Friday, May 24, 2019

शिष्टाताको बाटो बिराउँदै लोकगीत

यमबहादुर दुरा

लोकगीत मानव अभिव्यक्तिको एउटा सुन्दरतम् माध्यम हो । असली लोकगीतको शब्द, लय र भावमा सुन्दरताको भुमरी भेटिन्छन् । यहीँनेर लोकगीतको सुन्दरता र भव्यता जोडिएको छ ।

लोकगीतले दिने यस किसिमको सौन्दर्यात्मक आनन्द  (Aesthetic joy) का कारण आमनागरिक लोकगीतप्रति हुरुक्क हुन्छन् ।

लोकगीतको परम्परागत प्रवृत्तिलाई हेर्ने हो भने लोकगीत शिष्टता, मर्यादा र विनयशीलताको खानी हो । ‘मै गीत गाउँ कि सुनखानीमा पितलु मिसाउँ कि’, ‘म त हजूर डढेलोको ठूटोजस्तो, मेरो माया पूर्नेको जूनजस्तो’ । यी लोकगीतका त्यस्ता हरफ हुन्, जसमा शिष्टता, मर्यादा र विनयशीलता छचल्किन्छन् । नेपाली लोकगीतको मूल प्रवृत्ति यही हो ।

तर, समयको यो विन्दुमा आइपुग्दा नेपाली लोकगीतको स्वाभावमा अपत्यारिला परिवर्तनहरू आएका छन् । विगतमा लोकगीत मूलतः आत्मिक सुख र शान्तिको सुन्दर माध्यम बनेको थियो । लोकगीत अहिले व्यापारिक वस्तु बन्न थालिसकेको छ । यससँगै लोकगीतमा शिष्टता, मर्यादा र विनयशीलता क्षयीकरण हुँदै गएको छ, जुन लोकगीतका बहुसंख्यक अनुरागीहरूले अनुभूत गर्दै आएका छन् ।

यतिबेला, नेपाली लोकगीत प्रश्नहरूको घेरमा छ । लोकगीत प्रश्नहरूको घेराबन्दीमा रहेको बेला यसबारे अनेकन् टीका–टिप्पणी सुनिन थालेको छ : लोकगीत विकृतिग्रस्त हुन थाल्यो, लोकगीतमा अश्लीलता बढ्न थाल्यो, लोकगीत व्यापारिक वस्तु बन्न थाल्यो, लोकगीतले बाटो बिरायो, आदि ।

यद्यपि, नेपाली लोकगीत हिजोको आजै विकृतिग्रस्त बनेको भने पक्कै होइन । यो कालखण्डसम्म आइपुग्दा लोकगीतले धेरै उतारचढाव भोगेको छ । लोकगीतको मुहान विगतदेखि नै विकृत बन्दै आएको देखिन्छ ।

उदाहरणका लागि देशको राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालबाट बज्ने लोकगीतहरूलाई लिन सकिन्छ । रेडियो नेपालले एकतिर देशको कुना–कन्दरामा प्रचलित मौलिक लोकभाकाहरूलाई उजागर गर्ने गर्‍यो भने अर्कोतिर सुन्न असहज लाग्ने गीतहरू लोकगीतका नाममा प्रसारण गरेर विकृतिलाई प्रश्रय पनि दियो ।

यसभन्दा अघिका कालखण्डहरूलाई हेर्ने हो भने लोकगीतमा उतारचढाव आएका छन् । सन् १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिबाट नेपालको राष्ट्रिय स्वाभिमानमा ठूलो चोट लाग्यो । त्यसपछि लोककविहरूको रचनाकारिता भक्तिमार्गतिर मोडिएको देखिन्छ ।

राणाकालमा चेतनाका गीत र कवितामा प्रतिबन्ध लागेपछि त्यस समयका रचनाहरू श्रङ्गारिक धारतिर प्रवाहित भएको देखिन्छ । यद्यपि, सबै श्रङ्गारिक गीत वा रचनाहरू विकृतिग्रस्त हुन्छन् भन्ने कदापि होइन ।

अहिलेको सूचना क्रान्तिको युगमा दुनियाँले धेरै ठूलो फड्को मारेको छ । मानिसका अभिव्यक्ति शैली र प्रवृत्तिहरूमा व्यापक परिवर्तन आएको छ । अहिलेका दोहोरीगीत सुन्दा र लोकगीतसम्बन्धी म्युजिक भिडियोहरू हेर्दा लोकगीतले ठूलै वेग हानेको अनुभूति हुन्छ ।

अहिलेका दोहोरीगीतको शैली हेर्दा सीधै जोरी खोज्ने, सोझै लान्छु–लैजान्छु भन्ने, सीधै दागा धर्ने, खसालेर बोल्ने, अश्लील र अशिष्ट शब्दावली प्रयोग गर्नेजस्ता प्रवृत्तिको बाढी देखिन्छ । यसबाट सामाजिक शिष्टता, मर्यादा र विनयशीलतामा तीव्र क्षयीकरण भइरहेको छ ।

यसका पछाडि विभिन्न कारक तत्वहरू छन् । विश्वव्यापीकरणको लहरसँगै आएको खुलापनले यस्तो प्रवृत्तिलाई थप बल दिएको छ । त्यसमा पनि, हरेक कुरालाई बिकाउ वस्तु (Commodity goods) को रूपमा बेच्ने पूँजीवादी परिपाटीले लोकगीतलाई पनि बिकाउ वस्तुकै रूपमा देख्छ । सोही अनुसारको व्यवहार भइरहेको छ ।

शहरमा खुलेका दोहोरी रेष्टुरेष्टहरूले ग्राहक पल्काउन सस्तो मायाप्रेमका गीतलाई प्राथमिकता दिएका छन् । विभिन्न महोत्सवमा हुने दोहोरीगीत पनि विकृतिको स्रोत बनेको छ, जहाँ कलाकारहरूले भीडलाई तताउन र उत्तेजित पार्न सोही अनुसारका उत्ताउला गीत गाउँछन् । यसबाट पनि लोकगीतको शिष्टता र मर्यादामा नपत्याउँदो किसिमले धक्का पुगेको छ ।

यहाँनेर, फ्रयाक्फर्ट स्कुलका थिङ्क ट्याङ्क थियोडोर अडोर्नो (सन् १९०३–१९६९) र म्याक्स होर्खामर (सन् १८९५–१९७३) ले ‘कल्चर इन्डष्ट्री’ शीर्षकको लेखमा  हाम्रा सांस्कृतिक अवयवहरू कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा दिएका व्याख्यान सान्दर्भिक हुन आउँछ ।

