच सन्तुलन कायम गर्ने हरदम प्रयास गर्छ । यसैगरी, यसले धारणा (perception)  र वास्तविकता (reality)  बीच समविन्दु कायम गर्ने प्रयास पनि निरन्तर गरिरहन्छ । 

‘विकिपिडिया’ मा जोकोहीले संसारको जुनसुकै कुनाबाट सामग्री अपलोड तथा सम्पादन गर्न सक्छ । यसप्रकार खुल्ला परिपाटी नै ‘विकिपिडिया’ को सबल र दुर्बल पक्ष मानिन्छ । जोकोहीले ज्ञान उत्पादन र परिमार्जनमा सामूहिक योगदान दिन सक्ने भएको छ । यसलाई ‘विकिपिडिया’ को एउटा कोणबाट सबल मानिएको छ । तर, ‘विकिपिडिया’ मा जसले पनि लेख्न सक्ने भएकाले खुल्ला स्रोतबाट उत्पादित ज्ञानको गुणस्तर के हुने भन्नेबारे विश्वव्यापी रूपमै शङ्का–उपशङ्का उब्जिएको उब्जियै छ, जुन ‘विकिपिडिया’ को दुर्बल पक्ष मानिएको छ ।

‘विकिपिडिया’ मा विद्यमान सामग्री सम्पादन कार्यमा जुनसुकै व्यक्तिले हात हाल्न सक्ने भएकाले यसमा गलत आशययुक्त व्यक्तिहरूले चलखेल गर्न सक्छन् । उनीहरूले अनुचित तरिकाले जानकारी हटाउने र दुराशयपूर्ण महत्त्वपूर्ण सूचना फेरबदल गर्ने सम्भावना रहन्छ । 

यस्तो कार्यलाई बुझाउन अंग्रेजीमा भ्यान्डलिजम् (vandalism)  भन्ने शब्द प्रयोग गर्न थालिएको छ । कुनै सामग्रीमा भ्यान्डलिजम् भए–नभएको तथ्य ‘विकिपिडिया’ का सम्पादकले भन्दा पनि स्वचालित कम्प्युटर रोबोट ‘विकिपिडिया बट्स’ ले पत्ता लगाउँछन् । 

कुनै सम्वेदनशील विषयमा तिक्ततापूर्ण वादविवाद, कटुआलोचना तथा प्रत्यालोचना भएमा त्यस्ता सामग्रीलाई केही समय सम्पादन गर्न नमिल्ने गरी जाम गर्ने सम्पादकीय नीति ‘विकिपिडिया’ ले लिएको छ । आफ्ना सामग्रीका कारण वैरभावपूर्ण स्थिति उत्पन्न नहोस् भन्नका लागि ‘विकिपिडिया’ ले कुनै पनि विषयमा तटस्थ दृष्टिकोण राख्ने, अपलोड गरिएका सामग्री परीक्षणयोग्य हुनुपर्ने तथा स्रोतविनाको सामग्री प्रयोग नगर्ने नीति अपनाएको छ, जुन ‘विकिपिडिया’ को मूल मन्त्रको अपनाएको छ । 

विकिपिडिया पुस्तकालय

हरेक विधामा कुस्त प्रमाण जुटाएर त्यसलाई विश्वासिलो बनाएर प्रस्तुत गर्न विश्वकोशलाई व्यापकस्तरमा भरपर्दा सन्दर्भ सामग्री आवश्यक पर्छ । यही प्रयोजनका लागि ‘विकिपिडिया’ ले आफ्ना सम्पादकहरूका लागि भर्चुअल पुस्तकालयको व्यवस्था गरिदिएको छ, जसलाई ‘विकिपिडिया पुस्तकालय’ भनिन्छ । 

‘विकिपिडिया पुस्तकालय’ मा ठूलो मात्रामा डिजिटल प्रकाशनहरू उपलब्ध छन्, जसलाई ‘विकिपिडिया’ का सम्पादकहरूले सन्दर्भ सामग्रीका रूपमा भरपूर उपयोग गर्न सक्छन् । ६० भन्दा बढी पुस्तक प्रकाशकहरूले ‘विकिपिडिया पुस्तकालय’ लाई सन्दर्भ सामग्री उपलब्ध गराउनेबारे साभेदारी शुरु गरिसकेको छ । 

विकिपिडिया परिवार

अहिले ‘विकिपिडिया’ को सञ्चालक संस्था ‘विकिमिडिया फाउन्डेसन’ विस्तारित हुँदै गएर समुद्रजस्तै विस्तीर्ण बनेको छ । आजकल अनलाइन विश्वकोश ‘विकिपिडिया’ का अतिरिक्त ज्ञानगुन आर्जन गर्ने तथा लेखपढ गर्ने अन्य थुप्रै अनलाइलन प्ल्याटफर्महरू ‘विकिमिडिया फाउन्डेसन’ अन्तर्गत उपलब्ध छन्, जुन ‘विकिपिडिया’ कै बृहत्तर परिवारका सदस्यहरू हुन् । विकिनरी (अनलाइन शब्दकोश), विकिबुक (अनलाइन पुस्तकहरूको सङ्ग्रह), विकिकोट (उद्धरणहरूको सङ्ग्रह), विकिभोएज (ट्राभल गाइड), विकिन्युज (अनलाइन अखबार), विकिभर्सिटी (प्राज्ञिक अध्ययनसँग सम्बन्धित अध्ययन–सामग्रीहरूको सङ्ग्रह), विकिजर्नल्स् (शोधमूलक प्राज्ञिक जर्नल) जस्ता प्ल्याटफर्महरूमा ज्ञानको व्रह्माण्ड नै भेटिन्छन् । यस्ता प्ल्याटफर्मले ज्ञानव्यसनीहरूको ज्ञानको क्षितिज अझ फराकिलो बनाउन सहयोग गरिरहेका छन् । 

बिसौनीनेर

ज्ञानको खुल्ला विश्वविद्यालयको रूपमा रहेको ‘विकिपिडिया’ का सामग्रीहरूलाई प्राज्ञिक प्रयोजनका लागि उद्धरण गर्न विश्वविद्यालयले अनुमति दिँदैन । खुल्ला स्रोतबाट निर्मित ज्ञान भएकाले त्यसको गुणस्तर र विश्वसनीयतामाथि प्रश्न उठाउँदै यस्तो विश्वविद्यालयले नीति अपनाएको हुनुपर्छ । यति हुँदाहुँदै पनि विश्वभरका प्राध्यापक तथा विद्यार्थीहरूले कुनै न कुनै रूपमा ‘विकिपिडिया’ साइट भिजिट गर्छन् । 

‘विकिपिडिया’ को सुन्दर पक्ष के हो भने यसले भिजिटरलाई ज्ञानको मौलिक स्रोतसम्म पुर्‍याइदिन्छ, जुन काम सम्बन्धित सामग्रीको सन्दर्भ सामग्री (reference)  खण्डले गर्छ । विकिपिडिया’ माथि पूरापुर विश्वास नगर्नेहरूले पनि यसलाई ज्ञानको अनन्त भण्डारमा प्रवेश गर्ने प्रवेशद्वारको रूपमा प्रयोग गर्दै आएका छन् । यस तथ्यलाई कसैले शायदै नकार्न सक्ला । 

[युवामञ्च । भदौ २०७९ । पृ. २३-२७]


Tuesday, August 23, 2022

लैङ्गिक विभेदको चक्र

-यमबहादुर दुरा

 विविधतायुक्त नेपाली समाजको लोकजीवनलाई अन्वेषण गरी विभिन्न समयमा आख्यान लेखिँदै आएको छ। विगतमा श‌ङ्कर कोइरालाको खैरिनीघाट (वि.सं. २०१८), प्रकाश ए. राजको रोदीघरको सम्झना (वि.सं. २०३३), ध.च. गोतामेको घामका पाइलाहरू (वि.सं.२०३५), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (वि.सं. २०४०), खगेन्द्र संग्रौलाको जूनकीरीको सङ्गीत (वि.सं. २०५६), राजन मुकारुङको दमिनी भीर (वि.सं. २०६९) जस्ता आञ्चलिक स्वादका उपन्यासमा स्थानीय जीवनको विविधता केलाइएको पाइन्छ। यही लहरमा सुरेश प्राञ्जलीको नवीनतम उपन्यास पानीघट्ट थपिएको छ।

ग्राफिक्स साभार : हिमालखबर


यस उपन्यास ब्राह्मण चेली जूनमाया र गुरुङ चेलो रनबहादुरबीचको अन्तरजातीय प्रणयकथा हो। एउटै गाउँमा हुर्किएका उनीहरूबीच बाल्यकालदेखि अङ्कुराएको प्रेम समयसँगै झाँगिँदै जान्छ। तर, कालान्तरमा यी दुईलाई बेग्लै मोडमा पुर्‍याउँछ। घरपरिवारको जोडबलले जूनमायाको अर्कै सजातीय युवकसँग घरबार हुन्छ। तर, जूनमायाले घर खाँदिनन्। समयले बालसखालाई नै जीवनसाथी बनाएर उभ्याए पनि उनीहरूको सहयात्राको आयु लामो हुँदैन।

उपन्यासको परिवेश स्याङ्जाको पेल्काचौर र आसपासको भूगोल हो। कथावस्तु ब्राह्मण समुदायसँग पनि जोडिएको छ, तर मूल हिस्सा स्थानीय गुरुङ समुदायको जीवनशैलीसँग गाँसिएको छ। लाहुरे संस्कृति, रोदी बस्ने परम्परा जस्ता सांस्कृतिक विम्बहरूमा गुरुङ संस्कृतिको जीवनचित्र सजीव बन्न पुगेको छ। उपन्यासमा प्रसङ्ग अनुसार गुरुङ भाषाका शब्दावली तथा वाक्यहरू प्रशस्त प्रयोग भएका छन्। यस हिसाबले यसलाई आञ्चलिकतायुक्त जनजातीय उपन्यास भन्न सकिन्छ।

लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’।

परिचय खण्डमा उल्लेख गरिए झैं यो कृतिको कथा २०३० र २०४० को दशकको गण्डकी भेगको ग्रामीण समाजको हो। भाषा सरल र सरस छ। पात्रहरूले प्रयोग गर्ने संवाद तथा शब्दावलीमा मीठो स्थानीय कथ्य भाषाको प्रचुरता छ। जस्तैः ‘बढ्ता नहाँस, जिमिन रूखिन्च’, ‘क्यार्नी र बरी देखेसी मया लाउनी’, ‘कुटुनीले मज्जाले हँसाइचे आज’ आदि।

कृतिमा ग्रामीण खाद्य परिकार, मेलापात, वनपात, गुन्द्री, राडी, लालटिन, डोको, थुन्से जस्ता ग्रामीण लोकजीवनबोधक पक्ष तथा वस्तुहरू आइराख्छन्, जसले ग्रामीण जीवन भोगेका पाठकका अगाडि गाउँको तस्वीर ल्याउँछ। ढाकाटोपी, भाङ्ग्रा जस्ता पुरुष पहिरन तथा शिरफूल, चोली, घलेक, पोते, कण्ठ, मुगामाला, पटुका, पैसे औंठी, क्रमु (मजेत्रो), सुनको जन्तर जस्ता महिलाका वेशभूषाको चित्रणले ग्रामीण परिवेशमा हुर्केका पाठकको मनलाई गाउँबस्तीतिर पुर्‍याउँछ।

कृतिमा लाहुरे परम्परालाई उच्च स्थान दिइएको छ। लाहुरको सन्दर्भमा एउटा पात्रले बोलेको संवाद स्मरणीय हुन आउँछ, ‘लाहुरेले मरे पनि पाल्छ, बाँचे पनि पाल्छ’। यसले समाजले लाहुरे परम्पराप्रति गरेको उच्च भरोसालाई झल्काउँछ।

पल्टनबाट आएका लाहुरेले गाउँका लालबालालाई मिठाई बाँडेकोस गाउँले आमाबालाई काश्मिरी ओखर, मिश्री आदि उपहार बाँडेकोस लाहुरेले पल्टनबाट पठाएको चिठीमा ‘अगर’, ‘बढिया’, ‘परिसानी, ‘दुपहर’, ‘बहुत प्यार’ जस्ता हिन्दी शब्दको प्रयोग आदि विविध पाटोले लाहुरे संस्कृतिको सजीव अनुभूति गराउँछ।

कृतिले ग्रामीण समाजको मीठो पक्ष मात्र होइन, लैङ्गिक विभेद जस्तो तीतो यथार्थ पनि उजागर गरेको छ। कृतिको मूल पात्र जूनमाया अभिभावकले छोराको चाहना गर्दागर्दै जन्मेकी हुन्। छोरीलाई बोझ मान्ने सामाजिक सोचको शिकार बनेकी उनले हजुरआमा लगायत परिवारजनबाट पटक पटक ‘कुजात’ सम्बोधन सुन्नुपर्छ। उनको पठनपाठन छुटाएर कलिलै उमेरमा सौता बनाएर पठाइएको प्रसङ्ग कम मार्मिक छैन। खासमा जूनमायाले विवाहअघि र पछि भोग्नुपरेको सास्तीको घनचक्कर नै पानीघट्टको कथा हो।

अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ।

सामाजिक यथार्थको चित्रण गर्ने क्रममा गुरुङ तथा ब्राह्मण समुदायबीचको झिनो अन्तरसामुदायिक द्वन्द्व पनि देखाइएको छ। यससँगै, ब्राह्मण समाजकी छोरीले भन्दा गुरुङ समुदायमा जन्मेकी छोरीले बढी स्वतन्त्रता उपभोग गर्न पाउँछिन् भन्ने पनि देखाइएको छ।

कृतिकारले नियम र अनुशासनको नाममा छोरीलाई नियन्त्रण र बन्धनमा राख्ने नेपाली समाजमा विद्यमान असमानता र विभेद भत्काइनुपर्ने आशय राखेका छन्। मन परेकी केटीलाई उसको इच्छा विपरीत तानेर विवाह गर्ने प्रथा पनि कृतिमा प्रस्तुत गरिएको छ। अहिले पनि कतिपय समुदाय र भूगोलमा कायम महिलाद्वेषी यो चलनको चित्रण समाजको दस्तावेजीकरण बनेको छ। 

२०४६ सालको राजनीतिक परिवर्तनपछि जन्मेका नयाँ पुस्ताका लागि यो उपन्यास राम्रो सांस्कृतिक विषयवस्तु बन्न सक्छ। कुनै समय गण्डकी भेगको ग्रामीण जीवनको अभिन्न अङ्ग बनेको रोदी संस्कृतिसँग अपरिचित नयाँ पुस्ताले तत्कालीन ग्रामीण समाजको लोकसंस्कृति र लोकजीवनका लागि रोदी एउटा गजबको केन्द्र रहेको तथ्य कृतिबाट थाहा पाउन सक्छ। साथै, इन्टरनेट र स्मार्टफोनको आगमन अघि गाउँघरमा तस्वीरप्रतिको मोह कस्तो थियो भन्नेबारेका प्रसङ्ग रोचक र घतलाग्दा छन्।

कृतिमा केही अस्वाभाविक पक्ष पनि छन्। जस्तै- जूनमायाले आमाको गर्भमा रहँदादेखिकै स्मृतिजन्य प्रसङ्गहरू एकपछि अर्को गरी पस्किन्छिन्। यस्तो प्रयोग कता कता अप्राकृतिक प्रतीत हुन्छ। अर्को कुरा, जनजीवनका लोकभाषा टपक्कै टिपेर प्रस्तुत गर्ने क्रममा कतै कतै अश्लील शब्द तथा शब्दावली प्रयोग भएका छन्। यसले यथार्थ पस्कने नाममा सार्वजनिक शिष्टताको स्थान के हुने भन्ने पुरानो बहस जगाउन सक्छ। यति हुँदाहुँदै सांस्कृतिक अन्तर्घुलन र ग्रामीण लोकजीवनको स्वाद बोकेको यो आख्यान रसिलो र चखिलो छ।

पुस्तक: पानीघट्ट, लेखक: सुरेश प्राञ्जली, प्रकाशक: फाइनप्रिन्ट बुक्स, पृष्ठ: २६३, मूल्य: रु.४९८

 [हिमाल । भदौ २०७९ । पृ.९४-९५ ।]

Thursday, August 11, 2022

छोटो भिडियोको संसार

 –यमबहादुर दुरा

डिजिटल युगको तामझामपूर्ण माहोलमा टिकटकको नाम नसुन्ने शायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा पनि फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ । 

प्रतिभा प्रष्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अङ्कुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले सामान्य नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एकप्रकारको हलचल नै आएको छ ।

टिकटकले ल्याएको हलचललाई छोटो भिडियोको युग शुरु भइसकेको सङ्केतको रूपमा पनि लिन सकिन्छ । सामान्य नागरिकको पहुँचमा नभएका स्टुडियोमा निर्मित लामा–लामा भिडियोको आधिपत्य भइरहेको बेलामा सर्वसाधारणको सहज पहुँचमा रहेका छोटा भिडियो एपहरू अस्तित्वमा आएपछि भिडियोजगतको परिदृश्य पूरापुर बदलिएको छ । 

आजकल टिकटकजस्ता सैयौँ छोटो भिडियो एप (डबली) हरू अस्तित्वमा छन् । टिककिक, इन्स्टाग्राम रिल, हिप्पो भिडियो, मेजिस्टो, विस्टिया, फनीमेट, बाइट, भिडियो स्टार, फायरवर्क, लिटलट, ब्युटी भिडियो, जुमर्‍याङ, चिज आदि टिकटकजस्तै छोटो भिडियो डबलीहरू हुन्, जसमार्फत्  हजारौँले आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

भिडियो ट्रान्सलेटर नामक वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चर्चित छोटो भिडियो प्ल्याटफर्ममा भिगो भिडियो, टिकटक, लाइकी, म्याजिस्टो लास्सो, भिभा भिडियो, ट्वीच, इन्स्टाग्राम पर्छन् । यीमध्ये लाइकी, इन्स्टाग्राम, टिकटक, भिभो भिडियोले लाइभस्ट्रिमिङको सुविधा पनि दिएका छन् । 

कतिपय देशमा छोटो भिडियोका आफ्नै संस्करणहरू छन् । भिडियोसाइफर नामक वेबसाइटमा प्रकाशित एक लेखमा जनाइएअनुसार छिमेकी मुलुक भारतमा मिट्रन, मोजो, चिङ्गारी, जोश, टिककिट, सेयरच्याट, लिटलट, रोपोसो जस्ता छोटो भिडियो प्ल्याटफर्महरू चल्तीमा छन् ।

परिभाषा

छोटो भिडियो प्रसङ्ग कोट्याउँदा एउटा प्रश्न आउँछ, कति लम्बाइ भएको भिडियोलाई छोटो भिडियो भन्ने ? यसबारे मतैक्य छैन । कतिले १० मिनेटसम्मको भिडियोलाई छोटो भिडियो भन्ने गरेका छन् । तर, अहिलेको बेफुर्सदीको युगमा १० मिनेट त के कुरा, ५ मिनेटको भिडियोलाई समेत लामो भिडियो मान्न थालिएको छ । आजकल त मिनेटमा होइन, सेकेण्डमा सीमित भएको भिडियोलाई छोटो भिडियो आदर्शतम् रूप मान्न थालिएको छ । 


स्प्लाइसएप वेबसाइटमा प्रकाशित एक लेखका अनुसार १० देखि ६० सेकेण्डसम्मको भिडियोलाई छोटो भिडियोको श्रेणीमा राखिन्छ । इन्टाग्राममा १५ सेकेण्डसम्मको भिडियो रेकर्ड गरी पोष्ट गर्ने अवसर उपलब्ध छ, जुन अवसर ट्रिलर, इन्टाग्राम रिल आदिमा ६० सेकेण्डसम्मको छ । यस्तो अवसर टिकटकमा ६० सेकेण्डदेखि तीन मिनेटसम्मको छ ।

इतिहास

छोटो भिडियोको इतिहास लामो छैन । सन् २०१२ मा स्न्यापच्याटले १० सेकेण्ड लामो भिडियो रेकर्ड गर्न सक्ने एप उपलब्ध गरायो, जसमा सन्देश रेकर्ड गरेर साथीसंगीलाई पठाउन सकिन्थ्यो । यसैगरी, सन् २०१३ मा भाइनले ६ सेकेण्डको भिडियो एप उपलब्ध गरायो । 

छोटो भिडियो प्ल्याटफर्महरू एकपछि अर्को गरी आउने क्रममा सन् २०१४ मा म्युजिकल्लीले लिप्सिङ्क सुविधासहितको ६० सेकेण्डको एप उपलब्ध गरायो । सन् २०१६ मा टिकटक अस्तित्वमा आयो, जुन छोटो समयमै सबैलाई उछिनेर संसारभर लोकप्रिय हुन पुग्यो । अहिले पनि टिकटकजस्तै नयाँ–नयाँ छोटो भिडियो डबलीहरू आउने क्रम जारी छ । 

हिजोका दिनमा भिडियो हेर्नका लागि टेलिभिजन सेट नै आवश्यक थियो । अब त्यो असजिलो अवस्था रहेन । स्मार्टफोन आएपछि मोबाइलमै थरीथरीका भिडियो सहजै हेर्न पाइने अवसर पैदा भयो, जुन छोटो भिडियोका लागि एउटा उर्वर भूमि बन्न पुग्यो । 

प्रतिस्पर्धाको घण्टी

छोटो अवधिमै छोटो भिडियो–डबलीको चर्को उपस्थितिले छोटो भिडियो एप उत्पादक कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा त छँदैछ, अघि नै ख्याति कमाएका र बजारमा वर्चस्व कायम गरिसकेका कतिपय सोसल मिडिया प्ल्याटफर्महरूले प्रतिस्पर्धाको घण्टी बजेको अनुभव गर्न थालेका छन् । प्रतिस्पर्धाको दौडमा आफू  खरो नउत्रिए पछि परिने भयले उनीहरूले छोटो भिडियोका लागि नयाँ प्ल्याटफर्म सार्वजनिक गरिसकेका छन् । 

उदाहरणका लागि, नेटफ्ल्क्सिले छोटो भिडियो प्ल्याटफर्म ‘फास्ट लाफ्स्’ शुरु गरिसकेको छ भने यु ट्युबले पनि ‘यु ट्युब सर्टस्’ गरिसकेको छ । यसैगरी, स्न्यापच्याटले ‘स्न्यापच्याट स्पटलाइट’ प्रयोगकर्ता सामु ल्याइसकेको छ । फेसबुकले ‘फेसबुक स्टोरी’ मार्फत् तस्बिर तथा छोटो भिडियोलाई स्थान दिँदै आएको छ । यसबाहेक बहुसंख्यक सोसल मिडियाले पनि छोटो भिडियोका लागि अकार्षक प्ल्याटफर्महरू धमाधम खडा गर्दैछन् ।

छोटो भिडियो–डबलीले ल्याएको हलचलले फिचर फिल्म उत्पादन गर्ने चलचित्र उद्योगलाई पनि तरङ्गित तुल्याएको छ । यससँगै छोटो खालका चलचित्र अर्थात् माइक्रोमुभिज् (माइक्रोसिनेमा) को अवधारणा पनि अस्तित्वमा आउन थालेका छन् । 

आजकल छोटो खालका चलचित्र निर्माण हुने क्रमले मूर्त रूप लिइसकेको छ । ‘क्याडिलक’, ‘रुट ६६’, ‘२०८८’, ‘लभ इज अल यु निड’, ‘होल्डिङ द रेन’ । सन् २०१० मा हङकङमा निर्मित चलचित्र ‘क्याडिलक’ पहिलो माइक्रोमुभी मानिन्छ ।

लोकप्रियको रहस्य

एक्काइसौँ शताब्दी सूचना विष्फोटनको युग हो । वर्तमान युगमा सूचनाको कुनै कमी छैन । सोसल मिडियाले मूलतः श्रव्य, लेख्य तथा श्रव्य–दृश्य (भिडियो) माध्यमबाट सूचना सम्प्रेषण गर्छन् । यीमध्ये भिडियोप्रति नै मानिसको आकर्षण बढी छ । सोसल मिडियामार्फत्  धेरै प्रयोगकर्तासम्म पुग्ने लोकप्रिय कन्टेन्ट नै भिडियो भन्ने तथ्य अध्ययनबाट खुलेको छ । मूलतः सोसल मिडियामा प्रयोग हुने सामग्रीमध्ये भिडियोलाई सबै सामग्रीहरूको राजा ९प्ष्लन या बिि अयलतभलत० मान्ने चलन छ ।

भिडियोले यसप्रकारको पद्वी पाउँदापाउँदै पनि सबैले सबै भिडियो हेर्छन् भन्नेचाहिँ छैन । व्यस्त जीवनशैली, चौतर्फी हतारो, विविध रूप–रङ्गका सोसल मिडियाको बाक्लो उपस्थिति आदिले मानिसको एउटै चीजमा ध्यान अडिने समय (attention-span) घट्दै गएको छ । कुनै सामग्रीमा मानिसको छिट्टै ध्यानभङ्ग हुने अवस्था छ । यसलाई ‘ट्याकल’ गर्न छोटो समयमा प्रभावकारी किसिमले सूचना सम्प्रेषण गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।

छोटो भिडियोको आगमन यसैको जवाफ हो । छिटो, छरितो र प्रभावकारी किसिमले आफ्नो कुरा राख्नका लागि छोटो भिडियो एकदमै उपयुक्त माध्यम मानिएको छ । प्रडक्ट ट्युटोरियल्स्, शैक्षिक सामग्री, ब्राण्ड विज्ञापन, लामो चलचित्रको टिजर, नयाँ उत्पादनको विज्ञापन, पूर्वघटित घटनाको पूर्वस्मृति प्रस्तुतीकरण आदिका लागि छोटो भिडियो अतिशय उपयोगी मानिन्छ ।

