Saturday, April 25, 2020

कोरोना महामारीको भविष्यवाणी भएकै हो र ?

यमबहादुर दुरा

एउटा भनाइ छ, ‘बाघ लागेको समयमा वनको बुट्यान पनि बाघ हुन्छ ।’ अहिलेको माहोल पनि त्यस्तै छ । कोभिड–१९ को यो महामारीमा मानिसले जताततै कोरोना देख्न थालेका छन्—पैसा, खाद्यवस्तु, आफूजस्तै अरू मानिसमा ।

यो त्रासदीपूर्ण घडीमा नोबल कोरोना भाइरसको उत्पत्ति र फैलावटबारे धेरै अनुमान र तर्कले स्थान पाएका छन् । कोरोना महामारीबारे पहिल्यै भविष्यवाणी भइसकेको थियो भन्ने कुराले पनि राम्रै चर्चा बटुल्यो । यही प्रसङ्गमा अमेरिकी लेखक डिन कुञ्ज निकै चर्चामा रहे ।

उनको उपन्यास ‘द आइज अफ डार्कनेस’ ले धेरैको ध्यानाकर्षण गर्‍यो। सन् १९८१ मा प्रकाशित उपन्यासको एउटा प्रसङ्ग दुनियाँलाई भयभीत तुल्याइरहेको कोरोना भाइरस आगमनको भविष्यवाणीसँग सम्बन्धित छ ।

उपन्यासको यही अंशलाई कोरोनाको महामारीबारे ४० वर्ष अघि नै ‘द आइज अफ डार्कनेस’ मा भविष्यवाणी गरिएको थियो भन्ने प्रसङ्ग उठेको छ । खासगरी विदेशमा सोसल मिडिया र यु ट्युब च्यानलमा यो प्रसङ्ग निकै भाइरल भयो ।

‘द आइज अफ डार्कनेस’ मा अहिलेको कोरोना महामारीसँग केही मिल्दोजुल्दो प्रसङ्ग छ । उपन्यासमा भनिएको छ —‘वुहान ४००’ भाइरस विश्वभर फैलिनेछ  । यसको कुनै उपचार हुनेछैन ।

उपन्यासको समग्र कथावस्तु अलौकिक छ । थ्रिलर शैलीमा लेखिएको उपन्यासमा लेखिएको छ - चीनले वुहान शहर बाहिर रहेको एउटा प्रयोगशालामा गोप्य तरिकाले ‘वुहान ४००’ भाइरस उत्पादन गरेको हो । चीनले सूक्ष्म जैविक हतियारको रूपमा उत्पादन गरेको ‘वुहान ४००’ भाइरसले मानव जातिलाई मात्र आक्रमण गर्नेछ ।

उपन्यासको कथा र वर्तमान महामारीबीचको गजबको संयोग छ । डिन कुञ्जले आफ्नो उपन्यासमा काल्पनिक भाइरस ‘वुहान ४००’ राखेका थिए । वुहान त्यही शहर हो, जहाँबाट कोरोना भाइरस फैलिएको थियो ।
‘द आइज अफ डार्कनेस’ ले महामारीबारे उठाएको प्रसङ्ग एक हदसम्म मिल्न गएपछि विश्वभर तहल्का मच्चिन पुग्यो । पुस्तकको बिक्री ह्वात्तै बढ्यो ।

छिमेकी मुलुक भारतका राजनीतिक नेता नेता मनिश तिवारी (कांग्रेस आई), अमेरिकी सिनेटर टम कटनलगायका राजनीतिक वृत्तका व्यक्तिले समेत ‘वुहान ४००’ बारे प्रसङ्ग  उठाए । सधैँजसो विवादास्पद अभिव्यक्ति दिएर चर्चामा छाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ नामकरण गरेर थप चर्चामा आए ।

उपन्यासले औंल्याएको कुराबारे चर्चा चुलिन थालेपछि सत्य–तथ्य खोज्ने काम शुरु भयो । द गार्जियन, बेलायती समाचार संस्था रोयटर्स, अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट, साउथ चाइन मर्निङ पोष्टजस्ता विश्वचर्चित सञ्चार माध्यमहरूमा उपन्यासमा वर्णित प्रसंगबारे थुप्रै समीक्षात्मक टिप्पणी आए । ती सञ्चार माध्यमले उपन्यासले उठाएको प्रसङ्गलाई भविष्यवाणी विभिन्न कोणबाट रौंचिरा गरेका छन् ।

उपन्यासमा वर्णित प्रसङ्ग अहिले भयावह बन्दै गएको कोरोना भाइरसको महामारीसँग केही कुरा मिल्न गए पनि यसमा नमिल्ने थुप्रै प्रसङ्ग छन् । उपन्यासमा ‘वुहान ४००’ लाई मानव निर्मित भाइरस भनिएको छ ।
नोबल कोरोना मानव निर्मित भाइरस हो भन्ने कुनै ठोस प्रमाण छैन । वैज्ञानिकहरूले कोरोना समूहकै भाइरसमा उत्परिवर्तन (म्युटेसन) भई नयाँ प्रजातिको भाइरस निस्केको निष्कर्ष निकालेका छन् ।