हाम्रा सांस्कृतिक अवयवहरू व्यापारिक वस्तु बनेका छन् र आमसञ्चार माध्यमले तिनीहरूलाई फराकिलो घेरामा विस्तार गर्नमा सहयोगी भूमिका खेलेका छन् भन्ने उनीहरूको निष्कर्ष छ । वास्तविकता पनि यही हो ।

अहिले हाम्रा लोकगीतहरू पनि निर्धक्क किसिमले व्यापारिक वस्तु बनिसकेका छन् । व्यापारको नियम नै हो-जसो गर्दा ती व्यापारिक वस्तु बिक्छन्, सोही अनुकूलका सूत्र अपनाएर वस्तु बेचिन्छ ।

यतिबेला, संस्कृतिलाई वस्तुको रूपमा बेच्ने काम व्यापक रूपमा भइरहेको छ । यसको नतिजा के भएको छ भने लोकगीतको अनुहारमा औद्योगिक पूँजीवादको प्रतिविम्ब स्पष्ट रूपमा देखिन थालेको छ  ।

परम्परागत रूपमा सीधा घोचपेच, अश्लील शब्द र अशिष्ट व्यवहार लोकगीतमा उचित मानिँदैनथ्यो । तर, अहिले त्यही उचित नमानिएको व्यवहारलाई नै अहिले अनुकरण गर्न थालिएको छ । यसले लोकगीतको मर्ममाथि सीधा प्रहार गरेको छ ।

विष्णुनारायण भातखण्डे (सन् १८६०–१९३६), पण्डित विष्ण दिगम्बर पलुस्कर (सन् १८७२–१८३१) जस्ता चर्चित भारतीय सङ्गीतज्ञ भारतको सङ्गीतिक परम्पराको गहिरो अध्ययन गरे । उनीहरूले भारतको विभिन्न भागको भ्रमण गरी आ–आफ्नै ढङ्गले लोकगीतका विभिन्न पक्षको अध्ययन गरे ।

उनीहरूले अध्ययनका क्रममा लोकगीतसँग जोडिएको एउटा रोचक तथ्य फेला पारे । उनीहरूले के पाए भने उच्चघरानाका मानिसहरूले लोकगीतका कलाकारसँग दूरी राख्थे । उनीहरूले आफ्ना छोराछोरीलाई लोकसङ्गीत सिक्न पनि दिँदैनथे ।

यसो हुनुको कारण थियो, तत्कालीन समयमा लोकगीतमा व्यक्त भएका सस्तो मायाप्रेमका प्रसंग र अश्लील गीतहरू । यो कुरा थाहा  पाएपछि ती अध्येताको ध्यान लोकगीतका विकृतिहरू मेट्नतिर केन्द्रित भयो ।

हाम्रा सांस्कृतिक पहिचानको रूपमा रहेको लोकगीतले पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्तै नियति भोगिरहेको छ । यस्तै विकृतिहरू मौलाइरहेका छन्, जुन दुःखद विषय हो ।

लोकगीत सार्वजनिक अभिव्यक्तिको माध्यम हो । सार्वजनिक अभिव्यक्तिमा शिष्टता, मर्यादा र विनयशीलता उच्च स्थान पाउनुपर्छ । लोकगीतमा यस्ता तत्वहरूको प्रचुरता रहेमा लोकगीत र सङ्गीत उद्योग दुवैका लागि हितकर हुनेमा द्विविधा छैन ।

[साभार: लोकसंवाद । २०७६ साल जेठ १० गते । परिमार्जित संस्करण ।]

Friday, May 17, 2019

जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधि

-यमबहादुर दुरा

‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने गीत गाउँछ’ साहित्यकार मनबहादुर मुखियाले रचेको यो गीतको हरफले नेपालका गन्धर्व समुदायको साङ्गीतिक कर्म र गरिमा उजिल्याएको छ । गीतको यो हरफले गाउँघर डुल्दै युद्ध–विभीषिकादेखि मायामोहसम्मका लयदार गीत गाउँदै हिँड्ने गन्धर्व समुदायबारे थोरै शब्दमा धेरै तथ्य बोलेको छ ।

राष्ट्रिय जनगणना, २०६८ का अनुसार नेपालमा गन्धर्व समुदायको जनसंख्या ६ हजार ७ सय ९१ छ । जनसंख्याको दृष्टिले सानो भए पनि गन्धर्व समुदायले समाजमा छाडेको साङ्गीतिक प्रभाव व्यापक र गहिरो छ ।
तस्बिर:  गुगल

नेपाल एकीकरणको समयमा गन्धर्वहरूले खेलेको सूचना सम्वाहकको भूमिकालाई इतिहासको पानामा मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ । कास्की हेम्जाकी हीरादेवी गाइनेनी, मणिराज गाइने घटनाप्रधान गीत कर्खा गाउनमा चर्चित ठहरिन्छन् । नेपालको साङ्गीतिक परिदृश्यमा बखतवीर बूढापिर्थीको नाम सम्मानपूर्वक लिइन्छ । उनले चक्रपाणि चालिसेले लेखेको राष्ट्रिय गीतमा सङ्गीत भरेको इतिहास छ ।

उनीभन्दा पछि नेपालको साङ्गीतिक परिवेशमा उदाएका झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०), तीर्थबहादुर गन्धर्व (वि.सं. २०१०–२०७०), जङ्गबहादुर गन्धर्व (वि.सं. २००७–२०७०) जस्ता साङ्गीतिक शिल्पीहरूले साङ्गीतिक क्षेत्रमा योगदान प्रशंसनीय छ ।

उनीहरूले मूलतः नेपाली लोकगीतको ‘पपुलर’ धारमा दिएका योगदान अहिले अध्ययनको विषय बनेको छ ।  मिडियामा छाउने शौभाग्य नपाएका तर गाउँबस्तीलाई आफ्ना कला र गलाले अतिशय प्रभावित तुल्याएका अन्य गन्धर्व प्रतिभाहरूको खोजी झन ठूलो विषय हो ।

एक समयमा गन्धर्व समुदाय नवीनतम् सूचनाको स्रोत मानिन्थे । गाउँबस्ती डुल्दै हिँड्ने भएकाले उनीहरूलाई समाजमा विकसित घटनाक्रमको जानकारी हुन्थ्यो । उनीहरूले कुनै व्यक्तिले बाघ मारेको बहादुरीपूर्ण घटनादेखि तथा  जुवाडे बाउले आफ्नै छोरीको ज्यान लिएको नृशंस हत्याकाण्डहरूलाई घटनाप्रधान गीत बनाउँथे । त्यस्ता गीतलाई गाउँ–गाउँ डुलेर गाउँथे । यातायातको नेटवर्क विस्तार नभएको र आमसञ्चार माध्यमको विष्फोटक उपस्थिति नभएको त्यस समयमा उनीहरू समाचारको स्रोत मानिन्थे ।