यसैगरी, प्रयोगकर्ताबीच तीव्र विस्तार (fast transmission) को सम्भावना,  सामग्री एकदमै छोटो भएकाले दोहोर्‍याइ-तेहर्‍याइ हेर्न सकिने अवस्था, एउटा सोसल मिडिया प्ल्याटफर्ममा भएको सामग्री अर्को प्ल्याटफर्ममा सेयर हुने (cross-platform sharing) तीव्र सम्भावना, प्रस्तुतिमा रोचकपन आदिका कारण छोटो भिडियो एकदमै छिटो भाइरल हुन्छन् । प्रभावकारी किसिमले तयार पारिएको छोटो भिडियो प्रयोगकर्ताको स्मृतिमा लामो समयसम्म रहन सक्छ ।

अर्को कुरा, गुगल सर्च इञ्जिनमा छोटो भिडियोहरू अग्रस्थानमा देखापर्छन्, जुन जानकारी रककन्टेन्ट वेबसाइटमा प्रकाशित एक लेखमा छ । यसरी, छोटो भिडियोको लोकप्रियताका ग्राफ निरन्तर बढिरहेको देखिन्छ । यही भएर होला, हरेक १० जना स्मार्टफोनधारीमध्ये सताजनाले छोटो भिडियो कुनै न कुनै एप प्रयोग गरेको अध्ययनले बताएको छ । 

छोटो भिडियोको अरू सकारात्मक पक्षहरू पनि छन् । पाँच मिनेटको चिया–ब्रेक होस् वा बस पर्खँदाको छोटो समयमा किन नहोस्, यस्ता भिडियो हेरेर मनोरञ्जन लिन सकिन्छ । अर्कोतिर, छोटो भिडियो बनाउन र प्रयोग गर्न पनि सजिलो छ । यस्ता भिडियो बनाउन धेरै योजना बनाउनु पर्दैन । उत्पादन खर्च पनि धेरै लाग्दैन । यसैगरी, छोटो भिडियो शिर्जनशील भिडियोग्राफरहरूका लागि आम्दानीको माध्यम पनि बनेको छ ।

छोटो भिडियोका यिनै गुनिलो पक्षलाई ध्यानमा राखेर यसको बहुपक्षीय उपयोग हुन थालेको छ । यसलाई बजारीकरणको भरपर्दो माध्यमका रूपमा लिन थालिएको छ । एक अध्ययनले ८५ प्रतिशत विदेशी कम्पनीले छोटो भिडियो बजारीकरणको माध्यम (a marketing tool) का रूपमा प्रयोग गरिसकेका छन् । ८४ प्रतिशत ग्राहणले छोटो भिडियोमा आउने विज्ञापन हेरेर सरसामन किन्ने गरेको पनि अध्ययनबाटै खुलेको छ । 

बिसौनीनेर

विगतमा भिडियो उत्पादक तथा प्रयोगकर्ताबीच ठूलो खाडल थियो । छोटो भिडियोको युग आएपछि उत्पादक तथा प्रयोगकर्ताबीच खाडल पुरिँदै गएको मात्र होइन, उनीहरूबीचको सीमारेखाको काँडेतार पनि हट्दै गएको छ ।

आर्थिक वैभवमा रमाएका बिलिनियरदेखि सडकका ठेलागाडा धकेल्ने कर्मजीवी नागरिकसम्मले छोटो भिडियो बनाउन थालिसकेका छन् । सूचना र मनोरञ्जनको उपभोगमा धनी र गरिबबीचको सीमा मेट्न सघाउने यसप्रकारको रोचक डिजिटल घटनाक्रमलाई क्रान्तिकारी फड्कोको रूपमा नस्वीकारी सुखै छैन । 

[युवामञ्च । साउन, २०७९ । पृ.५०-५३]

Tuesday, July 19, 2022

सार्वजनिक सवारीमा लोकहितैषी नीति

 –यमबहादुर दुरा 

इन्धनको मूल्य वृद्धिभएसँगै यातायातकर्मीहरूले मनलाग्दी भाडा असुलेका समाचार आइरहेको छ । बढी भाडा असुली प्रकरण त सतहमा देखिएको एउटा सानो विषयमात्र हो । यातायात क्षेत्रमा अन्वेषण गरी उजागर गर्नुपर्ने अरू धेरै पक्षहरू छन्, जसप्रति नीतिनिर्माताहरूको उचित ध्यान पुगेको देखिँदैन ।

यात्रुले भाडादरबारे भद्र शैलीमा जिज्ञासा राख्दा सही जवाफ पाइँदैन । यस्तो बेलामा कुनै लिखित भाडादर नदेखाई फलानो ठाउँदेखि फलानो ठाउँसम्मको भाडा यति हो भनेर मौखिक रूपमा जवाफ दिइन्छ । भाडादरबारे प्रश्न उठाउँदा यात्रुलाई अपमान गरिएका थुप्रै दृष्टान्त छन् । 

अपमान सहनुपर्ने भयले यात्रुहरू बाध्य भएर गाडीवालाले भनेको शुल्क तिर्न बाध्य हुन्छन् । पर्ने भाडाभन्दा बढी तिर्नुपर्ने अवस्थाले यात्रु ठगिने र हेपिने क्रम निरन्तर जारी छ । 



भाडा उठाउने क्रममा निर्धारित दरभन्दा बढी भाडा लिन अनेकन् प्रपञ्च रचिन्छ । ‘तेल महङ्गो छ’ भनेर कुरा शुरु गरिन्छ । तर, इन्धनको मूल्य घटेको तेल सस्तो भएको कुरा उठ्दैन । यस्तो बेलामा भाडाको सूची पनि सितिमिति टासिँदैन । किन नटाँसेको भनेर सोध्दा जवाफ आउँछ, ‘सरकारबाट आएकै छैन ।’ 

लामो दूरीका सवारी साधनले विद्यार्थीले पाउने छुटलाई पनि लत्याइएको पाइन्छ । नियमअनुसार विद्यार्थीले नियमअनुसार पाउने छुटबारे आग्रह गर्दा पहिल्यै कोटा पूरा भइसक्यो भन्ने बनिबनाउ जवाफ दिएर सामाजिक दायित्वबाट उम्केको अनेकन् दृष्टान्त भेटिन्छन् । विद्यार्थी पाउनुपर्ने छुट कल्याणकारी राज्यव्यवस्थाको एउटा सानो दृष्टान्त हो । हामी कल्याणकारी राज्यव्यवस्थाको चर्चा गर्छौँ । तर, व्यवहारमा त्यसलाई पूरै लत्याइएको पाइन्छ । 

यातायात क्षेत्रमा देखिने यसप्रकारको अनाचार अनैतिक त हुँदै हो, विधिको शासनप्रतिको उपहास पनि हो । यात्रुबाट अनावश्यक रूपमा रकम असुल्ने र उनीहरूप्रति गरिने दुव्र्यवहारजस्ता अनाचारका कुरा मिडियामा खासै आउँदैन ।

 गाडीमा क्षमताभन्दा बढी यात्रु राख्दा सर्वसाधारण पाउने सास्तीको किस्सा बेग्लै छ  । सडकको इन्जिनियरिङ पक्षलाई बेवास्ता गरी बनाइएको ग्रामीण बाटोको दुरावस्था र सवारी दुर्घटनाका कहालीलाग्दो शृङ्खला बेग्लै विश्लेषणको विषय बन्नसक्छ । समग्रमा, यात्रुले भोगेका हैरानी र सास्ती अहिले मिडियामा आएभन्दा बढी छ ।  

रह्यो भाडादर निर्धारणको कुरा । भाडादर कति र कसरी बढ्ने भन्नेचाहिँ निश्चय नै जनसरोकारको विषय हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ मा सवारी भाडाबारे केही कुरा भएपछि पनि कुन संयन्त्रले कसरी भाडा निर्धारण गर्छ भन्नेबारे स्पष्ट रूपमा खुलाइएको पाइँदैन । जनसरोकारका यस्ता विषयमा स्पष्ट कुरा बाहिर आउनुपर्छ ।

अहिले पनि तालुकवाला सरकारी निकायले भाडा कसरी निर्धारण गर्छ भन्नेबारे कुनै प्रष्ट विधि र प्रक्रिया सार्वजनिक अभिलेखमा भेटिँदैन । भाडा निर्धारणको विधि र प्रक्रिया पारदर्शी देखिँदैन । क–कसको रोहबरमा कसरी भाडा निर्धारण गरिएको हो भन्ने तथ्य सार्वजनिक हुनुपर्छ । यस्ता विषयमा नागरिकलाई जानकारीमा दिइनुपर्छ, जसप्रति सूचनाको हकसम्बन्धी ऐनका प्रावधानहरू आकर्षित हुन्छन् ।

यातायात क्षेत्रमा भएको बेथिति भनिसाध्य छैन । लामो दूरीमा चल्ने सवारी साधनले पूरै रुटलाई विभिन्न खण्ड खण्डमा विभाजन गरेर सोहीअनुसार भाडा असुलेको पाइन्छ । आधा बाटोबाट गाडी चढ्दा पनि सवारी साधनले पनि गाडी छुटेकै ठाउँबाट भाडा उठाएको पाइन्छ । यसरी भाडा असुल्दा यात्रुले अनाहकमा आपूmले यात्रा नगरेको दूरीभन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता आएको छ । 

कतिपय सवारी साधनले भाडाको सूची टाँसेकै हुँदैनन् । टाँसिहाले पनि मनमौजी किसिमले बीसौँ किलोमिटर पर पर्ने मुख्य–मुख्य ठाउँको मात्र टाँसिएको पाइन्छ । बीचमा पर्ने ठाउँको भाडा त्यहाँ उल्लेख गरिएको हुँदैन । यसबाट यात्रुहरूलाई सीधै गुमराहमा पार्ने काम भएको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ९६ मा तोकिएबमोजिम भन्दा बढी भाडा लिन पाइने छैन भनिएको छ । व्यवहारचाहिँ ऐनविपरीत भाडा उठाउने काम छ्याप्छ्याप्ती भइरहेको छ ।

उचित सेवाको उचित शुल्क तिर्नु यात्रुको कर्तव्य हो । तर, यात्रुहरू अनुचित शुल्क तिर्न विवश भइरहेका छन् । यातायात क्षेत्रमा हाल भइरहेका यसप्रकार अनाचारको जवाफदेहिता कसको हो ? सर्वसाधारण यात्रुमा अनावश्यक बोझ बोकाइनु कानुनी तथा नैतिक दृष्टिले सही व्यवहार हो ? यस्ता प्रश्नको जवाफ सरोकारवाला पक्षहरूले दिनुपर्छ । साथै, यस्ता जनसरोकारका विषयमा सार्वजनिक वृत्तमा व्यापक विचार–विमर्श गरिनुपर्छ । 

सार्वजनिक यातायातमा विद्यमान तमाम बेथितिलाई दृष्टिगत गर्दा यस क्षेत्र सरकारको कडा निगरानी हुनुपर्ने देखिन्छ । यस पृष्ठभूमिमा मौजुदा ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ नितान्त फिलतो देखिन्छ । यस ऐन समसामयिक छैन र हुनुपर्ने जति यात्रुमैत्री पनि छैन । ऐनको दफा १५७ मा यातायात सेवा कानुन बमोजिम नियमन भए नभएको निरीक्षण गर्न नेपाल सरकारले ‘यातायात निरीक्षक’ नियुक्त गर्न सक्नेछ भन्ने बडो फितलो प्रावधान राखेको पाइन्छ ।

व्यवहारमा ‘यातायात निरीक्षक’ नियुक्त भएको पाइँदैन । कानुनलाई अझ दरिलो बनाएर ‘यातायात निरीक्षक’ मात्र होइन, तालुकवाला सरकारी निकायले एउटा गतिलो ‘अनुगमन संयन्त्र’ नै खडा गरेर कर्मचारीहरूलाई नियमित रूपमा फिल्डमा खटाउनुपर्ने आवश्यकता देखिएको छ । यसो गरिएमा मात्र यातायात क्षेत्रमा भएका मनमौजी व्यवहारमा पनि लगाम लाग्ने थियो । 

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ दफा १५४ मा ‘यातायात व्यवस्थापन समिति’ को व्यवस्था छ । समितिमा यातायात व्यवस्था कार्यालय रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवसायीको प्रतिनिधि, यातायात मजदूरहरूको प्रतिनिधि तथा यातायात व्यवस्था कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । 

ऐनमा व्यवस्था भएबमोजम समिति गठन भएको वा नभएको र त्यसले यातायात क्षेत्रमा विद्यमान बेथितिलाई न्यूनीकरण गर्न कुनै रचनात्मक काम गरेको वा नगरेको कुनै विवरण सार्वजनिक अभिलेखमा आएको पाइँदैन । समिति सक्रिय हुनुपर्छ र यसका कामकारबाही सार्वजनिक जानकारीमा आउनुपर्छ ।