उपन्यासमा गरिएको वर्णनसँग नमिल्ने अर्को प्रसंग पनि छ । त्यो हो, रोगको लक्षण । यसबारे उपन्यासमा दाबी गरिएको छ — सङ्क्रमित व्यक्तिको दिमागमा विषाणु उत्पन्न भई दिमागको कोशिकामा क्षति पुग्छ, सम्बन्धित व्यक्तिले आफ्नो शरीरमाथि नियन्त्रण कायम गर्न सक्दैन । भाइरसबाट सङ्क्रमित बिरामीको २४ घण्टभित्र इहलीला समाप्त हुन्छ । धेरै त १२ घण्टाभित्रै मर्छन् ।

उपन्यासमा वर्णित लक्षण अहिलेको कोरोना भाइरसको लक्षणभन्दा नितान्त फरक छ । विभिन्न अध्ययन प्रतिवेदनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा यति छिटो लक्षण देखा पर्दैन, धिमा गतिमा रोगको क्षण देखापर्दै जान्छ । दिन बित्दै जाँदा रोगले सम्बन्धित बिरामी ग्रस्त पार्दै लान्छ ।

अर्को कुरा, उपन्यासमा ‘वुहान ४००’ बाट सङ्क्रमित व्यक्तिको मृत्युदर सतप्रतिशत छ भनिएको छ । तर, कोभिड–१९ मा मृत्युदर २–३ प्रतिशतमात्र हुन्छ भन्ने अध्ययनले देखाएको छ । यो अर्को नमिल्दो कुरा हो ।

अर्को रोचक कुरा के छ भने पहिलो पटक उपन्यास निस्कँदा भाइरसको नाम ‘वुहान ४००’ राखिएको थिएन । त्यसबेला यसको नाम थियो, ‘गोर्की ४००’ । गोर्की एउटा रूसी शहर हो । साथै, गोर्की प्रसिद्ध रूसी साहित्यकार म्याक्सिम गोर्कीको छोटकरी नाम पनि हो ।

यहाँनेर, शीतयुद्धकालीन राजनीतिक प्रसङ्ग जोडिन आउँछ । ‘द आइज अफ डार्कनेस’ शीतयुद्ध कालमा लेखिएको थियो । उपन्यासमा तत्कालीन अमेरिकी समाजको मनोविज्ञान झल्किन्छ । शीतयुद्धताका विश्वको राजनीति दुई ध्रुवमा बाँएिको थियो । एक अमेरिकी ध्रुव र अर्को रूसी ध्रुव । दुवै राजनीतिक ध्रुव एक अर्काका कट्टर दुस्मन ।

जगजाहेर नै छ, शीतयुद्ध कालमा रूसले जसरी अमेरिकालाई भयानक सत्रु ठान्थ्यो, त्यसरी नै अमेरिकाले रूसलाई भयानक सत्रु ठान्थ्यो । त्यही आधारमा भाइरसको नाम सत्रु मानिएको रूससँग मिल्ने गरी राखिएको थियो । त्यसबेला भाइरसको नाम रूसी शहर गोर्कीको नामबाट ‘गोर्की ४००’ राखिएको थियो । यसलाई खतरनाक रूसी जैविक हतियारको रूपमा चित्रण गरियो ।

तर, समयको रेखीय यात्रा सन् १९९० को दशकमा पुग्दानपुग्दै विश्व राजनीतिले कोल्टो फेर्‍यो । सन् १९८९ पछि पूर्वी युरोप र रूसबाट साम्यवादी व्यवस्था सुकेको रुखझैं  ढल्यो । दुई ध्रुवीय विश्व राजनीतिको समीकरण बदलियो । सन्दर्भ बदलियो । अमेरिका र रूसबीच मित्रता बढ्न थाल्यो ।

यसपछि उपन्यासभित्रको पूँजीवादले भाका फेर्‍यो । उसलाई नयाँ भिलेन आवश्यक पर्‍यो। उपन्यासको नयाँ संस्करण निकालियो । त्यसमा ‘गोर्की ४००’ भाइरसलाई चिनियाँ वुहानको शहरको नामबाट ‘वुहान ४००’ राखियो । अब तत्कालीन रूसी भाइरस चिनियाँ भाइरस हुन पुग्यो । यो प्रसंग ‘साउथ चाइना मर्निङ पोष्ट’ मा प्रकाशित एक लेखमा छ ।

