Saturday, February 3, 2018

चौतारीको छहारी


–यमबहादुर दुरा

कुनै समयमा ‘रेडियो नेपाल’ को चुम्वकीय आकर्षणले धेरैलाई तान्थ्यो ।  प्रसारण प्रविधिसँग अपरिचित जनसमुदायले राष्ट्रिय प्रसारण संस्था ‘रेडियो नेपाल’ लाई मिथकीय वस्तु ठान्थे । रेडियोको जादुगरी चमत्कारबाट आकर्षित हुनेमा गायक–गायिकाहरू पनि पर्थे ।

युक्त गुरुङ
एकैपटक  हजारौं स्रोतामाझ पुग्नसक्ने क्षमताले उनीहरू ‘रेडियो नेपाल’ प्रति मनमुग्ध  हुन्थे तर रेडियोमा गीत गाउन सहज थिएन । ‘एक्स्पोजर’ को अरू बाटो नभएको त्यो समयमा रेडियोमा गीत गाउन पाउनु कलाकारका लागि भाग्योदय चिठ्ठा पर्नु जत्तिकै हुन्थ्यो । त्यतिबेला स्वर परीक्षा पास गरेरमात्र रेडियोमा गीत गाउन पाउने प्रावधान थियो ।

दूरदराजमा मेलापातमा जीवनमा बिताउने कला अनुरागीहरूले राजधानी छिर्ने मौका कहिले पाउने ? छिरिहाले पनि ‘रेडियो नेपाल’ प्रवेशद्वारसम्म कसरी पुग्ने ? ‘रेडियो नेपाल’ मा पाइला हाल्ने मौका पाइहाले पनि स्वर परीक्षाको झञ्जटिलो प्रक्रिया कसरी पार गर्नेे ? यी तमाम जटिलताले कुना–कन्दराका कलाकारहरूको गीत गाउने धोको मनमै दबिएर बस्थ्यो । ‘रेडियो नेपाल’मा सहज पहुँच अभावले धेरैले आशा मार्थे ।

निराशाले राज गरेको त्यो घडीमा रेडियो नेपालको ‘चौतारी’ कार्यक्रमले कलाकारहरू गायक–गायिकाहरूमा आशा जगाउने काम गरेको थियो । ‘चौतारी’ मा गीत गाउन स्वर परीक्षा पास गर्नुपर्दैनथ्यो तर त्यहाँ गीत गाएपछि गाउँघरमा कुस्त चर्चा पनि भइहाल्थ्यो । त्यतिबेला चौतारीमार्फत धेरैको प्रतिभाले अङ्कुरित हुने मौका पायो । २०३० को दशकदेखि सञ्चालनमा आएको ‘चौतारी’ उदीयमान गायक–गायिकाहरूको आशा र भरोसाको केन्द्र बनेको थियो ।

पाण्डव सुनुवार (वि.सं. २००९–२०६३), हिरण्य भोजपुरे (जन्म : वि.सं. १९९९), युक्त गुरुङ (वि.सं. २०११–२०६४) जस्ता लोकसङ्गीतका उम्दा प्रतिभाहरूको सोचको उपज थियो, ‘चौतारी’ । शुरुमा पाण्डव सुनुवार र हिरण्य भोजपुरेले कार्यक्रम सञ्चालन गर्नुभयो । कार्यक्रममा युक्त गुरुङले सहयोगीको भूमिका गर्नुभयो । पछि, ‘चौतारी’ कार्यक्रमको जिम्मेवारी युक्त गुरुङले नै पाउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्न थालेपछि कार्यक्रमको लोकप्रियताको ग्राफ झन उकालो  लाग्न थाल्यो ।

गुरुङले अग्रजहरूको पदचाप पछ्याउँदै ‘चौतारी’ लाई गायक–गायिकाहरूको साँच्चिकै साझा चौतारी बनाउनुभयो । कार्यक्रम सञ्चालन गर्दा उहाँको बोलीमा झल्कने आत्मीयता र मौलिकपनबाट प्रभावित धेरै स्वरजीवी आज पनि उहाँको सम्झना गर्छन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, उहाँबाट धेरै स्वरजीवीहरूले साङ्गीतिक क्षेत्रमा अघि बढ्ने प्रेरणा पाए । चार दशक उमेर काटेका अधिकांश लोकगायक–गायिकाले आफूहरू ‘चौतारी’ बाट ‘ग्रुम’ भएको धारणा विभिन्न सन्दर्भमा व्यक्त गर्दै आएका छन् ।