अब, यातायात क्षेत्र परम्परागत शैलीमा चल्नुहुँदैन । समयको बदलिँदो चक्रसँगै यातायात क्षेत्र जनहितकारी र सेवामुखी हुनुपर्छ । यस विषयमा तालुकवाला निकायले रचनात्मक किसिमले सोच्नुपर्छ । अब, सरोकारवाला निकायसँग देशभरका सबै यातायात रूटको लम्बाइ, बाटो अवस्था, भाडा परिवर्तित भाडालगायत सम्पूर्ण विषयमा अद्यावधिक विवरण सरकारसँग हुनुपर्छ । 

प्रचलित यातायातका रूटमा भएका गतिविधि तथा सवारी साधनहरूलाई डिजिटल प्रविधि प्रयोग गरेर ट्र्याक गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि सरकारल विज्ञहरू खटाएर विवरण सङ्कलन गर्नुपर्छ । यातायात क्षेत्रको दीगो व्यवस्थापनका लागि यो नगरी नहुने काम हो । सार्वजनिक यातायातको भाडा निर्धारण गर्नेे कार्यलाई वैज्ञानिक बनाउन आवश्यक छ । 

बृहत्तर जनहितका लागि यातायात क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ । यसका लागि लोकहितैषी नीति बन्न जरुरी छ । यस विषयमा नीतिनिर्माता र कानुन निर्माताहरू चिन्तनशील बन्नैपर्छ ।

[नयाँ पत्रिका ।पृ =४२०७९ साल साउन ३ गते ।]]

Sunday, July 17, 2022

इन्टरनेटको पुस्ता

 -यमबहादुर दुरा

महान् वैज्ञानिक स्टेफेन हकिङ (सन् १९४२–२०१८) ले इन्टरनेटबारे एउटा घतलाग्दो विचार अघि सारेका छन् । हकिङको कथन छ, ‘हाम्रो दिमागमा स्नायुकोश (न्युरोन) हरू जोडिएझैँ  हामी पनि इन्टरनेटबाट जोडिएका छौँ ।’ हुन पनि, दिमाग र स्नायुकोश जोडिएर मानव जीवनले सार्थकता पाएजस्तै आधुनिक जीवनशैलीमा इन्टरनेट जोडिन आइपुग्दा हाम्रो जनजीवन जादुमय किसिमले सहज र सार्थक हुन पुगेको छ ।

जसरी स्नायुकोशले मानव शरीर दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुको रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले, एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ, इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्नपुग्छ ।

मानव समाज आधुनिकतामार्फत्  लम्कँदै गर्दा इन्टरनेट प्रयोगकर्ताको संख्या दिनानु दिन बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको एक आँकडाअनुसार नेपालका ९१ प्रतिशत नागरिक इन्टरनेट प्रयोग गर्छन् । बजार सर्वेक्षणसम्बन्धी संस्था ‘स्टाटिस्टा’ का अनुसार विश्वका करिब ६० प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच छ । विश्व समुदायको इन्टरनेटसँग साइनो गाँसिने क्रम निरन्तर जारी छ ।

मानव सञ्चारको विकास–यात्रा निकै लामो छ । बोलीको उद्भव, लेखनकलाको विकास हुँदै सञ्चारको विद्युतीय यात्रामा फड्को मार्दासम्म हजारौँ वर्ष व्यतीत भइसकेको छ । मानव सञ्चारको विद्युतीय यात्रा मोर्स कोडबाट शुरु भएर टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन हुँदै इन्टरनेटको युगमा आइपुगेको हो । 


मोर्स कोडदेखि इन्टरनेटको युगसम्म आइपुग्दा लगभग १ सय ६० वर्षको लामो कालखण्ड बितेको छ । सयौँ आविष्कारक तथा वैज्ञानिकहरूका अथक तथा बुद्धिमत्तापूर्ण शोध एवम् परीक्षणले विद्युतीय सञ्चारलाई सम्भव तुल्याएका हुन् ।

मानव सञ्चारको विद्युतीय यात्रामा इन्टरनेट नवीनतम् विकासक्रम हो । इन्टरनेटले सबै पूर्ववर्ती आविष्कारहरूलाई उछिनिसकेको छ । मोर्स कोडको जमानामा अक्षर वा आवाज केही पनि सम्प्रेषण हुँदैनथ्यो । केवल सङ्केत सम्प्रेषण हुन्थ्यो । त्यसबेलाको सञ्चार अहिलेको जस्तो ताररहित (wireless) थिएन । 

अहिले आएर सूचनाको उच्चराजमार्ग (information superhighway)  मार्फत्  श्रव्य, श्रव्य–दृश्य र लिखित सामग्री (टेक्ट) क्षणभरमै संसारको जुनसुकै कुनामा सम्प्रेषण हुन्छन् । त्यो पनि ताररहित सञ्चार प्रणालीमार्फत्  । 

सूचना प्रवाहमा भएको यसप्रकारको जादुमय प्रगतिले इन्टरनेटलाई महत्त्वपूर्ण र अपरिहार्य सञ्चार प्रणालीको रूपमा स्थापित गरिदिएको छ । इन्टरनेटले नै एक्काइसौँ शताब्दीलाई साँचो अर्थमा ‘सूचना क्रान्तिको युग’ बनाइदिएको छ । इन्टरनेटले मानव सञ्चारलाई छिटो–छरितो र बहुआयमिक बनाइदिएको छ, जुन जादुमय र स्फूर्तिदार पनि छ ।

इन्टरनेटको रचनागर्भ 

सन् १९६० को दशकसम्म अमेरिकामा कम्प्युटरहरू अतिशय ठूला र हलचल नहुने किसिमका थिए । यसका अतिरिक्त कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने कुनै छिटो–छरितो विधि पनि थिएन । यसबाट भौगोलिक दृष्टिले टाढा–टाढा रहेका कम्प्युटरहरूबीच ‘डेटा’ आदानप्रदान गर्ने दिशामा भयानक समस्या आएको थियो । 

त्यस समयमा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा ‘डेटा’ पठाउने कार्य पटक्कै सहज थिएन । यसका लागि म्याग्नेटिक टेपमा डेटा राखेर लामो यात्रा गर्नुप¥थ्यो । डेटा लिएर यात्रा गर्न नचाहनेका लागि अर्को विकल्प थियो । त्यो हो, सम्बन्धित ‘डेटा’ लाई हुलाकमार्पmत् सम्बन्धित ठाउँमा पठाउने । यस्तो विधि झन्झटिलो त छँदैथियो, धेरै समय लाग्ने खर्च हुन्थ्यो । 

यसप्रकारको झञ्झटबाट मुक्ति पाउने उपाय खोज्न थालियो । यस क्रममा अनेकन् वैज्ञानिक शोधहरू भए, जसमध्ये अमेरिकी रक्षा विभागले सन् १९६९ मा शुरु गरेको एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) विशेष उल्लेखनीय छ । अर्पानेटले शुरुमा युनिभर्सिटी अब् क्यारिलोना (लस एन्जेलस), युनिभर्सिटी अब क्यालिफोर्निया, स्ट्यानफोर्ड रिसर्च इन्टिच्युट र युनिभर्सिटी अब् युटा गरी चार ठाउँका कम्युटरहरूलाई एउटै नेटवर्कमा जोडेको थियो । यसपछि अमेरिका र युरोपमा अरू यस्ता नेटवर्कहरू विस्तार हुँदै गए । 

यस्तैमा, सन् १९८९ ब्रिटिश कम्प्युटर वैज्ञानिक टिम बर्नस् लि (जन्मः सन् १९५५) ले वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) आविष्कार गरे । यसबाट इन्टरनेट विकास र बिस्तारमा जादुयम प्रगति भयो । डब्लूडब्लूडब्लूले विश्वभरका कम्प्युटरहरूलाई एकआपसमा जोड्ने योजकको रूपमा काम गर्न थाल्यो । यसबाट सन् १९९० पछि विश्वभरका वेबपेजहरूलाई एउटै नेटवर्कमा जोड्ने र ‘डेटा ट्रान्सफर’ गर्ने वातावरण तयार भयो । यहीँबाट वास्तविक अर्थमा इन्टरनेटको उदय भएको मानिन्छ ।

इन्टरनेटको पुस्ता 

इन्टरनेट नयाँ माध्यम भए पनि यसको पुस्ता छिटो छिटो व्यतीत भइरहेको छ । समयको वर्तमान विन्दुसम्म आइपुग्दा इन्टनेटको तेस्रो पुस्ता सकिएर भई चौथो पुस्तामा यात्रारत छ । इन्टनेटको पाँचौँ पुस्ता आउन बाँकी छ । तर पनि, भविष्यको अथाह गर्भमा रहेको इन्टरनेटको भावी पुस्ताको चरित्र र प्रकृति कस्तो हुनेछ भन्नेबारे अग्रिम चर्चा हुन थालिसकेको छ । इन्टनेटको पुस्तासम्बन्धी सङ्क्षिप्त विवरण :

वेब ०.० : इन्टरनेटको रचनागर्भ तयार हुँदै गर्दाको अल्पविकसित र अपरिस्कृत संस्करणलाई ‘वेब ०.०’ भनिन्छ । यस अवधिमा इन्टरनेटको विकासका लागि खोजअनुसन्धान, पूर्वाधार निर्माणलगायतका आधारभूमि तयार हुने क्रम शुरु भएको मानिन्छ  । यसको समयावधि सन् १९८० देखि १९९० लाई मानिन्छ । यद्यपि, कसै कसैले सन् १९६० दशकदेखि १९९० को समयलाई यसको कालखण्ड मान्ने गरेको पनि पाइन्छ ।

वेब १.० : यो इन्टरनेटको पहिलो पुस्ता हो, जसअन्तर्गत गतिहीन ९क्तबतष्अ० प्रकृतिका वेबसाइटहरू पर्छन् । यसलाई ‘इन्फर्मेसन वेब’ भनिन्छ । यसप्रकारले वेबसाइट एकतर्फी सवारीजस्तै हो । यस्ता वेबसाइटमा रहेका सामग्री पाठक (प्रयोगकर्ता) ले पढन सक्थे । तर, प्रयोगकर्ता प्रतिक्रिया दिने वा टिप्पणी लेख्ने कुनै अवसर हुँदैनथ्यो । सामन्यतया, यसको समयावधि सन् १९९०–२००० मानिएको छ । 

वेब २.० : यो इन्टरनेटको दोस्रो पुस्ता हो । यसअन्तरगत अन्तरक्रियात्मक बेवसाइटहरू पर्छन् । यस्ता साइटमा रहेका सामग्री प्रयोगकर्ताले पढ्ने र त्यसबारे प्रतिक्रिया व्यक्त गर्न पाउने अवसर पाउँछन् । त्यसैले यसलाई दुईतर्फी सञ्चारयुक्त वेबसाइट मानिन्छ । 

तत्कालीन समयमा माइस्पेस, विकिपिडिया, फेसबुक, ब्लगिङ साइट आदिलाई वेब २.० को संस्करण मानिन्थ्यो । अडियो तथा गेमिङ साइटलाई पनि यसै अन्तरगत राखिन्छ । अहिले, साहित्यिक वृत्तमा पनि वेब २.० लाई विम्बात्मक रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । दोहोरो सञ्चारलाई इङ्गित गर्छ । यसको समयावधि सन् २०००–२०१० लाई मानिन्छ ।

वेब ३.० : यो इन्टरनेटको तेस्रो पुस्ता हो, जुन  बेव २.० को विकसित तथा परिमार्जित संस्करण हो । यसप्रकारका वेबसाइट कृत्रिम बौद्धिकी ९ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ०, यन्त्र–उपकरणको माध्यमबाट सिक्ने सुविधा (machine learning), भर्चुअल रियालिटी तथा आगमेन्टेड रियालिटीको गठजोठ मानिन्छ । यी तमाम सुविधाले तीव्र गतिमा सूचना प्राप्त गर्ने, पढ्ने तथा प्रतिक्रिया लेख्ने सुविधाका अतिरिक्त भिडियो कल गर्ने, गेम खेल्नेजस्ता उच्चस्तरीय अवसर उपलब्ध हुन्छन् । यसले प्रयोगकर्तालाई त्रिआयमिक वातावरण (three-dimensional environment) दिन्छ । यसको समयावधि सन् २०१०–२०२० मानिएको छ ।

वेब ४.० : इन्टरनेटको चौथो पुस्ता हो, जुन बेव ३.० भन्दा स्वाभाविक रूपमा विकसित र परिस्कृत संस्करण हो । यसले कुनै व्यक्ति घर तथा अफिसभन्दा बाहिर रहेर पनि अत्याधुनिक यन्त्र–उपकरणको माध्यमबाट त्यहाँका गतिविधि उपर नजर राख्ने अवसर दिन्छ । वेब ४.० मा कृत्रिम बौद्धिकीको उच्चस्तरीय प्रयोग हुन्छ, जसबाट मानिस र मेसिनबीच उच्चस्तरको अन्तरक्रिया सम्भव छ । 

