Sunday, January 10, 2021

किन बचाउने हाम्रा हर्रो, बर्रो, यार्चागुम्ब ?


–यमबहादुर दुरा

अग्रजहरूले उदघोष् गर्दै आएका हुन्, ‘हरेक सङ्कटले कुनै न कुनै रूपमा अवसर पनि लिएर आउँछ ।’ 

कोरोनाले निम्त्याएको स्वास्थ्य सङ्कटले पनि यही तथ्यलाई स्थापित गरेको छ । कोरोना महामारीले जनजीवनको लय बिथोले पनि एउटा कामचाहिँ राम्रै गर्‍यो । त्यो हो, बिर्सिँदै गएको परम्परागत औषधोपचार पद्धतिकोे चर्चा । 

कोरोनाबाट छुटकारा दिने कुनै घोषित औषधि उपलब्ध नभएको घडीमा परम्परागत औषधोपचार पद्धतिलाई विकल्पको रूपमा उपयोग गर्ने प्रचलन जनस्तरमा शुरु भयो, जुन एउटा सकारात्मक पाटो हो । परिणमस्वरूप बेसार, गुर्जो, तुलसीको पातजस्ता परम्परागत औषधिजन्य वनस्पतिहरूको उपयोग व्यापक भयो । 

कोरोनाकालको 'अवसर'

जनजनमा चर्चा चुलिएका यस्ता वनस्पति नेपालमा कति परिमाणमा उपयोग गरिए भन्नेबारे कुनै औपचारिक र आधिकारिक आँकडा भेटिँदैन । तर, परम्परागत औषधिको स्रोतबारे भने केही जानकारी भेटिन्छ । ‘जर्नल अफ इथ्नोबायोलजी एण्ड इथ्नोमेडिसिन’ मा प्रकाशित एक लेखमा ४५.६१ प्रतिशत प्रयोगकर्ताले आफ्नै करेसाबारीबाट परम्परागत औषधिजन्य वस्तुहरू प्राप्त गरेको जनाइएको छ ।

कोरोनाकालमा नेपालमा मात्र होइन, संसारको अन्य भागमा पनि परम्परागत औषधोपचारलाई आत्मासात गरिएको पाइन्छ । बीबीसी विश्वसेवाको वेबसाइटमा सन् २०२० जुन २८ मा प्रकाशित एक लेखका अनुसार चीनका ९२ कोरोना बिरामीले कुनै न कुनै रूपमा परम्परागत औषधिको उपयोग गरेको उल्लेख छ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनको वेबसाइटमा अफ्रिकाका कोरोना बिरामीले पनि परम्परागत उपचार पद्धतिलाई उपयोगमा ल्याइएको जनाइएको छ ।

परम्परागत औषधोपचार हाम्रो जीवनशैलीसँग युगौँदेखि नाता गाँस्दै आएको प्राचीन उपचार पद्धति भए पनि समयक्रममा दिन प्रतिदिन बिरानो बन्दै गएको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सा प्रणालीको परिपूरक तथा वैकल्पिक चिकित्सा प्रणाली मानेको छ । विश्व स्वास्थ्य सङ्गठनको यो भनाइले परम्परागत औषधोपचार पद्धतिको महत्त्व र गरिमालाई उचो बनाएको छ ।

इन्स्टिच्युट अफ नेचुरल मेडिसिन/युनिभर्सिटी अफ टोयामा (जापान) का भिजिटिङ प्राध्यापक मोहनविक्रम ज्ञवालीद्वारा लिखित पुस्तक ‘आस्पेक्ट्स ट्रेडिसनल मेडिसिन इन नेपाल’ (सन् २००८) का अनुसार आयुर्वेद चिकित्सा प्रणाली भारतीय उपमहाद्वीपमा वैदिककाल (ईपू १५००–९००) मा अस्तित्वमा आएको हो (पृ.२) । यद्यपि, आयुर्वेदलगायतका परम्परागत औषधोपचार पद्धतिको उत्पत्तिबारे थुप्रै कालक्रमगत मतभिन्नताहरू पाइन्छन् ।