उनीहरूको यस्ता सूचनाप्रधान गतिविधिलाई अवलोकन गरेर कतिपय विदेशी अनुसन्धाताले गन्धर्व समुदायलाई ‘जिउँदो समाचारपत्र’ भनेर नामकरण गरेको पाइन्छ । व्यक्तिको हात हातमा मोबाइल फोन पुगेको वर्तमान घडीमा मानिसलाई सूचनाको कमी छैन । हिजोका दिनामा नयाँ सूचनका लागि धेरैले गन्धर्वहरूको मुख ताक्थे ।

पुरानो समयमा गाउँबस्तीमा सुनिने जङ्गबहादुरको कर्खा, चन्द्रशमसेरको कर्खा, सिंहदरबारमा आगलागीसम्बन्धी कर्खा यिनै घटनाप्रधान गीतहरूको श्रृङ्खला हुन् ।

एक समयमा गण्डकी भेगका लाहुरे समुदायबीच गन्धर्वहरू लोकप्रिय थिए । ठूला ठूला आकारका टेप रेकर्डर लिएर गन्धर्वका कर्खा र त्यस समयका पपुलर शैलीका गीत रेकर्ड गर्न गन्धर्वहरूको बाक्लो वासस्थान पोखरा पुुग्थे । रेकर्ड गरिएका चक्का लाहुरेसँगै विदेश पुग्थे । ती गीत छाउनीमा घन्कन्थे । त्यसबाट लाहुरेहरूले भरपूर  मनोरञ्जन लिन्थे ।

नेपालका लोकभाकाहरू विविधतापूर्ण छन् । यहाँ, हरेक खोल्छा र डाँडामा भाका फेरिन्छ भन्ने भनाइ छ । यी लोकलयहरूलाई एउटा गाउँबाट अर्को गाउँसम्म विस्तार गर्ने र त्यसलाई युगानुकूल परिमार्जित संस्करणमा ढाल्ने कार्यमा पनि गन्धर्व समुदायको उल्लेखनीय भूमिका रह्यो । विगतमा गीत नयाँ थेगो र रहनी थपेर त्यसलाई रसिलो र श्रुतिमधुर बनाउने दिशामा उनीहरूसँग कमैको प्रतिस्पर्धा हुन्थ्यो । माङ्लिक कार्यमा श्लोक हाल्ने र मालाश्री गाउने कार्यमा गन्धर्वहरूले दिएका योगदान स्मरणीय छ ।

वीर रसदेखि श्रृङ्गार रससम्मका गीत गाउन जान्ने यो समुदायको साङगीत विरासत यतिबेला संकटमा छ । अहिले ‘बूढा मरे भाका सरे’ भन्ने उखान अहिले असत्य जस्तो देखिएको छ । स्याटलाइट संस्कृति र ‘साइबर फेस्टिबल’ को आगमनले उनीहरू छायाँमा पर्न थालेका छन् ।

देशले सधैँभरि अभिनन्दन गरे पनि कम हुने यो समुदायको सामाजिक हैसियतचाहिँ कमजोर नै छ । शहरबजारका कुनाकाप्चा र राजमार्गका गाडीमा भेटिने यो समुदायलाई वर्तमान नेपाली लोकगीतको अनौपचारिक राजदूत भन्न सकिन्छ ।

तर, तहगत सामाजिक संरचनामा आधारित नेपाली समाजले उनीहरूलाई डुल्दै हिँड्ने र मागेर खाने जाति भनेर हेप्दै आएको छ । अहिले पनि मागेर नल्याए चुल्हो नबल्ने अवस्थामा कतिपय गन्धर्व परिवार छन् । उनीहको आर्थिक अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइनु आवश्यक छ ।

गीत गाउने भएकाले हुनसक्छ, उनीहरू परम्परागत रूपमा ‘गाइने’ नामले चिनिन्छन् । ‘गाइने’ भन्दा उनीहरूले अपमानित अनुभूत गरेकाले पछि गन्धर्व भन्न थालियो । गन्धर्व शब्द हिन्दू धर्मग्रन्थ उल्लिखित शब्द हो । सन्दर्भ सामग्रीहरूमा वर्णित प्रसंग अनुसार गन्धर्व सङ्गीत र कलामा विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई मानव र देवता सूचना आदानप्रदान गर्ने खबरदूतको रूपमा पनि चित्रण गरिएको पाइन्छ ।
तस्बिर:  गुगल

गन्धर्व शब्दको अंग्रेजी समानार्थी शब्द मिन्स्ट्रल हुन सक्छ । मिन्स्ट्रल शब्दले मध्यकालीन युरोपमा गीत गाएर मनोरञ्जन दिने साङ्गीतिक समुदायलाई जनाउँछ ।

जतिसुकै सम्मानसूचनक शब्द प्रयोग गरिए पनि समाजले देखाउने हेयकारी व्यवहारबाट नेपालका गन्धर्वहरू मुक्त छैनन् । उनीहरूले सम्मानित अनुभूत गर्न पाएका छैनन् । लोकगीतको माध्यमबाट देशको सांस्कृतिक धरोहर धान्ने शिल्पीहरूप्रति हुने यस्ता व्यवहार ग्राह्य छैन ।

देशको विविधतापूर्ण सांस्कृतिक कोलाजमा सुन्दर रङ थप्ने र लोकगीतलाई समृद्ध बनाउने दिशामा उनीहरूको योगदान वन्दनीय छ । उनीहरू देशकै सम्पत्ति हुन् । उनीहरू जगमगाउँदा–मगमगाउँदा सांस्कृतिक निधि हुन् ।

राज्यले उनीहरूलाई साङ्गीतिक अवसरहरू मार्फत रोजगारी दिनुपर्छ । यसबाट देश र गन्धर्व समुदायलाई हित हुन्छ । यसका अतिरिक्त, उनीहरूको साङ्गीतिक विरासत र साङ्गीतिक प्रवृत्तिहरूबारे संस्थागत रूपमै खोजअनुसन्धान अघि बढाउनुपर्छ ।  यसो गरेमा देशका साङ्गीतिक शिल्पीहरूप्रति सही सम्मान गरेको ठहरिन्छ ।