यही आधारमा यसलाई सिम्बियोटिक वेब (symbiotic web) पनि भन्ने गरिन्छ । कृत्रिम बौद्धिकीको परिष्कृत संस्करण, साइबर दुनियाँमा नयाँ सम्भावनाको अन्वेषणका लागि सहज वातावरण, उच्चस्तरको भिडियो गुणनस्तर (एचडी भिडियो), भरोसायोग्य सञ्चार वातावरण, तीव्रतर सूचना प्रवाह आदि वेब ४.० का विशेषताहरू हुन् । यसको समयावधि सन् २०२०–२०३० मानिएको छ ।

वेब ५.० : यो इन्टरनेटको पाँचौँ पुस्ता हो, जो आउन बाँकी नै छ । वेब ५.० मा कृत्रिम बौद्धिकीको नितान्त परिष्कृत संस्करण उपयोग गरिन्छ, जसले बुद्धिमत्तापूर्ण व्यवहारलाई निर्देशन गर्छ । यस आधारमा वेब ५.० लाई बुद्धिमत्तापूर्ण वेब (intelligence web) पनि भनिन्छ । यसले जटिल प्रकृतिका बहुआयमिक मानवीय आवश्यकतालाई पूरा गर्न सघाउन अपेक्षा गरिएको छ । 

वेब ५.० ले मानिसका भावनात्मक उतारचढावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्ने पनि अपेक्षा गरिएको छ । त्यसैले, यसलाई भावनात्मक बुद्धियुक्त (emotional intelligence web)  नाम पनि दिइएको छ । वेब ५.० मानिसले जस्तै सोच्ने र सोहीअनुसार व्यवहार गर्ने उच्चस्तरीय कृत्रिम बौद्धिकीयुक्त इन्टरनेट हो । यसको समयवाधि सन् २०३०–२०४० मानिएको छ ।

पुछारमा

इन्टरनेटको पाँचौँ पुस्ता आउन बाँकी नै छ । तर पनि, भविष्यको गर्भमा रहेको नवीतम् पुस्ताबारे अहिले नै व्यापक चर्चा–परिचर्चा भइसकेको छ । समयक्रम एक दिन पाँचौ पुस्ताको समेत आगमन भई त्यसको युग अन्त्य पनि हुनेछ । त्यसपछि इन्टरको अर्को पुस्ता आउनेछ । तर, त्यसको रूप, रङ्ग र जादुमय चरित्र कसरी प्रकट होलान त ? यसै भन्न सकिन्न । यसको उत्तर समयले मात्र दिन सक्नेछ ।

[युवामञ्च । जेठ २०७९ । सामान्य परिमार्जनसहित ।]

Thursday, July 7, 2022

सामाजिक सञ्जाल : सम्भावना र चुनौती

 -यमबहादुर दुरा

इन्टरनेटले विश्व समुदायलाई जादुमय तरिकाले बदलिदिएको छ । भौगोलिक रूपमा विविध कारण अलग–थलग भएका आफन्तजन तथा मित्रगणसँग आमुन्ने–सामुन्ने बसेर कुराकानी गरेजस्तै गरी ‘रियल टाइम’ मा वार्तालाप गर्ने अवसर इन्टरनेटले नै जुटाइदिएको छ, जुन मानव जातिका लागि एउटा सुन्दर अवसर हो । 

विश्वको एउटा कुनाबाट अर्को कुनामा अडियो, भिडियो तथा टेक्ट आदानप्रदान गर्ने अवसर पाइनु इन्टरनेटकै देन हो । इन्टरनेटले दुनियाँ समक्ष यस्तै तिलस्मी करामत देखाएको छ । यही आधारमा कतिपयले इन्टरनेटको आगमनलाई औद्योगिक क्रान्तिपछिको सबैभन्दा ठूलो तथा युगान्तकारी मानव फड्को मान्ने गर्छन्, जुन बहुधा अर्थपूर्ण छ । 

सोसल मिडिया इन्टरनेटको आगमनले जन्माएको एउटा लोकप्रिय शब्दावली हो, जुन मानव जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । विश्वविख्यात फोब्स म्यागजिनको वेबसाइट (डिसेम्बर ९, २०१०) मा प्रकाशित लेखका अनुसार डराल बेरीले सन् १९९४ मा पहिलो पटक ‘सोसल मिडिया’ भन्ने शब्दावली प्रयोगमा ल्याएका थिए । 

हाम्रो मनमा जिज्ञासा उठ्छ, विश्व क्षितिजमा उदाएको नयाँ प्रकृतिको सञ्चार प्रणालीलाई किन सोसल मिडिया भनियो त ? यसका पछाडि निश्चित कारणहरू छन् । परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो तथा टेलिभिजन) मूलतः एकतर्फी सञ्चार प्रणाली हो, जसमा धेरै हदसम्म दोहोरो सञ्चार हुँदैन । 

यसको विपरीत सोसल मिडियामा प्रयोगकर्ताहरूबीच दोहोरो सञ्चार सम्भव छ । प्रयोगकर्ताहरूबीच हुने दोहोरो सञ्चार नै सोसल मिडियाको एउटा मूलभूत विशेषता हो । यसबाट प्रयोगकर्ताहरूबीच पर्याप्त अन्तरक्रिया र सामाजिक गतिविधि हुन्छ । 

हामीलाई थाहा छ, मैत्रीपूर्ण सम्बन्धमा जोडिएका समाजका सदस्यहरूबीच निरन्तरजसो दोहोरो सञ्चार हुन्छ, जसले पर्याप्त अन्तरक्रिया जन्माउँछ । सोसल मिडियाले पनि यही काम गर्छ । यसबाट समाज चलयमान् बन्छ । सोसल मिडियाले सामाजिक चरित्र बोकेकाले यसलाई सोसल मिडिया भनिएको हो भन्ने तर्क छ, जुन दमदार छ ।  

के हो सोसल मिडिया ?

सोसल मिडिया हाम्रो मुखमा झुण्डिएको प्रिय शब्दावली भए पनि यसको परिभाषाबारे पर्याप्त अलमल पाइन्छ । सूचना प्रविधिमा कलम चलाउने अमेरिकी लेखक बेन लुकभिखका अनुसार सोसल मिडिया वेबसाइट तथा एपहरूलाई जनाउने समूहवाचक शब्दावली हो, जसले आपसी सञ्चार, समुदायिक  गतिविधि, अन्तरक्रिया, सामग्री सेयरिङ (content sharing) तथा सहकार्यलाई जोड दिन्छ ।

अक्सफोर्ड अनलाइन डिक्सनरीको परिभाषा पनि लगभग उस्तै छ । अक्सफोर्ड डिक्सनरीका अनुसार सोसल मिडिया ती वेबसाइट तथा एपहरू हुन्, जसले प्रयोगकर्तालाई सामग्री उत्पादन र सेयर गर्ने अवसर दिन्छ । साथै, यसले सामाजिक सञ्जालमा जोडिने अवसर पनि दिन्छ । 


समग्रमा सोसल मिडिया इन्टरनेटमा आधारित भर्चुअल नेटवर्क तथा समुदाय हो । यसबाट प्रयोगकर्ताहरूबीच अडियो, भिडियो, फोटो तथा टेक्ट आदानप्रदान गर्न सकिन्छ । आवश्यकताअनुसार प्रयोगकर्ताहरूबीच व्यक्तिगत तथा सामूहिक प्रकृतिका सूचना सेयर गर्न सकिन्छ । डेक्सटप, ल्यापटप, ट्याबलेड तथा स्मार्टफोनमार्फत् गरी सोसल मिडिया प्रयोग गर्न सकिन्छ ।

अमेरिकी नागरिक अन्ड्रु वाइनराइकलाई सोसल मिडियाका अग्रणी मानिन्छन् । उनले सन् १९९७ मा पहिलो पटक ‘सिक्स डिग्रीज्’ नामक सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याएका थिए, जसमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल खडा गर्ने, साथी बनाउने तथा इन्ट्यान्ट मेसेजिङ गर्ने सुविधा थियो । 

बिजनिससम्बन्धी अमेरिकी वेबसाइट इन्भेष्टोपिडियाका अनुसार विश्वभर ३.८ अर्ब मानिसले सोसल मिडिया प्रयोग गर्छन् । विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा नेपालमा ९१ प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच पुगेको देखिन्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड ३० लाख नागरिक सोसल मिडिया प्रयोगकर्ता छन् ।

वेब ट्राफिक विश्लेषण गर्ने वेबसाइट स्ट्याटकाउन्टरका नेपालमा सोसल मिडिया प्रयोगकर्तामध्ये फेसबुक प्रयोगकर्ता ९०.१२ प्रतिशत, ट्विटर प्रयोगकर्ता ४.२३ प्रतिशत, इन्टाग्राम प्रयोगकर्ता ०.९ प्रतिशत, पिन्ट्रेस्ट प्रयोगकर्ता ०.७९ प्रतिशत तथा लिङ्कडइन प्रयोगकर्ता ०.६१ प्रतिशत छन् । सोसल मिडिया प्रयोगकर्ताको संख्या बढ्दो छ ।

धेरैको दृष्टिमा फेसबुक, ट्विटर, लिङ्कडइनजस्ता सोसल नेटवर्किङ साइट नै सोसल मिडिया हुन् । वास्तविकता त्यस्तो होइन । सोसल मिडियाको दायरा निकै फराकिलो छ, जसमा सोसल मिडिया भनेर हत्तपत्त नसोचिएका धेरै साइट र एपहरू पर्छन् । समयक्रममा यस्ता साइट र एपहरूको संख्या बढेर जाने देखिन्छ । 

गेमिङ साइट, ब्लग (वर्डप्रेस, ब्लगर आदि), माइक्रोब्लग (ट्विटर, टम्बलर आदि), भिडियो सेयरिङ साइट (यु ट्युब, मेटाक्याफे, डेलीमोसन आदि), फोटो सेयरिङ साइट (फ्लिकर, पिन्टे«ष्ट, एक्सपोजर आदि), सपिङ साइट (अमेजन, इबे आदि), सञ्चार एप (भाइबर, स्काइप आदि), ट्राभल एप (पठाओ, टुटल आदि), न्युज एग्रिगेटर (न्युज ३६०, गुगल न्युज आदि) पनि सोसल मिडियाको दायराभित्रै पर्छन् ।

अवसर

आजकल हरेक व्यक्तिले आफूसँग छापाखाना नभए पनि प्रकाशक बन्ने मौका पाएको छ । यसैगरी, आफ्नो स्वामित्वमा रेडियो र टेलिभिजन नभए पनि प्रसारक हुने अवसर मिलेको छ । हिजोका दिनमा मुठ्ठीभर व्यक्तिले मात्र पाउने यस्तो अवसर अहिले प्रत्येक व्यक्ति पाएको छ । यसमा सोसल मिडियाको निर्णायक भूमिका छ ।

सोसल मिडियाले सर्वसाधारण नागरिक शक्तिशाली बनाएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता मार्क म्याकिननको भनाइमा प्रविधि र सोसल मिडियाबाट नागरिकले शक्ति प्राप्त गरेका छन् । 

विगतमा बहुसंख्यक सर्वसाधारणले आफ्ना दबिएका विचार वा भावना व्यक्त गर्ने उपयुक्त सार्वजनिक ‘प्ल्याटफर्म’ पाएका थिएनन् । परिणामस्वरूप उनीहरूका आवाज व्रह्माण्डमा त्यसै बिलाएर गए ।

भनाइ नै थियो, ‘बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उडाउँछ ।’ आज त्यस्तो छैन । हरेक व्यक्तिले आफ्नो भनाइ वा पीरमर्का सबैले सुन्ने  गरी राख्ने वातावरण तयार भएको छ, जुन सोसल मिडियाले दिएको सुन्दर अवसर हो ।

आवाजविहीन मानिएका निमुखा, गरिब तथा विकासको दौडमा पछि परेका नागरिकका पक्षमा सोसल मिडिया आवाज बनेर प्रस्तुत भएको अवस्थालाई चित्रण गर्दै अमेरिकी पत्रकार तथा वृत्तचित्र निर्माता जोन रोन्सन (जन्मः सन् १९६७) ले मीठो टिप्पणी गरेका छन् । उनको टिप्पणी छ—सोसल मिडियाको महान् पक्ष के भने यसलाई आवाजविहीनहरूलाई आवाज दिएको छ । 

हुन पनि सोसल मिडियाले नागरिकका लागि दरिलो आवाज दिएको छ । कसैले फेसबुकमा लेखेको एक हरफको स्ट्याटसले सार्वजनिक ओहोदाधारी अधिकारीको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । सोसल मिडियामा आएको सूचनाका आधारमा अपराधी कानुनी कठाघरामा उभिन बाध्य हुन्छ । यसका अतिरिक्त सोसल मिडियाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक दायरा  (public sphere) लाई फराकिलो बनाउँदै लगेको छ, जुन लोकतन्त्रको श्रीवृद्धिका लागि पनि हितकर छ ।