यी तमाम ठोस प्रमाणका आधारमा निर्धक्कसँग भन्न सकिन्छ — कोरोना भाइरसको भविष्यवाणीबारे चलेका तमाम होहल्ला निराधार छ । यसबाट हतप्रभ हुनुपर्ने कुनै कारण छैन । अर्को कुरा ‘द आइज अफ डार्कनेस’ आख्यान हो । आख्यान आखिरमा आख्यान नै हो, वास्तविकता होइन । यसका कतिपय घटना र प्रसङ्ग संयोगवश वास्तविक जीवनमा मिल्न सक्छन् ।

यहाँनेर, फिल्म वा सिरियलको ‘डिस्क्लेमर’ लाई सम्झनुपर्ने हुन्छ, जसमा भनिएको हुन्छ—‘यसका पत्र वा घटना कसैको वास्तविक जीवनमन मिल्न गएमा संयोगमात्र हुनेछ ।’ ‘द आइज अफ डार्कनेस’ को प्रसंग पनि  संयोगमात्र हो । त्यो संयोग पनि आंशिक रूपमा मात्र मिल्छ ।

अब एकैछिन ‘द आइज अफ डार्कनेस’ का लेखकबारे चर्चा गरौँ । सन् १९४५ मा अमेरिकाको पेन्सिलभेनिया राज्यमा जन्मिएका उपन्यासकार डिन कुञ्जले हालसम्म १०० भन्दा बढी उपन्यास लेखेका छन् । उनका धेरैजसो पुस्तक ‘द न्यु योर्क टाइम्स बेष्ट सेलर’ सूचीमा परेका छन् । उनका कृति साइन्स फिक्सन, हरर, सस्पेन्स थ्रिलर, स्वैरकल्पना र व्यङ्ग्यको श्रेणीमा पर्छन् ।

उनी जति चर्चित छन्, त्यति नै विवादास्पद पनि । लेखन यात्राको शुरुवाती घडीमा डेबिड एक्सटन, डिना ड्योवेयर, लियोनार्ड क्रिस, केआर ड्योवेयर, ले निकोल्स, ब्रियर कफीजस्ता १० वटा जति छद्म नामबाट पुस्तक लेखेको उनी स्वयम्ले बताएका छन् । उनीमाथि कामुक प्रकृतिका सस्ता उपन्यास लेख्ने गरेको आरोप लाग्ने गर्छ ।

यिनै चर्चा र विवादको घेरामा रहँदै गर्दा ‘द आइज अफ डार्कनेस’ उपन्यासमार्फत  महामारीबारे भविष्यवाणी गरेर उनी फेरि एक पटक चर्चाको शिखरमा छन् । यद्यपि, यस्ता महामारीबारे भविष्यवाणी गर्ने उनी पहिलो व्यक्ति भने होइनन् । विगतका थुप्रै कृतिमा यस्ता प्रसङ्ग भेटिन्छन् ।

आध्यात्मिक गुरुको रूपमा समेत परिचय बनाएकी अमेरिकी लेखिका सिल्भिया ब्राउन (सन् १९३६—२०१३) ले पनि यस्तै प्रसङ्ग अघि सारेकी छिन् । उनले आफ्नो उपन्यास ‘एण्ड अफ डेज्’ मा सन् २०२० तिर निमोनियाजस्तो लक्षण देखिन रोग देखापर्ने उल्लेख गरेकी छिन् । अहिले उनको पुस्तक पनि बिक्री बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०११ मा सार्वजनिक भएको चलचित्र ‘कन्टेजिन’ मा पशुबाट मानव सर्ने भाइरसको प्रसङ्ग छ । त्यसमा अष्ट्रेलियाबाट अमेरिका पुगेका व्यक्तिबाट त्यहाँ महामारी फैलिएको दृश्य देखाइएको छ ।

प्राचीन सन्दर्भमा झल्कने असंख्य कृतिहमा महामारीका प्रसङ्ग पर्याप्त पाइन्छन् । ग्रिसेली कवि होमरको कृति ‘इलियड’, दार्शनिक सोफोक्लिसको रचना ‘इडिपक्स रेक्स’ भविष्यमा आउने महामारीबारे चर्चा पाइन्छन् ।

यी सबै काल्पनिक प्रसंगलाई मानिसको कल्पनशीलता र भविष्यमुखी चिन्तनको प्रतिविम्बको रूपमा लिन सकिन्छ । वास्तवमा कल्पनाशील आख्यानका प्रसंगलाई लिएर आतङ्कित हुनुपर्ने कुनै कारण छैन ।

[देखापढी । २०७७ साल वैशाख ८ गते ।]

Wednesday, April 22, 2020

अर्थतन्त्र पुनर्संरचनाको सवाल

–यमबहादुर दुरा

यो समय नेपाली ‘डायस्पोरा’ को अभूतपूर्व विश्व–विस्तारको युग हो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुनाकप्चेरामा पुगे, त्यसरी नै नेपालीहरू पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपालीहरू एक सय २८ मुलुकमा पुगेको देखिन्छ । ६० लाखको हाराहारीमा नेपाली नागरिक मुगलानमा रहेको वास्तविकतासँग हामी परिचित छौँ ।