तस्बिर : गुगल

परम्परागत चिकित्सा प्रणालीका थुप्रै फाइदा छन् । हाम्रो जीवनशैली र संस्कृतिसँग गाँसिएका र युगौँ पुरानो परम्परागत ज्ञानमा आधारित भएकाले यसको उपयोगिता बहुधा प्रश्नविहीन मानिन्छ । औषधीय गुण भएका वनस्पतिरू स्थानीयस्तरमा सजिलै उपलब्ध हुने भएकाले यसका लागि चर्को आर्थिक मूल्य चुकाउनु पर्दैन । 

जानिफकारहरूले भन्दै आएका छन्, आधुनिक औषधिको सापेक्षमा परम्परागत औषधि कम साइड इफेक्ट (पार्श्व –प्रभाव) युक्त हुन्छ । यसैगरी, परम्परागत औषधोपचारसम्बन्धी ज्ञान कुनै व्यापारिक कम्पनीको हातमा नभई ‘पब्लिक डोमेन’ मा रहन्छ, जुन यसको एउटा सुन्दर पक्ष हो ।

धेरै अर्थमा जनहितकारी पद्धति भए पनि समयको प्रवाहसँगै परम्परागत चिकित्सा प्रणाली छायाँमा पर्दै गएको छ । परम्परागत औषधिले तुलनात्मक रूपमा ढिलो काम गर्छ । तीव्र आतुरता छाएको व्यस्त युगमा क्षणभरमै निको पार्ने औषधिको खोजीमा रहेका व्यस्त मानव समुदायका अगाडि परम्परागत औषधोपचार पद्धति कताकता आकर्षणविहीन देखिन्छ । आधुनिक प्रविधियुक्त चिकित्सा प्रणालीका अगाडि परम्परा औषधोपचार पद्धति कताकता बिरानिएको देखिन्छ । 

अर्को कुरा, आधुनिकीकरण, शहरीकरण, बसाइँ–सराइ र पश्चिमा शैलीको रहनसहनको ग्राफ उकालो लागिरहेको यो समयमा परम्परागत औषधोपचार पद्धतिको लय नराम्रोसँग बिथोलिन गएको छ । हाम्रो घरआँगनमै रहेका बहुमूल्य जडीबुटी  भिल्लाको देशका मणिजस्ता हुन पुगेका छन् । निःशुल्क उपलब्ध बहुमूल्य सम्पदा नचिन्दा परम्परा औषधोपचार पद्धतिप्रति नयाँ पुस्ता बहुधा विकर्षित देखिन्छ ।

आधुनिक चिकित्सा प्रणालीप्रति जतिसुकै आकर्षण बढे पनि यो समस्याविहीन भने छैन । नेपालमा प्रयोग हुने अधिकांश औषधि विदेशबाट आयात भइरहेको छ । २०७६ साल चैत ११ गते देशभर लकडाउन घोषणा भएपछिको पाँच महिनाको अवधिमा मात्र नेपालले ११ अर्बभन्दा बढीको औषधि र त्यससँग सम्बन्धित कच्चा पदार्थ खरिद गरेको तथ्याङ्क भन्सार विभागसँग छ । 

अर्कोतिर, स्वास्थ्यजस्तो आधारभूत मानवीय सेवामा व्यापारीकरण बढ्दो छ । यससँगै स्वास्थ्य सेवा दिनानु दिन महङ्गो बन्दै गएको छ । स्वास्थ्यमा लगानी गर्न नसक्दा सर्वसाधारण नागरिक आधारभूत स्वास्थ्योपचारको आधारभूत सेवा बञ्चित हुने अवस्था आएको छ । वास्तवमा आधारभूत स्वास्थ्यसेवा संविधानप्रदत्त मौलिक अधिकार हो । 

नयाँ पुस्तासँगको नाता

नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता समस्याहरूले घर–आँगनमै सजिलै उपलब्ध हुने परम्परागत औषधोपचार पद्धतिको आवश्यकताबोध गराउँदै गएको छ । यस पृष्ठभूमिमा सरकारले स्वास्थ्योपचार पद्धतिलाई नीतिगत रूपमा प्राथमिकता दिएको देखिन्छ । 

‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ को दफा ६ (७) भनिएको छ, ‘आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिकलगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा  विकास र विस्तार गरिनेछ ।’