[साभार: लोकसंवाद । २०७६ साल जेठ ३ गते । परिमार्जित संस्करण ।]

अद्यावधिक २०७६।०१।०६

Saturday, May 11, 2019

सङ्गीतमा चन्द्रमा दाहिने हुने आशा

-यमबहादुर दुरा

दोलखाको ग्रामीण परिवेश । त्यहाँका वनपाखा र मेलापातमा स्वाभाविक रूपमा लोकभाकाहरू गुञ्जन्थे । त्यहाँ प्रतिध्वनित हुने लोकभाकाहरूमा उनकै आमाको स्वर पनि मिसिन्थ्यो । उनी आमाको कला र गलाबाट प्रभावित थिइन् । उनलाई आफ्नै आमाले हालेको भाका बिछट्टै मनमोहक लाग्थ्यो ।

लक्ष्मी बस्नेत लोकगीतको क्षेत्रमा एक किसिमको पहिचान बनाएकी प्रतिभा हुन् । आमाले वनपात र ढिकीजाँतो गर्दा गुनगुनाएका गीतका भाका र शब्दले उनको मनमस्तिष्कमा बसेका थिए । यसबाट नजानिँदो किसिमले लोकगीतप्रति उनको मोहभाव बढ्दै गयो । यस्तैमा उनी मुटुभरि अनेकन् सपना सजाएर राजधानी भित्रिइन् । उनको सपनाहरूको चाङमा गीत गाउने सपना पनि थियो । लोकगीतप्रति मोहभाव भए पनि यस क्षेत्रमा उत्पात गरिहाल्छु भन्ने उनलाई लागेको थिएन ।

तर पनि लोकप्रतिको मोहभाव प्रकट भरहन्थ्यो । लोकगीतप्रतिको उनको रुचि देखेर उनका अग्रज डीबी गुरुङले रेडियो नेपालमा गीत गाउने चाँजोपाँजो मिलाइदिए । उनी रेडियो नेपालले २०५० सालमा आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रतिस्पर्धी बनिन् । उनी प्रतियोगितामा दोस्रो भइन् । उनले त्यतिबेला गीतको बोल थियो : ‘मखमली फूल दाजु मखमली फूल...’। त्यस समयममा त्यो गीत धेरैको जिब्रोमा झुण्डियो ।

यससँगै उनको लोकप्रियता पारो चढ्दै गयो । चिनजानको दायरा बढ्दै गयो । छोटो समयमै ज्यामितीय दरमा उनको साङ्गीतिक उन्नयन भयो । गीत गाउने अफरको आउन थाल्यो । पछि पछि त चलचित्रमा खेल्ने अफर पनि आयो । उनले राम थापा, कृष्णसुधा ढुङ्गाना, शम्भु राईलगायतका अग्रज कलाकारहरूसँग गीत गाएर गाउँबस्तीका लोकभाकाहरूलाई जन–जनसम्म विस्तार गर्न सघाइन् । उनले २०५० देखि २०५३ सालम्म राष्ट्रिय नाचघरमा गायिकाको रूपमा काम गरिन् । त्यस समयमा उनी साङ्गीतिक गतिविधिहरूमा व्यस्त भइन् । उनका लागि त्यो समय निकै उर्वर थियो । उनको साङ्गीतिक सिर्जना मौलाउँदै गए ।

दोहोरीगीत प्रतियोगिताहरूमा पनि फटाफट विजयी बन्दै गइन् । सरगम केन्द्र, नेपाल अपाङ्ग व्यवसायिक महासंघ र लाइन्स क्लब अफ काठमाडौंले क्रमशः २०५०, २०५० र २०५२ सालमा आयोजना गरेका दोहोरीगीत प्रतियोगितामा प्रथम  भइन् । अफिसको काम, रेकर्डिङ र स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थालिन् । चन्द्रमा दाहिने परेको बेला थियो । उनलाई भ्यान–नभ्याई थियो ।

यस्तैमा कताकता उनको दिल–दिमागमा विदेश जाने भूत सवार भयो । विदेश जाने साइत पनि जुरिहाल्यो । उनी आफ्ना सारा साङ्गीतिक गतिविधिहरू थाती राखेर जापानतिर लागिन् । राष्ट्रिय नाचघरमा कार्यरत रहेको अवस्थामा उनको पाइला विदेशी भूमितिर बढ्यो । त्यसपछि केही वर्ष बेलायततिर भुलिन् । परदेश पलायनले निरन्तर प्रगतिततर्फ उन्मुख भइरहेको उनको साङ्गीतिक यात्रामा ब्रेक लगाउने काम गर्‍यो  ।

उनी २०५९ सालमा नेपाल फर्किइन् । त्यतिञ्जेलसम्म धेरै क्यालेन्डरका पानाहरू पल्टिसकेका थिए । समयले भाका फेरिसकेको थियो । नेपाल फर्कँदा उनी आफैंलाई बिरानो जस्तो पाइन् । साङ्गीतिक रङ्गमञ्च थुप्रै नयाँ प्रतिभाहरूले भरिभराउ भइसकेको थियो । उनलाई लाग्यो, ‘मेरो साङ्गीतिक परिचान संकटमा पर्दैछ ।’ वास्तविकता पनि त्यही थियो ।

एफएम रेडियोलगायत सञ्चार माध्यमहरूको उभार, पहिल्लो समयमा यु ट्युवजस्ता सोसल मिडियाहरूको दरिलो उपस्थिति, यस्ता मिडियामा नयाँ पुस्ताको उत्साहजनक उपस्थिति र समयसँग बदलिएको अडियन्सको टेस्टले साङ्गीतिक क्षेत्र अरू क्षेत्रजस्तै प्रतिस्पर्धात्मक बनिरहेको छ । लक्ष्मी बस्नेत यो वास्तविकतासँग पूरापुर जानकार छिन् । उनी कसैसँग प्रतिस्पर्धा गर्ने मुडमा छैनन् । न त यो कुनै बुद्धिमत्तापूर्ण व्यवाहार हो । तर, उनी समयले मधुरो बनाउँदै गएको आफ्नो साङ्गीतिक पहिचानलाई चहकिलो बनाउने सोचमा छिन् । यसअनुसार उनी केही हदसम्म अगाडि पनि बढिसकेकी छिन् ।