सोसल मिडियाले दुनियाँसामु सूचना र ज्ञानको अथाह भण्डार राखिदिएको छ । स्टारी डट कम (जुलाई २९, २०१९) मा प्रकाशित लेखअनुसार गुगल, अमेजन, माइक्रोसफ्ट तथा फेसबुकको बेग्लाबेग्ल सूचना भण्डारणमा रहेको सूचनालाई एउटै ठाउमा भण्डारण गर्ने हो भने एक हजार २ सय पेटाबाइट्स हुन्छ, जुन सूचनाको अथाह सागर हो । 

चौबीसै घण्टा चालू रहने सोसल मिडियाले सूचना र ज्ञानको प्रवाहमा अतुलनीय योगदान दिएको छ । यसबाट प्रयोगकर्ताले जीवनोपयोगी र जीवनदायिनी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियाले समाजमा सूचनाको खाडल (information gap) घटाउने दिशामा योगदान दिइरहेको छ ।

सोसल मिडियाको उपस्थितिले सूचना र ज्ञानको बहुआयमिक उपयोग गर्ने बाटो खुलेको छ । सामान्य जीवनयापन गरिरहेकी गृहिणीदेखि विश्वविद्यालयका प्राध्यापकसम्मले सोसल मिडियामा उपलब्ध असंख्य टेक्ट, फोटो, अडियो तथा भिडियोबाट आफूलाई आवश्यक पर्ने सामयिक सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियामा आएका सूचना र ज्ञानलाई उपयोग गरेर सर्वसाधारण नागरिकदेखि सेलिब्रिटीसम्मले फाइदा उठारहेका छन् ।

सोसल मिडियामार्फत्  लोककल्याणकारी काम पनि भइरहेको छ । बाढीपहिरोजस्ता प्राकृतिक बिपत्तिमा परेका व्यक्ति तथा विभिन्न रोगबाट ग्रसित असाहय बिरामीलाई सहयोग जुटाउने काममा सोसल मिडियाको भरपूर उपयोग हुँदै आएको छ । बिपत्तिले घेरा हालेको पीडादायी घडीमा आहातग्रस्त मनिसहरूलाई भावनात्मक तथा आर्थिक रूपमा ढाडस दिने कार्यमा सोसल मिडिया सहयोगी बन्दै आएको छ । 

यस्ता कार्य स्थानीयस्तर, राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रियस्तर गरी तीनै तहमा हुँदै आएका छन् । नेपालमा २०७२ सालमा आएको भूकम्पले निम्त्याएको बिपत्तिका समयमा उद्धार र राहतसम्बन्धी गतिविधिमा सोसल मिडियाको अतुलनीय भूमिका रह्यो । 

भूकम्पका समयमा सोसल मिडिया प्रयोगकर्तामात्र होइन, सोसल मिडिया कम्पनी पनि अघि सरे । त्यस समयमा फेसबुकले भूकम्पबाट सुरक्षित रहनका लागि नेपालका लागि ‘अर्थक्वेक अलर्ट’ मात्र जारी गरेन, नेपाल सरकारको राहत कोषमा दुई करोड अमेरिकी डलर पठाएर उदारमना व्यवहार प्रदर्शन गर्‍यो  । 

अर्कोतिर, सोसल मिडियाले विश्वको विभिन्न कुनामा छिरल्लिएर रहेका मानव समुदायलाई एकै ठाउँमा ल्याउने काम पनि गरेको छ । विविध कारण वर्षौँदेखि बिछोडिएका परिवारजनलाई भेट गराइदिएको छ । बिरक्तिपूर्ण किसिमले एक्लो जीवन बिताउन बाध्य सयौँ व्यक्तिलाई जीवनसाथी भेटाइदिएर सोसल मिडियाले निराश मनहरूमा खुसीको बहार ल्याइदिएको कैयौँ दृष्टान्त छन् ।

सोसल मिडिया जागिरदाता र जागिरापेक्षीबीच पुल बनेको छ । यसले प्रडक्ट उत्पादक र उपभोक्तबीच पनि मध्यस्थता गरिरहेको छ । सोसल मिडिया नै कतिपय प्रडक्टको ‘सोरूम’ बन्न पुगेको छ । यहीबाट व्यापारको सिलसिला शुरु भएको छ । आजकल सोसल मिडियामार्फत् हुने व्यापारलाई बुझाउन नयाँ शब्दावली ‘सोसल कमर्स’ प्रयोग गर्न थालिएको छ ।

यसबाहेक सोसल मिडियाले अलनाइन सिकाइ, अनलाइन रोजगार, टेलिमेडिसिन, अनलाइन बैंकिङलगायत अनगिन्ती अवसर दिएको छ ।समाजको चौतर्फी उन्नतिका लागि सोसल मिडियाले निरन्तर ठूलो योगदान दिइरहेको छ । समाजको प्रवाहसँगै यसले समाजलाई दिने योगदानको सूची पनि निरन्तर लम्बिँदै गएको छ । समग्रमा भन्दा सोसल मिडियाले समाजलाई दिने योगदान अपरिमित छ ।

चुनौती

हरेक वस्तुको सकारात्मक र नकारात्मक पाटो हुन्छ नै । सोसल मिडिया यसको अपवाद बन्न कुरै भएन । कतिपय अवस्थामा सोसल मिडिया मिथ्या (भ्रामक) जानकारी, जालसाजीसँग जोडिएका अपराध, निजी जीवनमाथि हमला, साइबर बुलिङ, ट्रोलिङ, पोर्नोग्राफी, फिसिङ स्क्याम, बौद्धिक चोरी, हत्या–हिंसाजस्ता तमाम अपराधको स्रोत बन्न पुगेको छ ।

कतिपय अवस्थामा सोसल मिडिया भ्रामक जानकारीको स्रोत हुन पुगेको छ । सोसल मिडियामार्पmत प्रवाहित भ्रामक सूचनाबाट समाजमा घातक असर पर्न थालिसकेको छ । सोसल मिडियामा प्रवाहित भ्रामक सूचनाको भरमा परेर जनधनको क्षति हुने क्रम शुरु भइसकेको छ । नयाँ आध्ययनका अनुसार मिथ्या सामग्री सही समाचारभन्दा छ गुना बढी छिटो फैलन्छ । यसबाट हुने क्षतिको दर पनि उच्च रहन्छ ।

'साउथ चाइन मर्निङ पोष्ट' को अनलाइन संस्करण (फेब्रवरी २५, २०१९) मा प्रकाशित समाचारअनुसार छिमेकी मुलुक भारतमा ह्वाट्सएपमार्फत्  जारी भएको भ्रामक जानकारीलाई वास्तविक ठान्दा भीडले कुटीकुटी हालसम्म ३० जना निर्दोष व्यक्तिको ज्यानसमेत गइरहेको छ । यस घटनाले सोसल मिडियाबाट प्रवाहित गलत जानकारीको नतिजा कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

साइबर बुलिङ सोसल मिडिया ‘प्ल्याटफर्म’ मा देखापरेको अर्को खतरनाक पक्ष हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का अनुसार इन्टरनेटमार्फत्  धम्क्याउनु, रिस उठाउनु वा लज्जित तुल्याउनु नै साइबर बुलिङ हो । कसैको सामाजिक दृष्टिले अस्वीकार्य तस्बिर सोसल मिडियामा राखिदिनु, कसैलाई धम्कीपूर्ण वा चोट पार्ने सन्देश प्रवाह गर्नेजस्ता कार्य साइबर बुलिङअन्तर्गत पर्छन् ।

एक तथ्याङ्कअनुसार विश्वमा हरेक सात मिनेटमा एउटा किशोर वा किशोरीमाथि साइबर बुलिङ हुन्छ । यसका ८५ प्रतिशत मामिला समाधान हुँदैन । साइबर बुलिङकै कतिपय किशोर–किशोरी आत्महत्या गर्न विवश भइरहेका तथ्याङ्क पनि आउन थालेका छन, जुन सभ्य समाजका लागि एउटा गम्भीर चुनौती हो ।

अर्कोतिर, संसारभर नै आत्माहत्याको दर बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रतिवर्ष सात लाख मानिसले आत्माहत्या गर्छन् । नेपाली टाइम्स (अगष्ट ७, २०२१) मा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा पनि आत्माहत्याको दर बढिरहेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६/०१७ मा पाँच हजारले आत्माहत्या गरेका थिए भने सन् २०२०/०२१ मा यो संख्या बढेर आठ हजार पुग्यो । 

सोसल मिडियामा आउने कतिपय निराशाजनक स्ट्याटस तथा बैराग्यपूर्ण पोष्टहरूले प्रत्यक्ष वा परोक्ष रूपमा आत्माहत्या गर्ने प्रवृत्तिलाई सहयोग गरिरहेको छ । अझ सोसल मिडियामा उपस्थित भएर लाइभ आत्माहत्या गर्ने घटना नेपालमा पनि देखापरिसकेको छ, जुन सोसल मिडियासँग जोडिएको एउटा खतरनाक पक्ष हो ।

आर्थिक स्वार्थ दुनियाँको एउटा जटिल मामिला बन्दै आएको छ । यस्तैमा द्रव्यमोहको चक्रव्युहमा परेर सोसल मिडियाले प्रयोगकर्तामाथि छलकपटपूर्ण व्यवहार गरिरहेको आरोप लाग्दैछ । यही पृष्ठभूमिा २०२० सेप्टेम्बर ९ मा नेटफ्ल्क्सिमा ‘द सोसल डिलेमा’ नामक वृत्तचित्र प्रसारण भयो ।

फेसबुक, गुगल, ट्विटर, मोजिल्ला तथा यु ट्युब कम्पनीमा उच्च तहमा रहेर काम गरेका पूर्वकर्मचारीलाई समेत प्रस्तुत गरिएको त्यस वृत्तचित्रमा सोसल मिडिया कम्पनीले कृत्रिम बौद्धिकी (artificial intelligence) मार्फत् प्रयोगकर्ताको मनोविज्ञान कसरी मापन गर्छ र महजाल (honey-trap) मा फसाएर आर्थिक स्वार्थ पूरा गर्छ भन्ने देखाइएको छ । 

प्रयोगकर्तालाई आफ्नैबारेमा त्यति थाहा हुँदैन, जति सोसल मिडिया कम्पनीलाई थाहा हुन्छ भन्ने गम्भीर वास्तविकता वृत्तचित्रमा चित्रण गरिएको छ । सोसल मिडियाले व्यक्तिका स्वभाव र मनोविज्ञानअनुसारका सामग्री पस्किदिएर त्यसमा भुलाउँछ र प्रयोगकर्तालाई नै ‘प्रडक्ट’ को रूपमा प्रयोग भन्ने पनि दर्साइएको छ । त्यस वृत्तचित्रले सोसल मिडियाले अपनाउने हत्कण्डाप्रति प्रयोगकर्ता सचेत हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।

सोसल मिडिया अप्राकृतिक जीवनशैलीको स्रोत बन्न पुगेको छ । कतिपय प्रयोगकर्ता रातभरि सोसल मिडियाका विभिन्न एप्लिकेसनहरूमा भुल्ने, बिहान समयमा नउठ्ने र दिउँसो सुत्ने गरेको पाइन्छ, जुन स्वाभाविक जीवनशैलीको विरुद्धमा छ । यसबाट सम्बन्धित सोसल मिडिया प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । प्रकारान्तरले सोसल मिडिया अनिन्द्रा, चिन्ता, मानसिक अवसाद, एक्लोपनको कारक तत्व बन्न पुगेको छ ।

सोसल मिडिया प्रयोग गरेर बैकिङ तथा अन्य आर्थिक अपराध गर्ने, फिसिङ स्क्याम गर्ने, हत्या–हिंसा–हुलदङ्गा मच्चाउने, कसैको फेक प्रोफाइल बनाई लज्जास्पद सामग्री राखिदिएर चरित्रहत्या गर्नेजस्ता डरलाग्दा अपराध भएका छन् । त्यसैले कतिपयले सोसल मिडियालाई ‘अपराधकर्मको प्रवेशद्वार’ मान्ने गरेका छन् । नेपालमा पनि साइबर अपराधसँग जोडिएका उजुरीहरूको ग्राफ उकालो लागिरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

अबको बाटो

सोसल मिडिया आफैँमा असल वा खराब केही होइन । यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको असल वा खराब पक्षको निर्धारण गर्छ । यसका सकारात्मक तथा नकारात्मक सम्भावनाहरू अनन्त छन् । एक अर्थमा सोसल मिडिया मूलधारको मिडिया भन्दा पनि शक्तिशाली छ । अब, यसलाई लत्याउन सकिने अवस्था छैन । 

अबको मूल सवाल सोसल मिडियालाई बृहत्तर हितका लागि कसरी रचनात्मक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने नै हो । हाम्रो सामु चुनौती छ, सोसल मिडिया सोसल मिडियाको प्रयोग प्रयोग पनि गर्नुछ, त्यसलाई तल बन्नबाट पनि जोगाउनु छ ।