युक्त गुरुङ गायन र वाद्यवादनमा पारङ्गत प्रतिभाका रूपमा हुनुहुन्थ्यो ।  कुशल सङ्गीत शिक्षक पनि । उहाँसँग लामो संगत गरेका लोकगायक कृष्ण गुरुङ उनलाई सबैखाले बाजा बजाउन जान्ने प्रतिभा र प्रेरणा–स्रोतको रूपमा चित्रण गर्नुहुन्छ । उहाँले हर्मोनियम वादन, सङ्गीतको स्केललगायत सङ्गीतको औपचारिक ज्ञान युक्त गुरुङबाटै पाउनुभएको थियो  ।

आजकल धेरैका लागि बिरानो र दुरूह विधा बनेको सोरठी नृत्यमामा कुशलतापूर्वक मादले र गायकको भूमिका निर्वाह गर्न पनि सक्षम रहेको प्रतिभा हुनुहुन्थ्यो  ।

युक्त गुरुङका सहकर्मी तथा लोकगीत अन्वेषक बुलु मुकारूङ उहाँलाई ‘लोकगीतको जीवित सम्पदा’ ठान्नुहुन्छ । मुकारूङले 'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लेख्दै गण्डकी भेगका लोकभाकालाई रेडियोमार्फत आमनेपालीबीच पुर्‍याउने दिशामा गुरुङले  स्तुत्य भूमिका निर्वाह गरेको श्रेय दिनुहुन्छ ।

युक्त गुरुङको सङ्गीतप्रतिको मोहभाव र लगावबारे उहाँका आफन्तजन र साथीसँगीहरूले बेलाबखतमा रोचक प्रसंग अघि सार्छन् । यस्तै दिलचस्पीपूर्ण सम्झना उहाँकी साइँली दिदी पीपलमाया गुरुङको मनमा खोपिएर बसेको छ  । भाइले आफूलाई  मादल बनाइदिन निरन्तर कर गरेपछि  केराको थम्मको मादल बनाइदिएको, त्यसपछि त्यही मादल भिरेर कित्लीको ढकनी र सिल्बरको कचौरा बजाई नाचेको र यसबाट छरछिमेक चकित भएको स्मरण गर्नुहुन्छ । उहाँले यो बाल्यकालीन सम्झना  'युक्त गुरुङ स्मृतिग्रन्थ' मा लिपिबद्ध गर्नुभएको छ ।

युक्त गुरुङले आञ्चलिक मिठासले भरिएका धेरै गीत गाउनुभएको छ, जसमा जीवनशैली झल्किन्छन् । गण्डकी भेगमा एउटा प्रचलन छ, जसमा सामाजिक जमघटहरूमा चेलीबेटी–माइती र सोल्टी–सोल्टिनीहरू भेट हुँदा चुरोट दिएर संवाद शुरु गरिन्थ्यो । यही चलनलाई टपक्क टिपेर युक्त गुरुङले गायिका शशी गुरुङसँग मिलेर २०३६ सालमा रेडियो नेपालमा गीत स्वराङ्कन गराउनुभयो । त्यो पनि गुरुङ भाषामा ।

सोल्टी र सोल्टिनीबीचको संवादमा आधारित गीत बोल थियो, (केटा)– आशामाया चुरोट थुँबरी खोसे ङोल्स्यो (आशामारा चुरोट खान आऊ सोल्टिनी), (केटी)– तै तै ङोलो भारा लइदिमु (भयो, भयो सोल्टी भारा लाग्छ) ।पछि आशामारा चुरोट नाम दिएर गुरुङ भाषाको अल्बम निकाल्नुभयो ।

स्थानीय जनजीवनको ढुकढुकी भेटिने यो गीत गण्डकी भेगका गुरुङ समुदाय र गुरुङ भाषा बुझ्नेहरूबीच बेहद लोकप्रिय भयो । यसले युक्त गुरुङको परिचयको क्षितिज फराकिलो गरी उघार्‍यो । उहाँले असंख्य ग्रामीणजनको हृदयमा बास पाउनुभयो ।

उहाँले मुग्लानी पस्ने परम्पराले ग्रामीणजनको हृदयमा लगाएको घाउलाई विषय बनाएर अर्को गीत गाउनुभयो । सुमधुर स्वरकी धनी सावित्री शाहले यसमा उहाँलाई साथ दिनुभयो । गीतको ‘ओपनिङ लाइन’ थियो, ‘दाइ त मेरो लाहुर जाने, म बैनी त सम्झेरै रोइरहने’ । गीतमा छचल्किएको मिठास र भावुकताबाट स्रोता द्रवीभूत भइरहे । यो गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो ।