उनले लगातार दुई वर्ष तीजसम्बन्धी गीत निकालिन् ।  २०७४ र २०७५ साल क्रमशः मा ‘हे शिव भगवान’  र ‘भाइरल भुन्टी’ शीर्षकमा म्युजिक भिडियो निकालिन् । उनले घमेस दुलालसँग अल्बम निकालिन् । उनले गाएको गीतको एउटा लाइन यस्तो थियो : ‘गाईवस्तु बाँधेको किला, माया लाउन मिल्ला कि नमिल्ला’ । यी रमाइलो प्रकृतिका गीत हुन् । उनले विक्रमबाबु विश्वकर्मासँग मिलेर ‘आसुको विजेता’ शीर्षकमा गम्भीर प्रकृतिका साङ्गीतिक कोसेली अडियन्स समक्ष पस्किइन् । यसैगरी, तिहारको सांस्कृतिक पक्ष झल्कने गरी ‘देउसी–भैली’ म्युजिक भिडियो ल्याइन् । नरहरि प्रेमीसँग सहकार्य गरेर उनले यो सांस्कृतिक कोसेली  ल्याएकी थिइन् । साङ्गीतिक क्षेत्रमा उनको पुनरागमन भइसकेको छ ।

एकाग्र भएर लोकसङ्गीत साधनामा तल्लीन समयले अनुमति दिइरहेको छैन । अब उनी विशुद्ध कलाकारमात्र रहिनन् । उनी एक गैरसरकारी संस्थामा पूर्णकालीन कर्मचारी हुन् । उनको अधिकांश समय कार्यालयका गतिविधिले खाइदिन्छ । कहिले अफिसको डेक्स वर्क त कहिले स्थलगत भ्रमण । बचेको समयमा उनले कलासाधना गर्ने हो ।  यस्तो अवस्थामा उनका अगाडि चुनौतीको पहाड खडा भएको छ । तर, उनीसँग हिम्मत छ । ‘वर्षमा एउटा गीत निकाल्ने योजना छ’, उनी कार्ययोजना सुनाउँछिन् । आशा गरौं, उनको फेरि पनि चन्द्रामा दाहिने हुनेछ ।

[साभार: लोकसंवाद ।२०७६ वैशाख २७ गते ।]

Thursday, May 9, 2019

पहिचान गुमाएको दुराडाँडा

-यमबहादुर दुरा

नयाँ वर्ष २०७६ को शुरुवाती दिनहरू दुराडाँडावासीका लागि चहलपहलपूर्ण बने । नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म चलेको ‘ऐतिहासिक दुराडाँडा महोत्सव’ ले अलिकतिमात्र भए पनि दुराडाँडामा गुलावी क्षणहरू निम्त्याइदियो । महोत्सवले गाउँ छाडेर गएकाहरूलाई फेरि एक पटक गाउँ फर्कन प्रेरित गर्‍यो । त्यही डाँडामा जन्मेका तर गाउँमा पुग्न नसकेकालाई कम्तिमा गाउँको सम्झना गर्ने अवसर त्यही महोत्सवले जुटाइदियो ।

महोत्सवको चाँजोपाँजो मिलाउने क्रममा थुप्रै कमीकमजोरी छरपष्ट भए पनि त्यसले भेटघाटका र रङ्ग–रेशमका मीठो संयोगहरू जुराइदियो । दुराडाँडाको शीर्षभागमा रहेको कालिका मन्दिरमा लाग्ने चैतेदशैं मेला, त्यही अवसरमा हुने छेलो प्रतियोगिता तथा नाचगान, दुरा समुदायको छाता संगठन ‘दुरा सेवा समाज’ को २६ औं वार्षिकोत्सव समारोह र त्यससँग जोडिएका विविध सांस्कृतिक कार्यक्रम र सामूहिक भोजभतेरले महोत्सव सम्झनलायक बनेको थियो ।

यसका अतिरिक्त महोत्सवमा दुराडाँडाको समग्र विकासका सन्दर्भमा केही बौद्धिक विचार–विमर्श भए । दुराडाँडाको नामकरण दुराहरूकै नामबाट भएको भन्ने कुरामा शंका गरिरहनुपर्ने ठाउँ छैन । यही पृष्ठभूमिमा दुरा समुदायको भाषा र संस्कृतिबारे बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत भए । दुराडाँडामा  पर्यटन उद्योग र कृषि उद्यमलाई कसरी  विकास गर्न सकिन्छ भन्नेबारे पनि कार्यपत्रहरू प्रस्तुत भए । यी विषयवस्तुलाई  व्यावहारिक जामा पहिर्‍याउन कति सम्भव छ वा छैन, त्यो बेग्लै विषय हुनसक्छ ।  कम्तिमा बौद्धिक खुराक पस्कने काम भयो । यसमा खुसी मान्नैपर्ने हुन्छ ।

महोत्सवको उद्घाटनका क्रममा दुराडाँडा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र समापनका क्रममा हस्याङफस्याङ गर्दै दुराडाँडा उक्लिएका सांसद देव गुरुङ, नेपालका लागि इजरायली राजदूतजस्ता विशिष्ट पाहुनाहरूका रसिलो र भरिलो अभिव्यक्तिबाट दुराडाँडावासी मख्ख परे । पृष्ठभूमिमा  दृष्टिगोचर भएका यस्ता मीठा प्रसंगले दुराडाँडावासीमा क्षणिक खुसी थपे पनि उनीहरूको भित्री मन त्यति खुसी थिएन ।

अहिले दुराडाँडा अभिशप्त अवस्थामा छ । गाउँ छाडेर शहर वा विदेश धाउने राष्ट्रव्यापी रोगले दुराडाँडा थलिएकै छ । त्यो भन्दा पनि दुःखद कुरा, राजनीतिक शक्तिको कपटपूर्ण व्यवहारले दुराडाँडालाई एकढिक्क रहन दिएन, जसबाट दुराडाँडा दुःखी बनेको छ । भौगोलिक र सांस्कृतिक दुवै हिसाबले एकीकृत अवस्थामा रहनुपर्ने दुराडाँडालाई राजनीतिक शक्तिले विभाजित गरिदियो । यससँगै दुराडाँडाको शक्ति छिन्नभिन्न भएको छ ।

दुराडाँडालाई छिन्नभिन्न बनाउने खेल २०४६ सालको राजनीतिक परिवर्तनपछि नै शुरु भएको हो । त्यसबेला क्षेत्र विभाजनका क्रममा एउटै दुराडाँडालाई तीन टुक्रा पारियो । त्यसपछि देश संघीय प्रणाली आयो । राज्य पुनसंरचनाको क्रम शुरु भयो । यस पटक त पहिले गरिएका गल्ती सच्चिनेछ भन्ने आशा धेरैमा थियो । तर, नतिजा उल्टो निस्कियो । दुराडाँडा फेरि पनि विभाजनको शिकार भयो । एउटै दुराडाँडा तीन टुक्रामा विभाजित भयो ।