हरेक प्रयोगकर्ता सोसल मिडियालाई लत बन्न नदिन हुनुपर्ने अवस्था छ । यसका लागि वैकल्पिक उपाय रच्न सकिन्छ । जस्तै  : अनावश्यक रूपमा सोसल मिडिया प्रयोग गर्नुको सट्टा सङ्गीत सुन्ने, बाद्ययन्त्र बजाउने, खेल खेल्नेजस्ता रचनात्मक काम गर्न सकिन्छ । 

अमेरिकास्थित टफ्टस् विश्वविद्यालयको वेबसाइटमा सोसल मिडियालाई कसरी  सिद्धान्तनिष्ठ तरिकाले प्रयोग गर्नेबारे बुँदागत रूपमा सुझाव दिइएको छ, जुन यसप्रकार छ : १, सोसल मिडियालाई संवाद, सम्बन्ध विस्तार तथा समुदाय निर्माणको थलो रूपमा प्रयोग गर्नुहोस्, २, आधिकारिक जानकारी प्रवाह गर्नुहोस्, इमान्दारिता प्रदर्शन गर्नुहोस् तथा खुल्ला संवादलाई प्राथमिकता दिनुहोस्, ३, पहिला सुन्नुहोस, त्यसपछिमात्र बोल्नुहोस् ।

सोसल मिडिया प्रयोगकर्ताको मूलभूत जिम्मेवारी भनेको आपूm पनि सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने नै हो । यसका लागि समाजका लागि उपयोगी र सान्दर्भिक सामग्रीहरू पोष्ट गर्नु नै हरेक प्रयोगकर्ताको दायित्व हुन आउँछ । यसैगरी, सोसल मिडियामा आएका भ्रामक जानकारीबाट बँच्नका लागि हरेक सामग्रीप्रति स्वस्थ्य किसिमको आशंका गर्नुपर्ने हुन्छ ।

सोसल मिडिया अभिव्यक्तिको सुन्दर ‘प्ल्याटफर्म’ हो । तर, अभिव्यक्तिको नाममा तीक्ततापूर्ण, अपमानजनक तथा घृणास्पद अभिव्यक्ति दिनुहुँदैन । यसले नजानिँदो किसिमले समाजमा बैरभाव पैदा गर्छ । 

यसबाट समाज विभाजित हुने खतरा पनि रहन्छ । त्यसकारण, सोसल मिडियामा यस्ता अभिव्यक्तिले कुनै स्थान पाउन हुँदैन । आफ्ना असहमति र असन्तोषलाई शिष्ट भाषामा व्यक्त गर्नु श्रेयस्कर हुन्छ ।

यी र यस्ता पक्षहरूलाई मनमा राखेर रचनात्मक एवम् विवेकपूर्ण ढङ्गाबाट सोसल मिडियाको प्रयोग गरेमा त्यसले कसैको अहित गर्दैन । बरू, यसले समाजको गुरुत्तर प्रगतिमा एकपछि अर्को गरी योगदान दिँदै जान्छ ।

अतिरिक्त सामग्री

टिप्स्ः सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्ने ? 

  • आफू सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने कार्यलाई मूलभूत उद्देश्य राख्नुहोस् ।
  • आलोचनात्मक चेतका साथ सोसल मिडिया प्रयोग गर्नुहोस् ।
  • सोसल मिडियामा आएका सामग्रीप्रति स्वस्थ्य किसिमको आशंकाको भाव( a healthy sense of doubt ) राख्नुहोस् ।
  • अतिरञ्जनापूर्ण अभिव्यक्तिलाई ठाउँ नदिनुहोस् ।
  • सोसल मिडियाको प्रयोगलाई लत बन्न नदिनुहोस् । 
  • घृणास्पद अभिव्यक्ति र गाली–गलौजबाट परै रहनुहोस् ।
  • अनैतिक तथा गैरकानुनी सामग्री उत्पादन र सेयर गर्ने कार्यबाट पूरै बच्नुहोस् ।

के हो फिसिङ ?

प्रतिष्ठित व्यक्ति वा संस्थाको नामबाट इमेल वा टेक्ट मेसेज पठाएर कसैको क्रेडिट कार्ड नम्बर, बैंक खाता नम्बर, पासवर्डजस्ता महत्त्वपूर्ण व्यक्तिगत सूचना हत्याउने दुष्कर्मलाई नै फिसिङ (phishing) भनिन्छ । यसअन्तर्गत कुनै विशिष्ट प्रयोजनका लागि भन्दै मागिएका गोप्य सूचनाको प्रयोग गरेर बैंक खाता वा क्रेडिट कार्डबाट पैसा चोर्ने तथा व्यक्तिगत सूचनाहरू लिक गर्ने वा अनधिकृत प्रयोग गर्ने गरिन्छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनको इमेल अकाउण्ट ह्याक गरी उनका निजी सूचनाहरू सार्वजनिक गरिएको घटनालाई यसको एउटा गतिलो दृष्टान्त मान्न सकिन्छ ।

[युवामञ्च । मंसिर २०७८ । 'सामाजिक सञ्जाल : सम्भावना र जाल' शीर्षकमा प्रकाशित । ब्लगमा भएका सामग्री  प्रयोग गर्न सकिन्छ । प्रयोग गर्दा स्रोत खुलाइदिनुहोला ।]


Monday, February 28, 2022

ठाडो भाकाको उत्खनन

- यमबहादुर दुरा 

अहिलेको साइबर युगमा विदेशका हरेक चीज हाम्रो कोठाचोटामा निर्बाध पसिरहेका छन्। आयातीत संस्कृतिको अन्धानुकरणमा हामी मस्त रहँदा हाम्रा मौलिक चिनारी भने सङ्कटमा छन् । रैथाने संस्कृति ह्रास हुँदै गएको छ। आधुनिकताको रापमा पिल्सिएको त्यही रैथाने संस्कृतिलाई सुमसुम्याउँदै लालबहादुर भुजेलले लोकजीवनको मौलिक लयबारे पुस्तक प्रकाशन गरेका छन्, ठाडो भाकाको लोकसांस्कृतिक इतिहास


गण्डकी भेकमा एक समय निकै लोकप्रिय साङ्गीतिक शैली हो, ठाडो भाका । जुन भाका गाउन खास कला र सीप चाहिन्छ। समयसँगै अहिले हराउँदै र बहुसङ्ख्यकले लत्याउँदै गएको यति विशिष्ट लोकभाकालाई इन्जिनियरिङ पेशाका भुजेलले पुस्तकाकार कृतिमा बुन्नुलाई समयको कसीमा विपरीत धारा जस्तै भइदिएको छ।


ठाडो भाकालाई नै मूल विषय बनाएर पुस्तक लेखिएको जानकारी हालसम्म छैन। भुजेलले कालातीत भइसकेका कलाकारहरूको मौलिक थातथलोमै पुगी स्थलगत अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकासक्रम, गायकहरूको व्यक्तिवृत्त, घतलाग्दा प्रसङ्ग, वंशवृक्षलगायत विषय समेटिएका छन्।



पुस्तकमा कृतिकार भुजेलले प्रशस्त मिहिनेत गरेको देखिन्छ। विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ।

 विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ। यति हुँदाहुँदै पुस्तकमा केही खट्किने पक्ष छन्। विषयवस्तुअनुसार ठाडो भाकाको साङ्गीतिक इतिहासलाई जसरी उधिन्नुपर्ने थियो, त्यसरी उधिन्न नसकेको प्रतीत हुन्छ। शोधविधि तथा सूचना व्यवस्थापनका दृष्टिले पनि कृतिमा धेरै कमजोरी छन्।


ठाडो भाकाको उत्पत्ति र विकासक्रमबारे चर्चा गर्दा विषयवस्तुलाई सामान्य उठान मात्र गरिएको छ। लेखकले उत्पत्ति र विकासक्रमको समयरेखा (टाइमलाइन), साङ्गीतिक खलक (ट्युन फेमिली) जस्ता पक्षलाई राम्रोसँग पर्गेल्न सकेका छैनन्। ठाडो भाकाका आधारभूत पक्षबारे पनि प्रकाश पार्न सकेका छैनन्।


पुस्तकमा ठाडो भाकाका दिवङ्गत गायकहरू बौद्धसिङ गुरुङ, देउबहादुुर दुरा, पञ्चसुब्बा गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, मनिराम दुरा र भेडीखर्के साइँला ९दीर्घराज अधिकारी० बारे मुक्तकण्ठले चर्चा गर्दा तत्कालीन प्रतिभाशाली गायिकाबारे भने नितान्त झिनो किसिमले चर्चा गरिएको   छ। एक समय ख्याति कमाएका पेचेरे दुरा, भक्तिमाया दुरा, धनमाया तामाङ, ज्ञानीमाया थापा आदि गायिकाको कला र गलाबारे चर्चै भएको छैन। गौरवमय इतिहास बनाएका गायिकाहरूको नाम मात्र लिएर छाडिएको छ।


लेखकले तत्कालीन समयका गायिकाबारे चर्चा गर्दा बहुचर्चित गायक देउबहादुुर दुरासँग गीतमा ठोलाबाजी गर्न सक्ने आफली घर्तिनीबारे केही हरफमै कुरो टुङ्ग्याएका छन्। जब कि, पञ्चसुब्बा गुरुङबारे १६ पृष्ठको बखाननामा पेश गरेका छन्। यसबाट कृतिमा समान हैसियत भएका कलाकारको खोजी तथा चिनारी सन्तुलित नभएको देखाउँछ।


कृतिकार भुजेलले पुस्तकको एक अध्यायमा आफूले रचना गरेको ठाडो भाका गीत पस्केका छन्। लोकजीवनका लागि यो अनौठो प्रसङ्ग हो। सामान्यतया, ठाडो भाका कुनै रचनाकारले रच्नेभन्दा पनि लोककण्ठबाट तत्क्षण प्रकट हुने मौखिक साहित्य हो। लोकसाहित्य मौखिक परम्परामा आधारित भएकाले यसमा लिखित परम्पराको उस्तो स्थान हुँदैन। लेखकलाई ठाडो भाकाको गीत राख्नै मन भए आफूले रचेको गीत नभई गाउँबेसी वा हाटबजारमा सुनिएका रोचक गीत पस्किएको भए पुस्तकको सान्दर्भिकता बढ्ने थियो।


कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


पुस्तकले निर्धारण गरेको विषयवस्तु अनुसार यो कृति ठाडो भाका र यसको सांस्कृतिक इतिहासलाई मियो मानेर लेखिनुपर्थ्यो। तर, कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


भुजेलले एउटा परिशिष्टमा आफ्नो जन्मस्थान दुराडाँडाबारे चर्चा गरेका छन्, जुन पुस्तकमा सान्दर्भिक देखिंँदैन। सङ्कलित सूचनाको व्यवस्थापनमा पनि लेखक धेरै चुकेका छन्। सूचना बटुल्न धेरै शारीरिक तथा मानसिक श्रम गरे पनि त्यसको सही व्यवस्थापन नहुँदा लेखाइ खजमजिएको प्रतीत हुन्छ।


कुनै पनि शोधमूलक कृति अध्ययन गर्दा पाठकले शोधशास्त्रसम्बन्धी धेरै प्रश्न मनमा राखेर पढ्छन्। पुस्तक शोधविधि अनुरूप लेखिएको छ या छैनरु शोधविधि अनुसार सूचनाको व्यवस्थापन भएको छ या छैनरु उचित ठाउँमा र सही किसिमले सूचनाको स्रोत खुलाइएको छ कि छैनरु सन्दर्भ सामग्री दिइएको छ कि छैनरु जसका उत्तर नभेटिए कृतिको उच्च मूल्याङ्कन नहुन सक्छ।


सन्दर्भ सामग्री उल्लेख भए पनि शोधशास्त्रको विभिन्न कसीमा यो पुस्तक कमजोर लाग्छ। पुस्तकमा स्थाननाम तथा व्यक्तिका नाम लेख्दा केही छपाइ अशुद्धि पनि छन्, जुन तथ्यगत गल्ती बनेका छन्। जस्तै, हजुर दुरा हुनुपर्नेमा हचुर दुरा (पृ.४३०), छेलाती (स्थाननाम) हुनुपर्नेमा छ्यालाती (पृ.४४०) हुन पुगेको छ।


केही कमी(कमजोरी रहे पनि समग्रमा पुस्तक पठनीय र लोकसंस्कृतिको उत्थानको दृष्टिले प्रशंसनीय छ। ठाडो भाकाबारे चिन्तन(मनन गर्ने सांस्कृतिक विधाका लेखक, अध्येता तथा संस्कृतिकर्मीहरूका लागि पुस्तक राम्रो खुराक हुन सक्छ।