उहाँले स्वरबद्ध गरेका १ सय ५० जति गीतमध्ये यी दुई गीतबाट नै उहाँ बढी चिनिनुहुन्छ । जनजीवनको ढुकढुकी स्पन्दित गीत नै कालजयी हुन्छन् भन्ने तथ्य उहाँको गीतबाट पुष्टि हुन्छ ।

उहाँ ब्रिटिश गोर्खाका लप्टन दीर्घसिंह गुरुङका छोरा हुनुहुन्थ्यो । एकप्रकारले हुनेखाने परिवारकै छोरा । उहाँ केही सिंगापुरमा बस्नुभयो । ‘भाञ्जाभाञ्जी’ भनेर चिनिने विदेशी संस्कारमा हुर्केका गोर्खा सैनिकका छोराछोरी र विदेशीहरूसँग पनि दोस्ती बढ्यो । यसबाट उहाँको सोचाइको दायरा र जीवनदृष्टिको क्षितिज फराकिलो हुन पुग्यो ।

उहाँको सोचाइ औसत व्यक्तिहरूको भन्दा फरक थियो । उहाँले 'रेडियो नेपाल' मा लामो समय (वि.सं. २०३२–२०६४) काम गर्नुभयो । त्यहाँ आठौं तहको अधिकृत भएर काम गर्दा उनले कार्यस्थललाई जागिरमात्र ठान्नुभएन, त्यसलाई अनुष्ठानको रूपमा पनि लिनुभयो । पुराना गीत संकलन, संरक्षण र सम्बद्र्धनमा उहाँले खेलेको भूमिका प्रशंसनीय छ । लोपोन्मुख ठाडो भाकाको श्रीवृद्धिमा पनि उहाँको योगदान रह्यो ।

२०६४ साल मंसिर १ गते मोटरसाइकल दुर्घटनामा परेर निधन हुँदाको घडीसम्म पनि उहाँ लोकसङ्गीतको खोज–अनुसन्धानमा जुटिरहनुभएको थियो । लोकसङ्गीतसम्बन्धी पुस्तक सङ्कलन गर्ने, पढ्ने र लोकस्रष्टाहरूसँग अन्तरक्रिया गर्ने काममा जुटेर उहाँले नयाँ बाटो देखाइरहनुभएको थियो ।

यहाँनेर अर्को प्रसंग सान्दर्भिक हुन आउँछ । फिनल्याण्डका ‘युनिभर्सिटी अफ द आर्टस् हेल्सिन्की’ अन्तरगत रहेको ‘साइबेलियस अक्याडमी’ का ‘इथ्नोम्युजिकोलजी’ विषयका तत्कालीन लेक्चरर (अहिले प्राध्यापक) पिर्को मोइजालाले लमजुङको गिलुङ गाउँमा प्रचलित घाँटु नृत्यको अध्ययन गर्नुभयो ।

मोइजलाले सन् १९७५–१९७६, १९८५ र १९९० को अवधिमा घाँटु नृत्यका कसरी परिवर्तन आइरहेको छ भन्ने अध्ययन गर्नुभयो । अध्ययनको क्रममा सहयोगीको रूपमा पत्याएको व्यक्ति हुनुहुन्थ्यो, युक्त गुरुङ । त्यस अध्ययन कार्यमा उहाँको रचनात्मक भूमिका रह्यो ।

पिर्को मोइजालाले अध्ययनको निष्कर्षस्वरूप सन् १९९१ मा ‘कल्चर कग्निसन इन म्युजिक : कन्टिन्युइटी एण्ड चेञ्ज इन द गुरुङ म्युजिक अफ नेपाल’ शीर्षकमा अध्ययन प्रतिवेदन प्रकाशन गर्नुभयो ।

युक्त गुरुङ जीवनभर लोकसङ्गीत श्रीवृद्धिमा डटिरहनुभयो, थुप्रै योजना फिजाएर । उहाँको जीवनको साङ्गीतिक आयाम र योगदानलाई उहाँका अनुज, आफन्तजन र सहयात्री र लोकगीत अनुरागीहरूले स्तुत्य ठानेका छन् । उहाँको बीचैमा विधाताले उहाँलाई ५३ वर्षकै अल्पायुमै खोसेर लग्यो, धेरै योजनाहरूलाई अलपत्रै पारेर । उहाँको पीडादायी प्रस्थानले लोकसङ्गीतका अध्येताहरूको काँधमा थप जिम्मेवारी थपिदिएको छ ।

[साभार : गोरखापत्र शनिबार । माघ २०, २०७४ । तस्बिर सौजन्य : शासन गुरुङ ।]