मुगलान जाने कुरा नेपालीका लागि रहर र बाध्यता दुवै हो । नेपालमा मुगलान मोह बढ्दो प्रवृत्ति क्रममा छ । देश र दुनियाँको अवस्था सामान्य हुँदा नेपालबाट हरेक दिन लगभग दुई हजार जति नेपाली विदेशिने गरेको तथ्याङ्क छ । यसले मुगलान मोहको चढ्दो ग्राफलाई इङ्गित गर्छ ।


अहिले समय बदलिएको छ । नेपालबाट मुगलान जाने होइन, बरू मुगलानबाट नेपाल फर्किने  समय आएको छ । कोरोना महामारीले स्थिति बदलिदिएको छ । रोजगारदातामध्ये एक मुलुक कतारले नेपाली कामदार फिर्ता लैजान नेपाललाई दबाब दिएको छ । अन्य रोजगारदाता मुलुकले पनि कोरोनाले निम्त्याएको असहज परिस्थितिले कतिपय कम्पनीले कामदारलाई अनपेड लिभ (बेतलबी बिदा) दिन थालिसकेका छन् ।

यसबाट मुगलानीहरूको कमाइ घटेको छ । जीवनयापनको बाटो असहज बन्दै गएको छ । भविष्य असुरक्षित बन्दै गएको छ । सर्वविदितै छ,  रोजगारी गुमेपछि छिमेकी मुलुक भारतबाट अनेकन् भुक्तमान सहँदै लाखौँको संख्यामा घर फर्केका छन् । अरबलगायतका मुलुकमा रहेका मुगलानीहरू पनि घर फर्किने साइत कुरेर बसिरहेका छन् ।

मुगलानमा रहेका कतिपय नेपालीले सोसल मिडियालगायतका ‘कम्युनिकेसन प्लाटफर्म’ मा आफूहरू नेपाल फर्कने दिनको व्यग्र प्रतीक्षामा रहेको भावना व्यक्त गरिरहेका छन् । यसबारे आमसञ्चार माध्यममा समाचार आइरहेका छन् । कोरोना महामारीले पैदा गरेको सङ्कटले आफ्नो रोजीरोटी गुमेकाले आफूहरूलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइयोस् भनेर पुकारा गरिहेका छन् । यतिबेला नेपाल र नेपाली नागरिकले वैदेशिक रोजगारीको तीतो स्वाद चाखिरहेका छन् ।

अहिले परिस्थिति नितान्त प्रतिकूल छ । ‘लकडाउन’ को समयावधि थपिएको थपियै छ । जल, थल र वायु यातायात पूरापुर अवरुद्ध छ । दुनियाँ अलगथलग छ । ‘लकडाउन’ बाट सिङ्गो विश्व नै अघोषित झ्यालखानाजस्तो भएको छ । यस्तो सङ्कटपूर्ण घडीमा ठूलो संख्यामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन सहज छैन ।

लाखौंको संख्यामा मुगलानमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले के कस्तो रणनीति अख्तियार गर्ला, त्यो हेर्न बाँकी नै छ । मुगलानमा अलपत्र अवस्थामा रहेका नागरिकलाई ढिलो चाँडो स्वदेश नल्याई सुखै छैन । जे–जस्तो धामा सहेर भए पनि मुगलानीहरू स्वदेशी फर्कलान् । अब, उनीहरू मातृभूमि फर्किइसकेपछिको अवस्थाचाहिँ के हुने हो ? यो नितान्त गम्भीर विषय हो ।

कोरोनाले देशको अर्थतन्त्र थला परिसकेको छ । नेपालको आर्थिक वृद्धि ७.१ पुगेकोमा अब त्यो बृद्धिदर पिँधमा पुग्न सक्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंकले गरिसकेका छन् । मुगलानमा पसिनाले नुहाएर घरपरिवारको पालनपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका आप्रवासी कामदार घर फर्केपछिको अवस्था के होला ? तिनको पारिवारिक अर्थतन्त्र के होला ? समग्रमा देशको अर्थतन्त्र के होला ? यसको कुनै सहज उत्तर छैन । तर, यसले देशको बिग्रँदो आर्थिक अवस्थाको कुरूप तस्बिरचाहिँ पक्कै प्रस्तुत गर्छ ।

कोरोनाको महामारीको गरुड छायाँ पर्नुभन्दा अघिको नेपालको आर्थिक वृद्धिलाई उत्साहजनक मानिएको थियो । यसो हुनुमा वैदेशिक रोजगारकै योगदान थियो । अब नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदानको ग्राफ ओरालो लाग्ने अवस्थामा छ । वैदेशिक रोजगारीले धानेको अर्थतन्त्र जोखिमपूर्ण हुन्छ भन्ने राय अर्थशास्त्रीहरूले दिँदै आएका छन् । यसबारे बेलाबखतमा चर्चा पनि हुँदै आएको छ ।