यहाँका दुरा समुदाय दुराडाँडा टुक्रिनु हुँदैन भन्नेमा थिए । यस्तो सोचाइ राख्नेमा दुराहरूमात्र थिएनन् । यहाँ क्षेत्री–बाहुन र अन्य समुदायका दाजुभाइ–दिदीबहिनीहरूको मत एकै थियो–दुराडाँडा सग्लो अवस्थामा रहनुपर्छ । दुराडाँडालाई टुक्र्याउनका लागि नेपथ्यमा चलखेल चल्दैछ भन्ने आभाष दुराडाँडावासीले पाएका थिए । त्यसो हुन नदिन उनीहरू एकजुट भए । यस क्रममा ‘दुरा सेवा समाज’ र दुराडाँडावासीको सामाजिक संस्था ‘दुराडाँडा सेवा समाज’ अभियानको कमाण्ड सम्हाल्यो ।

यी दुई संस्थाको अगुवाइमा दुराडाँडाको अखण्डता बचाउ अभियान शुरु भयो । दुराडाँडा भेगका रहेका तत्कालीन सिंदुरे, नेटा, पुरानकोट, धुसेनी, चन्द्रेश्वर र दुुराडाँडा गाविसहरू समेटेर दुराडाँडा गाउँपालिका बनाउन माग गरे । यस क्रममा राज्य पुनसंरचनाको आयोगका अध्यक्षलाई भेटेर ज्ञापनपत्र बुझाउने, सार्वजनिक सुनुवाइ गर्ने, लबिङ गर्ने, जिल्लामा शक्ति प्रदर्शन गर्ने तथा प्रेस विज्ञप्ति जारी गरेर आफ्ना चासो र सरोकारलाई फराकिलो घेरामा काम गरिए । तर कतैबाट सुनुवाइ भएन ।

दुराडाँडालाई छिन्नभिन्न पार्ने कुकृत्यमा राजनीतिक शक्ति एकजुट भए । यसमा त्यो वा त्यो दल भन्ने कुरै आएन, सबै दलको मिलिभगत रह्यो । उनीहरूलाई राजनीतिक जोड–घटाउमा नै केन्द्रित भए । उनीहरूले दुराडाँडालाई टुक्र्याउनमै फाइदा देखे । यहाँका वासिन्दाको सांस्कृतिक तथा राजनीतिक अधिकार कायम गर्नेमा कुनै चासो रहेन । राजनीतिक शक्तिको अकर्मन्यताबाट दुराडाँडावासी भारी मन लिएर बाँचेका छन् । राजनीतिक कुकृत्यको सीधा असर अल्पसंख्यक दुरा समुदायमा परेको छ । मर्दापर्दा एकै थलो जुट्नुपर्ने र सोली–डोली सारनतारन हुनुपर्ने सांस्कृतिक पृष्ठभूमिमा दुरा समुदायको राजनीतिक भूगोल आज विभाजित अवस्थामा छ । दुराडाँडावासीको खुसी लुटिएको छ ।

दुराडाँडाको एउटा हिस्सा बेसीशहर नगरपालिकामा पुगेको छ भने अरू दुई हिस्सा क्रमशः सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा मिसिएका छन् । दुराडाँडाको ठूलो हिस्सा सुन्दरबजार नगरपालिकामा मिसिएको छ । सुन्दरबजार हिजो भर्खर राखिएको नाम हो । यसमा कुनै ऐतिहासिकता छैन । दुराडाँडा सताब्दीऔं पुरानो नाम हो, जसको प्रचुर  ऐतिहासिक महत्व छ ।

यस आधारमा नयाँ स्थानीय तहको नाम ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ राख्न सकिन्थ्यो, जुन न्यायोचित र तर्कसंगत पनि थियो । ‘पोखरा लेखनाथ महानगरपालिका’ नाम हुन सक्थ्यो भने ‘दुराडाँडा सुन्दरबजार नगरपालिका’ नसक्ने कुरै थिएन ।

 तर, लोकतन्त्र र नागरिक अधिकारको नारा फलाकेर नथाक्ने राजनीतिक शक्तिले त्यतिसम्म पनि उदारता देखाएन । राजनीतिक शक्तिको विवेकहीन रवैयाबाट दुराडाँडावासीको चित्त दुख्नु स्वाभाविकै थियो  ।

राजनीतिक शक्तिले बेवस्ता गरे पनि दुराडाँडा ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि सम्झिनुपर्ने थलो हो । शाहवंशको जग पनि यही थलोमा बसेको हो । तत्कालीन कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रह्म शाहलाई दुराडाँडाको सिंदुरे ढुङ्गामा वि. सं. १५५० मा सिंदुरजात्रा गरेर लमजुङको राजगद्दीमा बसाएसँगै नेपालमा शाहवंशको जग बसेको अभिलेख भेटिन्छ । धार्मिक ग्रन्थ 'गीता' लाई नेपालीमा अनुवाद गरेर सर्वसाधारण पाठकलाई गुन लगाउने व्यक्ति पनि दुराडाँडाकै कोमलनाथ अधिकारी (वि.सं. १९५०–२०२३)  हुन् ।

नेपाली लोकगीतको एउटा विशिष्ट विधा ठाडो भाका गीतको शीर्ष व्यक्तित्व देउबहादुर दुरा यही क्षेत्रका हुन् ।उनी पछिका ख्यातिप्राप्त ठाडोभाका भेँडीखर्के साइँला पनि दुराडाँडामै जन्मेका प्रतिभा हुन् । पछिल्लो पुस्ताका प्रतिभाह कृष्णसुधा ढुङ्गाना, कृष्ण गुरुङ, वीमाकुमारी दुरा पनि दुराडाँडाकै मगगाउँदा लोकसुवास हुन् ।

बाहुनले हलो जोत्न हुँदैन भन्ने गलत सामाजिक मान्यतालाई दुराडाँडाका व्राह्मण समुदायले चुनौती दिएको जाज्वल्यमान इतिहासलाई पनि दुराडाँडाले समेटेको छ । दुराडाँडाका व्राह्मण समुदायले वि.सं. २००६ साल साउन ११ गते हलो जोत्ने काम गर्‍यो । आफ्ना शासन–सत्ताको अन्तिम दिन गनिरहेका राणा शासकलाई समेत झस्काउने गरी गरिएको ‘हलो क्रान्ति’ आजपर्यन्त चर्चित छ । त्यसपछिका दिनमा दुराडाँडामा गरिएका शैक्षिक क्रान्ति र शैक्षिक सम्मेलनका अध्यायहरू पनि उत्तिकै गौरवपूर्ण छन् ।