यसैगरी, दफा ६ (७) (३) मा स्थानीयस्तरमा उपलब्ध औषधिजन्य जडीबुटी एवम् जावन्त द्रव्यको पहिचान, संरक्षण, सङ्कलन, प्रवद्र्धन गर्दै आयुर्वेद वैज्ञानिक अनुसन्धान  तथा सदुपयोग गरी आत्मनिर्भरता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।

सरकारी दस्ताबेजमा रहेका परम्परागत औषधोपचार पद्धतिलाई समृद्ध बनाउने नीतिलाई सार्थक तुल्याउन सहज पटक्कै छैन । पश्चिमा शैलीको उपचार पद्धतिले जरो गाडिसकेको घडीमा पल पल मर्दै गएको परम्परागत औषधोपचार पद्धतिको प्राणप्रतिष्ठा गर्न अथक प्रयास आवश्यक छ । यसका लागि अगाडिको बाटो कठिन छ । परम्परागत औषधोपचार पद्धतिको बिग्रदै गएको लयलाई पुनः लयबद्ध गर्न जनस्तर र सरकारीस्तरमा दरिलो पहलकदमी माग गर्छ । 

तस्बिर : गुगल

अटोमेसन र डिजिटल प्रणालीमा अभ्यस्त हुँदै गएको नयाँ पुस्तालाई बिरानो बन्दै गएको परम्परागत ज्ञानमा आधारित परम्परागत औषधोपचार पद्धतिसँग नाता गाँस्न सहज छैन । वनक्षेत्रमा रहेका औषधीय गुण भएका वनस्पति पहिचान गर्न र तिनको अभिलेखन गर्न पर्याप्त स्थलगत भ्रमण र गहन अध्ययन आवश्यक हुन्छ । हालको परिवर्तित सन्दर्भमा परम्परागत औषधोपचार पद्धतिलाई नयाँ शिराबाट अध्ययन र विश्लेषण गर्न पनि उत्तिकै आवश्यक छ । 

परम्परागत औषधोपचार पद्धति रैथाने परिपाटी भएकाले यसले ‘एथ्नोबोटनी’, स्थानीय ज्ञान, स्थानीय भाषा र स्थानीय जीवनशैलीसँग गहिरो नाता गाँस्छ, जससँग अध्येता राम्ररी परिचित हुनुको विकल्प छैन । यसका अतिरिक्त, परम्परागत औषधोपचार पद्धतिसम्बन्धी कतिपय ज्ञान संस्कृत, पालीजस्ता हाल प्रचलनमा नरहेका भाषामा छन् । बहुसंख्यकलाई त्यस्ता लुकेका परम्परागत ज्ञान अभेद्य चट्टानजस्तै हुने अवस्था छ । 

समयले काँचुली फेरेसँगै परम्परागत औषधोपचार पद्धतिलाई युगानुकूल प्रविधिमैत्री र विज्ञानसम्मत बनाउन आवश्यक छ, जसले अध्ययन–अनुसन्धानको थप शृङ्खला र प्राज्ञिक विमर्श माग गर्छ । परम्परागत औषधोपचार पद्धतिलाई बचाउने  हो भने आयुर्वेद, अकुपञ्चर, आम्ची, योगजस्ता परम्परागत औषधोपचार पद्धतिलाई एउटा बेग्लै विधाका रूपमा विश्वविद्यालयमा अध्ययन–अध्यापनको वातावरण तयार पार्न आवश्यक देखिन्छ । यसका लागि सरकारीस्तरमा नीतिगत स्पष्टता आवश्यक छ ।

एकस्व अधिकारको लडाइँ

हाम्रो सामु अर्को गम्भीर चुनौती पनि छ । विश्वमा जैविक चोरी ९द्यष्य(उष्चबअथ० का बढ्दो घटना र गुणसम्पन्न वनस्पतिमा एकाधिकार जमाउने होड चलिरहेको छ । यस्तो घडीमा नेपालको सरहदभित्र रहेका औषधीय गुणयुक्त र सुगन्धशाली वनस्पतिको एकस्व अधिकार ९एबतभलत चष्नजत० जोगाउने कार्य जटिल मामिला बन्दै गएको छ । नेपालमा हालसम्म यस्ता वनस्पतिको संख्या एक हजार सात सय ९२ छ (‘आस्पेक्ट्स ट्रेडिसनल मेडिसिन इन नेपाल’, सन् २००८, पृ.३०) । 