वैदेशिक रोजगारले देशको अर्थतन्त्रलाई राम्रै टेवा दिए पनि आफ्नै खालको ‘साइड इफेक्ट’ छ । यसले उत्पादनमूलक कामलाई निरुत्साहित गर्नुका साथै सुखभोगी प्रवृत्तिलाई बढावा दिन्छ भन्ने गरिन्छ । कुनै कारणले वैदेशिक आय (रेमिट्यान्स) आउन छाडेमा अर्थतन्त्रमा तत्काल सङ्कटको घडी आइहाल्छ । यही आधारमा कतिले वैदेशिक अर्थतन्त्रलाई टेकोले धानेको घरजस्तै हो भन्ने गरेको पनि पाइन्छ ।

आर्थिक विश्लेषकहरूले विदेशी आयस्ताले आएको समृद्धिलाई ‘धरापमा रहेको वैभव’ को रूपमा लिने गर्छन् । वैदेशिक रोजगारीले देशमा मानव पूँजीको रूपमा रहेको जनशक्ति (श्रमशक्ति) घटाउँछ, परनिर्भरता बढाउँछ, सेवा तथा वस्तुको उपयोग बढाउँछ तर उत्पादन र निर्यात घटाउँछ । परिणामस्वरूप अप्राकृतिक रूपमा मूल्यवृद्धि हुनुका साथै विश्वबजारमा प्रतिपर्धात्मक क्षमता घट्न पुग्छ ।

यस सम्बन्धमा नेदरल्याड्सको एउटा ज्वलन्त दृष्टान्त छ । सन् १९६० तिर नेदरल्याड्समा प्राकृतिक ग्याँसको भण्डरा फेला पर्‍यो, जसले ठूलो मात्रामा विदेशी लगानी निम्त्यायो । विदेशमा व्यापक रूपमा ग्यास निर्यात भयो । शुरुका दिनमा यसबाट त्यहाँ आर्थिक वैभव बढ्न थाल्यो ।

कालान्तरमा ग्यासको भण्डार रित्तिँदै गयो । देशको अर्थतन्त्र ओरालो लाग्ने पालो आयो । विदेशी लगानी घट्न थाल्यो । विदेशीको आयस्ता घट्न थाल्यो । त्यसपछि दुर्दान्त आर्थिक अवस्थाले नेदरल्याड्सलाई लखेट्न थाल्यो ।

परिणामतः बेरोजगारी उच्चतम् विन्दुमा पुग्यो, महङ्गी बढ्न थाल्यो र विश्वबजारमा उसको प्रतिस्पर्धात्मक क्षमता घट्न गयो । यसबाट नेदरल्याड्सको अर्थतन्त्र सङ्कटमा पर्‍यो । सन् १९७७ मा विश्वविख्यात म्यागजिन ‘द इकनमिष्ट’ ले नेदरल्याड्सको दुर्दशापूर्ण आर्थिक अवस्थालाई ‘हल्याण्ड डिजिज’ नामाकरण गर्‍यो ।

वैदेशिक आयस्तामा भर पर्दा हुने आर्थिक दुर्घटना ‘हल्याण्ड डिजिज’ नामले परिचित छ । नेपालमा वैदेशिक रोजगारको ढोका एकपछि अर्को गरी बन्द क्रममा छ । यस्तो जटिलतम् अवस्थामा नेपाललाई पनि ‘हल्याण्ड डिजिज’ ले नछोला भन्न सकिन्न । निर्विकल्प रूपमा वैदेशिक रोजगारलाई अघि सार्ने परिपाटीलाई अब पुनःविचार गर्नुपर्ने बेला आइसक्यो । यसबारे समयमै सचेत हुँदै अर्थतन्त्रको पुनःसंरचनामा लाग्नुको विकल्प देखिन्न ।

अहिले विकसित घटनाक्रमले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती र अवसर दुवै दिएको छ । देशको अर्थतन्त्रलाई दीगो र सबल बनाउन उत्पादनमूलक उद्योगलाई प्रश्रय दिनैपर्छ । यस क्रममा कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने अवस्था छ । विश्वलाई कोरोना महामारीले छोपेपछि भारतलगायत कतिपय मुलुकले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ ।

एकातिर स्वदेशको खेतबारी बाँझो रहने अर्कोतिर विदेशबाट खाद्यान्न आयात नहुने अवस्था आयो भने के होला ? भोलि आउन सक्ने  विकराल अवस्थाबारे अहिल्यै सोचेर कृषिको समग्र विकाससम्बन्धी व्यावहारिक नीति र कार्यक्रम अविलम्ब ल्याउन आवश्यक छ । जगजाहेर नै छ, कृषि हाम्रो  आधारभूत पेशा हो । सम्भवतः सबैभन्दा पुरानो पेशा पनि हो ।