दुराडाँडा नेपालका अल्पसंख्यक दुरा समुदायको पुख्र्यौली थलो हो । देशको संविधान तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरूले अल्पसंख्यकहरूको अधिकारका लागि राज्य जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालको संविधान, भाग ५, धारा ५६ को उपधारा (५) मासंघीय कानुनबमोजिम सामाजिक, सांस्कृतिक, संरक्षण वा आर्थिक विकासको लागि विशेष, स्वायत वा संरक्षित क्षेत्र कायम गर्न सकिने प्रावधान राखिएको छ । ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि, १९६६’ को २०४८ सालमै नेपाल पक्षराष्ट्र बनिसकेको छ । यसको धारा २७ ले अल्पसंख्यक समुदायको सांस्कृतिक अधिकार रक्षा गर्न राज्यपक्षले आवश्यक व्यवस्था मिलाउनुपर्ने पक्षमा जोड दिएको छ ।

विडम्बनावश, आफूलाई लोकतन्त्रको मसिहा ठान्ने राजनीतिक शक्ति यस्ता प्रावधानहरूप्रति बेखबर बने। अल्पसंख्यक समुदायलाई अधिकारसम्पन्न बनाउने भन्दा पनि उनीहरूलाई चोट पारेर राजनीतिक स्वार्थसिद्ध गर्नेतिर उनीहरूको ध्यान गयो । राजनीतिक शक्तिको विवेकहीन व्यवहारबाट सामाजिक तथा सांस्कृतिक क्षेत्रमा भरिलो इतिहास रच्ने दुराडाँडाको पहिचान अहिले आएर नामेट भएको छ । नेपालको राजनीतिक–प्रशासनिक नक्शाबाट दुराडाँडाको नाम मेटिएको छ । यससँगै पहिचानको संकट भोग्दै आएका नेपालका अल्पसंख्यक दुरा समुदायको पहिचान थप संकटमा पर्दै गएको छ ।

राजनीतिक शक्तिले दुराडाँडाप्रति देखाएको यसप्रकारको स्वार्थी, कपटपूर्ण र विवेकहीन व्यवहार आफैंमा सांस्कृतिक हिंसाको दरिलो दृष्टान्त बनेको छ । यसबाट देशको सांस्कृतिक विविधतालाई अमूल्य सम्पत्ति मान्नुपर्ने लोकतान्त्रिक मान्यताको जग नै भासिएको प्रतीत भएको छ । यसले प्रत्यक्ष वा परोक्ष रूपमा देशको भावनात्मक एकतालाई कमजोर तुल्याएको छ । भावनात्मक एकताबिना देशको चौतर्फी विकास फगत नारामात्र हुनपुग्छ । दुराडाँडाको खण्डीकरणसम्बन्धी मामिला अझै सेलाएको छैन । राजनीतिक शक्तिले यस वास्तविकताप्रति आँखा चिम्लन मिल्दैन । उनीहरूले जानीजानी गरेको गल्तीलाई ढिलो चाँडो नसच्याई सुखै छैन । सबैलाई चेतना भया ।

[साभार: परिसंवाद । २०७६ साल वैशाख २६ गते ।]

[अद्यावधिक: २०७६।०२।०४, २०७८।०७।०४]





Saturday, May 4, 2019

पीपलसँगै बर

-यमबहादुर दुरा

समय प्रवाहमय छ । समयको सतत् प्रवाहमा लोकजीवनका धेरै पाटाहरू ओझेलमा पर्दैछन् । सँगसँगै जनजीवनका नवीनतम् पाटाहरू नयाँ रूपरङ्गमा दृष्टिगोचर हुँदैछन् । अहिले डिजिटल चौतारीहरूको उभार आएको छ । डिजिटल चौतारी (सोसल मिडिया) मा थकाइ मार्ने, गफगाफ गर्ने, नयाँ साथीसंगी–दौंतरीहरूसँग भेटघाट गर्ने क्रम बढ्दो छ ।

डिजिटल चौतारीले बलवान् समयको साथ पाएर स्वर्ण युगततर्फ उन्मुख छ । तर, हाम्रा बाउबाजेले बनाएका वास्ताविक चौतारी भने अधपतनतर्फ उन्मुख छ । माकुराको जालो जस्तो गरी बनेका मोटरको बाटोले चौतारीलाई बिरानो बनाउँदै लगेको छ । अब, नयाँ चौतारी बन्ने सिलसिला धेरै हदसम्म अन्त्य भएको छ । भएका  धेरैजसो चौतारीहरू मर्मत–सम्भारको अभावमा जीर्ण हुँदै गएका छन् । भए-गरेका चौतारी पनि बटुवा, खेतला–गोठाला र भरियाको अभावमा शून्य र निष्प्रण बन्दैछन् ।

विगतमा चौतारी लोकजीवनको अभिन्न अङ्ग थियो । हामीकहाँ एउटा उखान प्रचलित छ, ‘चोरलाई चौतारो साधुलाई सूली’ । यसले हाम्रो सामाजिक मनोविज्ञानलाई त इङ्गित गरेको छ नै, चौतारी न्याय निसाफ छिन्ने थलो पनि थियो भन्ने दर्साउँछ ।  हुन पनि, विगतमा चौतारीमै कहचरी बसिन्थ्यो, त्यही न्याय-निसाफ छिनिन्थ्यो । 

विगतमा चौतारी बहुउद्देश्यीय जमघटको थलो थियो । चौतारी भेटघाट र जमघटको उर्वर थलो थियो ।  बटुवा, खेतला–गोठाला र भरियाले चौतारीमा थकाइ मार्थे । उनीहरूबीच एकआपसमा वार्तालाप हुन्थ्यो । हुने जमघटले असंख्य रसिलो-भरिलो लोकगीत जन्माउन सघायो  । प्रस्तुत लोकगीत चौतारीले नै जन्माएको प्रतीत हुन्छ:
 यो मायाले गरेन वास्ता
 चौतारीको छेवैमा मै बस्दा