पुस्तक: ठाडो भाकाको लोकसांस्कृतिक इतिहास             लेखक: लालबहादुर भुजेल

प्रकाशक: चाँगुनारायण सांस्कृतिक समाज                      मूल्य: रु.५००      पृष्ठ: २४४

[हिमालखबर । २०७८ साल फागुन १४ गते]

Sunday, February 13, 2022

नेपाली गाउँबस्तीका डोबहरू


–यमबहादुर दुरा

भ्रमणबारे एउटा कथन छ—कुनै कुराबारे हजारपटक सुन्नुभन्दा एकपटक देख्नु उत्तम  । ईश्वीको पाँचौँ शताब्दीतिर धर्मशास्त्री सेन्ट अगस्टिनल यही कथनलाई बल पुग्ने गरीे एउटा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनको विश्वचर्चित भनाइ छ, ‘विश्व एउटा पुस्तक हो, भ्रमण नगर्नेले दुनियाँरूपी पुस्तकको एउटा पानामात्र पढ्छ ।’ 

यी भनाइले भ्रमण कति महत्त्वपूर्ण छ भन्ने तथ्य प्रष्ट्याउँछन् । 

नेपाल पनि प्राचीन कालदेखि नै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहँदै आएको तथ्य छिपेको छैन । हालका दिनमा नेपालमा आन्तरिक पर्यटनकर्मको ग्राफ बढ्दो छ । 

यससँगै देशमा भ्रमण संस्कृति फस्टाउँदै गएको देखिन्छ । ‘वल्र्ड ट्राभल एण्ड टुरिजम’ का अनुसार नेपालको पर्यटन उद्योगमा हुने आम्दानीको कुल हिस्सामध्ये ५६ प्रतिशत हिस्सा आन्तरिक पर्यटनले ओगट्छ, जुन अर्थतन्त्र र स्वदेश चिन्ने दृष्टिले चानचुने विषय होइन ।

नयाँ नयाँ ठाउँ घुम्ने र ती ठाउँमा सङ्गालिएका यात्रानुभूतिहरूलाई शब्दचित्र, तस्बिर र भिडियोमार्पmत जनसमक्ष पस्कने प्रवृत्ति नेपालमा पनि बढदो छ । यसलाई यात्रावृत्तान्तकै एक हिस्सा मान्न सकिएला । त्यसो त, यात्रावृत्तान्त नेपाली साहित्यिक वृत्तमा कुनै अपरिचित विधा होइन । नेपाली साहित्यमा नियात्रा विधा समृद्ध नै देखिन्छ ।

यायावर अनुभूतिहरूलाई शब्दचित्रमा उतार्ने शब्दशिल्पीहरू नेपालमा बाक्लै भेटिन्छन् । आधुनिक समयमा पूर्णप्रकाश नेपाल ‘यात्री’, घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमानजस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाएका छन् ।



यिनै यात्रावृत्तान्तकारहरूका पदचाप पछ्याउँदै प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा, युवराज नयाँघरेलगायत थुप्रै शब्दशिल्पीहरूले यात्रावृत्तान्तलाई उर्वर बनाउन प्रयत्नशील छन् । यही लहरमा पोखरालाई कार्यक्षेत्र बनाएर लेखनकर्ममा जुटिरहेका सर्जक तिलकप्रसाद पुन ‘पुर्जा’ पनि मिसिन पुगेका छन् । उनी यात्रावृत्तान्तसम्बन्धी दुईटा कोसेली ‘साइनो’ र ‘बस्तीभित्र’ एकैचोटि सार्वजनिक गरेर पाठकसमक्ष आइपुगेका हुन् ।

बाल्यकालको तोतेबोलीयुक्त पलहरू पर्वतको ओख्रेनीमा बिताएका तिलकप्रसाद पुन ‘पुर्जा’ सात वर्षकै उमेरमा आमा–बासँग नवलपरासी बसाइँ सरे । बाल्यकालमै उनका पाइलाहरू पहाडका गौँडा–गल्छेडा र मधेशका समथर जमिनमा चलयमान भए । बसाइँ सराइबाट शुरु भएको उनको भ्रमणशीलता कायमै छ । हाल आएर भ्रमणशील सर्जकका रूपमा दएिका छन् ।  

लोकसंस्कृतिप्रति अनुरागयुक्त रुझान भएका ‘पुर्जा’ को लेखाइमा लोकजीवन छ्याङ्ग गरी उघ्रिन्छ । उनले यसअघि लोकजीवनका आयामहरूलाई समेटेर ‘लोक संस्कृतिका सुसेलीहरू’ (२०६७) कृति पाठकसमक्ष ल्याइसकेका छन् । ‘पुर्जा’ को कृतिमा विचरण गरिरहँदा लोकजीवनका रैथाने अनुभूतिहरू बयली खेल्न आइपुग्छन् ।

विगतमा फुटकर रूपमा मात्र यात्रावृत्तान्तलाई लिपिबद्ध गरेका तिलकप्रसाद पुन ‘पुर्जा’ ले यसपटक भने यात्रानुभूतिहरूलाई पुस्तककार कृतिको रूप दिएका छन् । उनको नवीनतम् पुस्तककार कृति ‘साइनो’ मा स्वदेश भ्रमणका रैथाने अनुभूतिहरू सल्बलाउँछन् अनि लोकजीवनका सुवासहरू केबराको फूलझैं  मगमगाउँछन् । 

कृतिको केन्द्रीय विषयवस्तुले नेपालको नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित होमस्टे, रैथाने जीवनशैली र लोकसंस्कृतिको सेरोफेरोमा फन्को मार्छ । भूगोलको कुरा गर्दा कृतिमा पूर्वमा धनकुटा–सुनसरीदेखि पश्चिम कैलालीसम्मका पहाड तथा तराईका होमस्टे तथा पर्यटकीय गन्तव्यहरूको चर्चा छ । नेपालका होमस्टेसँग जोडिएका अनुभूतिहरूलाई समेटेर लेखिएको यो पहिलो कृति हुनसक्छ । 

कृतिकार चित्रकारितामा पनि हात बसेका प्रतिभा पनि हुन् । उनका चित्रकलामा गाउँबस्तीको झझल्को आउने चमत्कारपूर्ण कलाकारिता भेटिन्छ । आँखै अगाडि गाउँबस्ती उभिँदा गाउँले जीवनमा अभ्यस्त जो–कोही पनि अतीतमोहको मृगमरीचिकातिर धकेलिदिन्छ । यस कृतिमा चाहिँ उनले गाउँबस्तीको रेखाचित्र नभई शब्दचित्र तयार पारेका छन् । 

प्रस्तुत कृतिमा ३७ वटा लेखहरू सङ्ग्रहीत छन्, जसमध्ये आधा जति लेख पोखराका स्थानीय अखबार तथा म्यागजिनमा पूर्वप्रकाशित सामग्री हुन् । कृतिले दरै, पहरी, बोटे, थारू, मुसहरजस्ता जनजातिका जीवनशैलीसँग मितेरी गाँस्छ । कृतिमा लोकजीवनका विविध झाँकीहरूका अतिरिक्त भक्तपुरको जुजुधौ अनि टोखाको चाकु र च्युराको बखान पनि भेटिन्छ ।


कृतिकारले विभिन्न कालखण्डमा आफूले चाहरेका पर्यटकीय गन्तव्यहरूका मनोरम भूदृश्य, स्थानीय जीवनशैली, होमस्टे सञ्चालकहरूले दिएका न्यायो आतिथ्य र तिनै होमस्टेमा भेटिने सुस्वादु परिकारको सहस्र वर्णन गरेका छन् । गाउँठाउँ डुल्दा आफू  र आफ्ना टोलीसमक्ष टक्र्याइएका घरेलु ‘रौसी’ को मादकतापूर्ण सुस्वादुपनको चर्चा पनि कृतिमा छुटाएका छैनन् ।

माथि नै भनियो, ‘पुर्जा’ लोकसंस्कृतिको रुझान भएका सर्जक हुन् । उनको कृतिमा स्थानीय मोहनी लोकभाका र लोकनृत्यको चर्चा भएन भने त्यो अनौठो विषय हुनपुग्छ । उनले लोकभाका र लोकनृत्यले सजिएको स्थानीय जनजातीय लोकसंस्कृतिको भरपूर रसास्वादन गरेका छन्, जुन कुरा उनले कृतिका विभिन्न पृष्ठहरूमा रिठ्ठो नबिराई चर्चा गरेका छन् ।

कृतिमा नजर दौडाइरहँदा कृतिकारले स्थानीय भूगोल, लोकसंस्कृति र लोकमनोविज्ञानलाई हृदयको कुनामा सजाएर राखेको अनुभूति हुन्छ, जुन यात्रावृत्तान्तको आधारभूत व्याकरण पनि हो । पुस्तकको भाषा सहज र सरल छ । कृतिमा एक किसिमको सहज लालित्य पनि छ । पुस्तकमा ठाउँ ठाउँमा उखान–टुक्काहरू प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएको छ । 

यति हुँदाहुँदै पनि कृतिमा सुधार गर्नुपर्ने ठाउँ पर्याप्त छ । कृतिको शैलीगत पक्षमा सुधार अपेक्षित छ । पूर्वप्रकाशित कृति साभार गर्ने तरिकामा एकरूपता छैन । कृतिमा प्रयोग गरिएका कतिपय फोटो–क्याप्सन भद्दामात्र होइन, लयविहीन पनि देखिन्छन् । ठाउँठाउँमा भाषिक अशुद्धि भेटिँदा सम्पादकीय कैची हुनुपर्ने जति निर्मम बन्न नसकेको प्रतीत हुन्छ ।

कतिकारले पुस्तकमा लोकगीतको नाममा बजारू गीतका हरफहरू उद्धरण गरेका छन् । लोकगुञ्जनको नाममा व्यापारिक प्रयोजनका लागि रचिएका अल्लारे पाराका सस्तो गीतलाई पनि उद्धरण गरेको देख्दा कताकता खल्लो लाग्छ । 

लोकजीवनको प्राङ्गारिक विषयवस्तु पस्किरहँदा बीचबीचमा यस्ता ‘व्यापारिक आइटम’ भेटिँदा दाँतमा ढुङ्गा लागेजस्तो अनुभव हुन्छ । कृतिकारले मौलिक शब्दले सजिएका तथा रचनाकार अज्ञात रहेका लोकभाका र वस्तुकरण गरिएका गीतबीच भिन्नता छुट्याउन नसकेका हुन् कि भन्ने भान हुन्छ । 

कृतिको भाषाशैली मूलतः वर्णनात्मक छ, जसमा विश्लेषणात्मक पक्षको अभाव छ । उदाहरणका लागि कृतिकार ठाउँठाउँमा घरेलु ‘रौसी’ स्वादबारे चर्चा गरेका छन् । तर, यसको अर्को लुकेको पक्षको उदघाटन गरेका छैनन् । प्रहरी प्रशासनले बहुराष्ट्रिय कम्पनीको मदिराजन्य उत्पादनलाई खुल्ला छाडेर घरेलु ‘रौसी’ निर्मम तरिकाले घोप्ट्याइदिने घटना कुनै नयाँ होइन । प्रहरी प्रशासनको यस्तो रबैयाबाट स्थानीयस्तरमा भएका सांस्कृतिक हिंसा र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असरबारे विश्लेषणात्मक धारणा राख्ने गजबको अवसर कृतिकारलाई थियो, जुन उनले राम्रैसँग गुमाएका छन् ।

हरेक कृतिमा सुधारको गुञ्जायस रहिरहन्छ । तर पनि, स्थानीय संस्कृति र अर्थतन्त्र केन्द्रमा राखेर मिहिन किसिमले यात्रावृत्तान्त जनसमक्ष आउनु खुसीलाग्दो पक्ष हो । रैथाने यात्रा अनुभूतिहरूलाई पुस्तकाकार कृतिमा उतार्ने कृतिकारको प्रयास प्रशंसनीय छ । 

सगम्रमा भन्दा कृतिले नेपालका होमस्टे तथा सांस्कृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन्छ, जुन नयाँ घुमक्कडहरूका लागि उपयोगी हुनसक्छ । नेपाल आमालाई नयाँ ढङ्गले चिन्ने र चिनाउने दिशामा कृतिकारले दिएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । 

यहाँनेर, एउटा प्रसङ्ग स्मरणीय हुन आउँछ । अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट–मुनले आधुनिक सुखसुविधाबाट बञ्जित अमेरिकी गाउँबस्तीहरूको भ्रमण गरेर सन् १९८२ मा ‘ब्लु हाइवेज’ नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो । 

 समकालीन नेपाली गाउँबस्तीका कथाव्यथा झल्किने गरी विलियम हिट–मुन पुस्तकजस्तो बेस्टसेलर यात्रावृत्तान्त लेख्ने  अवसर छ । यस अवसरले तिलकप्रसाद पुन ‘पुर्जा’ जस्ता भ्रमणशील सर्जकहरूकोबाटो हेरिरहेको पनि हुनसक्छ । 

हिमालखबर । २०७८ साल माघ २९ गते । परिमार्जनसहित ।