अहिले पनि देशको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा अझै  पनि कृषिमा आश्रित छ । मुगलानबाट फर्केकाहरूको अन्तिम आश्रयस्थल गाउँघर नै हो । हालको स्थितिमा उनीहरूको अन्तिम विकल्प पनि गाउँघरमा गरिने कृषिकर्म नै हो । यी तमाम वास्तविकतालाई ध्यामा राखेर देशको मागलाई पूरा गर्दै निर्यातमूलक कृषि उत्पादनमा जोड दिनुपर्छ ।

कृषिमा अहिले कुल गर्हस्थ उत्पादन २७ प्रतिशत जति छ । यसलाई बढाउने प्रयत्न गर्नुपर्ने खाँचो छ । विदेशमा उच्च माग रहने अर्ग्यानिक अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता यसले आयातलाई प्रतिस्थापन गर्न सक्छ । यसलाई प्रोत्साहित गर्ने सरकारी नीति पनि आउनुपर्छ । कृषिमा विगतमा भएका कमी कमजोरीको समीक्षा गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने खाँचो पनि उत्तिकै टडकारो देखिन्छ ।

अहिलेको सङकटले देशको परनिर्भरमुखी अर्थतन्त्रलाई पुनर्संरचना गर्ने अवसर पनि दिएको छ । यस क्रममा कृषिका अतिरिक्त अन्य सम्भावनायुक्त उद्योगहरूलाई उचित अध्ययनका आधारमा प्राथमिकता दिने र तिनको दीगोपनका आधारहरू खोजिनुपर्छ । अहिले धराशायी अवस्थामा पुगेको पर्यटन तथा सेवा उद्योगलाई पुनर्जीवन दिने र तिनलाई दीगो बनाउने गरी पुनर्संरचना गर्नुपर्ने आवश्कता छ ।

 देशको अर्थतन्त्रलाई कुन ढाँचामा पुनर्संरचना  गर्ने भन्नेबारे अर्थविद, योजनाविद, नीति–निर्माता र राजनीतिक शक्तिहरूको रचनात्मक भूमिका अपेक्षित छ । यस सिलसिलामा यी साझेदारबीच उचित समन्वय र सहकार्य पनि उत्तिकै आवश्यक छ ।

[नागरिक । २०७७ साल वैशाख १० गते । ]

Friday, April 3, 2020

कोरोनाले सम्झाएको राष्ट्रिय जिम्मेवारी

–यमबहादुर दुरा

कोरोना भाइरस (कोभिड–१९) ले जनजीवनमा  पीडादायी वास्तविकता पस्किरहेको बेला अर्को पीडादायी दृश्य हाम्रो देखापरेको छ । त्यो हो, नेपाल–भारत सीमामा अलपत्र बन्न पुगेका नेपाली । सरकारले ‘लकडाउन’ घोषणा गरेको हप्ता दिन बितिसक्दा पनि उनीहरू नेपाल–भारत सीमामै अलपत्र परेका समाचार आइरहेका छन् ।

यस क्रममा भरतको पिथौरागणबाट आएका कतिपय प्रवासी नेपाली नाका नखुलेपछि ज्यान हत्केलामा राखेर महाकाली नदीमा पौडिएर नेपाल भित्रिएको समाचार आयो । आफ्नै मातृभूमि प्रवेश गर्न पनि महाभारत झेल्नुपरेको यो दुःखदायी अवस्थाले कताकता खल्लो अनुभूति गराउँछ ।

यद्यपि, यो असाधारण परिस्थिति हो । यसलाई त्यही अनुरूप बुझ्नुपर्ने हुन्छ । तर, यही बहानामा प्रवासी नेपाली मानवीय पीडालाई नजरअन्दाज गर्न पनि मिल्दैन । उनीहरूले झेल्नुपरेका दुःखमा मानवीय सम्वेदनाका अनेकन् आयाम जोडिन आइपुग्छन् ।

प्रवासी नेपालीले हालका दिनमा भोग्नुपरेको सास्तीबारे प्रसङ्ग उठाउँदा नेपाल र भारतबीच विद्यमान ‘केमेष्ट्री’ बारे पनि कुरा गर्नैपर्ने हुन्छ । दुवै देशबीच जनस्तरको सम्बन्ध छ । नेपाल र भारतबीचको सम्बन्ध नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमारेखा छ ।

भौगोलिक हिसाबले तीनतिरबाट घेरिएको भारतसँग नेपालको शताब्दीऔँ लामोे छ । नेपाल र भारतबीच विद्यमान सामाजिक, सांस्कृतिक, आर्थिक र भूराजनीतिक सम्बन्धको गाथा गहिरो छ । यससँगै जोडिएको ‘रोटीबेटीको सम्बन्ध’ ले दुई देशबीचको सम्बन्धमा न्यानोपन थपिरहेको छ ।