 चौतारीमा एकआपसमा मनको वह पोखिन्थ्यो । स्थानीय जनजीवनसँग जोडिएका घटनाक्रमबारे सूचना आदानप्रदान हुन्थ्यो । विगतमा चौतारी विश्रामस्थल वा आश्रयस्थलमात्र नभएर सूचना केन्द्र पनि थियो ।  अल्लो गाउँ पल्लो गाउँका बासिन्दा र चेलीबेटी-माइतीको सूचना आदान प्रदान गर्नमा चौतारीको भेटघाटले ठूलो भूमिका खेल्थ्यो ।

धर्मभीरु नेपाली समाजमा चौतारीको बेग्लै महत्व छ । चौतारी बनाउँदा पूण्य मिल्छ भन्ने आममान्यता छ । विगतमा पूण्यात्माहरूले ठाउँ ठाउँमा चौतारी बनाउथे । त्यसमा बरपीपलको बोट सार्थेे । बरलाई बेहुला र पीपललाई बेहुली बनाएर विवाह गरिदिन्थे । सानोतिनो भोजभतेरको चाँजोपाँजो मिलाइन्थ्यो । चैत–वैशाखको याममा बटुवाका तिर्खा मेट्न घैंटामा चिसो पानीको व्यवस्था गरिन्थ्यो ।

चौतारी संस्कृतिमा जोडिएको बरपीपलको प्रसङ्गलाई लिएर अनेकन् लोकगीत रचिएका छन् । धेरैले सुनेको एउटा गीत छ, जसले चौतारी र ग्रामीण जीवनको अन्तरसम्बन्धबारे जीवन्त तस्बिर उतारेको छ :
 
पीपलसँगै बर
पीपलुको छायाँमुनि मायालुको घर 

बर-पीपलको गाथा यत्तिमै सकिँदैन । हिन्दू धर्ममा बर-पीपलको निकै महत्व छ । पूजापाठमा बरपीपलको पात अनिवार्य मानिन्छ । देवात्मा, अश्वत्थ, वृक्षराज आदि नामले परिचित पीपलको वृक्षमा देवताको बास हुन्छ भन्ने मान्यताले गहिरोसँग जरो गाडेको छ ।

यही मान्यतामा आधारित भएर कतिपय देवीदेवताका थान पीपलमुनि स्थापित छन् । पीपलको विरुवा सार्दा र पीपलको वृक्षलाई दाहिने पारेर घुम्दा शुभघडी आउँछ मान्यता पनि उत्तिकै बलियो छ । प्रस्तुत गीतले यही वास्तविकता उजागर गर्छ :
  डाँडैमा पीपल सारेर
 भेट हुन आउनू है मायालु त्यही पीपल दाहिने पारेर 

गुणी वृक्ष बर–पीपलसँग धेरैको सम्झना जोडिएका छन् । ग्रामीणजनहरूका कुराकानीमा लहरे पीपल, ढल्के बर आदि शब्दावली सुनिन्छन्, जुन गीतमा पनि प्रतिविम्बित हुन्छन् । नीता पुन मगरले यिनै शब्दावली प्रयोग भावुक गीत गाएकी छिन् :

‘लहरे पीपल ढल्के बरैको, 
कर्मघर जुन ठाउँमा भए नि झल्को आउँछ, माइतीघरैको 

चेतनशील प्राणी हुनुको नाताले मृत्युचेत मानिसमा प्रबल छ । उसका लागि मृत्यु सबैभन्दा ठूलो सत्य  पनि हो । हरेक व्यक्तिमा मृत्युचेत भए पनि कसै यो चेत धेरै नै बढी हुन्छ । हाम्रा बूढापाकाहरूले आफ्नो मृत्युको तिथिमिति मिलाउँथे भन्ने भनाइ पनि गाउँघरमा सुनिन्छ । चौतारीमा सारिने पीपलको पीपलको वृक्षलाई विम्ब र सूचक मानेर मृत्युचेतबारे गीत रचिएका छन् । त्यही भएर त बूढापाकाले भन्ने गर्थे: 
अहिले साल मरिन्छ क्यारे 
ओइलायो राम्दीमा पीपलु

चौतारी संस्कृति र यससँग जोडिएका विविध पक्षबारे असंख्य गीत भेटिन्छन् । तर, ती गीत सग्लो रूपमा छैनन् । चौतारी संस्कृतिलाई मात्र केन्द्रमा राखेर गीत रचिएको भने त्यति पाइँदैन । अहिलेसम्म भेटिएका गीतले आंशिक रूपमा मात्र चौतारी संस्कृतिलाई छोएको पाइन्छ । जस्तैः ‘देउरालीमा पीपलु चौतारी, पाइनँ मैले हितैको दौँतरी’ । यो गीतमा पीपलु चौतारीको प्रसङ्गलाई ‘पाइनँ मैले हितैको दौँतरी’ भन्ने सन्देश प्रवाह गर्नका लागि मात्र अघि सारिएको देखिन्छ । धेरैजसो नेपाली लोकगीत अन्त्यानुप्रासयुक्त हुनाले अन्त्यानुप्रास मिलाउनका लागि मात्र यहाँ ‘देउरालीमा पीपलु चौतारी’ को प्रसंग आएको छ ।

धेरैजसो अंग्रेजी गीत कुनै खास विषयमा मात्र केन्द्रित भएर बनाइएका हुन्छन् । उदाहरणका लागि कुनै हिमाल, नदी, ताल आदिमा सिङ्गो गीत समर्पित हुन्छन् । नेपाली लोकगीतमा यस्तो परम्परा नभएको होइन तर एकदम कम छ । कुनै निश्चित विषयमा केन्द्रित भएर गीत बनाउने परम्परामा वृद्धि हुन आवश्यक आवश्यक छ । यसो भएमा चौतारीलगायत असंख्यमा विषयमा गाथामूलक गीत तयार हुन सक्थे ।

चौतारी संस्कृति कति पुरानो हो, यसको लेखाजोखा गर्न सहज छैन । चौतारीसँग गाँसिएका तमाम लोकविश्वास र अनुष्ठानलाई अवलोकन गर्दा यो हजारौं वर्ष परम्परा हो भन्न सकिन्छ । यसलाई नेपाली लोकगीतले कति गहिराइका साथ समेटेको छ, यसबारे विशद अध्ययन हुन बाँकी नै छ । गहन खोज अनुसन्धानपछि मात्र लोकगीत र चौतारी संस्कृतिको अन्तरसम्बन्धबारे धेरै पक्ष पटाक्षेप हुन सक्छ । अहिलेलाई यति नै ।

लोकसंवाद । २०७६ साल वैशाख २० गते । ]

[अद्यावधिक : २०७७।०३।१५, २०७८।०७।१२, २०७८।१०।१७]