शक्तिसम्पन्न पश्चिमा मुलुकले बाहुबलकै आधारमा घिउकुमारी, तुलसी, हर्रो, अश्वगन्धा आदिजस्ता हाम्रा रैथाने वनस्पतिमा एकस्व अधिकार दर्ता गराइसकेका खबरले हामीलाई थैयाथैया पारिरहेको छ । यता, हाम्रै छिमेकी मुलुक भारतले पछिल्लो पटक वास्मती धानमा एकस्व अधिकार दर्ता गर्न लागेको खबरले पनि हामीलाई झस्काएको छ । उसले निम, हलेदोजस्ता वनस्पतिमा पहिले नै हक जमाइसकेको छ । 

अरूको आँखा लागेका यस्ता वनस्पतिले हाम्रो स्वास्थ्यसँग घनिष्ट नाता गाँस्छन् । प्रकृतिको वरदानको रूपमा रहेका यस्ता वनस्पति हाम्रो हरित अर्थतन्त्रको हिस्सा पनि हुन्, जसलाई जोगाउन ठूलै कानुनी लडाइँ लड्नुपर्ने अवस्था हाम्रो सामु आइसकेको छ । यसका लागि व्यापक रूपमा जनचेतनाको विस्तार गर्नुपर्ने र कानुनी ज्ञान बढाउन जरुरी भइसकेको छ ।

शक्तिशाली मुलुकहरू गरिब मुलुकका प्राकृतिक सम्पदामाथि एकाधिकार जमाएर विश्वभर व्यापार गरी ठूलो मात्रा धन आर्जन गर्छन् । धनी र वैभवशाली बन्छन् । नेपाल  अब पनि चनाखो नहुने हो बाँकी बसेका पाँचऔले, रूद्राक्ष, च्याउ, यार्चागुम्बालगायतका हाम्रा प्राकृतिक सम्पदामाथि शक्तिसम्पन्न मुलुकले हामीलाई नै बुङ्गै पारेर एकाधिकार नजमलाउन् भन्न सकिन्न । 

यस्ता पेचिला विषयमा नयाँ पुस्तलाई यस्ता विषयमा बेलैमा परिचित तुल्याउनुपर्छ । यस क्रममा परम्परागत औषधोपचार पद्धतिको महत्त्व, औषधीय गुणयुक्त र सुगन्धशाली वनस्पतिको उपयोगिता र तिनको एकस्व अधिकार, जैविक चोरीलगायतका विषयलाई पाठ्यक्रममा समावेश गर्न गर्न आवश्यक छ । यसो गर्नु भनेका प्राकृतिक सम्पदाको रक्षाका लागि एउटा बलियो सुरक्षा दस्ता निर्माण गर्नु जस्तै हो ।

अब, परम्परागत औषधोपचार पद्धतिको ज्ञानको दायरालाई विश्वविद्यालयमा मात्र सीमित नराखी समुदायस्तरमा पनि विस्तार गर्न आवश्यक भइसकेको छ । गाउँ समाजमा सामुदायिक सूचना प्रणाली विकास गर्नुपर्छ । परम्परागत औषधोपचार पद्धतिलगायतका सामुदायिक सरोकारका विषयलाई समुदायमा आधारित सूचना केन्द्र स्थापना गर्न आवश्यक छ । 

सामुदायिक सूचना केन्द्रलाई पुख्र्यौली ज्ञान अभिलेखीकरण गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने हुन्छ । त्यहाँ लिखित सामग्रीमात्र होइन, श्रव्य–दृश्य सामग्री पनि राख्नुपर्छ । सामुदायिक सरोकारका विषयमा सामुदायिक सूचना केन्द्रबाट सूचना प्राप्त गर्ने दिशामा जनस्तरका नागरिकलाई अभिमुखीकरण गरी त्यसलाई संस्कृतिकै रूपमा विकास गर्न आवश्यक छ । यसो गर्न सकिएमा  परम्परागत औषधोपचार पद्धतिलाई जोगाउने र त्यसबाट अधिकतम् फाइदा लिने वातावरण बन्नसक्छ ।

[हिमालखबर । २०७७ साल पुस २५ गते ।]