एकातिर यी दुई देशबीच दरिलो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ भने अर्कोतिर खुल्ला सीमाना । त्यसमा पनि सन् १९५० मा सम्पन्न नेपाल र भारतबीच ‘शान्ति तथा मैत्री सन्धि’ ले दुई देशका नागरिकबीच एक–अर्को देशामा आवतजावत गर्नमा छेकथुन नहुने व्यवस्था गरेको छ ।

यही आधारमा नेपालमा असंख्य भारतीय नागरिक कार्यरत छन् भने भारतमा पनि असंख्य नेपाली विभिन्न पेशा र व्यावसायमा छन् । नेदरल्याण्डस्थित ‘इन्स्टिच्युट अफ सोसल स्टडिज’ ले गरेको एक अध्ययन अनुसार भारतमा मात्रै ५० देखि नेपाली ७० लाख नेपाली छन् । यो एउटा मोटो अनुमानमात्र हो ।

यसलाई अझ सूक्ष्म किसिमले हेर्ने हो भने त्यहाँ रहेका नेपालीलाई विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ । जस्तै : प्रवासी मजदूर, चौकीदार, विद्यार्थी, गोर्खा सैनिक, व्यापारी, पारिवारिक सम्बन्ध भएका व्यक्तिका समूह आदि । भारतमा रहेका नेपालीको तप्कालाई संख्यात्मक दृष्टिले हेर्ने हो भने प्रवासी मजदूरको संख्या बढी देखिन्छ ।

प्रवासी मजदूरको झुण्डलाई अझ टुक्र्याएर  हेर्ने हो भने मौसमी (सिजनल) प्रवासी मजदूरको संख्या उल्लेखनीय हुन आउँछ । ‘सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी’ ले गरेको एक अध्ययन अनुसार भारतमा ८ लाख मौसमी प्रवासी मजदूर छन् । यस्ता मौसमी प्रवासी मजदूर मूलत : पश्चिम नेपालका नागरिक हुने गरेको तथ्याङ्कले देखाउँछ ।

पेशागत सुरक्षा र अन्य दृष्टिले मौसमी प्रवासी मजदूर सबैभन्दा नाजुक तप्का हुन् । खाने–बस्ने ठेगाना नभएको र ज्यालादारी प्रकृतिको कामबाट जीवन गुजारा गर्नुपर्ने यो तप्का असाधारण परिस्थिति पैदा हुँदा सङ्कट भोग्नेमा अग्रपङ्क्तिमा पर्छन् । अहिले कोरोना भाइरसले निम्त्याएको असाधारण परिस्थितिमा यही तप्काले बढी हैरानी खेप्नुपरेको देखिएको छ ।

कोरोनाको प्रकोप बढ्दै गएपछि संसारको अन्य भागमा जस्तै भारतमा पनि उद्योग धन्दा बन्द भए, जसबाट धेरै प्रवासी मजदूरको रोजीरोजी गुम्यो । उनीहरूको खाने–बस्ने ठेगाना रहेन । भारतको विभिन्न शहरमा कार्यरत ती प्रवासी मजदूर घर फर्कन बाध्य भए । बाटोमा आउँदा आउँदै नेपाल र भारतले ‘लकडाउन’ घोषण गरे ।

‘लकडाउन’ घोषणा हुनुभन्दा अघिदेखि नै भारतको विभिन्न प्रान्तमा रहेका नेपाली लामो दूरी तय गर्दै मातृभूमि फर्किने क्रममा थिए । तर, मातृभूमि टेक्न नपाउँदै हजारौँको संख्यामा रहेका नेपाली दिल्ली र भारतका अन्य भागमा अलपत्र परे । कतिपयले लामो पैदल यात्रा तय गरेर सीमावर्ती क्षेत्रमा आइपुगे । नेपाली र भारतीय प्रशासनबीच समन्वय र संयोजनपछि ठूलो संख्यामा रहेका नेपालीले जसोतसो मातृभूमि टेक्न पाए ।

त्यसपछि पनि समस्याको श्रृङ्खला रोकिएन । उनीहरूको समस्या राष्ट्रिय सङ्कटसँग जोडिन पुग्यो । सिङ्गो विश्व कोरोना भाइरसको महामारीबाट हायलकायल भएको अवस्थामा स्वास्थ्यप्रति हरेक व्यक्ति सम्वेदनशील हुनुपर्ने अवस्था छ । यस दृष्टिले भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्‍थ्यो  । तर, भारतबाट आएकाहरूको स्वास्थ्य–अवस्थाबारे उचित ‘स्क्रिनिङ’ र जाँच नभएको समाचार आयो ।

ठूलो संख्यामा आएका व्यक्तिलाई सीमित स्रोत–साधनबाट ‘स्क्रिनिङ’ गर्न त्यति सहज पनि थिएन । आवश्यकता अनुसारको पूर्वाधार तयार भइसकेको थिएन । अधिक संख्यामा रहेका व्यक्तिलाई ‘क्वारेन्टाइन स्थल’ को अभाव थियो । नियम अनुसार उनीहरूलाई १४ दिन ‘क्वारेन्टाइन’ राख्नुपर्‍थ्यो । उनीहरूलाई ‘क्वारेन्टाइन’ मा राखियो ।

विडम्बनवश, कतिपय व्यक्ति ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका अर्को भयानक समाचार आयो । ती व्यक्तिले कोरोना सङ्क्रमित रहेछन् भने उनीहरूले घरगाउँमा फैलाउन   सक्ने सङ्क्रमण कति खतरनाक होला ? योे अकल्पनीय स्थितिको भरपाइ कसरी होला ? एकतिर भारतबाट घर फर्कने प्रवासी मजदूरले भोग्नुपरेका हैरानी अर्कोतिर उनीहरूबाट जनस्वास्थ्यमा पार्न सक्ने गम्भीर खतरा । यी दुवै कुरा देशका लागि सुखद होइन ।

प्रवासी मजदूरको आगमनले जन्माएको यो पीडादयी अध्यायले एउटा भयानक राष्ट्रिय जिम्मेवारी सम्झाएको छ । त्यो हो—देशको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, देशको सीमा नाकामा पनि ‘स्क्रिनिङ’ लगायतका तमाम पूर्वाधार अविलम्ब खडा गरी काम अघि बढाइनुपर्छ ।

हवाइ यात्रुको मात्र होइन, स्थलमार्गबाट आवत–जावत गर्नेहरूको पनि डिजिटल अभिलेख राख्ने व्यवस्था मिलाइनुपर्छ । यसो गर्दा आवश्यक परेको बेलामा अभिलेख हेरेर मानिसको आगमनलाई अनुगमन गरी ट्र्याक गर्न सजिलो हुन्छ ।

नेपाल र भारतबीच खुल्ला सीमाना भए पनि दुई देशका नागरिक आवत–जावत गर्ने विषयमा भारत बढी सम्वेदनशील देखिन्छ । उसले सीमा भएर आवत–जावत गर्नेहरूको कडा ‘स्क्रिनिङ’ गरेको पाइन्छ । नेपाल भारतबाट पाठ सिक्नुपर्छ ।

नेपालले पनि नागरिकलाई दुःख दिन नभई स्थलमार्गबाट आवत–जावत गर्नेहरूको यथार्थ विवरण राख्नका लागि ‘डिजिटल स्क्रिनिङ’ को व्यवस्था गर्नुपर्ने खाँचो छ । खुल्ला सीमानालाई व्यवस्थित गर्नुपर्छ । यो काम यथाशक्य छिटो र प्रभावकारी किसिमले गर्नुपर्ने अवस्था छ ।

हवाइ यात्रुको विवरण राख्न तुलनात्मक रूपमा सजिलो छ । नेपालको अध्यागमन विभागमा नेपालबाट भित्रिने वा बाहिरिने यात्रुको तस्बिर खिच्ने खिचेर राख्नेसम्मको प्रविधि छ । अब सीमा नाकामा यस्तो व्यवस्था गर्न आवश्यक छ ।

खुल्ला सीमाना भएको देशमा यस्तो व्यवस्था मिलाउन सजिलो छैन । तर, काम जति नै असजिलो भए पनि देश र नागरिकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्नैपर्ने भएको छ । समयले यसलाई अपरिहार्य आवश्यकताको रूपमा परिभाषित गरिसक्यो । सीमा नाकामा डिजिटल अभिलेख राख्न सकिएको भए ‘क्वारेन्टाइन’ स्थलबाट गुपचुप भागेका व्यक्तिहरूलाई ट्र्याक गर्न सजिलो हुन्थ्यो ।

यसबाट नागरिकको स्वास्थ्यमा उत्पन्न हुनसक्ने खतरा टार्न सकिन्थ्यो । भारत कोरोना सङ्क्रमित व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ । यसले त्रासको वातावरण पैदा गरेको छ । त्यहाँबाट आएका व्यक्तिहरूबाट फैलन  सक्ने कोरोनाको सङ्क्रमण शिरमाथिको तरबार जस्तै हुन पुगेको छ ।

यी तमाम परिस्थितिले सीमा नाकामा डिजिटल अभिलेख राख्नुपर्ने खाँचोको ग्राफ उकालो लागेको छ । यसले सीमा वारपार हुनसक्ने अपराध, सङ्क्रामक रोगको विस्तारजस्ता अहितकारी पक्षलाई नियन्त्रण गर्न सहयोग गर्छ । अहिले विकसित घटनक्रमबाट हामीले पाठ सिक्नुपर्छ । यही आधारमा भावी कदम चाल्नुपर्छ ।

[गोरखापत्र । २०७६ साल चैत २१ गते ।]